अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१)

झुटा अगुवाहरूलाई चिन्नु किन आवश्यक छ

अब हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणबारे सङ्गति सकाएका छौँ, आज हामी नयाँ विषय—झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरू—बारे सङ्गति गर्नेछौँ। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेका यतिका वर्षमा झुटा अगुवाहरूका हरप्रकारका प्रकटीकरण र अभ्यासहरू सामना गरेका छौ। परमेश्‍वरको घरले सबै तहका झुटा अगुवाहरू बरखास्त गर्ने प्रक्रियामा, धेरैजसो मानिसहरूले झुटा अगुवाहरूसम्बन्धी लगभग केही न केही समझ प्राप्त गर्छन्; अर्थात्, धेरैजसो मानिससँग झुटा अगुवाहरूको कतिपय विशेष प्रकटीकरणबारे थोरथोरै बुझाइ हुन्छ। तर तेरो बुझाइ जेजस्तो भए नि वा तैँले जेजति बुझे नि, अन्ततः त्यो पर्याप्त रूपले व्यवस्थित वा विशिष्ट हुँदैन। मण्डली चुनावको अवधिमा, धेरै मानिसहरूले अगुवा चुन्ने सिद्धान्तहरू बझ्न सक्दैनन्, र अगुवाको रूपमा कस्ता व्यक्तिलाई चुन्ने र कस्तो व्यक्तिले अगुवाको रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको वचनका वास्तविकतामा ल्याउन सक्छ, र कस्तो व्यक्ति योग्य अगुवा हो भनेर बुझ्न सक्दैनन्। तिनीहरूलाई यी कुराबारे त्यति थाहा वा स्पष्ट हुँदैन। कतिपय त भ्रमित र समझहीन मानिसहरूसमेत हुन्छन्, जसले चुनावमा हाकाहाकी झुटा अगुवाहरू चुन्छन्, अगुवाको क्षमता र मानवता भएका अगुवा बन्न साँच्चै योग्य र सक्षम व्यक्तिप्रति आँखा चिम्लेर झुटो अगुवाजस्तो व्यक्ति चुन्छन्। आधारभूत रूपमा अगुवा हुने क्षमता र मानवता नै नहुनेहरू बस बाहिरी उत्साह वा केही असल व्यवहारको कारण र “असल” बारे मानिसहरूको धारणासँग मिल्दो भएकै कारण चयन हुन्छन्, जबकि वास्तवमा नेतृत्व लिन सबै योग्यता हुनेहरू कहिल्यै चयन हुँदैनन्। आकर्षणको केन्द्रबिन्दु हुन र आफूलाई उत्साहपूर्वक समर्पित गर्न खोज्नेहरू—तर आधारभूत रूपमा अदक्ष रहेकाहरू—सधैँ हरप्रकारका परिवेशमा देखा पर्छन्, र अत्यन्तै सक्रिय देखिन्छन्, र धेरैजसो मानिसहरूले यस्तो व्यक्ति नै योग्य हो र उसैलाई चयन गर्नुपर्छ भनेर सोच्छन्। परिणामस्वरूप, यस्ता मानिसहरू चुनिएपछि, तिनीहरूले कुनै काम काँधमा लिन सक्दैनन्। तिनीहरूले माथिका कार्य बन्दोबस्तहरू लागू गर्नसमेत सक्दैनन्, न त तिनीहरूलाई त्यो कसरी लागू गर्ने भनेर नै थाहा हुन्छ। तिनीहरूले आफूलाई सधैँ एकदमै उत्साहपूर्वक व्यस्त राख्‍ने गर्छन्, तर तिनीहरूले केही समय नेतृत्व गरेपछि पनि मण्डलीको कुनै पनि काममा सुधार आउँदैन र अलिकति पनि प्रगति हुँदैन, अनि दुष्ट मानिसहरूले बाधा पुऱ्याउने र शक्ति हडप्ने भएर मण्डलीको काम प्राय अस्तव्यस्त हुने वा मानिसहरू एकजुट नहुने परिस्थिति भइरहन्छ। झुटा अगुवाहरूको कामले ल्याउने परिणामहरू यिनै हुन्। झुटो अगुवा चयन भएपछि, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश प्रभावित हुने र त्यसमा हानि पुग्ने मात्र होइन, त्यससँगै मण्डलीको कामका विभिन्न पक्षहरूमा समेत नकारात्मक असर पर्नेछ, जसले गर्दा सुसमाचार प्रचारप्रसारको काम सहज वा प्रभावकारी ढङ्गमा सञ्चालन गर्न सकिँदैन। यो आंशिक रूपमा झुटो अगुवा आफैले गराएको समस्या हो, तर यो आंशिक रूपमा उसलाई चयन गर्नेहरूसित पनि सम्बन्धित छ। यदि तँ सत्यता सिद्धान्तहरू बुझ्दैनस्, तँमा समझशक्ति छैन, र तँ आँखा चिम्लन्छस् र मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्दैनस् जसले गर्दा तँ झुटो अगुवा चुन्न पुग्छस् भने, तैँले आफू र अरूलाई हानि गर्ने मात्र होइन, यसले गर्दा मण्डलीको काममा समेत हानि पुग्छ। यही नै झुटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको काममा पुऱ्याउने प्रभाव र हानि हो। तसर्थ, हामीले झुटा अगुवाहरूका विभिन्न प्रकटीकरण चिन्नैपर्छ र तिनको सूची तयार गर्नैपर्छ, अनि त्यसको आधारमा म तिमीहरूलाई योग्य अगुवाले कुनकुन व्यवहारहरू देखाउनुपर्छ, कस्तो काम गर्नुपर्छ, र ठ्याक्‍कै रूपमा उसको जिम्मेवारीको दायरा के हो भनेर बुझाउनेछु। झुटा अगुवाहरू चिन्ने विषय अत्यन्तै महत्त्वपूर्ण छ, किनभने यसले मण्डलीको कामबारे, परमेश्‍वरका चुनिएका मानिसहरू हरेकको जीवन प्रवेशबारे, र विशेषगरी प्रत्येक कर्तव्यमा केकस्तो प्रगति हुँदै छ भन्‍नेबारे बताउँछ। कतिले भन्‍न सक्छन्: “चुनावमा उठ्ने मेरो अभिप्राय छैन, न त ममा अगुवा वा सेवक बन्ने कुनै महत्त्वाकाङ्क्षा वा चाहना नै छ। म आफूबारे सचेत छु, र साधारण विश्‍वासी हुन यति भए पुग्छ, त्यसैले सत्यता सिद्धान्तहरूको यो पक्षसित मेरो कुनै सम्बन्ध छैन। यदि मैले सुन्न चाहेँ भने, मेरो आफ्नै जीवन प्रवेश र मुक्तिबारेका कुरा सुन्नेछु। झुटा अगुवाहरूका विभिन्न प्रकटीकरण र त्यहाँ समावेश सत्यताहरू मेरो जीवन प्रवेशमा सान्दर्भिक छैनन्, त्यसैले मैले सुन्नुपर्दैन वा म ध्यान नदिई वा आधा मनले सुन्दै हृदयमा नलिई यतिकै प्रक्रियाबाट गुज्रन मात्र सक्छु।” के यो राम्रो मनोवृत्ति हो? (होइन।) अरू भन्छन्: “ममा महत्त्वाकाङ्क्षा छैन, र म अगुवाको उम्मेदवार हुन चाहन्नँ। मैले बाल्यकालदेखि नै अधिकारी बन्ने वा अरूभन्दा अलग्गै देखिने अभिप्राय कहिल्यै राखिनँ, मलाई त सामान्य, साधारण व्यक्ति बन्न नै मन पर्छ। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेकै क्षणदेखि अनुयायी बन्न चाहेको छु। मलाई अरूको आदेश पालन गर्न मन पर्छ, र म उनीहरूले जे अह्राउँछन् त्यो गर्छु। यस्तो व्यक्ति हुनु कति सरल हुन्छ! म त चिन्ता गर्न वा बोझ बोक्न नचाहने सामान्य व्यक्ति मात्र हुँ, त्यसैले मैले यी कुराहरू सुन्नु आवश्यक छैन, न त म सुन्न नै चाहन्छु।” यो दृष्टिकोण सही हो कि गलत? (यो सही होइन।) यसमा के सही होइन? (तिनीहरूले अगुवा हुन नचाहे पनि, यदि सत्यताको यो पक्ष बुझ्दैनन् र झुटा अगुवाहरू चिन्न सक्दैनन् भने, चुनावमा तिनीहरूले झुटो अगुवालाई चुन्ने सम्भावना एकदमै धेरै हुन्छ, जसले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर गर्नेछ।) यो एउटा पक्ष हो। अरू कुनै कुरा? (झुटा अगुवाहरूको समस्या हामी प्रत्येकमा हुन्छ, र हामीले आफूलाई जाँच्नुपर्छ, बुझ्नुपर्छ र आत्मचिन्तन गर्नुपर्छ।) (यदि हामीले झुटा अगुवाहरू चिन्न सकेनौँ भने हामी कहिले तिनीहरूद्वारा भ्रमित पारिनेछौँ भनेरसमेत थाहा पाउनेछैनौँ, र हाम्रो जीवनले कष्ट भोग्नेछ।) (यस्तो दृष्टिकोण सत्यता नपछ्याउनुको प्रकटीकरण हो। परमेश्‍वरको घरमा अगुवा बन्नु र महत्त्वाकाङ्क्षी हुनु अनि संसारमा अधिकारी बन्न चाहनु एउटै कुरा होइन। अगुवा हुनु भनेको सत्यता अझ राम्ररी पछ्याउनु, मण्डलीको कामको बोझ बोक्नु, र परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुनु हो। यो सत्यताप्रति लागिपर्नु हो।) (परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एक भएको नाताले, हामीसँग झुटा अगुवाहरूको रिपोर्ट गर्ने दायित्व र जिम्मेवारी हुन्छ। यदि हामी झुटा अगुवाहरू चिन्न सक्दैनौँ भने, तिनीहरूलाई शक्ति हत्याउन र मण्डलीको काममा असर पार्न दिन सक्छौँ।) त्यसमा कति पक्ष छन्? (पाँच पक्ष।) यी पाँचै पक्ष सही छन्, र निकै सटीक छन्। मैले भर्खरै बताएको खालको व्यक्तिको दृष्टिकोणको आधारमा यो समस्याको सार चिरफार गर्दा, त्यसमा मूलतः यी पाँच पक्ष छन्। तैँले अगुवा बन्न चाहे नि वा नचाहे नि, परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एकको रूपमा अगुवा र सेवकहरूको सुपरिवेक्षण गर्ने भूमिका निभाउनुपर्छ। परमेश्‍वरको घर तेरो पनि घर हो, र अगुवा भनेको एउटा सानो घर हेरचाहकर्ता हो। यदि उसले राम्ररी कामकुरा व्यवस्थापन गर्दैन भने, त्यसले तँलाई पनि असर गर्नेछ र मुछ्नेछ, त्यसैले तँसँग तिनीहरूका सबै काम सुपरिवेक्षण गर्ने जिम्मेवारी र दायित्व हुन्छ।

अगुवा र सेवकहरूका पन्ध्र जिम्मेवारीहरूको सिंहावलोकन

झुटा अगुवाहरू चिन्न गाह्रो छैन, किनभने यस्तो व्यक्ति मण्डलीभित्र आम नहुने कुरै हुँदैन; तिनीहरू मण्डली नेतृत्व र मण्डली कार्य सुरु भएदेखि नै अस्तित्वमा रहँदै आएका छन्। तिनीहरूको सामर्थ्य र बोध क्षमता, चरित्र र रोजाइको मार्ग सबैमा कैयौँ निश्‍चित प्रकटीकरणहरू हुन्छन्। यी निश्‍चित प्रकटीकरणहरूबारे चिरफार गर्नुअघि, हामीले पहिला अगुवा र सेवकहरूका जिम्मेवारीहरू केके हुन्, र त्यसमा मुख्यतः केकस्तो खास काम समावेश हुन्छ भनेर बुझ्नुपर्छ। यो खास काम राम्ररी गर्न सक्नेहरू मात्र योग्य अगुवा र सेवकहरू हुन्; यो काम गर्न नसक्नेहरू झुटा अगुवाहरू हुन्। सायद धेरैजसो मानिसहरूसँग झुटा अगुवाहरू चिन्ने तरिका अझै नहुन सक्छ, र तिनीहरूले आधारभूत सिद्धान्तहरू नबुझ्न सक्छन् र कुन पक्षहरू चिन्नु सबैभन्दा महत्त्वपूर्ण छ भनेर नजान्‍न सक्छन्। आज, पहिला हामी अगुवा र सेवकहरूका जिम्मेवारीहरू एकएक गरी सूचीबद्ध गरेर ती ठ्याक्कै केके हुन् भनी व्यवस्थित ढङ्गमा सङ्गति गरौँ, ताकि सबैलाई प्रस्ट बुझाइ होस्। यी सिद्धान्तहरू बुझेपछि, फेरि अगुवा र सेवकहरू चयन गर्दा, तँसँग ठ्याक्कै कसरी चयन गर्ने र ठ्याक्कै कोचाहिँ चयन गर्नुपर्ने सही व्यक्ति हो भनेर मापन गर्ने सही मानक हुनेछ। त्यसैले, पहिला अगुवा र सेवकहरूका जिम्मेवारीहरू सूचीबद्ध गरौँ।

अगुवा तथा सेवकहरूका कर्तव्यहरू:

१. मानिसहरूलाई परमेश्‍वरको वचन खान र पिउन तथा बुझ्‍न अनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने।

२. हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुनु र तिनीहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने विविध कठिनाइहरूको समाधान गर्ने।

३. हरेक कर्तव्य उचित तरिकाले पालना गर्नको निम्ति बुझ्‍नुपर्ने सत्य सिद्धान्तहरू सङ्‍गति गर्ने।

४. विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामहरूप्रति जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूको बारेमा सुसूचित रहने र आवश्यक परेमा तिनीहरूका कर्तव्य हेरफेर गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने ताकि अनुचित मानिसहरूलाई काममा राख्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस् र कार्यकौशलता र प्रगति निर्बाध भइरहोस्।

५. प्रत्येक कामको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्‍ने, अनि समस्याहरूलाई तुरुन्तै समाधान गर्ने, विचलनहरूलाई सच्याउने र काममा नदेखिने त्रुटिहरूको निदान गर्ने ताकि कामको प्रगति सहज होस्।

६. सबै किसिमका योग्य प्रतिभाको प्रवर्द्धन र व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउने ताकि सत्यलाई पछ्याउने सबैले तालिम प्राप्त गर्ने मौका प्राप्त गर्न सकून् र जति सक्दो चाँडो सत्य वास्तविकतामा प्रवेश गरून्।

७. फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षको आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।

८. काममा अलमल र कठिनाइहरू उत्पन्‍न भएको अवस्थामा चाँडै रिपोर्ट गर्ने र मार्गनिर्देशनको खोजी गर्ने।

९. आवश्यकताको आधारमा, कार्यान्वयनको स्थितिको मार्गनिर्देशन, निगरानी, सुपरिवेक्षण, निरीक्षण र अनुगमन प्रदान गर्दै परमेश्‍वरको घरको विभिन्‍न कार्य बन्दोबस्तलाई सही ढङ्‍गबाट सञ्‍चार, जारी र कार्यान्वयन गर्ने।

१०. परमेश्‍वरका घरका विभिन्‍न सम्पत्तिहरूलाई (पुस्तकहरू, विभिन्‍न उपकरण, खानेकुराहरू र यस्तै अन्य कुराहरू) उचित तरिकाले भण्डारण गर्ने र विवेकपूर्वक वितरण गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू हडप्‍न वा दुरुपयोग गर्न नदिने।

११. विशेषगरी भेटीलाई व्यवस्थित ढङ्‍गबाट दर्ता, मिलान र भण्डारण गर्ने कार्यको निम्ति पर्याप्त मानवता भएका भरपर्दा मानिसहरू छान्‍ने; आय र व्ययलाई निरन्तर जाँच गर्ने ताकि फजुल खर्च र खेर जाने स्थितिका साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्‍ने र उचित क्षतिपूर्ति माग गर्ने; यसअलावा, जुनसुकै माध्यम प्रयोग गरेर भए पनि, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र दुरुपयोग हुनदेखि जोगाउने।

१२. परमेश्‍वरको काम र मण्डलीहरूको सामान्य सुव्यवस्थालाई खलबल्याउने र बाधा पुर्‍याउने विभिन्‍न मानिस, घटना, चीजबीजहरूलाई तुरुन्ते र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्‍ने, सीमित गर्ने र परिस्थितिलाई सही बनाउने। यसका अतिरिक्त, सत्यको सङ्‍गति गर्ने ताकि परमेश्‍वरका चुनिएका जनहरू यस्ता कुराहरूमा थप समझदार बनून् र ती कुराहरूबाट सिकून्।

१३. परमेश्‍वरका चुनिएका जनहरूलाई ख्रीष्टविरोधीको बाधा, छल, नियन्त्रण र हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई चिन्‍न र आफ्नो हृदयबाट तिनीहरूलाई त्याग्‍न सिकाउने।

१४. सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चाँडै पहिचान, शोधन र निष्कासन गर्ने।

१५. सबै किसिमका महत्त्वपूर्ण काम गर्ने व्यक्तिहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र महत्त्वपूर्ण काम व्यवस्थित ढङ्‍गबाट अगाडि बढोस् भनेर तिनीहरूलाई सुरक्षित राख्‍ने।

अगुवा र सेवकहरूका जिम्मेवारीहरू कुल पन्ध्र बुँदामा सारांशीकृत गरिएका छन् र हामी यिनै आधारमा सङ्गति गर्नेछौँ। पहिला यी पन्ध्र बुँदाका प्रत्येक काम हेरौँ। पहिलो तीन बुँदामा मानिसहरूले सत्यता बुझ्ने र जीवन प्रवेशको मुद्दाबारे बताइएको छ। अगुवा र सेवकहरूले गर्नुपर्ने सबैभन्दा आधारभूत काम यही हो, र यो प्रमुख कार्यवर्गहरूमध्ये एक हो। अगुवा वा सेवकको रूपमा, तैँले सबैभन्दा आधारभूत रूपमा यी कामहरू गर्न सक्नैपर्छ, तँमा यस्तो क्षमता हुनैपर्छ, यस्तो बोझ हुनैपर्छ, र तैँले यो जिम्मेवारी उठाउन सक्नैपर्छ। तँमा हुनुपर्ने सबैभन्दा आधारभूत कुराहरू यिनै हुन्। अगुवा र सेवकहरू परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्न, ती वचनहरूबाट अभ्यासको मार्ग भेट्टाउन, र मानिसहरूलाई परमेश्‍वरको वचन बुझ्न डोऱ्याउन सक्षम हुनैपर्छ, र तिनीहरू मानिसहरूलाई परमेश्‍वरका वचनहरू अनुभव गर्न र वास्तविक जीवनमा ती वचनहरूमा प्रवेश गर्न र तिनलाई वास्तविक जीवनमा परिणत गर्न, ती वचनहरू प्रयोग गरेर वास्तविक जीवनमा र कर्तव्य निभाउने दौरान आइपर्ने विभिन्न समस्या वा कठिनाइहरू हल गर्न डोऱ्याउन सक्षम हुनैपर्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूसँग अगुवा वा सेवकले समाधान गर्नुपर्ने समस्याहरू छन्, तर त्यो अगुवा वा सेवकले ती समस्या हल गर्न सत्यता प्रयोग गर्न सक्दैन भने, त्यो अगुवा वा सेवक सबैभन्दा आधारभूत कामसमेत गर्न नसक्ने निकम्मा हो। यस्तो अगुवा वा सेवक अयोग्य हो। चौथो र पाँचौँ बुँदाले मण्डलीको कामका विविध क्रियाकलाहरू र ती क्रियाकलापका सुपरिवेक्षकहरूबारे बताउँछन्। यदि अगुवा र सेवकहरूले सुपरिवेक्षकहरूलाई उचित रूपमा रेखदेख गर्दैनन् भने, मण्डलीको काम दुष्ट मानिसहरूद्वारा अस्तव्यस्त पारिन वा बिथोलिन सक्छ, यसले कामको प्रभावकारिता र प्रगतिमा प्रभाव पार्नेछ, र काम नै ठप्पसमेत हुन सक्छ। तसर्थ, चौथो र पाँचौँ कार्यहरू पनि योग्य अगुवाले राम्ररी गर्नैपर्ने कुराहरू हुन्। छैटौँ र सातौँ बुँदाले सबै प्रकारका मानिसहरूको बढुवा, संवर्धन र प्रयोगबारे बताउँछन्। मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्त भनेको सबैलाई सर्वोत्तम रूपमा सदुपयोग गर्नु हो, अनि जबसम्‍म मानिसहरूसँग मानकअनुरूपको मानवता हुन्छ र जबसम्‍म तिनीहरूले परमेश्‍वरको घरका आवश्यक मानकहरू पूरा गर्न सक्छन्, तबसम्‍म सबै प्रकारका मानिसले आफ्नो कर्तव्य निभाउन सक्छन्। अर्थात्, सबै प्रकारका मानिसहरूलाई उचित कर्तव्य निभाउन सक्षम हुन दे; भैँसीलाई नुहाएर जबरजस्ती गाई बनाउने कोसिस गर्नुपर्दैन, यदि कुनै व्यक्ति कुनै कामको लागि उपयुक्त छ, उसले त्यो राम्ररी गर्न सक्छ, र ऊ दक्ष छ भने त्यो पर्याप्त हुन्छ। त्यसबाहेक, कतिपय काममा प्रविधि, व्यावसायिक पक्षहरू समावेश हुन्छन्, र कति मानिसहरू तिनमा राम्रा हुन सक्छन् तर वास्तवमा तिनीहरूले त्यो क्षेत्रमा कुनै काम गरेकै हुँदैनन्, न त सान्दर्भिक सिद्धान्तहरू नै बुझ्छन्। यदि ती मानिसहरूले परमेश्‍वरका घरमा बढुवा र संवर्धन पाउने मानक पूरा गर्छन् भने, तिनीहरूलाई मौका दिएर बढुवा र संवर्धन गर्नुपर्छ, ताकि तिनीहरूले सिक्न सकून्। यसरी परमश्‍वरको घरले विभिन्न काम गर्ने अझ उपयुक्त मानिसहरू पाउन सक्छ, र विभिन्न कामको लागि मण्डलीलाई मानिसहरूको खाँचो पर्दा रिक्त स्थान हुनेछैन। मानिसहरूलाई बढुवा र संवर्धन, अनि प्रयोग गर्ने दुई पक्षका मुद्दाहरू यिनै हुन्। आठौँ र नवौँ बुँदा हेरौँ: यी दुई बुँदाले अगुवा र सेवकहरूले कामलाई कुन मनोवृत्तिले लिन्छन् भन्‍नेबारे बताउँछन्, अर्थात्, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा बफादारी छ कि छैन, अनि परमेश्‍वरका मापदण्डहरू र उहाँको घरका बन्दोबस्तहरूप्रति व्यवहार गर्दा र काममा कठिनाइहरू आइपर्दा तिनीहरूसित असल काम गर्ने क्षमता छ कि छैन भन्‍नेबारे बताउँछन्। दसौँ र एघारौँ बुँदाले परमेश्‍वरको घरका भेटीहरू र सबै प्रकारका सम्पत्तिप्रति गरिने व्यवहारपछिका सिद्धान्तहरूबारे बताउँछन्। एकातिर, यी दुई बुँदाले मानिसहरूको क्षमता र कार्य योग्यताबारे बताउँछन्, र अर्कोतिर तिनले मानवताका समस्याहरूबारे, र व्यक्तिमा बफादारी छ कि छैन, र उसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ कि सक्दैन भन्नेबारे बताउँछन्। अब बाह्रौँ, तेह्रौँ र चौधौँ बुँदा हेरौँ, जुन मण्डलीमा हुने केही असाधारण परिस्थितिहरूबारे छन्, जस्तै कसैले मण्डलीको सामान्य जीवनमा अवरोध र बाधा र अशान्ति मच्चाउँदै गरेको अवस्था। अवश्य नै, सबैभन्दा गम्भीर कुरा भनेको ख्रीष्टविरोधीहरू वा हटाइनुपर्ने वा निष्कासित गरिनुपर्ने खालका अन्य मानिसहरू देखा पर्नु हो। यस्ता मानिसहरूलाई कसरी र कुन सिद्धान्तहरूअनुसार सम्हाल्ने भन्ने कुरा पनि अगुवा र सेवकहरूको जिम्मेवारीको दायराभित्र पर्ने काम हो। समस्याहरू तुरुन्तै पत्ता लगाउन सक्नु, र कसैले अवरोध र बाधा पुऱ्याइरहेको थाहा पाउँदा त्यसलाई तुरुन्तै रोक्न, सम्हाल्न र समाधान गर्न, अनि मण्डलीको काम र मण्डली जीवनमा बाधा नपुगोस् भन्‍ने सुनिश्‍चित गर्न सक्नु—यी तीन बुँदाले चर्चा गर्ने मुद्दाहरू यिनै हुन्। अन्तिम बुँदाले सबै प्रकारका महत्त्वपूर्ण कर्मचारीहरूको व्यक्तिगत सुरक्षाको मुद्दाबारे, साथै सबै प्रकारका महत्त्वपूर्ण कामको ग्यारेन्टी दिन सकिन्छ कि सकिँदैन भन्ने मुद्दाबारे बताउँछ। कर्मचारीहरू सुरक्षित छन् भने कार्यप्रगति हुन सक्छ, तर यदि कर्मचारीको सुरक्षामा समस्या वा गुप्त खतराहरू आए भने, काम अघि बढ्न सक्छ कि सक्दैन भन्ने सवाल उठ्छ। जम्मा कतिवटा प्रमुख कार्यवर्गहरू छन् भनेर फर्केर हेरौँ। पहिलो, दोस्रो, र तेस्रो बुँदाहरू पहिलो कार्यवर्ग हुन्: मानव जीवन प्रवेश। चौथो र पाँचौँ बुँदाहरू दोस्रो कार्यवर्ग हुन्: मण्डलीको कामका विविध क्रियाकलापहरू र ती क्रियाकलापहरूका सुपरिवेक्षकहरू। छैटौँ र सातौँ बुँदा तेस्रो कार्यवर्ग हुन्: सबै प्रकारका मानिसहरूको प्रयोग, संवर्धन र बढुवा। आठौँ र नवौँ बुँदा चौथो कार्यवर्ग हुन्: परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू र कामका कठिनाइहरू। दसौँ र एघारौँ बुँदाहरू पाँचौँ कार्यवर्ग हुन्: परमेश्‍वरको घरका भेटी र सम्पत्तिहरू। बाह्रौँ, तेह्रौँ र चौधौँ बुँदाहरू छैटौँ कार्यवर्ग हुन्: मण्डलीमा घटित हुने असाधारण परिस्थितिहरू। पन्ध्रौँ बुँदा सातौँ कार्यवर्ग हो: मण्डलीको महत्त्वपूर्ण काम र कर्मचारीहरूको सुरक्षा। पन्ध्रवटा बुँदाहरू समावेश सातवटा कार्यवर्ग छन्। यी सात कार्यवर्गहरू अगुवा र सेवकहरूको जिम्मेवारीको दायराभित्र छन्, र ती तिनीहरूको कामका भाग हुन्। अगुवा वा सेवकको रूपमा, तेरो कामका सबैभन्दा महत्त्वपूर्ण क्रियाकलापहरू यिनै सात कार्यवर्गहरू हुन्, अनि यी सात कार्यवर्गहरू अगुवा वा सेवकको लागि परमेश्‍वरको घरका मापदण्डहरूका दायरा हुन्। यदि हामी कुनै अगुवाले राम्रो काम गर्न सक्छ कि सक्दैन, ऊ दक्ष छ कि छैन, ऊसँग अगुवा हुने क्षमता छ कि छैन, र ऊ योग्य अगुवा हो कि होइन भनेर मापन गर्न चाहन्छौँ भने, हामीले यी सात कार्यवर्गहरू प्रयोग गर्नुपर्छ। यो कुरा बुझेपछि, हामीले यी सात प्रमुख कार्यवर्गहरूको आधारमा, झुटा अगुवाहरूको प्रकटीकरण र विशेष अभ्यासहरू, साथै तिनीहरू झुटा अगुवा हुन् र योग्य व्यक्ति होइनन् भनेर प्रमाणित गर्ने तिनीहरूले आफू अगुवा हुँदा गरेका कुराहरूबारे एकएक गरी सङ्गति र चिरफार गर्नेछौँ। यी सात कार्यवर्गहरूअनुसार मापन गर्दा निर्णायक प्रमाण निस्कन्छ, र यो तुलनात्मक रूपमा निष्पक्ष र उचित हुन्छ। लौ भन् त, हामीले एकएक गरी यी सात कार्यवर्गमा कि पन्ध्र बुँदामा सङ्गति गर्नुपर्छ? कुन तरिका उत्तम हो? (पन्ध्र बुँदालाई एकएक गरी सङ्गति गर्नु।) त्यो तिमीहरूको रुचिसँग मिल्छ—जति विस्तृत, उति राम्रो, होइन र? अब हामी झुटा अगुवाहरूका विविध प्रकटीकरणहरूबारे औपचारिक रूपमा सङ्गति थाल्नेछौँ।

विषयवस्तु एक: मानिसहरूलाई परमेश्‍वरको वचन खान र पिउन तथा बुझ्‍न अनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने

झुटा अगुवाहरूमा परमेश्‍वरको वचन बुझ्ने क्षमता र योग्यता हुँदैन

झूटो अगुवा भनेको के हो? त्यो निश्चय नै, खास काम गर्न नसक्ने, अगुवाका रूपमा आफ्ना कर्तव्यहरूलाई ध्यान नदिने व्यक्ति हो। उसले कुनै वास्तविकता वा महत्त्वपूर्ण काम गर्दैन; उसले केवल केही सामान्य मामला र सतही कार्यहरू सम्हाल्छ, ती कुराहरू जसको जीवन प्रवेश वा सत्यतासँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूले यो काम चाहे जति नै गरेपनि, यो काम गर्नुको कुनै अर्थ हुँदैन। त्यस कारण यस्ता अगुवाहरू झुटा ठहरिन्छन्। त्यसोभए व्यक्तिले कुनै झूटो अगुवालाई ठ्याक्कै कसरी खुट्ट्याउनुपर्छ? अब हाम्रो विश्लेषण सुरु गरौँ। सुरुमा प्रस्ट पार्नैपर्छ कि कुनै अगुवा वा कामदारको पहिलो जिम्मेवारी भनेको अरूलाई परमेश्‍वरका वचनहरू खान र पिउनमा अगुवाइ गर्नु र अरूले सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने गरी सत्यताबारे सङ्गति गर्नु हो। यो नै कुनै अगुवा साँचो हो कि झूटो हो भनी जाँच्ने सबैभन्दा महत्त्वपूर्ण मापदण्ड हो। उसले अरूलाई परमेश्‍वरका वचनहरू खान र पिउनमा अनि सत्यता बुझ्न अगुवाइ गर्न सक्छ कि सक्दैन, र सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न सक्छ कि सक्दैन भनी हेर्। एउटा अगुवा वा कामदारसित कस्तो क्षमता वा परमेश्‍वरका वचनहरू बुझ्ने सक्षमता छ, र उसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्छ कि सक्दैन भनी जाँच्ने मापदण्ड त्यही मात्र हो। यदि कुनै अगुवा वा कामदार परमेश्‍वरका वचनहरूलाई विशुद्ध रूपमा बोध गर्न र सत्यता बुझ्न सक्षम छ भने, उसले मानिसहरूमा भएका परमेश्‍वरमाथिको आस्थाबारे धारणा र कल्पनाहरूलाई परमेश्‍वरका वचनहरूअनुसार समाधान गर्नुपर्छ, र मानिसहरूलाई परमेश्‍वरको कामको व्यावहारिकता बुझ्न मदत गर्नुपर्छ। उसले परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गर्ने वास्तविक कठिनाइहरू, विशेषगरी तिनीहरूका आस्थामा भएका गलत विचारहरू वा कुनै कर्तव्य पूरा गर्नेबारे गलतफहमीहरू पनि उहाँका वचनहरूअनुसार समाधान गर्नुपर्छ। उसले मानिसहरूले विभिन्‍न परीक्षा र सङ्कष्टहरू सामना गर्दा सामना गर्ने समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू लागु पनि गर्नैपर्छ, र ऊ परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्न र अभ्यास गर्न, अनि उहाँको वचनको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्न सक्षम हुनैपर्छ। साथै, उसले परमेश्‍वरका वचनहरूद्वारा प्रकट गरिएका स्थितिहरूका आधारमा मानिसहरूका विभिन्‍न भ्रष्ट स्वभावहरूलाई चिरफार गर्नैपर्छ, ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले यीमध्ये कुन तिनीहरूका लागि लागु हुन्छ भनी देख्न, आफूबारे ज्ञान हासिल गर्न र शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सकून्, जसमार्फत परमेश्‍वरका चुनिएका मानिसहरू आफ्नो गवाहीमा दृढ रहन, शैतानलाई पराजित गर्न, र हरप्रकारका परीक्षाहरूमा परमेश्‍वरलाई महिमा दिन सक्षम हुनेछन्। अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो। यो नै मण्डलीको सबैभन्दा आधारभूत, महत्त्वपूर्ण र सारभूत काम हो। यदि अगुवाका रूपमा सेवा गरिरहेका मानिसहरूमा परमेश्‍वरका वचनहरू बोध गर्ने क्षमता र सत्यता बुझ्ने क्षमता छ भने, तिनीहरू परमेश्‍वरका वचनहरू बुझ्न र तिनको वास्तविकतामा प्रवेश गर्न सक्षम हुने मात्र नभई, तिनीहरूले आफूले अगुवाइ गर्नेहरूलाई, परमेश्वरका वचन बुझ्न र तिनको वास्तविकतामा प्रवेश गर्नहेतु मार्गदर्शन, अगुवाइ र सहायता दिन पनि सक्षम हुनेछन्। तर झूटा अगुवाहरूमा नहुने कुरा नै परमेश्‍वरका वचनहरू बोध गर्ने र सत्यता बुझ्ने क्षमता हो। तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्दैनन्, तिनीहरूलाई मानिसहरूले विभिन्‍न परिस्थितिहरूमा प्रकाश गर्ने भ्रष्ट स्वभावहरू जुन उहाँका वचनहरूमा खुलासा गरिन्छन्, ती थाहा नै हुँदैन, वा कस्ता स्थितिहरूले परमेश्‍वरविरुद्ध प्रतिरोध, गुनासो, विश्‍वासघात, आदि पैदा गराउँछन्, इत्यादि थाहा हुँदैन। झूटा अगुवाहरूले आत्मचिन्तन गर्न वा परमेश्‍वरका वचनहरूलाई आफूसित जोड्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थबाट थोरै धर्मसिद्धान्त र केही प्रावधानहरू मात्र बुझ्छन्। तिनीहरूले अरूसँग सङ्गति गर्दा, उहाँका केही वचनहरू वाचन गर्ने, त्यसपछि तिनका शाब्दिक अर्थ व्याख्या गर्ने मात्र गर्छन्। अनि त्यतिमा नै, तिनीहरू आफूले सत्यताबारे सङ्गति गरिरहेको र वास्तविक काम गरिरहेको ठान्छन्। यदि कसैले तिनीहरूलेझैँ परमेश्‍वरका वचनहरू पढ्न र वाचन गर्न सक्छ भने, तिनीहरूले उसलाई सत्यतालाई प्रेम गर्ने र सत्यता बुझ्ने व्यक्ति ठान्‍नेछन्। झूटो अगुवाले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ मात्र बुझ्छ; उसले मूलतः परमेश्‍वरका वचनहरूको सत्यता बुझ्दैन, त्यसकारण ऊ तीसम्बन्धी आफ्नो अनुभवात्मक ज्ञानबारे कुरा गर्न असक्षम हुन्छ। झूटा अगुवाहरूमा परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता हुँदैन; तिनीहरूले तिनको सतही अर्थ मात्र बुझ्न सक्छन्, तर त्यो नै उहाँका वचनहरू र सत्यता बुझ्नु हो भन्ने विश्वास गर्छन्। दैनिक जीवनमा तिनीहरू अरूलाई सल्लाह दिन र मदत गर्नका लागि सधैँ परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको व्याख्या गर्छन्, अनि त्यसो गर्नु भनेको काम गर्नु हो, र तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन साथै तिनका वास्तविकतामा प्रवेश गर्न अगुवाइ गरिरहेका छन् भन्‍ने विश्‍वास गर्छन्। तथ्य के हो भने, झूटा अगुवाहरूले बारम्बार परमेश्‍वरका वचनहरूबारे अरूसँग यसरी सङ्गति गर्ने भए पनि, तिनीहरूले सानो वास्तविक समस्यालाई पनि समाधान गर्न सक्दैनन्, अनि परमेश्‍वरका चुनिएका मानिसहरू उहाँका वचनहरू अभ्यास वा अनुभव गर्न असक्षम भई बस्छन्। तिनीहरू भेलाहरूमा चाहे जति नै सहभागी हुने वा परमेश्‍वरका वचनहरू जति नै खाने र पिउने गरे पनि, तिनीहरू सत्यता बुझ्दैनन्, न त तिनीहरूसँग जीवन प्रवेश नै हुन्छ, साथै तीमध्ये कसैले पनि आफ्ना अनुभवात्मक ज्ञानबारे कुरा गर्न सक्दैनन्। दुष्ट मानिस र अविश्‍वासीहरूले मण्डलीमा बाधा दिइरहेका भए पनि, तिनीहरूलाई कसैले खुट्ट्याउन सक्दैन। कुनै झूटो अगुवाले कुनै अविश्‍वासी वा दुष्ट व्यक्तिले बाधा सिर्जना गरिरहेको देख्दा, उसले समझशक्ति प्रयोग गर्दैन, बरु उसलाई प्रेम र अर्तीहरू दिन्छ, अरूलाई ऊप्रति सहनशील र धैर्यवान् हुन आग्रह गर्छ, र यी मानिसहरूलाई मण्डलीमा बाधा सिर्जना गरिरहन दिन्छ। यस कारणले गर्दा मण्डलीको प्रत्येक काम अत्यन्तै फलहीन हुन्छ। यो एक झूटो अगुवाले खास काम गर्न नसक्नुको परिणाम हो। झूटो अगुवाहरूले समस्याहरू समाधान गर्नहेतु सत्यता प्रयोग गर्न सक्दैनन्, जुन तिनीहरूमा सत्यता वास्तविकता छैन भन्‍ने देखाउन पर्याप्त हुन्छ। जब तिनीहरू बोल्छन्, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र ओकल्छन्, साथै तिनीहरूले अरूलाई अभ्यास गर्न भन्ने कुरा धर्मसिद्धान्त र प्रावधान हरू मात्र हुन्छन्। उदाहरणका लागि, जब कसैले परमेश्‍वरबारे गलतफहमी विकास गर्छ, तब झूटा अगुवाहरूले उसलाई यसो भन्‍नेछ, “परमेश्‍वरका वचनहरूले यो सबै पहिल्यै समेटिसके: परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो मानिसको मुक्ति हो, त्यो प्रेम हो। हेर त, उहाँका वचनहरू कति प्रस्ट र खुलस्त छन्। तिमीले अझै पनि कसरी उहाँलाई गलत बुझ्न सक्छौ?” झूटा अगुवाहरूले मानिसहरूलाई यस्तै निर्देशन दिन्छन्। तिनीहरू मानिसहरूलाई चेतावनी दिन शब्द र धर्मसिद्धान्तहरू ओकल्ने गर्छन्, तिनीहरूलाई, बन्धनमा पार्छन्, र प्रावधानहरू पालना गर्न लगाउँछन्। यो अलिकति पनि प्रभावकारी हुँदैन, र यसले कुनै समस्याहरू समाधान गर्न सक्दैन। झूटा अगुवाहरूले मानिसहरूलाई मार्गदर्शन गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्, जसले ती मानिसहरूलाई धर्मसिद्धान्तहरू बोल्न सक्नुको अर्थ तिनीहरू सत्यता वास्तविकताहरूमा प्रवेश गरेका छन् भन्‍ने हो भनी सोच्ने तुल्याउँछ। तैपनि तिनीहरूलाई कुनै कठिनाइ आइपर्दा, तिनीहरूलाई कसरी अभ्यास गर्ने भनी थाहा हुन्न, तिनीहरूसित कुनै मार्ग हुँदैन, र तिनीहरूले बुझेका सारा शब्द र धर्मसिद्धान्तहरू छेउ लाग्छन्। यसले के देखाउँछ? यसले धर्मसिद्धान्तहरू बुझ्नु बिलकुलै उपयोगी वा मूल्यवान् हुँदैन भन्‍ने देखाउँछ। झूटा अगुवाहरूले बुझ्ने एउटा मात्रै कुरा भनेको धर्मसिद्धान्त हो। तिनीहरूले समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनन्; तिनीहरूका कार्यहरूमा कुनै सिद्धान्तहरू हुँदैनन्, र जीवनमा तिनीहरूले आफूलाई राम्रा लागेका केही प्रावधानहरू पालना गर्ने काम मात्र गर्छन्। यस्ता मानिसहरूमा सत्यता वास्तविकताहरू हुँदैनन्। त्यसैले, झूटा अगुवाहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्दा, कुनै वास्तविक असर हुँदैन। तिनीहरूले केवल मानिसहरूलाई परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ बुझ्ने तुल्याउन सक्छन्, र उनीहरूलाई परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि प्राप्त गर्न वा उनीहरूमा कस्ता भ्रष्ट स्वभावहरू छन् भनी बुझ्न मदत गर्न सक्दैनन्। झूटा अगुवाहरूले मानिसहरूका स्थितिहरू के हुन् वा कुनै पनि निश्चित परिस्थिति सामना गर्दा, मानिसहरूले कस्तो स्वभाव सार प्रकाश गर्छन्, यी त्रुटिपूर्ण स्थितिहरू र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न परमेश्‍वरका कुन वचनहरू प्रयोग गर्नुपर्छ, तीबारे परमेश्‍वरका वचनहरूमा के भनिएको छ, परमेश्‍वरका वचनहरूका माग र सिद्धान्तहरू के हुन्, वा तीभित्रका सत्यताहरू के हुन् भन्‍ने कुरा बुझ्दैनन्। झूटा अगुवाहरूले यी सत्यता वास्तविकताहरूबारे केही पनि बुझ्दैनन्। तिनीहरू मानिसहरूलाई यसो भनेर सल्लाह मात्र दिन्छन्, “परमेश्‍वरका अझै धेरै वचनहरू खाने र पिउने गर। तिनमा सत्यता छ। तिमीले उहाँका वचनहरू अझ धेरै पढेपछि बुझ्नेछौ। यदि तिमीले तीमध्ये कुनै-कुनै बुझ्दैनौ भने, तिमीले तीबारे अझ धेरै प्रार्थना, खोजी, र मनन गर्नुपर्छ।” तिनीहरूले यसरी नै मानिसहरूलाई परामर्श दिन्छन्, र त्यसो गरेर तिनीहरूले समस्याहरू समाधान गर्न सक्दैनन्। जोसुकैले समस्या सामना गरेर तिनीहरूबाट खोजी गर्न आएपनि, तिनीहरूले एउटै कुरा भन्छन्। पछि, त्यस व्यक्तिले अझै पनि आफूलाई चिनेको हुँदैन र अझै पनि सत्यता बुझ्दैन। तिनीहरूले आफ्नै वास्तविक समस्या समाधान गर्न, वा तिनीहरूले परमेश्‍वरका वचनहरू कसरी अभ्यास गर्नुपर्छ भनी बुझ्न सक्नेछैनन्, अनि तिनीहरूले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ र प्रावधान हरू मात्र पालना गर्नेछन्। परमेश्‍वरका वचनहरू अभ्यास गर्नुका सत्यता सिद्धान्तहरू वा तिनीहरूले प्रवेश गर्नुपर्ने वास्तविकताहरूको कुरा आउँदा, तिनीहरूले ती अझै पनि बुझ्दैनन्। झूटा अगुवाहरूको कामबाट यही नतिजा आउँछ: एउटा पनि वास्तविक नतिजा आउँदैन।

परमेश्‍वर मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भन्ने मापदण्ड दिनुहुन्छ। सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा—कुल छवटा शब्दहरू, तर के तिमीहरू तिनको अर्थ बुझ्छौ? (हामी सबैलाई धर्मसैद्धान्तिक रूपमा थाहा छ, परमेश्‍वर मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भन्ने मापदण्ड दिनुहुन्छ, तर हामीलाई आफूले लुगा लगाउँदा भद्र वा शिष्ट भनेको के हो भनी मापन गर्ने तरिका थाहा हुँदैन।) यसले सत्यता बुझिएको छ कि छैन भन्ने समस्याबारे बताउँछ। यदि तँ यो मापन गर्न सक्दैनस् भने, त्यसले तँ परमेश्‍वरको वचन बुझ्दैनस् भनेर प्रमाणित गर्छ। त्यसोभए, परमेश्‍वरको वचन बुझ्नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरले कुरा गर्नुहुने भद्रता र शिष्टता वा अझ विशेष गरी, लुगाको रङ र स्टाइलको मापदण्ड बुझ्नु हो। कुन रङ र स्टाइल भद्र र शिष्ट हो? सत्यता बुझ्ने क्षमता भएकाहरूलाई भद्र र शिष्ट के हो, अनि अनौठो के हो भन्ने थाहा हुन्छ। कतिपय लुगा भद्र र शिष्ट भए पनि, ती पुरानो शैलीका हुन्छन्। परमेश्‍वर पुरानो शैलीका कुराहरू मन पराउनुहुन्न, र उहाँले मानिसहरूलाई विगतको शैली अनुकरण गर्नू वा पाखण्डी फरिसीहरू बन्नू भनेर भन्नुहुन्न। परमेश्‍वरले “भद्र र शिष्ट” भन्नुको अर्थ सामान्य मानव स्वरूप हुनु, श्रेष्ठ, सुशिष्ट र दुनियाँको चालामाला बुझेको देखिनु हो। परमेश्‍वर मानिसहरूलाई अनौठो लुगा लगाउन आग्रह गर्नुहुन्न, न त गरिब व्यक्तिले जस्तो फाटेको लुगा लगाओ भनेर नै भन्‍नुहुन्छ, बरु उहाँ त मानिसहरूले सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा लुगा लगाऊन् भन्ने भन्‍नुहुन्छ। सामान्य मानिसहरूको बुझाइ यही हो। तर यो कुरा सुनेपछि, एउटा झुटो अगुवा एकदमै जोस्सियो, र उसले यसो भन्यो: “परमेश्‍वरको वचनले हामीलाई कसरी लुगा लगाउने भन्ने दायरा दिन्छ। ‘सन्तको शालीनतासहित भद्र र शिष्ट ढङ्गमा’—यदि हामीले यी छ शब्दहरू पालन गऱ्यौँ भने, परमेश्‍वरलाई महिमित पार्नेछौँ, उहाँलाई लज्जित बनाउनेछैनौँ, र हामी गैरविश्‍वासीहरूमाझ सम्मानित मानिसहरू हुनेछौँ। त्यसोभए, भद्र र शिष्ट भनेको के हो त? यो के हो भने, हामीले मानव स्वरूपमा बोल्ने र कार्य गर्ने गर्नुपर्छ, हामीमा सन्तको जस्तो शालीनता हुनुपर्छ। सन्तहरूको कुरा गर्दा, सामान्यतया हामी प्राचीन सन्तहरूबारे कुरा गर्छौँ। यदि हामी सन्तको जस्तो शालीनता राख्न चाहन्छौँ भने, हामीले प्राचीन सन्तहरूको शैली अनुकरण गर्नुपर्छ, तर यदि तँ प्राचीन लुगा लगाएर हिँड्ने हो भने, मानिसहरूले पागल ठान्नेछन्। यो परमेश्‍वरको आदर गर्ने सिद्धान्तअनुरूप हुँदैन, तर हालसालैको समयमा सन्तहरूले लगाएका लुगाहरूको केही प्रमाण हुनुपर्छ, जुन हामीले खोज्न सक्छौँ। केही दशकअघि सामाजिक परिवेश अझ राम्रो थियो। मानिसहरू अझ सरल थिए, अनि अझ परम्परागत र उचित ढङ्गमा लुगा लगाउँथे। यदि यो मानकअनुसार लुगा लाइन्थ्यो भने, भद्र र शिष्ट भइन्थ्यो, र सन्तको शालीनता आउनेथ्यो। अभ्यासको मार्ग यही हो।” उसले १९७० र १९८० दशकका मानिसहरूले सेतो कमिज र निलो पतलुन लगाउँथे भन्ने थाहा पाएर दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्यो, “मैले परमेश्‍वरका वचनमा ज्योति देखेको छु। सत्तरी र अस्सी दशकका मानिसहरू निकै उचित र सरल वस्‍त्र लगाउँथे। उनीहरूलाई मर्यादित भन्न सकिँदैनथ्यो, तर त्यो परमेश्‍वरको वचनहरूका मापदण्डसँग धेरै मेल खाएको देखिन्छ, त्यसैले हामी यो मानकअनुसार लुगा लगाउनेछौँ।” त्यो अगुवाले यस्तो लुगा लगाउनमा नेतृत्व लियो, र सबैले त्यो राम्रो, निकै शिष्ट र सरल देखिन्छ भन्ने ठाने। त्यो अगुवाले भन्यो: “परमेश्‍वरले अनौठो लुगा नलगाउनू भन्नुभएको छ। सर्वप्रथम, कमिजको टाँक घाँटीसम्म, र बाहुलाको सबै टाँक लगाउनुपर्छ। नाडी देखिनु हुँदैन, कमिज पतलुनभित्र घुसार्नुपर्छ, र सबै कुरा पूरै छोपिएको हुनुपर्छ, छाती वा ढाड ह्वाङ्गै हुनु हुँदैन। ओहो, त्यो कत्ति भ्रद्र र शिष्ट हुन्छ! के यो परमेश्‍वरले मापदण्ड दिनुभएझैँ भद्र र शिष्ट, अनि सन्तको जस्तो शालीनताअनुरूप हुँदैन र?” त्यो अगुवा आफूले त्यो क्षण लगाइरहेको पहिरनमा एकदमै रमायो, र त्यही बेला उसले अरूमाथि पनि त्यस्तै माग थोपऱ्यो, “तिमीहरूको लुगा एकदमै आधुनिक, एकदमै फेसनदार छ। त्यसले परमेश्‍वरलाई लज्जित तुल्याउँछ, र उहाँलाई त्यो मन पर्दैन। सबैजनाले छिटो मैले लगाएजस्तो लुगा लगाऊ, मजस्तै होऊ!” समझहीन मानिसहरूले जे भनियो त्यही गरे, सन्तको जस्तो शालीनता भएको तथाकथित भद्र र शिष्ट पहिरन खोजेर लगाए, अनि धेरैजसो मानिसहरूले त्यो राम्रो हो भन्नेसमेत सोचेँ। तर कति मानिसलाई यी पुरानो शैलीका कुराहरूदेखि हृदयमा घृणा लाग्यो, अनि यसो गर्नु अनुचित हो, र परमेश्‍वरको वचनको यो बुझाइ विकृत हो भन्ने महसुस भयो। यी मानिसहरूले अगुवाको कुरा सुन्नु सही हो कि गलत हो भनेर स्पष्टसित भन्न नसके नि र कुनै निष्कर्ष निकाल्ने आँट नगरे नि, अन्धाधुन्ध भीडलाई नपछ्याउन पैरवी गरे। तिनीहरूलाई अगुवाले भनेको कुरा पूर्णतया सही होइन भन्ने लाग्यो, र तिनीहरूले त्यो पालन गरेनन्। मन्द बुद्धिका, परमेश्‍वरको वचन बुझ्ने क्षमता नभएका, र परमेश्‍वरको वचन नपढ्नेहरूले मात्र झुटो अगुवाले जे भन्यो त्यही माने, अनि आफूलाई जे गर् भन्यो त्यही गरे र जसरी गर् भनियो त्यसरी गरे। तिनीहरूले त्यो झुटो अगुवालाई पछ्याए र उसको अनुकरण गरे, बहिर जाँदा उसकै जस्तो लुगा लगाए। तिनीहरू आफू बाहिर भीडमाझ जाँदैपिच्छे, निकै आनन्द मान्थे र सोच्थे “हामी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौँ, र मेरो पहिरनमा एकदमै धेरै सन्तको जस्तो शालीनता छ। तिमीहरू के लगाइरहेका छौ? कति भड्किलो, कति आधुनिक, कति दुष्ट! हामीलाई हेर त, हामीले केही पनि देखाइरहेका छैनौँ!” तिनीहरूले आफूलाई अद्‌भुत ठाने। त्यो झुटो अगुवाले त्यो परमेश्‍वरको वचनलाई गलत अर्थ्याउनु हो भनेर बुझ्न सक्‍नु त परै जाओस्, बरु उल्टै आफूले वास्तवमै परमेश्‍वरको वचन अभ्यास गरिरहेको छु र आफू आफ्नो वास्तविकतामा प्रवेश गरिरहेको छु भन्नेसमेत ठान्यो। झुटा अगुवाहरूले गर्ने यही हो। मानिसहरूले बुझ्ने सबैभन्दा सरल र सजिला परमेश्‍वरका मापदण्डहरूको कुरामा समेत, झुटा अगुवाहरूले परमेश्‍वरको वचनले बताउने कुरा, त्यसका आवश्यक मानकहरू, वा सिद्धान्तहरू साँचो रूपमा बुझ्न सक्दैनन्। त्यसोभए के तिनीहरूले मानवजातिको भ्रष्ट स्वभाव वा हरप्रकारका मानव अवस्थाबारे परमेश्‍वरले बताउनुहुने कुराहरू बुझ्न सक्छन् त? के तिनीहरूले यहाँ ठ्याक्कै सत्यता के छ भनेर जान्न सक्छन् त? अवश्य नै सक्दैनन्।

झुटा अगुवाहरूसँग परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता हुँदैन; तिनीहरूले परमेश्‍वरले भन्‍नुभएको कुरा उहाँका वचनहरूको शाब्दिक अर्थबाट मात्र जान्दछन् तर परमेश्‍वरका वचनहरूले केकस्ता सत्यताहरू व्यक्त गर्छन्, परमेश्‍वर मानिसहरूलाई के मापदण्ड दिनुहुन्छ, वा मानिसहरूले केकस्ता सत्यता सिद्धान्तहरू बुझ्नुपर्छ भनेर बुझ्दैनन्। तसर्थ, तिनीहरूले परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दा, तिनका केही शाब्दिक अर्थ मात्र लगाउँछन् र मानिसहरूलाई पालन गर्न केही नियम, केही प्रावधान दिन्छन्, अनि आफूले पनि परमेश्‍वरका वचनहरू बुझ्छु र काम गरेको छु भनेर प्रमाणित गर्न यी कुराहरू प्रयोग गर्छन्। कति झुटा अगुवाहरूले त परमश्‍वरका वचनहरू स्पष्ट छँदै छन्, तर मानिसहरू सधैँ ती खान र पिउन वा तिनमा प्रयत्‍न लाउन असफल मात्र हुन्छन् भनेरसमेत सोच्छन्। सबैको हातमा परमश्‍वरका वचनहरूको पुस्तक देखेर तिनीहरू मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन डोऱ्याउनु अनावश्यक ठान्छन्। तसर्थ, जब तिनीहरूले भेलामा वा कर्तव्य निर्वाहमा समस्याहरू भेट्टाउँछन्, तब तिनीहरू मानिसहरूलाई परमेश्‍वरका वचनहरूका केही चुनिएका खण्डहरू मात्र पठाउँछन्, र तिनीहरूलाई यस्तो भन्छन्, “परमेश्‍वरको वचनको यो खण्ड पढ”; “परमेश्‍वरको वचनको त्यो खण्ड पढ” वा “परमेश्‍वरका वचनहरूले यो पक्षबारे यसो भन्छन् र त्यो पक्षबारे त्यसो भन्छन्।” तिनीहरू मानिसहरूलाई परमेश्‍वरका वचनहरूका चुनिएका खण्डहरू मात्र पठाउँछन्, सम्झाउनेबुझाउने शैली प्रयोग गर्दै मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढ्न प्रोत्साहित गर्छन्, र तिनीहरू मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन यसरी नै डोऱ्याउनुपर्छ र आफूले अगुवाको जिम्मेवारी पूरा गरिरहेको छु भन्ठान्छन्। यी वचनहरू देखेपछि मानिसहरू भन्छन्, “मैले परमेश्‍वरका यी वचनहरू पनि पढेको छु; तपाईंले मेरो लागि यी वचनहरू जम्‍मा गर्नु अनावश्यक होइन र?” तथापि, त्यो झुटो अगुवाले सोच्छ, “यदि मैले ती वचनहरू तिमीलाई पठाइनँ भने, तिमीले यी वचनहरू कुन अध्याय वा कुन पृष्ठमा छन् भनेर भेट्टाउन सक्नेछैनौ। तिमीलाई परमेश्‍वरले यी वचनहरू कुन प्रसङ्गमा भन्नुभएको हो भनेरसमेत थाहा हुँदैन। अगुवा भएको नाताले, मैले तिमीलाई परमेश्‍वरका वचनहरू कुनै पनि समय र कुनै पनि ठाउँमा पठाउने यो जिम्मेवारी लिनुपर्छ।” कति झुटा अगुवाहरू त प्रेम व्यक्त गर्दै, कामप्रति आफ्नो बफादारी र मानिसहरूलाई परमेश्‍वरका वचनहरूको वास्तविकतामा डोऱ्याउने सङ्कल्प प्रदर्शित गर्न कसैलाई दिनमा परमेश्‍वरका वचनहरूका दसबीस खण्डहरू नै पठाउँछन्। परमेश्‍वरका यी वचनहरू मानिसहरूलाई पठाउन त पठाइन्छ, तर के तिनीहरूको समस्या हल हुन्छ त? के तिनले अगुवाले खेल्नुपर्ने भूमिका परिपूर्ति गर्छन् त? प्रायः तिनले यो भूमिका परिपूर्ति गर्दैनन्, किनभने यदि मानिसहरू आफैले यी वचनहरू बुझ्न सक्थे त, उनीहरूलाई कुनै अगुवा नै चाहिँदैनथ्यो। झुटा अगुवाहरूले पठाउने परमेश्‍वरका वचनका खण्डहरू वास्तवमा परमेश्‍वरका वचन प्रायः पढिरहनेहरूलाई राम्ररी थाहा हुन्छ, तर मानिसहरूमा केचाहिँ कमी रहेको हुन्छ? तिनीहरूका कठिनाइ र समस्याहरू के हुन्? यो कि, यी सत्यतासँग सम्बन्धित वास्तविक समस्या सन्दर्भमा, कठिनाइहरू आइपर्दा मानिसहरूले यी समस्याहरूको सार छर्लङ्ग देख्न सक्दैनन्, र तिनको समाधान कहाँबाट थाल्ने, र यी सत्यताहरूमा कसरी प्रवेश गर्ने भनेर जान्दैनन्—अनि यी कुरा झुटा अगुवाहरूले पनि जान्दैनन्। त्यसोभए, के तिनीहरूले यो मामिलामा आफ्नो जिम्मेवारी पूरा गरेका छन् त? के तिनीहरू नेतृत्वको काममा दक्ष छन् त? स्पष्टतः तिनीहरूले यो जिम्मेवारी पूरा गरेका छैनन्। उदाहरणको लागि, जब मानिसहरूले परमेश्‍वरका वचनहरूमा इमानदार व्यक्ति हुनेबारे पढ्छन्, तब झुटा अगुवाहरूले परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने भनेर थाहा नभएर अनि सत्यता बोध गर्ने र बुझ्ने क्षमताको कमी भएर, यसो भन्छन्: “परमेश्‍वरका मापदण्डहरू उच्च छैनन्। परमेश्‍वर हामीलाई इमानदार मानिस बन्‍नू भनेर भन्‍नुहुन्छ, र इमानदार हुनु भनेको सत्य बोल्नु हो। के परमेश्‍वरका वचनहरूले यो सब भनेका छैनन् र: ‘तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्’ (मत्ती ५:३७)? परमेश्‍वरका वचनहरू कत्ति स्पष्ट छन्! तिमी हृदयमा जे सोच्छौ त्यही भन; त्यो कत्ति सरल छ! किन तिमी त्यसो गर्न सक्दैनौ? परमेश्‍वरको वचन सत्यता हो, हामीले यो अभ्यास गर्नैपर्छ। अभ्यास नगर्नु विद्रोह गर्नु हो, र के परमेश्‍वरले उहाँको विरोध गर्नेहरूलाई मुक्ति दिनुहुन्छ र? उहाँले दिनुहुन्न।” यो कुरा सुनेर, मानिसहरू जवाफ दिन्छन्, “तपाईंले भनेको सबै कुरा सही हो, तर हामीलाई कसरी इमानदार मानिस बन्ने भनेर अझै थाहा छैन। किनभने धेरैचोटि अनजानमै झुट बोलिन्छ, वा अन्य विकल्प नहुँदा यसो गरिन्छ, र त्यसपछाडि कारण हुन्छ। यसलाई कसरी समाधान गरिनुपर्छ?”अनि त्यो झुटो अगुवाले के भन्छ? “के यसलाई सम्हाल्नु सजिलो छैन र? के परमेश्‍वरका वचनहरूले त्यो प्रस्ट पारेका छैनन् र? इमानदार व्यक्ति हुनु भनेको ठ्याक्कै बालक हुनुजस्तै हो; त्यो कति सरल छ! तिमी जति उमेरको भए नि, के तिमी ठ्याक्‍कै बालकजस्तो हुन सक्दैनौ र? बालबालिका कस्तो व्यवहार गर्छन् भनेर यसो हेर त।” त्यसपछि त्यो सुन्ने व्यक्तिले सोच्छ: “बालकको मुख्य व्यवहार भोला र जीवन्त हुनु, उफ्रिहिँड्नु, अपरिपक्व हुनु, र धेरै कुरा नबुझ्नु हो। अगुवाले यसै भनेकाले, म त्यो यसरी नै गर्नेछु।” भोलिपल्ट, तीस वा चालिस वर्षमाथिकी त्यो व्यक्तिले दुइटा ससाना चुल्ठो बाटेकी हुन्छे, गुलाबी हेडब्यान्ड र हेयरक्लिप, अनि गुलाबी कमिज, गुलाबी जुत्ता र गुलाबी मोजा लगाएकी हुन्छे, उसको पूरै पहिरन गुलाबी हुन्छ। यो देखेर अगुवाले भन्छ, “यो ठिक छ! अझै बालकजस्तो उफ्रँदै हिँड। बालकजस्तो अझ नादान भएर बोल, आँखामा दुष्टपन नहोस्, र मुहार हँसिलो होस्—के यो बचपना व्यवहारमा फर्कनु होइन र? इमानदार व्यक्तिको बर्ताव यही हो!” त्यो अगुवा निकै खुसी हुन्छ, जबकि अरूलाई भने यो मुर्ख्याइँ, र असामान्य व्यवहार लाग्छ। यो झुटो अगुवा समस्या हल गर्न सक्‍नु त कता हो कता, उसलाई त सत्यता सिद्धान्तहरू कसरी खोज्ने भनेरसमेत तातोभुत्लो केही थाहा थिएन, र यसरी उसले मानिसहरूलाई बेबकुफीको मार्गमा डोऱ्यायो। इमानदार व्यक्ति बन्ने सबैभन्दा सरल सत्यताका सन्दर्भमा समेत, झुटो अगुवाले त्यो कसरी सही र शुद्ध रूपमा बुझ्ने भनेर केही जान्दैन, र अन्धाधुन्ध नियमहरू लागू गर्नतिर लाग्छ, र त्यसलाई यति विकृत रूपमा बुझ्छ कि सुन्नेहरूलाई त्यसदेखि घिन लागेर आउँछ। झुटा अगुवाहरूले गर्ने भनेकै यही हो।

झुटा अगुवाहरूले परमेश्‍वरका वचनहरूलाई हरतरिकाले बुझ्छन्, र विभिन्न विचित्र र अनौठा दृष्टिकोणहरू प्रस्तुत गर्छन्। तिनीहरूले आफूले परमेश्‍वरका वचनहरू अभ्यास गरेको र पछ्याएको बहाना पनि गर्छन्, र अरूले तिनीहरूको बुझाइ स्विकारून् र पालन गरून् भनेर दबाब दिन्छन्। सङ्क्षेपमा भन्‍नुपर्दा, यी झुटा अगुवाहरूजस्ता मानिसहरूसँग प्रायः परमेश्‍वरका वचनहरूको सतही र विकृत बुझाइ हुन्छ। त्यसलाई व्याख्या गर्न आत्मिक शब्द प्रयोग गर्ने हो भने, हामी तिनीहरूमा “आत्मिक बुझाइको कमी छ” भन्‍न सक्छौँ। परमेश्‍वरका वचनहरूबारे तिनीहरूको बुझाइ विकृत त हुन्छ नै, त्यसमाथि तिनीहरूले अरूले यी विकृत धर्मसिद्धान्त र नियमहरू तिनीहरूले जस्तै पालन गरून् भनेर प्रायः दबाब पनि दिन्छन्। अनि यसैबीच, तिनीहरूले सत्यताको शुद्ध बुझाइ हुनेहरूलाई निन्दा गर्न पनि आफ्नो विकृत बुझाइ प्रयोग गर्छन्। आत्मिक बुझाइ नभएका यी झुटा अगुवाहरूले परमेश्‍वरका वचनहरूलाई ख्रीष्टविरोधीहरूले जसरी जाँच्‍ने र विश्‍लेषण गर्ने गर्दैनन्। झट्ट हेर्दा लाग्छ तिनीहरू परमेश्‍वरका वचनहरूलाई खानेपिउने र स्विकार्ने आज्ञाकारी मनोवृत्तिले लिन्छन्। तर तिनीहरूको कमजोर क्षमता र परमेश्‍वरका वचनहरू बुझ्ने असक्षमताको कारण, तिनीहरू परमेश्‍वरका वचनहरूलाई पाठ्यपुस्तकझैँ ठान्छन्, र परमेश्‍वरका वचनहरू “एक र एक जोड्दा दुई हुन्छ, दुई र दुई जोड्दा चार हुन्छ” भन्‍ने तर्कअनरूपकै हुन्छन् भन्ने सोच्छन्। तिनीहरूलाई परमेश्‍वरका वचनहरू सत्यता हुन्, र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न व्यक्तिले परमेश्‍वरका वचनहरूमा बताइएका सत्यताहरूले के जनाउँछन्, अनि यी सत्यताहरूमा केकस्ता विभिन्न अवस्था र विषयवस्तु समावेश हुन्छन् भनी बुझ्‍नुपर्छ। जब अरूले परमेश्‍वरका वचनहरूलाई एकदमै ठोस र व्यावहारिक तरिकामा बुझ्छन्, तब तिनीहरू त्यसलाई सतही र सुन्न अयोग्य मान्छन्, र यसो भन्छन्, “म त्यो सब बुझ्छु, मलाई सबै कुरा थाहा छ। तिमीले बताइरहेको कुरा परमेश्‍वरका वचनहरूमा पहिल्यै स्पष्टसित व्याख्या गरिएको छ, किन तिमीले त्यो भनिरहनुपऱ्यो र?” वास्तवमा, तिनीहरूलाई अरूले छलफल गरिरहेका कुरामा परमेश्‍वरका वचनका सत्यताहरूसँग सम्बन्धित विशेष विषयवस्तु समावेश छ भन्ने थाहै हुँदैन। यी झुटा अगुवाहरूसँग आत्मिक बुझाइको कमी हुने र परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता नहुने हुनाले, तिनीहरू सबै सत्यता लगभग एउटै हुन्, सत्यताहरूले बताउने मुद्दाहरूमाझ कुनै विशेष भिन्नता हुँदैन भन्ने सोच्छन्; तिनीहरूलाई लाग्छ, यी कुराबारे अनन्तसम्म कुरा गरे पनि, ती सबै मूलतः एउटै मुद्दा हुन्। यस्तो विश्‍वासले गम्भीर समस्या सङ्केत गर्छ, र त्यसले गर्दा यस्ता व्यक्तिहरूले कहिल्यै सत्यता बुझ्दैनन्।

झुटा अगुवाहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोऱ्याउन सक्दैनन्

अब यहाँ राम्रो क्षमता र बुझ्ने सामर्थ्य भएका केही यस्ता व्यक्तिहरू छन्, जसले परमेश्‍वरका आधारभूत वचनहरूको केही अनुभव र प्रवेश प्राप्त गरिसकेका छन्, र तिनीहरूमा केही सत्यता वास्तविकता छ, तर तिनीहरूलाई अझ विशेष मार्गदर्शन र नेतृत्व चाहिएको छ ताकि तिनीहरूको प्रवेश अझ राम्रो र अझ विस्तृत हुन सकोस्। झुटा अगुवाहरूले मात्र सत्यताका निश्‍चित वृत्तान्तले के जनाउँछन् वा किन ती त्यस्तो तरिकामा बताइएका छन् भनेर बुझ्न सक्दैनन्, तिनीहरू त्यो भनेको परिस्थितिलाई अनावश्यक रूपमा जटिल पार्नु वा शब्दहरूद्वारा खेल खेल्‍नु हो भन्ने सोच्छन्। तिनीहरू सत्यतामा समावेश विविध पक्ष कसरी बुझ्ने वा अनुभव गर्ने भनेर बुझ्दैनन् वा जान्दैनन्। तसर्थ, तिनीहरूले अगुवा बनेपछि गर्न सक्ने भनेकै मानिसहरूलाई सामान्य रूपमा सङ्गति गरिएका परमेश्‍वरका वचन खान र पिउन डोऱ्याउनु, र त्यसपछि केही धर्मसिद्धान्तहरूबारे बोल्नु, र नियमहरू पालन गर्ने केही अभ्यास विधि सारांशीकृत गर्नु मात्र हो, अनि मानिसहरूले तिनीहरूबाट प्राप्त गर्ने कुरा भनेको पनि केही सतही आत्मिक शब्द र सामान्य रूपमा बोलिएका वचन र धर्मसिद्धान्त, नियम र नाराहरू मात्र हो। नयाँ विश्‍वासीहरूको लागि झुटा अगुवाहरूको प्रचार मुस्किलले एक वा दुई वर्षसम्म प्रभावकारी हुन सक्छ, तर एक वा दुई वर्षपछि, केही सत्यता बुझिसकेकाहरूले झुटा अगुवाहरूका भनाइ र शैलीहरू चिन्न थाल्छन्। आधारभूत तवरमा बुझ्ने क्षमता नभएकाहरूको हकमा चाहिँ, झुटा अगुवाहरूले जसरी प्रचार गरे पनि, तिनीहरूलाई केही महसुस हुँदैन, केही थाहा हुँदैन, र यी अगुवाहरूले प्रचार गरिरहेका कुरा केवल वचन र धर्मसिद्धान्त हुन् अनि तिनीहरू आफैले बुझेको कुरा पनि केवल केही खोक्रो सिद्धान्त, नारा र नियम मात्र हुन्, जुन सत्यता हुँदै होइनन् भनेर थाहै हुँदैन। यी प्रकटीकरणहरूको आधारमा, के झुटा अगुवाहरूले “मानिसहरूलाई परमेश्‍वरको वचन खान र पिउन अनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न डोऱ्याउने” जिम्मेवारी पूरा गर्न सक्छन्? के तिनीहरूले यो भूमिका निभाउन सक्छन्? के तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? मुख्य समस्या के हो? (यस्ता मानिसहरूमा आत्मिक बुझाइको कमी हुन्छ र उनीहरू सत्यता बुझ्न सक्दैनन्।) तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ र तिनीहरू सत्यता बुझ्न सक्दैनन्, तैपनि अझै अरूलाई डोऱ्याउन चाहन्छन्—यो एकदमै असम्भव कुरा हो! झुटा अगुवाहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू बुझ्न र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न मार्गदर्शन गर्छन् भनेर आशा गर्नु त खोलालाई उँभो फर्काउन खोज्नुजस्तै हो—त्यो हुनेछैन! उदाहरणको लागि, इमानदार व्यक्ति हुने कुरालाई नै लिऊँ: यो कुरामा परमेश्‍वरका वचनहरू निकै सरल छन्, ती केही वाक्य मात्र छन्, जटिल छैनन्। अलिकति शिक्षा पाएका हरकोहीलाई यी वचनहरूको अर्थ के हो भन्ने थाहा हुन्छ। तर झुटा अगुवाहरूले आफू कामको लागि र मानिसहरूलाई डोऱ्याउनको लागि सक्षम भएको प्रमाणित गर्न परमेश्‍वरका वचनहरूको आधारमा विस्तारसँग बताउँछन्: “मानिसहरू इमानदार हुनुपर्ने परमेश्‍वरको मापदण्डको के महत्त्व छ? यो कि, इमानदार व्यक्ति हुनु परमेश्‍वरले प्रेम गर्ने कुरा हो। गैरविश्‍वासीहरू इमानदार हुँदैनन्, तिनीहरू सत्यता बताउँदैनन्, र तिनीहरूले भन्ने सबै कुरा झुटा र छली हुन्छन्; सम्पूर्ण संसार झूटोपनले भरिएको ठूलो राष्ट्र हो। तसर्थ, मानिसहरू इमानदार हुनु नै परमेश्‍वरले आज आउनुहुँदा मापदण्ड तोकेको पहिलो कुरा हो। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्‍वरले तँलाई प्रेम गर्नुहुनेछैन; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले मुक्ति पाउन सक्दैनस्, न तँ राज्यमा प्रवेश गर्न नै सक्छस्; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्दैनस्, र तँ निश्‍चित रूपले छली व्यक्ति होस्; यदि तँ इमानदार व्यक्ति होइनस् भने, तँ योग्य सृष्टि गरिएको प्राणी होइनस्।” के अब तिमीहरूले इमानदार व्यक्ति कसरी बन्ने भनेर बुझ्यौ? (अहँ।) यो सबपछि पनि यो कुरा अझै स्पष्ट छैन। यो कुरा सुनेपछि नयाँ विश्‍वासीहरूलाई भने यी शब्दहरू उत्कृष्ट लाग्‍छ, आफू धर्ममा बीसतीस वर्ष रहँदासमेत नसुनेको कुरा लाग्छ। कतिले त यसोसमेत भन्छन्: “यी वचनहरू शक्तिशाली छन्, हरेक वाक्य ‘आमेन’ भन्न लायक छ। यो प्रवचन एकदमै राम्रो छ, यो साँच्चै राज्यको युगको प्रवचन हो!” त्यसपछि त्यो झुटो अगुवाले आफ्नो कुरा जारी राख्छ: “परमेश्‍वर हामी इमानदार बनेको माग गर्नुहुन्छ, त्यसोभए के हामी इमानदार मानिस हौँ त?” कतिले यस्तो सोच्छन्: “परमेश्‍वरले हामीलाई इमानदार मानिस होओ भनेर भन्दै हुनुहुन्छ, त्यसको अर्थ हामी अझै इमानदार मानिस होइनौँ।” कति त चुपचाप बस्छन् र यस्तो सोच्छन्, “म आफूलाई निकै सोझो मान्छु। म अरूसँग कहिल्यै लडाइँ गर्दिनँ, र व्यापार गर्दा, म कसैलाई पनि ठग्ने आँट गर्दिनँ। कहिलेकाहीँ, यदि मैले सानो फाइदा लिएँ भने, राती सुत्नसमेत सक्दिनँ। के म इमानदार व्यक्ति हुँ? मलाई त आफू सोझो व्यक्ति हुँ भन्ने लाग्छ, के त्यसको अर्थ यो इमानदार व्यक्ति हुनुजस्तै होइन र?” अरू भन्छन्, “म त स्वाभावैले झूट बोल्न सक्दिनँ। आफूले कुनै असत्य कुरा भनेँ भने, मेरो अनुहार रातो हुन्छ, त्यसैले म पक्कै पनि इमानदार व्यक्ति हुनुपर्छ, होइन र?” त्यसपछि त्यो झुटो अगुवाले कुरा थप्छ, “तिमी इमानदार व्यक्ति भए नि नभए नि, परमेश्‍वरको वचनले हामीलाई इमानदार हुनुपर्ने माग गर्ने हुनाले, तिमी इमानदार व्यक्ति हुनु आवश्यक छ। यति तिमी परमेश्‍वरका वचनअनुसार चल्छौ भने, इमानदार व्यक्ति हौ। त्यसपछि तिमी छलीपनबाट, र शैतानको अन्धकार प्रभावको बन्धनबाट मुक्त हुन्छौ। तिमी इमानदार व्यक्ति बनेपछि, सत्यता वास्तविकतामा प्रवेश गर्छौ, आफ्नो कर्तव्य पूरा गर्न सक्छौ, र परमेश्‍वप्रति समर्पित हुन सक्छौ।” के अब तिमीहरूले कसरी इमानदार व्यक्ति हुने भनेर बुझ्यौ? (अहँ।) तैपनि, कतिपय आनन्दित हुन्छन्: “यी शब्दहरू शक्तिशाली छन्। आमेन! हरेक वाक्य सही छ। यो कुनै पनि परमेश्‍वरका वचनबाट सिधै आएको होइन, तर यो सबै परमेश्‍वरका वचनहरूबाट बुझिएको हो। यो बुझाइ असाधारण छ! किन म यसरी बुझ्न सक्दिनँ? यस्तो लाग्छ, यो अगुवा उपाधिको साँच्चै योग्य छ, ऊ साँच्चै नेतृत्व गर्न नै बनेको हो!” यो कुरा सुनेपछि क्षमता र तीक्ष्णता भएका मानिसहरू यस्तो सोच्छन्: “तिमीले इमानदार व्यक्ति भनेको के हो भनेर व्याख्या गरेकै छैनौ। व्यक्ति ठ्याक्कै कसरी इमानदार बन्न सक्छ त?” त्यो झुटो अगुवा भन्दै जान्छ: “इमानदार व्यक्ति हुनु भनेको झुटो नबोल्नु हो। उदाहरणको लागि, यदि तिमीले पहिले व्यभिचार गरेका छौ भने, परमेश्‍वरलाई प्रार्थना गरेर त्यो कतिपटक गरेको हो त्यो कुरा स्विकार। यदि तिमीलाई परमेश्‍वरलाई देख्न वा छुन सकिँदैन भन्ने लाग्छ भने, अगुवासामु त्यो स्विकार्नुपर्छ, सबै कुरा स्पष्टसँग भन। खुलस्त भएर स्वीकार गर्नु इमानदार व्यक्ति हुने सबैभन्दा आधारभूत मापदण्ड हो। त्यसबाहेक, यो आफ्नो हृदयको कुरा बताउनु, कुनै कुरामा झुटोपन नमिसाउनु हो। तँ कुनै कुराबारे कसरी सोच्छस्, तँमा कस्ता अभिप्रायहरू छन्, तँ कस्तो भ्रष्टता प्रकट गर्छस्, तँ कसलाई घृणा गर्छस् वा तैँले हृदयमा कसलाई सरापेको छस्, तँ कसलाई हानि गर्न वा कसको विरुद्ध षड्यन्त्र गर्न चाहन्छस्—यी सबै ती व्यक्तिहरूसामु स्विकार्नुपर्छ। यसो गरेर तँ खुलस्त र स्पष्टवादी बन्छस्, र ज्योतिमा जिउँछस्। इमानदार व्यक्ति हुनु भनेको यही हो। इमानदार व्यक्तिले आफ्नो अहम् त्याग्‍नुपर्छ; उसले आफ्नो हृदयको सबैभन्दा दुष्ट र अँध्यारो पाटो देखाउन र चिरफार गर्न सक्‍नुपर्छ।” यो सुनेर, के अब तिमीहरूले कसरी इमानदार व्यक्ति हुने भनेर बुझ्यौ? (अझै बुझेनौँ।) यो कुरा सुनेपछि पनि व्यक्तिले बुझ्‍ने भनेको धर्मसिद्धान्त मात्र हुन्छ, कुनै खास अभ्यास हुँदैन। झुटा अगुवाहरूमा परमेश्‍वरका वचनहरूको यस्तो बुझाइ हुने भएकोले, तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन यसरी नै डोऱ्याउँछन्, र सङ्गति पनि यसरी नै गर्छन्, र आफूले परमेश्‍वरका वचनहरू सबैभन्दा बढी बुझेको, आफूसँग परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता भएको, र आफूले मानिसहरूलाई परमेश्‍वरका वचनहरूको वास्तविकतामा डोऱ्याउन सक्ने ठान्छन्। तर वास्तवमा, तिनीहरूले बुझ्‍ने र सङ्गति गर्ने कुरा त धर्मसिद्धान्त र नाराहरू मात्र हुन्छन्, जसले सत्यता वास्तविकता खोज्न र सत्यता सिद्धान्तहरू बुझ्न चाहनेहरूलाई कुनै मद्दत गर्दैनन्। तैपनि, झुटा अगुवाहरू आफूसँग बुझ्ने क्षमता एकदमै धेरै छ, आफूसँग परमेश्‍वरका वचनहरूबारे अद्धितीय अन्तर्दृष्टि छ, र आफू साधारण मानिसहरूभन्दा श्रेष्ठ हुँ भन्ठान्छन्। तिनीहरू यत्रतत्र यी धर्मसिद्धान्त र नाराहरू प्रचार गरिहिँड्छन्, र आफूलाई अरूसँग दाँज्नेसमेत गर्छन्, र प्रायः यी धर्मसिद्धान्त र नाराहरू प्रयोग गरेर भनाभनमा संलग्‍न हुन्छन्, अनि बारम्बार ती प्रयोग गरेर मानिसहरूमाथि भाषण, काटछाँट, न्याय, र निन्दा गर्छन्। तिनीहरूले यसो गरेर आफूले काम गरिरहेको, परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनमा ल्याइरहेको, र परमेश्‍वरका वचनहरू लागू गरिरहेको ठान्छन्। के यो समस्याजनक मामिला होइन र? झुटा अगुवाहरू परमेश्‍वरका वचन बुझ्न सक्दैनन्, तिनीहरू मानिसहरूलाई परमेश्‍वरका वचनहरूको वास्तविकतामा डोऱ्याउन सक्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढेपछि, केही वचन र धर्मसिद्धान्त मात्र सङ्गति गर्न सक्छन्, तैपनि यत्रतत्र प्रचार गर्दै र देखावा गर्दै हिँड्छन्। तर वास्तवमा तिनीहरू परमेश्‍वरका वचनहरूको कुनै सत्यता बुझ्दैनन्। उदाहरणको लागि, तिनीहरू आत्मिक शब्दहरू वा त्यस्तै अभिव्यक्तिहरू बुझ्दैनन्, न त तिनीहरूलाई तीबीचको भिन्नता वा कसरी तिनलाई वास्तविक परिस्थितिसँग मिल्दो बनाउने भन्ने नै थाहा हुन्छ। तिनीहरूले नियमहरू पालन गर्नु अनि शब्द र सिद्धान्तहरू ओकल्‍नेबाहेक, तिनीहरूमा परमेश्‍वरका वचनहरूको साँचो बुझाइ हुँदैन र तिनीहरूले साँचो रूपमा ती अभ्यास गर्दैनन्। तसर्थ, यो स्पष्ट छ कि झुटा अगुवाहरू आफैले सत्यता बुझ्दैनन्, न त तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न डोऱ्याउन नै सक्छन्। हामीले यसलाई इमानदार व्यक्ति हुनेबारेका उदाहरणहरूद्वारा व्याख्या गरेका छौँ। झुटा अगुवाहरूलाई इमानदार व्यक्ति बन्ने सत्यता कसरी बुझ्ने भनेर थाहा नभएर, तिनीहरू शब्द र सिद्धान्तहरू फलाक्‍ने र नाराहरू प्रचार गर्ने, र यसरी मूर्खहरू र आत्मिक बुझाइ नभएका भ्रमितहरूलाई बहकाउने र दिग्‍भ्रमित पार्ने कार्यमा लाग्छन्। यी शब्द र सिद्धान्तहरू सुनेपछि, उनीहरूले झुटा आगुवाहरूलाई अत्यन्तै पुज्छन्, तर तिनीहरूलाई निकै वर्ष पछ्याएपछि पनि सबैभन्दा आधारभूत सत्यताहरूसमेत बुझ्दैनन्, र तिनमा प्रवेश पाउँदै पाउँदैनन्। अब हामी यो बुँदाबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउँछौँ।

विषयवस्तु दुई: हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुने र आफ्नो वास्तविक जीवनमा सामना गरिने विविध कठिनाइहरू समाधान गर्ने (भाग एक)

झुटा अगुवाहरूले हरप्रकारका व्यक्तिका स्थितिहरू छर्लङ्ग बुझ्न सक्दैनन्

अगुवा र सेवकहरूको दोस्रो जिम्मेवारी हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुनु र आफ्नो वास्तविक जीवनमा सामना गरिने विविध कठिनाइहरू समाधान गर्नु हो। झुटा अगुवाहरूले यो कार्य कसरी गर्छन्? के तिनीहरू यो कामको लागि योग्य छन्? अब हामी यो बुँदा चिरफार गरौँ। हरप्रकारको व्यक्तिको स्थितिसँग परिचित हुनु—यो कुन आधारमा हासिल हुन्छ? यो विभिन्न मानिसहरूका भ्रष्ट स्वभाव र सार खुलासा गर्ने परमेश्‍वरका वचनहरू बुझ्ने आधारमा हासिल हुन्छ। विभिन्न मानिसहरूका स्थिति बुझ्न, पहिला मानिसहरूका विभिन्न स्थिति, भ्रष्ट स्वभाव र भ्रष्ट सार खुलासा गर्ने परमेश्‍वरका वचनहरू बुझ्‍नुपर्छ, अनि आफूलाई ती वचनहरूसँग मिल्दो बनाउन सक्नुपर्छ। परमेश्‍वरले खुलासा गर्नुहुने प्रकारका स्वभावहरूले कुन प्रकारका मानिसहरूलाई जनाउँछन्, तिनीहरूको मानवता कस्तो हुन्छ, तिनीहरूमा कस्ता प्रकटीकरण र खुलासाहरू हुन्छन्, अनि परमेश्‍वर, उहाँका वचन र आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति के हो; यी स्थितिहरूलाई परमेश्‍वरका वचनहरूसँग मिल्दो बनाउनुपर्छ, अनि यसो गरेर, विभिन्न व्यक्तिका स्थितिहरू बुझ्न सकिन्छ। त्यसैले, विभिन्न मानिसहरूका स्थितिहरूसँग परिचित हुने कुरा पहिला परमेश्‍वरका वचनहरू बुझ्ने र परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता राख्ने आधारमा हासिल हुन्छ। झुटा अगुवाहरूसँग परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता हुँदैन, त्यसकारण के तिनीहरूले परमेश्‍वरका वचनहरूले खुलासा गर्ने विभिन्न प्रकारका मानिसहरूबारेका जटिल सत्यताहरू, साथै खुलासा गरिने विभिन्न स्थिति र भ्रष्ट सारहरू बुझ्न सक्छन् त? (सक्दैनन्।) तिनीहरू त्यो बुझ्दैनन्, तिनीहरूलाई त्यसमा समावेश सम्बन्धहरू, र संलग्‍न सत्यताहरू थाहा हुँदैन। तिनीहरूमा परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता नहुने हुनाले, विभिन्न मानिसहरूका स्थितिहरू बुझ्नु—यो एकदमै निर्णायक र महत्त्वपूर्ण मामिला—झुटा अगुवाहरूको लागि एकदमै समस्याजनक र कठिन काम हो।

झुटा अगुवाहरूले विभिन्न मानिसहरूका स्थितिहरू कसरी बुझ्छन्? तिनीहरूले सोच्छन्, “यो व्यक्ति उत्साही छ, त्यो व्यक्ति तुच्छ छ, यो व्यक्तिलाई पहिरनमा सजिन मन पर्छ, त्यो व्यक्तिमा थोरै विश्‍वास छ…।” तिनीहरू यी सतही घटनाहरूलाई मात्र हेर्छन्, तर तिनीहरूलाई परमेश्‍वरका वचन र सत्यताप्रति व्यक्तिको मनोवृत्ति साँच्चै कस्तो छ, र तिनीहरूको प्रकृति सार साँच्चै कस्तो छ भनेर थाहा हुँदैन। उदाहरणको लागि, कसैसँग साँचो विश्‍वास हुन्छ र ऊ आफ्नो कर्तव्यनिर्वाहमा ऊर्जावान् हुन्छ, तर उसका पारिवारिक कठिनाइ र अल्झोहरूले उसको कर्तव्यका परिणाममा असर पुर्‍याउँछ; यो देखेर, झुटा अगुवाहरूले तिनीहरूमाथि यसो भन्दै गलत लेबल लगाइदिन्छन्, “यो व्यक्ति अविश्‍वासी हो। ऊ आफ्नो परिवारबाट छुट्टिन सक्दैन। ऊ सधैँ आफ्ना छोराछोरीबारे मात्र सोचिरहन्छ। ऊसँग घरमा पैसाको बचत छ, तर उसले त्यो चढाउँदैन। त्यसैले, यो व्यक्ति एकदमै समस्याजनक छ, र उसलाई भविष्यमा महत्त्वपूर्ण कामको लागि प्रयोग गर्न सकिँदैन।” वास्तवमा यो व्यक्तिको समस्या गम्भीर होइन; उसले भर्खरै परमेश्‍वरमा विश्‍वास गरेकोले र उसमा सत्यताको सतही बुझाइ मात्र भएकोले मात्र उसले धेरै कुरा छर्लङ्गै बुझ्न सक्दैन। उसलाई आफ्नो परिवार र छोराछोरीप्रति केकसरी व्यवहार गर्ने, वा आफ्नो सम्पत्ति कसरी सम्हाल्ने भन्ने थाहै छैन। ऊ अझै पनि प्रार्थना र खोजी गर्ने अवधिमा छ, र उसले अझै पनि अभ्यासका सही सिद्धान्त र विधिहरू भेट्टाएको छैन। ऊसँग सत्यता अभ्यास गर्ने इच्छा छ, तर पारिवारिक उल्झन र कठिनाइहरू आइपर्दा, ऊ क्षणिक रूपमा अलि कमजोर हुन्छ र आफ्नो कर्तव्य निर्वाहमा त्यति सक्रिय हुँदैन। तथापि, उसले आफूलाई मण्डलीले खटाएको काम इमानदारीसाथ पूरा गर्न सक्छ, जुन कुरा धेरैजसो मानिसहरूले गर्नै सक्दैनन्। उसको क्षमता, मानवता, र सत्यताप्रतिको मनोवृत्ति मूल्याङ्कन गर्दा, ऊ असल व्यक्ति हो। तर झुटा अगुवाहरू यसलाई यसरी हेर्दैनन्, किनभने तिनीहरू परमेश्‍वरका वचनहरू नै बुझ्दैनन् र परमेश्‍वरका वचनहरूलाई व्यक्तिको प्रकृति सार के हो, वा व्यक्ति जुन स्थितिमा छ त्यो उसको प्रकृति सार वा क्षणिक कमजोरीको कारण हो कि कदको समस्या हो भनेर मापन गर्ने मानकको रूपमा कसरी प्रयोग गर्ने भनेर जान्दैनन्; तिनीहरू यी कुरा मापन गर्नै सक्दैनन्। यसप्रकारको व्यक्तिले सामना गर्ने कठिनाइहरू त वास्तविक जीवनमा आइरहन्छन् र ती जीवन प्रवेशसँग सम्बन्धित छन्—के झुटा अगुवाहरूले यस्ता समस्याहरू सम्हाल्न सक्छन्? के तिनीहरूले यी मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छन्? (सक्दैनन्।) झुटा अगुवाहरूले विभिन्न मानिसहरूका स्थितिहरू सही ढङ्गमा बुझ्न नसक्ने र विभिन्न मानिसहरूका प्रकृति सारका असल र खराब कुरा सही ढङ्गमा खुट्याउन नसक्ने हुनाले, तिनीहरूले विभिन्न मानिसहरूका कठिनाइ र समस्याहरू पनि सही ढङ्गमा समाधान गर्न सक्दैनन्। बरु त्यसविपरीत, तिनीहरूले केवल उत्साहमा भर परेर, सक्रिय भई आफूलाई समर्पित गर्न, कठिनाइ सहन र मूल्य चुकाउन सक्ने, तर कमजोर क्षमता भएका र बुझ्ने क्षमता नभएकाहरूलाई नै संवधर्नका मुख्य पात्र ठान्छन्, अनि तिनीहरूले यी मानिसहरूलाई कठिनाइहरू आइपर्दा ती समस्या समाधान गर्न सङ्गति गर्छन्। तर साँच्चै क्षमता र राम्रो मानवता भएकाहरूलाई कठिनाइहरू आइपर्दा र उनीहरू अलि कमजोर हुँदाचाहिँ, झुटा अगुवाहरूले ती कुरा कसरी समाधान र हल गर्छन्? यी मानिसहरूलाई कठिनाइ आइपर्दा र उनीहरू अलि कमजोर मात्र हुँदा पनि, परिस्थितिअनुसार उनीहरूलाई साथ र मद्दत प्रदान गरिनुपर्छ; उनीहरूलाई परमेश्‍वरका अभिप्रायबारे सङ्गति दिइनुपर्छ—उनीहरूलाई लेबल लगाउने त कुरै छोडौँ, पूर्ण रूपमा बेवास्ता गरिनुसमेत हुँदैन। तर झटा अगुवाहरू यस्ता मानिसहरूका कठिनाइहरू कसरी समाधान गर्छन्? तिनहरू भन्छन्, “परमेश्‍वरको काम यस्तो चरणमा पुगिसकेको छ, तैपनि तिमी आफ्नो श्रीमान्‌सँग, आफ्ना छोराछोरीसँग टाँस्‍सिइरहन्छौ; तिमी आफ्ना छोराछोरीलाई विश्‍वविद्यालय जान र सम्भाव्यताहरू पछ्याउनसमेत लगाउँछौ। विपत्तिहरू झन्झन् तीव्र हुँदै छन्, यस्तोमा के यो संसारमा अझै कुनै सम्भाव्यताहरू छन् र? तिमी आफ्नै जीवनको ख्याल त गर्न सक्दैनौ, कसरी ती कुराहरूको ख्याल गर्न सक्छौ र? परमेश्‍वरको काम सकिनै लागेको छ, समय कति महत्त्वपूर्ण छ! यदि तिमी पूर्ण रूपमा समर्पित हुँदैनौ भने, के तिमीलाई सृष्टि गरिएको प्राणी भन्न मिल्छ र? के तिमी अझै मानव हौ र?” के यी मानिसहरूका कठिनाइहरू साँच्चै यहीबारे हो त? (होइन।) यी मानिसहरू कठिनाइ आइपर्दा उनीहरूको सानो कदको कारण अलि कमजोर हुन्छन्, उनीहरूले सत्यतालाई प्रेम नगर्ने वा उनीहरू कर्तव्य निभाउन इच्छुक नभएकाले होइन। त्यसकारण, झुटा अगुवाहरूले बोल्ने कुरा उनीहरूको स्थितिसँग मिल्दैन, यो त स्पष्ट रूपमै उनीहरूलाई गलत नाम दिने, उनीहरूको स्थितिको मूल कुरा वा मुख्य पक्ष नबुझ्ने, उनीहरूले साँच्चै के सोचिरहेका छन् भनेर नबुझ्‍ने, र उनीहरू कस्‍ता व्यक्ति हुन् र उनीहरूलाई कठिनाइहरू समाधान गर्न कसरी मार्गदर्शन र मद्दत दिनुपर्छ भनेर नबुझ्ने मामिला हो। झुटा अगुवाहरूलाई यी समस्याहरू कसरी समाधान गर्ने भनेर थाहै हुँदैन। त्यसोभए, यस्ता मामिलाहरू उत्पन्न हुँदा तिनलाई कसरी समाधान गर्नुपर्छ? तैँले भन्न सक्छस्, “तिमीले सामना गरिरहेको मामिला धेरै मानिसहरूलाई आइपर्ने समस्या हो। आफ्नो परिवार छोड्न र आफूलाई परमेश्‍वरको लागि सारा हृदयले अर्पित गर्न सक्नेहरूले आवेगमा काम गरिरहेका हुँदैनन्, बरु धेरै अघिदेखि तयारी गरेका हुन्छन्। पहिला त, तिनीहरूले प्रशस्त सत्यता बुझेका हुन्छन् र आफ्नो परिवार छोड्ने, र आफूलाई परमेश्‍वरको घरमा सारा हृदयले समर्पित गर्ने सच्चा इच्छा राख्छन्, र त्यसको लागि पछि गएर पछुतो नगर्ने ग्यारेन्टी गर्न सक्छन्—तिनीहरूले त्यो सबै राम्रोसँग सोचेका हुन्छन्। त्यसबाहेक, यो अवधिमा तिनीहरूले तयारी गर्न र अगाडिको मार्ग खुल्ला गर्न परमेश्‍वरलाई प्रार्थना पनि गर्छन्, र त्यससँगसँगै आफूलाई सत्यताले सुसज्जित पनि पारिरहन्छन्, र आफूलाई अझ धेरै सत्यता बुझ्‍ने, र परमेश्‍वरको लागि सारा हृदयले आफूलाई अर्पित गर्न सबथोक पन्छाउनमा अझ धेरै विश्‍वास राख्‍ने तुल्याउँछन्। यसको लागि समय, प्रार्थना अनि अवश्य नै परमेश्‍वरका डोऱ्याइ र बन्दोबस्तहरू चाहिन्छ। यदि तिमीमा यस्तो इच्छा छ भने, चिन्ता नगर। परमेश्‍वरलाई प्रार्थना गर र शान्त भई पर्ख, अनि परमेश्‍वरले तिम्रो लागि बन्दोबस्तहरू मिलाइदिनुहुनेछ। यदि तिम्रो प्रार्थना र इच्छा परमेश्‍वरका अभिप्रायअनुरूप छ र त्यसलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ भने, यदि तिमी तयार छौ र परमेश्‍वरले जे गर्नुभए नि समर्पित हुन्छौ अनि पछुतो गर्दैनौ भने, परमेश्‍वरले निश्‍चय नै तिम्रो लागि बाटो खोल्नुहुनेछ। यो अवधिमा, मानिसहरूले तयारी गर्नु र पर्खनुपर्छ; तिनीहरूले गर्न सक्ने एकमात्र कुरा भनेको आफूलाई सत्यताले सुसज्जित पार्नु, परमेश्‍वरका अभिप्रायहरू बुझ्नु, र आफ्नो कदलाई क्रमिक रूपमा बढ्न दिनु हो। परमेश्‍वरले विभिन्न परिवेशहरू मिलाउनुहुँदा, यदि तिमीले परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति कुनै गुनासो नगरी समर्पित हुने छनौट गर्न सक्छौ भने, यही नै कद हुनु हो—परमेश्‍वरले जे गर्नुभए नि वा उहाँले जेजसरी बन्दोबस्त गर्नुभए नि, तिमी समर्पित हुन सक्नेछौ।” तँलाई यस्तो मार्गदर्शन कस्तो लाग्छ? (राम्रो।) एकातिर, तैँले आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुन्छस्, मानिसहरूलाई परमेश्‍वरका अभिप्राय बुझ्न मद्दत गरिरहेको हुन्छस्; त्योसँगसँगै, तैँले तिनीहरूलाई तिनीहरूको क्षमताले नभ्याउने कुरा गर्न बाध्य पारिरहेको हुँदैनस्, बरु तिनीहरूको वास्तविक परिस्थितिअनुसार व्यवहार गरिरहेको हुन्छस्। के यो परमेश्‍वरका वचनहरूद्वारा समस्याहरू समाधान गर्नु होइन र? के यो मानिसहरूले वास्तविक जीवनमा सामना गर्ने कठिनाइहरूलाई उनीहरूको स्थितिको आधारमा समाधान गर्नु होइन र? (हो।)

कति मानिसहरू आफ्नो कर्तव्य निर्वाहमा सधैँ झारा टार्छन् र जिम्मेवारी देखाउँदैनन्, तिनीहरू सधैँ आफू अधिकारी हुँ भनेजस्तो व्यवहार गर्छन्, अनि अहङ्कारी, आत्मधर्मी, र अरूसँग सहकार्य गर्न नसक्‍ने हुन्छन्, अनि तिनीहरूले अलिकति पनि ग्लानि महसुस नगरी मण्डलीको काममा हानि पुऱ्याउँछन्। त्यस्तो परिस्थिति देख्दा, झूटो अगुवाले यसो भन्दै त्यो समस्या सम्हाल्न र सुल्झाउन थाल्छन्, “यो व्यक्तिले यो काममा एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ। उसको ठाउँ लिने अलिक उपयुक्त व्यक्ति कोही पनि छैनजस्तो देखिन्छ, त्यसैले हामीले उसका कठिनाइहरू समाधान गर्न ऊसँग सङ्गति गर्नुपर्छ।” सङ्गतिको अवधिमा, त्यो झुटो अगुवाले त्यो व्यक्ति आफ्नो कर्तव्य पटक्कै गर्न चाहँदैन भन्ने पत्ता लगाउँछ। ऊ सांसारिक कुराहरू पछ्याउन, र आफ्नो करियरबाट पैसा कमाएर राम्रो जीवन जिउन चाहन्छ, र उसलाई कर्तव्य गर्न लगाइँदा आफूबाट अत्यधिक माग गरियो भन्‍ने ठान्छ। उसलाई परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको हरेक दिन व्यस्त हुनु हो, र आफ्नो व्यक्तिगत पारिवारिक जीवन नष्ट गर्नु मात्र नभई परिवारका सदस्यहरूसँग सम्बन्ध कायम राख्न असम्भव बनाउनुसमेत हो, र यदि कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू उल्लङ्घन भयो भने काटछाँटसमेत भोग्‍नुपर्छ भन्ने लाग्छ। उसलाई यस्तो जीवन साह्रै तितो लाग्छ र ऊ त्यसरी जिउन चाहँदैन। यहाँ, समस्या स्पष्ट छ: ऊ अविश्‍वासी हो भनेर उसको व्यवहारले नै देखाउँछ। तर झुटो अगुवाले त्यो कुरा कसरी सम्हाल्छ? झुटो अगुवाले सोच्छ, “यो व्यक्ति गैरविश्‍वासीहरूमाझ प्रतिभावान् छ; ऊजस्तो व्यक्ति भेट्टाउनु सजिलो छैन। उसको स्थिति समस्याजनक बनेको छ; मैले आफ्नो हातमा भएको सबैभन्दा व्यस्त काम पन्छाएर भए नि तुरुन्तै ऊसँग सङ्गति गर्नुपर्छ, र उसलाई यो समस्या समाधान गर्न मद्दत गर्नुपर्छ। तर यसलाई कसरी समाधान गर्ने? परमेश्‍वरका वचनहरू सबैभन्दा शक्तिशाली छन्; पहिला त म उसलाई कर्तव्य निर्वाह गर्नप्रतिको उसको अनिच्छुकता हल गर्न परमेश्‍वरका वचनका केही खण्ड पढेर सुनाउनेछु।” झुटो अगुवाले उसलाई भन्छ, “अहिले विपत्तिहरू आएका छन्, मानिसहरू अब असल जीवन जिउन सक्दैनन्। तिमी अझै करियरमार्फत पैसा कमाएर सरल पारिवारिक जीवन जिउन चाहन्छौ, तर चाँडै सारा संसार अस्तव्यस्त हुनेछ, र कुनै सामान्य परिवार हुनेछैन। के तिमी यी कुराहरु छर्लङ्गै देख्न सक्दैनौ? तिमीले परमेश्‍वरलाई अझ धेरै प्रार्थना गर्नुपर्छ। परमेश्‍वरलाई प्रार्थना गर्दा तिमीलाई विश्‍वास मिल्नेछ। तिमीले परमेश्‍वरका वचन अझ धेरै खानु र पिउनु पनि पर्छ। केही समय परमेश्‍वरका वचन खाएपछि र पिएपछि, तिम्रो समस्या समाधान हुनेछ।” त्यसपछि, उसले त्यो व्यक्तिसँग पढ्न र सङ्गति गर्न परमेश्‍वरका वचनका पाँच-दसवटा खण्ड खोज्छ। त्यो व्यक्तिले जवाफ दिन्छ, “भो, सङ्गति पुग्यो। म परमेश्‍वरका यी सबै वचन बुझ्छु; म तिमीभन्दा बढी शिक्षित छु। देखावा नगर।” पूरै दिन सङ्गति गरेर पनि केही समाधान हुँदैन। झुटो अगुवाले मनमनै सोच्छ, “मैले मण्डलीको काम धेरै वर्षदेखि गर्दै आइरहेको छु; म तिम्रो समस्या समाधान गर्न सक्दिनँ भन्ने मलाई लाग्दैन।” साँझमा, उसले तुरुन्तै फेरि सङ्गति जारी राख्छ, “तिमीले परमेश्‍वरलाई प्रेम र उपासना गर्नुपर्छ! तिमीसँग सृष्टि गरिएको योग्य प्राणी बन्ने आशा छ। यो कर्तव्य पाउनु सजिलो छैन; तिमीले यो अवसरको कदर गर्नुपर्छ, किनभने यदि तिमीले यो अवसर गुमायौ भने अर्को अवसर आउनेछैन। तिम्रो क्षमता र अवस्था एकदमै राम्रो भएकोले, तिमीले आफ्नो कर्तव्य निर्वाह नगर्नु खेदको कुरा हुनेछैन र? तिम्रो जस्तो प्रतिभा भएका जोकसैलाई परमेश्‍वरको घरमा बढुवा गरेर उपयोग गर्नुपर्ने हुन्छ; यहाँ तिमीसँग ठूला सम्भाव्यताहरू छन्!” त्यो व्यक्तिले भन्छ, “यो कुरा नगर। यदि तिमीले मलाई मेरो कर्तव्य निर्वाह गर्न लगायौ भने, मेरो मनोवृत्ति उही रहनेछ। यदि मलाई त्यसो गर्न दिइएन भने, म तुरुन्तै छोडेर जानेछु। म यहाँ बस्नको लागि बिन्ती बिसाउँदिनँ!” झुटो अगुवाले सबै शब्द भनी सकाउँछ तर त्यो व्यक्तिलाई मनाउन र त्यसको समस्या हल गर्न सक्दैन। किन त? किनभने उसले त्यो व्यक्तिको मुख्य समस्या के हो भनेर छर्लङ्ग देख्न सक्दैन। त्यो व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा मनचाह लापरवाह हुन्छ, मनचाह जालझेल गर्छ, र मनचाह झारा टार्छ; ऊ जे काम गरे नि गैरजिम्मेवार हुन्छ। ऊ केही समस्या हल गर्न कति पनि थप प्रयास गर्न वा थप कुरा भन्न चाहँदैन, उसलाई त्यो समस्याजनक र कष्टप्रद लाग्छ। उसलाई आफ्नो कर्तव्य कसरी प्रशस्त गरी निर्वाह गर्ने र कसरी उचित तरिकामा कार्य गर्ने भनेर स्पष्टसँग थाहा हुन्छ तर ऊ यसरी अभ्यास गर्न इच्छुक हुँदैन। तैपनि, ऊ परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहन्छ। यो परिस्थितिको प्रकृति के हो? यहाँ समस्या के हो? (ऊ आशिष् पाउन र सौदा गर्ने अभिप्रायले आएको थियो।) ऊ यस्तो आशा राखेर आएको थियो; यस्ता मानिसहरूलाई अवसरवादी भनिन्छ। तिनीहरू भन्छन्, “मैले सुनेको संसार चाँडै अन्त हुँदै छ रे, ठूलो विपत्ति हामीमाथि मडारिरहेको छ रे, त्यसैले म अबउसो काममा जानुपर्दैन; जे भए नि मैले प्रशस्तै पैसा कमाइसकेको छु। साथै म परमेश्‍वरका घरमा सित्तैमा खान र आफ्नो स्थान सुरक्षित गर्न आउन पनि सक्छु, ताकि मैले पछि आशिष् पाउने आशा पाउन सकूँ।” कर्तव्य निर्वाह दौरान तिनीहरूको मनोवृत्ति र अभिप्राय मूल्याङ्कन गर्दा, परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास अवसरवादी हुन्छ; तिनीहरू परमेश्‍वरका घरमा साँचो आस्थाले नभई सित्तैमा केही पाउन आएका हुन्छन्। कर्तव्य निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति एकदमै तिरस्कारपूर्ण हुन्छ। मण्डलीले तिनीहरूलाई प्रयोग गर्न फकाउनुपर्ने र वार्ता गर्नुपर्ने हुन्छ, र पनि तिनीहरू कर्तव्य राम्ररी निर्वाह गर्दैनन्। के विवेकसमेत नहुने व्यक्तिले साँच्चै कर्तव्य निर्वाह गर्न सक्छ त? तिनीहरू केवल अवसरवादी भइरहेका वा सित्तैमा केही पाउन खोजिरहेका हुन्छन्, तिनीहरू अविश्‍वासीहरू हुन्। यो समस्याका दुई पक्षको प्रकृति हेर्दा, यसलाई समाधान गर्ने प्रयासमा के झुटो अगुवाले यसको सार बुझ्यो त? (बुझेन।) उसले त्यो समस्याको सार छर्लङ्ग देख्न नसकेर अझै त्यो व्यक्तिलाई साँचो विश्‍वासी, केवल सत्यताको बुझाइ नभएको, सानो कदको, क्षणिक रूपमा कमजोर र सहयोग चाहिएको व्यक्ति ठान्यो। यी दृष्टिकोणबाट, उसले सङ्गति र मद्दत दिने प्रयास गर्‍यो, तर उसलाई यसो भनियो, “यो कुरा नगर। तिमीले बताउने ती धर्मसिद्धान्तहरू व्यर्थ छन्। मलाई त्यो सब थाहा छ, म तिमीले भन्दा धेरै बुझ्छु। तिमी साँच्‍चिकै कति धर्मसिद्धान्त बुझ्छौ र? तिमी कति शिक्षित छौ र? मैले त तिमीले खाना खाएको भन्दा धेरै किताब पढेको छु!” तिनीहरूको प्रकृति आफै खुलासा भएको छ, छैन त? त्यो झुटो अगुवा अझै आफूले अगुवाको काम गरिरहेको ठान्छ, तर त्यो व्यक्ति वास्तवमा अविश्‍वासी हो भनेर थाहा पाउँदैन। अविश्‍वासीहरूले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्दा, तिनीहरूको श्रमसमेत अपर्याप्त हुन्छ। के यस्ता मानिसहरूलाई राखिराख्नुपर्छ त? (पर्दैन।) त्यसैले, परमेश्‍वरको घरमा यस्तो व्यक्ति सम्हाल्‍ने सिद्धान्त यही हो: यदि ऊ श्रम गर्न सक्षम र इच्छुक छ भने, उसलाई राख्; यदि ऊ इच्छुक छैन भने, उसलाई तुरुन्तै हटा, उसलाई बस्ने आग्रह गर्ने वा अर्ती दिने काम नगर्। के त्यो झुटो अगुवालाई यो सिद्धान्त थाहा छ? थाहा छैन। ऊ मृतकलाई जीवितजस्तो व्यवहार गर्छ, त्यसलाई खुवाउँछ र पानी पिलाउँछ; के त्यो मूर्खता होइन र? मूर्ख अगुवाहरू यस्तै मूर्ख कुराहरू गर्छन्।

झुटा अगुवाहरू मानिसहरूले जीवन प्रवेशमा सामना गर्ने कठिनाइ र समस्याहरू समाधान गर्न सक्दैनन्

विभिन्न परिस्थितिमा, जब भिन्नभिन्न मानिसहरूले विभिन्न स्थिति र प्रकटीकरणहरू प्रकट गर्छन्, तब झुटा अगुवाहरूले कहिल्यै पनि यी प्रकटीकरणहरूको सार बुझ्न र तीबाट उत्पन्न हुने समस्याहरू हल गर्न सक्दैनन्। तिनीहरूले सत्यता नबुझ्ने हुनाले, गलत तरिकाले लेबल लगाउँछन् र लापरवाह व्यवहारमा संलग्न हुन्छन्, र यसरी अस्थायी रूपमा कमजोर हुने वा कहिलेकाहीँ मात्र नकारात्मक हुनेहरूलाई गलत रूपमा अविश्‍वासीहरू र परमेश्‍वरलाई विश्‍वासघात गर्ने मानिसहरू ठान्छन्। तर यसबीच, सतही रूपमा केही प्रतिभा हुने, र सरल काम गर्न र केही प्रयास लगाउन सक्ने अविश्‍वासीहरूलाई चाहिँ साथ दिइनुपर्ने मुख्य लक्षित पात्रहरू मानिन्छ। यी मानिसहरू आफू कर्तव्य निर्वाह गर्न अनिच्छुक भएको कुरा सिधै बताउन लजाउँछन्, तर झुटा अगुवाहरू यो कुरा छर्लङ्गै देख्न सक्दैनन् र तिनीहरूलाई त्यहीँ बस्न मनाउन लागिपर्छन्। झुटा अगुवाहरूले मूर्ख कामबाहेक अरू केही गर्दैनन्; दुष्ट मानिसहरूले मण्डलीलाई बाधा दिन्छन्, तैपनि तिनीहरूले त्यो थाहा पाउँदैनन् र त्यो समस्या सुल्झाउँदैनन्। के यो लापरवाह व्यवहारमा संलग्न हुनु होइन र? झुटा अगुवाहरूको लापरवाह व्यवहार कसरी उत्पन्न हुन्छ? तिनीहरूमा परमेश्‍वरका वचन बुझ्ने क्षमताको कमी हुन्छ र तिनीहरू सत्यता बुझ्दैनन्, त्यसैले विभिन्न परिस्थिति सामना गर्दा, तिनीहरू आफूले बुझ्ने सबैभन्दा सतही धर्मसिद्धान्तहरूको सहारा लिन्छन्, र तिनलाई बारम्बार यसरी लागू गर्छन् कि त्यसबाट अवरोध र बाधा मात्र पैदा हुन्छ। मानिसहरूलाई जीवन प्रवेशमा आइपर्ने कठिनाइहरू हल गर्न र कमजोरबाट बलियो हुन मद्दत गर्न तिनीहरू प्राय सधैँ असफल हुने मात्र होइन, तिनीहरूले त मानिसहरूलाई परमेश्‍वरबारे धारणा र गलतफहमीहरू पाल्ने अनि मण्डलीले तिनीहरूको सेवाको फाइदा लिन तिनीहरूको भर्ती गर्न खोज्दै छ भन्‍ने सोच्‍नेसमेत तुल्याउँछन्, र यसरी परमेश्‍वरको घरमा प्रतिभावान् व्यक्तिहरू नै छैनन् जस्तो, र यसले उपयुक्त मानिसहरू भेट्टाउनै सक्दैन जस्तो गराउँछन्। झुटा अगुवाहरूले उत्पन्न गर्ने नकारात्मक प्रभाव यही हो। यो कसरी उत्पन्न हुन्छ? (झुटा अगुवाहरू सत्यता बोध गर्न सक्दैनन्, सत्यता बुझ्न सक्दैनन्, र परिस्थितिहरू सामना गर्नुपर्दा, तिनीहरू नियमहरू मात्र लागू गर्छन्।) तिनीहरू सत्यता बोध गर्न सक्दैनन्, तिनीहरू केही अरट्ठा शब्द र भनाइहरू मात्र कण्ठ गर्न सक्छन्। तिनीहरूमा सत्यताको वास्तविक अनुभवात्मक बुझाइ र कदर हुँदैन। त्यसैले, जब अन्त्यमा समस्याहरू खडा हुन्छन्, तब तिनीहरू केही खोक्रा वाक्यांश मात्र बोल्न सक्छन्: “परमेश्‍वरलाई प्रेम गर”; “इमानदार बन”; “परिस्थितिहरू सामना गर्नुपर्दा आज्ञाकारी र समर्पित होऊ”; “आफ्नो कर्तव्य राम्ररी निर्वाह गर”; “तिमीले बफादार हुनुपर्छ”; “तिमीले देहविरुद्ध विद्रोह गर्नैपर्छ”; “तिमीले परमेश्‍वरको लागि आफूलाई अर्पित गर्नुपर्छ।” तिनीहरू आफूलाई सुशोभित पार्न यी खोक्रा धर्मसिद्धान्त, नारा, र भनाइहरू प्रयोग गर्छन्, अनि अरूलाई प्रभावित पारेर तिनीहरूमा सकारात्मक प्रभाव पार्ने आशा राख्दै तिनीहरूलाई पनि तिनै कुराहरू सिकाउँछन्—तर त्यसले कुनै नतिजा र कुनै परिवर्तन ल्याउँदैन। तसर्थ, झुटा अगुवाहरू कुनै पनि काम पूरा गर्न असक्षम हुन्छन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा आइपर्ने कठिनाइहरू समाधान गर्नसमेत नसक्ने हुनाले, मण्डलीलाई डोऱ्याउँदा कसरी तिनीहरूले असल काम गर्न सक्छन् र?

मानिसहरूले वास्तविक जीवनमा विभिन्न कठिनाइहरू सामना गर्दा अनि तीसँग कसरी जुध्ने, र कसरी सत्यता अभ्यास गर्ने भनेर नजान्दा, ती समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरूमा सत्यता खोज्नुपर्छ। यदि सानो कद भएको व्यक्तिलाई परमेश्‍वरका वचनहरूमा सत्यता कसरी खोज्ने भनेर पनि थाहा छैन, र परमेश्‍वरका सान्दर्भिक वचनहरू कसरी खोज्ने भनेर पनि थाहा छैन भने, उसले त्यो समस्या हल गर्नहेतु सङ्गति गर्न सत्यता बुझ्नेहरूलाई भेट्नुपर्छ, र त्योसँगसँगै परमेश्‍वरका सान्दर्भिक वचनहरू कसरी खोज्ने र कसरी सत्यता बुझ्ने भनेर प्रशिक्षित पनि हुँदै जानुपर्छ। यसको अर्थ सिद्धान्त र परमेश्‍वरले तोक्‍नुभएका मानकहरू के हुन्, परमेश्‍वर यो मामिलालाई कसरी व्याख्या गर्नुहुन्छ र यसबारे उहाँ के माग गर्नुहुन्छ, अनि यसमा कुनै विशेष कुराहरू व्याख्या गरिएका छन् कि भनेर परमेश्‍वरका वचनहरूमा खोजी गर्नु हो। यदि परमेश्‍वरका वचनहरू यो विषयबारे अलिक सरल छन्, र तिनले विस्तृत उदाहरणहरू नदिई सिद्धान्तहरू मात्र बताउँछन् भने, तैँले मनन गर्न सिक्नुपर्छ। यदि तैँले मनन गरेर बुझ्न सक्दैनस् भने, सङ्गति गर्न अझ धेरै मानिसहरू खोज्, भेलाहरूमा सङ्गति गर्, अनि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा खोजबिन र खोजी गर्, अन्तर्दृष्टि र ज्योति प्राप्त गर्, अनि यसरी हालको त्यो समस्याको सार के हो भनेर क्रमिक रूपमा बुझ्। अनि अन्त्यमा, परमेश्‍वरका वचनका सिद्धान्तहरूअनुसार ती कठिनाइहरूको समाधान गर्। उदाहरणको लागि, कति मानिसहरू अल्छी हुन्छन् र कर्तव्य निर्वाह गर्न कहिल्यै शक्ति बटुल्न सक्दैनन्; तर खाने, पिउने र रमाइलो गर्ने कुरा आउँदा, तिनीहरू खुसी हुन्छन् र जोसजाँगरले भरिन्छन्, मानौँ तिनीहरूमा अचानक ज्यान आएको छ। झुटा अगुवाहरूले यस्ता समस्याहरू कसरी समाधान गर्छन्? तिनीहरूसँग पनि एउटा विधि छ: तिनीहरूले यी मानिसहरूलाई खाली समय नदिई अझ धेरै काम दिन्छन्। के यो तरिकाले समस्या समाधान हुन सक्छ? कति मानिसहरू आफूलाई दिइएको काम अलिकति पनि गर्न मन गर्दैनन्; तिनीहरू सित्तैमा केही पाउन मात्र चाहन्छन्, र कुनै पनि काम फिटिक्कै नगर्नु नै सबैभन्दा राम्रो हो भन्ने सोच्छन्! असाध्यै अल्छे मानिसहरूको समस्या के हो? त्यो तिनीहरूको प्रकृति सारसँग, तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन् कि गर्दैनन् भन्नेसँग अनि तिनीहरूका रुचि र पछ्याइहरूसँग सम्बन्धित कुरा हो। कति मानिसहरूमा थोरथोरै क्षमता हुन्छ; यदि तिनीहरू कुनै बोझ नदिइएको साधारण अनुयायी मात्र रहे भने, तिनीहरूमा काम गर्ने ऊर्जाको कमी हुन्छ र तिनीहरूलाई त्यसमा कुनै रुचि लाग्दैन। तथापि, तिनीहरूको क्षमता र तिनीहरूले निर्वाह गर्नसक्ने कर्तव्यअनुसार, यदि तिनीहरूलाई सुपरिवेक्षक हुने बोझ दिइयो, केही उपाधि लिन र केही कर्तव्य गर्न दिइयो भने, काममा तिनीहरूको रुचि जाग्छ। कहिलेकाहीँ, जब तिनीहरू आफ्नो काममा गैरजिम्मेवार बन्छन् वा अल्छी हुन्छन्, तब तिनीहरूलाई काटछाँट गर्न सकिन्छ; अरू बेला, तिनीहरूलाई केही प्रोत्साहन दिन र प्रशंसा गर्न पनि सकिन्छ। यसरी, इज्जतको ख्याल गर्ने, हैसियत मन पराउने र प्रशंसामा रमाउने ती मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने ऊर्जा पाउँछन्। तिनीहरू आफूमा सुस्त हुने सोचाइ आउँदा यस्तो सोच्छन्, “हैसियतको खातिर, आफूले बोक्ने बोझको खातिर, मैले राम्ररी काम गर्नैपर्छ।” यसरी, यस्ता मानिसहरूको अल्छीपन आंशिक रूपमा हटाउन सकिन्छ। झुटा अगुवाहरूले कर्तव्य निर्वाहका क्रममा उत्पन्न हुने मानवता वा जीवन प्रवेशसम्बन्धी स्थितिसित सम्बन्धित यसप्रकारका समस्याहरू सामना गर्दा, तिनीहरूलाई त्यो समाधान गर्न एकदमै कठिन र चुनौतिपूर्ण लाग्छ। तिनीहरूलाई ती स्थिति र समस्याहरू कसरी समाधान गर्ने, वा लक्षित समाधानको लागि परमेश्‍वरका कुन वचनहरू प्रयोग गर्ने भनेर थाहै हुँदैन। धेरैजसो समय, तिनीहरूको शैली मानिसहरूलाई राम्रोसँग काम गर्न मनाउने वा फकाउने मात्र हुन्छ, र यदि मनाउँदा वा फकाउँदा भएन भने, तिनीहरू रिसाउने र उनीहरूलाई काटछाँट गर्ने गर्छन्। अनि, उनीहरूलाई काटछाँट गर्दा भएन भने, तिनीहरू परमेश्‍वरका कठोर वचनका केही खण्ड चेतावनीको रूपमा पढेर सुनाउँछन्, र उनीहरूलाई सच्चिनुपर्छ भनेर थाहा दिन्छन्। यदि त्यसले पनि कुनै प्रभाव पारेन भने, तिनीहरूले अन्त्यमा कसैलाई खटाएर उनीहरूको निगरानी र व्यवस्थापन गराउने गर्छन्। उनीहरूसँग तिनीहरूले गर्न सक्ने यी केही तरकिब मात्र हुन्छन्, अनि यी तरकिबले पनि काम गरेनन् भने, तिनीहरूमा अरू कुनै विकल्प नै हुँदैन।

सङ्क्षेपमा भन्‍नुपर्दा, समस्या जे भए नि, झुटा अगुवाहरू समस्याको सार छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरूलाई विभिन्न मानिसहरूको साँचो स्थिति र पृष्ठभूमि बुझ्न गाह्रो हुन्छ, झन् तिनीहरूले समस्याको जड कहाँ छ वा त्यसलाई सर्वोचित तरिकाले समाधान गर्न कहाँबाट सुरु गर्ने भनेर छर्लङ्गै बुझ्न सक्नु त परै जाओस्। तिनीहरूमा समस्याहरू समाधान गर्ने यी सिद्धान्त र विधिको कमी हुन्छ, त्यसैले झूटा अगुवाहरूको कामले विविध वास्तविक समस्याहरू समाधान गर्न सक्दैन। तिनीहरू केही धर्मसिद्धान्त प्रचार गर्न, केही नारा फलाक्‍न, केही नियम पालन गर्न र झारा टार्न मात्र सक्छन्। यस्ता मानिसहरू कसरी मण्डलीलाई डोऱ्याउने कामका लागि योग्य हुन सक्छन्? तिनीहरू जति नै प्रशिक्षण लिए नि वा जति नै वर्ष विश्‍वास गरे नि मण्डली डोऱ्याउने कामको लागि योग्य हुनेछैनन्। के तिमीहरूले यसका कुनै उदाहरणहरू भेट्टाएका छौ? (हाम्रो मण्डलीमा, अतिथि सत्कारको कर्तव्य निर्वाह गर्ने व्यक्ति थियो, जो सधैँ आलोचना र आक्रामक टिप्पणीहरू गर्थ्यो, हाम्रो कर्तव्य निर्वाहमा असर पुऱ्याउँथ्यो, अनि अवरोध र बाधा खडा गर्थ्यो। हामीले यो कुरा अगुवालाई रिपोर्ट गरेपछि, उसले हाम्रो वास्तविक समस्या समाधान गरेन, बरु उल्टै हामीले आफूलाई चिन्नुपर्छ र परमेश्‍वरले बन्दोबस्त गर्नुभएको परिवेशप्रति समर्पित हुनुपर्छ भनेर मात्र जोर दियो, र यसले गर्दा मण्डलीका काममा असर पुग्यो। त्यो समस्या नेतृत्व परिवर्तन भएपछि मात्र हल भयो।) यो झुटो अगुवाइको ठेट प्रकटीकरण हो। यो आम प्रकारको झुटो अगुवा हो: दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी भेट्दा त्यसलाई चिन्न नसक्नेहरूले अरूलाई धैर्यशील र सहनशील हुनुपर्छ, अनुभवबाट सिक्नुपर्छ, अनि त्यो दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको कुरा मान्नुपर्छ भनेर भन्छन्। तिनीहरू ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूलाई चिन्दैनन्, न त उनीहरूबारे कुनै काम नै गर्छन्। ख्रीष्टविरोधीहरू प्रकट हुने तरिकाहरूबारे निकै धेरै सङ्गति गरेपछि, सत्यता बुझ्ने हरव्यक्ति अब तीमध्ये केहीलाई पहिचान गर्न सक्षम भएको हुनुपर्छ। तर के झुटा अगुवाहरूलगायतका मानिसहरूले त्यो सङ्गति कसरी ख्रीष्टविरोधीको व्यवहारसँग मिल्छ भनेर हेर्न सक्छन्? के तिनीहरूले ख्रीष्टविरोधीहरू चिन्न सक्छन? (सक्दैनन्।) अनि तिनीहरूले ख्रीष्टविरोधीहरू चिन्न नसक्नुको नतिजा के हुन्छ? ख्रीष्टविरोधीले तिनीहरूबाट शक्ति खोस्ने, तिनीहरूले ख्रीष्टविरोधीलाई मण्डली नियन्त्रण गर्न दिने, र अन्त्यमा, ख्रीष्टविरोधीले स्वतन्त्र राज्य स्थापित गर्दा तिनीहरूले केही पनि नगर्ने सम्भावना हुन्छ। यदि तिनीहरूले ख्रीष्टविरोधीलाई चिन्न सकेनन् भने, कुनै हालतमा पनि ख्रीष्टविरोधीलाई आफ्नो शत्रुको रूपमा व्यवहार गर्ने अनि खुलासा गर्ने, चिन्ने, र इन्कार्ने गर्दैनन्; यदि तिनीहरूले ख्रीष्टविरोधीलाई चिन्न सकेनन् भने, धैर्यशील र सहनशील भई ख्रीष्टविरोधीलाई आफ्नो दाजुभाइ वा दिदीबहिनीको रूपमा व्यवहार गर्ने सम्भावना धेरै हुन्छ, जसको फलस्वरूप मण्डलीमा ख्रीष्टविरोधी शक्तिमा आउँछ र त्यसले त्यहाँ नियन्त्रण जमाउँछ। त्यसैले, ख्रीष्टविरोधीहरू चिन्न असक्षम हुनुका परिणामहरू अड्कल गर्नै नसकिने गरी गम्भीर हुन्छन्। झुटा अगुवाहरू सत्यता बुझ्दैनन्; तिनीहरू भिन्नभिन्न मानिसहरूको सार चिन्न सक्दैनन्। तिनीहरूले गर्ने भनेकै शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नु र नियमहरू लागू गर्नु, र यसरी सबैप्रति प्रेम दर्साउँदै, जो भए नि हरेकलाई पश्‍चात्ताप गर्न दिनु, र हरेकलाई मौका दिनु हो। के यो धर्मका पादरीवर्गको आचरण होइन र? के यो फरिसीहरूको आचरण होइन र? झुटा अगुवाहरूले ख्रीष्टविरोधीहरू सामना गर्दा, सामान्यतया सम्झौता गर्छन् र झुक्छन्, र यो त अरूलाई प्रेमपूर्वक व्यवहार गर्नु हो भनेर दाबी गर्न बहाना वा कारण देखाउनेसमेत गर्छन्। कुनै व्यक्ति समस्याजनक छ र ऊ ख्रीष्टिविरोधी हो भन्ने थाहा पाउँदा, तिनीहरू न त उसको सामना गर्ने आँट गर्छन्, न त तिनीहरूमा उसलाई चिन्ने र खुलासा गर्ने साहस नै हुन्छ; झुटा अगुवाहरू ठ्याक्कै यसै गर्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीले त्यो व्यक्ति दुष्ट वा ख्रीष्टविरोधी हो भनेर चिनिसकेपछि समेत झुटो अगुवाले अझै यसो भन्नेछ, “हामीले मानिसहरूलाई त्यतिकै हल्कासित आलोचना वा निन्दा गर्नु मिल्दैन। त्यो व्यक्ति आफूलाई समर्पित गर्न एकदमै उत्साही र मूल्य चुकाउन एकदमै इच्छुक छ—ऊ ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति होइन। कसैले केही कठोर शब्द बोल्यो भन्दैमा उसलाई दुष्ट भन्नु मिल्दैन, होइन र?” झुटा अगुवाहरू मानिसहरूको सार देख्न सक्दैनन्, न त ख्रीष्टविरोधीहरूका कार्यका नतिजाहरू नै देख्न सक्छन्, र अझै पनि ख्रीष्टविरोधीहरूप्रति प्रेम, सहनशीलता र धैर्य देखाउँछन्, र ख्रीष्टविरोधीहरूलाई चिन्तन गर्न, आफूलाई चिन्न, र साँचो रूपमा पश्‍चात्ताप गर्न प्रोत्साहनसमेत दिन्छन्। ख्रीष्टविरोधीहरूले आफूलाई चिन्न जेजसरी प्रयास गरे नि के तिनीहरूको प्रकृति परिवर्तन हुन्छ र? के तिनीहरू साँच्चै आफूलाई चिन्छन् र? बिलकुलै चिन्दैनन्। ख्रीष्टविरोधीहरूले सतही रूपमा केही कुरा त्यागेको र आफूलाई अलि समर्पित गरेको देखिन सक्ने भए नि, भित्र भने तिनीहरू महत्त्वाकाङ्क्षा र ठुल्ठुला षड्यन्त्रहरू पाल्छन्। झुटा अगुवाहरूले यस्ता मानिसहरूलाई ख्रीष्टविरोधीको रूपमा छर्लङ्ग देख्न नसक्नुको कारण झुटा अगुवाहरूले सत्यता नबुझ्नु र भिन्नभिन्न प्रकारका मानिसहरूलाई चिन्न नसक्नु हो। तिनीहरू विभिन्न मानिसहरूको प्रकृति सार छर्लङ्ग देख्न सक्दैनन्, न त तिनीहरूलाई भिन्नभिन्न प्रकारका मानिसहरूसँग कसरी व्यवहार गर्ने वा तिनीहरूलाई कसरी सम्हाल्ने भन्ने नै थाहा हुन्छ। तिनीहरूले ख्रीष्टविरोधीहरूलाई अरूले खुलासा गरेको देख्दा, त्यसमा आबद्ध हुने आँट गर्दैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूविरुद्ध कारबाही गर्न झनै डराउँछन्, र ख्रीष्टविरोधीहरू चिढिएमा प्रतिशोध लिन्छन् भनेर डराउँछन्। ख्रीष्टविरोधीहरूप्रति तिनीहरूको शैली धर्मसिद्धान्त र अर्ती प्रचार गर्नमै सीमित हुन्छ। झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई चिन्न नसक्नुबाहेक, परमेश्‍वरका चुनिएका मानिसहरूमाझ हुने विभिन्न समस्या हल गर्न पनि सक्दैनन्। यसले झुटा अगुवाहरूसँग सत्यताको बुझाइ पटक्कै हुँदैन भन्ने प्रमाणित गर्छ; तिनीहरू वास्तविक समस्याहरू हल गर्न असक्षम हुन्छन् र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोऱ्याउन त झन् सक्दै सक्दैनन्। झुटा अगुवाहरूले जे भने नि वा जे गरे नि, तैँले पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रेरित ज्योतिका कुनै वचनहरू सुन्नेछैनस्, झन् तिनीहरूमा कुनै सत्यता वास्तविकता देख्नु त परको कुरा हो। त्यसैले, झुटा अगुवाहरूले मानिसहरूको जीवन प्रवेशका सन्दर्भमा कुनै लाभ वा मदत दिँदैनन्; तिनीहरूले गर्ने थोरै काममा वचन र धर्मसिद्धान्तहरू प्रचार गर्नु, नाराहरू फलाक्‍नु, र झारा टार्नु मात्र पर्छन्। तिनीहरू अगुवाले निभाउनुपर्ने भूमिका पूरा गर्न एकदमै सक्दैनन्।

आजको सङ्गति यति नै। जयमसीह!

जनवरी ९, २०२१

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्