३०. मुक्ति पाउन किन इमानदार व्यक्ति बन्नैपर्छ
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
मेरो राज्यका निम्ति त्यस्ता मानिसहरू चाहिन्छ जो इमानदार छन्, जो पाखण्डी वा छली छैनन्। के इमानदार र निष्कपट मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक विपरीत छु। इमानदार मानिसहरू मकहाँ आउनु स्वीकार्य छ; म यस किसिमको व्यक्तिसँग खुशी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिन्छ। मेरो धार्मिकता ठीक यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३३
परमेश्वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। सारमा, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, त्यसैले परमेश्वरले उहाँप्रति एकदम इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्वरलाई दिनु, सबै कुरामा परमेश्वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि तथ्य कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्वासमा तिमीहरू दृढ हुन सक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ” भन्ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदि तँ परमेश्वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्। तैँले तँमा साँचो विश्वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छ भने तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीदेखि दूर भएकोले तैँले परमेश्वरबाट कहिल्यै पनि सकारात्मक पहिचान प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्वरको घरले कसरी अटाउन सक्थ्यो?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू
मानिसहरू इमानदार बन्नुपर्छ भनेर परमेश्वरले किन सधैँ जोड दिनुहुन्छ? किनभने इमानदार बन्नु अत्यन्तै महत्त्वपूर्ण छ—यो कुरा व्यक्ति परमेश्वरमा समर्पित हुन सक्छ कि सक्दैन वा उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरासँग सोझै सम्बन्धित हुन्छ। कतिपय मानिसहरू यसो भन्छन्: “म अहङ्कारी र आत्मधर्मी छु, र म चाँडै रिसाउँछु र म प्रायजसो भ्रष्टता प्रकट गरिरहन्छु।” अरूहरू भन्छन्, “म सतही र आडम्बरी छु, र म अरूले मलाई प्रशंसा गरेको मन पराउँछु।” यी सबै नै मानिसहरूले बाहिरबाट देख्न सक्ने कुराहरू हुन्, र यी कुराहरू ठूला समस्याहरू होइनन्। तैँले सधैँ यी कुराहरूबारे धेरै बोलिरहनु हुँदैन। तेरो स्वभाव वा चरित्र जे-जस्तो भए पनि, तँ परमेश्वरले आवश्यक गर्नुभएजस्तै इमानदार व्यक्ति बन्न सक्छस् भने, तैँले मुक्ति पाउन सक्छस्। त्यसकारण, तिमीहरू के भन्छौ? के इमानदार बन्नु महत्त्वपूर्ण छ त? यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो, त्यसकारण उहाँका वचनहरूको तीन अर्तीहरू भन्ने खण्डमा परमेश्वरले इमानदार बन्नेबारेमा बताउनुभएको छ। अरू अध्यायमा, उहाँले विश्वासीहरूमा सामान्य आत्मिक जीवन र उचित मण्डली जीवन हुनुपर्छ भनेर बारम्बार उल्लेख गर्नुभएको छ, र तिनीहरूले सामान्य मानवतामा कसरी जिउनुपर्छ भनेर वर्णन गर्नुभएको छ। यी विषयहरूमा उहाँका वचनहरू आम किसिमका छन्; तिनका बारेमा विशेष रूपमा वा अत्यन्तै विस्तृत रूपमा छलफल गरिएको छैन। तर जब परमेश्वरले इमानदार बन्ने बारेमा बोल्दा उहाँले मानिसहरूलाई पछ्याउने मार्ग देखाउनुहुन्छ। उहाँले मानिसहरूलाई कसरी अभ्यास गर्ने भनेर बताउनुहुन्छ, र उहाँ पर्याप्त विवरण र स्पष्टताको साथमा बोल्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ, “यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने व्यक्ति होस्।” इमानदार बन्ने कार्य मुक्ति प्राप्त गर्नुसँग सम्बन्धित छ। त्यसैले तिमीहरू के भन्छौ, परमेश्वरले किन मानिसहरू इमानदार बन्नुपर्छ भनेर भन्नुहुन्छ? यो विषयले मानव चालढालको सत्यतालाई छुन्छ। परमेश्वरले इमानदार मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले उहाँको राज्यको लागि चाहनुहुने व्यक्तिहरू पनि इमानदार मानिसहरू नै हुन्। यदि तँ झूट बोल्न र जालझेल गर्न सक्छस् भने, तँ छली, कुटिल, र कपटी व्यक्ति होस्; तँ इमानदार व्यक्ति होइनस्। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्वरले तँलाई कुनै पनि हालतमा मुक्ति दिनुहुनेछैन, न त तैँले मुक्ति पाउने सम्भावना नै हुन्छ। तँ अहिले आफू अत्यन्तै भक्त छु, अहङ्कारी वा आत्मधर्मी छैन, कर्तव्य निभाउँदा आफूले राम्ररी मूल्य चुकाउन सक्छु, वा सुसमाचार प्रचार गरेर धेरै मानिसहरूलाई विश्वासी बनाउन सक्छु भनी भन्छस्। तर तँ इमानदार छैनस्, तँ अझै पनि छली छस्, र तँ परिवर्तन भएकै छैनस्, अनि के तैँले मुक्ति पाउन सक्छस् त? (अवश्य सक्दिनँ।) त्यसकारण, परमेश्वरका यी वचनहरूले प्रत्येकलाई यो स्मरण गराउँछन् कि तिनीहरूले मुक्ति पाउनलाई सबभन्दा पहिले तिनीहरू परमेश्वरका वचनहरू र मापदण्डहरूअनुसार इमानदार बन्नुपर्छ। तिनीहरूले खुलेर कुरा गर्नुपर्छ, आफ्ना भ्रष्ट स्वभावहरू, र आफ्ना मनसाय र रहस्यहरू उदाङ्गो पार्नुपर्छ, र ज्योतिको मार्ग खोजी गर्नुपर्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास
इमानदार व्यक्ति हुनु भनेको विवेक र समझ भएको व्यक्ति हुनु हो। यसको अर्थ भरोसायोग्य व्यक्ति, परमेश्वरले प्रेम गर्नुहुने व्यक्ति, र सत्यता अभ्यास गर्न र परमेश्वरलाई प्रेम गर्न सक्ने व्यक्ति बन्नु हो। इमानदार व्यक्ति बन्नु सामान्य मानवता हुनु र साँचो मानव रूपमा जिउनुको सबैभन्दा आधारभूत प्रकटीकरण हो। यदि कुनै व्यक्ति कहिल्यै इमानदार भएको छैन, वा उसले कहिल्यै इमानदार हुने कुरा सोचेको छैन भने, उसले सत्यता बुझ्न सक्दैन, सत्यता प्राप्त गर्न सक्नु त परको कुरा हो। यदि तँ मलाई विश्वास गर्दैनस् भने, तँ आफै गएर हेर्, वा गएर आफै अनुभव गर्। इमानदार व्यक्ति बनेमा मात्र परमेश्वरको लागि तेरो हृदय खुल्न सक्छ, तैँले सत्यता स्वीकार गर्न सक्छस्, सत्यता तेरो जीवन बन्न सक्छ, र तैँले सत्यता बुझ्न र प्राप्त गर्न सक्छस्। यदि तेरो हृदय सधैं बन्द छ भने, यदि तँ कसैलाई आफ्नो कुरा खुलस्त भन्दैनस् वा हृदयमा भएको कुरा बताउँदैनस्, जसले गर्दा तँलाई कसैले पनि बुझ्दैन भने, तेरो पर्खाल अत्यन्तै मोटो छ, र तँ सबैभन्दा छली मानिस होस्। यदि तैँले परमेश्वरमा विश्वास गर्छस् तैपनि परमेश्वरको अघि आफ्नो मन साँचो रूपले खोल्न सक्दैनस् भने, यदि तैँले परमेश्वरलाई ढाँट्न वा परमेश्वरलाई छल गर्न बढाइचढाइ कुरा गर्न सक्छस् भने, र यदि तैँले परमेश्वरको अघि आफ्नो हृदय खोल्न सक्दैनस्, तर अझै घुमाउरो कुरा गरेर आफ्ना अभिप्रायहरूलाई लुकाउन सक्छस् भने, तैँले आफैलाई हानि मात्रै गर्नेछस्, र परमेश्वरले तँलाई बेवास्ता गर्नुहुनेछ र तँमा काम गर्नुहुनेछैन। तैँले कुनै पनि सत्यता बुझ्नेछैनस्, र तैँले कुनै सत्यता प्राप्त गर्नेछैनस्। अब के तिमीहरूले सत्यता पछ्याउनु र प्राप्त गर्नुको महत्त्व बुझ्न सक्यौ? सत्यता पछ्याउनका लागि तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरू इमानदार व्यक्ति बन्नुपर्छ। यदि मानिसहरू इमानदार हुन खोज्छन् भने मात्र तिनीहरूले आफू कति गहन रूपमा भ्रष्ट छु र आफूमा वास्तवमै कुनै मानव स्वरूप छ कि छैन भनेर जान्न सक्छन्, र तिनीहरूले स्पष्टसित आफैलाई तौलन वा आफ्ना कमीकमजोरीहरू देख्न सक्छन्। जब तिनीहरूले इमानदारीसाथ अभ्यास गरिरहेका हुन्छन् तब मात्र तिनीहरूले कति धेरै झूटो बोल्छन् र तिनीहरूको छलकपट र बेइमानी कतिसम्म गम्भीर रूपमा लुकेका छन् सो थाहा पाउनेछन्। इमानदार बन्ने अभ्यासको अनुभव प्राप्त गरेपछि मात्र मानिसहरूले बिस्तारै उनीहरूको आफ्नै भ्रष्टताको सत्यता जान्न सक्छन् र आफ्नै प्रकृति र सार चिन्न सक्छन्, अनि मात्र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई निरन्तर शुद्ध पार्न सकिनेछ। तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर रूपमा शुद्ध भइरहेको बेला मात्र मानिसहरूले सत्यता प्राप्त गर्न सक्नेछन्। तिमीहरूको समय निकालेर यी वचनहरू अनुभव गर। परमेश्वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्वरलाई प्राप्त गर्दैनस् भन्नुको अर्थ के हो? यदि तैँले परमेश्वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्वरलाई चिन्नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्वरको शत्रु हुन्छस्। यदि तँ परमेश्वर अनुरूप छैनस् भने, परमेश्वर तेरो परमेश्वर हुनुहुन्न; र यदि परमेश्वर तेरो परमेश्वर हुनुहुन्न भने, तैँले मुक्ति पाउनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने खोजी गर्दैनस् भने, तँ किन परमेश्वरमा विश्वास गर्छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। अन्त्यमा, परमेश्वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्ह लगाइनेछ। यो के हो भन्ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: “तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:५)। यहाँ “तिनीहरू” भनेका को हुन्? तिनीहरू परमेश्वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका आचरणका विशेषता र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो। “निष्खोट” ले केलाई जनाउँछ? यसले कुनै दुष्कर्म नगर्ने कार्यलाई जनाउँछ। अनि, कुनै दुष्कर्म नगर्ने कार्य कुन जगमा आधारित हुन्छ? यो कार्य अवश्य नै परमेश्वरको डर मान्ने जगमा आधारित हुन्छ। त्यसकारण, कुनै खोट नहुनु भनेको परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु हो। कुनै खोट नभएको मानिसलाई परमेश्वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्वरको नजरमा, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति मात्र सिद्ध व्यक्ति हो; तसर्थ, कुनै खोट नभएका मानिसहरू भनेका परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्तिहरू हुन्, र सिद्ध व्यक्तिहरू मात्र निष्खोट हुन्छन्। यो पूर्ण रूपमा सही कुरा हो। … यदि तँलाई वृद्धि अनुभव गरिसकेको छु जस्तो लाग्छ, तर तेरा झूटहरू पटक्कै घटेका छैनन्, र तँ आधारभूत रूपमा अविश्वासी जस्तै छस् भने, के यो सत्यताको वास्तविकतामा प्रवेश गर्नुको सामान्य प्रकटीकरण हो? (होइन।) जब कुनै व्यक्ति सत्यताको वास्तविकतामा प्रवेश गरेको हुन्छ, तब उसले कम्तीमा पनि झूट बोल्न कम गरेको हुन्छ; ऊ लगभग इमानदार व्यक्ति बनिसकेको हुन्छ। यदि तैँले धेरै झूट बोल्छस् र तेरा शब्दहरू अत्यन्तै दूषित छन् भने, यसले तँ फिटिक्कै परिवर्तन भएको छैनस्, र तँ अझै इमानदार व्यक्ति भएको छैनस् भन्ने प्रमाणित गर्छ। यदि तँ इमानदार व्यक्ति होइनस् भने, तँसँग जीवन प्रवेश हुँदैन, त्यसकारण तैँले कस्तो वृद्धि अनुभव गर्न सक्छस् र? तेरो भ्रष्ट स्वभाव अझै पनि जस्ताको त्यस्तै छ, र तँ अविश्वासी र दियाबलस होस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू
परमेश्वरले मानिसहरूलाई इमानदार हुनू भनेर भन्नुभएको कुराले प्रमाणित गर्छ कि उहाँले छली मानिसहरूलाई साँच्चै घृणा गर्नुहुन्छ, र तिनीहरूलाई मन पराउनुहुन्न। छली मानिसहरूप्रतिको परमेश्वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छलकपटका विधिहरूप्रतिको घृणा हो; परमेश्वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्न, र परमेश्वरको मुक्ति स्विकार्न इच्छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—किनभने सत्यताले जस्तै परमेश्वरले पनि सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ। त्यसकारण, यदि हामी परमेश्वरलाई खुसी पार्ने व्यक्ति बन्न चाहन्छौँ भने, हामीले पहिले हाम्रो चालढालसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ: हामी अबउप्रान्त शैतानी दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलकपटको आधारमा अघि बढ्नु हुँदैन। हामीले हाम्रा सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्नुपर्छ। अनि, हामीप्रतिको परमेश्वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, अरू मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलकपटमा भर पर्दै आए, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, जीवन, र आफ्नो चालढालको जगको रूपमा प्रयोग गरे। यो परमेश्वरले घृणा गर्नुहुने कुरा थियो। अविश्वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गर्छस्, सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्छस् भने, तँलाई निन्दा, आलोचना, र त्याग गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झन्झन् झूट बोल्न सिपालु, र झन्झन् छली बन्दै जान्छस्। तैँले आफ्ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन् सम्पन्न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन् फस्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्ने अवस्थामा पुग्छस्। परमेश्वरको घरमा, ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र जति छली खेल खेल्छस्, परमेश्वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्क हुनेछन् र तिनीहरूले तँलाई त्याग्नेछन्। यदि तैँले पश्चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस् भने, यदि तैँले वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन जालझेल र व्यापक युक्तिहरू प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा त्याग र निष्कासन गरिनेछ। यो सबै कुरा परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तैँले आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्वरको अनुमोदन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास
सम्बन्धित भजनहरू
अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ?