२७. असल व्यवहार र स्वभाव परिवर्तनबीच भिन्नता

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

स्वभावमा हुने रूपान्तरणले व्यक्तिको प्रकृतिको रूपान्तरणलाई जनाउँछ। व्यक्तिको प्रकृतिका कुराहरू बाहिरी व्यवहारबाट अनुभूत गर्न सकिँदैन। ती कुराहरू सीधै उसको अस्तित्वको मूल्य र महत्त्वसँग र जीवनसम्‍बन्धी उसको दृष्टिकोण र उसका मूल्य-मान्यताहरूसँग सम्बन्धित हुन्छन्, अनि ती कुराहरूमा उसका प्राणका गहिराइहरूमा रहेका कुराहरू र उसको सार समावेश हुन्छन्। यदि व्यक्तिले सत्यता स्विकार्न सक्दैन भने, यी पक्षहरूको सन्दर्भमा ऊ कहिल्यै रूपान्तरित हुनेछैन। परमेश्‍वरको कार्य अनुभव गरेर, सत्यमा पूर्ण रूपमा प्रवेश गरेर, अस्तित्व र जीवनसम्‍बन्धी आफ्‍ना मान्यता र विचारहरू परिवर्तन गरेर, विविध कुराहरूप्रतिको आफ्‍नो दृष्टिकोणलाई परमेश्‍वरको वचनसँग मिल्‍दो तुल्याएर, अनि पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र इमानदार हुन योग्य भएर मात्र, उसको स्वभाव रूपान्तरण भएको छ भनेर भन्‍न सकिन्छ। अहिले, तैँले केही प्रयास गरेकोजस्तो देखिन सक्छ, र कर्तव्य निभाउँदा कठिनाइ आइपरे तँ लचकदार हुन सक्छस्, तैँले माथिबाट प्राप्त कामका प्रबन्धहरूलाई अगि बढाउन सक्छस्, वा तँलाई जहाँ जान भनिए पनि तँ त्यहाँ जान सक्छस्। बाहिरी रूपमा, तँ अलि आज्ञाकारी छस् भन्‍ने देखिन्छ होला, तर तेरो धारणासँग नमिल्ने केही कुरा आइपर्दा, तेरो विद्रोहीपन प्रकट हुन्छ। उदाहरणको लागि, तँ काटछाँट हुन मान्दैनस्, र विपद्‌ आइपर्दा त झन् तँ अझ कम समर्पित बन्छस्; तैँले आफूभित्रैबाट परमेश्‍वरबारे गुनासोसमेत गर्छस्। त्यसैले, त्यो सानो समर्पण र बाह्य परिवर्तन भनेको व्यवहारमा आउने सानो परिवर्तन मात्र हो। यसमा अलिअलि परिवर्तन त आएको हुन्छ, तर यो तेरो स्वभाव रूपान्तरणको रूपमा गणना हुनको लागि पर्याप्त हुँदैन। तँ धेरै बाटाहरूमा दगुर्न सक्छस्, धेरै कठिनाइ भोग्‍न सक्छस्, र ठूलो अपमान सहन सक्छस्; तैँले परमेश्‍वरको अत्यन्तै नजिक भएको महसुस गर्न सक्छस् र पवित्र आत्माले तँमा केही काम गर्न सक्‍नुहुन्छ। तापनि, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्ने केही गर्न लगाउनुहुन्छ, तँ अझै पनि समर्पित हुन सक्दैनस्, बरु बहानाहरू बनाउन खोज्छस्, परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छस् र गम्भीर परिस्थितिहरूमा त, उहाँमाथि सवाल खडा गर्दै उहाँविरुद्ध लड्छस्। यो एउटा गम्भीर समस्या हुनेछ! यसले तँमा अझै पनि परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति छ, तैँले साँचो रूपमा सत्यता बुझ्दैनस्, र तेरो जीवन स्वभावमा बिलकुलै परिवर्तन आएको छैन भन्‍ने देखाउनेछ। आफूलाई बर्खास्त गरिएपछि वा हटाइएपछि पनि केही मानिसहरूले परमेश्‍वरको आलोचना गर्छन् र उहाँ धर्मी हुनुहुन्‍न भन्छन्। तिनीहरू परमेश्‍वरसँग विवाद र झगडा गर्छन्, र तिनीहरू जहाँ गए पनि परमेश्‍वरबारे आफ्नो धारणा र उहाँप्रति असन्तुष्टि फैलाउँछन्। यस्ता मानिसहरू परमेश्‍वरको विरोध गर्ने दियाबलस हुन्। दियाबलसको प्रकृति भएका मानिस कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूलाई त्यागिनुपर्छ। जुनसुकै परिस्थितिमा सत्यता खोज्न र स्विकार्न सक्‍ने, र परमेश्‍वरको काममा समर्पित हुनेहरूले मात्र सत्यता प्राप्त गर्ने र स्वभाव परिवर्तन हासिल गर्ने आशा हुन्छ। तैँले आफ्ना अनुभवहरूमा बाहिरी रूपमा सामान्य लाग्‍ने स्थितिहरू खुट्याउन सिक्‍नुपर्छ। प्रार्थना गर्दा तैँले सुक्सुक्याउन र रुन सक्छस्, वा तेरो हृदयले परमेश्‍वरलाई अति प्रेम गर्ने गरेको र तेरो हृदय परमेश्‍वरसँग अति निकट रहेको महसुस गर्न सक्छस्, तैपनि यी स्थितिहरू पवित्र आत्माका काम मात्र हुन् र यो कुराले तँ परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति होस् भन्‍ने जनाउँदैन। यदि पवित्र आत्माले काम नगर्नुहुँदा पनि, र परमेश्‍वरले तेरो धारणासँग नमिल्ने कुराहरू गर्नुहुँदा पनि, तैँले परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन सक्छस् भने मात्र तँ परमेश्‍वरलाई साँच्‍चिकै प्रेम गर्ने व्यक्ति होस्। तब मात्र तँ जीवन स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्। यस्तो व्यक्तिमा मात्र सत्यता वास्तविकताहरू हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

स्वभावमा हुने रूपान्तरण भनेको के हो? जब सत्यतालाई प्रेम गर्ने कुनै व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै उहाँका वचनहरूको न्याय र सजाय स्वीकार गर्छ अनि सबै प्रकारका कष्ट र शोधन भोग्छ, तब यस्तो हुने गर्छ। यस्तो व्यक्तिको भित्री शैतानी विषहरू पखालिन्छ अनि उसले आफ्ना भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिदिन्छ ताकि ऊ कहिल्यै पनि परमेश्‍वरविरुद्ध विद्रोह नगर्न वा उहाँको विरोध नगर्नको लागि परमेश्‍वरका वचनहरू र उहाँका सबै योजनाहरू र व्यवस्थापनहरूमा समर्पित हुन सकोस्। स्वभावमा हुने रूपान्तरण यही हो। … स्वभावमा हुने रूपान्तरण भनेको सत्यतालाई प्रेम र स्वीकार गर्ने व्यक्तिले अन्ततः परमेश्‍वरसित विद्रोह गर्ने र परमेश्‍वरविरुद्ध रहेको आफ्नो प्रकृति चिन्‍नु हो। उसले मानिसहरू अति गहन रूपमा भ्रष्ट पारिएका छन् भनेर बुझ्छ, र उसले मानवजातिको निरर्थकता र छलीपन, अनि मानवजातिको दरिद्रता र दयनीय अवस्था पनि बुझ्छ, अनि आखिरमा उसले मानवजातिको प्रकृति सार पनि बुझ्‍न पुग्छ। यी सबै कुरा जानेर, ऊ आफूलाई पूर्ण रूपमा इन्कार्न र आफैविरुद्ध विद्रोह गर्न, परमेश्‍वरका वचनहरूद्वारा जिउन, र हरेक कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छ। ऊ त्यो व्यक्ति हो जसले परमेश्‍वरलाई चिन्छ र जसको स्वभाव रूपान्तरित भएको छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

स्वभावका परिवर्तनहरू सारमा व्यवहारका परिवर्तनहरूभन्दा फरक हुन्छन्, र ती अभ्यासका परिवर्तनहरूभन्दा पनि फरक हुन्छन्—ती सबै सारको हिसाबले फरक छन्। धेरैजसो मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा आफ्‍नो व्यवहारलाई विशेष जोड् दिन्छन्, जसको फलस्वरूप तिनीहरूको व्यवहारमा केही परिवर्तन आउँछन्। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले धुम्रपान र मद्यपान गर्न छोड्छन्, र त्यसउप्रान्त अरूसँग प्रतिस्पर्धा गर्दैनन्, र घाटा बेहोर्दा धैर्यताको अभ्यास गर्न मन पराउँछन्। तिनीहरूका व्यवहारमा केही परिवर्तन आएको हुन्छ। कतिपय मानिसहरूलाई के लाग्छ भने परमेश्‍वरमा विश्‍वास गरेपछि तिनीहरूले परमेश्‍वरको वचन पढेर सत्यता बुझ्‍न सक्छन्; तिनीहरूले पवित्र आत्‍माको कार्य अनुभव गरेका छन्, र तिनीहरूको हृदयमा साँचो शान्ति प्राप्त भएको छ जसले गर्दा तिनीहरू विशेष जोसिला भएका छन्, र तिनीहरूले त्याग्‍न वा भोग्‍न नसक्‍ने केही छैन। तापनि, आठ, दस वा बीस वा तीस वर्षसम्म विश्‍वास गरेपछि पनि तिनीहरूको स्वभावमा कुनै परिवर्तन नभएको हुनाले, आखिरमा तिनीहरू पुरानै चालमा फर्कन थाल्छन्; तिनीहरूको अहङ्कार र हठीपन झन् स्पष्ट हुँदै जान्छ, तिनीहरू शक्ति र फाइदाको लागि प्रतिस्पर्धा गर्न थाल्छन्, तिनीहरू मण्डलीको पैसाको लालच गर्छन्, परमेश्‍वरको घरबाट फाइदा लिएका मानिसहरूप्रति तिनीहरूलाई डाहा लाग्छ। तिनीहरू परजीवी र नाशक जीव बन्छन्, र कतिलाई त झूटा अगुवा र ख्रीष्टविरोधीहरूका रूपमा खुलासा गरेरसमेत हटाइन्छ। अनि यी तथ्यहरूले के प्रमाणित गर्दछन्? व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, उनीहरूले आफ्नो साँचो रङ्ग देखाउनेछन्। यस्तो किन हुन्छ भने व्यवहारमा आएको परिवर्तनको स्रोत उत्साहमा हुन्छ, र त्यसमा त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम थपिँदा, थोरै समयको लागि तिनीहरूलाई उत्साहित हुन वा दया देखाउन धेरै सजिलो हुन्छ। जसरी अविश्‍वासीहरू भन्छन्, “एउटा असल काम गर्नु सजिलो हुन्छ; जीवनभरि असल कामहरू गर्नुचाहिँ गाह्रो हुन्छ।” किन मानिसहरूले आफ्‍नो जीवनभरि नै असल कार्यहरू गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसले प्रकट गर्ने व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्‍ने हुन्छ। परमेश्‍वरको न्याय, दण्ड, परीक्षाहरू, र मानिसहरूका शोधनहरू सबैले तिनीहरूको स्वभाव परिवर्तन गर्न सक्दछन् ताकि तिनीहरू परमेश्‍वरप्रति पूर्ण अधीनता र भक्ति प्राप्त गर्न, र सामान्यतया उहाँको आराधना गर्ने हुन सकून्। यो परमेश्‍वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्‍वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्‍ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा अन्तर्दृष्टि र अगुवाइ पाएको हुन्छ, तापनि त्यो तिनीहरूको जीवनको अभिव्यक्ति हुँदैन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्‍वरको आज्ञापालन गर्छन् वा उनीहरूले सत्यताको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरू प्रतिनिधित्व गर्दैनन् र त्यस्ता परिवर्तनलाई जीवनका अभिव्यक्तिहरू भनेर भन्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मान्छेले स्वभाव परिवर्तन ठान्‍ने कुरा व्यवहार परिवर्तन मात्र हो, र त्यो परमेश्‍वरले बताउने स्वभाव परिवर्तनभन्दा फरक कुरा र फरक मार्ग हो। के मान्छेले स्वभाव परिवर्तन ठान्‍ने कुराले मानिसले परमेश्‍वरलाई अवज्ञा, विरोध वा विश्‍वासघात गर्नेछैन भनेर सुनिश्चित गर्न सक्छ? के त्यसले मानिसलाई अन्ततः आफ्नो गवाहीमा खरो उत्रिने र परमेश्‍वरको इच्छा पूरा गर्ने तुल्याउन सक्छ? परमेश्‍वरले बताउने स्वभाव परिवर्तनको अर्थ हो, मानिसहरू सत्यता अभ्यास गरेर, उहाँको न्याय र सजाय अनुभव गरेर, अनि उहाँको निराकरण, काँटछाँट, परीक्षा र शोधनमा परेर उहाँको इच्छा र सत्यता सिद्धान्त बुझ्छन्, र त्यसपछि सत्यता सिद्धान्तअनुसार जिउँछन्, परमेश्‍वरलाई गलत नबुझी उहाँको आज्ञा पालना गर्ने र डर मान्‍ने हृदय प्राप्त गर्छन्, अनि परमेश्‍वरको साँचो ज्ञान र साँचो आराधना गर्न पाउँछन्। परमेश्‍वर व्यक्तिको व्यवहार परिवर्तनबारे बताउनुहुन्छ, तर मान्छेले भन्‍ने स्वभाव परिवर्तनले केलाई जनाउँछ? त्यसले सुध्रिएको व्यवहार, सुशील र शान्त देखिनु, अनि अहङ्कारी नहुनुलाई जनाउँछ; त्यसको अर्थ परिष्कृत र अनुशासित तरिकाले बोल्नु, अटेरी र उपद्रवी नहुनु, अनि व्यक्तिको बोली र व्यवहारमा विवेक, समझ, र नैतिक स्तर हुनु हो। के मान्छेले भन्‍ने स्वभाव परिवर्तन र परमेश्‍वरले माग गर्ने स्वभाव परिवर्तनबीच कुनै भिन्‍नता छ? के भिन्‍नता छ? मान्छेले भन्‍ने स्वभाव परिवर्तन बाहिरी व्यवहारमा आउने परिवर्तन, मानव धारणा र कल्पनाअनुरूपको परिवर्तन हो। परमेश्‍वरले माग गर्ने स्वभाव परिवर्तन भनेको आफ्नो भ्रष्ट स्वभाव हटाउनु हो, यो सत्यता बुझेर, कामकुराबारे आफ्नो दृष्टिकोण परिवर्तन गरेर, आफ्नो जीवनका दृष्टिकोण र मूल्यमान्यताहरू परिवर्तन गरेर जीवन स्वभावमा आउने परिवर्तन हो। यसमा एउटा भिन्‍नता छ। तैँले मानिसहरू वा कामकुराहरू जे सम्हालिरहेको भए पनि, तेरा मनसायहरू, तेरो कार्यका सिद्धान्तहरू, अनि तेरो मापनको मानक सबै सत्यताबमोजिम हुनैपर्छ, अनि तैँले सत्यता सिद्धान्त खोज्नैपर्छ; स्वभाव परिवर्तन गर्ने एकमात्र तरिका यही हो। यदि तँ आफूलाई जहिले पनि व्यावहारिकी मानकद्वारा मापन गर्छस्, सधैँ आफ्नो बाहिरी व्यवहार परिवर्तनहरूमा केन्द्रित हुन्छस्, अनि आफू मानव स्वरूपमा जिइरहेको र आफूमा अलि असल व्यवहार भएकै कारण आफूसँग परमेश्‍वरको अनुमोदन छ भन्ठान्छस् भने, त्यो पूर्ण रूपमा गलत हो। तँमा भ्रष्ट स्वभावहरू भएकाले, तैँले परमेश्‍वरको विरोध गर्न सक्ने र परमेश्‍वरलाई विश्‍वासघात गर्ने जोखिम भएकाले, यदि आफ्नो भ्रष्ट स्वभाव हटाउन सत्यता खोज्दैनस् भने, तेरो बाहिरी व्यवहार जति नै राम्रो भए पनि, तँ परमेश्‍वरप्रति साँचो आज्ञाकारी बन्‍न सक्नेछैनस्, अनि परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्षम हुनेछैनस्। के बाहिरी असल व्यवहारले मात्र परमेश्‍वरको डर मान्‍ने हृदय बनाउन सक्छ र? के त्यसले व्यक्तिलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने तुल्याउन सक्छ? यदि मानिसहरू परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्दैनन् भने, जति नै मात्रामा असल व्यवहार भए पनि त्यसले तिनीहरूमा परमेश्‍वरप्रति साँचो आज्ञाकारिता छ भन्‍ने जनाउँदैन। त्यसकारण, जति मात्रामा असल व्यवहार भए पनि त्यसले स्वभाव परिवर्तनलाई जनाउँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन

यदि व्यक्तिमा धेरै वटा असल बानीबेहोरा छन् भने, यसको अर्थ ऊसँग सत्यता वास्तविकताहरू छन् भन्‍ने हुँदैन। सत्यताको अभ्यास अनि सिद्धान्तहरूअनुसार काम गरेर मात्रै तैँले सत्यता वास्तविकताहरू प्राप्त गर्न सक्छस्। परमेश्‍वरको डर मानेर अनि दुष्टताबाट टाढा बसेर मात्रै तैँले सत्यता वास्तविकताहरू प्राप्त गर्न सक्छस्। कतिपय मानिसहरू जोसिला हुन्छन्, तिनीहरूले धर्मसिद्धान्तको कुरा गर्न, नियमहरू पालना गर्न, र धेरै सुकर्म गर्न सक्छन्, तर तिनीहरूका बारेमा बोल्दा तिनीहरूमा अलिअलि मानवता छ भनेर मात्रै सकिन्छ। धर्मसिद्धान्तको कुरा गर्न र सधैँ नियमहरू पालना गर्न सक्‍ने मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन् नै भन्‍ने हुँदैन। तिनीहरूले भन्‍ने कुरा सही र समस्यारहित भएझैँ लागे पनि, सत्यताको सारको बारेमा तिनीहरूसँग भन्‍ने कुरा केही हुँदैन। त्यसकारण, कसैले जति धेरै धर्मसिद्धान्तको कुरा बोल्‍न सके पनि, यसको अर्थ उसले सत्यता बुझेको छ भन्‍ने हुँदैन, र उसले जति धेरै धर्मसिद्धान्त बुझेको भए पनि, उसले कुनै समस्या समाधान गर्न सक्दैन। धार्मिक सिद्धान्तकारहरू सबैले बाइबलको व्याख्या गर्न सक्छन्, र अन्त्यमा, तिनीहरू सबै पतन हुन्छन्, किनभने तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएको सम्पूर्ण सत्यता स्वीकार गरेका हुँदैनन्। जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयहरूमा विवेकी हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको इच्छाबमोजिम कसरी काम गर्ने, सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र आफूले प्रदर्शन गर्ने भ्रष्टताको प्रकृति तिनीहरूले बुझेका हुन्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहलाई त्याग्‍ने बन्‍न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै प्रकट गरिन्छ। स्वभावको परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरूले सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरूले बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा व्यावहारिक र समझदार देखिन्छन्, र तिनीहरूमा सत्यको ज्ञान भएकोले, तिनीहरूले त्यति धेरै स्व-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरूमा प्रकट हुने धेरैजसो भ्रष्टता तिनीहरूले देख्न र बुझ्न सक्छन्, त्यसैले तिनीहरू अहङ्कार गर्दैनन्। तिनीहरूले लिनुपर्ने स्थान के हो र के कस्ता व्यावहारिक कुराहरू गर्नुपर्छ, कसरी कर्तव्यपरायण हुने, के भन्ने र के नभन्ने, कुन मानिसहरूलाई के भन्ने र के गर्ने सो तिनीहरूले निश्‍चित हदसम्म बुझ्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरूले सधैँ सत्यताअनुसार बोल्न र परिस्थिति देख्‍न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तअनुसार काम गर्छन्; तिनीहरू कुनै पनि व्यक्ति, वस्तु वा थोकको प्रभावमा परेका हुँदैनन्, र तिनीहरू सबैका आ-आफ्नै विचारहरू हुन्छन् र सत्यता सिद्धान्तलाई समर्थन गर्न सक्छन्। तिनीहरूका स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी तातो र घरी चिसो हुँदैनन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि आफ्ना कर्तव्यहरू कसरी उचित रूपले पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने किसिमको व्यवहार कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जस-जसका स्वभावहरू परिवर्तित भएका हुन्छन्, तिनीहरूले अरूले तिनीहरूको बारेमा राम्रो सोचून् भन्ने हेतु बाहिरी रूपमा के गर्नुपर्छ भन्ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न के गर्नुपर्छ सो आन्तरिक रूपमा स्पष्ट बुझेका हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित वा तिनीहरूले कुनै महत्वपूर्ण काम गरेको जस्तो नदेखिन सक्छ, तर तिनीहरूले गर्ने सबै कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छन्, र तिनले व्यावहारिक परिणामहरू ल्याउँछन्। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्‍चित रूपमा धेरै सत्यता वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र कार्यका सिद्धान्तहरूद्वारा पुष्टि गर्न सकिन्छ। सत्यता प्राप्त नगरेका मानिसहरूले जीवन स्वभावमा कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। ठ्याक्‍कै भन्दा, स्वभाव परिवर्तन कसरी हासिल गर्न सकिन्छ? मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू सबैसँग परमेश्‍वरविरोधी प्रकृति छ। परमेश्‍वरले परमेश्‍वरविरोधी प्रकृति भएका र परमेश्‍वरलाई विरोध गर्ने मानिसहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँको डर मान्‍ने मानिसहरूमा परिणत गरी मुक्ति दिनुहुन्छ। स्वभाव परिवर्तन भएको व्यक्ति बन्‍नु भनेको यही हो। व्यक्ति जति नै भ्रष्ट भए पनि, तिनीहरूसँग जति नै धेरै भ्रष्ट स्वभावहरू भए पनि, तिनीहरूले सत्यता स्वीकार गर्न, अनि परमेश्‍वरको न्याय र सजाय, र विभिन्‍न परीक्षा र शोधन स्वीकार गर्न सकुञ्जेलसम्म, तिनीहरूसँग परमेश्‍वरबारे साँचो बुझाइ हुन्छ, साथै तिनीहरूले आफ्‍नो प्रकृति सारलाई स्पष्ट देख्‍न सक्छन्। जब तिनीहरूले आफूलाई साँचो रूपमा बुझ्छन्, तब तिनीहरूले आफूलाई र शैतानलाई घृणा गर्न सक्छन् र तिनीहरू शैतानलाई त्याग्‍न, र परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन तयार हुन्छन्। व्यक्तिमा यस्तो दृढ़ता भएपछि, उसले सत्यता खोजी गर्न सक्छ। यदि मानिसहरूमा परमेश्‍वरबारे साँचो ज्ञान छ, तिनीहरूको शैतानी स्वभावलाई शुद्ध पारिएको छ, र तिनीहरूभित्र जरा गाडेर परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन र अस्तित्वका आधार बनेका छन् भने, यदि तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार जिउँछन्, र तिनीहरू पूर्ण रूपमा परिवर्तन भएर नयाँ मानिसहरू बनेका छन् भने, यसलाई तिनीहरूको जीवन स्वभावमा आएको परिवर्तनको रूपमा लिन सकिन्छ। स्वभाव परिवर्तन हुनु भनेको उसको मानवता परिपक्‍व र अनुभवी हुनु होइन न त मानिसहरूको बाहिरी स्वभाव पहिलेको भन्दा नम्र हुनु नै हो, यो पहिले तिनीहरू अहङ्कारी थिए, तर अब विवेकी भएर कुराकानी गर्न सक्छन्, वा पहिले तिनीहरूले कसैको कुरा सुन्दैनथे, तर अब अलिकति अरूका कुरा सुन्न सक्छन् भन्ने होइन; त्यस्ता बाहिरी परिवर्तनलाई स्वभावको रूपान्तरण भनी भन्न सकिँदैन। अवश्य, स्वभावमा हुने रूपान्तरणमा त्यस्ता प्रकटीकरणहरू पनि पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण भाग भनेको आन्तरिक रूपमा, तिनीहरूका जीवन परिवर्तन भएको हुन्छ। मुख्तया यस्तो किन हुन्छ भने परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूभित्र जरा गाडेका हुन्छन्, तिनले नै तिनीहरूभित्र शासन गर्छन्, र ती तिनीहरूको जीवन बनेका हुन्छन्। तिनीहरूको दृष्टिकोण पनि बदलिएका हुन्छन्। तिनीहरूले संसारमा अनि मानवजातिलाई के भइरहेको छ, शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, ठूलो रातो अजिङ्गरले कसरी परमेश्‍वरको विरोध गर्छ, र ठूलो रातो अजिङ्गरको सार के हो भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छन्। तिनीहरूले हृदयदेखि ठूलो रातो अजिङ्गर र शैतानलाई घृणा गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरकहाँ पूर्ण रूपमा फर्केर उहाँलाई पछ्याउन सक्छन्। यसको अर्थ तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ, र तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ। जीवन स्वभावमा आउने परिवर्तनहरू आधारभूत परिवर्तनहरू हुन्, जबकि बानीबेहोरामा आउने परिवर्तनहरू सतही परिवर्तनहरू हुन्। जीवन स्वभावमा परिवर्तन हासिल गरेका मानिसहरूले मात्रै सत्यता प्राप्त गरेका हुन्छन्, र तिनीहरूलाई मात्रै परमेश्‍वरले प्राप्त गर्नुभएको हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अहिले तैँले परमेश्‍वरका वचनहरू असल र सही छन् भनेर स्वीकार मात्र गर्छस्, र तेरो बाह्य व्यवहारलाई हेर्दा, तैँले प्रस्ट रूपमा सत्यताविरुद्ध जाने कामकुराहरू गर्दैनस्, तैँले परमेश्‍वरको कामलाई मूल्याङ्कन वा आलोचना गर्नु त परै जाओस्। तँ परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति पनि समर्पित हुन सक्छस्। यो त एक अविश्‍वासीबाट सन्तको जस्तो शिष्टता भएको परमेश्‍वरको अनुयायी बन्‍नु हो। परमेश्‍वरका वचनहरू सुनेपछि, तँ दृढ रूपमा शैतानका दर्शन, अवधारणा, नियम, र ज्ञानअनुरूप जिउने व्यक्तिबाट, ती वचनहरू सत्यता भएको महसुस गर्ने, तिनलाई स्विकार्ने, र सत्यता पछ्याउने, र परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा अपनाउन सक्‍ने व्यक्ति बन्छस्। यो त्यस्तो प्रक्रिया हो—योभन्दा बढी केही पनि होइन। यो अवधिमा, तेरा व्यवहार र कामकुराहरू गर्ने तेरा तौरतरिकाहरूमा निश्‍चय नै केही परिवर्तन हुनेछन्। तर जति नै परिवर्तन भए पनि तँमा जे कुरा प्रकट हुन्छ, परमेश्‍वरको लागि, त्यो तेरो व्यवहार र तौरतरिकाहरूमा आएका परिवर्तनहरू, तेरो सोचविचार र दृष्टिकोणहरूमा आएका परिवर्तनहरू, र तेरा सबैभन्दा भित्री चाहना र आकांक्षाहरूमा आएका परिवर्तनहरूभन्दा बढी केही होइन। यो तेरा सोच र दृष्टिकोणमा आएका परिवर्तनहरूभन्दा बढी केही होइन। तँ अहिले आफ्नो शक्ति बटुलेर आवेगमा आउँदा परमेश्‍वरलाई आफ्नो जीवन अर्पण गर्न सक्छस् होला, तर तैँले आफूलाई खास रूपमा मननपर्ने विषयको हकमा परमेश्‍वरप्रति पूर्ण आज्ञाकारिता हासिल गर्न सक्दैनस्। व्यवहार परिवर्तन र स्वभाव परिवर्तन बीचको भिन्नता यही हो। सायद, तेरो दयालु हृदयले तँलाई आफ्नो जीवन र सबथोक परमेश्‍वरलाई अर्पण गर्न र यसो भन्न सक्षम तुल्याउँछ होला, “म परमेश्‍वरको लागि मेरो जीवनको रगत परित्याग गर्न तयार र इच्छुक छु। यो जीवनमा, मलाई कुनै पनि अफसोस र कुनै पनि गुनासो छैन! मैले विवाहलाई परित्याग गरेको छु, सांसारिक सम्भाव्यताहरूलाई परित्याग गरेको छु, वैभव र सम्पत्तिहरू परित्याग गरेको छु, र म परमेश्‍वरले मेरो लागि तय गर्नुभएका यी परिस्थितिहरू स्विकार्छु। म यो संसारका सबै उपहास र निन्दाहरू सहन सक्छु।” तर परमेश्‍वरले तेरा धारणाहरूसँग मेल नखाने परिस्थितिहरू तय मात्रै गर्नुपर्छ, त्यसपछि तँ उभिएर उहाँविरुद्ध खैलाबैला मच्चाउन र उहाँको प्रतिरोध गर्न सक्‍ने भइहाल्छस्। व्यवहारमा परिवर्तन आउनु र स्वभावमा परिवर्तन आउनुबीचको भिन्नता यही हो। के पनि सम्भव छ भने तैँले परमेश्‍वरलाई आफ्नो जीवन अर्पण गर्न सक्छस् र आफूले सबैभन्दा बढी प्रेम गर्ने मानिसहरू वा वस्तुलाई परित्याग गर्न सक्छस्, जुन कुराबाट छुट्टिन तेरो हृदयलाई सबभन्दा बढी सकस पर्छ—तर जब तँलाई हृदयबाटै परमेश्‍वरसित बोल्न र इमानदार व्यक्ति बन्न लगाइन्छ, तब तँलाई यो कुरा एकदमै मुस्किल लाग्छ र तैँले यो कुरा गर्न सक्दैनस्। व्यवहारमा परिवर्तन आउनु र स्वभावमा परिवर्तन आउनुबीचको भिन्नता यही हो। अनि फेरि, सायद तँ यो जीवनमा दैहिक आरामको चाहना गर्दैनस्, न त तँ मीठो खाना खाने न त राम्रो लुगा लाउने चाह नै गर्छस्, बरु हरदिन आफ्नो कर्तव्यमा झुत्रेझाम्रे र लखतरान हुनेगरी काम गर्छस्। तैँले देहले तँमा ल्याएका हरप्रकारका पीडा सहन सक्छस्, तर यदि परमेश्‍वरका बन्दोबस्तहरू तेरा धारणाहरूसँग मेल खाँदैनन् भने, तैँले तिनलाई बुझ्दैनस् र तँभित्र परमेश्‍वरविरुद्ध गुनासाहरू र उहाँबारे गलत बुझाइहरू पैदा हुन्छन्। अनि, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्झन् असामान्य बन्छ। तँ सधैँ प्रतिरोधी र अनाज्ञाकारी हुन्छस् र परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनस्। व्यवहारमा परिवर्तन आउनु र स्वभावमा परिवर्तन आउनुबीचको भिन्नता यही हो। तँ परमेश्‍वरको लागि आफ्नो जीवन परित्याग गर्न इच्छुक छस्, तर किन उहाँसित एउटा पनि इमानदार शब्‍द बोल्न सक्दैनस्? तँ आफूभन्दा बाहिरको सबथोक त्याग्‍न इच्छुक छस्, तर किन परमेश्‍वरले तँलाई दिनुभएको आज्ञाप्रति अत्यन्तै बफादार हुन सक्दैनस्? तँ परमेश्‍वरको लागि आफ्नो जीवन परित्याग गर्न इच्छुक छस्, तर आफ्ना भावनाहरूमा भर परेर काम गर्दा र अरूसँगको सम्बन्ध कायम राख्दा, किन आफूबारे चिन्तन गर्न सक्दैनस्? तँ किन मण्डलीको काम र परमेश्‍वरको घरका हितहरू परिपालन गर्ने पक्ष लिन सक्दैनस्? के यस्तो व्यक्ति परमेश्‍वरसामु जिउने व्यक्ति हो त? तैँले परमेश्‍वरको अघि आफ्नो जीवनभर उहाँप्रति समर्पित हुने र आफ्नो बाटोमा जुनसुकै कष्ट आए पनि स्विकार्ने प्रतिज्ञा गरिसकेको छस्, तर तँलाई एकचोटि आफ्नो कर्तव्यबाट निष्कासन गर्दा, किन त्यति धेरै नकारात्मकतामा डुब्छस् र कैयौं दिनसम्म त्यसबाट बाहिर निस्कन सक्दैनस्? किन तेरो हृदय प्रतिरोध, गुनासो, गलतबुझाइ र नकारात्मकताले भरिएको छ? यो के भएको हो त? यसले के देखाउँछ भने, तेरो हृदयले हैसियतलाई सबैभन्दा बढी प्रेम गर्छ, र यो तेरो मुख्य कमजोरीसँग जोडिएको छ। त्यसकारण, जब तँलाई बरखास्त गरिन्छ, तब तँ ढल्छस् र उठ्न सक्दैनस्। यो तेरो व्यवहार मात्र परिवर्तन भएको छ, तेरो जीवन स्वभाव परिवर्तन भएको छैन भन्ने कुराको पर्याप्त प्रमाण हो। व्यवहारमा परिवर्तन आउनु र स्वभावमा परिवर्तन आउनुबीचको भिन्नता यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)

परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा गाह्रो पक्ष भनेको स्वभाव परिवर्तन गर्नु हो। सायद तँ जीवनभरि अविवाहित रहन सक्छस्, वा कहिल्यै मिठो खान वा राम्रो लाउन सक्दैनस्; कतिपय मानिसहरू यसोसमेत भन्छन्, “जीवनभरि दुःख पाए पनि, वा जीवनभरि एक्लै भए पनि, म त्यो सहन सक्छु—परमेश्‍वर मेरो साथमा हुनुभएकाले, यी कुरा केही पनि होइनन्।” यस प्रकारका शारीरिक पीडा र कठिनाइलाई जित्‍न र समाधान गर्न सजिलो छ। केलाई जित्‍न सजिलो छैन? मान्छेको भ्रष्ट स्वभावलाई। भ्रष्ट स्वभावहरू आत्मसंयमद्वारा मात्र हटाउन सकिँदैन। मानिसहरू आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्न, परमेश्‍वरको इच्‍छा पूरा गर्न, र भविष्यमा राज्यमा प्रवेश गर्नका लागि शारीरिक कष्ट सहन सक्छन्—तर के कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍नुको अर्थ तिनीहरूको स्वभाव परिवर्तन भएको छ भन्‍ने हो र? होइन। कसैको स्वभाव परिवर्तन भएको छ कि छैन भनेर मापन गर्न उसले कति कष्ट सहन सक्छ, वा उसले बाहिरी रूपमा कति असल व्यवहार देखाउँछ भनेर नहेर्। व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनी सही रूपमा मापन गर्ने एकमात्र तरिका भनेको तिनीहरूका कार्यहरूको उद्देश्य, मनसाय, र अभिप्राय, तिनीहरूले व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने सिद्धान्तहरू, अनि सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिलाई हेर्नु हो।

परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, कतिपय मानिसहरू बिलकुलै सांसारिक प्रवृतिहरूको पछि लाग्दैनन् वा आफ्ना लुगाफाटा र रूपरङ्गमा ध्यान दिँदैनन्। तिनीहरू कष्ट भोग्न र मेहनत गर्न, अनि देहसुखलाई वशमा राख्न र त्याग्न सक्छन्। तर तिनीहरू आफ्ना कर्तव्य निभाउँदा, अरूसित अन्तरक्रिया गर्दा र कामकुरा सम्हाल्दा, विरलै इमानदार हुन्छन्। तिनीहरू इमानदार हुन रुचाउँदैनन्, तिनीहरू सधैँ अलग देखिन र भिन्‍न हुन चाहन्छन्, अनि तिनीहरूले गर्ने र भन्‍ने हरेक कुराको पछाडि अभिप्राय हुन्छ। तिनीहरू आफू कति राम्रो छु भनी मानिसहरूलाई देखाउन, मानिसहरूको मन जित्न, अनि मानिसहरूलाई आफ्नो समर्थन र आराधना गर्न लगाउन यति हदसम्म अत्यन्तै होसियारी र सावधानीसाथ हिसाब लगाउँछन् कि मानिसहरू आफूलाई केही आइपर्दैपिच्छे तिनीहरूकहाँ आएर सहयोग माग्छन्। यसो गरेर, तिनीहरू दिखावा गरिरहेका हुन्छन्। तिनीहरूले प्रकट गर्ने त्यो कस्तो स्वभाव हो? त्यो शैतानी स्वभाव हो। के यस्ता मानिसहरू धैरै छन्? सबै जना यस्तै हुन्छन्। यसो हेर्दा, तिनीहरू सबै नियम पालना गर्छन्, अलि कष्ट भोग्न सक्छन्, अनि केही हदसम्म समर्पित हुन इच्छुक हुन्छन्। तिनीहरू थोरै सांसारिक कुराहरू त्याग्न सक्छन्, तिनीहरूसित सत्यता पछ्याउने अलि मात्रामा सङ्कल्प र चाहना हुन्छ, अनि तिनीहरूले परमेश्‍वरप्रति विश्‍वासको मार्गमा जग बसालेका हुन्छन्। तिनीहरूको भ्रष्ट स्वभाव मात्र जस्ताको तस्तै रहन्छ। तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्। तिनीहरूले सत्यता बुझे पनि त्यसलाई अभ्यास गर्न सक्दैनन्। बिलकुलै परिवर्तन भएको छैन भन्‍नुको अर्थ त्यही हो। सबै कामकुरा आफूखुसी गर्नु त शैतानी स्वभावहरूमा जिउनेहरूले व्यवहार गर्ने तरिका हो। तिनीहरू आफ्ना कार्यहरूको अभिप्राय गलत हुँदा, परमेश्‍वरलाई प्रार्थना गर्दैनन्, वा आफ्नो इच्छा नकार्दैनन्, तिनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन्, न त तिनीहरू अरूबाट मद्दत माग्छन् वा अरूसित सङ्गति नै गर्छन्। तिनीहरू आफू जे चाहन्छन्, आफूलाई जे इच्छा लाग्छ त्यही गर्छन्; तिनीहरू असावधानीपूर्वक र संयमविना कार्य गर्छन्। तिनीहरूले बाहिरी रूपमा दुष्टता नगर्लान्, तर सत्यता अभ्यास पनि गर्दैनन्। तिनीहरू आफ्नो कार्यमा आफ्नै इच्छा पछ्याउँछन् अनि शैतानी स्वभावमा जिउँछन्। यसको मतलब तिनीहरूमा सत्यताप्रति प्रेम छैन वा तिनीहरूको हृदयमा परमेश्‍वरको डर छैन, अनि तिनीहरू परमेश्‍वरसामु जिउँदैनन्। तिनीहरूमध्ये कतिपयले परमेश्‍वरको वचन र सत्यता पनि बुझ्लान्, तर ती अभ्यास गर्न सक्दैनन्। किनभने तिनीहरू आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरूलाई जित्न सक्दैनन्। तिनीहरूलाई आफूले गरिरहेको काम गलत हो, त्यो अवरोध र बाधा हो, परमेश्‍वरलाई त्यो घृणा लाग्छ भनी प्रस्टसित थाहा छ, तैपनि तिनीहरू त्यो बारम्बार गर्छन्, र सोच्छन्, “के परमेश्‍वरमा विश्‍वास गर्नु आशिष प्राप्त गर्नका लागि होइन र? म आशिषहरूको पछि लाग्नुमा के गल्ती छ र? मैले परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरूमा धेरै कष्ट भोगेको छु; मैले परमेश्‍वरका अनुमोदन र आशिषहरू प्राप्त गर्न आफ्नो जागिर छोडेको छु र संसारमा आफ्ना सम्भावनाहरू त्यागेको छु। मैले सहेका सबै कष्टहरूको आधारमा परमेश्‍वरले मलाई सम्झनुपर्छ। उहाँले मलाई आशिष् दिनुपर्छ र समृद्ध बनाउनुपर्छ।” यी वचनहरू मानव रुचि सुहाउँदा छन्। परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्तिले यस्तै सोच्छ—तिनीहरूलाई आशिष प्राप्त गर्ने अभिप्रायद्वारा अलिकति दूषित हुनु त्यति ठूलो समस्या होइन भन्‍ने लाग्छ। तर यदि तैँले यी वचनहरूलाई ध्यानपूर्वक विचार गरिस् भने, के तीमध्ये कुनै सत्यता वा सत्यता वास्तविकताको भागबमोजिम छ? यो सब परित्याग र कष्टहरू असल मानव व्यवहारका प्रकार हुन्। यी कार्यहरू आशिष प्राप्त गर्ने अभिप्रायद्वारा नियन्त्रित हुन्छन्, अनि ती सत्यता अभ्यास होइनन्। यदि कुनै व्यक्तिले यी मानिसहरूको नैतिक व्यवहार मापन गर्न मान्छेका नैतिक मानकहरू प्रयोग गरेको भए, तिनीहरू मेहनती र मितव्ययी, परिश्रमी र बलिष्ठ मानिनेथिए। बेलाबेलामा तिनीहरू आफ्ना काममा यति तल्लीन हुन्छन् कि खान र सुत्न नै बिर्सिन्छन्, अनि तिनीहरूमध्ये कतिपयचाहिँ भेटेको चीज त्यसको धनीलाई फिर्ता गर्न, सहयोगी र परोपकारी हुन, अरूलाई समझदार र उदार भई व्यवहार गर्न, अति कन्जुस वा नाटीकुटी गर्ने नहुन, अनि आफूलाई सबैभन्दा बढी मन पर्ने कुरा अरूलाई दिनसमेत इच्छुक हुन्छन्। मान्छेले यी सबै व्यवहारको प्रशंसा गर्दछ, र ऊ असल मानिसका रूपमा चिनिन्छ। यस्ता मानिसहरू गौरवशाली, प्रशंसनीय, अनि अनुमोदन पाउन योग्य देखिन्छन्; तिनीहरू आफ्ना कार्यहरूमा अत्यन्तै नैतिकवान, निष्पक्ष र उचित हुन्छन्। तिनीहरू अरूको दयाको ऋण तिर्छन् र भातृत्वलाई ख्याल राख्छन्, यतिसम्म कि आफ्ना कुनै साथीका लागि आफ्नो बलिदान दिनेछन्, र आफ्ना निकटतम मानिसहरूका निम्ति कष्ट सहनेछन् र सक्दो प्रयास गर्नेछन्। यस प्रकारको असल व्यक्तिलाई धेरै मानिसहरूले प्रशंसा गर्लान्, तैपनि के उसले वास्तवमै सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ? के उसले परमेश्‍वरलाई उच्च पार्न र उहाँको गवाही दिन आफ्नो जीवन अर्पण गर्नेछ? यस्तै हुन्छ भन्‍ने छैन। त्यसोभए के उसलाई असल व्यक्ति भन्‍न सकिन्छ? यदि तँ कुनै व्यक्तिले परमेश्‍वरको डर मान्छ कि मान्दैन र ऊ दुष्टताबाट अलग बस्छ कि बस्दैन, वा उसमा सत्यता वास्तविकता छ कि छैन भनी मूल्याङ्कन् गर्न खोज्दै छस् भने, के उसलाई सधैँ मानव धारणा, कल्पना, नीति र नैतिकताको आधारमा मूल्याङ्कन् गर्नु सही हुनेछ? के त्यो सत्यताअनुरूप हुनेछ? यदि मानव धारणा, कल्पना, नीति र नैतिकता सत्यता हुँदा हुन् त, परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्ने थिएन, न त न्याय र सजायको काम नै गर्नुपर्ने थियो। तैँले संसार र मानवजाति अन्धकारमय र दुष्ट छन्, तिनमा सत्यता छँदै छैन, र भ्रष्ट मानवजातिलाई परमेश्‍वरको मुक्ति आवश्यक छ भनेर स्पष्टसँग बुझ्नैपर्छ। तैँले परमेश्‍वर मात्र सत्यता हुनुहुन्छ, उहाँको वचनले मात्र मान्छेलाई शुद्ध पार्न सक्छ, उहाँले मात्र मान्छेलाई मुक्ति दिन सक्नुहुन्छ, अनि व्यक्तिको व्यवहार जति नै असल भए पनि त्यो सत्यता वास्तविकता होइन, र झनै त्यो सत्यताको त एकछेऊ पुग्दैन। मानिसहरूमाझ यी असल व्यवहारहरू व्यापक र परिचित बनेका भए पनि, ती सत्यता होइनन्, र कहिल्यै हुनेछैनन्, र तिनले कुनै कुरा परिवर्तन गर्न सक्दैनन्। के तँ आफ्ना साथीहरूका निम्ति आफ्नो बलिदान दिने र तिनीहरूका लागि सक्दो प्रयास गर्ने व्यक्तिलाई परमेश्‍वर र सत्यता स्विकार गर्न लगाउन सक्थिस्? कदापि सक्थिनस्, किनकि त्यस्तो व्यक्ति नास्तिक हो। के तँ परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएको व्यक्तिलाई उहाँप्रति साँचो समर्पण गराउन सक्थिस्? कदापि सक्थिनस्, किनकि जब व्यक्ति धारणाहरूले भरिन्छ, तब उसलाई सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन एकदमै कठिन हुन्छ। के व्यक्तिमा जतिसुकै मात्रामा असल व्यवहार छ भने ऊ परमेश्‍वरप्रति साँच्चै समर्पित हुन सक्छ? के उसले उहाँलाई साँचो प्रेम गर्न सक्छ? के उसले उहाँलाई उच्च पार्न र उहाँको गवाही दिन सक्छ? कदापि सक्दैन। के तँ प्रचार गर्ने र प्रभुका निम्ति काम गर्ने हरेक व्यक्ति परमेश्‍वरलाई साँचो प्रेम गर्ने व्यक्ति बन्छ भनेर ग्यारेन्टी दिन सक्छस्? त्यो एकदमै असम्भव हुनेछ। त्यसैले, कुनै व्यक्तिमा जति नै धेरै असल व्यवहार भए पनि, त्यसको मतलब उसले साँच्चै पश्चात्ताप गरेको छ र ऊ परिवर्तन भएको छ भन्‍ने होइन, झन् उसको जीवन स्वभाव परिवर्तन भएको छ भन्‍ने त हुँदै होइन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन

सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्‍न कुराहरू त्याग्छन् र आफैलाई परमेश्‍वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्‍वरको घरमा तिनीहरू आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन। स्वभाव परिवर्तन भएका मानिसहरू फरक हुन्छन्, तिनीहरूलाई, सत्यतामा जिउनु अर्थपूर्ण हुन्छ, मानव हुनुको आधार परमेश्‍वरमा समर्पित हुनु, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो, परमेश्‍वरको आज्ञा मान्‍नु भनेको पूर्ण रूपमा प्राकृतिक र न्यायोचित जिम्मेवारी हो, परमेश्‍वरको प्राणीका कर्तव्यहरू पूरा गर्ने मानिसहरू मात्रै मानव कहलाइन लायक हुन्छ—अनि यदि तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न र उहाँको प्रेमको ऋण तिर्न सक्दैनन् भने, तिनीहरू मानव कहलाइन लायक हुँदैनन् भन्‍ने लाग्छ; तिनीहरूलाई के लाग्छ भने- आफ्‍नो लागि जिउनु खोक्रो र अर्थहीन हुन्छ, मानिसहरू परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, र अर्थपूर्ण जीवन जिउनको लागि जिउनुपर्छ, ताकि तिनीहरू मर्ने बेलामा पनि, तिनीहरूले सन्तुष्ट महसुस गर्न सकून र तिनीहरूले अलिकति पनि पछुतो गर्न नपरोस्, अनि तिनीहरू व्यर्थमा जिएका नहोऊन्। यी दुई फरक परिस्थितिहरूलाई तुलना गर्दा, के देख्‍न सकिन्छ भने पछिल्‍ला मानिसहरू स्वभाव रूपान्तरण भएका मानिसहरू हुन्। यदि व्यक्तिको जीवन स्वभाव परिवर्तन भएको छ भने, जीवनसम्‍बन्धी उसको दृष्टिकोण पनि निश्‍चित रूपमा नै परिवर्तन भएको छ। उसँग अब फरक मूल्य-मान्यताहरू भएको हुनाले, ऊफेरि कहिल्यै पनि आफ्‍नो लागि जिउनेछैन, र उसले फेरि कहिल्यै पनि आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले परमेश्‍वरमा विश्‍वास गर्नेछैन। त्यस्तो व्यक्तिले यसो भन्‍न सक्‍नेछ, “परमेश्‍वरलाई चिन्नु निकै सार्थक हुन्छ। यदि म परमेश्‍वरलाई चिनेर मरेँ भने, त्यो अत्ति राम्रो हुनेछ। यदि म परमेश्‍वरलाई चिन्‍न र उहाँमा समर्पित हुन अनि अर्थपूर्ण जीवन जिउन सक्छु भने, मैले व्यर्थमा जिएको हुनेछैन, न त म कुनै पछुतोहरू लिएर नै मर्नेछु; मसँग कुनै गुनासो हुनेछैन।” यो व्यक्तिको जीवनसम्‍बन्धी दृष्टिकोण रूपान्तरीत भएको छ। व्यक्तिको जीवन स्वभावमा परिवर्तन आउनुको मुख्य कारण भनेको ऊभित्र सत्यता वास्तविकता भएको, उसले सत्यता प्राप्त गरेको र उसँग परमेश्‍वरबारे ज्ञान भएको कारण हो; त्यसरी जीवनसम्‍बन्धी उसको दृष्टिकोण परिवर्तन हुन्छ, र उसका मूल्य-मान्यताहरू पहिलेका भन्दा फरक हुन्छन्। रूपान्तरण व्यक्तिको हृदयभित्र बाट, र उसको जीवनभित्र बाट सुरु हुन्छ; यो बाहिरी परिवर्तन पक्कै पनि होइन। कतिपय नयाँ विश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि बाहिरी संसारलाई छोड्छन्। जब पछि तिनीहरूले अविश्‍वासीहरूलाई भेट्छन्, यी विश्‍वासीहरूसँग भन्‍नुपर्ने कुरा केही पनि हुँदैन, र तिनीहरूले आफ्‍ना अविश्‍वासी आफन्त र इष्टमित्रलाई बिरलै सम्पर्क गर्छन्। अविश्‍वासीहरू भन्छन्, “यो व्यक्ति परिवर्तन भएको छ।” त्यसपछि विश्‍वासीहरूले यस्तो सोच्छन्, “मेरो जीवन स्वभाव साँच्‍चै नै रूपान्तरित भएको छ; यी अविश्‍वासीहरूले म परिवर्तन भएको छु भनेर भनिरहेका छन्।” के यस्तो व्यक्तिको स्वभाव वास्तवमै रूपान्तरण भएको हुन्छ र? अहँ, भएको हुँदैन। उसले जे प्रकट गर्छ ती बाहिरी परिवर्तनहरू मात्रै हुन्। उसको जीवनमा कुनै वास्तविक परिवर्तन भएको हुँदैन, र उसको शैतानी प्रकृति उसको हृदयभित्रै जरा गाडेर, पूर्ण रूपमा जस्ताको त्यस्तै बसिरहेको हुन्छ। कहिलेकहीँ, मानिसहरू पवित्र आत्‍माको कार्यको कारण जोशले भरिपूर्ण हुन्छन्; केही बाहिरी परिवर्तनहरू देखा पर्न सक्छन्, अनि तिनीहरूले केही असल कार्य गर्न सक्छन्। तैपनि, यो स्वभाव रूपान्तरण हासिल गर्नु जस्तै होइन। यदि तँसँग सत्यता छैन र कामकुराहरूसम्‍बन्धी तेरो दृष्टिकोण परिवर्तन भएको छैन, यहाँसम्‍म कि त्यो अविश्‍वासीहरूको भन्दा पनि फरक छैन भने, र यदि जीवनसम्‍बन्धी तेरो दृष्टिकोण र मुल्य-मान्यताहरू परिवर्तन भएका छैनन् भने, र तँसँग परमेश्‍वरप्रति श्रद्धाभाव पनि छैन भने—जुन तँसँग कम्तीमा पनि हुनै पर्ने कुरा हो—तँ स्वभावमा परिवर्तन हासिल गरेको अवस्थाको अलिकति पनि नजिक पुगेको छैनस्। स्वभाव परिवर्तन हासिल गर्न, सबैभन्दा मूख्य कुरा भनेको तैँले परमेश्‍वरबारे बुझाइ हासिल गर्न खोज्नुपर्छ र तँसँग उहाँबारे साँचो बुझाइ हुनुपर्छ। पत्रुसको उदाहरण हेरौँ। जब परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पन चाहनुभयो, उसले भन्यो, “तपाईँले मलाई शैतानको हातमा सुम्पनुभयो भने पनि, तपाईँ परमेश्‍वर नै हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ, र सबथोक तपाईँकै हातमा छ। तपाईँले गर्नुहुने कुराहरूको निम्ति म कसरी तपाईँको प्रशंसा नगरी बस्न सक्छु र? तर आफू मर्नुअघि मैले तपाईँलाई चिन्न पाए, के त्यो झन् राम्रो हुँदैन र?” उसलाई मानिसहरूको जीवनमा परमेश्‍वरलाई चिन्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्‍ने लाग्थ्यो; परमेश्‍वरलाई चिनेपछि, जस्तोसुकै मृत्यु पनि मान्य हुनेछ, र परमेश्‍वरले त्यसलाई जसरी सम्हाल्नु भए पनि, त्यो ठिकै हुनेछ भन्‍ने लाग्थ्यो। उसलाई परमेश्‍वरलाई चिन्नु नै सबैभन्दा अत्याश्यक कुरा हो भन्‍ने पनि लाग्थ्यो; यदि उसले सत्यता प्राप्त गर्दैनथ्यो भने, ऊ कहिल्यै सन्तुष्ट हुन नसक्नेथ्यो, तर उसले परमेश्‍वरसित गुनासो गर्नेवाला थिएन। उसले आफूले सत्यता नपछ्याएको कुरालाई मात्र घृणा गर्नेथ्यो। पत्रुसको आत्माको आधारमा, परमेश्‍वरलाई चिन्ने उसको गम्भीर खोजले उसको जीवनप्रतिको दृष्टिकोण र मान्यताहरू परिवर्तित भएको थियो भन्ने देखाउँछ। परमेश्‍वरलाई चिन्ने उसको गहन तृष्णाले उसले साँच्चै परमेश्‍वरलाई चिनेको थियो भन्‍ने देखाउँछ। तसर्थ, यो अभिव्यक्तिबाट देख्‍न सकिन्छ कि उसको स्वभाव परिवर्तन भएको थियो; र ऊ स्वभाव रूपान्तरित भएको व्यक्ति थियो। उसको अनुभवको अन्त्यमा, परमेश्‍वरले ऊ नै परमेश्‍वरलाई सबैभन्दा बढी चिन्ने व्यक्ति हो भनेर भन्नुभयो। सत्यताबिना, व्यक्तिको जीवन स्वभाव साँचो रूपमा कहिल्यै परिवर्तन हुन सक्दैन। यदि तिमीहरू साँच्चै सत्यता पछ्याएर सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छौ भने, तब मात्र तिमीहरूले आफ्नो जीवन स्वभावमा परिवर्तन हासिल गर्न सक्‍नेछौ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो: २६. स्वभाव परिवर्तन भनेको के हो

अर्को: २८. मुक्तिले केलाई जनाउँछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्