२५. सत्यता अभ्यास गर्नु भनेको के हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्वरका वचनहरूभित्र, मानिसले धारण गर्नुपर्ने सत्यताहरू हुन्छन्, मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुने कुराहरू हुन्छन्, तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हुन्छन्, मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्ने कुराहरू हुन्छन् र मानिस सुसज्जित हुनुपर्ने सत्यताहरू हुन्छन्। तिमीहरू जति बढी परमेश्‍वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक क्षेत्रका कुराहरूलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्‍वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्‍वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्‍याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले यसो गरेर तिनीहरूले कसरी “परमेश्‍वरको वचन जीवन हो” भन्‍ने वाक्यांशको वास्तविकता प्राप्त गर्न सक्छन्? परमेश्‍वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्‍वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्‍वरको वचनलाई बुझ्नु आवश्यक छ भन्‍ने तेरो विश्‍वास हो भने तेरो बुझाइ त्रुटिपूर्ण छ। साँचो प्रकारले परमेश्‍वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि “सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ”। आज परमेश्‍वरको वचन पढेर तैँले परमेश्‍वरको वचनलाई चिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन् कि सत्यतालाई अभ्यास गर्ने एउटै तरिका यसलाई पहिले बुझ्नु हो तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँ साँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको शाब्दिक अर्थहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्‍ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्‍याउनु हो। त्यसकारण, तँ सत्यतासित जहाँ पनि जान सक्छस् तर यदि तँमा सत्यता छैन भने तेरो आफ्नो परिवारका सदस्यहरूलाई समेत तैँले विश्‍वस्त तुल्याउने प्रयास गर्ने कुरा सोच्दै नसोचे हुन्छ, धर्मी मानिसहरूको त कुरै छाडिदे। सत्यताविना तँ हावामा उडिरहेको हिमकण मात्रै होस्, तर सत्यताको साथले तँ खुशी र स्वतन्त्र हुन सक्छस् अनि कसैले तँलाई आक्रमण गर्न पनि सक्दैन। सिद्धान्त जतिसुकै बलियो भएतापनि त्यसले सत्यतामाथि विजय पाउन सक्दैन। सत्यताले संसार आफै झुल्न सक्छ अनि पहाडहरू र समुद्रहरू हल्लन सक्छन् जबकि सत्यताको कमीले बलियो शहरका पर्खालहरू पनि किराहरूद्वारा भग्नावशेषमा बदलिनसक्छ। यो एउटा स्पष्ट तथ्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

परमेश्‍वरको काम र वचन तिमीहरूको स्वभावलाई बदली गराउने उद्देश्यको निम्ति हुन्; उहाँको लक्ष्य तिमीहरूलाई केवल उहाँको काम र वचन बुझ्ने वा जान्ने तुल्याउनु मात्रै होइन। त्यो पर्याप्त छैन। बोध क्षमता भएको व्यक्तिलाई परमेश्‍वरको वचन बुझ्न कुनै कठिनता हुनु हुँदैन, किनभने परमेश्‍वरको अधिकांश वचन मानव भाषामा व्यक्त गरिएको छ, अनि उहाँले धेरै सरल रूपमा बोल्नुहुन्छ। उदाहरणको निम्ति, उसले जे बुझेको र अभ्यास गरेको परमेश्‍वर चाहनुहुन्छ सो जान्न ऊ पूर्ण रूपले सक्षम छ; यो बोध क्षमता भएको एउटा सामान्य व्यक्तिले गर्न सक्‍ने कुरा हो। निश्‍चित रूपमा, परमेश्‍वरले वर्तमान चरणमा बोलिरहनुभएका वचनहरू खास गरेर स्पष्ट तथा पारदर्शी छन्, अनि मानिसहरूले विचार नगरेका धेरै कुराहरू, साथै सबै प्रकारका मानव अवस्थाहरू परमेश्‍वरले औँल्याइरहनुभएको छ। उहाँका वचनहरू सर्व-व्यापक छन्, अनि पूर्णिमाको प्रकाश जस्तै स्पष्ट छन्। त्यसैले, अहिले मानिसहरूले धेरै विषयहरू बुझ्दछन्, तर अझै केही कुरा हराइरहेको छ—मानिसहरूले उहाँको वचनलाई अभ्यास गर्ने कुरा। मानिसहरूले सत्यताका सबै पक्षहरूलाई विस्तृत रूपमा अनुभव गर्नैपर्छ, तिनीहरूलाई जे उपलब्ध गराइन्छ त्यसलाई ग्रहण गर्नको निम्ति केवल पर्खिरहनुको सट्टा तिनीहरूले त्यसलाई अझै विस्तृत रूपमा छानबिन गर्ने र खोजी गर्ने गर्नुपर्छ; नत्रभने तिनीहरू परजीवीभन्दा अलि बढी मात्रै हुन्छन्। तिनीहरूले परमेश्‍वरको वचन जान्दछन्, तापनि त्यसलाई अभ्यास गर्दैनन्। यस्तो प्रकारको मानिसले सत्यतालाई प्रेम गर्दैनन् अनि आखिरमा तिनीहरूलाई हटाइनेछ। १९९० को दशकको पत्रुस जस्तै हो, जसको अर्थ तिमीहरूमध्ये हरेकले परमेश्‍वरको वचनलाई अभ्यास गर्नुपर्छ, तिमीहरूको अनुभवहरूमा साँचो प्रवेश हुनुपर्छ अनि परमेश्‍वरसँगको तिमीहरूको सहकार्यमा अझ धेरै र अझ ठूलो अन्तर्दृष्टि हासिल गर्नुपर्छ जुन तेरो आफ्नै जीवनको निम्ति सधैँभरि वृद्धि भएर जाने सहायता हुनेछ। यदि तिमीहरूले परमेश्‍वरका थुप्रै वचनहरू पढेका छौ तर केवल शब्दको अर्थ मात्र बुझ्छौ अनि तिमीहरूमा परमेश्‍वरको वचन सम्बन्धमा आफ्ना व्यवहारिक अनुभवहरूमार्फत आउने प्रत्यक्ष ज्ञानको कमी छ भने तैँले परमेश्‍वरको वचन बुझ्ने छैनस्। जहाँसम्म तेरो सवाल छ, परमेश्‍वरको वचन जीवन होइन, केवल जीवनरहित वचनहरू हुन्। अनि यदि तँ केवल जीवनरहित वचनहरू पालना गर्दै जिउँछस् भने तैँले परमेश्‍वरको वचनको सार राम्ररी बुझ्न सक्दैनस्, न त तैँले उहाँका अभिप्रायहरू नै बुझ्नेछस्। तैँले उहाँको वचन तेरा वास्तविक अनुभवहरूमा अनुभव गर्छस् भने मात्र परमेश्‍वरको वचनको आत्मिक अर्थ आफै तँतर्फ खोलिनेछ, अनि अनुभवद्वारा मात्रै तैँले धेरै सत्यताहरूको आत्मिक अर्थ बुझ्न र परमेश्‍वरको वचनका रहस्यहरूको साँचो खोल्न सक्छस्। यदि तैँले यसलाई अभ्यासमा लगाउँदैनस् भने उहाँको वचन जतिसुकै स्पष्ट भएतापनि तैँले बुझेको कुरा सबै रित्ता वचनहरू र सिद्धान्तहरू हुन्छन् जुन तेरो निम्ति धार्मिक नियमहरू भएका छन्। के फरिसीहरूले गरेको यही नै होइन र? यदि तिमीहरूले परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्छौ भने यो तिमीहरूको निम्ति व्यवहारिक बन्छ; यदि तैँले यसलाई अभ्यास गर्न खोज्दैनस् भने परमेश्‍वरको वचन तेरो निम्ति तेस्रो स्वर्गको दन्त्यकथा भन्दा केही बढी मात्रै हुन्छ। वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको तिमीहरूले उहाँको वचनलाई अनुभव गर्नुको साथै उहाँद्वारा तिमीहरूलाई हासिल गरिने प्रक्रिया हो अथवा यसलाई अझ स्पष्टसित भन्नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँको वचनको ज्ञान र बुझाइ प्राप्त गर्नु र उहाँको वचनलाई अनुभव गर्नु र जिउनु हो; परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको वास्तविकता त्यही नै हो। यदि तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ अनि परमेश्‍वरको वचनलाई अभ्यास गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न नखोजीकनै अनन्त जीवनको आशा गर्छौ भने तिमीहरू मूर्ख हौ। यो त भोजमा गएर केवल भोजनलाई हेर्नु र स्वादिष्ट कुराहरूलाई केही नचाखेर तिनीहरूको नाम कण्ठस्थ गर्नु जस्तो मात्रै हुनेछ, त्यहाँ केही पनि खाँदै नखानु वा पिउँदै नपिउनु जस्तो हुनेछ। के त्यस्तो मानिस मूर्ख हुँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

परमेश्‍वरले उहाँको कामको हरेक युगमा, मानिसहरूमाथि केही वचनहरू अर्पण गर्नुहुन्छ र तिनीहरूलाई केही सत्यताहरू बताउनुहुन्छ। यी सत्यताहरूले मानिसहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूलाई परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग रहन सक्षम तुल्याउने मार्ग अनि मानिसहरूले आफ्‍नो जीवनमा र तिनीहरूको जीवन यात्राको क्रममा अभ्यास गर्नुपर्ने तथा अनुसरण गर्नुपर्ने मार्गको काम गर्छन्। यिनै कारणहरूले गर्दा परमेश्‍वरले मानवजाति समक्ष यी वाणीहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरबाट आउने यी वचनहरूलाई मानिसहरूद्वारा पालना गरिनुपर्छ र तिनीहरूको पालना गर्नु भनेकै जीवन प्राप्त गर्नु हो। यदि व्यक्तिले तिनलाई पालना गर्दैन भने, तिनको अभ्यास गर्दैन भने, र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू अनुसार जिउँदैनन् भने, त्यो व्यक्तिले सत्यतालाई अभ्यास गरिरहेको हुँदैन। अझ भन्‍ने हो भने, यदि मानिसहरूले सत्यताको अभ्यास गरिरहेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको डर मानिरहेका हुँदैनन् अनि तिनीहरू दुष्टताबाट अलग बसिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सकिरहेका हुन्छन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्ने मानिसहरूले उहाँको स्याबासी प्राप्त गर्न सक्दैनन्, अनि त्यस्ता व्यक्तिहरूसँग कुनै परिणाम नै हुँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्वरमा विश्वास गर्नेहरूका लागि सबैभन्दा महत्त्वपूर्ण वास्तविकता के हो? सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गर्नुको सबैभन्दा महत्त्वपूर्ण भाग के हो? के यसको सबैभन्दा महत्त्वपूर्ण भाग व्यक्तिले सुरूमा सिद्धान्तहरू बुझेको हुनैपर्ने होइन र? त्यसोभए सिद्धान्तहरू के-के हुन् त? ती सत्यताका व्यावहारिक पाटा हुन्, नतिजाको प्रत्याभूति गर्ने मानक हुन्। सिद्धान्तहरू यतिका सरल छन्। शाब्दिक अर्थमा हेर्दा, तँ परमेश्वरका वचनहरूका हरेक वाक्य सत्यता हुन् भनी सोच्छस् तर तँलाई सत्यता कसरी अभ्यास गर्ने भनी थाहा छैन; किनकी तँ सत्यताका सिद्धान्तहरू बुझ्दैनस्। तँ परमेश्वरका वचनहरू पूर्ण रूपमा सही छन्, ती सत्यता हुन् भन्ने सोच्छस् तर तँलाई सत्यताको व्यावहारिक पाटो के हो, वा यो कुन-कुन अवस्थाहरूप्रति लक्षित छ, यहाँ भएका सिद्धान्त के हुन्, अनि अभ्यास गर्ने मार्ग के हो भन्ने थाहा छैन—तँ यो बोध गर्न वा बुझ्न सक्दैनस्। यसले तँ सत्यता होइन धर्मसिद्धान्त मात्र बुझ्छस् भन्ने पुष्टि गर्छ। यदि तँलाई साँच्चै धर्मसिद्धान्त मात्र बुझ्छु भन्ने आभास भयो भने तैँले के गर्नुपर्छ? तैँले सत्यता खोज्नैपर्छ। सर्वप्रथम, सत्यताको व्यावहारिक पाटोसँग राम्रोसँग परिचित बन्, वास्तविकताका कुन-कुन पक्षहरू सबैभन्दा पृथक् देखिन्छन् अनि यो वास्तविकतामा प्रवेश गर्न कसरी अभ्यास गर्नुपर्छ भनी हेर्। यसरी खोजेर र जाँचबुझ गरेर तैँले मार्ग भेट्नेछस्। अनि जब तैँले सिद्धान्तहरू मजाले बुझ्छस् र यस वास्तविकता जिइरहेको हुन्छस्, तैँले सत्यता पाएको हुनेछस्, जुन सत्यता पछ्याएर हासिल हुने उपलब्धी हो। यदि तँ धेरै सत्यताका सिद्धान्तहरू बुझ्न अनि तीमध्ये केहीलाई अभ्यासमा लागु गर्न सक्छस् भने तँसँग सत्यता वास्तविकता हुन्छ अनि तैँले जीवन प्राप्त गरेको हुन्छस्। तैँले सत्यताको जुनसुकै पक्ष खोजे पनि, तैँले परमेश्वरका वचनहरूमा सत्यताको वास्तविकता कहाँ छ अनि उहाँका मागहरू के हुन् भन्ने बुझेपछि, तँले साँच्चै बुझेपछि, अनि मूल्य चुकाउन र त्यो अभ्यास गर्न सक्ने भएपछि, तैँले सत्यता पाएको हुन्छस्। तैँले यो सत्यता पाउने क्रममा, तेरो भ्रष्ट स्वभाव अलिअलि गर्दै हट्नेछ, अनि यो सत्यता तँभित्र बिस्तारै छिर्नेछ। यदि तँ सत्यताको वास्तविकतालाई अभ्यासमा लागु गर्न, अनि यस सत्यताको अभ्यासको सिद्धान्तअनुसार आफ्नो कर्तव्य र हरेक कार्य निर्वाह गर्न र आफूलाई प्रस्तुत गर्न सक्छस् भने के यसको अर्थ तँ बदलिएको छैनस् र? तँ कस्तो खालको व्यक्ति बनेको छस्? तँ सत्यता वास्तविकता भएको व्यक्ति बनेको छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सत्यता अभ्यासका सिद्धान्तहरू हुनुपर्छ। यदि व्यक्तिले अभ्यासका सिद्धान्तहरू भेट्न सक्दैन भने, उसले बस नियम पालना मात्र गरिरहेको हुन्छ, र यस्तो अभ्यासमा सिद्धान्तअनुसार व्यवहार गर्ने आवश्यक कुराहरूको कमी हुन्छ। कैयौँ मानिसहरूले धर्मसिद्धान्तको शब्द र वाक्यांशका नियमहरू मात्र पालना गर्छन्, र तिनीहरूको अभ्यासमा कुनै सिद्धान्त हुँदैन। यसले सत्यता अभ्यास गर्ने मापदण्डहरू पूरा गर्दैन। धर्ममा लागेकाहरू प्रत्येकले आ-आफ्ना धारणा र कल्पनाहरूअनुसार व्यवहार गर्छन् र त्यसलाई सत्यता अभ्यास गरेको भन्ठान्छन्। उदाहरणको लागि, तिनीहरूले प्रेमबारे, वा विनम्रताबारे प्रवचन दिन सक्छन्, तर तिनीहरू राम्रा सुनिने शब्दहरू मात्र रटान मारिरहेका हुन्छन्। तिनीहरूको अभ्यासमा कुनै सिद्धान्त हुँदैन, र तिनीहरू सबैभन्दा आधारभूत कुराहरू नै बुझ्न सक्दैनन्। व्यक्तिले यसरी अभ्यास गरेर कसरी सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छ? परमेश्‍वरका वचनहरू सत्यता हुन्; वास्तविकता भनेको मान्छेले जिउने हो। व्यक्तिले सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरू जिउन नसकेसम्म सत्यताको वास्तविकता प्राप्त गर्न सक्दैन। परमेश्‍वरका वचनहरूको अभ्यास र अनुभवमार्फत मानिसहरूले पवित्र आत्माको अन्तर्दृष्टि र परमेश्‍वरका वचनहरूको साँचो ज्ञान प्राप्त गर्छन्। त्यसपछि मात्र तिनीहरूले सत्यता बुझ्छन्। साँच्चिकै सत्यता बुझ्ने मानिसहरू अभ्यासका सिद्धान्तहरू निर्धारण गर्न सक्षम हुन्छन्। जब तैँले अभ्यासका सिद्धान्तहरू राम्ररी बुझेको हुन्छस्, तेरो बोली र व्यवहारमा सिद्धान्तहरू हुनेछन्, र तेरो कर्तव्यनिर्वाह सत्यताका सिद्धान्तहरूबमोजिम हुनेछ। सत्यता अभ्यास गर्नु नै यही हो; र यही नै सत्यताको वास्तविकता धारण गर्नु हो। सत्यताको वास्तविकता जिएपछि मात्र तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस्, र यदि तैँले सत्यताको वास्तविकता जिउदैनस् भने, तँ सत्यता अभ्यास गरिरहेको हुँदैनस्। सत्यता अभ्यास गर्नु भनेको, मानिसहरूले कल्पेजस्तो, नियमहरू पालना गर्नु मात्र होइन, र त्यसैले व्यक्तिले आफूलाई जसरी मन लाग्यो त्यसरी अभ्यास गर्नु हुँदैन। परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्ने क्रममा तैँले साँच्चिकै सत्यता बुझ्छस् कि बुझ्दैनस्, र तेरो बोली र व्यवहारमा सत्यताका सिद्धान्तहरू छन् कि छैनन् भनेर परमेश्‍वरले हेर्नुहुन्छ। यदि तैँले सत्यता बुझ्छस् र सत्यता अभ्यास गर्न सक्छस् भने, तैँले जीवन प्रवेश पाउनेछस्। परमेश्‍वरका वचनहरूबारे तँसित जे अनुभव र ज्ञान छ, र ती वचनहरूबारे तँसित जे बुझाइ छ, ती सबै कुरा तेरो जीवन प्रवेशसित सिधै जोडिएका हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु भनेको के हो

सत्यता अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु वा नाराहरू भट्याउनु होइन। बरु यो, मानिसहरूले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा मानव आचरणका सिद्धान्त, परिस्थितिबारे तिनीहरूको दृष्टिकोण, वा आफ्‍नो कर्तव्य निभाउने विषय समावेश हुन्छ, तबसम्म कसरी तिनीहरूले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्छ, अनि सत्यता खोज्नुपर्छ, र परमेश्‍वरका वचनहरूमा आधार र सिद्धान्तहरू खोज्‍नुपर्छ, र त्यसपछि अभ्यासको मार्ग खोज्‍नुपर्छ भन्ने कुरा हो। यसरी अभ्यास गर्न सक्‍नेहरू नै सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू हुन्। कठिनाइहरू जति नै ठूला भए पनि यसरी सत्यताको खोजी गर्न सक्‍नु भनेको सत्यता खोजी गर्ने पत्रुसको मार्गमा हिँड्नु हो। उदाहरणको लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पालना गर्नुपर्छ? “मैत्रीभाव सम्पत्ति हो भने धैर्यता चमक हो”, त्यसैले तैँले सबैसित राम्रो सम्बन्ध कायम राख्नुपर्छ, अरूको इज्‍जतमा धक्‍का पुऱ्याउनु हुँदैन, र कसैलाई पनि चिढ्याउनु हुँदैन, र त्यसरी अरूसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ भन्‍ने तेरो आफ्नै दृष्टिकोण हुन सक्छ। यस दृष्टिकोणद्वारा बाँधिएर तँ अरूले खराब कामहरू गरिरहेको वा सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको देख्दा चुप रहन्छस्। तँ कसैलाई चिढ्याउनुभन्दा बरु मण्डलीको काममा क्षति हुन दिन्छस्। तँ हर व्यक्तिसामु राम्रो छवि बनाउन खोज्छस्, चाहे ऊ जोसुकै होस्। तँ बोल्दाखेरी मानव भावनाहरू र इज्जत जोगाउनेबारे मात्र सोच्छस्, र अरूलाई खुसी तुल्याउन सधैँ मिठा शब्दहरू बोल्छस्। तैँले कुनै व्यक्तिमा समस्याहरू छन् भन्ने थाहा पाए पनि, तँ ती सहन रोज्छस्, र बस उसको पिठ्युँ पछाडि कुरा काट्छस्, तर उसलाई भेट्दा तँ शान्त रहन्छस् र आफ्नो सम्बन्धलाई कायम राख्छस्। यस्तो आचरणबारे तँलाई के लाग्छ? के यो मानिसहरूलाई खुसी पारिहिँड्ने व्यक्तिको आचरण होइन र? के यो अलिक धूर्त होइन र? यसले मानव आचरणका सिद्धान्तहरू उल्लङ्घन गर्छ। के आफूलाई यस्तो आचरणमा ढाल्नु अपमानजनक कुरा होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिस होइनन्। यो आफूलाई आचरणमा ढाल्ने शिष्ट तरिका होइन। तैँले जतिसुकै कष्ट भोगेको र जतिसुकै मूल्य तिरेको भए पनि, यदि तँ सिद्धान्तविना आचरण पालन गर्छस् भने, तँ यस अर्थमा चुकेको छस्, र तेरो आचरणलाई परमेश्वरसामु चिनिने, सम्झिने वा स्विकारिने छैन। यो समस्या थाहा पाएपछि, के तँलाई खिन्नता हुन्छ? (हुन्छ।) यो खिन्नताले के प्रमाणित गर्छ? यसले तँ अझै पनि सत्यतालाई प्रेम गर्छस्, र तँसित सत्यतालाई प्रेम गर्ने हृदय र इच्छा छ भन्ने प्रमाणित गर्छ। यसले तेरो विवेकमा अझै पनि चेतना छ, र तेरो विवेक पूर्ण रूपमा मरिसकेको छैन भन्ने प्रमाणित गर्छ। तँ जति गहिरो रूपमा भ्रष्ट तुल्याइएको भए पनि, वा तँमा जतिसुकै भ्रष्ट स्वभावहरू भए पनि, तेरो मानवतामा तँसित अझै पनि एउटा सार छ जसले सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ। यदि तँमा चेतना छ, र तँलाई आफ्नो मानवता, स्वभाव, आफ्नो कर्तव्यपालन, र परमेश्वरप्रतिको व्यवहारका सम्बन्धमा आफूमा कस्ता समस्याहरू छन् भन्ने थाहा छ, साथै तेरा शब्द र कार्यहरूले विचार, अडान र मनोवृत्तिहरू समेट्दा समेत तँ सचेत छस्, अनि तेरा विचारहरू गलत छन्, ती सत्यता वा परमेश्वरको इच्छासँग मिल्दो छैनन्, तर तिनलाई त्याग्न सजिलो छैन भनी थाहा पाउन सक्छस्, अनि तँ सत्यता अभ्यास गर्न चाहन्छस् तर सक्दैनस्, र तेरो हृदय सङ्घर्षरत, पीडामा र प्रताडित छ, र तँलाई ऋणी महसुस हुन्छ भने—यो सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानवताको एउटा प्रकटीकरण हो। यो विवेकको चेतना हो। यदि तेरो मानवतामा विवेकको चेतना छ, र त्यसमा सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने एउटा पाटो छ भने, तँमा यी भावनाहरू हुनेछन्। यी भावनाहरू हुनुले प्रमाणित गर्छ कि तँमा सकारात्मक र नकारात्मक कुराहरू छुट्ट्याउने क्षमता छ, र तँमा यी कुराहरूप्रति हेलचेक्र्याइँ वा उदासीनताको मनोवृत्ति छैन; तँ भावशून्य वा चेतनारहित छैनस्, बरु, तँमा चेतना छ। तँमा चेतना भएकै कारण तँसित सही र गलत, सकारात्मक र नकारात्मक कुराहरू छुट्ट्याउने क्षमता छ। यदि तँसित चेतना र यो क्षमता छ भने, के तँलाई यी नकारात्मक कुरा, नकारात्मक विचार, र भ्रष्ट स्वभावहरूलाई घृणा गर्न सजिलो हुनेछैन र? यो तुलनात्मक रूपमा सजिलो हुनेछ। यदि तँ सत्यता बुझ्छस् भने, तैँले निश्चय नै नकारात्मक र दैहिकताका कुराहरूलाई घृणा गर्न सक्नेछस्, किनभने तँमा न्युनतम र सबभन्दा आधारभूत कुराहरू छन्: त्यो हो विवेकको चेतना। विवेकको चेतना हुनु भनेको अत्यन्तै मूल्यवान् कुरा हो, र सही र गलतबीच फरक छुट्ट्याउने क्षमता हुनु र सकारात्मक कुराहरूलाई प्रेम गर्ने सन्दर्भमा इन्साफको समझ हुनु पनि त्यति नै मूल्यवान् कुरा हुन्। यी तीनवटा कुराहरू सामान्य मानवताका सबैभन्दा वाञ्छनीय र मूल्यवान् कुराहरू हुन्। यदि तँमा यी तीनवटा कुराहरू छन् भने, तँ सत्यता अभ्यास गर्न अवश्यै सक्षम हुनेछस्। तँमा यीमध्ये एउटा वा दुइटा मात्र कुरा भए पनि, तैँले केही सत्यता अभ्यास गर्न सक्नेछस्। विवेकको चेतनालाई एकपटक हेरौँ। उदाहरणका लागि, यदि तैँले कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याइरहेको भेटिस् भने, के तँ त्यो खुट्ट्याउन सक्षम हुनेछस्? के तँ प्रस्ट रूपमा देखिने दुष्ट कार्यहरू पहिचान गर्न सक्छस्? अवश्यै सक्छस्। दुष्ट मानिसहरू खराब काम गर्छन्, र असल मानिसहरू असल काम गर्छन्; औसत व्यक्तिले एक नजरमै तीबीचको भिन्नता बताउन सक्छ। यदि तँमा विवेकको चेतना छ भने, के तँमा भावना र विचारहरू हुनेछैनन् र? यदि तँमा विचार र भावनाहरू छन् भने, तैँले सत्यता अभ्यास गर्नका लागि सबैभन्दा आधारभूत सर्तहरूमध्ये एउटा पूरा गर्छस्। यदि तैँले यस व्यक्तिले दुष्टता गरिरहेको छ भनी पहिचान र महसुस गर्न सक्छस्, त्यसलाई खुट्ट्याएर उक्त व्यक्तिको खुलासा गर्न सक्छस्, र परमेश्वरका चुनिएका मानिसहरूलाई यो मामला खुट्ट्याउन सक्षम तुल्याउँछस् भने, के उक्त समस्या समाधान हुनेछैन र? के यो सत्यता अभ्यास गर्नु र सिद्धान्तहरू पालना गर्नु होइन र? यहाँ सत्यता अभ्यास गर्न के-कस्ता विधिहरू प्रयोग गरिएका छन्? (खुलासा गर्ने, रिपोर्ट गर्ने, र दुष्टकर्मलाई रोक्ने।) सही भनिस्। यसरी कार्य गर्नु भनेको सत्यता अभ्यास गर्नु हो, र यसो गरेर तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको हुनेछस्। यदि तैँले यस्ता परिस्थितिहरू सामना गर्दा तँ आफूले बुझ्ने सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छस् भने, यो सत्यता अभ्यास गर्नु हो, यो सिद्धान्तहरूका साथ कामकुरा गर्नु हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ

अब यी सबै कुराहरू भनिसकिएपछि, सत्यता अभ्यास गर्ने मापदण्ड के हो त? तैँले सत्यता अभ्यास गरिरहेको छस् छैनस् भनेर कसरी मापन गर्छस्? सबै कुरा विचार गर्दा, के तँ परमेश्‍वरको वचन सुन्ने र स्विकार्ने व्यक्ति होस् त—परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले यो कुरालाई यसरी हेर्नुहुन्छ: परमेश्‍वरप्रतिको विश्‍वास दाबी गर्दा र प्रवचन सुन्दा, के तैँले आफ्नो गलत भित्री स्थितिलाई, परमेश्‍वरविरुद्धको विद्रोहलाई, र आफ्नो सबै प्रकारका भ्रष्ट स्वभावलाई, सत्यताले प्रतिस्थापित गरेको छस्? के तँ परिवर्तित भएको छस्? के तँ आफ्नो बाहिरी व्यवहार र कार्यहरूमा मात्र परिवर्तित भएको छस्, कि तेरो जीवन स्वभाव नै परिवर्तन भएको छ? परमेश्‍वरले तँलाई यी कुराहरूको आधारमा मापन गर्नुहुन्छ। यति धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि, र परमेश्‍वरका वचनहरू खाइपिइसकेपछि, के तँभित्र आएका परिवर्तनहरू सतही मात्र हुन् कि आधारभूत प्रकृतिका हुन् त? के तँ तेरो स्वभावको हिसाबमा परिवर्तन भएको छस्? के तेरो परमेश्‍वरविरुद्धको विद्रोह कम भएको छ? कुनै समस्या आइपर्दा, र तेरो विद्रोहीपन खुलासा हुँदा, के तँ आत्मचिन्तन गर्न सक्छस्? के तँ परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? के कर्तव्यप्रति र परमेश्‍वरले तँलाई सुम्पनुभएको आज्ञाप्रति तेरो मनोवृत्तिमा कुनै परिवर्तन आएको छ? के तेरो बफादारी बढेको छ? के तँभित्र अझै पनि अशुद्धताहरू छन्? तैँले व्यक्तिगत रूपमा पालेका अभिप्राय, लक्ष्य, चाहना र योजनाहरू—के यी कुराहरू तैँले प्रवचन सुनिरहेको समयमा पखालिएका छन्? यी सबै कुरा नै मुल्याङ्कनका मापदण्डहरू हुन्। यी कुराहरूअलावा, तेरा परमेश्‍वरबारेका कति धारणा र गलत अवधारणाहरू हटेका छन् त? के तँ अझै पनि ती पहिलेका अस्पष्ट धारणा, कल्पना र निष्कर्षहरूलाई पक्रिबसेको छस्? के तँ अझै पनि परीक्षा र शोधनप्रति गुनासो, प्रतिरोध वा नकारात्मक भावनाहरू पाल्छस्? यदि साँच्चै यी नकारात्मक तत्त्वहरूलाई अझै पनि सम्बोधन गरिएको छैन भने, र यदि तैँले आफूमा कुनै वास्तविक परिवर्तन ल्याएको छैनस् भने, यसले एउटै तथ्य पुष्टि गर्छ—तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्‍वरको आज्ञापालन गरेर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ

परमेश्‍वरलाई पछ्याउँदा, धेरै मानिसहरूले आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्, र त्यसैले तिनीहरूलाई आफूले सत्यता अभ्यास गरिरहेका छौं भन्‍ने विश्‍वास लाग्छ। तर तिनीहरूले साँचो अनुभवको गवाही कहिल्यै दिन सक्दैनन्। यहाँ वास्तवमा के भइरहेको छ? तिनीहरूलाई मानिसका धारणाहरूद्वारा मापन गर्दा, तिनीहरूले सत्यता अभ्यास गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले जे अभ्यास गरिरहेका छन् त्यसलाई परमेश्‍वरले सत्यता अभ्यासको रूपमा मान्यता दिनुहुन्‍न। यदि तैँले गर्ने कुराहरूको पछाडि कुनै व्यक्तिगत मनसाय छ र त्यसमा अशुद्धता मिसिएको छ भने, तँ सिद्धान्तबाट विचलित हुने सम्भावना हुन्छ, र त्यो बेला तँलाई सत्यता अभ्यास गरिरहेको भनेर भन्‍न सकिँदैन; यो त केवल एक प्रकारको आचरण हो। कडा अर्थमा भन्‍नुपर्दा, यस प्रकारको आचरणलाई परमेश्‍वरले सायद दोषी नै ठहराउनुहुनेछ; उहाँले यस्तो आचरणलाई अनुमोदन वा सम्झना गर्नुहुनेछैन। यसलाई सार र जडसम्मै विश्‍लेषण गर्दै जाने हो भने, तँ दुष्कर्म गर्ने व्यक्ति होस्, र तेरा यी बाह्य व्यवहारहरू परमेश्‍वरविरोधी कुरा हुन्। बाहिरबाट, तैँले कुनै कुरालाई रोकावट वा अवरोध गरिरहेको हुँदैनस् र तैँले वास्तविक क्षति गरेको हुँदैनस्। यो तर्कसंगत र उचितजस्तो देखिन्छ, तर भित्रचाहिँ यसमा मानव अशुद्धता र अभिप्रायहरू हुन्छन्, र यसको सार दुष्कर्म गर्ने र परमेश्‍वरको विरोध गर्ने खालको हुन्छ। त्यसकारण, तेरो स्वभावमा परिवर्तन आएको छ वा छैन र परमेश्‍वरको वचनहरू प्रयोग गर्दै र तेरा आफ्नै कामहरूको पछाडि रहेका हेतुहरूलाई ध्यान दिँदै तैँले सत्यता अभ्यास गरेको छस् कि छैनस् सो तैँले निर्धारण गर्नुपर्छ। तेरा कार्यहरू मानव कल्पना र मानव सोचहरूअनुरूप छन् वा छैनन्, वा ती तेरा स्वाद सुहाउँदो छन् कि छैनन् भन्‍ने कुरा मानवीय दृष्टिकोणमा निर्भर हुँदैन; त्यस्ता कुराहरू महत्त्वपूर्ण हुँदैनन्। बरु, यो त तँ परमेश्‍वरका अभिप्रायसँग मिलेको छस् कि छैनस्, तेरा कार्यहरूमा सत्यता वास्तविकता छ वा छैन, र तिनले उहाँका मागहरू र मापदण्डहरू पूरा गर्छन् कि गर्दैनन् भन्‍ने विषयमा उहाँले भन्‍नुहुने कुरामा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यलाई अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब समस्याको सारको कुरा आउँदछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्‍मै दिनभर दौडधूप गर्छौ, तर तिमीहरूले आफ्नो जीवन स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र स्वभाव रूपान्तरण भनेको के हो भनेर तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्‍ने हुन्छ, होइन र? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभाव रूपान्तरणसँग सम्बन्धित सार र गहिरा चीजहरूलाई सायद महसुस गरेका छैनौ। के तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्‍न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, आफूले गर्ने सबै कार्यहरूमा तैँले आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैंले तेरा कर्तव्यहरू निर्वाह गरिरहेको बेला, परमेश्‍वरको घरमा वा आम रूपमा कुनै पनि काम गरिरहेको बेला पवित्र आत्माले तँलाई मार्गनिर्देशन र अन्तर्दृष्टि दिइरहनुभएको महसुस गर्नेछस्। तेरो आचरण परमेश्‍वरको वचनसँग मिल्दोजुल्दो हुनेछ, र तैंले केही हदसम्म अनुभव प्राप्त गरेपछि, तैंले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्‍ने महसुस गर्नेछस्। तापनि, निश्‍चित अवधिसम्म अनुभव प्राप्त गरेपछि, यदि तैंले विगतमा गरेका केही कामहरू उचित थिएन जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट छस्, र ती कार्यहरू सत्यताअनूरूप थिएनन् भन्‍ने महसुस गर्छस् भने, तैंले गरेको सबै कुराहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने यसले प्रमाणित गर्छ। यो तेरा सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो, र तँ स्वभाव परिवर्तन हासिल गर्न पूर्ण रूपमा असफल भएको छस् भन्‍ने कुराको प्रमाण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

परमेश्‍वरमाथिको विश्‍वासमा, धेरैजसो मानिसहरूले सत्यताप्रति दृढ रूपमा मन लगाएकै हुँदैनन्। तिनीहरूको मन केमा लागेको हुन्छ? तिनीहरूको मन जहिले पनि बाह्य मामिलाहरूमा लागेको हुन्छ, र तिनीहरू सधैँ आडम्बर र घमण्ड, के सही र के गलत भन्ने विषयहरूमै अल्झेर बस्छन्। तिनीहरूलाई सत्यतासँग कुन कुराहरू सम्बन्धित छन् र कुन छैनन् भन्ने नै थाहा हुँदैन, त्यसैले तिनीहरू यस्तो सोच्छन्, “जबसम्म म परमेश्‍वरको घरमा काम गरिरहेको हुन्छु, जबसम्म कर्तव्य निभाउन दौडधुप र दुख गरिरहेको हुन्छु, तबसम्म मैले सत्यता अभ्यास गरिरहेको हुन्छु।” यो कुरा गलत हो। के कुनै व्यक्तिले परमेश्‍वरको घरको लागि काम गरेर, अनि दौडधुप र दुख गरेर सत्यता अभ्यास गरिरहेको हुन्छ र? यसो भन्नुको केही आधार छ र? कामहरू गर्ने क्रममा दुख सहनु र सत्यता अभ्यास गर्नु दुई भिन्न कुराहरू हुन्। यदि तँलाई सत्यता के हो भन्ने नै थाहा छैन भने, तैँले त्यसलाई कसरी अभ्यास गर्न सक्छस्? के त्यो हास्यास्पद कुरा होइन र? तँ मानव धारणा र कल्पनाहरूअनुसार व्यवहार गर्दै छस्, तँ दुविधा र अव्यवस्थित स्थितिमा रही आफ्नै विचारहरूअनुसार काम गर्दै छस्। तेरो मनमा दुविधा छ, कुनै लक्ष्य, दिशा, वा सिद्धान्त छैन। तँ काममात्र गरिरहेको छस्, र ती काम गर्दा दुख खेपिरहेको छस्—त्यो कसरी सत्यता अभ्यास गर्ने कुरासित सम्बन्धित छ र? यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने तिनीहरूले जे गरे पनि, र जति दुख खेपे पनि, तिनीहरू सत्यता अभ्यास गर्नबाट टाढै हुन्छन्। मानिसहरू सधैँ आफ्नै इच्छाअनुसार काम गर्छन्, र काम सकाउनकै लागि मात्र काम गर्छन्; तिनीहरू आफ्ना कार्यहरू सत्यताका सिद्धान्तहरूबमोजिम छन् कि छैनन् भन्ने नै सोच्दैनन्। यदि तँलाई आफूले गरिरहेको काम सत्यताबमोजिम छ कि छैन भन्ने थाहा छैन भने, तैँले निश्‍चय नै सत्यता अभ्यास गरिरहेको छैनस्। कतिले भन्लान्, “म मण्डलीको लागि कामहरू गर्दै छु। के त्यो सत्यता अभ्यास गर्नु होइन?” त्यो सिधै गलत हो। कुनै व्यक्तिले मण्डलीको लागि काम गर्छ भने के उसले सत्यता अभ्यास गरेको मानिन्छ त? त्यस्तै हुन्छ भन्‍ने छैन—त्यो त उक्त व्यक्तिका कार्यहरूमा सिद्धान्तहरू छन् कि छैनन् भन्ने हेरेर मात्र निर्धारण गर्न सकिन्छ। यदि कसैले गरिरहेको काममा कुनै सिद्धान्त छैन भने, त्यो उसले जसको लागि गरिरहेको भए पनि, उसले सत्यता अभ्यास गरिरहेको हुँदैन। यदि उसले कुनै असल काम गर्छ नै भने पनि, सत्यताको अभ्यास ठहरिनको लागि त्यो काम सत्यताको सिद्धान्तबमोजिम नै गरिनुपर्छ। यदि उसले सिद्धान्तहरू उल्लङ्घन गर्छ भने, उसले गर्ने जुनसुकै असल काम पनि केवल उसको असल व्यवहार हुन्छ र त्यसले सत्यता अभ्यास गर्ने मापदण्ड पूरा गर्दैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु भनेको के हो

केही बेसुद्धी मानिसहरू अलिकति पनि सत्यता बुझ्दैनन्। तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नु नै सत्यता अभ्यास गर्नु हो भन्ठान्छन्। तिनीहरू केवल आफ्नो कर्तव्य निर्वाह गरेर नै आफूले सत्यता अभ्यास गरिरहेको हुन्छ भन्ने सोच्छन्। यदि तैँले त्यस्तो व्यक्तिलाई “के तिमी सत्यता अभ्यास गर्न सक्छौ?” भनेर सोधिस् भने, उसले यसो भन्नेछ, “के मैले आफ्नो कर्तव्य निर्वाह गरेर सत्यता अभ्यास गरिरहेको छुइनँ र?” के ऊ सही हो? ती त बेसुद्धी व्यक्तिका शब्दहरू हुन्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रभावकारी रूपले सत्यता अभ्यास गर्न कम्तीमा पनि आफ्नो सारा हृदय, मन, र शक्ति त्यसमा लगाउनैपर्छ। तैँले प्रभावकारी रूपले सत्यता अभ्यास गर्न सिद्धान्तहरूअनुसार कार्य गर्नैपर्छ। यदि तैँले लापरवाह तरिकाले आफ्नो कर्तव्य निभाउँछस् भने त्यसको वास्तविक प्रभाव पर्दैन। तँ यसलाई सत्यता अभ्यास हो भन्न सक्दैनस्, त्यो सेवा गर्नुबाहेक अरु केही होइन। प्रस्टै छ, तँ सेवा मात्र गरिरहेको छस्, यो सत्यता अभ्यासभन्दा फरक कुरा हो। सेवा गर्नु भनेको केवल आफ्नै इच्छाअनुसार आफूलाई खुसी तुल्याउने काम गर्नु र आफूलाई गर्न मन नलाग्ने हर कुराको उपेक्षा गर्नु हो। तँ आफूले सामना गर्ने कठिनाहरूका बाबजुद कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैनस्। यसो हेर्दा, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको जस्तो देखिएला, तर त्यो सबै सेवा गरेको मात्र हो। सत्यता सिद्धान्तहरूअनुसार कार्य गरेर आफ्नो कर्तव्य निर्वाह नगर्ने जो कोहीले सेवा गर्नुबाहेक केही हासिल गरिरहेको हुँदैन। परमेश्वरको परिवारमा, धेरै मानिस मानव धारणा र कल्पनाहरूको भरमा आफ्नो कर्तव्य निर्वाह गर्ने कोसिस गर्छन्। तिनीहरू वर्षौसम्म जोतिन्छन् तर केही नतिजा देखिँदैन, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्न वा सिद्धान्त अनुसार कार्य गर्न सक्दैनन्। त्यसकारण, यदि मानिसहरू अक्सर आफ्नै इच्छाअनुसार कार्य गर्छन् र आफ्नै इच्छाअनुसार कर्तव्य निर्वाह गर्छन् भने, तिनीहरूले कुनै दुष्टता नगरे पनि, यसलाई सत्यता अभ्यास मानिँदैन। अन्त्यमा, तिनीहरूले आफ्नो वर्षौँको कामबाट सत्यताको कुनै कुरा बुझ्न सक्दैनन्, र तिनीहरूसित बाँड्न सक्ने कुनै अनुभव वा गवाहीहरू हुँदैनन्। किन यसो? किनभने मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न डोऱ्याउने अभिप्राय नै सही हुँदैन। तिनीहरू निश्चय आशिष् पाउनका लागि नै आफ्नो कर्तव्य पूरा गर्छन्, तिनीहरू परमेश्वरसित सौदा गर्न चाहन्छन्। तिनीहरू सत्यता प्राप्त गर्नकै लागि भनेर आफ्नो कर्तव्य निर्वाह गर्दैनन्। तिनीहरू आफूसँग अरू विकल्प नै नभएकाले कर्तव्य निभाउँछन्। यसै कारण, तिनीहरू सधैँ दुविधामा हुन्छन् अनि लापरवाह र अव्यवस्थित तरिकाले झारा टारिरहेका हुन्छन्। तिनीहरू सत्यता खोज्दैनन्, त्यसकारण त्यो सब सेवा चढाइरहेको मात्र हुन्छ। तिनीहरूले जति नै धेरै कर्तव्यहरू निभाए पनि, तिनीहरूका कार्यहरूले वास्तविक प्रभाव पार्दैनन्। मनमा परमेश्वरको डर हुनेहरूको हकमा भने कुरा फरक हुन्छ। तिनीहरू परमेश्वरको इच्छाबमोजिम कसरी कार्य गर्ने अनि परमेश्वरको परिवार र उहाँका चुनिएका मानिसहरूका फाइदाका लागि कसरी कार्य गर्ने भनेर निरन्तर मनन गरिरहेका हुन्छन्। तिनीहरू सधैँ सिद्धान्त र परिणामबारे गहन रूपले सोचिरहेका हुन्छन्। तिनीहरू जहिले पनि सत्यता अभ्यास गर्ने र परमेश्वरप्रति आज्ञाकारिता देखाउने कोसिस गरिरहेका हुन्छन्। यो हृदयको सही मनोवृति हो। यिनीहरू नै सत्यता खोज्ने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिस हुन्। यस्तो व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरद्वारा स्वीकृत हुन्छ र उसले उहाँको प्रशंसा पाउँछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता खोजी गर्दैनन्, अनि सत्यता अभ्यास गर्ने कार्यमा कहिल्यै ध्यान दिँदैनन् भने, तिनीहरूले दश-बीस वर्ष विश्‍वास गरेको भए पनि कुनै परिवर्तन अनुभव नगरेका हुन सक्छन्। अनि आखिरमा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको यही हो भनी सोच्नेछन्; तिनीहरू पहिले बाह्य संसारमा जसरी जिइरहेका थिए यो लगभग त्यस्तै रहेछ, अनि जीवित रहनु अर्थहीन कुरा रहेछ भनी सोच्नेछन्। यसले वास्तवमा सत्यताविना, जीवन रित्तो छ भन्‍ने देखाउँछ। तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन् होला, तर अझै पनि असुविधा र असहज महसुस गर्नेछन्। यदि मानिसहरूमा परमेश्‍वर सम्‍बन्धी केही ज्ञान छ भने, कसरी अर्थपूर्ण जीवन जिउनुपर्छ भन्‍ने जान्दछन्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न केही कुराहरू गर्न सक्छन् भने, तिनीहरूले वास्तविक जीवन यही हो, र यस तरिकाले जिउँदा मात्रै तिनीहरूको जीवनको अर्थ हुन्छ, र परमेश्‍वरलाई सन्तुष्टि दिन, परमेश्‍वरको ऋण तिर्न र सहजता महसुस गर्न यस्तै प्रकारले जिउनुपर्छ भन्‍ने महसुस गर्नेछन्। यदि तिनीहरूले जानी-जानी परमेश्‍वरलाई सन्तुष्ट पार्न, सत्यतालाई अभ्यास गर्न, आफैविरुद्ध विद्रोह गर्न, आफ्ना विचारहरूलाई त्याग्न र परमेश्‍वर अभिप्रायप्रति समर्पित र विचारशील हुन सक्छन् भने—यदि तिनीहरूले यी सबै कुरा होसियार भएर गर्न सक्छन् भने—सत्यतालाई सही रूपमा अभ्यास गर्नु, र सत्यतालाई साँचो रूपले अभ्यास गर्नु भनेको यही नै हो। यो पहिलेको जस्तो कल्‍पनामा भरोसा गर्नु र प्रावधानहरू पालना गर्नु, अनि यो सत्यताको अभ्यास गर्नु हो भनेर सोच्‍नु जस्तो होइन। वास्तवमा, कल्‍पनाहरूमा भरोसा गर्नु र नियमहरू पालना गर्नु निकै थकाइलाग्दो हुन्छ, सत्यता नबुझ्‍नु र सिद्धान्तहरूमा नरही काम गर्नु पनि त्यतिकै थकाइलाग्दो हुन्छ, र उद्देश्यविना अन्धाधुन्ध रूपमा काम गर्नु त झनै थकाइलाग्दो हुन्छ। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँ कुनै मानिस, घटना वा कुराको बन्धनमा पर्दैनस्, र तैँले साँचो रूपमा स्वतन्त्रता र रिहाइ पाएको हुन्छस्। तैँले सिद्धान्तको आधारमा काम गर्नेछस्, र तँ ढुक्‍क र खुशी हुनेछस्, अनि तँलाई यसको लागि धेरै मेहनत गर्नुपर्छ वा यसले धेरै कष्ट ल्याउँछ भन्‍ने लाग्दैन। यदि तेरो स्थिति यस्तो छ भने, तँमा सत्यता र मानवता हुन्छ, र तँ स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

वर्तमान चरणमा, पहिले सत्यता जान्नु, अनि त्यसपछि त्यसलाई अभ्यास गर्नु र सत्यताको साँचो अर्थले आफैलाई अझ धेरै सुसज्जित गर्नु अत्यन्तै महत्वपूर्ण छ। तिमीहरूले यसलाई हासिल गर्न खोज्नुपर्छ। केवल अरूलाई तेरा वचनहरू अनुसरण गराउन खोज्नुभन्दा तैँले तिनीहरूलाई तेरो अभ्यास अनुसरण गराउन लगाउनुपर्छ। केवल यस प्रकारले मात्रै तैँले अर्थपूर्ण कुरा भेट्टाउन सक्छस्। तँमाथि जेसुकै हुन आए तापनि, तैँले जसलाई भेटे तापनि, जबसम्म तँसित सत्यता हुन्छ, तँ दृढ भई खडा हुन सक्नेछस्। परमेश्‍वरको वचन मानिसलाई जीवन दिने कुरा हो, मृत्यु दिने कुरा होइन। यदि परमेश्‍वरको वचन पढेर पनि तँ जाग्दैनस्, तर अझै मृतक नै हुन्छस् भने तँसित केही गलत छ। यदि तैँले परमेश्‍वरको धेरै वचन पढेको र धेरै व्यवहारिक वचनहरू सुनेको केही समयपछि पनि तँ अझै मृत्युको अवस्थामा छस् भने यो के कुराको प्रमाण हो भने, तँ सत्यतालाई महत्त्व दिने व्यक्ति होइनस्, न त तँ सत्यतालाई अनुसरण गर्ने व्यक्ति नै होस्। यदि तिमीहरूले साँचो रीतिले परमेश्‍वरलाई प्राप्त गर्न खोज्यौ भने, तिमीहरूले आफैलाई सिद्धान्तहरूले सुसज्जित गर्ने र अरूलाई सिकाउन उत्कृष्ट सिद्धान्तहरू प्रयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्नेथिएनौ, बरु परमेश्‍वरको वचनलाई अनुभव गर्ने र सत्यतालाई व्यवहारमा उतार्ने कुरामा ध्यान केन्द्रित गर्नेथियौ। के तिमीहरूले अहिले प्रवेश गर्न खोजिरहनुपर्ने कुरा यही होइन र?

मानिसमा आफ्नो काम गर्नको निम्ति परमेश्‍वरसित सीमित समय छ, त्यसैले यदि तैँले उहाँसित सहकार्य गर्दैनस् भने के परिणाम आउन सक्छ र? किन तिमीहरूले उहाँका वचनहरू बुझिसकेपछि तिमीहरूले त्यो पालन गरेको परमेश्‍वर सधैँ चाहनुहुन्छ? किनभने परमेश्‍वरले उहाँका वचनहरू तिमीहरूलाई प्रकट गर्नुभएको छ र तिमीहरूको अर्को कदम वास्तवमा त्यसलाई पालन गर्नु हो। जब तिमीहरूले यी वचनहरू अभ्यास गर्छौ, परमेश्‍वरले अन्तर्दृष्टि दिने र मार्गदर्शन दिने काम गर्नुहुनेछ। यसरी नै यो काम गरिनुपर्छ। … मूलभूत रूपमा, तिमीहरूको लक्ष्य परमेश्‍वरको वचनलाई तिमीहरूभित्र प्रभाव पार्न दिनु हो। अर्को शब्दमा, यो भनेको तिमीहरूले परमेश्‍वरको वचनको अभ्यासमा साँचो बुझाइ प्राप्त गर्नु हो। शायद, परमेश्‍वरको वचनलाई बुझ्ने तिमीहरूको क्षमता कमजोर होला, तर जब तिमीहरूले परमेश्‍वरको वचनलाई अभ्यास गर्छौ, तब उहाँले त्यस अपूर्णतालाई निवारण गर्न सक्नुहुन्छ, त्यसैले तिमीहरूले केवल धेरै सत्यताहरू मात्र जान्ने होइन बरु तिनीहरूलाई अभ्यास पनि गर्नुपर्छ। यो ध्यान केन्द्रित गर्नुपर्ने सबैभन्दा ठूलो करा हो जसलाई बेवास्ता गर्न सकिँदैन। येशूले आफ्नो साढे तेत्तीस वर्षीय उमेरमा धेरै अपमानहरू अनि असाध्यै कष्ट सहनुभयो। उहाँले ठूलो कष्ट सहनुभयो किनकि उहाँले केवल सत्यतालाई अभ्यास गर्नुभयो, सबै कुराहरूमा परमेश्‍वरको इच्छालाई मात्र पछ्याउनुभयो, र परमेश्‍वरका अभिप्रायहरूलाई मात्र ख्याल गर्नुभयो। यदि उहाँले सत्यतालाई अभ्यास नगरीकन त्यसलाई जान्नु मात्र भएको भए उहाँले यो कष्ट भोग्नुहुने थिएन। यदि येशूले यहूदीहरूका शिक्षाहरूलाई अनुसरण गर्नुभएको भए अनि फरिसीहरूलाई पछ्याउनुभएको भए, उहाँले कष्ट सहनुहुने थिएन। तैँले येशूका कार्यहरूबाट सिक्नुपर्छ कि मानिसमाथि परमेश्‍वरको कामको प्रभावकारिता मानिसको सहकार्यबाट आउँछ, अनि यो कुरा तिमीहरूले पहिचान गर्नैपर्ने चीज हो। यदि उहाँले सत्यतालाई अभ्यास नगर्नुभएको भए, के येशूले क्रूसमा कष्ट भोग्नुभएझैँ कष्ट भोग्नुहुन्थ्यो र? यदि परमेश्‍वरका चाहनाअनुसार उहाँ नचल्नुभएको भए के उहाँले त्यस्तो पीडादायी प्रार्थना गर्नुहुन्थ्यो र? त्यसकारण, तिमीहरूले सत्यताको अभ्यासको खातिर कष्ट भोग्नुपर्छ; व्यक्तिले भोग्नुपर्ने कष्ट नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

सम्बन्धित भजनहरू

जीवनमा अझ प्रगति गर्न थप सत्यताको अभ्यास गर

देहको विरोध गर्नु भनेको सत्यता अभ्यास गर्नु हो

अघिल्लो: २४. कसरी आफ्ना भ्रष्ट स्वभावहरू हटाउने र शुद्ध हुने

अर्को: २६. स्वभाव परिवर्तन भनेको के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्