२२. जीवन र मृत्यूलाई कसरी हेर्ने

बाइबलमा परमेश्‍वरका वचनहरू

“अनि शरीर मार्ने तर आत्मा मार्न नसक्‍नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्‍नुहुन्छ” (मत्ती १०:२८)

“आफ्नो जीवन भेट्टाउनेले त्यो गुमाउनेछ: र मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ” (मत्ती १०:३९)

“अनि तिनीहरूले थुमाको रगत र तिनीहरूको गवाहीका वचनले त्यसलाई जिते; र तिनीहरूले मृत्युसम्मै आफ्नो जीवनलाई प्रेम गरेनन्” (प्रकाश १२:११)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

ब्रह्माण्ड र आकाश-मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पछ्याउँछन्, अनि एउटा अटुट नियम पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूका कथा लिएर जान्छन्, अनि जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्। त्यसकारण, मानवजातिले आफैलाई यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौँ? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारलाई नियन्त्रण गर्छ? अनि कसले यी मानवजातिलाई सृष्टि गऱ्यो? के मानवजातिलाई साँच्‍चै नै प्रकृति माताले नै सृष्टि गरेकी हुन् त? के मानवजाति साँच्‍चै आफ्नै भाग्यको नियन्त्रणमा छ? … मानवजातिले निरन्तर रूपमा हजारौँ वर्षदेखि सोध्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूले मानिस जति एकोहरो बनेको छ, उसमा विज्ञानको तृष्णा त्यति नै बढी जागेको छ। विज्ञानले देहको लागि क्षणिक सन्तुष्टि र अस्थायी आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको गहिराइमा रहेको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसक्ने आतङ्क र असहायपनबाट मुक्त गर्नको लागि त्यो पटक्कै पर्याप्त छैन। मानवजातिले आफ्‍नो हृदयलाई लट्याउनका लागि आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छन्। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ भन्‍ने थाहै छैन, झन् मानवजातिको सुरुवात र भविष्यबारे जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमको बीचमा केवल विवश भएर जिउँछन्। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एउटा मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँलाई कुनै पनि मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूमा सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि आपूर्ति गर्ने र उसलाई पोषण दिने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई आजको दिनसम्‍म डोऱ्याउने उहाँ नै हुनुहुन्छ। यसबाहेक, मानवजातिले बाँच्नका लागि भर पर्ने एकमात्र जन उहाँ नै हुनुहुन्छ। यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ र ब्रह्माण्डका सारा जीवित प्राणीमाथि उहाँले नै शासन गर्नुहुन्छ। चार ऋतुमाथि उहाँकै नियन्त्रण छ अनि बतास, तुसारो, हि उँ, र वर्षा ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई पर्वत, ताल, अनि नदीनाला र तीभित्रका सारा जीवित प्राणीहरू दिँदै, स्वर्ग र पृथ्वीका जग बसाल्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी सबै व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकट गर्छ। उहाँको सार्वभौमिकताबाट कसले आफूलाई मुक्त गर्न सक्छ? अनि उहाँका योजनाहरूबाट कसले आफूलाई छुटाउन सक्छ? सबै थोक उहाँकै नजरमुनि अस्तित्वमा छन्, र यसबाहेक, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्नेबाहेक कुनै विकल्‍प दिँदैनन्। उहाँबाहेक कसैले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्न सक्दैन, झन् यो मानवजातिलाई अटुट रूपमा आपूर्ति गर्ने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो भाग्य परमेश्‍वरले निर्धारण गर्नुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‍का छैन, र सबै थोकमाथि सँधै परमेश्‍वरकै सार्वभौमिकता हुनेछ भन्‍ने कुरामा पनि कुनै शङ्‍का छैन। मानवजातिले उहाँको अस्तित्व र अख्तियार पहिचान गर्छन् कि गर्दैनन् र बुझ्छन् कि बुझ्दैनन् भन्‍ने आधारमा ती अस्तित्व र अख्तियार निर्धारित हुँदैनन्। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको भाग्य निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यी सबै देख्‍नेछन्, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै नजर सामु मानवजाति जिउँछन् र मर्छन्। मानिस परमेश्‍वरको व्यवस्थापनका लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्नो आँखा चिम्‍लन्छ, ती यही व्यवस्थापनकै खातिर नै बन्द हुन्छन्। मानिस घरीघरी, आउँछ-जान्छ, आउँछ-जान्छ। कुनै अपवादबिना, यी सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाका भाग हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

व्यक्तिको जन्‍मलाई उसको अघिल्‍लो जीवनले निर्धारित गरेको हुन्छ भने व्यक्तिको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्‍म यो जीवनमा उसको मिसनको सुरुवात हो भने उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। व्यक्तिको जन्‍मको लागि सृष्टिकर्ताले निश्‍चित परिस्‍थितिहरू निर्धारित गर्नुभएको हुँदा, अवश्य नै उहाँले उसको मृत्युको लागि पनि निश्‍चित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्‍दमा भन्दा, कोही पनि संयोगले जन्‍मँदैन, कसैको मृत्यु पनि अचानक आउँदैन, अनि जन्‍म र मृत्यु दुवै व्यक्तिको अघिल्‍लो जीवन र वर्तमान जीवनसँग अत्यावश्यक रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्‍म र मृत्यु दुवैका परिस्‍थितिहरूलाई सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको हुन्छ; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्‍म सम्‍बन्धी विभिन्‍न व्याख्याहरू रहेको हुनाले, यो कुरा पनि सही नै हो कि व्यक्तिको मृत्यु स्वाभाविक रूपमै यसका आफ्‍नै, विशेष परिस्‍थितिहरूमा हुनेछ। मानिसहरूका आयुहरू फरक-फरक हुनु अनि तिनीहरूको मृत्युको तरिका र समयहरू पनि फरक-फरक हुनुको कारण यही नै हो। कतिपय मानिसहरू बलियो र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू वृद्ध अवस्थासम्‍म बाँच्‍छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अस्वाभाविक कारणले मर्छन्, अरूहरू स्वाभाविक रूपमा मर्छन्। कतिपयले घरबाट टाढा हुँदा आफ्‍नो जीवन त्याग्छन्, अरूहरूले आफ्‍ना प्रियजन आफ्‍नै छेउ हुँदा आफ्‍ना आँखाहरू अन्तिम पटक चिम्‍लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुब्छन्, अरूहरू विपत्तिमा बेपत्ता हुन्छन्। कोही बिहान मर्छन्, अरूहरू राती। … हरेक व्यक्तिले प्रतिष्ठापूर्ण जन्‍म, शानदार जीवन, अनि वैभवपूर्ण मृत्यु चाहन्छ, तर कसैले पनि आफ्‍नो नियति नाघेर जान सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्‍कन सक्दैन। मानव नियति यही हो। मानिसले आफ्‍नो भविष्यको लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छ, तर कसैले पनि आफू कसरी जन्मने र कसरी संसारबाट बिदा हुने भन्‍ने तरिका र समयको योजना बनाउन सक्दैन। मानिसहरूले मृत्युको आगमनबाट बच्‍न र त्यसलाई रोक्‍न सक्दो कोशिश गर्छन्, तैपनि तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। कसैले पनि आफू कहिले वा कहाँ बित्ने हो थाहा पाउँदैन, यो कहाँ हुनेछ भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा जीवन र मृत्युको शक्ति मानवजातिमा छैन, प्राकृतिक संसारको कुनै प्राणीमा छैन, तर सृष्टिकर्तामा छ, जसको अख्‍तियार अद्वितीय छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको परिणाम हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

व्यक्ति मृत्युको जति नजिक पुग्छ, जीवन वास्तवमा के हो भन्‍ने बारेमा उसले त्यति नै बढी बुझ्न चाहन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसको हृदय त्यति नै रित्तो देखिन्छ; व्यक्ति मृत्युको जति नजिक पुग्छ, उसले त्यति नै बढी विवशताको महसुस गर्छ; अनि त्यसरी नै प्रतिदिन मृत्यु सम्‍बन्धी उसको डर पनि बढ्दै जान्छ। मानिसहरू मृत्युको नजिक जाने क्रममा तिनीहरूमा त्यस्ता भावनाहरू प्रकट हुनुका मुख्य दुई कारण छन्: पहिलो, तिनीहरूले तिनीहरूको जीवन निर्भर रहेको ख्याति र सम्पत्ति गुमाउन लागेका हुन्छन्, तिनीहरूले संसारमा देख्‍न सकिने सबै कुरालाई छोडेर जान लागेका हुन्छन्; अनि दोस्रो, तिनीहरूले अपरिचित, रहस्यमय, अज्ञात संसारलाई एकलै सामना गर्न लागेका हुन्छन्, जहाँ पाइला टेक्‍न तिनीहरू डराउँछन्, जहाँ तिनीहरूको कुनै पनि प्रियजन र सहयोगको आधार छैन। यी दुई कारणले गर्दा, मृत्युको सामना गर्ने हरेकले असहज महसुस गर्छन्, आत्तिन्छन् र विवशताको अनुभूति गर्छन्, जसको अनुभव तिनीहरूले पहिले कहिल्यै गरेका हुँदैनन्। कुनै व्यक्ति वास्तवमा यस विन्दुमा आइपुगेपछि मात्रै तिनीहरूले महसुस गर्छन् कि जब व्यक्तिले पृथ्वीमा पाइला टेक्छ, उसले बुझ्‍नुपर्ने पहिलो कुरा भनेको मानवजाति कहाँबाट आउँछ, मानिसहरू किन जीवित छन्, मानव नियति कसले नियन्त्रण गर्छ, र मानव अस्तित्वको लागि कसले भरणपोषण गर्छ र यसमाथि कसको सार्वभौमिकता छ भन्‍ने हो। यो ज्ञान नै व्यक्ति जिउने साँचो माध्यम, मानव अस्तित्वको लागि अत्यावश्यक आधार हो—आफ्‍नो परिवारको कसरी भरणपोषण गर्ने वा ख्याति र सम्पत्ति कसरी हासिल गर्ने सो सिक्‍नु होइन, भीडबाट कसरी माथि उठ्ने सो सिक्‍नु अनि जीवनमा अझै बढी सम्‍पन्‍न जीवन कसरी जिउने सो सिक्‍नु होइन, कसरी उत्कृष्ट बन्ने र अरूसँग सफलतापूर्वक प्रतिस्पर्धा गर्ने भन्‍ने बारेमा सिक्‍ने कुरा हुने त परै जाओस्। मानिसहरूले आफ्‍नो जीवनभर जुन बाँच्‍ने सीपहरू सिकेर पोख्त भएका हुन्छन् ती सीपहरूले प्रशस्त भौतिक सहजताहरू प्रदान गर्ने भए पनि, तिनले व्यक्तिको हृदयमा कहिल्यै पनि साँचो शान्ति र प्रेरणा दिँदैनन्, बरु तिनले त मानिसहरूलाई सधैँ आफ्‍नो दिशा गुमाउने, आफैलाई नियन्त्रण गर्न कठिन गराउने, अनि जीवनको अर्थबारे सिक्‍ने हरेक मौकालाई गुमाउने तुल्याउँछ; बाँच्‍ने सम्‍बन्धी यी सीपहरूले उपयुक्त रूपमा मृत्युको सामना कसरी गर्ने भन्‍नेबारेमा भित्री चिन्ता पैदा गर्छ। मानिसहरूको जीवन यसरी बरबाद हुन्छन्। हरेक व्यक्तिलाई जीवनभरिको लागि उहाँको सार्वभौमिकताको अनुभव गर्न र त्यसलाई जान्‍ने मौका दिएर सृष्टिकर्ताले हरेक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, तैपनि मृत्यु नजिक आएपछि मात्रै, यसको कालो छाया देखिएपछि मात्रै व्यक्तिले ज्योति देख्‍न थाल्छ—अनि त्यो बेलासम्‍म ढीला भइसकेको हुन्छ!

मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्‍नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्। मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू जिउनको लागि त्यति नै तड्पिन्छन्; मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू मृत्युको आगमनप्रति त्यति नै भयभीत हुन्छन्। यस विन्दुमा मात्रै तिनीहरूले महसुस गर्छन् कि तिनीहरूको जीवन तिनीहरूको स्वामित्वमा, तिनीहरूको नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्‍ने बारेमा उसले कुनै भनाइ राख्न सक्दैन—यो सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरको कुरा हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

व्यक्तिको जन्‍म भएकै क्षणमा, एउटा एकल आत्माले पृथ्वीमा आफ्‍नो अनुभव सुरु गर्छ, सृष्टिकर्ताले यसको लागि बन्दोबस्त गरिदिनुभएको सृष्टिकर्ताको अख्तियार सम्बन्धमा आफ्नो अनुभव सुरु गर्छ। यो अवश्य पनि त्यो व्यक्ति—त्यो आत्मा—को लागि सृष्टिकर्ताको सार्वभौमिकताको बारेमा ज्ञान प्राप्त गर्ने, उहाँको अख्‍तियारलाई जान्‍ने र यसलाई व्यक्तिगत रूपमा अनुभव गर्ने उत्कृष्ट अवसर हो। मानिसहरूले आफ्‍नो जीवन सृष्टिकर्ताले तिनीहरूको लागि सृजित गर्नुभएका नियतिका नियमहरूभित्र रहेर जिउँछन्, अनि विवेक भएको कुनै पनि विवेकशील व्यक्तिको लागि तिनीहरूको जीवनको दशकौं अवधिमा सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्नु अनि उहाँको अख्तियारलाई जान्‍नु त्यति कठिन कुरा होइन। त्यसकारण, हरेक व्यक्तिको लागि आफ्नो दशकौंको जीवन अनुभवहरूमार्फत सबै मानव नियतिहरू पूर्वनिर्धारित हुन्छन् भनी पहिचान गर्न सहज हुनुपर्छ, अनि जिउँदो हुनुको अर्थ के हो सो बुझ्‍न वा सारांशित गर्न सहज हुनुपर्छ। व्यक्तिले जीवन सम्‍बन्धी यी पाठहरूलाई अङ्गाल्‍न थालेपछि, उसले क्रमिक रूपमा जीवन कहाँबाट आउँछ सो बुझ्‍न थाल्नेछ, हृदयलाई वास्तवमा के कुराको खाँचो छ, के कुराले व्यक्तिलाई जीवनको साँचो मार्गमा डोर्‍याउँछ, र मानव-जीवनको मिसन र लक्ष्य के हुनुपर्छ सो जान्‍न थाल्‍नेछ। यदि व्यक्तिले सृष्टिकर्ताको आराधना गर्दैन भने, यदि उसले आफूलाई उहाँको प्रभुत्वमा समर्पित गर्दैन भने, जब मृत्युको सामना गर्ने बेला हुन्छ—जब व्यक्तिको आत्माले फेरि एक पटक सृष्टिकर्ताको सामना गर्न लागेको हुन्छ—तब उसको हृदय असीमित भय र आतङ्कले भरिएको हुनेछ भन्‍ने कुरा व्यक्तिले क्रमिक रूपमा पहिचान गर्न थाल्‍नेछ। यदि व्यक्ति संसारमा आएको धेरै दशक भइसकेको छ तैपनि उसले मानव जीवन कहाँबाट आउँछ भन्‍ने कुरा बुझेको छैन, उसले मानव भाग्य कसको हातमा छ भन्‍ने समेत बुझेको छैन भने, उसले शान्त भएर मृत्युको सामना गर्न सक्‍नेछैन भन्‍नेमा कुनै आश्‍चर्य हुँदैन। मानव जीवन सम्‍बन्धी आफ्‍नो दशकौंको अनुभवहरूमा सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञान प्राप्त गरेको व्यक्ति जीवनको अर्थ र मूल्य सम्‍बन्धी सही बुझाइ भएको व्यक्ति हो। त्यस्तो व्यक्तिसँग सृष्टिकर्ताको सार्वभौमिकता सम्‍बन्धी साँचो अनुभव र बुझाइको साथमा जीवनको उद्देश्य सम्‍बन्धी गहन ज्ञान हुन्छ, अनि यसबाहेक, ऊ सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुन सक्छ। त्यस्तो व्यक्तिले सृष्टिकर्ताले मानवजाति सृष्टि गर्नुको अर्थ बुझ्छ, मानिसले सृष्टिकर्ताको आराधना गर्नुपर्छ भन्‍ने बुझ्छ, मानिससँग भएका सबै कुरा सृष्टिकर्ताबाट नै आउँछ र भविष्यमा चाँडै नै एक दिन ती सबै उहाँकहाँ नै फर्कन्छन् भन्‍ने बुझ्छ। यस प्रकारको व्यक्तिले मानिसको जन्‍मलाई सृष्टिकर्ताले नै बन्दोबस्त गर्नुहुन्छ र मानिसको मृत्युमाथि उहाँकै सार्वभौमिकता छ, अनि जीवन र मृत्यु दुवैलाई सृष्टिकर्ताको अख्तियारले पूर्वनिर्धारित गरेको हुन्छ भन्‍ने बुझ्छ। त्यसकारण, जब व्यक्तिले यी कुराहरूलाई साँचो रूपमा बुझेको हुन्छ, ऊ मृत्युलाई शान्त भएर सामना गर्न, आफ्‍ना सारा सांसारिक सम्पत्तिहरूलाई चुपचाप पन्छ्याएर त्यसपछि आउने सबै कुराहरूलाई खुशीसाथ स्वीकार गर्न र त्यसमा समर्पित हुन, अनि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको जीवनको अन्तिम घडीसँग अन्धाधुन्ध डराएर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसलाई सोही रूपमा स्वागत गर्न सक्षम हुन्छ। यदि व्यक्तिले जीवनलाई सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने र उहाँको अख्‍तियारलाई चिन्‍ने अवसरको रूपमा लिन्छ भने, यदि व्यक्तिले आफ्‍नो जीवनलाई सृष्टि गरिएको मानवजातिको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अनि आफ्‍नो मिसन पूरा गर्ने दुर्लभ अवसरको रूपमा लिन्छ भने, ऊसँग अवश्य नै जीवन सम्‍बन्धी सही दृष्टिकोण हुनेछ, अवश्य नै उसले सृष्टिकर्ताले आशिष दिनुभएको र डोर्‍याउनुभएको जीवन जिउनेछ, ऊ अवश्य नै सृष्टिकर्ताको ज्योतिमा हिँड्नेछ, उसले अवश्य नै सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेछ, उसले आफूलाई अवश्य नै उहाँको प्रभुत्वमा समर्पित गर्नेछ, र ऊ अवश्य नै उहाँका आश्‍चर्यजनक कार्यहरूको साक्षी, उहाँको अख्तियारको साक्षी बन्‍नेछ। भन्नै पर्दैन, त्यस्तो व्यक्तिलाई सृष्टिकर्ताले अवश्य पनि प्रेम र स्वीकार गर्नुहुन्छ, अनि त्यस्तो व्यक्तिले मात्र मृत्युप्रति शान्त मनोवृत्ति देखाउन र जीवनको अन्तिम घडीलाई आनन्दसाथ स्वीकार गर्न सक्छ। मृत्युप्रति यस्तै प्रकारको मनोवृत्ति देखाउने एक जना व्यक्ति अय्यूब हुन्। अय्यूब जीवनको अन्तिम विन्दुलाई खुशीसाथ स्वीकार गर्ने अवस्थामा थिए, अनि आफ्‍नो जीवन यात्रालाई सहज समाप्तिमा ल्याएर आफ्‍नो जीवनको मिसनलाई पूरा गरेपछि, तिनी सृष्टिकर्ताको क्षेत्रमा फर्किए।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

पवित्रशास्‍त्रमा अय्यूबको बारेमा यस्तो लेखिएको छ: “यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे” (अय्यूब ४२:१७)। यसको अर्थ के हो भने, जब अय्यूबको मृत्यु भयो, तिनीसँग कुनै पछुतो थिएन र तिनले कुनै पीडाको महसुस गरेनन्, बरु यो संसारबाट स्वाभाविक रूपमै तिनी बिदा भए। अय्यूब जीवित हुँदा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिस थिए भन्‍ने सबैलाई थाहा छ। तिनका कार्यहरूलाई परमेश्‍वरले तारिफ गर्नुभयो र अरूले यादगार बनाए, अनि तिनको जीवन सायद अरू सबैको भन्दा बढी बहुमूल्य र महत्त्वपूर्ण थियो भनेर भन्‍न सकिन्छ। पृथ्वीमा अय्यूबले परमेश्‍वरका आशिष्‌हरूको उपभोग गरे र उहाँले तिनलाई धर्मी भनेर भन्‍नुहुन्थ्यो, अनि तिनलाई परमेश्‍वरले पनि परीक्षा गर्नुभयो र शैतानले पनि प्रलोभन गर्यो। तिनी परमेश्‍वरको साक्षीको रूपमा खडा भए र उहाँद्वारा धर्मी व्यक्ति भनिन योग्य बने। परमेश्‍वरले तिनलाई परीक्षा गर्नुभएको दशकौंपछि, तिनले पहिलेको भन्दा अझै बहुमूल्य, अर्थपूर्ण, स्थिर, र शान्तिपूर्ण जीवन जिए। तिनका धर्मी कार्यहरूको कारण, परमेश्‍वरले तिनलाई जाँच्‍नुभयो, र तिनका धर्मी कार्यहरूले गर्दा नै, परमेश्‍वर तिनको सामु आउनुभयो र तिनीसँग प्रत्यक्ष रूपमा कुरा गर्नुभयो। तसर्थ, तिनलाई जाँच गरिएपछिका वर्षहरूमा, अय्यूबले जीवनको मूल्यलाई अझै ठोस रूपमा बुझे र सराहना गरे, सृष्टिकर्ताको सार्वभौमिकताको अझै गहन बुझाइ प्राप्त गरे, अनि सृष्टिकर्ताले कसरी उहाँका आशिष्‌हरू दिनुहुन्छ र फिर्ता लिनुहुन्छ भन्‍नेबारेमा अझै सटीक र ठोस ज्ञान प्राप्त गरे। सृष्टिकर्ताको सार्वभौमिकतालाई बुझ्ने र चुपचाप मृत्युको सामना गर्ने अझै उत्तम स्थानमा अय्यूबलाई राख्दै, यहोवा परमेश्‍वरले अय्यूबलाई पहिलेभन्दा अझै बढी आशिष्‌हरू दिनुभयो भनेर अय्यूबको पुस्तकले उल्‍लेख गरेको छ। त्यसकारण, जब अय्यूबले वृद्ध भएर मृत्युको सामना गर्नुपर्‍यो, तब तिनी आफ्‍नो सम्पत्तिको बारेमा पक्‍कै पनि चिन्तित भएनन्। तिनीसँग कुनै चिन्ता थिएन, पछुताउनुपर्ने केही थिएन, र अवश्य नै तिनले मृत्युको डर मानेनन्, किनभने तिनले आफ्‍नो सारा जीवन परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्दै बिताएका थिए। आफ्‍नै अन्त्यको बारेमा चिन्ता गर्नुपर्ने कुनै कारण तिनीसँग थिएन। आजका कति मानिसहरूले आफ्नो मृत्युको सामना गर्दा पूर्ण रूपमा अय्यूबले गरेजस्तै गर्न सक्छन्? किन त्यस्तो सरल बाह्य सहनशीलता कायम गर्न सक्‍ने कोही पनि छैन? एउटै मात्र कारण छ: अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दै, त्यसको पहिचान गर्दै, अनि त्यसमा समर्पित हुँदै आफ्‍नो जीवन जिए, र यही विश्‍वास, पहिचान, र समर्पणद्वारा नै तिनले जीवनका महत्त्वपूर्ण मोडहरू पार गरे, आफ्‍ना आखिरी वर्षहरू बिताए, र आफ्‍नो जीवनको अन्तिम बिन्दुलाई स्वागत गरे। अय्यूबले जे-जस्तो अनुभव गरे तापनि, तिनको जीवनका खोजी र लक्ष्‍यहरू पीडापूर्ण थिएनन्, बरु सुखद थिए। सृष्टिकर्ताले तिनलाई दिनुभएका आशिष्‌हरू र तारिफको कारण मात्र तिनी खुसी थिएनन्, बरु अझै महत्त्वपूर्ण रूपमा, तिनी त आफ्ना खोजी र जीवनका लक्ष्‍यहरूको कारण खुशी थिए, परमेश्‍वरको डर मानेर अनि दुष्टताबाट अलग बसेर प्राप्त गरेको सृष्टिकर्ताको सार्वभौमिकतासम्‍बन्धी बढ्दो ज्ञान र साँचो बुझाइको कारण खुशी थिए, र यसको साथै सृष्टिकर्ताको सार्वभौमिकताको एक पात्रको रूपमा परमेश्‍वरको आश्‍चर्यजनक कार्यको बारेमा तिनको व्यक्तिगत अनुभव, अनि मानिस र परमेश्‍वरको सहअस्तित्व, मित्रता र पारस्‍परिक समझदारीसम्‍बन्धी कोमल तर बिर्सनै नसकिने अनुभव र यादहरूको कारण खुशी थिए। सृष्टिकर्ताका अभिप्रायहरू जानेपछि प्राप्त हुने सान्त्वना र आनन्दको कारण, र उहाँ महान्, अचम्‍मका, प्रेमिलो र विश्‍वासयोग्य हुनुहुन्छ भन्‍ने जानेर पैदा हुने डरको कारण अय्यूब खुशी थिए। अय्यूबले कुनै पनि कष्टविनै मृत्युको सामना गर्न सके किनभने मरेपछि तिनी सृष्टिकर्ताकहाँ फर्केर जानेछन् भन्‍ने तिनलाई थाहा थियो। जीवनमा तिनले गरेको खोजी र प्राप्तिले नै तिनलाई शान्तिसाथ मृत्युको सामना गर्ने तुल्यायो, सृष्टिकर्ताले आफ्नो जीवन फिर्ता लिने अपेक्षालाई शान्तिसाथ सामना गर्ने तुल्यायो, साथै सृष्टिकर्ताको अघि विशुद्ध र चिन्तारहित रूपमा खडा हुने तुल्यायो। के आजका मानिसहरूले अय्यूबले पाएजस्तो खुशी हासिल गर्न सक्छन्? के तिमीहरूसँग त्यसो गर्नको लागि आवश्यक अवस्थाहरू छन्? आजभोलिका मानिसहरूसँग यस्ता अवस्थाहरू भए पनि, किन तिनीहरू अय्यूबजस्तो खुशी भएर जिउन सक्दैनन्? किन तिनीहरू मृत्युको डरको कष्टबाट उम्‍कन सक्दैनन्? मृत्युको सामना गर्दा, कतिपय मानिसहरू डरले पिसाब फेर्छन्; अरूहरू काँप्छन्, बेहोस हुन्छन्, स्वर्ग र मानिसविरुद्ध प्रहार गर्छन्; कतिपय त विलाप गर्ने र रुनेसमेत गर्छन्। कुनै पनि हालतमा यी कुराहरू अचानक मृत्यु नजिकिँदा देखिने प्राकृतिक प्रतिक्रिया होइनन्। मानिसहरूले यस्तो लाजमर्दो किसिमले व्यवहार गर्नुको मुख्य कारण के हो भने, मानिसहरूले आफ्‍नो भित्री हृदयमा मृत्युको डर मान्छन्, तिनीहरूसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तको स्पष्ट ज्ञान र बुझाइ छैन, ती कुराहरूप्रति तिनीहरू साँचो रूपमा समर्पित हुने त कुरै छाडौँ। मानिसहरूले यस्तो प्रतिक्रिया दिन्छन् किनभने तिनीहरू अरू केही चाहँदैनन्, केवल सबै कुरा आफैले बन्दोबस्त र सञ्‍चालन गर्न, आफ्‍नो नियति, आफ्‍नो जीवन र मृत्यु आफै नियन्त्रण गर्न चाहन्छन्। त्यसकारण, मानिसहरू कहिल्यै पनि मृत्युको डरबाट उम्‍कन सक्दैनन् भन्‍नेमा कुनै आश्‍चर्य छैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

जब व्यक्तिसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तहरूको स्पष्ट ज्ञान र अनुभव हुँदैन, नियति र मृत्युसम्‍बन्धी उसको ज्ञान अवश्य नै अस्पष्ट हुनेछ। मानिसहरूले सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने स्पष्ट देख्‍न सक्दैनन्, सबै कुरा परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताको अधीनमा छ भन्‍ने महसुस गर्दैनन्, र त्यस्तो सार्वभौमिकता त्याग्‍न वा त्यसबाट उम्‍कन मानिस सक्दैन भन्‍ने कुरा स्वीकार गर्दैनन्। यही कारणले गर्दा, तिनीहरूले मृत्युको सामना गर्ने समय आउँदा, तिनीहरूका आखिरी शब्‍द, चिन्ता, र अफसोसहरू कहिल्यै अन्त्य हुँदैनन्। तिनीहरू अत्यन्तै धेरै भार, अत्यन्तै धेरै अनिच्‍छा, र अत्यन्तै धेरै अन्योलले थिचिएका हुन्छन्। यसले तिनीहरूलाई मृत्युको डर मान्‍ने तुल्याउँछ। यस संसारमा जन्‍मने कुनै पनि व्यक्तिको लागि, जन्‍म अत्यावश्यक र मृत्यु अपरिहार्य छ; यी घटनाक्रमहरूभन्दा माथि कोही पनि उठ्न सक्दैन। यदि व्यक्तिले यो संसारबाट पीडारहित रूपमा बिदा हुन चाहन्छ भने, यदि ऊ जीवनको अन्तिम बिन्दुलाई अनिच्‍छा वा चिन्तारहित रूपमै सामना गर्न सक्‍ने हुन चाहन्छ भने, यसको एउटै मात्र तरिका भनेको कुनै पनि अफसोस नराख्‍नु हो। अनि कुनै अफसोसविना बिदा हुने एउटै तरिका भनेको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नु, उहाँको अख्‍तियारलाई जान्‍नु, र तिनमा समर्पित हुनु हो। यसरी मात्रै व्यक्ति मानव कलह, दुष्टता र शैतानको बन्धनबाट टाढा बस्‍न सक्छ, र यसरी मात्रै उसले अय्यूबको जस्तो सृष्टिकर्ताद्वारा मार्गनिर्देशित र आशिषित, मुक्त र स्वतन्त्र जीवन, मूल्यवान् र अर्थपूर्ण जीवन, इमानदार र खुला हृदय भएको जीवन जिउन सक्छ। यसरी मात्रै व्यक्ति सृष्टिकर्ताले दिनुभएको परीक्षा र अभावरूपी कष्टहरू र सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छ। यसरी मात्रै व्यक्तिले आफ्‍नो जीवनभरि अय्यूबले जस्तै सृष्टिकर्ताको आराधना गर्न र उहाँको स्याबासी हासिल गर्न सक्छ, र उहाँको आवाजलाई सुन्‍न र उहाँ प्रकट हुनुभएको देख्‍न सक्छ। यसरी मात्रै हामी अय्यूबजस्तै कुनै पनि पीडा, चिन्ता, पछुतोविना नै खुशीसाथ जिउन र मर्न सक्छौं। यसरी मात्रै व्यक्ति अय्यूबजस्तै ज्योतिमा जिउन, र ज्योतिमा आफ्‍नो जीवनको हर मोड पार गर्न, ज्योतिमा आफ्‍नो यात्रा सहजसाथ पूरा गर्न, सफलतापूर्वक आफ्‍नो मिसन पूरा गर्न—सृष्टि गरिएको प्राणीको रूपमा सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्न, सिक्‍न, र जान्‍न—अनि ज्योतिमै बितेर जान, र सृष्टि गरिएको मानवजातिको रूपमा, उहाँको स्याबासी पाएर सदासर्वदाको लागि सृष्टिकर्ताको छेउमा खडा हुन सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

मानिसहरूले जुनसुकै मामला सम्हालिरहेका भए पनि, तिनीहरूले सधैँ यसलाई सक्रिय, सकारात्मक मनोवृत्तिले लिनुपर्छ, र मृत्युको मामलामा यो झन् बढी लागु हुन्छ। सक्रिय र सकारात्मक मनोवृत्ति हुनु भनेको मृत्युलाई अङ्गाल्‍नु, मृत्युको प्रतीक्षा गर्नु, वा सकारात्मक र सक्रिय रूपमा मृत्युको पछि लाग्‍नु भन्‍ने होइन। यदि यसको अर्थ मृत्युलाई पछ्याउनु, मृत्युलाई अङ्गाल्‍नु, वा मृत्युको प्रतीक्षा गर्नु होइन भने, यसको अर्थ के हो? (समर्पित हुनु।) समर्पित हुनु भनेको मृत्युको मामिलाप्रति लिइने एक किसिमको मनोवृत्ति हो, र मृत्युलाई त्याग्‍नु र यसका बारेमा नसोच्नु नै यसलाई सम्‍हाल्‍ने सबैभन्दा राम्रो तरिका हो। कतिपय मानिसहरूले भन्छन्, “यसका बारेमा किन नसोच्ने? यदि मैले यसका बारेमा राम्ररी विचार गरिनँ भने, के मैले यसलाई जित्‍न सक्छु? यदि मैले यसका बारेमा राम्ररी विचार गरिनँ भने, के म यस कुरालाई त्याग्‍न सक्छु?” हो, सक्छस्। अनि किन त्यसो हुन्छ? मलाई भन्, के तेरा आमाबुबाले तँलाई जन्‍माउँदा, जन्‍मने निर्णय तैँले गरेको थिइस् र? तेरो रूप, तेरो उमेर, तैँले काम गर्ने उद्योग, तँ अहिले यहाँ बसिरहेको तथ्य, र तँलाई अहिले कस्तो महसुस भइरहेको छ भन्‍ने कुरा—के तैँले सोचेरै यी सबै कुरालाई अस्तित्वमा ल्याएको होस्? तैँले यी सबै कुरालाई सोचेर अस्तित्वमा ल्याएको होइनस्, यो त दिन र महिनाहरू बित्दै जाँदा र तँ अहिले आइपुगेको ठाउँसम्म पुगेसम्म तैँले दैनिक रूपमा, एकपछि अर्को गर्दै आफ्‍नो सामान्य जीवन बिताएर आएका हुन्, र यो अत्यन्तै स्वाभाविक कुरा हो। मृत्यु पनि त्यस्तै हो। त्यसबारे थाहै नभई, तँ हुर्केर वयस्क बन्छस्, अधबैँसे बन्छस्, वृद्ध बन्छस्, र आफ्‍ना अन्तिम वर्षहरूमा पुग्छस्, त्यसपछि मृत्यु आउँछ—यसका बारेमा नसोच्। तैँले कुनै कुरा नसोचेर त्यसबाट बँच्‍न सक्दैनस्, न त तैँले तिनका बारेमा सोचेर ती चाँडै नै आउँछन्; ती कुरालाई मानिसको इच्छाद्वारा परिवर्तन गर्न सकिँदैन, होइन र? तिनका बारेमा नसोच्। मैले “तिनका बारेमा ननसोच्” भनी भन्दा भन्‍न खोजेको के हो? किनभने यदि यो निकट भविष्यमा साँच्‍चै नै हुन लागेको छ भने, सधैँ यसका बारेमा सोच्दा यो तँलाई अदृश्य दबाब जस्तै लाग्‍न सक्छ। तँलाई यो दबाबले जीवन र जियाइदेखि डर लाग्‍ने बनाउनेछ, तँमा सक्रिय र सकारात्मक मनोवृत्ति हुनेछैन, बरु तँ झन् धेरै निराश हुनेछस्। मृत्युको सामना गरिरहेको व्यक्तिमा कुनै पनि कुराप्रति चासो वा सकारात्मक मनोवृत्ति नहुने हुँदा, उसलाई निराशा मात्रै महसुस हुन्छ। तिनीहरू मर्न लागेका हुन्छन्, सबै कुरा खतम भएको हुन्छ, कुनै कुराको पछि लाग्‍नु वा कुनै कुरा गर्नुको कुनै अर्थ हुँदैन, तिनीहरूमा भविष्यप्रति कुनै आशा वा उत्प्रेरणा हुँदैन, र तिनीहरूले गर्ने सबै कुरा मृत्युको तयारी र मृत्युतर्फ अघि बढ्ने कार्य मात्रै हुन्छ, त्यसकारण तिनीहरूले गर्ने कुनै पनि कार्यको के नै अर्थ हुन्छ र? त्यसकारण, तिनीहरूले गर्ने हरेक कुरामा नकारात्मकता र मृत्युको तत्व र प्रकृति हुन्छ। त्यसोभए, के तैँले मृत्युका बारेमा नसोच्न सक्छस्? के यो हासिल गर्न त्यति सजिलो छ? यदि यो मामिला तेरो मानसिक तर्क र कल्पनाको परिणाम मात्रै हो भने, तैँले व्यर्थमा चिन्ता गरेको छस्, तँ आफूलाई तर्साउँछस्, र यो निकट भविष्यमा हुनेछैन, त्यसकारण तैँले केका लागि यसका बारेमा सोचिरहेको छस्? यसो गर्नु झनै अनावश्यक कुरा हो। जे हुनुपर्ने हो, त्यो भई नै छाड्छ; जे नहुनुपर्ने हो, त्यसका बारेमा तैँले जसरी सोचे पनि त्यो हुँदैन नै। यसका बारेमा डर मान्‍नु, चिन्ता गर्नु व्यर्थ छ। चिन्ता गरेर मृत्युबाट बच्‍न सकिँदैन, न त तँलाई डर लाग्छ भनेर यसले तँलाई छोडेर नै जानेछ। त्यसकारण, एउटा पक्ष के हो भने, तैँले मृत्युको मामिलालाई आफ्‍नो हृदयदेखि नै त्याग्‍नुपर्छ र यसलाई महत्त्व दिनु हुँदैन; तैँले मृत्युसँग आफ्नो कुनै सरोकार नभएझैँ गरी यो कुरा परमेश्‍वरलाई सुम्पनुपर्छ। यो त परमेश्‍वरले बन्दोबस्त गर्नुहुने कुरा हो, त्यसकारण परमेश्‍वरलाई बन्दोबस्त गर्न दे—के त्यसपछि यो सरल हुँदैन र? अर्को पक्ष के हो भने, तँमा मृत्युप्रति सक्रिय र सकारात्मक मनोवृत्ति हुनुपर्छ। मलाई भन्, संसारभरिका करोडौँ मानिसहरूका बीचमा परमेश्‍वरका यति धेरै वचनहरू सुन्‍ने, जीवनका धेरै सत्यताहरू बुझ्‍ने, र धेरै रहस्यहरू बुझ्‍ने गरी को-को आशिषित भएका छन्? तिनीहरूमध्ये क-कसले व्यक्तिगत रूपमा परमेश्‍वरको अगुवाइ, परमेश्‍वरको प्रबन्ध, र उहाँको हेरचाह र सुरक्षा प्राप्त गर्न सक्छन्? यति आशिषित को-को छन्? निकै थोरै छन्। त्यसकारण, तिमीहरू थोरैले मात्रै आज परमेश्‍वरको घरमा बस्न, उहाँको मुक्ति पाउन, र उहाँको बन्दोबस्‍त प्राप्त गर्न पाउनुले अहिले नै मर्यौ भने पनि यो सबलाई सार्थक बनाउँछ। तिमीहरू अत्यन्तै आशिषित छौ, होइन र? (हो।) यो दृष्टिकोणबाट हेर्दा, मृत्युमामिलादेखि मानिसहरू तर्सिनु हुँदैन, र यसको बन्धनमा पनि पर्नु हुँदैन। तिमीहरूले संसारको वैभव र सम्पत्ति प्राप्त नगरेका भए पनि, सृष्टिकर्ताको दया पाएका र परमेश्‍वरका धेरै वचनहरू सुनेका छौ—के यो आनन्दको कुरा होइन र? (हो।) यो जीवनमा तँ जति वर्ष बाँचे पनि, यो सबै सार्थक हुन्छ र तँसँग कुनै पछुतो हुँदैन, किनभने तैँले परमेश्‍वरको काम गर्दै निरन्तर आफ्‍नो कर्तव्य पूरा गरिरहेको छस्, तैँले सत्यता बुझेको छस्, जीवनका रहस्यहरू बुझेको छस्, र जीवनमा तैँले पछ्याउनुपर्ने मार्ग र उद्देश्यहरू बुझेको छस्—तैँले धेरै कुरा प्राप्त गरेको छस्! तैँले सार्थक जीवन जिएको छस्! तैँले यो कुरा स्पष्ट रूपमा व्याख्या गर्न नसके पनि, तैँले केही सत्यता अभ्यास गर्न सक्छस् र तँमा केही वास्तविकता छ, र यसले तैँले परमेश्‍वरको कामबाट केही जीवन प्रबन्ध प्राप्त गरेको छस् र केही सत्यता बुझेको छस् भन्‍ने कुरा प्रमाणित गर्छ। तैँले धेरै प्राप्त गरेको छस्—साँचो प्रशस्‍तता प्राप्त गरेको छस्—र त्यो ठूलो आशिष हो! मानव इतिहासको सुरुवातदेखि नै, सारा युगभरि कसैले पनि यो आशिष प्राप्त गरेको छैन, तैपनि तिमीहरूले यो प्राप्त गरिरहेका छौ। के तिमीहरू अहिले मर्न तयार छौ? त्यस्तो इच्छा भएको भए, मृत्युप्रति तिमीहरूको मनोवृत्ति साँच्‍चै नै समर्पित हुनेथियो, होइन र? (हो।) एउटा पक्ष के हो भने, मानिसहरूमा साँचो बुझाइ हुनुपर्छ, तिनीहरूले सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्नुपर्छ, र साँचो रूपमा समर्पित हुनुपर्छ, र तिनीहरूमा मृत्युप्रति सही मनोवृत्ति हुनुपर्छ। यसरी, के मानिसहरूका हैरानी, तनाव, र चिन्ताका भावनाहरू धेरै घट्दैनन् र? (घट्छन्।) ती निकै घट्छन्। …

मृत्यु भनेको सजिलै समाधान गर्न सकिने समस्या होइन, र यो मानिसको सबैभन्दा ठूलो कठिनाइ हो। यदि कसैले तँलाई, “तिम्रो भ्रष्ट स्वभाव साह्रै गहन छ र तिम्रो मानवता पनि राम्रो छैन। यदि तिमीले इमानदारिताका साथ सत्यतालाई पछ्याएनौ र भविष्यमा धेरै दुष्कर्महरू गर्‍यौ भने, तिमी नरकमा जानेछौ र दण्डित हुनेछौ!” भनेर भन्यो भने, तँ केही समयसम्‍म दुःखी हुन्छस् होला। तैँले यसका बारेमा मनन गर्न सक्छस्, र सुतेर उठेपछि अलिक राम्रो महसुस गर्न सक्छस्, त्यसपछि तँ त्यति दुःखी हुँदैनस्। तैपनि, यदि तँलाई ज्यान लिन सक्‍ने रोग लागेको छ, र तँसँग बाँच्नका लागि त्यति धेरै समय बाँकी छैन भने, यो एक रात सुतेर समाधान गर्न सकिने कुरा होइन, र यसलाई त्यति सजिलै त्याग्‍न सकिँदैन। यस मामिलामा तँ केही समयसम्‍म संयमित हुनुपर्छ। साँचो रूपमा सत्यतालाई पछ्याउने मानिसहरूले यसलाई बिर्सन सक्छन्, सबै कुरामा सत्यताको खोजी गरेर यसलाई समाधान गर्न सत्यता प्रयोग गर्न सक्छन्—तिनीहरूले समाधान गर्न नसक्‍ने कुनै समस्या हुँदैन। तर यदि मानिसहरूले मान्छेका तरिकाहरू प्रयोग गरे भने, अन्तत: तिनीहरूलाई मृत्युका बारेमा निरन्तर हैरानी, तनाव, र चिन्ता मात्रै महसुस हुन्छ। जब यस्ता कुराहरू समाधान गर्न नसकिने हुन्छन्, तब तिनीहरूले तिनलाई समाधान गर्न चरम उपायहरू अपनाउँछन्। कतिपय मानिसहरूले निराशलाग्दो र नकारात्मक शैली अपनाउँदै भन्छन्, “त्यसोभए म मर्छु। मृत्युको डर कसलाई छ र? मरेपछि, म फेरि पुनर्जन्‍म लिएर जिउनेछु!” के तैँले यसलाई पुष्टि गर्न सक्छस्? तैँले त सान्त्वनाका केही शब्‍दहरू मात्रै खोजिरहेको छस्, र त्यसले समस्या समाधान गर्दैन। देखिने वा नदेखिने, भौतिक वा अभौतिक सबै कुरालाई सृष्टिकर्ताको हातले नियन्त्रण र शासन गर्छ। कसैले पनि आफ्‍नो भाग्यलाई नियन्त्रण गर्न सक्दैन र चाहे रोग-बिमारप्रति होस् वा मृत्युप्रति, मानिसमा हुनुपर्ने एउटै मात्र मनोवृत्ति भनेको बुझ्‍ने, स्विकार्ने, र समर्पित हुने हो; मानिसहरूले आफ्‍ना कल्‍पना वा धारणाहरूमा भर पर्नु हुँदैन, यी कुराहरूबाट उम्कने उपाय खोज्‍नु हुँदैन, र यी कुराहरूलाई इन्कार वा प्रतिरोध गर्नु त झनै हुँदैन। यदि तैँले रोग-बिमार र मृत्युको समस्यालाई आफ्‍नै तरिकाहरू प्रयोग गरेर अन्धाधुन्ध समाधान गर्ने प्रयास गरिस् भने, तँ जति धेरै बाँच्छस्, तैँले त्यति नै धेरै कष्ट भोग्छस्, तँ त्यति नै धेरै निराश हुनेछस्, र तँलाई त्यति नै धेरै बन्धनमा परेको महसुस हुनेछ। अन्त्यमा, तैँले मृत्युको बाटो हिँड्नै पर्नेछ, र तेरो अन्त्य पनि तेरो मृत्यु जस्तै हुनेछ—तँ अवश्य नै मर्नेछस्। यदि तैँले सक्रिय रूपमा सत्यताको खोजी गर्न सक्छस् र परमेश्‍वरले तेरा लागि बन्दोबस्त गरिदिनुभएको रोग-बिमारलाई बुझ्‍ने बारेमा होस् वा मृत्युको सामना गर्ने बारेमा होस्, तैँले सकारात्मक र सक्रिय रूपमा सत्यताको खोजी गर्न सक्छस्, यस्तो खालको ठूलो घटनासम्‍बन्धी सृष्टिकर्ताको योजनाबद्ध कार्य, सार्वभौमिकता र बन्दोबस्तहरूको खोजी गरेर साँचो समर्पणता हासिल गर्न सक्छस् भने, यो परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ। यदि तँ यी सबै कुराहरूको सामना गर्न मान्छेको क्षमता र विधिहरूमा भर पर्छस्, र यी कुरालाई समाधान गर्ने वा यी कुराबाट उम्कने भरमग्दो प्रयास गर्छस् भने, तँ मरिनस् नै भने पनि र मृत्युको कठिनाइबाट क्षणिक रूपमा उम्कन सके पनि, तँमा परमेश्‍वर र सत्यताप्रति साँचो बुझाइ, स्वीकार र समर्पणता नभएको हुनाले, तैँले यस विषयमा गवाही दिँदैनस्, त्यसपछि अन्तिम परिणाम के हुन्छ भने, तैँले फेरि यो समस्याको सामना गर्दा, तेरा लागि यो एउटा ठूलो जाँच हुनेछ। तैँले अझै पनि परमेश्‍वरलाई धोका दिने र तेरो पतन हुने सम्‍भावना हुन्छ, र यो तेरा लागि अवश्य नै खतरनाक कुरा हुनेछ। त्यसकारण, यदि तैँले अहिले साँच्‍चै नै रोग-बिमार वा मृत्युको सामना गरिरहेको छस् भने, म तँलाई भन्छु, साँच्‍चै मृत्युलाई पर्खिँदै अन्ततः चकित पर्नु, अन्योलमा पर्नु, छक्‍क पर्नु, र विवश हुनु, अनि यसरी जीवनभरि पछुताउनुपर्ने कुराहरू गर्नुको सट्टा सत्यताको खोजी गर्न र जराबाट नै यो मामिलालाई समाधान गर्नका लागि यो व्यावहारिक परिस्थितिबाट फाइदा उठाउनु नै राम्रो हुन्छ। यदि तैँले आफूलाई पछुतो लाग्‍ने र आत्मग्लानि हुने कुराहरू गरिस् भने, यसले तँलाई नष्ट पार्न सक्नेछ। त्यसकारण, समस्या जे भए पनि, तैँले सधैँ यस विषयमा आफूमा हुनुपर्ने बुझाइ र आफूले बुझ्‍नुपर्ने सत्यताहरूमार्फत आफ्‍नो प्रवेशलाई सुरु गर्नुपर्छ। यदि तँलाई सधैँ रोग-बिमार जस्ता कुराहरूबारे हैरानी, तनाव, र चिन्ता महसुस हुन्छ र तँ यस्ता नकारात्मक भावनाहरूमा डुब्छस् भने, तैँले अहिले नै सत्यताको खोजी गर्न थाल्‍नुपर्छ र जति सक्दो चाँडो यी समस्याहरूलाई समाधान गर्नुपर्छ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (४)

मानिसहरूलाई आफ्नो मृत्युलाई कसरी लिने भन्‍ने पनि थाहा हुँदैन, न त कसरी अर्थपूर्ण जीवन बिताउने भन्‍ने नै थाहा हुन्छ। त्यसोभए, अब हामी मानिसहरूको मृत्युप्रति गरिने व्यवहारबारे परमेश्‍वरको कस्तो मनोवृत्ति छ, सो हेरौँ। कर्तव्यको जुनै पक्ष निर्वाह गरिँदै गरिएको भए पनि, परमेश्‍वर मानिसहरूले आफ्नो कर्तव्यनिर्वाहको प्रक्रियामा सत्यता बुझून्, सत्यता अभ्यास गरून्, आफ्नो भ्रष्ट स्वभाव त्यागून्, सामान्य व्यक्तिको स्वरूपमा जिऊन्, र सोझै मृत्युतर्फ दौडनुभन्दा मुक्ति प्राप्त गर्ने स्तरसम्म पुगून् भन्‍ने उद्देश्य राख्नुहुन्छ। कतिपय मानिसहरूलाई गम्भीर रोग लाग्छ वा क्यान्सर हुन्छ र सोच्छन्, “यो त परमेश्‍वरले मलाई मर्नू र आफ्नो जीवन त्याग्नू भन्‍नुभएको हो, त्यसैले म यो आज्ञा मान्‍नेछु!” वास्तवमा, परमेश्‍वरले त्यो भन्‍नुभएको हुँदैन, न त उहाँमा त्यस्तो विचार नै आएको हुन्छ। यो त मानिसहरूको गलतफहमी मात्र हो। त्यसोभए, परमेश्‍वरले के भन्‍न खोज्नुभएको हो त? सबै जना निश्‍चित वर्षसम्म जिउँछन्, तर तिनीहरूको जीवनकाल फरकफरक हुन्छ। परमेश्‍वरले निर्धारित गर्नुभएपछि, सबै जना ठिक समय र ठिक ठाउँमा मर्छन्। यो सब परमेश्‍वरले तोक्‍नुभएको हुन्छ। उहाँले कसैलाई केही स्वेच्छाचारिताको कारण मर्न दिनुभन्दा पनि उसको जीवनकाल र उसको मृत्युको स्थान र तरिकाको लागि उहाँले तोक्‍नुभएको समयअनुसार यो कुरा गराउनुहुन्छ। परमेश्‍वर कुनै व्यक्तिको जीवनलाई एकदमै महत्त्वपूर्ण ठान्‍नुहुन्छ अनि उहाँ उसको मृत्यु र उसको भौतिक जीवनको अन्त्यलाई पनि एकदमै महत्त्वपूर्ण ठान्‍नुहुन्छ। यो सब परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ। यस दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरले मानिसहरूलाई अनिवार्य रूपमा कर्तव्य निर्वाह गर्न वा परमेश्‍वरलाई पछ्याउन लगाउनुभए पनि नभए पनि, उहाँ मानिसहरूलाई सोझै मृत्युतर्फ दौडन लगाउनुहुन्‍न। यसको अर्थ के हो? यसको अर्थ हो, परमेश्‍वरले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्‍वरमा अर्पित हुनको लागि वा उहाँको आज्ञाको खातिर कुनै पनि समय आफ्नो जीवन दिन तयार हुन लगाउनुहुन्‍न। तैँले त्यस्तो तयारी गर्नुपर्दैन, तैँले त्यस्तो मनस्थिति राख्नुपर्दैन, र तैँले अवश्यै त्यसरी योजना बनाउनु वा सोच्नुपर्दैन, किनभने परमेश्‍वरलाई तेरो जीवन आवश्यक पर्दैन। म किन त्यसो भन्छु? स्पष्टै छ, तेरो जीवन परमेश्‍वरको हो, यो दिने उहाँ नै हुनुहुन्छ, त्यसैले उहाँ केको लागि यो फिर्ता चाहनुहुन्छ र? के तेरो जीवन मूल्यवान् हो? परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, यो मूल्यवान् हो, होइन भन्‍ने मुद्दा होइन, बरु तैँले उहाँको व्यवस्थापन योजनामा कस्तो भूमिका खेल्छस् भन्‍ने कुरा मात्र हो। तेरो जीवनको सन्दर्भमा भन्‍नुपर्दा, यदि परमेश्‍वरले यो फिर्ता लिन चाहनुभएको भए, यो कुनै पनि समय, कुनै पनि ठाउँ र कुनै पनि क्षण लिन सक्नुहुन्थ्यो। तसर्थ, व्यक्तिको जीवन उसको लागि महत्त्वपूर्ण हुन्छ, अनि उसको कर्तव्य, दायित्व र जिम्मेवारी अनि परमेश्‍वरको आज्ञाको लागि पनि महत्त्वपूर्ण हुन्छ। यो अवश्यै परमेश्‍वरको समग्र व्यवस्थापन योजनामा उसको भूमिकाको लागि पनि महत्त्वपूर्ण छ। यो महत्त्वपूर्ण भए पनि, परमेश्‍वरलाई तेरो जीवन फिर्ता लिनु आवश्यक छैन। किन? तेरो जीवन फिर्ता लिँदा, तँ मृतक बन्छस्, र थप कुनै कामको हुँदैनस्। तँ जीवित छँदा र परमेश्‍वरले शासन गर्नुहुने मानवजातिमाझ जिउँदा मात्र, तैँले यो जीवनमा खेल्नुपर्ने भूमिका खेल्न सक्छस् र तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अनि तैँले यो जीवनमा निर्वाह गर्नुपर्ने भनी परमेश्‍वरले तोक्‍नुभएको तेरो कर्तव्य पूरा गर्न सक्छस्। तैँले यो स्वरूपमा जिउँदा मात्र तेरो जीवन मूल्यवान् बन्‍न सक्छ र तैँले यसको मूल्य थाहा पाउँछस्। त्यसैले, “परमेश्‍वरको खातिर मर्नु” वा “परमेश्‍वरको कामको खातिर ज्यान दिनु” भन्‍नेजस्ता अभिव्यक्तिहरू त्यतिकै मुखबाट ननिकाल्, अनि ती बारम्बार भन्ने, वा तेरो मन वा हृदयभित्र राख्‍ने नगर्; यो अनावश्यक कुरा हो। जब कुनै व्यक्ति निरन्तर परमेश्‍वरको खातिर मर्न र आफ्नो कर्तव्यको लागि जीवन दिन चाहन्छ, यो सबैभन्दा तिरस्कारपूर्ण, मूल्यहीन र घृणित कुरा हुन्छ। किन? यदि तेरो जीवन समाप्त भयो, र तँ यो देहगत स्वरूपमा जिउन छोडिस् भने, तैँले कसरी सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य पूरा गर्न सक्छस् र? यदि सबै जना मरे भने, परमेश्‍वरले आफ्नो कामद्वारा मुक्ति दिनको लागि को बाँकी रहनेछ? यदि मुक्ति चाहिने मानवजाति नै रहेनन् भने, परमेश्‍वरको व्यवस्थापन योजना कसरी पूरा होला? के मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्य अझै विद्यमान रहला त? के त्यो अझै जारी रहन सक्ला त? यसलाई यी पक्षहरूबाट हेर्दा, के मानिसले आफ्नो शरीरको राम्रो ख्याल गर्नु र स्वस्थ जीवन बिताउनु महत्त्वपूर्ण होइन र? के यो सार्थक कुरो होइन र? निश्‍चय नै यो सबैभन्दा सार्थक कुरो हो, र मानिसले यो काम गर्नुपर्छ। त्यतिकै “यदि नारम्रोमाथि झन् नराम्रो हुन्थ्यो भने, म परमेश्‍वरको निम्ति मरिदिन्थेँ” भनेर भन्‍ने र मर्नुलाई लापरवाहीसँग हल्का लिने, आफ्नो जीवन त्याग्‍ने र देहलाई कष्ट दिने ती मूर्ख मानिसहरूको सन्दर्भमा भन्‍नुपर्दा, यिनीहरू कस्ता मानिस हुन्? के तिनीहरू अटेरी मानिस हुन्? (हुन्।) यिनीहरू सबैभन्दा अटेरी मानिस हुन्, र यिनीहरूलाई घृणा र तिरस्कार गर्नुपर्छ। जब कसैले आफू परमेश्‍वरको लागि मर्छु भनेर त्यतिकै भन्‍न सक्छ, तब यो पनि भन्‍न सकिन्छ कि उसले त्यतिकै आफ्नो जीवन अन्त्य गर्ने, आफ्नो कर्तव्य छोड्ने, परमेश्‍वरद्वारा सुम्पिइएको कार्यभार त्याग्‍ने अनि आफूमा परमेश्‍वरको वचन पूरा हुनबाट रोक्नेबारे पनि सोच्ने गर्छ। के यो कामकुरा गर्ने मूर्ख तरिका होइन र? तैँले त्यतिकै र सजिलै आफ्नो जीवन त्याग्‍न सक्छस् होला अनि यो जीवन परमेश्‍वरमा अर्पित गर्न चाहन्छु भनेर भन्छस् होला, तर के तैँले तेरो जीवन अर्पित गर्नुपर्ने परमेश्‍वरलाई आवश्यकता छ र? तेरो जीवन परमश्‍वरकै हो र उहाँले त्यो कुनै पनि समय फिर्ता लिन सक्नुहुन्छ, त्यसैले उहाँमा त्यो अर्पित गर्नुको के काम? यदि तैँले त्यो अर्पित गरिनस् तर परमेश्‍वरलाई त्यो आवश्यक पऱ्यो भने, के उहाँले तँलाई मिठो बोलीले त्यो माग्‍नुहुनेछ र? के उहाँले यसबारे तँसँग कुरा गर्नुपर्नेछ र? अहँ, उहाँले त्यसो गर्नुपर्नेछैन। तर परमेश्‍वरले तेरो जीवन केको लागि चाहनुहुनेछ? परमेश्‍वरले तेरो जीवन फिर्ता लिनुभएपछि, तैँले कर्तव्य निर्वाह गर्न सक्नेछैनस्, र परमेश्‍वरको व्यवस्थापन योजनाबाट एक व्यक्ति हराउनेछ। के उहाँ त्यसमा खुसी र सन्तुष्ट हुनुहुनेछ? वास्तवमा को खुसी र सन्तुष्ट हुनेछ? (शैतान।) यदि तँ आफ्नो जीवन त्याग्छस् भने, तैँले त्यसबाट के प्राप्त गर्न सक्छस्? अनि परमेश्‍वरले तेरो जीवन फिर्ता लिएर के प्राप्त गर्न सक्नुहुन्छ? यदि तैँले मुक्ति पाउने अवसर गुमाइस् भने, त्यो परमेश्‍वरको लागि नाफा हुन्छ कि नोक्सान? (नोक्सान।) परमेश्‍वरको लागि त्यो नाफा हुँदैन, बरु नोक्सान हुन्छ। परमेश्‍वर तँलाई सृष्टि गरिएको प्राणीको रूपमा सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नको लागि सृष्टि गरिएको प्राणीको जीवन र स्थान ग्रहण गर्न दिँदै सत्यताको वास्तविकतामा प्रवेश गर्न, परमेश्‍वरको आज्ञा मान्‍न, उहाँको इच्छा बुझ्न र उहाँलाई जान्‍न, उहाँको इच्छा पूरा गर्न, मानवजातिलाई मुक्ति दिने उहाँको कार्यपूर्तिमा उहाँसँग सहकार्य गर्न र अन्त्यसम्मै उहाँलाई पछ्याउन दिनुहुन्छ। यो धार्मिकता हो, अनि यो नै तेरो जीवन अस्तित्वको मूल्य र अर्थ हो। यदि तेरो जीवन यसको लागि अस्तित्वमा छ र तँ यसको लागि स्वस्थ जीवन जिउँछस् भने, यो सबैभन्दा अर्थपूर्ण कुरा हो, अनि परमेश्‍वरको सन्दर्भमा त यो साँचो समर्पण र सहकार्य हो—उहाँको लागि सबैभन्दा सन्तुष्टदायी कुरा नै यही हो। परमेश्‍वर देहमा जिउने प्राणीले उहाँको शोधन र न्यायमाझ आफ्नो भ्रष्ट स्वभाव त्यागेको, शैतानले उसमा हालिदिएको अनेकौँ भ्रामक विचारहरू इन्कारेको अनि परमेश्‍वरबाट सत्यता र मापदण्ड स्विकारेको, सृष्टिकर्ताको अख्तियारप्रति पूर्ण समर्पित भएको, सृष्टि गरिएको प्राणीले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गरेको र ऊ सृष्टि गरिएको साँचो प्राणी बन्‍न सकेको चाहनुहुन्छ। परमेश्‍वर यही कुरा हेर्न चाहनुहुन्छ र यही नै मानव जीवन अस्तित्वको मूल्य र अर्थ हो। तसर्थ, कुनै पनि सृष्टि गरिएको प्राणीको लागि मृत्यु अन्तिम गन्तव्य होइन। मानव जीवन अस्तित्वको मूल्य र अर्थ मर्नु होइन, बरु परमेश्‍वरको लागि जिउनु, उहाँको लागि र कर्तव्यको लागि अस्तित्वमा रहनु, सृष्टि गरिएको प्राणीको कर्तव्य र जिम्मेवारी पूरा गर्न, परमेश्‍वरको इच्छा पालन गर्न, र शैतानलाई लज्जित तुल्याउन अस्तित्वमा रहनु हो। यही नै सृष्टि गरिएको प्राणीको अस्तित्वको मूल्य हो र यसको जीवनको अर्थ पनि यही हो।

मानिसहरूप्रतिको परमेश्‍वरको मापदण्डको सन्दर्भमा भन्‍नुपर्दा, परमेश्‍वरले मानिसहरूको जीवन र मृत्युलाई जे-जसरी लिनुहुन्छ, त्यो परम्परागत संस्कृतिको “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्‍ने भनाइमा बताइएको कुराभन्दा बिलकुलै फरक छ। शैतान मानिसहरू मरून् भन्‍ने निरन्तर चाहना गर्छ। यसलाई मानिसहरू जीवित देख्दा नमज्‍जा लाग्छ, र तिनीहरूको जीवन कसरी लिने भनेर सोचिरहन्छ। मानिसहरूले शैतानबाट परम्परागत संस्कृतिका भ्रामक विचारहरू स्वीकार गरेपछि, तिनीहरूले चाहने भनेकै देश र राष्ट्रको लागि वा आफ्नो करियरको लागि, प्रेमको लागि वा आफ्नो परिवारको लागि आफ्नो जीवन बलिदान दिनु हो। तिनीहरू निरन्तर आफ्नो जीवनको अवहेलना गर्छन्, कहीँ पनि र कुनै पनि समय मर्न र जीवन दिन तयार हुन्छन्, तर जीवनलाई परमेश्‍वरद्वारा दिइएको सबैभन्दा मूल्यवान् र कदर गर्नुपर्ने कुरा ठान्दैनन्। तिनीहरू आफ्नो जीवनकालमा र आफूमा परमेश्‍वरले दिनुभएको जीवन छँदा, आफ्ना कर्तव्य र दायित्वहरू पूरा गर्न सक्दैनन्, बरु शैतानको भ्रम र बकबासहरू स्विकार्छन्, मरुन्जेल काममै लागिरहन र सक्दो मेहनत गर्न सधैँ उद्यत रहन्छन्, अनि परमेश्‍वरको लागि कुनै पनि समय मर्न तयार हुन्छन्। वास्तविकता के हो भने, यदि तँ साँच्चै मर्छस् भने, परमेश्‍वरको लागि होइन, शैतानको लागि मर्छस्, र तँलाई परमेश्‍वरले सम्झनुहुनेछैन। किनभने जीवित व्यक्तिले मात्र परमेश्‍वरको महिमा बढाउन र उहाँको गवाही दिन सक्छ, अनि जीवित व्यक्तिले मात्र सृष्टि गरिएको प्राणीको उचित स्थान ग्रहण गर्न र आफ्नो कर्तव्य पूरा गर्न सक्छ र त्यसरी कुनै पछुतो गर्नुपर्ने हुँदैन र उसले शैतानलाई लज्जित पार्न र सृष्टिकर्ताको अचम्मलाग्दा कार्य र सार्वभौमिकताको गवाही दिन सक्छ—यी कुरा जीवित व्यक्तिले मात्र गर्न सक्छ। यदि तेरो जीवनधरि छैन भने, यो सब कुरा अस्तित्वमा रहँदैन। के त्यस्तै होइन र? (हो।) तसर्थ, शैतानले नैतिक आचरणसम्बन्धी “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्‍ने भनाइलाई अघि सारेर निस्सन्देह नै मानव जीवनलाई खेलाउँदै र कुल्चीमिल्ची पार्दै छ। शैतानले मानव जीवनलाई आदर गर्दैन, बरु खेलौनाझै खेलाउँछ, र मानिसहरूलाई “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्‍नेजस्ता विचारहरू स्विकार्न लगाउँछ। अनि, तिनीहरू यस्ता विचारहरूअनुसार जिउँछन्, र जीवनको कदर गर्ने वा आफ्नो जीवनलाई मूल्यवान् ठान्‍ने गर्दैनन्, त्यसले गर्दा तिनीहरू जीवन अर्थात् परमेश्‍वरले मानिसहरूलाई दिनुभएका कुराहरूमध्येको सबैभन्दा मूल्यवान् कुरा त्यतिकै त्यागिदिन्छन्। यो छली र अनैतिक कुरा हो। परमेश्‍वरले तेरो लागि निर्धारित गर्नुभएको अन्तिम म्याद नपुगुञ्जेल, तैँले जहिलेसुकै भए पनि आफ्नो जीवन त्याग्छु भनेर हल्कासित भन्‍नु हुँदैन। तँमा सास रहुञ्जेल, लत्तो नछोड्, आफ्नो कर्तव्य नत्याग् अनि परमेश्‍वरले तँलाई जिम्मा दिनुभएको कुरा र कार्यभार नत्याग्। किनभने कुनै पनि सृष्टि गरिएको प्राणीको जीवन सृष्टिकर्ताको लागि मात्र, अनि उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्य र बन्दोबस्तको लागि मात्र अस्तित्वमा रहन्छ, र साथै सृष्टिकर्ताको गवाही र मानवजातिलाई मुक्ति दिने उहाँको कार्यको लागि मात्र यो जीवन अस्तित्वमा रहँदै यसको मोल साकार हुन्छ। तैँले देख्न सक्छस् कि मानव जीवनलाई हेर्ने परमेश्‍वरको दृष्टिकोण शैतानको दृष्टिकोणभन्दा बिलकुलै फरक छ। त्यसैले, कसले साँच्चै मानव जीवनको कदर गर्छ? (परमेश्‍वरले।) परमेश्‍वरले मात्र कदर गर्नुहुन्छ, जबकि मानिसहरू आफैलाई समेत आफ्नो जीवनको कदर गर्न आउँदैन। परमेश्‍वर मात्र मानव जीवनको कदर गर्नुहुन्छ। मानवजाति प्यारा वा प्रेम पाउन लायक नभए भए पनि, र तिनीहरू फोहोरीपन, विद्रोहीपन र शैतानले हालिदिएका अनेकथरी निरर्थक विचार र दृष्टिकोणले भरिएका भए पनि, र तिनीहरूले शैतानलाई पुज्ने र पछ्याउने, अनि परमेश्‍वरको विरोधसमेत गर्ने भए पनि, मानवजातिलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो र उहाँले नै तिनीहरूलाई सास र जीवन दिनुहुन्छ, त्यसैले उहाँले मात्र मानव जीवनको कदर गर्नहुन्छ, उहाँले मात्र मानिसहरूलाई प्रेम गर्नुहुन्छ र उहाँले मात्र मानवजातिलाई निरन्तर हेरचाह र कदर गर्नुहुन्छ। परमेश्‍वरले मानवजातिलाई कदर गर्नुहुन्छ—तर तिनीहरूको भौतिक शरीरलाई होइन, तिनीहरूको जीवनलाई कदर गर्नुहुन्छ, किनभने परमेश्‍वरद्वारा जीवन दिइएको मानवजाति मात्र अन्ततः साँच्चै उहाँको उपासना गर्ने र गवाही दिने सृष्टि गरिएको प्राणी बन्‍न सक्छन्। परमेश्‍वरसँग यी सृष्टि गरिएका प्राणीहरू अर्थात् मानिसहरूको लागि काम, आज्ञा र अपेक्षाहरू छन्। तसर्थ, परमेश्‍वर तिनीहरूको जीवनलाई प्रिय र मूल्यवान् ठान्‍नुहुन्छ। यही नै सत्य हो। कुरो बुझिस्? (बुझेँ।) त्यसैले, मानिसहरूले सृष्टिकर्ता परमेश्‍वरको इच्छा बुझेपछि, तिनीहरूले आफ्नो भौतिक शरीरको जीवन अनि यो शरीर जीवित रहने नियम र यसका आवश्यकताहरूप्रति कसरी व्यवहार गर्ने, के त्यसको लागि सिद्धान्तहरू हुनु पर्दैन र? यी सिद्धान्तहरू केमा आधारित हुन्छन्? ती परमेश्‍वरको वचनमा आधारित हुन्छन्। ती अभ्यास गर्ने सिद्धान्तहरू केके हुन्? निष्क्रिय हिसाबमा, मानिसहरूले शैतानद्वारा तिनीहरूमा घुसाइएका अनेकथरी भ्रामक दृष्टिकोण त्याग्‍नुपर्छ, र शैतानको दृष्टिकोणका भ्रमहरू खुलासा र पहिचान गर्नुपर्छ—जस्तै “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्‍ने भनाइ—जसले मानिसहरूलाई भावशून्य बनाउँछ, हानि गर्छ र सीमित पार्छ, अनि तिनीहरूले यी दृष्टिकोणहरू त्याग्‍नुपर्छ; त्यसबाहेक, सक्रिय हिसाबमा चाहिँ, तिनीहरूले मानवजातिप्रति सृष्टिकर्ता परमेश्‍वरको मापदण्ड के हो भनेर प्रस्टसित बुझ्‍नुपर्छ र परमेश्‍वरको वचनलाई आफूले गर्ने हरेक कुराको जग बनाउनुपर्छ। यस तरिकाले, मानिसहरूले कुनै विचलनविना र ठिकसँग अभ्यास गर्न र साँच्चै सत्यता पछ्याउन सक्नेछन्।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१२)

यदि कुनै व्यक्तिले मूल्यवान्‌ र अर्थपूर्ण जीवन जिउन चाहन्छ भने, उसले सत्यता पछ्याउनु अनिवार्य हुन्छ। पहिलो र सबैभन्दा मुख्य कुरा त, तिनीहरूमा जीवनसम्‍बन्धी सही दृष्टिकोण हुनुपर्छ, साथै जीवन र जीवनको बाटोमा सामना हुने विभिन्‍न ठूलासाना मामिलाहरूबारे पनि सही सोच र दृष्टिकोणहरू हुनुपर्छ। तिनीहरूले जीवनको सिलसिलामा वा दैनिक जीवनमा सामना गर्ने विभिन्‍न कुराहरूलाई चरम वा उग्र सोच र दृष्टिकोणले हेर्नुको सट्टा, सही दृष्टिकोण र सही अडानसाथ यी सबै मामलाहरूलाई हेर्नुपर्छ। अवश्य नै, तिनीहरूले यी कुराहरूलाई सांसारिक दृष्टिकोणले पनि हेर्नु हुँदैन, बरु तिनीहरूले त्यस्ता नकारात्मक र गलत सोच र दृष्टिकोणहरू त्याग्‍नुपर्छ। … एउटा उदाहरण दिएर भन्दा, मानौँ कुनै व्यक्तिलाई क्यान्सर लागेको छ र उसलाई मर्छु भन्‍ने डर छ। उसले मृत्यु इन्कार्ने प्रयास गर्छ र आफूलाई मृत्युबाट रक्षा होस् र थप केही वर्ष भए पनि आफ्नो आयु बढोस् भनेर उसले सुरक्षाको लागि निरन्तर परमेश्‍वरलाई प्रार्थना गर्छ। ऊ थप केही वर्ष बाँचे पनि, र उसले आफ्‍नो उद्देश्य प्राप्त गरेर अनि मृत्युबाट जोगिएर पाउने खुसी अनुभव गरे पनि, उसले हैरानी, चिन्ता, र बेचैनीजस्ता नकारात्मक संवेगहरू बोकेर हिँड्छ। उसलाई आफू भाग्यमानी भएको महसुस हुन्छ, र ऊ परमेश्‍वर अत्यन्तै असल हुनुहुन्छ, उहाँ साँच्‍चै नै तेजस्वी हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ। उसले आफ्‍नै प्रयास, बारम्‍बारको बिन्ती, स्वप्रेम, र स्वहेरचाह गरेर मृत्युबाट जोगिन्छ, र अन्त्यमा, आफूले चाहेजस्तै गरी ऊ बाँची नै रहन्छ। परमेश्‍वरको सुरक्षा, अनुग्रह, प्रेम, र कृपाको लागि उसले कृतज्ञता व्यक्त गर्छ। हरेक दिन उसले परमेश्‍वरलाई धन्यवाद दिन्छ र प्रशंसा चढाउन उहाँको अघि आउँछ। भजनहरू गाउँदा र परमेश्‍वरका वचनहरू मनन गर्दा ऊ प्रायजसो रुने गर्छ, र परमेश्‍वर कति अचम्मको हुनुहुन्छ भनेर सोच्‍ने गर्छ: “साँच्‍चै जीवन र मृत्यु परमेश्‍वरकै हातमा छ; उहाँले मलाई बाँच्‍न दिनुभयो।” हरेक दिन आफ्‍नो कर्तव्य पूरा गर्दा, उसले प्रायजसो कसरी कष्टलाई पहिलो प्राथमिकता दिएर सुखलाई अन्तिम स्थानमा राख्‍ने, र सबै कुरामा कसरी अरूभन्दा उत्तम हुने भनेर विचार गर्छ, ताकि उसले आफ्‍नो जीवन बचाउन र मृत्युबाट जोगिन सकोस्—ऊ थप केही वर्ष बाँच्छ, र उसलाई निकै सन्तुष्टि र खुसी महसुस हुन्छ। तर एक दिन, उसको रोग बिग्रन्छ, र डाक्टरले उसलाई मृत्युको लागि तयार हुनू भन्दै एउटा अन्तिम चेतावनी दिन्छ। अब उसले मृत्यु सामना गरिरहेको हुन्छ; ऊ साँच्‍चै मृत्युको मुखमै पुगेको हुन्छ। उसले कस्तो प्रतिक्रिया दिन्छ? उसले सबैभन्दा बढी डर मानेको कुरा उसको जीवनमा आइसकेको हुन्छ, उसको सबैभन्दा ठूलो चिन्ता वास्तविकतामा परिणत भइसकेको हुन्छ। उसले देख्‍न र अनुभव गर्न इच्छा नगरेको दिन आइपुगिसकेको हुन्छ। तुरुन्तै उसको मन खिन्‍न हुन्छ र उसको मुड सत्यानाश हुन्छ। उसलाई अब आफ्‍नो कर्तव्य पूरा गर्न मन हुँदैन, र परमेश्‍वरलाई प्रार्थना गर्नको लागि ऊसँग कुनै शब्द बाँकी हुँदैन। ऊ परमेश्‍वरको प्रशंसा गर्न वा उहाँले कुनै वचन बोल्नुभएको वा कुनै सत्यता प्रदान गर्नुभएको सुन्‍न चाहँदैन। उसले परमेश्‍वर प्रेम, धार्मिकता, कृपा, र दया हुनुहुन्छ भनेर विश्‍वास गर्न छोड्छ। यसको साथै, उसलाई यो कुराको पछुतो पनि हुन्छ, “यतिका वर्षदेखि, मैले मिठो खान र खाली समयमा बाहिर गएर रमाइलो गर्न बिर्सेँ। अहिले मसँग यी कुराहरू गर्ने कुनै मौका नै छैन।” उसको मन गुनासो र विलापले भरिएको हुन्छ, र उसको हृदय पीडा, साथै गनगन, परमेश्‍वरप्रतिको असन्तुष्टि, र इन्कारले भरिएको हुन्छ। त्यसपछि पछुतो लिएर उसले यो संसार छोडेर जान्छ। ऊ जानुभन्दा पहिले, के उसको हृदयमा परमेश्‍वर हुन्छ? के उसले अझै पनि परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छ? (उसले विश्‍वास गर्न छोड्छ।) यो परिणाम कसरी आयो? के यो सुरुदेखि नै जीवन र मृत्युप्रतिको उसको गलत दृष्टिकोणबाट सुरु भएको थिएन र? (हो।) सुरुदेखि नै उसमा गलत विचार र दृष्टिकोण रहेको मात्रै होइन, अझै गम्‍भीर कुरा त, त्यसपछि उसले आफ्‍नो खोजीमा आफ्‍नै विचार र दृष्टिकोण पछ्यायो र त्यसैलाई अनुसरण गर्‍यो। उसले यो कुरा कहिल्यै त्यागेन, र पछाडि नहेरी ऊ गलत मार्गमा दौडी नै रह्यो। परिणामस्वरूप, अन्त्यमा उसले परमेश्‍वरमाथिको विश्‍वास गुमायो—यसरी परमेश्‍वरमाथिको उसको विश्‍वासको यात्रा टुङ्गियो, र यसरी उसको जीवन समाप्त भयो। के उसले सत्यता प्राप्त गर्‍यो? के परमेश्‍वरले उसलाई प्राप्त गर्नुभयो? (गर्नुभएन।) जब अन्त्यमा उसको मृत्यु भयो, के मृत्युप्रतिको उसको दृष्टिकोण र मनोवृत्ति परिवर्तन भयो? (भएन।) के ऊ आराम, आनन्द, र शान्तिसाथ मर्‍यो, कि पछुतो, अनिच्छा, र तिक्ततासाथ मर्‍यो? (ऊ अनिच्छा र तिक्ततासाथ मर्‍यो।) उसले केही पनि प्राप्त गरेन। उसले सत्यता प्राप्त गरेन, र परमेश्‍वरले पनि उसलाई प्राप्त गर्नुभएन। त्यसोभए, के यस्तो व्यक्तिले मुक्ति पाएको छ भनेर तिमीहरू भन्छौ त? (भन्दैनौँ।) उसले मुक्ति पाएको छैन। उसको मृत्युभन्दा पहिले, के उसले धेरै दौडधूप र मेहनत गरेन र? (हो, गर्‍यो।) अरूले जस्तै, उसले पनि परमेश्‍वरमा विश्‍वास गर्थ्यो र आफ्‍नो कर्तव्य पूरा गर्थ्यो, र बाहिरबाट हेर्दा, अरू कोही र उसमा कुनै भिन्‍नता देखिँदैनथ्यो। जब उसले रोग र मृत्यु सामना गर्‍यो, तब पनि उसले परमेश्‍वरलाई प्रार्थना गरिरह्यो र अझै आफ्‍नो कर्तव्य त्यागेन। उसले पहिले जत्ति नै काम गरिरह्यो। तैपनि, यसमा मानिसहरूले बुझ्‍नु र जान्‍नुपर्ने एउटा कुरा छ: यो व्यक्तिले लिएका सोच र दृष्टिकोणहरू निरन्तर नै नकारात्मक र गलत थिए। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा उसले भोगेको कष्ट वा चुकाएको मूल्य जति नै भए पनि, उसले आफ्‍नो खोजीमा यी गलत सोच र दृष्टिकोणहरू बोकिरह्यो। ऊ निरन्तर यी कुराहरूको नियन्त्रणमा रहिरह्यो र उसले आफ्‍नो कर्तव्यमा नकारात्मक संवेगहरूलाई ल्याइरह्यो, अनि आफू बाँच्‍न सकूँ, र आफ्‍नो उद्देश्य हासिल होस् भनेर उसले आफ्‍नो कर्तव्य पूर्तिलाई परमेश्‍वरको अघि चढाउने प्रयास गरिरह्यो। उसको खोजीको उद्देश्य सत्यता बुझ्‍नु वा प्राप्त गर्नु, वा परमेश्‍वरका सम्पूर्ण योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु थिएन। उसको खोजीको उद्देश्य यसको ठीक विपरीत थियो। ऊ आफ्‍नै इच्छा र मापदण्डहरूअनुसार जिउन, र आफूले पछ्याएको कुरा पाउन चाहन्थ्यो। ऊ आफ्‍नो भाग्य र आफ्‍नो जीवन र मृत्युसमेत आफै बन्दोबस्त र योजनाबद्ध गर्न चाहन्थ्यो। त्यसकारण, त्यो बाटोको अन्त्यमा, उसको परिणाम यो भयो कि उसले केही पनि प्राप्त गरेन। उसले सत्यता प्राप्त गरेन, बरु अन्त्यमा परमेश्‍वरलाई इन्कार गर्‍यो, अनि उहाँमाथिको विश्‍वास गुमायो। मृत्यु नजिक आइरहेको बेला पनि, उसले मानिसहरू कसरी जिउनुपर्छ र सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई कसरी लिनुपर्छ भन्‍ने कुरा बुझेन। त्यो उसको सबैभन्दा दयनीय र दुःखलाग्दो कुरा थियो। मृत्युको मुखमा पुग्दा पनि, उसले व्यक्तिको सम्पूर्ण जीवनभरि, सबै कुरा सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तमा हुन्छ भन्‍ने कुरा बुझ्‍न सकेन। यदि सृष्टिकर्ताले तँ बाँचेको चाहनुहुन्छ भने, तँ घातक रोगको सिकार भए पनि, तँ मर्दैनस्। यदि सृष्टिकर्ताले तँ मरेको चाहनुहुन्छ भने, तँ जवान, स्वस्थ, र दह्रिलो भए पनि, तेरो समय आउँछ, र तँ मर्नु नै पर्छ। सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा हुन्छ, यो परमेश्‍वरको अख्तियार हो, र कोही पनि योभन्दा माथि उठ्न सक्दैन। उसले यस्तो सरल तथ्य पनि बुझ्‍न सकेन—के यो दयनीय कुरा होइन र? (हो।) उसले परमेश्‍वरमा विश्‍वास गरे पनि, भेलामा सहभागिता जनाए पनि, प्रवचन सुने पनि, र आफ्‍नो कर्तव्य पूरा गरे पनि, परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि, उसले जीवन र मृत्युलगायत मानव नियति मानव इच्छाको अधीनमा होइन परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरा स्विकार्न बारम्बार इन्कार गरिरह्यो। आफूलाई इच्छा लाग्यो भन्दैमा कोही पनि मरिहाल्‍न सक्दैन, र कसैले बाँच्‍न चाहन्छ र मृत्युको डर मान्छ भन्दैमा ऊ बाँच्छ नै भन्‍ने हुँदैन। उसले यस्तो सरल तथ्य पनि बुझ्‍न सकेन, अनि आउन लागेको मृत्यु सामना गर्दा पनि उसले यो कुरा देख्‍न सकेन, र व्यक्तिको जीवन र मृत्यु उसको हातमा हुँदैन, बरु सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको कुरामा निर्भर हुन्छ भन्‍ने कुरा जानेन। के यो दुःखको कुरा होइन र? (हो।)

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (६)

यदि तैँले आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्वीकार गर्छस् भने, तैँले सुसमाचार सुनाउने आफ्नो जिम्‍मेवारी पूरा गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नका लागि कष्ट भोग्‍न र मूल्य चुकाउन आफूलाई तयार गर्नुपर्छ। यस्तो मूल्य केही शारीरिक रोगबिमार वा कठिनाइको सामना वा ठूलो रातो अजिङ्गरको सतावट भोगाइ वा सांसारिक मानिसहरूको गलतबुझाइको कष्ट, साथै सुसमाचार सुनाउँदा सामना हुने सङ्कष्टहरू हुन सक्छन्: कसैले हाम्रो पोल खोलिदिन सक्छ, कुटपिट र हप्की, अनि निन्दा सहनुपर्ने हुन सक्छ—भीडको कुटाइ खाएर ज्यानसमेत जान सक्छ। सुसमाचार प्रचार गर्ने क्रममा, तँ परमेश्‍वरको काम पूरा हुनुभन्दा पहिले नै मर्ने, र परमेश्‍वरको महिमाको दिन देख्‍नको लागि तँ बाँच्‍न नपाउने सम्‍भावना पनि हुन्छ। तिमीहरू यसको लागि तयार रहनुपर्छ। यो तिमीहरूलाई तर्साउन भनिएको होइन; यो तथ्य हो। अब मैले यो कुरा स्पष्ट पारिसकेको छु, र तिमीहरूले बुझिसकेका छौ, त्यसैले यदि तिमीहरूमा अझै पनि यो आकाङ्क्षा छ र यो परिवर्तन हुनेछैन भन्‍नेमा पक्‍का छौ, अनि मृत्युसम्‍मै तिमीहरू बफादार रहन्छौ भने, तिमीहरूमा निश्‍चित कद छ भन्‍ने कुरा प्रमाणित हुन्छ। धार्मिक स्वतन्त्रता र मानव अधिकार भएका यी वैदेशिक राष्ट्रहरूमा सुसमाचार सुनाउनु कुनै खतरा हुनेछैन र तैँले गर्ने सबथोक सहज रूपमा चल्नेछ, त्यो सबैमा परमेश्वरको आशिष् हुनेछ र उहाँको महान् शक्ति र अख्तियारको साथ रहनेछ भन्ने नसोच्। यो त मानव धारणा र कल्पना हो। फरिसीहरूले पनि परमेश्वरमा विश्वास गर्थे, तर तिनीहरूले देहधारी परमेश्वरलाई लगेर क्रूसमा टाँगे। त्यसोभए अहिलेको धार्मिक संसारले देहधारी परमेश्वरलाई कस्ता खराब कामहरू गर्न सक्छ? तिनीहरूले खराब कामहरू एकदमै धेरै गरेका छन्—परमेश्वरको आलोचना गर्ने, उहाँलाई दोष लगाउने, उहाँको निन्दा गर्ने—तिनीहरूले गर्न नसक्ने खराब कुरा नै छैन। प्रभु येशूलाई लगेर क्रूसमा टाँग्नेहरू विश्वासी नै थिए भनेर नबिर्स। तिनीहरूलाई नै यसो गर्ने अवसर मिल्यो। अविश्वासीहरूलाई ती कुराबारे कुनै चासो थिएन। प्रभु येशूलाई लगेर क्रूसमा टाँगेर मार्न सरकारसँग मिलेमतो गर्ने यिनै विश्वासीहरू थिए। यसबाहेक, प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधको निम्ति नियमअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई दोष दिइयो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका आचरणलाई परमेश्वरले परिभाषित गरेको विषयमा कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानिसका धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्‍वरको काम फैलाउनका लागि त्यति ठूलो मूल्य चुकाए भने, तर तिनीहरूलाई अन्त्यमा सैतानले मारिदियो। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्‍वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्‍वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूको स्थितिमा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, “यी मानिसहरूले परमेश्‍वरको सुसमाचार फैलाउने आफ्नो कर्तव्य गरे, र तिनीहरूलाई असल मानिसहरू मानिनुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?” वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको नतिजा एकै प्रकारको थियो भन्ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको साधन चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्‍वरले ती जीवनका, ती सृष्टि गरिएका प्राणीहरूका निम्ति परिभाषित गर्नुभएको अन्तिम नतिजा त्यो थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्‍वरका कामहरूको गवाही दिन सही रूपमा तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्‍वरका कामहरूको गवाही दिनका लागि, परमेश्‍वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्‍वरका कामहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले संसारलाई घोषणा गर्न, प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले सारा मानवजातिका निम्ति गर्नुभएको छुटकाराको कामले मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रतिको परमेश्‍वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति—जीवन—अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्‍वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्‍ने हो? तैँले त्यसै गर्नुपर्छ भन्ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्‍ने कुरा बुझ्‍नैपर्छ। आजकल मानिसहरूको मनमा डर र चिन्ता छ, तर ती भावनाहरूको प्रयोजन के नै हुन्छ र? यदि परमेश्‍वर तैँले यस्तो गर् भन्‍ने चाहनुहुन्‍न भने, यसबारे चिन्ता गरेर के फाइदा? यदि परमेश्‍वर तैँले यो गर् भन्‍ने चाहनुहुन्छ भने, यो जिम्मेवारी तैँले पन्छाउन मिल्दैन न त इन्कार नै गर्न मिल्छ। तैँले सक्रिय भई सहकार्य गर्नुपर्छ र चिन्ता नलिई यसलाई स्विकार्नुपर्छ। व्यक्तिको मृत्यु जसरी भए पनि, ऊ शैतानसामु, र सैतानको हातमा मर्नु हुँदैन। यदि व्यक्ति मर्दै छ भने, ऊ परमेश्‍वरको हातमा मर्नुपर्छ। मानिसहरू परमेश्‍वरबाट आए, र परमेश्‍वरकहाँ नै फर्कन्छन्—सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ र मनोवृत्ति यस्तै हो। व्यक्तिले सुसमाचार सुनाउँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा बुझ्नुपर्ने अन्तिम सत्य यही हो—देहधारी परमेश्‍वरले आफ्नो काम गरिरहनुभएको र मानवजातिलाई मुक्ति दिइरहनुभएको सम्बन्धमा सुसमाचार सुनाउन र गवाही दिन व्यक्तिले आफ्नो जीवनको मोल चुकाउनुपर्छ। यदि तँमा यो आकाङ्क्षा छ, यदि तँ यसरी गवाही दिन सक्छस् भने, त्यो एकदमै राम्रो हो। यदि तँमा अझै यस्तो आकाङ्क्षा छैन भने पनि तैँले कम्तीमा आफूसामु भएको जिम्मेवारी र कर्तव्य उचित रूपले पूरा गर्नुपर्छ अनि बाँकी कुरा परमेश्‍वरको जिम्‍मामा छोड्नुपर्छ। त्यसपछि सायद महिना र वर्षहरू बित्दै जाँदा, र तेरो अनुभव र उमेर बढ्दै जाँदा अनि सत्यताबारे तेरो बुझाइ गहिरिँदै जाँदा, तँलाई जीवनको अन्तिम क्षणसम्मै परमेश्‍वरको सुसमाचार कार्यमा आफ्नो जीवन अर्पित गर्नु नै जिम्मेवारी र कर्तव्य रहेछ भन्‍ने महसुस हुनेछ।

अहिले यी विषयहरूबारे कुरा गर्न सुरु गर्ने उचित समय हो किनकि राज्यको सुसमाचार प्रचार सुरु भइसकेको छ। पहिले, व्यवस्थाको युग र अनुग्रहको युगमा, केही प्राचीन अगमवक्ता र सन्तहरूले सुसमाचार प्रचारमा आफ्नो जीवन दिए, त्यसैले आखिरी दिनहरूमा जन्मेकाहरूले पनि यो उद्देश्यका लागि आफ्नो जीवन दिन सक्छन्। यो कुनै नयाँ वा अचानक हुने कुरा होइन, झन् यो अत्यधिक माग हुनु त परको कुरा हो। यो त सृष्टि गरिएका प्राणीहरूले निभाउनुपर्ने र पूरा गर्नुपर्ने कर्तव्य हो। यो सत्यता हो; यो सर्वोच्च सत्यता हो। यदि तँ परमेश्वरका निम्ति के गर्न चाहन्छस्, कसरी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस्, र परमेश्वरका निम्ति कति समर्पण गर्न चाहन्छस् भन्नेबारे नारा मात्र लगाउँछस् भने, त्यो बेकार हो। जब तँलाई वास्तविकता आइपर्छ, जब तँलाई जीवन बलिदान दिन भनिन्छ, तब के तँ अन्तिम क्षणमा आएर गुनासो गर्नेछस्, के तँ इच्छुक हुनेछस्, के तँ साँचो रूपमा समर्पित हुनेछस्? यो तेरो कदको परीक्षण हो। यदि तँबाट तेरो जीवन खोसिनै लागेको बेलामा, तँ ढुक्क हुन्छस्, इच्छुक हुन्छस्, र गुनासो नगरी समर्पित हुन्छस्, यदि तँलाई आफूले आफ्ना जिम्मेवारी, दायित्व र कर्तव्य अन्त्यसम्मै पूरा गरेको छु भन्ने लाग्छ, यदि तेरो हृदय खुसी र शान्त छ—यदि तँ यसरी जान्छस् भने, परमेश्वरको नजरमा, तँ बिलकुलै गएको हुँदैनस्। बरु, तँ अर्को क्षेत्रमा र अर्को स्वरूपमा जिइरहेको हुन्छस्। तैँले तैँले केही गरेको हुँदैनस् तर आफ्नो जिउनेशैली बदल्छस्। तँ कुनै हालतमा साँच्चै मरेको हुँदैनस्। मानिसहरूलाई यस्तो लाग्छ, “यो व्यक्ति यस्तो कलिलो उमेरमै मऱ्यो, कति दुःखलाग्दो!” तर परमेश्वरको नजरमा, तँ मरेको वा दु:ख भोग्न गएको हुँदैनस्। बरु, तँ आशिषहरू पाउन र परमेश्वरको नजिक गएको हुन्छस्। किनभने, तैँले सृष्टि गरिएको प्राणीको नाताले, परमेश्वरको नजरमा पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गरिसकेको छस्, अब तैँले आफ्नो कर्तव्य पूरा गरेको छस्, परमेश्वर उप्रान्त तैँले सृष्टि गरिएको प्राणीको दर्जामा रहेर यो कर्तव्य निर्वाह गरेको चाहनुहुन्न। परमेश्वरको नजरमा, तँ “गएको” लाई “गएको” भनिँदैन, तँलाई “लगिएको,” “ल्याइएको” वा “डोऱ्याइएको” हो, र यो राम्रो कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्

मानव धारणाअनुसार, असललाई इनाम दिइन्छ र दुष्टलाई सजाय, असल मानिसहरूलाई असल प्रतिफल प्राप्त हुन्छ र दुष्टहरूलाई दुष्ट प्रतिफल, अनि कुनै दुष्टता नगर्नेहरू सबैलाई असल प्रतिफल दिइनुपर्छ र तिनीहरूले आशिष् पाउनुपर्छ। के देखिन्छ भने, मानिसहरू दुष्ट नहुने सबै अवस्थामा, तिनीहरूलाई असल प्रतिफल दिइनुपर्छ; परमेश्‍वरको धार्मिकता भनेको यही मात्र हो। के यो मानिसहरूको धारणा होइन र? तर तिनीहरूलाई असल प्रतिफल दिन सकिएन भने के हुन्छ त? त्यसपछि के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍नेछस्? उदाहरणका लागि, नूहको समयमा, परमेश्‍वरले नूहलाई यसो भन्‍नुभयो: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु” (उत्पत्ति ६:१३)। त्यसपछि उहाँले नूहलाई जहाज बनाउने आदेश दिनुभयो। नूहले परमेश्‍वरको आदेश स्विकारेर जहाज बनाएपछि, पृथ्वीमा चालीस दिन र चालीस रातसम्म घनघोर वर्षा भयो, सम्पूर्ण संसार बाढीमा डुब्यो, अनि परमेश्‍वरले नूह र उसको परिवारका सात सदस्यबाहेक त्यस युगका सबै मानिसलाई नष्ट गर्नुभयो। तँलाई यसबारे के लाग्छ? के तँ परमेश्‍वर प्रेमिलो हुनुहुन्‍न भन्छस्? मानिसको सम्बन्धमा भन्‍नुपर्दा, मानवजाति जतिसुकै भ्रष्ट हुन सक्ने भए पनि, यदि परमेश्‍वर मानवजातिलाई नष्ट गर्नुहुन्छ भने यसको अर्थ उहाँ प्रेमिलो हुनुहुन्‍न—के तिनीहरूले यस्तो विश्‍वास गर्नु सही हो त? के यो विश्‍वास निरर्थक होइन र? परमेश्‍वर आफूले नष्ट गरेकाहरूलाई प्रेम गर्नुहुन्‍नथ्यो, तर के तँ बाँचेका र उहाँको मुक्ति पाएकाहरूलाई पनि उहाँले प्रेम गर्नुहुँदैनथ्यो भनेर साँच्चै भन्‍न सक्छस् त? पत्रुसले परमेश्‍वरलाई अत्यधिक प्रेम गर्थ्यो र परमेश्‍वर पत्रुसलाई प्रेम गर्नुहुन्थ्यो—के तँ साँच्चै परमेश्‍वर प्रेमिलो हुनुहुन्‍न भन्‍न सक्छस् त? परमेश्‍वर उहाँलाई साँच्चै प्रेम गर्नेहरूलाई प्रेम गर्नुहुन्छ अनि उहाँको प्रतिरोध गर्ने र पश्चात्ताप गर्न नमान्‍नेहरूलाई घृणा गर्नुहुन्छ र श्राप दिनुहुन्छ। परमेश्‍वरसँग प्रेम र घृणा दुवै हुन्छ, यही सत्यता हो। मानिसहरूले परमेश्‍वरलाई आफ्ना धारणा र कल्पनाअनुसार लेबल लगाउनु वा मूल्याङ्कन गर्नु हुँदैन, किनकि मानवजातिका धारणा र कल्पनाहरू, जुन कामकुराप्रति तिनीहरूका दृष्टिकोण हुन्, तिनमा बिलकुलै सत्यता हुँदैन। परमेश्‍वरलाई मानिसप्रति उहाँको मनोवृत्ति, उहाँको स्वभाव र सारको आधारमा चिन्नैपर्ने हुन्छ। परमेश्‍वरसँग कस्तो सार छ भनी उहाँले गर्ने र सम्हाल्ने कामकुराको सतही रूपको आधारमा बिलकुलै परिभाषित गर्नु हुँदैन। मानवजाति शैतानद्वारा अति गहन रूपमा भ्रष्ट पारिइएको छ; तिनीहरूलाई मानवजातिको प्रकृति सार थाहा हुँदैन, झन् परमेश्‍वरसामु भ्रष्ट मानवजाति के हो भन्‍ने कुरा थाहा हुनु र तिनीहरूलाई उहाँको धर्मी स्वभावअनुसार कसरी व्यवहार गर्नुपर्छ भन्‍ने थाहा हुनु त परको कुरा हो। अय्यूबलाई हेरौँ, ऊ धर्मी मानिस थियो र परमेश्‍वरले उसलाई आशिष्‌ दिनुभएको थियो। यो परमेश्‍वरको धार्मिकता थियो। शैतानले यहोवासँग बाजी थाप्यो: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्” (अय्यूब १:९-११)। यहोवा परमेश्‍वरले भन्‍नुभयो, “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा” (अय्यूब १:१२)। त्यसैले शैतान अय्यूबकहाँ गयो, र अय्यूबलाई आक्रमण गऱ्यो र प्रलोभनमा पाऱ्यो, अनि अय्यूबले परीक्षाहरूको सामना गऱ्यो। ऊसँग भएका सबै कुरा खोसियो—उसले आफ्‍ना छोराछोरी र सम्पत्ति गुमायो, उसको सम्पूर्ण शरीर फोकाहरूले भरियो। अब, के अय्यूबका परीक्षाहरूका बीचमा परमेश्‍वरको धर्मी स्वभाव थियो? तैँले स्पष्ट रूपमा भन्‍न सक्दैनस्, होइन त? यदि तँ धर्मी व्यक्ति नै भए पनि, परमेश्‍वरले तँलाई परीक्षाहरूमा पर्न र उहाँको गवाही दिन लगाउन सक्‍नुहुन्छ। परमेश्‍वरको स्वभाव धर्मी छ; उहाँ हरेकलाई समान रूपमा व्यवहार गर्नुहुन्छ। त्यतिबेला धर्मी मानिसहरूले परीक्षाहरू सहन सके पनि तीबाट गुज्रनुपर्दैन वा तिनीहरूको रक्षा गरिनैपर्छ भन्‍ने होइन; यस्तो हुँदैन। परमेश्‍वरसँग धर्मी मानिसहरूलाई परीक्षाहरूबाट गुज्रन दिने अधिकार छ। यो परमेश्‍वरको धर्मी स्वभावको प्रकाश हो। आखिरमा, अय्यूबले परीक्षाहरूबाट गुज्रेर यहोवाको गवाही दिइसकेपछि, यहोवाले उसलाई पहिलेभन्दा पनि बढी, पहिलेभन्दा पनि उत्तम आशिष्‌हरू दिनुभयो, अनि उहाँले उसलाई दुगुना आशिष्‌ दिनुभयो। त्यसबाहेक, यहोवा ऊकहाँ देखा पर्नुभयो, र ऊसँग बतासमार्फत बोल्‍नुभयो, र अय्यूबले उहाँलाई आमने-सामने जस्तै गरी देखे। यो उसलाई परमेश्‍वरद्वारा दिइएको आशिष्‌ थियो। यो परमेश्‍वरको धार्मिकता थियो। यदि अय्यूबले परीक्षाहरूको सामना गरिसक्दा र यहोवाले शैतानको उपस्थितिमा उसले उहाँको गवाही दिएर शैतानलाई लज्जित पारेको देख्‍नुहुँदा, उसलाई बेवास्ता गर्दै यहोवा फर्केर आफ्‍नो बाटो लाग्‍नुभएको भए, र अय्यूबले आशिष्‌हरू नपाएको भए—के यसमा परमेश्‍वरको धार्मिकता हुनेथियो? परीक्षापछि अय्यूबलाई आशिष्‌ दिइएको भए पनि वा नदिइएको भए पनि, वा यहोवा ऊकहाँ देखा पर्नुभएको भए पनि वा नभएको भए पनि, यो सबैमा परमेश्‍वरको इच्‍छा समावेश थियो। अय्यूबकहाँ देखा पर्नु परमेश्‍वरको धार्मिकता थियो, र अय्यूबकहाँ देखा नपर्नु पनि परमेश्‍वरको धार्मिकता नै हुनेथियो। सृष्टि गरिएको प्राणीको रूपमा तैँले कुन आधारमा परमेश्‍वरसँग मागहरू राख्छस्? मानिसहरू परमेश्‍वरसँग सर्त राख्न योग्य छैनन्। परमेश्‍वरसँग सर्तहरू राख्नु जत्तिको अनुचित कुरा अरू केही छैन। उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा व्यावहारिकता होइन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र समझदार हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको गवाही दिएपछि उहाँले तिनलाई हटाउनुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। तर, वास्तवमा, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले तय गरेका नियमहरू बताउनैपर्छ र? त्यसको आवश्यकता छैन। परमेश्‍वरको नजरमा भ्रष्ट र परमेश्‍वरको विरोध गर्न सक्‍ने व्यक्ति बेकम्मा हो; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र सबै कुरा परमेश्‍वरका बन्दोबस्तहरू नै हुन्। यदि तँ परमेश्‍वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्‍नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो पनि उहाँको धार्मिकता नै हुनेथियो त? हुनेथियो। तैँले तथ्यहरूबाट अहिले यसलाई पहिचान गर्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्‍नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्‍वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्‍ने आँट गर्दैनौ, होइन त? परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? “मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंको बुद्धि र कार्यहरूका लागि म तपाईंको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?” अब त तिमीहरूले देख्‍नुपर्ने हो, परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्‍म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्‍न सकून्, अनि परमेश्‍वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्‍न सकून् भन्‍ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझिसकेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखिसकेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखिसकेका हुन्छन्, तब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। परमेश्‍वरले जुन बेला शैतानलाई नष्ट गर्नुहुन्छ, त्यो समय निर्धारणमा परमेश्‍वरको स्वभाव र बुद्धि भरिएको हुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले परमेश्‍वरको धार्मिकता नबुझ्न सक्छन्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्‍न भन्‍ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्। पत्रुसले कुनै बुझ्न नसकिने थोक भेट्टाए, तर तिनी ईश्‍वरीय बुद्धि उपस्थित छ र ती कुरामा उहाँको भलो इच्छा पनि छ भनी निश्चित थिए भन्‍ने कुरा तैँले देख्छस्। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्। यसैले, परमेश्‍वरको स्वभाव जान्‍नु कुनै सजिलो कुरा होइन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मेरो विगतको बदनामी

सम्बन्धित भजनहरू

जीवन गवाही

अघिल्लो: २१. शैतानको प्रलोभनलाई कसरी जित्ने

अर्को: २३. परीक्षाको समयमा आफ्नो गवाहीमा कसरी दृढ रहने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्