व्यावहारिक परमेश्वर स्वयम् परमेश्वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ
तैँले व्यावहारिक परमेश्वरको विषयमा के थाहा पाउनुपर्छ? आत्मा, व्यक्ति, र वचन मिलेर व्यावहारिक परमेश्वर स्वयम् निर्मित हुनुभएको छ, र व्यावहारिक परमेश्वर स्वयम्को वास्तविक अर्थ यही हो। यदि तैँले व्यक्तिलाई मात्र चिन्छस्—यदि तैँले उहाँका आनीबानी र व्यक्तित्वलाई मात्र चिन्छस्—तर आत्माको कामलाई चिन्दैनस्, वा आत्माले देहमा के गर्नुहुन्छ भन्ने कुरा तँलाई थाहा छैन भने, र यदि तैँले आत्मा र वचनलाई मात्र ध्यान दिन्छस्, र आत्माको अगाडि मात्र प्रार्थना गर्छस्, तर व्यावहारिक परमेश्वरको रूपमा परमेश्वरका आत्माको कामको बारेमा तँलाई थाहा छैन भने, तैँले व्यावहारिक परमेश्वरलाई चिन्दैनस् भनी यसले प्रमाणित गर्छ। व्यावहारिक परमेश्वरको ज्ञानमा उहाँका वचनहरूको बारेमा थाहा पाउने र अनुभव गर्ने, र पवित्र आत्माको कामका नियम र सिद्धान्तहरू र परमेश्वरका आत्माले देहमा कसरी काम गर्नुहुन्छ भनी थाहा पाउनुपर्ने कुराहरू संलग्न हुन्छन्। देहमा हुने परमेश्वरको हरेक कार्य आत्माद्वारा नियन्त्रित हुन्छ, र उहाँले बोल्नुभएका वचनहरू आत्माका प्रत्यक्ष अभिव्यक्तिहरू हुन् भनी थाहा पाउनुपर्ने कुराहरू पनि यसमा संलग्न हुन्छन्। त्यसैले, व्यावहारिक परमेश्वरलाई चिन्नको लागि परमेश्वरले मानवता र ईश्वरत्वमा कसरी काम गर्नुहुन्छ भनी थाहा पाउनु अति महत्त्वपूर्ण हुन्छ; यसो भएको हुँदा, यसले सबै मानिसहरू सहभागी हुने आत्माको अभिव्यक्तिहरूमा सरोकार राख्छ।
आत्माको अभिव्यक्तिका पक्षहरू के-के हुन्? कहिलेकहीँ परमेश्वर मानवतामा काम गर्नुहुन्छ, र कहिलेकहीँ ईश्वरत्वमा—तर यी दुवै सन्दर्भमा आत्माको नियन्त्रण हुन्छ। मानिसहरूभित्र जस्तो आत्मा हुन्छ, त्यस्तै तिनीहरूको बाह्य अभिव्यक्ति हुन्छ। आत्माले सामान्य तरिकाले काम गर्नुहुन्छ, तर आत्माद्वारा गरिने उहाँको निर्देशनमा दुई भागहरू छन्: एउटा भाग मानवतामा हुने उहाँको काम हो र अर्को भाग ईश्वरत्वद्वारा हुने उहाँको काम हो। तैँले यो कुरा स्पष्टसँग थाहा पाउनुपर्छ। आत्माको काम परिस्थितिअनुसार फरक हुन्छ: जब उहाँको मानवीय कामको आवश्यकता पर्छ, तब आत्माले यो मानवीय कामलाई निर्देशित गर्नुहुन्छ, र जब उहाँको ईश्वरीय कामको आवश्यकता पर्छ, तब त्यो कामलाई कार्यान्वयन गर्न ईश्वरत्व सोझै देखा पर्छ। परमेश्वरले देहमा काम गर्नुहुने र उहाँ देहमा देखा पर्नुहुने हुँदा, उहाँले मानवता र ईश्वरत्व दुवैमा सीधै काम गर्नुहुन्छ। मानवतामा हुने उहाँको कामलाई आत्माद्वारा निर्देशित गरिन्छ र मानिसहरूका शारीरिक आवश्यकताहरूलाई सन्तुष्ट पार्न, उहाँसँग तिनीहरूको सहभागिता सहजीकरण गर्न, र तिनीहरूलाई परमेश्वरको व्यावहारिकता र सामान्यता हेर्न लगाउन, र तिनीहरूलाई परमेश्वरका आत्मा देहमा आउनुभएको छ र मानिसहरूको माझमा हुनुहुन्छ, मानिससँग सँगै बास गर्नुभएको छ, र मानिससँग सहभागी हुनुभएको छ भनी देखाउन गरिन्छ। ईश्वरत्वमा हुने उहाँको काम, मानिसहरूका स्वभावहरू परिवर्तन गर्दै र तिनीहरूलाई देहमा आत्माको स्वरूप साँचो रूपले हेर्न दिँदै, मानिसहरूको जीवनको लागि प्रबन्ध गर्न र मानिसहरूलाई हरेक कुरामा सकारात्मक पक्षबाट मार्गदर्शन दिन गरिन्छ। मुख्यगरी, मानिसको जीवनमा हुने वृद्धि प्रत्यक्ष रूपमा परमेश्वरको काम र ईश्वरत्वमा हुने वचनहरूद्वारा प्राप्त गरिएको हुन्छ। यदि मानिसहरूले ईश्वरत्वमा हुने परमेश्वरको कामलाई स्वीकार गर्छन् भने मात्र तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्, र तब मात्र तिनीहरू आफ्ना आत्मामा सन्तुष्ट हुन सक्छन्; यसअतिरिक्त, यदि मानवतामा हुने काम—मानवतामा हुने परमेश्वरको गोठालो-कार्य, सहायता, र प्रबन्ध—छ भने मात्र, परमेश्वरको कामका प्रतिफलहरू पूर्ण रूपमा प्राप्त गर्न सकिन्छ। आज चर्चा गरिएका व्यावहारिक परमेश्वर स्वयम्ले मानवता र ईश्वरत्व दुवैमा काम गर्नुहुन्छ। व्यावहारिक परमेश्वरको स्वरूपद्वारा उहाँको सामान्य मानवीय काम र जीवन र उहाँको पूर्ण ईश्वरीय काम प्राप्त गरिन्छन्। उहाँको मानवता र ईश्वरत्व एकै गरी गाभिएका छन्, दुवैका काम वचनहरूद्वारा सम्पन्न गरिन्छ; चाहे मानवतामा होस् वा ईश्वरत्वमा होस, उहाँले वचनहरू उच्चारण गर्नुहुन्छ। जब परमेश्वरले मानवतामा काम गर्नुहुन्छ, तब उहाँले मानवताको भाषा बोल्नुहुन्छ, ताकि मानिसहरू सहभागी हुन सकून् र उनीहरूले बुझ्न सकून्। उहाँका वचनहरू सरल रूपमा बोलिएका हुन्छन् र बुझ्न सजिलो हुन्छ, यतिसम्म कि ती सबै मानिसहरूलाई प्रदान गर्न सकिन्छ; चाहे मानिसहरू ज्ञानले भरिएका होऊन् वा कम शिक्षित होऊन्, तिनीहरू सबै जनाले परमेश्वरका वचनहरू प्राप्त गर्न सक्छन्। ईश्वरत्वमा हुने परमेश्वरका काम पनि वचनहरूद्वारा कार्यान्वयन गरिन्छ, तर यो प्रबन्धले भरिएको हुन्छ, यो जीवनले भरिएको हुन्छ, यो मानिसका विचारहरूद्वारा दूषित भएको हुँदैन, यसमा मानवीय प्राथमिकताहरू समावेश भएका हुँदैनन्, र यसमा मानवीय सीमाहरू हुँदैनन्, यो सामान्य मानवताको अधीनभन्दा बाहिर छ; यो देहमा कार्यान्वयन गरिएको हुन्छ, तर यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। यदि मानिसहरूले मानवतामा हुने परमेश्वरको कामलाई मात्र स्वीकार गर्छन् भने, तिनीहरूले आफैलाई एक निश्चित क्षेत्रमा सीमित गर्नेछन्, र तिनीहरूमा अलिकति परिवर्तन ल्याउन पनि निरन्तर काँटछाँट र अनुशासनको आवश्यकता पर्नेछ। पवित्र आत्माको काम वा उपस्थितिविना त तिनीहरू सधैँ आफ्ना पुराना मार्गहरूमा फर्कनेछन्; ईश्वरत्वको कामद्वारा मात्र यी गम्भीर समस्याहरू र कमजोरीहरूलाई सुधार्न सकिन्छ, र तब मात्र मानिसहरूलाई पूर्ण बनाउन सकिन्छ। दीर्घकालीन काँटछाँटको सट्टामा, चाहिने आवश्यक कुरा भनेको सबै कमी-कमजोरीहरू सुधार्न वचनहरूको प्रयोग गर्दै, मानिसको प्रत्येक स्थिति प्रकट गर्न वचनहरूको प्रयोग गर्दै, तिनीहरूको जीवन, तिनीहरूको प्रत्येक उच्चारण, तिनीहरूको प्रत्येक कार्यलाई मार्गदर्शन दिन, र तिनीहरूका अभिप्राय र उत्प्रेरणाहरूलाई उदाङ्गो पार्न वचनहरूको प्रयोग गर्दै गरिने सकारात्मक प्रबन्ध नै हो। यो व्यावहारिक परमेश्वरको व्यावहारिक काम हो। त्यसैले, व्यावहारिक परमेश्वरप्रति तेरो मनोवृत्तिमा तैँले उहाँलाई पहिचान र स्वीकार गर्दै तत्कालै आफैलाई उहाँको मानवताको सामु समर्पित गर्नुपर्छ, र यसअतिरिक्त तैँले उहाँका ईश्वरीय काम र वचनहरू ग्रहण गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। देहमा परमेश्वर देखा पर्नुको अर्थ परमेश्वरका आत्माका सबै काम र वचनहरू उहाँको सामान्य मानवताद्वारा र उहाँको देहधारी देहद्वारा सम्पन्न गरिएका हुन्छन् भन्ने हुन्छ। अर्को शब्दमा, परमेश्वरका आत्माले तत्कालै उहाँको मानवीय कामलाई निर्देशित गर्नुहुन्छ र देहमा ईश्वरत्वको काम सम्पन्न गर्नुहुन्छ, र देहधारी परमेश्वरमा तैँले मानवतामा हुने परमेश्वरको काम र उहाँको पूर्ण ईश्वरीय काम दुवै देख्न सक्छस्। यही नै व्यावहारिक परमेश्वरको दैहिक स्वरूपको वास्तविक महत्त्व हो। यदि तैँले यो कुरा स्पष्टसँग देख्न सक्छस् भने, तैँले परमेश्वरका सबै फरक भागहरूलाई जोड्न सक्षम हुनेछस्; तैँले ईश्वरत्वमा हुने उहाँको काममाथि अनावश्यक महत्त्व दिन छोड्नेछस्, र तैँले मानवतामा हुने उहाँको कामलाई अनावश्यक उपेक्षाका साथ हेर्न छोड्नेछस्, र तँ अतिवादतिर जानेछैनस्, न त घुमाउरो मार्ग नै पछ्याउनेछस्। समग्रमा भन्नुपर्दा, व्यावहारिक परमेश्वरको अर्थ उहाँको मानवताको र उहाँको ईश्वरत्वको काम, आत्माले निर्देशन गर्नुभएबमोजिम, उहाँको देहद्वारा अभिव्यक्त हुन्छ भन्ने हो, ताकि मानिसहरूले उहाँ सजीव र जीवन्त, वास्तविक र सत्य हुनुहुन्छ भन्ने कुरा देख्न सकून्।
मानवतामा हुने परमेश्वरका आत्माको कामका सङ्क्रमणकालीन चरणहरू हुन्छन्। मानवतालाई सिद्ध बनाएर, उहाँले आफ्नो मानवतालाई आत्माको निर्देशन ग्रहण गर्न सक्षम तुल्याउनुहुन्छ, त्यसपछि उहाँको मानवता मण्डलीहरूलाई प्रबन्ध र गोठालो गर्न सक्षम हुन्छ। यो परमेश्वरको सामान्य कामको एउटा अभिव्यक्ति हो। त्यसैले, यदि तैँले मानवतामा हुने परमेश्वरको कामका सिद्धान्तहरू स्पष्टसँग देख्न सक्छस् भने, तैँले मानवतामा परमेश्वरको कामको विषयमा आफ्नै धारणाहरू बनाउने सम्भावना कम हुनेछ। अन्य कुराहरू चाहे जेसुकै हुन्, परमेश्वरका आत्मा गलत हुन सक्नुहुन्न। उहाँ सही र त्रुटिरहित हुनुहुन्छ; उहाँ कुनै पनि काम बेठीक रूपले गर्नुहुन्न। ईश्वरीय काम मानवताको बाधारहित परमेश्वरका अभिप्रायहरूको प्रत्यक्ष अभिव्यक्ति हो। यो सिद्धताको प्रक्रिया हँदै जाँदैन, बरु यो त प्रत्यक्ष आत्माबाट आउँछ। तथापि, उहाँले ईश्वरत्वमा काम गर्न सक्नुहुन्छ भन्ने तथ्य उहाँको सामान्य मानवताको कारण हो; यो गौण अलौकिकतामा हुँदैन, र यसलाई सामान्य व्यक्तिद्वारा कार्यान्वयन गरिएको जस्तो देखिन्छ। परमेश्वर स्वर्गबाट पृथ्वीमा मुख्य रूपमा देहमार्फत परमेश्वरका वचनहरू व्यक्त गर्न, देहको माध्यमद्वारा परमेश्वरका आत्माको काम पूरा गर्न आउनुभयो।
आज, व्यावहारिक परमेश्वरबारे मानिसहरूको ज्ञान अति नै एक-पक्षीय रहेको छ, र देहधारणको महत्त्वको तिनीहरूको बुझाइ अझै अति नै कम छ। परमेश्वरको देहसँगै, मानिसहरूले उहाँका काम र वचनहरूमार्फत परमेश्वरका आत्मामा यति धेरै कुरा समावेश छन् र उहाँ यति धेरै सम्पन्न हुनुहुन्छ भन्ने कुरा देख्छन्। जेसुकै भए तापनि, आखिरमा परमेश्वरको गवाही परमेश्वरका आत्माबाट आउँछ: परमेश्वरले देहमा जे गर्नुहुन्छ, उहाँले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, उहाँले मानवतामा जे गर्नुहुन्छ, र उहाँले ईश्वरत्वमा जे गर्नुहुन्छ। मानिसहरूसँग यस विषयमा ज्ञान हुनुपर्छ। आज, तँ यस व्यक्तिको आराधना गर्न सक्षम छस्, तर सारमा तैँले आत्मालाई आराधना गर्दैछस्, र मानिसहरूले देहधारी परमेश्वरबारे कम्तीमा हासिल गर्नुपर्ने ज्ञान यही हो: देहमार्फत आत्माको सार थाहा पाउने, देहमा आत्माको ईश्वरीय काम र देहमा मानवीय काम थाहा पाउने, देहमा आत्माका सबै वचन र वाणीहरू स्वीकार गर्ने, र परमेश्वरका आत्माले कसरी देहलाई निर्देशित गर्नुहुन्छ र देहमा उहाँको शक्ति प्रदर्शन गर्नुहुन्छ भनी हेर्ने। भन्नुको अर्थ यो हो कि मानिसले स्वर्गमा हुनुहुने आत्मालाई देहमार्फत चिन्छ; मानिसमाझ व्यावहारिक परमेश्वर स्वयम् देखा पर्नुभएको हुँदा यसले मानिसहरूको धारणाहरूबाट अस्पष्ट परमेश्वरलाई हटाइदिएको छ। मानिसहरूले, व्यावहारिक परमेश्वर स्वयम्लाई गर्ने आराधनाले तिनीहरूको परमेश्वरप्रतिको समर्पणतालाई अभिवृद्धि गरेको छ, र देहमा परमेश्वरका आत्माको ईश्वरीय काम र देहमा उहाँको मानवीय कामद्वारा, मानिसले प्रकाश प्राप्त गर्छ र उसलाई गोठालो गरिन्छ, र मानिसको जीवन स्वभावमा परिवर्तनहरू हासिल हुन्छन्। देहमा आत्माको आगमनको वास्तविक अर्थ यही हो, जसको प्राथमिक उद्देश्य भनेको मानिसहरू परमेश्वरसँग सम्पर्कमा आउन, परमेश्वरमा निर्भर रहन, र परमेश्वरको ज्ञानसम्म पुग्न सकून् भन्ने हो।
मुख्य रूपमा, व्यावहारिक परमेश्वरप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ? तँलाई देहधारण, देहमा वचनको देखापराइ, देहमा परमेश्वरको देखापराइ, व्यावहारिक परमेश्वरका कार्यहरूबारे के थाहा छ? आज छलफलका मुख्य विषयहरू के-के हुन्? देहधारण, देहमा वचनको आगमन र देहमा परमेश्वरको देखापराइ सबै नै बुझ्नैपर्ने विषय हुन्। तिमीहरूले आफ्नो कद र युगका आधारमा आफ्नो जीवन अनुभवमा यी विषयहरू बिस्तारै बुझ्नैपर्छ र यीबारे स्पष्ट ज्ञान राख्नैपर्छ। मानिसहरूले परमेश्वरका वचनहरू अनुभव गर्ने प्रक्रिया भनेको तिनीहरूले देहमा परमेश्वरका वचनहरूको देखापराइ चिन्ने प्रक्रिया हो। मानिसहरूले परमेश्वरका वचनहरू जति धेरै अनुभव गर्छन्, तिनीहरूले परमेश्वरका आत्मालाई त्यति नै धेरै चिन्छन्; मानिसहरूले परमेश्वरका वचनहरू अनुभव गरेर, आत्माको कामका सिद्धान्तहरू बोध गर्छन् र व्यावहारिक परमेश्वर स्वयम्लाई चिन्न पुग्छन्। वास्तवमा, जब परमेश्वर मानिसहरूलाई सिद्ध पार्नुहुन्छ र तिनीहरूलाई प्राप्त गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई व्यावहारिक परमेश्वरका कार्यहरू जान्न दिइरहनुभएको हुन्छ; उहाँले मानिसहरूलाई देहधारणको वास्तविक महत्त्व देखाउन, तिनीहरूलाई परमेश्वरका आत्मा वास्तवमा मानिससामु देखा पर्नुभएको छ भनी देखाउन व्यावहारिक परमेश्वरको काम प्रयोग गरिरहनुभएको हुन्छ। जब मानिसहरू परमेश्वरद्वारा प्राप्त गरिन्छन् र सिद्ध पारिन्छन्, तब यसको अर्थ व्यावहारिक परमेश्वरका अभिव्यक्तिहरूले तिनीहरूमाथि विजय हासिल गरेका छन् र—व्यावहारिक परमेश्वरका वचनहरूमार्फत—तिनीहरू रूपान्तरित भएका छन् अनि उहाँको जीवन तिनीहरूभित्र ढालिएको छ, तिनीहरू उहाँ जे हुनुहुन्छ त्यसले भरिएका छन् (चाहे त्यो उहाँको मानवतामा उहाँ जे हुनुहुन्छ त्यो होस् वा उहाँको ईश्वरत्वमा उहाँ जे हुनुहुन्छ त्यो होस्), तिनीहरू उहाँका वचनहरूको सारले भरिएका छन् र मानिसहरूलाई उहाँका वचनहरू जिउने तुल्याइएको छ भन्ने हो। जब परमेश्वर मानिसहरूलाई प्राप्त गर्नुहुन्छ, तब उहाँ मुख्य रूपमा तिनीहरूका अपर्याप्तताहरूलाई काटछाँट गर्ने र तिनीहरूको विद्रोही स्वभावलाई न्याय र खुलासा गर्ने तरिकाका रूपमा व्यावहारिक परमेश्वरका वचन र वाणीहरू प्रयोग गरेर त्यसो गर्नुहुन्छ, जसले गर्दा तिनीहरू आफूलाई चाहिने कुरा प्राप्त गर्छन् र परमेश्वर मानिसमाझ आउनुभएको छ भन्ने देख्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त, व्यावहारिक परमेश्वरद्वारा गरिने काम भनेको हरेक व्यक्तिलाई शैतानको प्रभावबाट मुक्ति दिनु, तिनीहरूलाई फोहोरको भूमिबाट निकाल्नु र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई जरैदेखि उखेल्नु हो। व्यावहारिक परमेश्वरद्वारा प्राप्त गरिनुको सबैभन्दा गहन महत्त्व भनेको व्यावहारिक परमेश्वरलाई उदाहरण र नमुनाका रूपमा लिएर सामान्य मानवता जिउन सक्नु र अलिकति पनि विचलित नभई वा नटाढिई व्यावहारिक परमेश्वरका वचन र मागहरूअनुसार अभ्यास गर्न सक्नु, उहाँ जे भन्नुहुन्छ त्यहीअनुसार अभ्यास गर्नु र उहाँ जे माग गर्नुहुन्छ त्यो हासिल गर्न सक्नु हो। यसरी, तँ परमेश्वरद्वारा प्राप्त गरिएको हुनेछस्। जब तँ परमेश्वरद्वारा प्राप्त गरिन्छस्, तब तँसँग पवित्र आत्माको काम मात्रै हुँदैन; मुख्यतया, तँ व्यावहारिक परमेश्वरका मागहरू जिउन सक्षम हुन्छस्। केवल पवित्र आत्माको काम हुँदैमा तँसँग जीवन छ भन्ने होइन। मुख्य कुरा के हो भने तँ व्यावहारिक परमेश्वरले तँसँग गरेका मागहरूअनुसार कार्य गर्न सक्षम छस् कि छैनस्, जुन तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्षम छस् कि छैनस् भन्ने कुरासँग सम्बन्धित छ। देहमा व्यावहारिक परमेश्वरको कामको सबैभन्दा ठूलो अर्थ यही हो। भन्नुको अर्थ, परमेश्वर साँच्चै र वास्तवमै देहमा देखा पर्नुहुन्छ—साक्षात् र जीवित—मानिसहरूलाई उहाँलाई देख्न दिनुहुन्छ र देहमा आत्माको काम व्यावहारिक रूपमा गर्नुहुन्छ अनि देहमा मानिसहरूका लागि उदाहरणका रूपमा काम गर्नुहुन्छ, जसद्वारा उहाँ मानिसहरूको एउटा समूह प्राप्त गर्नुहुन्छ। देहमा परमेश्वरको आगमन मुख्य रूपमा मानिसहरूलाई परमेश्वरका व्यावहारिक कार्यहरू देख्न सक्षम बनाउन र निराकार आत्मालाई देहमा साकार पार्नका लागि हो, ताकि मानिसहरूले उहाँलाई देख्न र छुन सकून्। यसरी मात्र उहाँद्वारा पूर्ण पारिएकाहरू उहाँ जे जिउनुहुन्छ त्यो जिउनेछन्, उहाँद्वारा प्राप्त गरिनेछन् र उहाँका अभिप्रायहरूअनुरूप हुनेछन्। यदि परमेश्वर स्वर्गमा मात्र बोल्नुभएको भए र वास्तवमा पृथ्वीमा नआउनुभएको भए, मानिसहरू अझै पनि परमेश्वरलाई चिन्न असक्षम हुनेथिए; तिनीहरूले खोक्रो सिद्धान्त प्रयोग गरेर परमेश्वरका कार्यहरू प्रचार गर्न मात्र सक्नेथिए र तिनीहरूसँग परमेश्वरका वचनहरू वास्तविकताका रूपमा हुनेथिएनन्। परमेश्वर पृथ्वीमा आउनुको उद्देश्य मुख्यतः उहाँले प्राप्त गर्नेहरूका लागि आफैलाई उदाहरण र नमुनाका रूपमा स्थापित गर्नु हो; यसरी मात्र मानिसहरूले वास्तवमा परमेश्वरलाई चिन्न, छुन र देख्न सक्छन् अनि त्यसपछि मात्र तिनीहरू साँच्चै परमेश्वरद्वारा प्राप्त गरिन सक्छन्।