आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

स्वभाव परिवर्तन भनेको के हो? धेरैजसो मानिसहरू यो बुझ्दै बुझ्दैनन्। स्वभाव परिवर्तन भनेको परमेश्वरका विश्वासीहरूका लागि मुख्य दर्शन हो। स्वभाव परिवर्तन गर्नु सजिलो कुरा होइन। किनभने परमेश्वरले मुक्ति दिने भनेको भर्खरै सृष्टि गरिएका र शैतानद्वारा भ्रष्ट नतुल्याइएका मानवजातिलाई होइन, तर त्यसद्वारा गहिरोसित भ्रष्ट तुल्याइएका, शैतानी विष र शैतानी स्वभावहरूले भरिएका, शैतानजस्तै अनि परमेश्वरविरुद्ध प्रतिरोध र विद्रोह गर्ने मानवजातिको समूहलाई हो। व्यक्तिको भ्रष्ट स्वभाव परिवर्तन गर्नु भनेको क्यान्सर लागेको व्यक्तिलाई उपचार गर्नुजस्तै हो। यो जटिल प्रक्रिया हो, होइन र? यसका लागि शल्यक्रिया, लामो समयसम्म किमोथेरापी, र केही समयपछि फेरि जाँच गर्नु आवश्यक पर्छ। यो प्रक्रिया साँच्चै जटिल हुन्छ। त्यसकारण, स्वभाव परिवर्तनलाई सजिलो कुरा नठान्। यो त मानिसले कल्पना गरेको व्यवहार वा चरित्र परिवर्तन होइन। मानिसले चाह्यो भन्दैमा हासिल हुने कुरा यो होइन। स्वभाव परिवर्तनमा धेरै प्रक्रियाहरू—परमेश्वरको वचनमा एकदमै प्रस्टसित व्याख्या गरिएका प्रक्रियाहरू सामेल छन्। त्यसकारण, तैँले परमेश्वरमा विश्वास गरेको पहिलो दिनदेखि नै, परमेश्वरले मानिसहरूलाई मुक्ति दिने तरिका र तिनीहरूलाई मुक्ति दिएर हासिल गर्न चाहने परिणाम बुझ्नैपर्छ। यदि तँ सत्यता पछ्याउन र स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले परमेश्वरप्रतिको विश्वासबारे तेरा गलत दृष्टिकोणहरूलाई परिवर्तन गर्नैपर्छ। परमेश्वरमा विश्वास गर्नका लागि सुशील, असल व्यक्ति, वा कानुन पालक हुनु, वा अरूको अनुमोदन प्राप्त हुने थुप्रै असल कार्य गर्नु पर्दैन। विगतमा, मानिसहरू परमेश्वरमा विश्वास गर्नु र स्वभाव परिवर्तनको पछि लाग्नु भनेको मान्छे खुसी पारिहिँड्ने हुनु—बाहिरी रूपमा केही मानव स्वरूप, केही संस्कार, केही धैर्य, अथवा अरू मानिसप्रति केही सतही दया र प्रेम हुनु, अरूलाई मद्दत गर्नु र भिक्षा दिनु हो भन्ने सोच्थे। अर्को शब्दमा भन्नुपर्दा, मानव धारणा र कल्पनाहरूमा असल ठानिने व्यक्ति हुनु हो भन्ने सोच्थे। सबैको हृदयमा त्यस्ता धारणा र कुरा हुन्छन्—यो शैतानी विषहरूको एउटा पक्ष हो। विगतमा, परमेश्वरमा विश्वास गर्ने कसैले पनि स्वभाव परिवर्तनको विषयलाई प्रस्ट रूपले व्याख्या गर्न सक्थेन। तिनीहरूलाई आस्थाको मामिलाबारे थाहा थिएन—त्यो तिनीहरूले जन्मजात बुझेको, वा इसाई धर्ममा केही वर्ष विश्वास गरेपछि बुझ्न सकेको कुरा थिएन। किनभने परमेश्वरले त्यत्तिञ्जेल उहाँको कामको यो पक्ष निर्वाह गर्नुभएको थिएन, न त सत्यताको यो पक्षबारे बताउनुभएको नै थियो। त्यसैले गर्दा धैरै मानिसहरू आफ्नो धारणा र कल्पनाको आधारमा आस्थालाई आफ्नो सतही व्यवहार र अभ्यासहरूलाई केही परिवर्तन गर्ने अनि आफ्ना केही प्रस्ट गलत दृष्टिकोणहरू परिवर्तन गर्ने विषय ठान्थे। कतिपयले त आस्था राख्नु भनेको ठूल्ठूला कठिनाइहरू सहनु, राम्रो खानेकुरा नखानु, वा फेन्सी कपडा नलगाउनु हो भनेरसमेत विश्वास गर्थे। जस्तै, विगतमा पश्चिमा देशका क्याथोलिक ननहरू परमेश्वरप्रतिको आस्था भनेको अझ बढी कठिनाइहरू सहनु र जीवनमा कम मात्रामा राम्रा कुराहरूको आनन्द लिनु—आफूसँग पैसा हुँदा गरिबलाई दिनु, वा थप असल कार्यहरू गर्नु र अरूलाई मद्दत गर्नु मात्र हो भन्ने विश्वास गर्थे। तिनीहरूले आफ्नो जीवनभरि कष्ट भोग्नुलाईजोड दिए। तिनीहरूले कुनै राम्रो खानेकुरा खाएनन्; तिनीहरूले कुनै राम्रा कपडा लाएनन्। तिनीहरूको मृत्यु हुँदा, तिनीहरूको कपडाको मोल केही डलर मात्र थियो। तिनीहरूका कार्यहरूबारे संसारभरि समाचारमा दिइएको हुन सक्ला। यसको मतलब के हो? यसको मतलब हो, मानिसहरूको मनमा, यस्ता मानिसहरू मात्र असल र सद्गुणी हुन्; धार्मिक संसारले यी मानिसहरूले मात्र असल कुरा र असल कार्य गरेका छन्, तिनीहरू मात्र रूपान्तरित भएका छन् र तिनीहरूमा मात्र साँच्चै दृढ विश्वास छ भन्ठान्छन्। त्यसैले, तिमीहरू सबै अपवाद होइनौ होला, सायद तिमीहरू पनि विश्वास परमेश्वरप्रतिको आस्था भनेको असल व्यक्ति—अरूलाई नहिर्काउने वा बेइज्जत नगर्ने, नराम्रो भाषा प्रयोग नगर्ने वा खराब काम नगर्ने, बाहिरी रूपमा मानिसहरूले परमेश्वरको विश्वासीको रूपमा हेर्न सक्ने र परमेश्वरको महिमा गर्न सक्ने व्यक्ति बन्नु हो भनेर विश्वास गर्छौ। यो त भर्खरै परमेश्वरमा विश्वास गर्न थालेकाहरूमा हुने मानसिक स्थिति हो। तिनीहरू स्वभाव परिवर्तन यही हो, र परमेश्वरलाई मन पर्ने व्यक्ति यस्तै हो भनी विश्वास गर्छन्। के यो दृष्टिकोण सही हो? भर्खरै आस्थामा लागेकाहरूमा मात्र यस्ता सिधासाधा सोच हुन्छ। व्यक्तिले केही सत्यता बुझिसकेपछि यस्ता सोचाइहरू तुरुन्तै हराउनेछन्। पहिले तेरो हृदयमा यो दृष्टिकोणले जति नै गहिरो जरा गाढेको भए पनि, तिमीहरूले अझै त्यसका त्रुटि र विचलनहरू उदाङ्गो पारेका छैनौ। तैँले परमेश्वरमा जति नै वर्ष विश्वास गरेको भए पनि, यी गलत दृष्टिकोणहरू पूर्णतया हटाइएको छैन। यसबाट के प्रस्ट हुन्छ भने स्वभाव परिवर्तन भनेको के हो भनी थोरै मानिसले मात्र साँच्चै बुझ्छन्, न त तिनीहरू परमेश्वरमा साँच्चै विश्वास गर्नुको अर्थ के हो, कसरी वास्तविक व्यक्ति बन्ने, परमेश्वरलाई कस्तो व्यक्ति मन पर्छ, वा परमेश्वर कस्तो व्यक्तिलाई स्वीकार्य ठान्नुहुन्छ, र परमेश्वर कस्तो व्यक्ति प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा नै बुझ्छन्। यदि तँ यी कुराहरू बुझ्दैनस् भने, त्यसबाट तैँले साँचो मार्गमा बलियो जग बसालेको छैनस् भन्ने देखिन्छ। ती मानव धारणा, कल्पना, र व्यक्तिगत सोचहरू अझै पनि तेरो सोचाइ र दृष्टिकोणमा हाबी हुन्छन्।

कतिपय मानिस यसो भन्छन्: “मलाई आफू अझै परिवर्तन भएको छैनँ भन्ने लाग्छ। यदि मेरो बच्चा अनाज्ञाकारी भयो, वा मेरा श्रीमानले मलाई मन नपर्ने केही कुरा गरे भने मलाई रिस उठ्छ। अविश्वासीहरूले परमेश्वरमा विश्वास नगरेको देख्दा, म तिनीहरूलाई घृणा गर्छु। के यी कुरा अझै पनि भ्रष्टता र स्वभाव परिवर्तनको कमी प्रकट हुनु होइनन् र?” के यो भनाइ सही हो? (अहँ, होइन।) त्यसमा के गलत छ? त्यो बाहिरी व्यवहारमा मात्र केन्द्रित छ। ल भन् त, परमेश्वरले स्वभाव परिवर्तनको कुरा गर्नुहुँदा, के व्यक्तिको चरित्र वा मनोदशाको परिवर्तन भन्न खोज्नुभएको हो? कदापि होइन। कतिपय मानिस स्वभाव परिवर्तन भनेको त चरित्रमा हुने परिवर्तन मात्र हो भन्ने विश्वास गर्छन्, अनि विशेष गरी धैर्यशील हुनु र कहिल्यै नरिसाउनु नै स्वभाव परिवर्तन हो भन्ठान्छन्, तर यो गम्भीर भूल हो। धेरैजसो मानिस स्वभाव परिवर्तनको मामिलालाई प्रस्ट रूपमा बुझ्न सक्दैनन्। तिनीहरू अहिले आफू परमेश्वरका निकट भएको र केही क्षेत्रमा परमेश्वरसित ठ्याक मिलेको, र कहिलेकाहीँ तिनीहरू आफ्नो धारणा र कल्पनासँग नमिल्ने कुराहरू आइपर्दा समर्पित हुन नसक्ने भए पनि र रिसाए पनि, आफूले पछि यसबारे चिन्तन गर्न, यसलाई जान्न, र परमेश्वरलाई प्रार्थना र पश्चात्ताप गर्न सक्ने हुनाले, त्यसको मतलब आफू परिवर्तन भएको छ भन्ने सोच्छन्। के तिमीहरूलाई यस प्रकारको परिवर्तनले स्वभाव परिवर्तनले जनाउँछ भन्ने लाग्छ? तिमीहरू यस्तो स्थितिलाई कसरी चिन्छौ? स्वभाव परिवर्तनमा के-के पर्छन्? स्वभाव परिवर्तन भएको व्यक्तिमा कस्ता स्थिति र प्रकटीकरणहरू देखा पर्छन्? (स्वभाव परिवर्तन भनेको परमेश्वरको वचनको न्याय र सजाय स्विकार्नु, आफ्नो सार जान्नु, कामकुराबारे हाम्रा दृष्टिकोण परिवर्तन गर्नु, र बिस्तारै परमेश्वरसित ठ्याक मिलाउनु हो। यो कहिल्यै नरिसाउनु, वा रिसाउन कम गर्न आफूलाई काबुमा राख्न सक्नु होइन। यसको स्वभाव परिवर्तनसँग केही सम्बन्ध छैन।) यो निकै सही बुझाइ हो। म पहिला तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु, र तिमीहरूले त्यसबारे मनन गर्न सक्छौ: यदि तेरो स्वभाव परिवर्तन भएको छ र तैँले सत्यता बुझ्छस् भने, कामकुराबारे तेरो विचार परमेश्‍वरसँग मिल्नेछ। कामकुराबारे तेरो विचार परमेश्‍वरसँग मिलेपछि, के तँ अझै पनि भ्रष्‍ट मानवतासँग मिल्नेछस्? तँ मिल्नेछैनस्। तैँले हृदयमा शैतान र दियाबलसलाई घृणा गर्न सक्नेछस्, अनि परमेश्वरलाई प्रतिरोध गर्ने र विश्वासघात गर्ने भ्रष्ट मानवताप्रति तँलाई विरोध, वितृष्णा, र घृणा जाग्नेछ; तैँले सबै प्रकारका नकारात्मक कुरालाई घृणा गर्न सक्नेछस्, तँ दियाबलसका मानिसहरूसँग सङ्गत गर्न झन् बढी अनिच्छुक हुनेछस्, अनि तँ परमेश्वरले प्रेम गर्ने कुरालाई प्रेम गर्न र घृणा गर्ने कुरालाई घृणा गर्न सक्षम हुनेछस्। सत्यता बुझेर हासिल हुने नतिजाहरू यिनै हुन्। यदि तँ आफूलाई साँच्चै जान्न र आफ्नो प्रकृति सारलाई छर्लङ्गै देख्न सक्छस् भने, तैँले भ्रष्ट मानवताको साझा सार छर्लङ्गै देख्न, र परमेश्वरको प्रतिरोध गर्ने ती भ्रष्ट मानवहरूलाई स्वाभाविक रूपले घृणा गर्न सक्नेछस्। जब तैँले तिनीहरूको गलत र निरर्थक विचारहरू देख्छस्, तब तँ तिनीहरूको सङ्गत गर्न अनिच्छुक हुनेछस्, अनि तँ तिनलाई घिनाउनेछस् र इन्कार गर्नेछस्। विशेष गरी जब तँ धार्मिक संसारले देहधारणलाई घोर निन्दा गरेको अनि सत्यतालाई चरम घृणा र तिरस्कार गरेको देख्छस्, तब तैँले स्वाभाविक रूपमा यी ख्रीष्टविरोधी शक्तिहरूलाई तिरस्कार र पूर्णतया इन्कार गर्नेछस्। यदि तँ सच्चा रूपमा सत्यता बुझ्छस् र परेमश्वरलाई चिन्छस् भने, तैँले परमेश्वरप्रति शत्रुता राख्ने, उहाँको आज्ञापालन नगर्ने, उहाँलाई त्याग्छन् र विश्वासघात गर्नेहरूलाई स्वाभाविक रूपमा तिरस्कार गर्नेछस्। अझै पनि तेरो तिनीहरूसँग सम्भवतः कसरी ठ्याक मिल्न सक्थ्यो र? त्यसकारण, यदि तेरो जीवन स्वभाव परिवर्तन भएको छ भने, विशेषतः तैँले अविश्वासीहरू र परमेश्वरको प्रतिरोध गर्ने सबैलाई घृणा र तिरस्कार गर्नेछस्। तर, अहिले हामी भ्रष्ट मानवहरूमाझ जिउने भएकाले, हामी सहन र बुद्धिको आधारमा जिउन मात्र सक्छौँ। हामीले सत्यता बुझ्यो र आफ्नो स्वभाव परिवर्तन भयो भन्दैमा तिनीहरूलाई घृणा गर्न, इन्कार गर्न, र तिनीहरूसँग दूरी बनाउन, तिनीहरूलाई बेवास्ता गर्न, वा तिनीहरूलाई देख्दा झगडा गर्न मिल्दैन। हामीले यी कुराहरू गर्नै हुँदैन, हामी बुद्धिमान् हुनैपर्छ। तिमीहरूले अझै बुझ्दै नबुझ्ने अर्को समस्या छ—तिमीहरूमध्ये कतिपयले सोच्छौ, स्वभाव परिवर्तन र परमेश्वरसँग ठ्याक मिल्नु भनेको बिलकुलै रिस नगर्नु, अनि दियाबलस र शैतानहरूप्रति समेत नम्र र दयालु हुनु अनि मुस्कुराउनु हो, यो नै स्वभाव परिवर्तन हो। के यो सही बुझाइ हो र? (अहँ, होइन।) यो अत्यन्तै गलत बुझाइ हो। तर यो किन गलत हो? परमेश्वर मानिसहरूलाई मुक्ति दिन चाहनुहुन्छ, र उहाँले धेरै वचन बोल्नुभएको छ र धेरै काम गर्नुभएको छ, तर उहाँ मानिस कस्तो खालको व्यक्ति बनेको चाहनुहुन्छ? उहाँ मानिसहरू सत्यताले डोऱ्याएको सोच भएका, सत्यतालाई जीवनको आदर्शको रूपमा लिने व्यक्ति बनेको चाहनुहुन्छ। उहाँले मानिसहरू विचारहीन, मूर्खव्यक्तिजस्तो बनेको चाहनुहुन्न, झन् रिसविनाको वा सामान्य संवेग नभएको, चेतनाशुन्य व्यक्तिजस्तो बनेको चाहनु त परको कुरा हो। उहाँले मानिसहरू सत्यता बुझ्ने अनि उहाँको वचन सुन्न अनि उहाँको आज्ञापालन गर्न सक्ने व्यक्ति अर्थात् उहाँले प्रेम गर्ने कुरालाई प्रेम गर्ने र घृणा गर्ने कुरालाई घृणा गर्ने, उहाँले मन पराउने कुरालाई मन पराउने र तिरस्कार गर्ने कुरालाई घृणा र तिरस्कार गर्ने व्यक्ति बनेको चाहनुहुन्छ। अब तिमीहरू मानिसको स्वभावमा परमेश्वर के परिवर्तन गर्न चाहनुहुन्छ प्रस्ट हुनुपर्छ। परमेश्वरले अत्यन्तै धेरै वचन बोल्नुभएको छ र अत्यन्तै धेरै सत्यता व्यक्त गर्नुभएको छ; उहाँ मानिसहरूलाई मुक्ति दिन र आफ्नो वचनद्वारा हर व्यक्तिलाई परिवर्तन गर्न चाहनुहुन्छ। परमेश्वर आफूले पूर्ण बनाउने मानिसहरूको स्वरूप कस्तो भएको चाहनुहुन्छ भनेर के तिमीहरूले कहिल्यै सोचेका छौ? म धेरै दाजुभाइ-दिदीबहिनीहरूले यसो भन्ने गरेको सुन्छु, “मैले यत्तिका समयदेखि परमेश्वरमा विश्वास गर्दै आएको छु, तर अझै पनि म बाहिरी कुराहरूको बन्धनमा छु।” कतिपय दिदीबहिनी यसो भन्छन्, “अविश्वासीहरूले लगाउने कपडा देख्छु र त्यो लगाउन चाहन्छु, अनि चटक्क पारेर पोसाक लगाएकाहरूलाई छड्के नजरले निकै हेर्न चाहन्छु।” कतिपय दाजुभाइ यसो भन्छन्, “म धनाढ्य, सम्पन्न परिवारहरू देख्छु, र म पनि पैसा कमाउन चाहन्छु। कुनै राम्री केटी देख्दा, म उनलाई फेरि हेर्न चाहन्छु, र आफूलाई बेखुस तुल्याउने कुरा देख्दा मलाई झोँक चलेकोजस्तो हुन्छ। मेरा यी भ्रष्ट स्वभावहरू अझै परिवर्तन भएका छैनन्, र मलाई परिस्थिति आइपर्दा, म सधैँ एकदमै अनियन्त्रित रूपमा कल्पनामा डुब्छु। म यी कुराहरूलाई कसरी नियन्त्रण गर्न सक्छु? म कहिले परिवर्तन हुन सक्नेछु?” यिनै विचारहरूले मलाई तिमीहरू स्वभाव परिवर्तनको अर्थ बुझ्दैनौ भन्ने तुल्यायो। तिमीहरू केवल तिमीहरूको व्यवहार, तिमीहरूका बाहिरी कार्यहरू, तिमीहरूको रिस र चरित्रको सम्बन्धमा आफूलाई संयमित राखिरहेका छौ। यस तरिकाले स्वभाव परिवर्तन गर्नु सम्भव हुँदैन। तिमीहरूले स्वतन्त्र रूपमा बोल्ने, वा मन लाग्दा आफ्नो भावना पोखाउने, वा रिसाउने आदि गर्नु हुँदैन भनेर परमेश्वरका कुन वचनहरूले भन्छन्? के परमेश्वरको वचनले यही भन्छ? उहाँको वचनले केवल मान्छेको भ्रष्ट सारबारे धेरै कुरा प्रकट गर्छ, मानिसहरूलाई आफ्नो भ्रष्ट स्वभाव कसरी चिन्ने, कसरी त्यो हटाउने र स्वभाव परिवर्तन गर्ने, शैतानको प्रभावबाट मुक्त हुने, र त्यसपछि परमेश्वरका मापदण्डको आधारमा कार्य गर्ने, र परेमश्वरको इच्छा मान्ने र पूरा गर्ने भनेर बताउँछ। के तैँले स्वभाव परिवर्तन के हो भन्नेबारे बुझेपछि पनि यी बाहिरी कार्यहरूलाई हदै ध्यान दिनेछस्? के तँ अझै यी बाहिरी मामिलाहरूमा अल्झिरहनेछस्? (अहँ।) यदि तँ स्वभाव परिवर्तन भनेको के हो भन्ने बुझ्दैनस् भने, तैँले कहिल्यै त्यसको सार बुझ्नेछैनस् वा त्यो हासिल गर्नेछैनस्। विशेष गरी, भर्खरै धर्म परिवर्तन गरेकाहरूले परमेश्वरप्रतिको विश्वासबारे राख्ने दृष्टिकोण अझै पनि धर्मका विचार र धारणाबाट परिवर्तन भएको हुँदैन। तिनीहरू अझै पनि आत्मिक, भक्त, विनम्र, र धैर्यशील व्यक्ति, मान्छेलाई खुसी पारिहिँड्ने प्रेमिलो, र असल सामरी हुन खोज्छन्, तर यो ठूलो भूल हो! यदि तँ यस्तो आत्मिक व्यक्ति र मान्छेलाई खुसी पारिहिँड्ने हुन खोज्छस् भने, तँ आत्मिक मामिलाहरू नबुझ्ने व्यक्ति होस्। के मान्छेलाई खुसी पारिहिँड्ने व्यक्तिले सत्यता बुझ्न सक्छ? के उसले आफूलाई जान्न र आफ्नो भ्रष्ट स्वभाव हटाउन सक्छ? पक्कै सक्दैन। मान्छेलाई खुसी पार्न खोज्नेहरूले कहिल्यै सत्यता प्राप्त गर्नेछैनन्, कहिल्यै आफूलाई जान्न र स्वभाव परिवर्तन गर्न सक्नेछैनन्, र कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्नेछैनन्। त्यसकारण, यदि तँ स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले पहिला त्यो के हो, अनि परमेश्वरप्रतिको साँचो विश्वास र समर्पण के हुन् भनेर बुझ्नैपर्छ। त्यसपछि मात्र तँ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्नेछस्।

स्वभाव परिवर्तन धार्मिक अनुष्ठान वा नियमनको परिवर्तनमा निर्भर हुँदैन, झन् व्यक्तिको बाहिरी स्वरूप वा बाहिरी व्यवहार, चरित्र, वा स्वभावको परिवर्तनमा निर्भर हुनु त परको कुरा हो। यो सुस्त स्वभावलाई तीब्र स्वभावमा वा तीब्र स्वभावलाई सुस्त स्वभावमा रूपान्तरण गर्नु होइन, न त यो अन्तर्मुखीलाई बहिर्मुखीमा रूपान्तरण गर्नु, वा बोलक्कड व्यक्तिलाई अल्पभाषी व्यक्तिमा रूपान्तरण गर्नु नै हो। यो मार्ग होइन, यो परमेश्वरका मापदण्डहरूभन्दा एकदमै फरक छ, र असाध्यै टाढा छ! कसैले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा, उसले सत्यता नबुझ्ने हुनाले सधैँ आफ्नो धारणा र कल्पनाअनुसार कामकुरा गर्छ। फलस्वरूप, ऊ सही मार्गबाट तर्किन्छ, अनि कुनै वास्तविक कुरा हासिल नगरी आफ्नो कैयौँ वर्ष खेर फाल्छ। त्यस बेला, उसलाई परमेश्वरप्रतिको विश्वासमा सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ भन्ने थाहा हुँदैन। यसले गर्दा ऊ वर्षौँसम्म गलत मोडहरूतिर लाग्छ, तब मात्र उसले परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्न वास्तविकतामा प्रवेश गर्नु, अनि यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनी विश्वास गर्छ। त्यसपछि मात्र उसले, परमेश्वरले उल्लेख गर्ने स्वभाव परिवर्तनले बाहिरी व्यवहारको परिवर्तनलाई जनाउँदैन, बरु परमेश्वर मानिसहरूले आफूलाई र आफ्नो भ्रष्ट सारलाई चिनेको, प्रयत्न गरेको र मान्छेको प्रकृति सारलाई बुझ्नेसम्बन्धी जड कारण फेला पारेको, अनि आफ्नो भ्रष्ट स्वभाव हटाएको, सत्यता अभ्यास गरेको, अनि परमेश्वरको आज्ञापालन गर्न र उहाँको आराधना गर्न सकेको माग गर्दै हुनुहुन्छ भनेर बुझ्छ। आफ्नो स्वभाव परिवर्तन गर्नु भनेको यही हो। के अब तिमीहरूलाई कुनै स्वभाव परिवर्तन नगरी आफूले वर्षौँदेखि परमेश्वरमा विश्वास गर्दै आउनुको जड कारण थाहा भयो? कारण हो, तिमीहरू स्वभाव परिवर्तन के हो भन्ने बुझ्दैनौ, अनि मानिसहरूलाई मुक्ति दिएर परमेश्वरले के नतिजा र मानकहरू हासिल गर्न चाहनुहुन्छ भन्ने तिमीहरूलाई थाहा छैन। कतिपय मानिस सत्यताको यो पक्ष नस्विकार्लान् र यसो भन्लान्: “स्वभाव परिवर्तन भनेको के हो भन्ने मलाई थाहा छ, तर म आफूलाई नियन्त्रण गर्नै सक्दिनँ। म सधैँ आफूलाई गर्न मन लाग्ने, र सही लाग्ने कुराहरू गर्छु।” समग्रमा, तैँले त्यसलाई जसरी व्यक्त गरे पनि, यस्तो बोलाइले स्वभाव परिवर्तन भनेको के हो भन्ने तैँले अझै बुझ्दैनस्, जसले गर्दा तैँले सबै प्रकारका धारणा र कल्पना पैदा गरेको छस् भन्ने प्रमाणित गर्छ। स्वभाव परिवर्तनबारे जति धेरै कुरा गरिन्छ, उति नै त्यो तँबाट टाढा लाग्छ, उति नै त्यो तेरो पहुँचबाहिर लाग्छ, र उती नै तँ त्यसको एक छेउ पुग्दैनस् भन्ने देखिन्छ। स्वभाव परिवर्तन र मानवजातिको प्रकृति सार खुलासा गर्नेबारे जति बढी छलफल हुन्छ, के तिमीहरूलाई आफ्नो स्वभाव बिलकुलै परिवर्तन नभएको, र आफूले कडा मेहनत गरिरहनैपर्छ भन्ने झन् बढी महसुस हुँदैन र? किन म तिमीहरूलाई स्वभाव परिवर्तनबारे सोध्ने गर्छु? वास्तवमा, मलाई तिमीहरूले जवाफ दिन सक्नेछैनौ भन्ने थाहा छ। कतिपय मानिसले यसो भन्नेछन्, “के तपाईं केवल हामीलाई कठिनाइमा पार्दै हुनुहुन्न र? तपाईंलाई हामी जवाफ दिन सक्दैनौँ भन्ने थाहा छ भने किन सोध्नुहुन्छ?” म तिमीहरूलाई कठिनाइमा पारिरहेको छुइनँ। म हरेक प्रश्न सोधेर तिमीहरूले ती गहन रूपमा लिएको आशा गरिरहेको हुन्छु। हरेक वाक्य वा मैले सङ्गति गर्ने विषयबारे मात्र सोच्ने र आफूले ती बुझेजस्तो लागेपछि त्यो कुरा सकियो भन्ठान्ने नगर्। हरेक वाक्य र अहिले मैले सङ्गति गर्ने विषयवस्तुको हरेक पक्ष भनेको तिमीहरूले भविष्यमा पार गर्नुपर्ने एउटा प्रक्रिया हो। त्यसको कुनै भाग पनि छोड्न मिल्दैन, र यी सबै तिमीहरूसँग आधारभूत रूपमा नहुने कुरा हुन्। म तिमीहरू आत्मचिन्तन गर्नेछौ, र आफ्नो हृदयमा कुनै मानव धारणा र कल्पना छ कि छैन भनेर जाँच गर्नेछौ भन्ने आशामा म प्रश्न सोध्ने गर्छु। तिमीहरूले परमेश्वरमा विश्वास गर्ने आफ्नो शैलीमा आफूसँग कुनै मानव धारणा वा कुनै गलत सोच र विचार छ कि छैन भनेर होसियारीसाथ चिन्तन गर्नुपर्छ। वास्तवमा, सबै मानिसहरूका आ-आफ्ना सोचविचारहरू हुन्छन्, र परमेश्वरप्रतिको विश्वाससम्बन्धी मामिलाहरू अपवाद होइनन्। त्यसैले, तिमीहरूले यी सोच र धारणाहरूको सार जाँच्नैपर्छ। अहिले हामी भेलाहरूमा धार्मिक संसारका मानिसहरूले गरेजस्तो औपचारिकता पूरा गर्दैनौँ: बाइबल पढ्ने, प्रार्थना गर्ने, प्रवचन सुन्ने, त्यति नै हो। के यो त्यति सरल हुन सक्छ? पक्कै हुँदैन। अहिले हामीले छलफल गर्ने विषयहरू मानव विषयहरूमध्ये सबैभन्दा उच्च र अरू कुनै विषयभन्दा बढी महत्त्वपूर्ण हुन्, किनकि अहिले हामीले कुरा गर्ने विषयहरू मानवताको भावी गन्तव्य, र मान्छेका लागि परमेश्वरको, अर्थात् सबै कुराको शासनकर्ताका मापदण्डसँग सम्बन्धित छन्। हामी यस्तो प्रकारका विषयहरू खोजी गर्छौँ र तीबारे दैनिक सङ्गति गर्छौँ, तर सायद अझै पनि तिनलाई बुझ्दै नबुझ्नेहरू छन्। हामीले यी विषयहरूमा सङ्गति गरी सिध्याएका छैनौँ, र तीमध्ये कुनैलाई पनि पूर्ण रूपमा वर्णन वा व्याख्या गर्न सकिँदैन। त्यसकारण, जीवनका मामिलाहरू मानिसले कल्पना गरेजस्तो सजिला छैनन्। यो प्रवचनहरू अझ बढी सुन्ने, परमेश्वरको वचन अझ बढी पढ्ने, बढी नोटहरू बनाउने, र त्यसपछि केही प्रसिद्ध वाक्यांशहरू कण्ठ पार्ने, र ती कुरा भेलाहरूमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्न प्रयोग गर्ने कुरा मात्र होइन। यो त्यस्तो सरल छैन। तैँले ध्यान दिनैपर्छ, परमेश्वरले बताउने सत्यताको हरेक पक्ष बुझ्नैपर्छ, र यी कुरा मुक्ति प्राप्त गर्न खोज्ने हरेकले आफूलाई सुसज्जजित पार्नैपर्ने सत्यता पनि हुन्। यदि तैँले परमेश्वर किन मानिसले स्वभाव परिवर्तन गरेको चाहनुहुन्छ भनेर बुझिस् भने, हृदयमा यसलाई ध्यान दिनेछस् र सत्यताका लागि कोसिस गर्नेछस्। यदि तैँले स्वभाव परिवर्तन भनेको के हो भनेर प्रस्टसित बुझ्न सक्दैनस् भने, सत्यतालाई प्रेम गर्नेछैनस् वा त्यसलाई ध्यान दिनेछैनस्। त्यसको विपरीत, तँमा सत्यताप्रति रुचि हुनेछैन, त्यसैले तैँले त्यो कहिल्यै प्राप्त गर्न सक्नेछैनस्। परमेश्वर सत्यताको तृष्णा गर्नेहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ तर सत्यता नपछ्याउनेहरूदेखि लुक्नुहुन्छ। यदि तृष्णा गर्छस् र हृदयमा खोजी गर्छस् भने, परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तँमा काम गर्नुहुनेछ, र थोरै-थोरै गरेर तँलाई सत्यताका सबै पक्षहरू प्रस्टसँग बुझाउनुहुनेछ। के तिमीहरूलाई स्वभाव परिवर्तनको विषय महत्त्वपूर्ण रहेछ भन्ने लाग्छ? (हो, यो महत्त्वपूर्ण छ।) यो निश्चय नै महत्त्वपूर्ण छ, किनकि तिमीहरूले अहिले तत्कालै सत्यताको यो पक्ष बुझ्न आवश्यक छ। तिमीहरू आफूमा सत्यता छैन, आफू परिवर्तन भएको छैन, र विपत्तिहरू आउँदा आफू त्यागिनेछ भनेर डराउँछौ, अनि आफू विपत्तिमा परिनेछ र त्यसैमा कष्ट भोग्नुपर्नेछ भनेर डराउँछौ। अवश्य नै, कतिपय मानिस अहिले आफूले अत्यन्तै थोरै सत्यता बुझेको छ, र भविष्यमा परमेश्वरले परीक्षा लिनुहुँदा आफूले ठेस खानेछ र दृढ रहन सकिँदैन, आफ्नो पहिलेका प्रयत्नहरू सबै खेर जानेछन् भनेर डर मान्छन्। यो मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको अन्तिम चरण भएकाले, यदि मानिसहरूले यस चरणमा मुक्ति प्राप्त गर्न सकेनन् भने, परमेश्वरप्रतिको तिनीहरूको विश्वास पूर्णतया विफल भएको हुनेछ, परमेश्वरप्रति तिनीहरूको आस्थाको जीवन समाप्त हुनेछ, र अन्ततः तिनीहरू नष्ट हुनेछन्।

यदि तँ स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले पहिला त्यो के हो भनेर बुझ्नैपर्छ। मैले भर्खरै कतिपय मानिस आफ्नो धारणामा स्वभाव परिवर्तन कस्तो भएको कल्पना गर्छन् भनेर बताएँ, र तिमीहरू सबै यी मानिसहरूको भनाइ र विचार बेठिक र गलत छन् अनि परमेश्वरले माग गर्ने स्वभाव परिवर्तनसित मिल्दैनन् भनेर सहमत हुन्छौ। त्यसैले, तिमीहरूले स्वभाव परिवर्तनलाई कसरी बुझ्नुपर्छ? तिमीहरूले कसरी स्वभाव परिवर्तन गर्नुपर्छ? स्वभाव परिवर्तन गर्नु चानचुने कुरै होइन। पहिला त तँसँग परमेश्वरको वचन खाने, पिउने र बुझ्ने क्षमता हुनैपर्छ। यदि तँसँग यो गुण छैन भने, तैँले सत्यता बुझ्न वा आफूलाई चिन्न सक्नेछैनस्, र त्यसरी स्वभाव परिवर्तन गर्न सक्नेछैनस्। यदि तँ यस्तो परिवर्तन गर्न चाहन्छस् भने, तैँले आफ्नो भ्रष्ट स्वभावलाई जान्नैपर्छ, र परमेश्वरको वचनको आधारमा आफ्नो विविध त्रुटिपूर्ण सोच, दृष्टिकोण, व्यवहार र प्रकटीकरणलाई चिन्नैपर्छ। त्यसपछि तैँले आफ्नो स्थितिलाई परमेश्वरको वचनसित तुलना गर्नुपर्छ, र आफ्नो भ्रष्ट स्वभावलाई बुझ्नुपर्छ। जब तैँले यस भ्रष्ट स्वभावको सार परमेश्वरलाई प्रतिरोध र विश्वासघात गर्ने, अनि उहाँले घृणा गर्ने कुरा हो भनी प्रस्टसँग बुझ्छस्, तब आफ्नो भ्रष्ट स्वभाव हटाउन र बिस्तारै स्वभाव परिवर्तन गर्न सक्नेछस्। ल भन् त, मानवजातिलाई अत्यन्तै गहन रूपले भ्रष्ट तुल्याइएकाले, यदि तिनीहरू परमेश्वरले व्यक्त गर्ने सत्यताहरू स्विकार्दैनन् भने के तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू बुझ्न सक्नेछन् र? के तिनीहरूले मानवजातिको गम्भीर भ्रष्टताको वास्तविकता बुझ्न सक्नेछन् र? सबै भ्रष्ट मानिस शिक्षाको पक्षमा वकालत गर्छन्, तिनीहरू सबै जना ज्ञान लिन्छन् र त्यसका लागि प्रतिस्पर्धा गर्छन्, तर पनि मानव संसार झन्-झन् अन्धकार र दुष्ट बन्दै जान्छ। अनि मानवजातिलाई यस अन्धकारको प्रभावबाट मुक्ति दिन सक्ने को छ? त्यसकारण, यदि तँ परमेश्वरको वचनबाट तर्किन्छस् अनि उहाँको न्याय र शुद्धिकरण स्विकार्दैनस् भने, स्वभाव परिवर्तन गर्न र मानव स्वरूपमा जिउन पूर्णतया असम्भव हुन्छ। कतिपय मानिस यसो भन्छन्: “म मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्न चाहन्नँ, किनकि यी कुराहरू पढ्दा म मर्माहत हुन्छु र मलाई असहज हुन्छ।” के तिनीहरूले परमेश्वरका वचनहरूलाई यस तरिकाले लिएर आफूलाई चिन्न सक्नेछन्? के तिनीहरूलाई स्वभाव परिवर्तन गर्न सजिलो हुनेछ? यदि तँलाई मानवजातिलाई न्याय गर्ने र सजाय दिने परमेश्वरका वचनहरू पढ्न मन लाग्दैन भने ठिकै छ, किनकि परमेश्वरको घरमा तेरा लागि हेर्ने र सिक्ने परमेश्वरका वचनका भजनहरू, साथै अनुभवात्मक गवाही भिडियोहरू छन्। ती भजनहरू अझ धेरै गाउने गर्, किनकि तिनमा धूनहरू हालिएका हुनाले ती सिक्न र स्मरण गर्न सजिलो हुन्छ। परमेश्वरको वचनका यी भजनहरू यस तरिकाले गाउन सिक्दा नतिजा प्राप्त हुनेछ, र तँलाई उहाँका केही वचन सम्झन सजिलो हुनेछ। यी वचनहरूद्वारा सत्यतामा रुचि जगाउन सुरु गर्। परमेश्वरको वचन खाने र पिउने सम्बन्धमा समेत मानिसहरूको रुचि जगाउनुपर्छ—ल भन् त, मानवजाति आफूले भजनहरूमार्फत रुचि जगाएको हुनुपर्ने परमेश्वरको मापदण्डदेखि कति टाढा छन्? यसले के प्रमाणित गर्छ भने मानवजातिले सत्यतालाई एकदमै प्रेम गर्दैन! परमेश्वरका वचनहरू अति राम्ररी बोलिएका हुन्छन्, र सत्यताको जुनै पक्षमा सङ्गति गरिरहेको भए पनि, त्यो पक्ष मान्छेका लागि सुरुदेखि अन्त्यसम्म लाभदायक हुन्छ, तर पनि मानिसहरू त्यो खान र पिउन मन पराउँदैनन्। मानवजाति वास्तवमै परमेश्वरको मापदण्डदेखि एकदमै टाढा छन्! त्यसोभए, यो अवस्थामा के गर्नुपर्छ? पहिला, तैँले हरेकपटक परमेश्वरका वचनहरू खाँदा र पिउँदा उहाँलाई यसो भन्दै प्रार्थना गर्नैपर्छ: “हे परमेश्वर, स्वभाव परिवर्तनका लागि कोसिस गर्ने र राम्रो गन्तव्य हासिल गर्ने मेरो चाहना छ, किनकि मलाई विपत्तिमा पर्ने डर छ। म तपाईंका वचनहरू अझ धेरै खान र पिउन पनि चाहन्छु, तर मानिसहरूको न्याय र खुलासा गर्ने ती वचनहरू अति कठोर छन्, तिनले मलाई मर्माहत बनाउँछन्, त्यसैले म ती पढ्न चाहन्नँ। कृपया, मलाई तपाईंका वचनहरू बुझ्न, अनि तपाईंका वचनहरू मेरो जीवनलाई नै चाहिन्छ र ती नै मैले प्राप्त गर्नुपर्ने जीवन हुन् भनी बुझ्न अन्तर्दृष्टि दिनुहोस्, मद्दत गर्नुहोस र सक्षम तुल्याउनुहोस्।” यदि तैँले यसरी इमानदारीपूर्वक प्रार्थना गरिस् भने, थाहै नपाईसमेत परमेश्वरले तँमा काम गर्नुहुनेछ, र तँलाई बिस्तारै झन्-झन् गहन रूपमा उहाँका वचनहरू बुझ्न मद्दत गर्नुहुनेछ। कतिपय मानिस यसो भन्छन्: “मलाई परमेश्वरका वचनहरू खान र पिउन धेरै मन पर्छ, र मैले ती सुरुदेखि अन्त्यसम्म पढिसकेको छु, तर बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सत्यताहरू कुन हुन्, र कुन सत्यता वास्तविकतामा प्रवेश गर्न सबैभन्दा महत्त्वपूर्ण छ, वा स्वभाव परिवर्तन गर्न कसरी पछ्याउनुपर्छ भन्ने मलाई थाहा छैन।” यो समस्यालाई कसरी हल गर्न सकिन्छ? पहिला, तैँले परमेश्वरका वचनहरूमा अझ निकै धेरै प्रयत्न गर्नैपर्छ। तिनलाई केहीपटक पढेर मात्र पर्याप्त हुँदैन। तैँले वास्तविक अनुभव नगरिन्जेल तिनलाई ध्यानपूर्वक धेरैपटक पढ्नैपर्छ, बारम्बार मनन र सङ्गति गर्नैपर्छ, र आफ्नो जीवनमा अभ्यास गर्नैपर्छ। त्यसपछि मात्र तैँले सत्यता बुझ्न सक्छस्। त्यसबाहेक, यदि तिमीहरू कतिपय शीर्षकमा प्रस्टसँग सङ्गति गर्न सक्दैनौ भने, जतिसम्म सक्छौ त्यति मात्र सङ्गति गर। अहिले तिमीहरूले साँच्चै प्रस्टसँग सङ्गति गर्न नसक्ने विषयहरूलाई पर पन्साऊ; पहिला आफूलाई बुझ्न सजिला, र आफ्नो वर्तमान अनुभवको स्तरसँग मिल्ने विषयहरूमा सतही तहबाट सुरु गरेर गहिरिँदै सङ्गति गर। जीवन प्रवेश सानोतिनो कुरा होइन, र तीन वा पाँच वर्ष मात्र विश्वास गरेर प्रवेश गर्न असम्भव छ। यो त वयस्क बन्ने प्रक्रियाजस्तै होः बाल्यकालदेखि अलिअलि गर्दै बढ्दै गएर अन्त्यमा २० वा ३० वर्षपछि वयस्क बन्छन्। परमेश्वरमा विश्वास गर्न पनि यतिका धेरै वर्षको अनुभव चाहिन्छ, र परमेश्वरको आज्ञा मान्ने र उहाँलाई प्रेम गर्ने सत्यताहरूको सन्दर्भमा भन्नुपर्दा, ती अनुभव गर्न जिन्दगीभरि लाग्छ। कतिपय मानिस यसो भन्छन्: “म यस तरिकाले परमेश्वरका वचनहरू खाने र पिउने गर्छु, तर मैले आफ्नो स्वभाव परिवर्तन गरेको छु कि छैनँ भनेर ठ्याक्कै कसरी मापन गर्न सक्छु?” धेरै दाजुभाइ-दिदीबहिनी यस प्रश्नबारे चिन्तित हुन्छन्। ल भन् त, जब बच्चा जन्मन्छ, र उसकी आमाले उसको पालनपोषण र हेरचाह गर्छे, तब के त्यो बच्चालाई आफू कहिले वयस्क होला भन्ने मतलब हुन्छ? पक्कै हुँदैन, किनकि उसले त्यो बुझ्दैन। त्यसैले, तैँले यो प्रश्न सोध्नु आवश्यक छैन। आफ्नो कद बढिन्जेलसम्म केवल प्रतीक्षा गर्, त्यसपछि स्वाभाविक रूपमा त्यो बुझ्नेछस्, र जब तँ परिवर्तन हुनुपर्ने समय आउँछ, तब स्वाभाविक रूपमै तँ परिवर्तन हुनेछस्। तैँले पार गर्ने हरेक चरण र अवधिमा परमेश्वरले केही कामकुरा गर्नुहुनेछ, तँलाई पाठहरू सिकाउन केही वातावरण वा मानिस, मामिला र कामकुराको बन्दोबस्त गर्नुहुनेछ। सुरुवातदेखि अहिलेसम्मको परमेश्वरमाप्रतिको आफ्नो विश्वासबारे फर्केर सोच्, आफूले पहिलोपटक परमेश्वरमा विश्वास गर्दाका दृष्टिकोणलाई अहिलेको आफ्नो विचारसँग तुलना गर्, र आफू परिवर्तन भए-नभएको थाहा पाउनेछस्। अहिलेचाहिँ, तिमीहरूले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको वचन अझ धेरै खानु र पिउनु, अझ धेरै सङ्गति गर्नु, अझे धेरै प्रवचन सुन्नु, र परमेश्वरका वचनहरूमा अझ मेहनत गर्नु हो। यसो गर्नु महत्त्वपूर्ण छ, र यो नै स्वभाव परिवर्तन गर्नका लागि प्रमुख सर्त हो। यदि तँ परमेश्वरका वचनहरू पढ्दैनस् वा सत्यतामा सङ्गति गर्दैनस्, बरु कसरी पवित्र आत्माको प्रेरणा अनुभूत गर्ने, कसरी आत्मामा जिउने र आत्मिक बन्ने भनेर मात्र ध्यान दिन्छस् भने, के नतिजा हासिल गर्न सक्छस्? सधैँ यी कुराहरूमा ध्यान दिनुको कुनै अर्थ छैन, किनकि ती सबै गौण कुरा हुन्। त्यसोभए, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? परमेश्वरका वचनहरू अझ धेरै खानु र पिउनु। यदि तँ उहाँका वचनहरू सावधानीपूर्वक खाँदैनस् र पिउँदैनस् भने, दैनिक भेला भए पनि वा धार्मिक अनुष्ठानहरू राम्ररी सञ्चालन गरे पनि, तैँले सत्यता बुझ्न सक्नेछैनस्, झन् त्यो अभ्यास गर्ने त कुरै छोडौँ। किनभने सबै सत्यता परमेश्वरको वचनमा छन्, र यदि तैँले उहाँका वचनहरू खाँदैनस् वा पिउँदैनस् भने, त्यो कहिल्यै प्राप्त गर्नेछैनस्। सबै सत्यता परमेश्वरको वचनहरूबाट आउँछ, र यदि तैँले उहाँको वचन छोडिस् भने, त्यो परमेश्वरलाई छोड्नुसरह हो। यदि तैँले परमेश्वरको वचन खान र पिउन छोडिस् भने, परमेश्वरमा विश्वास गरिरहेको हुँदैनस्, र तँ अविश्वासी हुन्छस्। त्यसपछि, तेरो व्यवहार जति नै राम्रो भए पनि, तैँले कहिल्यै मुक्ति प्राप्त गर्न सक्नेछैनस्। त्यसकारण, परमेश्वरमा विश्वास गर्नेहरूका लागि उहाँको वचन खानु र पिउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्वरको वचनमा मेहनत गरिस् भने, जति प्रयत्न लगाउँछस् त्यति नै प्राप्त गर्नेछस्। तैँले यी प्राप्तिहरू ठ्याक्कै कति ठूला छन् भनेर जाँच्नु र मापन गर्नु आवश्यक छैन, झन् त्यसको वास्ता गर्ने त कुरै छोडौँ। यो तेरो जिम्मेवारी होइन। परमेश्वरले आफ्नो काम आफै गर्नुहुनेछ, अनि उहाँले तँलाई व्याख्या गर्नुहुनेछ र अन्तर्दृष्टि दिनुहुनेछ, र तँलाई थाहा दिनुहुनेछ। त्यसैले, यदि भविष्यमा कसैले “परमेश्वरले कहिले मेरो परीक्षा लिनुहुनेछ? के म खरो उत्रिन सक्नेछु? वास्तवमा मेरो स्वभाव कति परिवर्तन भएको छ? के परमेश्वरले मलाई ठ्याक्कै जवाफ दिन सक्नुहुन्न?” भनी सोधेमा, यो उद्दण्डता र अनुचित हो। तैँले यस्ता कुराहरूमा चिन्ता लिनु आवश्यकता नै छैन। जब तैँले कुनै दिन कद प्राप्त गर्छस्, र तेरो स्वभाव साँच्चै परिवर्तन भएको हुन्छ, तबै तैँले आफूलाई आइपर्ने परिस्थितिलाई परमेश्वरले माग गर्ने विधिहरू प्रयोग गरेर पार गर्न र सही ढङ्गले सम्हाल्न सक्नेछस्। त्यसपछि तैँले आफू परिवर्तन भएको रहेछु भनेर थाहा पाउनेछस्। यो बाहिरी परिवर्तन नभई भित्री परिवर्तन हो, र यो स्वभाव र सारमा हुने परिवर्तन हो।

स्वभाव परिवर्तन रातारात हुने, वा केही वर्षको अनुभवपछि हासिल गर्न सकिने कुरा होइन। कतिपय मानिस आफ्नो खराब आनीबानी परिवर्तन गर्न थाल्दा प्रायः असफल हुन्छन् र ठेस खान्छन्, अनि सोच्छन्: “मलाई पुग्यो। म निराश छु। स्वभाव परिवर्तन मेरा लागि होइन, परिवर्तन हुनु मेरा लागि असम्भव छ। यदि मलाई यी ससाना त्रुटि र खराब बानीहरू परिवर्तन गर्नसमेत यति कठिन छ भने, निश्चय नै आफ्नो स्वभाव परिवर्तन गर्न त झन् बढी कठिन हुनेछ।” तिनीहरू नकारात्मक बन्छन्, आफ्नो कुनै आशा छैनजस्तो महसुस गर्छन्, अनि लामो समयसम्म परमेश्वरका वचनहरू खान र पिउन अनिच्छुक हुन्छन्। कसैले तिनीहरूलाई काँटछाँट र निराकरण गर्दा, तिनीहरू रिसाउँछन र नकारात्मक हुन्छन्, आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, र सत्यतामा फिटिक्कै चासो लिँदैनन्। यो कस्तो स्थिति हो? यो गम्भीर समस्या हो। के तिमीहरूले कहिल्यै यस्तो अनुभव गरेका छौ? के तिमीहरूलाई आफ्नो जीवन अनुभवको क्रममा आफू सधैँ नकारात्मक, कमजोर, असफल हुनेछु र ठेस खानेछु भन्ने डर लाग्छ? तिमीहरूलाई डर लागे पनि नलागे पनि, वास्तविकता के हो भने स्वभाव परिवर्तन रातारात हुँदैन। किनभने स्वभाव परिवर्तन मानवजातिको भ्रष्ट प्रकृतिको जडबाट नै सुरु हुन्छ, अनि यो आमूल र पूर्ण रूपान्तरण हो। यो त कुनै व्यक्तिलाई क्यान्सर लागेर त्यसको ट्युमर बढ्नुजस्तै होः उसले ट्युमर हटाउन शल्यक्रिया गर्नैपर्छ, उसले निक्कै कष्ट सहनैपर्छ, र यो एकदमै जटिल प्रक्रिया हो। स्वभाव परिवर्तनको क्रममा, तैँले अलिअलि सत्यता बुझ्न वा स्वभाव परिवर्तनको कुनै पक्ष हासिल गर्नअघि धेरै कुरा पार गर्लास्, वा अन्त्यमा थोरै परिवर्तन गर्नुअघि धेरै मानिस, मामिला, कामकुरा, र विभिन्न परिवेश अनुभव गर्लास्, अनि धेरैवटा गलत दिशामा लाग्छस् होला। यो परिवर्तन जति नै ठूलो भए पनि मूल्यवान् हुन्छ, र परमेश्वरको नजरमा यो प्रिय र स्मरणीय हुन्छ किनकि त्यसका लागि तैँले निकै कष्ट भोगेको र ठूलो मूल्य चुकाएको हुन्छस्। परमेश्वर मानिसको हृदयको गहिराइ जाँच्नुहुन्छ, तिनीहरूको सोच र चाहना अनि कमजोरीहरू जान्नुहुन्छ, तर सबैभन्दा बढी परमेश्वर तिनीहरूलाई के आवश्यक छ भनी जान्नुहुन्छ। व्यावहारिक परमेश्वरलाई पछ्याउन हामीमा यो सङ्कल्प हुनैपर्छ: हामीलाई जति नै ठूलो परिस्थिति आइपरे पनि, जस्तो प्रकारका कठिनाइहरू आए पनि, र हामी जति नै कमजोर र नकारात्मक भए पनि, हामीले आफ्नो स्वभाव परिवर्तनप्रति वा परमेश्वरले बोल्ने कुराप्रतिको आस्था गुमाउनु हुँदैन। परमेश्वरले मानवजातिलाई एउटा प्रतिज्ञा गर्नुभएको छ, र यसलाई वहन गर्न मानिसहरूमा सङ्कल्प, आस्था, र दृढता हुनुपर्छ। परमेश्वर कायरहरूलाई मन पराउनुहुन्न; उहाँ सङ्कल्प भएका मानिसहरूलाई मन पराउनुहुन्छ। तैँले थुप्रै भ्रष्टता प्रकट गर्ने, निकैपटक गलत मार्गमा हिँड्ने, वा धेरै अपराधहरू गर्ने, परमेश्वरबारे गुनासो गर्ने, वा धर्मभित्र परमेश्वरको प्रतिरोध गर्ने वा हृदयमा उहाँविरुद्ध निन्दा पाल्ने आदि काम गरेको भए पनि—परमेश्वर ती सबै कुरा हेर्नुहुन्न। परमेश्वर त कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र कुनै दिन ऊ परिवर्तन हुन सक्छ वा सक्दैन भनेर मात्र हेर्नुहुन्छ। बाइबलमा बिग्रेको छोरो घर फर्केको एउटा कथा छ—किन प्रभु येशूले यो नीतिकथा प्रयोग गर्नुभयो? त्यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय निश्चल छ र उहाँले मानिसलाई पश्चात्ताप गर्न र परिवर्तित हुन अवसर दिनुहुन्छ भनी मानिसहरूलाई बुझाउनका लागि थियो। यो प्रक्रियाभरि, परमेश्वर मान्छेलाई बुझ्नुहुन्छ र उनीहरूको कमजोरी र भ्रष्‍टताको हदको राम्रो ज्ञान राख्‍नुहुन्छ। उहाँलाई थाहा छ, मानिसहरू पछारिनेछन् र असफल हुनेछन्। जसरी केटाकेटीले हिँड्न सिक्दा तिनीहरूको शरीर जतिसुकै बलियो भए पनि कुनै बेला तिनीहरू लड्ने र ठेस लाग्ने, अनि वस्तुहरूसित ठोक्किने र अल्झेर लड्ने त हुन्छ नै। जसरी एउटी आमाले आफ्नो सन्तानलाई बुझ्छे त्यसरी नै परमेश्‍वर हर व्यक्तिलाई बझ्नुहुन्छ। उहाँ हरेक व्यक्तिका कठिनाइ, कमजोरी र आवश्यकताहरू बुझ्नुहुन्छ। त्योभन्दा बढी, परमेश्वर मानिसहरूले आफ्नो स्वभाव परिवर्तनको प्रक्रियामा प्रवेश गर्दा कस्ता कठिनाइ, कमजोरी र असफलताहरू सामना गर्नेछन् भनेर बुझ्नुहुन्छ। परमेश्वरले सबैभन्दा राम्ररी बुझ्ने कुरा यिनै हुन्। यसको मतलब परमेश्वर मानिसको हृदयको गहिराइ जाँच्नुहुन्छ। तँ जति नै कमजोर भए पनि, यदि तैँले परमेश्वरको नाम त्यागिनस्, वा उहाँ र यो मार्ग छोडिनस् भने, तँसँग स्वभाव परिवर्तन गर्ने मौका सधैँ हुनेछ। यदि तँसँग यो मौका भयो भने, तँसित बाँच्ने आशा हुन्छ, र त्यसैले परमेश्वरद्वारा मुक्ति पाइने आशा हुन्छ। जब हामी स्वभाव परिवर्तन भनेको के हो, र त्यसका लागि कस्तो प्रक्रिया आवश्यक पर्छ भनेर बुझ्छौँ, तब हामी डराउनु हुँदैन, बरु आस्था राख्नुपर्छ र परमेश्वरसामु यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर! म अत्यन्तै गहन रूपमा भ्रष्ट छु। मलाई सत्यता के हो भन्नेसमेत थाहा छैन, झन् स्वभाव परिवर्तन भनेको के हो भनेर थाहा हुनु त परको कुरा हो। मलाई साँच्चै तपाईंको मुक्ति, मद्दत र भरणपोषण चाहिन्छ, ताकि मैले तपाईंका वचनहरू कसरी बुझ्ने र अभ्यास गर्ने भनेर जान्न, तीबाट ज्ञान र अनुभव हासिल गर्न, र यसरी तपाईंको वचनलाई आफ्नो जीवनमा ल्याउन सकूँ, अनि आफ्नो हरेक बोली र कार्यमा, आफ्नो हरेक कदममा, आफ्ना सबै अभिप्राय र आफूले गर्ने हर कुरामा तपाईंको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सकूँ। म यसको आशा गर्छु, म यसको तृष्णा गर्छु, म तपाईंलाई सन्तुष्ट तुल्याउन सामान्य मानवता र साँचो मानव स्वरूपमा जिउने तृष्णा गर्छु। तर अझै म यो हासिल गर्न सक्दिनँ, मेरो भ्रष्टता अझै यति ठूलो छ कि त्यसलाई म आफै महसुससमेत गर्दिनँ। कृपया, मेरो खुलासा गर्नुहोस्, मलाई मद्दत गर्नुहोस, र मेरो भरणपोषण गर्नुहोस्। मलाई अहिले चाहिएको यही हो।” तैँले यस प्रकारको प्रार्थना गर्नुपर्छ र तँसँग यस प्रकारको सङ्कल्प हुनुपर्छ। तैँले यसरी प्रार्थना गरेपछि थाहै नपाई तेरो हृदय र जीवन परिवर्तन हुनेछ, किनकि तँ कसरी प्रार्थना र खोजी गर्छस् त्यो तेरो सङ्कल्पमा र परमेश्वरले तेरो सङ्कल्प पूरा गर्ने तरिकामा झल्किन्छ। तँ सधैँ असफलतादेखि त्रसित भएर हुँदैन, र खासमा तँ साँच्चै केही हुनुअघि नै डराउनुले के प्रमाणित गर्छ भने स्वभाव परिवर्तनको मामिलामा तँमा सङ्कल्प र आस्थाको कमी छ। प्रथमतः तैँले स्वभाव रातारात परिवर्तन हुँदैन भनेर बुझ्नैपर्छ। के तिमीहरूलाई शैतानले मानवजातिलाई रातारात अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको हो भन्ने लाग्छ? अहँ, मानिसहरू शैतानद्वारा हजारौँ वर्षदेखि भ्रष्ट तुल्याइँदै आएका छन्, तिनीहरूको शैतानी प्रकृति पूर्ण रूपमा खुलासा गरिएको छ, र त्यो नियन्त्रण गर्न नसकिने हदमा पुगेको छ, र तिनीहरूको स्वभाविक प्रकटीकरणले शैतानको प्रकटीकरणलाई उछिन्न मात्र सक्छ। तिनीहरू परमेश्वरका शत्रु बन्ने तहमा अनि कुनै कुरा सत्यता, परमेश्वरको वचन, वा परमेश्वरबाट आएको कुरा हो भन्ने सुन्दा आफूलाई अरूचि, तिरस्कार र घृणा लाग्ने हदमा पुगेका हुन्छन्। मानिसहरू त्यस हदसम्म भ्रष्ट र भावशून्य हुन्छन्, त्यसैले तिनीहरूलाई सत्यता बुझ्न सजिलो हुँदैन, झन् स्वभाव परिवर्तन गर्न सजिलो हुने त कुरै छोडौँ। व्यक्तिको स्वभाव परिवर्तन गर्नु उसको व्यवहार परिवर्तन गर्नु जत्तिकै सजिलो हुँदैन। त्यसकारण, हामीले स्वभाव परिवर्तनको यो मामिलालाई सही ढङ्गमा बुझ्नैपर्छ, र त्यसलाई सही मनोवृत्तिले सम्हाल्नैपर्छ। हामीले कल्पनामा चुर्लुम्मै डुबेर यसो भन्न मिल्दैन, “म परमेश्वरमा विश्वास गर्छु, र मैले सुरुदेखि नै उहाँका वचनहरू खाँदै र पिउँदै आइरहेको छु। यदि परमेश्वरले अलि बढी काम गर्नुभयो, अनि केही चिन्ह र अचम्मका कार्यहरू गर्नुभयो भने, के म परिवर्तन हुनेछैनँ र?” यो अवास्तविक विचार र मानव कल्पना हो। यदि हामीले मानव धारणा र कल्पना पछ्याएको भए, परमेश्वरले आफ्नो न्यायको काम गर्नुपर्ने थिएन, न त मानवजातिको भ्रष्टता खुलासा गर्ने यतिका धेरै वचन व्यक्त नै गर्नुपर्ने थियो, झन् मानिसहरूलाई जाँच र शोधन गर्नुपर्ने त कुरै छोडौँ। ल भन् त, परमेश्वरको व्यवस्थापन योजनामा, के उहाँ शैतानलाई हराउन मानवजातिलाई मुक्ति दिनुहुन्छ, कि मानवजातिलाई मुक्ति दिन शैतानसँग लडाइँ गर्नुहुन्छ? (परमेश्वर मानवजातिलाई मुक्ति दिन शैतानसँग लडाइँ गर्नुहुन्छ।) ठिक भनिस्। हामीमा परमेश्वरको व्यवस्थापन योजनाको सही बुझाइ हुनैपर्छ। त्यसैले, भविष्यमा “परमेश्वरले शैतानलाई किन नष्ट गरिहाल्नुहुन्न?” भन्ने मूर्ख अभिव्यक्ति नदे। शैतानको भ्रष्टता नभएको भए, के परमेश्वरले हामीलाई मुक्ति दिन यतिका धेरै सत्यता व्यक्त गर्नुहुनेथ्यो? के हामीले अहिलेसम्म यतिका धेरै सत्यता हासिल गरेका हुनेथियौँ र? शैतानको भ्रष्टता नहुँदो हो त, मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजना कहिल्यै उदय भएको हुन्थेन, न त परमेश्वरले आखिरी दिनहरूमा मानिसहरूको यो समूहलाई सिद्ध पारेर शेष जन बनाउने योजना नै गर्नुभएको हुनेथ्यो। परमेश्वर मानवजातिलाई मुक्ति दिन र मानिसहरूको समूह प्राप्त गर्न शैतानसित लडाइँ गर्नुहुन्छ। परमेश्वर हाम्रो समूहका मानिसहरूलाई सिद्ध पार्नकै निम्ति शैतानसँग लडाइँ गर्न देहधारी हुनुभयो पनि भन्न सकिन्छ। त्यसकारण, हामीले परमेश्वरको इच्छा देखेका छौँ, अनि उहाँको व्यवस्थापन योजनाको लक्ष्य र भित्री आशय भनेको साँचो मानिसहरूको समूह प्राप्त गर्नु हो। यो नै परमेश्वरको व्यवस्थापन योजना हो। त्यसैले, परमेश्वरप्रतिको विश्वासमा स्वभाव परिवर्तन गर्नु, र पूर्ण रूपमा परमेश्वरले प्रेम गर्ने र प्राप्त गर्न चाहने साँचो व्यक्ति बन्नु कति महत्त्वपूर्ण छ भन्ने कुरा तैँले बुझ्न सक्छस्!

के तिमीहरूसँग स्वभाव परिवर्तन गर्ने मार्ग छ? के तिमीहरूलाई कस्ता कुराहरू परिवर्तन हुनेछन् भनेर थाहा छ? के तिमीहरू प्रायः सत्यताको यो पक्षमा सङ्गति गर्छौ? भर्खरै, हामीले कसरी स्वभाव परिवर्तनले बाहिरी व्यवहार वा आचरणमा, वा नियमहरूमा हुने परिवर्तनलाई जनाउँदैन, न त व्यक्तिको व्यक्तित्वमा आउने परिवर्तनलाई नै जनाउँछ भन्नेबारे सङ्गति गऱ्यौँ। त्यसोभए, त्यो ठ्याक्कै के हो? के तिमीहरूले कहिल्यै यसबारे विचार गरेका छौ? पहिला, परमेश्वर हामीले कुन स्वभाव र कुराहरू परिवर्तन गरेको चाहनुहुन्छ भनेर हामीले पत्ता लगाउनै र बुझ्नैपर्छ। स्वभाव परिवर्तन भनेको व्यवहार वा व्यक्तित्वमा हुने परिवर्तन होइन, झन् मानिस अझ बढी ज्ञानी वा विद्वान बन्ने परिवर्तन त हुँदै होइन; परमेश्वर आफ्नो वचनमार्फत् हर व्यक्तिको सोच र दृष्टिकोण परिवर्तन गर्न, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम पार्न चाहनुहुन्छ, ताकि तिनीहरूले कामकुरालाई हेर्ने तरिकामा रूपान्तरण गर्न सकून्। यो एउटा पक्ष मात्र हो, अर्को पक्ष भनेको मानिसहरूले आफूलाई कसरी व्यवहारमा ढाल्छन् भन्नेबारे आधारभूत सिद्धान्तहरू परिवर्तन गर्नु हो, जुन जीवनप्रति तिनीहरूको दृष्टिकोणमा हुने परिवर्तन हो; अझै अर्को पक्षचाहिँ मानिसहरूमा प्रकट हुने गहिरो जरा गाढेको शैतानी प्रकृति र स्वभावलाई परिवर्तन गर्नु हो। सामान्यतया, स्वभाव परिवर्तनमा यी तीन पक्ष पर्छन्।

सुरुमा स्वभाव परिवर्तनको पहिलो पक्ष अर्थात् मानिसहरूले कामकुरालाई हेर्ने तरिकाबारे छलफल गरौँ। मानिसको सोच र दृष्टिकोण त तिनीहरूले हर चीज हेर्ने तरिका हुन्। मान्छे शैतानद्वारा यति गहिरोसँग भ्रष्ट तुल्याइएको छ कि यी सोच र विचारमध्ये धेरैवटा गलत र निरर्थक छन्, अनि परमेश्वर मानिसहरूलाई पहिला तिनीहरूले कामकुरा हेर्ने तरिकालाई परिवर्तन गरेर मुक्ति दिनुहुन्छ। एउटा सामान्य उदाहरण लिऊँ: ज्ञानबारे तिमीहरूको के बुझाइ छ? अनि विज्ञानबारे? के ज्ञान र विज्ञान सत्यता हुन्? के तिनले मानिसको भ्रष्ट स्वभाव हटाउन, र तिनीहरूलाई मानव स्वरूपमा जिउन सक्षम तुल्याउन सक्छन्? के तिनले मानिसलाई शैतानको प्रभावबाट बचाउन सक्छन्? के तिनले मानिसलाई शैतान चिन्न र परमेश्वरको आज्ञापालन गर्न मद्दत गर्न सक्छन्? के तिनले मुक्तितर्फ र राम्रो गन्तव्य प्राप्त गर्नतर्फ डोऱ्याउन सक्छन्? निश्चय नै सक्दैनन्। व्यक्तिको जीवनमा ज्ञानको के काम छ? त्यसले तिनीहरूलाई के दिन सक्छ? कतिपय मानिस ज्ञान भनेको यो संसारको अमूल्य कुरा हो, र आफूसँग जति धेरै ज्ञान हुन्छ, आफ्नो हैसियत त्यति नै बढी र आफू त्यति नै राम्रो, त्यति नै विशिष्ट र सुसंस्कारी हुन्छ, त्यसैले ज्ञान नभई नहुने कुरा हो भन्ठान्छन्। कतिपय मानिस सोच्छन्, यदि तँ मेहनत गरेर पढ्छस् र ज्ञान बढाउँछस् भने तँसँग त्यो सबै हुनेछ। तँसँग हैसियत, पैसा, राम्रो जागिर र राम्रो भविष्य हुनेछ; तिनीहरू ज्ञानविना यस संसारमा जिउन असम्भव छ भन्ने विश्वास गर्छन्। यदि कुनै व्यक्तिसँग ज्ञान छैन भने, सबैले उसलाई हेय दृष्टिले हेर्छन्। उसलाई भेदभाव गरिनेछ, कोही पनि ऊसँग सङ्गत गर्न इच्छुक हुनेछैन; ज्ञानविनाका मानिसहरू समाजको सबैभन्दा तल्लो तप्कामा मात्र जिउन सक्छन्। त्यसकारण तिनीहरू ज्ञानको पूजा गर्छन्, र त्यसलाई अत्यन्तै उच्च र महत्त्वपूर्ण—सत्यताभन्दा पनि उच्च र महत्त्वपूर्ण ठान्छन्। कसैले यसो भन्लान्: “के म ज्ञानविना परमेश्वरका वचनहरू बुझ्न सक्छु? के उहाँले पनि ज्ञान र वचनहरूमार्फत् बोल्नुहुन्न र?” यी दुई निकै बेग्लै कुरा हुन्। अहिले मैले कुरा गरिरहेको ज्ञानले मानव इतिहास, भूगोल, राजनीति, साहित्य, आधुनिक विज्ञान र प्रविधि, वा निश्चित सीप र विषयहरू आदिलाई जनाउँछ। मानिसहरू यो सबै मानव सबलताको पाटो हो, र ज्ञान भएकाहरूमा सबथोक हुन्छन् र तिनीहरू यस संसारमा दृढ रहन सक्छन् भन्ठान्छन्, त्यसैले सबै जना ज्ञानलाई असाध्यै महत्त्वपूर्ण ठान्छन्। छोटकरीमा भन्नुपर्दा, तैँले त्यसलाई जसरी हेरे पनि, यो मानव सोच र दृष्टिकोणको एउटा पक्ष हो। एउटा प्राचीन भनाइ छः “दस हजार पुस्तक पढ्, दस हजार माइल यात्रा गर्।” तर यसको अर्थचाहिँ के हो? यसको अर्थ तैँले जति बढी पढ्छस्, तँ उति नै ज्ञानी र समृद्ध हुनेछस् भन्ने हो। तँलाई सबै समूहका मानिसहरूले ठूलो सम्मान गर्नेछन् र तँसित हैसियत हुनेछ। सबैले हृदयमा यस्तै सोचहरू पाल्छन्। यदि कसैले आफ्नो दयनीय पारिवारिक हालतको कारण कलेज डिप्लोमा हासिल गर्न सकेन भने, त्यसका लागि जीवनभर अफसोस मान्नेछ, र ऊ आफ्ना छोराछोरी र नातिनातिनाले धेरै पढ्नुपर्छ, र विश्वविद्यालयको डिग्री लिनुपर्छ, वा विदेश गएर समेत अध्ययन गर्नुपर्छ भन्ने कुरामा सङ्कल्पित हुन्छन्। यो त सबै जनामा हुने ज्ञानको प्यास, र तिनीहरूले त्यसबारे सोच्ने, त्यसलाई हेर्ने र सम्हाल्ने तरिका हो। त्यसकारण, धेरै आमाबुबा आफ्ना छोराछोरीको पालनपोषण गर्न कुनै कसर बाँकी राख्दैनन्, पारिवारिक सम्पत्ति र सबै थोकसमेत रित्याउँछन्, ताकि आफ्ना छोराछोरीले पढ्न पाऊन। अनि कतिपय आमाबुबा आफ्ना छोराछोरीलाई अनुशासनमा राख्न कुन हदसम्म जान्छन्? रातमा तीन घण्टा मात्र सुत्न दिन्छन्, निरन्तर अध्ययन गर्न र पढ्न बाध्य पार्छन्, वा तिनीहरूलाई प्राचीन मानिसहरूको नक्कल उतार्न लगाउँदै टुप्पी धुरीमा कसाउँछन्, बिलकुलै सुत्न दिँदैनन्। यस्ता कथाहरू, यी दुखद घटनाहरू प्राचीन समयदेखि हालसम्म सधैँ भइरहेकै छन्, र ती कुरा मानवजातिले ज्ञानको तृष्णा र पूजा गर्नुका परिणाम हुन्। तिमीहरूलाई यी शब्दहरू नमिठो लाग्ला, किनकि तिमीहरूमाझ कतिपयमा प्रभावशाली ज्ञान र शैक्षिक योग्यता छन्। निश्चय नै, मैले तिमीहरू शिक्षित हुनु नराम्रो हो भनिरहेको छैनँ, बरु तिमीहरूले यो विषयलाई सही ढङ्गले लिनुपर्छ भनिरहेको छु। अर्थात्, अहिले तिमीहरूसँग शैतानी कुराहरू सम्हाल्ने सही तरिका, अनि तिनलाई बुझ्ने र चिन्ने सही तरिका हुनैपर्छ। म तिमीहरूलाई पढ्न निषेध गरिरहेको छैनँ, झन् आफ्ना छोराछोरीलाई डिग्री र राम्रो जागिर दिलाएर तिनीहरूको पालनपोषण गर्न रोक्नु त परै जाओस्। म यसो भनिरहेको छैनँ। म तिमीहरूलाई प्रतिबन्ध लगाइरहेको छैनँ। म केवल आफ्नो राय बताइरहेको छु र भ्रष्ट मानवजातिले ज्ञानलाई कुन हदसम्म श्रद्धा गर्छ भनेर खुलासा मात्र गरिरहेको छु। हालको तेरो ज्ञान जुन स्तरको भए पनि, वा तेरा डिग्री र शैक्षिक योग्यता जति उच्च भए पनि, अहिले म ज्ञानबारे मानवजातिको दृष्टिकोण र ज्ञानबारे मेरो दृष्टिकोणबारे कुरा गर्दै छु। के तिमीहरूलाई परमेश्वर ज्ञानबारे के सोच्नुहुन्छ भनेर थाहा छ? कसैले भन्ला, परमेश्वर मानवजातिका लागि विकसित विज्ञानको चाहना गर्नुहुन्छ, र मानवजातिले विज्ञानसम्बन्धी अझ धेरै ज्ञान बुझेको चाहनुहुन्छ, किनकि उहाँ मान्छे अति पिछडिएको, अज्ञानी र अबुझ बनेको चाहनुहुन्न। यो सही कुरा हो, तर परमेश्वर यी कुराहरू सेवा गर्न प्रयोग गर्नुहुन्छ, र ती अनुमोदन गर्नुहुन्न। मान्छेको नजरमा यी कुराहरू जति गजबका भए पनि, ती न त सत्यता हुन् न सत्यताका प्रतिस्थापन नै हुन्, त्यसैले परमेश्वर मानिस र तिनीहरूको स्वभाव परिवर्तन गर्न सत्यता व्यक्त गर्नुहुन्छ। परमेश्वरको वचनले बेलाबेला कन्फ्युसियनवाद वा सामाजिक विज्ञानजस्ता ज्ञानलाई हेर्ने दृष्टिकोण वा तरिकाबारे उल्लेख गरे पनि, ती त यस्ता दृष्टिकोणका नमूना मात्र हुन्। हामीले परमेश्वरका वचनहरूको अर्थ बुझेर, उहाँ मानव ज्ञानलाई घृणा गर्नुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। मानव ज्ञानमा आधारभूत वाक्य र सामान्य धर्मसिद्धान्तहरू मात्र हुँदैनन्, केही सोच र दृष्टिकोण, साथै मानव निरर्थकता, पूर्वाग्रह, र शैतानी विषहरू पनि हुन्छन्। कतिपय ज्ञानले मानिसहरूलाई छल गर्न र भ्रष्ट तुल्याउनसमेत सक्छन्—त्यो शैतानको विष र ट्युमर हो, र कुनै व्यक्तिले यस ज्ञानलाई स्विकारेपछि र बुझेपछि, उसको हृदयमा शैतानको विष बढेर ट्युमर बन्नेछ। यो ट्युमर उसको पूरै शरीरभरि फैलिनेछ, परिणामस्वरूप यदि उसलाई परमेश्वरको वचनद्वारा चङ्गाइ गरिएन र सत्यताद्वारा निको पारिएन भने उसको निश्चय नै मृत्यु हुन्छ। त्यसैले, मानिसहरूले जति धेरै ज्ञान हासिल गर्छन्, जति धेरै बुझ्छन्, त्यति नै परमेश्वरको अस्तित्वमा विश्वास गर्ने सम्भावना कम हुन्छ। बरु, वास्तवमा तिनीहरूले उहाँलाई अस्वीकार र प्रतिरोध गर्नेछन्, किनकि ज्ञान भनेको तिनीहरूले देख्न र छुन सक्ने कुरा हो, र त्यो बढीजसो तिनीहरूको जीवनका कुराहरूसँग सम्बन्धित हुन्छ। मानिसहरूले विद्यालयमा अध्ययन गर्न र धेरै ज्ञान हासिल गर्न सक्छन्, तर तिनीहरूलाई ज्ञानको स्रोत र आत्मिक संसारसँग त्यसको सम्बन्धबारे थाहा हुँदैन। मानिसहरूले सिक्ने र बुझ्ने अधिकांस ज्ञान परमेश्वरका वचनहरूको सत्यताविपरीत हुन जान्छ, साथै, विशेष गरी दार्शनिक भौतिकवाद र क्रमविकास नास्तिकवादको झूटो शिक्षा र भ्रमअन्तर्गत पर्छन्। निस्सन्देह, त्यो त परमेश्वरको प्रतिरोध गर्ने भ्रमहरूको पोको हो। यदि तैँले इतिहासका पुस्तक, चर्चित लेखकका कृति, वा महान् व्यक्तिहरूका जीवनीहरू पढिस्, वा सायद निश्चित वैज्ञानिक वा प्राविधिक पक्षहरू अध्ययन गरिस् भने, के प्राप्त गर्नेछस्? उदाहरणका लागि, यदि तैँले भौतिकविज्ञान अध्ययन गरिस् भने तैँले केही भौतिक सिद्धान्त, न्युटनको सिद्धान्त वा अन्य धर्मसिद्धान्तहरूमा महारत हासिल गर्नेछस् तर यी कुराहरू सिकेर मनमा गढेपछि, तिनले तेरो मन कब्जा जमाउनेछन् र ती तेरो सोचाइमाथि हाबी हुनेछन्। त्यसपछि तैँले परमेश्वरको वचन पढ्दा यस्तो सोच्नेछस्: “परमेश्वर किन गुरुत्वाकर्षणबारे कुरा गर्नुहुन्न? बाहिरी अन्तरिक्षबारे किन छलफल गरिँदैन? किन परमेश्वर चन्द्रमामा वायुमण्डल छ-छैन, वा पृथ्वीमा कति अक्सिजन छ भनी कुरा गर्नुहुन्न? परमेश्वरले यी कुराहरू खुलासा गर्नुपर्छ, किनकि मानवजातिलाई साँच्चै थाहा दिनुपर्ने र भन्नुपर्ने कुराहरू ती नै हुन्।” यदि तैँले हृदयमा यस प्रकारका सोचहरू राख्छस् भने, सत्यता र परमेश्वरका वचनहरूलाई गौण ठान्नेछस्, बरु आफ्ना सबै ज्ञान र सिद्धान्तलाई प्राथमिकतामा राख्नेछस्। तैँले परमेश्वरको वचनलाई यसरी लिनेछस्। जसरी पनि, यी बौद्धिक कुराहरूले मानिसहरूलाई गलत विचार दिनेछन् र परमेश्वरबाट तर्काउनेछन्। तिमीहरूले यो कुरा विश्वास गरे पनि नगरे पनि, वा तिमीहरूले यसलाई आजै स्विकार्न सके पनि नसके पनि—तिमीहरूले यो तथ्य स्विकार्ने दिन आउनेछ। के तिमीहरू ज्ञानले कसरी मानिसहरूलाई विनाश, अर्थात् नरकतर्फ लैजान्छ भन्ने कुरा साँच्चै बुझ्छौ? कतिपय मानिस यो स्विकार्न इच्छुक नहोलान्, किनकि तिमीहरूमध्ये कतिपय अत्यन्तै शिक्षित र निकै ज्ञानी छौ। म तिमीहरूको खिल्ली उडाइरहेको वा तिमीहरूलाई व्यङ्ग्य हानिरेहको छैनँ, म त तथ्य मात्र बताइरहेको छु। म तिमीहरूलाई यो कुरा यहीँनेर अहिले नै स्विकार्नू भनिरहेको छैनँ, बरु यो पक्षलाई बिस्तारै बुझ्नू भनिरहेको छु। ज्ञानले तँलाई परमेश्वरले गर्ने हरेक कुरा विश्लेषण गर्न र सम्हाल्न आफ्नो दिमाग र बौद्धिकता प्रयोग गर्न लगाउँछ। यसले तँलाई परमेश्वर चिन्न र उहाँको काम अनुभव गर्न रोक्छ र बाधा दिनेछ, र तँलाई परमेश्वरबाट तर्काउनेछ र उहाँको प्रतिरोध गर्न लगाउनेछ। तर अब त तँसित ज्ञान छ, त्यसैले तँ के गर्छस्? तैँले व्यावहारिक ज्ञान र शैतानबाट आउने अनि झूटो शिक्षा र भ्रमसँग सम्बन्धित ज्ञानबीच फरक छुट्याउनुपर्छ। यदि तँ नास्तिक, निरर्थक ज्ञान मात्र स्विकार्छस् भने, त्यसले परमेश्वरप्रतिको तेरो विश्वासमा बाधा पार्न, उहाँसँगको तेरो सामान्य सम्बन्ध र सत्यता स्वीकारमा अवरोध ल्याउन, अनि तेरो जीवन प्रवेशलाई रोक्न सक्छ। तैँले यो जान्नु आवश्यक छ, किनकि यो सही हो, र तिमीहरूले यो विषयलाई उचितसित बुझ्नुपर्छ। कतिपय दाजुभाइ-दिदीबहिनी अत्यन्तै शिक्षित छन् भन्ने कुरा मलाई थाहा छ, र म तिमीहरूलाई आक्रमण गरिरहेको, खिल्ली उडाइरहेको, वा किनारा लगाइरहेको छैनँ। यो विषय आज अचानक उठ्यो, र यी त तिमीहरूलाई चेतावनी दिन थोरै वचनहरू मात्र हुन्, यो तिमीहरूमध्येका उच्च शैक्षिक योग्यता वा केही ज्ञान र संस्कार भएकाहरूलाई जानाजानी समस्यामा पार्नु होइन। यो तिमीहरूलाई नकारात्मक वा निराश बनाउनलाई होइन, त्यसको लक्ष्य यो बिलकुलै होइन। त्यसोभए, के तिमीहरू त्यसलाई राम्ररी बुझ्न सक्छौ? (हो, सक्छौँ।) यदि सक्छौ भने, म ढुक्क भएँ, र म अलि राहतको सास फेर्न सक्छु।

यति सङ्गति गरेपछि, अब तिमीहरू स्वभाव परिवर्तन गर्नु साधारण कुरा होइन भनेर बुझ्न सक्छौ। यो त धर्मसिद्धान्तहरू बुझ्दैमा र नियमहरू पालन गर्दैमा हासिल हुने कुरा होइन। तैँले पहिला आफूलाई बुझ्नैपर्छ, आफ्नो सोच र दृष्टिकोणबारे चिन्तन गर्न, अनि तीमध्ये परमेश्वरलाई अस्वीकार र प्रतिरोध गर्ने तेरो हृदयमा भएको सोच र दृष्टिकोण, साथै परमेश्वरले घृणा र तिरस्कार गर्ने कुराहरू पत्ता लगाउन सक्नैपर्छ। के तँसँग साँच्चै आफ्नो शैतानी प्रकृति वा प्रायः तैँले प्रकट गर्ने विभिन्न शैतानी स्वभावहरूबारे कुनै बुझाइ छ? के तँ साँच्चै ती विश्लेषण गर्न सक्छस्? भ्रष्ट मानवजाति सबैमा शैतानी स्वभावहरू हुन्छन्, र सबैमा गहिरो जरा गाढेर बसेका गलत सोच र विचारहरू हुन्छन्। हरव्यक्ति उस्तै हुन्छ, तिनीहरूमा सत्यताको प्रतिकूल र परमेश्वरको प्रतिरोधी केही भ्रष्ट स्वभाव हुन्छन्। सत्यतासँग त्यो पटक्कै मिल्दैन, र धेरैजसो मानिसले यो स्विकार्न सक्छन्। मैले भर्खरै मानव ज्ञानलाई कसरी बुझ्ने र किन म त्यो त्यति धेरै निरर्थक र गलत छ भनेर भन्छु भन्नेबारे कुरा गरेँ। यो सुन्दा तिमीहरूमध्ये कतिपयलाई असहज महसुस हुन सक्छ, मानौँ तिमीहरूको घाउमा नुनचुक छर्किदिएको छ, तर त्यो भन्नै पर्थ्यो। तिमीहरूका धेरैजसो गलत दृष्टिकोण ज्ञानबाट आउँछन्, अनि यो बेठिक र निरर्थक ज्ञानले गलत सोच र दृष्टिकोणहरू पैदा गर्छ, जुन तिमीहरूको हृदयमा गहिरो जरा गाडेर बस्छन्। यदि तिमीहरूले यी पथभ्रष्ट दृष्टिकोणहरू हटाएनौ भने, तिमीहरूलाई सत्यता स्विकार्न कठिन हुनेछ, झन् त्यसलाई अभ्यास गर्नु त परै जाओस्। त्यसैले, मलाई आशा छ, तिमीहरू परमेश्वरको वचन र उहाँले व्यक्त गर्ने सम्पूर्ण सत्यता स्विकार्न सक्छौ। तँ अनिच्छुक भए पनि, तैँले त्यो सिक्नुपर्छ र स्विकार्ने कोसिस गर्नुपर्छ। यसरी, तिमीहरूको हृदय परमेश्वरको नजिक हुनेछ, र तिमीहरू उहाँको मापदण्डनजिक हुनेछौ। यदि तिमीहरू परमेश्वरको वचन यस तरिकाले व्यावहारिक रूपमा अनुभव गर्दैनौ, र सत्यता अभ्यास गर्दैनौ भने, परमेश्वरप्रतिको तिमीहरूको विश्वास सधैँ ओठे सेवा मात्र हुनेछ, र सत्यता वास्तविकताभित्र प्रवेश गर्न असम्भव हुनेछ। यस्तै नै होइन र? आज मैले ज्ञानबारे थोरै बोलेको छु, जसले गर्दा तिमीहरूलाई अलि अप्ठ्यारो लाग्यो होला। यदि तिमीहरूलाई असहज लाग्यो भने म क्षमाप्रार्थी छु, तर तिमीहरूले यी वास्तविकताहरू सामना गर्नैपर्छ किनकि ती पन्छाउन मिल्दैन। यदि तँ ती पन्छाउँछस् भने, आफ्नो सोच र दृष्टिकोणभित्रका कुन कुरा सही र कुन गलत हुन् भनेर कहिले चिन्न सक्नेछस्? तैँले चिन्न सक्दैनस्। तैँले एक दिन यी वास्तविकताहरू सामना गर्नुपर्नेछ; जस्तो कि अविश्वासीहरू भन्ने गर्छन: “सत्य लुकाएर लुक्दैन।” अब तैँले परमेश्वरमा विश्वास गर्ने भएकाले, यदि तँ उहाँको सजाय र न्याय स्विकार्न चाहन्छस्, यदि तँ जीवन प्रवेश प्राप्त गर्न, स्वभाव परिवर्तन गर्न र मुक्ति प्राप्त गर्न चाहन्छस् भने, यी वास्तविकताहरू सामना गर्नुपर्छ, आफ्नो पाठ सिक्नुपर्छ, र केही यातना र कष्ट सहनुपर्छ। तँ हृदयमा परमेश्वरलाई प्रार्थना गर्न चाहन्छस् तर तँसित सही शब्दहरू नभएकाले तँ निःशब्द हुन्छस्, र अर्कोपटक आफूले यस्तो कुनै कुरा सामना गर्दा तँलाई फेरि केही दिनसम्म असहज हुनेछ र तँ फेरि पनि निःशब्द हुनेछस्, तर त्यसपछि त्यो सामना गर्दा, तैँले आफ्नो सोच र दृष्टिकोणमा परमेश्वरको प्रतिरोध गर्ने साँच्चै केही कुरा रहेछन् भनेर अनजानमै पत्ता लगाउँछस्; तैँले शिर हल्लाएर इमानदारी र गम्भीरतापूर्वक के स्विकार्न सक्नेछस् भने, परमेश्वरले भनेको सबथोक साँचो हो, त्यसमा कुनै झूट छैन, र परमेश्वरले नै मानवजातिलाई सबैभन्दा राम्ररी चिन्नुहुन्छ, र हरव्यक्तिको हृदयको कुरा उहाँले नै सबैभन्दा राम्ररी बुझ्नुहुन्छ। तँसित यो स्तरको अनुभव हुने दिन आउनेछ, र त्यसपछि तँ परमेश्वरप्रति विश्वासको सही मार्गमा, र आफ्नो जीवन स्वभाव परिवर्तन गर्ने सही मार्गमा हुनेछस्। त्यस बेला, तैँले परमेश्वरले भन्ने हरेक वचनको खण्डन नगर्ने हुनाले, ती सुन्दा तँलाई असहज लाग्नेछैन, र परमेश्वरले खुलासा गर्ने हरेक तथ्यलाई कुनै वितृष्णाविना स्विकार्न सक्नेछस्, र तँ भाग्नेछैनस्। तैँले त्यसको राम्ररी सामना गर्नेछस्, र यसले तँ परमेश्वरको वचनमा प्रवेश गरिसकेको छस् भन्ने कुरा प्रमाणित गर्नेछ। आज हामीले सानो सुरुवात, सानो परीक्षण मात्र गरेका छौँ। तिमीहरूलाई अलि असहज, अलि अप्ठ्यारो लाग्यो होला, तर त्यसले केही फरक पर्दैन। मलाई आपत्ति छैन, र तिमीहरूलाई पनि आपत्ति छैन भन्ने आशा छ, किनकि परमेश्वरको न्यायका वचनहरू यीभन्दा कठोर छन्। यदि परमेश्वरले तिमीहरूलाई साँच्चै न्याय गर्न चाहनुभयो भने, उहाँका वचनहरू अझ बढी चरम हुनेछन्। के तिमीहरूलाई परमेश्वरले सामान्य मानवता नभएको, समझहीन, थाहा भएर पनि परमेश्वरलाई अस्वीकार, निन्दा र प्रतिरोध गर्ने व्यक्ति देख्नुहुँदा दयालु ढङ्गमा बोल्नुहुनेछ भन्ने लाग्छ? के मान्छेको खुलासा गर्दा परमेश्वरको मनोवृत्ति असल हुन सक्छ र? पक्कै सक्दैन। परमेश्वरका वचनहरू अवश्य नै निकै चरम, गहन, र सान्दर्भिक हुनेछन्! यदि तिमीहरू आज हामीले सङ्गति गरेका केही तथ्य स्विकार्न सक्छौ भने, यसले परमेश्वरको वचन, सजाय र न्याय स्विकार्नमा तिमीहरूले राम्रो सुरुवात गरेका छौ भन्ने प्रमाणित गर्छ। यो पहिलो पक्षमा, हामीले सोच र विचारहरूको समस्याबारे एउटा सानो उदाहरणसहित कुरा गरेका छौँ, जुन तिमीहरू सबैलाई थाहै छ, र ज्ञानको विषयलाई विचार गऱ्यौँ। कतिपय मानिसलाई असहज होला भन्ने डरले यो विषयमा मैले खासै धेरै सङ्गति गरिनँ, त्यसैले, तिनीहरूको भावनालाई विचार गर्दै अपूरो तरिकाले र छोटकरीमा भए पनि थोरै मात्र कुरा गरेको छु। मलाई आशा छ, तिमीहरूले क्रमिक रूपमा आफ्नो अनुभवमार्फत त्यो थाहा पाउन, यो क्षेत्रमा बिस्तारै सत्यता खोज्न, र ज्ञानले मानिसलाई के दिन सक्छ भनी अनुभव गर्न सक्छौ। सायद हामी यस विषयबारे भविष्यमा थप सङ्गति गर्नेछौँ, र मलाई आशा छ त्यस बेला तिमीहरूलाई असहज अनुभूति हुनेछैन, र “के यो कुरा मेरो विरुद्धमा छ? के यो मतर्फ लक्षित छ?” भनेर सोच्नेछैनौ। ती कुनै पनि सोच वा विचार तँमा हुनेछैनन्। तर अहिलेलाई हामी पहिलो पक्षबारेको हाम्रो सङ्गतिलाई यहीँ टुङ्ग्याउनेछौँ।

अब हामी स्वभाव परिवर्तनको दोस्रो पक्ष—जीवनप्रतिको दृष्टिकोण—बारे सङ्गति गर्नेछौँ। तिमीहरूको दृष्टिकोण के हो? तिमीहरू कस्ता सिद्धान्तअनुसार जिउँछौ? के तिमीहरूमा कुनै बुझाइ छ? कुनै सिद्धान्तहरू छन् र? के तँलाई कुनै आइडिया छ? अर्थात्, तँ कस्तो प्रकारको व्यक्ति बन्न चाहन्छस्? जीवनप्रति तेरो दृष्टिकोण, तेरो जीवनको दिशा के हो? (परमेश्वरले मन पराउने व्यक्ति बन्नु।) (बाँकी जीवनभर अन्त्यसम्म परमेश्वरलाई पछ्याउनु।) (परमेश्वरलाई चिन्नु।) (आफ्नो भ्रष्ट स्वभावबाट उम्कनु र परमेश्वरद्वारा मुक्ति प्राप्त गर्नु।) तिमीहरूले भनेका सबै कुरा उत्कृष्ट छन्, र त्यसले के प्रमाणित गर्छ भने सत्यता पछ्याइमा तिमीहरू सबै हृदयबाटै कडा मेहनत गर्छौ र सत्यता हासिल गर्न परमेश्वरलाई पछ्याउन सङ्कल्पित हुन्छौ, र तिमीहरूमा आफ्नो आचारणका लागि सही लक्ष्य र दिशा छन्, जसले परमेश्वरप्रतिको आफ्नो विश्वासमा, तिमीहरूको हृदय खोक्रो छैन र तिमीहरू त्यतिकै समय खेर फालिरहेका छैनौ भन्ने देखाउँछ। यस अवधिमा तिमीहरूले केही प्रगति गरेका छौ, यो परिवर्तन हो; कम्तीमा पनि तिमीहरू अविश्वासीहरूले झैँ “जीवन भन्नु नै खानु र लाउनु हो” भन्नेछैनौ। यदि तिमीहरू अरू कसैले त्यस्ता कुराहरू भनेको सुन्यौ भने, तिनीहरूलाई मन पराउनेछैनौ, अनि घृणा र इन्कार गर्नेछौ। तिमीहरू सत्यताभित्र जति नै भित्रसम्म प्रवेश गरेका भए पनि, तिमीहरूमा परमेश्वरलाई पछ्याउने इच्छा हुनुपर्छ। तिमीहरूलाई हृदयमा यो थाहा हुनुपर्छ, “परमेश्वरले हामीलाई उहाँको व्यवस्थापन योजनाको लक्ष्य र रहस्य, अनि मानवजातिलाई मुक्ति दिने उहाँको अभिप्राय खुलासा गरिसक्नुभएकाले, र हामीले उहाँको प्रतिज्ञा र आशिष् देखिसकेकाले, यदि हामी निष्क्रिय रह्यौँ र परमेश्वरको इच्छालाई विचार गरेनौँ भने, उहाँलाई साँच्चै निराश तुल्याइरहेका हुनेछौँ र हामी उहाँप्रति अत्यन्तै ऋणी हुनेछौँ!” यस प्रकारको हृदय हुनुले तिमीहरूको आत्मा जागिसकेको र परिवर्तन हुन थालिसकेको छ भन्ने प्रमाणित गर्छ। जे भए पनि, आफ्नो कर्तव्य निभाउने तिमीहरूको प्रयासलाई हेर्दा, तिमीहरू सबै जना परमेश्वरले माग गर्ने दिशा र लक्ष्यहरूतर्फ कोसिस गरिरहेका छौ, र यो सही हो। पछ्याइबारे तिमीहरूका दृष्टिकोणहरूमा जेजस्ता भिन्नता भए पनि, ती सबै निकै व्यावहारिक छन् र काल्पनिक वा खोक्रा छैनन्। के तिमीहरूलाई हामीसँग परमेश्वरको साँच्चै आज्ञापालन र आराधना गर्ने व्यक्ति हुन खोज्ने दृष्टिकोण हुनुपर्छ भन्ने तिमीहरूलाई लाग्छ? के हामीसँग जीवनबारे त्यस्तो दृष्टिकोण हुनु पर्दैन र, जसमा अबउसो हामी परमेश्वरको प्रतिरोध गर्दैनौँ, उहाँलाई हामीप्रति घृणा र रिस गर्ने, निरन्तर रूपले क्रोधित हुने तुल्याउँदैनौँ, बरु परमेश्वरको हृदयलाई सान्त्वना दिन्छौँ र हामी अब्राहमजस्तै साँचो उपासक हुन्छौ? मानिसहरूमा हुनुपर्ने जीवनबारे दृष्टिकोण यही हो। जब जीवनबारे यस खालको दृष्टिकोण र यस प्रकारका सोचले तेरो हृदयमा जरा गाढेका हुन्छन्, र तँ यो दिशा पछ्याउँछस्, तब के सांसारिक धन, हैसियत, प्रसिद्धि, र लाभको प्रलोभन र लोभ्याइ कम हुनेछैनन् र? जब तँ थाहै नपाई यो दिशामा कडा मेहनत, अभ्यास र अनुभव गर्छस्, तब परमेश्वरका वचनहरू तेरो हृदयमा आफ्नो जीवनको आदर्श, र तेरो अस्तित्वको जग बन्नेछन्; तँलाई थाहा नभई परमेश्वरका वचनहरू तेरो जीवन बन्नेछन्, तँभित्र तेरो जीवन मार्ग बन्नेछन्। त्यस बेला, के संसारको हरेक कुरा तेरा लागि महत्त्वहीन हुनेछैन र? त्यसकारण, जीवनबारे तेरो दृष्टिकोण के हो भन्ने कुरा पनि महत्त्वपूर्ण छ। तँ परमेश्वरप्रतिको आफ्नो विश्वासमा कुन दिशा पछ्याउँछस्? के त्यो सही दिशा हो? के त्यो सही मार्ग हो? तँ परमेश्वरको मापदण्डबाट कति टाढा छस्? यदि तँ परमेश्वरको मापदण्डको आधारमा पछ्याउँछस् भने, तँ सही दिशामै गइरहेको छस्। यदि तँ थोरै बहकिस्, वा थोरै कमजोर भइस्, वा तैँले केही असफलता भोगिस् भने पनि फरक पर्दैन; परमेश्वर त्यो सम्झनुहुन्न, र तेरो जीवन वृद्धि नभइञ्जेल तँलाई सधैँ साथ दिनुहुनेछ। तँलाई परमेश्वरले कस्ता मानिसहरू मन पराउनुहुन्छ भन्ने लाग्छ? परमेश्वर सत्यता पछ्याउने, सङ्कल्पित र इमानदार मानिस मन पराउनुहुन्छ। उहाँ तेरो अज्ञानता, कमजोरी, वा बुद्धिको कमीले गर्दा चिन्तित हुनुहुन्न; तर यदि तँ सत्यता पछ्याउँदैनस्, वा सत्यता बुझ्छस् तर त्यसलाई अभ्यास गर्दैनस्, वा तँ उहाँको वचन नपढीकन आत्मविहीन जनावरझैँ, जीवनमा कुनै लक्ष्य वा दिशाविना जिउँछस् भने परमेश्वर यसलाई घृणा गर्नुहुन्छ—यदि तँसँग परमेश्वरमा विश्वास गर्ने यस्तो मनोवृत्ति छ भने उहाँ त्यसलाई घृणा गर्नुहुन्छ। त्यसकारण, परमेश्वरप्रतिको विश्वासमार्फत् स्वभाव परिवर्तन हासिल गर्न जीवनबारे गुणस्तरीय दृष्टिकोण एकदमै महत्त्वपूर्ण छ। कतिपय मानिस यसो भन्छन्: “जीवनमा मेरो लक्ष्य भनेको परमेश्वरका निम्ति एकदमै उपयोगी, उहाँको सेवा गर्न सक्ने व्यक्ति बन्नु हो।” के यो राम्रो पछ्याइ हो? यो राम्रो होला, तर मानव कद सीमित हुन्छ र मानिसका गुण र अवस्थाहरू फरक-फरक हुन्छन्, त्यसैले तैँले यो लक्ष्य पछ्याउनु सही हो, तर तेरा लागि यो उचित नहुन सक्छ। जीवनबारे मानिसहरूको दृष्टिकोण सत्यता, मानवता, विवेक, र समझ भएको र परमेश्वरको आराधना गर्ने व्यक्ति अर्थत्, वास्तविक व्यक्ति बन्ने हुनुपर्छ। यो सबैभन्दा उचित पछ्याइ हो। कसैले यसो भन्ला: “के हामी अब वास्तविक मानिसहरू होइनौँ र?” बाहिरी रूपले त तँ नै होस्, किनकि तँसँग नाक र आँखा, अनि मानव रूप छ, तर तँ आफ्नो सारको आधारमा अझै वास्तविक व्यक्ति बनेको छैनस्। तँमा अझै धेरै कमी छन् र तँ एकदमै थोरै मात्र सत्यता बुझ्छस्। वास्तविक व्यक्ति, सत्यता र मानवता भएको, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, उहाँको इच्छा पछ्याउने र उहाँको आराधना गर्ने व्यक्ति हुन तैँले सत्यता पछ्याएर प्राप्त गर्नैपर्छ। यो व्यक्तिगत अभ्यासको कुरा हो।

स्वभाव परिवर्तनको तेस्रो पक्ष भनेको व्यक्तिको शैतानी प्रकृति हो। हामीले यसलाई सबैभन्दा बढी बुझ्नैपर्छ र जान्नैपर्छ, किनकि यो स्वभाव परिवर्तनसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। शैतानी प्रकृति भनेको मानवजातिको भ्रष्ट स्वभाव र भ्रष्ट सार हो, अनि यो विषयमा परमेश्वरका धेरै वचन समेटिएका हुन्छन् जसले यो विषयलाई सबैभन्दा बढी खुलासा गर्छन्। यस पक्षबारे परमेश्वरका वचनहरू पनि सबैभन्दा सख्त, साथै धेरै शैलीका हुन्छन्: कतिपयले सिधै खुलासा र न्याय गर्छन् भने अरूचाहिँ अलि मिठो पाराले भनिएका हुन्छन् ताकि मानिसहरूले त्यो स्विकार्न सकून्। तर त्यसलाई जसरी भनिए पनि, वा जस्तो शैली वा लबज प्रयोग गरिए पनि, परमेश्वर मान्छेको सार नै खुलासा गर्नुहुन्छ भन्ने कुरा साँचो हो। परमेश्वर शैतानी प्रकृतिको सबैभन्दा ठेट पक्षलाई दुईवटा अध्यायमा खुलासा गर्नुहुन्छ। शैतानी प्रकृतिको ठेट सार के हो? के तिमीहरूलाई थाहा छ? (विश्वासघात गर्ने प्रकृति।) परमेश्वरका वचनहरूमा प्रकट भएका “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)” र “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)” भन्ने विश्वासघाती प्रकृति नै शैतानी प्रकृतिको ठेट प्रतिनिधित्व हो। मानिसहरूको आत्मधर्मीपन, अहङ्कार, र छल, वा मानवजातिको दुष्टता र प्रतिरोधजस्ता अन्य पक्षहरू—यी सबैलाई हरेक अध्यायमा धेरथोर उल्लेख गरिएको छ, तर यी पक्षहरूको सत्यतालाई विशेष गरी विस्तृत व्याख्या गरिएको कुनै अध्याय छैन। “विश्वासघात” शीर्षकमा मात्र परमेश्वरले दुईवटा अध्यायभरि बोल्नुभएको छ। यसबाट हामी बुझ्न सक्छौँ, परमेश्वरको नजरमा, मानव विश्वासघात अत्यन्तै गम्भीर कुरा हो, त्यसले सिधै उहाँको स्वभावलाई चिढ्याउँछ, र उहाँ त्यसलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ र सराप्नुहुन्छ। परमेश्वर कसरी मानव विश्वासघातको सारलाई विश्लेषण र निराकरण गर्नुहुन्छ? अवश्य पनि, परमेश्वर मानव विश्वासघात मन पराउनुहुन्न। उहाँ त्यसलाई तिरस्कार र घृणा गर्नुहुन्छ, र उहाँलाई विश्वासघात गर्नेहरूलाई घृणा गर्नुहुन्छ। विश्वासघात भनेको शैतानी प्रकृतिकै मूल रूप हो। मानव विश्वासघातको प्रकृतिको मूल कारण कहाँबाट आउँछ? त्यो शैतानबाट आउँछ। त्यसकारण, हामीले स्वभावको यो पक्ष बुझ्नैपर्छ। विश्वासघातको मूल कारण नै शैतान हो, शैतानको प्रकृति नै विश्वासघात हो, र मानिसहरूले कामकुराद्वारा प्रकट गर्ने स्वभावलाई परमेश्वर विश्वासघातको रूपमा हेर्नुहुन्छ। किन परमेश्वर यो कुरालाई त्यस्तो विस्तारमा छलफल गर्नुहुन्छ? किनभने मानव विश्वासघात जतिसुकै बेला जुनसुकै ठाउँमा निरन्तर हुन्छ, र व्यक्तिले जस्तो व्यवहार गरे पनि, मानव प्रकृतिमा गहिरो जरा गाढेको कुराले परमेश्वरको विरोध गर्छ। कतिपय मानिस यसो भन्छन्: “म परमेश्वरको विरोध वा प्रतिरोध गर्न चाहन्नँ!” तर तैँले त्यसै गर्नेछस्, किनकि तँभित्र विश्वासघाती प्रकृति छ, त्यसको मतलब तँ परमेश्वरको आज्ञापालन गर्न, उहाँलाई अन्त्यसम्म पछ्याउन, र परमेश्वरको वचनलाई आफ्नो जीवनको रूपमा पूर्णतया स्विकार्न सक्दैनस्। तैँले विश्वासघातको समस्यालाई कसरी बुझ्नुपर्छ? तैँले परमेश्वरमा विश्वास गरेको जति समय भए पनि, वा तैँले उहाँका जति धेरै वचनहरू खाएको र पिएको भए पनि, वा तँसँग उहाँबारे जति बुझाइ भए पनि—यदि तेरो प्रकृतिले परमेश्वरलाई विश्वासघात गर्छ, र तैँले उहाँको वचनलाई आफ्नो जीवनको रूपमा स्विकारेको छैनस्, अनि तँ उहाँका वचनहरूको सत्यताभित्र प्रवेश गरेको छैनस् भने, तेरो सारले सधैँभरि परमेश्वरलाई विश्वासघात गर्नेछ। भन्नुको मतलब, यदि तेरो स्वभाव परिवर्तन भएको छैन भने, तँ परमेश्वरलाई विश्वासघात गर्ने व्यक्ति होस्। कतिपय मानिस यसो भन्छन्: “म परमेश्वरको वचन र उहाँले भन्ने हरेक कुरा बुझ्न सक्छु। म ती स्विकार्न पनि इच्छुक छु भने मलाई कसरी परमेश्वरलाई विश्वासघात गर्ने व्यक्ति भन्न मिल्छ?” तँ स्विकार्न इच्छुक छस् भन्दैमा त्यसको अर्थ परमेश्वरको वचनअनुसार जिउन सक्छस् भन्ने होइन, झन् तँ तीद्वारा पूर्ण तुल्याइसकिएको हुनु त परको कुरा हो। मानवजातिको विश्वासघाती प्रकृतिको सत्यता गहन छ, र यदि तिमीहरू सत्यताको यो पक्ष बुझ्न चाहन्छौ भने, तिमीहरूलाई एक अवधिको अनुभव चाहिन सक्छ। परमेश्वरका नजरमा, उहाँलाई विश्वास गर्ने हर व्यक्तिले गर्ने हरेक कुरा सत्यताविपरीत हुन्छ, परमेश्वरको वचनसँग मिल्दैन, र उहाँविरोधी हुन्छ। तिमीहरू यो स्विकार्न नसकौला, र यसो भन्छौ: “हामी परमेश्वरको सेवा गर्छौँ, उहाँको आराधना गर्छौँ, परमेश्वरको घरमा आफ्नो कर्तव्य निभाउँछौँ। हामीले धेरै गरेका छौँ, सबै कुरा परमेश्वरको वचन र मापदण्डअनुसार अनि कार्य बन्दोबस्तबमोजिम नै गरेका छौँ। हामी परमेश्वरलाई प्रतिरोध र विश्वासघात गर्छौँ भनेर कसरी भन्न मिल्छ? तपाईं किन सधैँ हाम्रो उत्साहमा आघात पुऱ्याउनुहुन्छ? हामीले ठूलो कठिनाइका साथ आफ्नो परिवार र करियर त्याग्यौँ, र हामी परमेश्वरलाई पछ्याउन सङ्कल्पित थियौँ, तर तपाईं हाम्रो बारेमा कसरी यस्तो बोल्न सक्नुहुन्छ?” यसरी बोल्नुको उद्देश्य सबैले बुझेको सुनिश्चित गर्नलाई होः कसैले राम्रो व्यवहार गर्दैमा, वा कुनै कुरा त्याग्दैमा, वा केही कठिनाइ भोग्दैमा उसको विश्वासघाती प्रकृति परिवर्तन हुँदैन। त्यस्तो हुँदै हुँदैन! आफ्नो कर्तव्य निभाउनु जस्तै कष्ट भोग्नु पनि जरूरी छ, तर तैँले कष्ट भोग्न वा कर्तव्य निभाउन सक्छस् भन्दैमा अब तँमा भ्रष्ट स्वभाव नै छैन भन्ने अर्थ लाग्दैन। किनभने कसैभित्र पनि जीवन स्वभावमा वास्तविक परिवर्तन भएको छैन, र हरव्यक्ति अझै पनि परमेश्वरको इच्छा र उहाँको मापदण्ड पूरा गर्नबाट कोसौँ टाढा छ। मानिसहरूको परमेश्वरप्रतिको विश्वास अति दूषित छ, तिनीहरूको भ्रष्ट स्वभाव अति धेरै प्रकट भएको छ। थुप्रै अगुवा र सेवकले परमेश्वरको सेवा गर्ने भए पनि, परमेश्वरको प्रतिरोध पनि गर्छन्। यसको अर्थ के हो? त्यसको अर्थ तिनीहरू जानाजान परमेश्वरको वचनविरुद्ध जान्छन् र उहाँको इच्छाअनुसार अभ्यास गर्दैनन् भन्ने हो। तिनीहरू जानाजान सत्यता उल्लङ्घन् गर्छन्, आफ्नै इच्छाअनुसार कार्य गर्न, आफ्नै अभिप्राय र उद्देश्य पूरा गर्न, परमेश्वरलाई विश्वासघात गर्न र आफ्नो निर्णय चल्ने आफ्नै स्वतन्त्र राज्य खडा गर्न जिद्दी गर्छन्। परमेश्वरको सेवा पनि गर्नु उहाँको प्रतिरोध पनि गर्नु भनेको यही हो। के अब तिमीहरूले बुझ्यौ?

अब “विश्वासघात” बारे सङ्गति नगरौँ। अझै पनि एउटा ठूलो समस्या छ, जुन शैतानी प्रकृतिको विशेषता अर्थात् अहङ्कार र अभिमान हो। मानवजातिको अहङ्कार जताततै प्रकट हुन्छ र देखिन्छ, र तिनीहरूले चाहेर पनि त्यसलाई नियन्त्रण गर्न सक्दैनन्। त्यो बारम्बार प्रकट र विस्फोट हुन्छ, र मानिसहरू त्यसमा केही गर्न सक्दैनन्। त्यो विस्फोट भएपछि, तिनीहरूले अफसोस मान्नेछन्, र अफसोस मानेपछि फेरि त्यस्तो कहिल्यै हुन नदिने, त्यो फेरि कहिल्यै प्रकट नगर्ने दृढ सङ्कल्प गर्नेछन्, तर त्यसलाई अझै नियन्त्रण गर्नै सक्नेछैनन्। यस्तो किन हुन्छ? किनभने मानिसहरूको स्वभाव परिवर्तन भएको हुँदैन, र तिनीहरूको भ्रष्ट स्वभाव अझै यथावत हुन्छ। यो कहिल्यै तिनीहरूबाट स्वतः हराउनेछैन, र केही आइपर्दा तिनीहरूको भ्रष्ट स्वभाव स्वाभाविक रूपमा प्रकट हुनेछ। यो सब मानवजातिको अहङ्कारी र अभिमानी स्वभावले गर्दा हुन्छ। जब तँ अझ बढी सत्यता बुझ्छस्, त्यसलाई अभ्यास गर्न र सत्यता सिद्धान्तहरू बुझ्न सक्छस्, र जब सत्यताबारे तेरो बुझाइ झन्-झन् व्यावहारिक हुन्छ, र तँसित परमेश्वरबारे ज्ञान हुन्छ र तँ उहाँका मापदण्डनजिक हुन्छस्, जब कामकुराबारे तेरो दृष्टिकोण परिवर्तित भएको हुन्छ—तब तेरो अहङ्कारी स्वभाव क्रमिक रूपमा कम हुँदै जानेछ, बिस्तारै हराउनेछ, र तेरो जीवन स्वभाव परिवर्तन हुन थाल्नेछ। त्यस बेला, तेरो विश्वासघातको समस्या पूर्ण रूपले हल भएको मान्न सकिन्छ, र त्यसपछि मात्र तँ साँच्चै मुक्ति प्राप्त गरेको व्यक्ति हुनेछस्।

शरद्, २००७

अघिल्लो: इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

अर्को: साँचो आज्ञापालनद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्