देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

तिमीहरूले परमेश्‍वरको कार्यका दर्शनहरूलाई जान्‍नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्‍नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ दर्शनहरूको सत्यतामाथि विशुद्ध रूपमा पारङ्गत भइसकेपछि, तेरो प्रवेश सुरक्षित रहनेछ; परमेश्‍वरका कार्यहरू जति नै परिवर्तन भएतापनि, तँ आफ्नो हृदयमा स्थिर रहनेछस्, दर्शनहरूका बारेमा स्पष्ट हुनेछस्, र आफ्नो प्रवेश र आफ्नो खोजीप्रति तेरो एउटा लक्ष्य हुनेछ। यसरी, तँभित्रका सारा अनुभव र ज्ञान अझै गहिरो भएर बढ्नेछन्‌ र अझै विस्तृत हुनेछन्‌। तैँले पूर्ण रूपमा समग्र चित्रलाई बुझेपछि, तैँले जीवनमा कुनै पनि नोकसानीहरूलाई भोग्नु पर्नेछैन, न त तँ बाटो बिराएर नै जानेछस्। यदि तैँले कार्यका यी कदमहरूलाई जानेको छैनस् भने, तैँले हरेक कदममा नोकसानी भोग्नुपर्नेछ, र सबै कुराहरूलाई मिलाउनको लागि तँलाई धेरै दिन लाग्नेछ, न त तँ केही हप्तापछि नै सहि मार्गमा आउन सक्नेछस्। के यसले विलम्ब गराउनेछैन र? तिमीहरूले पूर्ण रूपमा पारङ्गत हुनुपर्ने सकारात्मक प्रवेश र अभ्यासको मार्गमा धेरै कुराहरू छन्। परमेश्‍वरको कार्यका दर्शनहरूको बारेमा कुरा गर्दा, तैँले निम्न बुँदाहरूलाई बुझ्‍नैपर्छ: विजयको सम्बन्धमा उहाँको कार्यको महत्त्व, सिद्ध पारिँदै गरिएको भविष्यको मार्ग, परीक्षाहरू र सङ्कष्टहरूलाई अनुभव गरेर प्राप्त गर्नैपर्ने कुरा, न्याय र सजायको महत्त्व, पवित्र आत्माको कार्यको पछाडि रहेका सिद्धान्तहरू, र सिद्धता र विजयको पछाडि रहेका सिद्धान्तहरू। यी सबै कुराहरू दर्शनहरूको सत्यतामा पर्छन्। बाँकी व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युगमा भएको कार्यका तीन चरणहरूको साथै भविष्यको गवाही हुन्। यी पनि दर्शनहरूको सत्यता हुन्, र ती सबैभन्दा आधारभूत हुनुको साथै सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। वर्तमानमा, तिमीहरूले प्रवेश गर्नुपर्ने र अभ्यास गर्नुपर्ने धेरै कुराहरू छन्, र अहिले यो अझै गहन र अझै विस्तृत छ। यदि तँसँग यी सत्यताहरूको बारेमा कुनै ज्ञान छैन भने, तैँले प्रवेशलाई अझै प्राप्त गर्न बाँकी नै छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। धेरैजसो समयमा, सत्यता सम्बन्धी मानिसहरूको ज्ञान अत्यन्तै सतही हुन्छ; निश्चित आधारभूत सत्यताहरूलाई अभ्यास गर्न तिनीहरू असक्षम हुन्छन् र सानातिना कुराहरूलाई कसरी सम्हाल्ने भन्‍ने कुरा समेत तिनीहरू जान्दैनन्। मानिसहरूले सत्यतालाई व्यवहारमा प्रयोग गर्न नसक्नुको कारण के हो भने तिनीहरूको स्वभाव विद्रोही छ, र आजको कार्यसम्बन्धी तिनीहरूको ज्ञान अत्यन्तै सतही र एकतर्फी छ। तसर्थ, मानिसहरूको लागि सिद्ध बनाइनु त्यति सजिलो कार्य होइन। तँ अत्यन्तै बढी विद्रोही छस्, र तैँले धेरै मात्रामा आफ्नो पुरानो स्वभावलाई कायम राख्छस्; तँ सत्यताको पक्षमा खडा हुन सक्दैनस्, र तँ सबैभन्दा स्पष्ट सत्यताहरूलाई समेत अभ्यास गर्न सक्दैनस्। यस्ता मानिसहरूलाई बचाउन सकिँदैन र तिनीहरू विजय नगरिएका मानिसहरू हुन्। यदि तेरो प्रवेशसँग न त कुनै विवरण छ न त कुनै उद्देश्यहरू छन्‌ भने, तँमा वृद्धि आउन निकै विलम्ब हुनेछ। यदि तेरो प्रवेशमा अलिकति पनि वास्तविकता छैन भने, तेरो खोजी व्यर्थ हुनेछ। यदि तँ सत्यताको सारतत्त्वको बारेमा अनभिज्ञ छस् भने, तँ अपरिवर्तित नै रहनेछस्। वास्तविकतामा प्रवेश गरेर, र यस अतिरिक्त, विस्तृत अनुभवहरूमा प्रवेश गरेर मानिसको जीवनमा वृद्धि र उसको स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ। यदि तेरो प्रवेशको बेला तैँले धेरै विस्तृत अनुभवहरू प्राप्त गरेको छस् भने, र तँसँग धेरै वास्तविक ज्ञान र प्रवेश छ भने, स्वभाव तुरुन्तै परिवर्तन हुनेछ। यदि, वर्तमानमा, तँ अभ्यासको बारेमा पूर्ण रूपमा स्पष्ट छैनस् भने पनि, तँ कम्तीमा पनि परमेश्‍वरको कार्यका दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। अन्यथा, तँ प्रवेशको लागि असमर्थ हुनेछस्; तैँले सत्यताको ज्ञान प्राप्त गरिसकेपछि मात्रै प्रवेश सम्भव हुन्छ। यदि पवित्र आत्माले तँलाई तेरो अनुभवमा अन्तर्दृष्टि दिनुहुन्छ भने मात्रै तैँले सत्यताको गहन बुझाइलाई, र गहन प्रवेशलाई प्राप्त गर्नेछस्। तिमीहरूले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ।

सुरुमा, मानवजातिको सृष्टि गरेपछि, इस्राएलीहरू नै परमेश्‍वरको कामको आधार बनेका थिए। सम्पूर्ण इस्राएल नै पृथ्वीमा यहोवाको कामको आधार थियो। यहोवाको काम व्यवस्थाहरू स्थापित गरेर मानिसलाई प्रत्यक्ष रूपमा डोर्‍याउनु र रखवारी गर्नु थियो, ताकि मानिसले पृथ्वीमा सामान्य जीवन जिउन सकोस् र सामान्य तरिकाले यहोवाको आराधना गर्न सकोस्। व्यवस्थाको युगमा परमेश्‍वरलाई मानिसद्वारा न त देख्न सकिन्थ्यो न त छुन नै सकिन्थ्यो। उहाँले शैतानद्वारा भ्रष्ट तुल्याइएका प्रारम्भिक मानिसहरूलाई सिकाउँदै र रखवारी गर्दै तिनीहरूलाई मार्गदर्शन मात्र गर्नुभएको हुनाले, उहाँका वचनहरूमा व्यवस्था, विधान, र तिनीहरूको आत्म-आचरणका नियमहरू मात्रै समावेश थिए, मानिसहरूलाई जीवन आपूर्ति गर्ने सत्यताहरू थिएनन्। उहाँको अगुवाइअन्तर्गत रहेका इस्राएलीहरू शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएका थिएनन्। उहाँको व्यवस्थाको काम मुक्तिको कामको सबैभन्दा पहिलो चरण, मुक्तिको कामको बिलकुलै सुरुवात मात्रै थियो, र मानिसको जीवन स्वभावमा आउने परिवर्तनहरूसँग यसको लगभग कुनै सम्बन्ध थिएन। त्यसकारण, मुक्तिको कामको सुरुमा उहाँले इस्राएलमा आफ्नो कामका लागि देह धारण गर्नुपर्ने कुनै आवश्यकता थिएन। यसैले गर्दा उहाँलाई मानिससँग संलग्न हुनका लागि एउटा माध्यम—एउटा साधन—आवश्यक पर्‍यो। यसरी, सृजित प्राणीहरूका बीचमा यहोवाको तर्फबाट बोल्ने र काम गर्नेहरू खडा भए, र यसरी नै मानिसका पुत्रहरू र अगमवक्ताहरू मानिसमाझ काम गर्न आए। “मानिसका पुत्रहरूले” यहोवाको तर्फबाट मानिसमाझ काम गरे, र तिनीहरूलाई यहोवाद्वारा “मानिसका पुत्रहरू” भनियो। यसको अर्थ त्यस्ता मानिसहरू यहोवाको तर्फबाट व्यवस्थाहरू स्थापित गर्छन्। तिनीहरू इस्राएलका मानिसहरूमाझका पूजाहारी पनि थिए, ती पूजाहारी जसलाई यहोवाद्वारा रेखदेख र सुरक्षा गरिन्थ्यो, र जसमा यहोवाका आत्माले काम गर्नुहुन्थ्यो; तिनीहरू मानिसहरूमाझका अगुवा थिए र प्रत्यक्ष रूपमा यहोवाको सेवा गर्थे। अर्कोतर्फ, अगमवक्ताहरू यहोवाको तर्फबाट सबै भूमि र कुलका मानिसहरूसँग बोल्नमा तल्लीन थिए। तिनीहरूले यहोवाको कामको पनि अगमवाणी गरे। चाहे मानिसका पुत्रहरू होऊन् वा अगमवक्ताहरू, ती सबै यहोवाका आत्मा स्वयम्‌द्वारा खडा गरिएका थिए र तिनीहरूमा यहोवाको काम थियो। मानिसहरूमध्ये, प्रत्यक्ष रूपमा यहोवाको प्रतिनिधित्व गर्ने तिनीहरू नै थिए; तिनीहरू यहोवाद्वारा खडा गरिएका हुनाले मात्र तिनीहरूले आफ्नो काम गरे, पवित्र आत्मा स्वयम् देहधारी हुनुभएको देह तिनीहरूकै भएकाले होइन। त्यसकारण, तिनीहरू परमेश्‍वरको तर्फबाट बोल्ने र काम गर्ने कुरामा उस्तै भए पनि, व्यवस्थाको युगका ती मानिसका पुत्रहरू र अगमवक्ताहरू देहधारी परमेश्‍वरको देह थिएनन्। अनुग्रहको युग र अन्तिम चरणमा परमेश्‍वरको काम ठीक उल्टो थियो, किनभने मानिसको मुक्ति र न्यायको दुवै काम देहधारी परमेश्‍वर स्वयम्‌द्वारा गरिए, र त्यसैले उहाँको तर्फबाट काम गर्नका लागि फैरि एकपटक अगमवक्ताहरू र मानिसका पुत्रहरूलाई खडा गर्नुपर्ने आवश्यकता छँदै थिएन। मानिसको नजरमा, तिनीहरूको कामको सार र विधिमा कुनै सारगत भिन्‍नता छैन। अनि यही कारणले गर्दा मानिसहरू देहधारी परमेश्‍वरको काम र अगमवक्ताहरू र मानिसका पुत्रहरूको कामबीच निरन्तर झुक्किरहेका हुन्छन्। देहधारी परमेश्‍वरको रूप आधारभूत रूपमा अगमवक्ताहरू र मानिसका पुत्रहरूको जस्तै थियो। अनि देहधारी परमेश्‍वर अगमवक्ताहरूभन्दा अझ बढी सामान्य र अझ बढी व्यावहारिक समेत हुनुहुन्थ्यो। तसर्थ, मानिस तिनीहरूका बीचमा भिन्‍नता छुट्याउन असक्षम हुन्छ। मानिस रूपमा मात्रै ध्यान केन्द्रित गर्छ, दुवैले काम गर्ने र बोल्ने भए पनि तिनीहरूका बीचमा सारगत भिन्‍नता छ भन्‍ने कुरामा ऊ पूर्ण रूपमा अनजान हुन्छ। कामकुराबीच भिन्नता छुट्ट्याउने मानिसको क्षमता अत्यन्तै कमजोर हुने हुनाले, ऊ सरल समस्याहरूका बीचमा भिन्‍नता छुट्याउन असक्षम हुन्छ, यति जटिल कुरा त झन् परै जाओस्। जब अगमवक्ताहरू र पवित्र आत्माद्वारा प्रयोग गरिएका ती मानिसहरूले बोले र काम गरे, तब यो मानिसका कर्तव्यहरू निर्वाह गर्नका लागि थियो, यो सृजित प्राणीको प्रकार्य पूरा गर्नका लागि थियो, र त्यो मानिसले गर्नुपर्ने कुरा थियो। तर, देहधारी परमेश्‍वरका वचनहरू र काम उहाँको सेवकाइ पूरा गर्नका लागि थिए। उहाँको बाहिरी आवरण सृजित प्राणीको जस्तो भए पनि, उहाँको काम उहाँको प्रकार्य पूरा गर्नु नभई उहाँको सेवकाइ पूरा गर्नु थियो। “कर्तव्य” भन्‍ने शब्द सृजित प्राणीहरूका सम्बन्धमा प्रयोग गरिन्छ, जबकि “सेवकाइ” भन्‍ने शब्द देहधारी परमेश्‍वरको देहको सम्बन्धमा प्रयोग गरिन्छ। यी दुईबीच एउटा तात्त्विक भिन्‍नता छ; तिनलाई एक-अर्काको सट्टामा प्रयोग गर्न सकिँदैन। मानिसको काम भनेको आफ्नो कर्तव्य निर्वाह गर्नु मात्रै हो, जबकि परमेश्‍वरको काम भनेको आफ्नो सेवकाइको व्यवस्थापन गर्नु, र त्यसलाई पूरा गर्नु हो। त्यसकारण, धेरै जना प्रेरितलाई पवित्र आत्माद्वारा प्रयोग गरिएको र धेरै जना अगमवक्ता उहाँले भरिएका भए पनि, तिनीहरूका काम र वचनहरू सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने मात्र थिए। तिनीहरूका अगमवाणीहरूले देहधारी परमेश्‍वरद्वारा उल्लिखित जीवनको मार्गलाई उछिनेको हुन सक्छ, र तिनीहरूको मानवताले देहधारी परमेश्‍वरको मानवतालाई समेत उछिनेको हुन सक्छ, तर तिनीहरू अझै पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका थिए, र कुनै सेवकाइ पूरा गरिरहेका थिएनन्। मानिसको कर्तव्यले मानिसको प्रकार्यलाई जनाउँछ; यो मानिसद्वारा हासिल गर्न सकिने कुरा हो। तर, देहधारी परमेश्‍वरद्वारा पूरा गरिने सेवकाइ उहाँको व्यवस्थापनसँग सम्बन्धित हुन्छ, र यो मानिसद्वारा हासिल गर्न सकिँदैन। देहधारी परमेश्‍वरले बोल्नुभए पनि, काम गर्नुभए पनि, वा आश्चर्यकर्महरू प्रकट गर्नुभए पनि, उहाँ आफ्नो व्यवस्थापनको बीचमा महान् काम गरिरहनुभएको हुन्छ, र त्यस्तो काम उहाँको सट्टामा मानिसद्वारा गर्न सकिँदैन। मानिसको काम भनेको परमेश्‍वरको व्यवस्थापनको कामको कुनै एउटा चरणमा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु मात्रै हो। परमेश्‍वरको व्यवस्थापनविना, अर्थात्, यदि देहधारी परमेश्‍वरको सेवकाइ गुम्ने हो भने, एउटा सृजित प्राणीको कर्तव्य गुम्नेथियो। आफ्नो सेवकाइ पूरा गर्नुमा परमेश्‍वरको काम मानिसलाई व्यवस्थापन गर्नु हो, जबकि मानिसले आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको सृष्टिकर्ताका मागहरू पूरा गर्नका लागि आफ्नै दायित्व पूरा गर्नु हो, र यसलाई कुनै पनि हिसाबमा आफ्नो सेवकाइ पूरा गरेको मान्न सकिँदैन। परमेश्‍वरको अन्तर्निहित मूल-तत्त्वका लागि—उहाँका आत्माका लागि—परमेश्‍वरको काम भनेको उहाँको व्यवस्थापन हो, तर सृजित प्राणीको बाहिरी आवरण पहिरिनुहुने देहधारी परमेश्‍वरका लागि, उहाँको काम भनेको उहाँको सेवकाइ पूरा गर्नु हो। उहाँ जे काम गर्नुहुन्छ त्यो उहाँको सेवकाइ पूरा गर्नका लागि हो; मानिसले गर्न सक्ने भनेको परमेश्‍वरको व्यवस्थापनको दायराभित्र र उहाँको मार्गदर्शनअन्तर्गत आफ्नो सक्दो प्रयास गर्नु मात्र हो।

वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो कर्तव्य भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि अन्तर्निहित रूपमै सम्भव छ। त्यसपछि उसको कर्तव्य पूरा हुन्छ। जहाँसम्म मानिसको सेवामा देखिने कमीकमजोरीहरूको कुरा छ, यी कुराहरू प्रगतिशील अनुभव र ऊ न्यायबाट गुज्रने प्रक्रियामार्फत विस्तारै घटाइन्छन्‌; तिनले मानिसको कर्तव्यलाई बाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमीकमजोरीहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न छोड्ने वा हार मानेर पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरू सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरा व्यक्त गर्न सक्दैनन् वा तिनीहरूका लागि अन्तर्निहित रूपमै सम्भव भएका कुराहरूलाई हासिल गर्न सक्दैनन्, र यसको सट्टामा झारा टार्छन् भने, तिनीहरूले सृजित प्राणीमा हुनुपर्ने प्रकार्य गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मामुली” भनेर चिनिन्छन्‌; तिनीहरू काम नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी साँचो अर्थमा सृजित प्राणी भन्न सकिन्छ? के तिनीहरू सडेका कुरा होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? यदि कुनै व्यक्ति आफूलाई परमेश्‍वर भन्छ तैपनि ईश्‍वरत्वको सत्त्व व्यक्त गर्न, परमेश्‍वर स्वयम्‌को काम गर्न, वा परमेश्‍वरको प्रतिनिधित्व गर्न असक्षम छ भने, ऊ निस्सन्देह परमेश्‍वर होइन, किनभने उसमा परमेश्‍वरको मूल-तत्त्व हुँदैन, र परमेश्‍वरले अन्तर्निहित रूपमै हासिल गर्न सक्ने कुरा ऊभित्र हुँदैन। यदि मानिसले अन्तर्निहित रूपमै पाउन सकिने कुरा गुमाउँछ भने, अब उसलाई मानिस मान्न सकिँदैन, र ऊ सृजित प्राणीका रूपमा खडा हुन वा परमेश्‍वरसमक्ष आउन र उहाँको सेवा गर्न योग्य हुँदैन, परमेश्‍वरको अनुग्रह प्राप्त गर्न वा परमेश्‍वरद्वारा हेरचाह गरिन, सुरक्षा दिइन, र सिद्ध पारिन त झनै योग्य हुँदैन। परमेश्‍वरको भरोसा गुमाएका धेरैले परमेश्‍वरको अनुग्रह गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्ट कार्यहरूलाई घृणा नगर्ने मात्र होइन, तिनीहरू परमेश्‍वरको मार्ग गलत छ भन्‍ने विचारलाई निर्लज्जतापूर्वक प्रसार गर्छन्, र विद्रोहीहरू त परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस्तो विद्रोहीपन बोकेका त्यस्ता मानिसहरू कसरी परमेश्‍वरको अनुग्रहको आनन्द लिन अधिकारप्राप्त हुन सक्छन्? आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू परमेश्‍वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू त्यसविपरित परमेश्‍वर नै गलत हुनुहुन्छ भनेर चर्को आलोचना गर्छन्। त्यस्तो व्यक्ति कसरी सिद्ध पारिनका लागि उपयुक्त हुन सक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्‍वरको अघि आफ्नो कर्तव्य पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि तिनीहरू परमेश्‍वरसँग तर्क गर्ने र उहाँसँग प्रतिस्पर्धा गर्ने दुस्साहस गर्छन्। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र त्यसभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई सबै कुरा, आफ्नो जीवनसमेत अर्पण गर्नुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृजित प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिष र प्रतिज्ञाहरूमा रमाउनका लागि, र उहाँद्वारा सिद्ध पारिनका लागि उपयुक्त हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूमाझ जिउनुहुने परमेश्‍वरलाई तिमीहरू कसरी व्यवहार गर्छौ? उहाँको अगाडि तिमीहरूले आफ्नो कर्तव्य कसरी निर्वाह गरेका छौ? के तिमीहरूले आफ्नो ज्यानकै मूल्य चुकाएर भए पनि आफूले सक्नेजति सबै गरेका छौ? तिमीहरूले केको बलिदान गरेका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरू खुट्ट्याउन सक्छौ? तिमीहरू मप्रति कत्तिको बफादार छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई प्रदान गरेका र तिमीहरूका लागि गरेका सबै कुरालाई तिमीहरूले के गर्‍यौ? के तिमीहरूले ती सबैको मापन गरेका छौ? के तिमीहरू सबैले आफूभित्र भएको थोरै विवेकले यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका बोलीवचन र कार्यहरू कसको योग्य हुन सक्छन्? के तिमीहरूको यस्तो सानो बलिदान मैले तिमीहरूलाई प्रदान गरेका सबै कुराको योग्य हुन सक्छ र? म अलिकति पनि सङ्कोच पूर्ण हृदयले तिमीहरूप्रति अर्पित रहिआएको छु, तैपनि तिमीहरू दुष्ट अभिप्रायहरू राख्छौ र मप्रति आधा हृदयका छौ। तिमीहरूले निर्वाह गरेको कर्तव्य, तिमीहरूले गरेको झिनो प्रकार्य त्यही नै हो। कुरा यही नै होइन र? के तिमीहरू सृजित प्राणीको कर्तव्य निर्वाह गर्न पूर्ण रूपमा असफल भएका छौ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन र? तिमीहरूलाई कसरी सृजित प्राणी मान्न सकिन्छ र? तिमीहरू के व्यक्त गरिरहेका छौ र के जिइरहेका छौ भन्‍ने कुरा के तिमीहरूलाई प्रस्ट भएको छैन र? तिमीहरू आफ्नो कर्तव्य पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। यस्तो अनुग्रह तिमीहरू जस्ता मूल्यहीन र नीच मानिसहरूका लागि होइन, केही पनि नमाग्ने र खुसीसाथ बलिदान दिनेहरूका लागि तयार पारिएको हो। तिमीहरू जस्ता मानिसहरू, यस्ता साधारण मानिसहरू, स्वर्गको अनुग्रहको आनन्द लिन पूर्ण रूपमा अयोग्य छन्। कष्ट र अनन्त दण्डले मात्रै तिमीहरूका दिनहरूलाई पछ्याउनेछन्! यदि तिमीहरू मप्रति अर्पित हुन सकेनौ भने, कष्ट भोग्नु नै तिमीहरूको नियति हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कामप्रति जवाफदेही हुन सकेनौ भने, दण्ड नै तिमीहरूको परिणाम हुनेछ। सबै अनुग्रह, आशिष्‌हरू, र राज्यको अद्भूत जीवनको तिमीहरूसँग कुनै सरोकार हुनेछैन। यो तिमीहरूले पाउनुपर्ने अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम हो! ती निर्बुद्धि अहङ्कारीहरूले आफ्नो सक्दो प्रयास नगर्ने वा आफ्नो कर्तव्य निर्वाह नगर्ने मात्र होइन, आफूले मागेको कुरा पाउनैपर्ने हो जस्तो गरी अनुग्रहका लागि हात समेत पसार्छन्। अनि यदि तिनीहरू आफूले मागेको कुरा प्राप्त गर्न असफल भए भने, तिनीहरू अझ बढी छली बन्छन्। त्यस्ता मानिसहरूसँग समझ हुन्छ भनेर कसरी मान्न सकिन्छ? तिमीहरू कमजोर क्षमताका र समझविहीन छौ, व्यवस्थापनको कामको दौरान आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न पूर्ण रूपमा असक्षम छौ। तिमीहरूको मूल्य खस्किसकेको छ। मैले तिमीहरूलाई यस्तो अनुग्रह देखाएकोमा तिमीहरू मलाई ऋण तिर्न असफल हुनु नै चरम विद्रोहीपनको कार्य हो, जुन तिमीहरूलाई दोषी ठहराउन र तिमीहरूको कायरता, असक्षमता, नीचता, र घिनलाग्दोपन प्रदर्शन गर्न पर्याप्त छ। तिमीहरूलाई हात पसारेर राख्ने अधिकार के कुराले दिन्छ? तिमीहरू मेरो काममा अलिकति पनि सहायता गर्न असक्षम हुनु, अर्पित हुन असक्षम हुनु, र मेरो लागि आफ्नो गवाहीमा दृढ रहन असक्षम हुनु तिमीहरूका दुष्कर्म र असफलताहरू हुन्, तैपनि तिमीहरू उल्टै मलाई आक्रमण गर्छौ, मैले गल्ती गर्ने गरेको भन्दै झूटो दाबी गर्छौ, र म अधर्मी भएको भनेर गुनासो गर्छौ। के तिमीहरूको बफादारी यही हो? के तिमीहरूको प्रेम यही हो? तिमीहरू यसबाहेक अरू के काम गर्न सक्छौ? गरिएको सबै काममा तिमीहरूले कसरी योगदान दिएका छौ? तिमीहरूले कति अर्पण गरेका छौ? मैले तिमीहरूलाई दोष नदिएर ठूलो सहिष्णुता देखाइसकेको छु, तैपनि तिमीहरू अझै पनि निर्लज्जतापूर्वक मसँग बहाना बनाउँछौ र गोप्य रूपमा मेरो बारेमा गुनासो गर्छौ। के तिमीहरूमा मानवताको अलिकति पनि नामोनिसान छ? मानिसको कर्तव्यमा धेरैवटा मानव विचार र धारणाको मिसावट भए पनि, तैँले आफ्नो कर्तव्य निर्वाह गर्नैपर्छ र तँ अर्पित हुनैपर्छ। मानिसको काममा हुने अशुद्धताहरू उसको क्षमताको समस्या हो, जबकि, यदि मानिसले आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यसले उसको विद्रोहीपन देखाउँछ। मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि विपत्ति भोग्छ भन्‍ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य प्रतिफल नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु भनिन्छ। आशिष्‌हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले आनन्द लिने आशिष्‌हरूलाई जनाउँछ। विपत्ति आइपर्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, ऊ सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन् वा तिनीहरूमाथि विपत्ति आइपरोस्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; व्यक्तिले, परमेश्‍वरलाई पछ्याउने व्यक्तिले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले विपत्ति आइपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले निर्वाह गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत नै मानिसलाई बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो बफादारी प्रदर्शन गर्छ। यसरी, तँ आफ्नो कर्तव्य जति निर्वाह गर्छस्, तैँले त्यति नै धेरै सत्यता प्राप्त गर्न सक्नेछस्, र तैँले अभिव्यक्त गर्ने कुराहरू त्यति नै व्यावहारिक हुनेछन्। आफ्नो कर्तव्य निर्वाह गर्दा केवल झारा टार्ने र सत्यता नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यता अभ्यास नगरी आफ्नो कर्तव्य निर्वाह गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र विपत्ति भोग्छन्। तिनीहरूले व्यक्त गर्ने कुराहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

अनुग्रहको युगमा, येशूले पनि धेरैवटा वचन बोल्नुभयो र धेरै काम गर्नुभयो। उहाँ यशैयाभन्दा कसरी फरक हुनुहुन्थ्यो? उहाँ दानिएलभन्दा कसरी फरक हुनुहुन्थ्यो? के उहाँ अगमवक्ता हुनुहुन्थ्यो? उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर किन भन्ने गरिन्छ? तिनीहरूका बीचमा के-कस्ता भिन्‍नताहरू छन्? तिनीहरू सबै पुरुष थिए, र तिनीहरू सबै जना वचनहरू बोल्थे, त्यसमाथि तिनीहरू मानिसलाई लगभग उस्तै लाग्थे। तिनीहरू सबै जना वचनहरू बोल्थे र काम गर्थे। पुरानो करारका अगमवक्ताहरू अगमवाणीहरू बोल्थे, र त्यसै गरी, येशूले पनि बोल्न सक्नुहुन्थ्यो। यस्तो किन हुन्छ? यहाँको भिन्‍नता कामको प्रकृतिमा आधारित छ। यस मामलालाई खुट्ट्याउनका लागि, तैँले देहको प्रकृतिलाई ख्याल गर्नै हुँदैन, न त तैँले तिनीहरूका वचनहरूको गहिराइलाई नै ख्याल गर्नुपर्छ। चाहे जेसुकै होस्, तैँले सबैभन्दा पहिले तिनीहरूको कामलाई र तिनीहरूको कामले मानिसमा हासिल गर्ने प्रभावहरूलाई ख्याल गर्नुपर्छ। त्यो बेला अगमवक्ताहरूले बोल्ने भविष्यवाणीहरूले मानिसको जीवन आपूर्ति गर्दैनथे, साथै यशैया र दानिएल जस्ता व्यक्तिहरूले प्राप्त गरेका प्रेरणाहरू केवल अगमवाणी थिए, र जीवनको मार्ग थिएनन्। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो काम गर्न सक्नेथिएन, जुन नश्वरहरूका लागि सम्भव छैन। येशूले पनि धेरैवटा वचन बोल्नुभयो, तर त्यस्ता वचनहरू जीवनको मार्ग थिए जसबाट मानिसले अभ्यासको मार्ग भेट्टाउन सक्थ्यो। अर्थात्, पहिलो, उहाँ मानिसको जीवन आपूर्ति गर्न सक्नुहुन्थ्यो, किनभने येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँ मानिसका विकृत पक्षहरूलाई उल्टाउन सक्नुहुन्थ्यो; तेस्रो, उहाँ यहोवाको कामलाई हातमा लिएर अर्को युगको सुरुवात गर्न सक्नुहुन्थ्यो; चौथो, उहाँ मानिसभित्रका आवश्यकताहरू बोध गर्न र मानिसमा के कमी छ भनी बुझ्न सक्नुहुन्थ्यो; पाँचौँ, उहाँ एउटा नयाँ युगको सुरुवात गर्न र पुरानो युगको अन्त्य गर्न सक्नुहुन्थ्यो। त्यसैकारण उहाँ परमेश्‍वर र ख्रीष्ट हुनुहुन्छ; उहाँ यशैयाभन्दा फरक त हुनुहुन्छ नै, अरू सबै अगमवक्ताभन्दा पनि फरक हुनुहुन्छ। अगमवक्ताहरूको कामको तुलनाका लागि यशैयालाई नै लिऊँ। पहिलो, तिनी मानिसको जीवन आपूर्ति गर्न सक्दैनथे। दोस्रो, तिनी नयाँ युगको सुरुवात गर्न सक्दैनथे। तिनी नयाँ युगको सुरुवात गर्नका लागि नभई यहोवाको अगुवाइअन्तर्गत काम गरिरहेका थिए। तेस्रो, तिनले बोलेका वचनहरू तिनको समझभन्दा बाहिरका थिए। ती परमेश्‍वरका आत्माबाट आएका प्रत्यक्ष प्रकटीकरणहरू थिए, र अरू मानिसहरूले ती वचनहरू सुन्दा बुझ्दैनथे। तिनका वचनहरू अगमवाणीभन्दा बढी केही थिएनन्, यहोवाको सट्टामा गरिएको कामको एउटा पक्षभन्दा बढी केही थिएनन् भनी प्रमाणित गर्न यी थोरै कुरा नै पर्याप्त छन्। तर, तिनी यहोवाको पूर्ण प्रतिनिधित्व गर्न सक्दैनथे। तिनी यहोवाका दास थिए, यहोवाको कामको एउटा साधन थिए। तिनी व्यवस्थाको युगभित्र र यहोवाको कामको दायराभित्र मात्रै काम गरिरहेका थिए; तिनले व्यवस्थाको युगभन्दा बाहिर काम गरेनन्। यसको विपरीत, येशूको काम फरक थियो। उहाँले यहोवाको कामको दायरालाई उछिन्नुभयो; उहाँले देहधारी परमेश्‍वरका रूपमा काम गर्नुभयो र सम्पूर्ण मानवजातिलाई छुटकारा दिनका निम्ति क्रूसीकरण भोग्नुभयो। भन्नुको मतलब, उहाँले यहोवाद्वारा गरिएको कामभन्दा बाहिर नयाँ काम गर्नुभयो। यो एउटा नयाँ युगको सुरुवात थियो। यसका साथै, उहाँ मानिसले हासिल गर्न नसक्ने कुराहरू बोल्न सक्नुहुन्थ्यो। उहाँको काम परमेश्‍वरको व्यवस्थापनभित्रको काम थियो र यो सम्पूर्ण मानवजातिसँग सम्बन्धित थियो। यसले थोरै मानिस मात्र समेट्दैनथ्यो, न त यसको उद्देश्य सीमित मानिसलाई डोर्‍याउने नै थियो। जहाँसम्म परमेश्‍वर कसरी मानवका रूपमा देहधारी हुनुभयो, त्यो बेला आत्माले कसरी प्रकटीकरणहरू दिनुभयो, र काम गर्नका लागि आत्मा कसरी मानवमाथि ओर्लनुभयो भन्‍ने कुरा छ—यी त्यस्ता मामला हुन् जसलाई मानिसले देख्न वा छुन सक्दैन। यी सत्यताहरूले उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणका रूपमा काम गर्न पूर्ण रूपमा असम्भव छ। त्यसकारण, परमेश्‍वरका ती वचनहरू र कामबीच मात्रै भिन्‍नता छुट्याउन सकिन्छ, जसलाई मानिसले अनुभूत गर्न सक्छन्। यो मात्रै वास्तविक हो। किनभने आत्माका मामलाहरू तेरो लागि अदृश्य छन् र ती परमेश्‍वर स्वयम्‌लाई मात्रै प्रस्ट रूपमा थाहा हुन्छ, र परमेश्‍वरको देहधारी शरीरलाई समेत सबै कुरा थाहा हुँदैन; तैँले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा उहाँले गर्नुभएको कामबाट मात्र निश्चित गर्न सक्छस्। उहाँको कामबाट यो देख्न सकिन्छ कि, पहिलो, उहाँ एउटा नयाँ युगको सुरुवात गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र मानिसलाई पछ्याउने मार्ग देखाउन सक्षम हुनुहुन्छ। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ भनी स्थापित गर्न यति नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कामले परमेश्‍वरका आत्माको पूर्ण प्रतिनिधित्व गर्न सक्छ, र त्यस्तो कामबाट परमेश्‍वरका आत्मा उहाँभित्रै हुनुहुन्छ भनी देख्न सकिन्छ। देहधारी परमेश्‍वरद्वारा गरिएको काम मुख्य रूपमा नयाँ युगको सुरुवात गर्न, नयाँ कामलाई डोर्‍याउन, र एउटा नयाँ क्षेत्र खोल्नका लागि भएको हुनाले, उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्ने कुरा स्थापित गर्न यी कुराहरू मात्रै पनि पर्याप्त छन्। यसरी यसले उहाँलाई यशैया, दानिएल, र अन्य महान् अगमवक्ताहरू भन्दा फरक बनाउँछ। यशैया, दानिएल, र अरू सबै उच्च रूपमा शिक्षित र सुसंस्कृत मानिसहरूको वर्गका थिए; तिनीहरू यहोवाको अगुवाइअन्तर्गतका असाधारण मानिस थिए। देहधारी परमेश्‍वरको देह पनि ज्ञानी थियो र उहाँमा समझको कुनै कमी थिएन, तर उहाँको मानवता अत्यन्तै सामान्य थियो। उहाँ एक साधारण व्यक्ति हुनुहुन्थ्यो, र नाङ्गो आँखाले उहाँमा कुनै विशेष मानवता छ भनी खुट्ट्याउन वा उहाँको मानवतामा अरूको भन्दा फरक कुनै कुरा पत्ता लगाउन सक्दैनथ्यो। उहाँ पटक्कै अलौकिक वा अद्वितीय हुनुहुन्नथ्यो, उहाँ उच्च रूपमा शिक्षित हुनुहुन्नथ्यो, र उहाँसँग कुनै उच्च ज्ञान वा सिद्धान्त थिएन। उहाँले उल्लेख गर्नुभएको जीवन र उहाँले डोर्‍याउनुभएको मार्ग सिद्धान्तमार्फत, ज्ञानमार्फत, वा संसारसँग व्यवहार गर्ने उहाँको अनुभवमार्फत प्राप्त गरिएका थिएनन्, न त ती उहाँको पारिवारिक पालनपोषणको नतिजास्वरूप नै आएका थिए। बरु, ती त आत्माको प्रत्यक्ष काम थिए, जुन देहधारी शरीरको काम हो। मानिससँग परमेश्‍वरसम्बन्धी ठूला धारणाहरू हुने हुनाले, र विशेष गरी यी धारणाहरू अत्यन्तै धेरै अस्पष्ट र अलौकिक तत्त्वले बनेका हुनाले, मानिसको नजरमा, मानव कमजोरी भएको, र सङ्केत र आश्‍चर्यकर्महरू गर्न नसक्ने यो सामान्य परमेश्‍वर निश्‍चय नै परमेश्‍वर हुनुहुन्न। के यी मानिसका भ्रामक धारणाहरू होइनन् र? यदि देहधारी परमेश्‍वरको देह सामान्य व्यक्ति नभएको भए, उहाँलाई कसरी देहधारी देह भन्न सकिन्थ्यो र? देहको हुनु भनेको नै एक साधारण, सामान्य व्यक्ति हुनु हो; यदि उहाँ पराभौतिक प्राणी हुनुभएको भए, उहाँ देहको हुनुहुनेथिएन। उहाँ देहको हुनुहुन्छ भनी प्रमाणित गर्न, देहधारी परमेश्‍वरसँग सामान्य देह हुनु आवश्यक थियो। यो केवल देहधारणको महत्त्वलाई पूरा गर्नका लागि थियो। तर, अगमवक्ताहरू र मानिसका पुत्रहरूका हकमा यस्तो थिएन। तिनीहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका वरदानयुक्त मानिस थिए; मानिसको नजरमा, तिनीहरूको मानवता अत्यन्तै ठूलो थियो, र तिनीहरूले सामान्य मानवतालाई उछिन्ने कार्यहरू धेरै गरे। यसैकारण, मानिसले तिनीहरूलाई ईश्‍वर मान्यो। अब तिमीहरू सबैले यो कुरा प्रस्ट रूपमा बुझ्नैपर्छ, किनभने बितेका युगहरूमा सबै मानिस सबैभन्दा सजिलै अलमलिने विषय यही नै रहिआएको छ। यसका साथै, देहधारण यावत् थोकमध्ये सबैभन्दा रहस्यमय कुरा हो, र मानिसलाई स्विकार्न सबैभन्दा गाह्रो लाग्ने भनेको देहधारी परमेश्‍वर हो। म जे भन्छु त्यसले तिमीहरूको प्रकार्य पूरा गर्न र तिमीहरूलाई देहधारणको रहस्य बुझ्न सहज तुल्याउँछ। यो सबै परमेश्‍वरको व्यवस्थापनसँग, दर्शनहरूसँग सम्बन्धित छ। यसबारे तिमीहरूको बुझाइ दर्शनहरूको, अर्थात्, परमेश्‍वरको व्यवस्थापनको कामको ज्ञान प्राप्त गर्नका लागि अझ बढी लाभदायक हुनेछ। यसरी, तिमीहरूले फरक-फरक प्रकारका मानिसहरूले निर्वाह गर्नुपर्ने कर्तव्यका बारेमा पनि धेरै बुझाइ प्राप्त गर्नेछौ। यी वचनहरूले तिमीहरूलाई प्रत्यक्ष रूपमा मार्ग नदेखाए पनि, तिनले तिमीहरूको प्रवेशमा अझै पनि ठूलो मद्दत गर्छन्, किनभने वर्तमानमा तिमीहरूको जीवनमा दर्शनहरूको धेरै कमी छ, र यो तिमीहरूको प्रवेशलाई रोक्ने एउटा ठूलो बाधा बन्नेछ। यदि तिमीहरूले यी समस्याहरू बुझ्न सकेका छैनौ भने, तिमीहरूको प्रवेशलाई अघि बढाउने कुनै प्रेरणा हुनेछैन। अनि त्यस्तो पछ्याइले तिमीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न कसरी सक्षम तुल्याउन सक्छ र?

अघिल्लो: परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्

अर्को: परमेश्‍वर सबै सृजित प्राणीका प्रभु हुनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्