अध्याय १३

परमेश्‍वरले ठूलो रातो अजिङ्गरका सबै सन्तानलाई घृणा गर्नुहुन्छ, र उहाँले ठूलो रातो अजिङ्गर स्वयम्‌लाई अझै बढी घृणा गर्नुहुन्छ: परमेश्‍वरको हृदयभित्र रहेको क्रोधको स्रोत यही हो। के देखिन्छ भने, परमेश्‍वरले जलाएर नष्ट पार्नको लागि ठूलो रातो अजिङ्गरका सबै कुरालाई आगो र गन्धकको कुण्डमा फ्याँक्‍न चाहनुहुन्छ। कतिपय समयमा त परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई व्यक्तिगत रूपमै हटाउनको लागि आफ्‍नो हात पसार्न चाहनुहुन्छ भन्‍ने देखिन्छ—त्यसरी मात्रै उहाँको हृदयको घृणा हट्न सक्‍नेथियो। ठूलो रातो अजिङ्गरको घरका हरेक व्यक्ति मानवताहीन पशु हुन्, र परमेश्‍वरले निम्‍न कुरा बताउनको लागि आफ्‍नो रिसलाई कठोरताको साथ दबाउनको कारण यही हो: “मेरा सबै मानिसहरूमाझ र मेरा सबै सन्तानका माझ, मतलब, मैले सम्पूर्ण मानवजातिबाट छानेका व्यक्तिहरूमाझ, तिमीहरू सबैभन्दा तल्लो समूहमा छौ।” परमेश्‍वरले ठूलो रातो अजिङ्गरसँग त्यसको आफ्‍नै देशमा निर्णायक युद्ध लड्न थाल्‍नुभएको छ, र उहाँको योजना पूरा भएपछि उहाँले यसलाई जित्‍नुहुनेछ, र त्यसउप्रान्त मानवजातिलाई भ्रष्ट तुल्याउन वा तिनीहरूका प्राण नाश गर्न दिनुहुनेछैन। हरेक दिन, परमेश्‍वरले उहाँका निदाइरहेका मानिसहरूलाई मुक्ति दिनको लागि बोलाउनुहुन्छ, तैपनि तिनीहरू बेहोस अवस्थामा छन्, मानौं तिनीहरूले निन्द्रा लाग्‍ने चक्‍की खाएका छन्। यदि परमेश्‍वरले तिनीहरूलाई एक क्षणको लागि समेत जगाउन छोड्नुभयो भने, तिनीहरू आफ्‍नो निदाएको, पूर्ण अचेत अवस्थामा फर्कन्छन्। के देखिन्छ भने उहाँका सबै मानिसहरूको एक-तिहाइ भागमा पक्षाघात भएको छ। तिनीहरूलाई आफ्ना खाँचोहरू वा आफ्ना कमीकमजोरीहरूको बारेमा थाहा छैन, न त तिनीहरूलाई आफूले के लाउनुपर्छ वा के खानुपर्छ भन्‍ने नै थाहा छ। ठूलो रातो अजिङ्गरले मानिसहरूलाई भ्रष्ट तुल्याउनको लागि निकै धेरै प्रयास लगाएको छ भन्‍ने कुरालाई देखाउन यो नै पर्याप्त छ। यसको कुरूपता, चीनको हरेक क्षेत्रमा फैलिएको छ, र यसले मानिसहरूलाई यति व्याकुल बनाएको छ कि तिनीहरू यो पतित, असभ्य देशमा अबउप्रान्त बस्‍न चाहँदैनन्। परमेश्‍वरले सबैभन्दा बढी ठूलो रातो अजिङ्गरको सारलाई नै घृणा गर्नुहुन्छ, त्यही कारणले गर्दा, उहाँको क्रोधमा उहाँले मानिसहरूलाई हरेक दिन स्मरण गराउनुहुन्छ, र तिनीहरूले उहाँको क्रोधपूर्ण नजरमुनि हरेक दिन बिताउँछन्। तैपनि, धेरैजसो मानिसहरूलाई परमेश्‍वरको खोजी कसरी गर्ने भन्‍ने अझै थाहा छैन; बरु, तिनीहरू अरूले हातैले खुवाउनुपर्ने अवस्थामा, प्रतीक्षा गर्दै बसिरहन्छन्, हेरिरहन्छन्। यदि तिनीहरू भोकले मरणासन्न भए पनि, तिनीहरूले अझै पनि आफ्‍नो खानेकुरा आफै खोज्‍न इच्छुक हुनेछैनन्। मानिसको विवेकलाई शैतानले धेरै पहिले नै भ्रष्ट तुल्याइसकेको छ र यसको सार बदलेर कठोर तुल्याएको छ। परमेश्‍वरले यसो भन्‍नु स्वाभाविकै हो, “मैले तिमीहरूलाई नझकझकाएको भए, तिमीहरू अझै बिउँझनेथिएनौ, बरु जमेजस्तै गरी र अझै शीतनिद्रामा भएजस्तै गरी रहिरहनेथियौ।” मानिसहरूको अवस्था यस्तो छ मानौं तिनीहरू खाद्य वा पेय पदार्थको आवश्यकता नपर्ने गरी हिउँदको समय बिताइरहेका शितनिद्रामा रहेका पशु-प्राणी हुन्; परमेश्‍वरका मानिसहरूको हालको अवस्था ठीक यस्तै छ। यही कारणले गर्दा, परमेश्‍वरले मानिसहरूलाई ज्योतिमा देहधारी परमेश्‍वर स्वयम्‌लाई चिन्‍न सक भनेर मात्रै भन्नुहुन्छ; उहाँले मानिसहरूलाई धेरै परिवर्तन होओ भनेर भन्नुहुन्न, न त तिनीहरूको जीवनमा ठूलो वृद्धि होस् भन्‍ने नै सर्त राख्नुहुन्छ। फोहोरी, घिनलाग्‍दो ठूलो रातो अजिङ्गरलाई हराएर, अझै बढी परमेश्‍वरको महान् शक्तिलाई प्रकटीकरण गर्नको लागि त्यो नै पर्याप्त हुनेछ।

जब मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरूले तिनको शाब्दिक अर्थ मात्रै बुझ्छन्, र तिनीहरूको आत्मिक महत्त्वलाई बोध गर्न सक्दैनन्। “अशान्त छालहरू” भन्‍ने शब्‍दहरूले नै हरेक नायक र शूरवीरलाई समेत तीन छक्‍क पारेको छ। जब परमेश्‍वरको क्रोध प्रकट हुन्छ, के उहाँका वचनहरू, कार्यहरू, र स्वभाव अशान्त छालहरू जस्तै हुँदैनन् र? जब परमेश्‍वरले सबै मानवजातिलाई न्याय गर्नुहुन्छ, के त्यो उहाँको क्रोधको प्रकटीकरण होइन र? के यो अशान्त छालहरू शक्तिमा आउने समय होइन र? आफ्‍नो भ्रष्टताको कारणले, मानिसमध्ये को यस्तो अशान्त छालहरूको बीचमा जिउँदैन र? अर्को शब्‍दमा भन्दा, को परमेश्‍वरको क्रोधको बीचमा जिउँदैन र? जब परमेश्‍वरले मानवजातिलाई महाविपत्तिमा पार्न चाहनुहुन्छ, के मानिसहरूले “काला बादलहरूको मडारिँदो लहर” देख्‍ने समय त्यही होइन र? कुन व्यक्ति महाविपत्तिबाट भाग्दैन र? परमेश्‍वरको क्रोध भीषण वर्षा जस्तै ओइरिन्छ र तीव्र बतासले जस्तै मानिसहरूलाई उडाउँछ। हिम-आँधीको भुमरीमा परेजस्तै सबै मानिसहरू परमेश्‍वरका वचनहरूद्वारा शुद्ध तुल्याइन्छन्। परमेश्‍वरका वचनहरू मानवजातिले बुझ्‍न कठिन छन्। उहाँले आफ्‍ना वचनहरूद्वारा संसार सृष्टि गर्नुभयो, र उहाँले आफ्‍ना वचनहरूद्वारा सबै मानवजातिलाई अगुवाइ गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ। आखिरमा, उहाँले सम्पूर्ण ब्रह्माण्डलाई आफ्‍ना वचनहरूले शुद्ध पार्नको लागि पुनर्स्थापित गर्नुहुनेछ। उहाँले बताउनुहुने सबै कुरामा परमेश्‍वरका आत्मा खोक्रो हुनुहुन्‍न भन्‍ने देख्‍न सकिन्छ, र उहाँका वचनहरूमा मात्रै मानिसहरूले कसरी जिउने भन्‍ने कुराको झलक देख्‍न सक्छन्। सबै मानिसहरूले उहाँका वचनहरूलाई बहुमूल्य ठान्छन्, किनभने तिनमा जीवनका प्रावधान छन्। मानिसहरूले परमेश्‍वरका वचनहरूमा जति धेरै ध्यान दिन्छन्, परमेश्‍वरले तिनीहरूलाई त्यति नै धेरै प्रश्‍न गर्नुहुन्छ—यस्ता प्रश्‍नहरू जसले तिनीहरूलाई अलमलमा पार्छन् र तिनीहरूलाई उत्तर दिने कुनै मौका नै दिँदैनन्। परमेश्‍वरको यसपछिका प्रश्‍नहरू मात्रै पनि मानिसहरूलाई केही समय विचारमग्न हुनको लागि पर्याप्त छन्, उहाँका बाँकी वचनहरूको त कुरै नगरौं। परमेश्‍वरमा, सबै कुरा साँचो रूपमा पूर्ण र प्रशस्‍त छन्, र कुनै पनि कुराको कमी छैन। तैपनि, मानिसहरूले यसबाट त्यति धेरै आनन्द लिन सक्दैनन्; कुखुराको छाला देख्‍ने तर त्यसको मासु खान नसक्‍ने मानिसजस्तै तिनीहरूले उहाँका वचनहरूको सतह मात्रै जानेका हुन्छन्। यसको अर्थ, मानिसहरूले सम्पत्ति भए पनि भोकमरीमा जीवन बिताइरहेका छन्, त्यसकारण तिनीहरूले परमेश्‍वरमा आनन्द लिन सक्दैनन्। हरेक व्यक्तिका धारणाहरूमा, तिनीहरूका आफ्‍नै परमेश्‍वरको स्वरूप हुन्छ, त्यही कारणले गर्दा अस्पष्ट परमेश्‍वर भनेको के हो वा शैतानको स्वरूप भनेको के हो सो कसैलाई पनि थाहा छैन। त्यसकारण, जब परमेश्‍वरले “किनकि यस्तो बेला तैँले जे कुरामा विश्‍वास गर्छस् त्यो केवल शैतानको आकृति मात्र हुन्छ र परमेश्‍वर स्वयम्‌सँग भने यसको कुनै सम्बन्ध हुँदैन,” भनी भन्‍नुभयो, हामी सबै अक्क न बक्‍क भयौं: तिनीहरूले धेरै वर्षदेखि विश्‍वास गरेका थिए, तैपनि तिनीहरूले जे विश्‍वास गरेका थिए, त्यो परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्‍नथ्यो, बरु शैतान थियो भन्‍ने तिनीहरूलाई थाहा थिएन। तिनीहरूले अचानक आफूभित्र रिक्तताको अनुभव गरे, तर के भन्‍ने सो तिनीहरूलाई थाहा थिएन। तिनीहरू फेरि पनि अन्योलमा पर्न थाले। यसरी काम गरेर मात्रै मानिसहरूले नयाँ ज्योतिलाई अझै राम्ररी स्वीकार गर्न सक्छन्, र त्यस प्रकार पुराना कुराहरूलाई इन्कार गर्न सक्छन्। यी कुराहरू जति नै असल देखिए पनि, ती कुराहरूले काम गर्नेछैनन्। मानिसहरूले व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई बुझ्‍नु अझै बढी फाइदाजनक हुन्छ; यसले तिनीहरूको धारणाले तिनीहरूको हृदयमा लिएको हैसियतलाई हटाउँछ, र त्यसमा परमेश्‍वर स्‍वयम्‌लाई मात्रै स्‍थान लिन दिन्छ। यसरी मात्रै देहधारणको महत्त्वलाई हासिल गर्न सकिन्छ, जसले मानिसहरूलाई आफ्‍नै भौतिक आँखाले व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई चिन्‍न सक्षम तुल्याउँछ।

परमेश्‍वरले मानिसहरूलाई धेरै पटक आत्मिक संसारको अवस्थाको बारेमा बताउनुभएको छ: “जब शैतान मेरो अगाडि आउँछ, म यसको प्रचण्ड भयङ्करतासँग डराएर पछि हट्नेछैन, न त म यसको बीभत्स रूपदेखि नै डराउनेछु। म त यसलाई केवल बेवास्ता गर्नेछु।” यसबाट मानिसहरूले वास्तविकताको अवस्था मात्रै बुझेका छन्; तिनीहरूलाई आत्मिक संसारको सत्यताको बारेमा थाहा छैन। परमेश्‍वर देह बन्‍नुभएको हुनाले, शैतानले परमेश्‍वरलाई आक्रमण गर्ने प्रयास गर्दै हरकिसिमका दोषारोपणहरू प्रयोग गरेको छ। तैपनि, परमेश्‍वर पछि हट्नुहुन्‍न; आफ्‍नो देहधारी शरीरबाट आफूलाई मानिसहरूमाझ चिनाउँदै, उहाँले मानवजातिको बीचमा बोल्‍ने र काम गर्ने मात्रै गर्नुहुन्छ। यस कुराप्रति शैतान रिसले चूर हुन्छ, र परमेश्‍वरका मानिसहरूलाई नकरात्मक बनाउन, पछि हट्न लगाउन, र आफ्नो मार्ग गुमाउने तुल्याउनको लागि धेरैभन्दा धेरै प्रयास गरेको छ। तैपनि, परमेश्‍वरका वचनहरूको प्रभावको कारण, शैतान पूर्ण रूपमा असफल भएको छ, र यसले यसको उग्रतालाई अझ बढाएको छ। त्यसकारण, परमेश्‍वरले हरेकलाई यो कुरा स्मरण गराउनुहुन्छ, “तेरो जीवनमा, एक दिन यस्तो समय आउन सक्छ, जुन बेला तैँले पनि त्यस्तै परिस्थितिको सामना गर्नेछस्: के तैँले जानीजानी आफूले आफैलाई शैतानको बन्धनमा फस्‍न दिन्छस्, वा तँलाई प्राप्त गर्न मलाई अनुमति दिन्छस्?” आत्मिक संसारमा के हुन्छ भन्‍ने कुरा मानिसहरूलाई थाहा नभए पनि, तिनीहरूले परमेश्‍वरबाट यस्ता वचनहरू सुन्‍नेबित्तिकै, तिनीहरू सावधान र भयभीत हुन्छन्। यसले शैतानका आक्रमणहरूलाई प्रहार गर्छ, जुन परमेश्‍वरको महिमा देखाउनको लागि पर्याप्त छ। धेरै पहिले नै काम गर्ने नयाँ विधिमा प्रवेश गरिसकेको भए पनि, मानिसहरू अझै पनि राज्यमा बिताइने जीवनको बारेमा अस्पष्ट नै छन्, अनि तिनीहरूले यसलाई बुझे पनि, तिनीहरूमा स्पष्टता छैन। त्यसकारण, मानिसहरूलाई चेतावनी दिइसकेपछि, परमेश्‍वरले तिनीहरूलाई राज्यमा बिताइने जीवनको सारसँग परिचित गराउनुभयो: “राज्यमा भएको जीवन भनेको मानिसहरू र परमेश्‍वर स्वयम्‌को जीवन हो।” परमेश्‍वर स्‍वयम्‌ नै देहमा देहधारी हुनुभएको हुनाले, तेस्रो स्वर्गको जीवन पृथ्वीमा ठोस रूपमा देखा परेको छ। यो परमेश्‍वरको योजना मात्रै होइन—उहाँले त यसलाई पूरा गरिसक्‍नुभएको छ। समय बित्दै जाँदा, मानिसहरूले परमेश्‍वर स्‍वयम्‌लाई अझै राम्ररी चिन्छन्, र त्यसरी तिनीहरूले स्वर्गको जीवनलाई अझै बढी चाख्‍न सक्छन्, किनभने तिनीहरूले स्वर्गमा अस्पष्ट परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभूति गर्नुको साटो, परमेश्‍वर त पृथ्वीमै नै हुनुहुन्छ भन्‍ने साँचो अनुभव गर्न सक्छन्। तसर्थ, पृथ्वीको जीवन स्वर्गको जीवन जस्तै छ। वास्तविकता के हो भने देहधारी परमेश्‍वरले मानव संसारको तिक्ततालाई चाख्नुहुन्छ, र उहाँले जति धेरै यसो गर्न सक्‍नुहुन्छ, त्यति नै यसले उहाँ देहधारी परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। त्यसकारण “मेरो वासस्थानमा, जुन त्यो स्थान हो जहाँ म लुकेको छु—जे भए तापनि, मेरो वासस्थानमा मैले मेरा सबै दुस्मनहरूलाई पराजित गरेको छु; मेरो वासस्थानमा मैले पृथ्वीमा बाँच्‍नुको वास्तविक अनुभव प्राप्त गरेको छु; मेरो वासस्थानमा, मैले मानिसका हरेक शब्द र कार्य अवलोकन गरिरहेको छु, र सम्पूर्ण मानवजगतलाई नियाल्ने र सञ्‍चालन गर्ने कार्य गरिरहेको छु” भन्‍ने वचनहरू आजका परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यलाई प्रमाणित गर्नको लागि पर्याप्त छन्। साँच्‍चै देहमा जिएर, देहमा रही साँच्‍चै नै मानव जीवनको अनुभव गरेर, देहमा रही साँच्‍चै नै सबै मानवजातिलाई बुझेर, देहमा रही साँच्‍चै नै मानवजातिलाई विजय गरेर, देहमा रही साँच्‍चै नै ठूलो रातो अजिङ्गरको विरुद्धमा निर्णायक युद्ध गरेर, अनि देहमा रही परमेश्‍वरको सबै काम गरेर—के यो व्यावहारिक परमेश्‍वर स्वयम्‌को अस्तित्व होइन र? तैपनि परमेश्‍वरले बोल्‍नुभएका यी साधारण हरफहरूमा सन्देश देख्‍न सक्‍ने मानिसहरू बिरलै छन्; तिनीहरूले तिनलाई सरसरती हेर्छन्, तर परमेश्‍वरका वचनहरूको बहुमूल्यता वा दुर्लभतालाई अनुभूति गर्दैनन्।

परमेश्‍वरका वचनहरू विशेष रूपमा एक विषयदेखि अर्को विषयमा परिवर्तन भएका छन्। “मानवजाति कोमामा रहेको हुनाले” भन्‍ने वाक्यांशले परमेश्‍वर स्‍वयम्‌को व्याख्यालाई लिन्छ र यसलाई सारा मानवजातिको स्थितिको व्याख्यामा परिवर्तन गर्छ। यहाँ “कठोर प्रकाशका यी विस्फोटहरू” ले पूर्वको ज्योतिलाई प्रतिनिधित्व गर्दैन; बरु, यसले परमेश्‍वरका वचनहरूलाई अर्थात्, उहाँले काम गर्ने नयाँ विधिलाई जनाउँछ। त्यसकारण, यसमा सबै किसिमका मानव गतिशीलताहरूलाई देख्‍न सकिन्छ: नयाँ विधिमा प्रवेश गरेपछि, सबै मानिसहरूले आफ्‍नो दिशा-बोध गुमाउँछन्, अनि न त तिनीहरूलाई तिनीहरू कहाँबाट आए भन्‍ने थाहा हुन्छ न त तिनीहरू कता जाँदैछन् भन्‍ने नै थाहा हुन्छ। “धेरैजसो मानिसहरूलाई लेजरजस्तो किरणहरूले हिर्काउँछ” भन्‍ने वाक्यांशले नयाँ विधिमा हटाइएकाहरूलाई जनाउँछ; तिनीहरू परीक्षाहरूमा खडा हुन नसक्‍ने वा कष्टको शोधनलाई सहन नसक्‍नेहरू हुन्, त्यसकारण तिनीहरूलाई फेरि पनि अतल कुण्‍डमा फ्याँकिन्छ। परमेश्‍वरका वचनहरूले मानवजातिलाई यति हदसम्‍म खुलासा गर्छ कि परमेश्‍वरका वचनहरू देख्दा मानिसहरू डराएका देखिन्छन्, र तिनीहरूले आफ्नो मुटुमा मेसिनगन ताकिएको देखेझैँ केही पनि बोल्‍ने आँट गर्दैनन्। तैपनि, तिनीहरूलाई परमेश्‍वरका वचनहरूमा असल कुराहरू छन् भन्‍ने पनि लाग्छ। तिनीहरूको हृदयमा ठूलो अन्तर्द्वन्द्व हुन्छ, र तिनीहरूलाई आफूले के गर्नुपर्ने हो थाहै हुँदैन। तैपनि तिनीहरूको विश्‍वासले गर्दा, तिनीहरूले आफैलाई दह्रिलो बनाउँछन् र परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुन्छ भन्‍ने डरले उहाँका वचनहरूको गहिराइमा डुब्छन्। यो परमेश्‍वरले भन्‍नुभएको यो वचनजस्तै हुन्छ, “मानवजातिमा कोचाहिँ यस्तो अवस्थामा बाँचेका छैनन् र? को मेरो प्रकाशको ज्योतिभित्र बाँचेको छैन र? तिमीहरू बलिष्ठ नै भए पनि, वा तिमीहरू कमजोर नै भए पनि, मेरो ज्योतिको आगमनलाई तिमीहरूले कसरी छल्न सक्छौ र?” यदि परमेश्‍वरले कसैलाई प्रयोग गर्नुहुन्छ भने, तिनीहरू कमजोर नै भए पनि, परमेश्‍वरले उहाँको सजायमा तिनीहरूलाई अझै पनि प्रकाश र अन्तर्दृष्टि दिनुहुन्छ; त्यसकारण, मानिसहरूले परमेश्‍वरका वचनहरू जति धेरै पढ्छन्, तिनीहरूले उहाँलाई त्यति नै बुझ्छन्, तिनीहरू उहाँको त्यति नै डर मान्छन्, र तिनीहरूले लापरवाही हुने आँट त्यति नै कम गर्छन्। परमेश्‍वरको महान् शक्तिकै कारणले गर्दा नै मानिसहरू तिनीहरू आज जहाँ छन् त्यहाँ आइपुगेका छन्। उहाँका वचनहरूको अख्‍तियारको कारणले गर्दा—अर्थात्, उहाँका वचनहरूमा प्रकट हुनुहुने आत्माको परिणामस्वरूप—मानिसहरू परमेश्‍वरदेखि डराउँछन्। परमेश्‍वरले मानवजातिको साँचो अनुहार प्रकट गर्नुहुँदा, तिनीहरू उहाँदेखि अझ धेरै डराउँछन्, त्यसरी उहाँको अस्तित्वको वास्तविकताको बारेमा तिनीहरू अझै बढी निश्‍चित बन्छन्। यो परमेश्‍वरलाई बुझ्‍ने मानवजातिको मार्गको दीप-स्तम्‍भ हो, उहाँले तिनीहरूलाई दिनुभएको मार्ग हो। यसको बारेमा ध्यान दिएर विचार गर: के कुरा यही होइन त?

माथि उल्‍लेख गरिएको कुरा मानवजातिलाई उसको मार्गमा ज्योति दिने दीप-स्तम्‍भ होइन र?

अघिल्लो: अध्याय १२

अर्को: अध्याय १४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्