सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग

अहिले भर्खरै त्यो ब्रदरले सत्यता पछ्याउने शीर्षकमाथि सङ्गति गर्‍यो। यति सङ्गति गरिसकेपछि, के तिमीहरूलाई सत्यता पछ्याउनु कसरी सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यदि परमेश्‍वरमा विश्‍वास गरियो तर सत्यता पछ्याइएन भने, केही पनि प्राप्त हुनेछैन भन्ने अनुभूति हुन्छ? सायद अब तिमीहरूमध्ये कतिपय तयार छौ, र लगनसाथ सत्यता पछ्याउने, परमेश्‍वरको वचन सम्बन्धमा मेहनत गर्ने, र सत्यता अझ बढी बुझ्न र अझ बढी अभ्यास गर्न लागिपर्ने मानसिकता बनाएका छौ। के यो सही मानसिकता हो? पक्कै पनि सही हो। यदि यति धेरै सङ्गति गरिसकेपछि पनि तिमीहरूले बिलकुलै कुनै प्रतिक्रिया जनाउँदैनौ भने, त्यो सामान्य कुरा होइन, र यी वचनहरू व्यर्थ हुनेछन्। इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँ देखा पर्नुभएको तृष्णा गर्ने हरेक व्यक्तिको लागि अनि सत्यतालाई प्रेम गर्ने र आखिरी दिनहरूमा परमेश्‍वरमार्फत मुक्ति पाउने आशा गर्ने हरेक व्यक्तिको लागि सत्यता सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता पछ्याउनु अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण छः त्यो हाम्रो जागिर, हाम्रो जीवन, वा हाम्रो दैहिक सम्भाव्यताभन्दा अत्यन्तै धेरै महत्त्वपूर्ण छ। के अब तिमीहरूले सत्यता पछ्याउनुको महत्त्व चिन्छौ? निस्सन्देह नै, तिमीहरूले आफ्नो हृदयमा निश्‍चित भावनाहरू अनुभव गरिरहेका छौ, र सत्यता पछ्याउनु आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने थाहा पाइरहेका छौ—भन्‍ने नै हो भने, यो तिमीहरू प्रत्येकको लागि जीवनभर चल्ने घटना हो। यति धेरै सङ्गति सुनेपछि, तिमीहरू प्रत्येकसँग अब हृदयमा यस्तो जग अनि यस्तो ज्ञान, भावना, र महसुस हुन सक्छ। यस्ता बुझाइ र भावनाहरू ठिक र सही हुन्, र तिनले प्रमाणित गर्छन् कि तिमीहरूले जे प्राप्त गरेका छौ त्यो पूर्णतया परमेश्‍वरको वचनबमोजिम, उहाँले तिमीहरू प्रत्येकमाथि गर्नुहुने कामबमोजिम, र उहाँको इच्छाबमोजिम रहेको छ।

धेरैजसो मानिसहरू आशिष्‌हरू प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। सत्यताबारे थोरै बुझे पनि, तिनीहरू आशिषित हुने आफ्नो आशय परित्याग गर्न सक्दैनन्। अनि, सत्यताप्रति मान्छेको मनोवृति कस्तो हुन्छ? हृदयमा, धेरैजसो मानिसहरू सत्यतादेखि दिक्क हुन्छन् र तिनीहरू सत्यताप्रति वास्तासमेत गर्दैनन्, किनकि मान्छेको लागि सत्यता नौलो कुरा हो। सत्यता के हो भन्ने कुरा उसले बुझ्दैन, त्यो कहाँबाट आउँछ, उसले त्यसलाई किन पछ्याउनुपर्छ, किन स्विकार्नुपर्छ, किन अभ्यास गर्नुपर्छ, वा परमेश्‍वरले किन त्यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ भन्ने कुरा त उसले झनै बुझ्दैन। हरेक व्यक्तिको लागि यी सबै प्रश्‍नहरू नयाँ कुरा हुन्, र तिनीहरूले तीबारे कहिल्यै सोचविचार गरेका छैनन्, न त तिनीहरू कहिल्यै तिनको सम्‍मुख नै परेका छन्। अहिले परमेश्‍वर आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ र उहाँले थुप्रै वचनहरू व्यक्त गर्नुभएको छ, त्यसैले परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हामी सत्यताको हरेक पक्षसँग सम्बन्धित थुप्रै मामिलाहरूको सम्पर्कमा आउँछौँ। सत्यता खोजी नगरी निकास कहीँ नमिल्ने भएकोले, हामीमा सत्यताको बुझाइ हुनु आवश्यक छ, र वास्तविकताको सन्दर्भमा हामीले परमेश्‍वरका वचनहरू पढ्नुपर्छ। परमेश्‍वरको वचनको हरेक वाक्य सत्यता हो, र व्यक्तिले बुझ्नको लागि व्यक्तिले व्यक्तिगत रूपमै त्यो अनुभव गर्नु आवश्यक छ। किनकि जन्मदेखि वयस्कतासम्म, जागिर पाउञ्जेल, वैवाहिक बन्धनमा बाँधिउञ्जेल र कुनै करियरमा लागुञ्जेल, व्यक्ति जिउने परिवेशभित्रको हरेक कुरा—जस्तै, उसले सामना गर्ने मानिस, घट्ना, र वस्तुहरू अनि उसको वरिपरि हुने सबै कुरा—वास्तवमा सत्यतासँगै सम्बन्धित छ, तर एउटै व्यक्तिले पनि यी कुराहरूलाई सत्यतासँग जोडेर हेर्दैन। त्यसैले हरेक व्यक्तिको लागि सत्यता नौलो कुरा हो भनेर भनिन्छ। पूरै मानवजातिमा कसैले पनि सत्यता बुझ्दैन, त्यसैले यसको लागि अबदेखि तिमीहरूले सत्यता सामना गर्न, स्विकार्न, र पछ्याउन थाल्नुपर्छ। यो आवश्यक छ। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्न सत्यता पछ्याउनुपर्छ, र सत्यताले मात्र तँलाई परिवर्तन गर्न, सिद्ध पार्न, मुक्ति दिलाउन, र परमेश्‍वरसामु साँच्चिकै आउने तुल्याउन सक्छ भनेर बुझ्‍नै बाँकी छ भने—यदि तँ यी कुराहरू बुझ्न सक्दैनस् भने, तँ सत्यताप्रति इच्छुक हुनेछैनस्, तैँले सत्यता पछ्याउन सक्नेछैनस्, र अघि बढ्ने क्रममा तेरो उत्साह आफै हराउनेछ। कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नको लागि मण्डली जीवन जिउनु र कर्तव्य निभाउनु नै पर्याप्त छ, त्यसैले हामीले किन सत्यता पछ्याइरहन आवश्यक छ र? हामी कुनै दुष्टता गर्दैनौँ, र अरूको पछि लाग्दैनौँ, परमेश्‍वरको प्रतिरोध गर्दै झूटा अगुवा वा ख्रीष्टविरोधीहरूको पछि लाग्‍ने त झनै गर्दैनौँ। हामी सबैले परमेश्‍वरमा विश्‍वास गर्नेबारे केही धर्मसिद्धान्तहरू बुझेका छौँ र हामी परमेश्‍वरप्रति हाम्रो आस्थालाई अन्त्यसम्म कायम राख्न सक्छौँ, त्यसैले हामीले अझ गहन सत्यताहरू बुझ्न आवश्यक छैन।” के यो दृष्टिकोण सही हो? (होइन।) किन होइन? (किनभने मानिसहरूले सत्यता प्राप्त गरेका छन् भने मात्र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ।) ठिक भनिस्। अहिले हृदयमा कतिपय मानिसहरू मानवजातिको मुक्तिको लागि सत्यताको महत्त्वबारे धेरथोर सचेत छन्। तिनीहरू अझै पनि सत्यता मान्छेको जीवन बन्नुको मूल्य र महत्त्व प्रस्ट रूपमा बुझ्नबाट अलि टाढा होलान्, तर तिनीहरूको हृदयमा रहेको यो भावना र चेतना निकै मूल्यवान्‌ छ। अनि, यो भावना र चेतनाले मानिसहरूको हृदयमा जरा गाड्न सक्छ सक्दैन भन्‍ने कुरा महत्त्वपूर्ण छ, र त्यो कुरा मान्छेका भावी पछ्याइहरूमा भर पर्छ। अब तँसँग यो चेतना छ र यो राम्रो कुरा हो। यसले तँ मुक्तिको बाटोमा हिँड्छस् भन्ने आशा दिन्छ। सत्यता पछ्याउनु वास्तवमै महत्त्वपूर्ण छ। उदाहरणको लागि, यदि तँ निष्क्रिय र कमजोर छस् भने, के तँ सत्यताको साथ र भरणपोषणविना बलियो बन्न सक्छस् र? के तँ आफ्ना कमीकमजोरीहरू पार गर्न सक्छस् र? के तैँले तँलाई कुन कुराले कमजोर र निष्क्रिय बनाउँछ भनेर चिन्न र विश्‍लेषण गर्न सक्छस् र? निश्‍चय नै तैँले सक्दैनस्! जब तँ आफ्नो कर्तव्यपालनमा लापर्बाह र झाराटारुवा हुन्छस्, र यदि तँ सत्यता पछ्याउँदैनस् भने, के तैँले यो भ्रष्ट स्वभाव समाधान गर्न सक्छस्? के तैँले तेरो कर्तव्यनिर्वाहमा परमेश्‍वरप्रति बफादारी हासिल गर्न सक्छस्? के मान्छेले सत्यता नखोजी आफूलाई चिन्न र आफ्नो भ्रष्टता अनि आफ्नो अहङ्कार सुल्झाउन सक्छ? मान्छेसँग सधैँ परमेश्‍वरबारे धारणाहरू हुन्छन् र उसले सधैँ परमेश्‍वरलाई उसका आफ्नै धारणा र कल्पनाहरूद्वारा मापन गरिरहेको हुन्छ। के यसलाई सत्यताबिना सुल्झाउन सकिन्छ र? सकिँदैन। हामीले हाम्रो जीवनमा आइपर्ने थुप्रै कुराहरूमा विकल्प रोज्नुपर्ने अवस्था सामना गर्छौँ। यदि हामी सत्यता बुझ्दैनौँ भने, यदि हामी परमेश्‍वरको इच्छा के हो र उहाँले हामीलाई के मापदण्ड दिनुहुन्छ भनेर बुझ्दैनौँ भने, हामीसँग अभ्यासको कुनै मार्ग छैन। त्यसपछि हामीले आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्नेछौँ, अनि हामीले सजिलै गल्तीहरू गर्नेछौँ, र गलत मार्ग रोज्नेछौँ। के मान्छेको भ्रष्ट स्वभावको विद्यमानतालाई उसले बुझ्ने धर्मसिद्धान्तका वचनहरूद्वारा मात्रै सुल्झाउन सकिन्छ? यदि तँ सत्यता खोजी गर्दैनस् भने, तैँले जीवनमा गर्ने कुनै कुरामा पनि सिद्धान्तहरू छैनन्, तँसँग पछ्याउने कुनै मार्गहरू छैनन्, र तँसँग कुनै लक्ष्य वा दिशाहरू पनि छैनन् भनेर भन्न सकिन्छ। यदि वास्तविकता यही हो भने, तैँले गर्ने हरेक कुरा सत्यता सिद्धान्तहरूको विपरीत छन्, जुन परमेश्‍वरप्रतिको प्रतिरोध र उहाँप्रतिको विश्‍वासघातको सङ्केत हो, अनि तेरा कार्यहरू परमेश्‍वरद्वारा घिनाइने र धिक्‍कारिनेछन्। यदि तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूद्वारा जिउँछौ भने, परमेश्‍वरको न्याय र सजाय नस्विकारुञ्जेल तिमीहरूमध्ये कसैले पनि मुक्ति प्राप्त गर्नेछैनौ। त्यसकारण, सत्यतालाई साँचो रूपमा बुझ्नुअघि, हरेकले केही न्याय र सजाय, केही ताडना र अनुशासन भोग्नुपर्नेछ। यो सब मानिसहरूलाई सत्यता प्राप्त गर्न र आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सक्षम तुल्याउने उद्देश्यको लागि हो।

तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेबारे केही धर्मसिद्धान्तहरू बुझ्ने भए पनि, हरेक कुरा अनुभव गर्दा तिमीहरू प्रायः दुविधामा पर्छौ। तिमीहरू केही सोच्नै सक्दैनौ र परमेश्‍वरको इच्छा बोध गर्नै सक्दैनौ, तिमीहरूलाई के अभ्यास गर्ने भन्ने थाहै हुँदैन, अनि जतिसुकै चिन्ता गरे पनि त्यसले समाधान ल्याउँदैन। तँ सङ्गति गर्ने अवसर खोज्न चाहन्छस् तर समस्या के हो भन्ने नै तँलाई थाहा छैन, तँ परमेश्‍वरको वचनमा जवाफहरू खोज्न चाहन्छस्, तर उहाँको वचन असीमित छ र तँसँग कुनै लक्ष्य छैन। के प्रायः यस्तै हुँदैन र? यसले सबै कुराहरूमा सत्यता कसरी खोज्ने भनेर नयाँ विश्‍वासीहरूलाई थाहा नहुने सङ्केत गर्छ। त्यसकारण, तिमीहरूले भेलाहरूमा सोध्ने धेरैजसो प्रश्‍नहरू साथै तिमीहरूको सङ्गतिका धेरैजसो वचनहरू सत्यतासँग असम्बन्धित हुन्छन्। यसले देखाउँछ कि धेरैजसो मानिसहरूलाई वास्तविक जीवनमा सत्यता कसरी अभ्यास गर्ने भनेर थाहै हुँदैन, न त तिनीहरूलाई आफूमाथि घटनाहरू घट्दा कसरी सत्यता खोज्ने भनेर नै थाहा हुन्छ, झन् तिनीहरूसँग अभ्यासको सिद्धान्त र लक्ष्यको रूपमा सत्यता हुने त कुरै नगरौँ। के हरेकको लागि यो एउटा कठिनाइ हो? यदि तैँले सत्यताको सिद्धान्त बोध गरेको थिइस् र तँलाई आइपर्ने घटनाहरूमा त्यसको सार बुझेको थिइस् भने, के तँ अझै प्रायः दुविधामै हुन्थिस् र? पक्कै हुन्थिनस्। तँलाई केही दुविधा नै महसुस भए पनि, त्यो कि त सत्यताबारे तेरो बुझाइ अत्यन्तै सतही भएर हो, कि त सत्यताबारे तेरो अनुभव सीमित भएर हो। तँ परमेश्‍वरको इच्छा बुझ्न सक्दैनस्, तेरो भ्रष्टता समाधान भएको छैन, अनि तँलाई हृदयमा पीडा अनुभूत हुन्छ। अहिले सत्यता पछ्याउनमा तिमीहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? के त्यो तिमीहरूलाई सङ्गति गर भनेर सत्यताको कुनै शीर्षक उठाइदिँदा तिमीहरू त्रसित हुनु हो? के त्यो धर्मसिद्धान्त व्यक्त गर्न त्रसित हुनु र वास्तविकताबारे कुरा गर्न नसक्नु हो? अनि, के त्यो आफूलाई केही आइपर्दा केही सोच्नै नसक्ने हो कि भनेर झनै त्रसित हुनु हो? (हो।) यो तिमीहरूसँग हृदयमा सत्यता नभएर भएको हो। यदि तिमीहरूको हृदयमा सत्यता हुन्थ्यो भने, तिमीहरूलाई यी कुराहरू सम्हाल्न त्यति कठिन हुन्थेन। आफूमाथि घटनाहरू घट्दा, के गर्ने भनेर कतिपय मानिसहरूलाई थाहै हुँदैन। तिनीहरूलाई परमेश्‍वरको वचनमा सत्यता खोज्न आउँछ, तर सही जवाफ तुरुन्तै नआउने हुनाले तिनीहरू सम्झौता गर्ने शैली अपनाउँछन्। अर्थात, तिनीहरू परमेश्‍वरको वचनको शाब्दिक बुझाइमै चित्त बुझाउँछन्, र तिनीहरूले नियमहरू पालना गर्छन्। यदि तिनीहरूले आफ्ना प्रार्थनाहरू उच्‍चारण गर्छन् र तिनीहरूको हृदय शान्त र आश्‍वस्त हुन्छ भने, र यदि तिनीहरूले आफ्ना ब्रदर-सिस्टरहरूलाई केही सोध्छन् र उनीहरूसँग तिनीहरूकोभन्दा ठूलो अन्तर्दृष्टि हुँदैन भने, तिनीहरूलाई यसरी अभ्यास गरे पुग्ने रैछ भन्‍ने लाग्छ। खासमा, यस्तो अभ्यास सत्यताको मानकभन्दा निकै पर हुन्छ, सत्यता वास्तविकताभन्दा निकै पर हुन्छ, र परमेश्‍वरको इच्छाभन्दा पनि निकै पर हुन्छ। यो सत्यता अभ्यास गर्ने सिद्धान्त होइन। यदि तँ सत्यता अभ्यास गर्न र बुझ्‍न चाहन्छस् भने, तैँले सुरुमा तेरो दैनिक जीवनमा विभिन्‍न कुराहरू आइपर्दा सत्यता खोज्‍ने प्रयास गर्नुपर्छ। अर्थात्, तैँले यस्ता कुराहरूलाई परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा हेर्नुपर्छ; जब समस्याको सार स्पष्ट हुन्छ, तब तँलाई कसरी सत्यता सिद्धान्तहरूअनुरूप अभ्यास गर्ने भन्‍ने थाहा हुन्छ। अनि यदि तैँले परिस्थितिलाई सधैँ परमेश्‍वरका वचनहरूअनुसार हेर्छस् भने, तेरा वरिपरि घट्ने सबै घटनाहरूमा तैँले परमेश्‍वरको हात, अर्थात् परमेश्‍वरका कार्यहरू देख्‍न सक्‍नेछस्। कतिपय मानिसहरूले तिनीहरूको वरिपरि जे-जस्ता घटनाहरू घटे पनि, तिनीहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास वा सत्यतासँग यसको कुनै सम्‍बन्ध छैन भन्‍ने ठान्छन्; तिनीहरूले शैतानका दर्शनहरूअनुसार प्रतिक्रिया जनाउँदै आफ्‍नै इच्‍छाहरू पछ्याउँछन्। के तिनीहरूले यसरी कुनै पाठ सिक्‍न सक्छन्? अवश्य सक्दैनन्। यही कारणले गर्दा धेरै मानिसहरूले दशबीस वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि सत्यता बुझेका वा जीवनप्रवेश गरेका हुँदैनन्। तिनीहरूले आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरलाई समाहित गर्न, वा तिनीहरूको वरिपरि घट्ने सबै घटनालाई परमेश्‍वरका वचनहरूअनुसार लिन सक्दैनन्, त्यसकारण जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब तिनीहरूले यसको वास्तविकता बुझ्‍न सक्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार यसलाई सम्‍हाल्‍न नै सक्छन्। त्यस्ता मानिसहरूले जीवन प्रवेश गर्दैनन्। कतिपय मानिसहरूले भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्दा मष्तिष्क मात्रै लगाउँछन्; त्यस्तो बेला, तिनीहरूले थोरै ज्ञानको कुरा बोल्‍न सक्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनमा आइपर्ने कुनै पनि कुरामा लागू गर्न सक्दैनन्, न त तिनीहरूलाई सत्यता अभ्यास गर्न नै आउँछ, त्यसकारण तिनीहरूले तिनीहरूको दैनिक जीवनमा घट्ने सबै घटनाहरूको सत्यतासँग कुनै सम्‍बन्ध हुँदैन, परमेश्‍वरका वचनहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन भन्‍ने सोच्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यतालाई ज्ञानको क्षेत्रको रूपमा हेर्छन्, तिनीहरूको दैनिक जीवनबाट पूर्ण फरक र तिनीहरूको दृष्टिकोण, जीवन उद्देश्य, र जीवनका खोजहरूभन्दा पूर्ण अलग कुराको रूपमा हेर्छन्। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासलाई हामीले कुन रूपमा लिनुपर्छ? के तिनीहरू सत्यता बुझ्‍न र वास्तविकतामा प्रवेश गर्न सक्षम बन्नेछन्? जब तिनीहरूले परमेश्‍वरलाई यसरी विश्‍वास गर्छन्, के तिनीहरू परमेश्‍वरलाई पछ्याउनेहरू हुन्छन्? तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू होइनन्, तिनीहरू परमेश्‍वरलाई पछ्याउने मानिसहरू हुनु त परको कुरा हो। परिवार, विवाह, काम वा तिनीहरूको सम्‍भाव्यतासँग सम्‍बन्धित लगायत तिनीहरूको दैनिक जीवनका सबै समस्याहरूलाई तिनीहरूले सत्यतासँग कुनै सम्‍बन्ध नभएका कुराहरूका रूपमा लिन्छन्, त्यसकारण तिनलाई मानव शैलीहरू प्रयोग गरी समाधान गर्ने प्रयास गर्छन्। यसरी अनुभव गरेर, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्‍नेछैनन्, परमेश्‍वरले मानिसहरूमा कुन कार्य सम्पन्‍न गर्न चाहनुहुन्छ, र तिनीहरूमा कस्तो प्रभाव हासिल गर्न चाहनुहुन्छ भन्‍नेबारेमा कहिल्यै बुझ्‍नेछैनन्। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न र परिवर्तन गर्नका लागि सत्यता व्यक्त गर्नुहुन्छ, तर सत्यता स्विकारेर अनि पछ्याएर मात्रै तिनीहरू आफ्‍ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सक्‍ने बन्‍नेछन् भन्‍ने तिनीहरूलाई थाहै छैन; आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्रै तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् भन्‍ने तिनीहरूलाई थाहै छैन। के त्यस्ता मानिसहरू बुद्धू अज्ञानी हुँदैनन् र? के तिनीहरू सबैभन्दा मूर्ख र हास्यास्पद मानिसहरू होइनन् र? परमेश्‍वरमाथिको विश्‍वासमा कतिपय मानिसहरूले कहिल्यै पनि सत्यताको खोजी गरेका हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको भेलामा जानु, प्रार्थना गर्नु, भजन गाउनु, र परमेश्‍वरको वचन पढ्नु हो; तिनीहरूले धार्मिक विधिमा जोड दिन्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूको अभ्यास वा अनुभव कहिल्यै गर्दैनन्। धर्मका मानिसहरूले यसरी नै परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्। अनि जब मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासजस्तो महत्त्वपूर्ण कुरालाई धार्मिक विश्‍वासको रूपमा मात्रै लिन्छन्, तब के तिनीहरू गैरविश्‍वासीहरू हुँदैनन् र? के तिनीहरू अविश्‍वासीहरू होइनन् र? सत्यता पछ्याउनको लागि धेरै प्रक्रियाहरू अनुभव गर्नुपर्ने हुन्छ। यसको एउटा सरल पक्ष छ, र त्यसमा एउटा जटिल पक्ष पनि छ। सरल रूपमा भन्दा, हामीले सत्यताको खोजी गर्नुपर्दछ र हाम्रो वरिपरि आइपर्ने सबै कुरामा परमेश्‍वरका वचनहरूको अभ्यास र अनुभव गर्नुपर्दछ। यसो गर्न थालेपछि, तैंले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले कति धेरै सत्यता प्राप्त गर्नुपर्छ र कतिसम्म पछि लाग्नुपर्छ, र सत्यता अति वास्तविक छ र सत्य नै जीवन हो भनी धेरैभन्दा धेरै बुझ्‍न थाल्‍नेछस्। मानवजातिले सत्यतालाई जीवनको रूपमा प्राप्त गर्न सकोस् भनेर परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्छ। कर्तव्य पूरा गर्ने मानिसहरू, अगुवा र सेवकहरू, वा परमेश्‍वरको सेवा गर्नेहरूले मात्रै होइन, सृष्टि गरिएका सारा मानवजातिले नै सत्यतालाई जीवनको रूपमा स्वीकार गर्नुपर्छ। परमेश्‍वरका वचनहरू सारा मानवजातिप्रति लक्षित छन्, र परमेश्‍वर सारा मानवजातिसँग बोल्‍नुहुन्छ। त्यसकारण, सृष्टि गरिएका सबै प्राणीले र सारा मानवजातिले परमेश्‍वरका वचनहरू र सत्यता स्वीकार गर्नुपर्छ, सबै कुरामा सत्यता खोजी गर्नुपर्छ, त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र यसरी तिनीहरू सत्यता अभ्यास र पालना गर्न सक्‍ने बन्‍न सक्छन्। यदि अगुवा र सेवकहरूलाई मात्रै सत्यता अभ्यास गर्न लगाइन्थ्यो भने, त्यो पूर्ण रूपमा परमेश्‍वरको इच्‍छाविपरीत हुन्थ्यो, किनभने परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता सारा मानवजातिको लागि हो, र यो एकदुई जना मानिसहरूलाई मुक्ति दिनको लागि नभई, सम्पूर्ण मानवजातिलाई मुक्ति दिने उद्देश्‍यले व्यक्त गरिएको हुन्छ। यदि त्यस्तो हुन्थ्यो भने, परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूको अर्थ त्यति धेरै हुन्थेन। के अब तिमीहरूसँग सत्यताको पछि लाग्ने मार्ग छ? सत्यताको पछि लाग्दा अभ्यास गरिनैपर्ने पहिलो कुरा के हो? अरू सबै कुराभन्दा पहिले, तैंले परमेश्‍वरका वचनहरू खान र पिउन र प्रवचन र सङ्गतिहरू सुन्‍ने कार्यमा धेरै समय बिताउनुपर्छ। जब तैँले कुनै समस्याको सामना गर्छस्, तब प्रार्थना गर् र धेरै खोजी गर्। जब तिमीहरूले आफैलाई धेरै सत्यताले सुसज्जित पार्छौ, जब तिमीहरू तुरुन्तै वृद्धि हुन्छौ र कद प्राप्त गर्छौ, तब तिमीहरूले कर्तव्य निभाउन र कुनै सानो काम गर्न सक्‍नेछौ, त्यसरी तिमीहरू केही जाँच र परीक्षाहरूबाट भएर जान सक्नेछौ। त्यस बेला, तिमीहरूले केही सत्यताहरू बुझेका र प्राप्त गरेका छौ भन्‍ने महसुस गर्नेछौ, अनि तिमीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सबै सत्यता हुन्, ती भ्रष्ट मानवजातिको मुक्तिको लागि सबैभन्दा अत्यावश्यक सत्यता हुन्, र ती अद्वितीय सृष्टिकर्ताले दिनुभएका जीवनका सत्यता हुन् भन्‍ने अनुभूति गर्नेछौ। अहिले, तिमीहरूसँग कुनै अनुभव छैन; तिमीहरूसँग हृदयमा थोरै तृष्णा मात्र छ। तिमीहरूलाई परमेश्‍वरका वचनहरू गहन रहेको, र तिनमा तिमीहरूले प्राप्त गर्न नसक्ने अति धेरै कुराहरू, र तिमीहरूले बुझ्न नसक्ने अति धेरै सत्यताहरू भएको अनुभूति हुन्छ। केही कुराहरूको सार अझै अस्पष्ट हुन्छन्, र तिमीहरूलाई सत्यताबारे आफ्नो बुझाइ अति सतही भएको अनुभूति हुन्छ। तिमीहरूको हृदयमा यस्तो तृष्णा भएको र तिमीहरूसँग यस्तो ऊर्जा भएको मात्र हो, तर तिमीहरूले सत्यता प्राप्त गर्न सक्छौ सक्दैनौ भन्‍ने कुरा तिमीहरूले भविष्यमा कसरी सत्यता अभ्यास गर्छौ र पछ्याउँछौ भन्नेमा निर्भर हुन्छ।

आखिरी दिनहरूको न्यायको काममा, कल्पना गर् कि परमेश्‍वरले केही सरल सत्यताहरू मात्र व्यक्त गर्नुहुन्छ: गहन कुरा केही होइन, न्याय र प्रकटीकरणसँग अत्यन्तै सम्बन्धित कुराहरू त झनै होइन, बरु मानिसहरूले स्विकार्न सक्ने र तिनीहरूको दिमागले ग्रहण गर्न सक्ने थोरै वचन—अर्थात्, प्रतिज्ञा र आशिष्‌का केही वचनहरू वा अर्तीका केही वचनहरू मात्र व्यक्त गर्नुहुन्छ। के मानिसहरूले यी वचनहरू स्विकारे पनि मुक्ति प्राप्त गर्न सक्छन् त? एउटा उदाहरण लिऊँ। मानौँ परमेश्‍वरले यति मात्र भन्नुहुन्छ, “तिमीहरू सबैमा भ्रष्टता गहिरो रूपमा गढेको छ। तिमीहरू सबै सत्यताविहीन छौ, र तिमीहरू सबै मप्रति इमान्दार छैनौ। तिमीहरूको प्रकृति सार शैतानको प्रकृति बनेको छ; तिमीहरू जीवित शैतान बनेका छौ। तिमीहरू मप्रति शत्रुवत्‌ छौ, र तिमीहरूमा सत्यताप्रति कुनै प्रेम छैन।” त्यसपछि उहाँले मानिसहरूलाई “गएर पत्ता लगा!” भन्नुहुन्छ, र त्यसलगत्तै “सत्यतालाई प्रेम गर्ने व्यक्ति आशिषित हुन्छ। जो मप्रति इमान्दार छ उसले मेरो इच्छा पूरा गर्न सक्‍नेछ, र उसले अन्त्यसम्‍मै यो बाटो हिँडेर मेरो वाचा प्राप्त गर्न सक्नेछ” भनेर भन्नुहुन्छ। यदि परमेश्‍वरले मानिसहरूलाई यति मात्र भन्नुभयो भने, के तिनीहरूको हृदयमा हलचल हुनेथ्यो? के तिनीहरू सत्यतामा लागिपर्थे? तिनीहरूलाई कस्तो अनुभूति हुनेथ्यो? “हामीले परमेश्‍वरका सम्पूर्ण वचनहरू पढेका छौँ, र हामी सबैमा भ्रष्ट स्वभावहरू भए पनि, हामी दुष्ट मानिसहरू होइनौँ र परमेश्‍वरको प्रतिरोध गर्नेछैनौँ। यति मात्र हो कि हामीमा विद्रोही स्वभावहरू छन्, हामी नैतिक रूपमा धेरथोर भ्रष्ट छौँ र हामीमा अलि कमसल चरित्र छ, अनि हामीमा सांसारिक प्रवृतिहरू पछ्याउने रूचि छ। तर अब त हामीले केही सत्यताहरू बुझ्छौँ र आफ्नो बारे चिन्तन गर्न र आफूलाई चिन्न सक्ने भएका छौँ, त्यसैले हामी निश्‍चय नै आफूलाई यी भ्रष्ट कुराहरूबाट मुक्त पार्न सक्छौँ।” के धेरै मानिसहरू यो स्थितिमा हुँदैनन् र? तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको धर्मसिद्धान्त बुझ्नु नै सत्यता बुझ्नु हो भन्ठान्छन्, र त्यो अत्यन्तै खतरनाक हुन्छ। गौरवसाथ धर्मसिद्धान्तका वचनहरूको प्रवचन दिनेहरू तुरुन्तै खस्छन् र कुनै परीक्षा आइपरेपछि तिनीहरू खुलासा हुन्छन्। के सत्यताको पछ्याइ अनि न्याय र सजायको स्वीकारविना भ्रष्ट स्वभाव हटाउन सकिन्छ? यो असम्भव छ। समय बितिरहेकोबारे तिमीहरू प्रस्ट हुनुपर्छ, र सत्यता प्राप्त गर्नहेतु यदि तिमीहरू कष्ट सहन र मूल्य चुकाउन सक्दैनौ भने, तिमीहरूले धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरमा विश्‍वास गरेर सजिलै समय खेर फाल्नेछौ। त्यसपछि, जब ठूलो सङ्कष्ट आउँछ, तब चाहेर पनि तिमीहरूसँग सत्यता पछ्याउने समय हुनेछैन, र तिमीहरूले मुक्ति पाउने मौका पूर्णतया गुमाएका हुनेछौ। अहिले तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिमीहरू परमेश्‍वरको इच्छा बुझ्दैनौ। के तिमीहरूलाई परमेश्‍वरले सत्यता व्यक्त गर्नु र न्यायको काम गर्नुको कारण साँच्चिकै थाहा छ? परमेश्‍वरले व्यक्त गर्नुहुने हरेक वचन, हरेक विषय, र हरेक सत्यता तिमीहरूको लागि महत्त्वपूर्ण र अत्यन्तै लाभदायी हुन्छ। तिमीहरूले आज यो कुरा देख्न, अनुभव गर्न, वा अनुभूति गर्न सके वा नसके पनि, अनि तिमीहरूले अहिले वास्तवमा जतिसुकै हासिल गरेका भए पनि, तीनदेखि पाँच वर्षको अनुभवपछि, तिमीहरूलाई परमेश्‍वरले आज बोल्नुभएका वचनहरू साँचो रहेछन्, र यी वचनहरू व्यक्त गरेर परमेश्‍वरले कस्तो महान काम गर्नुभएछ भन्ने अनुभूति हुनेछ! यदि परमेश्‍वरले मान्छेलाई अझै पनि अनुग्रहको युगमा झैँ लाडप्यार गर्नुहुन्थ्यो र उसलाई “उहाँको छातीको थुमा” र हराएको एउटा भेडा जसलाई फेला पार्न उहाँ अरू उनान्सयलाई परित्याग गर्नुहुन्थ्यो भनेर भन्‍नुहुन्थ्यो भने, मान्छेले यस्तो सोच्नेथ्यो, “परमेश्‍वरको कृपा र प्रेमिलोदयालुपन अत्यन्तै महान् छन्; मान्छेप्रतिको परमेश्‍वरको प्रेम अत्यन्तै गहिरो छ!” यदि मान्छेले सधैँ यसरी नै परमेश्‍वरबारे सोच्छ र यसरी नै उहाँलाई हेर्छ भने, उसले साँच्चिकै परमेश्‍वरको खोजी गर्नेछैन, ऊ परमेश्‍वरसामु आउनेछैन, ऊ परमेश्‍वरप्रति समर्पित हुनेछैन, र उसमा परमेश्‍वरको डर हुनेछैन। परमेश्‍वरबारे साँचो बुझाइविना, मान्छेको भ्रष्ट स्वभाव हट्नेछैन; उसले परमेश्‍वर र सत्यताप्रति अवहेलनाको मनोवृतिले व्यवहार गर्नेछ, र उसले दियाबलस र शैतानले झैँ परमेश्‍वरको प्रतिरोध गर्नेछ। यदि त्यस्तो अवस्था छ भने, सत्यता के हो भन्ने कुरा मान्छेले कहिल्यै बुझ्नेछैन, परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँलाई पछ्याउनु भनेको के हो, र सत्यता खोज्नु र प्राप्त गर्नु भनेको के हो भन्ने कुरा उसले साँचो रूपमा कहिल्यै बुझ्नेछैन। यो साँचो हो। यदि परमेश्‍वरले यी वचनहरू व्यक्त नगर्नुभएको भए; यदि उहाँले हरेक व्यक्तिलाई दण्डित र न्याय नगर्नुभएको भए र हरेकलाई यस्ता कठोर वचनहरूले व्यवहार नगर्नुभएको भए, मानिसहरूलाई लाग्नेथ्यो कि परमेश्‍वरमा विश्‍वास गर्नु नै तिनीहरूले सत्यता प्राप्त गरेको हुनु हो, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेकै पछि स्वर्गमा उठाइलगिन, राज्यमा प्रवेश गर्न र राजाले झैँ शक्ति चलाउनको लागि हो। कतिपय मानिसहरू यसो भन्छन्, “मजस्तो मान्छे त सयजनाको कामण्डार नै हुन सक्थ्यो!” अरूहरू भन्छन, “म त धेरै माग्दिनँ। राज्यमा म गेटपाले हुन वा बाटो बढार्न पनि सक्छु!” परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्तिको मूल अभिप्राय, आदर्श, र चाहना यही हो। परमेश्‍वरले अत्यन्तै धेरै वचनहरू भन्नुभएको छ जसले मान्छेका धारणा र कल्पनाहरू, उसका लालची चाहनाहरू, र उसको भ्रष्ट स्वभाव पूर्णतया खुलासा गर्छन्। मान्छेले सोच्ने कुनै कुरा पनि सत्यताबमोजिम वा परमेश्‍वरसँग मिल्ने हुँदैन, र मान्छेले आशा गर्ने वा उसले मूख्य रूपले हासिल गर्न चाहने कुनै पनि कुरा परमेश्‍वरको इच्छाबमोजिम हुँदैन। त्यो सब पूर्णतया परमेश्‍वरविपरीत हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसहरूले परमेश्‍वरका न्याय र सजायका वचनहरू, मान्छेको प्रकृति सार खुलासा गर्ने वचनहरू, मान्छेका धारणाहरूसँग नमिल्ने वचनहरू, र मान्छेका कल्पनाहरूसँग नमिल्ने परमेश्‍वरको सोच्ने शैली सामना गर्छन्। धेरै मानिसहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्विकारे पनि, र तिनीहरू परमेश्‍वरको कामसँग सहकार्य गर्न र परमेश्‍वरको न्याय र सजाय स्विकार्न इच्छुक भए पनि, तिनीहरूलाई परमेश्‍वरको मापदण्ड पूरा गर्न निकै कठिन हुन्छ। जब सत्यता पछ्याउने कुरा आउँछ, धेरै मानिसहरू जाँगरहीन बन्छन्, र जब सत्यताबारे सङ्गति गर्ने कुरा आउँछ, तिनीहरू निदाउँछन् र सुन्‍न ध्यानै दिँदैनन्। तर जब रहस्य, आशिष् र वाचाहरूको कुरा आउँछ, तिनीहरू जोसिला बन्छन्। यहाँ के भइरहेको हुन्छ? हृदयको गहिराइमा, मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्। सत्यता पछ्याउनु तिनीहरूलाई अत्यन्तै कष्टदायी, बोझिलो, अति पीडादायी, र अत्यन्तै उच्च मूल्य चुकाउनुपर्ने कुरा लाग्छ। यदि सत्यता पछ्याउनु प्राथमिक विद्यालयको पुस्तक वा नर्सरी तहको कविता पढेजत्तिकै सरल हुने हो भने, केही मानिसहरू त्यसमा अलि इच्छुक हुन्थे होला, किनभने त्यो सरल र सजिलो हुनेथ्यो, र त्यसको लागि मूल्य नै तिर्नुपर्थेन वा धेरै ऊर्जा पनि खर्चनुपर्थेन। तर अहिले त्यसको अलि उल्टो अवस्था छ। सत्यता पछ्याउनु न त त्यति सजिलो, न त त्यति सरल नै छ। यदि मानिसहरूमा परमेश्‍वरको वचन पढ्ने र बुझ्ने पर्याप्त क्षमता छ भन्दैमा, तिनीहरू स्वतः सत्यता वास्तविकतामा प्रवेश गर्छन् भन्ने हुँदैन; धर्मसिद्धान्तका वचनहरू बुझ्नुको अर्थ सत्यता वास्तविकताभित्र प्रवेश गर्नु भन्‍ने हुँदैन। कतिपय मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासमा यति ऊर्जावान् हुन्छन् कि भेलाहरूमा र प्रवचन र सङ्गतिहरू सुन्दासमेत तिनीहरू टिपोट गर्छन्। तर केही समयपछि, तिनीहरूले त्यसबारे मनन् गर्छन् तर केही लाभ प्राप्त गर्दैनन्: तिनीहरूले ती सबै बिर्सन्छन् र चाहेर पनि केही सम्झन सक्दैनन्, त्यसैले तिनीहरूलाई सत्यता प्राप्त गर्नु सजिलो छैन भन्ने अनुभूति हुन्छ, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु सामान्य कुरा होइन रहेछ भन्ने बुझ्छन्। अरू मानिसहरूलाई भेलाहरूपछि धेरै कुरा प्राप्त गरेको र धेरै बुझेको तर एक रात सुतेपछि त्यसबारे सबै बिर्सेको अनुभूति हुन्छ, र त्यो अवस्था भेला नै नभएकोभन्दा खासै फरक हुँदैन। अनि, अझै अरूहरू पनि छन्, जो परमेश्‍वरको वचन पढेपछि अन्तर्दृष्टि र ज्योति प्राप्त गरेको अनुभूति गर्छन्। तिनीहरू आफैप्रति निकै खुसी हुन्छन्, तर केही समय अविश्‍वासीहरूसित बोलेपछि, तिनीहरूको मन बरालिन्छ, र घर गएर परमेश्‍वरलाई प्रार्थना गर्दा तिनीहरूले उहाँको अनुभूति गर्नै सक्दैनन्। तिनीहरूले सत्यता पछ्याउने, स्वभाव परिवर्तन गर्ने र परमेश्‍वरमार्फत मुक्ति प्राप्त गर्ने सबै कुरा बिर्सन्छन्। यसको कारण तिनीहरूको कद अति सानो हुनु र तिनीहरूले धर्मसिद्धान्तका केही वचनहरू मात्र बुझ्नु हो। परमेश्‍वरको वचनले तिनीहरूभित्र अझै जरा गाड्‍न सकेको हुँदैन, र यसले प्रमाणित गर्छ कि तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वरको निम्ति कुनै ठाउँ छैन, र त्यसैले बाहिरी मामिलाहरू सम्हाल्दा, तिनीहरूको हृदय परमेश्‍वरको अधीनमा हुँदैन। परमेश्‍वरको काम अनुभव गर्नु सामान्य कुरा होइन। केही परीक्षा, असफलता, र झट्काहरू अनुभव नगरी, मानिसहरूले साँच्चिकै कुनै लाभ प्राप्त गर्नेछैनन्, र सुगारटाइले मात्र काम गर्नेछैन। आजकल, धेरैजसो मानिसहरूले केही वर्ष विश्‍वास गरिसकेपछि मात्र केही सत्यताहरू बुझ्न थाल्छन्। विशेष गरी, केही झट्का र असफलताहरू अनुभव गरेपछि, तिनीहरूले सत्यता पछ्याउनुको महत्त्व अनुभूत गर्छन्, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको वचन पढ्नमा, अनि सत्यता सङ्गति गर्न र सत्यता अभ्यास गर्नमा ध्यान दिन थाल्छन्। त्यसपछि मात्र तिनीहरू वास्तविकताभित्र प्रवेश गर्न थाल्छन्।

कतिपय मानिसहरू भन्छन्, “कुनै कठिनाइ वा अवरोध हुँदा मलाई बाधित अनुभूति हुनु र के गर्ने भन्ने थाहै नहुनु, र परमेश्‍वरमा विश्‍वास गर्नु अत्यन्तै कठिन लाग्‍नुको कारण के हो? कठिनाइहरू आइपर्दा, म निष्क्रिय बन्नु र ममा परमेश्‍वरमा विश्‍वास गर्ने ऊर्जा नहुनुको कारण के हो? मलाई कहिलेकाहीँ भेलाहरूप्रति वा परमेश्‍वरको वचन पढ्नप्रति रुचि नहुनु, तर अविश्‍वासीका कुराहरूबारे बोल्नचाहिँ म उत्साहित हुनुको कारण के हो?” यहाँ के भइरहेको छ? वास्तवमा, मान्छेको प्रकृति सारलाई विचार गर्दा, मान्छेले सत्यतालाई प्रेम नगर्ने भएकोले यस्तो भएको हो। यदि मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, के परमेश्‍वरप्रतिको तिनीहरूको आस्था साँचो हुन सक्छ? के तिनीहरूको हृदयमा परमेश्‍वरको लागि ठाउँ हुन सक्छ? के तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ? हुनुहुन्‍न, त्यो निश्‍चित छ। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्न र परमेश्‍वरको लागि ठाउँ छैन भने, त्यसले तेरो हृदयमा कुनै सत्यता छैन, तैँले कुनै सत्यता बुझ्दैनस्, र तैँले कुनै पनि सत्यता अभ्यास गर्दैनस् भन्ने प्रमाणित गर्छ। त्यसकारण, जब परमेश्‍वरको वचनबारे विचार गर्ने र सत्यता अभ्यास गर्ने कुरा आउँछ, किन मानिसहरू जाँगरहीन हुन्छन् र तिनीहरूसँग मार्ग हुँदैन? यदि तँलाई पैसा आर्जन गर्नू भनेर भनियो र कुनै निश्‍चित काम गर्दा तैँले बढी पैसा आर्जन गर्न सक्छस् भनेर भनियो भने, सबै कठिनाइहरू पार गरेर सफल हुन तैँले सम्भव भएजति जे पनि गर्छस्, अनि तँ असफलतादेखि डराउँदैनस् र त्यसैमा लागिरहन्छस्। तँलाई रुचिहरूले तानिरहेका हुन्छन्, तेरो हृदय रुचिहरूको पकडमा हुन्छ, ती रुचिहरूले तेरो हृदयमा पहिलो प्राथमिकता पाउँछन्, अनि तँलाई पैसा र रुचिहरू अत्यन्तै महत्त्वपूर्ण छन् र सजिलै परित्याग गर्न सकिँदैनन् भन्ने अनुभूति हुन्छ, त्यसैले तैँले आफ्ना चाहना र उद्देश्यहरू जसरी पनि हासिल गरिछोड्न आफूले सक्ने हरेक कुरा गर्न खोज्‍नेछस्। त्यसकारण, यदि तैँले सत्यता पछ्याउने कार्यलाई तेरो जीवनको पहिलो प्राथमिकता बनाउँछस् भने, मलाई विश्‍वास छ, तँ मार्गरहित हुनेछैनस्, तँ समयरहित पनि हुनेछैनस्, र तैँले सत्यता खोज्‍न र अभ्यास गर्नमा बाधा पुर्‍याउने कठिनाइहरू त तैँले झनै अनुभव गर्नेछैनस्। के तिमीहरूसँग यस्तो दृढता छ? यो आफ्ना बालबच्चालाई सन्तुष्ट पार्न आमाबाबुले जुनसुकै मूल्य चुकाएजस्तै हो। जब बालबच्चाले कलेज जान यतियति खर्च लाग्छ भन्छन्, यदि परिवारसँग त्यति धेरै पैसा छैन भने, आमाबाबु ठाउँठाउँमा गई पैसा सापटी मागेर भए पनि पैसा जम्मा गर्छन्, वा पैसा सापटी लिन नसके व्यापार गर्ने वा विभिन्‍न काम गर्ने उपाय निकाल्छन्। तिनीहरूले जतिसुकै कष्ट भोगे पनि, आफ्ना बालबच्चा कलेज जाऊन् भनेर तिर्नुपर्ने पर्याप्त पैसा जोहो गर्ने, बालबच्चाको लागि सफलताको जग तयार गराउने, र बालबच्चालाई राम्रो भविष्य दिलाउने व्यवस्था मिलाउनेछन्। यदि सत्यता पछ्याउनमा तिमीहरूसँग वास्तवमै यस्तो दृढता छ भने, मलाई लाग्छ तिमीहरू कसैले पनि पार गर्न नसक्ने कुनै कठिनाइ हुनेछैन, होइन भने तिमीहरूमा मानसिक कमजोरी वा जन्मजात दिमागी गडबडी हुनुपर्छ। तँ बौद्धिक अपाङ्गता लिएर जन्मेको छैनस् भने, सामान्य व्यक्तिको दिमागले हासिल गर्न सक्ने कुरा तैँले हासिल गर्न सक्नेछस्, र कुनै पनि कठिनाइ कठिनाइ हुनेछैन, किनकि सत्यता पछ्याउने कार्य मान्छेको कल्पनाले प्राप्त गर्न सक्ने कुरा होइन; यसको लागि पवित्र आत्माको काम जरूरी हुन्छ, मान्छेले त सहकार्य मात्र गर्ने हो। हामीसँग सत्यता पछ्याउने इच्छा हुञ्जेल, पवित्र आत्माले हामीलाई मार्गदर्शन दिनुहुनेछ, हाम्रो भरणपोषण गर्नुहुनेछ र हामीलाई जुनसुकै बेला पनि अन्तर्दृष्टि प्रदान गर्नुहुनेछ, अनि हामीलाई हरेक कठिनाइ पार गर्ने र हामीले नबुझ्ने सत्यता बुझ्ने तुल्याउनुहुनेछ, किनकि मान्छेको लागि जे कुरा असम्भव हुन्छ त्यो परमेश्‍वरको लागि सम्भव हुन्छ, र मान्छे केही पनि होइन; यदि परमेश्‍वरले काम गर्नुभएन भने, मान्छेका सबै ठूला प्रयास र मेहनत व्यर्थ हुनेछन्।

अनुग्रहको युगमा, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छौँ र परमेश्‍वरलाई पछ्याउछौँ भनेरसमेत भन्थे, तर तिनीहरूको लक्ष्य स्वर्गमा प्रवेश गर्ने हुन्थ्यो। तिनीहरूले परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्ने विषयमा बोल्दैनथे, न त तिनीहरूलाई मुक्ति प्राप्त गर्नुको अर्थ नै थाहा थियो। तिनीहरू बस नियमहरू पालना गर्ने, धार्मिक सेवाहरू अनुसरण गर्ने र बाइबल पढ्ने काम मात्र गर्थे, र त्यसपछि तिनीहरू त्यति भए त पुग्‍ला, मरेपछि स्वर्ग जान सकिएला भनी झिनो आशा राख्थे। तर आखिरी दिनहरूको कामको यो चरण त्यति सजिलो छैन, अनि परमेश्‍वरको कामको हरेक कुरा एउटा वास्तविकता हो जसको लागि हामीले वास्तवमै मूल्य चुकाउनुपर्छ, व्यावहारिक रूपमै खोजी र अनुभव गर्नुपर्छ, ताकि परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूबाट हामीले सत्यता प्राप्त गर्न सकौँ। यदि मानिसहरूको विश्‍वास अझै पनि अनुग्रहको युगकोसँग मिल्छ, र तिनीहरू बस प्रत्येक हप्ता भेला हुन्छन्, बाइबल पढ्छन्, अनि प्रार्थना गर्छन्, गाउँछन्, र परमेश्‍वरको प्रशंसा गर्छन्, अनि स्वर्गमा उठाइलगिने वा तेस्रो स्वर्गमा उक्लने प्रतीक्षा गर्छन् भने, मान्छे कति भयङ्कर रूपले अहङ्कारी बन्न सक्छ होला! भ्रष्ट मानवजाति यस्तै नै हुन्छ। परमेश्‍वरले जे-जसरी काम गर्नुभए पनि, जबसम्म उहाँले मान्छेलाई कुनै प्रतिज्ञा दिनुहुन्छ, तबसम्म मान्छे त्यसैमा अडिनेछ, र सधैँ त्यसैलाई नियमको रूपमा पालन गर्नेछ तर उसले कहिल्यै पनि परमेश्‍वरको काम वा उहाँको इच्छा अलिकति पनि खोज्नेछैन, बरु स्वर्गमा उठाइलगिने प्रतीक्षा गर्नेछ। मानिसहरूलाई आफू के हुँ भन्ने थाहै छैन, तिनीहरू बस राम्रा कुराहरूको सपना देख्छन् र ठूला उचाइहरू चुम्ने आकाङ्क्षा राख्छन्। तिनीहरूमध्ये कसैले पनि आफू शैतानी प्रकारको छु भन्ठान्दैनन्, आफू अनन्त विनाशको पात्र भएको ठान्‍ने त झन् कुरै आउँदैन। तिनीहरू सबैले सोच्छन् कि यदि तिनीहरूले परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्छन्, आफ्नो कर्तव्यपालनमा धेरै कष्ट भोगेका छन्, र परमेश्‍वरलाई कहिल्यै घात गरेका छैनन् भने, तिनीहरूलाई परमेश्‍वरले पहिले नै मुक्ति दिइसक्नुभएको हुन्छ र तिनीहरू निश्‍चय नै स्वर्गको राज्यमा प्रवेश गर्न सक्‍नेछन्। यो दृष्टिकोण गलत छ, र वास्तवमा तिनीहरू सत्यतालाई बिलकुलै बुझ्दैनन्। विशेष गरी, मानिसहरूले परमेश्‍वरमा सुरुमा विश्‍वास गर्दा, तिनीहरू अनाज्ञाकारी, आक्रोशपूर्ण, र विशेष गरी अहङ्कारी हुन्छन्, अनि अरू सबैलाई कुरूप चीजको रूपमा हेर्छन् र परमेश्‍वरलगायत कोही पनि आफूजति राम्रो नभएको ठान्छन्। कुनै व्यक्तिले ख्रीष्टलाई स्विकारेको भए पनि, त्यसको अर्थ ख्रीष्टले भन्नुभएका वा गर्नुभएका हरेक कुरा उसले स्विकार्न सक्छ भन्ने होइन। उसले परमेश्‍वरको कामको यो चरणलाई, र देहधारी परमेश्‍वरलाई नाममा मात्र स्विकार्छ, र यसको अर्थ यो होइन कि तिनीहरूमा धारणा र कल्पना छैन, र परमेश्‍वरले गर्नुभएको कामप्रति प्रतिरोध छैन। कतिपय मानिसहरू ख्रीष्टलाई देख्दा उत्साहित र रोमाञ्चित हुन्छन्, र हृदयमा सम्मानित भएको र आफू व्यर्थमा नजिएको अनुभूत गर्छन्। तर तिनीहरूमा सत्यता नभएको र तिनीहरूले परमेश्‍वरलाई नचिन्ने भएकोले, ख्रीष्टले बोल्नुभएको, र कामकुराहरू सम्हाल्नुभएको देख्दा तिनीहरूले धारणा बनाउँछन्, अनि तिनीहरूले कुनै व्यक्तिप्रति ख्रीष्टको कस्तो मनोवृति होला भनेर पनि धारणा बनाउँछन्; ख्रीष्टले के खानुहुन्छ र के लाउनुहुन्छ भन्नेबारे अनि उहाँको कुनै पनि अनुहारको भाव वा हाउभाउबारे पनि तिनीहरूमा धारणा, राय र विचारहरू हुन्छन्। यो के हो? यो के हो भने, मान्छेले कल्पेको परमेश्‍वर आधारभूत रूपमा वास्तविक परमेश्‍वरभन्दा फरक हुन्छ, अनि जो मानिसमा अन्तर्निहित रूपमै भ्रष्ट स्वभाव र अहङ्कारी प्रकृतिहरू हुन्छन्, तिनीहरूमा धारणाहरू नहुनु, र तिनीहरूले मानिसको देहधारी पुत्रको प्रतिरोध र आलोचना नगर्नु असम्भव छ। यदि व्यक्तिले परमेश्‍वरको ईश्‍वरीय सार चिन्दैन भने, उसलाई परमेश्‍वरप्रति समर्पित हुन कठिन हुन्छ र उहाँलाई प्रेम गर्न अनि उहाँको डर मान्न झनै कठिन हुन्छ। तर धेरै वर्षसम्म परमेश्‍वरको काम अनुभव गरेका, विशेष गरी परमेश्‍वरका थुप्रै प्रवचनहरू र सङ्गति सुनेका मानिसहरूले देहधारी परमेश्‍वरलाई कसरी चिन्ने र कसरी व्यवहार गर्नेछन्? तिनीहरूले परमेश्‍वरबारे धारणा राख्नेदेखि परमेश्‍वरबारे ज्ञान राख्नेसम्मको यो प्रक्रियालाई, अनि विद्रोह र प्रतिरोधदेखि साँचो आज्ञाकारितासम्मको यो प्रक्रियालाई व्यक्तिगत रूपमै अनुभव गरेका हुन्छन्, अनि तिनीहरूले परमेश्‍वरले गर्नुहुने हरेक कुरा, उहाँले बोल्नुहुने हरेक वचन, र उहाँले सम्हाल्नुहुने हरेक कुराभित्र सत्यता सिद्धान्तहरू हुन्छन् भनेर पनि व्यक्तिगत रूपमै अनुभव गरेका हुन्छन्। मानिसहरूले आफ्ना हृदयमा धारणाहरू राख्नु हुँदैन, प्रतिरोध र घृणा त झनै राख्नु हुँदैन। केही वर्षको अनुभवपछि, जब मानिसहरूले सत्यताबारे अलिअलि बुझ्छन्, तब तिनीहरूले त्यसलाई सही ढङ्गले लिन्छन्, र जब तिनीहरूभित्र तिनीहरूको जीवनको रूपमा अलिअलि सत्यता हुन्छ र जब तिनीहरूले अभ्यासका सिद्धान्तहरू हासिल गरेका हुन्छन्, तब तिनीहरूले स्वतः नै कुनै पनि मूर्ख काम गर्नेछैनन्। नयाँ विश्‍वासीहरू र यी मामिलाहरूमा अनुभव नभएकाहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने सम्भावना हुन्छ, र तिनीहरूले मूर्ख र लापर्बाह कामहरू गर्ने पनि सम्भावना हुन्छ। कतिपय गम्भीर प्रकृतिका मानिसहरूले परमेश्‍वरको आलोचना र ईशनिन्दा गर्न सक्छन्, र त्यसपछि तिनीहरू पूर्ण रूपमा पतन हुन्छन्; कति अरूले चाहिँ निरन्तर रूपमा मण्डलीको काममा अवरोध र बाधा पुर्‍याइरहेका हुन्छन्, र तिनीहरू निष्कासित हुन्छन्। के अहिले तिमीहरू सबैजना परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएका छौ? के देहधारी परमेश्‍वरमा विश्‍वास गर्नु तिमीहरूलाई अत्यन्तै कठिन लाग्छ? कतिपय मानिसहरू भन्छन्, “जब हामी प्रभुमा विश्‍वास गर्थ्यौँ, त्यो निकै सरल थियो। हामी केवल भेला हुन्थ्यौँ, प्रवचनहरू सुन्थ्यौँ, अनि विभिन्‍न कुराको लागि प्रभुलाई प्रार्थना गर्थ्यौँ; हामीलाई सत्यता अभ्यास गर्नू र परमेश्‍वरप्रति समर्पित हुनू भनेर कसैले भन्दैनथे, हामीलाई कसैले प्रभुका वचनहरू अभ्यास र अनुभव गर्न र सत्यता पछ्याउनमा अगुवाइ गर्ने त कुरै नगरौँ। पाष्टर र प्रचारकहरूले बाइबलको व्याख्या मात्र गर्थे, र हामीले त्यसलाई आफूले चाहेअनुसार नै बुझ्न सक्थ्यौँ। तर अहिले हामीले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गर्छौ, र उहाँले व्यक्त गर्नुभएका यति धेरै सत्यताहरू छन कि हामीलाई सत्यता अभ्यास गर्न अति कठिन हुन्छ, र वास्तविकतामा प्रवेश गर्न वास्तवमै कठिन रहेको अनुभूति हुन्छ!” यदि तिमीहरूले विगतमा जसरी प्रभुमा विश्‍वास गर्थ्यौ त्यसरी नै अझै परमेश्‍वरमा विश्‍वास गर्ने हो भने, के तिमीहरूले सत्यता र जीवन प्राप्त गर्न सक्छौ त भनेर कहिल्यै सोचेका छौ? के तिमीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छौ? (सक्दैनौँ।) तिमीहरूले यो कुरा महसुस गर्न सक्नुले तिमीहरूले प्रगति गरेका छौ भन्ने देखाउँछ।

परमेश्‍वरमाथिको विश्‍वास कल्पनाहरू वा धारणाहरूमा आधारित हुन सक्दैन, र रुचिमा आधारित हुन त झनै सक्दैन। यदि तैँले क्षणिक रुचि वा आवेगको आधारमा परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले शान्त भएर सोच्‍नु बेस हुन्छ र आफूले विश्‍वास जारी राख्‍न चाहन्छु चाहन्‍नँ, आफूले वास्तवमै सत्यता पछ्याउन चाहन्छु चाहन्‍नँ, आफू वास्तवमै साँचो विश्‍वासी हुँ होइन, आफूले परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग हिँड्ने निर्णय पहिल्यै गरिसकेको छु छुइनँ, र आफूले सत्यता पछ्याउने निर्णय पहिल्यै गरिसकेको छु छुइनँ भनेर ध्यानपूर्वक सोच्दा राम्रो हुन्छ। यी पक्षहरूमै किन जोड दिने? किनभने अहिले हामी देहधारी परमेश्‍वरमा विश्‍वास गर्छौँ, र परमेश्‍वरको देहधारणको अर्थ के हो भने उहाँ स्वर्गदेखि धर्तीमा आउनुभयो र साँच्चिकै मानव बन्नुभयो, जसको रूप ठ्याक्कै मान्छेकै जस्तो छ, तर उहाँ ख्रीष्ट हुनुहुन्छ, परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ, र उहाँ कुनै सामान्य मान्छे हुनुहुन्न। परमेश्‍वरको देहधारणले वास्तवमा मानिसहरूलाई न्याय दिने र सुद्ध पार्ने काम गर्नुभएको छ, र वास्तवमा धेरै वचनहरू व्यक्त गर्नुभएको छ, थुप्रै काम गर्नुभएको छ, र धेरै मानिसहरू चुन्नुभएको छ, अनि वास्तवमा उहाँले उहाँको काम र उहाँको सुसमाचार विस्तार गर्दै आइरहनुभएको छ। यो व्यावहारिक कामको हरेक पाटोले पुष्टि गर्छ कि मानिसहरूलाई मुक्ति दिने र सिद्ध पार्ने परमेश्‍वरको चाहनाको लागि स्वाभाविक रूपमै मानिसहरूले उहाँका वचन र काम वास्तवमै अनुभव गर्न जरूरी छ, ताकि तिनीहरूले सत्यता प्राप्त गर्न र साँच्चिकै परमेश्‍वरप्रति समर्पित हुन र उहाँको आराधना गर्न सकून्। परमेश्‍वरले पूरा गर्न चाहनुभएको कुरा नै यही हो। तिमीहरूले परमेश्‍वरको काम स्विकार्न थालेदेखि अहिलेसम्ममा, तिमीहरूले केही कुराहरू अनुभव गरेका छौ होला, चाहे तिनलाई तिमीहरूले पराभौतिक सोचेका नै किन नहोऊ, वा चाहे ती नाङ्गो आँखाले देखिने वा मानव मस्तिष्कले प्राप्त गर्न सकिने नै किन नहोऊन्; छोट्करीमा भन्नुपर्दा, परमेश्‍वरले हरेक कुरा व्यावहारिक तरिकाले गर्नुहुन्छ, हामीमाथि, हामीमाझ, र हाम्रो वरिपरि, र हामीले देख्न र छुन सक्ने गरी काम गर्नुहुन्छ। त्यसकारण, सत्यता पछ्याउनु एउटा व्यावहारिक पाठ हो, र हामीलाई आइपर्ने हरेक कुरामा हामीले सत्यता खोज्‍ने र अभ्यास गर्ने गर्नुपर्छ, र सत्यता प्राप्त गर्नको लागि हामीले सहकार्य गर्ने हाम्रो प्रयत्नमा भरोसा राख्नुपर्छ। सत्यता पछ्याउनु मानिसहरूले कल्पेजस्तो हुँदैन। मानिसहरू परमेश्‍वरका वचनहरू पढ्नु र तिनका शाब्दिक अर्थ बुझ्नु नै सत्यता बुझ्नु हो, र यदि कसैले कुशलतापूर्वक बोल्न सक्छ भने, उसले सत्यता अभ्यास गरिरहेको हुन्छ भन्ठान्छन्। यो त्यति सरल छैन। सत्यता पछ्याउनको लागि वास्तवमा हामीले सत्यता खोज्‍न र स्विकार्न, कष्ट भोग्न र मूल्य चुकाउन, अनि अनुभव, खोजी, मनन, सङ्गति, अभ्यास, र वास्तविक जीवनमा मेहनत गर्न जरूरी छ। यस तरिकाले मात्र हामी बिस्तारै परमेश्‍वरको वचन र सत्यताभित्र प्रवेश गर्न अनि ती वचन र सत्यताबाट लाभ हासिल गर्न सक्छौँ। कुनै दिन, जब तैँले सत्यता के हो, र सत्यताको सार के हो भनेर बुझ्छस्, तब तैँले थाहा पाउनेछस् कि देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू हाम्रो वास्तविकताका आवश्यकताहरू हुन्, ती हाम्रा सम्पूर्ण समस्याहरू सामना गर्न हामीलाई आवश्यक पर्ने अभ्यासका सिद्धान्तहरू हुन्, र परमेश्‍वरका यी वचनहरू हाम्रा जीवनका लक्ष्य र दिशाहरू हुन्। त्यस बेला, परमेश्‍वरले गर्नुहुने हरेक काम कति अर्थपूर्ण छ, र हाम्रो लागि परमेश्‍वरको देहधारण कति महत्त्वपूर्ण र मूल्यवान्‌ छ भनेर तैँले देख्नेछस्! परमेश्‍वरले बोल्नुहुने हरेक वाक्य, उहाँको कामको प्रत्येक चरण, उहाँको प्रत्येक वचन र कार्य, उहाँका सोचहरू, उहाँका विचारहरू, अनि उहाँका दृष्टिकोणहरू सबैको उद्देश्य मानिसहरूलाई शुद्ध पार्नु र मुक्ति दिनु हो, र ती कुनै पनि रित्तो छैनन्; ती सबै वास्तविक र व्यावहारिक छन्। त्यसकारण, चाहे कुनै व्यक्ति कुनै धर्मबाट वा अविश्‍वासीहरूबाट धर्मान्तरित भएर नै आएको किन नहोस्, उसले अबउप्रान्त धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन, र उसले अबउप्रान्त धार्मिक सपनाहरू देख्नु हुँदैन, ठूला विपद्‌हरू आइपर्दा उसलाई अचानक आकाशमा लगेर प्रभुसित भेट गराइनेछ भन्‍ने सपना देख्नु हुँदैन; यो त दिवास्वप्न हो। परमेश्‍वर मान्छेलाई खुलासा र न्याय गर्न, र व्यावहारिक तरिकाले सत्यता व्यक्त गरेर मान्छेको भ्रष्टता शुद्ध पार्न, अनि मान्छेलाई व्यावहारिक तरिकाले शैतानको प्रभावबाट मुक्ति दिन आउनुभएको छ। यस अवधिमा, मान्छेले धेरै उत्पीडन र सङ्कष्टहरू पार गर्नुपर्नेछ, र उसले धेरै काँटछाँट र निराकरणहरू अनि धेरै न्याय र सजायहरू भोग्नुपर्नेछ, अनि मात्र ऊ शुद्ध र परिवर्तित हुन सक्छ; परमेश्‍वरको कामको यो अनुभवमार्फत मात्र उसले सत्यता प्राप्त गर्न सक्छ। तैँले सत्यता प्राप्त गरिसकेपछि, तेरो हृदयमा परमेश्‍वरको लागि ठाउँ हुनेछ, र तँमा परमेश्‍वरप्रति साँचो डर र आज्ञाकारिता हुनेछ, र परमेश्‍वरले चाहनुभएको पनि यही हो। जब तैँले सत्यता बुझेको र त्यसको मूल्य थाहा पाएको हुन्छस्, र जब सत्यताले तेरो हृदयमा जरा गाडेको हुन्छ र जब तँसँग सत्यताको व्यावहारिक अनुभव र ज्ञान हुन्छ, तब परमेश्‍वरको वचन नै तेरो हृदयको जीवन बनेको हुनेछ। के यो प्रक्रिया व्यावहारिक छ? (छ।) त्यसोभए, यस प्रक्रियाको लागि मानिसहरूले के गर्न जरूरी छ? सर्वप्रथम, मानिसहरू परमेश्‍वरको आज्ञापालन गर्ने, परमेश्‍वरको वचनको न्याय र सजाय स्विकार्ने, र परमेश्‍वरको काँटछाँट, निराकरण, परीक्षा र शोधनप्रति समर्पित हुने मनको हुनुपर्छ, ताकि तिनीहरूलाई तिनीहरूको भ्रष्टताबाट शुद्ध पार्न सकियोस्, ताकि तिनीहरूले सत्यता अभ्यास गरेर परमेश्‍वरप्रति आज्ञाकारिता हासिल गर्न सकून्, र ताकि तिनीहरूले परमेश्‍वरको वचनको वास्तविकताभित्र प्रवेश गर्न सकून्। जबसम्म व्यक्तिलाई परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनेर थाहा हुन्छ, तबसम्म परमेश्‍वरले ऊभित्र के कुरा पूरा गर्न चाहनुहुन्छ र उहाँले कस्तो परिणाम हासिल गर्न चाहनुहुन्छ भनी उसलाई थाहा हुनेछ। परमेश्‍वरको वचनले मान्छेमा दुईवटा मुख्य प्रभावहरू हासिल गर्छ: पहिलो, यसले मान्छेलाई आफू चिन्ने तुल्याउँछ; र दोस्रो, यसले मान्छेलाई परमेश्‍वर चिन्ने तुल्याउँछ। जब यी दुई प्रभावहरू हासिल भइसकेका हुन्छन्, तब व्यक्तिले परमेश्‍वरका वचनहरू साँच्चिकै चिन्नेछ, र सत्यता साँच्चिकै बुझ्नेछ।

आफैलाई चिन्नका निम्ति, तैँले तेरा आफ्‍नै भ्रष्टताका अभिव्यक्तिहरू, तेरो आफ्नै भ्रष्ट स्वभाव, तेरा आफ्नै महत्त्वपूर्ण कमजोरीहरू, र तेरो प्रकृति सारलाई चिन्नुपर्छ। तैँले तेरो दैनिक जीवनमा प्रकट हुने कुराहरू—तेरा अभिप्रायहरू, तेरा दृष्टिकोणहरू, र प्रत्येक थोकको बारेमा तेरो आचरण—तिमी घरमा भए पनि बाहिर भए पनि, तँ जब भेला हुन्छस्, जब तैँले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गरिरहेको हुन्छस्, वा तैँले सामना गर्ने प्रत्येक कुराको बारेमा एक-एक गरी तँलाई सम्पूर्ण रूपमा थाहा हुनुपर्छ। यी पक्षहरूद्वारा तैँले आफैलाई चिन्नुपर्छ। अवश्य पनि, आफैलाई गहिरो रूपमा चिन्‍नका निम्ति तैँले परमेश्‍वरका वचनहरू लागू गर्नुपर्छ; उहाँका वचनहरूको आधारमा आफैलाई चिनेर मात्र तैँले परिणामहरू प्राप्त गर्न सक्छस्। तिमीहरूले परमेश्‍वरका वचनहरूको न्याय स्वीकार गर्ने क्रममा, कष्ट-भोग वा पीडाको डर नमान, यसको साथै, परमेश्‍वरका वचनहरूले तिमीहरूको हृदय छेड्नेछन् र तिमीहरूका कुरूप स्थितिहरू खुलासा गर्नेछन् भनेर डर नमान। यी कुराहरूको कष्ट भोग्‍नु निकै फाइदाजनक हुन्छ। यदि तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ भने, तिमीहरूले मानिसहरूलाई न्याय र सजाय गर्ने परमेश्‍वरका वचनहरू, खास गरी मानवजातिको भ्रष्टताको सार प्रकट गर्ने वचनहरू अझ धरै पढ्नुपर्छ। तिमीहरूले आफ्‍नो व्यावहारिक स्थितिलाई ती वचनहरूसँग अझै बढी तुलना गर्नुपर्छ, र तिमीहरूले आफूसँग ती वचनहरू अझै बढी, र अरू वचनहरू कम जोड्नुपर्छ। परमेश्‍वरले खुलासा गर्नुभएका स्थितिहरू हरेक व्यक्तिमा हुन्छन्, र ती सबै तँमा भेटिन सक्छन्। यदि तँलाई विश्‍वास लाग्दैन भने, यसलाई अनुभव गर्ने प्रयास गर्। तैँले जति धेरै अनुभव गर्छस्, तैँले आफूलाई त्यति धेरै चिन्‍नेछस्, र तँलाई परमेश्‍वरका वचनहरू अत्यन्तै सही छन् भन्‍ने त्यति नै धेरै अनुभव हुनेछ। परमेश्‍वरका वचनहरू पढिसकेपछि, कतिपय मानिसहरूले तिनलाई आफैसँग जोड्न सक्दैनन्; उनीहरू यी वचनहरूका केही भागहरू उनीहरूको बारेमा होइनन्, तर ती अरू मानिसहरूको बारेमा हुन् भनी सोच्छन्। उदाहरणको लागि, जब परमेश्‍वरले मानिसहरूलाई जेजेबेल र वेश्याको रूपमा प्रकट गर्नुहुन्छ, केही दिदी-बहिनीहरूले तिनीहरू आफू आफ्ना पतिप्रति विश्‍वासयोग्य भएका कारण त्यस्ता वचनहरू उनीहरूका बारेमा भनिएको होइन भनी विचार गर्छन्; केही दिदी-बहिनीहरू उनीहरू अविवाहित भएकाले र कहिल्यै यौन-सम्पर्क नगरेकोले त्यस्ता वचनहरू उनीहरूका निम्ति पनि होइनन् भनी सोच्छन्। केही दाजुभाइहरू यी वचनहरू केवल महिलालाई मात्र भनिएका हुन्, र उनीहरूसँग तिनको कुनै सम्बन्ध छैन भनी विचार गर्छन्; कतिपय मानिसहरू परमेश्‍वरका प्रकाशका वचनहरू औधी कठोर छन्, ती वास्तविकतासँग मेल खाँदैनन् भन्‍ने विश्‍वास गर्छन्, र तिनलाई स्वीकार गर्न मान्दैनन्। त्यस्ता मानिसहरू पनि छन् जसले कतिपय अवस्थामा परमेश्‍वरका वचनहरू गलत हुन्छन् भनी भन्छन्। के यो परमेश्‍वरका वचनहरूप्रति हुनुपर्ने सही दृष्टिकोण हो? यो अवश्य नै गलत कुरा हो। मानिसहरू सबैले आफूलाई आफ्‍ना बाहिरी बानीबेहोराको आधारमा हेर्छन्। तिनीहरूले आफ्‍नो बारेमा मनन गर्न सक्दैनन्, र परमेश्‍वरका वचनहरूका आधारमा आफ्‍नो भ्रष्ट सारलाई चिन्दैनन्। यहाँ, “जेजेबेलहरू” र “वेश्याहरू” ले मानवजातिको भ्रष्टता, फोहोरीपन र व्यभिचारलाई जनाउँछ। चाहे पुरुष होस् वा स्त्री, विवाहित होस् वा अविवाहित, सबै जनामा व्यभिचारका भ्रष्ट सोचहरू हुन्छन्—यसैले तँसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ? परमेश्‍वरका वचनहरूले मानिसहरूको भ्रष्ट स्वभावलाई प्रकट गर्दछ; चाहे पुरुष होस् वा महिला, भ्रष्टताको स्तर एकसमान छ। के यो एउटा तथ्य होइन? हामीले सुरुमा परमेश्‍वरले भन्‍नुभएको हरेक कुरा सत्यता हुन्, र तथ्यहरूअनुरूप हुन्छन्, अनि मानिसहरूलाई न्याय र खुलासा गर्ने उहाँका वचनहरू जति नै कठोर भए पनि, वा सत्यता सङ्गति गर्ने वा मानिसहरूलाई प्रोत्साहन दिने उहाँका वचनहरू जति नै नरम भए पनि, उहाँका वचनहरू न्याय भए पनि आशिष्‌ भए पनि, ती दोषारोपण वा श्राप भए पनि, तिनले मानिसहरूलाई तीतो अनुभूति दिए पनि मीठो अनुभूति दिए पनि, मानिसहरूले ती सबैलाई स्वीकार गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ। परमेश्‍वरका वचनहरूप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। यो कस्तो किसिमको मनोवृत्ति हो? के यो निष्ठावान् मनोवृत्ति, भक्त मनोवृत्ति, धैर्य मनोवृत्ति, वा दुःखलाई अङ्गाल्ने मनोवृत्ति हो? तिमीहरू अलिक अन्योलमा छौ। म तिमीहरूलाई भन्छु, कि यो यीमध्ये कुनै पनि होइन। मानिसहरूले तिनीहरूको विश्‍वासमा परमेश्‍वरका वचनहरू सत्य छन् भनी दृढ विश्‍वास गर्नुपर्छ। ती वास्तवमै सत्य छन्, त्यसैले मानिसहरूले तिनलाई तर्कसङ्गत रूपमा स्वीकार गर्नुपर्छ। चाहे तिनीहरूले परमेश्‍वरको वचनलाई पहिचान वा स्वीकार गर्न सकून् वा नसकून्, त्यसप्रति तिनीहरूको पहिलो मनोवृत्ति त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने हुनुपर्छ। यदि परमेश्‍वरको वचनले तिमीहरूलाई खुलासा गर्दैन भने, कसले खुलासा गर्छ? अनि तिमीहरूलाई खुलासा गर्नको लागि होइन भने, किन तिमीहरूलाई यो स्वीकार गर्न लगाइन्छ? के यो विरोधाभास होइन र? परमेश्‍वरले सारा मानवजातिसँग बोल्‍नुहुन्छ, परमेश्‍वरले बोल्‍नुभएका हरेक वाक्यले भ्रष्ट मानवजातिलाई खुलासा गर्छ, र कसैलाई पनि छूट छैन—र यसले स्वाभाविक रूपमै तँलाई पनि समावेश गर्छ। परमेश्‍वरका वाणीहरूको एउटै पङ्‌क्ति पनि बाहिरी स्वरूप वा कुनै एक प्रकारको स्थितिसँग सम्बन्धित हुँदैन, कुनै बाहिरी नियमसँग वा मानिसहरूका व्यवहारको साधारण रूपसँग त्यो सम्बन्धित हुने कुरा त परै जाओस्। ती वाणीहरू त्यस्ता हुँदैनन्। यदि तँ परमेश्‍वरले बोल्नुभएको प्रत्येक पङ्क्तिले सामान्य प्रकारको मानवीय व्यवहार वा बाहिरी स्वरूपको खुलासा मात्र गर्छ भन्‍ने सोच्छस् भने, तँसँग कुनै आत्मिक बुझाइ छैन र तैँले सत्यता के हो भन्‍ने बझ्दैनस्। परमेश्‍वरका वचनहरू सत्यता हुन्। मानिसहरूले परमेश्‍वरका वचनहरूको गहनता अनुभूति गर्न सक्छन्। ती कसरी गहन छन्? परमेश्‍वरका सबै वचनहरूले मानिसका भ्रष्ट स्वभावहरू, र तिनीहरूको जीवनका सारगत अनि जरा गाडेर बसेका कुराहरू खुलासा गर्छन्। ती सारगत कुराहरू हुन्, बाहिरी स्वरूपहरू होइनन्, र निश्‍चित रूपमा बाहिरी व्यवहार होइनन्। मानिसहरूलाई उनीहरूको बाहिरी स्वरूपबाट हेर्दा तिनीहरू सबै असल देखिन सक्छन्। तर त्यसो भए किन परमेश्‍वरले केही मानिसहरू दुष्टात्माहरू हुन् र केही अशुद्ध आत्माहरू हुन् भनी भन्नुहुन्छ? यो तेरो निम्ति अदृश्य विषय हो। त्यसकारण, परमेश्‍वरका वचनहरूलाई मानव धारणा वा कल्‍पनाहरूअनुसार, वा मानव जनश्रुतिको आधारमा लिनु हुँदैन, र सत्ताधारी पार्टीका अभिव्यक्तिहरूका आधारमा त अवश्य नै लिनु हुँदैन। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्; मान्छेका शब्‍दहरू सबै भ्रम हुन्। आफूलाई त्यसरी सङ्गति गरिसकिएपछि, के तिमीहरूले परमेश्‍वरका वचनहरूप्रतिको तिमीहरूको मनोवृत्तिमा परिवर्तन अनुभव गरेका छौ? त्यो परिवर्तन जति नै ठूलो वा सानो भए पनि, अर्कोपटक मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन। तैँले “परमेश्‍वरका प्रकाश र न्यायका वचनहरू औधी कठोर छन्; म यो पृष्ठ पढ्नेछैन। म यसलाई छोडेर अघि बढ्नेछु। म आशिष्‌हरू र प्रतिज्ञाहरूबारे पढेर केही सान्त्वना लिनेछु” भन्दै परमेश्‍वरबारे गुनासो गर्न छोड्नुपर्छ। तैँले अबउप्रान्त आफ्‍नै रुचिअनुसार रोज्दै र छान्दै परमेश्‍वरको वचन पढ्न छोड्नुपर्छ। तैँले सत्यता अनि परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्छ; त्यसपछि मात्रै तेरो भ्रष्ट स्वभाव धुन सकिन्छ, र त्यसपछि मात्रै तैँले मुक्ति पाउन सक्छस्।

परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् भन्ने तिमीहरूलाई थाहा भए पनि, र तिमीहरू सत्यता पछ्याउन इच्छुक भए पनि, परमेश्‍वरका वचनहरूप्रति व्यवहार गर्दा तिमीहरूमा अझै पनि आफ्नै रुचि र रोजाइहरू हुन्छन्, र तिमीहरूले अझै पनि आफ्नै इच्छाअनुसार नै कार्य गर्नेछौ। परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌सम्बन्धी वचनहरू पढ्न तिमीहरू सबैभन्दा धेरै इच्छुक हुन्छौ, र तिमीहरूले विशेष गरी परमेश्‍वरको प्रतिज्ञासम्बन्धी वचनहरू सम्झनेछौ। यस्ता वचनहरू पढ्दा तिमीहरूलाई सान्त्वाना मिल्नेछ, वा तिमीहरूको आशाको दियो बल्नेछ र तिमीहरूले आफूमा अझै परमेश्‍वरमा विश्‍वास गर्ने शक्ति र उत्प्रेरणा पाउनेछौ। तर तिमीहरू परमेश्‍वरका वचनहरूले मानिसहरूलाई न्याय र खुलासा गरेको पढ्न अनिच्छुक हुन्छौ, किनभने यदि व्यक्तिले सधैँ मानिसहरूलाई खुलासा गर्ने अनि तिनीहरूलाई न्याय र सजाय गर्ने परमेश्‍वरका वचनहरू पढ्छ भने, उसलाई निराशा छाउँछ, र परमेश्‍वरमा विश्‍वास गर्ने उसको शक्ति नै हराउँछ, अनि ऊ कसरी अगाडि बढ्न सक्छ र? आजकल, रहस्यहरू खुलासा गर्ने परमेश्‍वरका वचनहरू धेरैजसो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूलाई ती अति गहन छन्, र आशिष्‌सम्बन्धी वचनहरू आफ्नो पहुँचबाहिर छन् भन्ने अनुभूति हुन्छ। मान्छेको भ्रष्ट स्वभाव खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरूले तीमध्ये केही बुझ्न सक्छन्, र तिनीहरूले ती वचनहरू आफूसित जोडेर ती वचनहरू सत्यता हुन् भनी हृदयभित्र माने पनि, तिनलाई स्विकार्न तिनीहरू अझै अनिच्छुक हुन्छन्। हेर्, मानिसहरू वास्तवमै कति अफ्ठ्यारा हुन्छन्! परमेश्‍वरको वचन सत्यता हो भन्ने थाहा हुँदाहुँदै पनि तिनीहरू त्यसलाई स्विकार्न अझै अनिच्छुक हुन्छन्; तिनीहरू आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्, तर ती प्राप्त गर्न अझै सक्दैनन्। त्यसकारण, व्यक्तिले उचित रूपमा कसरी परमेश्‍वरको वचन खानु र पिउनुपर्छ? सर्वप्रथम, उसले रहस्यहरू खुलासा गर्ने परमेश्‍वरका अझ धेरै वचनहरू बढी पढ्नुपर्छ। यस्ता वचनहरू पढ्दा, उसलाई परमेश्‍वर तेस्रो स्वर्गमा हुनुहुन्छ र उहाँ उच्च हुनुहुन्छ, अनि व्यक्तिमा परमेश्‍वरको डर हुनुपर्छ भन्ने अनुभूति हुन्छ। त्यसपछि उसले यसो भन्दै प्रार्थना गर्छ, “हे परमेश्‍वर, तपाईं अति महान् हुनुहुन्छ! तपाईं सर्वोच्च हुनुहुन्छ! सबै कुराहरूमाथि तपाईंको सार्वभौमिकता छ, र तपाईंले मेरो नियति निर्धारण गर्न सक्नुहुन्छ; तपाईंले मेरो वरिपरि घटित होऊन् भनेर बन्दोबस्त गर्नुभएका सबै कुराहरूप्रति म समर्पित हुन इच्छुक छु।” यसरी प्रार्थना गर्दा, मानिसहरूमा परमेश्‍वरको केही डर हुनेछ। मानिसहरू उच्च परमेश्‍वरमा विश्‍वास गर्न तत्पर छन्, त्यसैले परमेश्‍वरको वचन खानु र पिउनुअघि, पहिलो कुरा परमेश्‍वर स्वर्गबाट मानिसहरूसित बोलिरहनुभएको छ भन्ने कुरा सुनिश्‍चित गरिनुपर्छ, अनि मानिसहरू परमेश्‍वरको वचन पढ्न इच्छुक हुनेछन् र तिनीहरूले धारणाहरू राख्ने सम्भावना पनि कम हुनेछ। दोस्रोमा, खान र पिउनको लागि परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरूसम्बन्धी केही वचनहरू खोज्नुपर्छ। मान्छेलाई आशिषित तुल्याउने परमेश्‍वरका वचनहरू देखेपछि, मानिसहरू अत्यन्तै उत्तेजित हुन्छन् र रुन थाल्छन्, अनि यसो भन्छन्, “हे परमेश्‍वर, तपाईं अत्यन्तै प्रिय हुनुहुन्छ! तपाईं हाम्रो आराधनाको अत्यन्तै लायक हुनुहुन्छ! हामीहरूको लागि तपाईंसँग भएका आशिष्‌हरू स्विकार्न हामी अत्यन्तै इच्छुक छौँ, र तपाईंले हामीलाई दिनुभएका प्रतिज्ञाहरू स्विकार्न हामी झनै इच्छुक छौँ। यति हो, अहिले हामी सानो कदका छौँ र अझै बढेका छैनौँ, तपाईंका प्रतिज्ञा र आशिष्‌हरू ग्रहण गर्न हाम्रो योग्यताले पुग्दैन, तर बिन्ती छ, हामीलाई थप भरणपोषण गर्नुहोस्!” परमेश्‍वरको आशिष्‌का वचनहरू पढ्न कति मिठो हुन्छ! त्यसपछि तिनीहरूले मनन् गर्छन्, “अनि, कस्ता खालका आशिष्‌हरू छन् त? परमेश्‍वरले भन्नुभएको छ कि जब समय आउँछ, तब मान्छेलाई कुनै विपत्तिहरू आइपर्नेछैनन्, र मान्छे दैनिक तीनपटक खाना खानुपर्ने अनि धुनु र सफा गर्नुपर्ने बोझबाट मुक्त हुनेछ—परमेश्‍वरले यस्तै प्रतिज्ञाहरूबारे बोल्नुभएको छ।” व्यक्तिले जति धेरै पढ्छ, ऊ त्यति धेरै उत्साहित बन्छ। तर तँ जति नै उत्साहित भए पनि, सत्यता पछ्याउन नबिर्सी। तेस्रो चरण भनेको मानवजातिको भ्रष्ट स्वभाव र सार खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्नु हो। जब यो कुरा आउँछ, हरेकपटक धेरै खानु र पिउनु आवश्यक पर्दैन; एकपटकमा एक-दुई थरी कुरा खाँदा र पिउँदा पर्याप्त हुन्छ। खाने र पिउने काम गरेपछि, तैँले नबुझ्ने कुराहरू, र तँसँग जोड्न नसकिने कुराहरूलाई छेउ लगा, र तँसित जोड्‍न सकिने कुराहरूबारे ध्यानपूर्वक मनन् गर्, अनि तैँले बिस्तारै आफ्नो स्थिति चिन्‍न सक्‍नेछस्। जब तैँले आफ्नो भ्रष्ट स्वभाव साँच्चिकै चिनेको हुन्छस्, तैँले बढीभन्दा बढी सत्यताहरू बुझ्नेछस्, अनि अचेतन रूपमै तैँले आफ्नो प्रकृति सार छर्लङ्गै देख्न सक्नेछस्। के तिमीहरूलाई यो राम्रो हो भन्ने लाग्छ? (लाग्छ।) यो बच्चालाई ओखती दिएजस्तै हो: सुरुमा उसलाई फकाउन तैँले केही स्वादिष्ट कुरा दिन्छस्, त्यसपछि, जब उसले त्यसतिर ध्यान दिइरहेको हुँदैन, तैँले उसलाई मुखभरि ओखती हालिदिन्छस्; यदि उसलाई तीतो लाग्यो भने, तैँले उसलाई थप दुइटा मिठाई दिएर फकाउँछस्, अनि उसले ओखती खानेछ। तर जब ऊ बढेर ठूलो हुन्छ, यसो गर्नै पर्दैन: उसलाई त्यो कति तीतो छ भन्ने पूरै ज्ञान हुन्छ र पनि उसले आफ्नै इच्छाले ओखती पिउँछ। यो कदको मामिला हो। यदि तँमा कदको कमी छ, र तँलाई परमेश्‍वरको वचनमा मान्छेको भ्रष्ट प्रकृति र सम्बन्धित सत्यताहरू खोज्न अनि आफूलाई ती सत्यताहरूसँग दाँज्न लगाइयो भने, अनि यदि तँलाई दिनभरि नै यी वचनहरू खान र पिउन लगाइयो भने, अन्ततः तँ थकित हुनेछस्, किनकि तिनको लागि तेरो अनुभव पुग्दैन र पर्याप्त हुँदैन। त्यसैले, तैँले त्यसबीच अलिकति मिठाईजस्तै केही कुरा थप्‍नुपर्छ, अनि सानो कद भएकाहरूले यस तरिकाले परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ। यदि तँ प्रायः कमजोर र निष्क्रिय हुन्छस् अनि तँमा वास्तविक आस्था र आशा छैन भने, तैँले चाँचाँडो परमेश्‍वरका आशिष्‌ र प्रतिज्ञाहरूसम्बन्धी वचनहरू खानु र पिउनुपर्छ, अनि रहस्यहरू खुलासा गर्ने परमेश्‍वरका वचनहरू खोजेर खानु र पिउनुपर्छ। यदि तँलाई तेरो शक्ति बढ्दै गएको र परमेश्‍वरसँगको तेरो सम्बन्ध निकट बन्दै गएको अनुभूति हुन्छ भने, तैँले मौकामा चौका हान्दै दण्ड र न्यायका वचनहरू खोजी खानु र पिउनुपर्छ, र यस तरिकाले, खाने र पिउने कामले अझै सहज रूपमा प्रभाव हासिल गर्नेछ, अनि तेरो जीवनवृद्धिमा ढिलाइ हुनेछैन। यदि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, तँ सानो कदको छस् भने, तैँले समायोजन गर्न जान्‍नुपर्छः तैँले यसरी खाने र पिउने गर्नुपर्छ कि त्यसले तँलाई राम्रो मानसिक स्थितिमा पुर्‍याओस् र तेरो तीब्र वृद्धि होस्; आफ्नो पहुँचभित्रको कुरा खाने र पिउने अनि आफ्नो पहुँचमा नभएको कुरा छेउ लगाउने गर्नुपर्छ; अनि खाने र पिउने कार्यबाट आफूले बुझेको कुराको अभ्यास र अनुभव गर्ने प्रयास गर्नुपर्छ। जबसम्म तँलाई आफूले बुझ्ने परमेश्‍वरका वचन र सत्यताहरू अभ्यास र अनुभव गर्न आउँछ, तबसम्म तँ परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्ग प्रवेश गर्न सक्षम रहनेछस्।

कसैले एकपटक यस्तै केही भनेको म सम्झन्छुः परमेश्‍वरले कहिले धर्ती छोड्नुहोला भनेर अध्ययन गर्न एउटा मान्छेले ठूलो प्रयत्न गर्‍यो। त्यो ठूलो प्रयत्न भनेको त्यसबारे दिनरात सोच्नु थिएन; बरु, त्यो उसको लागि उसले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखिको चासोको विषय थियो। सही जवाफ भेट्टाउनको निम्ति, उसले परमेश्‍वरको प्रस्थानबारे सम्पूर्ण वचनहरू जम्मा पार्‍यो, जस्तैः परमेश्‍वरले कहिले धर्ती छोड्नुहोला, त्यसका कस्ता चिन्हहरू होलान्, र मण्डलीका मानिसहरूले कस्तो प्रतिक्रिया जनाउँलान्। त्यसपछि उसले ती कुराहरूबारे ठूलो जोससाथ मनन गर्‍यो, र एउटा बृहत विश्‍लेषण गर्‍यो र ती सबैलाई एकएक गरी अनि अगाडिदेखि पछाडिसम्म एकअर्कासँग तुलना गर्‍यो, यस्तो लाग्थ्यो मानौँ बाइबलकै सन्दर्भ लिइँदै छ। के यो ठूलो प्रयत्न थिएन र? यो मान्छेले परमेश्‍वरबारे कति “चासो” राख्थ्यो, र उसमा परमेश्‍वरप्रति कति “प्रेम” थियो! धर्तीबाट परमेश्‍वरको प्रस्थान हुनु भनेको परमेश्‍वरको कामको निकै महत्त्वपूर्ण घटना हो, र जब उसले यो कुरा पत्ता लगायो, उसले यसलाई सबैभन्दा महत्त्वपूर्ण मान्यो—अर्थात् मुक्ति प्राप्त गर्न उसले सत्यता पछ्याएको कुराभन्दा पनि महत्त्वपूर्ण, र परमेश्‍वरका वचनहरूमा सत्यताको कुनै बुँदा खोजेको कुराभन्दा पनि महत्त्वपूर्ण मान्यो। त्यसैले, उसले ती सबै वचनहरू एकै ठाउँमा जम्मा गर्‍यो र अन्त्यमा “जवाफ” फेला पार्‍यो। जे होस्, उसको अनुसन्धानको परिणामको सटीकतालाई एकातिर राखौँ, अब तिमीहरूलाई परमेश्‍वरमाथिको आस्था पछ्याउनेबारे यस खालको व्यक्तिको दृष्टिकोण र उसको पछ्याउने तरिका कस्तो लाग्यो? के उसले गरेको प्रयत्न आवश्यक थियो? त्यस्तो मेहनत गर्नु अर्थहीन थियो! पृथ्वीबाट हुने परमेश्‍वरको प्रस्थानसँग तेरो के सरोकार छ? परमेश्‍वरले तँलाई उहाँको आगमनबारे जानकारी दिनुभएन, त्यसैले उहाँले तँलाई उहाँ कहिले जानुहुँदै छ भनेर भन्नुहुनेछैन। परमेश्‍वरले धेरै कुराहरू मानिसहरूलाई थाहा दिनुहुन्न, अनि त्यसको कारण के हो? त्यसको कारण के हो भने, मानिसहरूले त्यो जान्नु आवश्यक नै छैन, र यदि तिनीहरूले जानिहाले पनि, त्यसले तिनीहरूलाई केही फाइदा गर्नेछैन र तिनीहरूको भावी गन्तव्यहरूमा पनि कुनै भूमिका खेल्नेछैन, त्यसैले मानिसहरूले त्यो जान्नु आवश्यक छैन। अब परमेश्‍वर देहधारी बन्नुभएकोले, उहाँलाई सबै रहस्यहरू अनि सत्यता र यावत् थोकका सबै पक्षहरू थाहा छ, अनि उहाँले मानिसहरूलाई ती सब भन्न सक्नुहुन्छ, तर त्यस्ता केही कुराहरू पनि छन् जुन मानिसले जान्नु आवश्यक नै छैन, न त ती कुराहरू तिनीहरूलाई भन्नु आवश्यक नै छ। परमेश्‍वर धर्तीबाट प्रस्थान गर्नुहुँदा वा उहाँले आफ्नो कामलाई टुङ्ग्याउनुहुँदा के त्यसको मान्छेसित कुनै सम्बन्ध छ? कसैले भन्लाः केही पनि छैन! कतिपय मानिसहरू भन्छन्, “त्यसको कसरी केही सम्बन्ध छैन? सत्यता पछ्याउन अति ढिलो भयो भने मैले के गर्ने? मैले परमेश्‍वरको दिन कति बाँकी छ भनेर हेर्नुपर्छ, र सत्यता पछ्याउनुअघि म त्यो दिनबारे निश्‍चित हुनुपर्छ।” के यस्तो व्यक्ति मूर्ख होइन र? के ऊ सत्यता पछ्याउने व्यक्ति हो र? बिलकुलै होइन! यदि कुनै व्यक्तिले साँच्चिकै सत्यता पछ्याउँछ भने, उसले यसबारे वास्ता गर्नेछैन, न ऊ यी कुराहरूबारे चासो राख्न नै चाहन्छ; उसलाई यी कुराहरूबारे चासो राख्नुले सत्यता पछ्याउनमा कुनै मद्दत गर्दैन र त्यसो गर्नुको कुनै महत्त्व छैन भन्ने लाग्छ, त्यसैले ऊ यी नीरस विषयहरूबारे सोच्न वा प्रयत्न गर्न इच्छुक हुँदैन। कतिपय मानिसहरू जहिले पनि परमेश्‍वरको दिन कहिले आउनेछ भनेर चासो राख्छन्, तर के यो व्यक्तिगत मुद्दा होइन र? के परमेश्‍वरको दिन कहिले आउनेछ भनेर तैँले निरन्तर चासो राख्नुले तैँले परमेश्‍वरलाई प्रेम गर्छस् भन्ने कुरा प्रमाणित गर्छ र? के त्यसले तँ परमेश्‍वरको इच्छा पालना गर्ने व्यक्ति होस् भनेर प्रमाणित गर्न सक्छ र? के त्यसले तैँले परमेश्‍वरको साक्षी दिन्छस् भन्‍ने प्रमाणित गर्न सक्छ र? के त्यसले तैँले परमेश्‍वरको राज्यको सुसमाचार फैलाउनमा योगदान गरेको छस् भन्ने प्रमाणित गर्न सक्छ र? अनि, तेरो असल कर्महरू बटुल्ने काम कस्तो भइरहेको छ? तैँले कति सत्यता बुझेको छस्? तँ कुन-कुन सत्यता वास्तविकताहरूभित्र प्रवेश गरेको छस्? यीचाहिँ तैँले सबैभन्दा बढी चासो राख्नुपर्ने कुराहरू हुन्। तँ सधैँ परमेश्‍वरको खबर सोधखोज गरिरहेको हुन्छस्, सधैँ केही गफगाफ थाहा पाउन चाहन्छस्, सधैँ केही रहस्य बुझ्न चाहन्छस्। तर यो जिज्ञासु हृदय मात्र हो, सत्यता पछ्याउने वा परमेश्‍वरबारे विचारशील हृदय बिलकुलै होइन, र परमेश्‍वरको डर मान्ने हृदय त झनै होइन। रहस्य बुझ्न दौडने तेरो क्रियाकलापसित सत्यता पछ्याउने कार्यको थोरै पनि सम्बन्ध हुँदैन। यस्ता खालका मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? के तैँले तिनीहरूलाई आदर गर्छस्? के तँ तिनीहरूको प्रशंसा गर्छस्? के तँ तिनीहरूको ईर्ष्या गर्छस्? के तँ तिनीहरूलाई त्यस्ता रहस्यहरू खोज्न मद्दत गर्नेछस्? अहँ, तैँले बरु अवश्यै तिनीहरूलाई तुच्छ दृष्टिले हेर्नेछस्, र यसो भन्नेछस्, “हामी अझै पनि सत्यता पछ्याउनमा, आफूलाई चिन्नमा, र परमेश्‍वरलाई चिन्नमा कमजोर रहेका छौँ—हामीले अहिलेसम्म पनि केही हासिल गरेका छैनौँ—र यहाँ हरपक्षका सत्यताहरू पत्ता लगाउन, बुझ्‍न, र अभ्यास गर्न बाँकी छ, त्यसैले हामीले त्यस्ता रहस्यहरू अध्ययन गर्न जोड दिनुपर्ने कुनै जरुरी छैन।” खासमा, यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ र तँमा सत्यता पछ्याउने चाहना छ भने, जब त्यो दिन आउँछ, परमेश्‍वरले तँलाई अज्ञानवश छोड्नुहुनेछैन; उहाँले तेरो परित्याग गर्नुहुनेछैन। तँसँग हुनुपर्ने आस्था र बुझाइ नै यही हो। यदि तँसँग यो आस्था र बुझाइ छ भने, तैँले कुनै पनि मूर्ख काम गर्नेछैनस्। यदि परमेश्‍वरको अभिप्राय तँलाई भन्ने नै हुन्थ्यो भने, के उहाँले त्यो सिधै भन्नुहुन्थेन र? के घुमाउरो तरिकाले भन्नुपर्ने कुनै जरुरी हुन्थ्यो र? के वचनहरूभित्रै वचनहरू लुकाउनु आवश्यक हुन्थ्यो र? के गोप्य हुन जरुरी पर्थ्यो र? बिलकुलै पर्दैनथ्यो। परमेश्‍वरको अभिप्राय मानिसहरूलाई सत्यताबारे थाहा दिनु हो; उहाँको काम, वचन र इच्छाले व्यक्त गर्ने हरेक कुरा सत्यता हो, र तिनलाई उहाँले मानिसहरूबाट कदापि लुकाउनुहुनेछैन। त्यसकारण, परमेश्‍वरले जे कुरा मानिसहरूले जानून् भन्‍ने चाहनुहुन्न तैँले ती कुराहरू सोधखोज गर्नु आवश्यक छैन, न त तैँले ती कुराहरू मनमा खेलाउनु नै आवश्यक छ, किनकि तैँले ती कुराहरूमा लगाएको प्रयत्न व्यर्थ हुनेछ, र त्यसको केही मूल्य हुनेछैन, बरु त्यो कुरा परमेश्‍वरको लागि घिनलाग्दो हुनेछ। त्यो किन परमेश्‍वरको लागि घिनलाग्दो हुनेछ? सर्वप्रथम त, परमेश्‍वरले थुप्रै सत्यताहरू व्यक्त गर्नुभएको छ, र सत्यताहरू सबै क्षेत्रमा व्यक्त गरिन्छन् भन्ने कुरा तैँले बुझ्‍नुर्छ। यदि तँलाई केही आइपर्दा तैँले सत्यता खोजेर तेरा आफ्ना वास्तविक समस्याहरू हल गर्दैनस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति हैनस्: तँ अत्यन्तै जिज्ञासु व्यक्ति होस्; ससाना कुरामा बखेडा गर्न रुचाउने व्यक्ति होस्; र परमेश्‍वरका वचनहरूलाई उचित आदरविना र सधैँ झाराटारुवा तरिकाले व्यवहार गर्ने व्यक्ति होस्। तेरो हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ छैन। तेरो हृदयमा ती थोरै कुराहरू मात्र छन् जुन तैँले थाहा पाएको परमेश्‍वर चाहनुहुन्न, जस्तै उहाँको निवास—अर्थात तेस्रो स्वर्ग—कस्तो छ र त्यो वास्तवमा कहाँ छ, भविष्यको राज्य कस्तो हुनेछ, र परमेश्‍वरको देहधारणले कहिले धर्ती छोड्नुहुनेछ। त्यही कारणले गर्दा म भन्छु, परमेश्‍वरले तँलाई घिनाउनुहुन्छ। परमेश्‍वरले तँलाई घिनाउनुपर्ने कुनै कारण छ? (छ।) मानौँ तेरा बालबच्चाले दिनभरि मेहनतसाथ पढेनन् र तिनीहरूले गर्नुपर्ने गृहकार्य गरेनन्, बरु यस्ता प्रश्‍नहरू मनमा खेलाए, जस्तै: “मेरा बुबा र आमाको कसरी भेट भयो? उनीहरूले मलाई कसरी जन्माए? म जन्मेपछि, के उनीहरूलाई म मन परेँ? मेरो परिवारको अवस्था भविष्यमा कस्तो होला? के हामीले धेरै सम्पति जोड्न सक्नेछौँ?” यदि तिनीहरूले सधैँ यी प्रश्‍नहरूबारे अध्ययन-अनुसन्धान गरे भने, के तैँले त्यस्तो बच्चालाई मन नपराउनेथिनस् र? के तेरा बालबच्चाले यसो गरेको तैँले घृणा गर्नेथिनस् र? अनि, तँ तेरा बालबच्चाले के गरून् भन्ने चाहन्थिस्? राम्ररी पढ्न र लेख्न जानून् अनि मेहनतसाथ अध्ययन गरून्। तेरा बालबच्चाको लागि तेरो अभिप्राय यस्तो हुन्छ भने मान्छेको लागि परमेश्‍वरको अभिप्राय के हुन्छ? कसरी पो परमेश्‍वर मान्छेले सही मार्ग पछ्याऊन् र उचित काम गरून् भन्‍ने चाहन सक्नुहुन्‍न र? मानिसले परमेश्‍वरको अध्ययन गरेको, वा सधैँ उहाँको हरेक वचन र कार्य गोप्य रूपमा नियालेको, वा उहाँमाथि अर्थहीन समय र प्रयत्न खर्चेको परमेश्‍वर मन पराउनुहुन्न। धेरैजसोले परमेश्‍वरको दिन कहिले आउला भनेर सधैँ अध्ययन गरिरहेका हुन्छन्। के तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरलाई शङ्का र प्रतिरोध गरिरहेका हुँदैनन् र? परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूलाई बहुमूल्य नठान्ने र तिनलाई नपछ्याउने मान्छेको समस्या के हो? भक्त व्यक्तिले सबै कुराहरूमा सत्यता खोज्छ र परमेश्‍वरको हृदय अनुभूत गर्छ, र परमेश्‍वरका वचनहरू पढेपछि, ऊ ती वचनहरू सत्यता हुन् र तिनको अभ्यास र पालना गरिनुपर्छ भनेर निश्‍चित हुन सक्छ। परमेश्‍वरको वचन सत्यता हो भनेर विश्‍वास नगर्नेले मात्र परमेश्‍वरको अध्ययन गर्नेछ। यस्ता मानिसहरूले आफ्ना जिम्मेवारीहरू र आफ्ना कर्तव्यहरूबारे अलिकति पनि वास्ता गर्दैनन्; तिनीहरूले ती कुराहरूबारे बिलकुलै ध्यान दिँदैनन्, र ती कुराहरूको लागि प्रयत्न गर्ने वा मूल्य चुकाउने गर्दै गर्दैनन्। बरु, तिनीहरू सधैँ यस्तै कुराहरूबारे चासो राख्छन, जस्तैः परमेश्‍वरले धर्ती कहिले छोड्नुहुनेछ, परमेश्‍वरले कहिले विपद् ल्याउनुहुनेछ, र परमेश्‍वरको दिन आउन अझै कति समय लाग्नेछ, साथै अनौठा प्रश्‍नहरूबारे पनि चासो राख्‍छन्, जस्तैः “के परमेश्‍वरले धर्ती छोडिसकेपछि पनि उहाँले हामीलाई भेट्नुहुनेछ? के उहाँले धर्ती छोडिसकेपछि उहाँको काम यस्तै हुनेछ? परमेश्‍वरले धर्ती छोडिसकेपछि, उहाँ तेस्रो स्वर्गमा कति समय रहनुहुनेछ? के उहाँ फर्केर आउनुहुनेछ? के भविष्यको राज्यको युगमा स्वर्गदूतहरू हुनेछन्? के स्वर्गदूतहरूले मानिसहरूसँग अन्तरक्रिया गर्नेछन्?” यस्ता विषयहरू निरन्तर अध्ययन गरिरहने मानिसहरूलाई परमेश्‍वरले घिनाउनुहुन्छ। त्यसोभए मान्छेले केमा ध्यान दिनुपर्छ? देहधारी परमेश्‍वरलाई कसरी चिन्ने, परमेश्‍वरको काम कसरी चिन्ने, र परमेश्‍वरले बोल्नुभएको हरेक वचन कसरी ग्रहण गर्नेः यी मान्छेका जिम्मेवारीहरू हुन्, र यी मान्छेले बुझ्न र प्रवेश गर्न खोज्नुपर्ने प्रथम कुराहरू हुन्। यदि तँ यी सत्यताहरू बुझ्न र तिनमा प्रवेश गर्न खोज्दैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास अर्थहीन छ—वास्तविक विषयवस्तु नभएको खोक्रो नाराजस्तै छ। यदि तँ सधैँ रहस्यहरूसम्बन्धी कुराहरू र परमेश्‍वरले धर्ती कहिले छोड्नुहुन्छ भन्नेजस्ता कुराहरू गोप्य रूपमा मनन गरिरहेको हुन्छस् भने, वा यदि तिमीहरू सधैँ एकअर्कामाझ परमेश्‍वरको देहधारण कहाँ भयो, उहाँको देहधारण कस्तो परिवारमा भयो, उहाँको पारिवारिक पृष्ठभूमि कस्तो छ, उहाँको जीवन कस्तो छ, उहाँ कति वर्षको हुनुहुन्छ, उहाँले कस्तो शिक्षा लिनुभयो, उहाँले कहिल्यै परमेश्‍वरमा विश्‍वास गर्नुभयो कि भएन, उहाँले कहिल्यै बाइबल पढ्नुभयो कि भएन, र उहाँले येशूमा कति समय विश्‍वास गर्नुभयो, आदि इत्यादिबारे कुरा गरिरहेका हुन्छौ भने—यदि तिमीहरू सधैँ यी कुराहरू अध्ययन गरिरहेका हुन्छौ भने, तिमीहरू परमेश्‍वरको आलोचना र उहाँको देहको निन्दा गरिरहेका छौ! परमेश्‍वर तैँले उहाँको स्वभाव र उहाँको सार जानेको चाहनुहुन्छ, र यसरी तैँले उहाँको हृदय बुझ्न सक्छस्, उहाँको आज्ञापालन गर्न सक्छस्, र सत्यता अभ्यास गरेर उहाँलाई सन्तुष्ट तुल्याउन सक्छस्; उहाँले तँलाई उहाँको अध्ययन गर्न र उहाँको पिठ्यूँपछाडि उहाँबारे छलफल गर्न दिनुहुन्न। त्यसकारण, हामीले परमेश्‍वरको देहधारण र परमेश्‍वरको कामको यो चरण स्विकारेको हुनाले, र हामीले ख्रीष्टलाई हाम्रो जीवन र हाम्रो परमेश्‍वरको रूपमा स्विकारेको हुनाले, हामीमा परमेश्‍वरको डर हुनुपर्छ र परमेश्‍वरको स्वामित्वका कुराहरू र उहाँको सत्व र उहाँले धारण गर्नुभएको देहलाई भक्त मनोवृतिसाथ व्यवहार गर्नुपर्छ; हामीमा हुनुपर्ने समझ र मानवता नै यही हो। यदि तँलाई अहिले आफूमा परमेश्‍वरबारे कुनै ज्ञान छैन भन्ने अनुभूति हुन्छ भने, त्यसबारे नबोल्। बरु, आफूलाई चिन्नेबारे, अनि सत्यता कसरी पछ्याउने, र कसरी कर्तव्य राम्ररी निर्वाह गर्ने भन्नेबारे बोल्, अनि सत्यताका यी पक्षहरूद्वारा आफूलाई सुसज्जित गर्। एकदिन, जब तँलाई तँसँग परमेश्‍वरबारे केही वास्तविक ज्ञान भएको अनुभूति हुन्छ, तब तैँले सबैसँग मिलेर सङ्गति गर्न सक्छस्। तर परमेश्‍वरको देहधारी देह वा अरू कुनै थाहा नभएका रहस्यबारे कुरा गर्ने प्रयास नगर्, किनकि तैँले सजिलै परमेश्‍वरको स्वभाव चिढ्याउन सक्छस्, र परमेश्‍वरद्वारा तेरो निन्दा हुन सक्छ, र तँ ईशनिन्दा गर्ने व्यक्ति बन्न सक्छस्, अनि पवित्र आत्माले तँलाई त्याग्नुहुनेछ। यो तैँले प्रस्टसित बुझ्‍नुपर्ने मामिला हो। के सधैँ परमेश्‍वरको अध्ययन गर्नु र गफगाफबारे सोधखोज गर्नुले सत्यता पछ्याइको ठाउँ लिन सक्छ? के त्यसले तँलाई परमेश्‍वर चिन्न सक्षम पार्न सक्छ? यदि यी कुराहरू प्रस्टसित बुझ्न सक्दैनस् भने, के तँ अत्यन्तै मूर्ख र अज्ञानी व्यक्ति हैनस् र?

सत्यता पछ्याउनु ठ्याक्कै के हो भनेर मानिसहरूले बुझ्नैपर्छ। मानिसहरूलाई मुक्ति प्रदान गर्न परमेश्‍वरले किन त्यति धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ? परमेश्‍वर किन मानिसहरूलाई त्यति धेरै सत्यताहरू बुझ्‍न लगाउनुहुन्छ? यदि व्यक्तिले यी सत्यताहरू बुझ्दैन भने, के उसले आफ्नो भ्रष्ट स्वभाव सुल्झाउन सक्छ? के उसले यी सत्यताहरू नबुझीकन परमेश्‍वरलाई चिन्न सक्छ? यदि व्यक्तिले परमेश्‍वरलाई चिन्दैन भने, के उसले परमेश्‍वरप्रति आज्ञाकारिता हासिल गर्न सक्छ? के उसले परमेश्‍वरको आराधना गर्न सक्छ? यी सबै सत्यताहरू अन्तर्सम्बन्धित छन्। व्यक्तिले यी सत्यताहरू नबुझीकन कसरी मुक्ति प्राप्त गर्न सक्छ? के यी सत्यताहरू बुझ्न सजिलो छ? के व्यक्तिले न्याय र सजाय अनुभव नगरीकन सत्यताको बुझाइ हासिल गर्न सक्छ? के व्यक्तिले काँटछाँट र निराकरणहरू अनुभव नगरीकन आफैलाई चिन्न सक्छ? के व्यक्तिले आफैलाई नचिनीकन साँचो पश्‍चात्ताप गर्न सक्छ? के व्यक्तिले साँचो पश्‍चात्ताप नगरीकन मुक्ति प्राप्त गर्न सक्छ? यी सबै सत्यताहरू परमेश्‍वरका विश्‍वासीहरूले बुझ्नुपर्ने सत्यताहरू हुन्, र मुक्ति प्राप्त गर्नको लागि यी बुझ्नैपर्ने सत्यताहरू हुन्। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास सधैँ दोधारे नै थियो र तैँले सत्यता पछ्याउँदै आएको छैनस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेको हुनेछस्।

शरद, २००७

अर्को: इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्