ख. परमेश्‍वरले कसलाई मुक्ति दिनुहुन्छ र कसलाई हटाउनुहुन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्‍वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्‍वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिस विनाशका पात्र हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

परमेश्‍वरले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो जीवित हुन सक्छन्, जसले परमेश्‍वरको मुक्ति देख्न सक्छन्, जो परमेश्‍वरप्रति बफादार हुन सक्छन् र जो परमेश्‍वरको खोजी गर्न इच्छुक छन्। उहाँले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो परमेश्‍वरको देहधारण अनि उहाँ देखा पर्नुभएको घटनामा विश्‍वास गर्छन्। केही मानिसहरू जीवित हुन सक्छन् र केही मानिसहरू सक्दैनन्; यो कुरा तिनीहरूको प्रकृति बचाउन सकिन्छ कि सकिँदैन भन्‍ने कुरामा भर पर्छ। धेरै मानिसहरूले परमेश्‍वरका धेरै वचनहरू सुनेका हुन्छन् तैपनि तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्दैनन् र अझै पनि तिनीहरूले तिनलाई अभ्यास गर्न सक्दैनन्। यस्ता मानिसहरू कुनै पनि सत्यतामा जिउन सक्षम हुँदैनन् र जानाजानी परमेश्‍वरको काममा बाधा पुऱ्याउँछन्। तिनीहरू परमेश्‍वरको लागि कुनै काम गर्न पनि सक्षम हुँदैनन्, तिनीहरूले उहाँप्रति कुनै कुरा पनि समर्पित गर्न सक्दैनन्, र तिनीहरूले गोप्य रूपमा मण्डलीको पैसा खर्च गर्छन् र परमेश्‍वरको घरमा सित्तैँमा खाना खान्छन्। यी व्यक्तिहरू मृत व्यक्तिहरू हुन् र यिनीहरूलाई बचाउन सकिँदैन। परमेश्‍वरले ती सबैलाई मुक्ति दिनुहुन्छ जो उहाँको कामको बीचमा छन्, तर त्यहाँ एक भाग मानिसहरू छन् जसले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्; थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्न सक्छन्। यो किन हुन्छ भने धेरैजसो मानिसहरू अति गहन रूपमा भ्रष्ट भइसकेका अनि मृत बनिसकेका छन्, र तिनीहरू मुक्तिभन्दा पर पुगिसकेका छन्; तिनीहरू पूर्ण रूपमा शैतानद्वारा शोषित भइसकेका छन्, र तिनीहरू तिनीहरूको प्रकृतिमा अति नै दुष्ट छन्। त्यस अल्पसंख्यक मानिसहरू पनि पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन सक्छन्। तिनीहरू ती व्यक्तिहरू होइनन् जो सुरुदेखि नै परमेश्‍वरप्रति बफादार थिए वा जोसँग सुरुदेखि नै परमेश्‍वरप्रति अत्याधिक प्रेम थियो; बरु तिनीहरू उहाँको विजयको कामको कारण परमेश्‍वरप्रति समर्पित बनेका छन्, उहाँको सर्वोच्च प्रेमको कारण तिनीहरूले परमेश्‍वरलाई देख्छन्, परमेश्‍वरको धर्मी स्वभावको कारण तिनीहरूको स्वभावमा परिवर्तनहरू आएका छन्, र उहाँको त्यो काम जुन व्यावहारिक र सामान्य दुवै हो, त्यसको कारण तिनीहरूले परमेश्‍वरलाई चिन्छन्। परमेश्‍वरको यो कामविना यी मानिसहरू जति नै असल भए पनि, तिनीहरू अझै पनि शैतानकै हुन्छन्, तिनीहरू अझै पनि मृत्युकै हुन्छन्, अनि तिनीहरू अझै पनि मृत नै हुन्छन्। तिनीहरूले आज परमेश्‍वरको छुटकारा प्राप्त गर्न सक्छन् भन्‍ने तथ्य विशुद्ध रूपमा तिनीहरू परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक भएको कारणले गर्दा मात्र हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

परमेश्‍वरले मानवजातिलाई दिनुभएको मुक्ति सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, इच्छा र संकल्पसहितको तिनीहरूको एउटा भागको मुक्ति हो, र हृदयमा न्यायको तिर्सना गर्ने तिनीहरूको एउटा भागको मुक्ति हो। व्यक्तिको संकल्प भनेको हृदयमा न्याय, भलाइ र सत्यताको तिर्सना गर्ने र विवेक धारण गरेको तिनीहरूको एउटा भाग हो। परमेश्‍वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा न्यायप्रतिको कुनै आकांक्षा छैन भने; यदि तैँले दुष्ट कुराहरू सामना गर्नुपर्दा, तँमा ती कुराहरू त्याग्ने इच्छा पनि हुँदैन, र कठिनाइ सहने दृढसंकल्प पनि हुँदैन भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ भने; यदि सत्यतालाई ग्रहण गर्ने तेरो क्षमता पनि अचेत छ, र तँ सत्यता र उत्पन्न हुने घटनाहरूप्रति ग्रहणशील छैनस् भने; र यदि तँ सबै कुरामा अनजान छस्, र कुनै परिस्थिति सामना गर्दा, तँ समस्या समाधान गर्नेहेतु सत्यता खोज्न सक्दैनस् र निरन्तर नकारात्मक बन्छस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग सिफारिस गर्ने केही पनि हुँदैन, परमेश्‍वरले काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको दिमाग धमिलिएको हुन्छ, र उनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरूले आफ्‍नो हृदयको गहिराइमा न्यायको तृष्णा नै गर्छन्, र परमेश्‍वरले जतिसुकै स्पष्ट वा पारदर्शी रूपमा सत्यता बोल्नुभए पनि, उनीहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, यस्तो लाग्छ मानौं उनीहरूको हृदय पहिल्यै मरिसकेको छ। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? थोरै सास बाँकी रहेको व्यक्तिलाई कृत्रिम स्वास-प्रस्वासद्वारा बचाउन सकिन्छ, तर यदि उनीहरू मरिसकेका छन् र उनीहरूका प्राण निस्केर गइसकेका छन् भने कृत्रिम स्वास-प्रस्वासले केही काम गर्दैन। यदि समस्या र कठिनाइहरू सामना गर्दा व्यक्ति पछि हट्छ र तीबाट पन्छिन्छ भने, उसले सत्यताको खोजी पटक्‍कै गर्दैन, र उसले आफ्‍नो कर्तव्यमा नकारात्मक र सुस्त बन्‍न रुचाउँछ, त्यसपछि उसको वास्तविक रूप खुलासा हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै अनुभवात्मक गवाही हुँदैन। तिनीहरू फाइदा लुट्ने, धर्तीको भार मात्र हुन्छन्, परमेश्‍वरको घरमा तिनीहरूको कुनै काम हुँदैन, र तिनीहरू पूर्णतया विनाशउन्मुख हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरले मुक्ति दिने कार्य गरिरहनुभएको बेला मुक्ति पाउन सक्ने प्रत्येक व्यक्तिले हरसम्भव मुक्ति पाउनेछ, र तिनीहरूमध्ये कसैलाई पनि फालिनेछैन, किनकि परमेश्‍वरको कामको उद्देश्य भनेको मानिसलाई बचाउनु नै हो। ती सबै जो, परमेश्‍वरले मानिसलाई मुक्ति दिइरहनुभएको समयमा आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न असमर्थ हुन्छन्—साथै तिनीहरू सबै जो पूर्ण रूपले परमेश्‍वरको अधीनमा बस्न असमर्थ हुन्छन्—तिनीहरू दण्डका पात्रहरू बन्नेछन्। कामको यो चरणले, अर्थात् वचनहरूको कामले मानिसहरूले बुझ्न नसक्ने सबै मार्गहरू र रहस्यहरू खोल्‍नेछ, यसरी तिनीहरूले परमेश्‍वरका अभिप्राय र परमेश्‍वरले तिनीहरूबाट गर्नुभएका मागहरू बुझ्न सक्छन्, र यसरी तिनीहरूले परमेश्‍वरको वचनहरू अभ्यास गर्ने र तिनीहरूको स्वभावमा परिवर्तन गर्ने पूर्वसर्तहरू पाउन सक्छन्। परमेश्‍वरले उहाँको आफ्नो काम गर्न केवल वचनहरू प्रयोग गर्नुहुन्छ र मानिस थोरै विद्रोही हुँदा उसलाई दण्ड दिनुहुन्न; किनकि अहिले मुक्तिको कामको समय हो। यदि विद्रोही काम गर्ने कुनै पनि व्यक्तिलाई दण्ड दिइयो भने कसैले पनि मुक्ति पाउने मौका पाउनेथिएन; सबैले दण्ड पाउनेथिए र पातालमा खस्नेथिए। मानिसलाई न्याय गर्ने वचनहरूको उद्देश्य भनेको तिनीहरूलाई आफैलाई चिन्ने र परमेश्‍वरमा समर्पित हुने मौका दिनु हो; यो तिनीहरूलाई त्यस्तो न्यायद्वारा दण्ड दिनु होइन। वचनहरूको कामको अवधिमा, धेरै मानिसहरूले आफ्नो विद्रोहीपन र अनादर साथसाथै देहधारी परमेश्‍वरप्रति तिनीहरूमा हुने समर्पणताको कमीला प्रकट गर्नेछन्। तापनि, त्यसको फलस्वरूप उहाँले यी सबै मानिसहरूलाई दण्ड दिनुहुन्न, तर त्यसको साटो उहाँले भित्रैदेखि भ्रष्ट र मुक्ति पाउन नसक्ने ती सबै मानिसलाई पर पन्छ्याउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ र केही अवस्थाहरूमा तिनीहरूको देह नाश पार्नुहुनेछ। बाँकी रहेकाहरू पछि लागिरहनेछन् र तिनीहरूले काटछाँटको कार्यको अनुभव गर्नेछन्। यदि पछ्याउने क्रममा, यी मानिसहरू अझै पनि काटछाँटको कार्यलाई स्वीकार गर्न सक्दैनन् र झन्-झन् पतित हुँदै जान्छन् भने, तिनीहरूले मुक्ति पाउने आफ्‍नो मौका गुमाउनेछन्। प्रत्येक व्यक्ति जो परमेश्‍वरका वचनहरूद्वारा जितिने कार्यलाई स्वीकार गर्छन् तिनीहरूले मुक्ति पाउने प्रशस्त मौका पाउनेछन्; यी प्रत्येक मानिसमा आएको परमेश्‍वरको मुक्तिले उहाँको परम उदारतालाई देखाउनेछ। अर्को शब्दमा, तिनीहरूलाई अत्याधिक सहिष्णुता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। जब मानिसले पहिलो पटक परमेश्‍वरको विरुद्धमा विद्रोह गऱ्यो, उहाँले तिनीहरूलाई मार्ने कुनै इच्छा गर्नुहुन्‍न; बरु, तिनीहरूलाई बचाउन उहाँले सक्दो कोसिस गर्नुहुन्छ। यदि कसैसँग मुक्तिको लागि कुनै ठाउँ छैन भने, परमेश्‍वरले तिनीहरूलाई पन्छ्याउनुहुनेछ। परमेश्‍वरले केही मानिसहरूलाई दण्ड दिनु ढिलो गर्नुको कारण यो हो कि मुक्ति पाउन निम्ति योग्य सबै मानिसलाई मुक्ति दिने उहाँको चाहना हुन्छ। उहाँले वचनद्वारा मात्रै मानिसहरूलाई न्याय गर्नुहुन्छ, ज्ञान दिनुहुन्छ, र डोऱ्याउनुहुन्छ, र तिनीहरूलाई मार्न उहाँले डन्डा चलाउनुहुन्न। मानिसहरूलाई मुक्तिमा ल्याउनका लागि वचनहरू प्रयोग गर्नु नै अन्तिम चरणको कामको उद्देश्य र महत्त्व हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। सारमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, त्यसैले परमेश्‍वरले उहाँप्रति एकदम इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि तथ्य कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदि तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्। तैँले तँमा साँचो विश्‍वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्‍वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छ भने तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीदेखि दूर भएकोले तैँले परमेश्‍वरबाट कहिल्यै पनि सकारात्मक पहिचान प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्‍ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका र भ्रष्ट स्वभाव भएका मानिसहरूलाई मुक्ति दिनुहुन्छ, त्रुटिरहित सिद्ध मानिसहरू वा शून्यतामा जिउने मानिसहरूलाई होइन। केही मानिसहरू, थोरै भ्रष्टता प्रकट गर्दा पनि, यस्तो सोच्छन्, “मैले फेरि परमेश्‍वरको विरोध गरेँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु तर अझै पनि परिवर्तित भएको छुइनँ। पक्कै पनि अब परमेश्‍वरले मलाई चाहनुहुन्न!” त्यसपछि तिनीहरू निराश हुन्छन् र सत्यता पछ्याउन अनिच्छुक हुन्छन्। तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? तिनीहरू आफैले सत्यता त्यागेका हुन्छन्, र अब परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्न भनेर विश्‍वास गर्छन्। के यो परमेश्‍वरबारे गलतबुझाइ होइन? यस्तो नकारात्मकता शैतानद्वारा शोषित हुने सबैभन्दा सजिलो तरिका हो। शैतानले तिनीहरूको खिल्ली उडाउँदै भन्छ, “तँ मूर्ख! परमेश्‍वर तँलाई मुक्ति दिन चाहनुहुन्छ, तर तँ अझै यसरी कष्ट भोगिरहेको छस्! त्यसैले, बस हार मान्! यदि तैँले हार मानिस् भने, परमेश्‍वरले तँलाई हटाउनुहुनेछ्, र यो उहाँले तँलाई मेरो हातमा सुम्पिनुभएजस्तै हो। तँलाई त म पीडा दिएरै मार्नेछु!” एकपटक शैतान सफल भएपछि, परिणामहरू अकल्पनीय हुनेछन्। तसर्थ, व्यक्तिले जस्तोसुकै कठिनाइ वा नकारात्मकता सामना गरे पनि, हार मान्नै हुँदैन। उसले समाधान पाउन सत्यता खोज्नुपर्छ, र निष्क्रिय रूपमा पर्खर्नु हुँदैन। जीवन वृद्धिको प्रक्रिया र मानव मुक्तिको दौरान, मानिसहरूले कहिलेकाहीँ गलत मार्ग लिन, विचलित बन्‍न, वा कहिलेकाहीँ जीवनको अपरिपक्व स्थिति र व्यवहारहरू प्रदर्शन गर्न सक्छन्। तिनीहरू कहिलेकाहीँ कमजोर र नकारात्मक हुन सक्छन्, र कहिलेकाहीँ तिनीहरूले गलत कुराहरू बोल्‍न, ठोकर खान, वा असफलता भोग्‍न सक्छन्। यो सबै नै परमेश्‍वरको नजरमा सामान्य हुन्छ। यो कुराको कारण उहाँ तिनीहरूसँग द्वेष राख्नुहुन्न। केही मानिसहरू आफ्नो भ्रष्टता अति गहन छ, र आफूले परमेश्‍वरलाई कहिल्यै सन्तुष्ट गर्न सक्दिनँ भन्‍ने सोच्छन्, त्यसैले तिनीहरू दुःखी महसुस गर्छन् र आफैलाई घृणा गर्छन्। ठ्याक्‍कै यस्तो पश्‍चात्ताप गर्ने हृदय भएकाहरूलाई नै परमेश्‍वरले मुक्ति दिनुहुन्छ। अर्कोतर्फ, आफूलाई परमेश्‍वरको मुक्ति जरुरी छैन भनेर विश्‍वास गर्नेहरू, जो आफूलाई असल मानिस र आफूमा केही गल्ती छैन भन्‍ने सोच्छन्, तिनीहरूलाई सामान्यतया परमेश्‍वरले मुक्ति दिनुहुन्न। मैले तिमीहरूलाई भनिरहेको यो कुरापछाडि के अर्थ छ? जसले बुझ्छ, बोल। (आफ्नो भ्रष्टताको प्रकटीकरण उचित रूपमा सम्हाल्न, सत्यता अभ्यासमा ध्यान देऊ, अनि तिमीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछौ। यदि तिमीहरूले निरन्तर परमेश्‍वरलाई गलत बुझ्यौ भने, तिमीहरू सजिलै निराश हुनेछौ।) तँमा विश्‍वास हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “म अहिले कमजोर भए पनि, मैले ठेस खाए पनि र असफल भए पनि, म वृद्धि हुनेछु, र एकदिन सत्यता बुझ्नेछु, परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु, र मुक्ति हासिल गर्नेछु।” तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तैँले जतिसुकै बाधा, कठिनाइ, असफलता, वा ठोकर सामना गर्नुपरे पनि तँ नकारात्मक हुनु हुँदैन। तँलाई परमेश्‍वरले कस्ता खालका मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर थाहा हुनुपर्छ। यसबाहेक, यदि तँ अझै पनि परमेश्‍वरबाट मुक्ति पाउन योग्य छैनस् भन्‍ने महसुस गर्छस् भने, वा यदि तँ परमेश्‍वरले घृणा गर्नुहुने वा उहाँ असन्तुष्ट हुनुहुने स्थितिमा हुन्छस् भने, वा कहिलेकाहीं तँ खराब व्यवहार गर्छस्, र परमेश्‍वरले तँलाई स्विकार्नुहुन्न, वा तिरस्कार गर्नुहुन्छ भने, केही फरक पर्दैन। अब तँलाई थाहा छ, र धेरै ढिलो भएको छैन। जबसम्म तँ पश्‍चात्ताप गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अवसर दिनुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो

अब तैँले किन ममा विश्‍वास गर्छस् के तँलाई सो साँच्चै थाहा छ त? के तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई साँच्चै बुझ्छस्? के तँलाई आफ्नो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही साँच्चै थाहा छ? यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्, तिनीहरूको कुनै उपयोगीता छैन, तिनीहरू निकम्मा हुन् र मैले तिनीहरूलाई उहिलेदेखि नै तिरस्कार गरेको छु। गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरू मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ। अहिलेको मेरो काम भनेको सबै मानिसहरूलाई बिटोमा बाँध्नु मात्रै हो; अर्थात् तिनीहरूलाई पूर्ण रूपमा जित्नु हो। त्यसपछि म सबै मानिसहरूको अन्त प्रकट गर्न निफन्न सुरु गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्ने मानिसहरू ती हुन् जो परमेश्‍वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्‍वर सम्‍बन्धी आफ्‍ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्‍वरलाई बदनाम गर्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकरहरू हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका मुख्य प्रतिनिधिहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्‍वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तापनि, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल पर्दाफास गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई बाधा दिन्छन् र परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछन्, तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेका लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझ नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्‍वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्‍वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्‍वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

आफ्‍नो विश्‍वासमा परमेश्‍वरमा समर्पित हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँको वचनमा तिर्खाउन्, उहाँको वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्‍वरप्रतिको समर्पणतालाई प्राप्त गर्न सक्नेछन्। यदि तेरा सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्‍वरले तँलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरमा समर्पित नहुने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भन्ने र गर्ने सबै कुराहरू—परमेश्‍वरको सामु गर्ने प्रार्थनाहरू, र तेरो प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तँ नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनसक्छस्, तेरो प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ, अनि तँ समर्पित हुने व्यक्तिजस्तो देखिन्छस् होला, तर जब परमेश्‍वरमाथिको तेरो विश्‍वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तैँले गर्ने ती सबै कुराहरू परमेश्‍वरका विरोधमा हुन्छन्। तैँले गरेका सबै कुराहरू दुष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू, भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई खुलासा गर्नुहुनेछ र ढोङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ भन्‍ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले लेखा राख्‍नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।

यदि तँ परमेश्‍वरको नयाँ ज्योति स्वीकार गर्न सक्दैनस्, र परमेश्‍वरले आज गर्नुहुने सबै कार्यलाई बुझ्न सक्दैनस् र यसलाई खोजी गर्दैनस्, वा यसलाई शङ्का गर्छस्, यसको आलोचना गर्छस्, वा यसलाई जाँच र विश्लेषण गर्छस् भने, तँसँग परमेश्‍वरमा समर्पित हुने मन छैन। यहाँ र अहिलेको ज्योति प्रकट हुँदा, तैँले हिजोको ज्योतिलाई मात्र बहुमूल्य ठानिराख्छस् र परमेश्‍वरको नयाँ कार्यलाई विरोध गर्छस् भने, तँ मूर्खभन्दा बढी केही होइनस्—तँ जानी-जानी परमेश्‍वरलाई विरोध गर्ने व्यक्ति होस्। परमेश्‍वरप्रति समर्पित हुने कार्यको चाबीचाँहि नयाँ ज्योति स्विकार्नु, र यसलाई स्वीकार गर्न सक्नु र यसलाई अभ्यास गर्न सक्नु हो। यही नै साँचो समर्पणता हो। परमेश्‍वरप्रति तृषित नहुनेहरू नै उद्देश्यका साथ उहाँमा समर्पित हुन नसक्ने मानिसहरू हुन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा समर्पित हुन नसक्नुको कारण के हो भने, तिनीहरू पहिले आएको कुराको बन्धनमा बाँधिएका हुन्छन्। पहिले आएका कुराहरूले मानिसहरूलाई परमेश्‍वरका बारेमा अनेक किसिमका धारणाहरू र अनुमानहरू प्रदान गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्‍वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्‍वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तैँले आज व्यावहारिक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भए पनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भए पनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस्ता मानिसहरूले सत्यतालाई लागू गर्न सक्दैनन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरप्रति समर्पित नहुने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र अवरोध पुऱ्याउने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्‍नेमा कुनै प्रश्न छैन। जो परमेश्‍वरप्रति अलिकति पनि समर्पित छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्‍वरको दयालुपन र प्रेमिलोपनको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र सङ्कष्टमा पर्नेछ। यो सङ्कष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। सङ्कष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइविहीन हुन्छन् तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। धमिलो पानीमा माछा मार्नेहरूले आज फाइदा लुट्‍न सक्‍ने भए तापनि, अन्तिम सङ्कष्टबाट उम्‍कन कोही पनि सक्‍दैन र अन्तिम जाँचबाट कोही पनि उम्कन सक्दैन। विजय गर्नेहरूका लागि, त्यस्तो सङ्कष्ट अति बृहत् शोधन हो; तर धमिलो पानीमा माछा मार्नेहरूका लागि, यो पूर्ण रूपमा हटाइने कार्य हो। तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्‍वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र? विजयको काम पूरा भएपछि मानिसलाई मुक्ति दिने कार्य हासिल हुँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्‍नो हृदयमा परमेश्‍वरविहीन हुने ती देखावटी मानिसहरूलाई हटाइएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्‍ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्‍ने हुन्छ। आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन् तर जब परमेश्‍वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, सङ्कष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्‍नो कामको जाँचलाई सामना गर्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्‍ने कुरालाई उसको कामको जाँचले अर्थात् परमेश्‍वरका परीक्षाहरूले निर्धारण गर्छन् र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम उहाँले गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन् र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले दुर्व्यवहार गर्नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामहरूमा प्रकट गरिन्छ। तिमीहरूको नतिजा तिमीहरूको खोजी, तिमीहरूको विश्‍वास र तिमीहरूले जे गरेका छौ त्यसद्वारा प्रकट गराइनेछ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य आउँदैछ। यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्‍न सक्दैनस्। हिजो, तैँले सत्यको पछि लाग्न मूल्य चुकाएनस् र तँ बफादार थिएनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। मेरो मुटु नरम छ र मैले तँलाई बचाउन यथासक्दो गर्दैछु तैपनि, यदि तैँले आफ्‍नो तर्फबाट कोसिस गर्दैनस् वा आफ्नै लागि केही विचार गर्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्‍वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्‍वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो यौन रूपमा छाडा, भ्रष्ट र थाङ्ने छन्, जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्, जसले केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्, जो घमण्डी र अहङ्कारी छन्, जसले व्यक्तिगत ख्याति र सम्पत्ति मात्र पाउने प्रयास गर्दछन्; जसले अशिष्ट वचनहरू फैलाउँछन्; जसले स्वयम् परमेश्‍वरको निन्दा गर्छन्, जसले केही गर्दैनन् तर स्वयम् परमेश्‍वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्‍ला गर्छन्; जसले समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जसले आफूलाई परमेश्‍वरभन्दा माथि उठाउँछन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; ती पुरुष र स्त्रीहरू जो व्यक्तिगत ख्याति र भाग्यमा आनन्द लिन्छन् र अरूको बीचमा व्यक्तिगत प्रतिष्ठाको पछि लाग्छन्, ती अपश्‍चात्तापी मानिसहरू जो पापमा फसेका छन्—के तिनीहरू सबै मुक्ति पाउनदेखि बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, अपवित्रता र अशिष्ट वचनहरू सबैले तिमीहरूको माझमा दङ्गा मच्चाउँछन्; र तिमीहरूको माझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छ र तिमीहरूको माझमा पवित्र भाषालाई अशुद्ध पारिएको छ। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको अन्तिम परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्‍ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जसले जीवनको मार्गलाई प्रेम गर्दैनन्, जसले परमेश्‍वरलाई उच्च पार्दैनन् र उहाँको गवाही दिँदैनन्, जसले आफ्नै प्रतिष्ठाका लागि युक्ति रच्छन्, जसले आफ्नै गुणगान गर्दछन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू निर्माण गरेको छस् भन्‍ने कुरामा त झनै कम निर्भर हुन्छ। बरु, यो त तेरो खोजीले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष सडकहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसको के मतलब हुन्छ र? तेरो गवाही कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय आफैलाई प्रेम गर्ने तेरो हृदय र तेरा कामुक अभिलाषाहरूभन्दा धेरै कम छ—के यस किसिमको मानिस पतित होइन र? तिनीहरू कसरी मुक्तिका नमूना र आदर्श बन्न सक्छन्? तेरो प्रकृति सुधार्न नसकिने छ, तँ अत्यन्तै विद्रोही छस्, तैँले मुक्ति पाउन सक्दैनस्। के यस्तै मानिसहरू ती होइनन् जसलाई हटाइनेछ? के मेरो काम समाप्त हुने समय तिमीहरूको अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूको माझमा धेरै काम गरेको छु र धेरै वचनहरू बोलेको छु—तीमध्ये कति साँच्चै तिमीहरूका कानभित्र पसेका छन्? तीमध्ये कति तिमीहरू समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो यस्तो समय हुनेछ जब तैँले मेरो विरोध गर्न छोड्नेछस्, जब तँ मेरो विरुद्धमा खडा हुन छोड्नेछस्। जब म काम गर्छु, तिमीहरू निरन्तर मेरो विरुद्धमा काम गर्दछौ; तिमीहरू कहिल्यै पनि मेरा वचनहरूको पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू स्यालहरू र कुकुरहरूको झुन्ड बाहेक अरू केही होइनौ, जसले सबै कुरा मेरो विरुद्धमा गर्दछ! तिमीहरू निरन्तर तिनीहरूलाई आफ्नो अङ्गालोमा ल्याउने कोसिस गर्छौ जसले तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिन्छन्—तिमीहरूको डर मान्ने हृदय छ? तिमीहरूले गर्ने सबै कुरा छली हुन्छन्! तिमीहरूसँग कुनै समर्पणता वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र निन्दापूर्ण छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर भूतात्माहरूलाई घृणा गर्छु र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछ। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर भूतात्माहरू र दुष्टात्माहरू घृणित छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, यो सत्यले, यो मार्गले र यो जीवनले तिमीहरूलाई आकर्षित गर्दैन; बरु, तिमीहरू पापीपन; प्रतिष्ठा; ख्याति र प्राप्तितिर; देहका मनोरञ्जनतिर, पुरुषको सुन्दरता र स्त्रीको आकर्षणतिर आकर्षित छौ। कुन कुराले तिमीहरूलाई मेरो राज्यमा प्रवेश गर्ने योग्यको बनाउँछ? तिमीहरूको तस्विर परमेश्‍वरको भन्दा अझ ठूलो छ, तिमीहरूको प्रतिष्ठा परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूको माझमा तिमीहरूका इज्जतको त झन् कुरै नगरौं—तिमीहरू एउटा मूर्ति बनेका छौ जसलाई मानिसहरूले पूजा गर्छन्। के तँ प्रधान स्वर्गदूत बनेको छैनस् र? जब मानिसहरूका परिणामहरूलाई प्रकट गरिन्छ, जुन बेला मुक्तिको कामको पनि अन्त्य नजिकै आइपुगेको हुन्छ, त्यस बेला तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीमा बाधा उत्पन्न गर्छन् वा परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्‍वरको घरमा पसेका छन्। त्यस्ता व्यक्तिहरू अभिनय गर्न सिपालु हुन्छन्: तिनीहरू मेरो अगाडि ठूलो श्रद्धाका साथ आउँछन्, झुक्छन् र ढोग गर्छन्, लुतो लागेका कुकुरहरू जस्तो जिउँछन् र आफ्नै उद्देश्यहरू प्राप्त गर्न तिनीहरूका “सबै” समर्पण गर्छन्—तर दाजुभाइ तथा दिदी-बहिनीहरूको अगाडि तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब उनीहरूले सत्यको अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तिनीहरूमाथि प्रहार गर्छन् र तिनीहरूलाई अलग गर्छन्; जब उनीहरूले आफूभन्दा धेरै प्रभावशाली मानिसहरू देख्छन्, उनीहरू चिप्‍लो घस्‍ने र चापलुसी गर्ने गर्छन्। तिनीहरू मण्डलीमा जङ्गली बनेर दगुर्छन्। यो भन्न सकिन्छ कि त्यस्ता “स्थानीय बदमासहरू” त्यस्ता “पाल्तु कुकुरहरू” प्रायः मण्डलीहरूमा हुन्छन्। तिनीहरू एकसाथ दियाबलसले जस्तो व्यवहार गर्छन् र एकअर्कालाई आँखा झिम्काउँछन् र गुप्त सङ्केतहरू पठाउँछन्, र तिनीहरूमध्ये कसैले पनि सत्यको अभ्यास गर्दैनन्। जोसँग सबैभन्दा बढी विष छ ऊ “दिमागी भूत” हो र जोसँग सबैभन्दा उच्च प्रतिष्ठा हुन्छ, उनीहरूको झन्डा उचाल्दै तिनीहरूलाई त्यसैले अगुवाइ गर्छ। यस्ता मानिसहरू मण्डलीमा प्रशस्तै हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यको अभ्यास गर्नेहरूलाई तिरस्कार गरिन्छ, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरै जना मानिसले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि विश्‍वासीहरू खडा हुँदैनन् र प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यको अभ्यास गर्न इच्छुक र परमेश्‍वरको गवाही दिन सक्ने कोही छैन भने त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई तिरस्कार गर्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई “स-साना झिँगोहरू” ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि विश्‍वासीहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र धूर्तताहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछ। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख र धोकेबाज हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्‍वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्‍वरको वचनको आनन्द लिन सक्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

परमेश्‍वरलाई निन्दा गर्ने वा विरोध गर्ने वा उहाँलाई बदनाम समेत गर्नेहरूप्रति पनि—जानी-जानी उहाँलाई आक्रमण गर्ने, बदनाम गर्ने र सराप्‍ने मानिसहरू—तिनीहरूप्रति उहाँले आफ्नो आँखा चिम्लनुहुन्न वा आफ्नो कान बन्द गर्नुहुन्न तर तिनीहरूप्रति उहाँको स्पष्ट मनोवृत्ति छ। उहाँले यी मानिसहरूलाई तुच्छ ठान्नुहुन्छ, अनि आफ्नो हृदयमा तिनीहरूलाई दोषी ठहर्‍याउनुहुन्छ। तिनीहरूको परिणाम के हुनेछ भनी उहाँले खुल्लमखुल्ला घोषणा समेत गर्नुहुन्छ, ताकि उहाँलाई निन्दा गर्नेहरूप्रति उहाँको स्पष्ट मनोवृत्ति छ भनी मानिसहरूले जान्न सकून् अनि उहाँले तिनीहरूको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भनी तिनीहरूले जान्न सकून्। तथापि, परमेश्‍वरले यी कुराहरू भनिसक्‍नुभएपछि परमेश्‍वरले ती मानिसहरूलाई कसरी सम्‍हाल्‍नुहुन्छ भन्‍ने सत्यतालाई मानिसहरूले विरलै मात्र देख्न सके, अनि परमेश्‍वरले तिनीहरूको निम्ति जारी गर्नुभएको परिणाम र फैसलापछाडिका सिद्धान्तहरू तिनीहरूले बुझ्न सकेनन्। भन्‍नुको अर्थ, तिनीहरूलाई सम्‍हाल्‍नको निम्ति परमेश्‍वरसँग जुन पद्धति र विधिहरू छन्, तिनलाई मानिसहरूले देख्न सकेनन्। यो, कामहरू गर्ने परमेश्‍वरका सिद्धान्तहरूसित सम्बन्धित छ। परमेश्‍वरले केही मानिसहरूको खराब आचरणको निराकरण गर्न तथ्यहरूको घटनालाई प्रयोग गर्नुहुन्छ। यसको अर्थ, उहाँले तिनीहरूको पापको घोषणा गर्नुहुन्न र त्यसको परिणाम निर्धारण गर्नुहुन्न तर तिनीहरूको भागमा परेको दण्ड र उचित बदला दिन उहाँले प्रत्यक्ष रूपमा तथ्यहरूको घटना प्रयोग गर्नुहुन्छ। जब यी तथ्यहरूको घटना घट्छन्, तब मानिसहरूको देहले दण्ड भोग्नेछन्, यसको अर्थ, यो मानव आँखाहरूले देख्न सक्ने दण्ड हुन्छ। केही मानिसहरूको खराब आचरणको निराकरण गर्दा परमेश्‍वरले तिनीहरूलाई केवल वचनहरूले सराप्नुहुन्छ अनि तिनीहरूमाथि उहाँको रिस बर्सन्छ तर तिनीहरूले पाउने दण्ड मानिसहरूले देख्न नसक्ने कुरा हुनसक्छ। तथापि, यस्तो प्रकारको परिणाम दण्ड दिइनु वा मारिनु जस्ता मानिसहरूले देख्न सक्ने परिणामहरूभन्दा बढी गम्भीर पनि हुनसक्छन्। यसको कारण, यस्तो मानिसलाई नबचाउने, तिनीहरूलाई कृपा वा सहनशीलता नदेखाउने अनि तिनीहरूलाई अब उप्रान्त कुनै अवसरहरू नदिने भनी परमेश्‍वरले निर्धारण गर्नुभएका परिस्थितिहरूमा उहाँले तिनीहरूप्रति राख्‍नुहुने मनोवृत्ति भनेको तिनीहरूलाई पन्छ्याउने नै हुन्छ। … जब मानिसहरूले परमेश्‍वरलाई विरोध गर्छन्, उहाँलाई बदनाम र निन्दा गर्छन्, यदि तिनीहरूले उहाँको स्वभावलाई उत्तेजित गर्छन् वा यदि तिनीहरूले परमेश्‍वरलाई उहाँको सहनशीलताको सीमादेखि पर धकेल्छन् भने, परिस्थितिहरू सोच्न नसकिने हुन्छ। सबैभन्दा गम्भीर परिस्थिति भनेको परमेश्‍वरले तिनीहरूको जीवन र तिनीहरूको सबै कुरा सधैँको लागि शैतानको हातमा सुम्पिदिनुहुनेछ भन्‍ने हो। तिनीहरूलाई अनन्तसम्मै क्षमा गरिनेछैन। यसको अर्थ, यो व्यक्ति शैतानको मुखको भोजन, त्यसको हातको खेलौना बनेको हुन्छ, अनि त्यसभन्दा उता तिनीहरूसित परमेश्‍वरको कुनै सम्बन्ध हुनेछैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

सबै दुष्कर्मी र धर्मी काम गर्नेहरू सबै आखिर सृष्टि गरिएका प्राणी नै हुन्। दुष्ट काम गर्ने सृष्टि गरिएका प्राणीहरूलाई अन्त्यमा नष्ट गरिनेछन् र धर्मी काम गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्। यी दुई किसिमका सृष्टि गरिएका प्राणीहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापन यही नै हो। दुष्कर्मीहरू विद्रोहीपनको कारणले इन्कार गर्न सक्दैनन् कि उनीहरू परमेश्‍वरका सृष्टि गरिएका प्राणी हुँदाहुँदै पनि, उनीहरू शैतानको कब्जामा छन् र त्यसैले उनीहरू मुक्त हुन सक्दैनन्। उनीहरू बाँच्नेछन् भन्‍ने तथ्यको आधारमा आफैलाई धर्मी आचरण देखाउने सृष्टि गरिएका प्राणीहरूले आफूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र तैपनि शैतानद्वारा भ्रष्ट पारिएपछि पनि मुक्ति प्राप्‍त गरेका छन् भनी इन्कार गर्न सक्दैनन्। दुष्ट काम गर्नेहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने सृष्टि गरिएका प्राणी हुन्; उनीहरू मुक्ति दिन नसकिने सृष्टि गरिएका प्राणी हुन् र उनीहरू अघिदेखि नै शैतानद्वारा पूर्ण रूपमा कब्जामा पारिएका सृष्टिहरू हुन्। दुष्ट काम गर्ने मानिसहरू पनि मानिस नै हुन्; उनीहरू चरम रूपमा भ्रष्ट पारिएका र मुक्त गर्न नसकिने मानव हुन्। जसरी उनीहरू पनि सृष्टि गरिएका प्राणी नै हुन्, त्यसरी नै धर्मी आचरण भएका मानिसहरूलाई पनि भ्रष्ट पारिएका छन्, तर उनीहरू उनीहरूका भ्रष्ट स्वभावलाई तोडेर स्वतन्त्र हुन तत्पर हुने र आफूलाई परमेश्‍वरको अधीनमा राख्न सक्षम भएका मानव हुन्। धर्मी आचरण भएका मानिसहरू धार्मिकताले पूर्ण हुँदैनन्; बरु, उनीहरूले मुक्ति पाएका छन् र उनीहरूका भ्रष्ट स्वभावहरूलाई तोडेर स्वतन्त्र भएका छन्; उनीहरू परमेश्‍वरको अधीनमा बस्न सक्छन्। उनीहरू अन्तमा दृढ भएर खडा हुनेछन्, तथापि उनीहरू कहिल्यै पनि शैतानद्वारा भ्रष्ट पारिएका छैनन् भन्‍ने चाहिँ होइन। सबै सृष्टि गरिएका प्राणीमाझ परमेश्‍वरको काम समाप्‍त भएपछि, त्यहाँ नष्ट पारिनेहरू र बाँच्नेहरू हुनेछन्। यो उहाँको व्यवस्थापन कार्यको एउटा अपरिहार्य प्रचलन हो; यसलाई कसैले इन्कार गर्न सक्दैन। दुष्ट काम गर्नेहरूलाई बाँच्न दिइनेछैन; अन्तसम्म नै परमेश्‍वरलाई पछ्याउने र उहाँको अधीनमा बस्नेहरू पक्का बाँच्छन्। जसरी यो मानवजातिको व्यवस्थापनको काम हो, त्यसरी नै त्यहाँ रहनेहरू र हटाइनेहरू हुनेछन्। यिनीहरू विभिन्न किसिमका मानिसहरूको विभिन्न परिणाम हुन्, र तिनीहरू सृष्टि गरिएरा प्राणीहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापनहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। श्रम गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धर्मी स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानिसलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका खराब कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको श्रम गर्न नसक्‍नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको प्रतिफल हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू गैरविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्‍ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धर्मी स्वभावले कसैलाई पनि दया देखाउँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

सम्बन्धित भजनहरू

अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ?

सबै मानिसको परिणामको लागि परमेश्‍वरका प्रबन्धहरू

अघिल्लो: क. परमेश्‍वरले कुन आधारमा व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ

अर्को: ग. किन आखिरी दिनहरूको न्याय स्विकारेर मात्र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्