सत्यता कसरी पछ्याउने (७)

यो अवधिमा, हाम्रो सङ्गतिको मुख्य विषय “सत्यता कसरी पछ्याउने” भन्‍ने रहेको छ। यसभन्दा पहिले हामीले सत्यता पछ्याउने अभ्यासका दुई वटा सिद्धान्तहरूलाई सारांशित गर्‍यौँ। पहिलो सिद्धान्त के हो? (पहिलो सिद्धान्त भनेको त्याग्‍नु हो, र दोस्रो समर्पणता हो।) पहिलो सिद्धान्त त्याग्‍नु हो, र दोस्रो समर्पणता हो। हामीले “त्याग्‍नु” भन्‍ने विषयमा सङ्गति पूरा गरिसकेका छैनौँ। “त्याग्‍नु” को पहिलो भाव के हो? (विभिन्‍न नकारात्मक भावनाहरूलाई त्याग्‍नु।) विभिन्‍न नकारात्मक भावनाहरूलाई त्याग्‍नु भन्‍ने विषयमा हामीले मुख्य रूपमा के-के कुराको बारेमा सङ्गति गर्‍यौँ? हामीले मुख्य रूपमा मानिसहरूले अनुभव गर्ने नकारात्मक भावनाहरूका बारेमा सङ्गति गर्‍यौँ र तिनका बारेमा खुलासा गर्‍यौँ, अर्थात्, मानिसहरूको दैनिक जीवन र जीवनको मार्गमा कस्ता नकारात्मक भावनाहरू देखा पर्छन्, साथै तिनलाई कसरी त्याग्‍ने भन्‍ने विषयमा सङ्गति गर्‍यौँ। यी नकारात्मक भावनाहरू मानिसहरूमा एक प्रकारको भावनाको रूपमा प्रकट हुन्छन्, तर वास्तवमा, ती मानिसहरूले लिने विभिन्‍न प्रकारका गलत विचार र विश्‍वासका कारण पैदा भएका हुन्छन्। मानिसहरूमा रहेका विभिन्‍न विचार तथा दृष्टिकोणका कारण विभिन्‍न नकारात्मक भावनाहरू पैदा हुन्छन् र तिनीहरूमा प्रकट भएर बाहिर देखिन्छन्। हामीले यसभन्दा पहिले सङ्गति गरेका नकारात्मक भावनाहरूका समस्याहरू, मानिसहरूका विभिन्‍न प्रकारका व्यवहार, र तिनीहरूका विभिन्‍न विचार तथा दृष्टिकोणहरूका आधारमा, तिमीहरूले के-कस्ता समस्याहरू देख्छौ? अर्को शब्‍दमा भन्दा, विभिन्‍न नकारात्मक भावनाहरूका बाहिरी प्रकटीकरणहरूलाई चिरफार गरेर, के तिमीहरूले मानिसहरूको विचारका केही आधारभूत सारलाई बुझ्‍न सक्छौ? जब व्यक्तिमा नकारात्मक भावनाहरू देखा पर्छन्, तब हामीले गहिराइमा गएर त्यसलाई चिरफार गर्‍यौँ भने, हामीले तिनै नकारात्मक भावनाहरूभित्र लुकेका मानिस, घटना, र परिस्थितिहरूप्रति उसका गलत हेराइ, दृष्टिकोण, र मनोवृत्तिलाई देख्न सक्छौँ, र हामीले ती कुराभित्र विभिन्‍न मानिसह, मामिला, र परिस्थितिहरूलाई सम्‍हाल्‍ने र समाधान गर्ने उसका पद्धतिहरूलाई पनि देख्‍न सक्छौँ, होइन र? (हो।) त्यसकारण, यी नकारात्मक भावनाहरूलाई चिरफार गर्ने बारेमा हामीले धेरै पटक गरेको सङ्गतिबाट, के हामीले मानिसहरूका विभिन्‍न गलत, भ्रमित, पूर्वाग्रही, नकारात्मक, र प्रतिकूल विचार तथा दृष्टिकोणहरू तिनीहरूका नकारात्मक भावनाहरूमा लुकेका हुन्छन् भनेर भन्‍न सक्छौँ? के हामीले त्यसो भन्‍न सक्छौँ? (हो, सक्छौँ।) मैले भर्खरै के भनेँ? (परमेश्‍वरले भर्खरै के भन्‍नुभयो भने, मानिसहरूका विभिन्‍न गलत, भ्रमित, पूर्वाग्रही, नकारात्मक र प्रतिकूल विचार तथा दृष्टिकोणहरू तिनीहरूका नकारात्मक भावनाहरूमा लुकेका हुन्छन्।) के तिमीहरूले मेरो कुरा स्पष्‍ट रूपमा बुझ्यौ? (हो, बुझेँ।) यदि हामीले यी नकारात्मक भावनाहरूमा सङ्गति गरेनौँ भने, मानिसहरूले बाहिर प्रकट हुने क्षणिक वा दीर्घकालीन नकारात्मक भावनाहरूलाई त्यति ध्यान नदिन सक्छन्। तर, नकारात्मक भावनाहरूभित्र लुकेका विभिन्‍न विचार तथा दृष्टिकोणहरूलाई चिरफार गरेपछि, के मानिसहरूले यो तथ्यलाई स्विकार्छन्? विभिन्‍न नकारात्मक विचार तथा दृष्टिकोणहरू मानिसहरूका विभिन्‍न नकारात्मक भावनाहरूमा लुकेका हुन्छन्। अर्को शब्‍दमा भन्दा, जब व्यक्तिले नकारात्मक भावनाहरू अनुभव गर्छ, बाहिरबाट हेर्दा, यी भावनाहरू निश्‍चित प्रकारका भावना जस्ता देखिन्छन्। उसले आफ्‍ना भावनाहरू पोखाउन सक्छ, निराशलाग्दा कुराहरू भन्‍न सक्छ, जीवन विहीनता फैलाउन सक्छ र निश्‍चित नकारात्मक परिणामहरू ल्याउन सक्छ, वा अलिक उग्र कुराहरू गर्न सक्छ। बाहिरी रूपमा यही कुरा प्रकट हुन्छ। तर, मानिसहरूका यी नकारात्मक भावना र उग्र व्यवहारका यी प्रकटीकरणका पछाडि, वास्तवमा विभिन्‍न प्रकारका नकारात्मक विचार तथा दृष्टिकोणहरू रहेका हुन्छन्। त्यसकारण, हामीले यो अवधिमा नकारात्मक भावनाहरूका बारेमा छलफल गर्दै आइरहेका भए पनि, वास्तवमा हामीले मानिसहरूका विभिन्‍न नकारात्मक भावनाहरूलाई खुलासा र चिरफार गर्दै तिनीहरूका विभिन्‍न नकारात्मक विचार तथा दृष्टिकोणहरूलाई चिरफार गरिरहेका छौँ। हामी किन यी विचार र दृष्टिकोणहरूलाई खुलासा गर्छौँ? के यी नकारात्मक विचार र दृष्टिकोणहरूले मानिसहरूको भावनालाई मात्रै असर गर्छन्? के यिनले मानिसहरूमा नकारात्मक भावनाहरू पैदा गर्ने भएकोले मात्रै हामीले यसो गरेका हौँ? होइन। यी गलत विचार र दृष्टिकोणहरूले व्यक्तिको भावना र खोजीलाई मात्रै प्रभाव पार्दैनन्; तर, मानिसहरूले देख्‍न र बुझ्‍न सक्‍ने कुराहरू भनेको तिनीहरूको भावना र बाहिरी व्यवहार हुन्। त्यसकारण, हामीले मानिसहरूका विभिन्‍न नकारात्मक, प्रतिकूल र अनुचित विचार तथा दृष्टिकोणहरूलाई खुलासा गर्नका लागि नकारात्मक भावनाहरू चिरफार गर्ने सरल र उचित विधिहरू प्रयोग गर्छौँ। यी विचार र दृष्टिकोणहरू मानिसहरूले अरूलाई र परिस्थितिहरूलाई हेर्ने, आफ्‍नो आनीबानी प्रस्तुत गर्ने दृष्टिकोण र अडान, अनि वास्तविक जीवनमा गर्ने व्यवहारसँग सम्‍बन्धित भएका हुनाले हामीले यी विचार, दृष्टिकोण, र नकारात्मक भावनाहरूलाई खुलासा गर्छौँ। ती कुराहरू मानिसहरूको अस्तित्वसम्बन्धी उद्देश्य र दिशासँग, र स्वाभाविक रूपमै जीवनसम्‍बन्धी तिनीहरूको दृष्टिकोणसँग पनि सम्‍बन्धित छन्। यसकारण, हामीले निश्‍चित नकारात्मक भावनाहरूलाई खुलासा गरेका हौँ। जेसुकै भए पनि, विभिन्‍न नकारात्मक भावनाहरूका बारेमा सङ्गति गर्नुको मुख्य उद्देश्य भनेको मानिसहरूका विभिन्‍न गलत, नकारात्मक र प्रतिकूल विचार तथा दृष्टिकोणहरूलाई खुलासा, चिरफार र समाधान गर्नु हो। हामीद्वारा यी नकारात्मक विचार तथा दृष्टिकोणहरूको खुलासा पश्चात्, मानिसहरूले विभिन्‍न मानिस, घटना र परिस्थितिहरूप्रति आफ्‍नो सोचमा राख्‍ने गलत दृष्टिकोण, मनोवृत्ति र हेराइलाई स्पष्ट रूपमा पहिचान गर्न सक्छन्। यसले यी गलत विचार र दृष्टिकोणहरूद्वारा पैदा हुने विभिन्‍न नकारात्मक भावनाहरूलाई समाधान गर्न सहयोग गर्छ र तसर्थ मानिसहरूलाई यी गलत विचार र दृष्टिकोणहरू पहिचान गर्न र जान्न सहयोग गर्छ, जसपछि तिनीहरूले सही बाटो देख्‍न, यी कुराहरूलाई त्याग्‍न, र पूर्ण रूपमा छोड्न सक्छन्। अन्तिम उद्देश्य भनेको व्यक्तिले आफ्‍नो दैनिक जीवनमा वा आफ्‍नो जीवन अवधिमा भेट्ने विभिन्‍न प्रकारका मानिस, घटना र परिस्थितिहरूलाई सही विचार र दृष्टिकोणका साथ सामना गर्ने, लिने, सम्‍हाल्‍ने र समाधान गर्ने क्षमताको विकास गर्नु हो। सारांशमा, अपेक्षित परिणाम के हो? मानिसहरूलाई आफूमा रहेका विभिन्‍न नकारात्मक विचारहरूलाई पहिचान गर्न र जान्न सक्‍ने बनाउनु, र तिनलाई पहिचान गरिसकेपछि, आफ्‍नो जीवन र जीवनको मार्गमा यी गलत विचार र दृष्टिकोणहरूलाई निरन्तर परिवर्तन र सुधार गर्न, सत्यता अनुरूप रहेका सही विचार र दृष्टिकोणहरूलाई खोजी गर्न, स्वीकार गर्न, वा त्यसमा समर्पित हुन, र अन्त्यमा सही विचार र दृष्टिकोणहरू अनुसार जिउन र आफ्‍नो आनीबानी प्रस्तुत गर्न सक्‍ने बनाउनु। उद्देश्‍य त्यही हो। के तिमीहरू सहमत छौ? (छौँ।) झट्ट हेर्दा, हामी मानिसहरूका नकारात्मक भावनाहरूलाई खुलासा गर्छौँ, तर वास्तवमा, हामी विभिन्न मानिस, घटना र परिस्थितिहरूप्रतिको तिनीहरूका गलत विचार र दृष्टिकोणहरूलाई खुलासा गरिरहेका हुन्छौँ। मानिसहरूलाई विभिन्‍न मानिस, घटना र परिस्थितिहरू आइपर्दा त्यसलाई सामना गर्न र सम्‍हाल्‍नका लागि सही विचार र दृष्टिकोणहरूको प्रयोग गर्न सक्‍ने बनाउनु, र मानिस तथा परिस्थितिहरूलाई हेर्ने, आनीबानी प्रस्तुत गर्ने, र व्यवहार गर्ने क्रममा सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्‍ने बनाउनु यसको उद्देश्य हो। के यो “सत्यता कसरी पछ्याउने” भन्‍ने भावमा फर्केको छैन र? (छ।)

विभिन्‍न नकारात्मक भावनाहरूलाई त्याग्‍ने विषयमा सङ्गति गर्दा त्यो अन्तिममा मूल भावबाट दायाँबायाँ नगई “सत्यता कसरी पछ्याउने” भन्‍ने वृहत् विषयमा नै फर्किन्छ, होइन र? (हो।) सुरुमा, कतिपय मानिसहरूले यस्तो सोच्नसक्छन्, “विभिन्‍न नकारात्मक भावनाहरूलाई त्याग्‍ने कार्य सत्यतालाई पछ्याउने कार्यसँग त्यति सम्‍बन्धित छैन जस्तो देखिन्छ। नकारात्मक भावनाहरू भनेका क्षणिक मुड वा क्षणिक सोच र विचारहरू मात्रै हुन्।” यदि यो क्षणिक विचार वा क्षणिक मुड मात्रै हो भने, यो हामीले छलफल गरिरहेका नकारात्मक भावनाहरूको दायराभित्र पर्दैन। यी नकारात्मक भावनाहरू मानिसहरूले अरूलाई र परिस्थितिहरूलाई कसरी हेर्छन्, र कसरी आफ्‍नो आनीबानी र व्यवहार प्रस्तुत गर्छन् भन्ने कुराको सिद्धान्त र सारसँग सम्‍बन्धित हुन्छन्। यी कुराहरू मानिसहरूले आफ्‍नो जीवनमा पालना गर्नुपर्ने सही दृष्टिकोण, अडान, र सिद्धान्तहरूका साथै जीवन सम्‍बन्धी तिनीहरूको दृष्टिकोण र जिउने शैलीसँग सम्‍बन्धित छन्। यी कुराहरूका विषयमा सङ्गति गर्नुको अन्तिम उद्देश्य भनेको मानिसहरूलाई जीवनमा विभिन्‍न कुराहरू आइपर्दा त्यसउपरान्त तिनलाई आफ्‍नो स्वाभाविकता वा आवेगबिनै सम्‍हाल्‍न सक्ने, वा आफ्‍नो भ्रष्ट स्वभाव प्रयोग नगरी यी कुराहरूको सामना गर्न सक्ने बगाउनु हो। यसको अर्थ अवश्य नै के पनि हुन्छ भने, तिनीहरूले यी समस्याहरूलाई समाजले आफूमा भरिदिएका विभिन्‍न शैतानी दर्शनअनुसार सम्‍हाल्दैनन्। बरु, तिनीहरूले यी कुराहरूलाई सही तरिकाले लिन्छन्, अर्थात् जीवनमा सामना गर्ने समस्याहरूको सामना गर्दा व्यक्तिमा कम्तीमा पनि हुनुपर्ने विवेक र समझका साथ लिन्छन्। यसका साथै, सामान्य मानवीय विवेक र समझका आधारभूत सर्तहरू अनुसार, तिनीहरूले जीवन र अस्तित्वसँग सम्‍बन्धित र आफूले सामना गर्ने विभिन्‍न मानिस, घटना र परिस्थितिहरूलाई परमेश्‍वरका वचन र परमेश्‍वरले सिकाउनुभएका विभिन्‍न सिद्धान्तहरू अनुसार लिनेछन्। विभिन्‍न नकारात्मक भावनाहरूका बारेमा सङ्गति गर्ने र तिनलाई चिरफार गर्ने कार्यको अभिप्राय यो उद्देश्य हासिल गर्नु हो। बुछिस् त? (हो, बुझेँ।) मलाई भन्। (परमेश्‍वरले यी नकारात्मक भावनाहरूका बारेमा सङ्गति गर्नु र तिनलाई चिरफार गर्नुको उद्देश्य भनेको मानिसहरूलाई आफ्‍ना नकारात्मक भावनाहरूभित्र रहेका गलत विचार तथा दृष्टिकोणहरूलाई पहिचान गरेर तिनलाई परिवर्तन गर्न, र यी नकारात्मक भावनाहरूलाई त्याग्‍न सक्‍ने तुल्याउनु, अनि आफ्‍नो जीवनमा तिनीहरूले सामना गर्ने विभिन्‍न मानिस, घटना र परिस्थितिहरूलाई परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरू अनुसार विवेक र समझका साथ सही रूपमा सम्‍हाल्‍ने र निराकरण गर्ने तुल्याउनु हो। यसले गर्दा तिनीहरूले क्रमिक रूपमा जीवनसम्‍बन्धी आफ्‍नो दृष्टिकोण परिवर्तन गर्न, सत्यताका आधारमा मानिसहरू र परिस्थितिहरूलाई हेर्न, सत्यता अनुसार आफ्‍नो आनीबानी र व्यवहार प्रस्तुत गर्न, र आफ्‍नो सामान्य मानवतामा जिउन सक्नेछन्।) यदि मैले यी नकारात्मक भावनाहरूका बारेमा सङ्गति नगरेको वा तिनलाई चिरफार नगरेको भए, यदि मैले मानिसहरूका विभिन्‍न नकारात्मक विचार र दृष्टिकोणहरूका बारेमा सङ्गति वा खुलासा नगरेको नगरेको भए, मानिसहरूले आफ्‍नो दैनिक जीवनमा समस्याहरूको सामना गर्दा, तिनीहरूले प्रायजसो गलत अडान र दृष्टिकोण लिएर यी मामिलाहरूलाई गलत विचार र दृष्टिकोणहरू अनुसार सामना गर्नेथिए, सम्‍हाल्‍नेथिए, र समाधान गर्नेथिए। यसरी, बढी हदसम्‍म, मानिसहरू प्रायजसो यी नकारात्मक विचारहरूद्वारा बाधित, नबन्धित र नियन्त्रित हुनेथिए, जसले गर्दा तिनीहरू जीवनमा आइपर्ने विभिन्‍न समस्याहरूलाई परमेश्‍वरका मापदण्ड, वा परमेश्‍वरका वचनहरूमा प्रकट गरिएका सिद्धान्त र विधिहरू अनुसार सम्‍हाल्‍न सक्नेथिएनन्। अवश्य नै, व्यक्तिमा विभिन्‍न मानिस, घटना र परिस्थितिहरूप्रति सही विचार र दृष्टिकोणका साथै सही हेराइ र अडान छ भने, यसले यी मानिस, घटना र परिस्थितिहरूको सामना गर्दा उसलाई यी कुराहरू सही दृष्टिकोणबाट, वा कम्तीमा पनि सामान्य मानवताको विवेक र समझको क्षेत्रमा रही सम्‍हाल्‍न सहयोग गर्छ, र विभिन्‍न समस्याहरूलाई आवेगमा आएर वा आफ्‍नो भ्रष्ट स्वभाव अनुसार सम्‍हाल्‍नबाट रोक्छ, किनभने त्यसो गर्दा अनावश्यक समस्या र नचाहेका परिणामहरू आउन सक्छन्। उदाहरणको लागि, कुनै व्यक्तिले भविष्य, रोग-बिमार, परिवार, वैवाहिक सम्‍बन्ध, स्‍नेह, पैसा, मानिसहरूबीचको सम्‍बन्ध, र आफ्‍ना प्रतिभाका साथै आफ्‍नो सामाजिक हैसियत र मूल्य, र यस्तै अन्य कुराहरूलाई कसरी लिन्छ भन्ने कुरा उसले सत्यतालाई बुझ्‍नुभन्दा पहिले उसले सुनेको, सिकेको वा परिवार वा समाजले उसलाई प्रभाव र असर पारेको कुरामा आधारित हुन्छ, त्यसका साथै यो कुरा तिनीहरू आफैले भोगेका वा रचेका अनुभवहरूमा पनि आधारित हुन्छ। हरेक व्यक्तिले मामिलाहरूलाई आफ्‍नै तरिकाले हेर्छ, र विभिन्‍न कुराहरूलाई सम्‍हाल्‍ने क्रममा हरेक व्यक्तिले निश्‍चित मनोवृत्तिलाई जोड दिन्छ। अवश्य नै, मानिसहरूले विभिन्‍न कुरालाई हेर्ने विविध तरिका नकारात्मक, प्रतिकूल, गलत वा पूर्वाग्राही विचार र दृष्टिकोणहरूद्वारा नियन्त्रित र सञ्चालित हुने अर्थमा ती तिनमा एउटा समान तत्त्व हुन्छ। तिनीहरूको अन्तिम उद्देश्य भनेको आफ्‍नै ख्याति, सम्पत्ति र स्वार्थ हासिल गर्नु हो। अझै विशेष गरी भन्दा, यी विचार र दृष्टिकोणहरू शैतानको प्रभावर शिक्षाबाट आएका हुन्छन्। ती कुराहरू शैतानले मानवजातिभरि फैलाउने, वकालत गर्ने र बढावा दिने विभिन्‍न गलत विचार र दृष्टिकोणहरूबाट आएका हुन्छन् भनेर पनि भन्‍न सकिन्छ। यस्ता गलत विचार र दृष्टिकोणहरूको निर्देशनमा रही मानिसहरूले आफ्‍नो रक्षा गर्न र आफ्‍ना हितहरूलाई अधिकतम रूपमा सुनिश्‍चित गर्नका लागि अनजानमा यी कुराहरू प्रयोग गर्छन्। तिनीहरूले समाज र संसारबाट आउने यी विभिन्‍न विचार र दृष्टिकोणहरूलाई आफ्‍नो रक्षा गर्न प्रयोग गर्न खोज्छन् र आफ्‍नो स्वार्थ पूरा गर्नका लागि आफ्‍नै हितलाई अधिकतम रूपमा बढाउन खोज्छन्। अवश्य नै, यो प्राप्तिको अभियान कुनै कुरामा रोकिँदैन र यसले नैतिक सीमाका साथै विवेक र समझलाई पनि पार गर्छ। त्यसकारण, यी नकारात्मक भावनाहरू र नकारात्मक विचार तथा दृष्टिकोणहरूको निर्देशनमा रहेर मानिसहरूले अरूलाई र परिस्थितिहरूलाई कसरी हेर्छन् र आफ्‍नो आनीबानी र व्यवहार कसरी प्रस्तुत गर्छन् भन्ने कुराले अन्त्यमा मानिसहरूका बीच आपसी शोषण, हानि र सङ्घर्ष मात्रै पैदा गर्छ। अन्त्यमा, विभिन्‍न नकारात्मक विचार र दृष्टिकोणहरूको निर्देशन, बन्धन वा प्रलोभनमा परी, मानिसहरू परमेश्‍वरका मापदण्डहरूबाट, वा परमेश्‍वरले सिकाउनुभए अनुसार व्यक्तिले आफ्‍नो आनीबानी र व्यवहार कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुराको सिद्धान्तबाट समेत झन्-झन् टाढिन्छन्। के पनि भन्‍न सकिन्छ भने, विभिन्‍न नकारात्मक विचारहरूको निर्देशन र प्रलोभनमा परेर, मानिसहरूले कहिल्यै परमेश्‍वरले तोक्‍नुभए अनुसार साँचो रूपमा सत्यता प्राप्त गर्दैनन् वा सत्यता अभ्यास गर्ने वास्तविकतामा प्रवेश गर्दैनन्। सत्यतालाई मापदण्डको रूपमा लिएर मानिस र परिस्थितिहरूप्रति आफ्‍नो दृष्टिकोण, र आफ्‍नो आनीबानी र व्यवहारलाई परमेश्‍वरका वचनहरूमा आधारित गर्ने सिद्धान्त पालना गर्न पनि तिनीहरूलाई गाह्रो हुन्छ। त्यसकारण, मानिसहरूले आफ्‍ना नकारात्मक भावनाहरू समाधान गरिरहँदा, वास्तवमा तिनीहरूले आफ्‍ना विभिन्‍न नकारात्मक विचार तथा दृष्टिकोणहरूलाई पनि त्याग्‍नुपर्ने हुन्छ। आफूभित्रका विभिन्‍न गलत विचार तथा दृष्टिकोणहरूलाई पहिचान गरेपछि मात्रै मानिसहरूले हरेक प्रकारको नकारात्मक भावनालाई त्याग्‍न सक्छन्। अवश्य नै, मानिसहरूले आफ्‍ना विभिन्‍न नकारात्मक विचार र दृष्टिकोणहरूलाई त्याग्‍ने क्रममा तिनीहरूका नकारात्मक भावनाहरू पनि लगभग समाधान हुन्छन्। उदाहरणको लागि, यसभन्दा पहिले हामीले सङ्गति गरेको निराशाजनक भावनाहरूका बारेमा विचार गरौँ। सरल शब्‍दमा भन्दा, यदि कुनै व्यक्तिलाई सधैँ आफ्‍नो भाग्य खराब छ भन्‍ने महसुस भएको कारण उसमा यी नकारात्मक भावनाहरू पैदा हुन्छन् भने, उसले आफ्‍नो भाग्य खराब छ भन्‍ने विचार र दृष्टिकोणलाई मनमा राखिरहेमा ऊ थाहै नपाई डिप्रेसनको भावनामा डुब्न पुग्छ। यसको साथै, तिनीहरूको आत्मगत चेतनाले तिनीहरूको भाग्य खराब छ भन्‍ने विश्‍वासलाई झन् दह्रिलो बनाउँछ। जब-जब तिनीहरूले अलिक कठिन वा चुनौतीपूर्ण कुराको सामना गर्छन्, तब तिनीहरूले सोच्छन्, “अहो, मेरो त भाग्य नै खराब छ।” तिनीहरूले यो कुराको दोष खराब भाग्यलाई दिन्छन्। परिणामस्वरूप, तिनीहरू निराशा आत्म-त्याग, र डिप्रेसनको नकारात्मक भावनाहरूमा जिउँछन्। यदि मानिसहरूले आफ्‍नो जीवनमा आइपर्ने विभिन्‍न कठिनाइहरूलाई सही तरिकाले सामना गर्न वा नकारात्मक विचार र दृष्टिकोणहरू पैदा हुँदा सत्यताको खोजी गर्न सक्छन्, तिनको सामना गर्न परमेश्‍वरका वचनहरूमा भरोसा गर्न, मानव गन्तव्य वास्तवमा के हो भन्‍ने पहिचान गर्न, र तिनीहरूको भाग्य परमेश्‍वरको हातमा छ र उहाँले नै सबै कुराको नियन्त्रण गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्न सक्छन् भने, तिनीहरूले जीवनका यी विपत्ति, चुनौती, बाधा र कठिनाइहरूलाई सही तरिकाले लिन, वा यी सङ्घर्षहरूलाई सही रूपमा बुझ्‍न सक्छन्। त्यसो गरेर, के भाग्य खराब छ भन्‍ने तिनीहरूको विचार र दृष्टिकोणमा कुनै परिवर्तन आउँछ? यसका साथै, तिनीहरूले यी समस्याहरू सामना गर्ने उचित अडान प्राप्त गर्न सक्छन्? (सक्छन्।) जब मानिसहरूमा यी समस्याहरू सामना गर्ने क्रममा सही अडान हुन्छ, तब तिनीहरूको डिप्रेसनको भावना क्रमिक रूपमा सुधार हुँदै जान्छ, अर्थात् चरमदेखि सामान्यमा बदलिन्छ, सामान्यदेखि मन्दमा रूपान्तरण हुन्छ, र त्यसपछि मन्द स्थितिदेखि पूर्ण रूपमा बिलाउँछ र तिनीहरूबाट टाढा भाग्छ। परिणामस्वरूप, तिनीहरूको डिप्रेसनको भावना हराएर जान्छ। यसको कारण के हो? यसको कारण के हो भने तिनीहरूले यसभन्दा पहिले राखेको “मेरो भाग्य खराब छ” भन्‍ने विचार र दृष्टिकोण रूपान्तरण हुन्छ। यो सुधार भएपछि, तिनीहरूले डिप्रेसनको अनुभूति लिएर आफ्‍नो भाग्यलाई हेर्न छोड्छन्, त्यसको विपरित, यी समस्याहरूलाई सक्रिय र आशावादी मनोवृत्तिका साथ, परमेश्‍वरको शिक्षाका विधि, र उहाँले मानवजातिलाई प्रकट गर्नुभएको गन्तव्यको सारसम्बन्धी दृष्टिकोणका साथ हेर्छन्। त्यसकारण, आफूले पहिले सामना गरेको उही समस्याको सामना गर्दा, तिनीहरूले भाग्य खराब छ भन्‍ने विचार र दृष्टिकोणद्वारा आफ्‍नो गन्तव्यलाई हेर्न छोड्छन्, र तिनीहरूले यी कुराहरूका बारेमा डिप्रेसनको भावना लिएर प्रतिरोध वा विद्रोह गर्न छोड्छन्। सुरुमा तिनीहरूले यी कुराहरूलाई बेवास्ता गरे पनि वा तटस्थ रहेर सम्‍हाले पनि, समय बित्दै जाँदा, तिनीहरू सत्यतालाई पछ्याउने कार्यको गहिराइमा डुब्दै गएपछि र कदमा वृद्धि हुँदै गएपछि, मानिस र परिस्थितिहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण र अडान झन्-झन् सही बन्दै गएपछि, तिनीहरूको डिप्रेसनको भावना हराउने मात्रै होइन, तिनीहरू झन्-झन् सक्रिय र आशावादी हुँदै जान्छन्। अन्ततः, तिनीहरूले मानव गन्तव्यको प्रकृतिको पूर्ण बुझाइ र स्पष्ट अन्तर्ज्ञान प्राप्त गर्छन्। तिनीहरूले यी मामिलाहरूलाई परमेश्‍वरको योजनाबद्ध कार्यप्रति समर्पणताको मनोवृत्ति वा वास्तविकताद्वारा सही रूपमा सम्‍हाल्‍न र लिन सक्छन्। त्यसबेला, तिनीहरूले डिप्रेसनको आफ्‍नो भावनालाई पूर्ण रूपमा त्यागेका हुन्छन्। नकारात्मक भावनाहरूलाई त्याग्‍ने प्रक्रिया यस्तै हो, र यो जीवनको एउटा महत्त्वपूर्ण विषय हो। सारांशमा भन्दा, जब नकारात्मक भावनाले व्यक्तिको हृदयको गहिराइमा जरा गाड्छ वा उसले मानिस र परिस्थितिहरूलाई हेर्ने दृष्टिकोण र आफ्‍नो आनीबानी र व्यवहार प्रस्तुत गर्ने तरिकामा प्रभाव पार्छ, तब यो सामान्य नकारात्मक भावना मात्रै होइन भन्‍ने कुरामा कुनै शङ्का हुँदैन। यसको पछाडि यो वा त्यो, वा अन्य कुनै विषयमा गलत विचार वा दृष्टिकोण रहेको हुन्छ। यस्तो अवस्थामा, तैँले गर्नुपर्ने कुरा भनेको नकारात्मक भावनाहरूको स्रोतलाई विश्‍लेषण गर्नु हो, तर अझै महत्त्वपूर्ण कुरा भनेको, तेरा नकारात्मक भावनाहरूभित्र लुकेर बसेको हत्यारा तत्त्वलाई जाँच्‍नु हो। यो गुप्त तत्त्व लामो समयदेखि तेरो हृदयमा जरा गाडी बसेको नकारात्मक विचार वा दृष्टिकोण, अर्थात्, विभिन्‍न कुराहरूलाई सामना गर्ने कार्यप्रति रहेको गलत वा त्रुटिपूर्ण विचार वा दृष्टिकोण हो। गलत र नकारात्मक पक्षहरूको सन्दर्भमा, यो विचार वा दृष्टिकोण पक्कै पनि सत्यतासँग बाझिन्छ र सत्यताको विरोधमा खडा हुन्छ। यस विन्दुमा, तेरो काम भनेको यसको बारेमा विचार गर्नु, यसलाई चिरफार गर्नु, र यसप्रति परिचित हुनु मात्रै होइन, बरु यसले तँलाई गर्ने हानि, नियन्त्रण र तँलाई पार्ने बन्धन, र सत्यता पछ्याउने तेरो कार्यमा यसले पार्ने नकारात्मक असरलाई पनि राम्ररी बुझ्‍नुपर्छ। त्यसकारण, तैँले गर्नुपर्ने कुरा भनेको विभिन्‍न नकरात्मक विचार र दृष्टिकोणहरूलाई खुलासा, चिरफार र पहिचान गर्नु हो; यसका साथै, तैँले परमेश्‍वरले सङ्गति गर्नुभएका सत्यता सिद्धान्तहरू अनुसार तिनलाई पहिचान गर्न र जान्नका लागि परमेश्‍वरका वचनहरूको खोजी गर्नुपर्छ, आफ्‍ना गलत वा नकारात्मक विचार र दृष्टिकोणहरूको स्थानमा सत्यतालाई राख्‍नुपर्छ र तँलाई बन्धनमा पारिरहेका नकारात्मक भावनाहरूलाई पूर्ण रूपमा समाधान गर्नुपर्छ। नकारात्मक भावनाहरूलाई समाधान गर्ने मार्ग यही हो।

कतिपय मानिसहरू भन्छन्, “अहिलेसम्‍म मैले आफूमा कुनै नकारात्मक संवेगहरू देखेको छैनँ।” चिन्ता नगर्, ढिलोचाँडो, सही समयमा, उचित वातावरणमा, वा तँ निश्‍चित उमेर वा जीवनको विशेष मोडमा पुगेपछि, यस्ता नकारात्मक संवेगहरू स्वाभाविक रूपमै प्रकट हुनेछन्। तैँले सचेत भएर ती संवेगहरू खोज्‍नु वा खोतल्‍नु पर्दैन; धेरथोर रूपमा, केही हदसम्‍म, ती हरेक व्यक्तिको हृदयमा हुन्छन्। यस्तो किन हुन्छ भने, मानिसहरू मानव संसारमा जिउँछन्, कसैले पनि कम्प्युटरले जस्तो गरी आफ्‍ना सोच र दृष्टिकोणहरूलाई ध्यानै नदिई केही कुरालाई पनि लिने गर्दैनन्, र मानिसका सोचहरू सक्रिय हुन्छन्, ती सकारात्मक र नकारात्मक कुराहरू प्राप्त गर्न सक्‍ने भाँडोजस्तै हुन्। दुःखको कुरा, मानिसहरूले सकारात्मक सोच र दृष्टिकोणहरू स्विकार्न थाल्‍नुभन्दा धेरैपहिले नै शैतान, समाज, र भ्रष्ट मानवजातिबाट विभिन्‍न त्रुटिपूर्ण र गलत सोच र दृष्टिकोणहरू स्वीकार गरिसकेका हुन्छन्। यी गलत सोच र दृष्टिकोणहरूले मानिसहरूको प्राणको गहिराइ भरेर तिनीहरूको दैनिक जीवन र जीवनको मार्गमा गम्‍भीर असर र हस्तक्षेप गरेका छन्। त्यसकारण, विभिन्‍न नकारात्मक सोच र दृष्टिकोणहरू मानिसहरूको जीवन र अस्तित्वमा आउने क्रममा, विभिन्‍न नकारात्मक संवेगहरू पनि तिनीहरूको जीवन र तिनीहरूको अस्तित्वको मार्गमा आइरहेका हुन्छन्। त्यसकारण, तँ जोसुकै व्यक्ति भए पनि, एकदिन तैँले पत्तो पाउनेछस् कि तँमा केही क्षणिक नकारात्मक संवेगहरू मात्रै होइन, त्यस्ता नकारात्मक संवेगहरू त तँभित्र कैयौँ हुन्छन्। तँमा एउटा मात्रै होइन, कैयौँ नकारात्मक सोच र दृष्टिकोणहरू सँगसँगै रहेका हुन्छन्। ती कुराहरू अहिले प्रकट भइसकेका छैनन्, तर त्यो उचित वातावरण र उचित समय आइसकेको नभएर मात्र हो, त्यो तँलाई तेरा गलत सोच र दृष्टिकोणहरू खुलासा गर्न वा तेरा नकारात्मक संवेगहरू पोखाउन र प्रकट गर्न उक्‍साउने कुरा, वा त्यो वातावरण वा त्यो समय आइसकेको नभएर मात्रै हो। यदि यीमध्ये एउटा तत्व मात्रै देखा पर्‍यो भने, यसले उत्प्रेरकको रूपमा काम गर्छ, र तेरा नकारात्मक संवेगहरू र नकारात्मक सोच र दृष्टिकोणमा आगो सल्काउँछ र ती विस्फोट हुन्छन्। अनि तँ नचाहेर पनि तिनको प्रभाव, नियन्त्रण र बन्धनमा पर्नेछस्। ती तेरो लागि बाधा पनि बन्‍न पनि सक्छन् र तिनले तेरा निर्णयहरू प्रभावित पार्न पनि सक्छन्। ढिलोचाँचो त्यो अवश्यै हुनेछ। यस्तो किन हुन्छ भने, हामीले सङ्गति गरेका विभिन्‍न नकारात्मक संवेगहरू मानिसहरूले आफ्‍नो जीवनमा वा आफ्‍नो अस्तित्वको बाटोमा सामना गर्ने समस्याहरू हुन्, र ती हरेक व्यक्तिले आफ्‍नो जीवन वा अस्तित्वमा सामना गर्ने वास्तविक समस्याहरू हुन्। ती खोक्रा होइनन्, ठोस कुराहरू हुन्। यी नकारात्मक संवेगहरू व्यक्तिले परिपालन गर्नुपर्ने सिद्धान्तहरू र जीवन अस्तित्वप्रति उसमा हुनुपर्ने दृष्टिकोणसँग सम्‍बन्धित रहेका हुनाले, यी समस्याहरूलाई हामीले होसियारीसाथ खोतल्‍नु र चिरफार गर्नु अत्यावश्यक छ।

यसभन्दा पहिले, हामीले “दबाब” को नकारात्मक संवेगबारे सङ्गति गर्‍यौँ। हामीले “दबाब” को मामिलामा कतिपटक सङ्गति गर्‍यौँ? (हामीले यसबारे दुईपटक सङ्गति गर्‍यौँ।) पहिलोपटक हामीले के कुराबारे सङ्गति गर्‍यौँ? (पहिलोपटक हामीले मानिसहरूले प्रायजसो आफूले चाहेअनुसार गर्न नसक्‍नाले तिनीहरूमा दबाबका नकारात्मक संवेगहरू पैदा हुन्छन् भन्‍नेबारे सङ्गति गर्‍यौँ। दोस्रोपटक, मानिसहरूले आफ्‍नो विज्ञता प्रयोग गर्न सक्दैनन् र तिनीहरू प्रायजसो दबाबपूर्ण नकारात्मक संवेगहरूमा जिउँछन् भन्‍नेबारे सङ्गति गर्‍यौँ।) हामीले यी दुई वटा पक्षको बारेमा सङ्गति गर्‍यौँ। यी कुराहरूबाट, के हामीले यी दुई प्रकारका दबाबपछाडि, मानिसहरूले जीवनलाई कसरी लिन्छन् भन्‍नेबारे पनि त्यस्तै गुप्त सोच र दृष्टिकोणहरू हुन्छन् भनेर भन्‍न सक्छौँ? पहिलो प्रकार, जुन आफूले चाहेजस्तो गर्न नपाएर पैदा हुन्छ, त्यो प्रकारले कस्तो सोच वा दृष्टिकोण प्रतिनिधित्व गर्छ? यो त सधैँ स्वेच्‍छाचारी र गैरजिम्‍मेवार बन्‍न चाहने, जिम्‍मेवारी लिनुपर्ने आवश्यकता नबुझी आवेग, लहड, संवेग र रुचिको आधारमा काम गर्ने मानसिकता हो। के यो मानिसहरूले जीवनप्रति लिने निश्‍चित मनोवृत्ति होइन र? (हो।) यो त जीवित रहन प्रयोग गरिने विधि पनि हो। के यो सकारात्मक मनोवृत्ति र जीवत रहन प्रयोग गरिने विधि हो? (होइन।) यो सकारात्मक कुरा होइन। मानिसहरू सधैँ लहड, रुचि, र सोखका कुराहरूको आधारमा स्वेच्‍छाचारी रूपमा काम गर्दै आफूलाई जसरी मन लाग्यो त्यसरी जिउन चाहन्छन्। यो जिउने सही तरिका होइन; यो नकारात्मक कुरा हो र यसलाई समाधान गरिनुपर्छ। यो नकारात्मक मनोवृत्ति र जीवित रहन प्रयोग गरिने विधिबाट पैदा हुने नकारात्मक संवेगहरूलाई अवश्य नै झन् बढी समाधान गरिनुपर्छ। अर्को प्रकार भनेको आफ्‍नो विज्ञता प्रयोग गर्न नसकेर पैदा हुने दबाबका नकारात्मक संवेगहरू हो। जब मानिसहरूले आफ्‍नो विज्ञता देखाउन, आफूलाई प्रदर्शन गर्न, आफ्‍नो व्यक्तिगत मूल्य प्रस्तुत गर्न, अरूबाट अनुमोदन पाउन, वा आफ्‍ना इच्छाहरू सन्तुष्ट पार्न पाउँदैनन्, तब तिनीहरू दुखी हुन्छन्, उदास हुन्छन्, र तिनीहरूले दबाब महसुस गर्छन्। के यो अस्तित्वमा रहन प्रयोग गरिने सही विधि र दृष्टिकोण हो? (होइन।) यी कुराहरू हटाएर र त्यो ठाउँमा सत्यता र सामान्य मानवतासँग मिल्‍ने सही तरिका राख्‍नको लागि गलत कुराहरू बदल्‍नुपर्छ र सत्यता खोजी गर्नुपर्छ। हामीले यसभन्दा पहिले दबाबपूर्ण संवेगहरू पैदा हुनुपछाडि रहेका यी दुई कारणहरू, अर्थात् आफूखुसी गर्न नपाउनु र आफ्‍नो विज्ञता प्रयोग गर्न नसक्‍नुजस्ता कुराहरूबारे सङ्गति गर्‍यौँ। दबाबपूर्ण संवेगहरू पैदा हुनुको अर्को कारण पनि छ, र यो के हो भनेर के तिमीहरू सोच्‍न सक्छौ? मानिसहरूलाई दबाब महसुस गराउन सक्‍ने आफ्‍नो अस्तित्वपरक दृष्टिकोणसँग सम्‍बन्धित अरू केही कुराहरू के-के हुन्? थाहा भएन? दबाब महसुस गर्नु र दबाबका नकारात्मक संवेगहरू पैदा हुनुको अर्को कारण भनेको व्यक्तिले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न नपाउनु हो। यसबारे एकछिन विचार गर त, के यो दबाबको समस्या विद्यमान छ? के यो मानिसहरूको वास्तविक समस्या हो? (हो।) हामीले यसभन्दा पहिले छलफल गरेका आफ्‍नो इच्छाअनुसार गर्न चाहने मानिसहरूमा अलिक आत्मकेन्द्रित र स्वेच्‍छाचारी बन्‍ने प्रवृत्ति हुन्छ। जीवनप्रतिको तिनीहरूको मनोवृत्ति आफ्‍नै आवेगअनुसार व्यवहार गर्ने र आफूलाई जे मन लाग्यो त्यही गर्ने बानीद्वारा चित्रित भएको हुन्छ। तिनीहरू अरूसामु आफूलाई ठूलो बनाउन मन पराउँछन् र तिनीहरू समुदायमा बस्‍नको लागि उपयुक्त हुँदैनन्। तिनीहरूको अस्तित्वजीवी विधि भनेको सबैलाई आफ्‍नो वरिपरि नचाउनु हो, र तिनीहरू स्वार्थी हुन्छन् र तिनीहरू अरूसँग सद्‌भावमा जिउन वा सद्‌भावपूर्ण सहकार्य गर्न सक्दैनन्। दबाब पैदा गर्ने दोस्रो प्रकारको व्यक्ति भनेको सधैँ धाक देखाउन चाहने, आफूलाई प्रदर्शन गर्न चाहने, आफू अत्यावश्यक व्यक्ति हुँ भनेर सोच्‍ने, र अरूलाई कहिल्यै अस्तित्वको स्थान नदिने व्यक्ति हो। तिनीहरूमा थोरै विज्ञता वा प्रतिभा छ भने, वातावरण उपयुक्त भए पनि नभए पनि वा तिनीहरूको विज्ञता मूल्यवान् भए पनि नभए पनि वा परमेश्‍वरको घरमा त्यो प्रयोग गर्न सकिने भए पनि नभए पनि तिनीहरू त्यो प्रदर्शन गर्न चाहन्छन्। यस्तो व्यक्तिमा व्यक्तिवादलाई जोड दिने प्रवृत्ति पनि हुन्छ, होइन र? के यी सबै कुराहरू मानिसहरूको अस्तित्वजीवी विधिहरूमा समावेश हुन्छन्? (हो।) जीवन जिउने र जीवित रहन प्रयोग गरिने यी दुवै विधिहरू गलत छन्। अब, हामी यसभन्दा पहिले हामीले छलफल गरेको कुरा, अर्थात् आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न नपाएर पैदा हुने दबाबका नकारात्मक संवेगहरूमा फर्कौँ। चाहे अवसर, वातावरण, वा अवधि जे-जस्तो भए पनि, र तिनीहरू जुन काममा संलग्‍न भए पनि, तिनीहरू सधैँ आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने, र यसैलाई आफ्‍नो मापदण्ड बनाउने लक्ष्यमा केन्द्रित हुन्छन्। यदि तिनीहरूले यो उद्देश्य साकार पार्न वा हासिल गर्न सकेनन् भने, तिनीहरूलाई दबाब महसुस हुन्छ र तिनीहरू दुःखित हुन्छन्। के यो पनि निश्‍चित प्रकारको व्यक्तिको अस्तित्वजीवी विधि होइन र? (हो।) निश्‍चित प्रकारका मानिसहरूको लागि यो एउटा अस्तित्वजीवी विधि पनि हो। त्यसोभए, यो अस्तित्वजीवी विधिअनुसार जिउने मानिसहरूको मुख्य सोच वा दृष्टिकोण के हुन्छ? यो कि, तिनीहरू जहाँ भए पनि वा तिनीहरूले जे गरिरहेका भए पनि जबसम्म तिनीहरूसँग आदर्श र इच्छाहरू हुन्छन्, तबसम्‍म तिनीहरूको उद्देश्य आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्नु नै हुन्छ। यो तिनीहरूको अस्तित्वजीवी विधि र तिनीहरूको उद्देश्य हो। तिनीहरूका आदर्श र इच्छाहरूको लागि अरूले जति नै मूल्य चुकाउनु परे पनि वा जति नै त्याग गर्नु परे पनि, अनि ती कुराहरूको लागि जति नै धेरै मानिसहरूले बोझ लिनु परे पनि वा व्यक्तिगत रुचिहरू त्याग्‍नु परे पनि, तिनीहरूले नरोकिई आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने आफ्‍नो उद्देश्य पछ्याइरहन्छन्। तिनीहरू नहिचकिचाईकन अरूको काँधमा टेक्‍न वा अरूका हितहरू मार्नसमेत तयार हुन्छन्। यदि तिनीहरूले यो उद्देश्य हासिल गर्न सकेनन् भने, तिनीहरूलाई दबाब महसुस हुन्छ। के यस्तो सोच वा दृष्टिकोण सही हो? (होइन।) यसमा के गलत छ? (यो अत्यन्तै स्वार्थी कुरा हो!) “स्वार्थी” भन्‍ने शब्‍द सकारात्मक हो कि नकारात्मक? (यो नकारात्मक हो।) यो नकारात्मक र प्रतिकूल कुरा हो, त्यसकारण यसलाई सत्यताको आधारमा समाधान गरिनुपर्छ।

आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न नपाएर पैदा हुने यी दबाबपूर्ण संवेगहरूलाई कसरी समाधान गर्नुपर्छ? सुरुमा हामी मानिसहरूमा हुने विभिन्‍न आदर्श र इच्छाहरू जाँचौँ। हामीले त्यहाँबाट हाम्रो सङ्गति सुरु गर्दा कसो होला? (हुन्छ।) मानिसहरूमा के-कस्ता आदर्श र इच्छाहरू हुन्छन् भन्‍ने कुराबाट सङ्गति सुरु गर्दा मानिसहरूलाई बुझ्‍न र विचारको बहाव पछ्याउन सजिलो हुन्छ। त्यसकारण, अब सुरुमा हामी मानिसहरूमा हुने आदर्श र इच्छाहरू हेरौँ। केही आदर्श र इच्छाहरू वास्तविक हुन्छन् भने, अरूचाहिँ अवास्तविक हुन्छन्। कतिपय मानिसहरूमा आदर्शवादी आदर्शहरू हुन्छन् भने, अरूमा चाहिँ वास्तविकवादी आदर्शहरू हुन्छन्। अब, हामी सुरुमा आदर्शवादीहरूका आदर्शहरूबारे सङ्गति गरौँ कि वास्तविकवादीहरूका आदर्शहरूबारे सङ्गति गरौँ? (वास्तविकवादी आदर्शहरूबारे।) वास्तविकवादी आदर्शहरूबारे। अवास्तविक आदर्शहरूबारे के गरौँ? हामीले तीबारे सङ्गति गर्ने कि नगर्ने? हामीले तीबारे सङ्गति गरेनौँ भने, के मानिसहरूलाई तीबारे थाहा हुन्छ? (तिनीहरूलाई थाहा हुँदैन।) यदि सङ्गति नगरी तिनीहरूलाई थाहा हुँदैन भने, हामीले ती कुराहरूबारे साँच्‍चै नै सङ्गति गर्नुपर्छ। वास्तविकतावादीका आदर्शहरू मानिसहरूले प्राय सङ्गति नै नगरी पनि बुझ्‍न सक्छन्। यी कुराहरू हरेकको सोच र चेतनामा रहेका हुन्छन्। केही आदर्श र इच्छाहरू साकार पारिए पनि नपारिए पनि बाल्यकालदेखि वयस्क अवस्थासम्‍म अपरिवर्तित नै रहन्छन्, जबकि अरू आदर्श र इच्छाहरू उमेरसँगै परिवर्तन हुन्छन्। मानिसहरूको उमेर बढ्दै गएपछि र तिनीहरूको ज्ञान, क्षितिज, र अनुभव बढ्दै गएपछि, तिनीहरूका आदर्श र इच्छाहरू निरन्तर परिवर्तन हुँदै जान्छन्। ती अझै यथार्थपरक, वास्तविक जीवनसँग मिल्‍ने, र अझै निर्दिष्ट बन्छन्। उदाहरणको लागि, मानौँ सानो हुँदा कतिपय मानिसहरू गायक बन्‍न चाहन्थे रे, तर ठूलो भएपछि, तिनीहरूलाई आफूले सुरमा गाउन नसक्‍ने कुरा महसुस भयो, त्यसकारण तिनीहरूको गायक बन्‍ने इच्छा वास्तविकताअनुरूप भएन। त्यसपछि तिनीहरूले नायक बन्‍नेबारे विचार गरे। धेरै वर्षपछि, ऐनामा हेर्दा तिनीहरू त्यति आकर्षक छैनन् भन्‍ने कुरा महसुस भयो। तिनीहरू अलिक अल्गा भए पनि, तिनीहरू अभिनय गर्न त्यति सिपालु थिएनन्, र तिनीहरूको हाउभाउ त्यति स्वाभाविक देखिँदैनथ्यो। नायक बन्‍नु पनि अवास्तविक कुरा भयो। त्यसकारण, तिनीहरूले यसको सट्टा निर्देशक बन्‍नेबारे विचार गरे, ताकि तिनीहरूले अभिनेताहरूको लागि चलचित्र निर्देशन गर्न सकून्। तिनीहरू बीसको दशकमा पुगेर कलेजमा मुख्य विषय छनौट गर्ने बेला भएपछि, तिनीहरूको आदर्श अब निर्देशक बन्‍ने इच्छामा परिवर्तन भयो। दीक्षान्तपछि, तिनीहरूले निर्देशनको स्नातक प्राप्त गरेपछि, तिनीहरू वास्तविक संसारमा प्रवेश गरे, तर निर्देशक बन्‍नको लागि ख्याति र प्रतिष्ठा चाहिन्छ, योग्यताहरूका साथै आर्थिक स्रोत-साधन चाहिन्छ भन्‍ने फेरि तिनीहरूलाई महसुस भयो, तर तिनीहरूमा यी सबै कुराहरूको कमी थियो। कसैले पनि तिनीहरूलाई निर्देशकको रूपमा काम दिँदैनथ्यो। त्यसकारण, तिनीहरूले सानो कुरामै चित्त बुझाउँदै सायद लेखन संयोजक वा निर्माण संयोजकको रूपमा चलचित्र क्षेत्र प्रवेश गरे। तर समय बित्दै जाँदा, तिनीहरूले फेरि यस्तो सोच्‍न थाले, “मलाई निर्माता बन्‍न सुहाउँछ। मलाई व्यस्त रहन र पैसा बटुल्‍न रमाइलो लाग्छ, म बोल्‍न पनि सिपालु छु, र मेरो रूप पनि अलिक राम्रै छ। मानिसहरूले मलाई देख्दा झिँजो मान्‍नेछैनन्, र म अरूसँग राम्ररी कुराकानी गरेर तिनीहरूको सहयोग जित्‍न सक्छु। निर्माताको काम मेरो लागि उचित हुन सक्छ।” हेर् त, तिनीहरूको आदर्श यसरी क्रमिक रूपमा परिवर्तन भइरह्यो। अनि, किन यसरी परिवर्तन भएको हो? तिनीहरूका विचारहरू बिस्तारै परिपक्‍व हुँदै गए, तिनीहरूको बुझाइ अझै सटीक, अझै वस्तुगत र अझै व्यावहारिक भए, त्यसकारण सुरुमा यस्तो परिवर्तन आयो। त्यसपछि, वास्तविक संसारमा जिउने क्रममा, तिनीहरूको वास्तविक जीवनको वातावरण अनि जीवनका व्यावहारिक आवश्यकता र तनावहरूको आधारमा, तिनीहरूका पहिलेका आदर्शहरूलाई त्यो वातावरणले क्रमिक रूपमा परिवर्तन गर्दै लग्यो। अन्त्यमा, निर्देशकसमेत बन्‍न नसकेपछि, तिनीहरूले निर्माता बन्‍ने निर्णय गरे। तर के निर्माता बन्दा त्यसले तिनीहरूका आदर्शहरू वास्तविक रूपमा पूरा गर्‍यो कि गरेन? त्यो त तिनीहरू आफैले समेत पत्ता लाउन सकेनन्। जे होस, तिनीहरूले सुरु गरेपछि, दश वर्ष जति वा अवकाश लिउञ्‍जेल यो काम गरे। वास्तविकतावादीहरूका आदर्शहरूको आम अवलोकन यही हो।

हामीले भर्खरै मानिसहरूका आदर्शहरूलाई कसरी आदर्शवादीहरूका आदर्शहरू र वास्तविकतावादीहरूका आदर्शहरू गरी दुई वर्गमा वर्गीकरण गर्न सकिन्छ भनेर छलफल गरिरहेका थियौँ। अब हामी आदर्शवादीहरूका आदर्शहरूबारे कुरा गर्दै छलफल सुरु गरौँ। वास्तविकतावादीहरूका आदर्शहरू छुट्याउन सजिलो हुनुपर्छ। अर्कोतर्फ, आदर्शवादीहरूका आदर्शहरू त्यति ठोस हुँदैनन् र ती वास्तविक जीवनबाट अलिक टाढा हुन्छन्। तिनीहरू दैनिक आवश्यकताहरूजस्ता मानव अस्तित्वसँग सम्‍बन्धित व्यावहारिक मामिलाहरूबाट पनि निकै टाढा हुन्छन्। यी आदर्शहरूका ठोस अवधारणाहरू हुन्छन् तर अवतरण गर्ने निर्दिष्ट स्थान हुँदैन। तिमीहरूले यी आदर्श र इच्छाहरूलाई कल्‍पनाहरू, र तुलनात्मक रूपमा खोक्रा र मानव प्रकृतिबाट अलग भएका कुराहरू भनेर भन्‍न सक्छौ। यीमध्ये कतिलाई अमूर्त ठान्‍न सकिन्छ, र कति त खण्डित व्यक्तित्वबाट आएका आदर्श र इच्छाहरू पनि हुन्छन्। यी आदर्शवादीहरूका आदर्शहरू के-के हुन् त? आदर्शवाद त बुझ्‍न सजिलो हुनुपर्ने हो। यो त दिवास्वप्‍न, रोमाञ्‍चक कल्‍पना, र वास्तविक जीवनको दैनिक आवश्यकताका व्यावहारिक मामलाहरूसँग सम्‍बन्धित नरहेको कुरा हो। उदाहरणको लागि, पृथ्वीमा घुमिहिँड्ने एक कवि, एक अमर कवि बन्‍नु; वा एक तरवारधारी लडाकु, घुमन्ते शूरवीर बनेर पृथ्वीमा घुमिहिँड्नु, अविवाहित र निस्सन्तान भएर बस्‍नु, दैनिक आवश्यकताका चिन्ताहरूबाट मुक्त भएर, सहज र ढुक्‍कको जीवन जिउँदै सधैँ यताउता डुल्दै अमर बन्‍न र वास्तविक जीवनबाट टाढा भाग्‍न लागिपर्नु। के यो आदर्शवादीको आदर्श होइन र? (हो।) के तिमीहरूमध्ये कसैमा यस्तो सोच छ? (छैन।) विगतका चीनका चर्चित कविहरूबारे के भन्छौ जो मातेर कविता लेख्थे? तिनीहरू आदर्शवादी थिए कि वास्तविकतावादी? (आदर्शवादी।) तिनीहरूले वकालत गर्ने विचारहरू आदर्शवादीका काल्‍पनिक कुराहरू र दिवास्वप्‍नहरू थिए। तिनीहरू सधैँ यताउता घुमिहिँड्थे, र संसार कति सुन्दर थियो, मानवजाति कति शान्तिपूर्ण हुन सक्छ, र मानिसहरू कसरी सद्‌भावपूर्ण सहअस्तित्वमा रहन सक्छन् भनेर कल्‍पना गर्दै अस्पष्ट र अनिश्‍चित शब्‍दहरूमा बोल्थे। तिनीहरूले सामान्य मानवताको विवेक, समझ, र जीवनका आवश्यकताहरूबाट आफूलाई अलग गरेका थिए। तिनीहरूले आफूलाई यी वास्तविक जीवनका कुराहरूबाट अलग गरेर काल्पनिक वा अवास्तविक संसार कल्‍पना गर्थे जुन वास्तविकताबाट पूर्ण अलग थियो। तिनीहरूले आफूलाई त्यो संसारमा जिउने, त्यो ठाउँमा बस्‍ने प्राणीको रूपमा कल्‍पना गर्थे। के आदर्शवादीहरूको आदर्श यही होइन र? विगतको एउटा कविता छ, र त्यसको एउटा हरफले भन्छ, “म बतासमा चढेर घर जान्छु।” कविताको शीर्षक के थियो? (“पानीको धुन।”) त्यो कविताका हरफहरू पढ त। (“म बतासमा चढेर घर जान्छु। हरित-हिराको दरबार साह्रै अल्गो छ, आकाशमा साह्रै चिसो होला कि। आफ्‍नो छायामा नाच्दै छु, मरणशील बन्धन अनुभूत हुन्‍न मलाई।”) उसले “आफ्‍नो छायामा नाच्दै छु, मरणशीलको बन्धन अनुभूत हुन्‍न मलाई” भनेर के भन्‍न खोजेको हो? के यी दुई हरफले आदर्शवादीहरूका दबाबपूर्ण र आक्रोशित संवेगहरू उजागर गर्दैनन् र, जसका आदर्शहरूलाई हासिल गर्न वा वास्तविकतामा परिणत गर्नै सकिँदैन? के ती कुराहरू यो दबाबको संवेगअन्तर्गत व्यक्त गरिने कुराहरू होइनन् र? यसको मुख्य जोड के हो? त्यस बेला ऊ कुन वातावरण र पृष्ठभूमिमा थियो भनेर कुन वाक्यले इङ्गित गर्छ? के यो “आकाशमा साह्रै चिसो होला कि” भन्‍ने हो? (हो।) उसले अधिकारीवर्ग र भ्रष्ट स्थानको अन्धकार र दुष्टता खुलासा गरिरहेको थियो। ऊ अमर बन्‍न, त्यस्तो वातावरण र परिस्थितिबाट उम्कन चाहन्थ्यो। के उसले एक अधिकारी बन्‍ने चाहना छोड्नु नै पर्याप्त हुन्थेन र? के उसले यो वातावरण परिवर्तन गर्न पनि चाहन्थ्यो कि? ऊ त्यस्तो वातावरणप्रति असन्तुष्ट थियो किनभने यो उसले कल्‍पना गरेको आदर्श जीवनको वातावरणसँग मिलेको थिएन, र उसलाई अन्तस्करणमा दबाब महसुस भयो। आदर्शवादीहरूमा हुने एक किसिमको आदर्श यही हो। आदर्शवादीका आदर्शहरू प्रायजसो कल्‍पनातिर झुकेका हुन्छन्, ती अवास्तविक र अमूर्त, अनि वास्तविक जीवनबाट अलग रहेका हुन्छन्। यस्तो लाग्छ मानौँ, तिनीहरू कल्‍पनामा लिप्त हुँदै र वास्तविकताबाट टाढिँदै, भौतिक संसारभन्दा बाहिरको कुनै अर्को संसारमा, कुनै स्वतन्त्र र व्यक्तिगत स्थानमा बस्छन्। आधुनिक समाजमा जिउने कतिपय मानिसहरूजस्तै, तिनीहरूले पनि सधैँ प्राचीन वस्‍त्र लगाउन, प्राचीन शैलीमा कपाल मिलाउन, र प्राचीन भाषामा बोल्‍न मन पराउँछन्। तिनीहरू सोच्छन्, “आहा, त्यो कस्तो गज्‍जबको जीवन हो! भौतिक शरीरका समस्याहरूबाट मुक्त, वास्तविक जीवनका विभिन्‍न कठिनाइहरूबाट मुक्त, अनि यताउता घुमिरहने र भौतारिरहने अमर व्यक्तिजस्तै! त्यस्तो जिउने वातावरण, न त कुनै दमन छ, न त कुनै शोषण र चिन्ता नै। मानिसहरू सब बराबर, र अनि सबले एकअर्कालाई सहयोग गर्ने र सबै एकअर्कासँग मिलेर बस्‍ने। त्यस्तो आदर्शपूर्ण जिउने अवस्था, कति सुन्दर र कति रहरलाग्दो!” अविश्‍वासीहरूमाझ, कति जना यस्तै कुरा पछ्याउनेहरू छन्। कतिपयले त्यस्तै गीत गाउने वा त्यस्तै कविता लेख्‍ने, वा त्यस्तै अभिनय गर्ने गर्छन्। फलस्वरूप, मानिसहरू आदर्शवादीहरूले सपना देखेको त्यो अर्को संसारप्रति अझै तृषित हुन्छन्। अनि जब कतिपय मानिसहरूले यी गीतहरू गाउँछन् वा यी अभिनय गर्छन्, तब तिनीहरूले जति धेरै गीत गाउँछन्, तिनीहरूको मुड त्यति नै धेरै चिन्तनशील उदासीमा परिणत हुन्छ, र तिनीहरूले त्यति नै धेरै त्यो आदर्श संसारको तृष्णा गर्छन् र तिनीहरू त्यति नै धेरै त्यसैमा अल्झिरहन्छन्। अनि, अन्त्यमा के हुन्छ? कतिपय मानिसहरूले लामो समयसम्‍म गीत गएपछि, आफ्‍ना चिन्ताहरूबाट मुक्त हुन सक्दिनँ भन्‍ने महसुस गर्छन्। तिनीहरूले जति नै धेरै गाए पनि, मानव संसारको न्यानोपन अझै महसुस गर्न सक्दैनन्। अनि, जति नै धेरै गाए पनि, तिनीहरूलाई अझै तिनीहरूको आदर्शवादको काल्‍पनिक संसार नै राम्रो लाग्छ। तिनीहरूलाई संसारप्रति मोहभङ्ग हुन्छ, मानव संसारमा बाँच्‍ने चाहना हुन छोड्छ, र तिनीहरूले अन्त्यमा आफ्‍नै तरिकाले त्यो आदर्श संसार जाने दृढ निर्णय गर्छन्। कतिले बीस खान्छन्, कतिले अल्गो घरबाट हाम फाल्छन्, कतिले सुरुवालले पासो लाउँछन्, र कति त साधु बनेर आत्मिक अभ्यास पछ्याउँछन्। तिनीहरूकै शब्‍दमा भन्दा, तिनीहरूले सांसारिक घनिष्ठताको भ्रम छर्लङ्गै देखिसकेका छन्। तर वास्तवमा, तिनीहरूले संसारप्रतिको आफ्नो मोहभङ्गता ठीक गर्नको लागि त्यस्तो चरम शैली र विधिको सहारा लिनुपर्ने कुनै कारण छैन। त्यस्ता समस्या र कठिनाइहरू सम्बोधन गर्ने धेरै तरिकाहरू छन्, तर यी कुराहरूको मूल सार बुझ्‍न नसकेर, तिनीहरूले अन्त्यमा यी कठिनाइहरू सम्बोधन गर्ने चरम विधिहरू छनौट गर्छन् र आफ्‍ना आदर्शहरू पूरा गर्ने उद्देश्‍य हासिल गर्न यी कुराहरूबाट टाढा भाग्छन्। यसले अविश्‍वासीहरूमाझ रहेका केही आदर्शवादीहरू र तिनीहरूका समस्याहरू प्रतिनिधित्व गर्छ।

परमेश्‍वरको घरमा, अनि मण्डलीमा के यस्तै आदर्शहरू भएका मानिसहरू छन्? निश्‍चय नै, तर यति मात्र हो कि तिमीहरूले अहिलेसम्‍म तिनीहरूलाई पत्ता लगाएका छैनौ, त्यसैले तिनीहरूबारे म तिमीहरूलाई बताउनेछु। अविश्‍वासीहरूमाझ रहेका आदर्शवादीहरूले जस्तै बाहिरी संसारमा हुँदा शान्ति, सद्‌भाव, सौहार्दता, र सबैमाझ समानता हुने आदर्श समाजको तृष्णा गर्ने व्यक्तिहरू छन्। यो आदर्श समाज केही कवि वा लेखकहरूले चित्रण गरेको सपनाको देशजस्तै हुन्छ, तर प्राय यो अवश्यै मानिसहरूको आदर्शलोकमा रहेको कुनै स्थान, जिउने शैली, वा जिउने वातावरण नै हुन्छ। यस्ता आवश्यकता र आदर्शहरूद्वारा प्रेरित भएर यस्ता मानिसहरूले आफ्‍ना आदर्शहरू साकार पार्नको लागि अचेतन रूपमै आफ्नो विश्‍वास खोजिहिँड्छन्। अनि त्यो खोजको क्रममा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु असल मार्ग र विश्‍वासको सही छनौट हो भन्‍ने पत्ता लगाउँछन्। आफ्‍ना आदर्शहरूलाई आफूसँगै लिएर, तिनीहरू मानिसहरूमाझ न्यानोपन, वास्ता, र कदर अनि हेरचाह पाइन्छ भन्‍ने आशा गर्दै परमेश्‍वरको घर आउँछन्, अनि अवश्य नै, तिनीहरूले परमेश्‍वरको महान् प्रेम र सुरक्षा अनुभव गर्ने पनि अझै बढी आशा गरेका हुन्छन्। तिनीहरू आफ्‍ना आदर्शहरू साथै लिएर परमेश्‍वरको घर प्रवेश गर्छन्, र तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरे नि नगरे नि, तिनीहरूका आदर्शहरू अपरिवर्तित नै रहिरहन्छन्—तिनीहरू सधैँ आफूभित्र आफ्‍ना आदर्शहरू बोकिरहन्छन् र राखिरहन्छन्। सुरुदेखि अन्त्यसम्‍मका तिनीहरूका आदर्शहरूलाई यसरी व्याख्या गर्न सकिन्छ: परमेश्‍वरको घर प्रवेश गरेपछि, तिनीहरूले यो न्यानोपन अनुभव गर्ने, अनि न्यानोपन, खुसी, र हितमा रमाउने स्थान हो भन्‍ने आशा गर्छन्। तिनीहरूले यो मानिसहरूमाझ कुनै कलह, शङ्का, वा भेदभाव नरहेको स्थान, मानिसहरूमाझ हेपाइ, छल, हानि, वा बहिस्कार नहुने स्थान हो भन्‍ने आशा गर्छन्। यी कुराहरू मूलतः त्यस्ता आदर्शवादीहरूको दिमागमा भेट्टाउन सकिने आदर्शहरू हुन्। अर्थात्, तिनीहरूले यस्तो स्थानको कल्‍पना गर्छन् जहाँ मानिसहरूले जीवन र विचारहीन रहेर एकअर्कालाई मेसिनले जस्तै व्यवहार गर्ने, र भेट हुँदा मित्रवत् व्यवहार प्रदर्शन गर्न, र दुस्मनी छैन भनेर देखाउन यान्त्रिक शैलीले मुस्कुराउने, शिर हल्‍लाउने, र शिर झुकाउने गर्छन्। यस्तो आदर्श स्थानमा, मानिसहरूबीच ठूलो प्रेम हुन्छ, र तिनीहरूले एकअर्कालाई वास्ता गर्न, कदर गर्न, हेरचाह गर्न, बुझ्‍न, र एकअर्काको खाँचोमा मदत गर्न, र एकअर्कालाई रक्षा र ढाकछोप गर्नसमेत सक्छन्। यी सबै नै आदर्शवादीहरूले आदर्श मान्‍ने र सपना देख्‍ने केही कुराहरू हुन्। उदाहरणको लागि, जब आदर्शवादीहरू परमेश्‍वरको घर प्रवेश गर्छन्, तब तिनीहरूले वृद्ध मानिसहरूलाई जवानहरूद्वारा आदर, कदर, हेरचाह, र धेरै वास्ता र फिक्री गरिनेछ भन्‍ने आदर्श र आशा गर्छन्। सम्‍मानबाहेक, मानिसहरूले दाजुभाइहरूलाई “फलानो ठूलो अङ्कल,” “यो-त्यो अङ्कल” वा “फलानो अङ्कल” भनेर आदरसाथ बोलाऊन् र दिदीबहिनीहरूलाई “फलानी बजू,” “फलानी अन्टी,” वा “फलानी सिस्टर” भनेर बोलाउनेछन्—र मूलतः सबैलाई व्यक्तिगत रूपमै सम्‍बोधन गरिनेछ भन्‍ने पनि तिनीहरूले आशा गर्छन्। तिनीहरूले के पनि आशा गर्छन् भने, बाहिरी रूपमा मानिसहरूले एकअर्कासँग विशेष रूपमा मित्रवत्, सद्‌भावपूर्ण, र आदरणीय व्यवहार गर्नेछन्, र कसैसँग पनि बाहिरी रूपमा वा हृदयभित्र कुनै खराब इच्छा, वा कुनै खराब वा दुष्ट कुरा हुनेछैन। यदि कुनै व्यक्तिले गल्ती गर्‍यो वा कठिनाइहरू सामना गर्‍यो भने, उसलाई सहयोग गर्न सबैले सहयोगको हात बढाउनेछन्, साथै उसलाई गहन वास्ता र सहनशीलता प्रदान गर्नेछन् भन्‍ने पनि तिनीहरूले आशा गर्छन्। विशेष गरी संसारमा सहजै हेपिने वा दमनमा पर्ने कमजोर, र तुलनात्मक रूपमा निश्छल मानिसहरूको हकमा—तिनीहरूले त्यस्ता मानिसहरू मण्डली, अर्थात् परमेश्‍वरको घर आएपछि, तिनीहरूलाई अझै बढी वास्ता, ध्यान, र विशेष व्यवहार गरिनेछ भन्‍ने अझै बढी आशा गर्छन्। यी आदर्शवादीहरूले भनेअनुसार, जब तिनीहरू परमेश्‍वरको घर आउँछन्, तिनीहरूले सबैको खुसी र भलो चाहन्छन्, र तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तिनीहरू एउटा ठूलो परिवार र दाजुभाइजस्तै हुनेछन् भन्‍ने आशा गर्छन्। तिनीहरूले कुनै हेपाइ, दण्ड, वा हानि गर्ने कार्य हुनेछैन भन्‍ने सोच्छन्। तिनीहरूलाई लाग्छ कि, यदि समस्या पैदा भयो भने, मानिसहरूमाझ कुनै विवाद वा रिस हुनु हुँदैन, बरु हरेकले एकअर्कासँग शान्त भएर ठूलो धैर्य र सहयोगी मनको साथ व्यवहार गर्नुपर्छ, र तिनीहरूले सधैँ अरूलाई सहज महसुस गराउनुपर्छ, र हरेक व्यक्तिले अरूलाई आफ्‍नो सर्वोत्तम र दयालु पक्ष देखाउनुपर्छ, तर आफ्‍नो दुष्टता वा खराब पक्ष भने आफैभित्र राख्‍नुपर्छ। तिनीहरूलाई लाग्छ कि, मानिसहरूले एकअर्कालाई मेसिनले जस्तै व्यवहार गर्नुपर्छ, तिनीहरूमा अरू मानिसहरूप्रति कुनै नकारात्मक दृष्टिकोण वा विचार हुनु हुँदैन, र एकअर्काप्रति नकारात्मक कुरा त झन् गर्नै हुँदैन; तिनीहरूले अरूप्रति मानिसहरूमा असल अभिप्राय हुनुपर्छ भन्‍ने सोच्छन्, र यो कुरालाई “असल व्यक्तिहरूको जीवन शान्तिपूर्ण हुन्छ” भन्‍ने भनाइले राम्ररी प्रस्तुत गरेको छ। तिनीहरू यस्तो मात्रै साँचो परमेश्‍वरको घर र साँचो मण्डली हो भन्‍ने सोच्छन्। तैपनि, यी आदर्शवादीहरूको आदर्शहरू पूरा भएको हुँदैन। यी कुराहरूको सट्टा, परमेश्‍वरको घरले सिद्धान्तहरूमा ध्यान दिन्छ, मानिसहरूमाझ आपसी सहयोग र साथलाई जोड दिन्छ, र सबैलाई हरकिसिमका मानिसहरूलाई सत्यता सिद्धान्त र परमेश्‍वरका वचनहरूअनुसार व्यवहार गर्ने मापदण्ड दिन्छ। परमेश्‍वरको घरले त्यस्ता केही मापदण्डहरू पनि अघि सारेको छ जुन मानिसहरूप्रति “विचारशील” छैन, जस्तै फरकफरक प्रकारका मानिसहरूबीच भिन्‍नता छुट्याउने, र तिनीहरूसँग फरकफरक किसिमले व्यवहार गर्ने। परमेश्‍वरको घरले के पनि मापदण्ड दिएको छ भने, परमेश्‍वरको घरका हितहरूमा हानि गरिरहेको, कार्य बन्दोबस्तहरू उल्‍लङ्घन गरिरहेको, वा सिद्धान्तहरूविपरीत गइरहेको कसैलाई देख्‍नेबित्तिकै मानिसहरूले तिनीहरूलाई खुलासा गरेर निराकरण गर्नुपर्छ, ताकि परमेश्‍वरको घरका हितहरू रक्षा गर्न सकियोस्, अनि यसले भावनाहरूका आधारमा कसैको पनि रक्षा वा ढाकछोप गर्ने अनुमति दिँदैन। अवश्य नै, परमेश्‍वरको घरले विभिन्‍न स्तरका नेतृत्व पनि स्थापना गरेको छ। एक हिसाबमा, परमेश्‍वरको घरले सबै तहका अगुवाहरूलाई मण्डलीको दैनिक क्रियाकलापहरूको जिम्‍मा लिन लगाउँछ। अर्को हिसाबमा, यसले तिनीहरूलाई विभिन्‍न कामको कडाइसाथ निरीक्षण, व्यवस्थापन र फलोअप गर्न लगाउँछ, साथै हरसमय विभिन्‍न व्यक्तिहरूको स्थिति र मण्डली जीवनबारे जानकारी लिने, बुझ्‍ने, र ध्यान दिने, तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा कस्तो मनोवृत्ति र प्रवृत्ति देखाउँछन् त्यो अवलोकन गर्ने, र आवश्यक परे मनासिब र उचित हेरफेर गर्ने काम गर्न पनि लगाउँछ। अनि अवश्य नै, कुनै व्यक्तिले परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूविरुद्ध गइरहेको वा सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको र मण्डलीको काममा बाधा र व्यवधान ल्याइरहेको थाहा हुन आएमा, अगुवा र सेवकहरूले तिनीहरूलाई कडाइसाथ निराकरण र काटछाँट गर्नुपर्ने, र सानातिना गल्तीहरूको लागि चेतावनी दिने, र अलिक गम्‍भीर प्रकरणलाई उचित रूपमा सम्‍हाल्‍ने मापदण्ड पनि परमेश्‍वरको घरले दिएको छ। यस प्रसङ्गमा, कतिपय मानिसहरूलाई हटाइएको र निकालिएको छ, वा तिनीहरूको नाम काटिएको छ। जब मानिसहरू विभिन्‍न कर्तव्य पूरा गर्न र विभिन्‍न काममा संलग्‍न हुन परमेश्‍वरको घर आउँछन्, तब तिनीहरूमध्ये धेरैले अवश्यै परमेश्‍वरका वचनहरूबाट आउने सजाय र दण्डबारे सुन्छन्, देख्छन्, वा अनुभव गर्छन्; यसअलावा, तिनीहरूले फरकफरक तहका अगुवाहरूबाट निराकरण र काटछाँट पनि भोग्छन्। परमेश्‍वरको घरमा मानिसहरूले सामना गर्ने यी विभिन्‍न वातावरण र मामिलाहरू आदर्शवादीहरूले कल्‍पना गरेको परमेश्‍वरको आदर्श घर र मण्डलीभन्दा फरक हुन्छ, यतिसम्‍म कि यी कुराहरू तिनीहरूको अपेक्षाभन्दा अत्यन्तै बाहिर हुन्छ, र यसले गर्दा तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा धेरै ठूलो दबाब महसुस गर्छन्। एक हिसाबमा, तिनीहरूलाई मण्डलीमा पैदा हुने विभिन्‍न घटनाहरू, वा समस्याहरू समाधान गर्ने मण्डलीका विधि र सिद्धान्तहरू अकल्‍पनीय लाग्छन्। अर्को हिसाबमा, सकारात्मक कुराहरू, मण्डली, र परमेश्‍वरको घरबारेका तिनीहरूका आदर्श र भ्रमहरूको कारण तिनीहरूको हृदयको गहिराइमा दबाबपूर्ण भावनाहरू पैदा हुन्छन्। यी दबाबपूर्ण भावनाहरू पैदा भएपछि, र तिनीहरू आफ्‍ना गलत विचार र दृष्टिकोणहरू तुरुन्तै सुधार्न, वा आफ्ना आदर्शहरूमा रहेका समस्याहरू देख्‍न र स्पष्ट रूपमा पहिचान गर्न चुक्‍नाले, परिणामस्वरूप तिनीहरूमा बारम्‍बार धेरै धारणाहरू पैदा हुन्छन्। यसको साथै, तिनीहरू सत्यता बुझ्‍न वा यी धारणाहरू समाधान गर्न सत्यता प्रयोग गर्न नसक्‍ने हुनाले, यी कुराहरूले तिनीहरूको सोच वा प्राणको गहिराइमा जरा गाड्न थाल्छन्, जसले गर्दा तिनीहरूका दबाबपूर्ण भावनाहरू निरन्तर बढ्दै जान्छन् र झन्झन् चरम हुँदै जान्छन्। वास्तवमा, परमेश्‍वरको घर, मण्डली, विश्‍वासी, र इसाईहरू सबै नै यी आदर्शवादीहरूले आफ्‍ना आदर्शहरूमा कल्पेका सुखद स्वर्गलोक, परलोक वा सपनाको देशसँग अमिल्दा हुन्छन्। परिणामस्वरूप, तिनीहरूको हृदयको गहिराइमा लुकेर बस्‍ने दबाब निरन्तर थपिँदै जान्छ, र तिनीहरूसित यसबाट मुक्त हुने कुनै उपाय हुँदैन। के मण्डलीमा यस्ता मानिसहरू छन्? (छन्।)

कतिपय मानिसहरू भन्छन्, “अहो, किन परमेश्‍वरको घरले सधैँ न्याय र सजाय स्विकार्नेबारे कुरा गर्छ? परमेश्‍वरका विश्‍वासीहरूले कसरी अझै पनि निराकरण र काटछाँट सामना गर्न सक्छन्? अहो, परमेश्‍वरको घरले किन मानिसहरूलाई निकाल्छ? यसमा त कुनै प्रेम नै छैन! ‘पृथ्वीको स्वर्ग’ मा कसरी यस्ता कुराहरू हुन सक्छन्? कसरी मण्डलीमा ख्रीष्टविरोधीहरू देखा पर्न सक्छन्? ख्रीष्टविरोधीहरूद्वारा अरूलाई दमन र दण्डित गरिने घटनाहरू कसरी घट्न सक्छन्? मण्डलीमा, अर्थात् परमेश्‍वरको घरमा, कसरी मानिसहरूले एकअर्काको खुलासा र विश्‍लेषण गर्न सक्छन्? त्यहाँ कसरी विवाद हुन सक्छ? कसरी त्यहाँ डाहा र द्वन्द्व हुन सक्छ? यो के भइरहेको हो? हामी परमेश्‍वरको घरमा आएका हुनाले, हामीमाझ त प्रेम हुनुपर्ने हो, र हामीले एकअर्कालाई सहयोग गर्न सक्‍नुपर्ने हो। तैपनि कसरी अझै यस्ता घटनाहरू घट्न सक्छन्?” के यस्ता विचारहरू बोक्‍ने धेरै मानिसहरू छैनन् र? धेरै मानिसहरूले परमेश्‍वरको घरलाई आफ्‍नो कल्‍पनाको दृष्टिकोणले हेर्छन्। अब, मलाई भन त, के यी कल्‍पना र व्याख्याहरू वस्तुपरक छन्? (अहँ, ती वस्तुपरक छैनन्।) ती कुरामा कहाँनेर वस्तुगतता छैन? (मानवजाति गहन रूपमा भ्रष्ट छ, र परमेश्‍वरले मुक्ति दिनुहुने सबैमा भ्रष्ट स्वभाव छ, त्यसकारण अरूसँगको अन्तरक्रियामा तिनीहरूले अपरिहार्य रूपमै भ्रष्टता प्रकट गर्छन्। त्यहाँ डाहा र द्वन्द्व हुनेछन्, र हेपाइ र दमनका घटनाहरू घट्नेछन्। यी कुराहरू अपरिहार्य रूपमै घटित हुनेछन्। यस्ता आदर्शवादीहरूले कल्‍पना गरेका कुराहरू अस्तित्वमा छैनन्। यसको साथै, मण्डली जीवन र काम जोगाउन, मण्डलीले सत्यता सिद्धान्तहरूको आधारमा मानिसहरूलाई निराकरण र काटछाँट गर्ने, वा मानिसहरूलाई हेरफेर र बर्खास्त गर्ने, वा दुष्ट मानिसहरू र गैरविश्‍वासीहरूलाई हटाउने र निकाल्ने गर्छ—यो सिद्धान्तहरूअनुरूप छ। यस्तो किन हो भने, जब मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभावअनुसार व्यवहार गर्छन्, तब तिनीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्। यदि मण्डलीले मानिसहरूलाई निराकरण र काटछाँट गर्ने, वा बर्खास्त गर्ने र हटाउनेजस्ता कार्य गरेन भने, त्यो अवास्तविक हुन्छ।) त्यो अवास्तविक हुन्छ, त्यसकारण त यी मानिसहरूका विचारहरू आदर्शवादीका आदर्शहरू हुन्। तीमध्ये कुनै पनि वास्तविक छैनन्, ती सबै खोक्रा र काल्‍पनिक हुन्, होइन र? अहिलेसमेत, त्यस्ता मानिसहरूले परमेश्‍वरमा किन विश्‍वास गर्नुपर्छ भनेर बुझेका छैनन्। कति मानिसहरू भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको असल कुराहरू गर्नु र असल व्यक्ति बन्‍नु हो।” के यो अभिव्यक्ति सही छ? (अहँ, यो सही छैन।) “परमेश्‍वरका विश्‍वासीहरूले आफ्नो हृदयमा असल अभिप्रायहरू राख्‍नुपर्छ।” के यो अभिव्यक्ति सही छ? (अहँ, छैन।) आफ्‍नो हृदयमा सही अभिप्राय राख्‍नु—यो कस्तो खालको अभिव्यक्ति हो? के तैँले चाहेर मात्रै असल अभिप्रायहरू राख्‍न सक्छस्? के तँमा असल अभिप्रायहरू छन्? के हृदयमा असल अभिप्रायहरू राख्‍नु मान्छेले कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्त हो? यो नारा र धर्मसिद्धान्त मात्रै हो। यो खोक्रो कुरा हो। तेरो हित संलग्‍न नहुँदा, तैँले यो कुरा राम्ररी नै भन्‍न र यस्तो सोच्‍न सक्छस्, “मैले हृदयमा असल अभिप्राय राखेको छु, म अरूलाई हेप्‍ने, हानि गर्ने, धोका दिने, र अरूबाट फाइदा लिने गर्दिनँ।” तर जब तेरो हित, हैसियत, र स्वाभिमान संलग्‍न हुन्छन्, के “आफ्‍नो हृदयमा असल अभिप्राय राख्‍नु” भन्‍ने अभिव्यक्तिले तँलाई काबुमा राख्‍न सक्छ? के यसले तेरो भ्रष्ट स्वभाव समाधान गर्न सक्छ? (अहँ, सक्दैन।) त्यसकारण, यो अभिव्यक्ति खोक्रो छ; यो सत्यता होइन। सत्यताले त तेरो भ्रष्ट स्वभावको सार खुलासा गर्न सक्छ, यसले तैँले गर्ने कुराको सार र साँचो प्रकृति खुलासा र चिरफार गर्न, र तैँले गर्ने यी कुराहरू र तैँले प्रकट गर्ने स्वभावको सार निर्धारित गर्न र दोषी ठहराउन सक्छ। अनि, यसले तेरो जिउने शैली र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तेरो शैली परिवर्तन गर्ने उचित मार्ग र सिद्धान्तहरू प्रदान गर्छ। यस तरिकाले, यदि मानिसहरूले सत्यता स्विकार्न र आफ्‍नो जिउने शैली परिवर्तन गर्न सक्छन् भने, तिनीहरूको भ्रष्ट स्वभाव समाधान हुन सक्छ; मानिसहरूलाई आफ्‍नो हृदयमा असल अभिप्राय राख्‍न अनुरोध गरेर यस्तो हुँदैन, सत्यताले मात्रै यो काम गर्न सक्छ। सत्यताले नारा, धर्मसिद्धान्त, वा नीति र नियमहरू दिएर होइन, बरु तिनीहरूलाई के-कसरी आफूलाई व्यवहारमा ढाल्‍ने भन्‍ने सिद्धान्त, मापदण्ड, र दिशाहरू दिएर व्यक्तिको भ्रष्ट स्वभाव समाधान गर्न सक्छ। यसले मानिसहरूको भ्रष्ट स्वभाव हटाउन र प्रतिस्थापन गर्नको लागि यी सिद्धान्त, मापदण्ड, र दिशाहरू प्रयोग गर्छ। जब के-कसरी आफूलाई व्यवहारमा ढाल्ने भन्‍ने मानिसहरूको तौरतरिकाको सिद्धान्त, मापदण्ड, र दिशा परिवर्तन हुन्छ र त्यसलाई सुधारिन्छ, तिनीहरूको मनमस्तिष्कमा रहेका हरकिसिमका त्रुटिपूर्ण विचार र गलत सोचहरू पनि स्वाभाविक रूपमै परिवर्तन हुन्छन्। जब व्यक्तिले सत्यता बुझ्छ र प्राप्त गर्छ, उसको विचार पनि सोहीअनुरूप परिवर्तन हुन्छ। यो कुरा आफ्‍नो हृदयमा असल अभिप्राय राख्‍ने कार्यसँग सम्‍बन्धित छैन, बरु तिनीहरूको विचारको स्रोत, तिनीहरूको स्वभाव, र तिनीहरूको सार परिवर्तनसँग सम्‍बन्धित छ। त्यस्तो व्यक्तिले प्रकट गर्ने र जिउने कुरा सकारात्मक बन्छ। तिनीहरूले आफूलाई व्यवहारमा ढाल्‍ने दिशा, शैली, र स्रोत सबै परिवर्तन हुन्छन्। तिनीहरूको बोलीवचन र व्यवहारको आधार र मापदण्ड परमेश्‍वरका वचनहरू नै हुन्छन्, र तिनीहरू सामान्य मानवतामा जिउन सक्छन्। त्यसकारण, के तिनीहरूलाई “हृदयमा असल अभिप्राय राख्‍नु” पर्छ भनेर मात्रै भन्‍नु अझै जरुरी छ? के यो उपयोगी छ? त्यो अभिव्यक्ति खोक्रो छ; यसले कुनै पनि समस्या समाधान गर्न सक्दैन। आदर्शवादीहरू परमेश्‍वरको घर, अर्थात् मण्डली आएपछि पनि अझै तिनीहरूका आदर्शहरू पूरा हुन सक्दैनन्, र यसैको कारणले नै तिनीहरूले हृदयमा दबाब महसुस गर्छन्। यो त केही आदर्शवादीहरूले सरकार वा समाज प्रवेश गरेपछि आफ्ना आदर्शहरू वास्तविकतामा बदलिन वा पूरा हुन सक्दैनन् भनेर महसुस गरेजस्तै हो। परिणामस्वरूप, तिनीहरूले प्राय निरुत्साहित महसुस गरिरहन्छन्। कतिपय मानिसहरू अधिकारी वा सम्राट बनेपछि, तिनीहरू आफूप्रति साह्रै खुसी हुन्छन् र अत्यन्तै अहङ्कारी बन्छन्, ठीक त्यसरी नै जसरी यो एउटा कविताको हरफले भन्छ, “ठूलो बतास उर्लेपछि बादलहरू छरपष्ट हुन्छन्।” अर्को हरफ कस्तो छ? (“अब मेरो शासनले समुद्रको गहिराइसम्‍म शासन गर्ने हुनाले, म मेरो गृहभूमि फर्किन्छु।”) हेर् त, तिनीहरूका शब्‍दहरू कति अनौठा सुनिन्छन्। तिनीहरूमा सामान्य मानवता र समझ भएका मानिसहरूलाई बुझ्‍न गाह्रो भावना हुन्छ। यी आदर्शवादीहरू सधैँ ठूलो शैलीमा बोल्छन्। ठूलो शैलीमा बोल्‍नु भनेको के हो? यसको अर्थ तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा कहिल्यै पनि वास्तविकता सामना गर्ने वा वास्तविक समस्याहरू सुल्झाउने गर्दैनन् भन्‍ने हुन्छ। तिनीहरूले वास्तविकता के हो भन्‍नेनै बुझ्दैनन्, र तिनीहरू सधैँ भावनाहरूद्वारा प्रेरित हुन्छन्। जब यी मानिसहरू परमेश्‍वरको घर आउँछन्, तब तिनीहरूले जति नै धेरै सत्यता सुने पनि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो वा परमेश्‍वरमा विश्‍वास गर्नुको महत्त्व के हो भनेर बुझ्दैनन्। तिनीहरूले सत्यताको मूल्य नै बुझ्दैनन्, सत्यता पछ्याउनुको मूल्य बुझ्‍नु त परको कुरा हो। तिनीहरूले सधैँ पछ्याउने भनेको त आदर्शवादीका आदर्शहरू मात्रै हो। तिनीहरूको सपना परमेश्‍वरको घर एकदिन तिनीहरूले कल्पेजस्तै होस् भन्‍ने हुन्छ, जहाँ मानिसहरू एकअर्कालाई आदरसाथ व्यवहार गर्छन्, सँगसँगै सद्‌भावमा जिउँछन्, एकअर्कासँग राम्ररी घुलमिल हुन्छन्, र एकअर्कालाई मूल्यवान्‌ ठान्‍ने, हेरचाह गर्ने, कदर गर्ने, सहयोग गर्ने, र धन्यवाद दिने गर्छन्। जहाँ मानिसहरूले एकअर्काबारे राम्रा कुराहरू र आशिष्‌का वचनहरू बोल्छन्, कुनै अप्रिय वा चोट पुग्‍ने शब्‍दहरू, वा मानिसहरूको भ्रष्ट स्वभाव खुलासा गर्ने वा कुनै विवाद पैदा गर्ने, वा मानिसहरूले एकअर्काको खुलासा र निराकरण गर्ने शब्‍दहरू बोल्दैनन्। यी मानिसहरूले जति नै धेरै सत्यता सुनेपछि पनि परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ, वा परमेश्‍वरका मापदण्डहरू के-के हुन्‌, र परमेश्‍वरले मानिसहरू कस्तो व्यक्ति बनेको चाहनुहुन्छ भनेर बुझ्दैनन्। तिनीहरूले यी कुराहरू नबुझ्‍ने मात्रै होइन, परमेश्‍वरको घरमा एकदिन आफूले इच्छा गरेको आदर्श व्यवहार प्राप्त गर्नेछु भनेर अझै बढी आशासमेत गर्छन्। यदि तिनीहरूले त्यस्तो व्यवहार प्राप्त गरेनन् भने, तिनीहरूलाई परमेश्‍वरको घरमा आफ्ना आदर्शहरू साकार पार्नको लागि ठाउँ पनि छैन र अवसर पनि छैन भन्‍ने महसुस हुन्छ। त्यसकारण, कतिपय मानिसहरूले दबाब महसुस गरेर विश्‍वास छोड्नेबारे विचार गर्छन्, र यसो भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु कति न्यास्रोलाग्दो र खोक्रो हुने रहेछ। परमेश्‍वरका विश्‍वासीहरूले बुद्धधर्म मान्‍नेहरूले जस्तो एकअर्कालाई सहयोग, कदर र आदर गर्ने गर्दैनन्। अनि, परमेश्‍वरका विश्‍वासीहरू सधैँ सत्यता र सिद्धान्तहरूबारे छलफल गरिरहेका हुन्छन्, तिनीहरू प्रायजसो व्यक्ति-व्यक्तिबीचका सम्बन्धहरूमा हुनुपर्ने समझबारे कुरा गर्छन्, अनि कहिलेकहीँ खुलासा र आलोचना गरिन्छ, र प्राय निराकरण र काटछाँट पनि सहनुपर्छ। यो त मैले चाहेजस्तो जीवन होइन।” यदि यस्ता आदर्शवादीहरूले आफ्‍ना आदर्शहरू पूरा गर्न पाएनन् र स्वर्गमा जाने तिनीहरूको अलिकति आशा पनि पूरा भएन भने, तिनीहरूले कुनै पनि बेला मण्डली छोडेर अर्को बाटो खोज्‍न सक्छन्। त्यसकारण, मलाई भन त, के यिनीहरू परमेश्‍वरका मानिसहरू हुन् त? के तिनीहरू परमेश्‍वरको घरमा रहन लायक छन् त? (अहँ, छैनन्।) तिनीहरू कहाँ जानुपर्छ, तिमीहरूलाई के लाग्छ? (तिनीहरू त मठबासी जीवनमा संलग्‍न हुन लायक छन्।) तिनीहरू बौद्ध वा ताओधर्मका मन्दिरहरूमा जान सक्छन्, यी दुवै नै तिनीहरूको लागि ठीक हुन्छ। तिनीहरूले बाहिरी संसारमा दबाब महसुस गर्दैनन् तर परमेश्‍वरको घरमा निकै दबाब महसुस गर्छन्, अर्थात् तिनीहरूलाई आफ्‍ना आदर्शहरू पूरा गर्ने अवसर छैन वा त्यसलाई प्रयोग गर्ने ठाँवै छैन भन्‍ने लाग्छ। त्यसकारण, यी मानिसहरू धुवाँले भरिने र निरन्तर धूप बालिने स्थानहरूको लागि निकै उपयुक्त हुन्छन्। ती स्थानहरू शान्त हुन्छन्, र त्यहाँ तिनीहरूले के-कसरी आफूलाई व्यवहारमा ढाल्ने भनेर सिकाउँदैनन्। तिनीहरूले तेरा विभिन्‍न गलत विचार र दृष्टिकोणहरू खुलासा गर्दैनन्, र तिनीहरूले तेरो भ्रष्ट स्वभावको खुलासा वा निराकरण पनि गर्दैनन्। त्यहाँ मानिसहरूबीच दूरी र सम्‍मान हुन्छ। मानिसहरू दिनमा एकदुई शब्‍दभन्दा बढी बोल्दैनन्, र त्यहाँ कुनै विवाद हुँदैन। अनि, तँ कसैको रेखदेख वा नियमको अधीनमा हुँदैनस्। त्यहाँ तँ आत्मनिर्भर जीवन जिउनेछस्, र वर्षभरि बिरलै मात्र अपरिचित मानिसहरू भेट्छस्। तैँले दैनिक कामकाजबारे चिन्ता गर्नुपर्दैन। यदि तँलाई आफ्‍नो जिउ पाल्‍नको लागि केही कुरा चाहियो भने तैँले सानो डबको वा भीख माग्‍ने कटौरा लिएर आम मानिसहरूबाट दान माग्‍न, अनि पैसा नकमाई केही खानेकुरा पाउन सक्छस्। त्यस्ता स्थानहरूमा, सांसारिक समस्याहरू हराएर जान्छन्। मानिसहरूले त्यहाँ एकअर्कासँग राम्रोसँग व्यवहार गर्छन्, र कसैले पनि कसैसँग विवाद गर्दैनन्। यदि असहमति भयो भने पनि त्यो मानिसहरूको हृदयमै सीमित हुन्छ। सहजता र आराममै दिनहरू बित्छन्। परम आनन्दको स्थान भनेर यसैलाई भनिन्छ, यो आदर्शवादीका आदर्शहरूको स्थान हो, र आदर्शवादीहरूले आफ्‍ना आदर्शहरू पूरा गर्ने ठाउँ हो। त्यस्ता मानिसहरू मण्डलीमा होइन, तिनीहरूको आफ्नै कल्‍पनाको स्थानमा बस्‍नुपर्छ। तिनीहरूजस्ता मानिसहरूको लागि, मण्डलीमा गर्नुपर्ने काम अत्यन्तै धेरै हुन्छन्। हरदिन, तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, भेलाहरूमा सहभागी हुनुपर्छ, हरेक सिद्धान्तहरू सिक्‍नुपर्छ, अनि सत्यताबारे र आफ्‍नो भ्रष्ट स्वभावको बुझाइबारे सधैँ सङ्गति गर्नुपर्छ; आफ्‍नो भ्रष्ट स्वभावअनुसार काम गर्ने र सिद्धान्तहरू तोड्ने कतिपय मानिसहरूले निराकरण र काटछाँट सामना गर्छन्, र केही मानिसहरूलाई त यी कुराहरू बारम्‍बार आइलाग्छन्। यी मानिसहरूले यहाँ विशेष दबाब महसुस गर्छन् र तिनीहरू बेखुसी हुन्छन्। मण्डली तिनीहरूको आदर्श वातावरण हुँदैन। तिनीहरूलाई लाग्छ कि तिनीहरूले यहाँ समय खेर फाल्‍नु वा जवानी सिध्याउनुभन्दा, तिनीहरूलाई अलिक बढी मनपर्ने स्थान जानु नै बेस हुन्छ। तिनीहरूले निरन्तर दबाब महसुस गर्दै र असहज, आनन्दहीन, र बेखुसी जीवन जिउँदै यहाँ आफ्‍नो समय खेर फाल्‍नु जरुरी छैन भन्‍ने सोच्छन्। आदर्शवादीका आदर्शहरू प्रतिनिधित्व गर्ने यही प्रकटीकरणबारे मात्रै हामी कुरा गर्नेछौँ। यी मानिसहरूबारे भन्‍नुपर्ने धेरै कुरा छैन। तिनीहरूसँग तैँले जति धेरै सत्यता सङ्गति गरे पनि, तिनीहरूले त्यो सुन्‍नेछैनन्। सारा दिन तिनीहरू कल्‍पनामा डुब्छन्, र तिनीहरूले सोच्‍ने कुराहरू सबै अत्यन्तै अवास्तविक र अस्पष्ट, अनि सामान्य मानवताबाट एकदमै अलग हुन्छन्। तिनीहरूले यी कुराहरूबारे सारा दिन विचार गर्छन् तर सामान्य मानिसहरूसँग कुराकानी गर्न सक्दैनन्। सामान्य मानिसहरूले पनि तिनीहरूको संसार निर्माण गर्ने कुराहरू बुझ्‍न सक्दैनन्। त्यसकारण, यी मानिसहरूले जे-जस्तो विचार र दृष्टिकोण राखे पनि, तिनीहरूका आदर्शहरू खोक्रै हुन्छन्। अनि, तिनीहरूका आदर्शहरू खोक्रा भएकाले, तिनीहरूका विचार र दृष्टिकोणहरू पनि स्वाभाविक रूपमै खोक्रै हुन्छन्। ती कुराहरू गहिरिएर चिरफार गर्न वा खोतल्‍न लायक हुँदैनन्। ती खोक्रा भएकाले, खोक्रै रहून्। यी मानिसहरू आफूले चाहेको जुनसुकै ठाउँ जान सक्छन्, र परमेश्‍वरको घरले हस्तक्षेप गर्नेछैन। यदि तिनीहरू परमेश्‍वरको घरमा बसेर आफ्‍नो कर्तव्य थोरथोरै पूरा गर्न वा सेवा दिन इच्छुक छन् भने, हामी तिनीहरूको खाँचो पूरा गरेर तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनेछौँ, तर तिनीहरूले कुनै वाधा ल्याउने वा दुष्कर्म भने गर्नु हुँदैन। छोटकरीमा भन्दा, यस्तो व्यक्ति जबसम्‍म विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू, परमेश्‍वरको घर, र सत्यताप्रति मित्रवत्‌ रहन्छ, तबसम्‍म उसले जाने इच्छा व्यक्त नगरेसम्‍म हामीले उसलाई तह लाउनु आवश्यक छैन। यदि त्यसो हो भने, हामी यसलाई खुलेर स्वागत गरौँ, हुन्छ? (हुन्छ।) त्यसोभए, यो कुरा ठेगान लाग्यो है।

आदर्शवादीका आदर्शहरू खोक्रा हुन्छन्, जबकि वास्तविकतावादीका आदर्शहरू निकै व्यावहारिक र मानिसहरूको जीवन र वास्तविक वातावरणसँग निकै मिल्‍ने हुन्छन्। अवश्य नै, ती आदर्शहरू मानव जीवन र अस्तित्वका प्रश्‍नहरू, साथै घरजम गरेर आफ्‍नो जीवन सुरु गर्ने कार्यसँग अझै ठोस रूपमा सम्बन्धित हुन्छन्। घरजम गरेर आफ्‍नो जीवन सुरु गर्नको लागि, मानिसहरूले हासिल गर्ने सीप, क्षमता, र प्रतिभाहरू, र तिनीहरूले प्राप्त गर्ने विभिन्‍न प्रकारका शिक्षा, र वरदान, अनि क्षमता, र विज्ञता चाहिन्छ। वास्तविकतावादीका आदर्शहरूले यी कुराहरूलाई नै समेट्छन्। वास्तविकतावादीका आदर्शहरूमा, चाहे आफ्‍नो जिउने अवस्था सुधार गर्ने कुरा होस् वा आफ्‍नै आत्मिक संसार सन्तुष्ट पार्ने कुरा होस्, यी आदर्शहरू मानिसहरूको वास्तविक जीवनमा ठोस रूपमा प्रकट हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूमा नेतृत्व क्षमता हुन्छ र प्रसिद्ध हुन मन पराउँछन्। तिनीहरू भाषण दिन वा कुराकानी गर्न सिपालु हुन सक्छन् वा तिनीहरूमा मानिसहरूबारे राम्रो बुझाइ र तिनीहरूलाई प्रयोग गर्नसक्‍ने कुशलता हुन सक्छ, जसलाई अझै उचित रूपमा मानिसहरूलाई अह्राउने कार्य भनेर भन्‍न सकिन्छ। परिणामस्वरूप, यस्ता मानिसहरूलाई पदमा बस्‍न, नेतृत्वको भूमिका लिन, वा मानव संसाधनमा काम गर्न विशेष मन पर्छ। यी क्षेत्रहरूमा रहेको आफ्‍नो कुशलता थाहा पाएपछि तिनीहरू मानिसहरूमाझ अगुवा वा व्यवस्थापक बनेर काम र कामदारहरू रेखदेख गर्न वा कुनै निश्‍चित काम निर्देशित गर्नसमेत इच्छा गर्छन्। तिनीहरूको प्राथमिक आदर्श भनेको अगुवा बन्‍नु हो। अनि अवश्यै समाजमा पनि तिनीहरूले यस्तै व्यवहार गर्छन्। जब तिनीहरू परमेश्‍वरको घर प्रवेश गर्छन्, तिनीहरूले यसलाई एउटा पृथक धार्मिक संस्थाको रूपमा लिन्छन्। मण्डलीमा आबद्ध भएपछि पनि तिनीहरूका आदर्शहरू अपरिवर्तित नै रहन्छन्। तिनीहरू जिउने वातावरण वा पृष्ठभूमिद्वारा तिनीहरूका आदर्शहरूमा केही असर पर्दैन। तिनीहरूले परमेश्‍वरको घरमा नेतृत्वका उही आदर्शहरू लिएर आउँछन्। तिनीहरूको इच्छा परमेश्‍वरको घरमा नेतृत्वको पद लिनु हो, जस्तै मण्डली नेतृत्व गर्ने, कुनै निश्‍चित स्तरको लागि जिम्‍मेवार व्यक्ति बन्‍ने, वा कुनै समूह नेतृत्व गर्ने। यो तिनीहरूको आदर्श हो। तर परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूमा अगुवा वा सेवकहरू छनौट गर्ने सिद्धान्त र नियमहरू हुन्छन्, र यी मानिसहरूले आवश्यक योग्यता पूरा गर्दैनन्, त्यसैले तिनीहरूले बेलाबेलामा कुनै निश्‍चित स्तरको नेतृत्व छनौट प्रक्रियामा सहभागिता जनाए पनि, अन्तिममा तिनीहरू आफ्‍नो आदर्श पूरा गर्न र आफूले चाहेजस्तो अगुवा बन्‍न सक्दैनन्। तिनीहरूले जति धेरै नेतृत्वको पद प्राप्त गर्न वा आफ्‍नो आदर्श काम पाउन सक्दैनन्, त्यति नै तिनीहरूभित्र तिनीहरूका आदर्शहरू मडारिन्छन्, र नेतृत्वप्रतिको तिनीहरूको इच्छा झन्‍झन् तीव्र बन्छ। परिणामस्वरूप, चाहे आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ होस् वा उच्च तहका अगुवाहरूसामु होस्, तिनीहरूले हरेक उद्यममा आफ्नो प्रदर्शन गर्न र आफूलाई उल्‍लेखनीय र असाधारण देखाउन, अनि आफ्‍ना प्रतिभाहरूले पहिचान पाउने सुनिश्‍चित गर्न धेरै मेहनत गर्छन्। आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको मन जित्नको लागि तिनीहरूले आफ्‍नै विवेकसँग समेत सम्झौता गर्छन्, अनि परमेश्‍वरको घरले तोकेका कार्य बन्दोबस्तहरूअनुसार बन्‍नको लागि केही निश्‍चित कुराहरू गर्ने वा बोल्ने र जानजान केही निश्‍चित व्यवहारहरू प्रकट गर्ने गर्छन्। तर तिनीहरूको निरन्तर प्रयासको बाबजुत पनि, तिनीहरूले अगुवा बन्‍ने आफ्‍ना आदर्शहरू अझै पूरा गर्न सक्दैनन्। त्यसैले तिनीहरू आफैप्रति निराश, अन्योल, र विरक्त महसुस गर्ने मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि सत्यता स्विकार्न वा आफ्‍ना समस्याहरूको समाधान पाउन नसकेपछि, पहिलेदेखि नै अनुभव हुँदै आएका तिनीहरूका दबाबका नकारात्मक भावनाहरू अझै तीव्र बन्छन्। तिनीहरूले सधैँ पदभार लिने र अगुवा बन्‍ने इच्छा गरेका हुन्छन्, र यी आदर्शहरू त परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले नै तिनीहरूको हृदयमा उम्रिसकेका थिए। तिनीहरूले आफ्‍ना आदर्शहरू पूरा गर्न नसकेको कारण, तिनीहरूभित्र सधैँ दबाबको अदृश्य अनुभूति रहेको थियो। परमेश्‍वरको घरमा प्रवेश गरिसकेपछि पनि तिनीहरूका आदर्शहरू पूरा हुन सक्दैनन्, अनि तिनीहरूभित्रका यी दबाबका भावनाहरू अझै दह्रिला र गहन बन्छन्। यी मानिसहरू आक्रोशपूर्ण बन्छन् किनभने तिनीहरूको नेतृत्व क्षमता प्रयोगमै आउँदैन, र तिनीहरूका आदर्शहरू साकार हुन नसकेर तिनीहरूलाई दुर्भाग्य, निराशा, र दबाब महसुस हुन्छ। तिनीहरूका आदर्शहरू अपूरो रहेर, तिनीहरूलाई मनभित्र अन्यायमा परेजस्तो महसुस हुन्छ। तिनीहरूले आफ्‍ना क्षमताहरू प्रयोग गर्ने स्थान नपाएर, तिनीहरूलाई जीवनप्रति र अगाडिको बाटोप्रति निराश महसुस हुन्छ। परिणामस्वरूप, तिनीहरूले आफ्‍नो दैनिक जीवनमा, विभिन्‍न काम गर्ने क्रममा दबाबको अनुभूति बोकेर हिँड्छन्। कतिपय मानिसहरू त धेरै मेहनत र प्रयासपछि पनि अगुवा बन्‍न वा आफ्‍ना आदर्शहरू पूरा गर्न सक्दैनन्। त्यस्ता परिस्थितिहरूमा, तिनीहरूले आफ्‍ना संवेगहरू बाहिर ल्याउन र आफ्‍नो दबाबको अनुभूति पोखाउन वा व्यक्त गर्न विभिन्‍न माध्यमहरूको सहारा लिन्छन्। अनि अवश्यै, परमेश्‍वरमा विश्‍वास गरेर पनि पद प्राप्त गर्ने आदर्श बोक्‍ने कतिपय मानिसहरूले चाहिँ आफ्‍नो हृदयको इच्छा पूरा गर्छन् र तिनीहरू मण्डलीका अगुवाहरू बन्छन्। तर तिनीहरूले परमेश्‍वरका मापदण्ड र परमेश्‍वरको घरका बन्दोबस्तहरूअनुसार अगुवाको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनन्। साथै, तिनीहरूले परमेश्‍वरको घर र आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका माग र रेखदेखमा रही यी नेतृत्वका भूमिकाहरू मन नलागीनलागी पूरा गरिरहेका हुन्छन्। तर तिनीहरूले आफ्‍ना आदर्शहरू पूरा गरेका र आफूले आदर्श रूपमा गर्न चाहेका कुराहरू गरिरहेका भए पनि, तिनीहरूलाई अझै पनि दबाब महसुस हुन्छ। यस्तो किन हुन्छ भने, तिनीहरूले आफ्‍ना व्यक्तिगत आदर्शहरू पूरा गर्ने इच्छाको जगमा रही अगुवाइ गरिरहेका हुन्छन्, र तिनीहरूले बाहिरी वा सतही रूपमा परमेश्‍वरको घरले तोकेका कामहरू पूरा गरिरहेजस्तो देखिए पनि, तिनीहरूका आदर्शहरू यी जिम्‍मेवारीहरूभन्दा धेरै पर जान्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा, आदर्श, इच्छा, र परिकल्पनाहरू तिनीहरूको वर्तमान भूमिकाको क्षेत्रभन्दा निकै बाहिर हुन्छन्। तर परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू र परमेश्‍वरका मापदण्डहरूको कारण, तिनीहरूका व्यवहार र विचारहरू, साथै तिनीहरूका योजना र अभिप्रायहरू बाँधिएका र प्रतिबन्धित रहेका हुन्छन्। त्यसकारण, नेतृत्वको पद ग्रहण गरेपछि पनि, तिनीहरूलाई अझै पनि दबाब महसुस हुन्छ। यी समस्याहरूको कारण के हो? यसको कारण के हो भने, अगुवा बनेपछि पनि, तिनीहरू आफ्‍नै आदर्शहरू साकार पार्ने र आफ्‍नै आदर्शहरूमा भएका प्रतिज्ञाहरू पूरा गर्ने प्रयासमा लागिरहन्छन्। तैपनि, परमेश्‍वरको घरमा वा मण्डलीमा अगुवाहरूका रूपमा काम गर्दा त्यसले तिनीहरूका आदर्श र इच्छाहरू पूरा गर्दैन, र तिनीहरूमा विभिन्‍न प्रकारका भावनाहरू मडारिन्छन् र एकअर्कासँग बाझिन्छन्। यी अन्तर्द्वन्द्व अनि आफ्‍ना आदर्श र खोजहरू त्याग्‍न नसक्‍ने तिनीहरूको अवस्थाले गर्दा, तिनीहरूलाई आफूभित्र दबाब महसुस हुन्छ र तिनीहरू यसबाट मुक्त हुन सक्दैनन्। व्यक्तिको एउटा प्रकार यही हो। परमेश्‍वरको घरमा, यी आदर्शवादीहरूमाझ, आफ्‍ना आदर्शहरूको लागि लड्ने तर ती कुराहरू हासिल गर्न नसक्‍ने मानिसहरू पनि हुन्छन्, र आफ्‍ना आदर्शहरूको लागि लडेर अन्तिममा ती हासिल गर्ने तर अझै पनि दबाब महसुस गर्नेहरू पनि हुन्छन्। तिनीहरू जुन परिस्थितिमा भए पनि, यी मानिसहरूले अझै पनि आफ्‍ना आदर्शहरू त्यागेका हुँदैनन् र तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा र आफ्‍नो जीवन परमेश्‍वरको घरमा जिउने क्रममा अझै पनि यी कुराहरू पछ्याइरहन्छन्।

अरू यस्ता मानिसहरू पनि हुन्छन् जोसँग लेखरचना, मौखिक सञ्‍चार, र साहित्यमा प्रतिभा हुन्छ। तिनीहरूले आफ्‍नो साहित्यिक सीपद्वारा आफ्‍ना विचारहरू व्यक्त गर्ने आशा गरेका हुन्छन्, र साथमा, यी सीपहरू देखाएर तिनीहरूले आफ्नो क्षमता, मूल्य, र परमेश्‍वरको घरमा आफूले दिएको योगदान मानिसहरूले देखून् भन्‍ने पनि आशा लिएका हुन्छन्। तिनीहरूको आदर्श भनेको उत्कृष्ट र योग्य लेखक र बुद्धिजीवी बन्‍ने प्रयास गर्नु हो। जब तिनीहरू परमेश्‍वरको घर प्रवेश गर्छन् र लेखरचनासम्‍बन्धी कर्तव्य पूरा गर्न थाल्छन्, तब तिनीहरूले आफ्‍नो क्षमता प्रयोग गर्ने स्थान भेटेको छु भन्‍ने महसुस गर्छन्। तिनीहरूले लेखक र बुद्धिजीवी बन्‍ने आफ्‍नो आदर्श पूरा गर्न उत्सुकतासाथ आफ्‍ना सामर्थ्य र प्रतिभाहरू प्रदर्शन गर्छन्। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्न त जारी राख्छन्, तर आफ्‍ना आदर्शहरू त्याग्दैनन्। यो भन्‍न सकिन्छ कि तिनीहरूले गर्ने कर्तव्यपालनको ८० देखि ९० प्रतिशत भाग तिनीहरूका आफ्नै आदर्शहरूमा आधारित हुन्छ, अर्को शब्‍दमा भन्दा, कर्तव्य पूरा गर्ने तिनीहरूको उत्प्रेरणा यी आदर्शहरू पछ्याउने र यी कुराहरू आशा गर्ने तिनीहरूको प्रवृत्तिबाट आएका हुन्छन्। परिणामस्वरूप, यस्ता मानिसहरूले पूरा गर्ने कर्तव्य निकै अशुद्ध हुन्छ, जसले गर्दा सत्यता सिद्धान्तहरू र परमेश्‍वरका मापदण्डहरूअनुसार कर्तव्य पूरा गर्ने मानक पूरा गर्न तिनीहरूलाई कठिन हुन्छ। तिनीहरू परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्न मात्रै आएका हुँदैनन्, तिनीहरूले त आफ्‍ना प्रतिभाहरू देखाउनको लागि कर्तव्य पूरा गर्ने अवसरको फाइदा लिने आशा गरेका हुन्छन्, र यसरी आफ्‍ना आदर्शहरू साकार पार्ने र आफ्‍ना प्रतिभाहरू प्रदर्शन गरेर आफ्‍नो मूल्य दर्साउने ठूलो इच्छा गरेका हुन्छन्। यसरी, तिनीहरूलाई आफ्‍नो कर्तव्य मापदण्डअनुसार गर्न नदिने सबैभन्दा ठूलो बाधा भनेको तिनीहरूका आफ्नै आदर्शहरू हुन्, अर्थात्, तिनीहरूको कर्तव्य पूरा गर्ने प्रक्रिया व्यक्तिगत रुचिहरू र विभिन्‍न प्रकारका मानिस, घटना, र परिस्थितिहरूसम्‍बन्धी तिनीहरूका विचार र दृष्टिकोणहरूसँग मिसिएका हुन्छन्। कतिपय मानिसहरूमा निश्‍चित व्यावसायिक सीपसँग सम्बन्धित बुझाइ वा निश्‍चित प्रतिभा हुन्छ, उदाहरणको लागि, कतिले कम्प्युटर प्रविधि बुझेका हुन्छन् र कम्प्युटर इन्जिनियरको रूपमा काम गर्न मन पराउँछन्। तिनीहरूले चस्मा लगाउँछन्, व्यावसायिक वस्‍त्र लगाउँछन्, र सबैभन्दा विशेष कुरा त, तिनीहरूले बिलकुलै फरक वा अरूले बिरलै देखेका ल्यापटपहरू बोक्छन्। तिनीहरू जहाँ गए पनि, तिनीहरू ल्यापटप लिएर बस्छन्, अनि विभिन्‍न वेबपेजहरूमा जानकारी हेर्छन् र त्यो ल्यापटपको मदतले विभिन्‍न समस्याहरू समाधान गर्छन्, र यो सब काम व्यावसायिक विशिष्टतासाथ गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले आफूलाई अरूसामु व्यावसायिक दृष्टिकोण, चालचलन, बोलीवचन, र व्यवहार प्रस्तुत गर्न र देखाउन लगाउँछन्, र यसरी तिनीहरू कम्प्युटर इन्जिनियरिङको क्षेत्रमा व्यावसायिक व्यक्ति बन्‍ने प्रयास गरिरहेका हुन्छन्। परमेश्‍वरको घर प्रवेश गरेपछि, यी मानिसहरूले बल्‍ल आफ्‍नो आदर्श पूरा गर्छन् र कम्प्युटर प्रविधिसँग सम्‍बन्धित कामहरू गर्छन्। तिनीहरूले निरन्तर प्रविधिको अध्ययन गरिरहेका र आफ्‍नो सीप अध्यावधिक गरिरहेका हुन्छन्, र विभिन्‍न समस्याहरू पहिचान गर्दै समाधान गरिरहेका हुन्छन्, र यो सबको उद्देश्‍य यस क्षेत्रका नयाँ प्रचलनहरूसँग अद्यावधिक रहनु र आफ्नो क्षेत्रको नयाँ जानकारीको प्रवर्धन र प्रकाशन पछ्याउनु नै हुन्छ। यस्ता मानिसहरूलाई कुनै खास व्यावसायिक सीपको धेरै चासो र बुझाइ हुन्छ, जसले गर्दा तिनीहरू व्यावसायिक व्यक्ति र विज्ञ बनेका हुन्छन्। परिणामस्वरूप, तिनीहरूको आदर्श भनेकै व्यावसायिक व्यक्ति बन्‍नु हुन्छ, र परमेश्‍वरको घरले तिनीहरूलाई महत्त्वपूर्ण स्थानमा राख्‍नेछ, आदर दिनेछ, र तिनीहरूमा भरोसा गर्नेछ भन्‍ने तिनीहरूको अपेक्षा हुन्छ। परमेश्‍वरको घरमा र अहिलेको अवधिमा, अवश्यै यस्ता मानिसहरूमध्ये धेरैले आफ्‍ना सामर्थ्यहरू प्रयोग गरेर आफ्नो आदर्श पूरा गरेका छन्। तर यसरी आफ्नो आदर्श पूरा गर्दैगर्दा, के यी मानिसहरूले आफ्‍नो काममा कर्तव्य पनि पूरा गर्दै छु कि आफ्‍ना आदर्शहरू मात्र पछ्याउँदै छु भनेर विचार गरेका हुन्छन्? यो पूर्ण रूपमा स्पष्ट छैन, होइन र? तिनीहरूको काम विशिष्टीकृत, जटिल, र धेरै ध्यान दिनुपर्ने खालको हुन्छ। तैपनि, तिनीहरूमा भएको सीप परमेश्‍वरको घरले यो कामको लागि तय गरेका मापदण्डहरूको स्तरमा पुग्दैन। त्यसैले, तिनीहरूले आफ्‍ना आदर्शहरू पछ्याउने र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूलाई केही हदसम्‍म बन्धन र नियन्त्रणमा परेजस्तो लाग्छ। आफ्‍नो हृदयमा भएका आदर्शहरूको कारण, यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने विभिन्‍न सत्यताहरू र कर्तव्य पूरा गर्ने सिद्धान्तहरू सामना गर्दा निश्‍चित स्तरको दबाब महसुस गर्न सक्छन्। केही मानिसहरू यस्तै हुन्छन्।

मानिसहरूको अर्को समूह पनि छ जो सुसमाचार प्रचार गर्छन्। तिनीहरू सुसमाचार प्रचारमा अगुवा बन्‍न, पहिलो बन्‍न, र आफू रहेको मण्डली नेतृत्व गर्न र अघि बढ्न, र कहिल्यै पछि नपर्न लागिपर्छन्। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने र आफ्‍ना काम गर्ने त गर्छन्, तर तिनीहरूले पछ्याउने कुरा तिनीहरूले योजना गरेका र कल्पेका आदर्श र उद्देश्यहरू नै हुन्, र ती कुराहरू परमेश्‍वरमाथिको विश्‍वास वा सत्यतासँग सम्‍बन्धित छैनन्। जब यी उद्देश्य र आदर्शहरू खुलासा गरिन्छ र औँल्याइन्छ, वा जब तिनीहरूले निश्‍चित बाधाहरू सामना गर्छन्, र जब यी मानिसहरूले आफ्‍ना आदर्शहरू पूरा गर्न र आफ्नो मूल्य प्रदर्शन गर्न सकिँदैन भन्‍ने महसुस गर्छन्, तब तिनीहरूलाई विशेष दबाब र असन्तुष्टि महसुस हुन्छ। तिनीहरूमध्ये धेरैले आफ्‍ना आदर्शहरू पछ्याउने क्रममा समर्थन र अनुमोदन प्राप्त गर्न चाहन्छन्। जब तिनीहरूले यी कुराहरू प्राप्त गर्दैनन्, वा जब तिनीहरूको प्रयासमा लागेको मूल्यले तत्काल परिणाम ल्याउँदैन, तब तिनीहरूलाई यो सार्थक रहेनछ, र यो न्यायसङ्गत पनि रहेनछ भन्‍ने महसुस हुन्छ, त्यसकारण तिनीहरूले दबाबमा परेको महसुस गर्छन्। के तिनीहरूले यस्तै व्यवहार देखाउँदैनन् र? (हो, देखाउँछन्।) सुसमाचार प्रचारमा संलग्‍न हुने मानिसहरूमध्ये, कतिपय मानिसहरूले सधैँ योग्य र उदाहरणीय प्रचारक वा सुसमाचार प्रचारकर्ता बन्‍न चाहेका हुन्छन्। जब तिनीहरूले फलानोफलानो, अर्थात् कुनै चर्चित सुसमाचार प्रचारकर्ता र प्रचारकको बारेमा सुन्छन्, तब तिनीहरू डाहाले भरिन्छन् र एकदिन म पनि यस्तै बन्‍न सक्‍नेछु, भविष्यको पुस्ताले आदर र प्रशंसा गर्ने, अनि परमेश्‍वरले स्मरण गर्नुहुने व्यक्ति बन्‍न सक्‍नेछु भन्‍ने आशा गर्छन्। तिनीहरूले सधैँ प्रचारक बन्‍ने र ख्याति पाउने वा परमेश्‍वरको घरका भावी पुस्ताद्वारा स्मरण गरिने आफ्‍नो उद्देश्य र उत्प्रेरणाको रूपमा आफ्‍नो आदर्शलाई प्रयोग गर्दै आफ्‍नै आदर्श तरिकाले प्रचार गर्न चाहन्छन्। तिनीहरूको आदर्श यही हुन्छ। तर परमेश्‍वरको घरमा हरकामका कडा मापदण्डहरू छन्, र काम गर्ने मानिसहरूलाई परमेश्‍वरले बताउनुभएका सिद्धान्तहरू छन्। परिणामस्वरूप, यी मानिसहरूलाई दबाबमा परेको महसुस हुन्छ किनभने तिनीहरू आफूले आदर्श सोचेजस्तो सुसमाचार प्रचारकर्ता बन्‍न सक्दैनन्, र तिनीहरू प्रायजसो रेखदेख र नियमभित्र रहनुपर्छ, र तिनीहरूको कामबारे अगुवा र सेवकहरूबाट सोधपुछ र प्रश्‍न आइरहन्छ। अझै कतिपय मानिसहरू यस्ता पनि छन्, जो आफूसँग विशेष सीप वा प्रतिभा भएको कारण परमेश्‍वरको घरमा आएर पनि आफ्‍ना आदर्शहरू नै पछ्याइरहेका हुन्छन्। उदाहरणको लागि, अभिनेताहरूमाझ कति जना आफ्‍नो प्रस्तुतिमा दक्ष हुन्छन् र अभिनय गर्ने सीपहरूबारे आधारभूत बुझाइ पाएका हुन्छन्। तिनीहरू एकदिन अविश्‍वासीहरूमाझका ठुल्ठूला व्यक्तित्वहरू र चर्चित अभिनेताहरूजस्तै, अनि राजा र रानीहरूजस्तै बन्‍ने अपेक्षा गर्दै आदर्श नायक बन्‍न लागिपर्छन्। तर परमेश्‍वरको घरमा, यस्तो खालको स्वभाव र भ्रष्टताको प्रकटीकरणलाई सधैँ खुलासा गरिन्छ, र अभिनेताहरूको लागि पनि विशिष्ट मापदण्ड र सिद्धान्तहरू तोकिएका छन्। त्यसैले, अभिनेताको रूपमा केही प्रसिद्धि कमाइसकेपछि पनि तिनीहरू मानिसहरूले पूजा गर्ने र पछ्याउने सेलिब्रेटीहरू बन्‍न सक्दैनन्, जसले गर्दा तिनीहरूलाई दबाब महसुस हुन्छ। तिनीहरू भन्छन्, “परमेश्‍वरको घर दुःख पाइने ठाउँ हो। तिनीहरूले मानिसहरूलाई सधैँ हरकुरामा बाँधेर राखिरहन्छन्। सेलिब्रेटीहरूको उदाहरण पछ्याउनुमा के गलत छ? थोरै व्यक्तित्व र मापदण्ड झल्‍काउने गरी पृथक वस्‍त्र लगाउनुमा के गलत छ?” परमेश्‍वरको घरमा अभिनेताहरूको पहिरन र निश्‍चित प्रस्तुतिसम्‍बन्धी मापदण्डहरूको कारण, तिनीहरूको नजरमा यी मापदण्डहरू र सेलिब्रेटी र प्रसिद्ध व्यक्ति बन्‍ने तिनीहरूको आदर्शबीच सधैँ द्वन्द्व र बेमेल हुन्छ। परिणामस्वरूप, तिनीहरूलाई हृदयमा साह्रै व्याकुल महसुस हुन्छ, र तिनीहरू यस्तो सोच्छन्, “किन मेरा आदर्शहरू पूरा गर्न यति गाह्रो भएको? परमेश्‍वरको घरमा मैले किन हरमोडमा बाधाहरू सामना गर्नुपर्छ?” जब तिनीहरूले यस्ता विचारहरू अनुभव गर्छन् वा यी अपेक्षाहरू पूरा हुँदैनन्, तब तिनीहरूलाई दबाब महसुस हुन्छ। दबाबको यो अनुभूतिपछाडि, आफ्ना आदर्शहरू उचित छन् र तिनको मूल्य छ भन्‍ने तिनीहरूको विश्‍वास लुकेको हुन्छ। तिनीहरूले आफ्‍ना आदर्शहरू पछ्याउनु गलत कुरो होइन, यसो गर्नु सही हो भन्‍ने पनि विश्‍वास गर्छन्, परिणामस्वरूप, तिनीहरूभित्र दबाब भावनाहरू पैदा हुन थाल्छन्। उदाहरणको लागि, केही निर्देशकहरूले धेरै चलचित्र निर्देशन गरिसकेपछि निकै अनुभव प्राप्त गरेको छु भन्‍ने महसुस गर्छन्। तिनीहरूलाई लाग्छ कि तिनीहरूका चलचित्रहरू प्रदर्शन गर्न लायक छन्, र तिनमा दृश्य, सम्पादन, अभिनय, र हरेक अन्य कुराहरू पहिलेको भन्दा सुधार भएको छ। अनि, माथिबाट मार्गनिर्देशन प्राप्त गरेपछि, तिनीहरूका चलचित्रहरूले अन्ततः उचित मापदण्डहरू पूरा गर्छन् र ती समयमै रिलिज हुन्छन्। यसले योग्य निर्देशक बन्‍ने तिनीहरूको खोज उचित, न्यायसङ्गत, र आवश्यक आकाङ्क्षा हो भन्‍ने कुरा पुष्टि गरेजस्तो देखिन्छ। तर तिनीहरूले योग्य निर्देशक बन्‍ने आफ्‍नो उद्देश्य पछ्याउने क्रममा, तिनीहरूका केही न केही सिद्धान्तहीन विचार, दृष्टिकोण, र व्यवहारलाई प्राय इन्कार्ने, उल्ट्याइने, वा अस्वीकार गर्ने गरिन्छ। तिनीहरूले बारम्बार काटछाँट र निराकरण पनि सामना गर्न सक्छन्। यसले तिनीहरूको हृदयको गहिराइमा दबाब महसुस गराउँछ, र तिनीहरूले भन्छन्, “परमेश्‍वरको घरमा निर्देशक बन्‍न किन यति गाह्रो? अविश्‍वासी संसारका ती निर्देशकहरूलाई हेरौँ त, तिनीहरूमा कति ग्ल्यामर हुन्छ। तिनीहरूलाई चिया दिने, तिनीहरूको लागि ड्रिंक हालिदिने, र तिनीहरूको खुट्टा धुनेसमेत मानिसहरू हुन्छन्। परमेश्‍वरको घरमा त, निर्देशकसँग हैसियत र रौनक नै हुँदैन, र कसैले पनि हामीलाई आदर वा सम्‍मान गर्दैन। अनि, किन हामीलाई सधैँ काटछाँट र निराकरण गरिन्छ? हामीले जे गरे पनि कहिल्यै सही हुँदैन। कस्तो दबाब हो! हाम्रो आफ्‍नै विचार, दृष्टिकोण, र व्यावसायिक क्षमता छ, तैपनि किन हामीलाई सधैँ निराकरण गरिन्छ? के आफ्नो आदर्श पछ्याउनु गलत हो, कि हाम्रो आदर्श पछ्याउने काम नै अवैध भएको हो? किन हाम्रा आदर्शहरू पूरा गर्न यति गाह्रो भएको? यो अत्यन्तै दबाबपूर्ण छ!” तिनीहरूले यसबारे जे-जसरी विचार गरे पनि, तिनीहरूलाई दबाब महसुस हुन्छ नै। केही गायकहरू यस्ता पनि छन् जो यसो भन्छन्, “परमेश्‍वरको घरमा, म योग्य गायक बन्‍ने, राम्ररी गीत गाउने, आफ्नो शैली देखाउने, र मेरो गीत सुन्‍ने सबैको माया पाउनेबाहेक केही कुराको पनि पछि लाग्दिनँ।” तर परमेश्‍वरको घरले प्रायजसो भजन गाउने विभिन्‍न मापदण्ड र सिद्धान्तहरू अघि सार्छ, र यी गायकहरूलाई बारम्बार यी मापदण्डहरू उल्‍लङ्घन गरेकोमा काटछाँट र निराकरण गरिन्छ। निराकरणमा नपर्दा, तिनीहरूलाई आफ्‍ना आदर्शहरू सहजै पूरा गर्न सक्छु भन्‍ने महसुस हुन्छ। तर जब तिनीहरूलाई निराकरण गरिन्छ र जब तिनीहरूले केही बाधाहरू सामना गर्छन्, तब तिनीहरूलाई त्यो अवधिको तिनीहरूको प्रयत्‍न र उपलब्धिहरू अमान्य भएजस्तो, र तिनीहरू पहिलेकै स्थितिमा पुगेजस्तो महसुस हुन्छ। यसले तिनीहरूको हृदयको गहिराइमा दबाबको भावना पैदा गर्छ, अनि तिनीहरूले यसो भन्छन्, “अहो, मेरा आदर्शहरू पूरा गर्नु साँच्‍चै गाह्रो रहेछ! संसार यति ठूलो छ, तैपनि मेरो लागि कुनै ठाउँ छैन जस्तो देखिन्छ। परमेश्‍वरको घरमा पनि यस्तै छ। किन आफ्‍नो करियर पछ्याउन यति गाह्रो भएको? आफूले गर्न चाहेका कुराहरू गर्न मलाई किन यति गाह्रो भएको? कसैले पनि मलाई हुन्छ, काम गर् भनेर भन्दैन, हरमोडमा मैले बाधा सामना गर्नुपर्छ, र मलाई निरन्तर निराकरण काटछाँट र निराकरण गरिन्छ। यो सबै साँच्‍चै चुनौतीपूर्ण र दबाबपूर्ण छ! अविश्‍वासी संसारमा, तिनीहरूले सधैँ एकअर्काविरुद्ध षड्यन्त्र गरिरहेका र एकअर्कासँग लडिरहेका हुन्छन्, र जताततै करियरका बाधाहरू हुन्छन्, त्यसकारण दबाब महसुस गर्नु सामान्य नै हुन्छ। तर आफ्‍ना आदर्शहरूको साथमा परमेश्‍वरको घर आउँदा पनि मलाई किन अझै पनि दबाब महसुस हुन्छ?” परमेश्‍वरको घरमा विभिन्‍न काम गर्नेहरूले आफ्‍ना आदर्शहरू पछ्याउने क्रममा प्राय बाधाहरू सामना गर्छन्, बारम्‍बार तिनीहरूलाई अमान्य गरिन्छ, काटछाँट र निराकरण गरिन्छ, र तिनीहरूले प्राय पहिचान पाउन सक्दैनन्। निष्क्रिय रूपमा यी कुराहरू अनुभव गरेपछि, तिनीहरू अनजानमै निरुत्साहित हुन्छन्, र आफ्नो जीवन नै समाप्त भएजस्तो र आफ्ना आदर्शहरू पूरा गर्न असम्‍भव हुने महसुस गर्छन्। परमेश्‍वरको घर आउनुभन्दा पहिले तिनीहरूले यस्तो सोच्‍ने गर्थे, “म आफूसँग आफ्‍ना आदर्श र आकाङ्क्षाहरू लिएर हिँड्छु। मेरा आफ्‍नै इच्छाहरू छन्, र परमेश्‍वरको घरमा असीमित सम्‍भावनाहरू छन्। म योग्य निर्देशक, नायक, लेखक, वा योग्य डान्सर, गायक, वा सङ्गीकार नै बन्‍न सक्छु।” तिनीहरूले आफ्‍ना प्रतिभाहरू देखाउन र आफ्‍ना आदर्शहरू हासिल गर्न नसकेको बेला, तिनीहरूलाई परमेश्‍वरको घरले आफ्‍नै मञ्‍च दिनेछ, जहाँ आफ्‍ना आदर्श, सपना र आकाङ्क्षाहरू पूरा गर्ने ठूलो स्थान हुनेछ भन्‍ने विश्‍वास लागेको हुन्छ। तिनीहरूलाई परमेश्‍वरको घरको मञ्‍च निकै ठूलै हुन्छ नै भन्‍ने लागेको हुन्छ। तर धेरै वर्षपछि, तिनीहरूमा यस्तो सोच आउँछ, “किन होला यो मञ्‍च मेरो खुट्टामुनि खुम्चिरहेको महसुस भएको? किन होला मेरो संसार साँघुरो हुँदै गएको? मेरा आदर्शहरू पूरा गर्ने सम्‍भावना झन्झन् टाढाको र असम्‍भव कुराजस्तो समेत देखिँदै छ। यो के भएको?” यस बेला, यी मानिसहरूले आफ्‍ना आदर्शहरू त्याग्‍ने वा यी आदर्श र इच्छाहरू सही छन् कि छैनन् भनेर प्रश्‍न गर्ने गर्दैनन्। तिनीहरूले यी आदर्श र इच्छाहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा साथै लिएर हिँड्छन्। परिणामस्वरूप, तिनीहरू जहाँ गए पनि तिनीहरूलाई तिनीहरूका दबाबपूर्ण भावनाहरूले पछ्याइरहन्छन्, चाहे तिनीहरूले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याइरहेका होऊन् वा चाहे आफ्‍ना वास्तविक कर्तव्यहरू पूरा गरिरहेका होऊन्। दबाबपूर्ण भावनाहरू बोकेर हिँड्ने वा ती भावनाहरू त्याग्‍न नसक्‍ने मानिसहरूको हकमा भन्दा, यी दुई कुराबीचको बिरोधाभास हटाउन सकिँदैन। तिनीहरूले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउँदा पनि र आफ्‍नो कर्तव्य पूरा गर्दा पनि दबाबको अनुभूति बोकेरै हिँड्छन्। त्यसकारण, जेसुकै भए पनि, मानिसहरूले निरन्तर आफूलाई समायोजित गरिरहेका हुन्छन्, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा निरन्तर आफ्‍ना आदर्श र सपनाहरू पनि पछ्याउने गरिरहेका हुन्छन्। यो पनि भन्‍न सकिन्छ कि, मानिसहरूले विरोधाभासपूर्ण मनोवृत्ति लिएर आफ्‍नो कर्तव्य पूरा गर्ने गर्छन्, र पूरै समय तिनीहरूलाई दबाब र अनिच्छा महसुस भइरहेको हुन्छ। आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न, आफ्‍नो मूल्य प्रदर्शन गर्न र यी आदर्श र इच्छाहरू पछ्याउनको लागि, तिनीहरूसँग कर्तव्य पूरा गर्नेबाहेक अरू कुनै विकल्‍प हुँदैन। तिनीहरूले किन यसो गरिरहेका छन्, के प्राप्त गर्न खोजिरहेका छन्, अनि तिनीहरूले कुन उद्देश्य हासिल गर्ने, पछ्याउने, र पूरा गर्ने प्रयास गरिरहेका छन् भन्‍ने कुरामा तिनीहरू निश्‍चित हुँदैनन्। यो कुरा तिनीहरूको लागि झन्झन् अस्पष्ट हुँदै जान्छ, अनि तिनीहरूको अगाडिको बाटो पनि झन्झन् अस्पष्ट हुँदै जान्छ। त्यस्तो स्थितिमा, के तिनीहरूले आफ्‍ना दबाबपूर्ण भावनाहरू त्याग्‍नु वा समाधान गर्नु गाह्रो हुन्छ? (हुन्छ।)

यहाँसम्‍म सङ्गति गरिसकेपछि, अब हामी मानिसहरूले आफ्‍ना आदर्श र इच्छाहरू अनि आफ्‍ना कर्तव्यहरूबीचको सम्‍बन्धलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ भन्‍ने विषयमा सङ्गति अघि बढाऔँ। सबभन्दा पहिले, हामी आदर्शहरू, खास गरी हामीले योभन्दा पहिले उल्‍लेख गरेका मानिसहरूका आदर्शहरूबारे कुरा गरौँ। के मानिसहरूले परमेश्‍वरको घरमा आफ्‍ना आदर्शहरू पूरा गर्न खोज्‍नु उचित हुन्छ? (अहँ, यो उचित हुँदैन।) यो समस्याको प्रकृति के हो? यो किन अनुचित छ? (आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा आफ्‍ना आदर्शहरू पूरा गर्ने प्रयास गरेर, तिनीहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने प्रयास गर्नुको सट्टा आफूलाई प्रदर्शन गरिरहेका र आफ्‍नै करियर निर्माण गरिरहेका हुन्छन्।) अब भन त, के आफ्‍नै आदर्श र इच्छाहरू पूरा गर्ने प्रयास गर्नु अनुचित हो? (हो, यो अनुचित हो।) यदि तिमीहरूले यो अनुचित भन्छौ भने, के यसले तिनीहरूको कुनै मानव अधिकार खोस्छ र? (अहँ, खोस्दैन।) त्यसोभए समस्या के हो त? (जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले सत्यता पछ्याउनुपर्छ र परमेश्‍वरका वचनहरूले तिनीहरूलाई देखाएको मार्ग पछ्याउनुपर्छ। यदि तिनीहरूले आफ्‍ना इच्छा र आदर्शहरू मात्रै पछ्याए भने, तिनीहरूले आफ्‍ना देहका इच्छाहरू पछ्याइरहेका हुन्छन्, जुन शैतानले तिनीहरूमा हालिदिएको विचारधारा हो।) संसारमा, आफ्‍ना आदर्शहरू पूरा गर्न खोज्‍नुलाई उचित मानिन्छ। तैँले जुनसुकै आदर्शहरू पछ्याए पनि, यदि ती वैधानिक छन् र तिनले कुनै पनि नैतिक सीमाहरू पार गर्दैनन् भने त्यो ठीकै हुन्छ। कसैले केही प्रश्‍न गर्दैन, र तँ सही वा गलतको झमेलामा पर्दैनस्। तँलाई जे मन पर्छ तैँले त्यही कुरा पछ्याउँछस्, र यदि तैँले त्यो पाइस् भने, र तैँले आफ्‍नो उद्देश्य प्राप्त गरिस् भने, तँ सफल भएको हुन्छस्; तर यदि तैँले छुटाइस् भने, र तँ असफल भइस् भने, त्यो तेरै हातको कुरा हो। तर जब तँ परमेश्‍वरको घरमा, अर्थात् यो विशेष स्थानमा प्रवेश गर्छस्, चाहे तैँले त्यो बेला आफूसँग जुनसुकै आदर्श र इच्छाहरू बोकेर हिँडेको भए पनि, तैँले ती सबै कुरा त्याग्‍नुपर्छ। यस्तो किन गर्नुपर्छ? किनभने आदर्श र इच्छाहरू पछ्याउनु, अर्थात् तैँले निश्‍चित रूपमा जुनै कुरा पछ्याए पनि—अहिले पछ्याउने कार्यबारे मात्रै कुरा गरौँ—यसले लिने कार्य र यसले लिने मार्ग पूराको पूरा अहम, स्वार्थ, हैसियत, र प्रतिष्ठामा केन्द्रित हुन्छ। यो कुरा यी सबै कुराहरूमै केन्द्रित हुन्छ। अर्को शब्‍दमा भन्दा, जब मानिसहरूले आफ्‍ना आदर्शहरू पूरा गर्ने प्रयास गर्छन्, यसको लाभार्थी तिनीहरू मात्रै हुन्छन्। के व्यक्तिले आफ्‍नो हैसियत, प्रतिष्ठा, अभिमान, र शारीरिक हितहरूको खातिर आफ्‍ना आदर्शहरू पछ्याउनु धर्मी कार्य हुन्छ? (अहँ, हुँदैन।) व्यक्तिगत र निजी आदर्श, सोचविचार, र इच्छाहरूको खातिर, तिनीहरूले लिने विधि र पद्धति सबै आत्मकेन्द्रित र व्यक्तिगत लाभकेन्द्रित हुन्छन्। यदि हामीले त्यसलाई सत्यताको आधारमा मापन गर्‍यौँ भने, ती न त धर्मी न त तर्कसङ्गत नै हुन्छन्। मानिसहरूले ती कुराहरू त्याग्‍नुपर्छ, के यो कुरा पक्‍का होइन र? (हजुर, हो।) तिनीहरूले ती कुराहरू त्याग्‍नुपर्छ, अहमवाद अनि व्यक्तिगत आदर्श र इच्छाहरू त्याग्‍नुपर्छ। यो कुरा मानिसहरूले लिने मार्गको सारको दृष्टिकोणबाट हेरिन्छ—आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न खोज्‍नु सकारात्मक कुरा होइन, यो त नकरात्मक कुरा हो। यो एउटा पक्ष हो। अब अर्को पक्षबारे छलफल गरौँ, नाम जेसुकै भए पनि परमेश्‍वरको घर, अर्थात् मण्डली कस्तो स्थान हो? यो कस्तो ठाउँ हो? मण्डली, अर्थात् परमेश्‍वरको घरको सार के हो? पहिलो कुरा त, सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा, यो संसार, समाज वा समाजको कुनै मानव संस्था वा सङ्गठन होइन। यो संसार वा मानवजातिको स्वामित्वमा रहेको कुरो होइन। अनि, यसको स्थापना किन भयो? यो देखा पर्नु र अस्तित्वमा आउनुको कारण के थियो? यसको कारण परमेश्‍वर र उहाँको काम हो, होइन र? (हो।) मण्डली, अर्थात् परमेश्‍वरको घर परमेश्‍वरको उपस्थिति र उहाँको कामको कारण अस्तित्वमा छ। त्यसकारण, के मण्डली, अर्थात् परमेश्‍वरको घर व्यक्तिगत प्रतिभा देखाउने र व्यक्तिगत आदर्श, आकाङ्क्षा र इच्छाहरू पूरा गर्ने स्थान हो? (अहँ, होइन।) स्पष्टै छ, यो त्यस्तो स्थान होइन। मण्डली, अर्थात् परमेश्‍वरको घर परमेश्‍वरको उपस्थिति र उहाँको कामको उपस्थितिको कारण अस्तित्वमा छ। त्यसकारण, यो व्यक्तिगत प्रतिभाहरू प्रदर्शन गर्ने वा व्यक्तिगत आदर्श, आकाङ्क्षा, र इच्छाहरू पूरा गर्ने ठाउँ होइन। यसले देहको जीवन, देहगत सम्भाव्यता, ख्याति र सम्पत्ति, हैसियत, प्रतिष्ठा, आदि इत्यादि कुरासित सम्बन्ध राख्दैन—यसले यी कुराहरूको लागि काम गर्दैन। न त यो भौतिक ख्याति, हैसियत, आनन्द, वा मानवका सम्‍भाव्यताहरूको कारण नै उदय भएको वा अस्तित्वमा आएको हो। त्यसकारण, यो कस्तो स्थान हो त? मण्डली, अर्थात् परमेश्‍वरको घर परमेश्‍वरको उपस्थिति र उहाँको कामको उपस्थितिको कारण स्थापित भएको हुनाले, के यसले परमेश्‍वरको इच्छा पूरा गर्नुपर्ने, उहाँका वचनहरू घोषणा गर्नुपर्ने, र उहाँको लागि गवाही दिनुपर्ने होइन र? (हो।) के सत्यता यही होइन र? (हो।) मण्डली, अर्थात् परमेश्‍वरको घर परमेश्‍वरको उपस्थिति र उहाँको कामको उपस्थितिको कारण अस्तित्वमा छ, त्यसकारण यसले परमेश्‍वरको इच्छा पूरा गर्ने, उहाँका वचनहरू घोषणा गर्ने, र उहाँको लागि गवाही दिने काम मात्रै गर्न सक्छ। व्यक्तिगत हैसियत, ख्याति, सम्‍भाव्यता, वा अरू कुनै पनि हितहरूसँग यसको कुनै सम्‍बन्ध हुँदैन। मण्डली र परमेश्‍वरको घरले गर्ने जुनसुकै र हरेक काम सञ्‍चालित गर्ने सिद्धान्तहरू परमेश्‍वरका वचनहरू, उहाँका मापदण्डहरू, र उहाँका शिक्षाहरूमा आधारित हुनुपर्छ। समग्रमा भन्दा, यो परमेश्‍वरको इच्छा र उहाँको कामप्रति नै केन्द्रित छ भनेर भन्‍न सकिन्छ; यो विशेष गरी राज्यको सुसमाचार फैलाउने र उहाँको वचनको गवाही र घोषणा प्रदान गर्ने कार्यमै केन्द्रित छ। के यो सही कुरा हो? (हो।) परमेश्‍वरको इच्छा पूरा गर्ने, उहाँका वचनहरू घोषणा गर्ने, र उहाँको लागि गवाही दिनेबाहेक, मण्डली अर्थात् परमेश्‍वरको घरको लागि अझै महत्त्वपूर्ण अर्को कुनै कुरा छ? (यो परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको काम अनुभव गर्ने, अनि शुद्धीकरण र मुक्ति प्राप्त गर्ने ठाउँ हो।) तिमीहरूले सोह्रै आना सही कुरा गर्‍यौ। मण्डली, अर्थात् परमेश्‍वरको घर परमेश्‍वरको इच्छा पूरा गरिने, उहाँको वचन घोषणा गरिने, उहाँको गवाही दिइने ठाउँ हो, र सबैभन्दा महत्त्वपूर्ण कुरा त, यो त्यो ठाउँ हो जहाँ मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन्। के तिमीहरूलाई यो कुरा याद भयो? (हो, भयो।) यो कुरा पढ। (मण्डली, अर्थात् परमेश्‍वरको घर परमेश्‍वरको इच्छा पूरा गरिने, उहाँको वचन घोषणा गरिने, उहाँको गवाही दिइने, र परमेश्‍वरका चुनिएका मानिसहरूले शुद्धीकरण र मुक्ति प्राप्त गर्ने ठाउँ हो।) मण्डली, अर्थात् परमेश्‍वरको घर परमेश्‍वरको इच्छा पूरा गरिने, उहाँको वचन घोषणा गरिने, उहाँको गवाही दिइने, र उहाँका चुनिएका मानिसहरूले शुद्धीकरण र मुक्ति प्राप्त गर्ने ठाउँ हो। यो यस्तो ठाउँ हो। यस्तो ठाउँमा, कुनै काम वा परियोजना, चाहे त्यो जेसुकै नै किन नहोस्, के त्यो व्यक्तिगत आदर्श र इच्छा पूरा गर्ने कार्यसँग मिल्दो हुन सक्छ? त्यस्तो कुनै पनि काम वा परियोजना छैन जसको उद्देश्‍य व्यक्तिगत आदर्श र इच्छाहरू पूरा गर्ने होस्, न त यी कुराका कुनै पनि पक्ष व्यक्तिगत आदर्श र इच्छाहरू पूरा गर्नको लागि नै अस्तित्वमा छन्। त्यसकारण, के व्यक्तिगत आदर्श र इच्छाहरू परमेश्‍वरको घरमा अस्तित्वमा हुनु हुन्छ? (हुँदैन।) ती अस्तित्वमा हुनु हुँदैन, किनभने व्यक्तिगत आदर्श र इच्छाहरू परमेश्‍वरले मण्डलीमा गर्न चाहनुहुने हरकामसँग बाझिन्छन्। व्यक्तिगत आदर्श र इच्छाहरू मण्डलीमा गरिने हरकामसँग बाझिन्छन्। ती सत्यतासँग बाझिन्छन्, र परमेश्‍वरको इच्‍छा, उहाँका वचनहरूको घोषणा, उहाँको गवाही दिने कार्य, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई शुद्ध पार्ने र मुक्ति दिने कार्यबाट अन्यत्रै मोडिन्छन्। व्यक्तिका आदर्शहरू जे-जस्ता भए पनि, जबसम्‍म ती व्यक्तिगत आदर्श र इच्छाहरू हुन्छन्, तबसम्‍म तिनले मानिसहरूलाई परमेश्‍वरको इच्छा पछ्याउनबाट बाधा दिन्छन्, र उहाँका वचनहरू घोषणा गर्ने र उहाँको गवाही दिने कार्यमा असर वा अवरोध पुर्‍याउँछन्। अनि अवश्‍य नै, जबसम्‍म ती व्यक्तिगत आदर्श र इच्छाहरू हुन्छन्, तबसम्‍म तिनले मानिसहरूलाई शुद्धीकरण र मुक्ति प्राप्त गर्न पनि दिन सक्दैनन्। यो कुरा दुई पक्ष बाझिने कुरा मात्रै होइन, यो त यी दुई पक्ष आधारभूत रूपमै एकअर्काको विपरीत रहेको कुरा हो। आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउँदा, तैँले परमेश्‍वरको इच्छा पूरा गर्ने, उहाँका वचनहरू घोषणा गर्ने र उहाँको गवाही दिने कार्यमा, र साथमा मानिसहरूको र तेरो आफ्‍नै मुक्तिमा समेत बाधा दिन्छस्। छोटकरीमा भन्दा, मानिसहरूका आदर्शहरू जेसुकै भए पनि, ती परमेश्‍वरको इच्छा पूरा गर्नको लागि होइनन् र ती कुराहरूले परमेश्‍वरप्रति पूर्ण समर्पणको वास्तविक परिणाम हासिल गर्न सक्दैनन्। जब मानिसहरूले आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउँछन्, तब तिनीहरूको अन्तिम उद्देश्य भनेको सत्यता बुझ्‍नु वा आफूलाई के-कस्तो व्यवहारमा ढाल्‍ने, परमेश्‍वरको इच्छालाई कसरी सन्तुष्ट पार्ने, र आफ्‍नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने र सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्‍नो भूमिका कसरी निभाउने भनेर बुझ्‍नु होइन। यसको उद्देश्य मानिसहरूले परमेश्‍वरप्रतिको साँचो डर र समर्पण प्राप्त गरून् भन्‍ने हुँदैन। बरु यसको विपरीत हुन्छ; व्यक्तिका आदर्श र इच्छाहरू जतिजति पूरा हुँदै जान्छन्, त्यतित्यति नै ऊ परमेश्‍वरबाट टाढिने र शैतानसँग नजिकिने हुन्छ। त्यसै गरी, व्यक्तिले आफ्‍ना आदर्शहरू जतिजति पछ्याउँदै र हासिल गर्दै जान्छ, त्यतित्यति नै उसको हृदय परमेश्‍वरविरुद्ध विद्रोही हुँदै जान्छ, त्यतित्यति नै ऊ परमेश्‍वरबाट टाढा हुँदै जान्छ, र अन्त्यमा, जब व्यक्तिले आफूले इच्छा गरेअनुसार आफ्‍ना आदर्शहरू पछ्याउँछ र आफ्‍ना इच्छाहरू साकार पार्छ र पूरा गर्छ, तब त्यति नै धेरै ऊ परमेश्‍वर, उहाँको सार्वभौमिकता, र उहाँको सबै कुरा घृणा गर्ने बन्छ। यस्ता व्यक्तिहरू त परमेश्‍वरलाई इन्कार गर्ने, विरोध गर्ने, र उहाँविरुद्ध खडा हुने मार्गसमेत हिँड्न सक्छन्। यही नै यसको अन्तिम परिणाम हो।

परमेश्‍वरको घर, अर्थात् मण्डली के हो भनेर बुझिसकेपछि, मानिसहरूले परमेश्‍वरको घरमा यसको सदस्यको रूपमा जिउने र जीवित रहने क्रममा कस्तो मनोवृत्ति र अडान लिनुपर्छ भन्‍ने कुरा पनि बुझ्‍नुपर्छ। कतिपय मानिसहरूले यसो भनेका छन्, “तपाईंले हामीलाई आफ्‍ना आदर्शहरू साकार पार्न वा आफ्‍ना इच्छाहरू पूरा गर्न दिनुहुन्‍न।” मैले तँलाई आफ्‍ना आदर्शहरू पछ्याउनबाट निषेध गरिरहेको छैनँ; मैले त तँलाई परमेश्‍वरको घरमा कसरी उचित रूपमा बस्‍ने, परमेश्‍वरको घरमा कसरी उचित अडान लिने र कसरी सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्ने भनेर बताइरहेको छु। यदि तँ आफ्‍ना आदर्शहरू पूरा गर्न जिद्दी गर्छस् भने, म सीधै यसो भन्‍न सक्छु: बस, तँ गइहाल्‌! मण्डली तेरा आदर्शहरू पूरा गर्ने स्थान होइन। परमेश्‍वरको घरभन्दा बाहिर, तैँले आफ्‍ना आदर्शहरूअनुसार जेसुकै गर्न सक्छस् र तैँले आफ्‍ना आदर्श र आकाङ्क्षाहरू पछ्याउन सक्छस्। तैँले गर्नुपर्ने एउटै कुरा भनेको परमेश्‍वरको घर छोडेर जानु हो, अनि तैँले जेसुकै गरे नि कसैले हस्तक्षेप गर्नेछैन। तर मण्डली, परमेश्‍वरको घर, तेरा आदर्शहरू पूरा गर्ने उचित स्थान होइन। यसलाई अझै ठ्याक्‍कैसँग भन्दा, यो स्थानमा तैँले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्न असम्‍भव छ। तँ परमेश्‍वरको घर, अर्थात् मण्डलीमा एकदिन मात्र पनि बस्‍न चाहन्छस् भने, आफ्‍ना आदर्शहरू पूरा गर्ने वा तिनलाई पछ्याउनेबारे विचारसमेत नगर्। यदि तँ “म आफ्‍ना आदर्शहरू त्याग्छु। म परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न र सृष्टि गरिएको योग्य प्राणी बन्‍न चाहन्छु” भनेर भन्छस् भने, यो कुरा स्वीकार्य हुन्छ। तैँले आफ्‍नो स्थानअनुसार र नियमहरूअनुसार परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्छस्। तर यदि तँ आफ्‍ना आदर्शहरू पछ्याउने र पूरा गर्ने कार्यमा जोड दिन्छस्, र आफ्‍नो जीवन व्यर्थमा नजिउने उद्देश्य राख्छस् भने, तँ आफ्‍नो कर्तव्य त्यागेर परमेश्‍वरको घरबाट जान सक्छस्। अथवा, तैँले “म आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्नको लागि स्वेच्छाले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली छोडेर जान्छु। संसार ठूलो छ, र त्यहाँ मेरो लागि कुनै न कुनै ठाउँ हुनुपर्छ। अलबिदा।” भन्‍ने सन्देश लेख्‍न सक्छस्। यस तरिकाले छोडेर जाँदा त्यो उचित र उपयुक्त हुन्छ, र त्यसपछि तैँले आफ्‍ना आदर्शहरू पछ्याउन सक्छस्। तर यदि तैँले, “बरु म त आफ्‍ना आदर्शहरू त्याग्छु, अनि परमेश्‍वरको घरमा कर्तव्यहरू पूरा गर्छु, र सृष्टि गरिएको योग्य प्राणी बनेर मुक्ति पछ्याउँछु” भनेर भन्छस् भने, हामीले आपसमा केही सहमतिको बिन्दु भेट्टाउन सक्‍नेछौँ। अनि, तैँले परमेश्‍वरको घरमा यसको एक सदस्यको रूपमा शान्तिपूर्ण तरिकाले रहन चाहेकोले, सबभन्दा पहिले सृष्टि गरिएको असल प्राणी कसरी बन्‍ने र आफ्‍नो स्थानअनुसार कर्तव्य कसरी पूरा गर्ने भनेर सिक्‍नुपर्छ। त्यसपछि, परमेश्‍वरको घरमा तँ आफ्‍नो नामअनुसारको सृष्टि गरिएको प्राणीको रूपमा रहनेछस्। सृष्टि गरिएको प्राणी नै तेरो बाहिरी पहिचान र पदवीनाम हुनेछ, र त्यो निश्‍चित प्रकटीकरण र सारको साथमा देखा पर्नेछ। अनि, यो कुरा पदवीनाम हुनुमा मात्रै सीमित रहँदैन; तँ सृष्टि गरिएको एक प्राणी भएकोले, तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पनि पूरा गर्नुपर्छ। तँ सृष्टि गरिएको प्राणी भएकोले, तैँले त्यस्ता जिम्‍मेवारीहरू पूरा गर्नैपर्छ। अनि, सृष्टि गरिएको प्राणीका कर्तव्य र जिम्‍मेवारीहरूचाहिँ के-के हुन् त? सृष्टि गरिएको प्राणीका कर्तव्य, दायित्व, र जिम्‍मेवारीहरू परमेश्‍वरको वचनले स्पष्ट रूपमै अघि सारेको छ, होइन र? आजदेखि, तँ परमेश्‍वरको घरको सच्चा सदस्य होस्, अर्थात् तैँले आफूलाई परमेश्‍वरको सृष्टि गरिएको एक प्राणीको रूपमा स्विकार्छस्। परिणामस्वरूप, आजदेखि तैँले आफ्‍ना जीवन योजनाहरूबारे पुनर्विचार गर्नुपर्छ। तैँले यसभन्दा पहिले आफ्‍नो जीवनको लागि तय गरेका आदर्श, इच्छा, र उद्देश्यहरू अबदेखि पछ्याउनु हुँदैन, बरु तिनलाई त्याग्‍नुपर्छ। यसको सट्टा, सृष्टि गरिएको प्राणीमा हुनुपर्ने जीवन उद्देश्य र दिशाबारे योजना बनाउनको लागि तैँले आफ्‍नो पहिचान र दृष्टिकोण बदल्‍नुपर्छ। सर्वप्रथम त, तेरो उद्देश्य र दिशा अगुवा बन्‍ने, वा कुनै पनि उद्यमक्षेत्रको अगुवा बन्‍ने वा त्यसमा सफल बन्‍ने, वा निश्‍चित काम पूरा गर्ने चर्चित व्यक्ति वा कुनै खास सीपमा पोख्त व्यक्ति बन्‍ने हुनु हुँदैन। तेरो उद्देश्य त परमेश्‍वरबाट आफ्‍नो कर्तव्य ग्रहण गर्ने हुनुपर्छ, अर्थात् अहिले यो क्षणमा तैँले के काम गरिरहेको हुनुपर्ने हो त्यो थाहा पाउने र तैँले कुन कर्तव्य पूरा गर्नुपर्ने हो त्यो बुझ्‍ने हुनुपर्छ। परमेश्‍वरले तँलाई के गर्न लगाउनुहुन्छ र उहाँको घरमा तेरो लागि कुन कर्तव्य मिलाइएको छ त्यो कुरा तैँले सोध्‍नुपर्छ। तैँले त्यो कर्तव्यको सन्दर्भमा बुझ्‍नुपर्ने, जान्‍नुपर्ने र पालना गर्नुपर्ने सिद्धान्तहरूबारे बुझ्‍नुपर्छ र स्पष्टता हासिल गर्नुपर्छ। यदि तैँले ती सिद्धान्तहरू याद गर्न सक्दैनस् भने, कागजमा लेख् वा कम्प्युटरमा रेकर्ड गर्। ती सिद्धान्तहरू पुनरावलोकन र मनन गर्ने समय निकाल्। सृष्टिको सदस्यको रूपमा, तेरो जीवनको प्राथमिक उद्देश्य भनेको सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नु र सृष्टि गरिएको योग्य प्राणी बन्‍नु हो। तँमा हुनुपर्ने सबैभन्दा आधारभूत जीवन उद्देश्य यही हो। दोस्रो र अझै निश्‍चित कुरा भनेको सृष्टि गरिएको प्राणीको रूपमा कसरी आफ्‍नो कर्तव्य पूरा गर्ने र सृष्टि गरिएको योग्य प्राणी बन्‍ने भन्‍ने हो। अनि अवश्य नै, तैँले तेरो प्रतिष्ठा, हैसियत, अभिमान, भविष्य, र आदि इत्यादि कुरासम्‍बन्धी कुनै पनि उद्देश्य वा दिशा त्याग्‍नुपर्छ। कतिले यसो भन्‍न सक्छन्, “हामीले ती कुराहरू किन त्याग्‍ने?” यो कुरा सरल छ। ख्याति, सम्पत्ति, र हैसियतको पछि लाग्दा त्यसले परमेश्‍वरको इच्छा पूरा गर्ने कार्यमा बाधा दिन्छ, परमेश्‍वरको घर वा मण्डलीको केही निश्‍चित काममा बाधा दिन्छ, र मण्डलीको कतिपय कामलाई त भित्रभित्रै तहनहससमेत बनाउँछ। यसले परमेश्‍वरको वचन फैलाउने, परमेश्‍वरको गवाही दिने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, मानिसहरूले मुक्ति पाउने कार्यमा असर पुर्‍याउँछ। तैँले योग्यतम रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न र सृष्टि गरिएको योग्य प्राणी बन्‍नको लागि, जुनसुकै तरिकाले लक्ष्यहरू निर्धारण गर्न र आफ्‍ना अनुभवहरू सारांशित गर्न सक्छस्, तर तैँले आफ्‍ना आदर्शहरू पूरा गर्ने प्रयासचाहिँ कहिल्यै गर्नु हुँदैन। तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा लिने कुनै पनि सिद्धान्त वा पद्धतिमा तेरा आदर्शहरू मिसिनु हुँदैन। तैँले योग्यतम रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न र सृष्टि गरिएको योग्य प्राणी बन्‍नको लागि, परमेश्‍वरका वचनहरूभित्रका सिद्धान्तहरू र अभ्यासको अझै सटीक मार्ग खोज्‍नुपर्छ, परमेश्‍वरका वचनहरूभन्दा बाहिर आफ्‍ना व्यक्तिगत विचारहरू र अवसरहरूको सार खोज्‍नु हुँदैन। अभ्यासका यी सिद्धान्तहरू अन्ततः कसरी सृष्टि गरिएको योग्य प्राणी बनेर आफ्‍नो कर्तव्य पूरा गर्ने भन्‍ने कुरामै केन्द्रित हुन्छन्। सबै कुरा सत्यता बुझ्‍ने, सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने, र अन्ततः आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा वा आफ्‍नो दैनिक जीवनमा विभिन्‍न मानिसहरू, घटनाहरू र परिस्थितिहरू सामना गर्दा बुझ्‍नुपर्ने सिद्धान्तहरूमै केन्द्रित हुन्छन्। के यो कुरा स्पष्ट भयो? (भयो।) अनि, यदि तैँले परमेश्‍वरको घरका मापदण्ड र सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गरिस् भने, र सृष्टि गरिएको योग्य प्राणी बन्‍ने प्रयास गरिस् भने, तैँले अवश्यै यी परिणामहरू हासिल गर्न सक्छस्। तथापि, यदि तैँले आफ्‍नै आदर्शहरू पूरा गर्ने प्रयास गरिस् भने, तैँले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्।

यदि मानिसहरू सत्यता पछ्याउने मार्ग नहिँडी आफ्‍नै आदर्शहरू पूरा गर्नतिर निरन्तर लागिपरे भने, तिनीहरू अन्तिममा अहङ्कारी, स्वार्थी, आक्रमक, उग्र र लोभी बन्‍नेछन्। अरू के बन्छन्? तिनीहरू घमण्डले फुलिन्छन् र स्वार्थी बन्छन्। तर जब मानिसहरूले आफ्‍ना आदर्श र इच्छाहरू पूरा गर्ने बाटो त्याग्छन्, र यसको सट्टा विभिन्‍न सत्यताहरू साथै परमेश्‍वरको वचनका विभिन्‍न पक्षहरू अनि मानिसहरूले कसरी मानिसहरू र परिस्थितिलाई हेर्नुपर्छ, आफूलाई के-कस्तो व्यवहारमा ढाल्नुपर्छ, र कसरी काम गर्नुपर्छ भन्‍नेसम्बन्धी सत्यताको मापदण्ड बुझ्‍ने प्रयास गर्छन्, तब तिनीहरू अझै बढी मानव रूपमा जिउनेछन्। अनि, विभिन्‍न कार्यहरू गर्ने वा फरकफरक वातावरण अनुभव गर्ने क्रममा, तिनीहरूलाई पहिलेजस्तो अन्योल र दोधार हुँदैन। यसको साथै, तिनीहरू पहिलेजस्तो नकारात्मक संवेगहरूको बन्धनमा परेर आफूलाई मुक्त गर्न नसक्‍ने, नकारात्मक विचार र संवेगहरूको बाधा र बन्धनमा पर्ने, र अन्तिममा विभिन्‍न नकारात्मक संवेगहरूद्वारा नियन्त्रित हुने र ढाकिने अवस्थामा पुग्दैनन्। आफ्‍ना आदर्श र इच्छाहरूलाई पूरा गर्नतिर लाग्दा यसले मानिसहरूलाई परमेश्‍वरका वचनहरूका सिद्धान्तहरू र सृष्टि गरिएको योग्य प्राणी बन्‍ने सिद्धान्तहरूबाट झन्झन् टाढा मात्र लैजान्छ। तिनीहरूलाई परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूमा कसरी समर्पित हुने भनेर थाहै हुँदैन, र तिनीहरूमा मानव जीवन, उमेर, रोग र मृत्यु के हो भन्‍ने कुनै बुझाइ हुँदैन। तिनीहरूलाई घृणा कसरी सम्‍हाल्‍ने वा विभिन्‍न नकारात्मक संवेगहरूसँग कसरी लड्ने भन्‍ने थाहा हुँदैन। अनि अवश्यै, आफ्‍नो जीवनमा आइपर्ने मानिस, घटना, र परिस्थितिहरू कसरी सम्‍हाल्‍ने भन्‍नेबारे पनि तिनीहरूलाई केही थाहा हुँदैन। विभिन्‍न प्रकारका मानिस, घटना, र परिस्थितिहरू सामना गर्नुपर्दा, तिनीहरू लाचार हुन्छन्, दोधारले भरिन्छन्, र विलखबन्दमा पर्छन्। अन्त्यमा, तिनीहरूले आफ्‍नो हृदयमा नकारात्मक संवेगहरू र त्यस्तै विचार र दृष्टिकोणहरू फैलन दिन मात्र सक्छन्, जसले गर्दा तिनीहरूले आफूले आफैलाई यी कुराहरूको नियन्त्रण र बन्धनमा पराउँछन्। यसको साथै, यी नकारात्मक संवेगहरू वा विचार र दृष्टिकोणहरूको नियन्त्रणमा परेर, तिनीहरूले चरम व्यवहार गर्न वा आफूलाई र अरूलाई हानि गर्ने कुराहरू गर्न सक्छन्, जसले गर्दा असोचनीय परिणामहरू आइपर्छन्। त्यस्ता कार्यहरूले मानिसहरूको जायज पछ्याइमा बाधा दिन्छन् र तिनीहरूमा हुनुपर्ने विवेक र समझमा क्षति गर्छन्। त्यसकारण, अहिलेको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूले आफूले अझै पनि तृष्णा गर्ने कुराहरू के-के हुन्, र देह, संसार, र देहका हितहरूमा पर्ने कुराहरू के-के हुन्, तिनीहरूले अझै पनि तृष्णा गर्ने, तिनीहरूलाई अझै चाहिने, र तिनीहरूले स्पष्ट रूपमा चिन्‍न नसक्‍ने, र तिनीहरूलाई बारम्‍बार बाँध्‍ने र परीक्षामा पार्ने ख्याति, इज्‍जत, प्रतिष्ठा, हैसियत, सम्पत्ति, र आदि इत्यादि कुराहरू के-के हुन् भनेर आफ्‍नो हृदयको गहिराइमा जाँच्‍नु हो। तिनीहरू गहन रूपमा यी कुराहरूको बन्धनमा पर्नसमेत सक्छन्, वा तिनीहरूमा यी कुराहरूप्रति गहन आदर पैदा हुनसमेत सक्छ, र त्यसपछि कदम अलिकति गलत हुनेबित्तिकै, तिनीहरू कुनै पनि समय र कुनै पनि स्थानमा यी कुराहरूको कब्जामा पर्न सक्छन्। अनि, त्यस्तो अवस्थामा, यी कुराहरू नै तिनीहरूका आदर्शहरू बन्छन्। तर यी आदर्शहरू तिनीहरूद्वारा हासिल गरिएपछि ठीक त्यही बेला तिनीहरूको पतन र तिनीहरूको अन्त्यको स्रोत बनिदिन्छन्। यो मामिलालाई तिमीहरू कसरी हेर्छौ? (मानिसहरूले आफूले अझै पनि के कुराको तृष्णा गर्छु भनेर आफ्‍नो हृदयको गहिराइमा जाँच्‍नुपर्छ। तिनीहरूले यस्ता देहगत र सांसारिक ख्याति, प्रतिष्ठा, इज्‍जत, हैसियत, सम्पत्ति, र यस्तै अन्य कुराहरूको वास्तविकता देख्‍नु आवश्यक छ; अन्यथा, तिनीहरू सजिलै यी कुराहरूको पकडमा पर्न सक्छन्।) तिनीहरू यी कुराहरूको पकडमा पर्न सक्छन्, होइन त? त्यसोभए, देहका यी कुराहरू अत्यन्तै खतरनाक छन्। यदि तैँले यी कुराहरूको वास्तविकता देख्‍न सक्दैनस् भने, तँ सधैँ यी कुराको प्रभाव वा पकडमा पर्ने खतरामा हुन्छस्। त्यसकारण, तैँले अहिले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मैले यसभन्दा पहिले उल्‍लेख गरेका यी देहगत कुराहरूलाई परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा चिरफार गर्नु र बुझ्‍नु हो। यी कुराहरू खोतलेर चिनिसकेपछि, तैँले यिनलाई त्याग्‍नुपर्छ र आफ्नो तन, मन, र शक्ति सृष्टि गरिएको साधारण प्राणी बन्‍नमा, र आफ्‍नो वर्तमान कर्तव्य र काममा लगाउनुपर्छ। आफूलाई विशेष वा अजेय व्यक्ति वा असाधारण प्रतिभा वा क्षमतावान्‌ व्यक्ति ठान्‍न छोड्। तँ बस एक मामुली व्यक्ति मात्रै होस्। कति मामुली? सृष्टि गरिएका सबै प्राणीहरू र परमेश्‍वरले सृष्टि गर्नुभएका यावत्‌ थोकहरूमाझ, तँ तीमध्येको एक साधारण व्यक्ति मात्रै होस्। तँ कति हदसम्‍म साधारण छस्? तँ घाँसको कुनै पात, कुनै रुख, पहाड, पानीको थोपा, वा समुद्र किनारको बालुवाको एउटा कणजतिकै सामान्य छस्। तँमा घमण्ड गर्नुपर्ने कुनै कुरा छैन, र प्रशंसा गर्नुपर्ने पनि कुनै कुरा छैन। तँ यति साधारण छस्। यसको साथै, यदि तेरो हृदयको गहिराइमा अझै पनि आदर्श व्यक्तिहरू, ठूला व्यक्तिहरू, सेलिब्रेटीहरू, र महान् मानिसहरूले ठूलो स्थान लिएका छन् भने, वा तैँले निश्‍चित कुराहरूको डाहा गर्छस् भने, तैँले ती कुराहरू हटाउनु र त्याग्‍नुपर्छ। तैँले ती कुराहरूको प्रकृति सार चिन्‍नुपर्छ, र सृष्टि गरिएको साधारण प्राणी बन्‍ने बाटोमै फर्किनुपर्छ। सृष्टि गरिएको साधारण प्राणी बन्‍नु र आफ्‍ना कर्तव्यहरू पूरा गर्नु नै तैँले गर्नुपर्ने सबैभन्दा आधारभूत कुराहरू हुन्। त्यसपछि, तँ सत्यता पछ्याउने यो विषयमा फर्कनुपर्छ र सत्यतामा अझै बढी मेहनत लगाउनुपर्छ। बाहिरी समाचार, जानकारी, घटना, र सेलिब्रेटी विवरण सुन्‍ने-हेर्ने काम कम गर्। आफ्‍ना आदर्शहरू पूरा गर्न इच्छा जगाउने कुनै पनि कुराबाट अलग बस्‍नु नै बेस हो। अब, तैँले आफूलाई कुनै फाइदा नदिने र नकारात्मक रहेका मानिस, घटना, र परिस्थितिहरूबाट आफूलाई टाढा राख्‍नुपर्छ। तैँले ती कुराहरूबाट आफूलाई अलग गर् र यो जटिल र अराजक संसारका हरकुरादेखि परै बस्‍ने प्रयास गर्। यदि ती कुराहरूले तँलाई कुनै खतरा पुर्‍याउँदैनन् वा कुनै परीक्षा गर्दैनन् भने पनि, तैँले अझै पनि आफूलाई ती कुराहरूबाट अलग राख्‍नुपर्छ। ठीक त्यसरी नै मोशा पनि उजाड स्थानमा चालीस वर्ष बसेको थियो; के ऊ राम्ररी नै बस्‍न सकेको थिएन र? अनि उसको कमजोर बोल्‍ने क्षमताको बाबजुत पनि, अन्त्यमा परमेश्‍वरले उसलाई चुन्‍नुभयो, र त्यो उसको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। यो कुनै खराब कुरा थिएन। त्यसकारण, सर्वप्रथम, आफ्‍ना विचारका गहिराइहरूबाट आफ्‍नो हृदय निकाल्, अनि तेरा विचारहरूको गहिराइभित्र आफ्‍नो विश्‍वासमा सत्यता पछ्याउने र धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने मानसिकता हुनुपर्छ। सधैँ आफ्‍ना आदर्शहरूबारे सोचिरहनु वा ती कुरा हासिल गर्न सक्छु सक्दिनँ भनेर निरन्तर प्रयास र चिन्तन खर्चनुको सट्टा तँसँग त्यस्तो योजना, इच्छा र चाहना हुनुपर्छ। तैँले आफ्‍ना पहिलेका आदर्श र इच्छाहरूसँगको आफ्‍नो सम्‍बन्ध पूर्ण रूपमा तोड्नुपर्छ, र सृष्टि गरिएको योग्य र साधारण प्राणी बन्‍न लागिपर्नुपर्छ। साधारण सृष्टिको हिस्‍सा बन्‍नु खराब कुरा होइन। म किन यसो भन्दै छु? यो वास्तवमा असल कुरा हो। तैँले जुन क्षण आफ्‍ना देहगत आदर्श र इच्छाहरू त्याग्‍न थाल्छस्, र तैँले जुन क्षण विशेष हैसियत, पद वा मूल्यविनाको सृष्टि गरिएको साधारण प्राणी बन्‍ने ठोस निर्णय गर्छस्, यसको अर्थ तँसँग परमेश्‍वरको प्रभुत्वमा, सृष्टिकर्ताको प्रभुत्वमा समर्पित हुने र आफ्‍नो जीवनमाथि परमेश्‍वरलाई योजनाबद्ध कार्य र शासन गर्न दिने इच्छा र सङ्कल्‍प छ भन्‍ने हुन्छ। तँसँग आज्ञापालन गर्ने, व्यक्तिगत आदर्श र इच्छाहरू त्याग्‍ने र फाल्ने, परमेश्‍वरलाई आफ्‍नो प्रभु बनाएर आफ्‍नो नियतिमाथि शासन गर्न दिने, अनि त्यस्तै खालको मानसिकता भएको सृष्टि गरिएको योग्य प्राणी बन्‍ने, र त्यस्तै खालको मानसिकता र मनोवृत्तिले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने इच्छा छ भन्‍ने हुन्छ। तँमा हुनुपर्ने जीवन दृष्टिकोण यही हो। के यो सही हो? के यो सत्यता हो? (हो।) तेरो जीवन लक्ष्य र तेरो जीवन दिशा केमा केन्द्रित हुन्छ? (सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नमा।) त्यो सबैभन्दा आधारभूत कुरा हो। अरू केमा? (सृष्टि गरिएको साधारण प्राणी बन्‍ने प्रयासमा।) अरू केमा? (मुक्ति पाउनको लागि सत्यता पछ्याउमा।) त्यो अर्को हो। अनि, अरू केमा? (परमेश्‍वरका वचनहरूमा केन्द्रित हुन र सत्यतामा अझै बढी मेहनत गर्नमा।) त्यो अलिक बढी ठोस कुरा हो, होइन त? तेरो जीवन उद्देश्य र तेरो जीवन दिशा परमेश्‍वरका वचनहरूमा केन्द्रित हुनुपर्छ, र तैँले सत्यतामा अझै बढी मेहनत गर्नुपर्छ। तैँले पहिले अस्पष्ट आदर्शहरू पछ्याउँदा तँमा जुन जोस थियो त्यसलाई परमेश्‍वरका वचनहरू पढ्नमा र सत्यतामा मनन गर्नमा लगा, अनि तैँले सत्यतातर्फ प्रगति गर्छस् कि हेर्। यदि तैँले सत्यतातर्फ साँच्‍चै प्रगति गरेको छस् भने, तँमा निश्‍चित प्रकटीकरणहरू हुनेछन्। अर्थात्, विभिन्‍न मानिसहरू, घटनाहरू, र मानव विचार र दृष्टिकोणहरूसँग सम्‍बन्धित कुराहरू, साथै सिद्धान्तहरू सामना गर्दा, तँलाई पहिलेजस्तो अन्योल, दोधार, तीनछक, वा चकित महसुस हुँदैन। बरु, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नेछस्, उहाँका वचनहरूको अगुवाइ पाएर तँमा शान्त र दृढ हृदय हुनेछ, अनि तँलाई परमेश्‍वरमा समर्पित हुने र उहाँको इच्छा पूरा गर्ने तरिकाले कसरी काम गर्ने भनेर थाहा हुनेछ। त्यही बेला तँ साँच्‍चै जीवनको सही मार्गमा हुनेछस्। धेरै मानिसहरूले आफ्‍नो जीवनमा ढिलो गतिले प्रगति गर्छन्, किनभने कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले सधैँ आफूले कल्‍पना गरेका आफ्‍नै आदर्शहरू, ख्याति, हैसियत, र जीवन लक्ष्यहरू पछ्याउँछन्, र आफ्‍ना देहका इच्छाहरू पूरा गर्दै आशिष्‌हरू पाउने चाहना गर्छन्। यसले गर्दा, तिनीहरूले वास्तविक रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनन्, र तिनीहरूले साँचो जीवन प्रवेश पनि अनुभव गर्दैनन्। सुरुदेखि अन्तिमसम्‍मै, तिनीहरूले सच्चा अनुभव गवाही बाँड्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरेको जति लामो समय भए पनि, जीवन र सत्यतामा तिनीहरूको प्रवेशको प्रगति न्यूनतम नै रहन्छ, र तिनीहरूले थोरै मात्रै फल फलाउँछन्। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्नमै साँचो रूपमा आफूलाई समर्पित गरेको भए, र सत्यता पछ्याउने कार्यमा आफ्‍नो सारा शक्ति लगाउँदै सत्यताप्रति कडा मेहनत गेरको भए, तँ अहिलेको स्थिति, कद र अवस्थामा हुन्थिनस्। यस्तो किन हुन्थ्यो भने, मानिसहरूले सामान्यतया सानातिना काम, व्यावसायिक काम, र आफ्‍नो हातको काममा मात्रै ध्यान दिन्छन्, र यी क्रियाकलापहरूको मूल सार भनेकै आफ्‍ना आदर्शहरू पूरा गर्दै आफ्‍ना व्यक्तिगत इच्छा र आकाङ्क्षाहरू पूरा गर्नु हो। अनि, यी आदर्शहरू के हुन्? यो कि, मानिसहरू सधैँ आफ्‍नो काममा व्यस्त रहन चाहन्छन्, र निश्‍चित कुराहरू हासिल गर्न, निश्‍चित परिणाम हासिल गर्न, र अरूबाट केही सम्‍मान पाउन चाहन्छन्, र साथमा तिनीहरूले आफ्‍नो महत्त्व देखाउनको लागि आफ्‍ना सपनाहरू र आफ्‍नो खोजका उद्देश्यहरू पूरा गर्न चाहन्छन्। त्यसपछि तिनीहरू सन्तुष्ट हुन्छन्। तैपनि, यो कुरा सत्यता पछ्याउनु होइन; यो त आफूभित्रको खोक्रोपन सन्तुष्ट पार्नु र काम प्रयोग गरेर आफ्‍नो जीवन समृद्ध पार्नु मात्रै हो। के यसको वास्तविकता यही होइन र? (हो।) त्यसकारण, कुनै व्यक्तिले जति लामो समय श्रम गरे पनि वा उसले जति धेरै काम गरेको भए पनि, यो सबै सत्यतासँग असम्‍बन्धित हुन्छ। उसले अझै पनि सत्यता बुझेको हुँदैन र सत्यता पछ्याउने कार्यमा ऊ निकै पछि परेको हुन्छ। आफ्ना कार्य जिम्‍मेवारीहरूसँग सम्‍बन्धित सिद्धान्तहरूको हिसाबमा, मानिसहरूले अझै पनि प्रवेश वा बुझाइ प्राप्त गरेका हुँदैनन्। यसको परिणामस्वरूप, तिमीहरूलाई थकित महसुस हुन्छ र तिमीहरू यस्तो विचार गर्छौ, “हामीलाई किन सधैँ निराकरण गरिन्छ? हामीले धेरै मेहनत गरेका छौँ, धेरै दुःख गरेका छौँ, र धेरै मूल्य चुकाएका छौँ। तैपनि किन हामीलाई अझै निराकरण गरेको गर्‍यै गरिन्छ?” किनभने तँ सिद्धान्तहरू बुझ्दैनस्। तैँले सिद्धान्तहरू कहिल्यै बुझेको वा जानेको छैनस्, न त सिद्धान्तहरूमा कुनै मेहनत नै लगाएको छस्। अर्को शब्‍दमा भन्दा, तैँले सत्यतामा, र परमेश्‍वरका वचनहरूमा मेहनत लगाएको छैनस्। तँ बस केही नियमहरू पालना गर्ने र आफ्नो कल्‍पनाअनुसार काम गर्ने मात्रै गर्छस्। तँ सधैँ आफ्‍ना आदर्श र धारणाहरूको संसारमा जिउँछस्, र तैँले गर्ने हरेक कुरा सत्यतासँग मिल्दैन। तैँले आफ्‍नै करियर बनाइरहेको छस्, परमेश्‍वरको इच्छा पूरा गरिरहेको छैनस्। त्यसकारण, तैँले परमेश्‍वरका वचनहरूमा भएका सिद्धान्तहरू अझै बुझ्दैनस्, र अन्त्यमा, कतिपय मानिसहरूले सेवाकर्ताको उपनाम पाउँछन्, र कतिलाई अन्यायमा परेको महसुस हुन्छ। तिनीहरूले के कारणले अन्यायमा परेको महसुस गर्छन्? किनभने तिनीहरूले आफ्नो कष्ट र आफूले मूल्य चुकाउनु सत्यता अभ्यास गर्नुजस्तै हो भन्‍ने सोच्छन्। वास्तवमा, तिनीहरूले कष्ट भोग्‍नु र मूल्य चुकाउनु केही कठिनाइ भोग्‍ने कार्य मात्रै हो। यो सत्यता अभ्यास गर्नु वा परमेश्‍वरको मार्ग पछ्याउनु होइन। अझै ठ्याक्‍कैसँग भन्दा, सत्यता अभ्यास गर्ने कार्यसँग यसको केही सम्‍बन्ध हुँदैन; यो त बस मेहनत गर्नु र काम गर्नु मात्रै हो। के मेहनत गर्नु र काम गर्नु योग्यतम रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नु हो त? के यो सृष्टि गरिएको योग्य प्राणी बन्‍नु हो? (होइन।) यी दुई कुराबीच दूरी र अन्तराल छ।

दबाबको नकारात्मक संवेगहरू त्याग्‍ने विषयमा, आजको लागि हाम्रो सङ्गति यहीँ समाप्त गरौँ। के तिमीहरूले आफ्‍ना आदर्श र इच्छाहरू हासिल गर्न नसकेको कारण दबाब महसुस गर्ने मानिसहरूमा आउने यी समस्याहरू स्पष्ट देख्‍न सक्छौ? (हो, यो स्पष्ट छ।) के स्पष्ट छ? अलिकति सारांशित गरौँ त। सर्वप्रथम, आदर्शहरू के हुन् त्यसबारे कुरा गरौँ। यहाँ चिरफार गरिएका आदर्शहरू नकारात्मक छन्, ती जायज वा सकारात्मक कुराहरू होइनन्। अनि, आदर्शहरू भनेकाचाहिँ के हुन्? “आदर्शहरू” को परिभाषा दिन स्पष्ट भाषा प्रयोग गर त। (ती सामान्य मानव विवेक र समझबाट भड्किएर जाने खोक्रा विचारहरू, र मानिसहरूले आफ्‍नो लागि कल्‍पना गर्ने तर वास्तविकतासँग नमिल्‍ने कुराहरू हुन्। ती वास्तविक कुरा होइनन्।) तैँले उल्‍लेख गरेका कुराहरू आदर्शवादीका आदर्शहरू हुन्। समग्रमा आदर्शहरूलाई तैँले कसरी परिभाषित गर्न सक्छस्? के तिमीहरू तिनलाई परिभाषित गर्न सक्छौ? के ती परिभाषित गर्न कठिन छन्? आफ्‍नै हैसियत, प्रतिष्ठा, र सम्‍भाव्यताहरूको लागि मानिसहरूले स्थापित गर्ने र पछ्याउने उद्देश्यहरू के-के हुन्? (आफ्‍नै हैसियत, प्रतिष्ठा, र सम्‍भाव्यताहरूको लागि मानिसहरूले स्थापित गर्ने उद्देश्यहरू नै आदर्शहरू हुन्।) के यो परिभाषा सही छ? (छ।) मानिसहरूले आफ्‍नै हैसियत, प्रतिष्ठा, सम्‍भाव्यता, र हितहरूको लागि पछ्याउने उद्देश्यहरू नै आदर्श र इच्छाहरू हुन्। के यो अविश्‍वासीहरूद्वारा उल्‍लेख गरिने आदर्शहरूको विस्तृत परिभाषा होइन र? हामीले यसलाई मूल सारको आधारमा परिभाषित गरिरहेका छौँ, होइन र? (हो।) कुनै खास प्रकारका आदर्शहरू जेसुकै भए पनि, र ती उच्च, नीच, वा सामान्य जे भए पनि, ती सबै आफ्‍ना हितहरूको लागि मानिसहरूले स्थापना गर्ने र पछ्याउने उद्देश्यहरू हुन्। यी उद्देश्यहरू नै तिनीहरूका आदर्श वा इच्छाहरू हुन्। के यसभन्दा अगाडिका उदाहरणहरूमा हामीले सङ्गति गर्दै चिरफार गरेका मानिसहरूका आदर्शहरू यही होइन र? आफ्‍नै हैसियत, प्रतिष्ठा, सम्‍भाव्यता, हित, आदि इत्यादिको लागि मानिसहरूले स्थापित गर्ने उद्देश्यहरू नै आदर्शहरू र इच्छाहरू हुन्। आफ्‍ना आदर्श र इच्छाहरू पछ्याउने तर ती साकार पार्न नसक्‍ने मानिसहरूले मण्डलीमा प्राय दबाब महसुस गर्ने गर्छन्। यी मानिसहरूलाई दबाब महसुस भइरहन्छ। एकछिन विचार गर् त, के तँ पनि यस्तो स्थिति र परिस्थितिमा छस्? के तँ पनि प्राय यस्तो अवस्था र यस्ता संवेगहरूमा जिउँछस्? यदि तँमा यी संवेगहरू छन् भने, तैँले के कुरामा जोड दिइरहेको छस्? यो तेरो आफ्‍नै हैसियत, प्रतिष्ठा, सम्‍भावना, र हितहरूको लागि हो। तैँले स्थापित गरेका आदर्शहरू र पछ्याउने उद्देश्यहरू प्रायजसो सत्यता र सकारात्मक कुराहरूद्वारा बन्धन र रोकावटमा पर्छन्—ती कुराहरू साकार हुँदैनन्। परिणामस्वरूप, तँलाई दुःख लाग्छ र तँ दबाबका संवेगहरूमा जिउँछस्। के यस्तै हुन्‍न र? (हो।) मानव आदर्शहरूको समस्या नै यही हो। सबभन्दा पहिले, हामीले मानव आदर्शहरू चिरफार गर्‍यौँ, र त्यसपछि हामीले के विषयमा सङ्गति गर्‍यौँ? हामीले मण्डली, अर्थात् परमेश्‍वरको घर मानिसहरूले आफ्‍ना आदर्शहरू पूरा गर्ने स्थान होइन भनेर सङ्गति गर्‍यौँ। अनि, हामीले परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले राख्‍नुपर्ने सही लक्ष्यहरू, सृष्टि गरिएको योग्य प्राणी कसरी बन्‍ने, र सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्ने भन्‍नेबारे सङ्गति गर्‍यौँ। यही होइन त? (हो।) यी कुराहरूबारे सङ्गति गर्नुको मुख्य उद्देश्य भनेको आफ्‍ना आदर्श र कर्तव्यहरू कसरी छनौट गर्ने र तीप्रति कसरी व्यवहार गर्ने भनेर बताउनु हो। मानिसहरूले आफ्‍ना अनुचित आदर्शहरू त्याग्‍नुपर्छ, तर आफ्‍नो कर्तव्यको लागि यो जीवनको मूल्य चुकाउनुपर्छ र आफ्‍नो सम्पूर्ण जीवन समर्पित गर्नुपर्छ। सृष्टि गरिएको प्राणीका कर्तव्यहरू सकारात्मक कुराहरू हुन्, तर मानव आदर्शहरू सकारात्मक कुरा होइनन्, तिनलाई अङ्गालेर राख्‍नु हुँदैन, त्याग्‍नुपर्छ। मानिसहरूले सृष्टि गरिएको योग्य प्राणी बन्‍ने र आफ्‍नो कर्तव्य पूरा गर्ने कार्य अङ्गाल्‍नु र पछ्याउनुपर्छ। तर आफ्नो आदर्श आफ्‍नो कर्तव्यसँग बाझिँदा मानिसहरूले के गर्नुपर्छ? (तिनीहरूले आफ्‍ना आदर्शहरू त्याग्‍नु र हटाउनुपर्छ।) तिनीहरूले आफ्‍ना आदर्शहरू त्याग्‍नुपर्छ र आफ्‍नो कर्तव्य अङ्गाल्‍नुपर्छ। मानिसहरू जहिले वा जुन उमेरमा जिए पनि, तिनीहरूले गर्नुपर्ने र पछ्याउनुपर्ने कुरा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने र परमेश्‍वर, उहाँका वचनहरू, र सत्यताप्रति समर्पण हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्छ। त्यस्तो अभ्यासद्वारा मात्रै व्यक्तिले अर्थपूर्ण र मूल्यवान् जीवन जिउन सक्छ, होइन र? (हो।) ठीक छ, हाम्रो आजको सङ्गति यहीँ समाप्त गरौँ। जय मसीह!

डिसेम्बर १०, २०२२

अघिल्लो: सत्यता कसरी पछ्याउने (६)

अर्को: सत्यता कसरी पछ्याउने (११)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्