सत्यता कसरी पछ्याउने (३)

हाम्रो पछिल्लो भेलाको सङ्गतिमा हामी कहाँ थियौँ? हामीले सत्यता कसरी खोजी गर्ने भन्‍ने विषयमा सङ्गति गरिरहेका थियौँ जुन दुई वटा मुख्य विषयसँग सम्‍बन्धित छ र ती विषयहरू मुख्यतया अभ्यासका दुई पक्षहरू हुन्। पहिलो के हो? (पहिलो त्याग्‍नु हो।) अनि दोस्रो? (दोस्रो, आफूलाई समर्पित गर्नु हो।) पहिलो त्याग्‍नु हो, र दोस्रो आफूलाई समर्पित गर्नु हो। “त्याग्‍ने” अभ्यासबारे कुरा गर्दा, सुरुमा हामीले विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍नेबारेमा सङ्गति गरेका थियौँ। “त्याग्‍नु” को पहिलो पक्षमा विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍ने कार्य समावेश हुन्छ। त्यसकारण जब हामीले विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍नेबारेमा कुरा गर्‍यौँ, हामीले कुन-कुन संवेगहरू उल्‍लेख गर्‍यौँ? (परमेश्‍वरले सुरुमा हीनताबोध, घृणा, र रिसबारे बताउनुभयो, अनि दोस्रोपटक डिप्रेसनबारे बताउनुभयो।) पहिलोपटक, मैले घृणा, रिस, र हीनताबोध त्याग्‍नुपर्ने आवश्यकताबारे कुरा गरेँ—मुख्य रूपमा मैले यिनै नकारात्मक संवेगहरूबारे कुरा गरेको थिएँ, र मैले डिप्रेसनबारे पनि निकै वृहत् रूपमा कुरा गरेको थिएँ। दोस्रोपटक, मैले नकारात्मक संवेगहरूमध्येको एउटा संवेग डिप्रेसन त्याग्‍ने अभ्यास गर्नेबारे कुरा गरेको थिएँ। मानिसहरू अनेक कारणले डिप्रेसनमा पर्छन्, र मैले पछिल्लोपटक डिप्रेसनको नकारात्मक संवेग प्रकट हुने विभिन्‍न तरिकाहरूबारे नै मुख्य रूपमा कुरा गरेको थिएँ। मलाई भन त, डिप्रेसनको संवेग पैदा गराउने मैले बताएका मुख्य कारणहरू के-के थिए? (परमेश्‍वर, जम्‍मा तीन कारणहरू छन्। पहिलो, मानिसहरूले सधैँ आफ्‍नो भाग्य खराब छ भन्‍ने महसुस गर्छन्; दोस्रो, मानिसहरूले आफ्‍नो जीवनमा खराब कुराहरू आइपर्दा खराब भाग्यलाई दोष दिन्छन्; अनि तेस्रो, जब मानिसहरूले विगतमा गम्‍भीर अपराधहरू गरेका हुन्छन्, वा जब तिनीहरूले मूर्ख वा अज्ञानी कार्यहरू गरेका हुन्छन्, त्यसले तिनीहरूलाई डिप्रेसनमा पार्छ।) मुख्य तीन कारणहरू यिनै हुन्। पहिलो, मानिसहरूले आफ्‍नो भाग्य खराब छ भनी विश्‍वास गर्ने हुनाले, तिनीहरू प्रायजसो डिप्रेसनमा परेका हुन्छन्; दोस्रो, मानिसहरूले आफूलाई अभागी ठान्‍ने हुनाले, प्रायजसो नै डिप्रेसनमा पर्छन्; अनि तेस्रो, मानिसहरूले गम्‍भीर अपराधहरू गरेका हुनाले, त्यसबाट तिनीहरूलाई प्रायजसो डिप्रेसनको अनुभूति हुने गर्छ। मुख्य तीन कारणहरू यिनै हुन्। डिप्रेसनको संवेग क्षणिक नकारात्मकता वा बेखुसीको भावना होइन। बरु यो त निश्‍चित कारणहरूद्वारा मनमा नियमित र दोहोरिएर पैदा हुने नकारात्मक संवेग हो। यो नकारात्मक संवेगले मानिसहरूमा नकारात्मक सोच, दृष्टिकोण, र विचारहरू पैदा गर्छ, र यसले कैयौँ चरम र भ्रमित विचार, दृष्टिकोण, बानीबेहोरा, र तरिकाहरू पनि पैदा गर्छ। यो क्षणिक मुड वा क्षणिक विचार होइन; यो त मानिसहरूको जीवनमा सधैँ बारम्‍बार पैदा हुने र निरन्तर आइरहने, तिनीहरूको अन्‍तस्‍करणमा र तिनीहरूको प्राणको गहिराइमा, अनि तिनीहरूको सोच र व्यवहारमा सधैँ तिनीहरूको साथमा रहिरहने नकारात्मक संवेग हो। यो नकरात्मक संवेगले मानिसहरूको सामान्य मानवताको विवेक र समझलाई मात्रै असर गर्दैन, यसले त मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफ्‍नो दैनिक जीवनमा तिनीहरूले अँगाल्ने आनीबानी र व्यवहारमा तिनीहरूमा हुने विभिन्‍न विचार, दृष्टिकोण, र हेराइहरूलाई पनि असर पार्न सक्छ। त्यसकारण, हामीले सुरुमा विभिन्‍न प्रकारका नकारात्मक संवेगहरूलाई विश्‍लेषण, चिरफार, र पहिचान गर्नु जरुरी छ र त्यसपछि ती संवेगहरूलाई एकएक गरी त्याग्‍नु र परिवर्तन गर्नु जरुरी छ, र तिनलाई क्रमिक रूपमा पछि छोड्न लागिपर्नु जरुरी छ ताकि हाम्रो विवेक र समझ, साथै हाम्रो मानवताको सोच्‍ने शैली अझै सामान्य र व्यावहारिक बन्‍न सकोस्, र ताकि मानिसहरू र परिस्थितिहरूलाई हेर्ने हाम्रो शैली र दैनिक जीवनमा आफ्‍नो व्यवहार अँगाल्ने र विभिन्‍न कुराहरू गर्ने हाम्रो तौरतरिकामा ती नकारात्मक संवेगहरूले अबउप्रान्त असर, नियन्त्रण वा दमन नगरून्—यी विभिन्‍न नकारात्मक संवेगहरूलाई चिरफार गर्ने र खुट्‍याउने कार्यको मुख्य उद्देश्य यही हो। मैले भनेको कुरा तिमीहरूले सुन, जान, बुझ, र त्यसलाई त्यतिकै छोडिदेओ भन्‍ने मुख्य उद्देश्य होइन, मुख्य उद्देश्य त तिमीहरूले नकारात्मक संवेगहरू मानिसहरूको लागि कति हानिकारक छन्, र मानिसहरूको दैनिक जीवनमा अनि मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तिनीहरूको शैलीमा, र आफ्‍नो आचरण र व्यवहार अँगाल्ने तिनीहरूको तौरतरिकामा ती कति हानिकारक र असरपूर्ण छन् भन्‍ने कुरा मेरा वचनहरूबाट जान भन्‍ने हो।

हामीले योभन्दा पहिले यी नकारात्मक संवेगहरू केही निश्‍चित हदसम्‍म कसरी भ्रष्ट स्वभाव र भ्रष्ट सारको स्तरसम्म पुग्दैनन्, बरु कसरी यी संवेगहरूले मानिसहरूको भ्रष्ट स्वभावलाई केही हदसम्‍म सहजीकरण र बढावा गर्ने, तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभावअनुसार विभिन्‍न कुराहरू गर्ने आधार दिलाउने, र यी नकारात्मक संवेगहरूको साथमा मानिसहरूलाई आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउने अझै थप कारणका साथै आफ्‍नो स्वभवअनुसार नै जोसुकैलाई वा जुनसुकै कुरालाई हेर्ने कारण पनि प्रदान गर्ने गर्छ। त्यसकारण, यी नकारात्मक संवेगहरू सबैले विभिन्‍न मात्रामा मानिसहरूको दैनिक जीवनमा असर पुर्‍याउँछन् र यी संवेगहरूले केही निश्‍चित हदसम्म मानिसहरूको विभिन्‍न विचारहरूमा पनि असर र नियन्त्रण गर्छन्, अनि सत्यता र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति, दृष्टिकोण, र विचारलाई पनि प्रभाव पार्छन्। यो भन्‍न सकिन्छ कि यी नकारात्मक संवेगहरूले मानिसहरूलाई कहिल्यै पनि राम्रो प्रभाव पार्दैनन्, न त कुनै सकारात्मक वा उपयोगी प्रभाव नै पार्छन्, बरु यसको विपरीत, यिनले मानिसहरूलाई हानि मात्रै गर्छन्। त्यसकारण, जब मानिसहरू यी नकारात्मकता संवेगहरूमा जिउँछन्, तब यी कुराहरूले तिनीहरूको हृदयलाई प्राकृतिक रूपमै प्रभाव र नियन्त्रणमा पार्छन्, र तिनीहरूले आफूलाई नकारात्मकताको स्थितिमा जिउनबाट रोक्‍न सक्दैनन्, र तिनीहरूले मानिसहरू र परिस्थितिहरूलाई मूर्ख दृष्टिकोणले हेर्दै चरम दृष्टिकोणसमेत अपनाउँछन्। जब मानिसहरूले नकारात्मक संवेगहरूको परिप्रेक्ष्य र दृष्टिकोणबाट कुनै व्यक्ति वा वस्तुलाई हेर्छन्, तब स्वाभाविक रूपमै तिनीहरूको व्यवहार, र शैली, अनि यी संवेगहरूले उत्पन्‍न गर्ने व्यवहार र कार्य चरम, नकारात्मक, र अवसादपूर्ण संवेगहरू मिसिएका हुन्छन्। यी नकारात्मक, अवसादपूर्ण, र चरम संवेगहरूले मानिसहरूलाई परमेश्‍वरप्रति अटेरी गर्ने, उहाँप्रति असन्तुष्ट बन्‍ने, उहाँलाई दोष दिने, उहाँलाई चुनौती दिने, र उहाँको विरोध गर्ने, साथै उहाँलाई घृणासमेत गर्ने बनाउँछन्। उदाहरणको लागि, जब कुनै व्यक्तिले आफ्‍नो भाग्य खराब छ भन्‍ने विश्‍वास गर्छ, तब उसले यसको लागि कसलाई दोष दिन्छ? तिनीहरूले यो कुरा मुखले त भन्दैनन् होला, तर तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरले गलत व्यवहार गर्नुभएको छ र उहाँ निष्पक्ष हुनुहुन्‍न भन्‍ने विश्‍वास गर्छन्, र यस्तो सोच्छन्, “परमेश्‍वरले फलानोलाई चाहिँ किन यति सुन्दर बनाउनुभयो? परमेश्‍वरले किन त्यसलाई यस्तो राम्रो परिवारमा जन्‍मन दिनुभयो? उहाँले किन त्यसलाई त्यस्ता वरदानहरू दिनुभयो? उहाँले किन त्यसलाई त्यस्तो राम्रो क्षमता दिनुभयो? मेरो क्षमताचाहिँ किन यति खराब छ? परमेश्‍वरले किन त्यसलाई अगुवा बन्‍ने बन्दोबस्त गर्नुभयो? मेरोचाहिँ किन कहिल्यै पालै आउँदैन, किन म कहिल्यै एकचोटि पनि अगुवा बन्‍न नपाएको हुँ? किन त्यसको लागि सबै कुरा सहज रूपमा अघि बढ्छ, तर मैले जे गरे पनि, यो सही वा सहजसित अघि बढ्दैन? किन मेरो भाग्य यति दयनीय छ? किन मेरो जीवनमा आइपर्ने कुराहरू यति फरक छन्? किन मेरो जीवनमा नराम्रा कुराहरू मात्रै हुन्छन्?” डिप्रेसनका संवेगहरूबाट पैदा हुने यी विचारहरूले मानिसहरूलाई आफ्‍नो व्यक्तिपरक अवचेतन मनमा परमेश्‍वरलाई दोष दिने, वा परमेश्‍वर र आफ्‍नो भाग्यको विरोध गर्ने नतुल्याए पनि, यी कुराहरूले मानिसहरूलाई तिनीहरूको अन्‍तस्‍करणमा प्रायजसो र अनायसै अनाज्ञाकारी, असन्तुष्ट, अप्रसन्‍न, डाही, र घृणापूर्ण संवेगहरूमा डुब्‍न लगाउँछन्। गम्भीर अवस्थाहरूमा, यी कुराहरूले मानिसहरूमा अझै चरम विचार र व्यवहारहरू पैदा गराउँछन्। उदाहरणको लागि, जब कतिपय मानिसहरूले कसैले तिनीहरूले भन्दा राम्रो गरिरहेका र परमेश्‍वरबाट तारिफ पाइरहेका देख्छन्, तब तिनीहरूमा डाहा र घृणा पैदा हुन्छ। फलस्वरूप, श्रृङ्खलाबद्ध रूपमा तुच्छ व्यवहारहरू देखा पर्छन्: तिनीहरूले अर्को व्यक्तिबारे नराम्रो कुरा बोल्छन् र पिठ्यूँपछाडि उसको अवमूल्यन गर्छन्, गुप्त रूपमा नराम्रो र तर्कहीन कुरा गर्छन्, र आदि इत्यादि गर्छन्। यसरी श्रृङ्खलाबद्ध रूपमा समस्याहरू पैदा हुनुसँग तिनीहरूको डिप्रेसन र नकारात्मक संवेगहरूको प्रत्यक्ष सम्‍बन्ध हुन्छ। तिनीहरूको डिप्रेसनको संवेगहरूद्वारा श्रृङ्खलाबद्ध रूपमा पैदा हुने यी विचार, व्यवहार, र शैलीहरू सुरुमा विभिन्‍न प्रकारका संवेगहरू मात्रै हुन् जस्ता देखिन सक्छन्, तर परिस्थिति अघि बढ्दै जाँदा यी नकारात्मक र डिप्रेसनका संवेगहरूले मानिसहरूलाई आफ्‍नो भ्रष्ट शैतानी स्वभावहरूअनुसार जिउन झन्झन् उक्साउँदै जान्छन्। तर यदि मानिसहरू सत्यता बुझ्छन् र सामान्य मानवतामा जिउँछन् भने, तिनीहरूमा यी नकारात्मक र डिप्रेसनका संवेगहरू पैदा हुँदा, तिनीहरूको विवेक र समझले तुरुन्तै काम गर्न सक्छ, र यी मानिसहरूले तुरुन्तै यी डिप्रेसनका संवेगहरूको उपस्थिति र बाधा थाहा पाएर यिनको वास्तविकता देख्‍न सक्छन्। त्यसपछि तिनीहरूले डिप्रेसनका संवेगहरू तुरुन्तै त्याग्‍न सक्छन्, र जब तिनीहरूले आफ्‍नो वर्तमान अवस्थामा मानिसहरू, घटनाहरू, र परिस्थितिहरू सामना गर्छन्, तब तिनीहरूले तर्कसङ्गत निर्णय गरेर आफूलाई आइपर्ने परिस्थिति र आफूले अनुभव गर्ने कुराहरूलाई सही दृष्टिकोणसाथ तर्कसङ्गत रूपमा लिन लिन सक्छन्। जब मानिसहरूले यी सब कुरा तर्कसङ्गत रूपमा गर्छन्, तब तिनीहरूले हासिल गर्ने सबैभन्दा आधारभूत कुरा भनेको सामान्य मानवताको विवेक र समझको शासन स्विकार्न सक्‍नु हो। अझ राम्रो कुरा त, यदि तिनीहरू सत्यता बुझ्छन् भने, तिनीहरूले आफ्‍नो विवेक र समझको आधारमा अझै तर्कसङ्गत रूपमा सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्‍नेछन्, र तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभावको वशमा परेर आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नेछैनन्। तैपनि, यदि नकारात्मक संवेगहरूले तिनीहरूको हृदयमा मुख्य स्थान लिएर त्यसबाट तिनीहरूको विचार, दृष्टिकोण, र विभिन्‍न कुराहरू सम्‍हाल्‍ने र आफ्‍नो आचरण अँगाल्ने तिनीहरूको तौरतरिकामा असर पर्‍यो भने, यी नकारात्मक संवेगहरूले स्वतः तिनीहरूको जीवन प्रगतिमा असर पार्नेछन्, र हर परिस्थितिमा तिनीहरूको सोच, निर्णय, व्यवहार, र शैलीमा रोकावट र बाधा ल्याउनेछन्। एक हिसाबमा, यी नकारात्मकता संवेगहरूले मानिसहरूको भ्रष्ट स्वभावलाई सहजीकरण प्रदान गर्छन्, जसले गर्दा मानिसहरूलाई भ्रष्ट स्वभावमा जिउँदा सहजता र आफू ठीक भएको महसुस हुन्छ; अर्को हिसाबमा, यी कुराहरूले मानिसहरूलाई सकारात्मक कुराहरू विरोध गर्ने र ज्योति हेर्न नचाहने गरी नकारात्मकतामा जिउने तुल्याउन सक्‍छन्। यसरी, मानिसहरूमा नकारात्मक संवेगहरू अझै व्याप्त र चरम बन्छन्, र यी संवेगहरूले मानिसहरूलाई विवेक र समझको सीमामा रही तर्कसङ्गत व्यवहार गर्न कदापि दिँदैनन्। बरु, यी संवेगहरूले मानिसहरूलाई सत्यता खोजी गर्न र परमेश्‍वरसामु जिउनबाट रोक्छन्, र यसरी मानिसहरू प्राकृतिक तवरमै झन्झन् अपभ्रष्ट हुँदै जान्छन्, र नकारात्मक महसुस गर्दै, तिनीहरू परमेश्‍वरबाट झन्झन् टाढा जान्छन्। अनि यस्तै परिस्थिति जारी रह्‍यो भने परिणामहरू के हुन्छन्? यसबाट नकारात्मक संवेगहरूले मानिसहरूको भ्रष्ट स्वभावलाई सुल्झाउनुको साटो सहजीकरण गरिदिन्छन्, जसले गर्दा मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभावअनुसार मामिलाहरू सम्‍हाल्ने र व्यवहार गर्ने गर्दै आफ्‍नै बाटो हिँड्न थाल्छन्। भ्रमित अनि चरम विचार तथा दृष्टिकोणको नियन्त्रणमा परेपछि मानिसहरूले के गर्छन्? के तिनीहरूले मण्डलीको काम बिथोल्नेछैनन् र? के तिनीहरूले नकारात्मकता फैलाउने, र परमेश्‍वर र परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूको आलोचना गर्नेछैनन् र? के तिनीहरूले परमेश्‍वरलाई दोषारोपण र अवज्ञा गर्नेछैनन् र? अवश्यै गर्नेछन्! अन्तिम परिणामहरू यिनै हुन्छन्। मानिसहरूभित्र अनाज्ञाकारीता, असन्तुष्टि, नकारात्मकता, र विरोधजस्ता शैलीहरू पैदा हुन्छन्—यी सबै कुरा नकारात्मक संवेगहरूले मानिसहरूको हृदयमा लामो समयदेखि नियन्त्रण जमाएको कारण आउने परिणामहरू हुन्। हेर त, एउटा सानो नकारात्मक संवेगले—एउटा यस्तो संवेग, जसलाई मानिसहरूले लगभग महसुस नै गर्दैनन्, मानिसहरूले यसको अस्तित्व वा यसले पार्ने असर महसुस गर्न पनि सक्दैनन्—यो एउटा सानो नकारात्मक संवेगले तिनीहरूलाई अझै पछ्याइरहन्छ, मानौँ यो संवेग जन्मँदै आएको हो। यसले मानिसहरूलाई अनेक किसिमको हानि गर्छ, र यसले तँलाई निरन्तर घेरेर राख्‍ने, तर्साएर राख्‍ने, दबाएर राख्‍ने, र बन्धनमा राख्‍ने काम गर्छ, र जसरी तेरो जीवन सधैँ तेरो साथमा हुन्छ, त्यसरी नै यसले तँलाई सधैँ सताइरहेको हुन्छ, तैपनि तँलाई यसबारेमा केही थाहा हुँदैन, र तँ सधैँ यसैमा जिउँछस् र यो यस्तै हो भनेर मान्छस्, अनि यस्तो सोच्छस्, “मानिसहरूले सोच्नुपर्ने यसरी नै हो, यसमा केही गलत छैन, र यो सामान्य कुरा हो। यस्ता सक्रिय विचारहरू कोसँग हुँदैन र? कोसँग केही नकारात्मक संवेगहरू हुँदैन र?” यो नकारात्मक संवेगले तँलाई गरिरहेको हानि तैँले अनुभूत गर्न सक्दैनस्, तर त्यो हानि निकै वास्तविक हुन्छ, र यसले तँलाई अनजानमै तेरो भ्रष्ट स्वभाव प्रकट गर्न, र आफ्‍नो भ्रष्ट स्वभावअनुसार कार्य र व्यवहार गर्न लाउँछ, र अन्त्यमा तैँले सबै कुरा आफ्‍नो भ्रष्ट स्वभावअनुसार नै गर्न थाल्छस्। यसका अन्तिम परिणामहरू के-के हुन्छन् भनेर तैँले कल्‍पना गर्न सक्छस्। ती सबै नकारात्मक र प्रतिकूल हुन्छन्, जसमा कुनै फाइदाजनक र सकारात्मक कुरा हुँदैनन्, मानिसहरूलाई सत्यता प्राप्त गर्न र परमेश्‍वरको स्याबासी पाउन मदत गर्ने कुरा हुनु त परै जाओस्—यी आशाजनक परिणामहरू होइनन्। त्यसकारण, जबसम्‍म व्यक्तिमा नकारात्मक संवेगहरू रहिरहन्छन्, तबसम्‍म हरकिसिमका नकारात्मक सोच र दृष्टिकोणहरूले तिनीहरूको जीवनमा प्रभाव पार्ने र बर्चस्व राख्‍ने गरिरहन्छन्। जबसम्‍म नकारात्मक सोच र दृष्टिकोणहरूले तिनीहरूको जीवनमा प्रभाव पार्ने र बर्चस्व राख्‍ने गरिरहन्छन्, तबसम्‍म तिनीहरूलाई सत्यता खोजी गर्न, सत्यता अभ्यास गर्न, र सत्यता वास्तविकतामा प्रवेश गर्नबाट रोक्‍ने ठूल्ठूला बाधाहरू आइपरिरहनेछन्। त्यसकारण, हामीले यी नकारात्मक संवेगहरूलाई निरन्तर खुलासा र चिरफार गरिरहनुपर्छ, ताकि ती सबैलाई हल गर्न सकियोस्।

हामीले भर्खरै सङ्गति गरेका नकारात्मक संवेगहरूले मानिसहरूमा गम्‍भीर असर र गम्‍भीर हानि गर्छन्, तर अरू पनि नकारात्मक संवेगहरू छन् जसले पनि मानिसहरूलाई त्यसरी नै असर र हानि गर्ने गर्छन्। हामीले अघि नै कुरा गरिसकेका घृणा, रिस, हीनताबोध र डिप्रेसनका नकारात्मक संवेगहरूबाहेक, हैरानी, बेचैनी, र चिन्ताका नकारात्मक संवेगहरू पनि छन्। यी संवेगहरूले पनि मानिसहरूको अन्‍तस्‍करणमा गहिरो जरा गाडेका हुन्छन्, र यी संवेगहरूले मानिसहरूलाई तिनीहरूको जीवनमा, र तिनीहरूको बोलीवचन र व्यवहारमा पछ्याइरहन्छन्। अवश्य नै, जब मानिसहरूको जीवनमा कुनै घटना घट्छ, तब यी कुराहरूले तिनीहरूभित्र पैदा हुने विचार र दृष्टिकोणहरूलाई, साथै तिनीहरूले लिने अडान र हेराइलाई पनि असर पार्छन्। आज, हामी हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूलाई चिरफार र खुलासा गर्नेछौँ, र मानिसहरूलाई आफूभित्र रहेका यी कुराहरू पत्ता लगाउन मदत गर्ने प्रयास गर्नेछौँ। मानिसहरूले आफूभित्रका यी नकारात्मक संवेगहरू पत्ता लगाइसकेपछि, अन्तिम उद्देश्य भनेको तिनीहरूले यी नकारात्मक संवेगहरूलाई पूर्ण रूपमा चिनून्, यी कुरालाई सफाइ गरेर हटाऊन्, यिनको प्रभावमा जिउन छोडून्, र यी नकारात्मक संवेगहरूलाई आफ्‍नो आधार र जग बनाएर जिउन र आफूलाई व्यवहारमा ढाल्न छोडून् भन्‍ने हो। पहिले, हामी “हैरानी, बेचैनी र चिन्ता” भन्‍ने शब्‍दहरूलाई हेरौँ। के यी संवेगहरू व्यक्त गर्ने तरिकाहरू होइनन् र? (हुन्।) हामीले यो विषयमा सङ्गति गर्नुभन्दा पहिले, यसबारेमा मनन गरौँ, ताकि तिमीहरूमा “हैरानी, बेचैनी र चिन्ता” को सबैभन्दा आधारभूत अवधारणा थाहा होस्। तिमीहरूले यी शब्‍दहरूको शाब्दिक बुझाइ प्राप्त गरे पनि, वा शाब्दिक बुझाइभन्दा गहिराइमा गए पनि, तिमीहरूलाई त्यसपछि यी नकारात्मक संवेगहरूको आधारभूत ज्ञान हुनेछ। सुरुमा मलाई भन, विगतमा तिमीहरूलाई के कुराले चिन्तित तुल्याउँथ्यो, वा तिमीहरूलाई सधैँ के कुराबारे हैरानी, बेचैनी र चिन्ता हुन्थ्यो। ती कुराहरू तिमीहरूलाई किच्याउने ठूलो ढुङ्गाजस्तै, वा तिमीहरूलाई सधैँ पछ्याउने र बाँध्‍ने छायाँजस्तै हुन सक्छन्। (परमेश्‍वर, म केही शब्‍द बोल्छु। जब म आफ्‍नो कर्तव्यमा कुनै परिणाम हासिल गर्दिनँ, यो संवेगले निकै तीव्र बन्छ, र मलाई खुलासा गरिएला र निकालिएला, र मेरो भविष्य राम्रो र गन्तव्य सुन्दर होला नहोला भनेर चिन्ता लाग्छ। मैले आफ्‍नो कर्तव्यमा परिणामहरू हासिल गर्दा, मलाई त्यस्तो महसुस हुँदैन, तर मैले यसमा केही समयसम्‍म परिणामहरू हासिल गरिनँ भने, यस्तो संवेग चरम रूपमा प्रकट हुन्छ।) के यो हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूको प्रकटीकरण होइन र? (हो।) ठीक भन्यौ। यस्ता नकारात्मक संवेगहरू मानिसहरूको अन्‍तस्‍करणमा सधैँ लुकेर बसेका हुन्छन्, र यी संवेगहरूले तिनीहरूको विचारलाई निरन्तर प्रभाव पारिरहन्छन्। कुनै खराब कुरा आइपरेको छैन भने मानिसहरूले यस्तो नकारात्मक संवेग महसुस गर्न सक्दैनन्, तैपनि यो एउटा गन्ध, वा कुनै किसिमको ग्याँस, वा विद्युतीय तरङ्गजस्तै हुन्छ। तैँले यसलाई देख्‍न सक्दैनस् र जब तँलाई यसबारे थाहा हुँदैन, तैँले यसलाई महसुससमेत गर्न सक्दैनस्। तैपनि, छैटौँ इन्द्रियले जस्तै तैँले सधैँ आफ्‍नो अन्‍तस्‍करणमा यसको उपस्थिति महसुस गर्न सक्छस्, र तैँले अर्धचेतन रूपमा सधैँ यस्तो विचार र संवेगको अस्तित्व अनुभूत गर्न सक्छस्। उचित समय, उचित स्थान, र उचित प्रसङ्गमा, यस प्रकारको नकारात्मक संवेग अलिअलि गर्दै पैदा हुनेछ, र थोरैथोरै गर्दै देखा पर्नेछ। के यस्तै हुन्छ, होइन र? (हो।) त्यसोभए, अरू के-के कुराले तिमीहरूलाई हैरानी, बेचैनी र चिन्ता दिन्छ? भर्खरै उल्‍लेख गरिएको कुराबाहेक अरू केही छैन? यदि छैन भने, तिमीहरू अत्यन्तै खुसीसाथ अनि कुनै चिन्ता, कुनै बेचैनीविना, अनि कुनै कुराबारे पनि हैरानी महसुस नगरी जिइरहेका हुनुपर्छ—त्यस्तो हो भने, तिमीहरू पक्‍कै पनि स्वतन्त्र व्यक्ति हुनेछौ। के अवस्था यस्तो छ? (छैन।) त्यसोभए, मलाई भन, तिमीहरूको हृदयमा के छ? (मैले आफ्‍नो कर्तव्यमा राम्ररी काम नगर्दा, मलाई सधैँ प्रतिष्ठा र हैसियत गुमाउँछु भन्‍ने चिन्ता हुन्छ, मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई के सोच्छन्, र मेरा अगुवाले मलाई के सोच्छन् भन्‍ने चिन्ता लाग्छ। यसको साथै, जब मैले आफ्‍नो कर्तव्य पूरा गर्न मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गरिरहेको हुन्छु र जब मैले आफ्‍नो भ्रष्ट स्वभाव प्रकट गरिरहन्छु, तब मलाई सधैँ मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै लामो समय भएको भए पनि म परिवर्तन भएको छैनँ, र यस्तै भइरह्यो भने, सायद एक दिन मलाई हटाइनेछ भन्‍ने चिन्ता लाग्छ। यी मभित्र भएका आशङ्काहरू हुन्।) जब तिमीहरूमा यी आशङ्काहरू हुन्छन्, तब के तिमीहरूमा हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरू पैदा हुन्छन्? (हुन्छन्।) त्यसोभए, तिमीहरूमध्ये धेरैजसोले आफ्‍नो कर्तव्य राम्ररी पूरा नगरेका हुनाले, तिमीहरूलाई बेचैनी र चिन्ता हुन्छ, होइन त? (प्रायजसो, मलाई मेरो भविष्य र नियतिको चिन्ता लाग्छ।) आफ्‍नो भविष्य र नियतिबारे चिन्ता गर्नु सबैभन्दा मुख्य समस्या हो। जब मानिसहरूले परमेश्‍वरले योजनाबद्ध गर्नुभएका वातावरण र उहाँको सार्वभौमिकता स्पष्ट देख्‍न, बुझ्‍न, स्विकार्न वा त्यसमा समर्पित हुन सक्दैनन्, र जब मानिसहरूले आफ्‍नो दैनिक जीवनमा विभिन्‍न कठिनाइ सामना गर्छन्, वा जब यी कठिनाइहरू सामान्य मानिसहरूले सहन सक्‍नेभन्दा बढी हुन्छन्, तब तिनीहरूलाई अर्धचेतन रूपमै हरकिसिमको चिन्ता र बेचैनी हुन्छ, र हैरानीसमेत हुन्छ। भोलि वा पर्सिको दिन कस्तो हुनेछ, वा केही वर्षको अवधिमा अवस्था कस्तो हुनेछ, वा तिनीहरूको भविष्य कस्तो हुनेछ भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, त्यसकारण तिनीहरूलाई हरेक कुराबारे हैरानी, बेचैनी र चिन्ता महसुस हुन्छ। कुन प्रसङ्गमा मानिसहरूले हरकिसिमका कुराहरूप्रति हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास नगर्ने हुनाले यस्तो हुन्छ—अर्थात्, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्न र यसलाई भित्रसम्म देख्‍न नबुझ्ने हुनाले यस्तो हुन्छ। तिनीहरूले यो कुरालाई आफ्‍नै आँखाले देखे पनि यसलाई बुझ्दैनन् वा विश्‍वास गर्दैनन्। तिनीहरूलाई परमेश्‍वरले तिनीहरूको भाग्यमाथि सार्वभौमिकता राख्‍नुहुन्छ, र तिनीहरूको जीवन परमेश्‍वरको हातमा छ भन्‍ने कुरामा विश्‍वास लाग्दैन, त्यसकारण परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति तिनीहरूको हृदयमा शङ्का उत्पन्‍न हुन्छ, र त्यसपछि दोषारोपण पैदा हुन्छ, र तिनीहरू समर्पित हुन सक्दैनन्। दोषारोपण गर्ने र समर्पित हुन नसक्‍नेबाहेक, तिनीहरू आफ्‍नै जीवनको मालिक बन्‍न र आफ्‍नै अग्रसरतामा काम गर्नसमेत चाहन्छन्। तिनीहरूले आफ्‍नै अग्रसरतामा काम गर्न थालेपछि वास्तविक अवस्था के हुन्छ? तिनीहरूले आफ्‍नै क्षमता र सामर्थ्यमा भर परेर जिउनेबाहेक केही गर्न सक्दैनन्, तर तिनीहरूले आफ्‍नै क्षमता र सामर्थ्यताले हासिल गर्न, वा पहुँच प्राप्त गर्न, वा पूरा गर्न नसक्‍ने धेरै कुराहरू छन्। उदाहरणको लागि: भविष्यमा तिनीहरूलाई के हुनेछ, तिनीहरूले कलेजमा प्रवेश पाउन सक्छन् कि सक्दैनन्, कलेज सकेपछि तिनीहरूले राम्रो जागिर पाउँछन् कि पाउँदैनन्, र जागिर पाएपछि तिनीहरूको लागि सबै कुरा राम्रो हुन्छ कि हुँदैन; अनि यदि तिनीहरू संघर्ष गरेर धनी बन्‍न चाहन्छन् भने, तिनीहरूले आफूले सोचेका कुरा र इच्छाहरू केही वर्षभित्रमा हासिल गर्न सक्छन् कि सक्दैनन्; र त्यसपछि जब तिनीहरूले जीवनसाथी खोजेर विवाह गरी एउटा परिवार सुरु गर्न चाहन्छन्, तिनीहरूको लागि कस्तो जीवनसाथी उचित हुन्छ होला? मान्छेको लागि, यस्ता कुराहरू अज्ञात हुन्छन्। अनि यस्ता कुराहरु अज्ञात रहेपछि, मानिसहरू अन्योलमा पर्छन्। जब मानिसहरूलाई आफू अन्योलमा परेको महसुस हुन्छ, तब तिनीहरू हैरान, बेचैन, र चिन्तित हुन्छन्—भविष्यमा तिनीहरूको जीवनमा आइपर्ने हरेक कुराबारे तिनीहरू हैरान, बेचैन र चिन्तित हुन्छन्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने, सामान्य मानवताको दायराभित्र, मानिसहरूले यी सब कुराहरू सहन सक्दैनन्। केही वर्षको अवधिमा तिनीहरू कस्ता हुनेछन्, तिनीहरूको जागिर, वा विवाह, वा छोराछोरी कस्ता हुनेछन् कसैलाई थाहा हुँदैन—मानिसहरूलाई यी कुराहरू कति पनि थाहै हुँदैन। यी कुराहरू सामान्य मानवताका क्षमताहरूको दायरामा रहेर जान्‍न सकिँदैन, त्यसकारण यी कुराहरूबारे मानिसहरूले सधैँ हैरानी, बेचैनी, र चिन्ता महसुस गर्छन्। व्यक्तिको मनमस्तिष्क जति सरल भए पनि, जबसम्म उसले सोच्‍न सक्छ, तबसम्म ऊ वयस्क बनेपछि उसको अन्‍तस्‍करणमा यी नकारात्मक संवेगहरू एकएक गरी पैदा भइहाल्छन्। अनि, मानिसहरूमा किन हैरानी, बेचैनी र चिन्ता पैदा हुन्छ? किनभने आफ्‍नो क्षमताभन्दा बाहिरका कुराहरूप्रति मानिसहरू सधैँ चिन्तित हुन्छन् र अत्तालिन्छन्; तिनीहरू सधैँ आफ्‍नो क्षमताभन्दा बाहिरका कुराहरू जान्‍न, बुझ्‍न, र हासिल गर्न चाहन्छन्, र तिनीहरू सामान्य मानवताको क्षमताको दायराभन्दा बाहिरका कुराहरूमाथि नियन्त्रणसमेत गर्न चाहन्छन्। तिनीहरू यो सब कुरा नियन्त्रण गर्न चाहन्छन्, र त्यति मात्र होइन, तिनीहरू यी कुराहरूको विकासका नियम र परिणामहरू तिनीहरूका आफ्‍नै इच्छाअनुसार अघि बढून् र पूरा होऊन् भन्‍नेसमेत चाहन्छन्। त्यसकारण, यस्ता तर्कहीन विचारको प्रभुत्‍वमा परेर, मानिसहरूले हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्, र यी संवेगहरूका परिणामहरू व्यक्ति-व्यक्तिअनुसार फरकफरक हुन्छन्। मानिसहरूले जुनसुकै कुराबारे चरम रूपमा हैरानी, बेचैनी वा चिन्ता महसुस गरेर यी नकारात्मक संवेगहरू पैदा गरे पनि, तिनीहरूले यी कुराहरूलाई गम्‍भीर रूपमा लिनुपर्छ र यी कुरा समाधान गर्न सत्यता खोजी गर्नुपर्छ।

हामी हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूको विषयमा मुख्य रूपमा दुई पक्षबाट सङ्गति गर्नेछौँ: सुरुमा ती संवेगहरू वास्तवमा के हुन् भनेर चिन्‍न नसक्‍ने मानिसहरूको कठिनाइबारे चिरफार गर्नेछौँ, र त्यसपछि हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरू पैदा हुनुका खास कारणहरू के हुन्, र वास्तवमा ती कसरी पैदा हुन्छन् भनेर हेर्नेछौँ; दोस्रोमा हामी परमेश्‍वरको कामप्रति मानिसहरूमा रहने विभिन्‍न प्रकारका मनोवृत्तिहरूको हिसाबबाट हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरू चिरफार गर्नेछौँ। कुरो बुझ्यौ? (बुझ्यौँ।) कति वटा पक्षहरू छन् रे? (दुई वटा।) सुरुमा हामी मानिसहरूमा हुने कठिनाइहरूलाई ध्यानमा राखेर हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरू पैदा हुनुका कारणहरू चिरफार गर्नेछौँ, अनि दोस्रोमा, परमेश्‍वरको कामप्रति मानिसहरूमा हुने मनोवृत्तिहरूलाई ध्यानमा राखेर त्यसो गर्नेछौँ। मैले भनेको कुरा भन त। (सुरुमा हामी मानिसहरूमा हुने कठिनाइहरूलाई ध्यानमा राखेर हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरू पैदा हुनुका कारणहरू चिरफार गर्नेछौँ, अनि दोस्रोमा, परमेश्‍वरको कामप्रति मानिसहरूमा हुने मनोवृत्तिहरूलाई ध्यानमा राखेर त्यसो गर्नेछौँ।) मानिसहरूले आफ्‍नो दैनिक जीवनमा सामना गर्ने कठिनाइहरू, सामान्य मानवतामा जिउनुको दायराभित्रबाटै प्राय पैदा हुने कठिनाइहरू धेरै हुन सक्छन्। अनि यी कठिनाइहरू कसरी आउँछन्? तिनीहरूले सधैँ आफूले सक्‍नेभन्‍दा धेरै प्रयास गरिरहेका हुन्छन्, सधैँ आफ्‍नै भाग्य नियन्त्रण गर्ने, आफ्‍नो भविष्यबारे पहिले नै जान्‍ने प्रयास गरिरहेका हुन्छन्, त्यसकारण यी कठिनाइहरू आउँछन्। यदि तिनीहरूको भविष्य राम्रो देखिएन भने, तिनीहरूले यसलाई सुधार्न र सच्याउनको लागि तुरुन्तै हात वा भाग्य हेर्ने व्यक्ति खोज्‍न जान्छन्। त्यसकारण मानिसहरूले आफ्‍नो दैनिक जीवनमा कैयौँ कठिनाइहरू सामना गर्छन्, र यिनै कठिनाइहरूले मानिसहरूलाई हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूमा डुबाउँछन्। यी कठिनाइहरू के हुन्? सुरुमा हामी मानिसहरूले कुन कुरालाई आफ्‍नो सबैभन्दा ठूलो कठिनाइको रूपमा लिन्छन् त्यो हेरौँ—त्यो के हो? यो तिनीहरूको भावी सम्भाव्यताहरू हुन्, अर्थात् यो जीवनकालमा व्यक्तिको भविष्य कस्तो हुनेछ, भविष्यमा तिनीहरू धनी हुनेछन् कि साधारण हुनेछन्, तिनीहरू भीडभन्दा माथि उठ्नेछन् कि छैनन्, तिनीहरूलाई ठूलो सफलता मिल्नेछ कि छैन, र तिनीहरू संसार र मानिसहरूमाझ सम्पन्‍न हुन्छन् कि हुँदैनन् भन्‍ने कुराहरू हुन्। विशेष गरी परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई भविष्यमा अरूको जीवनमा के हुनेछ भन्‍ने थाहा नहुन सक्छ, तर तिनीहरू प्राय आफ्नो भविष्यबारे चिन्ता गरिरहन्छन् र सधैँ यस्तो सोच्छन्, “के परमेश्‍वरमा विश्‍वास गरेर पाउने यति नै हो त? के भविष्यमा मैले कहिल्यै भीडभन्दा माथि उठ्न पाउनेछु? के मैले परमेश्‍वरको घरमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्‍नेछु? के म टोली अगुवा वा इन्‍चार्ज बन्‍न सक्‍नेछु? के म अगुवा बन्‍न सक्‍नेछु? मेरो जीवनमा के हुनेवाला छ? यदि मैले परमेश्‍वरको घरमा सधैँ यसरी नै निरन्तर कर्तव्य पूरा गरिरहेँ भने, अन्त्यमा म के हुनेछु? के मैले मुक्ति पाउनेछु? के मेरा कुनै भावी सम्‍भाव्यताहरू छन्? के मैले संसारमा कुनै जागिर पनि निरन्तर गरिरहनुपर्छ? के मैले पहिले सिकिरहेको व्यावसायिक सीप अध्ययन गरिरहनुपर्ने हो कि यसलाई अघि बढाएर थप शिक्षा लिनुपर्ने हो? यदि मैले पूर्णकालीन रूपमा परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गरिरहेँ भने, मलाई मेरो जीवनका आधारभूत आवश्यकताहरूमा कुनै समस्या हुनेछैन, तर यदि मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिनँ र मलाई स्थानान्तर र प्रतिस्थान गरियो भने, म कसरी बाँच्‍नेछु? के मैले प्रतिस्थापित वा निष्कासित हुनुभन्दा पहिले त्यो अन्तिम परिणामको लागि तयार रहन अहिले नै मौकाको फाइदा लिनुपर्छ कि?” तिनीहरूले यी कुराहरूबारे विचार गर्छन् र आफूसँग केही बचत रहेको देख्छन्, र सोच्छन्, “मैले बचत गरेको पैसाले म कति वर्ष बाँच्‍न सक्छु? म अहिले मेरो तीसको दशकमा छु, र दश वर्षपछि म मेरो चालिसको दशकमा हुनेछु। यदि मलाई मण्डलीबाट निकालियो भने, के मैले संसारमा फर्केर आउँदा परिस्थिति सामना गर्न सक्‍नेछु? के मलाई काम गरिरहन स्वास्थ्यले साथ दिनेछ? के जिउनको लागि मैले पर्याप्त कमाउन सक्छु? के मलाई बाँच्‍न गाह्रो हुनेछ? म परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्छु, तर के परमेश्‍वरले मलाई अन्त्यसम्‍मै राख्‍नुहुनेछ?” तिनीहरूले यी कुराहरूबारे सधैँ विचार गरे पनि, तिनीहरूले उत्तर कहिल्यै पाउँदैनन्। कहिल्यै कुनै निष्कर्ष ननिस्किए पनि, तर तिनीहरू यी कुराहरूबारे विचार नगरी बस्‍न सक्दैनन्—यो तिनीहरूको नियन्त्रणभन्दा बाहिर हुन्छ। जब तिनीहरूले केही हण्डर वा कठिनाइ सामना गर्छन्, वा जब कुनै कुरा तिनीहरूले भनेजस्तो हुँदैन, अन्‍तस्‍करणमा तिनीहरूले कसैलाई नभनी यी कुराहरूबारे विचार गर्छन्। जब कतिपय मानिसहरूलाई काटछाँट र निराकरण गरिन्छ, जब तिनीहरूलाई तिनीहरूको कर्तव्यबाट प्रतिस्थापन गरिन्छ, जब तिनीहरूलाई फरक कर्तव्यमा स्थानान्तर गरिन्छ, वा जब तिनीहरूले कुनै संकष्ट वा अन्य कुनै कुरा सामना गर्छन्, तब तिनीहरूले थाहै नपाई पछि हट्ने बाटो खोज्छन् र आफ्‍नो अर्को कदमको लागि योजना र युक्तिहरू बनाउँछन्। अन्त्यमा जे भए पनि, मानिसहरूले जुन कुराबारे चिन्ता, बेचैनी, र हैरानी महसुस गर्छन् त्यसबारे योजना र युक्तिहरू बनाउँछन्। के यी कुराहरू मानिसहरूले आफ्‍नै भावी सम्‍भाव्यताहरूबारे सोच्‍ने कुराहरू होइनन् र? के मानिसहरूले आफ्ना भावी सम्‍भाव्यताहरू त्याग्‍न नसक्‍ने हुनाले यी नकारात्मक संवेगहरू पैदा हुँदैनन् र? (हजुर, हो।) मानिसहरूले अत्यन्तै उत्साहित महसुस गरिरहेको बेला र तिनीहरूको कर्तव्यमा सबै कुरा सहज रूपमा अघि बढिरहेको बेला, र विशेष गरी तिनीहरूले बढुवा पाइरहेको बेला, तिनीहरूलाई महत्त्वपूर्ण कामहरू दिइँदा, तिनीहरूले धेरैजसो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको साथ पाउँदा, र तिनीहरूको मूल्य छ है भन्‍ने कुरा प्रतिबिम्बित हुँदा, तिनीहरूले यी नकारात्मक संवेगहरू आउँदैनन्। तर आफ्नो प्रतिष्ठा, हैसियत, र हितहरूमा चुनौती देख्‍नेबित्तिकै, तिनीहरू हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूमा फर्केर जान्छन्। जब तिनीहरू यी नकारात्मक संवेगहरूमा फर्केर जान्छन्, तब यी नकारात्मक संवेगहरूबाट भाग्‍ने वा यिनलाई इन्कार्ने गर्दैनन्, बरु तिनीहरूले यी कुराहरूलाई नै जगेर्ना गर्छन्, र हैरानी, बेचैनी र चिन्ताका यी संवेगहरूमा डुब्‍नकै लागि, र यी कुराहरूको गहिराइमा जानकै लागि जोड गर्न खोज्छन्। मैले किन यसो भन्दै छु? जब मानिसहरू यी नकारात्मक संवेगहरूको गहिराइमा डुब्छन्, तब तिनीहरूसँग अझै धेरै कारण, अझै धेरै बहाना हुन्छ, र तिनीहरूले आफ्‍नो भविष्य र आगामी कदमहरूको लागि अझै स्वतन्त्र रूपमा योजना बनाउन सक्छन्। जब तिनीहरूले यी योजनाहरू बनाइरहेका हुन्छन्, तब तिनीहरूले यो कुरा यस्तै हो, तिनीहरूले यसरी नै काम गरिरहेको हुनुपर्ने हो भन्‍ने सोच्छन्, र तिनीहरूले “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ, र “जसले भविष्यको योजना बनाउँदैन, उसको समस्या हातैमा हुन्छ” भन्‍ने अर्को भनाइको प्रयोग गर्छन्, अर्थात्, यदि तैँले आफ्नो भविष्य र भाग्यको लागि अग्रिम रूपमा योजना बनाइनस् र त्यसबारे सोचिनस् भने, त्यसबारे कसैले पनि तेरो लागि चिन्ता गरिदिनेछैन, र कसैले पनि तेरो लागि त्यसबारे वास्ता गरिदिनेछैन। जब तँलाई तेरो अर्को कदम कसरी लिने भन्‍ने थाहा हुँदैन, तब तँलाई अनौठो लाग्‍नेछ, पीडा, र सरम हुनेछ, र कठिनाइ भोग्‍ने र सहने तँ नै हुनेछस्। त्यसकारण, मानिसहरूले आफूलाई अत्यन्तै बाठो ठान्छन्, र एक कदम लिनुभन्दा पहिले हरेकपटक दश कदमअगाडिको कुरा विचार गर्छन्। अनि, तिनीहरूले कुनै कठिनाइ वा निराशा सामना गर्नेबित्तिकै, आफूलाई रक्षा गर्न, आफ्‍नो भविष्य र जीवनको अर्को कदम सुरक्षित पार्न, खान-लाउन सुनिश्‍चित गर्न, सडकमा भौँतारिन नपरोस्, र खान-लाउन कम नहोस् भनेर सुनिश्‍चित गर्न, तिनीहरू तुरुन्तै हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूमा फर्किहाल्छन्। त्यसकारण, यी नकारात्मक संवेगहरूको प्रभावमा परेर, तिनीहरूले यस्तो सोच्दै आफूलाई बारम्बार चेतावनी दिन्छन्, “मैले अग्रिम रूपमा योजना बनाउनैपर्छ, केही कुरा आफ्‍नो लागि लुकाएर राख्‍नैपर्छ, र पछि हट्ने पर्याप्त बाटो छोड्नैपर्छ। मैले मूर्ख हुनु हुँदैन—मेरो भाग्य मेरै हातमा छ। मानिसहरूले प्रायजसो ‘हाम्रो भाग्य परमेश्‍वरको हातमा छ, र परमेश्‍वरले मानिसको भाग्यमाथि सार्वभौमिकता राख्‍नुहुन्छ’ भनेर भन्‍ने गर्छन्, तर त्यो झूटो वाचा मात्रै हो। कसले चाहिँ वास्तवमा यो कुरा देखेको छ र? परमेश्‍वरले कसरी हाम्रो भाग्यमाथि सार्वभौमिकता राख्‍नुहुन्छ र? परमेश्‍वरले कसैको लागि दिनको तीन छाक खाना बन्दोबस्त गर्नुभएको, वा तिनीहरूलाई जीवनमा चाहिने सबै कुरा मिलाइदिनुभएको वास्तवमा कसले देखेको छ र? कसैले नि देखेको छैन।” मानिसहरूले के विश्‍वास गर्छन् भने, जब तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता देख्दैनन्, र जब तिनीहरूलाई आफ्‍नो भावी सम्‍भाव्यताप्रति हैरानी, बेचैनी र चिन्ता महसुस हुन्छ, तब यी नकारात्मक संवेगहरू तिनीहरूको लागि सुरक्षा, रक्षा कवच, र आश्रय स्थल बन्छन्। तिनीहरूले बारम्बार आफैलाई सचेत र स्मरण गराउँदै भनिरहन्छन् कि तिनीहरूले भविष्यको लागि योजनाहरू बनाउनुपर्छ, तिनीहरूले भोलिको बारेमा चिन्ता गर्नुपर्छ, र दिनभरि खाएर हात बाँधेर मात्र बस्‍नु हुँदैन; आफ्‍नो लागि योजना बनाउनु, आफ्‍नो लागि उम्कने बाटो बनाउनु, र आफ्‍नो भविष्यको लागि दिनरात काम गर्नु कुनै गलत हुँदैन। तिनीहरूले यो पनि भनिरहन्छन् कि यो पूर्ण रूपमा स्वाभाविक र जायज कुरा हो र यसमा लाज मान्‍नुपर्ने कुनै कुरा नै छैन। त्यसकारण, मानिसहरूले हैरानी, बेचैनी र चिन्तालाई नकारात्मक संवेगहरू हुन् भनी विश्‍वास गरे पनि, तिनीहरूले कहिल्यै पनि ती कुराहरू महसुस गर्नु खराब कुरा हो भनेर सोच्दैनन्, र तिनीहरूले यी नकारात्मक संवेगहरूले तिनीहरूलाई कुनै न कुनै तरिकाले हानि गरिरहेका हुन्छन्, र सत्यता खोजी गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने कार्यको निम्ती ती बाधा बन्‍न सक्छन् भनेर कहिल्यै विचार गर्दैनन्। बरु, तिनीहरूले अथक रूपमा यी कुराहरूमै आनन्द लिइराख्‍छन्, र स्वेच्छाले र अथक रूपमा यी नकरात्मक संवेगहरूमै जिइरहन्छन्। यस्तो किन हुन्छ भने यी नकारात्मक संवेगहरूमा जिएर अनि आफ्‍नो भावी सम्‍भाव्यताप्रति सधैँ हैरानी, बेचैनी र चिन्ता महसुस गरेर तिनीहरू सुरक्षित हुन सक्छन् भन्‍ने तिनीहरूलाई विश्‍वास हुन्छ। अन्यथा, तिनीहरूको भविष्यको लागि कसले हैरानी, बेचैनी र चिन्ता महसुस गरिदिन्छन् र? कसैले गरिदिँदैनन्। तिनीहरूले आफूलाई जति प्रेम गर्छन्, अरू कसैले तिनीहरूलाई त्यति प्रेम गर्दैनन्, तिनीहरूले आफूलाई जति बुझ्छन्, वा जान्दछन् त्यति अरूले बुझ्दैनन् वा जान्दैनन्। त्यसकारण, मानिसहरूले यस्ता नकारात्मक संवेगहरू आफ्नो लागि हानिकारक हुन्छन् भन्‍ने कुरा केही निश्‍चित हदसम्‍म र शाब्दिक र धर्मसैद्धान्तिक रूपमा बुझे पनि, तिनीहरू यस्ता नकारात्मक संवेगहरू त्याग्‍न इच्छुक हुँदैनन् किनभने यी नकारात्मक संवेगहरूले तिनीहरूलाई आफ्नो भविष्यमाथि पकड र नियन्त्रण जमाउने अग्रसरता आफ्नै हातमा लिने मौका दिन्छन्। के यसो भन्‍नु सही हुन्छ? (हुन्छ।) त्यसकारण, मानिसहरूको नजरमा तिनीहरूले आफ्‍नो भविष्यको लागि चिन्ता, बेचैनी र हैरानी महसुस गर्नु अत्यन्तै ठूलो जिम्‍मेवारीको कुरा हो। यो लाजमर्दो कुरा, दयनीय, घृणास्पद कुरा होइन, तिनीहरूको लागि यो त हुनैपर्ने स्वाभाविक कुरा हो। त्यसकारण, मानिसहरूलाई यी नकारात्मक संवेगहरू त्याग्‍न साह्रै गाह्रो हुन्छ, मानौँ तिनीहरूमा यी कुराहरू जन्मजातै आएका हुन्। मानिसहरूले आफ्‍नो जन्‍मदेखि सधैँ सोच्‍ने भनेकै आफ्‍नै बारेमा हो, र तिनीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्‍नै भावी सम्‍भाव्यता हो। तिनीहरूले के सोच्छन् भने, यदि तिनीहरूले आफ्‍नो भविष्यलाई दह्रिलो गरी पकडमा लिएर यसलाई हेरिरहने हो भने, तिनीहरूले चिन्तारहित जीवन जिउन पाउनेछन्। राम्रो भावी सम्‍भाव्यता छ भने, तिनीहरूलाई आफूले चाहेको सबै पाउनेछन्, र तिनीहरू धनी हुनेछन् भन्‍ने लाग्छ। त्यसकारण, त्यसकारण आफ्‍नो भविष्यबारे बारम्‍बार हैरान, बेचैन र चिन्तित हुन मानिसहरूलाई कहिल्यै दिक्‍क लाग्दैन। परमेश्‍वरले तिनीहरूलाई उहाँको प्रतिज्ञा दिनुभएको भए पनि, मानिसहरूले परमेश्‍वरबाट धेरै अनुग्रह उपभोग गरेका वा पाएका भए पनि, परमेश्‍वरले मानवजातिलाई हरप्रकारका आशिष्‌हरू दिनुभएको र अरू यस्तै तथ्यहरू तिनीहरूले देखेका भए पनि, मानिसहरू अझै पनि हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूमा जिउन, र आफ्‍नो भविष्यबारे योजना र युक्तिहरू बनाइरहन चाहन्छन्।

भावी सम्‍भाव्यताबाहेक, एउटा अर्को महत्त्वपूर्ण कुरा पनि छ, जसबारे मानिसहरू प्रायजसो हैरानी, बेचैनी र चिन्ता महसुस गरिरहन्छन्, र त्यो विवाह हो। कतिपय मानिसहरूले यसबारे चिन्ता गर्दैनन् र आफ्‍नो तीसको दशकसम्म अविवाहित नै रहे पनि तिनीहरूलाई चिन्ता लाग्दैन, किनभने अहिले आफ्नो तीसको दशकमा रहेका धेरै मानिसहरू छन् जसले विवाह गरेका छैनन्। यो प्रायजसो समाजमा देखिने कुरा हो, र यसको लागि कसैले तँलाई हाँसोमा उडाउँदैन, र तँमा केही गडबडी छ भनेर कसैले भन्दैन। तैपनि, यदि कुनै व्यक्तिले चालीसको दशकमा पुग्दा पनि विवाह गरेको छैन भने, ऊ भित्री मनमा आत्तिन थाल्छ, र उसले सोच्छ, “मैले जीवनसाथी खोज्‍ने कि नखोज्‍ने? मैले विवाह गर्ने कि नगर्ने? यदि मैले विवाह गरेर परिवार बनाइनँ भने, र यदि मेरो कुनै बालबच्‍चा छैन भने, म बूढो भएपछि मलाई हेरचाह गर्ने को हुनेछ? म बिरामी हुँदा कसले मेरो हेरचाह गर्नेछ? म मर्दा मेरो अन्त्येष्टि गर्ने को हुनेछ?” मानिसहरू यी कुराहरूबारे चिन्ता गर्छन्। विवाह गर्न योजना नबनाएका मानिसहरूलाई त्यति धेरै हैरानी, बेचैनी वा चिन्ता हुँदैन। उदाहरणको लागि, कतिपय मानिसहरू भन्छन्, “अहिले म परमेश्‍वरमा विश्‍वास गर्छु, र म आफूलाई परमेश्‍वरको लागि समर्पित गर्न तयार छु। म जीवनसाथी खोज्‍नेछैनँ, र म विवाह गर्नेछैनँ। म जति बूढो भए पनि यस्ता कुराहरूद्वारा हैरान हुनेछैनँ।” १०-२० वर्षदेखि अविवाहित रहेका, २० देखि ४० वर्षसम्‍म बिहे नगरेका अविवाहित मानिसहरूलाई कुनै ठूलो चिन्ता हुँदैन। तिनीहरूले वातावरणीय तत्वहरू वा वस्तुगत कारणहरूले गर्दा कहिलेकहीँ थोरै चिन्ता र हैरानी महसुस गर्ने भए पनि, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य पूरा गर्न व्यस्त रहने हुनाले, र तिनीहरूको वर्तमान सङ्कल्प परिवर्तन नभएको हुनाले, तिनीहरूले महसुस गर्ने चिन्ता अस्पष्ट हुन्छ र यो कहिलेकहीँ मात्रै पैदा हुन्छ, र यो ठूलो कुरा हुँदैन। सामान्य रूपमा कर्तव्य पूरा गर्नमा हानि नगर्ने यस्तो संवेग मानिसहरूको लागि हानिकारक हुँदैन, न त यसलाई नकारात्मक संवेगको रूपमा नै लिन सकिन्छ, अर्थात् यो कुरा तेरो लागि नकारात्मक संवेगमा परिणत भएको हुँदैन। पहिले नै विवाह गरिसकेका मानिसहरूको हकमा कुरा गर्दा, तिनीहरूले के कुराको चिन्ता गर्छन्? यदि श्रीमान-श्रीमती दुवैले परमेश्‍वरमा विश्‍वास गर्छन् र आफ्‍नो कर्तव्य पूरा गर्छन् भने, के यो विवाह कायम रहनेछ? के यो परिवार अस्तित्वमा रहनेछ? अनि छोराछोरीको कुरो के हुन्छ? यसअलावा, यदि दुई जनामध्ये एक जनाले सत्यता खोजी गर्छ र अर्कोले गर्दैन भने, र यदि सत्यता खोजी नगर्ने त्यो व्यक्ति सधैँ संसारको पछि लाग्छ, धनी जीवनको पछि लाग्छ, र सत्यता खोजी गर्नेचाहिँ सधैँ आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ, जबकि सत्यता खोजी नगर्नेले सधैँ आफ्‍नो जाहानलाई रोक्‍ने प्रयास गर्छ तर लाज्‍जित महसुस गरेर कहिलेकहीँ मात्र केही गुनासो गर्छ वा आफ्‍नो जाहानलाई हतोत्साहित गर्न केही नकारात्मक कुराहरू भन्छ भने, सत्यता खोजी गर्नेचाहिँले यसो भनेर सोच्छ, “अहो, मेरो श्रीमान्‌ले साँच्‍चै परमेश्‍वरमा विश्‍वास गर्नुहुन्‍न, त्यसकारण भविष्यमा हाम्रो सम्‍बन्ध के होला? यदि हामीले डिभोर्स गर्‍यौँ भने, म एकलो हुनेछु र मैले रोजीरोटी कायम राख्‍न सक्‍नेछैनँ। यदि म उहाँसँगै बसेँ भने, हाम्रो बाटो एउटै हुनेछैन, हामीले फरकफरक सपना लिएर हिँडिरहेका हुनेछौँ, त्यसपछि हामीले के गछौँ होला?” तिनीहरूलाई यी कुराहरूबारे हैरानी, बेचैनी र चिन्ता हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, कतिपय दिदीबहिनीहरूलाई विश्‍वास हुन्छ कि तिनीहरूको श्रीमान्‌ले परमेश्‍वरमा विश्‍वास नगरे पनि, उसले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा बाधा दिन धेरै प्रयास गर्दैन, र तिनीहरूलाई सतावट हुँदैन, त्यसकारण तिनीहरूले डिभोर्स गर्नुपर्ने कुनै कारण छैन। तैपनि, तिनीहरू साँगै बसे भने, तिनीहरूलाई सधैँ बन्धन र प्रभावमा परेको महसुस हुन्छ। तिनीहरू के कुराको प्रभावमा परेका हुन्छन्? तिनीहरू आफ्‍नो आत्मीयताको बन्धन र प्रभावमा परेका हुन्छन्, अनि पारिवारिक जीवन र विवाह सम्‍बन्धमा आइपर्ने विभिन्‍न कठिनाइहरूले बेलाबेलामा तिनीहरूको हृदयको गहिराइमा खैलाबैला मच्चाउँछन्, जसले गर्दा तिनीहरूले एक किसिमको हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन् जुन ठूलो पनि हुँदैन सानो पनि हुँदैन। त्यस्ता परिस्‍थितिहरूमा, विवाह एउटा औपचारिकता मात्रै हुन्छ जसले सामान्य पारिवारिक जीवन कायम राख्छ, र यसले श्रीमतीहरूकोको सामान्य सोच, तिनीहरूको सामान्य जीवन, र तिनीहरूको कर्तव्यपालनलाई समेत बन्धनमा पार्छ—तिनीहरूलाई वैवाहिक जीवन अघि बढाइरहन गाह्रो हुन्छ, तर तिनीहरूले आफूलाई यसबाट मुक्त गर्न सक्दैनन्। यस्तो वैवाहिक सम्‍बन्ध अघि बढाइरहनुको कुनै खास कारण हुँदैन, न त तिनीहरूले डिभोर्स गर्नुपर्ने कुनै खास कारण नै हुन्छ; यी दुईमध्ये कुनै निर्णय गर्नको लागि पनि पर्याप्त कारण हुँदैन। तिनीहरूलाई सही निर्णय के हो, र गलत निर्णय के हो भन्‍ने नै थाहा हुँदैन। त्यसकारण, तिनीहरूमा हैरानी, बेचैनी र चिन्ता पैदा हुन्छन्। हैरानी, बेचैनी र चिन्ताका यी भावनाहरू तिनीहरूको मनमा निरन्तर मडारिरहेका हुन्छन् र यी कुराहरूले दैनिक जीवनमा तिनीहरूलाई बाँधिरहेका, र तिनीहरूको सामान्य जीवनलाई पनि असर पारिरहेका हुन्छन्। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, यी कुराहरू सधैँ तिनीहरूको मनमा खेलिरहेका हुन्छन् र तिनीहरूको अन्‍तस्‍करणमै पैदा भइरहेका हुन्छन्, अनि यी कुराहरूले तिनीहरूलाई सामान्य रूपमा कर्तव्य पूरा गर्नमा असर गरिरहेका हुन्छन्। यी कुराहरू यी श्रीमतीहरूले के गर्नुपर्छ वा कुन निर्णय लिनुपर्छ भन्‍नेबारेमा स्पष्ट निर्देशन हुन् जस्तो नलागे पनि, यी कुराहरूले तिनीहरूलाई हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूको गहिराइमा डुबाउँछन्, जसले गर्दा तिनीहरूलाई दमन र बन्धनमा परेको महसुस हुन्छ। के यो अर्को किसिमको कठिनाइ होइन र? (हो।) यो अर्को प्रकारको कठिनाइ हो, यो वैवाहिक सम्‍बन्धले ल्याएको कठिनाइ हो।

कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, मण्डली जीवन जिउने, परमेश्‍वरका वचनहरू पढ्ने, र आफ्‍नो कर्तव्य पूरा गर्ने हुनाले, तिनीहरूसँग आफ्‍ना अविश्‍वासी छोराछोरी, श्रीमती (वा श्रीमान), आमाबुबा, वा आफ्‍ना साथीभाइ र आफन्तहरूसँग सामान्य रूपमा उठबस गर्ने कुनै समय हुँदैन। खास गरी, तिनीहरूले आफ्‍ना अविश्‍वासी छोराछोरीलाई राम्ररी हेरचाह गर्ने, वा तिनीहरूका बालबच्‍चाको लागि गर्नुपर्ने कुराहरू गर्न सक्दैनन्, त्यसकारण तिनीहरूले आफ्‍ना छोराछोरीको भविष्य र सम्‍भाव्यताबारे चिन्ता गर्छन्। विशेष गरी आफ्‍ना बालबच्‍चा बढेपछि, कतिपय मानिसहरूले यसो भन्दै चिन्ता गर्न थाल्छन्: मेरा बच्‍चाहरूले कलेज पढ्न पाउलान् नपाउलान्? तिनीहरू कलेजमा प्रवेश गर्न पाए भने, तिनीहरूको मुख्य विषय के हुने होला? मेरो छोराछोरीले परमेश्‍वरमा विश्‍वास गर्दैन्न र कलेज पढ्न चाहन्छन्, त्यसकारण परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा मैले तिनीहरूको अध्ययनको लागि खर्च गर्नुपर्ला नपर्ला? मैले तिनीहरूको दैनिक खाँचो पूरा गर्नुपर्ला नपर्ला र तिनीहरूको अध्ययनमा सहयोग गर्नुपर्ला नपर्ला? अनि जब तिनीहरूको विवाह गर्ने, जागिर खोज्‍ने, र आफ्‍नै घर बसाएर छोराछोरी जन्‍माउने उमेर हुन्छ, मैले के भूमिका खेल्‍ने होला? मैले के-कस्ता कुराहरू गर्नु होला र के-कस्ता कुराहरू गर्नु नहोला? तिनीहरूलाई यी कुराहरूबारे केही पनि थाहा हुँदैन। यस्तो कुरा आउनेबित्तिकै, र तिनीहरू यस्तो परिस्थितिमा पर्नेबित्तिकै, तिनीहरूलाई अन्योल हुन्छ र के गर्ने भन्‍ने नै थाहा हुँदैन, न त त्यस्ता कुराहरू कसरी सम्‍हाल्‍ने त्यो नै तिनीहरूलाई थाहा हुन्छ। समय बित्दै गएपछि, तिनीहरूलाई यी कुराहरूबारे हैरानी, बेचैनी र चिन्ता हुन्छ: यदि तिनीहरूले आफ्‍नो बच्‍चाको लागि यी कुराहरू गरे भने, तिनीहरूलाई परमेश्‍वरविरुद्ध गएर परमेश्‍वरलाई बेखुसी तुल्याउँछु भन्‍ने डर हुन्छ, र यदि तिनीहरूले यी कुराहरू गरेनन् भने, तिनीहरूलाई आमाबुबाले पूरा गर्नुपर्ने कर्तव्य पूरा नगरेकोले आफ्‍नो सन्तान र परिवारका अरू सदस्यहरूले दोष दिन्छन् भन्‍ने डर हुन्छ; यदि तिनीहरूले यी कुराहरू गरे भने, तिनीहरूलाई आफ्‍नो गवाही गुमाउँछु भन्‍ने डर हुन्छ, र तिनीहरूले यी कुराहरू गरेनन् भने, संसारका मानिसहरूले गिल्‍ला गर्छन्, र छरछिमेकले उपहास, कटाक्ष र आलोचना गर्छन् भनेर डराउँछन्; तिनीहरूलाई परमेश्‍वरलाई अपमान गर्छु भन्‍ने पनि डर हुन्छ, तर तिनीहरूलाई आफ्‍नो प्रतिष्ठा खराब हुन्छ, र लाजले अनुहार देखाउन सक्दिनँ भन्‍ने पनि डर लाग्छ। तिनीहरूले यी कुराहरूबारे दोधार गरिरहेको बेला, तिनीहरूको हृदयमा हैरानी, बेचैनी र चिन्ता पैदा हुन्छ; के गर्ने भन्‍ने नै थाहा नभएर तिनीहरूलाई हैरानी हुन्छ, तिनीहरूले जे छनौट गरे पनि गलत गर्छु भनेर, अनि जे गरे पनि त्यो उचित होला नहोला भनेर तिनीहरूलाई चिन्ता हुन्छ, र यदि यस्ता कुराहरू भइरहे भने, एक दिन तिनीहरूले यी कुराहरू सहन नसक्लान्, र तिनीहरूले सन्तुलन गुमाए भने तिनीहरूको लागि अझै कठिनाइ हुनेछ भन्‍ने तिनीहरूलाई चिन्ता हुन्छ। यस्तो परिस्थितिमा हुने मानिसहरूले जीवनमा आइपर्ने यी सबै कुराहरूबारे हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्, चाहे यी कुराहरू ठूला हुन् वा चाहे साना हुन्। तिनीहरूमा नकारात्मक संवेगहरू पैदा भएपछि, तिनीहरू हैरानी, बेचैनी र चिन्तामा डुब्छन्, र आफूलाई मुक्त गर्न सक्दैनन्: तिनीहरूले यो गरे पनि गलत हुन्छ, त्यो गरे पनि गलत हुन्छ, र खासमा गर्नुपर्ने सही कुराचाहिँ के हो त्यो तिनीहरूलाई थाहै हुँदैन; तिनीहरू अरू मानिसहरूलाई खुसी पार्न चाहन्छन्, तर परमेश्‍वरलाई बेखुसी तुल्याउँछु कि भनेर डराउँछन्; तिनीहरू मानिसहरूले तिनीहरूलाई राम्रो भनून् भनेर अरूको लागि विभिन्‍न काम गरिदिन चाहन्छन्, तर परमेश्‍वरलाई अपमानित पार्न वा परमेश्‍वरमा तिनीहरूप्रति घृणा जगाउन चाहँदैनन्। त्यसकारण, तिनीहरू हैरानी, बेचैनी र चिन्ताका यी संवेगहरूमा सधैँ डुबिरहन्छन्। तिनीहरूलाई मानिसहरू र आफू दुवैको लागि हैरानी हुन्छ; अनि मानिसहरू र आफू दुवैको लागि बेचैनी पनि हुन्छ; अनि तिनीहरूले अरूका कुरा र आफ्‍ना कुरा दुवैबारे चिन्ता गर्छन्, त्यसकारण तिनीहरू दोहोरो कठिनाइमा डुब्छन् र त्यसबाट उम्कन सक्दैनन्। त्यस्ता नकारात्मक संवेगहरूले तिनीहरूको दैनिक जीवनमा मात्रै असर गर्दैनन्, तिनीहरूको कर्तव्यपालन, साथै तिनीहरूको सत्यता पछ्याइमा समेत केही हदसम्‍म असर गर्छन्। यो एक किसिमको कठिनाइ हो, यी कठिनाइहरू वैवाहिक सम्‍बन्ध, पारिवारिक जीवन, र व्यक्तिगत जीवनसँग सम्‍बन्धित कठिनाइहरू हुन्, र यी कठिनाइहरूकै कारण मानिसहरू प्राय हैरानी, बेचैनी र चिन्तामा अल्झिरहन्छन्। यस्तो नकारात्मक संवेगमा अल्झिँदा के मानिसहरू दयनीय हुँदैनन् र? (हुन्छन्।) के तिनीहरू दयनीय हुन्छन्? तिमीहरू अझै पनि “हुन्छन्” भनी भन्छौ, अर्थात् तिमीहरू अझै पनि तिनीहरूप्रति सहानुभूति देखाउँछौ। जब कुनै व्यक्ति नकारात्मक संवेगमा डुबेको हुन्छ, तब त्यो नकारात्मक संवेग जुन पृष्ठभूमिबाट पैदा भएको भए पनि, त्यो पैदा हुनुको कारण के हुन्छ? के यो व्यक्तिवरपरका वातावरण, मानिसहरू, घटना, र विभिन्‍न कुराहरूको कारण आएको हुन्छ? कि परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताले तिनीहरूलाई बाधा दिएर हो? यो कुरा व्यक्तिलाई वातावरणले असर पारेर भएको हो कि, परमेश्‍वरका वचनहरूले तिनीहरूको जीवनमा बाधा ल्याएर भएको हो? वास्तविक कारण के हो? के तिमीहरूलाई थाहा छ? मलाई भन त, चाहे यो मानिसहरूको सामान्य जीवनमा होस् वा तिनीहरूले कर्तव्य पूरा गर्दा होस्, यदि तिनीहरूले सत्यता खोजी गर्थे भने र सत्यता अभ्यास गर्ने इच्छा जनाउँथे भने, के यी कठिनाइहरू हुन्थे? (हुन्थेनन्।) यी कठिनाइहरू वस्तुगत हिसाबमा मात्रै विद्यमान हुन्छन्। तिमीहरू यी कुराहरू हुन्थेनन् भनेर भन्दै छौ, त्यसोभए के तिमीहरूले यी कठिनाइहरू समाधान गरिसकेको हो? के तिमीहरू त्यसो गर्न सक्षम छौ? यी कठिनाइहरू समाधान गर्न नसकिने किसिमका छन्, र ती वस्तुगत तथ्यको हिसाबमा मात्र विद्यमान हुन्छन्। सत्यता खोजी गर्ने मानिसहरूमा यी कठिनाइहरूको परिणाम के हुन्छ? अनि, सत्यता खोजी नगर्ने मानिसहरूमा यी कुराहरूको परिणाम के हुन्छ? यी कुराहरूको परिणाम दुई वटा र पूर्णतया फरकफरक हुन्छन्। यदि मानिसहरूले सत्यता खोजी गर्छन् भने, तिनीहरू यी कठिनाइहरूमा अल्झिँदैनन् र हैरानी, बेचैनी र चिन्ताका यी नकारात्मक संवेगहरूमा डुब्दैनन्। यसको विपरीत, यदि मानिसहरूले सत्यता खोजी गर्दैनन् भने, तिनीहरूमा पनि ठीक त्यसरी नै यी कठिनाइहरू हुन्छन्, तर परिणामचाहिँ के हुन्छ त? यी कुराहरूले तँलाई यति धेरै बाँधेका हुन्छन् कि तँ उम्कनै सक्दैनस्, र यदि तैँले यी कुराहरू समाधान गर्न सकिनस् भने, यी कुराहरू अन्त्यमा तेरो हृदयको अन्‍तस्‍करणमा गाँजिने नकारात्मक संवेगहरू बन्छन्; यी कुराहरूले तेरो सामान्य जीवनमा र तेरो सामान्य कर्तव्यपालनमा असर पार्नेछन्, र तँलाई दमनमा परेको र मुक्त हुन नसक्‍ने अवस्थामा पुगेको महसुस गराउनेछन्—यी कुराहरूले तँमा ल्याउने परिणाम यही हो। यी दुई परिणामहरू फरक छन्, होइन र? (हो।) त्यसोभए, मैले भर्खरै तिमीहरूलाई सोधेको त्यो प्रश्‍नमा फर्कौँ। मैले के सोधेको थिएँ रे? (यो वातावरणीय प्रभाव हो कि परमेश्‍वरका वचनहरूले मानिसहरूलाई बाधा दिएको कुरा हो जसले गर्दा तिनीहरूमा नकारात्मक संवेगहरू पैदा हुन्छन्?) त्यसोभए, कारण के हो? यसको उत्तर के हो? (मानिसहरूले सत्यता खोजी नगर्ने हुनाले यस्तो हुन्छ।) ठीक भन्यौ, यो यी कुराहरूले गर्दा भएको होइन, बरु मानिसहरूले सत्यता खोजी नगर्ने हुनाले यस्तो भएको हो। जब मानिसहरूले सत्यता खोजी गर्दैनन्, तब तिनीहरू प्राय चरम विचार र नकारात्मक संवेगहरूमा डुब्छन् र आफूलाई मुक्त गर्न सक्दैनन्। मैले भर्खरै सोधेको प्रश्‍न फेरि भन त। (मानिसहरूको वातावरण र तिनीहरूवरपरका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको कारण तिनीहरूमा नकारात्मक संवेगहरू पैदा हुन्छन् कि परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताले मानिसहरूलाई बाधा दिने हुनाले यस्तो हुने हो?) यसलाई सरल रूपमा भन्दा, यो वातावरणको प्रभावले हो कि परमेश्‍वरका वचनहरूले मानिसहरूलाई बाधा दिने हुनाले हो? यो कुनचाहिँ हो? (यो कुनै पनि होइन।) ठीक भन्यौ, यो कुनै पनि होइन। वातावरणले हरेक व्यक्तिलाई उचित रूपमा प्रभाव पार्छ; यदि तैँले सत्यता खोजी गर्छस् भने, तँ कुनै वातावरणकै कारण नकारात्मक संवेगमा डुब्दैनस्। तैपनि, यदि तैँले सत्यता खोजी गर्दैनस् भने, तँ बारम्‍बार तेरो वातावरणद्वारा विचलित हुनेछस् र हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूमा डुब्‍नेछस्। यो कुरालाई यो दृष्टिकोणले हेर्दा, के सत्यता खोजी गर्नु महत्त्वपूर्ण छैन र? (छ।) यसमा आइपर्ने हरेक कुरामा खोजी गर्नुपर्ने सत्यता सिद्धान्तहरू छन्। तैपनि वास्तविकतामा, मानिसहरूले सत्यता खोजी गर्दैनन् र सत्यता सिद्धान्तहरू पनि खोजी गर्दैनन्, र तिनीहरूलाई परमेश्‍वरले के चाहनुहुन्छ, सत्यता सिद्धान्तहरू के-के हुन्, तिनीहरूले अभ्यास गर्नुपर्ने मार्ग के हो, र अभ्यासका मापदण्डहरू के-के हुन् भन्‍ने स्पष्ट थाहा भएर पनि तिनीहरूले यी कुरालाई ध्यान दिने वा पछ्याउने गर्दैनन्, जबकि तिनीहरूले सधैँ आफ्‍नै निर्णय र योजनाहरू गरिरहेका हुन्छन्, त्यसैले अन्ततः तिनीहरूलाई के हुनेछ? जब मानिसहरूले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दैनन्, सधैँ यो वा त्यो कुराको चिन्ता गरिरहन्छन्, तब एउटै मात्र परिणाम हुन्छ, र त्यो के हो भने तिनीहरू हैरानी, बेचैनी र चिन्तामा डुब्छन्, र त्यसबाट मुक्त हुन सक्दैनन्। के मानिसहरूले सधैँ आफ्‍नै कल्‍पनामा भरोसा गरेर सबै कुरा सधैँ आफूले चाहेझैँ हुनु, अरूलाई खुसी पार्न सक्‍नु, अनि परमेश्‍वरको अनुमोदन पनि प्राप्त हुनु सम्‍भव हुन्छ? यो सम्‍भव हुँदैन! तिनीहरूले सधैँ आफ्‍नो वरपरका मानिसहरूलाई खुसी र प्रसन्‍न पार्ने, र तिनीहरूको तारिफ गर्ने बनाउने तरिकाले काम गर्न चाहन्छन्। तिनीहरूले आफूलाई असल व्यक्ति भनियोस्, अनि परमेश्‍वर सन्तुष्ट हुनुभएको होस् भन्‍ने चाहन्छन्, र तिनीहरूले यो मापदण्ड पूरा गरेनन् भने, तिनीहरूलाई हैरानी हुन्छ। अनि के तिनीहरू हैरानी हुन लायक हुँदैनन् र? (हुन्छन्।) मानिसहरू आफैले नै यो कुरा रोजेका हुन्छन्।

कतिपय हास्यास्पद मानिसहरू पनि छन्, जो यस्तो सोच्छन्, “यदि परमेश्‍वरले यति धेरै वचनहरू नबोल्‍नुभएको भए, म असल व्यक्ति बन्‍नुका नैतिक मापदण्डहरूअनुसार काम गर्नेथिएँ। त्यो कति सरल हुन्थ्यो, र त्यति धेरै अभिव्यक्तिहरू व्यक्त गरिएका पनि हुँदैनथे। अनुग्रहको युगमा जसरी नै, मानिसहरूले आज्ञाहरू पालना गर्थे, र कष्ट भोग्थे र सहन्थे, अनि क्रूस बोक्थे र दुःख भोग्थे, र यो अत्यन्तै सरल थियो। के त्यतिमै कुरा सकिँदैनथ्यो र? अहिले, परमेश्‍वरद्वारा यति धेरै सत्यता व्यक्त गरिएका छन् र सङ्गतिमा यति धेरै अभ्यासका सिद्धान्तहरू प्रदान गरिएका छन्, तैपनि किन मानिसहरूले लामो समयपछि पनि ती हासिल गर्न सक्दैनन्? मानिसहरूको क्षमता अत्यन्तै कमजोर छ, र तिनीहरूले पटक्‍कै बुझ्‍न सक्दैनन्, र तिनीहरूले हासिल गर्न नसक्‍ने सत्यता कैयौँ छन्; मानिसहरूले सत्यता अभ्यास गर्ने क्रममा पनि धेरै कठिनाइहरू आउँछन्, र तिनीहरूले बुझे पनि, त्यो हासिल गर्न अझै पनि गाह्रो हुन्छ। यदि तिमीले सत्यता बुझेर पनि अभ्यास गरेनौ भने, त्यो तिमीलाई अप्ठ्यारो लाग्छ, तर अभ्यास गर्‍यौ भने, कैयौँ व्यावहारिक कठिनाइहरू आउँछन्।” मानिसहरूले परमेश्‍वरका वचनहरूले तिनीहरूलाई बाधा दिइरहेका छन् भन्‍ने विश्‍वास गर्छन्, तर के वास्तविकता यही हो त? (होइन।) अविवेकी र तर्कहीन हुनु भनेको यही हो। तिनीहरू सत्यताप्रति दिक्‍क मान्छन् र तिनीहरूले सत्यता पछ्याउँदैनन्, न त तिनीहरूले सत्यता अभ्यास नै गर्छन्, तर तिनीहरूले अझै पनि आफू आत्मिक भएको, र आफूले सत्यता अभ्यास गरेको नाटक गर्छन्, र तिनीहरू मुक्ति पाउन चाहन्छन्। अन्त्यमा, जब तिनीहरूले यी कुराहरू हासिल गर्न सक्दैनन्, तब तिनीहरू निराश र हैरान हुन्छन्, र सोच्छन्, “यी सब कुरा कसले सन्तुलनमा राख्‍न सक्छ र? यदि परमेश्‍वरले आफ्‍ना मापदण्डहरू अलिक घटाउनुभए राम्रो हुन्थ्यो, त्यसपछि मानिसहरू ठीक हुन्थे, परमेश्‍वर ठीक हुनुहुन्थ्यो, र सबै जना ठीक हुन्थेए—त्यो जीवन कति स्वर्गीय हुन्थ्यो!” यस्ता मानिसहरूले सधैँ परमेश्‍वरले बोल्‍नुभएका वचनहरू मानिसहरूले चाहेको कुराविपरीत हुन्छ भन्‍ने सोच्छन्। वास्तवमा, जब तिनीहरूमा हैरानी, बेचैनी र चिन्ताको भावना आउँछ, तिनीहरू धेरै कुराबारे परमेश्‍वरप्रति असन्तुष्ट हुन्छन्। खास गरी, तिनीहरूले सत्यता सिद्धान्तहरूलाई कसरी लिन्छन् भन्‍ने कुरा आउँदा, तिनीहरूले यी कुराहरू हासिल वा प्राप्त गर्न, र यी कुराहरूबारे कुरा गर्न सक्दैनन्, र यसले अरूको नजरमा तिनीहरूको प्रतिष्ठा र मर्यादामा, साथै आशिष्‌ पाउने तिनीहरूको इच्छामा ठूलो असर पार्छ, जसले गर्दा तिनीहरू हैरानी, बेचैनी र चिन्तामा डुब्छन्, त्यसकारण तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले यस्ता धेरै कुराहरू गर्नुहुन्छ जसबारे तिनीहरूलाई खुसी लाग्दै लाग्‍दैन। यसो भन्‍ने मानिसहरू पनि छन्, “परमेश्‍वर धर्मी हुनुहुन्छ, र म यो कुरा इन्कार गर्दिनँ; परमेश्‍वर पवित्र हुनुहुन्छ, र म यो कुरा पनि इन्कार गर्दिनँ। परमेश्‍वरले बोल्नुहुने हरेक कुरा साँच्‍चै नै सत्यता हुन्छन्, तर अफसोस, अहिले परमेश्‍वरले बोल्नुहुने कुराहरू अत्यन्तै उच्च छन्, उहाँले मानिसहरूलाई दिनुहुने मापदण्डहरू अत्यन्तै कठिन छन्, र यो हासिल गर्न मानिसहरूलाई पटक्‍कै सजिलो छैन!” तिनीहरूसँग सत्यताप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूले सबै जिम्‍मेवारी परमेश्‍वरको काँधमा हालिदिन्छन्। तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ, र परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने आधारबाट सुरु गर्छन्, र तिनीहरूले यो सब साँचो हो भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ, र परमेश्‍वर पवित्र हुनुहुन्छ—तर के तैँले परमेश्‍वरको सार स्विकार्नु जरुरी हुन्छ? यी त तथ्यहरू हुन्; तैँले ती स्विकारेको कारणले मात्रै ती साँचो भएका होइनन्। तिनीहरूले परमेश्‍वरलाई दोष दिएकोमा आफू दोषी नहोऊँ भनेर, हतारहतार परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ भन्छन्। तर परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ भन्‍ने विषयमा तिनीहरूले जेसुकै भने पनि, तिनीहरूका हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरू अझै पनि तिनीहरूमा हुन्छन्, र यो तिनीहरूमा यी संवेगहरू विद्यमान रहेको अवस्था मात्र होइन, तिनीहरू आफै पनि यी संवेगहरू त्याग्‍न र पछि छोड्न अनिच्छुक हुन्छन्, त तिनीहरू आफ्नो अभ्यासका सिद्धान्तहरू परिवर्तन गर्न, आफ्‍नो खोजको दिशा परिवर्तन गर्न, र जीवनमा आफूले पछ्याउने मार्ग परिवर्तन गर्न अनिच्‍छुक हुन्छन्। ती मानिसहरू दयनीय र घृणास्पद दुवै हुन्छन्। तिनीहरू कुनै सहानुभूति पाउन लायक हुँदैनन्, र तिनीहरूले जति धेरै कष्ट भोगे पनि, हाम्रो दयाको लायक हुँदैनन्। हामीले तिनीहरूलाई गर्नुपर्ने भनेको यी वचनहरू बताउनु मात्रै हो: तँ यो कुरा पाउन लायक छस्! यदि तँ हैरानीमा परेर मरिस् भने पनि, कसैले तँलाई बिचरा भन्‍नेछैन! तँलाई आफ्‍ना समस्याहरू सुल्झाउन सत्यता खोजी नगर्न कसले लगायो? तँलाई कसले परमेश्‍वरमा समर्पित हुन र सत्यता अभ्यास गर्न नसक्‍ने बनायो? तैँले कसको खातिर हैरानी, बेचैनी र चिन्ता महसुस गरिरहेको छस्? के तैँले सत्यता प्राप्त गर्न यी कुराहरू महसुस गरिरहेको छस्? कि यस्तो महसुस गरेको परमेश्‍वरलाई प्राप्त गर्न हो? कि परमेश्‍वरको कामको खातिर हो? कि परमेश्‍वरको महिमाको खातिर हो? (होइन।) त्यसोभए तैँले केको लागि यी संवेगहरू महसुस गरिरहेको छस्? यो सब तेरो आफ्नै लागि, आफ्नै छोराछोरी, आफ्नै परिवार, आफ्नै आत्मसम्मान, आफ्नै प्रतिष्ठा, र आफ्नै भविष्य र सम्‍भाव्यताको लागि हो, यो सबै तँसँगै सम्‍बन्धित कुराहरूको लागि हो। यस्तो खाले व्यक्तिले कुनै कुरा पनि छोड्ने, वा जान दिने, वा त्याग्‍ने, वा हटाउने गर्दैन; परमेश्‍वरमाथि यस्ताहरूको कुनै साँचो विश्‍वास हुँदैन, र कर्तव्यपालनमा तिनीहरूको कुनै बफादारी हुँदैन। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, तिनीहरूले साँचो रूपमा आफूलाई अर्पित गर्दैनन्, आशिष्‌हरू पाउनको लागि मात्रै विश्‍वास गर्छन्, र आशिष्‌हरू पाउने सङ्कल्‍प लिएर मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वर, परमेश्‍वरको काम, र परमेश्‍वरको प्रतिज्ञाप्रति “आस्था” ले भरिएका हुन्छन्, तर परमेश्‍वरले त्यस्तो आस्थाको तारिफ गर्नुहुन्‍न, न त उहाँले त्यसलाई याद नै गर्नुहुनेछ, बरु उहाँले त्यसलाई घृणा गर्नुहुनेछ। त्यस्ता मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई गर्न लगाउनुहुने कुनै पनि कुरा सिद्धान्तअनुसार अनुसरण वा अभ्यास गर्ने गर्दैनन्, तिनीहरूले छोड्नुपर्ने कुराहरू छोड्दैनन्, त्याग्‍नुपर्ने कुराहरू त्याग्दैनन्, हटाउनुपर्ने कुराहरू हटाउँदैनन्, र देखाउनुपर्ने बफादारी देखाउँदैनन्, त्यसकारण तिनीहरू हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूमा डुब्‍न लायक नै हुन्छन्। तिनीहरूले जति धेरै कष्ट भोगे पनि, त्यो आफ्‍नै लागि मात्रै हुन्छ, त्यो कर्तव्य र मण्डलीको कामको लागि हुँदैन। त्यसकारण, यस्ता मानिसहरू सत्यता पछ्याउने कार्यमा लागेकै हुँदैनन्—तिनीहरू मुखले मात्रै परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हुन्। तिनीहरूलाई साँचो मार्ग के हो भन्‍ने पनि राम्ररी थाहा हुन्छ, तर तिनीहरूले त्यो अभ्यास गर्दैनन्, न त त्यसलाई नै पछ्याउँछन्। तिनीहरूको विश्‍वास दयनीय हुन्छ र त्यसले परमेश्‍वरको अनुमोदन पाउन सक्दैन, र परमेश्‍वरले त्यो विश्‍वास याद गर्नुहुनेछैन। यस्ता मानिसहरूको घरमा अनेकथरी कठिनाइहरू आउने हुनाले, तिनीहरू हैरानी, बेचैनी र चिन्ताजस्ता नकारात्मक संवेगहरूमा डुबेका हुन्छन्।

त्यसपछि, स्वास्थ्य कमजोर भएका, कमजोर शरीर भएका र ऊर्जा नभएका, ठूलासाना रोग लागेका, दैनिक जीवनका आवश्यक कुराहरू पनि गर्न नसक्‍ने, सामान्य मानिसहरूजसरी जिउन वा यताउता गर्न नसक्‍ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूले कर्तव्य पूरा गर्दा प्रायजसो असहज र बिसन्चो महसुस गर्छन्; कति त शारीरिक रूपमा कमजोर हुन्छन्, कतिलाई साँच्‍चिकै रोग लागेको हुन्छ, र कतिलाई कुनै किसिमको रोग र सम्भावित रोग लागेजस्तो हुन्छ। यस्ता मानिसहरूमा त्यस्तो व्यावहारिक रूपमा शारीरिक कठिनाइ हुने हुनाले, तिनीहरू बारम्बार नकारात्मक संवेगहरूमा डुब्छन् र हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। अनि, तिनीहरूले केबारेमा हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूको चिन्ता के हुन्छ भने, यसरी नै आफ्‍नो कर्तव्य पूरा गरिरहे, यसरी नै आफूलाई परमेश्‍वरको निम्ति अर्पित गरिरहे र दौडधूप गरिरहे, र सधैँ यसरी नै थकित महसुस गरिरहे भने, तिनीहरूको स्वास्थ्य स्थिति झन्झन् बिग्रिँदै जाने पो हो कि? तिनीहरू ४०-५० वर्ष पुगेपछि नै तिनीहरू ओछ्यानमा पो पर्ने हो कि? के यो चिन्ता साँचो हुने त होइन? के कसैले यसलाई हल गर्ने ठोस तरिका प्रदान गर्न सक्छ? यसको जिम्‍मेवारी कसले लिनेछ? को जवाफदेही हुनेछ? स्वास्थ्य स्थिति कमजोर भएका र शारीरिक रूपमा सबल नभएका मानिसहरूले यस्ता कुराहरूबारे नै हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। रोग लागेका मानिसहरूले प्रायजसो यस्तो सोच्‍ने गर्छन्, “अहो, मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्‍प गरेको छु, तर मलाई यो रोग लागेको छ। म परमेश्‍वरलाई अनुरोध गर्छु, मलाई हानिबाट जोगाउनुहोस्, र परमेश्‍वरको सुरक्षा छ भने मैले डराउनु पर्दैन। तर यदि कर्तव्य पूरा गर्दा म थकित भए भने, मेरो अवस्था झन् खराब हुने त होइन? यदि मेरो अवस्था साँच्‍चै झन् खराब भयो भने, मैले के गर्ने होला? यदि मलाई शल्यक्रिया गर्नको लागि अस्पताल भर्ना गर्नुपर्‍यो भने, बिल तिर्न मसँग पैसा छैन, त्यसकारण मैले उपचारको लागि सापटी लिइनँ भने, के मेरो अवस्था अझै खराब हुँदैन र? अनि अवस्था साँच्‍चै खराब भयो भने, म मरिहाल्ने पो हुँ कि? अनि के त्यस्तो मृत्युलाई सामान्य मृत्यु मानिनेछ? यदि म साँच्‍चै मरेँ भने, के परमेश्‍वरले मैले पूरा गरेको कर्तव्य सम्झनुहुनेछ? के मैले असल कर्म गरेको छु भनेर मानिनेछ? के मैले मुक्ति पाउनेछु?” कतिपय मानिसहरूलाई आफू बिरामी छु भन्‍ने थाहा हुन्छ, अर्थात् तिनीहरूलाई कुनै वास्तविक रोग वा त्यस्तै प्रकारको कुनै रोग लागेको छ भन्‍ने थाहा हुन्छ, जस्तै पेटको रोग, कम्‍मर र खुट्टा दुख्‍ने, जोर्नी दुख्‍ने, हातखुट्टा दुख्‍ने, साथै छाला रोग, स्‍त्रीरोग, कलेजो रोग, उच्‍च रक्तचाप, मुटुरोग, आदि इत्यादि। तिनीहरूले सोच्छन्, “यदि मैले आफ्नो कर्तव्य पूरा गरिरहेँ भने, के परमेश्‍वरको घरले मेरो रोगको उपचार खर्च हेरिदिनेछ? यदि मेरो रोग झन् खराब भयो र यसले कर्तव्य पूरा गर्ने मेरो क्षमतामा असर पार्‍यो भने, के परमेश्‍वरले मलाई निको पार्नुहुनेछ? अरू मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेपछि निको भएका छन्, त्यसकारण के म पनि निको हुनेछु? के परमेश्‍वरले अरूमाथि दया देखाउनुभएजस्तै मलाई पनि निको पार्नुहुनेछ? यदि मैले बफादारितासाथ आफ्‍नो कर्तव्य पूरा गरेँ भने, परमेश्‍वरले मलाई निको पार्नुपर्छ, तर मैले परमेश्‍वरले मलाई निको पार्नुहोओस् भनेर कामना गरेँ तर उहाँले निको पार्नुभएन भने, मैले के गर्ने होला?” जबजब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरूलाई हृदयमा गहन बेचैनी पैदा भएको महसुस हुन्छ। तिनीहरूले आफ्‍नो कर्तव्यपालन कहिल्यै नरोके पनि र आफूले गर्नुपर्ने कुरा सधैँ गरे पनि, तिनीहरूले सधैँ आफ्‍नो रोग, स्वास्थ्य स्थिति, भविष्य, र आफ्‍नो जीवन र मृत्यबारे मात्रै सोचिरहन्छन्। अन्त्यमा, तिनीहरूले यस्तो कामनापूर्ण निष्कर्ष निकाल्छन्, “परमेश्‍वरले मलाई निको पार्नुहुनेछ, र मलाई सुरक्षित राख्‍नुहुनेछ। परमेश्‍वरले मलाई त्याग्‍नुहुनेछैन, र म बिरामी भएको देख्दा परमेश्‍वर हात बाँधेर बस्‍नुहुनेछैन।” त्यस्ता विचारहरूको कुनै आधार हुँदैन, र ती एक प्रकारका धारणा नै हुन् भनेर पनि भन्‍न सकिन्छ। यस्ता धारणा र कल्‍पनाहरूद्वारा मानिसहरूले कहिल्यै पनि आफ्‍ना व्यावहारिक कठिनाइहरू समाधान गर्न सक्‍नेछैनन्, र तिनीहरूले हृदयभित्र अन्‍तस्‍करणमा आफ्‍नो स्वास्थ्य स्थिति र रोगबारे हैरानी, बेचैनी र चिन्ताको अस्पष्ट अनुभूति गर्नेछन्; यी कुराहरूको जिम्‍मेवारी कसले लिनेछ, वा तिनीहरूको जिम्‍मेवारी कसैले लिनेछ कि छैन भन्‍नेबारे तिनीहरूलाई केही थाहै हुँदैन।

कतिपय मानिसहरूले बिरामी भएको महसुस नगरे पनि र तिनीहरूमा कुनै रोग पत्ता लागेको नभए पनि, तिनीहरूलाई आफूमा कुनै सुषुप्त रोग छ भन्‍ने थाहा हुन्छ। कस्तो सुषुप्त रोग? उदाहरणको लागि, यो कुनै वंशाणुगत रोग हुन सक्छ, जस्तै मुटुरोग, मधुमेह, वा उच्‍च रक्तचाप, वा यो स्मरण शक्ति हराउने, जीउको कुनै भाग हल्‍लिरहने, वा कुनै किसिमको क्यान्सर हुन सक्छ—यी सबै सुषुप्त रूपमा रहने रोगहरू हुन्। कतिपय मानिसहरूलाई आफू यस्तो परिवारमा जन्‍मेकोले, यस्तो आनुवंशिक रोगले ढिलोचाँडो तिनीहरूलाई च्याप्‍नेछ भन्‍ने थाहा हुन्छ। तर तिनीहरूले सोच्छन्, यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर सत्यता पछ्याए भने, आफ्‍नो कर्तव्य राम्ररी पूरा गरे भने, पर्याप्त मात्रामा सुकर्महरू गरे भने, र परमेश्‍वरलाई प्रसन्‍न पार्न सके भने, यो सुषुप्त रोगले आफूलाई नछोला कि र यो रोग आफूलाई नलाग्‍ला कि? तर परमेश्‍वरले तिनीहरूलाई कहिल्यै यस्तो प्रतिज्ञा गर्नुभएन, र तिनीहरूले पनि परमेश्‍वरप्रति कहिल्यै यस्तो विश्‍वास राखेनन्, र यस्तो कुनै ग्यारेन्टी वा कुनै अवास्तविक विचार प्रस्तुत गर्ने आँट गरेनन्। अनि, यस्तो कुनै ग्यारेन्टी वा सुनिश्‍चितता पाउन नसक्‍ने हुनाले, तिनीहरूले आफ्‍नो कर्तव्यपालनमा धेरै ऊर्जा र प्रयास लगाउँछन्, तिनीहरूले कष्ट भोग्‍न र मूल्य चुकाउन ध्यान दिन्छन्, र तिनीहरूले अरूले भन्दा बढी गर्छन् र अरूभन्दा माथि उठ्छन्, र यस्तो सोच्छन्, “म कष्ट भोग्‍ने पहिलो व्यक्ति र आनन्द लिने अन्तिम व्यक्ति हुनेछु।” तिनीहरू सधैँ यस्तो आदर्श-वाक्यले आफूलाई उत्प्रेरित गर्छन्, तैपनि सुषुप्त रोगसम्‍बन्धी तिनीहरूभित्र रहेको डर र चिन्ता कहिल्यै हट्न सक्दैन, र यो चिन्ता र यो हैरानी सधैँ तिनीहरूको साथमै हुन्छ। तिनीहरूले कष्ट भोग्‍न र परिश्रम गर्न सके पनि र कर्तव्य पूरा गर्ने क्रममा मूल्य चुकाउन इच्छुक रहे पनि, तिनीहरूलाई अझै पनि आफूले परमेश्‍वरको प्रतिज्ञा प्राप्त गर्न वा त्यस विषयमा परमेश्‍वरको ट्वाक्‍कै मिल्ने वचन पाउन सक्दिनँ भन्‍ने महसुस हुन्छ, त्यसकारण तिनीहरूलाई यस विषयमा निरन्तर हैरानी, बेचैनी र चिन्ता भइरहन्छ। तिनीहरूले आफ्‍नो सुषुप्त रोगबारे केही नगर्न सक्दो प्रयास गरे पनि, कुनै दिन यो सुषुप्त रोग अचानक, कुनै निश्‍चित घडीमा, वा थाहै नभई देखा पर्नबाट रोक्‍न भनेर, बेलाबेलामा र अर्धचेतन रूपमा हरकिसिमका परम्‍परागत उपचारहरू खोजिहिँड्छन्। कतिपय मानिसहरूले त बारम्बार चिनियाँ जडीबुटी तयार गरेर खान पनि सक्छन्, कतिले चाहिँ चाहेको बेला खान सकिने परम्‍परागत औषधी कसरी बनाउने भनेर यदाकदा अरूलाई सोधिहिँड्छन्, अनि कतिपय मानिसहरूचाहिँ कसरत र विभिन्‍न प्रयोग गर्नको लागि बेलाबेलामा कसरतसम्‍बन्धी जानकारी अनलाइनमा खोजिहिँड्छन्। यो सुषुप्त रोग मात्रै भए पनि, यो कुरा तिनीहरूको दिमागको अग्र स्थानमा हुन्छ; ती मानिसहरूलाई बिसन्चो नभए पनि, वा तिनीहरूमा रोगको कुनै लक्षण नदेखिए पनि, तिनीहरूलाई अझै पनि यसबारेमा चिन्ता र बेचैनी हुन्छ, र भित्री रूपमा तिनीहरूलाई यसबारेमा हैरानी र हतोत्साह हुन्छ, जसले गर्दा तिनीहरू प्रार्थना गरेर वा आफ्‍नो कर्तव्य पूरा गरेर यी नकारात्मक संवेगहरू सुधार्ने वा हटाउने आशा गर्छन्। साँच्‍चै रोग लागेका वा सुषुप्त रोग भएका, अनि भविष्यमा रोग लाग्‍ला भनी चिन्ता गर्नेहरू, अनि ठूलो रोग नभए पनि सानातिना रोग लागिरहने, कमजोर स्वास्थ्य लिएर जन्‍मेका मानिसहरूले बिमार र देहका विभिन्‍न कठिनाइहरूबारे निरन्तर हैरानी र चिन्ता महसुस गरिरहन्छन्। तिनीहरू यी कुराहरूबाट उम्कन र भाग्‍न चाहन्छन्, तर त्यसरी उम्कने र भाग्‍ने कुनै उपाय हुँदैन; तिनीहरू यी कुराहरू भुल्न चाहन्छन्, तर सक्दैनन्; तिनीहरू यी रोग र कठिनाइहरू हटाइदिन परमेश्‍वरलाई अनुरोध गर्न चाहन्छन्, तर तिनीहरू शब्‍द निकाल्नै सक्दैनन् र लाज मान्छन्, किनभने यस्तो अनुरोधको कुनै औचित्य हुँदैन भन्‍ने तिनीहरूलाई लाग्छ। परमेश्‍वरलाई यी कुराहरूबारे बिन्ती गरिनु हुँदैन भन्‍ने तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तर तिनीहरूलाई हृदयमा विवश महसुस हुन्छ; तिनीहरूले सोच्छन्,[ख] यदि तिनीहरूले आफ्‍नो सारा आशा परमेश्‍वरमै राखे भने, तिनीहरूलाई अलि सहज होला कि, र तिनीहरूको विवेकमा अलि सान्त्वना मिल्ला कि? त्यसकारण, तिनीहरूले बारम्बार यस विषयमा हृदयभित्र अन्‍तस्‍करणमा मनमनै प्रार्थना गर्छन्। यदि तिनीहरूले परमेश्‍वरबाट थप केही वा अनपेक्षित निगाह वा अनुग्रह प्राप्त गरे भने, तिनीहरूलाई अलिकति भए पनि आनन्द वा सान्त्वना मिल्छ; यदि तिनीहरूले परमेश्‍वरको घरबाट कुनै विशेष वास्ता प्राप्त गरेनन्, र परमेश्‍वरबाट कुनै दया पाएको अनुभूति गरेनन् भने, तिनीहरू फेरि पनि हैरानी, बेचैनी र चिन्ताजस्ता नकारात्मक संवेगहरूमा डुब्छन्। जन्‍म, वृद्धावस्था, रोगबिमार र मृत्यु मानवजातिमाझ निरन्तर आइरहने र जीवनमा टार्न नसकिने भए पनि, निश्‍चित शारीरिक अवस्था वा विशेष रोग भएका कतिपय मानिसहरूले चाहे आफ्‍नो कर्तव्य पूरा गर्दा होस् वा नगर्दा होस्, तिनीहरू देहका कठिनाइ र रोगहरूबारे सधैँ हैरानी, बेचैनी र चिन्तामा डुबिरहन्छन्; तिनीहरूले आफ्‍नो रोगबारे चिन्ता गर्छन्, रोगले आफ्नो जीवनमा ल्याउने धेरै कठिनाइहरूबारे चिन्ता गर्छन्, र आफ्नो रोग अझै बिग्रेर पो जान्छ कि, यो गम्‍भीर भयो भने यसले ल्याउने समस्याहरू के होलान्, र आफू यसबाट मर्ने पो हो कि भनेर चिन्ता गर्छन्। विशेष परिस्थिति र निश्‍चित अवस्थाहरूमा, गम्‍भीर प्रश्‍नहरूको यो श्रृङ्खलाले तिनीहरूलाई हैरानी, बेचैनी र चिन्तामा डुबाउँछ र तिनीहरूले यसबाट आफूलाई मुक्त गर्न सक्दैनन्; कतिपय मानिसहरू आफूलाई पहिले नै गम्‍भीर रोग लागिसकेको हुनाले वा भविष्यमा अवश्यै देखा पर्ने सुषुप्त रोगको कारण हैरानी, बेचैनी र चिन्ताको स्थितिमा जिउँछन्, अनि तिनीहरूमाथि यी नकारात्मक संवेगहरूको प्रभाव, असर, र नियन्त्रण परिरहन्छ। तिनीहरूमाथि यी नकारात्मक संवेगहरूको नियन्त्रण परेपछि, कतिपय मानिसहरूले मुक्ति पाउने सबै मौका र आशा पूरै त्याग्छन्; तिनीहरूले आफ्‍नो कर्तव्य निभाउन छोड्ने र परमेश्‍वरको दया पाउने जुनसुकै मौकासमेत त्याग्‍ने निर्णय गर्छन्। बरु त्यसको साटो, तिनीहरूले कसैलाई सहयोग नमागी र कुनै अवसर नपर्खी आफ्‍नो रोग आफै सामना गर्न र सम्हाल्न रोज्छन्। तिनीहरूले आफ्‍नो रोग उपचार गर्नमा आफूलाई समर्पित गर्छन्, त्यसउप्रान्त कुनै पनि कर्तव्य निभाउँदैनन्, र तिनीहरू शारीरिक रूपमा कर्तव्य पूरा गर्न सक्षम भए पनि, तिनीहरूले त्यसो गर्दैनन्। यसको कारण के हो? यो तिनीहरूले यस्तो चिन्ता गर्नु हो, “यदि मेरो रोग यसरी नै अघि बढिरह्यो र परमेश्‍वरले मलाई निको पार्नुभएन भने, मैले अहिलेजस्तै आफ्‍नो कर्तव्य पूरा गरिरहन सक्छु र पनि म अन्त्यमा मर्ने नै छु। यदि मैले आफ्‍नो कर्तव्य पूरा गर्न छोडेर उपचार गरेँ भने, म थप केही वर्ष बाँच्‍न सक्छु, र सायद यसको उपचार हुन पनि सक्छ। यदि मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेँ र परमेश्‍वरले मलाई निको पार्छु भनी भन्‍नुभएको छैन भने, मेरो स्वास्थ्य स्थिति झन् खराब हुन सक्छ। म थप १०-२० वर्ष आफ्‍नो कर्तव्य पूरा गरेर मर्न चाहन्‍नँ। म थप केही वर्ष भए पनि बाँच्‍न चाहन्छु, म यति चाँडै, यति अघि नै मर्न चाहन्‍नँ!” त्यसकारण, तिनीहरूले केही समय परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्छन्, केही समय अवलोकन गर्छन्, अर्थात् केही समयसम्‍म के हुन्छ भनेर हेर्छन्, र त्यसपछि यस्तो सोच्‍न थाल्छन्, “मैले आफ्‍नो कर्तव्य पूरा गर्दै आइरहेको छु, तर मेरो रोग अलिकति पनि निको भएको छैन, अलिकति पनि कम भएको छैन। निको हुने कुनै आशा छैन रहेछ। विगतमा मैले सबै कुरा त्यागेर आफ्‍नो कर्तव्य विश्‍वासयोग्य ढङ्गले पूरा गरेँ भने, परमेश्‍वरले मेरो यो रोग निको पार्नुहुनेछ भन्‍ने सोचेर योजना बनाएको थिएँ। तर मैले योजना गरेजस्तो, अनुमान लाएजस्तो, र चाहेजस्तो केही पनि भएन। मेरो रोग पहिलेको जस्तै छ। यति वर्ष त्यतिकै बित्यो, तर मेरो रोग कति पनि कम भएको छैन। मैले यो रोग उपचार गर्नैपर्ने हो जस्तो देखिन्छ। मैले अरू कसैको भर पर्नु हुँदैन, र कसैको भर पर्न पनि सकिँदैन। मैले आफ्‍नो भाग्य आफ्‍नै हातमा लिनुपर्छ। अहिले विज्ञान र प्रविधि साथै औषधिमा धेरै विकास भएको छ, त्यसकारण हरकिसिमका रोगहरूको उपचार गर्ने प्रभावकारी औषधिहरू छन्, र हरकुराको लागि विकसित उपचार छन्। म निश्‍चित छु, यो रोगको उपचार पक्कै हुन्छ।” यस्ता योजनाहरू बनाएपछि, तिनीहरूले अनलाइनमा खोजतलास गर्न वा यताउता सोध्‍न र जिज्ञासाहरू राख्‍न थाल्छन्, र बल्तल्ल केही समाधानहरू भेट्छन्। अनि अन्त्यमा, तिनीहरूले कुन औषधि खाने, कसरी रोग उपचार गर्ने, कसरी कसरत गर्ने, र कसरी आफ्‍नो स्वास्थ्य हेरचाह गर्ने भनेर निर्णय गर्छन्। तिनीहरूले सोच्छन्, “यदि मैले आफ्‍नो कर्तव्य पूरा गरिनँ र यो रोग उपचार गर्ने कार्यमा ध्यान दिएँ भने, यो रोग उपचार हुने आशा हुन्छ। यस्तो रोग उपचार भएको घटनाहरू धेरै छन्।” यसरी केही समयसम्‍म योजना र युक्ति रचेर, तिनीहरूले अन्ततः अबउप्रान्त आफ्‍नो कर्तव्य निर्वाह नगर्ने, बरु आफ्‍नो रोग उपचार गर्नुलाई नै पहिलो प्राथमिकता बनाउने निर्णय गर्छन्—तिनीहरूको लागि बाँच्‍नुभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरूको हैरानी, बेचैनी र चिन्ता एक किसिमको व्यावहारिक कार्यमा परिणत हुन्छ; तिनीहरूको बेचैनी र चिन्ता एक किसिमको विचारबाट व्यवहारमा परिणत हुन्छ। अविश्‍वासीहरूको एउटा भनाइ छ नि: “सोच्‍नुभन्दा काम गर्नु राम्रो हो, तर काम पछि गर्नुभन्दा तुरुन्तै गरिहाल्नु राम्रो हो।” यस्ता मानिसहरूले सोच्छन् र काम गर्छन्, र तिनीहरूले झट्टै काम गरिहाल्छन्। एक दिन तिनीहरूले आफ्‍नो रोग उपचार गर्नेबारे विचार गर्छन्, र भोलि बिहान तिनीहरू आफ्‍ना सरसामान तयार गरेर हिँड्न ठिक्‍क परिसकेका हुन्छन्। केही महिनामै, तिनीहरूको उपचार हुन नसकेर तिनीहरूको मृत्यु भयो भन्‍ने नराम्रो खबर आउँछ। अनि के तिनीहरू आफ्‍नो रोगबाट निको भए त? (भएनन्।) आफ्‍नो रोग आफै उपचार गर्न सम्भव हुन्छ नै भन्‍ने छैन, तर के परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्दा तँ बिरामी पर्नेछैनस् भन्‍ने निश्‍चित छ र? कसैले पनि तँसित त्यस्तो वाचा गर्नेछैन्। त्यसोभए, तैँले कसरी निर्णय गर्नुपर्छ, र बिरामी हुने कुरालाई कसरी लिनुपर्छ? यो अत्यन्तै सरल छ, र पछ्याउनुपर्ने एउटै बाटो छ: सत्यता खोजी गर्। सत्यता खोजी गर् र त्यो मामिलालाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार हेर्—मानिसहरूमा हुनुपर्ने बुझाइ यही हो। अनि तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले यी सबै अनुभवहरूलाई लिनुपर्छ, र आफूले पाएको बुझाइ र बुझेका सत्यता सिद्धान्तहरूलाई सत्यता र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र यी कुरालाई आफ्‍नो वास्तविकता र जीवन बनाउनुपर्छ—यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तैँले आफ्‍नो कर्तव्य छोड्नु हुँदैन। तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्‍म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्‍म तँ बाचिरहेको हुन्छस्, जबसम्‍म तैँले बोल्‍न र हिँड्न सक्छस्, तबसम्‍म तँसँग कर्तव्य पूरा गर्ने ऊर्जा हुन्छ, र तैँले कम्‍मर कसेर शिष्ट भई आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिनुभएको जिम्‍मेवारी त्याग्‍नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्‍नो कर्तव्य निभाउनुपर्छ र राम्रोसित पूरा गर्नुपर्छ। कतिपय मानिसहरू भन्छन्, “तपाईंले भन्‍नुहुने यी कुराहरू मानिसहरूले सुन्‍न चाहने कुराहरू होइनन्। म बिरामी छु र मलाई सहन गाह्रो भइरहेको छ!” जब तँलाई गाह्रो हुन्छ, तब तैँले विश्राम लिन सक्छस्, र तैँले आफ्‍नो हेरचाह र उपचार गर्न सक्छस्। यदि तँ अझै पनि आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तैँले आफ्‍नो कार्यभार घटाएर कुनै उपयुक्त कर्तव्य पूरा गर्न सक्छस्, अर्थात् तँलाई निको हुन असर नगर्ने काम गर्न सक्छस्। यसले प्रमाणित गर्नेछ कि तैँले हृदयबाट आफ्‍नो कर्तव्य त्यागेको छैनस्, तेरो हृदय परमेश्‍वरबाट टाढा भएको छैन, तैँले आफ्‍नो हृदयमा परमेश्‍वरको नाम इन्कार गरेको छैनस्, र तैँले सृष्टि गरिएको उचित प्राणी बन्‍ने इच्छा आफ्‍नो हृदयबाट हटाएको छैनस्। कतिपय मानिसहरू भन्छन्, “मैले त्यो सब गरेको छु, त्यसोभए के परमेश्‍वरले मबाट यो रोग हटाउनुहुनेछ?” उहाँले हटाउनुहुनेछ त? (हटाउनुहुनेछ नै भन्‍ने छैन।) परमेश्‍वरले तँबाट तेरो रोग हटाउनुभए पनि नहटाउनुभए पनि, परमेश्‍वरले तँलाई निको पार्नुभए पनि नपार्नुभए पनि, तैँले गर्ने कुरा भनेको सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो। तँ शारीरिक रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अवस्थामा भए पनि नभए पनि, तैँले कुनै काम लिन सके पनि नसके पनि, तेरो स्वास्थ्य स्थितिले तँलाई कर्तव्य लिन दिए पनि नदिए पनि, तेरो हृदय परमेश्‍वरबाट टाढा जानु हुँदैन, र तैँले आफ्‍नो हृदयबाट कर्तव्य त्याग्‍नु हुँदैन। यसरी, तैँले आफ्‍नो जिम्‍मेवारी, दायित्व, र कर्तव्य पूरा गर्नेछस्—तँमा हुनुपर्ने विश्‍वासयोग्यता यही हो। तैँले आफ्‍नो हातले काम गर्न वा बोल्‍न सक्दैनस्, वा तेरो आँखाले देख्‍न छोडेको छ, वा तैँले जिउ हलचल गराउन सक्दैनस् भन्दैमा, परमेश्‍वरले तँलाई निको पार्नु नै पर्छ भन्‍ने नसोच्, र यदि उहाँले तँलाई निको पार्नुभएन भने, तैँले उहाँलाई हृदयको अन्‍तस्‍करणबाट इन्कार्ने, आफ्‍नो कर्तव्य त्याग्‍ने, र परमेश्‍वरलाई छोड्‍ने इच्छा नगर्‌। यस्तो व्यवहारको प्रकृति कस्तो हुन्छ? (यो त परमेश्‍वरलाई धोका दिनु हो।) यो धोका हो। कतिपय मानिसहरू बिरामी नहुँदा प्रायजसो प्रार्थनामा परमेश्‍वरअघि आउँछन्, र जब तिनीहरू बिरामी हुन्छन् र परमेश्‍वरले तिनीहरूलाई निको पार्नुहुनेछ भनेर आफ्‍नो सारा आशा परमेश्‍वरमा राख्छन्, तब पनि तिनीहरू अझै परमेश्‍वरअघि नै आउँछन् र उहाँलाई त्याग्दैनन्। तर जब केही समय बितेपछि पनि परमेश्‍वरले अझै तिनीहरूलाई निको पार्नुहुन्‍न, तब तिनीहरू परमेश्‍वरप्रति खिन्‍न हुन्छन्, र तिनीहरूले हृदयको गहिराइबाटै परमेश्‍वरलाई त्याग्छन् र आफ्‍नो कर्तव्य पनि छोडिदिन्छन्। जब कतिपय मानिसहरूको रोग त्यति खराब हुँदैन, तब परमेश्‍वरले तिनीहरूलाई निको नपार्नुहुँदा पनि तिनीहरूले परमेश्‍वरलाई त्याग्दैनन्; तर जब तिनीहरूको रोग गम्‍भीर हुन्छ, र तिनीहरूले मृत्यु सामना गरिरहेका हुन्छन्, तब तिनीहरूलाई परमेश्‍वरले निको पार्नुभएको छैन, तिनीहरूले यो सारा समय मृत्यु पर्खिँदै बिताएका छन् भन्‍ने थाहा हुन्छ, र त्यसकारण तिनीहरूले हृदयबाटै परमेश्‍वरलाई त्याग्छन् र इन्कार गर्छन्। तिनीहरूलाई के लाग्छ भने, यदि परमेश्‍वरले तिनीहरूलाई निको पार्नुभएन भने, परमेश्‍वर पक्‍कै पनि अस्तित्वमा हुनुहुन्‍न; यदि परमेश्‍वरले तिनीहरूलाई निको पार्नुभएको छैन भने, परमेश्‍वर पक्‍कै पनि परमेश्‍वर हुनुहुन्‍न, र उहाँ विश्‍वास गर्न लायक हुनुहुन्‍न। यसरी परमेश्‍वरले तिनीहरूलाई निको नपार्नुभएकोले, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेकोमा खेद मान्छन्, र उहाँलाई विश्‍वास गर्न छोड्छन्। के यो परमेश्‍वरलाई धोका दिनु होइन र? यो त परमेश्‍वरलाई गम्‍भीर रूपमा धोका दिनु हो। त्यसकारण, तिमीहरू त्यो बाटोमा कदापि जानु हुँदैन—मृत्युसम्‍मै परमेश्‍वरको आज्ञापालन गर्नेहरूसँग मात्रै साँचो विश्‍वास हुन्छ।

जब रोगबिमारले घेर्छ, तब मानिसहरूले कुन मार्ग अपनाउनुपर्छ? तिनीहरूले कसरी छनौट गर्नुपर्छ? मानिसहरू हैरानी, बेचैनी र चिन्तामा डुब्‍नु हुँदैन, र आफ्‍नै भावी सम्‍भाव्यता र मार्गहरूबारे चिन्तन गर्नु हुँदैन। बरु, जति धेरै यस्तो समय र यस्ता विशेष परिस्थिति र अवस्थाहरूमा परिन्छ, र जति धेरै यस्ता तात्कालिक कठिनाइहरूमा फसिन्छ, मानिसहरूले त्यति नै धेरै सत्यता खोजी गर्नुपर्छ र सत्यता पछ्याउनुपर्छ। यस्तो गरे मात्रै तैँले विगतमा सुनेका प्रवचनहरू र तैँले बुझेका सत्यताहरू व्यर्थमा जानेछैनन् र तिनले काम गर्नेछन्। तैँले यस्ता कठिनाइहरू जति धेरै सामना गर्छस्, तैँले त्यति नै धेरै आफ्‍ना इच्छाहरू त्यागेर परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। परमेश्‍वरले यस्तो परिस्थिति तय गर्नु र यस्ता अवस्थाहरू बन्दोबस्त गर्नुको उद्देश्य तँलाई हैरानी, बेचैनी र चिन्ताका संवेगहरूमा डुबाउनु होइन, र यो तँ बिरामी हुँदा परमेश्‍वरले तँलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर उहाँलाई जाँच्‍न वा मामिलाको वास्तविकता के हो भनेर बताउन लगाउनको लागि पनि होइन; परमेश्‍वरले त यी विशेष परिस्थिति र अवस्थाहरू तैँले सत्यतामा अझै गहन प्रवेश पाउन र परमेश्‍वरप्रति अझै धेरै समर्पण हासिल गर्न यस्ता परिस्थिति र अवस्थाहरूमा व्यावहारिक पाठ सिक्‍न सक्, र परमेश्‍वरले मानिसहरू, घटनाहरू, र परिस्थितिहरू कसरी योजनाबद्ध गर्नुहुन्छ भन्‍ने कुरा अझै स्पष्ट र सही रूपमा जान्‍न सक् भनेर तय गर्नुहुन्छ। मानिसको नियति परमेश्‍वरको हातमा हुन्छ र, मानिसहरूले महसुस गरे पनि नगरे पनि, तिनीहरूलाई साँच्‍चै थाहा भए पनि नभए पनि, तिनीहरूले यो कुरालाई पालना गर्नुपर्छ र यसको विरोध र इन्कार गर्नु हुँदैन, र तैँले अवश्यै परमेश्‍वरलाई जाँच्‍नु पनि हुँदैन। जुनसुकै अवस्थामा पनि तँ मर्न सक्छस्, र तैँले परमेश्‍वरलाई विरोध, इन्कार, र जाँच गर्छस् भने, तेरो अन्त्य कस्तो हुनेछ त्यो भन्‍नै पर्दैन। बरु यसविपरीत, यदि तैँले त्यस्तै परिस्थिति र अवस्थाहरूमा सृष्टि गरिएको प्राणी कसरी सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ भनेर खोजी गर्न सक्छस् भने, परमेश्‍वरले तेरो जीवनमा ल्याउनुहुने परिस्थितिहरूमा तैँले के-कस्ता पाठहरू सिक्‍नुपर्छ र कुन-कुन भ्रष्ट स्वभावहरू चिन्‍नुपर्छ भनेर खोजी गर्न सक्छस् भने, अनि त्यस्ता परिस्थितिहरूमा परमेश्‍वरको इच्छा बुझ्‍न, र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न राम्ररी गवाही दिन सक्छस् भने, तैँले गर्नुपर्ने कुरा नै त्यही हो। जब परमेश्‍वरले कुनै व्यक्ति बिरामी पर्ने बन्दोबस्त मिलाउनुहुन्छ, तब त्यो बिराम ठूलो भए पनि सानो भए पनि, त्यस्तो गर्नुमा उहाँको उद्देश्य तँलाई बिरामी पर्नुका हरेक कुराहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने कठिनाइ र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने अनगिन्ती कुराहरू बुझाउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी भएर त्यो रोग बुझ् भन्‍ने होइन। बरु, उहाँको उद्देश्य त तँलाई त्यो बिमारबाट पाठहरू सिकाउनु, परमेश्‍वरको इच्छा कसरी महसुस गर्ने त्यो सिकाउनु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्‍वरप्रति तैँले अपनाउने गलत मनोवृत्तिहरू ज्ञात गराउनु, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा कसरी समर्पित हुने त्यो सिकाउनु हो, ताकि तैँले परमेश्‍वरप्रति साँचो आज्ञाकारिता हासिल गर्न र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्—मुख्य कुरा यही हो। परमेश्‍वरले तँलाई रोगबिमारमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँले परमेश्‍वरप्रतिका तेरा सबै अनावश्यक इच्छा र मागहरू पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि जीवित रहिरहन र बाँच्‍नको लागि गर्ने योजना, मूल्याङ्कन, र युक्तिहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्‍वरले तँलाई योजना बनाउन लगाउनुहुन्‍न, उहाँले तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्‍न, र उहाँले तँलाई उहाँप्रति कुनै अनावश्यक इच्छाहरू राख्‍न दिनुहुन्‍न; उहाँले त बस तँलाई उहाँमा समर्पित हुन, र तेरो अनुभव र समर्पण अभ्यासमा, त्यो रोगप्रति तेरो आफ्‍नो मनोवृत्ति के छ त्यो जान्‍न, र उहाँले तँलाई दिनुहुने यी शारीरिक अवस्थाहरूप्रति तेरो मनोवृत्ति के छ, साथै तेरा व्यक्तिगत कामनाहरू के छन् त्यो जान्‍न मात्र लगाउनुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्‍वरले तँ बिरामी पर्ने परिस्‍थितिहरू मिलाउनु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्। त्यसकारण, जब रोगबिमार आउँछ, तब तैँले सधैँ यसबाट कसरी उम्कने वा कसरी भाग्‍ने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन। कतिपय मानिसहरू भन्छन्, “मैले यसबाट भाग्‍नु वा यसलाई इन्कार गर्नु हुँदैन, र मैले यसबाट उम्‍कने प्रयास गर्नु हुँदैन भनेर तपाईं भन्‍नुहुन्छ, त्यसकारण तपाईंले भन्‍न खोज्‍नुभएको, म यसको उपचार गर्न जानु हुँदैन भन्‍ने हो!” मैले कहिल्यै त्यसो भनिनँ; त्यो तेरो गलतबुझाइ हो। म तँलाई सक्रिय रूपले तेरो रोग उपचार गर्न साथ दिन्छु, तर तँ तेरो बिमारमा जिएको वा तेरो रोगको कारण तँ हैरानी, बेचैनी र चिन्तामा डुबेको र अन्ततः तेरो रोगद्वारा उत्पन्‍न सबै पीडाको कारण तँ परमेश्‍वरबाट टाढिएको र तैँले परमेश्‍वरलाई त्यागेको चाहन्‍नँ। यदि तेरो रोगले तँलाई ठूलो कष्ट दिन्छ र तँ उपचार पाउन र रोग भगाउन चाहन्छस् भने, त्यो पनि अवश्य नै ठीकै कुरा हो। यो तेरो अधिकार हो; तैँले उपचार लिने निर्णय गर्नु तेरो अधिकार हो, र तँलाई रोक्‍ने अधिकार कसैसँग हुँदैन। तैपनि, तैँले आफ्‍नो रोगमा जिउनु हुँदैन, र उपचार गरिरहेको छु भन्दै, कर्तव्य पूरा गर्न इन्कार्ने, वा कर्तव्य त्याग्‍ने, वा परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरू इन्कार्ने गर्नु हुँदैन। यदि तेरो रोगको उपचार हुँदैन भने, तँ हैरानी, बेचैनी र चिन्तामा पर्नेछस्, त्यसकारण परमेश्‍वरबारे गुनासो र शङ्काले भरिनेछस्, र परमेश्‍वरमाथिको विश्‍वाससमेत गुमाउनेछस्, आशासमेत गुमाउनेछस्, र कतिले त आफ्‍नो कर्तव्य त्याग्‍नेसमेत निर्णय गर्नेछन्—यो तैँले साँच्‍चै नै गर्न नहुने कुरा हो। रोगबिमार सामना गर्दा, तैँले सक्रिय रूपमा उपचार खोज्‍न सक्छस्, तर तैँले यसलाई सकारात्मक मनोवृत्तिले लिनुपर्छ। जहाँसम्म तेरो रोग कति हदसम्‍म उपचार हुन सक्छ र यसको उपचार हुन्छ हुँदैन भन्‍ने कुरा छ, अन्त्यमा जे हुने भए पनि, तँ सधैँ समर्पित हुनुपर्छ र गुनासो गर्नु हुँदैन। तैँले अपनाउनुपर्ने मनोवृत्ति यही हो, किनभने तँ सृष्टि गरिएको प्राणी होस् र तँसँग अरू कुनै विकल्‍प हुँदैन। तैँले यसो भन्‍न मिल्दैन, “यदि म यो रोगबाट निको भएँ भने, म यो परमेश्‍वरको महान् शक्ति हो भनेर विश्‍वास गर्नेछु, र निको भइनँ भने, म परमेश्‍वरसँग खुसी हुनेछैन। परमेश्‍वरले किन मलाई यो रोग दिनुभयो? उहाँले किन यो रोग निको पार्नुहुन्‍न? किन मलाई नै यो रोग लाग्यो र अरू कुनै व्यक्तिलाई लागेन? म यो चाहन्‍नँ! मैले किन यति सानै उमेरमा मर्नुपर्ने? किन अरू मानिसहरूले चाहिँ बाँचिरहन पाएको? किन?” किन भनेर नसोध्, यो परमेश्‍वरको योजनाबद्ध कार्य हो। यसको कुनै कारण छैन, र तैँले किन भनेर सोध्‍नु हुँदैन। किन भनेर सोध्‍नु विद्रोही बोली हो, र यो सृष्टि गरिएको प्राणीले सोध्‍नुपर्ने प्रश्‍न होइन। किन भनेर नसोध्, किन भन्‍ने कुनै कुरै छैन। परमेश्‍वरले यसरी नै सबै कुराहरू बन्दोबस्त र योजनाबद्ध गर्नुभयो। यदि तैँले किन भनी सोध्छस् भने, यो मात्रै भन्‍न सकिन्छ कि तँ अत्यन्तै विद्रोही र हठी छस्। जब कुनै कुराले तँलाई असन्तुष्ट तुल्याउँछ, वा परमेश्‍वरले तैँले चाहेजस्तो गर्नुहुन्‍न वा तेरो शैलीमा तँलाई काम गर्न दिनुहुन्‍न, तँ बेखुसी हुन्छस्, मुर्मुरिन्छस्, र किन भनेर सधैँ प्रश्‍न गर्छस्। त्यसकारण, परमेश्‍वरले तँलाई सोध्‍नुहुन्छ, “सृष्टि गरिएको प्राणीको रूपमा, तैँले किन आफ्‍नो कर्तव्य राम्ररी निभाएको छैनस्? किन तैँले विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य निभाएको छैनस्?” अनि तैँले कसरी जबाफ दिन्छस्? तैँले भन्छस्, “कुनै कारण छैन, म यस्तै हो।” के यो स्वीकार्य छ? (छैन।) परमेश्‍वरले तँसँग त्यसरी बोल्‍नु स्वीकार्य हुन्छ, तर परमेश्‍वरसँग तैँले त्यसरी बोल्‍नु स्वीकार्य हुँदैन। तेरो दृष्टिकोण गलत छ, र तँ अत्यन्तै समझहीन छस्। सृष्टि गरिएको प्राणीले जस्तोसुकै कठिनाइ सामना गरे पनि, तँ सृष्टिकर्ताको बन्दोबस्त र योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ भन्‍ने तथ्य स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो। उदाहरणको लागि, तेरा आमाबुबाले तँलाई जन्‍म दिए, हुर्काए, र तँ तिनीहरूलाई आमाबुबा भन्छस्—यो स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो, र यो यस्तै हुनुपर्ने हो; यसमा किन भन्‍ने कुरै छैन। त्यसकारण, परमेश्‍वरले यी सब कुरा तेरो लागि योजनाबद्ध गर्नुहुन्छ र, तैँले आशिष्‌ उपभोग गरे पनि वा कठिनाइ भोगे पनि, यो स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो, र यस विषयमा तँसँग कुनै विकल्‍प हुँदैन। यदि तँ अन्त्यसम्‍मै समर्पित हुन सक्छस् भने, तैँले पनि पत्रुसले जस्तै मुक्ति प्राप्त गर्नेछस्। तैपनि, यदि कुनै क्षणिक रोगको कारण तैँले परमेश्‍वरलाई दोष दिन्छस्, र उहाँलाई त्याग्छस्, र धोका दिन्छस् भने, तैँले पहिले गरेको सबै त्याग, मेहनत, कर्तव्यपालन, र मूल्यचुकाइ व्यर्थ हुनेछन्। यस्तो किन हुन्छ भने तैँले विगतमा गरेका सबै परिश्रमले तेरो लागि सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी पूरा गर्नको लागि वा सृष्टि गरिएको प्राणीको स्थान लिनको लागि कुनै जग निर्माण गरेको हुँदैन, र यसले तेरो बारेमा केही कुरा परिवर्तन गरेको पनि हुँदैन। यसले गर्दा तैँले आफ्‍नो रोगको कारण परमेश्‍वरलाई धोका दिनेछस्, र तेरो अन्त्य पनि पावलको जस्तै हुनेछ र तैँले दण्ड पाउनेछस्। यस्तो निर्धारण हुनुको कारण के हो भने तैँले पहिले गरेका सबै कुराहरू मुकुट पाउन सकूँ भनेर अनि आशिष्‌हरू पाउने उद्देश्यले गरिएका हुन्छन्। यदि तैँले अन्त्यमा रोग र मृत्यु सामना गर्दा पनि, अझै पनि कुनै गुनासो नगरी समर्पित हुन सक्छस् भने, यसले प्रमाणित गर्छ कि तैँले पहिले गरेका सबै कुराहरू इमानदारीसाथ र स्वेच्छाले परमेश्‍वरको लागि गरेको थिइस्। तँ परमेश्‍वरप्रति आज्ञाकारी छस्, र अन्त्यमा तेरो आज्ञाकारिताले नै परमेश्‍वरमाथिको विश्‍वासको तेरो जीवनको सिद्ध अन्त्य चिन्हाङ्कित गर्नेछ, र यसलाई परमेश्‍वरले तारिफ गर्नुहुन्छ। त्यसकारण, कुनै रोगले तँलाई असल अन्त्य पनि दिलाउनेछ वा खराब अन्त्य पनि दिलाउनेछ; तैँले पाउने अन्त्य तैँले पछ्याउने मार्ग र परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिमा निर्भर हुनेछ।

के रोगबिमारको कारण मानिसहरू नकारात्मक संवेगहरूमा पर्ने समस्या अब हल भएको छ? (भएको छ।) रोगबिमार कसरी सामना गर्ने भन्‍नेबारेमा के अब तिमीहरूले सही विचार र दृष्टिकोणहरू पाएका छौ? (पाएका छौँ।) के तँलाई यस्तो अभ्यास कसरी गर्ने भन्‍ने थाहा छ? यदि थाहा छैन भने, म तिमीहरूलाई एउटा चाबी, अर्थात् गर्नुपर्ने उत्तम कुरा दिनेछु। यो के कुरा हो, के तिमीहरूलाई थाहा छ? यदि तेरो जीवनमा रोगबिमार आइपर्‍यो, र तैँले जति नै धर्मसिद्धान्त बुझेको भए पनि तैँले यसलाई जित्‍न सक्दैनस् भने, तेरो हृदय अझै पनि हैरान, बेचैन र चिन्तित हुन्छ, र तैँले यो कुरालाई शान्त भएर सामना गर्न नसक्‍ने मात्रै होइन, तेरो हृदयसमेत गुनासाहरूले भरिन्छ। तैँले निरन्तर यस्तो सोचिरहेको हुन्छस्, “किन अरू कसैलाई यो रोग लागेको छैन? किन मलाई यो रोग लाग्यो? किन मलाई यस्तो भयो? यो त म अभागी र मेरो भाग्य खोटो भएर भएको हो। मैले कसैलाई कहिल्यै चिढ्याएको छैन, न त कुनै पाप नै गरेको छु, त्यसकारण मलाई किन यस्तो भयो? परमेश्‍वरले मसँग साह्रै अन्यायपूर्ण व्यवहार गरिरहनुभएको छ!” देखिस् त, तँ हैरानी, बेचैनी र चिन्ताबाहेक डिप्रेसनमा पनि पर्छस्, एकपछि अर्को नकारात्मक संवेगमा डुब्छस् र तैँले जति धेरै चाहे पनि तँ कुनै हालतमा ती संवेगहरूबाट उम्कन सक्दैनस्। यो वास्तविक रोग नै भएकोले, यो सहजै हट्ने वा निको हुने हुँदैन, त्यसकारण तैँले के गर्नुपर्छ? तँ समर्पित हुन चाहन्छस् तर सक्दैनस्, र एकदिन तँ समर्पित भइस् भने, भोलिपल्‍ट तेरो अवस्था झन् खराब हुन्छ र धेरै पीडा हुन्छ, त्यसपछि तँलाई समर्पित हुन मन लाग्‍न छोड्छ, र तैँले फेरि पनि गुनासो गर्न थाल्छस्। तँ यसरी नै सधैँ अगाडि-पछाडि गरिरहन्छस्, त्यसकारण तैँले के गर्नुपर्छ? म तँलाई सफलताको रहस्य बताउँछु। तैँले ठूलो रोग सामना गरे पनि वा सानो रोग सामना गरे पनि, तेरो रोग गम्‍भीर हुनेबित्तिकै वा तैँले मृत्यु सामना गरिरहेको बेला, बस एउटा कुरा याद गर्: तैँले मृत्युको डर नमान्। तँ क्यान्सरको अन्तिम चरणमै भए पनि, तँलाई लागेको रोगको मृत्यु दर धेरै भए पनि, तैँले मृत्युको डर नमान्। तेरो कष्टभोग जति ठूलो भए पनि, तैँले मृत्युको डर मानिस् भने, तँ समर्पित हुँदैनस्। कतिपय मानिसहरू भन्छन्, “तपाईंले यसो भन्‍नुभएको सुन्दा, मलाई उत्प्रेरणा प्राप्त भयो र मैले अझै राम्रो विचार पाएको छु। म मृत्युको डर नमान्‍ने मात्रै होइन, बरु म यसैको लागि बिन्ती गर्नेछु। के यसो गर्दा अघि बढ्न सजिलो हुँदैन र?” किन मृत्युको लागि बिन्ती गर्ने? मृत्युको लागि बिन्ती गर्नु चरम विचार हो, तर मृत्युको डर नमान्‍नुचाहिँ अपनाउनुपर्ने उपयुक्त मनोवृत्ति हो। के त्यो साँचो होइन र? (हो।) मृत्युको डर नमान्‍नको लागि तैँले अपनाउनुपर्ने सही मनोवृत्ति के हो? यदि तेरो रोग अत्यन्तै गम्‍भीर अवस्थामा पुगेर तँ मर्ने सम्भावना भयो भने, र रोग लागेको व्यक्ति जति उमेरको भए पनि यो रोगको मृत्यु दर धेरै छ, र यो रोग लागेपछि मृत्यु हुने अवधि निकै थोरै छ भने, तैँले हृदयमा के विचार गर्नुपर्छ? “मैले मृत्युको डर मान्‍नु हुँदैन किनभने अन्त्यमा सबैजना मर्छन्। तर परमेश्‍वरमा समर्पित हुने कार्य धेरैजसो मानिसहरूले गर्न नसक्‍ने कुरा हो, र मैले यो रोगलाई प्रयोग गरेर परमेश्‍वरमा समर्पित हुने अभ्यास गर्न सक्छु। ममा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने सोच र मनोवृत्ति हुनुपर्छ, र मैले मृत्युको डर मान्‍नु हुँदैन।” मर्नु सजिलो छ, जिउनुभन्दा निकै सजिलो। तँ चरम पीडामा हुन सक्छस् र पनि तँलाई यो पीडा थाहा हुँदैन, र तेरो आँखा बन्द भएर तेरो सासले छोड्नेबित्तिकै, तेरो प्राणले शरीर त्याग्छ, र तेरो जीवनको अन्त्य हुन्छ। मृत्यु यसरी नै हुन्छ; यो यति सरल छ। मृत्युको डर नमान्‍नु भनेको अपनाउनुपर्ने एउटा मनोवृत्ति हो। यसबाहेक, तैँले तेरो रोग अझै खराब भएर जान्छ कि जाँदैन, वा तेरो उपचार भएन भने तँ मर्छस् कि मर्दैनस्, वा तँ कति समयपछि मर्छस्, वा मर्ने बेलामा तँलाई कस्तो पीडा हुन्छ भन्‍नेबारेमा पटक्‍कै चिन्ता गर्नु हुँदैन। तैँले यी कुराहरूबारे चिन्ता गर्नु हुँदै हुँदैन; तैँले चिन्ता गर्नुपर्ने कुराहरू यी हुँदै होइनन्। किनभने त्यो दिन आउने नै छ, र त्यो कुनै साल, महिना, र कुनै निश्‍चित दिनमा पक्‍कै आउनेछ। तँ यसबाट लुक्‍न सक्दैनस् र यसबाट उम्कन सक्दैनस्—यो तेरो नियति हो। तेरो तथाकथित नियति परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ र उहाँले पहिले नै यसको बन्दोबस्त मिलाइसक्‍नुभएको छ। तेरो आयु र उमेर अनि तँ मर्ने समय परमेश्‍वरले पहिले नै तय गरिसक्‍नुभएको छ, त्यसकारण तँ के को चिन्ता गर्छस्? तैँले यसबारे चिन्ता गर्न सक्छस् तर यसले केही परिवर्तन गर्दैन; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर तैँले यो घटनालाई रोक्‍न सक्दैनस्; तैँले यसबारे चिन्ता गर्न सक्छस्, तर त्यो दिन आउनबाट रोक्‍न सक्दैनस्। त्यसकारण, तेरो चिन्ता अनावश्यक छ, र यसले तेरो रोगको बोझ झन् गह्रौँ बनाइदिने मात्रै गर्छ। एउटा पक्ष भनेको चिन्ता नगर्नु हो भने, अर्को पक्षचाहिँ मृत्युको डर नमान्‍नु हो। अझै अर्को पक्ष भनेको यसो भन्दै बेचैन नहुनु हो, “म मरेपछि, के मेरो श्रीमान (वा श्रीमती) ले अर्को विवाह गर्ला (गर्ली)? मेरो बच्‍चालाई कसले स्याहार गर्ला? कसले मेरो कर्तव्य लेला? कसले मलाई सम्झेला? म मरेपछि, परमेश्‍वरले मेरो अन्त्य कस्तो हुने निर्धारित गर्नुहोला?” यस्ता कुराहरू तैँले चिन्ता गर्नुपर्ने कुराहरू होइनन्। मर्ने मानिसहरू सबैको जाने उचित ठाउँ हुन्छ र त्यो परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हुन्छ। बाँच्‍नेहरू बाँचिरहनेछन्; एक जनाको अस्तित्वले मानवजातिको सामान्य क्रियाकलाप र जीविततामा असर पार्नेछैन, न त कुनै व्यक्तिको विलयले नै केही परिवर्तन ल्याउनेछ, त्यसकारण तैँले यी कुराहरूबारे कुनै चिन्ता गर्नुपर्दैन। आफ्‍ना विभिन्‍न आफन्तहरूबारे चिन्ता गर्नु अनावश्यक छ, र तँ मरेपछि कसैले तँलाई सम्झला नसम्झला भनेर चिन्ता गर्नु झनै अनावश्यक छ। कसैले तँलाई सम्झनुको के अर्थ हुन्छ र? यदि तँ पत्रुसजस्तै थिइस् भने, तँलाई याद गर्नुको केही मूल्य हुन्थ्यो; यदि तँ पावलजस्तै थिइस् भने, तैँले मानिसहरूमा दुर्दशा मात्रै ल्याउँथिस्, अनि किन कसैले तँलाई सम्झन्थ्यो र? चिन्ता गर्ने अर्को विषय पनि छ जसबारे मानिसहरूसँग अत्यन्तै वास्तविक विचार हुन्छ। तिनीहरू भन्छन्, “म मरेपछि, मैले यो संसारलाई फेरि देख्‍नेछैनँ, र मैले यी सब कुराहरूको भौतिक जीवनको आनन्द लिन पाउनेछैनँ। म मरेपछि, यो संसारको कुनै पनि कुरासँग मेरो कुनै सम्‍बन्ध हुनेछैन, र जिउनुको अनुभूति हराइसकेको हुनेछ। मरेपछि, म कहाँ जान्छु होला?” कहाँ जान्छु होला भनेर तैँले चिन्ता गर्नु हुँदैन, न त तँ यसबारे बेचैन नै बन्‍नुपर्छ। तँ त्यसउप्रान्त जिउँदो व्यक्ति नै रहँदैनस्, तैपनि तँ भौतिक संसारका सबै मानिसहरू, घटनाहरू, परिस्थितिहरू, वातावरण, आदि इत्यादि कुरा अनुभूत गर्न पाउँदिनँ भनेर चिन्ता गर्दै छस्। यो त तैँले झनै चिन्ता गर्न नहुने कुरा हो, र तैँले यी कुराहरू त्याग्‍न नसके पनि, त्यसको कुनै अर्थ हुनेछैन। तर तँलाई के कुराले थोरै सान्त्वना दिन सक्छ भने, सायद तेरो मृत्यु वा प्रस्थान अर्को पुनर्जन्‍मको नयाँ सुरुवात हुन सक्छ, अझै राम्रो सुरुवात, अझै स्वस्थ सुरुवात, पूर्णतया राम्रो सुरुवात, र तेरो आत्मा फेरि फर्कने दिनको सुरुवात हुन सक्छ। यो खराब नै हुन्छ भन्‍ने हुँदैन, किनभने तँ फरक तरिकाले र फरक रूपमा अस्तित्वमा आउन सक्छस्। जहाँसम्म यो ठ्याक्‍कै के रूपमा हुनेछ भन्‍ने कुरा छ, यो परमेश्‍वर, अर्थात् सृष्टिकर्ताको बन्दोबस्तमा निर्भर हुन्छ। यस बिन्दुमा, के भन्‍न सकिन्छ भने, सबैजनाले बस पर्खेर हेर्नुपर्छ। यदि यो जीवनमा मरेपछि, तैँले अझै राम्रो तरिकाले र अझै राम्रो रूपमा जिउने निर्णय गरिस् भने, तेरो रोग जति नै खराब भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तैँले यसलाई कसरी सामना गर्छस् र तैँले के-कस्ता असल कर्महरू बटुल्छस् भन्‍ने हो, तेरो व्यर्थको हैरानी, बेचैनी र चिन्ता होइन। जब तैँले यसरी विचार गर्छस्, के मृत्युप्रतिको तेरो डर, त्रास, र इन्कारको हद घट्दैन र? (घट्छ।) हामीले भर्खरै कति वटा पक्षहरूबारे कुरा गर्‍यौँ? एउटा मृत्युको डर नमान्‍नु थियो। अरू के-के थिए? (हाम्रो बिमार अझै खराब हुन्छ कि हुँदैन भनेर हामीले चिन्ता गर्नु हुँदैन, र हामीले हाम्रो जाहान वा हाम्रा बालबच्‍चाबारे, वा हाम्रो आफ्‍नै अन्त्य र गन्तव्य, आदि इत्यादिबारे बेचैन बन्‍नु हुँदैन।) यो सब कुरालाई परमेश्‍वरको हातमा सुम्पिनुपर्छ। अरू के छ? (हामी मरेपछि हामी कहाँ जान्छौँ होला भनेर हामीले चिन्ता गर्नु हुँदैन।) यी कुराहरूबारे चिन्ता गर्नु व्यर्थ छ। तैँले वर्तमानमा जिउनुपर्छ, र तैँले आफूले गर्नुपर्ने कुरा यहीँ र अहिल्यै गर्नुपर्छ। भविष्यमा परिस्थिति कस्तो होला भनेर तँलाई थाहा हुँदैन, त्यसकारण तैँले यो सब कुरालाई परमेश्‍वरको हातमा सुम्पिनुपर्छ। अरू के छ? (हामीले हाम्रो भविष्यको गन्तव्यको लागि असल कर्महरू बटुल्न गर्न हतार गर्नुपर्छ।) ठीक भन्यौ, मानिसहरूले भविष्यको लागि अझै धेरै असल कर्महरू बटुल्नुपर्छ, तिनीहरूले सत्यता खोजी गर्नुपर्छ र तिनीहरू सत्यता बुझ्‍ने र सत्यता वास्तवविकता भएका मानिसहरू बन्‍नुपर्छ। कतिपय मानिसहरू भन्छन्, “तपाईंले अहिले मृत्युको कुरा गरिरहनुभएको छ, त्यसकारण के तपाईंले भविष्यमा हरेकले मृत्यु सामना गर्नुपर्छ भनेर भनिरहनुभएको हो? के यो अशुभ सङ्केत होइन र?” यो अशुभ सङ्केत होइन, न त यो तिमीहरूलाई सहने सुई लगाइदिनु नै हो, झन यो कसैलाई मृत्युको श्राप दिने कुरा त हुनै सक्दैन—यी शब्‍दहरू श्राप होइनन्। त्यसोभए, यी के हुन् त? (यी मानिसहरूको लागि अभ्यास गर्ने मार्गहरू हुन्।) सही भन्यौ, यी कुराहरू मानिसहरूले अभ्यास गर्नुर्ने मार्गहरू हुन्, यी मानिसहरूले राख्‍नुपर्ने सही दृष्टिकोण र मनोवृत्तिहरू हुन्, र यी मानिसहरूले बुझ्‍नुपर्ने सत्यताहरू हुन्। कुनै रोग नलागेका मानिसहरूले पनि मृत्यु सामना गर्ने यस्तै मनोवृत्ति अपनाउनुपर्छ। त्यसकारण, कतिपय मानिसहरू भन्छन्, “यदि हामीले मृत्युको डर मानेनौँ भने, के त्यसको अर्थ हाम्रो जीवनमा मृत्यु आउनेछैन भन्‍ने हुन्छ?” के यो सत्यता हो? (होइन।) त्यसोभए, के हो त? (यो एउटा धारणा र तिनीहरूको कल्‍पना हो।) यो हास्यास्पद कुरा हो, अनुचित तर्क, र शैतानी दर्शन हो—यो सत्यता होइन। तैँले मृत्युको डर वा चिन्ता मानिनस् भने, तेरो जीवनमा मृत्यु आउनेछैन र तँ मर्नेछैनस् भन्‍ने हुँदैन—यो सत्यता होइन। मैले त मृत्यु र रोगप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्तिबारे कुरा गरिरहेको छु। जब तैँले यस्तो मनोवृत्ति अपनाउँछस्, तब तैँले हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरू त्याग्‍न सक्छस्। त्यसपछि तँ आफ्‍नो रोगमै अल्झिरहनेछैनस्, र तेरो सोच र तेरो आत्माको संसारलाई तेरो रोगले हानि वा बाधा गर्नेछैन। मानिसहरूले सामना गर्ने व्यक्तिगत कठिनाइहरूमध्ये एउटा तिनीहरूको भावी सम्‍भाव्यता हो, र अर्कोचाहिँ रोग र मृत्यु हो। भावी सम्‍भाव्यता र मृत्युले मानिसहरूको हृदय नियन्त्रित पार्न सक्छन्, तर यदि तैँले यी दुई समस्याहरूलाई सही तरिकाले सामना गर्न र आफ्‍ना नकारात्मक संवेगहरूलाई जित्‍न सक्छस् भने, सामान्य कठिनाइहरूले तँलाई पराजित गर्नेछैनन्।

रोगबिमारबाहेक, मानिसहरूले आफ्‍नो जीवनका अरू केही वास्तविक समस्याहरूबारे पनि हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। जीवनमा धेरै वास्तविक समस्याहरू हुन्छन्, उदाहरणको लागि, तिमीहरूको घरमा बूढापाका वा बालबच्‍चाहरू हुन्छन् जसलाई हेरचाह वा लालनपालन गर्नुपर्छ, तेरा छोराछोरीलाई पढाइको लागि र खानबस्‍नको लागि पैसा चाहिन्छ, बूढापाकाहरूलाई उपचारको लागि खर्च लाग्‍न सक्छ, र दैनिक जीवनयापनको लागि ठूलो रकम जरुरी परिरहन्छ। यदि तिमीहरू आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छौ, तर तिमीहरूले आफ्‍नो जागिर छोड्यौ भने, तिमीहरू कसरी बाँच्‍नेछौ? तिमीहरूले घरमा बचत गरेर राखेको पैसा चाँडै सकिनेछ, तब कुनै बचत पैसा बाँकी नरहँदा तिमीहरू के गर्नेछौ? यदि तिमीहरू पैसा कमाउन बाहिर गयौ भने, यसले तिमीहरूको कर्तव्यनिर्वाहमा ढिलाइ गराउनेछ, तर तिमीहरूले कर्तव्य पूरा गर्न आफ्‍नो जागिर छोड्यौ भने, तिमीहरूको घरका कठिनाइहरू समाधान गर्ने कुनै उपाय हुँदैन। त्यसकारण, तिमीहरूले के गर्नुपर्छ? धेरै मानिसहरू यस्तो कुरामा अन्तर्द्वन्द्व र अन्योलमा पर्छन्, त्यसकारण तिनीहरू सबै जना परमेश्‍वर आउनुहुने दिनको तृष्णा गर्छन् र विपत्तिहरू कहिले आउने हो र तिनीहरूले खानेकुराहरू भण्डारण गरेर राख्‍नुपर्ने हो होइन भनेर सोचिबस्‍छन्। यदि तिनीहरूले त्यसको तयारी गर्ने हो भने, घरमा कुनै पैसा बाँकी रहँदैन र जीवन निकै कठिन हुन्छ। तिनीहरूले अरूले राम्रो लाएको र मीठो खाएको देख्छन् र तिनीहरूलाई दुःख लाग्छ र तिनीहरूको जीवन एदमै कठिन छ भन्‍ने लाग्छ। तिनीहरू धेरै दिनसम्‍म मासु नखाई बस्छन्, र तिनीहरूसँग केही अण्डा छ भने पनि तिनीहरूलाई त्यो साँचेर राखूँ कि जस्तो लाग्छ, र तिनीहरू हतारहतार बजार गएर त्यो बेच्छन् र केही पैसा कमाउँछन्। यी कठिनाइहरूबारे विचार गर्दा, तिनीहरूलाई चिन्ता लाग्‍न थाल्छ: “कठिनाइका यी दिनहरू कहिले अन्त्य हुने हो? तिनीहरूले सधैँ भन्छन्, ‘परमेश्‍वरको दिन आउँदै छ, परमेश्‍वरको दिन आउँदै छ,’ र ‘परमेश्‍वरको काम चाँडै नै अन्त्य हुँदै छ,’ तर यो वास्तवमा कहिले हुनेछ भनेर कसले हामीलाई बताउनेछ? कसले यो कुरा निश्‍चयसाथ भन्‍न सक्छ?” कतिपय मानिसहरूले घरबाट टाढा गएर कर्तव्य पूरा गर्दै वर्षौं बिताउँछन्, र बारम्बार तिनीहरूले यस्तो सोच्छन्, “मेरा छोराछोरी अहिले कत्रा भए, र मेरा आमाबुबा सन्चै हुनुहुन्छ कि हुन्‍न मलाई थाहै छैन। म यतिका वर्ष घरबाट टाढा बसेको छु र मैले तिनीहरूको हेरचाह गरेको छैनँ। के तिनीहरूले कुनै अप्ठ्याराहरू सामना गरिरहेका त छैनन्? तिनीहरू बिरामी भए भने के गर्छन् होला? के कसैले तिनीहरूको हेरचाह गर्नेछन्? अब त मेरा आमाबुबा ८०-९० को दशकमा हुनुहुन्छ, र उहाँहरू अझै बाँचिरहनुभएको छ छैन भनेरसमेत मलाई थाहा छैन।” जब तिनीहरूले यी कुराहरूबारे विचार गर्छन्, तिनीहरूको हृदयमा अज्ञात बेचैनी पैदा हुन्छ। बेचैनी महसुस गर्नेबाहेक, तिनीहरूलाई चिन्ता पनि हुन्छ, तर चिन्ता गरेर केही समाधान हुँदैन, त्यसकारण तिनीहरू हैरानी महसुस गर्न थाल्छन्। जब तिनीहरू अत्यन्तै हैरान हुन्छन्, तब तिनीहरूको ध्यान परमेश्‍वरको काम र परमेश्‍वरको दिनतर्फ मोडिन्छ, अनि तिनीहरूले सोच्छन्, “किन परमेश्‍वरको दिन अझै आएको छैन? के हामीले सधैँ यसरी नै भौँतारिँदै र एक्लिँदै जीवन बिताउनु पर्ने हो? आखिर परमेश्‍वरको दिन कहिले आउँछ? परमेश्‍वरको कामको अन्त्य कहिले हुन्छ? परमेश्‍वरले कहिले यो संसार नष्ट गर्नुहुन्छ? कहिले परमेश्‍वरको राज्य पृथ्वीमा प्रकट हुन्छ? कहिले हामीले परमेश्‍वर व्यक्तिको रूपमा देखा पर्नुभएको देख्‍नेछौँ?” तिनीहरूले यी कुराहरूबारे बारम्‍बार विचार गर्छन्, र तिनीहरूको हृदयमा चिन्ता, बेचैनी र हैरानीजस्ता नकारात्मक संवेगहरू पैदा हुन्छन्, त्यसकारण तिनीहरूमा तुरुन्तै चिन्तित मुद्रा देखिन्छ, तिनीहरूलाई कुनै पनि आनन्द हुन छोड्छ, तिनीहरू बिनाजाँगर हिँड्छन्, मन नलागीनलागी खान्छन्, र हरेक दिन दिमाग घुमाउँदै समय बिताउँछन्। के त्यस्ता नकारात्मक संवेगहरूमा जिउनु राम्रो कुरा हो? (होइन।) जीवनका सानातिना कुराहरूले पनि मानिसहरूलाई कहिलेकहीँ यी नकारात्मक संवेगहरूको निष्क्रियतामा डुबाउँछन्, र कहिलेकहीँ त कुनै कारणविनै, कुनै खास प्रसङ्गविनै, वा कुनै खास व्यक्तिले कुनै विशेष कुरा नभने पनि, यी नकारात्मक संवेगहरू थाहै नभई तिनीहरूको हृदयमा पैदा हुन्छन्। जब मानिसहरूको हृदयमा यी नकारात्मक संवेगहरू पैदा हुन्छन्, तिनीहरूको कामना, र परमेश्‍वरको दिन आओस्, उहाँको काम समाप्त होस्, र उहाँको राज्य आओस् भन्‍ने तिनीहरूको तृष्णा अझै जोडदार बन्छन्। कतिपय मानिसहरू त आँसुको धारा बगाउँदै आग्रहपूर्वक घुँडा टेकेर परमेश्‍वरलाई यसो भन्दै प्रार्थनासमेत गर्छन्, “हे परमेश्‍वर, मलाई यो संसारप्रति घृणा जागेको छ, र म यो मानवजातिलाई घृणा गर्छु। बिन्ती छ, यो सब कुरालाई जतिसक्दो चाँडो समाप्त गर्नुहोस्, र मानिसहरूको शारीरिक जीवन र यी सबै कठिनाइहरूलाई अन्त्य गर्नुहोस्।” तिनीहरूले धेरैपटक यसरी प्रार्थना गरे पनि कुनै परिणाम पाउँदैनन्, र तिनीहरूको हृदयलाई अझै पनि चिन्ता, बेचैनी र हैरानीजस्ता नकारात्मक संवेगहरूले गाँजेको हुन्छ, र ती कुराहरू तिनीहरूको विचार र तिनीहरूको आत्माको गहिराइमा रहन्छन्, र तिनले तिनीहरूलाई गहन प्रभाव पार्छन् र तिनीहरूलाई घेरेर राख्छन्। वास्तवमा, यो तिनीहरूले परमेश्‍वरको दिन चाँडै आओस्, परमेश्‍वरको काम चाँडै अन्त्य होस्, तिनीहरूले जतिसक्दो चाँडो परमेश्‍वरका आशिष्‌हरू पाउन सकून्, तिनीहरूले असल गन्तव्य पाउन सकून्, तिनीहरू स्वर्गमा वा आफूले कल्‍पना गरेको र आफ्‍ना धारणाहरूअनुसार तृष्णा गरेको राज्यमा प्रवेश गर्न सकून् भन्‍ने धेरै चाह गरेको कारणले बाहेक अरू कुनै कारणले यस्तो हुँदैन; त्यसकारण तिनीहरूलाई यी कुराहरूबारे अन्‍तस्‍करणमा सधैँ हडबडी हुन्छ। तिनीहरूले बाहिरी रूपमा पनि हडबडी नै भएको देखाउँछन्, तर तिनीहरूले वास्तवमा हैरानी, बेचैनी र चिन्ता महसुस गरिरहेका हुन्छन्। जब हैरानी, बेचैनी र चिन्ताका यस्ता संवेगहरूले मानिसहरूलाई सधैँ घेरिरहेका हुन्छन्, तब तिनीहरूको सोच सक्रिय हुन्छ र तिनीहरूले सोच्छन्, “यदि परमेश्‍वरको दिन चाँडै आउँदैन, र परमेश्‍वरको काम जतिसक्दो चाँडो पूरा हुँदैन भने, मैले मेरो जवानी र परिश्रम गर्ने मेरो क्षमताको फाइदा लिनुपर्छ। म काम गरेर पैसा कमाउन चाहन्छु, केही समयसम्‍म संसारमा धेरै परिश्रम गरेर जीवनको आनन्द लिन चाहन्छु। यदि परमेश्‍वरको दिन चाँडै आउँदैन भने, म घर फर्केर मेरो परिवारकहाँ जान चाहन्छु, एउटा जीवनसाथी खोजेर केही समयसम्‍म राम्रो जीवन जिउन, मेरा आमाबुबालाई सहयोग गर्न, र छोराछोरी हुर्काउन चाहन्छु। जब म बूढो हुन्छु, मेरा छोराछोरी धेरै हुनेछन् र तिनीहरू मसँगै बस्‍नेछन्, र हामीले पारिवारिक जीवनको आनन्द लिनेछौँ—कति सुन्दर छ त्यो दृश्य! कति मीठो छ यो कल्‍पना!” यस्तो सोच्दै, तिनीहरूले त्यस्तो जीवनको आनन्द लिने आशा गर्छन्। जबजब मानिसहरूलाई परमेश्‍वरको दिन चाँडै आउनेछ, र परमेश्‍वरको काम चाँडै समाप्त हुनेछ भन्‍ने लाग्छ, तबतब तिनीहरूलाई तिनीहरूको इच्छाले झन्झन् साह्रो पोल्छ, र परमेश्‍वरको काम जतिसक्दो चाँडो अन्त्य होस् भन्‍ने तिनीहरूको तृष्णा झन्झन् तीव्र बन्छ। त्यस्तो परिस्थितिमा, जब वास्तविकताहरू मानिसहरूले चाहेजस्तो हुँदैन, जब मानिसहरूले परमेश्‍वरको काम समाप्त हुने वा परमेश्‍वरको दिन आउने कुनै छाँटकाँट देख्दैनन्, तब तिनीहरूको हैरानी, बेचैनी र चिन्ता झन्झन् तीव्र हुन्छ। अनि, तिनीहरूले केही वर्षपछि जब तिनीहरू बूढो हुनेछन् र तिनीहरूले जीवनसाथी पाएका हुँदैनन्, तब बूढेसकालमा तिनीहरूलाई कसले स्याहार गर्छ भनेर चिन्ता गर्छन्। यदि तिनीहरूले निरन्तर परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्छन् र समाजसँगको सबै सम्‍बन्ध तोडिसकेका हुन्छन् भने, तिनीहरू बस्‍नको लागि घर फर्किँदा तिनीहरू समाजमा फेरि घुलमिल हुन सक्छन् कि सक्दैनन् भन्‍ने तिनीहरूलाई चिन्ता हुन्छ। यदि तिनीहरू केही वर्षको अवधिमा व्यापार-व्यवसाय वा काममा फर्के भने, तिनीहरूले समयलाई पछ्याउन सक्छन् कि सक्दैनन्, भीडभन्दा माथि उठ्न सक्छन् कि सक्दैनन्, र तिनीहरू बाँच्‍न सक्छन् कि सक्दैनन् भन्‍ने तिनीहरूलाई चिन्ता हुन्छ। अनि, तिनीहरूले यस्ता कुराहरूबारे जति चिन्ता गर्छन् र यी कुराहरूबारे तिनीहरूलाई जति बेचैनी र हैरानी हुन्छ, त्यति नै तिनीहरूले शान्त भएर परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई पछ्याउन सक्दैनन्। तसर्थ, तिनीहरूले आफ्‍नो भविष्य, आफ्नो सम्भाव्यता, र आफ्नो पारिवारिक जीवनबारे झन्झन् धेरै चिन्ता गर्छन्, र साथमा तिनीहरूले भविष्यमा आफ्‍नो जीवनमा आइपर्ने सबै कठिनाइहरूबारे पनि चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले आफूले सोच्‍न सक्‍ने सबै कुराबारे सोच्छन्, र आफूले चिन्ता गर्न सक्‍ने सबै कुराबारे चिन्ता गर्छन्; तिनीहरूले आफ्‍ना नातिनातिनाबारे र नातिनातिनाका सन्तानहरूको जीवन कस्तो हुनेछ भनेरसमेत चिन्ता गर्छन्। तिनीहरूको सोच टाढाटाढासम्‍म फैलन्छ, तिनीहरूको सोच अत्यन्तै व्यापक हुन्छ, र तिनीहरूले सबै कुराबारे विस्तृत रूपमा विचार गर्छन्। जब मानिसहरूलाई यस्तो चिन्ता, बेचैनी र हैरानी हुन्छ, तिनीहरू आफ्‍नो कर्तव्य शान्त रूपमा पूरा गर्न नसक्‍ने बन्छन्, र तिनीहरूले परमेश्‍वरलाई पछ्याउनै सक्दैनन्, बरु तिनीहरूमा प्रायजसो सक्रिय विचारहरू आइरहन्छन्, अनि तिनीहरू कहिले तातिन्छन् त कहिले चिसिन्छन्। जब तिनीहरूले सुसमाचारको काम राम्ररी अघि बढिरहेको देख्छन्, तब तिनीहरूले सोच्छन्, “परमेश्‍वरको दिन चाँडै आउनेछ। हो, मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ! बल गर्! अब त मैले थप केही वर्ष मात्रै निरन्तरता दिनुपर्छ, अब धेरै समय बाँकी छैन। यो सबै कष्ट सार्थक हुनेछ र यो सबले फल फलाउनेछ, र त्यसपछि मैले थप कुनै चिन्ता गर्नु पर्दैन!” तैपनि, केही वर्ष बितेपछि पनि ठूलाठूला विपत्तिहरू आएका हुँदैनन् र कसैले पनि परमेश्‍वरको दिनको कुरा गर्दैन, त्यसकारण तिनीहरूको हृदय सेलाउँछ। यसरी हैरानी, बेचैनी र चिन्ता, साथै तिनीहरूको सक्रिय विचार आउनेजाने भइरहन्छ, यसरी यो कुरा बारम्बार दोहोरिरहन्छ, अर्थात् अन्तराष्ट्रिय अवस्था र परमेश्‍वरको घरको अवस्थाअनुसार यो चक्र चलिरहन्छ, अनि यी कुराहरू नियन्त्रण गर्नको लागि तिनीहरूले केही पनि गर्न सक्दैनन्—जोसुकैले जे भने पनि तिनीहरूले आफ्‍नो स्थिति परिवर्तन गर्न सक्दैनन्। के यस्ता मानिसहरू छन्? (छन्।) के यस्ता मानिसहरूलाई दह्रिलो गरी खडा हुन सजिलो हुन्छ? (हुँदैन।) तिनीहरूले कर्तव्य पूरा गर्दा तिनीहरूमा हुने मनोवृत्ति र मुड, र तिनीहरूले कर्तव्यमा लगाउने ऊर्जा सबै “पछिल्लो ताजा खबर” मा आधारित हुन्छ। कतिपय मानिसहरूले भन्छन्, “भरपर्दो समाचारअनुसार, परमेश्‍वरको सुसमाचार राम्ररी फैलिरहेको छ!” अनि कतिपय मानिसहरूले भन्छन्, “पछिल्‍लो ताजा खबरअनुसार संसारभरि अत्यन्तै नियमित रूपमा विपत्तिहरू आइरहेका छन्, र अहिलेको संसारको स्थिति र विपत्तिहरूले प्रकाशको पुस्तकको यो-यो विपत्ति पूरा गरेको देखिन्छ। परमेश्‍वरको काम चाँडै पूरा हुनेछ, र परमेश्‍वरको दिन चाँडै आउनेछ, अनि धार्मिक संसारमा तहल्‍का मच्चिनेछ!” तिनीहरूले “पछिल्‍लो ताजा खबर” सुने पनि “भरपर्दो समाचार” सुने पनि, दुवै अवस्थामा तिनीहरूको हैरानी, बेचैनी र चिन्ता क्षणिक रूपमा कम हुन्छ र त्यसले तिनीहरूलाई बाधा दिन छोड्छ अनि तिनीहरूले आफ्‍ना सक्रिय विचारहरू केही समयको लागि छोड्छन्। तैपनि, जब तिनीहरूले केही समयसम्‍म “भरपर्दो समाचार” वा कुनै “साँचो खबर” सुनेका हुँदैनन्, तब तिनीहरूको हैरानी, बेचैनी र चिन्ता, साथै तिनीहरूको सक्रिय विचार बाढीजस्तै उर्लन थालिहाल्छन्। कतिपय मानिसहरूले त कहाँ जागिर खोज्‍ने, कहाँ काम गर्ने, कति जना छोराछोरी जन्‍माउने, केही वर्षपछि छोराछोरीलाई कहाँ पढाउने, तिनीहरूको कलेजको खर्चको लागि कसरी जोहो गर्ने भनेर सोच्दै तयारीसमेत गर्छन्, र तिनीहरूले घर, जग्‍गा वा कार किन्‍नेसमेत योजना बनाउँछन्। तैपनि, “भरपर्दो समाचार” सुनेपछि, तिनीहरूले यी कुराहरू केही समयको लागि स्थगित गरिदिन्छन्। के यो चुट्किला जस्तो देखिँदैन र? (देखिन्छ।) तिनीहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन् तर तिनीहरूले यस कुरामा आफ्‍नो हृदय लगाएर परमेश्‍वरमा विश्‍वास गर्नु जीवनको सही मार्ग हो, यो सबैभन्दा अर्थपूर्ण जीवन हो, र यसरी जिउनु नै सबैभन्दा मूल्यवान् हुन्छ भनेर भन्दैनन्; परमेश्‍वरले तिनीहरूलाई जे-जसरी डोर्‍याउनुभए पनि वा परमेश्‍वरले जे गर्नुभए पनि, तिनीहरू परमेश्‍वरले गर्नुहुने सबै कुरा मानिसहरूलाई मुक्ति दिनको लागि हो भन्‍नेमा पक्‍का हुन्छन्, त्यसकारण तिनीहरूले परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउँछन्। चाहे यसको लागि स्वर्ग र पृथ्वी बूढो हुनुपरोस्, चाहे ताराहरूले स्थान परिवर्तन गर्नुपरोस्, चाहे यसको लागि समुद्र सुक्‍नुपरोस्, चाहे चट्टान धूलोमा परिणत हुनुपरोस् वा चाहे समुद्र जमिनमा अनि जमिन समुद्रमा परिणत हुनुपरोस्, तिनीहरूको हृदय उस्तै हुन्छ, र यो स्थिर हुन्छ। तिनीहरूको हृदय बाँकी जीवनभरिको लागि परमेश्‍वरलाई दिइएको हुन्छ, र तिनीहरूले यो जीवनपछि तुरुन्तै अर्को जीवन पाए भने पनि, तिनीहरूले अझै परमेश्‍वरलाई नै पछ्याउँछन्। तर जीवनमा धेरै कठिनाइहरू भएका यी मानिसहरूले भने यस्तो सोच्दैनन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास केही समय पर्खेर हेर भन्‍ने खालको हुन्छ, र तिनीहरूलाई जे-जसरी जिउनुपर्छ भन्‍ने लाग्छ तिनीहरू त्यसरी नै जिउँछन्। आफूले परमेश्‍वरमा विश्‍वास गरेको कारण र परमेश्‍वरमाथिको विश्‍वासको मार्ग पछ्याएको कारण, तिनीहरूले आफ्‍नो जिउने तरिका र माध्यम परिवर्तन गर्ने वा आफ्‍ना कामना वा योजनाहरू बदल्ने गर्दैनन्। सुरुमा तिनीहरूको योजना जे-जस्तो भए पनि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैमा त्यो योजना परिवर्तन गर्दैनन्, तिनीहरूले केही कुरा पनि परिवर्तन गर्दैनन्, र तिनीहरूले अविश्‍वासीहरू जे-जसरी जिउँछन् त्यसरी नै जिउने प्रयास गर्छन्। तैपनि, परमेश्‍वरमाथिको विश्‍वासमा एउटा विशेष कुरा संलग्‍न हुन्छ, र त्यो कुरा के हो भने, परमेश्‍वरको दिन चाँडै आउनेछ, परमेश्‍वरको राज्य चाँडै आउनेछ, र ठूलाठूला विपत्तिहरू पक्‍कै आउनेछन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरू विपत्तिबाट उम्कन सक्‍नेछन्, तिनीहरू विपत्तिहरूमा पर्नेछैनन्, तिनीहरूले मुक्ति पाउन सक्‍नेछन्, र यो विशेष कुराको कारण मात्रै तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न एकदमै धेरै चासो लाग्छ। त्यसकारण, तिनीहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा तिनीहरूको उद्देश्य र तिनीहरूले ध्यान दिने कुरा जहिल्यै पनि यही एउटा कुरा मात्रै हुन्छ। तिनीहरूले जति वटा प्रवचन सुने पनि, वा मानिसहरूको सङ्गतिबाट तिनीहरूले जति वटा सत्यता सुने पनि, वा तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको तरिका कहिल्यै परिवर्तन हुँदैन, र तिनीहरूले यो कुरा कहिल्यै छोड्दैनन्। न त तिनीहरूले सुनेको प्रवचनको कारण न त तिनीहरूले बुझेका सत्यताहरूको कारण नै तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासप्रति तिनीहरूमा रहेको आफ्‍नो गलत दृष्टिकोण परिवर्तन गर्न वा त्याग्‍न सक्छन्। त्यसकारण, बाहिरी संसारमा वा परमेश्‍वरको घरको परिस्थितिमा कुनै परिवर्तन आएको छ कि छैन वा त्यसबारेमा कुनै कुरा पो आएको छ कि, त्यसले तिनीहरूले आफ्‍नो अन्‍तस्‍करणमा सबैभन्दा बढी चिन्ता गर्ने यो कुरामा सदैव ठूलो प्रभाव पार्ने गर्छ। यदि तिनीहरूले परमेश्‍वरको काम चाँडै पूरा हुनेछ भन्‍ने सुने भने, तिनीहरू उल्‍लसित हुन्छन्; तैपनि, परमेश्‍वरको काम पूरा हुनको लागि अझै कति पनि समय भएको छैन भन्‍ने तिनीहरूले सुने भने, र तिनीहरू अघि बढिरहन सक्दैनन् भने, हरेक दिन तिनीहरूमा हैरानी, बेचैनी र चिन्ता बढ्दै जान्छ, र तिनीहरूले परमेश्‍वरको घर र तिनीहरूका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै पनि समय छोडेर जानको लागि, र परमेश्‍वरको घरबाट पूर्ण रूपमा सम्‍बन्ध तोड्नको लागि तयारी गर्न थाल्छन्। अनि अवश्य नै, यहाँ यस्ता मानिसहरू पनि छन् जसले कुनै पनि बेला आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका सबै सम्पर्क विवरण र तिनीहरूका मेसेजहरू पूर्ण रूपमा मेटाइदिने, र परमेश्‍वरको घरले तिनीहरूलाई पठाएका परमेश्‍वरको वचनका पुस्तकहरू मण्डली फर्काइदिने तयारी गर्न सक्छन्। तिनीहरूले सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने यो मार्गमा म साँच्‍चै हिँडिरहन सक्दिनँ। म त सोच्थेँ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको सुखी जीवन जिउनु, छोराछोरी जन्‍माउनु, आशिष्‌हरू प्राप्त गर्नु र स्वर्गको राज्यमा प्रवेश गर्नु हो। अब यो सुन्दर सपना चकनाचुर भइसकेको छ, त्यसकारण म अझै पनि सुखी जीवन जिउन, छोराछोरी जन्‍माउन, र जीवनको आनन्द लिन चाहन्छु। तर म फेरि पनि अझै परमेश्‍वरमाथिको विश्‍वास छोड्न सक्दिनँ। यदि मैले यो जीवनमा यसको सय गुणा र आउँदो जीवनमा अनन्त जीवन पाउने मौका छ भने, के त्यो अझै राम्रो हुँदैन र?” परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूको दृष्टिकोण यस्तो हुन्छ, र तिनीहरूको योजना यही हुन्छ, अनि अवश्य नै, तिनीहरूले गर्ने कुरा पनि यही हुन्छ। परमेश्‍वरमाथिको विश्‍वासमा आफ्‍नो कल्‍पनामा भर पर्ने, आफ्‍नो देहगत जीवनबारे सधैँ हैरानी, बेचैनी र चिन्ता महसुस गर्ने मानिसहरूको अन्तस्करणभित्र हुने सोच र योजना यही हुन्छ, र यसले परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले के पछ्याउँदा रहेछन् र कुन मार्ग लिँदा रहेछन् भन्‍ने कुराको प्रतिनिधित्व गर्छ। आखिर तिनीहरू के कुरामा अल्झिरहेका हुन्छन्? तिनीहरू सबैभन्दा बढी परमेश्‍वरको दिन कहिले आउनेछ, परमेश्‍वरको कामको अन्त्य कहिले हुनेछ, ठूलाठूला विपत्तिहरू कहिले आउनेछन्, र तिनीहरू महाविपत्तिहरूबाट उम्कन सक्‍नेछन् कि सक्‍नेछैनन् भन्‍ने कुरामै सबैभन्दा बढी अल्झिरहेका हुन्छन्—तिनीहरू सबैभन्दा बढी यही कुरामा अल्झिरहेका हुन्छन्।

जहाँसम्‍म आफ्‍नो देहगत जीवनबारे सधैँ हैरानी, बेचैनी र चिन्ता महसुस गर्ने मानिसहरूको कुरा छ, परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले पछ्याउने कुरा भनेको “यो जीवनमा सय गुणा र अर्को जीवनमा अनन्त जीवन प्राप्त गर्नु” हो। तर तिनीहरू परमेश्‍वरको काम कसरी अघि बढेको छ, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले मुक्ति पाउने परिणाम प्राप्त गर्छन् कि गर्दैनन्, कति जना मानिसहरूले सत्यता प्राप्त गरेका, परमेश्‍वरलाई चिनेका, र असल गवाही दिएका छन् भनेर सुन्‍न चाहँदैनन्, यस्तो लाग्छ मानौँ यी कुराहरूसँग तिनीहरूको कुनै सम्‍बन्ध नै छैन। अनि, तिनीहरू के सुन्‍न चाहन्छन् त? (परमेश्‍वरको कामको अन्त्य कहिले हुन्छ भन्‍ने कुरा।) तिनीहरूका आशाहरू ठूल्ठूला हुन्छन्, होइन र? धेरैजसो मानिसहरू अत्यन्तै सानो चित्तका हुन्छन्। हेर्‌ त, तिनीहरूले कता नजर लाएका छन्, र तिनीहरूले कति ठूल्ठूला कुराहरू मात्रै आशा गर्छन्—तिनीहरू कति उच्च स्थितिमा छन्! धेरैजसो मानिसहरू बस अत्यन्तै अशिष्ट हुन्छन्, तिनीहरू सधैँ स्वभाव परिवर्तनबारे, परमेश्‍वरमा समर्पित हुनेबारे, आफ्‍नो कर्तव्य विश्‍वासयोग्य ढङ्गले पूरा गर्नेबारे, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेबारेमा मात्रै कुरा गरिरहेका हुन्छन्—यी मानिसहरू के हुन्? तिनीहरू साह्रै साँघुरो चित्तकाहरू हुन्! तिनीहरूबारे चिनियाँ मानिसहरूले के भन्छन्? ती मानिसहरू अत्यन्तै नीच छन्। नीचको अर्थ के हो? यो अत्यन्तै अशिष्ट हो। अनि यी मानिसहरूले कता नजर लाएका हुन्छन्? तिनीहरूले ठूल्ठूला कुराहरू, उत्कृष्ट कुराहरू, र माथिल्‍लो दर्जाका कुराहरू आशा गर्छन्। माथिल्‍लो दर्जाका कुराहरू आशा गर्ने मानिसहरू सधैँ माथितिर प्रगति गर्न चाहन्छन्, र तिनीहरूले अझै पनि परमेश्‍वरले एक दिन तिनीहरूलाई उहाँसँग भेट गराउन माथि आकाशमा उचाल्‍नुहुनेछ भन्‍ने व्यर्थ आशा गर्छन्। तँ परमेश्‍वरलाई भेट्न त चाहन्छस् तर परमेश्‍वरले तँसँग भेट गर्न चाहनुहुन्छ कि हुन्‍न भनेर सोध्दैनस्—तँ बस यी सुन्दर कुराहरू मात्रै चाहिरहन्छस्! के तैँले परमेश्‍वरलाई एक-दुईपटक मात्रै भेटेको छस्? मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, त्यसकारण जब तैँले उहाँलाई भेट्छस्, तब पनि तैँले उहाँलाई अवज्ञा गरिरहेको हुन्छस्। त्यसोभए, यी मानिसहरूको हैरानी, बेचैनी र चिन्तापछाडि कुन कारण लुकेको हुन्छ? के यो साँच्‍चै तिनीहरूको जीवनका कठिनाइहरूकै कारणले हो त? होइन, तिनीहरूको जीवनमा वास्तवमा कठिनाइहरू हुन्छन् नै भन्‍ने हुँदैन, बरु तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासमा आफ्‍नो दैहिक जीवनप्रति ध्यान केन्द्रित गरेका हुन्छन्। तिनीहरूको पछ्याइको जोड सत्यता होइन, बरु सुखी जीवन जिउनु, असल जीवनको आनन्द लिनु र राम्रो भविष्य पाउनु हो। के यी मानिसहरूको समस्या समाधान गर्न सजिलो हुन्छ? के मण्डलीमा यसप्रकारका मानिसहरू हुन्छन्? तिनीहरूले सधैँ अरूलाई यस्तो कुरा सोधिरहेका हुन्छन्, “अहो, परमेश्‍वरको दिन कहिले आउँछ? के एक-दुई वर्ष पहिले नै परमेश्‍वरको काम समाप्त हुन लागेको छ भनेर भनिएको होइन र? तैपनि किन यो अझै समाप्त भएको छैन?” के यस्ता मानिसहरूलाई कसरी सम्हाल्ने, कुनै उपाय छ? तिनीहरूलाई एउटै शब्‍द भन्, अर्थात् “चाँडै” भनेर भन्! यस्ता मानिसहरू सामना गर्दा, सुरुमा तिनीहरूलाई यो कुरा सोध्, “तपाईंले सधैँ यसबारे सोधिरहनुभएको हुन्छ। के तपाईंले कुनै योजना बनाउनुभएको छ? बनाउनुभएको छ भने, र मन छैन भने यहाँ बस्‍ने झमेला नलिनुहोस्। आफूले चाहेको कुरामै जानुहोस्। आफ्‍ना इच्छाहरूविपरीत नजानुहोस्, र आफ्‍नो लागि जीवन कठिन नबाउनुहोस्। परमेश्‍वरको घरले तपाईंलाई यहाँ राखिरहेको, र बन्धनमा पारिरहेको छैन। तपाईंलाई जहिले मन लाग्छ त्यही बेला तपाईं जान सक्‍नुहुन्छ। सधैँ नयाँ खबर के छ भनेर सोधिनरहनुहोस्। यस्तो कुनै पनि नयाँ खबरबारे तपाईंलाई ‘चाँडै’ भनेर मात्रै भनिनेछ। यदि तपाईंलाई यो उत्तरबाट चित्त बुझेन भने, यदि तपाईंले पहिले नै हृदयमा योजना बनाउनुभएको छ र ढिलोचाँडो त्यो योजना पूरा गर्दै हुनुहुन्छ भने, मेरो सल्‍लाह मान्‍नुहोस्: जतिसक्दो चाँडो परमेश्‍वरको वचनका पुस्तकहरू मण्डलीमा फर्काउनुहोस् र आफ्‍नो कम्लोकुटुनी कस्‍नुहोस्, र जानुहोस्। हामी बस एक-अर्कालाई बिदाइ गर्नेछौँ, अनि तपाईंले यी कुराहरूबारे फेरि कहिल्यै पनि हैरानी, बेचैनी वा चिन्ता महसुस गर्नुपर्नेछैन। घर फर्केर जानुहोस् र आफ्‍नो जीवन जिउनुहोस्। म तपाईंलाई शुभकामना दिन्छु! म तपाईंको सुखी र सन्तुष्ट जीवनको कामना गर्छु र तपाईंको लागि भविष्यमा सबै कुरा ठीक होस् भन्‍ने आशा गर्छु!” तिमीहरूलाई यो कस्तो लाग्यो? (राम्रो लाग्यो।) तिनीहरूलाई मण्डली छोड्ने सल्‍लाह देओ; तिनीहरूलाई राख्‍ने प्रयास नगर। किन राख्‍ने प्रयास नगर्ने? (तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसकारण तिनीहरूलाई राख्‍नुको कुनै औचित्य छैन।) ठीक भन्यौ; तिनीहरू गैरविश्‍वासीहरू हुन्! गैरविश्‍वासीहरूलाई राखिराख्‍नु र ननिकाल्‍नुको अर्थ के हुन्छ र? कतिपय मानिसहरूले भन्छन्, “तैपनि तिनीहरूले कुनै दुष्कर्म गरेका छैनन्, र तिनीहरूले केही कुरामा बाधा दिएका छैनन्।” के तिनीहरूले कुनै बाधा दिनु जरुरी हुन्छ? मलाई भन, के यस्तो व्यक्ति मानिसहरूको समूहमा बस्दा त्यही कुराले नै अवरोध ल्याइरहेको हुँदैन र? तिनीहरू जहाँ गए पनि, तिनीहरूको आचरण र व्यवहारले नै अवरोध ल्याइरहेको हुन्छ। तिनीहरूले कहिल्यै पनि आत्मिक भक्तिहरू गर्दैनन्, तिनीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू पढ्दैनन्, तिनीहरूले कहिल्यै प्रार्थना गर्ने वा भेलाहरूमा सङ्गति गर्ने गर्दैनन्, तिनीहरूले सधैँ नयाँ खबर के छ भनेर सोध्दै आफ्‍नो कर्तव्यमा झारा टार्ने मात्र गर्छन्। तिनीहरू अत्यन्तै भावनात्मक र अस्थिर हुन्छन्। तिनीहरू खान, पिउन र रमाइलो गर्नमा अत्यन्तै धेरै ध्यान दिन्छन्, अनि कतिपय मानिसहरू त झन् यस्ता छन् कि जो अत्यन्तै अल्छी, घिचुवा, सुतुवा, हस्तक्षेपुवा र परमेश्‍वरको घरमा सङ्ख्या बढाउने भतुवा मात्रै हुन्। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्नमा ध्यान दिँदैनन्, र तिनीहरू लफङ्गाहरू मात्रै हुन्। जब तिनीहरू परमेश्‍वरको घरमा आउँछन्, तब तिनीहरूले आफूलाई नाफा हुने कुराहरू र फाइदा लिने तरिकाहरू मात्रै खोजिरहेका हुन्छन्। यदि तिनीहरूले फाइदा लिन सकेनन् भने, तिनीहरू सानो निहुँमा पनि निस्केर जानेछन्। आखिर सानो निहुँ पाउँदै निस्केर जान्छन् भन्‍ने देख्दा, के तिनीहरू पछिभन्दा पहिले नै गएको राम्रो होइन र? यस्ता मानिसहरूले अन्त्यसम्‍मै सेवा दिन सक्दैनन् र तिनीहरूको सेवामा कुनै राम्रो प्रभाव पनि हुँदैन। तिनीहरूले सेवा गर्दा पनि सही कुराहरू गर्दै गर्दैनन्—तिनीहरू त बस गैरविश्‍वासीहरू मात्र हुन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, तिनीहरूले तेस्रो दृष्टिकोणबाट समस्याहरू हेर्ने गर्छन्। जब परमेश्‍वरको घरले उन्‍नति गर्छ, तब तिनीहरू तिनीहरूलाई आशिष्‌ पाउने आशा हुन्छ, तिनीहरूले फाइदा पाउँछन्, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास व्यर्थ भएको छैन, तिनीहरू घाटामा गएका छैनन्, र तिनीहरू जित्‍ने पक्षमा छन् भन्‍ने सोच्दै खुसी हुन्छन्। तर यदि परमेश्‍वरको घरलाई शैतानी शक्तिहरूले दमन गरेको छ, समाजले त्यागेको छ, यो गिल्‍ला र सतावटमा परेको छ, र यो नाजुक अवस्थामा छ भने, तिनीहरू खिन्‍न हुने मात्र होइन, तिनीहरूले त यो कुरालाई हाँसोमा समेत उडाउँछन्। के हामीले यस्ता मानिसहरूलाई मण्डलीमा राख्‍न सक्छौँ? (सक्दैनौँ।) तिनीहरू गैरविश्‍वासी र शत्रुहरू हुन्! यदि कुनै शत्रु तेरै छेउमा छ, र पनि तैँले उसलाई दाजुभाइ वा दिदीबहिनीको रूपमा हेर्छस् भने, के तँ मूर्ख भएको हुँदैनस् र? यदि यस्ता मानिसहरूले स्वेच्छाले सेवा गर्न सक्दैनन् भने, तिनीहरूलाई निकालिनुपर्छ, होइन र? (हो।) वास्तवमै हो, र यो काम तुरुन्तै र सम्पूर्ण तवरमा गरिहाल। तिनीहरूलाई सल्‍लाह दिनुको कुनै खाँचो छैन, बस सहजसाथ तिनीहरूलाई जाओ भनी भन। तिनीहरूमा आफ्‍नो ऊर्जा खर्च गरिरहनु पर्दैन, तिमीहरूले बस तिनीहरूलाई तिनीहरूको सामान बोकाएर घर पठाए पुग्छ। सारगत रूपमा, तिनीहरू परमेश्‍वरको घरका मानिसहरू होइनन्, तिनीहरू त मण्डलीमा घुसपैठ गरेका गैरविश्‍वासीहरू मात्रै हुन्। तिनीहरू जहाँबाट आएका हुन् त्यहीँ फर्केर जान सक्छन्, र तिमीहरूले पनि बस तिनीहरूलाई जाओ भनेर भन्‍न सक्छौ। कतिपय मानिसहरू मण्डली प्रवेश गरेपछि, तिनीहरूले आफू र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू अनि परमेश्‍वरको घरको बीचमा स्पष्ट भिन्‍नता रहेको देखाउँछन्। यस्तो किन हुन्छ भने तिनीहरूलाई आफू के गर्न आएको हुँ भन्‍ने थाहा हुन्छ, तिनीहरूलाई आफूले साँचो विश्‍वास गर्छु कि गर्दिनँ भन्‍ने थाहा हुन्छ, अनि परमेश्‍वरको काम कहिले अन्त्य हुनेछ र तिनीहरूले आशिष्‌हरू पाउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराप्रति तिनीहरूले लिने आशाबाहेक, परमेश्‍वरको घरको कुनै काम वा मानिसहरूले प्रवेश गर्नुपर्ने भनेर परमेश्‍वरले तोक्‍नुभएका सत्यताहरूसँग तिनीहरूको कुनै सम्‍बन्ध हुँदैन; तिनीहरूले यी कुराहरूमा कुनै ध्यान दिँदैनन्, तिनीहरूलाई पढ्नू भनेर परमेश्‍वरको घरले पठाएका पुस्तकहरू तिनीहरूले पढ्दैनन्, र तिनीहरूले ती पुस्तकहरू प्याकेट नखोली त्यतिकै राखेका हुन्छन्। यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर भन्‍न मात्रै सक्छन्; बाहिरबाट हेर्दा, अरूले जस्तै तिनीहरूले पनि विश्‍वास गर्छन् जस्तो देखिन्छ र तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा काम गरेजस्तो नाटक गर्छन्, तर तिनीहरूले कहिल्यै परमेश्‍वरका वचनहरू पढ्दैनन्। तिनीहरूले एकपटक पनि परमेश्‍वरका वचनहरूको पुस्तक खोलेका हुँदैनन्, तिनीहरूले कहिल्यै एक पेज पनि पल्टाएका हुँदैनन्—तिनीहरूले कुनै पनि पेज पढेका हुँदैनन्। मानिसहरूले आफ्‍नो अनुभव गवाही दिएको भिडियोहरू, सुसमाचार चलचित्रहरू, वा भजन, आदि इत्यादि कुराको विषयमा परमेश्‍वरको घरले अनलाइन राखेका भिडियोहरू तिनीहरूले कहिल्यै हेर्दैनन्। सामान्यतया तिनीहरूले के हेर्छन् त? तिनीहरूले समाचार, चर्चित कार्यक्रमहरू, स-साना भिडियोहरू, र हास्य-व्यङ्ग्यका भिडियोहरू हेर्छन्, अर्थात् काम नलाग्‍ने कुराहरू मात्रै हेर्छन्। यी मानिसहरू के हुन्? तिनीहरू कहिलेकहीँ यस्ता कुराहरू सोध्‍न मण्डली जान्छन्, “अहिले कति वटा देशमा सुसमाचारको काम पुगेको छ? कति जना मानिसहरू परमेश्‍वरमा फर्केका छन्? अहिले कति वटा देशमा मण्डलीहरू स्थापना भएका छन्? कति वटा मण्डलीहरू छन्? अहिले परमेश्‍वरको काम कुन चरणमा छ?” खाली समयमा, तिनीहरूले सधैँ यी कुराहरूबारे सोध्छन्। के यो व्यक्ति जासुस पो हो कि भन्‍ने शङ्का हुँदैन र? मलाई भन त, के यस्तो व्यक्तिलाई राख्‍नु ठीक हुन्छ? (हुँदैन।) यदि तिनीहरू आफै मण्डलीबाट गएनन् भने, तिमीहरूले पत्ता लगाउनेबित्तिकै तिनीहरूलाई निकाल्‍नुपर्छ र मण्डलीबाट यी काँडाहरू सफा गर्नुपर्छ। तिनीहरूलाई राख्‍नुको कुनै औचित्य हुँदैन र राखियो भने त्यसले समस्या ल्याउनेछ। त्यसकारण, यी मानिसहरूले जुन कुराहरूबारे हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन् त्यससँग हाम्रो कुनै पनि सम्‍बन्ध हुँदैन। तिनीहरूलाई सल्‍लाह दिने झमेला नलेओ, र तिनीहरूसँग सत्यता सङ्गति गर्नु पनि व्यर्थ छ। बस तिनीहरूलाई हटाओ र यो झमेला टकटकाओ—यस्ता मानिसहरू सम्हाल्ने सबैभन्दा उत्कृष्ट तरिका यही हो।

गैरविश्‍वासीहरूबाहेक, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्‍ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, “मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्‍छु भन्‍नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो सानो कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्‍वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्‍वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्‍न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्‍नो कर्तव्य पूरा गर्न नसक्‍ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। म मुक्ति प्राप्त गर्न र सत्यता पछ्याउन चाहन्छु तर साह्रै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?” तिनीहरूले यी कुराहरू सोच्दा, तिनीहरू फिक्री गर्न थाल्छन् र यस्तो सोच्छन्, “मैले कसरी यो उमेरमा मात्रै परमेश्‍वरमा विश्‍वास गर्न थालेँ? म किन २० र ३० वर्षतिरका मानिसहरूजस्तो, वा ४० वा ५० वर्षतिरका मानिसहरूजस्तो समेत छैनँ? मैले कसरी बूढो भएपछि मात्रै परमेश्‍वरको कामबारे थाहा पाएँ? मेरो भाग्य खराब पनि होइन; कम्तीमा पनि अहिले मैले परमेश्‍वरको कामबारे थाहा पाएँ। मेरो भाग्य राम्रो छ, र परमेश्‍वर मसँग दयालु हुनुभएको छ! मलाई एउटै कुरामा मात्रै खुसी लागेको छैन, र त्यो के हो भने म साह्रै बूढो भइसकेको छु। मेरो स्मरण शक्ति राम्रो छैन, र मेरो स्वास्थ्य स्थिति पनि राम्रो छैन, तर मेरो हृदय दह्रिलो छ। यति मात्र हो मेरो शरीरले मैले भनेको मान्दैन, र भेलाहरूमा केही समय सुनेपछि मलाई निद्रा लाग्छ। कहिलेकहीँ म प्रार्थना गर्न आँखा बन्द गर्छु र निदाउन पुग्छु, र परमेश्‍वरका वचनहरू पढ्दा मेरो मन घुम्छ। थोरै पढेपछि पनि, मलाई निद्रा लाग्छ र म झुल्छु, र उहाँका वचनहरू बुझ्दिनँ। मैले के गर्न सक्छु? यस्ता व्यावहारिक कठिनाइहरू भए पनि, के मैले अझै सत्यता पछ्याउन र बुझ्‍न सक्छु? यदि मैले सकिनँ भने, र यदि म सत्यता सिद्धान्तहरू अभ्यास गर्न असक्षम भएँ भने, के मेरो सबै विश्‍वास व्यर्थ हुँदैन र? के म मुक्ति प्राप्त गर्न असफल हुँदिनँ र? मैले के गर्न सक्छु? मलाई साह्रै चिन्ता लाग्छ! यो उमेरमा, कुनै कुरा पनि त्यति महत्त्वपूर्ण छैन। अहिले मैले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले, मेरो कुनै चिन्ता छैन वा मैले कुनै कुराबारे बेचैन हुनुपर्दैन, र मेरा छोराछोरी ठूला भइसकेकाले र मैले तिनीहरूलाई हेरचाह गर्नु वा हुर्काउनु नपर्ने हुनाले, मेरो जीवनको सबैभन्दा ठूलो इच्छा भनेको सत्यता पछ्याउनु, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु र अन्त्यमा मेरो जीवनको बाँकी अवधिमा मुक्ति प्राप्त गर्नु हो। तैपनि, मेरो वास्तविक परिस्थितिलाई हेर्दा, र उमेरको कारण दृष्टि मधुरो र मस्तिष्क अन्योल भएको, स्वास्थ्य स्थिति कमजोर भएको, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न नसकेको, र कहिलेकहीँ आफूले सक्दो गर्ने प्रयास गर्दा पनि समस्या पैदा गरेको देख्दा, यस्तो लाग्छ मानौँ मेरो लागि मुक्ति प्राप्त गर्न त्यति सहज हुनेवाला छैन।” तिनीहरूले यी कुराहरूबारे बारम्‍बार विचार गर्छन् र बेचैन हुन्छन्, र त्यसपछि सोच्छन्, “भक्खरका मानिसहरूको जीवनमा मात्रै राम्रा कुराहरू हुने रहेछन्, पाकहरूकोमा राम्रो केही नहुने रहेछ। अवस्था जति राम्रो भए पनि, म त्यो आनन्द लिन नसक्‍ने भएजस्तो छ।” तिनीहरूले यी कुराहरूबारे जति विचार गर्छन्, तिनीहरू त्यति नै चिन्तित र बेचैन बन्छन्। तिनीहरूले आफ्‍नो बारेमा चिन्ता मात्रै गर्दैनन्, पीडासमेत महसुस गर्छन्। तिनीहरू रोए भने, यो कुराको लागि रुनु सार्थक छैन भन्‍ने तिनीहरूलाई लाग्छ, र तिनीहरू रोएनन् भने, त्यो पीडा र चोट सधैँ तिनीहरूको साथमा हुन्छ। त्यसकारण, तिनीहरूले के गर्नुपर्छ? खास गरी, कतिपय पाका मानिसहरू यस्ता छन्, जो आफ्‍नो सारा समय आफूलाई परमेश्‍वरको लागि अर्पित गरेर अनि आफ्‍नो कर्तव्य पूरा गरेर नै बिताउन चाहन्छन्, तर शारीरिक रूपमा तिनीहरू ठीक हुँदैनन्। कतिलाई उच्‍च रक्तचापको समस्या हुन्छ, कतिलाई उच्च मधुमेह हुन्छ, कतिको ग्यास्ट्रिक समस्या हुन्छ, र तिनीहरूको शारीरिक क्षमताले कर्तव्यको माग पूरा गर्न सक्दैन, र त्यसकारण तिनीहरू फिक्री गर्छन्। तिनीहरूले भक्खरकाहरूले खान-पिउन, दौडन र उफ्रन सकेको देख्छन् र तिनीहरूलाई डाहा लाग्छ। तिनीहरूले भक्खरकाहरूले यस्ता कुराहरू गरेको जति देख्छन्, त्यति नै तिनीहरूलाई हैरानी हुन्छ, र तिनीहरूले सोच्छन्, “म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र सत्यता पछ्याउन र बुझ्‍न चाहन्छु, र म सत्यता अभ्यास गर्न पनि चाहन्छु, तैपनि किन गाह्रो हुन्छ? म अत्यन्तै वृद्ध र काम नलाग्‍ने भएको छु! के परमेश्‍वर पाका मानिसहरूलाई चाहनुहुन्‍न? के पाकाहरू साँच्‍चै काम नलाग्‍ने हुन्छन्? के हामीले मुक्ति प्राप्त गर्न सक्दैनौँ?” यसबारे जसरी विचार गरे पनि तिनीहरू दुःखित हुन्छन् र खुसी हुन सक्दैनन्। तिनीहरू त्यस्तो सुन्दर समय र त्यस्तो ठूलो अवसर गुमाउन चाहँदैनन्, तर तिनीहरू भक्खरकाहरूले जसरी आफूलाई काममा अर्पित गर्न र आफ्‍नो सारा हृदय र प्राणले कर्तव्य पूरा गर्न सक्दैनन्। यी पाका मानिसहरू आफ्‍नो उमेरको कारण हैरानी, बेचैनी र चिन्ताको गहिराइमा डुब्छन्। कुनै मुस्किल, बाधा, कठिनाइ, वा अवरोध सामना गर्दा, हरेकपटक नै तिनीहरूले आफ्‍नो उमेरलाई दोष दिन्छन्, र आफूलाई घृणासमेत गर्छन् र आफूलाई मन पराउँदैनन्। तर जे भए पनि, यसको कुनै सीप लाग्दैन, कुनै हल हुँदैन, र तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन। के साँच्‍चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ।) पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ, त्यो स्वीकार्य छ, होइन र? के पाकाहरू तिनीहरूको उमेरको कारण सत्यता पछ्याउन नसक्‍ने हुन्छ र? के तिनीहरू सत्यता बुझ्‍न सक्‍ने हुँदैनन् र? (बुझ्‍न सक्‍ने सक्छन्।) के पाकाहरूले सत्यता बुझ्‍न सक्छन्? तिनीहरूले केही सत्यता बुझ्‍न सक्छन्, र भक्खरकाहरूले पनि सबै त बुझ्‍न सक्दैनन्। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्‍न सक्‍दिनँ भन्‍ने लाग्छ। के तिनीहरूको यो कुरा सही हो त? (होइन।) भक्खरकाहरूसँग पाकाहरूमा भन्दा निकै बढी ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्‍ने, जान्‍ने, र चिन्‍ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बूढो भएर जन्‍मेका थिएनन्, र भक्खरकाहरू पनि एक दिन वृद्ध हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, भक्खरकाहरूभन्दा फरक छु भनेर सोच्‍नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्‍नता हुँदैन। कुनै भिन्‍नता हुँदैन भनेर मैले भन्‍नुको अर्थ के हो? कुनै व्यक्ति वृद्ध भए पनि जवान भए पनि, उसको भ्रष्ट स्वभाव उस्तै हुन्छ, सबै कुराहरूबारे उसको मनोवृत्ति र दृष्टिकोण उस्तै हुन्छ, र सबै किसिमका कुराहरूबारे उसको दृष्टिकोण र विचार उस्तै हुन्छ। त्यसकारण, पाकाहरूले तिनीहरू वृद्ध भएकोले, भक्खरकाहरूको भन्दा कम अभिलाषा भएकोले, र तिनीहरू स्थिर हुन सक्‍ने भएकोले, तिनीहरूसँग कुनै बेकाबु अभिलाषा वा इच्छा हुँदैन, र तिनीहरूमा कम भ्रष्ट स्वभाव हुन्छ भनेर सोच्‍नु हुँदैन—यो एउटा भ्रम हो। भक्खरकाहरूले पदको लागि संघर्ष गर्न सक्छन्, त्यसोभए के पाकाहरूले पदको लागि संघर्ष गर्न सक्दैनन् र? भक्खरकाहरूले सिद्धान्तहरूविरुद्ध काम गर्न र स्वेच्‍छाचारी व्यवहार गर्न सक्छन्, त्यसोभए के पाकाहरूले त्यसो गर्न सक्दैनन् र? (तिनीहरूले सक्छन्।) भक्खरकाहरू अहङ्कारी हुन सक्छन्, त्यसोभए के पाकाहरू पनि अहङ्कारी हुन सक्दैनन् र? तैपनि, जब पाकाहरू अहङ्कारी हुन्छन्, तब वृद्धावस्थाको कारण तिनीहरू त्यति आक्रमक हुँदैनन्, र त्यो त्यति उच्‍च अहङ्कार हुँदैन। भक्खरकाहरूले तिनीहरूको लचकदार हातखुट्टा र मष्तिष्कको कारण अहङ्कारको अझै स्पष्ट प्रकटीकरण देखाउन सक्छन्, जबकि पाकाहरूले तिनीहरूको कडा हातखुट्टा र अलचक मष्तिष्कको कारण अहङ्कारको त्यति स्पष्ट प्रकटीकरण देखाउँदैनन्। तैपनि, तिनीहरूको अहङ्कार र भ्रष्ट स्वभावको सार एउटै हुन्छ। कुनै पाको व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, वा उसले आफ्‍नो कर्तव्य पूरा गर्दै आएको जति वर्ष भए पनि, यदि ऊ सत्यता पछ्याउनमा लागेको छैन भने, उसको भ्रष्ट स्वभाव उस्तै रहनेछ। उदाहरणको लागि, एकलै बस्‍ने कतिपय पाका मानिसहरूलाई एकलै बस्‍ने बानी परेको हुन्छ र तिनीहरू आफ्नै शैलीमा एकोहोरो लागेका हुन्छन्: खाने, सुत्‍ने, र आराम गर्नेबारे तिनीहरूले आफ्‍नै समय र बन्दोबस्त मिलाएका हुन्छन्, र तिनीहरू आफ्‍नो जीवनमा हुने कुराहरूको क्रम बिथोल्‍न चाहँदैनन्। बाहिरबाट हेर्दा यी पाका मानिसहरू एकदम राम्रा देखिन्छन्, तर तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तिनीहरूसँग लामो समय उठबस गरेपछि तिमीहरूलाई यो कुरा थाहा हुन्छ। कतिपय पाका मानिसहरू अत्यन्तै स्वेच्‍छाचारी र अहङ्कारी हुन्छन्; तिनीहरूले चाहेको खानेकुरा हुनैपर्छ, र कतै समय बिताउन जान चाहे भने, कसैले पनि तिनीहरूलाई रोक्‍न सक्दैन। जब तिनीहरूले कुनै कुरा गर्छु भनेर सोचेका हुन्छन्, जति नै बलियो घोडाले पनि तिनीहरूलाई अर्कोतर्फ तानेर लान सक्दैन। कसैले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन, र तिनीहरू आफ्‍नो सारा जीवनभर स्वेच्‍छाचारी रहन्छन्। बाटो बिराएका भक्खरकाहरूले भन्दा पनि त्यस्ता जिद्दी पाकाहरूले अझै समस्या ल्याउँछन्! त्यसकारण जब कतिपय मानिसहरूले यसो भन्छन्, “पाकाहरू भक्खरकाहरू जति गहन भ्रष्ट हुँदैनन्। पाकाहरू निकै परम्‍परावादी र बाहिरी प्रभाव नभएको समयमा बाँचेका थिए, त्यसकारण पाकाहरूको यो पुस्ता त्यति गहन रूपमा भ्रष्ट छैन,” तब के यो भनाइ साँचो हुन्छ? (हुँदैन।) यो त तिनीहरूले आफ्‍नो खातिर गरेको व्यर्थको तर्क मात्रै हुन्छ। भक्खरकाहरूलाई अरूसँग काम गर्न मन पर्दैन, तर के पाकाहरू पनि त्यस्तै हुँदैनन् र? (हुन्छन्।) कतिपय पाकाहरूमा भक्खरकाहरूको भन्दा पनि गहन भ्रष्ट स्वभाव हुन्छ, तिनीहरूले सधैँ आफ्‍नो वृद्ध उमेरको धाक लगाउँछन् अनि आफ्‍नो अनुभवका वर्षहरूबारे घमण्ड गर्दै भन्छन्, “म पाको मान्छे हुँ। तँ कति वर्ष पुगिस्? म पाको कि तँ पाको? तँलाई सुन्‍न मन नपर्ला, तर तैँलेभन्दा मैले धेरै भोटो फटाएको छु, त्यसकारण तैँले मेरो कुरा सुन्‍नुपर्छ। म अनुभवी र ज्ञानी छु। तँ भक्खरको ठेट्नाले के बुझेको छस्? तँ जन्‍मनुपहिले नै म परमेश्‍वरमा विश्‍वास गर्थेँ!” के यो अझै ठूलो समस्या होइन र? (हो।) पाका मानिसहरूले “वृद्ध” व्यक्तिको उपाधि पाएपछि झन् समस्या दिन सक्छन्। त्यसकारण, पाकाहरूले गर्ने कुरा केही नहुने, वा तिनीहरूले कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन नसक्‍ने भन्‍ने होइन—तिनीहरूले धेरै कुरा गर्न सक्छन्। तैँले आफ्‍नो जीवनकालमा बटुलेका धेरै विधर्म र भ्रमहरू, साथै विभिन्‍न परम्‍परागत विचार र धारणा, अज्ञानी र जिद्दी कुराहरू, परम्‍परागत कुराहरू, तर्कहीन कुराहरू, र हास्यास्पद कुराहरू तेरो हृदयमा थुप्रिएका छन्, र यी कुराहरू खनेर निकाल्‍न, चिरफार गर्न, र पहिचान गर्नको लागि तैँले भक्खरकाहरूले भन्दा बढी समय बिताउनुपर्छ। तँसँग गर्ने काम केही नभएको, वा तँ कमजोर अवस्थामा भएर तैँले हैरानी, बेचैनी र चिन्ता महसुस गर्नुपर्ने हो भन्‍ने होइन—यो तेरो काम पनि होइन र तेरो जिम्‍मेवारी पनि होइन। सर्वप्रथम, पाका मानिसहरूमा सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किरहेको भए पनि र शारीरिक रूपमा तँ अरूभन्दा पाको भए पनि, तँमा अझै पनि युवा मानसिकता हुनुपर्छ। तँ वृद्ध हुँदै गइरहेको, तेरो सोच धीमा भइरहेको र तेरो स्मरण शक्ति कमजोर भइरहेको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्‍न, मैले बोलेका वचनहरू बुझ्‍न, र सत्यता बुझ्‍न सक्छस् भने, त्यसले तँ वृद्ध भएको छैनस् र तेरो क्षमता कमजोर भएको छैन भन्‍ने प्रमाणित गर्छ। यदि कुनै व्यक्ति ७० को दशकमा छ र उसले सत्यता बुझ्‍न सक्दैन भने, उसको कद सानो छ र ऊ काम गर्ने अवस्थामा छैन भन्‍ने देखाउँछ। त्यसकारण, सत्यताको कुरा गर्दा उमेरको कुनै सम्‍बन्ध हुँदैन, र यसको साथै भ्रष्ट स्वभावको हिसाबमा पनि उमेरको कुनै सम्‍बन्ध हुँदैन। शैतान अस्तित्वमा रहेको दशौँ हजार र करोडौँ वर्ष भयो, र यो अझै पनि शैतान नै हो, तैपनि हामीले अझै पनि “शैतान” भन्‍ने शब्‍दको अगाडि एउटा विशेषण शब्‍द थपेर “प्राचीन शैतान” भनेर भन्‍नुपर्छ, अर्थात् यो पूर्ण हदसम्‍म दुष्ट छ भनेर भन्‍नुपर्छ, होइन र? (हो।) त्यसोभए, पाका मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ? एउटा पक्ष के हो भने, तँमा पनि भक्खरकाहरूको जस्तै मानसिकता हुनुपर्छ, र तैँले सत्यता पछ्याउनुपर्छ, र आफूलाई चिन्‍नुपर्छ, र तैँले आफूलाई चिनिसकेपछि पश्‍चात्ताप गर्नुपर्छ। अर्को पक्ष के हो भने, तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सिद्धान्तहरू खोजी गर्नुपर्छ र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ। तैँले म साह्रै बूढो भएँ, मेरो उमेर धेरै भयो, ममा भक्खरकाहरूको जस्तो सक्रिय सोच छैन, मभित्र भक्खरकाहरूको जस्तो भ्रष्ट स्वभाव छैन, मैले यो जीवनको सबै कुरा अनुभव गरेको छ, मैले सबै कुराको अन्तर्दृष्टि पाएको छु, त्यसकारण ममा कुनै उग्र महत्त्वाकाङ्क्षा वा इच्छाहरू छैनन् भन्दै सत्यता खोजी गर्ने कार्यबाट आफूलाई टाढा लैजानु हुँदैन। यसो भनेर तैँले साँच्‍चिकै के भनिरहेको हुन्छस् भने, “मेरो भ्रष्ट स्वभाव त्यति गम्भीर छैन, त्यसकारण सत्यता पछ्याउने काम तिमीहरू भक्खरकाहरूको लागि हो। हामी पाकाहरूसँग यसको कुनै सम्‍बन्ध छैन। हामी पाकाहरूले त परमेश्‍वरको घरमा जुन काम गर्न सक्छौँ त्यही काम मात्र गर्छौँ र जति मेहनत गर्न सक्छौँ त्यति मात्रै गर्छौँ, त्यसपछि हामीले हाम्रो कर्तव्य राम्ररी पूरा गरेका हुनेछौँ र हामीले मुक्ति पाउनेछौँ। जहाँसम्म परमेश्‍वरले मानिसहरूको भ्रष्ट स्वभाव, ख्रीष्टविरोधी स्वभाव, र ख्रीष्टविरोधी सार खुलासा गर्नुहुने कुरा छ, त्यो त तिमीहरू भक्खरकाहरूले बुझ्‍नुपर्ने कुरा हो। तिमीहरूले यो कुरा ध्यान दिएर सुन्‍नुपर्छ, र हामीले तिमीहरूलाई राम्रो बास प्रदान गर्नु र तिमीहरूलाई सुरक्षित राख्‍न यताउता नजर लगाउनु नै पर्याप्त हुन्छ। हामी पाकाहरूको बेकाबु महत्त्वाकाङ्क्षा हुँदैन। हामी त वृद्ध भइरहेका छौँ, हाम्रो मस्तिष्कले पनि बिस्तारै मात्र प्रतिक्रिया दिन्छ, त्यसकारण हाम्रा सबै प्रतिक्रियाहरू सकारात्मक हुन्छन्। हामी मर्नुभन्दा पहिले, हामी दयालु बन्छौँ। जब मानिसहरू पाको हुन्छन्, तब तिनीहरू शिष्ट बन्छन्, त्यसकारण हामी शिष्ट मानिसहरू हौँ।” तिनीहरूले वास्तवमा भन्‍न खोजेको के हो भने, तिनीहरूमा कुनै भ्रष्ट स्वभाव नै छैन। हामीले कहिले पाकाहरूले सत्यता पछ्याउनुपर्दैन वा सत्यता पछ्याउने कार्य उमेरअनुसार फरकफरक हुन्छ भनेर भनेका छौँ? के हामीले कहिल्यै यसो भनेका छौँ र? अहँ, हामीले यसो भनेका छैनौँ। परमेश्‍वरको घरमा र सत्यताको कुरा आउँदा, के पाकाहरू विशेष मानिसहरूको समूह हो र? अहँ, होइन। सत्यताको कुरा आउँदा, उमेरको केही सम्‍बन्ध हुँदैन, त्यसरी नै तेरो भ्रष्ट स्वभाव, तेरो भ्रष्टताको गहिराइ, तँ सत्यता पछ्याउन योग्य छस् कि छैनस्, तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस्, वा तैँले मुक्ति पाउने सम्‍भावना कति छ भन्‍ने विषयमा पनि उमेरको कुनै सम्‍बन्ध हुँदैन। के कुरा यही होइन र? (हो।) हामीले अहिलेसम्ममा धेरै वर्ष सत्यता सङ्गति गरिसकेका छौँ, तर हामीले मानिसहरूको फरकफरक उमेरअनुसारका फरकफरक प्रकारका सत्यताहरूबारे कहिल्यै सङ्गति गरेका छैनौँ। भक्खरकाहरूको लागि मात्रै वा पाकाहरूको लागि मात्रै भनेर कहिल्यै पनि सत्यता सङ्गति गरिएको वा भ्रष्ट स्वभावहरूबारे खुलासा गरिएको छैन, न त तिनीहरूको वृद्ध अवस्था, अलचक सोच्‍ने क्षमता, र नयाँ कुरा स्वीकार्न नसक्‍ने क्षमताको कारण, तिनीहरूको भ्रष्ट स्वभाव स्वाभाविक रूपमै घट्छ र परिवर्तन हुन्छ भनेर नै भनिएको छ—यी कुराहरू कहीँकतै कहिल्यै भनिएको छैन। मानिसहरूको उमेरअनुसार र पाकाहरूलाई अपवाद भनेर कहिल्यै पनि केवल एउटै सत्यता पनि सङ्गति गरिएको छैन। मण्डलीमा, परमेश्‍वरको घरमा, वा परमेश्‍वरको अघि पाकाहरू विशेष समूहमा पर्दैनन्, बरु तिनीहरू अरू कुनै पनि उमेरका मानिसहरूकै समूहमा पर्छन्। तिनीहरूमा केही पनि विशेष हुँदैन, यति मात्र हो कि तिनीहरू अरूभन्दा अलि बढी समय जिएका हुन्छन्, तिनीहरू यो संसारमा अरूभन्दा केही वर्ष पहिले आएका हुन्छन्, तिनीहरूको कपाल अरूको भन्दा अलिक सेतो हुन्छ, र तिनीहरूको शरीर अरूको भन्दा पहिले नै बूढो भएको हुन्छ; यी कुराहरूबाहेक, अरू कुनै भिन्‍नता हुँदैन। त्यसकारण, यदि पाका मानिसहरूले सधैँ “म पाको हुँ त्यसको अर्थ म शिष्ट व्यक्ति हुँ, ममा कुनै भ्रष्ट स्वभाव छैन, र ममा अलिअलि मात्रै भ्रष्टता छ” भनेर सोच्छन् भने, के यो भ्रमित बुझाइ होइन र? (हो।) के यो अलिक लाजपचुवा कुरा होइन र? कतिपय पाका मानिसहरू धूर्त बदमासहरू हुन्, जो भित्रैदेखि कपटी हुन्छन्। तिनीहरूले आफूमा कुनै भ्रष्ट स्वभाव छैन, र आफ्नो भ्रष्ट स्वभाव खिएर गइसकेको छ भनी भन्छन्, तर वास्तवमा तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण अरू मानिसहरूको भन्दा कम हुँदैन। वास्तवमा, यस्तो वृद्ध मानिसको भ्रष्ट स्वभाव र मानवताको गुणस्तरलाई हामीले धेरै तरिकाले व्याख्या गर्न सक्छौँ। उदाहरणको लागि, “धूर्त बूढो बदमास,” र “बूढो अदुवा कडा हुन्छ, जवानीभन्दा अनुभव पाको हुन्छ”—यो दुवै भनाइले “बूढो” भन्‍ने शब्‍द प्रयोग गर्छन्, होइन र? (हो।) अरू कुन-कुन व्याख्याहरूमा “बूढो” भन्‍ने शब्‍द प्रयोग भएको छ? (बूढो षड्यन्त्रकारी।) हो, एकदम राम्रो व्याख्या, “बूढो षड्यन्त्रकारी।” हेर् त, यी सबै भनाइहरूमा “बूढो” भन्‍ने शब्‍द प्रयोग गरिएको छ। त्यसपछि “बूढो शैतान” र “बूढा दियाबलसहरू” भन्‍ने पनि छन्—जुन बूढोका ठेट उदाहरणहरू हुन्! जब मानिसहरू पाकाहरूको समूहमा पर्छन् तब तिनीहरूले के विश्‍वास गर्छन्? तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “हाम्रो भ्रष्ट स्वभाव सबै खिएर गइसकेको छ। भ्रष्ट स्वभाव त तिमीहरू भक्खरकाहरूसँग सम्‍बन्धित कुरा हो। तिमीहरू हामीभन्दा अझै गहन रूपमा भ्रष्ट छौ।” के यो जानीजानी कुरा बङ्ग्याएको होइन र? तिनीहरूले आफूलाई राम्रो देखाउन र आफैलाई ठूलो पार्न चाहन्छन्, तर वास्तवमा कुरा त्यस्तो हुँदैन, र अवस्था पनि त्यस्तो हुँदैन। “बूढो दियाबलस,” “बूढो शैतान,” “बूढो षड्यन्त्रकारी,” “धूर्त बूढो बदमास,” र “वृद्ध उमेरको धाक लगाउने”—“बूढो” शब्‍द प्रयोग गरिएका यी कुनै पनि व्याख्याहरू राम्रा कुराहरू होइनन्, र ती सकारात्मक कुराहरू हुँदै होइनन्।

अहिले हामीले पाकाहरूलाई चेतावनी दिन, सल्‍लाह दिन, र अगुवाइ गर्न, अनि भक्खरकाहरूलाई पनि सतर्कता अपनाउने खुराक दिनको लागि यो सङ्गति गरिरहेका छौँ। यी कुराहरू भन्‍नुको मुख्य उद्देश्य कुन समस्या समाधान गर्नु हो? यो यी पाका मानिसहरूको हैरानी, बेचैनी र चिन्ता समाधान गर्नको लागि, र तिनीहरूले यो हैरानी, बेचैनी र चिन्ता अनावश्यक र काम नलाग्‍ने कुरा हुन् भनेर बुझून् भनी सुनिश्‍चित गर्नको लागि हो। यदि तँ कर्तव्य पूरा गर्न चाहन्छस् र कर्तव्य पूरा गर्न योग्य छस् भने, के परमेश्‍वरको घरले तँलाई इन्कार गर्नेछ र? (गर्नेछैन।) परमेश्‍वरको घरले अवश्य नै तँलाई कर्तव्य पूरा गर्ने अवसर दिनेछ। यसले “तँ वृद्ध भएकोले तैँले कर्तव्य पूरा गर्न सक्दैनस्। बाहिर गइहाल्। हामी तँलाई मौका दिँदैनौँ।” भनेर अवश्यै भन्‍नेछैन। परमेश्‍वरको घरले मानिसहरूसँग निष्पक्ष व्यवहार गर्छ। जबसम्‍म तँ कर्तव्य पूरा गर्न योग्य छस् र जबसम्म कुनै गुप्त खतरा हुँदैन, तबसम्म परमेश्‍वरको घरले तँलाई अवसर दिनेछ र तैँले सक्‍नेजति कर्तव्य पूरा गर्ने अनुमति दिनेछ। यसको साथै, यदि तैँले आफूलाई चिन्‍न र सत्यता पछ्याउन चाहन्छस् भने, के कसैले तँलाई “तिमीजस्तो पाको मान्छे सत्यता पछ्याउन योग्य हुन्छ र?” भन्दै गिल्‍ला गर्नेछ र? के कसैले यसरी गिल्‍ला गर्नेछ र? (गर्नेछैन।) के कसैले “तिमी बूढो भयौ र अलमलिन्छौ। तिमीले सत्यता पछ्याउनुको के अर्थ छ र? परमेश्‍वरले तिमीजस्तो बूढोलाई मुक्ति दिनुहुन्‍न” भनेर भन्‍नेछ र? (भन्‍नेछैन।) अहँ, भन्‍नेछैन। सत्यताको अघि सबैजना समान हुन्छन्, र सबैलाई समान व्यवहार गरिन्छ। यति मात्र हो कि तैँले सायद सत्यता पछ्याउँदैनस् होला र सधैँ बूढोले जस्तो व्यवहार गर्दै यस्तो सोच्छस् होला, “म बूढो भएँ र म कुनै कर्तव्य पूरा गर्न सक्दिनँ।” वास्तवमा, तैँले आफ्‍नो क्षमताले भ्याउन सक्‍ने धेरै कर्तव्यहरू पूरा गर्न सक्छस्। यदि तैँले कुनै कर्तव्य पूरा गर्दैनस् बरु आफ्‍नो वृद्ध उमेरको धाक लगाउँदै अरूलाई भाषण दिन चाहन्छस् भने, को तेरो कुरा सुन्‍न चाहन्छ र? कोही पनि चाहँदैन। तैँले सधैँ यसो भन्छस्, “अहो, तिमीहरू भक्खरकाहरूले कुरै बुझ्दैनौ!” र “अहो, तिमीहरू भक्खरकाहरू स्वार्थी छौ!” अनि “अहो, तिमीहरू भक्खरकाहरू साह्रै घमण्डी हुन्छौ!” र “अहो, तिमीहरू भक्खरकाहरू साह्रै अल्छी गर्छौ। हामी पाकाहरू परिश्रमी हुन्छौँ, र तिमीहरूको उमेरमा त हामी उडेको चरा समात्थ्यौँ।” यस्ता कुराहरू भन्‍नुको के अर्थ छ? तैँले आफ्‍नो “सानदार” विगतको कुरा नगर्; त्यो कसैले सुन्‍न चाहँदैन। थोत्रो कुराबारे बताउनुको कुनै अर्थ छैन; ती कुराहरूले सत्यता प्रतिनिधित्व गर्दैनन्। यदि तँ कुनै कुराबारे कुरा गर्न चाहन्छस् भने, सत्यताबारे केही मेहनत गर्, सत्यता अलिक बढी बुझ्, आफूलाई चिन्, आफूलाई अर्को साधारण व्यक्तिको रूपमा हेर्, अरूले आदर, सम्‍मान र मान गर्नुपर्ने र अरूले भेला भएर कुरा सुन्‍नुपर्ने विशेष मानिसहरूको समूहको सदस्यको रूपमा नहेर्। यो त लालची इच्छा हो, र यो गलत सोच हो। उमेर तेरो पहिचानको प्रतीक होइन, उमेरले योग्यता प्रतिनिधित्व गर्दैन, र उमेरले वरिष्ठता पनि प्रतिनिधित्व गर्दैन, यसले तँमा सत्यता वा मानवता छ भन्‍ने प्रतिनिधित्व गर्नु त परको कुरा हो, र उमेरले तेरो भ्रष्ट स्वभाव कमजोर पनि पार्दैन। त्यसकारण, तँ अरू मानिसहरूजस्तै होस्। आफूलाई अरूबाट अलग गर्न, र आफूलाई पवित्र भनी छुट्टै राख्‍नको लागि सधैँ आफूलाई “वृद्ध” उपनाम नदे। त्यसले तैँले आफूलाई पटक्‍कै चिनेको छैनस् भन्‍ने देखाउँछ! पाका मानिसहरूले जीवन जिउने क्रममा, अझै बढी सत्यता पछ्याउनुपर्छ, जीवन प्रवेश पछ्याउनुपर्छ, र आफ्‍नो कर्तव्य पूरा गर्न विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग अझै मिलेर काम गर्नुपर्छ; यसरी मात्रै तिनीहरूको कद वृद्धि हुन सक्छ। पाका मानिसहरूले आफूलाई अरूभन्दा वरिष्ठ ठान्‍ने र आफ्‍नो वृद्ध उमेरको धाक लगाउने गर्नु हुँदैन। भक्खरकाहरूले हरकिसिमको भ्रष्ट स्वभाव प्रकट गर्छन्, तर तैँले पनि गर्न सक्छस्; भक्खरकाहरूले अनेकथरीका मूर्ख काम गर्न सक्छन्, र तैँले पनि गर्न सक्छस्; भक्खरकाहरूमा धारणाहरू हुन सक्छ, र पाकाहरूमा पनि हुन सक्छ; भक्खरकाहरू विद्रोही हुन सक्छन्, र पाकाहरू पनि त्यस्तै हुन सक्छन्; भक्खरकाहरूले ख्रीष्टविरोधी स्वभाव प्रकट गर्न सक्छन्, र पाकाहरूले पनि त्यसै गर्न सक्छन्; भक्खरकाहरूसँग बेकाबु महत्त्वाकाङ्क्षा र इच्छाहरू हुन सक्छन्, र पाकाहरूमा पनि हुन सक्छन्, जसमा अलिकति पनि फरक नहुन सक्छ; भक्खरकाहरूले बाधाअवरोध र व्यवधान ल्याएर मण्डलीबाट निष्कासित हुन सक्छन्, र पाकाहरूले पनि त्यस्तै गर्न सक्छन्। त्यसकारण, तिनीहरूले आफ्‍नो क्षमताले भ्याउन्जेलसम्‍म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍नेलगायत, अरू धेरै कुराहरू गर्न सक्छन्। जबसम्म तँ मूर्ख, अबूझ, र सत्यता बुझ्‍न नसक्‍ने व्यक्ति हुँदैनस्, र जबसम्म तँ आफ्‍नो हेरचाह गर्न नसक्‍ने अवस्थामा हुँदैनस्, तबसम्म तैँले गर्नुपर्ने कुराहरू धेरै हुन्छन्। भक्खरकाहरूले जस्तै, तैँले पनि सत्यता पछ्याउन र सत्यता खोजी गर्न सक्छस्, र तँ प्रार्थना गर्न नियमित रूपमा परमेश्‍वरको अघि आउनुपर्छ, सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ, र सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने प्रयास गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने मार्ग यही हो, र तँ वृद्ध भइस् भन्दैमा, तँलाई धेरै रोगबिमार छ भन्दैमा, वा तेरो शरीर बूढो हुँदै छ भन्‍दैमा तैँले हैरानी, बेचैनी वा चिन्ता महसुस गर्नु हुँदैन। हैरानी, बेचैनी र चिन्ता महसुस गर्नु सही कुरा होइन—ती तर्कहीन प्रकटीकरणहरू हुन्। पाका मानिसहरूले आफ्नो “वृद्ध” उपाधि त्यागेर, भक्खरकाहरूसँग घुलमिल हुनुपर्छ र तिनीहरूकै बराबरीमा खडा हुनुपर्छ। तैँले आफ्‍नो वृद्ध उमेरको धाक लगाउने, आफूमा सम्‍मानयोग्य उत्कृष्ट नैतिक गुण छ भनेर सोच्‍ने, आफू सर्वोच्‍च रूपमा योग्य छु, आफूले भक्खरकाहरूलाई व्यवस्थित गर्न सक्छु, आफू भक्खरकाहरूको लागि अग्रज र वरिष्ठ व्यक्ति हुँ भन्‍ने सोच्दै, सधैँ भक्खरकाहरूलाई नियन्त्रण गर्ने महत्त्वाकाङ्क्षा पाल्ने, र सधैँ भक्खरकाहरूलाई व्यवस्थित गर्ने इच्छा राख्‍ने गर्नु हुँदैन—यो पूराको पूरा भ्रष्ट स्वभाव हो। पाकाहरूमा पनि भक्खरकाहरूमा जस्तै भ्रष्ट स्वभाव हुने भएकोले, र तिनीहरूले पनि जीवनमा अनि आफ्‍नो कर्तव्य पूरा गर्दा भक्खरकाहरूले जस्तै प्रायजसो भ्रष्ट स्वभाव प्रकट गरिरहने हुनाले, किन पाकाहरूले उचित कुरा नगरेको, र सधैँ आफ्‍नो वृद्धावस्थाबारे र मृत्युपछि तिनीहरूलाई के हुन्छ भन्‍नेबारे हैरानी, बेचैनी र चिन्ता महसुस गरेको? किन तिनीहरूले भक्खरकाहरूले जस्तै आफ्‍नो कर्तव्य पूरा नगरेको? किन तिनीहरूले भक्खरकाहरूले जस्तै सत्यता नपछ्याएको? तँलाई यो अवसर दिइएको छ, त्यसकारण यदि तैँले यो अवसरको फाइदा उठाइनस्, र तँ साँच्‍चिकै वृद्ध भएर सुन्‍न वा देख्‍न वा आफ्‍नो हेरचाह गर्न नसक्‍ने भइस् भने, तँलाई यसप्रति पछुतो हुनेछ, र तेरो जीवन यसरी नै बितेर जानेछ। कुरो बुझ्यौ? (बुझ्यौँ।)

के पाका मानिसहरूका नकारात्मक संवेगहरूको समस्या अब समाधान भयो? जब तिमीहरू वृद्ध हुन्छौ, तब के तिमीहरू आफ्‍नो वृद्ध उमेरको धाक लगाउनेछौ? के तिमीहरू पनि धूर्त बूढो बदमास र बूढो षड्यन्त्रकारी बन्‍नेछौ? आफूभन्दा बढी उमेरको व्यक्तिलाई देख्दा के तिमीहरू उसलाई आदरसाथ “ठूलो दाजु” वा “ठूली दिदी” भनेर भन्‍नेछौ? तिनीहरूको नाम हुन्छ तर तिमीहरूले तिनीहरूलाई नामले बोलाउँदैनौ, तर “ठूलो” भनी भन्छौ। यदि पाकाहरूसँग बोल्दा तैँले सधैँ “ठूलो वा बूढो” भनेर भन्छस् भने, के त्यसले तिनीहरूलाई हानि गर्दैन र? तिनीहरूले आफूलाई पहिले नै बुढाबुढी ठानिसकेका हुन्छन् र तिनीहरूमा केही नकारात्मक संवेगहरू हुन्छन्, त्यसकारण यदि तैँले तिनीहरूलाई “ठूलो वा बूढो” भनेर भनिस् भने, तैँले तिनीहरूलाई यसो भनिरहेको हुन्छस्, “तपाईं बूढो हुनुहुन्छ, मभन्दा निकै बूढो, र तपाईंको अब कुनै काम छैन।” के तैँले तिनीहरूलाई यसो भन्दा तिनीहरूलाई सहज हुन्छ त? तिनीहरूलाई अवश्यै बेखुसी लाग्‍नेछ। के तैँले तिनीहरूलाई यसरी बोलाइस् भने त्यसले तिनीहरूलाई चोट पार्दैन र? कतिपय पाका मानिसहरूले चाहिँ तैँले यसरी बोलाएको सुन्दा खुसी मान्छन्, र तिनीहरूले यस्तो सोच्छन्, “देख्यौ, मसँग सम्‍मान र प्रतिष्ठालायक उच्‍च सद्‌गुण छ। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई भेट्दा, तिनीहरूले मलाई नामले बोलाउँदैनन्। परमेश्‍वरको घरमा, मानिसहरूले पाका मानिसहरूलाई अङ्कल, वा बाजे, वा बजू भनेर भन्दैनन्। जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई बोलाउँछन्, तब तिनीहरूले मलाई ‘ठूलो’ शब्‍द जोडेर ‘ठूलो दाइ’ (‘ठूली दिदी’) भन्छन्। म कति इज्‍जतदार छु देख्यौ त, म अरूको अगाडि कति आदरणीय छु देख्यौ त। परमेश्‍वरको घर राम्रो छ—मानिसहरूले ठूलालाई आदर र सानालाई माया गर्छन्!” के तँ आदर पाउन योग्य छस् त? तैँले आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सुधार र ज्ञानका के कुरा दिइस्? तिनीहरूलाई के फाइदा पुर्‍याइस्? परमेश्‍वरको घरप्रति तैँले के योगदान दिइस्? तैँले कति सत्यता बुझ्छस्? तैँले कति सत्यता अभ्यास गर्छस्? तैँले आफूलाई आदरयोग्य सद्‌गुण भएको व्यक्ति ठान्छस् र पनि कुनै योगदान दिएको छैनस्, त्यसोभए के तँ तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले “ठूलो दाजु” वा “ठूली दिदी” भनेर बोलाउन लायक छस्? अवश्यै छैनस्! तँ सधैँ आफ्‍नो वृद्ध उमेरको धाक लगाउँछस् र अरूबाट जहिल्यै सम्‍मान चाहन्छस्! के “ठूलो दाजु” वा “ठूली दिदी” भनेर बोलाउनु राम्रो हो त? (होइन।) होइन, यो राम्रो होइन, तर म प्रायजसो यसै भनेको सुन्छु। यो नराम्रो कुरा हो, र पनि मानिसहरूले आफूभन्दा जेठाजेठीलाई यसरी नै बोलाउँछन्। यसले कस्तो वातावरण सिर्जना गर्छ? यो घिनलाग्दो हुन्छ, होइन र? तैँले आफूभन्दा जेठाजेठीलाई “ठूलो दाजु” वा “ठूली दिदी” भनेर जति बोलाउँछस्, त्यति नै तिनीहरूले आफूलाई योग्य छु भनेर सोच्छन्, र तिनीहरूले आफूमा सम्‍मानलायक सद्‌गुण छ भन्‍ने सोच्छन्; तैँले तिनीहरूलाई “अग्रज फलानो-फलानो व्यक्ति” भनेर जति बोलाउँछस्, त्यति नै तिनीहरूले आफूलाई विशेष, अरूभन्दा महत्त्वपूर्ण र असल ठान्छन्, त्यति नै तिनीहरूको हृदयमा अरूलाई नेतृत्व गर्ने झुकाव आउँछ, र त्यति नै तिनीहरू सत्यता पछ्याउनबाट टाढा रहन्छन्। तिनीहरूले सधैँ अरूलाई नेतृत्व र व्यवस्थापन गर्न चाहन्छन्, सधैँ आफूलाई अरूभन्दा असल ठान्छन्, सधैँ अरूलाई नमिल्ने मान्छे सोच्छन्, सधैँ अरूमा समस्या देख्‍ने तर आफूमा केही समस्या नदेख्‍ने गर्छन्। मलाई भन, के त्यस्तो व्यक्तिले अझै पनि सत्यता पछ्याउन सक्छ र? अहँ, सक्दैन। त्यसकारण, मानिसहरूलाई “ठूलो दाजु” वा “ठूली दिदी” भनेर बोलाउनु तिनीहरूको लागि फाइदाजनक हुँदैन, र यसले तिनीहरूलाई चोट र हानी मात्रै पुर्‍याउँछ। यदि तैँले तिनीहरूलाई नामले बोलाइस् र “ठूलो” शब्‍द हटाइस् भने, यदि तैँले तिनीहरूसँग सही तरिकाले व्यवहार गरिस्, र तिनीहरूकै बराबरीमा आफूलाई उभ्याइस् भने, तिनीहरूको स्थिति र मानसिकता सामान्य बन्‍नेछ, र तिनीहरूले आफ्‍नो अनुभवका वर्षहरूप्रति घमण्ड गरेर अरूलाई तुच्छ ठान्‍न छोड्‍नेछन्। यस तरिकामार्फत, तिनीहरूले आफूलाई अरू मानिसहरूकै बराबरीमा राख्‍न सहज हुनेछ, र तिनीहरू आफू र अरूलाई सही रूपमा लिन सक्षम हुनेछन्, र आफूलाई अरू मानिसहरूजस्तै, साधारण मानिसहरूजस्तै मान्‍न, अनि अरू मानिसहरूभन्दा असल नठान्‍न सक्षम हुनेछन्। यसरी, तिनीहरूको कठिनाइ झन्झन् सानो हुँदै जानेछ, र तिनीहरूको पाको उमेर र सत्यता प्राप्त नगरेको कारण पैदा हुने नकारात्मक संवेगहरू तिनीहरूले अनुभूत गर्न छोड्छन्, र त्यसपछि तिनीहरूले सत्यता पछ्याउने आशा हुन्छ। जब यी नकारात्मक संवेगहरू पैदा हुँदैनन्, तब तिनीहरूले आफ्‍ना समस्याहरूलाई, खास गरी आफ्‍ना भ्रष्ट स्वभाहरूवलाई सही मानसिकताले हेर्नेछन्। यसको तिनीहरूको सत्यता पछ्याइ, तिनीहरूको आत्मज्ञान, र तिनीहरूको सत्यता पछ्याउने मार्ग हिँड्ने क्षमतामा सकारात्मक र फाइदाजनक प्रभाव पार्छ। के त्यसपछि पाका मानिसहरूमा नकारात्मक संवेगहरूका समस्याहरू समाधान हुनेछैनन् र? (हुनेछन्।) ती समाधान हुनेछन्, र थप कुनै कठिनाइहरू हुनेछैनन्। त्यसोभए, पाकाहरूले सुरुमा अपनाउनुपर्ने मानसिकता के हो? तिनीहरूले सकारात्मक मानसिकता अपनाउनुपर्छ; तिनीहरू समझदार मात्रै होइन, उदार मनको पनि हुनुपर्छ। तिनीहरूले भक्खरकाहरूको अगाडि बखेडा गर्नु हुँदैन बरु उदाहरण बनेर भक्खरकाहरूलाई बाटो देखाउनुपर्छ, तिनीहरूसँग रूखो व्यवहार गर्नु हुँदैन। भक्खरकाहरू झडङ्ग रिसाउने र हतारमा बोल्‍ने हुन्छन्, त्यसकारण तिनीहरूसँग बखेडा नगर। तिनीहरू जवान, अपरिपक्‍व, र अनुभवहीन हुन्छन्, र केही वर्ष खारिन दिइयो भने तिनीहरू सुध्रिन्छन्। यो कुरा यस्तै हुनुपर्छ, र पाकाहरूले कुरा बुझ्‍नुपर्छ। त्यसकारण, सत्यताअनुरूप हुने गरी पाकाहरूले कस्तो मानसिकता अपनाउनुपर्छ? तिनीहरूले भक्खरकाहरूसँग सही व्यवहार गर्नुपर्छ, साथै तिनीहरूले आफूसँग धेरै अनुभव र अन्तर्दृष्टि छ भन्‍ने सोच्दै अहङ्कारी र अभिमानी व्यवहार गर्नु हुँदैन। तिनीहरूले आफूलाई साधारण मानिसहरू र अरू सबैजस्तै ठान्‍नुपर्छ—यसो गर्नु सही हुन्छ। पाकाहरू आफ्‍नो उमेरद्वारा बाधित महसुस गर्नु हुँदैन, न त तिनीहरूले बदलिएर भक्खरको व्यक्तिको जस्तो मानसिकता नै अपनाउनु हुन्छ। बदलिएर भक्खरको व्यक्तिको मानसिकता अपनाउनु पनि सामान्य कुरा होइन, त्यसकारण आफ्‍नो उमेरद्वारा बाधित महसुस नगर्। सधैँ यस्तो नसोच्, “अहो, म धेरै बूढो भएँ, म यो गर्न सक्दिनँ, यो भन्‍न सक्दिनँ, र त्यो गर्न सक्दिनँ। म बूढो भएकोले, मैले यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ, निश्‍चित तरिकाले बस्‍नुपर्छ र निश्‍चित तरिकाले उभिनुपर्छ, र भक्खरकाहरूलाई देखाउन मैले निश्‍चित तरिकाले खानुपर्छ, ताकि तिनीहरूले पाका मानिसहरूलाई नहेपून्।” यो मानसिकता गलत छ, र यस्तो सोचेर, तँ तेरो गलत सोचको नियन्त्रण र बन्धनमा परिरहेको हुन्छस्, र तैँले अलिक बनावटी, झूटो, र गलत व्यवहार गरिरहेको हुन्छस्। आफ्‍नो उमेरको कारण बाधा नमान्, अरू जस्तै बन्, आफूले गर्नसक्‍ने जुनसुकै काम गर्, र आफूले गर्नुपर्ने काम गर्—यसरी, तेरो मानसिकता सामान्य हुनेछ। कुरो बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, जब पाका मानिसहरूमा सामान्य मानसिकता हुन्छ, तिनीहरूको पाको उमेरको कारण तिनीहरूमा पैदा हुन सक्‍ने विभिन्‍न नकारात्मक संवेगहरू तिनीहरूले थाहै नपाई हराउनेछन्; ती कुराहरूले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैनन्, ती कुराहरूले तँलाई पार्ने हानि पनि हराउनेछन्, र त्यसपछि तेरो मानवता, तेरो समझ, र तेरो विवेक सबै तुलनात्मक रूपमा सामान्य बन्‍नेछन्। सामान्य विवेक र तर्कसङ्गतता भएपछि, सत्यता पछ्याउन, आफ्‍नो कर्तव्य पूरा गर्न, र कुनै क्रियाकलाप र काममा सहभागी हुनको लागि मानिसहरूको सुरुवाती विन्दु तुलनात्मक रूपमा सही बन्‍नेछ, र त्यसबाट हासिल हुने परिणामहरू तुलनात्मक रूपमा सही हुनेछन्। पहिला त पाका मानिसहरूले आफ्नो उमेरको कारण बाधा महसुस गर्दैनन्, बरु तिनीहरूले आफ्नो कदलाई वस्तुगत र व्यावहारिक रूपमा लिनेछन् र आफूले जे गर्नुपर्ने हो त्यो गर्नेछन्, तिनीहरू अरू मानिसहरूजस्तै हुनेछन्, र आफूले पूरा गर्नुपर्ने कर्तव्य आफ्‍नो क्षमताले भ्याउन्जेल राम्ररी पूरा गर्नेछन्। अनि, भक्खरकाहरूले यस्तो सोच्‍नु हुँदैन, “तपाईं साह्रै बूढो हुनुहुन्छ, तपाईंले मेरो लागि कहिल्यै बाटो बनाउनुहुन्‍न, न त मलाई हेरचाह नै गर्नुहुन्छ। तपाईं साह्रै बूढो हुनुहुन्छ, तपाईं अनुभवी हुनुपर्ने हो, तर तपाईंले कसरी काम गर्ने भनेर कुनै उपायहरू बताउनुहुन्‍न, त्यसकारण तपाईंसँग हुनुको कुनै फाइदा छैन। तपाईं बूढो हुनुहुन्छ, तर पनि भक्खरकाहरूप्रति कसरी बुज्झकी हुने तपाईंलाई थाहै छैन?” के यसो भन्‍नु सही हुन्छ? (हुँदैन।) पाका मानिसहरूबाट यस्ता अपेक्षाहरू गर्नु अनुचित हुन्छ। सत्यताको अघि सबै मानिसहरू समान हुन्छन्। यदि तेरो सोच व्यावहारिक, वस्तुगत, सटीक, र तर्कसङ्गत छ भने, यो अवश्यै सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। यदि तँलाई कुनै वस्तुगत अवस्था, कारण, वातावरण, वा कुनै तत्वले असर गर्दैन भने, यदि तैँले मानिसहरूले गर्नुपर्ने कुरा मात्रै गर्छस् र परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने कुराहरू मात्रै गर्छस् भने, तैँले गर्ने कुराहरू निश्‍चय नै उचित र उपयुक्त हुनेछन्, आधारभूत रूपमा ती सत्यताअनुरूप हुनेछन्। तेरो वृद्धावस्थाको कारण तँ हैरानी, बेचैनी र चिन्ताका नकारात्मक संवेगहरूमा पनि डुब्‍नेछैनस्, र यो समस्या समाधान हुनेछ।

ठीक छ, अब म आजको सङ्गति यहीँ समाप्त गर्छु। जय मसीह!

अक्टोबर २२, २०२२

अघिल्लो: सत्यता कसरी पछ्याउने (२)

अर्को: सत्यता कसरी पछ्याउने (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्