असफलता, पतन, परीक्षा र शोधन कसरी अनुभव गर्ने भन्नेसम्बन्धी वचनहरू
अंश ५९
मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्ध पारिएको छैन र तिमीहरूले भ्रष्टता प्रकट गर्छौ, तिनै पक्षहरूमा तिमीहरू शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्नो मनसायहरू र चाहनाहरू त्याग्न, अनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनका लागि मर्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!
अंश ६०
कतिपय मानिसहरूले विगतमा केही असफलता अनुभव गरेका हुन्छन्, जस्तै, अगुवाका रूपमा कुनै वास्तविक काम नगरेकाले वा हैसियतको फाइदाहरूको लोभ गरेकाले बर्खास्त गरिनु। कैयौँ पटक बर्खास्त गरिएपछि, तिनीहरूमध्ये केहीले थोरै वास्तविक परिवर्तन अनुभव गर्छन्, त्यसोभए बर्खास्त गरिनु भनेको मानिसहरूका लागि राम्रो कुरा हो कि नराम्रो? (यो राम्रो कुरा हो।) पहिलो पटक बर्खास्त हुँदा मानिसहरूलाई आकाशै खसिरहेको जस्तो लाग्छ। मानौँ तिनीहरूको हृदय नै तोडियो। त्यसपछि तिनीहरू आफूलाई सम्हाल्न सक्दैनन् र तिनीहरूलाई कुन दिशामा अघि बढ्ने भनेर थाहा हुँदैन। तर यो अनुभवपछि तिनीहरू यस्तो सोच्छन्, “त्यो त्यस्तो ठूलो कुरा थिएन। पहिला मेरो कद किन त्यति सानो थियो? म कसरी त्यति अपरिपक्व हुन सकेँ?” यसले तिनीहरूले जीवनमा प्रगति गरेको, अनि परमेश्वरका अभिप्राय, सत्यता र परमेश्वरले मानिसलाई मुक्ति दिनुको उद्देश्य अलिकति बुझेको प्रमाणित गर्छ। परमेश्वरको काम अनुभव गर्ने प्रक्रिया यही नै हो। तैँले परमेश्वरले उहाँको काममा प्रयोग गर्नुहुने यी विधिहरू, अर्थात् तँलाई निरन्तर काटछाँट गर्नु, वा तेरो फैसला सुनाउनु, तँ नालायक होस् भन्नु, तँ मुक्ति पाउने व्यक्ति होइनस् भन्नु, र तँलाई निन्दा र श्रापित समेत गर्नुलाई आत्मसात् र स्वीकार गर्नुपर्छ। तैँले नकारात्मक महसुस गर्लास्, तर सत्यता खोजी गरेर अनि आत्मचिन्तन गरेर र आफूलाई चिनेर तँ चाँडै नै फेरि माथि उक्लन अनि परमेश्वरलाई पछ्याउन र सामान्य रूपमा आफ्नो कर्तव्य निभाउन सक्नेछस्। जीवनमा बढ्नु भनेको यही नै हो। त्यसोभए, कैयौँ पटक बर्खासी अनुभव गर्नु राम्रो हो कि नराम्रो? के परमेश्वरले उहाँको काममा प्रयोग गर्नुहुने यो विधि सही छ त? (सही छ।) तर, कहिलेकाहीँ मानिसहरूले यो कुरा बुझ्दैनन् र यसलाई स्विकार्न सक्दैनन्। विशेष गरी जब तिनीहरूले पहिलो पटक बर्खासी अनुभव गर्छन्, तिनीहरूलाई आफूमाथि अन्याय भएजस्तो लाग्छ, तिनीहरू जहिले पनि परमेश्वरसँग तर्क गर्छन् र उहाँबारे गुनासो, अनि तिनीहरूले त्यो तगारो पन्छाउन सक्दैनन्। तिनीहरूले किन त्यो पन्छाउन सक्दैनन्? के यो तिनीहरूले परमेश्वर र सत्यतासँग जोरी खोजेकाले गर्दा हो? मानिसहरूले सत्यता नबुझ्ने, आत्मचिन्तन गर्न नजान्ने र आफूभित्र समस्याहरू नखोज्ने हुनाले यसो भएको हो। तिनीहरू सधैँ हृदयदेखि समर्पित हुन अस्वीकार गर्छन्, अनि बर्खास्त भएपछि परमेश्वरलाई चुनौती दिन थाल्छन्। तिनीहरू आफूलाई बर्खास्त गरिएको तथ्य स्विकार्न सक्दैनन् र आक्रोशले भरिन्छन्। यसबेला तिनीहरूको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ, तर पछि त्यस मामिलालाई फर्केर हेर्दा तिनीहरूले आफूलाई बर्खास्त गरिनु सही थियो भन्ने देख्न सक्छन्—त्यो राम्रै साबित भयो, जसले तिनीहरूलाई जीवनमा अलिकति प्रगति गर्न सक्षम बनायो। भविष्यमा फेरि बर्खासी सामना गर्दा, के तिनीहरूले अझै पनि यसै गरी चुनौती दिनेछन्? (त्यो हरेक पटक कम-कम हुँदै जानेछ।) त्यो क्रमिक रूपमा सुधार हुँदै जानु सामान्य कुरा हो। यदि केही पनि परिवर्तन भएन भने, यसले तिनीहरू सत्यता पटक्कै स्विकार्दैनन् र तिनीहरू अविश्वासी हुन् भन्ने कुरा प्रमाणित गर्छ। त्यसपछि तिनीहरूलाई पूर्ण रूपले प्रकाश गरिन्छ र हटाइन्छ, र तिनीहरूसँग मुक्ति पाउने कुनै पनि तरिका हुँदैन।
असफलता, ठक्कर र बर्खासी भनेको मुक्ति पाउने र सिद्ध पारिने प्रक्रिया दौरान सबै मानिसले अनुभव गर्नैपर्ने कुरा हो, त्यसैले त्यसलाई ठूलो कुरा नबना। बर्खास्त गरिएका मानिसहरूले कष्ट भोगिरहेको र तिनीहरू नकारात्मक बनिरहेको देख्दा, तिनीहरूको मजाक नउडा, किनभने कुनै दिन तँ पनि बर्खास्त हुन र तिनीहरूभन्दा खराब अवस्थामा पुग्न सक्छस्। यदि कुनै दिन तिमीहरूले बर्खासी सामना गर्नुपर्यो भने, के तिमीहरू नकारात्मक बन्नेछौ र डाँको छोडेर रुनेछौ? के तिमीहरू गुनासो गर्नेछौ? के तिमीहरू आफ्नो आस्था त्याग्न चाहनेछौ? यो कुरा तैँले परमेश्वरमा विश्वास गरेको अवधिमा सत्यता स्विकारेको छस् कि छैनस्, कति वटा सत्यता साँच्चै बुझेको छस्, अनि तँलाई आफूले बुझेजस्तो लाग्ने सत्यताहरू तेरो वास्तविकता हुन् कि होइनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि यी सत्यताहरू तेरो वास्तविकता बनेका छन् भने, तँसँग यो जाँच र शोधनलाई पार गर्ने कद हुनेछ; यदि तँसँग सत्यता वास्तविकता छैन भने, यो बर्खासी तेरा लागि एउटा विपत्ति हुनेछ, र यदि यसको अन्त्य खराब तरिकाले भयो भने तँ पछारिनेछस् र फेरि उठ्न असक्षम हुनेछस्। कतिपय मानिसहरूमा अलिकति विवेक हुन्छ, र तिनीहरू भन्छन्, “मैले परमेश्वरको धेरै अनुग्रहको आनन्द उठाएको छु छु, मैले वर्षौँदेखि प्रवचनहरू सुन्दै आएको छु, अनि परमेश्वरले मलाई धेरै प्रेम दिनुभएको छ। म यो भुल्न सक्दिनँ। मैले कम्तीमा पनि परमेश्वरको प्रेमको ऋण चुक्ता गर्नैपर्छ।” त्यसपछि तिनीहरू आफ्नो कर्तव्य नकारात्मक र निष्क्रिय रूपमा निभाउँछन्, सत्यतातर्फ लागिपर्दैनन् र तिनीहरूसँग रत्तिभर पनि जीवन प्रवेश हुँदैन। यदि तँ आफ्नो कर्तव्य कायम राख्न सक्छस् भने तँसँग केही विवेक भएको मान्न सकिन्छ; तैँले कम्तीमा पनि यत्तिचाहिँ हासिल गर्नुपर्छ। तर यदि तँ आफ्नो कर्तव्य निभाउँदा सधैँ झारा लापरवाह हुन्छस्, सिद्धान्तहरू पालना गर्दैनस्, तँसँग जीवनमा प्रवेश हुँदैन अनि आफ्नो कर्तव्यमा कुनै परिणाम पाइरहेको छैनस् भने, के यो तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हो त? यदि तँ सधैँ झाराटारूवा रूपमा आफ्नो कर्तव्य निभाउँछस् भने, के तँ विपत्तिहरूको आइपर्दा दह्रिलो गरी खडा रहन सक्नेछस्? के तँ तैँले परमेश्वरलाई धोका दिने छैनस् भनी प्रत्याभूति गराउन सक्छस्? त्यसैले, आफ्नो कर्तव्य निभाउन, तँसँग कम्तीमा पनि विवेक र समझ हुनैपर्छ; आफ्नो विवेक र समझअनुरूप कर्तव्य निभाएर मात्रै वास्तविक नतिजा हासिल गर्न सकिन्छ। यो नै न्यूनतम मापदण्ड हो। यदि तँ यो मापदण्डसमेत पूरा गर्न गर्न सक्दैनस् भने, तँ झाराटारूवा भइरहेको हुन्छस्, तैँले परमेश्वरलाई छल्न र धोका दिन सक्छस् र तैँले पर्याप्त रूपमा श्रमसमेत गरिरहेको हुँदैनस्। यदि तैँले परमेश्वरको घर नछोडे पनि, तँ धेरै अगाडि नै परमेश्वरद्वारा हटाइसकिएको हुनेछस्। त्यस्तो व्यक्तिलाई मुक्ति दिनै सकिँदैन। यो विवेक र समझको कमी, अनि आफ्नो कर्तव्य लगातार झाराटारूवा तरिकाले निभाउनाले हुन्छ। तँ हिँडेको मार्गकै कारण तेरो पैतालामा फोका उठेका हुन्, र तैँले यसका लागि अरू कसैलाई दोष दिन मिल्दैन। यदि तैँले अन्त्यमा मुक्ति पाइनस्, उल्टै श्रापित भइस्, अनि तेरो हालत पनि पावलको जस्तै भयो भने, तैँले त्यसको दोष अरू कसैलाई दिन मिल्दैन। त्यो तेरो आफ्नै मार्ग र आफ्नै छनोट हो। त्यसैले, मानिसहरूलाई मुक्ति दिन सकिन्छ कि सकिन्न भन्ने कुरा मुख्य रूपमा उसमा विवेक र समझ छ कि छैन भन्ने कुराले नै निर्धारित गर्दछ। यदि मानिसहरूले यो कुरालाई कायम गर्न सके भने तिनीहरूमा विवेक र समझ हुन्छ। त्यस्ता मानिसहरूले मुक्ति पाउने आशा हुन्छ। यदि तिनीहरूले यो लक्ष्मणरेखा पार गरे भने तिनीहरू हटाइनेछन्। तिमीहरूको लक्ष्मणरेखा के हो? तँ भन्छस्, “परमेश्वरले मलाई पिट्नुभयो र हकार्नुभयो, अनि मलाई इन्कार गर्नुभयो र मुक्ति दिनुहुन्न भने पनि, म कुनै गुनासो गर्नेछैनँ। म गोरु वा घोडाजस्तै हुनेछु: म अन्त्यसम्मै श्रम गरिरहनेछु, र परमेश्वरको प्रेमको ऋण चुक्ता गर्नेछु।” त्यो सबै मीठो सुनिन्छ, तर के तँ साँच्चै यो कुरा हासिल गर्न सक्षम छस् त? यदि तँसँग साँच्चै त्यस्तो चरित्र र सङ्कल्प छ भने, म तँलाई स्पष्ट रूपमा भन्छु: तैँले मुक्ति पाउने आशा छ। यदि तेरो चरित्र त्यस्तो छैन, यदि तँमा यस्तो विवेक र समझ छैन भने, तैँले श्रम गर्न चाहे पनि तँ अन्त्यसम्मै दह्रिलो गरी रहन सक्नेछैनस्। के तँलाई थाहा छ, परमेश्वरले तँसँग कस्तो व्यवहार गर्नुहुनेछ? तँलाई थाहा छैन। के तँलाई थाहा छ, परमेश्वरले तँलाई कसरी जाँच्नुहुनेछ? तँलाई यो पनि थाहा छैन। यदि तँमा आफ्नो आचरणलाई आधारित गर्ने विवेक र समझको आधारबिन्दु छैन, तैँले सही तरिकाले पछ्याउँदैनस्, अनि जीवन र मूल्यमान्यताबारे तेरो दृष्टिकोण सत्यतासँग मिल्दैन भने, तैँले अवरोध र असफलता, वा जाँच र शोधन सामना गर्दा तँ दह्रिलो गरी खडा हुन सक्नेछैनस्—जुन अवस्थामा तँ खतरामा हुनेछस्। विवेक र समझले कस्तो भूमिका खेल्छन्? यदि तँ “मैले धेरै प्रवचन सुनेको छु, र केही सत्यता साँच्चै बुझ्छु। तर मैले त्यसलाई अभ्यास गरेको छैनँ, मैले परमेश्वरलाई सन्तुष्ट पारेको छैनँ, परमेश्वरले मलाई समर्थन गर्नुहुन्न—र यदि अन्ततः परमेश्वरले मलाई त्याग्नुभयो र उप्रान्त चाहनुभएन भने त्यो परमेश्वरको धार्मिकता हुनेछ। परमेश्वरले मलाई दण्ड र श्राप दिनुभयो भने पनि म परमेश्वरलाई त्याग्नेछैनँ। म जतासुकै गए पनि सृष्टि गरिएको प्राणी नै हुँ, म सदासर्वदा परमेश्वरमा विश्वास गर्नेछु, र मैले गोरु वा घोडाझैँ काम गर्नुपरे पनि म परमेश्वरलाई पछ्याउन कहिल्यै छोड्नेछैनँ, र म मेरो परिणाम के हुनेछ भनी वास्ता गर्दिनँ”—भन्छस् भने, यदि तँमा साँच्चै यस्तो सङ्कल्प र यस्तो विवेक र समझ छ भने तँ दह्रिलो गरी खडा हुन सक्नेछस्। यदि तिमीहरूसँग यस्तो सङ्कल्प छैन र तिमीहरूले यी कुराबारे कहिल्यै विचार गरेका छैनौ भने तिमीहरूको चरित्र, विवेक र समझमा निश्चय नै कुनै समस्या छ। त्यसो किन हुन्छ भने, तिमीहरूले हृदयमा, कहिल्यै पनि परमेश्वरप्रतिको आफ्नो कर्तव्य पूरा गर्न चाहेका छैनौ। तिमीहरू सधैँ परमेश्वरसँग आशिष् माग्ने काम मात्रै गर्छौ। तिमीहरू सधैँ आफूले परमेश्वरको घरमा परिश्रम गरेको वा दुःख-कष्ट भोगेको बदलामा के-कस्तो आशिष् पाउनेछु भनी मनमा हिसाब गरिरहेका हुन्छौ। यदि तँ यस्तै हिसाब मात्र गर्छस् भने, तँलाई दह्रिलो गरी खडा हुन निकै कठिन हुनेछ। तँलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा तँमा विवेक र समझ छ कि छैन भन्ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तँमा विवेक र समझ छैन भने, तँ मुक्ति पाउन योग्य छैनस्, किनभने परमेश्वरले भूत र पशुलाई मुक्ति दिनुहुन्न। यदि तैँले सत्यता पछ्याउने मार्गमा हिँड्ने र पत्रुसको मार्गमा हिँड्ने छनोट गर्छस् भने पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ र सत्यता बुझ्न मार्गदर्शन गर्नुहुनेछ, र तँलाई सिद्ध पार्न धेरै परीक्षा र शोधन अनुभव गराउने अवस्थाहरू सिर्जना गर्नुहुनेछ। यदि तँ सत्यता पछ्याउने मार्ग नचुनी उल्टै ख्रीष्टविरोधी पावलको मार्गमा हिँड्छस् भने, मलाई खेद छ—परमेश्वरले अझै पनि तेरो जाँच र परीक्षण गर्नुहुनेछ। तर तैँले परमेश्वरको जाँचको सामना गर्न सक्नेछैनस् भन्ने कुरालाई नकार्नै सकिँदैन; तँमाथि केही आइपर्दा, तैँले परमेश्वरबारे गुनासो गर्नेछस्, अनि तँलाई परीक्षा गरिँदा, तैँले परमेश्वरलाई त्याग्नेछस्। त्यो क्षण तेरो विवेक र समझ काम लाग्नेछैन, र तँ हटाइनेछस्। विवेक वा समझ नहुने मानिसहरूलाई परमेश्वरले मुक्ति दिनुहुन्न; न्यूनतम मापदण्ड यही हो।
तैँले कम्तीमा पनि विवेक र समझको मापदण्ड पूरा गर्नैपर्छ। अर्थात्, यदि परमेश्वरले उप्रान्त तँलाई चाहनुहुन्न भने, तैँले उहाँलाई कस्तो व्यवहार गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ, “परमेश्वरले मलाइ यो सास दिनुभयो। परमेश्वरले मलाई चुन्नुभयो। मैले आज सृष्टिकर्तालाई चिनेको छु र कति धेरै सत्यता बुझेको छु, तर मैले तिनलाई अभ्यास गरेको छैनँ। मेरो प्रकृति नै सत्यता मन नपराउने खालको छ र ममा कुनै विवेक छैन। तर, चाहे मैले भविष्यमा सत्यता अभ्यास गर्न वा मुक्ति पाउन सकूँ वा नसकूँ, म सधैँ परमेश्वरलाई, अनि सृष्टिकर्ता धर्मी हुनहुन्छ भन्ने कुरा स्विकार्नेछु। यो तथ्यलाई बदल्न सकिन्न। आफ्नो मुक्तिको कुनै आशा छैन वा आफूसँग कुनै परिणाम वा गन्तव्य छैन भन्दैमा व्यक्तिले परमेश्वर र सृष्टिकर्तालाई स्विकार्न छोड्नु हुन्न। यो त विद्रोही विचार हुनेछ। मैले यसरी सोचेँ भने, म श्रापित हुनुपर्छ। परमेश्वरले जेसुकै गर्नुभए पनि, व्यक्ति उहाँमा समर्पित हुनुपर्छ; समझ हुनु भनेको यही हो। समर्पित हुनका लागि मेरो कद निकै सानो छ र यदि मैले परमेश्वरविरुद्ध विद्रोह गरेँ वा उहाँलाई धोका दिएँ भने, म दण्डित हुनुपर्छ। तर, परमेश्वरले मसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, परमेश्वरलाई पछ्याउने मेरो अठोट बदलिनेछैन। म सधैँ नै परमेश्वरको सृष्टि गरिएको प्राणी हुनेछु। चाहे परमेश्वरले मलाई स्विकार्नुहोओस् वा नकार्नुहोओस्, म प्यादा र सेवाकर्ता बन्न अनि परमेश्वरको सार्वभौमिकता समर्पित हुन इच्छुक छु। ममा यो अठोट हुनैपर्छ।” अहिले तेरो सोच यस्तो भए पनि वा नभए पनि, तैँले यसरी कहिल्यै सोचेको भए पनि वा नभए पनि, वा यस्तो अठोट गरेको भए पनि वा नभए पनि, जे भए पनि तँमा यस्तो समझ चाहिँ हुनैपर्छ। यदि तँमा यस्तो समझ वा यो प्रकारको मानवता छैन भने, तेरा लागि मुक्ति भनेको खोक्रो कुराकानी मात्र हो। के यो तथ्य होइन र? कुरा यही नै हो। तँलाई न्यूनतम मापदण्डबारे जानकारी गराइएको छ। तैँले समस्याहरू सामना गर्दा यस पक्षबारे अझ विचार गर्नुपर्छ। यो तेरा लागि राम्रो कुरा हो र आफूलाई जोगाउने एउटा तरिका हो। यदि तँमा मानवताको यो पक्ष साँच्चै छैन भने, तँ ठूलो खतरामा छस्। तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ, “परमेश्वर, मैले तपाईँलाई कहिल्यै पनि परमेश्वरको रूपमा व्यवहार गरेको छैनँ। मैले तपाईँलाई हावा, अर्थात् अस्पष्ट र अदृश्य वस्तु झैँ मात्र व्यवहार गरेको छु। आज मैले यस समस्याको सामना गरिरहँदा, आफू निकालिएको र आफूसँग कुनै राम्रो गन्तव्य नभएको महसुस गरिरहेको छु। तपाईँले मेरो परिणाम जसरी निर्धारण गर्नुभए पनि, म तपाईँप्रति समर्पित हुन इच्छुक छु। मैले तपाईँलाई पछ्याउनैपर्छ र म तपाईँलाई छोड्न सक्दिनँ। तपाईँलाई छोडेर शैतानको सत्तामुनि जिउनेहरू मानव होइनन्। तिनीहरू दियाबलस हुन्। म दियाबलस हुन चाहन्न। म मानव हुन चाहन्छु। म शैतानलाई नभई परमेश्वरलाई पछ्याउन चाहन्छु।” यदि तँ हरेक दिन यस मामिलाका लागि प्रार्थना गर्न सक्छस् र अझ माथि उक्लन सक्छस् भने तेरो हृदय झन्-झन् स्पष्ट हुनेछ, अनि तँसँग अभ्यासको मार्ग हुनेछ। यदि कुनै व्यक्तिले कठिनाइहरू सामना गर्दा विद्रोही स्वभाव देखाएमा उसको हृदय हठी बन्छ र ऊ सत्यतातर्फ लागिपर्न इच्छुक हुँदैन। उसले कुनै गल्ती गरे पनि वास्ता गर्दैन। उसले आफूखुसी गर्छ। ऊ जिद्दी र आवारा बन्न थाल्छ र त्यसउप्रान्त प्रार्थना गर्नै चाहँदैन। यो अवस्थामा के गरिनुपर्छ? तेरो सुरक्षा गर्न सक्ने एउटा आधारभूत सिद्धान्त छ। त्यो के हो भने, यदि तँ सबैभन्दा नकारात्मक र कमजोर बनेको बेला, तेरो हृदयमा परमेश्वरविरुद्ध विद्रोह गर्ने, उहाँलाई प्रतिरोध गर्ने, निन्दा गर्ने वा मूल्याङ्कन गर्ने शब्दहरू छन् भने ठूलो स्वरमा नभन्, अरूलाई परमेश्वरको प्रतिरोध गर्न उक्साउने कुनै कार्य पनि नगर्। त्यसरी, जब तैँले परमेश्वरलाई प्रार्थना गरेर उहाँको सुरक्षा माग्छस्, तब तैँले कठिनाइहरूलाई जित्न सक्नेछस्। यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जब तँमा सामान्य चेतना हुन्छ, जब तँ नकारात्मक, पतित, आसक्त वा प्रतिरोधी स्थितिबाट बाहिर निस्कन्छस्, तब तैँले मनमनै यस्तो सोच्लास्, “धन्न मैले सुरुमा यसो गरिनँ। यदि मैले त्यसो गरेको भए म युगौँयुगसम्मका लागि निन्दित पापी र अक्षम्य दुष्टताको दोषी हुनेथिएँ।” यो मार्ग कस्तो छ? (असल छ।) त्यसमा असल के छ? (यसले मानिसलाई परमेश्वरको स्वभाव चिढ्याउनबाट रोक्न सक्छ।) परमेश्वरको स्वभावलाई नचिढ्या। एकचोटी ठूलो स्वरले परमेश्वरको स्वभावलाई चिढ्याउने केही कुरा बोलिसकेपछि, के तैँले त्यो फिर्ता लिन सक्छस्? कुनै पनि शब्द मुखबाट निस्कनेबित्तिकै त्यो सिद्ध तथ्य बन्छ। परमेश्वरले त्यसलाई निन्दा गर्नुहुन्छ। एकपटक परमेश्वरले तँलाई निन्दा गर्नुभएपछि तँ समस्यामा पर्छस्। जब व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, तब चाहे उसले जतिसुकै दुख-कष्ट सहोस्, चाहे जसरी आफूलाई समर्पित गरोस् वा चाहे जसरी विश्वास गर्ने छनोट गरोस्, उसको उद्देश्य परमेश्वरद्वारा श्रापित वा निन्दित हुन नभई सृष्टिकर्ताले यसो भन्नुभएको सुन्न हुन्छ, “परमेश्वरले तँलाई अनुमोदन गर्नुहुन्छ। तँ बाँचिरहन सक्छस्, र तँ परमेश्वरले दिनुहुने मुक्तिको पात्र होस्।” यस्तो बिरलै हुने गर्छ। यो कुरा सहज छैन, त्यसैले मानिसहरूले सहकार्य गर्नैपर्छ। आफ्नै मुक्तिलाई हानि गर्ने कुनै पनि कुरा कहिल्यै नबोल्। तैँले महत्त्वपूर्ण समयमा संयम अपनाउनुपर्छ र समस्या सिर्जना गर्ने कुनै पनि कार्य गर्नु हुन्न। म भन्दै छु, एकपटक तैँले समस्या सिर्जना गरेर परमेश्वरद्वारा निन्दित भएपछि, यदि तैँले परमेश्वरको स्वभावलाई चिढ्याइस् भने, तैँले त्यसलाई कहिल्यै उल्ट्याउन सक्नेछैनस्। अन्धाधुन्ध बोल्ने वा कार्य गर्ने नगर्। तँ संयमित रहनुपर्छ र आसक्त हुनु हुन्न। जब तँ संयमित हुन्छस्, यसले तँ सिद्धान्तनिष्ठ भएको प्रमाणित गर्छ। यदि तँ आफैलाई संयममा राख्छस्, परमेश्वरको अस्तित्व स्विकार्छस्, परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्छस्, र तँसँग अन्त्यसम्मै परमेश्वरको डर मान्ने हृदय हुन्छ भने, परमेश्वरले यो कुरा देख्नुहुनेछ। तैँले परमेश्वरलाई चिढ्याउने कुनै पनि कुरा बोलेको छैनस्, न त कुनै पाप नै गरेको छस्। परमेश्वरले तेरा हृदयभित्र रहेका विचारलाई छानबिन गर्न सक्नुहुन्छ। तँमा परमेश्वरको अलिकति डर मान्ने हृदय भएको हुनाले, तेरा केही विचारहरू बेतुक्का भए पनि तैँले तिनलाई ठूलो स्वरमा व्यक्त गरेको छैनस्, न त परमेश्वरलाई प्रतिरोध गर्ने कुनै काम नै गरेको छस्। परमेश्वरले तेरो यो व्यवहारलाई स्वीकार्य मान्नुहुनेछ। परमेश्वरले तँसँग कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्वरले तँलाई त्यस्ता दुर्दशाबाट उम्काउने मार्गदर्शन गर्न जारी राख्नुहुनेछ। त्यसोभए, के तैँले अझै पनि मुक्ति पाउने आशा छैन र? त्यो अत्यन्तै दुर्लभ कुरा आफ्नो साथमा हुनु हो। तैँले समस्याहरू सामना गर्दा के गर्नुपर्छ? तैँले संयम अपनाउनुपर्छ र कहिल्यै आसक्त हुनु हुन्न। तँ आसक्त हुनु आवेगपूर्ण भावनाको नतिजा हो। तेरो अहङ्कारी प्रकृति विस्फोट हुने बिन्दुमा पुगेको हुन्छ र तँ गुनासो र बहानाहरूले भरिएको हुन्छस्। तँ अत्यन्तै आक्रोशित हुन्छस् र बोल्न बाध्य महसुस गर्छस्। यस क्षणमा आफूलाई संयमित राख्न असम्भव हुन्छ। परिणामस्वरूप, तेरो शैतानी स्वभावको कुरूप पक्षको खुलासा हुन्छ, र त्यसबेला परमेश्वरको स्वभाव सम्भवतः चिढिन्छ। यो संयमताको उद्देश्य के हो? यसको उद्देश्य आफ्नो सुरक्षा गर्न, परमेश्वरको स्वभाव नचिढ्याउन, र आफ्ना लागि मुक्तिको अन्तिम आशाको किरण बाँकी राख्न आफ्ना वचन, कार्य र पाइलाबारे सावधान रहनु हो। त्यसैले, आफूलाई संयमित राख्नु आवश्यक छ। तँलाई आफूमाथि जतिसुकै ठूलो अन्याय भएको जस्तो लागे पनि, तैँले हृदयमा जतिसुकै पीडा र उदासी महसुस गरे पनि, तैँले आफूलाई संयमित राख्नुपर्छ। यो एकदमै सार्थक कार्य हो! आफूलाई संयमित राखेपछि तैँले कदापि पछुतो मान्नेछैनस्। यसरी अभ्यास गर्नु समस्त रूपमा सबैका लागि हितकर छ, चाहे त्यो परमेश्वरमा विश्वास गर्ने माध्यमका रूपमा गरिएको होस् वा आफ्नै सुरक्षा गर्न चालिएको कुनै गोप्य चाल नै किन नहोस्। भ्रष्ट स्वभाव भएका मानिसले बेलाबेलामा एक हदसम्मको पागलपन देखाउँछन्, अनि तिनीहरूको कार्यमा अलिकति पनि चेतना वा सिद्धान्त हुँदैन। तँलाई तेरो भ्रष्ट स्वभाव कहिले विस्फोट हुनेछ भन्ने समेत थाहा हुँदैन। तैँले कुर्लेर परमेश्वरलाई नकार्ने र निन्दा गर्ने कुनै कुरा बोल्दा धेरै ढिलो भइसकेको हुन्छ र त्यसको पछुतो मान्नु व्यर्थ हुनेछ। त्यसका परिणामहरू अकल्पनीय हुनेछन्। तँ निकालिन सक्नेछस् र त्यसउप्रान्त परमेश्वरले तँमा काम गर्नुहुनेछैन। के त्यसको अर्थ सबै कुरा खतम भयो भन्ने होइन र? तैँले मुक्तिको मौका कदापि पाउनेछैनस्।
अंश ६१
हरेक व्यक्तिले धेरै वा थोरै हदसम्म अपराधहरू गरेको हुन्छ। जब तँलाई कुनै कुरा अपराध हो भन्ने थाहा हुँदैन, तब यसलाई तैँले अस्पष्ट मनस्थितिले हेर्छस्, र तँ सायद अझै पनि आफ्ना विचार, अभ्यास, र बुझाइका तरिकाहरूमै लागिरहन्छस्—तर एकदिन, परमेश्वरका वचनहरूमार्फत वा तेरा दाजुभाइ-दिदीबहिनीहरूसँगको सङ्गतिमार्फत वा परमेश्वरको प्रकाशमार्फत, तैँले यो कुरा अपराध हो, परमेश्वरविरुद्धको उल्लङ्घन हो भन्ने जान्नेछस्। त्यो बेला तेरो मनोवृत्ति कस्तो हुनेछ त? के तँलाई साँचो रूपमा पछुतो हुनेछ कि तँ आफूले गरेको कुरा सत्यताअनुरूप नभए पनि त्यो त्यति ठूलो कुरो होइन भन्ने विश्वास गर्दै, विवाद र तर्क गरिरहेको र आफ्नै विचारहरूमा लागिरहेको हुनेछस्? यो परमेश्वरप्रति तैँले राख्ने मनोवृत्तिसँग सम्बन्धित कुरा हो। दाऊदले आफ्ना अपराधहरूप्रति कस्तो मनोवृत्ति राख्थ्यो? (पछुतो।) पछुतो—यसको मतलब उसले हृदयमा आफैलाई घृणा गर्थ्यो र त्यसउप्रान्त फेरि उसले त्यस्तो अपराध कहिल्यै गर्नेवाला थिएन। अनि, उसले के गर्यो? उसले दण्ड दिनुहोस् भनेर परमेश्वरलाई अनुरोध गर्दै प्रार्थना गर्यो, र यसो भन्यो: “यदि मैले फेरि पनि यही गल्ती गरेँ भने, परमेश्वर मलाई दण्ड दिनुहोस् र मलाई मार्नुहोस्!” उसको यस्तो सङ्कल्प थियो; यस्तो साँचो पछुतो थियो। के साधारण मानिसहरूले यस्तो कुरा हासिल गर्न सक्छ? सर्वसाधारण मानिसहरूको कुरा गर्दा, यदि तिनीहरूले तर्क गर्ने गर्दैनन् भने वा यदि तिनीहरूले चुपचाप दोष स्विकार्ने गर्छन् भने त्यो पहिले नै निकै राम्रो कुरा हुन्छ। के नाक काटिने डरले त्यो विषयलाई फेरि उठाउन नचाहनु साँचो पश्चात्ताप हो? यो पश्चात्ताप नभएर नाक काटिएकोमा व्यथित र विक्षुब्ध हुनु हो। साँचो पश्चात्ताप भनेको दुष्ट कार्य गरेकोमा आफैँलाई घृणा गर्नु, दुष्ट कार्य गर्न सकेकोमा पीडा र असहज महसुस गर्नु, आफैलाई दोष दिनु र आफैलाई सराप्नु पनि हो। यो भनेको पछि त्यस्तो दुष्ट कार्य कहिल्यै नगर्ने प्रण गर्न सक्नु र फेरि कुनै दुष्ट कार्य गरेमा परमेश्वरको दण्ड स्विकार्न र दर्दनाक मृत्यु भोग्न तयार हुनु हो। यही नै साँचो पश्चात्ताप हो। यदि मान्छेलाई आफ्नो हृदयमा सधैँ आफूले कुनै दुष्ट कार्य गरेको छैन, र आफ्ना कार्यहरू सिद्धान्तहरूसँग नमिलेका मात्र हुन् वा ती विवेकको कमीले गर्दा मात्र भएका हुन् भन्ने महसुस हुने गर्छ भने, र यदि तिनीहरूले आफूले गोप्य रूपमा काम गरेमा केही गलत हुनेछैन भन्ने विश्वास गर्छन् भने, के यसरी सोचेर तिनीहरूले साँचो पश्चात्ताप महसुस गर्न सक्छन्? बिलकुलै सक्दैनन्, किनभने तिनीहरूलाई आफ्नै दुष्कर्मको सार थाहा छैन। तिनीहरूले आफैँलाई अलिअलि घिनाए पनि, तिनीहरू आफूलाई अज्ञानी भएकोमा र परिस्थिति राम्रोसँग सम्हाल्न नसकेकोमा मात्र घृणा गर्छन्। तिनीहरूले वास्तवमा आफ्नो प्रकृति सारमा भएको समस्याको कारण, अर्थात् तिनीहरूमा मानवताको कमी भएको कारण, तिनीहरूको खराब स्वभाव र अनैतिकताको कारण दुष्ट कार्य गर्न सकेका हुन् भन्ने कुरा महसुस गर्दैनन्। यस्ता मानिसहरूमा साँचो पश्चात्ताप कहिल्यै हुँदैन। किन मानिसहरूले कुनै गलत कार्य वा अपराध गर्दा परमेश्वरसामु आफूबारे मनन गर्न आवश्यक छ? यो किन हो भने आफ्नो प्रकृति सार बुझ्न सजिलो छैन। आफूले गल्ती गरेँ भनी स्विकार्न र गल्ती कहाँ भयो भनी जान्न सजिलो छ। तथापि, आफ्नो गल्तीको जड पत्ता लगाउन र ठ्याक्कै कस्तो स्वभाव प्रकट भयो भनी जान्न सजिलो छैन। त्यसकारण, जब धेरैजसो मानिसहरूले केही गलत कार्य गरेका हुन्छन्, तिनीहरू आफू गलत भएको कुरा मात्र स्विकार्छन्, तर तिनीहरूको मनमा आत्मग्लानि हुँदैन, न त तिनीहरूले आफूलाई घृणा नै गर्छन्। यस तरिकाले, तिनीहरू साँचो पश्चात्तापसम्म पुग्न सक्दैनन्। साँचो पश्चात्तापसम्म पुग्न व्यक्तिले आफूले गरेका दुष्ट कार्यहरू त्याग्नुपर्छ र फेरि कहिल्यै त्यस्तो नगर्ने प्रत्याभूति गर्न सक्नुपर्छ। त्यसपछि मात्र साँचो पश्चात्ताप हासिल गर्न सकिन्छ। यदि तँ आफ्नो बारेमा मनन नगरी वा आफूलाई नजानी, सधैँ आफ्नै धारणा र कल्पनामा आधारित भएर मामिलाहरू सम्हाल्छस्, र औपचारिकताको लागि मात्र झारा टार्ने काम गर्छस् भने, तैँले साँचो पश्चात्ताप गरेकै छैनस् र आफूलाई बिलकुलै बदलेकै छैनस्। यदि परमेश्वरले तेरो प्रकाश गर्न चाहनुभयो भने, तैँले त्यसलाई कसरी लिनुपर्नेछ? तेरो मनोवृत्ति कस्तो हुनेछ? (म परमेश्वरको दण्ड स्विकार्नेछु।) परमेश्वरको दण्ड स्विकार्नु—तँसँग हुनुपर्ने मनोवृत्ति ठीक यस्तै प्रकारको हो। यसको साथै तैँले परमेश्वरको सूक्ष्म जाँच पनि स्विकार्नुपर्छ। यसो गर्नु नै बेस हुनेछ, र यसरी तैँले आफूलाई वास्तवमै जान्न र साँचो रूपमा पश्चात्ताप गर्न सक्नेछस्। यदि कुनै मानिससँग साँचो पश्चात्ताप छैन भने, उसलाई दुष्ट कार्य गर्नबाट रोकिन असम्भव हुनेछ। ऊ कुनै पनि बेला र कुनै पनि ठाउँमा आफ्नो पुरानो बानीमा फर्कन सक्छ, आफ्नो शैतानी स्वभावअनुसार जिउन थाल्न सक्छ, र बारबार एउटै गल्ती दोहोर्याइरहन समेत सक्छ। त्यसैले यस्ताहरू साँचो अर्थमा पश्चात्ताप गरेका मानिस होइनन्। यस तरिकाले तिनीहरूको पूर्ण खुलासा हुन्छ। त्यसोभए, मानिसहरूले आफूलाई अपराधबाट पूर्णतः मुक्त गर्न के गर्न सक्छन्? तिनीहरूले समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ र तिनीहरूले सत्यता अभ्यास गर्न पनि सक्नुपर्छ। सत्यताप्रति मानिसमा हुनुपर्ने सही मनोवृत्ति यही हो। त्यसोभए मानिसहरूले सत्यता अभ्यास कसरी गर्नुपर्छ? तैँले जस्तोसुकै प्रलोभन वा जाँच सामना गर्नुपरे पनि मनमनै परमेश्वरलाई साँचो रूपमा प्रार्थना गर्नुपर्छ र परमेश्वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। कुनै कुनै परीक्षाहरू प्रलोभन पनि हुन्छन्—परमेश्वरले तँलाई यस्ता कुरा किन सामना गर्न दिनुहुन्छ? परमेश्वरले आकस्मिक रूपमा वा संयोगवश तँमाथि त्यस्ता कुराहरू हुन दिनुभएको होइन। यो परमेश्वरले तेरो परीक्षा र तेरो निरीक्षण गर्नुभएको हो। यदि तैँले यो निरीक्षण स्विकार्दैनस्, र यस विषयमा ध्यान दिँदैनस् भने, के त्यतिबेला परमेश्वरप्रतिको तेरो मनोवृत्ति प्रकाश हुँदैन र? परमेश्वरप्रतिको तेरो मनोवृत्ति कस्तो छ? यदि तँ परमेश्वरले तँलाई दिनुहुने परिस्थितिप्रति र उहाँले गर्नुहुने जाँचहरूप्रति उदासीन वा तिरस्कारपूर्ण मनोवृत्ति राख्छस् भने, र तँ प्रार्थना पनि गर्दैनस्, खोजी पनि गर्दैनस्, र त्यसमार्फत अभ्यासको मार्ग पनि भेट्टाउँदैनस् भने, त्यसले तँसँग परमेश्वरप्रति समर्पित मनोवृत्ति छैन भन्ने देखाउँछ। परमेश्वरले त्यस्तो व्यक्तिलाई कसरी मुक्ति दिन सक्नुहुन्छ र? के त्यस्तो व्यक्ति परमेश्वरद्वारा सिद्ध पारिन सम्भव छ? बिल्कुलै छैन। यो तँसँग परमेश्वरप्रति समर्पित मनोवृत्ति नभएको कारणले गर्दा हो, र परमेश्वरले तेरो लागि कुनै परिस्थिति बन्दोबस्त गरिदिनुभयो भने पनि तैँले त्यसलाई अनुभव गर्नेछैनस् र तैँले त्यससँग सहकार्य गर्नेछैनस्। यसले परमेश्वरप्रतिको तेरो घृणा देखाउँछ, र परमेश्वरको कामलाई तैँले गम्भीरतासाथ नलिने र तँ परमेश्वरका वचन र सत्यता पन्छाउन पनि सक्षम रहेको तथ्य देखाउँछ, र यसको मतलब हो, तैँले परमेश्वरका कार्य अनुभव गरिरहेको छैनस्। यस्तो अवस्थामा, तैँले कसरी मुक्ति पाउन सक्छस्? सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्वरको कार्य अनुभव गर्न सक्दैनन्। परमेश्वरमा यसरी विश्वास गरेर मुक्ति पाउने कुनै उपाय छैन। यसको अर्थ परमेश्वर र सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति एकदमै महत्त्वपूर्ण छ र यो कुरा उसलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्ने कुरासँग प्रत्यक्ष जोडिएको छ। यो कुराप्रति ध्यान नदिने मानिसहरू मूर्ख र अज्ञानी हुन्।
अंश ६२
भनिन्छ, “आखिरीसम्म पछि लाग्नेले निश्चय नै मुक्ति पाउनेछ,” तर के यो अभ्यास गर्न सजिलो छ? सजिलो छैन, अनि ठूलो रातो अजिङ्गरको खेदो र सतावटमा पर्ने कैयौँ मानिसहरू अत्यन्तै डरपोक र भयभीत भएर परमेश्वरलाई पछ्याउनै सक्दैनन्। तिनीहरू किन यसरी पतित भए? किनभने तिनीहरूमा साँचो विश्वासको कमी छ। कतिपय मानिसहरू सत्यता स्वीकार गर्न, परमेश्वरलाई प्रार्थना गर्न, उहाँमा भरोसा गर्न सक्छन्, र परीक्षा र सङ्कष्टहरूमा दह्रिलो गरी खडा हुन सक्छन्, जबकि अरूले अन्त्यसम्मै पछ्याउन सक्दैनन्। परीक्षा र सङ्कष्टको कुनै विन्दुमा तिनीहरू लड्नेछन्, आफ्नो गवाही गुमाउनेछन्, र उठेर अघि बढ्न नसक्ने अवस्थामा पुग्नेछन्। तेरो सङ्कल्पलाई हल्लाउन सक्ने, तेरो हृदयलाई ओगट्न सक्ने, वा तँलाई तेरो कर्तव्य पूरा गर्न र तेरो अगाडिको प्रगतिलाई जकड्न सक्ने हरेक दिन पैदा हुने, साना-ठूला सबै कुरालाई लगनशीलताको साथ ध्यान दिनुपर्छ; तैँले तिनलाई होसियारीसाथ जाँच्नुपर्छ र सत्यता खोज्नुपर्छ। यी सबै समस्याहरू तैँले अनुभव गर्दै जाँदा समाधान गर्नुपर्ने कुराहरू हुन्। कतिपय मानिसहरू कठिनाइ आइपर्दा, नकारात्मक बन्छन्, गुनासो गर्छन्, र आफ्नो कर्तव्य त्याग्छन् र प्रत्येक बाधापछि तिनीहरू खडा हुन असमर्थ हुन्छन्। यी सबै मानिसहरू सत्यतालाई प्रेम नगर्ने मूर्खहरू हुन्, र जीवनभरि विश्वास गरे पनि उनीहरूले सत्यता प्राप्त गर्दैनन्। त्यस्ता मूर्खहरूले कसरी आखिरीसम्म पछ्याउन सक्छन्? यदि तेरो जीवनमा एउटै कुरा दस पटक देखा पर्छ, तर त्यसबाट तैँले केही पनि प्राप्त गर्दैनस् भने, तँ मामुली, बेकम्मा व्यक्ति होस्। आत्मिक बुझाइ भएका बाठो र साँचो क्षमता भएका मानिसहरू सत्यताको खोजी गर्नेहरू हुन्; उनीहरूलाई दस पटक केही भयो भने, सायद तीमध्ये आठ वटा अवस्थामा, तिनीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्न, केही पाठ सिक्न, केही सत्यता बुझ्न अनि केही उन्नति गर्न सक्नेछन्। आत्मिक बुझाइ नभएका कुनै मूर्ख व्यक्तिमाथि जब दस पटक केही परिआउँछ, त्यसले एकै पल्ट पनि उनीहरूको जीवनमा फाइदा गर्दैन, एकै पल्ट पनि त्यसले तिनीहरूलाई परिवर्तन गर्दैन, र त्यसले एकै पटक पनि उनीहरूलाई आफ्नो कुरूप अनुहार चिन्ने बनाउँदैन, जुन अवस्थामा उनीहरूका लागि सबै कुरा समाप्त हुन्छ। प्रत्येक चोटि जब उनीहरूलाई केही हुन्छ, तिनीहरू ढल्छन्, र प्रत्येक चोटि तिनीहरू ढल्दा तिनीहरूलाई साथ दिन र फकाउन तिनीहरूलाई अरू कसैको खाँचो हुन्छ; साथ दिने र फकाउने कार्यबिना तिनीहरू उठ्न सक्दैनन्, र प्रत्येक चोटि केही हुँदा, तिनीहरू ढल्ने र पतन हुने खतरामा हुन्छन्। के यो तिनीहरूका लागि अन्त्य नै होइन र? के यस्ता बेकम्मा मानिसहरुलाई मुक्ति दिने अरू कुनै आधारहरू छन्? परमेश्वरले मानवजातिलाई दिनुभएको मुक्ति सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, इच्छा र सङ्कल्पसहितको तिनीहरूको एउटा भागको मुक्ति हो, र हृदयमा सत्यता र न्यायको तिर्सना गर्ने तिनीहरूको एउटा भागको मुक्ति हो। व्यक्तिको सङ्कल्प भनेको हृदयमा न्याय, भलाइ र सत्यताको तिर्सना गर्ने र विवेक धारण गरेको तिनीहरूको एउटा भाग हो। परमेश्वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा न्याय र ज्योतिप्रतिको कुनै आकांक्षा छैन भने; यदि तैँले दुष्ट कुराहरू सामना गर्नुपर्दा, तँमा ती कुराहरू त्याग्ने इच्छा पनि हुँदैन, र कठिनाइ सहने दृढसङ्कल्प पनि हुँदैन भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ भने; यदि सत्यतालाई ग्रहण गर्ने तेरो प्राकृतिक क्षमता पनि अचेत छ, र तँ सत्यता र उत्पन्न हुने घटनाहरूप्रति ग्रहणशील छैनस् भने; र यदि तँ सबै कुरामा खुट्टयाउने गर्दैनस्, र कुनै परिस्थिति सामना गर्दा, तँ समस्या समाधान गर्नेहेतु सत्यता खोज्न सक्दैनस् र निरन्तर नकारात्मक बन्छस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग सिफारिस गर्ने केही पनि हुँदैन, परमेश्वरले काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको दिमाग धमिलिएको हुन्छ, र उनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरूले आफ्नो हृदयको गहिराइमा न्यायको तृष्णा नै गर्छन्, र परमेश्वरले जतिसुकै स्पष्ट वा पारदर्शी रूपमा सत्यता बोल्नुभए पनि, उनीहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, यस्तो लाग्छ मानौँ उनीहरूको हृदय पहिल्यै मरिसकेको छ। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? थोरै सास बाँकी रहेको व्यक्तिलाई कृत्रिम श्वास-प्रस्वासद्वारा बचाउन सकिन्छ, तर यदि उनीहरू मरिसकेका छन् र उनीहरूका प्राण निस्केर गइसकेका छन् भने कृत्रिम श्वास-प्रस्वासले केही काम गर्दैन। यदि समस्या र कठिनाइहरू सामना गर्दा व्यक्ति पछि हट्छ र तीबाट पन्छिन्छ भने, उसले सत्यताको खोजी पटक्कै गर्दैन, र उसले आफ्नो काममा नकारात्मक र सुस्त बन्न रुचाउँछ, त्यसपछि उसको वास्तविक रूप खुलासा हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै अनुभवात्मक गवाही हुँदै हुँदैन। तिनीहरू फाइदा लुट्ने, धर्तीको भार मात्र हुन्छन्, परमेश्वरको घरमा तिनीहरूको कुनै काम हुँदैन, र तिनीहरू पूर्णतया विनाशउन्मुख हुन्छन्। समस्याहरू समाधान गर्न सत्यता खोज्न सक्ने मानिसहरू मात्रै कद भएका मानिसहरू हुन्, र तिनीहरू मात्रै आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छन्। समस्या र कठिनाइहरू सामना गर्दा, तैँले तिनलाई नअत्तालिई सामना गर्नुपर्छ, र सही तरिकाले प्रतिक्रिया जनाउनुपर्छ, र तैँले एउटा निर्णय लिनुपर्छ। तैँले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्नुपर्छ। तैँले सामान्य रूपमा बुझेका सत्यताहरू गहन होऊन् वा सतही, तैँले तिनलाई प्रयोग गर्नुपर्छ। सत्यता तेरो जीवनमा कुनै कुरा आइपर्दा तेरो मुखबाट निस्कने शब्दहरू मात्रै होइनन्, न त ती अरूका समस्याहरू समाधान गर्नको लागि निश्चित रूपमा प्रयोग गरिने कुराहरू हुन्; खासमा सत्यता त तैँले आफ्ना समस्या र कठिनाइहरू समाधान गर्नको लागि प्रयोग गरिनुपर्ने कुराहरू हुन्। सबभन्दा महत्त्वपूर्ण कुरा भनेकै त्यही हो। अनि जब तैँले आफ्ना समस्याहरू समाधान गर्न सक्छस् तब मात्र तैँले अरूका समस्याहरू समाधान गर्न सक्छस्। पत्रुस एउटा फल हुन् भनी किन भनिन्छ? किनकि तिनमा केही मूल्यवान्, सिद्ध पारिन लायकका थोकहरू छन्। तिनले सबै कुरामा सत्यताको खोजी गरे, तिनीसँग सङ्कल्प थियो, र तिनी इच्छाशक्तिमा दृढ थिए; तिनीसँग समझ थियो, तिनी कठिनाइ भोग्न इच्छुक थिए; तिनले आफ्नो हृदयले सत्यतालाई प्रेम गर्थे; तिनले हुन आएका कुनै पनि कुरालाई त्यसै जान दिँदैनथिए, अनि तिनले यो सबै कुराबाट पाठहरू सिक्न सक्थे। यी सबै बलिया पक्षहरू हुन्। यदि तँसित यी कुनै पनि बलिया पक्षहरू छैनन् भने, त्यसको अर्थ समस्या हो। सत्यता प्राप्त गर्न र मुक्ति पाउन तँलाई सहज हुनेछैन। यदि तँलाई कसरी अनुभव गर्ने भन्ने थाहा छैन वा तँसँग अनुभव छैन भने, तैँले अरूका कठिनाइहरू समाधान गर्न सक्नेछैनस्। तँ परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न असमर्थ भएकोले, तँमाथि परिस्थितिहरू आइपर्दा के गर्ने भन्ने तँलाई थाहा हुँदैन, समस्याहरू सामना गर्दा तँ व्याकुल हुन्छस् र रुन्छस्, र केही सानातिना बाधाहरू सामना गर्दा नै तँ नकारात्मक बनेर भाग्ने गर्छस्, अनि तँ सही तरिकाले प्रतिक्रिया दिन असक्षम छस्। यसले गर्दा, तैँले जीवन प्रवेश प्राप्त गर्न असम्भव छ। जीवन प्रवेशविना तैँले अरूलाई कसरी भरणपोषण गर्न सक्छस्? मानिसहरूको जीवनको भरणपोषण गर्न, तैँले सत्यताबारे स्पष्ट सङ्गति गर्नुपर्छ र समस्याहरू समाधान गर्न अभ्यासका सिद्धान्तहरूबारे स्पष्ट सङ्गति गर्न सक्नुपर्छ। हृदय र आत्मा भएको व्यक्तिको हकमा, तैँले थोरै कुरा बताए पनि, तिनीहरूले बुझ्नेछन्। तर थोरै सत्यता बुझेर मात्र पुग्दैन। तिनीहरूसँग अभ्यासका मार्ग र सिद्धान्तहरू पनि हुनुपर्छ। यसले मात्रै तिनीहरूलाई सत्यता अभ्यास गर्न सहयोग गर्नेछ। मानिसहरूमा आत्मिक बुझाइ भए पनि, र तिनीहरूले एकदुई शब्दमै ती बुझे पनि, तिनीहरूले सत्यता अभ्यास गरेनन् भने तिनीहरूको जीवन प्रवेश हुँदैन। यदि तिनीहरूले सत्यता स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूको लागि सबै समाप्त हुन्छ, र तिनीहरू सत्यता वास्तविकताहरूमा कहिल्यै प्रवेश गर्न सक्नेछैनन्। तैँले कसैलाई सिकाउँदा उसको हात समाएर डोर्याउन सक्छस्, र त्यो बेला उसले बुझेको जस्तो देखिन्छ, तर तैँले उसलाई छोड्नेबित्तिकै, ऊ फेरि अन्योलमा पर्छ। यस्तो व्यक्ति आत्मिक बुझाइ भएको व्यक्ति होइन। तैँले जुनसुकै समस्याहरू सामना गरे पनि, यदि तँ नकारात्मक र कमजोर हुन्छस्, तँसँग कुनै गवाही छैन, र तैँले आफूले गर्नुपर्ने काममा र सहकार्य गर्नुपर्ने कुराहरूमा सहकार्य गर्दैनस् भने, यसले तेरो हृदयमा परमेश्वर हुनुहुन्न, र तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस् भन्ने प्रमाणित गर्छ। पवित्र आत्माको कामले मानिसहरूलाई कसरी प्रभावित गर्छ भन्ने कुरा नगरौँ, तर धेरै वर्ष परमेश्वरको काम अनुभव गरेर, धेरै सत्यताहरू सुनेर, थोरबहुत विवेक राखेर, अनि आत्मसंयम अपनाएर मात्रै पनि, मानिसहरूले कम्तीमा न्यूनतम मापदण्डहरू पूरा गर्न र आफ्नो विवेकको दोषी नहुन सक्नुपर्छ। मानिसहरू अहिले जस्तो भावशून्य र कमजोर हुनु हुँदैन, र तिनीहरू यस्तो अवस्थामा हुनु पूर्णतया अशोचनीय कुरा हो। सायद तिमीहरूले केही वर्षदेखि कुनै पनि सत्यता खोजी नगरी वा कुनै पनि प्रगति गर्दै नगरी बेहोसीमा बिताएका छौ। यदि यस्तो होइन भने, तिमीहरू कसरी अझै पनि यति भावशून्य र सुस्त हुन सक्यौ? जब तिमीहरू यस्तो हुन्छौ, यो पूर्ण रूपमा तिमीहरूको आफ्नै मूर्खता र अज्ञानताको कारणहुन्छ, र तिमीहरूले अरू कसैलाई दोष दिन मिल्दैन। सत्यताले मानिसहरूलाई पक्षपात गर्दैन। यदि तैँले सत्यता स्वीकार गर्दैनस्, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्दैनस् भने, तँ कसरी परिवर्तन हुन सक्छस्? कतिपय मानिसहरूलाई आफ्नो क्षमता अत्यन्तै कमजोर छ र आफूसँग बुझ्ने क्षमताको कमी छ भन्ने लाग्छ, त्यसकारण तिनीहरूले आफूलाई सीमित गर्छन्, र आफूले जति नै सत्यता पछ्याए पनि, परमेश्वरका मापदण्डहरू पूरा गर्न नसक्ने सोच्छन्। तिनीहरूलाई आफूले जति धेरै प्रयास गरे पनि त्यो व्यर्थ हुन्छ, र यसबाहेक केही पनि गर्न सकिँदैन भन्ने लाग्छ, त्यसैले तिनीहरू सधैँ नकारात्मक हुन्छन्, र परिणामस्वरूप, परमेश्वरमा धेरै वर्ष विश्वास गरेर पनि, तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्। सत्यता पछ्याउन कडा परिश्रम नै नगरी, तैँले तेरो क्षमता अत्यन्तै कमजोर छ भनेर भन्छस्, हरेस खान्छस्, र तँ सधैँ नकारात्मक स्थितिमा जिउँछस्। परिणामस्वरूप, तैँले बुझ्नुपर्ने सत्यता बुझ्दैनस् वा तेरो क्षमताले भ्याउने सत्यता अभ्यास गर्दैनस्—के तैँले आफूले आफैलाई बाधा दिइरहेको छैनस् र? यदि तैँले सधैँ आफ्नो क्षमता पर्याप्त रूपमा असल छैन भनी भन्छस् भने, के यो जिम्मेवारी इन्कार गर्नु र त्यसबाट पन्छिनु होइन र? यदि तैँले कष्ट भोग्न, मूल्य चुकाउन, र पवित्र आत्माको कार्य प्राप्त गर्न सक्छस् भने, अपरिहार्य रूपमै तँ केही सत्यता बुझ्न र केही वास्तविकतामा प्रवेश गर्न सक्षम छस्। यदि तैँले परमेश्वरतर्फ हेर्दैनस् वा उहाँमा भरोसा गर्दैनस्, अनि कुनै प्रयास नगरी वा मूल्य नचुकाई हरेस खान्छस्, र आत्मसमर्पण गर्छस् भने, तँ बेकारको व्यक्ति होस्, र तँमा थोरै पनि विवेक र समझसमेत छैन। तेरो क्षमता कमजोर भए पनि उत्तम भए पनि, यदि तँसँग थोरै विवेक र समझ छ भने, तैँले आफूले गर्नुपर्ने कुरा र आफ्नो मिसनलाई उचित रूपमा पूरा गर्नुपर्छ; भगुवा हुनु एकदम नराम्रो कुरा हो र यो परमेश्वरप्रतिको धोका हो। यो उद्धार गर्न नसकिने कुरा हो। सत्यताको खोजीको लागि दह्रिलो इच्छाको आवश्यकता पर्छ, र अत्यन्तै नकारात्मक वा कमजोर मानिसहरूले केही पनि उपलब्धि प्राप्त गर्नेछैनन्। तिनीहरूले परमेश्वरलाई अन्त्यसम्मै विश्वास गर्न सक्नेछैनन्, र, यदि तिनीहरूले सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न चाहन्छन् भने, तिनीहरूसँग अझै कमै आशा हुन्छ। सङ्कल्प भएका र सत्यताको खोजी गर्नेहरूले मात्रै यसलाई प्राप्त गर्न र परमेश्वरद्वारा सिद्ध तुल्याइन सक्छन्।
अंश ६३
धेरै मानिसहरू बारम्बार बिमार पर्छन्, र तिनीहरू परमेश्वरलाई जतिसुकै प्रार्थना गरे पनि, निको हुँदैनन्। तिनीहरू आफ्नो बिमारबाट जति नै मुक्त हुन चाहे पनि, मुक्त हुन सक्दैनन्। कहिलेकाहीँ त तिनीहरूले जीवन नै खतरामा पर्ने अवस्थासँग जुधेर प्रत्यक्ष रूपमा त्यसको सामना गर्नुपर्ने हुन सक्छ। वास्तवमा, यदि व्यक्तिको हृदयमा परमेश्वरप्रतिको विश्वास साँच्चै छ भने, उसले सर्वप्रथम मान्छेको जीवनकाल परमेश्वरकै हातमा हुन्छ भनेर जान्नैपर्छ। व्यक्तिको जन्म र मृत्युको समय परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ। जब परमेश्वरले मानिसहरूलाई रोगबिमार दिनुहुन्छ, त्यसको पछाडि कारण हुन्छ—त्यसको महत्त्व हुन्छ। तिनीहरूले महसुस गर्न सक्ने भनेको रोगबिमार हो, तर वास्तवमा तिनीहरूलाई दिइएको कुरा त अनुग्रह हो, रोगबिमार होइन। मानिसहरू सबैले सर्वप्रथम यो तथ्यलाई पहिचान गर्नुपर्छ र यसप्रति निश्चित हुनुपर्छ, र यसलाई गम्भीरतासाथ लिनुपर्छ। जब मानिसहरू रोगको कारण कष्ट भोगिरहेका हुन्छन्, तिनीहरू प्राय परमेश्वरअघि आउन सक्छन्, र आफूले गर्नुपर्ने काम सावधानी र सतर्कतासाथ गर्ने सुनिश्चित गर्न सक्छन्, र आफ्नो कर्तव्यलाई अरूले भन्दा अझै बढी होसियारी र लगनसाथ लिन सक्छन्। जहाँसम्म मानिसहरूको कुरा छ, यो सुरक्षा हो, बन्धन होइन। यो निष्क्रिय तरिका हो। यसअलावा, हरेकको आयु परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। चिकित्सा हिसाबमा कुनै रोग निको नहुने हुनन सक्छ, तर परमेश्वरको नजरमा, यदि तेरो जीवन अझै चल्नैपर्छ र तेरो समय आएको छैन भने, तैँले चाहेर पनि तँ मर्न सक्दैनस्। यदि परमेश्वरले तँलाई कुनै आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, घातक मानिने रोगले पनि तेरो मृत्यु हुनेछैन—परमेश्वरले तँलाई लैजानुहुनेछैन। यदि तैँले प्रार्थना गर्दैनस् र सत्यता खोजी गर्दैनस्, वा आफ्नो रोगको उपचार गर्दैनस्, वा तैँले आफ्नो उपचार रोकिस् नै भने पनि, तँ मर्नेछैनस्। विशेषगरी परमेश्वरबाट आज्ञा पाएका मानिसहरूको हकमा यो झनै लागू हुन्छ: तिनीहरूको मिसन पूरा हुन बाँकी नै हुँदा, तिनीहरूलाई जुनै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्दैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्म जिउनैपर्छ। के तँमा यो विश्वास छ? यदि छैन भने, तैँले यसो भन्दै परमेश्वरलाई केही सतही प्रार्थनाहरू मात्र चढाउनेछस्, “हे परमेश्वर! मैले तपाईँले मलाई दिनुभएको आज्ञा पूरा गर्नुपर्छ। म मेरा आखिरी दिनहरू तपाईंप्रतिको पूर्ण बफादारीमा बिताउन चाहन्छु, ताकि मसँग कुनै पनि पछुतो बाँकी नरहोस्। तपाईंले मेरो सुरक्षा गर्नैपर्छ!” तैँले यसरी प्रार्थना गरे पनि, यदि सत्यता खोज्न पहलकदमी लिँदैनस् भने, तँसँग बफादार हुने इच्छा र बल हुनेछैन। तँ वास्तविक मूल्य चुकाउन इच्छुक नभएर, परमेश्वरलाई प्रार्थना गर्न र उहाँसँग मोलतोल गर्न, प्रायः यस्तो बहाना र विधि प्रयोग गर्छस्—के यो सत्यता पछ्याउने व्यक्ति हो त? यदि तेरो बिमार निको हुने भए, के तैँले आफ्नो कर्तव्य साँच्चै राम्ररी निभाउन सक्नेथिइस्? जरूरी छैन। तथ्य के हो भने, तैँले आफ्नो रोग निको होस् र तँ मर्नु नपरोस् भनेर मोलतोल गरे पनि, वा यसको पछाडि तेरो अरू कुनै अभिप्राय वा उद्देश्य भए पनि, परमेश्वरको दृष्टिकोणमा, यदि तैँले आफ्नो कर्तव्य निभाउन सक्छस् र तँ अझै पनि प्रयोग गरिन लायक छस् भने, यदि परमेश्वरले तँलाई प्रयोग गरिनुपर्छ भनेर निर्णय गर्नुभएको छ भने, तँ मर्नेछैनस्। तैँले चाहेर पनि तँ मर्न सक्नेछैनस्। तर तैँले समस्या ल्याइस्, र अनेक किसिमका दुष्कर्महरू गरिस्, र परमेश्वरको स्वभाव चिढ्याइस् भने, तँ चाँडै मर्नेछस्; तेरो आयु घटाइनेछ। परमेश्वरले हरेक व्यक्तिको आयु संसारको सृष्टि हुनुभन्दा पहिले नै निर्धारित गर्नुभएको थियो। यदि तिनीहरूले परमेश्वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन सक्छन् भने, तिनीहरूलाई रोग लागे पनि नलागे पनि, र तिनीहरूको स्वास्थ्य राम्रो भए पनि नभए पनि, तिनीहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको समयभरि बाँच्नेछन्। के तँमा यो विश्वास छ? यदि तँ यसलाई धर्मसिद्धान्तका हिसाबमा मात्र स्विकार्छस् भने, तँसित साँचो विश्वास छैन, र मिठामिठा कुरा गर्नु बेकार हो; यदि तँ भित्री हृदयदेखि नै परमेश्वरले यस्तो गर्नुहुनेछ भनी पक्का छस् भने, तेरो तौरतरिका र अभ्यासको तरिका स्वतः परिवर्तन हुनेछ। अवश्य नै, चाहे मानिसहरू बिरामी होऊन् वा नहोऊन्, तिनीहरूसँग आफू जिउञ्जेल स्वास्थ्य तन्दुरुस्ती कायम गर्नेबारे केही साधारण समझ त हुनैपर्छ। यो परमेश्वरले मान्छेलाई दिनुभएको नैसर्गिक क्षमता हो। यो परमेश्वरले मान्छेलाई दिनुभएको स्वतन्त्र इच्छाको दायराभित्र व्यक्तिसँग हुनेपर्ने विवेक र सामान्य सुझबुझ हो। जब तँ बिरामी पर्छस्, तब तँमा स्वास्थ्य हेरचाह र त्यस रोगसित जुझ्ने उपचारबारे केही साधारण समझ हुनुपर्छ—तैँले गर्नुपर्ने यही हो। तैपनि, यसरी तेरो रोगको उपचार गर्नु परमेश्वरले तेरो लागि तोकिदिनुभएको आयुलाई चुनौती दिनको लागि होइन, न त उहाँले तेरो लागि तय गरिदिनुभएको आयुभर तैँले जिउने ग्यारेन्टी गर्नको लागि नै हो। यसको अर्थ के हो त? यसलाई यसरी भन्न सकिन्छ: निष्क्रिय हिसाबमा भन्दा, यदि तैँले आफ्नो रोगलाई गम्भीरतासाथ लिँदैनस् भने, यदि तैँले आफ्नो कर्तव्य जसरी गर्नुपर्ने हो, त्यसरी नै गर्छस्, र अरूले भन्दा अलि बढी आराम गर्छस् भने, यदि तैँले आफ्नो कर्तव्यमा ढिलाइ गरेको छैनस् भने, तेरो रोग बिग्रनेछैन र यसले तँ मर्नेछैनस्। सबैकुरा परमेश्वरले जे गर्नुहुन्छ त्यसमा भर पर्छ। अर्को शब्दमा भन्दा, यदि परमेश्वरको दृष्टिकोणमा तेरो पूर्वनिर्धारित आयु अझै पूरा भएको छैन भने, तँ बिरामी नै परिस् भने पनि, परमेश्वरले तँलाई मर्न दिनुहुनेछैन। यदि तेरो रोग प्राणघातक होइन, तर तेरो समय आइसकेको छ भने, परमेश्वरले जुनसुकै बेला तँलाई लैजानुहुनेछ। के यो पूर्ण रूपमा परमेश्वरकै विचारको कृपामा हुँदैन र? यो उहाँको पूर्वनिर्धारणको कृपामा हुन्छ! तैँले यस कुरालाई यसरी नै हेर्नुपर्छ। तैँले आफूले गर्नुपर्ने पाटो गर्नुपर्छ, र तँ डाक्टरकहाँ जान, केही औषधि खान, आफ्नो स्वास्थ्यको ख्याल गर्न, र कसरत गर्न सक्छस्, तर तैँले आफ्नो हृदयभित्र के कुरालाई बुझ्नुपर्छ भने, व्यक्तिको जीवन परमेश्वरकै हातमा छ, व्यक्तिको आयु परमेश्वरले नै निर्धारित गर्नुभएको हुन्छ र परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरालाई कसैले पनि नाघ्न सक्दैन। यदि तँमा यति थोरै हदको बुझाइ पनि छैन भने, तँसँग साँचो रूपमा विश्वास छँदै छैन, र तैँले वास्तवमा परमेश्वरमा विश्वास गर्दै गर्दैनस्।
कतिपय मानिसहरू आफ्नो रोग निको पार्न विभिन्न उपाय अपनाउँदै हरसम्भव प्रयास गर्छन्, तर जुनसुकै उपचार अपनाए पनि, तिनीहरू निको हुन सक्दैनन्। तिनीहरू जति धेरै उपचार गर्छन्, त्यति नै तिनीहरूको रोग अझ गम्भीर बन्दै जान्छ। तिनीहरू आफ्नो रोग कस्तो हो, अनि रोगको मुख्य कारण के हो भनेर पत्ता लगाउन परमेश्वरलाई प्रार्थना गर्नुको सट्टा सबै कुरा आफ्नै हातमा लिन्छन्। तिनीहरूले धेरै उपचार पद्धति अपनाउँछन्, र धेरै पैसा खर्च गर्छन्, तैपनि तिनीहरूको रोग भने निको हुँदै हुँदैन। त्यसपछि, तिनीहरूले उपचार गर्न छोडेपछि, केही समयपछि रोग अचानक आफै ठिक हुन्छ, अनि त्यो कसरी भयो, तिनीहरूलाई थाहै हुँदैन। कतिपय मानिसहरूलाई चाहिँ सामान्य रोग लाग्छ र तिनीहरू त्यसबारे त्यति चिन्ता गर्दैनन्, तर एकदिन अचानक तिनीहरूको अवस्था बिग्रिन्छ र तिनीहरूको मृत्यु हुन्छ। त्यो के भएको हो? मानिसहरू त्यो बुझ्नै सक्दैनन्; वास्तवमा परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यस संसारमा त्यस व्यक्तिको मिसन सकिएकोले, उहाँले उसलाई लैजानुभएको हो। मानिसहरू प्रायः भन्ने गर्छन्, “बिरामी नभई मान्छे मर्दैन।” के साँच्चै यस्तै हुन्छ र? केही यस्ता मानिसहरू पनि थिए, जसको अस्पतालमा परीक्षण गर्दा कुनै रोग भेट्टिएको थिएन। तिनीहरू निकै तन्दुरुस्त थिए, तर केही दिनभित्रै तिनीहरूको निधन भयो। यसैलाई कुनै रोग नलागी मर्नु भनिन्छ। यस्ता मानिसहरू थुप्रै छन्। यसको अर्थ व्यक्ति आफ्नो जीवनको अन्त्यमा पुगेको हो, र अब उसलाई आत्मिक क्षेत्रमा फिर्ता लगिएको छ। कतिपय मानिस क्यान्सर र क्षयरोगबाट निको भएर पनि सत्तरी वा असी वर्षभन्दा धेरै बाँचेका छन्। यस्ता मानिसहरू धेरै छन्। यी सबै परमेश्वरकै पूर्वनिर्धारणमा हुन्छन्। यो कुरा बुझ्नु नै परमेश्वरमा साँचो विश्वास गर्नु हो। यदि तँ शारीरिक रूपमा अस्वस्थ छस् र आफ्नो अवस्था सुधार्न तैँले केही औषधि खानुपर्ने हुन्छ भने, तैँले औषधि खानुपर्छ वा नियमित व्यायाम गर्नुपर्छ, आरामले र शान्त भएर यो मामिला सुल्झाउनुपर्छ। यो कस्तो मनोवृत्ति हो? यो परमेश्वरमा साँचो विश्वास गर्ने मनोवृत्ति हो। मानिलिऊँ, तँ औषधि खाँदैनस्, खोप लगाउँदैनस्, व्यायाम गर्दैनस्, आफ्नो स्वास्थ्यको ख्याल गर्दैनस्, तैपनि अत्यन्तै चिन्तित हुन्छस् र सदैव यसरी प्रार्थना गर्छस् भने, “हे परमेश्वर, मैले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नुपर्छ, मेरो मिसन पूरा भएको छैन, म मर्न चाहन्नँ। म आफ्नो कर्तव्य निभाउन, अनि तपाईंको आज्ञा पूरा गर्न चाहन्छु। यदि म मरिहालेँ भने, तपाईंको आज्ञा पूरा गर्न सक्नेछैनँ। म पछि गएर पछुतो गर्न चाहन्नँ। हे परमेश्वर, बिन्ती छ, मेरो प्रार्थना सुनिदिनुहोस्; मलाई जिउन दिनुहोस् ताकि म आफ्नो कर्तव्य निभाउन र तपाईंको आज्ञा पूरा गर्न सकूँ। म सदैव तपाईंको प्रशंसा गर्न र तपाईंको महिमाको दिन जतिसक्दो चाँडो हेर्न चाहन्छु।” यसो हेर्दा त, तँ औषधि खाँदैनस् वा कुनै खोप लगाउँदैनस्, अनि तँ निकै बलियो छस् र परमेश्वरमा पूरापूर विश्वास गर्छस् भन्ने देखिन्छ। तर वास्तवमा, तेरो विश्वास तोरीको दानाभन्दा पनि सानो छ। तँ अत्यन्तै डराउँछस्, र तँ परमेश्वरमा विश्वास गर्दै गर्दैनस्। अनि यसरी तँ किन विश्वास गर्दैनस् त? यो कसरी भयो? मानिसहरूले सृष्टिकर्ताको मनोवृत्ति, सिद्धान्त र उहाँले सृष्टि गर्नुभएका प्राणीलाई निराकरण गर्ने उहाँको तौरतरिका बुझ्दै बुझ्दैनन्, त्यसैले तिनीहरू परमेश्वरको आगामी कार्य अनुमान गर्न आफ्नै सीमित दृष्टिकोण, धारणा र कल्पनाहरू प्रयोग गर्छन्। तिनीहरू परमेश्वरले तिनीहरूलाई निको पारेर लामो समय जिउन दिनुहुन्छ कि हुन्न भनेर हेर्न परमेश्वरसँग बाजी खेल्न चाहन्छन्। के यो मूर्खता होइन र? यदि परमेश्वर तँलाई जिउने अनुमति दिनुहुन्छ भने, तँ जतिसुकै बिरामी परे पनि मर्नेछैनस्। यदि परमेश्वर तँलाई जिउने अनुमति दिनुहुन्न भने, र तँ मर्नैपर्ने हो भने, बिरामी नभए पनि तँ मर्नेछस्। तेरो जीवनको आयु परमेश्वरले नै पूर्वनिर्धारण गर्नुहुन्छ। यो कुरा जान्नु नै साँचो ज्ञान र साँचो विश्वास हो। त्यसोभए, के परमेश्वरले मानिसहरूलाई जथाभाबी बिरामी पर्न दिनुहुन्छ त? यो जथाभाबी हुँदैन; यो त तिनीहरूको विश्वासलाई शोधन गर्ने तरिका हो। यो मानिसहरूले भोग्नैपर्ने कष्ट हो। यदि उहाँले तँलाई बिरामी पार्नुहुन्छ भने, यसबाट उम्कने प्रयास नगर्; यदि उहाँले तँलाई बिरामी पार्नुहुन्न भने, यसको लागि अनुरोध नगर्। सबै कुरा सृष्टिकर्ताकै हातमा छ, र मानिसहरूले प्रकृतिलाई आफ्नो गति लिन दिन सिक्नुपर्छ। प्रकृति भनेको के हो? प्रकृतिमा कुनै पनि कुरा जथाभाबी हुँदैन; यो सबै परमेश्वरबाट नै आउँछ। यो सत्य हो। एउटै रोग लागेका मानिसहरूमध्ये पनि, कति मर्छन् र कति जिउँछन्; यो सबै कुरा परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। यदि तँ जिउन सकिस् भने, यसले परमेश्वरले तँलाई दिनुभएको मिसन तैँले अझै पूरा गरेको छैनस् भन्ने प्रमाणित गर्छ। तैँले यसलाई पूरा गर्न कठिन परिश्रम गर्नुपर्छ, र यो समयलाई बहुमूल्य ठान्नुपर्छ; यसलाई खेर नफाल्। कुरा यही हो। यदि तँ बिरामी छस् भने, यसबाट उम्कने प्रयास नगर्, र यदि तँ बिरामी छैनस् भने, बिरामी हुनको लागि अनुरोध नगर्। कुनै मामिलामा पनि, तैँले अनुरोध गरेकै भरमा आफूले चाहेको कुरा पाउन सक्दैनस्, न त तैँले चाहेकै भरमा कुनै कुराबाट तँ उम्कन नै सक्छस्। परमेश्वरले गर्छु भनी निर्णय गर्नुभएको कुरालाई कसैले पनि बदल्न सक्दैन।
क्रूसमा टाँगिनुभन्दा पहिले, प्रभु येशूले प्रार्थना गर्नुभयो। यसका शब्दहरू के-के थिए? (“यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो चाहना होइन, तर तपाईंको चाहना पूरा होस्” (मत्ती २६:३९)।) सृष्टि गरिएको मानवजातिको रूपमा, मानिसहरू सबैले खोजीको त्यस्तो प्रक्रिया भएर जानैपर्छ, किनभने तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझेका हुँदैनन्। यो सामान्य प्रक्रिया हो। तैपनि, तैँले जसरी खोजी गरे पनि, र खोजीको प्रक्रिया जति लामो, कठिन, वा जटिल भए पनि, परमेश्वरले गर्छु भनी निर्धारित गर्नुभएको कुरा सुरुवातदेखि नै कहिल्यै परिवर्तन भएको छैन, न त उहाँले कहिल्यै यसलाई परिवर्तन गर्ने निर्णय नै गर्नुभएको छ। मानिसहरूले खोजी र प्रतीक्षा गर्न सक्छन्, र परमेश्वरले तिनीहरूलाई साँचो कुरा के हो भन्नेबारेमा बुझाइ, ज्ञान, र स्पष्टता हासिल गर्ने प्रक्रिया प्रदान गर्नुहुन्छ, तर उहाँले कहिल्यै पनि कुनै निर्णय परिवर्तन गर्नुहुन्न। त्यसकारण, तँमाथि परिस्थितिहरू जथाभाबी रूपमा आइपर्छ, वा जब तँ जसोतसो विपत्ति र निश्चित मृत्युबाट उम्कन सक्छस्, त्यो भाग्य र संयोगले गर्दा हो भन्ने नठान्। यो त्यस्तो होइन। परमेश्वरले ठूलादेखि सानासम्म, वृहत् ग्रह र ब्रह्माण्डदेखि सृष्टि गरिएका मानवजाति, र सूक्ष्मजीव समेतसम्मका सृष्टि गरिएका हरेक प्राणीको निम्ति योजना र निश्चित बन्दोबस्तहरू मिलाउनुभएको हुन्छ। यो परमेश्वरको सर्वशक्तिमान्ता हो। बिरामी परेका कतिपय मानिसहरूले तिनीहरूको रोग कुनै काम धेरै गरेर थाकेको कारण वा संयोगवश कुनै गलत कुरा खाएको कारण आएको हो भन्छन्। त्यस्ता कारणहरू खोजी नगर्; ती सबै नकारात्मक र प्रतिरोधी मनोवृतिहरू हुन्। परमेश्वरले तेरो लागि मिलाउनुभएका वातावरण, मानिसहरू, घटना, र परिस्थितिहरूलाई तैँले सकरात्मक रूपमा सामना गर्नुपर्छ। वस्तुगत कारणहरू खोजी नगर्; बरु, तँलाई यो परिस्थितिमा पार्नुको पछाडि परमेश्वरको अभिप्राय र मनोवृति ठ्याक्कै के हो, र यसलाई सामना गर्दा सृष्टि गरिएको प्राणीको रूपमा तँमा कस्तो मनोवृति हुनुपर्छ भन्ने कुरालाई तैँले खोज्ने र बुझ्ने गर्नुपर्छ; तैँले खोजी गर्नैपर्ने मार्ग यही हो। जब व्यक्ति बाँच्छ, यो जथाभाबी आफै भएको हुँदैन, न त यो अपरिहार्य कुरा नै हो; त्यसमा सधैँ सृष्टिकर्ताका बन्दोबस्त, चाहना, र सार्वभौमिकता रहेको हुन्छ। कुनै पनि कुरा खोक्रो हुँदैन। के तँलाई परमेश्वरका वचनहरू, उहाँका अभिप्रायहरू, र सत्यता खोक्रा हुन्छन् भन्ने लाग्छ? ती खोक्रा हुँदैनन्! जब मानिसहरूले परमेश्वरका अभिप्रायहरू बुझेका हुँदैनन्, तिनीहरू निश्चित धारणा र कल्पनाहरूको उन्मुख हुन्छन्, र तिनीहरूलाई ती धारणा र कल्पनाहरू सही छन्, र ती परमेश्वरकै चाहनाहरूअनुरूप नै हुनुपर्छ भन्ने लाग्छ। मानिसहरू परमेश्वरका चाहनाहरू के हुन् भनेर जान्दैनन्, त्यसैले तिनीहरूलाई लाग्छ, “मैले यसरी सोच्नु नै सही हो। ममा साँचो विश्वास छ। म परमेश्वरको डर मान्छु र उहाँमा समर्पित हुन्छु, म परमेश्वरलाई प्रेम गर्ने मान्छे हुँ।” वास्तवमा, परमेश्वर तेरो धारणा र कल्पनालाई अत्यन्तै घृणा गर्नुहुन्छ। तैँले आफू कति सही छु भनेर सोचिरहँदा, वास्तवमा सत्यता बुझ्दै बुझ्दैनस्, न त सत्यता प्राप्त नै गरेको हुन्छस्। एकदिन जब तैँले यी सबै कुरा छर्लङ्ग देख्छस् र अन्ततः परमेश्वरले नै यी कुराहरूलाई शासन, प्रबन्ध र निर्धारण गर्नुहुन्छ भनेर बुझ्छस्, तब तैँले जीवनमा सामना गरेका सबै मानिस, घटना र मामलाहरूबाट पाठ सिकेको र आफूले पाउनुपर्ने नतिजाहरू पाएको हुनेछस्। तब मात्रै तैँले साँच्चै परमेश्वरका अभिप्रायहरू बुझ्नेछस् र परमेश्वरले मानिसहरूलाई मुक्ति दिनकै लागि सबथोक गर्नुहुन्छ अनि यसमा परमेश्वरका सद्भाव र सच्चा प्रयासहरू समावेश छन् भनेर महसुस गर्नेछस्। तैँले यो बुझेपछि परमेश्वरलाई धन्यवाद दिनुपर्छ र उहाँको प्रशंसा गर्नुपर्छ, तर यस्तो कहिल्यै नसोच्: “परमेश्वरले यो कर्तव्य निर्वाह गर्न मलाई तोक्नुभएको छ, त्यसैले म परमेश्वरको हृदयमा निकै महत्त्वपूर्ण हुनुपर्छ। परमेश्वरले मलाई त्याग्न सक्नुहुन्न र मलाई मर्न दिनुहुनेछैन।” यो गलत हो। परमेश्वर हरेक काम उहाँको आफ्नै विधिअनुसार गर्नुहुन्छ। त्यसो भन्नुको मतलब के हो? परमेश्वरले नै व्यक्ति कहिले जन्मिनेछ, कहिले मर्नेछ अनि यस जीवनमा उसको कतिवटा मिसनहरू हुनेछन् भनेर तोक्नुहुन्छ। परमेश्वरले नै तेरो आयु तोक्नुभएको छ। तैँले यस जीवनमा खराब प्रदर्शन गरेकोले उहाँले तेरो आयु चाँडै अन्त्य गर्नुहुनेछैन, न त यस जीवनमा असल प्रदर्शन गरेकोले नै तेरो आयु लम्ब्याउनुहुनेछ। विधि हुनु भनेको यही हो। संसारमा हरप्रकारका दुष्ट काम गर्ने, संसारलाई ठूलो हानि पुऱ्याएका, निश्चित समयावधिमा अरूलाई जोखिममा पार्ने कैयौँ हानिकारक काम गरेका, खराब मानिसहरूबारे केही मानिसहरू यसो भन्छन्: “परमेश्वर अन्धो हुनुहुन्छ। उहाँ यस्ता मानिसहरूलाई किन नष्ट गर्नुहुन्न?” यसको कारण के हो, तँलाई थाहा छ? यसपछाडिको मूल कारण के हो? यसको मूल कारण यो हो: सकारात्मक मानिसहरूले सकारात्मक भूमिका खेल्छन्, र नकारात्मक मानिसहरूले नकारात्मक भूमिका खेल्छन्। हरेक व्यक्तिको एउटा मिसन हुन्छ, हरेक व्यक्तिको एउटा भूमिका हुन्छ, हरेक व्यक्तिको जीवन र मृत्यु धेरै अघि नै पूर्वनिर्धारित भएको हुन्छ; परमेश्वरले यसलाई कहिल्यै बिथोल्नुहुनेछैन। तेरो जन्म हुँदा, तँ यस संसारमा सही समयमै आइस्, तोकिएको समयभन्दा एक मिनेट वा एक सेकेण्ड पनि यताउता भएन; जब तँ मर्छस् र तेरो आत्मा बिदा हुन्छ, त्यो पनि तोकिएको समयभन्दा एक मिनेट वा एक सेकेण्ड पनि यताउता हुनेछैन। कुनै व्यक्तिले मानवजातिलाई ठूलो योगदान पुऱ्यायो भन्दैमा परमेश्वरले उसको निम्ति आफूले सुरुमै निर्धारण गर्नुभएको आयुलाई फेरबदल गर्नुहुन्न, तिनीहरूलाई थप बीस वा तीस वर्ष जिउन दिनुहुन्न। परमेश्वरले यस्तो कहिल्यै गर्नुभएको छैन र भविष्यमा पनि कहिल्यै गर्नुहुनेछैन। उहाँले कुनै व्यक्ति मानवजातिको लागि अत्यन्तै हानिकारक ठहरिएको कारण समयअगावै उसको मृत्यु पनि गराउनुहुन्न। परमेश्वरले कहिल्यै त्यसो गर्नुहुनेछैन। यो स्वर्गको नियम र व्यवस्था हो, र यसलाई परमेश्वरले कहिल्यै उल्लङ्घन गर्नुहुनेछैन। तिमीहरूले यो कुराबाट के बुझ्यौ? (परमेश्वरले पूर्वनिर्धारण गर्नुभएका कुरालाई कसैले फेरबदल गर्न सक्दैन।) परमेश्वरले आफैले पूर्वनिर्धारण वा योजना गर्नुभएको कुरालाई बिथोल्ने वा फेरबदल गर्ने गर्नुहुन्न। यो तथ्य हो; त्यसबाहेक, यस कुरामा हामी परमेश्वरको शक्ति र बुद्धि देख्न सक्छौँ। परमेश्वरले सृष्टि गरिएका सबै प्राणीहरूको उत्पत्ति, आगमन, आयु, परिणाम, साथै तिनीहरूको जीवनको मिसन र तिनीहरूले सम्पूर्ण मानवजातिमा खेल्ने भूमिकाको पूर्ण योजना पहिले नै बनाइसक्नुभएको छ। यी कुराहरू कसैले परिवर्तन गर्न सक्दैन; यो सृष्टिकर्ताको अख्तियार हो। सृष्टि गरिएको प्रत्येक प्राणीको आगमन, तिनीहरूको जीवनको मिसन, तिनीहरूको आयु कहिले सक्किन्छ—यी सबै नियमहरू परमेश्वरद्वारा धेरै अघि निर्धारित गरिएका छन्, ठ्याक्कै त्यसरी नै जसरी परमेश्वरले प्रत्येक खगोलीय पिण्डको परिक्रमा कक्ष निर्धारित गर्नुभएको छ; यी खगोलीय पिण्डहरूले कुन कक्ष पछ्याउँछन्, कति वर्षसम्म पछ्याउँछन्, कसरी परिक्रमा गर्छन्, र कुन नियमहरू पालन गर्छन्—यो सबै परमेश्वरले धेरै पहिले नै निर्धारित गर्नुभएको थियो, जुन हजारौं, दस हजारौँ, र लाखौँ वर्षदेखि अपरिवर्तित छ। यो परमेश्वरद्वारा निर्धारित कुरा हो, र यो उहाँको अख्तियार हो। त्यसोभए मान्छे, त्यो सृष्टि गरिएको तुच्छ प्राणीचाहिँ के हो त? एकछिन मान्छेको कुरा छोडौँ र पहिला कुकुरको कुरा गरौँ। परमेश्वरले तिनीहरूलाई लगभग दश वर्षको आयु तोक्नुभएको छ, अनि तिनीहरू त्यो उमेरमा पुगेपछि मर्नैपर्छ। के यो समयावधिलाई बदल्न सकिन्छ? (सकिँदैन।) हामी विशेष परिस्थितिहरूको कुरा गर्नेछैनौँ। एउटा सानो प्राणीको आयु त मान्छेले फेरबदल गर्न सक्दैन, परमेश्वरद्वारा नै पूर्वनिर्धारित हुन्छ भने—मान्छेको सन्दर्भमा पनि कुरा त्यही होइन र? त्यसैले मानिसहरूले जेसुकै मागे पनि, थप आयु माग्नै हुन्न। व्यक्तिको जीवनका आशिष् र दुर्भाग्य, अनि उसको मृत्यु कहिले हुन्छ—यी कुराहरू परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छन्। कसैले पनि यी कुरा बदल्न सक्दैन, र जति रोइ-कराइ गरे पनि त्यो व्यर्थ हुनेछ। तैँले परमेश्वरलाई आफूले अनुभव गर्ने, चिन्ने र कुनै वातावरणबाट प्राप्त गर्न सक्ने कुराहरूजस्ता केही मामलाहरूबारे अन्तर्दृष्टि दिनुहोस् भनी बिन्ती गर्न सक्छस्। अर्थात्, तैँले सत्यता खोज्न सक्छस् र जीवन प्रवेश अनि आफ्नो जीवन स्वभाव परिवर्तनको निम्ति परमेश्वरलाई प्रार्थना गर्न सक्छस्। यदि तेरो इमानदारीले परमेश्वरलाई छुन सक्यो भने, तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्नेछस्। परमेश्वर यसो गर्न इच्छुक हुनुहुन्छ। तर तँ मनासिब हुनुपर्छ। तैँले परमेश्वरलाई दीर्घायु वा अमरता माग्न मिल्दैन, किनभने तेरो आयु परमेश्वरले नै पूर्वनिर्धारण गर्नुहुन्छ। मानिसहरूले यसलाई फेरबदल गर्न सक्दैनन्, र जत्ति नै रोइ-कराइ गरे पनि केही फरक पर्नेछैन। त्यसको पूर्वनिर्धारण उहाँबाटै हुन्जेलसम्म, परमेश्वरले त्यो परिवर्तन गर्नुहुनेछैन। यदि तँ परमेश्वर नै सृष्टिकर्ता, तेरो सार्वभौम, तेरो परमेश्वर र तेरो प्रभु हुनुहुन्छ भनेर स्विकार्छस् भने, तैँले यस्ता कुराहरू कहिल्यै पनि माग्नुहुन्न। परमेश्वरले मानिसहरूलाई के माग भन्नुहुन्छ? प्रभुको प्रार्थनाले के भन्छ? “तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि तपाईंको इच्छा पूरा होस्” (मत्ती ६:१०)। तैँले अरू के माग्नुपर्छ? के तँलाई थाह छ? तैँले परमेश्वरको व्यावस्थापन कामअन्तर्गत, सृष्टि गरिएको प्राणिको रूपमा आफ्नो कर्तव्य निभाउनुपर्छ। तैँले परमेश्वरले तँलाई दिनुभएको आज्ञाहरू पूरा गर्नुपर्छ, तेरो मिसन राम्ररी पूरा गर्नुपर्छ, मिसनमा असफल हुनबाट जोगिनुपर्छ, परमेश्वरप्रदत्त जीवन र अस्तित्वको योग्य हुनुपर्छ, अनि यो जीवन खेर फाल्नुहुँदैन, न त व्यर्थ जान नै दिनुहुन्छ। यो जीवनमा तैँले सृष्टिकर्तालाई चिन्नुपर्छ, सृष्टि गरिएको प्राणीलाई सुहाउँदो स्वरूप जिउनुपर्छ, र सृष्टिकर्ताका इच्छाहरू सन्तुष्ट पार्नुपर्छ—तैँले माग्नुपर्ने कुराहरू यिनै हुन्। के माग्ने अनि के नमाग्ने, माग्नुपर्ने कुन कुराहरू परमेश्वरका अभिप्रायअनुरूप छन् अनि कुन कुरा छैनन्, र तैँले माग्न चाहेका कुराहरू दिन सकिन्छ सकिँदैन—तेरो हृदयमा सर्वप्रथम यी कुराहरू स्पष्ट हुनुपर्छ। मूर्ख ढङ्गले कार्य नगर्। यदि तैँले मागेको कुरा परमेश्वरले पहिल्यै पूर्वनिर्धारण गरिसक्नुभएको छ, भने तेरो प्रार्थना व्यर्थ हुन्छ। तब के तैँले त्यसको लागि प्रार्थना गर्नु मूर्खता हुँदैन र? के यो कुरा परमेश्वरसित बाझिएन र? परमेश्वरले तँ असी वर्ष जिएको चाहनुहुन्छ, तर तँ भने सय वर्षको आयु माग गर्छस्; परमेश्वरले तँ तीस वर्ष जिएको चाहनुहुन्छ, तर तँ साठी वर्ष पुग्ने माग गर्छस्। के यो विद्रोहीपन होइन र? के यो परमेश्वरको प्रतिरोध गर्नु होइन र? मानिसहरू समझदार हुनुपर्छ र तिनीहरूले मूर्ख कार्यहरू गर्नु हुँदैन।