क. शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ भन्ने खुलासा सम्बन्धी वचनहरू
६५. सुरुमा परमेश्वरद्वारा सृष्टि गरिएका आदम र हव्वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका थिएनन्। तिनीहरू यहोवाप्रति बफादार थिए र यहोवालाई धोका दिनेबारेमा तिनीहरूलाई केही थाहा थिएन। किनभने तिनीहरूमा शैतानको प्रभावको बाधा थिएन, शैतानको विष थिएन र तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए। तिनीहरू अदनको बगैंचामा कुनै पनि फोहोरद्वारा अशुद्ध नपारिएको, देहको वशमा नपरेको अवस्थामा र यहोवाको डर मान्दै बस्थे। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूमा सर्पको विष पर्यो, र यहोवालाई धोका दिने इच्छा जाग्यो, र तिनीहरू शैतानको प्रभावमा जिए। सुरुमा, तिनीहरू पवित्र थिए र तिनीहरू यहोवादेखि डराउँथे; यो अवस्थामा मात्रै तिनीहरू मानव थिए। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए, र शैतानको प्रभावमा जिए। तिनीहरूलाई शैतानले बिस्तारै भ्रष्ट बनाउँदै लग्यो र तिनीहरूले मानिसको मूल स्वरूप गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि विद्रोही थिएन र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यो समयमा, मानिस साँच्चै मानव थियो। शैतानद्वारा भ्रष्ट गरिएपछि, मानिस जनावर बन्यो। उसका विचारहरू दुष्टता र फोहोरद्वारा भरिए, तिनमा कुनै असल कुरा वा पवित्रता थिएन। के यो शैतान होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
६६. मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्त स्थान छैन, र परमेश्वरको आराधना गर्न अझ बढी अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानवको हृदयमा परमेश्वर नहुनुहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। यसरी नै परमेश्वरले मानवलाई सृष्टि गर्नुभयो भन्ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्वास गर्नेहरू सङ्ख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्वरका काम र उहाँका वचनहरूका अभिलेखहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्वरको गरिमा र महानता, परमेश्वरको अस्तित्व र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्च सभ्यता प्राप्त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्वरको मार्गदर्शनविना, शासक र समाजशास्त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै फाइदा गर्दैन। मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्न सक्दैनन्। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो र तिनीहरूका अर्थहीन बलिदान र अन्वेषणहरूले झन्झन् तिनीहरूमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको भवितव्यबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त अझै बढी असक्षम हुन्छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
६७. हजारौँ वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै,[१] निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्वरले उनीहरूलाई अप्रत्याशित रूपमा मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका छन्? मानव संसारका मामिलाबारे तिनीहरूले कसरी बुझ्ने सके तिनीहरूमध्ये कसले परमेश्वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण गर्छन् र लुट्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई अचेत होउन्जेल लोभ्याउँछन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई छाकछोप गर्ने युक्तिहरू हुन्। परमेश्वरको कामलाई कसले अङ्गालेको छ? परमेश्वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? पुस्तौँपुस्तादेखि, आमाबुबादेखि छोराछोरीसम्म अटुट रूपले दासत्वमा परेको मानिसहरूले अमर्यादित रूपमा परमेश्वरलाई दास बनाएका छन्—यसले कसरी क्रोध जगाउँदैन र? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ? मानिसहरूमाझ उहाँको स्वागत कहाँ छ? परमेश्वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्वरलाई उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुनैपर्ने अवस्थासम्म किन घचघच्याउनु? यो समाज ज्यादै अँध्यारो छ—त्यसका घृणास्पद रक्षक कुकुरहरू किन परमेश्वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्? पीडा र कष्टको बीचमा जिउने मानिसले किन बुझ्दैन? तिमीहरूका खातिर, परमेश्वरले ठूलो यातना सहनुभएको छ, उहाँले ठूलो पीडा सहेर आफ्ना प्रिय पुत्र, उहाँको मासु र रगत तिमीहरूलाई दिनुभएको छ—र पनि तिमीहरू किन अझै पनि आँखा चिम्लिरहन्छौ? सबैले पूर्ण रूपमा देख्ने गरी, तिमीहरू परमेश्वरको आगमनलाई अस्वीकार गर्दछौ, र परमेश्वरको मित्रतालाई अस्वीकार गर्छौ। तिमीहरू किन यति धेरै अविवेकी छौ? के तिमीहरू यस्तो प्रकारको अँध्यारो समाजमा अन्यायहरू सहन इच्छुक छौ? तिमीहरू हजारौं वर्षको शत्रुताले आफ्नो पेट भर्नुको साटो, किन दियाबलसहरूको राजाको “गु” ले आफैलाई भर्ने गर्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८)
फूटनोटहरू:
१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।
२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।
६८. माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्वरको कामलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि र व्यवसाय कहिँकतै देखिँदैन। बरु, यसले परमेश्वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि प्राचीन समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, यसले त मानिसलाई पूरै निल्न[१] पनि चाहन्छ। सामन्तवादको नैतिक र आचार शिक्षाको प्रचारप्रसार र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्वरलाई ग्रहण गर्नेहरू थोरै छन्, हर्षोल्लास गर्दै उहाँको आगमनलाई स्वागत गर्नेहरू कमै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र हरेक ठाउँमा, हत्या गर्ने सास हावामा फैलिएको छ। तिनीहरूले यस भूमिबाट परमेश्वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्वरको “विनाश” गर्ने युद्धको तयारीमा छन्। मानिसलाई परमेश्वर हुनुहुन्न भनी निरन्तर सिकाइने दियाबलसहरूको यस देशभरि, मूर्तिहरू फैलिएको छ, र माथिको हावाभरि जलेको कागज र धूपको वाकवाक लाग्ने दुर्गन्ध निसास्याउने गरी बाक्लो रूपमा व्याप्त छ। यो फोहोरको दुर्गन्धजस्तै हो जुन विषालु सर्पको गुँडुल्क्याइँको कारण फैलिएर आउँछ, यतिसम्म कि बान्ता रोक्न समेत सकिँदैन। यसबाहेक, दुष्ट भूतहरूले धर्मशास्त्रका वचनहरूको कीर्तन गरेको आवाज सुन्न सकिन्छ, यस्तो आवाज जुन टाढा नरकबाटै आइरहेको जस्तो लाग्छ, यो यति अत्यधिक हुन्छ कि यहाँ थरथर नकाँपी रहन सकिँदैन। यस देशभरि जताततै इन्द्रेनीका सबै रङ्ग भएका मूर्तिहरू राखिएका छन् र यस भूमिलाई कामुक आनन्दको संसारमा परिणत गरिएको छ, जबकि दियाबलसहरूको राजा मूर्खतापूर्ण तरिकाले हाँस्दै बसिरहन्छ, मानौं यसको विनाशकारी षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेपरवाह रहन्छ र उसलाई शैतानले आफूलाई भ्रष्ट पारेको रत्ती पनि अनुभूति छैन, यहाँ सम्म कि ऊ चेतनाशून्य भएको छ र हारेर उसको शिर लत्रक्क परेको छ। त्यसले एकै झट्कामा परमेश्वरसम्बन्धी सबै कुरा मेटाउन र फेरि उहाँलाई अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्याउन पुरै जोर लगाउँछ। यसले कसरी परमेश्वरलाई समान दर्जाको हुन दिन सक्छ? पृथ्वीमा मानिसहरूमाझ हुने काममा परमेश्वरले “हस्तक्षेप” गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्न दिन सक्छ? यसले परमेश्वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्न दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्च पराक्रमको अघि झुक्न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्ने कि रुने कसैलाई केही थाहा छैन, र यसबारेमा कुरा गर्नु साँच्चै नै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राणको साथमा यसले अझै पनि आफू विश्वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्वास गर्छ। यो अपराध गर्ने मतियारहरूको गिरोह![२] तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्चाउँछन् र होहल्ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूत र दुष्टात्माहरू केही समयसम्म यस पृथ्वीमा यताउता उन्मादको साथ दौडिरहेका छन्, र परमेश्वरका इच्छाहरू र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न नै सकिँदैन। साँच्चै, यो मरणशील पाप हो! परमेश्वर चिन्तित नभई कसरी बस्न सक्नुहुन्छ र? परमेश्वर कसरी क्रोधित नहुन सक्नुहुन्छ र? तिनीहरूले परमेश्वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्याएका र विरोध गरेका छन्: कस्तो विद्रोही!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।
२. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।
६९. हजारोँ वर्षसम्म फैलिएको प्राचीन संस्कृति र इतिहासको ज्ञानले मानिसको सोच र धारणा अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलोसँग बन्द गरिदिएको छ कि ती अभेद्य र गैर-जैवनिम्नीकरणीय[१] बनेका छन्। मानिसहरू नरकको अठारौं चक्रमा बस्छन्, जहाँ उनीहरूलाई परमेश्वरले कालकोठरीमा हालिदिनुभएझैं, उज्यालो कहिल्यै देख्न सकिँदैन। सामन्ती सोचले मानिसहरूलाई यति दमन गरेको छ कि उनीहरूलाई सास फेर्न पनि मुस्किल छ र तिनीहरू निस्सासिरहेका छन्। तिनीहरूसँग विरोध गर्ने अलिकति पनि शक्ति छैन; तिनीहरूले चुपचाप सहेको सहेकै गर्न मात्र सक्छन्…। न्याय र निष्पक्षताका लागि संघर्ष गर्न वा खडा हुने हिम्मत कहिल्यै कसैले गरेको छैन; मानिसहरू दिनदिनै र हरेक वर्ष सामन्ती प्रहार र दुर्व्यवहारमुनि पशुको भन्दा नराम्रो जीवन जिउँछन्। तिनीहरूले मानव संसारमा खुसी पाउन परमेश्वरलाई खोज्नुपर्छ भनी कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, मानिसहरू यतिसम्म पिटिएका छन् कि तिनीहरू शरदमा झरेका पातहरूझैँ सुकेका, खरिएका र पहेँलो-खैरो भएका छन्। मानिसहरूले आफ्नो स्मरण शक्ति गुमाएको धेरै भइसकेको छ; तिनीहरू असहाय बनेर त्यो नरकमा बस्छन् जसलाई मानव संसार भनिन्छ, त्यहाँ तिनीहरू त्यस अन्तिम दिनको आगमन पर्खिरहेका छन् जहाँ तिनीहरू यस नरकसँगै नष्ट हुन सक्छन्, मानौं तिनीहरूले चाहना गरेका त्यो अन्तिम दिन मानिसले आरामदायी शान्ति पाउने दिन हो। सामन्ती नैतिकताले मानिसको जीवनलाई “पाताल” मा लगिसकेको छ, जसले मानिसको प्रतिरोध गर्ने क्षमतालाई अझ कमजोर बनाएको छ। सबै प्रकारका उत्पीडनले मानिसलाई एकपछि अर्को चरण गरी धकेल्दै, पातालको झन्झन् गहिराइतिर खसाल्छ, परमेश्वरबाट झन्-झन् टाढा बनाउँछ, र आजको दिनसम्ममा ऊ परमेश्वरप्रति पूर्ण अपरिचित भइसकेको छ र उहाँलाई भेट्दा ऊ तर्की भाग्न हतार गर्छ। मानिसले उहाँलाई ध्यान दिँदैन र उहाँलाई एकलै उभिनका निम्ति छोडिदिन्छ, मानौं मानिसले कहिल्यै उहाँलाई चिनेको छैन, उहाँलाई पहिले कहिल्यै देखेको छैन। तैपनि परमेश्वरले मानव जीवनको लामो यात्राभरि मानिसलाई पर्खिरहनुभएको छ, उहाँको रोक्न नसकिने क्रोध कहिल्यै ऊमाथि पोखाउनुभएको छैन, मानिसले पश्चात्ताप गरी नयाँ सुरुवात गरोस् भनी एक शब्द पनि नबोली चुपचाप पर्खिरहनुभएको छ। मानिससँग मानव संसारको दुःखमा सहभागी हुन परमेश्वर धेरै अघि नै मानव संसारमा आउनुभयो। उहाँ मानिसको साथमा बस्नुभएका सारा वर्षहरूमा कसैले पनि उहाँको अस्तित्वलाई पत्ता लगाएको छैन। उहाँले व्यक्तिगत रूपमा ल्याउनुभएको काम पूरा गर्ने क्रममा परमेश्वर मानव संसारको अन्यायपूर्ण दुःखलाई चुपचाप सहनु मात्र हुन्छ। उहाँले परमेश्वर पिताको इच्छा र मानवजातिको आवश्यकताका खातिर मानिसले पहिले कहिल्यै अनुभव नगरेका दुःखहरू धैर्यसाथ निरन्तर भोगिरहनुहुन्छ। मानिसको उपस्थितिमाझ उहाँले चुपचाप उसलाई पर्खनुभयो र मानिसको उपस्थितिमाझ उहाँले पिता परमेश्वरको इच्छाको खातिर र मानवजातिको आवश्यकताका खातिर आफैलाई नम्र तुल्याउनुभयो। प्राचीन संस्कृतिको ज्ञानले थाहै नदिई मानिसलाई परमेश्वरको उपस्थितिमाझबाट चोरेर लगेको छ र उसलाई दियाबलसहरूको राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्चोत्कृष्ट पुस्तकहरूले[क] मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्ग्रहित गर्नेहरूलाई पहिलेभन्दा बढी प्रशंसा गर्ने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्वरसम्बन्धी आफ्नो धारणालाई अझ खराब बनाउँछ। मानिसले थाहै नपाई, दियाबलसहरूको राजाले क्रूरतापूर्वक उसको हृदयबाट परमेश्वरलाई निकालेको छ र त्यो ठाउँमा विजयको हर्षसहित आफै बसेको छ। त्यस समयदेखि नै, मानिस घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित दियाबलसहरूको राजाको अनुहार छ। परमेश्वरप्रतिको घृणाले उसको छाती भरियो, र दियाबलसहरूको राजाको द्वेषपूर्ण दुर्भावना ऊ पूर्ण रूपमा बरबाद नहुन्जेलसम्म मानिसहरूभित्र दिनदिनै फैलिरह्यो। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र दियाबलसहरूको राजाको बन्धनबाट मुक्त हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिने, आत्मसमर्पण गर्ने र त्यसको उपस्थितिमा समर्पण हुनेबाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा आफ्नो शैशवकालमा थियो, तब दियाबलसहरूको राजाले त्यसमा नास्तिकता रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर्नु; चार आधुनिकीकरण महसुस गर्नु; संसारमा परमेश्वर भन्ने कुनै कुरा छैन” भन्ने झूटहरू सिकायो। त्यति मात्र होइन, यो हर अवसरमा यसो भन्दै चिच्याउँछ: “सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नै उद्यमी परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको छेउमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानीकन अहङ्कारका साथ सबै श्रेय (अर्थात्, सबै मानवजातिलाई उहाँकै हातमा राख्ने परमेश्वरको श्रेय) आफैले लियो। त्यसमा यसले कहिल्यै पनि शर्मको कुनै अनुभूति गरेन। यसबाहेक, यसले लाजै नमानी परमेश्वरका मानिसहरूलाई अँठ्यायो र तानेर आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र आफूलाई परमेश्वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्वर भन्ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, र बाक्ला थोपाहरू बनेर जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोन विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, परमेश्वरको काम कहाँ छ?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्न कुराहरू भन्दै अर्थात् समर्थन गर्न नहुने यस्ता भनाइहरू बोल्दै कराइरहेका हुन्छन्: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आजको संसार करिबकरिब एक अर्ब वर्षपहिले सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यो आफैलाई भित्तामा झुण्ड्याएर वा टेबलमा राखेर श्रद्धा र भेटी चढाउने बनाउँछ। यसको साथै यो “परमेश्वर हुनुहुन्न” भन्दै कराउँछ, यसले आफैलाई परमेश्वरजस्तो उच्च बनाउँछ, परमेश्वरको स्थानमा उभिएर र दियाबलसहरूको राजाको भूमिकालाई ग्रहण गर्दै, अभद्रपूर्ण तरिकाले परमेश्वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! यो कुराले यसलाई अत्यन्तै घिनलाग्दो बनाउँछ। यस्तो लाग्छ, परमेश्वर र यो कट्टर शत्रुहरू हुन्, र यी दुई सँगसँगै रहन सक्दैनन्। व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै[२] यसले परमेश्वरलाई बाहिर लखेट्ने योजना बनाउँछ। यो दियाबलसहरूको त्यस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? परमेश्वरको कामलाई नाश नपारुन्जेल र सबै कुरा पूरै लथालिङ्ग[३] नबनाउन्जेल यसले विश्राम गर्दैन, मानौं यसले माछा नमारुञ्जेल वा जाल नफाटुन्जेल अन्त्यसम्मै परमेश्वरको कडा विरोध गर्न चाहन्छ, जानीजानी आफैलाई परमेश्वरको विरोधी बनाउँछ र झन्-झन् अगाडि आउँछ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोटैचोट र नीलडामले भरिएको[४] छ र दुःखद स्थितिमा छ, तैपनि परमेश्वरप्रतिको घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्वरलाई एकै गाँसमा निलेपछि मात्र त्यसले आफ्नो हृदयको घृणालाई कम गर्न सक्छ। हामी कसरी यसलाई सहन सक्छौं, यो परमेश्वरको शत्रुलाई! यसलाई समाप्त गरेर अनि पूर्ण रूपमा नाश पारेर मात्र हाम्रो जीवनको इच्छा सफल हुनेछ। यसलाई जताततै त्यसरी दगुरिहिँड्ने अनुमति कसरी दिन सकिन्छ? यसले मानिसलाई यति भ्रष्ट पारेको छ कि मानिसले स्वर्गसूर्यलाई जान्दैन, र ऊ जीवनरहित र भावहीन भएको छ। मानिसले आफ्नो सामान्य मानव-तर्क हराएको छ। भविष्यका सबै चिन्ताहरू हटाउनका लागि यसलाई नाश गर्न र जलाउन अनि परमेश्वरको कार्यलाई चाँडै अभूतपूर्व महिमामा पुग्न दिनका निम्ति हाम्रो सम्पूर्ण अस्तित्व नै किन समर्पण नगर्ने? बदमासहरूको यो गिरोह मानिसहरूको संसारमा आयो र यहाँ उत्पात मच्चायो। तिनीहरूले सारा मानवजातिलाई भीरको टुप्पामा ल्याएका छन्, उनीरूलाई थाहै नदिई भीरमुनि धकेलेर टुक्रा-टुक्रा पारी उनीहरूको लास खाने गोप्य योजना बनाउँदैछन्। तिनीहरू परमेश्वरको योजना तोड्ने र उहाँसँग जुवा खेल्ने र एउटै दाउमा सबै जित्ने[५] व्यर्थको आशा गर्छन्। त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर दियाबलसहरूको राजाको लागि नै क्रूस तयार पारिएको छ, जो सबैभन्दा जघन्य अपराधको दोषी छ। परमेश्वर क्रूसको स्वामित्वमा हुनुहुन्न। उहाँले पहिले नै यसलाई दियाबलसतिर हुत्याइसक्नुभएको छ। परमेश्वर धेरै समय अगाडि नै विजयी हुनुभएको छ, र मानवजातिको पापको लागि अबउप्रान्त दुःख महसुस गर्नुहुन्न, बरु उहाँले सबै मानवजातिको लागि मुक्ति ल्याउनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “गैर-जैवनिम्नीकरणीय” यहाँ व्यङ्ग्यको रूपमा छ, जसको अर्थ मानिसहरू तिनीहरूको ज्ञान, संस्कृति र आध्यात्मिक दृष्टिकोणमा कठोर हुन्छन् भन्ने हो।
२. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्ने जनाउँछ।
३. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भन्ने जनाउँछ।
४. “चोटैचोट र नीलडामले भरिएको” भनेको दियाबलसहरूको राजाको कुरूप अनुहार हो।
५. “एउटै दाउमा सबै जित्ने” भनेको अन्तमा जित्ने आशामा आफ्नो सबै पैसा एउटै बाजीमा लगाउनु हो। यो शैतानका भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।
क. चार पुस्तक र पञ्चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।
७०. मानिसको तथाकथित ज्ञानमा, शैतानले संसारसँग व्यवहार गर्ने दर्शन र त्यसको सोचाइ धेरै नै हालिदिएको हुन्छ। अनि शैतानले यसो गर्ने क्रममा, मानिसले परमेश्वरको अस्तित्वलाई इन्कार गर्न, सबै थोकमाथि र मानिसको भाग्यमाथिको परमेश्वरको प्रभुत्वलाई इन्कार गर्न सकोस् भनेर त्यसले मानिसलाई त्यसको सोचाइ, सिद्धान्त, र दृष्टिकोण अपनाउने तुल्याउँछ। त्यसकारण मानिसले प्रगतिको अध्ययन गर्ने क्रममा र उसले अझै बढी ज्ञान प्राप्त गर्ने क्रममा, उसले परमेश्वरको अस्तित्व अस्पष्ट भएको अनुभव गर्छ, र परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने समेत उसले अनुभव गर्नछोड्छ। शैतानले मानिसको मनमस्तिष्कमा केही निश्चित दृष्टिकोण, धारणा, र विचारहरू हालिदिएको हुनाले, जब शैतानले मानिसभित्र यो विष हालिसकेको हुन्छ, तब के मानिस शैतानद्वारा भ्रममा पारिएको र भ्रष्ट तुल्याइएको हुँदैन र? अब तिमीहरू के भन्छौ, आजका मानिसहरू के कुराको आधारमा जिउँछन्? के तिनीहरू शैतानले तिनीहरूमा हालिदिएको ज्ञान र विचाहरूद्वारा जिउँदैनन् र? अनि, यो ज्ञान र यी विचारहरूभित्र लुकेका कुराहरू—के ती शैतानका दर्शन र विषहरू होइनन् र? मानिस शैतानका दर्शन र विषहरूद्वारा जिउँछ। अनि, शैतानका दर्शन र विषहरूको केन्द्रबिन्दुमा के हुन्छ? शैतानले आफूले जस्तै मानिसलाई पनि परमेश्वरलाई इन्कार गर्न, विरोध गर्न र उहाँविरुद्ध उभिन लगाउँछ; मानिसलाई भ्रष्ट तुल्याउनुपछाडि रहेको शैतानको लक्ष्य यही हो, र यही नै शैतानले मानिसलाई भ्रष्ट तुल्याउने माध्यम पनि हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
७१. मानिसले ज्ञान सिक्ने प्रक्रियामा, शैतानले सबै किसिमका विधिहरू प्रयोग गर्छ, चाहे यो कथाहरू सुनाउने, उसलाई ज्ञानका केही अलगअलग टुक्राहरू दिने होस्, वा उसलाई आफ्ना चाहना वा महत्त्वाकाङ्क्षाहरू पूरा गर्न दिने होस्। शैतान उसई कुन बाटोमा डोर्याउन चाहन्छ? मानिसहरूले ज्ञान सिक्नु गलत होइन, यो पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्ने ठान्छन्। यसलाई आकर्षक तरिकाले भन्दा, उच्च आकाङ्क्षाहरू पाल्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको इच्छाशक्ति हुनु हो, र जीवनको सही मार्ग यही नै हुनुपर्छ। यदि मानिसहरूले आफ्ना आकाङ्क्षाहरू पूरा गर्न सक्छन्, वा सफलतापूर्वक करियर बनाउन सक्छन् भने, के यो तिनीहरूका लागि वैभवशाली जिउने तरिका होइन र? यी कुराहरू गरेर, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्ने मात्रै होइन, इतिहासमा आफ्नो छाप छोडेर जाने मौका पनि पाउँछ—के यो असल कुरा होइन र? सांसारिक मानिसहरूको नजरमा यो असल कुरा हो, र तिनीहरूको लागि यो उचित र सकारात्मक हुनुपर्छ। तैपनि, के शैतानले कुटिल मनसायहरूद्वारा मानिसहरूलाई यस प्रकारको मार्गमा लगेपछि त्यो त्यतिमै सकिन्छ र? अवश्य नै सकिँदैन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जति नै भव्य भए पनि, मानिसका चाहनाहरू जति नै वास्तविक वा ती जति नै न्यायसङ्गत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा, अपरिहार्य रूपमा दुईवटा शब्दसँग जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिका लागि जीवनभर अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्द के-के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतानले मानिसहरूलाई अनजानमै त्यसका उपाय र बाँच्ने नियमहरू स्विकार्ने, जीवनका लक्ष्य र जीवनका दिशा विकास गर्ने, र जीवनप्रतिका आकाङ्क्षाहरू विकास गर्ने तुल्याउनका लागि अत्यन्तै सौम्य विधि प्रयोग गर्छ, त्यस्तो विधि जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्छ, जुन त्यति उग्र हुँदैन। मानिसहरूका जीवनका आकाङ्क्षाहरूका बयानहरू जति उच्च सुनिने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्ति को वरिपरि घुमिरहेका। कुनै पनि महान् वा चर्चित व्यक्तिले—वा वास्तवमा कुनै पनि व्यक्तिले—जीवनभर पछि लाग्ने कुराहरू यी दुई शब्दहरू “ख्याति” र “प्राप्ति” सँग मात्रै सम्बन्धित हुन्छन्। मानिसहरू ख्याति र प्राप्ति पाएपछि तिनीहरूसँग उच्च हैसियत र ठूलो धनको आनन्द लिन, र जीवनको आनन्द लिन पूँजी हुन्छ भन्ने सोच्छन्। तिनीहरू ख्याति र प्राप्ति पाएपछि तिनीहरूसँग आनन्द खोज्न र बेकाबु देहसुखमा लाग्नका लागि पूँजी हुन्छ भन्ने सोच्छन्। मानिसहरूले चाहना गर्ने यो ख्याति र प्राप्तिका खातिर, तिनीहरू खुसीसाथ र अनजानमै आफ्नो तन, मन, साथै आफ्ना भविष्य र भाग्यलगायतका आफूसँग भएका सबै कुरासमेत शैतानलाई सुम्पन्छन्। तिनीहरू पूरा निष्कपटताका साथ, एकछिन पनि शङ्का नगरी, र कुनैबेला आफूसँग भएका सबै कुरा फिर्ता ल्याउनुपर्छ भन्ने थाहै नपाई त्यसो गर्छन्। मानिसहरूले आफूलाई यसरी शैतानसामु सुम्पिएर तिनीहरू त्यसप्रति बफादार बनिसकेपछि के तिनीहरूले आफैमाथि कुनै नियन्त्रण राख्न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र न्यायवान् छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने मानिसहरूका लागि ख्याति र प्राप्तिको लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; यी त्यस्ता कुरा हुन् जसलाई मानिसहरूले आफ्नो जीवनभरि र अनन्तसम्म पनि नपछ्याइ रहन सक्दैनन्। खास अवस्था यही होइन र? कतिपय मानिसहरूले भन्छन् कि ज्ञान सिक्नु भनेको पुस्तकहरू पढ्नु वा समयअनुसार पछि नपर्न वा संसारद्वारा पछि नछोडिनको लागि आफूलाई थाहा नभएका एकदुई वटा कुरा सिक्नुबाहेक केही पनि होइन। हातमुख जोड्न सकियोस् भनेर, आफ्नै भविष्यको खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नको लागि मात्रै, एक दशकसम्म कठिन अध्ययन गर्न सक्ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्म यस्ता कठिनाइहरू सहन्छ? यो ख्याति र प्राप्तिको लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढा बसेर प्रतीक्षा गरिरहेको हुन्छ, तिनीहरूलाई इसारा गरिरहेको हुन्छ र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र संघर्षले मात्र आफूलाई ख्याति र प्राप्ति दिलाउने मार्गमा डोर्याउन सक्छ भन्ने विश्वास गर्छन्। त्यस्तो व्यक्तिले आफ्नो भविष्यको लागि, आफ्नो भविष्यको आनन्दको लागि र उत्तम जीवन प्राप्त गर्नको लागि यस्ता कठिनाइहरू भोग्नुपर्छ। आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई भन्न सक्छौ? के यो “आफ्नो देश, पार्टी, र धर्मलाई प्रेम गर” र “बुद्धिमान मान्छे परिस्थितिअनुसार चल्छ” भन्नेजस्ता शैतानले मानिसहरूमा हालिदिएका जीवन जिउने नियम र दर्शनहरू होइन र? के यो महान् मानिसहरूका विचारहरू, चर्चित व्यक्तिहरूको निष्ठा वा पराक्रमी व्यक्तित्वहरूको साहसिक स्वभाव, वा मार्सल आर्ट उपन्यासका नायक र तरवारधारीहरूको वीरता र दयालुपनजस्ता शैतानले मानिसमा हालिदिएका जीवनका “उच्च आकाङ्क्षाहरू” होइन र? यी विचारहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्, र हरेक पुस्ताका मानिसहरूलाई यी विचारहरू स्वीकार गर्ने बनाउँछन्। तिनीहरूले “उच्च आकाङ्क्षाहरू” को खोजीमा निरन्तर सङ्घर्ष गर्छन् र यसैको खातिर आफ्नो जीवन बलिदानसमेत गर्छन्। मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्ने माध्यम र तरिका यही हो। अनि, शैतानले मानिसहरूलाई यो मार्गमा डोर्याइसकेपछि, के तिनीहरू परमेश्वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्छन्? के तिनीहरूले परमेश्वरका वचनहरू स्वीकार गर्न र पछ्याउन सक्छन्? बिलकुलै सक्दैनन्—किनभने तिनीहरू शैतानद्वारा बहकिइसकेका छन्। हामी शैतानले मानिसहरूमा हालिदिने ज्ञान, विचार र रायहरूलाई फेरि हेरौँ: के ती कुरामा परमेश्वरप्रतिको समर्पण र आराधनासम्बन्धी सत्यताहरू हुन्छन्? के तिनमा परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने आचरण छ? के तिनमा परमेश्वरका वचनहरूको कुनै कुरा छ? के तिनमा सत्यतासँग सम्बन्धित कुनै कुरा छ? बिलकुलै छैन—यी कुराहरू छँदै छैनन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७२. शैतानले मानिसका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरू ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र ख्याति र प्राप्तिकै लागि हरेक फैसला वा निर्णय गर्छन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ कदम-कदम गर्दै अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन भन्ने लाग्छ, र तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले उप्रान्त अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब शैतानले तँमा रोपेका यी सबै कुराहरूबाट तैँले आफूलाई आजाद गर्न चाहने समय आउँछ, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७३. विज्ञानले मानिसहरूलाई भौतिक संसारमा भएका वस्तुहरूलाई देख्ने तुल्याउने, र मानिसको जिज्ञासालाई मेटाउने काम मात्रै गर्छ, तर यसले मानिसलाई परमेश्वरले कुन नियमहरूद्वारा सबै कुराहरूमा प्रभुत्व राख्नुहुन्छ सो देख्न सक्षम तुल्याउँदैन। मानिसले विज्ञानमा उत्तरहरू भेट्टाउँछ भन्ने देखिन्छ, तर ती उत्तरहरू बुझ्न गाह्रो हुन्छ र त्यसले अस्थाई सन्तुष्टि मात्रै ल्याउँछ, जुन मानिसको हृदयलाई भौतिक संसारमा सीमित गर्ने सन्तुष्टि हो। मानिसले आफूहरूले विज्ञानबाट उत्तरहरू प्राप्त गरेको अनुभव गर्छन्, त्यसकारण जुनसुकै समस्याहरू पैदा भए पनि त्यस समस्यालाई प्रमाणित गर्न र स्वीकार गर्नको लागि तिनीहरूले आफ्ना वैज्ञानिक दृष्टिकोणहरू प्रयोग गर्छन्। मानिसको हृदय विज्ञानको प्रलोभनमा पर्छ र यो यति हदसम्म त्यसको पकडमा पर्छ कि ऊसँग परमेश्वरलाई चिन्ने, परमेश्वरको आराधना गर्ने, अनि सबै कुराहरू उहाँबाट नै आउँछ अनि उत्तरहरूको लागि मानिसले उहाँलाई नै हेर्नुपर्छ भनी विश्वास गर्ने मन नै हुँदैन। के यो यस्तै होइन त? व्यक्तिले विज्ञानमा जति धेरै विश्वास गर्छ, तिनीहरू त्यति नै धेरै मूर्ख बन्छन् अनि तिनीहरूले हरेक कुराको वैज्ञानिक समाधान हुन्छ, अनुसन्धानले जुनसुकै समस्यालाई पनि समाधान गर्नसक्छ भन्ने विश्वास गर्छन्। तिनीहरूले परमेश्वरको खोजी गर्दैनन् र तिनीहरूले उहाँ अस्तित्वमा हुनुहुन्छ भन्ने विश्वास गर्दैनन्; परमेश्वरमा लामो समयदेखि विश्वास गर्ने धेरै मानिसहरूले समस्याको सामना गर्दा खोजी गरेर उत्तरहरू पत्ता लगाउन कम्प्युटर प्रयोग गर्छन्; तिनीहरू वैज्ञानिक ज्ञानमा मात्र विश्वास गर्छन्। तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन्, परमेश्वरका वचनहरूले मानवजातिका सबै समस्याहरू समाधान गर्न सक्छन् भनेर विश्वास गर्दैनन्, तिनीहरूले मानवजातिका हरेक समस्याहरूलाई सत्यताको दृष्टिकोणले हेर्दैनन्। जस्तोसुकै समस्याको सामना गरे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्वरसँग प्रार्थना गर्दैनन् वा परमेश्वरका वचनहरूमा सत्यताको खोजी गरेर समाधान पहिल्याउने प्रयास गर्दैनन्। धेरै मामिलाहरूमा, तिनीहरू ज्ञानले नै समस्या समाधान गर्न सक्छ भन्ने विश्वास गर्न रुचाउँछन्; तिनीहरूको लागि, विज्ञान नै अन्तिम उत्तर हो। त्यस्ता मानिसहरूको हृदयमा परमेश्वर पटक्कै रहनुहुन्न। तिनीहरू अविश्वासीहरू हुन्, र परमेश्वरमाथिको विश्वाससम्बन्धी तिनीहरूको दृष्टिकोण वैज्ञानिक विधिहरूको प्रयोग गरी परमेश्वरलाई जाँच्ने प्रयास गरिरहेका धेरै जना विशिष्ट शिक्षाविद र वैज्ञानिकहरूको भन्दा फरक हुँदैन। उदाहरणको लागि, धेरै धार्मिक विशेषज्ञहरू छन्, जसले जहाज अडिएको पर्वतमा गएर जहाजको अस्तित्वलाई प्रमाणित गरेका छन्। तर जहाजको स्वरूपमा तिनीहरूले परमेश्वरको अस्तित्वलाई देख्दैनन्। तिनीहरूले कथा र इतिहासमा मात्रै विश्वास गर्छन्; यो तिनीहरूको वैज्ञानिक अनुसन्धान र भौतिक संसारको अध्ययनको परिणाम हो। चाहे त्यो सूक्ष्मजीव विज्ञान होस्, खगोल विज्ञान होस् वा भूगोल होस्, यदि तैँले भौतिक कुराहरूको अनुसन्धान गरिस् भने, तैँले परमेश्वर अस्तित्वमा हुनुहुन्छ वा सबै कुरामाथि उहाँको सार्वभौमिकता छ भन्ने कुरालाई निर्धारित गर्ने परिणाम कहिल्यै पनि भेट्टाउनेछैनस्। त्यसो भए विज्ञानले मानिसको लागि के गर्छ त? के यसले मानिसलाई परमेश्वरबाट अलग गर्दैन र? के यसले मानिसहरूलाई परमेश्वरलाई केवल अध्ययनहरूमा सीमित गर्ने तुल्याउँदैन र? के यसले मानिसहरूलाई परमेश्वरको अस्तित्व, र सम्प्रभुताको बारेमा अझै बढी शङ्कालु बनाई परमेश्वरलाई इन्कार गर्न र धोका दिन लगाउँदैन र? परिणाम यही नै हुन्छ। अनि, मानिसलाई भ्रष्ट तुल्याउनको लागि विज्ञानको प्रयोग गर्दा, शैतानले कुन उद्देश्य हासिल गर्न खोजिरहेको हुन्छ? यसले मानिसहरूलाई भ्रममा पार्न र भावशून्य बनाउनका लागि वैज्ञानिक निष्कर्षहरूको प्रयोग गर्न, अनि तिनीहरूले परमेश्वरको अस्तित्वको खोजी नगरून् वा त्यसमा विश्वास नगरून् भनेर मानिसहरूको हृदयलाई पक्रिराख्नको लागि अस्पष्ट उत्तरहरूको प्रयोग गर्न चाहन्छ। यही कारणले गर्दा, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा विज्ञान हो भनेर म भन्छु।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
७४. शैतानले मानिसहरूमा परम्परागत संस्कृति वा अन्धविश्वासका व्यक्तित्वहरूको गहन छाप छोड्न विभिन्न लोक कथा वा इतिहासका पुस्तकहरूमा देखा पर्ने कथाहरूको कल्पना र प्रतिपादन गरेको छ। उदाहरणको लागि, चीनमा “समुद्र तर्ने आठ जना अविनाशीहरू,” “पश्चिमतर्फको यात्रा,” सम्राट जेड, “अजिङ्गर राजालाई जित्ने नेझा,” र “देवताहरूको अभिषेक” जस्ता लोक कथाहरू छन्। के यिनले मानिसको मनमा गहिरो जरा गाडेका छैनन् र? तिमीहरूमध्ये कतिलाई यिनको विवरण थाहा नभए पनि, तिमीहरूलाई समग्र कथा थाहा छ, र तेरो हृदय र मनमा टाँस्सिने भनेको समग्र विषयवस्तु नै हो, यसरी तैँले तिनलाई बिर्सन सक्दैनस्। शैतानले धेरै पहिले नै मानिसका निम्ति तयार गरेका विभिन्न विचार वा दन्त्यकथाहरू यिनै हुन्, र फरक-फरक समयमा यसको प्रचार-प्रसार भएको छ। यी कुराहरूले प्रत्यक्ष रूपमा मानिसहरूको प्राणलाई हानी र नष्ट गर्छन् अनि मानिसहरूलाई एकपछि अर्को गरी मन्त्रमुग्ध पार्छ। भन्नुको अर्थ, तैँले त्यस्ता परम्परागत संस्कृति, कथाहरू, वा अन्धविश्वासका कुराहरूलाई स्वीकार गरिसकेपछि, ती तेरो मनमा स्थापित भइसकेपछि, र ती तेरो हृदयमा बसिसकेपछि, तँ मन्त्रको बन्धनमा परेको जस्तै हुनेछस्—तँ यी परम्परागत फन्दाहरू, यी विचार र परम्परागत कथाहरूको जालमा पर्छस् र त्यसकै प्रभावमा हुन्छस्। तिनले तेरो जीवन, जीवन सम्बन्धी तेरो दृष्टिकोण, र कुराहरूप्रतिको तेरो मूल्याङ्कनलाई प्रभाव पार्छन्। त्योभन्दा पनि बढी जीवनको साँचो मार्गको तेरो खोजीलाई तिनले प्रभाव पार्छन्: यो वास्तवमा नै दुष्ट मन्त्र हो। तैँले जसरी प्रयास गरे पनि, तैँले तिनलाई हटाउन सक्दैनस्; तैँले तिनलाई काट्छस् तर काटेर ढाल्न सक्दैनस्; तैँले तिनलाई प्रहार गर्छस् तर प्रहार गरेर तैँले तिनलाई धपाउन सक्दैनस्। यसको साथै, मानिसहरू अनजानमा यस प्रकारको मन्त्रमा परिसकेपछि, तिनीहरूले आफ्नो हृदयमा शैतानको स्वरूपलाई जगेर्ना गरेर अनजानमै शैतानको पूजा गर्न थाल्छन्। अर्को शब्दमा भन्दा, तिनीहरूले शैतानलाई तिनीहरूको मूर्ति, तिनीहरूले आराधना गर्ने र आदरको साथ हेर्ने वस्तुको रूपमा स्थापना गर्छन्, यहाँसम्म कि तिनीहरूले यसलाई परमेश्वरकै रूपमा लिन्छन्। अनजानमा, यी कुराहरूले मानिसहरूको बोलीवचन र कार्यहरूलाई नियन्त्रण गर्दै ती तिनीहरूको हृदयमा बस्छन्। यसको साथै, सुरुमा तैँले यी कथा र दन्त्यकथाहरू झूट हुन् भन्ने ठान्छस्, तर अनजानमै तिनीहरूलाई वास्तविक व्यक्तिहरू ठान्दै र तिनीहरूलाई वास्तविक, अस्तित्वमा रहेका थोकहरूका रूपमा परिवर्तन गर्दै तँ तिनीहरूका अस्तित्वलाई स्वीकार गर्छस्। तेरो अनभिज्ञतामा, तैँले यी विचारहरूलाई र यी कुराहरूको अस्तित्वलाई अवचेतन रूपमा ग्रहण गर्छस्। तैँले अवचेतन रूपमा दियाबलसहरू, शैतान, र मूर्तिहरूलाई तेरो आफ्नै घरमा र तेरो आफ्नै हृदयमा ग्रहण गर्छस्—यो वास्तवमा मन्त्र नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७५. मानिसहरूले गर्ने अन्धविश्वासपूर्ण गतिविधिहरूलाई परमेश्वर सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तर धेरै मानिसहरूले ती अन्धविश्वासका गतिविधिहरू परमेश्वरले नै आदेश गर्नुभएको हो भन्ने सोच्दै अझै पनि ती कुराहरूलाई त्याग्न सक्दैनन्, र आज पनि तिनीहरूले ती कुराहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनन्। जवान मानिसहरूले प्रबन्ध गर्ने विवाहका भोज र दुलहीका सरसमानहरू; नगद उपहार, भोज, र आनन्दका अवसरहरू मनाइने त्यस्तै अन्य तरिकाहरू; हस्तान्तरण हुँदै आएका प्राचीन सूत्रहरू; मृतकहरूका निम्ति गरिने सबै अर्थहीन अन्धविश्वासका कार्य र अन्त्येष्टि संस्कारहरू—यी कुराहरू त परमेश्वरका निम्ति अझ बढी घृणित छन्। आराधनाको दिनसमेत (धार्मिक संसारले पालन गर्ने शबाथको दिन लगायत) उहाँको निम्ति घृणित छ; र सामाजिक सम्बन्ध र मानिस-मानिसबीचको सांसारिक अन्तरक्रियाहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ। सबैले जानेका वसन्त महोत्सव र ख्रीष्टमसको दिन पनि परमेश्वरले आदेश दिनुभएको होइन, यी उत्सवका दिनहरूमा प्रयोग गरिने खेलौना र सजावटहरू जस्तै मनोहर पङ्क्तिहरू, पटकाहरू, बत्ती, पवित्र भोज, ख्रीष्टमस उपहारहरू र ख्रीष्टमसको रमझम, आदि उहाँले आदेश दिनुभएको हुने त कुरै नगरौँ—के यी सबै कुरा मानिसहरूको मनभित्र भएका आदर्शका कुराहरू होइनन् र? शबाथमा रोटी भाँच्ने, दाखमद्य र मिहिन मलमल त झन् बढी आदर्शका कुराहरू हुन्। चीनमा लोकप्रिय रहेका परम्परागत पर्वका दिवसहरू, जस्तै ड्र्यागनको शिर उठाउने दिवस, ड्र्यागन डुङ्गा पर्व, मध्य-शरद पर्व, लावा पर्व, र नयाँ वर्ष, अनि धार्मिक संसारका पर्वहरू जस्तै ईस्टर, बप्तिस्मा दिवस र ख्रीष्टमस, यी सबै अनुचित पर्वहरू प्राचीन समयदेखि आजसम्म धेरै मानिसहरूले आयोजना गर्दै र हस्तान्तरण गर्दै आएका छन्। मानवजातिको समृद्ध कल्पनाशक्ति र सृजनशील अवधारणाले नै तिनीहरूलाई आजको दिनसम्म यसरी हस्तान्तरण गर्न सम्भव तुल्याएको हो। तिनीहरू त्रुटिहीन जस्ता देखिन्छन्, तर यो वास्तवमा शैतानले मानवजातिमाथि खेलेको चाल हो। जुन ठाउँमा शैतानहरूको धेरै भीड हुन्छ, र जुन ठाउँ बढी अप्रचलित र पछौटे हुन्छ, त्यस ठाउँमा सामन्तवादी प्रथाहरू त्यत्ति नै गहिरो रूपमा गाडिएका हुन्छन्। त्यस्ता कुराहरूले मानिसहरूलाई दह्रोसँग बाँधेर राख्छ, तिनीहरूलाई हलचल गर्ने कुनै ठाउँ दिँदैन। धार्मिक संसारका धेरै चाडहरूले ठूलो मौलिकता प्रकट गरेको र परमेश्वरको कामका लागि पुल बनाएको जस्तो देखिन्छ, तर ती वास्तवमा अदृश्य बन्धनहरू हुन्, जसद्वारा शैतानले मानिसहरूलाई बाँध्छ र मानिसहरूलाई परमेश्वरलाई चिन्नको लागि आउनबाट रोक्छ—ती सबै शैतानका चलाकीपूर्ण युक्तिहरू हुन्। वास्तवमा, जब परमेश्वरको कामको एक चरण समाप्त हुन्छ, उहाँले त्यस समयका औजार र शैलीहरूलाई नामनिसानासमेत बाँकी नछोडी पहिल्यै नाश पारिसक्नुभएको हुन्छ। तैपनि, “भक्त विश्वासीहरू” ले ती ठोस भौतिक वस्तुहरूको आराधना गरी नै रहन्छन्; यस क्रममा, तिनीहरूले परमेश्वरसित जे छ त्यसलाई आफ्ना मनको पछाडि धकेल्छन् र त्यसउप्रान्त त्यसको अध्ययन गर्दैनन्। तिनीहरू परमेश्वरप्रतिको प्रेमले पूरा भरिएका जस्ता देखिन्छन्, जबकि वास्तवमा तिनीहरूले उहाँलाई धेरै समयअघि नै घरबाट बाहिर निकालेर शैतानलाई आराधना गर्ने टेबलमा राखेका हुन्छन्। येशू, क्रूस, मरियम, येशूको बप्तिस्मा र अन्तिम भोज आदिका चित्रहरू—यी कुराहरूलाई मानिसहरूले स्वर्गका परमप्रभुको रूपमा मान्छन्, र जहिले पनि “परमप्रभु, स्वर्गमा बस्नुहुने पिता” भनेर पुकारिरहेका हुन्छन्। के यो सबै ठट्टा होइन र? आजको दिनसम्म, त्यस्ता धेरै भनाइ र अभ्यासहरू मानवजातिमाझ हस्तान्तरण गरिएका छन् र ती सबै नै परमेश्वरका निम्ति घृणित छन्; तिनले परमेश्वरको अगाडिको बाटोलाई गम्भीर रूपमा अवरोध गर्छन्, र अझ भन्ने हो भने, मानवजातिको प्रवेशमा ठूलो अवरोध उत्पन्न गर्छन्। शैतानले मानवजातिलाई भ्रष्ट पारेको हदलाई पन्छाएर हेर्दा, मानिसहरूको भित्री अन्तस्करण पूर्ण रूपले विटनेस लीका कानुनहरू, लरेन्सका अनुभवहरू, वाचमेन निका सर्वेक्षणहरू र पावलका कामहरूले भरिएको हुन्छ। परमेश्वरका लागि मानिसमा काम गर्ने कुनै उपाय हुँदैन, किनकि तिनीहरूभित्र अति धेरै व्यक्तिवाद, कानुन, नियम, विनियम, प्रणाली र त्यस्तै अन्य कुराहरू हुन्छन्; मानिसको सामन्ती अन्धविश्वासी प्रवृत्तिबाहेक यी कुराहरूले मानवजातिलाई कब्जा गरेका र नाश पारेका छन्। यस्तो लाग्छ, मानिसहरूका विचारहरू एउटा चाखलाग्दो परिकथा वर्णन गर्ने पूर्ण रङ्गीन, विचित्रका प्राणीहरू बादलमा सवार हुने चलचित्र हो, र त्यो यति कल्पनाशील हुन्छ कि यसले मानिसहरूलाई चकित बनाउँछ, र तिनीहरू स्तब्ध र अवाक् बन्छन्। सत्य कुरा भन्नुपर्दा, परमेश्वर आज जुन काम गर्न आउनुभएको छ त्यो मुख्य रूपमा मानवजातिको अन्धविश्वासका कुराहरू काटछाँट गर्न र हटाउनका साथै तिनीहरूका मानसिक दृष्टिकोणलाई पूर्ण रूपान्तरण गर्नु हो। मानवजातिद्वारा पुस्तौंपुस्तादेखि हस्तान्तरण गरिँदै आएको उत्तराधिकारको कारण परमेश्वरको काम आजको दिनसम्म रहेको होइन; यो काम उहाँद्वारा व्यक्तिगत रूपमा सुरु भएको र उहाँद्वारा नै सम्पन्न भएको हो, यसमा सफल हुनको लागि कुनै खास महान् आत्मिक व्यक्तिको विरासत वा कुनै अर्को युगमा परमेश्वरले गर्नुभएको प्रतिनिधिमूलक प्रकृतिको कुनै पनि कामको उत्तराधिकार प्राप्त गर्नुपर्ने आवश्यकता परेन। मानवजातिले यी कुनै पनि कुराको बारेमा चिन्ता लिनुपर्दैन। आज परमेश्वरसँग बोल्ने र काम गर्ने शैली अर्कै छ, त्यसैले मानिसले किन आफैलाई दुःख दिनुपर्छ र? यदि मानिसहरू आफ्ना “पुर्खाहरू” का परम्परालाई जारी राख्दै वर्तमान प्रवाहभित्रको आजको बाटोमा हिँड्छन् भने, तिनीहरू कुनै पनि गन्तव्यमा पुग्नेछैनन्। जसरी परमेश्वरले मानव संसारको वर्ष, महिना र दिनहरूलाई घृणा गर्नुहुन्छ, त्यसरी नै मानिसको व्यवहारको यो विशेष तरिकाप्रति पनि उहाँले असाध्यै घृणा महसुस गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (३)
७६. शैतानले मानिसलाई सामाजिक प्रचलनहरूमार्फत् भ्रष्ट पार्छ र नियन्त्रण गर्छ। “सामाजिक प्रचलन” मा चर्चित र महान व्यक्तित्वहरूको आराधनाका साथै चलचित्र र साङ्गीतिक आदर्शहरू, सेलिब्रेटी भक्ति, अनलाइन गेमजस्ता विविध क्षेत्रहरूलगायतका धेरै पक्षहरू हुन्छन्—यी सबै नै सामाजिक प्रचलनका भागहरू हुन्, र यसबारे विस्तृतमा कुरा गर्न आवश्यक छैन। हामी मानिसहरूमा सामाजिक प्रचलनले ल्याउने विचारहरू, तिनले मानिसहरूलाई संसारसँग व्यवहार गर्न लगाउने तरिका, र मानिसहरूमा तिनले ल्याउने जीवनका लक्ष्यहरू र दृष्टिकोणका बारेमा मात्रै कुरा गर्नेछौँ। यी अत्यन्तै महत्त्वपूर्ण छन्; तिनले मानिसहरूका सोच र रायहरूलाई ळनियन्त्रण गर्न र प्रभाव पार्न सक्छन्। यी प्रचलनहरू एकपछि अर्को गर्दै उत्पन्न हुन्छन्, र ती सबैले मानिसहरूलाई विवेक, मानवता र समझ गुमाउने तुल्याउँदै, तिनीहरूको नैतिकता र सत्यनिष्ठा झन् कमजोर पार्दै, मानवजातिलाई निरन्तर नीच तुल्याउने दुष्प्रभाव ल्याउँछन्, यहाँसम्म कि धेरैजसो मानिसमा अब कुनै इज्जत, कुनै मानवता छैन, न त तिनीहरूसँग कुनै विवेक न त कुनै नैतिकता नै छ भनेरसमेत भन्न सकिने अवस्था छ। त्यसोभए, यी सामाजिक प्रचलनहरू के हुन् त? ती तैँले नाङ्गो आँखाले देख्न नसक्ने प्रचलनहरू हुन्। जब कुनै नयाँ प्रचलन संसारभरि फैलन्छ, सायद मानिसहरूको सानो सङ्ख्या मात्रै प्रचलन निर्माणकर्ताहरूको रूपमा अग्रणी स्थानमा रहेको हुन्छ। तिनीहरूले कुनै नयाँ कुरा गरेर यसको सुरुवात गर्छन्, त्यसपछि कुनै प्रकारको विचार वा कुनै प्रकारको दृष्टिकोणलाई स्वीकार गर्छन्। तैपनि बहुसंख्यक मानिसहरू अवचेतन अवस्थामै यस प्रकारको प्रचनलद्वारा निरन्तर रूपमा तबसम्म सङ्क्रमित, आकर्षित हुनेछन्, र तिनीहरूले यसलाई आत्मसात् गर्नेछन्, जबसम्म तिनीहरू सबैले यसलाई अनजान रूपमा र अनायसै स्वीकार गर्दैनन्, यसमा डुब्दैनन् र यसद्वारा नियन्त्रित हुँदैनन्। एकपछि अर्को गर्दै त्यस्ता प्रचलनहरूले तन्दुरुस्त शरीर र मस्तिष्क नभएका, सत्यता के हो भनी थाहा नभएका, र सकारात्मक र नकारात्मक कुराहरूबीचमा भिन्नता छुट्याउन सक्ने क्षमता नभएका मानिसहरूलाई यी कुराहरूका साथै शैतानबाट आउने जीवनसम्बन्धी दृष्टिकोण र मूल्यमान्यताहरू खुशीसाथ स्वीकार गर्ने तुल्याउँछन्। जीवनलाई कसरी लिने भन्नेबारेमा शैतानले तिनीहरूलाई बताएका कुराहरू र शैतानले तिनीहरूलाई “दिएका” जिउने शैलीहरू तिनीहरूले स्वीकार गर्छन्, र त्यसलाई विरोध गर्ने तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त क्षमता नै, चेतना हुने कुरा त परै जाओस्। …
… मानिसहरूलाई चरणबद्ध रूपमा दियाबलसहरूको गुँडसम्म लोभ्याउँदै ल्याउनका लागि शैतानले यी सामाजिक प्रचलनहरूको प्रयोग गर्छ, ताकि मानिसहरूले थाहै नपाई सामाजिक प्रचलनहरूमा पैसा, भौतिक चाहनाहरू, दुष्टता र हिंसालाई श्रद्धा गरून्। यी कुराहरू मानिसको हृदयमा प्रवेश गरिसकेपछि, मानिस के बन्छ? मानिस दियाबलस र शैतान बन्छ! किन? मानिसको हृदयमा कुन मनोवैज्ञानिक झुकाव हुन्छ? मानिसले केलाई आदर गर्छ? मानिसले दुष्टता र हिंसामा आनन्द लिन थाल्छ, अनि सुन्दरता वा भलाइप्रति कुनै प्रेम देखाउँदैन, शान्तिको त कुरै नगरौँ। मानिसहरू सामान्य मानवतामा एउटा सरल जीवन जिउन इच्छुक हुँदैनन्, बरु उच्च हैसियत र धेरै सम्पत्तिको आनन्द लिन, आफ्नो देहलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी नराखी र कुनै रोकावट वा बन्धनविना देहका आनन्दमा मस्त हुन चाहन्छन्; अर्को शब्दमा भन्दा, तिनीहरूलाई जे इच्छा लाग्छ, तिनीहरू त्यही गर्न चाहन्छन्। त्यसकारण, जब मानिस यस प्रकारका प्रचलनहरूमा डुबेको हुन्छ, के तैँले सिकेको ज्ञानले तँलाई आफैलाई मुक्त गर्न सहयोग गर्छ? के परम्परागत संस्कृति र अन्धविश्वाससम्बन्धी तेरो बुझाइले तँलाई यो भयानक अवस्थाबाट उम्कन सहयोग गर्न सक्छ? के मानिसलाई थाहा भएको परम्परागत नैतिकता र संस्कारले मानिसहरूलाई संयमता अभ्यास गर्न सहयोग गर्न सक्छ? उदाहरणको लागि, एनालेक्ट्स र ताओ ते चिङलाई लिऊँ। के यिनले मानिसहरूलाई यी दुष्ट प्रचलनहरूको दलदलबाट आफ्नो खुट्टा निकाल्न सहयोग गर्न सक्छन्? बिलकुलै सक्दैनन्। तसर्थ, मानिस झन्झन् दुष्ट, अहङ्कारी, हेपाहा, स्वार्थी, र दुर्भावनापूर्ण बन्दै जान्छ। मानिसहरूका बीचमा अब कुनै आत्मीयता छैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम छैन, आफन्त र इष्टमित्रबीच अब कुनै समझदारी छैन; मानव सम्बन्धहरू हिंसाद्वारा चित्रण भइसकेका छन्। हरेक व्यक्तिले आफ्ना सङ्गी मानिसहरूमाझ जिउनको लागि हिंसाको प्रयोग गर्न खोज्छ; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्नो दैनिक रोटी खोसेर लिन्छन्; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्नो हैसियत र नाफा कमाउँछन्, र आफूले गर्न चाहेको जुनसुकै कुरा गर्न तिनीहरूले हिंसात्मक र दुष्ट मार्गहरूको प्रयोग गर्छन्। के यो मानवजाति अत्यन्तै भयानक छैन र? छ, एकदमै धेरै हदसम्म त्यस्तै छ: तिनीहरूले परमेश्वरलाई क्रूसमा टाँग्ने काम मात्रै गरेका छैनन्, उहाँलाई पछ्याउने सबैको हत्यासमेत गरेका छन्—किनकि मानिस अत्यन्तै दुष्ट छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७७. “दुनियाँ पैसाको इसारामा चल्छ” भन्ने भनाइ शैतानको दर्शन हो। यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ; यो प्रचलन नै बनेको छ भनेर भन्न सकिन्छ। यस्तो किन हुन्छ भने यो हरेक व्यक्तिको हृदयमा घुसाइएको छ, र तिनीहरूले सुरुमा त यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्दहरू वास्तवमा साँचो छन् भन्ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूसँग यो भनाइको एउटै हदको अनुभवात्मक ज्ञान हुँदैन, तर आफ्नो वरिपरि घटेका घटनाहरू र आफ्ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्न सक्दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्भव हुन्छ भन्ने अनुभव गर्छौ त? मानिसहरूको सम्मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्नो उच्च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरै मानिसले पैसा पाउन कुनै पनि बलि चढाउँछन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्ने क्रममा आफ्नो गौरव र इज्जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र? तँमा यस प्रसिद्ध भनाइलाई इन्कार गर्नेदेखि लिएर यसलाई सत्यताको रूपमा स्वीकार गर्ने सम्मको परिवर्तन हुँदै जाँदा, तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा पर्छ, अनि त्यसकारण, तँ अपरिहार्य रूपमै यो भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्म प्रभाव पारेको छ? तैँले साँचो मार्ग चिनेको हुनसक्छस्, र तँलाई सत्यता थाहा हुनसक्छ, तर यसलाई खोजी गर्न तँ शक्तिहीन छस्। परमेश्वरका वचनहरू नै सत्यता हो भन्ने तँलाई स्पष्ट रूपमा थाहा हुनसक्छ, तर तँ सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउन वा कष्ट भोग्न अनिच्छुक छस्। बरु, अन्त्यसम्मै परमेश्वरलाई विरोध गर्नको लागि तैँले तेरो आफ्नै भविष्य र गन्तव्यलाई बलिदान दिनेछस्। परमेश्वरले जे भन्नुभए पनि, परमेश्वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्वरको प्रेम जति गहन र जति महान् भए पनि, तैँले त्यसलाई बुझ्न सक्थिस् भने, तैँले हठी भई तेरो आफ्नै मार्गमा हिँड्न र यस भनाइका लागि मूल्य चुकाउन जिद्दी गर्नेथिइस्। भन्नुको अर्थ, यो भनाइले तँलाई भ्रममा पारिसकेको र तेरा विचारहरूलाई नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारमाथि आधिपत्य जमाइसकेको छ र तैँले धनसम्पत्तिको खोजीलाई त्याग्नुको सट्टा यसैलाई तेरो नियतिमाथि शासन गर्न दिन्छस्। मानिसहरूले यसरी व्यवहार गर्न सक्नु, तिनीहरू शैतानको भनाइको नियन्त्रण र चालबाजीमा पर्न सक्नु—के यसको अर्थ तिनीहरू शैतानद्वारा भ्रममा पारिएका र भ्रष्ट तुल्याइएका छन् भन्ने हुँदैन र? के शैतानको दर्शन र मानसिकता अनि शैतानको स्वभावले तेरो हृदयमा जरा गाडिसकेको छैन र? जब तैँले अन्धाधुन्ध रूपमा धनसम्पत्तिको खोजी गर्छस्, अनि सत्यताको खोजीलाई त्याग्छस्, तब के शैतानले तँलाई भ्रममा पार्ने उद्देश्य हासिल गरिसकेको हुँदैन र? अवस्था ठ्याक्कै यही हो। त्यसो भए, शैतानले तँलाई भ्रममा पार्दा र भ्रष्ट तुल्याउँदा, के तैँले त्यो कुरा महसुस गर्न सक्छस्? के तैँले यसलाई अनुभव गर्न सक्छस् त? तैँले सक्दैनस्। यदि तैँले शैतानलाई आफ्नै अगाडि उभिएको देख्न सक्दैनस्, वा अँध्यारोमा काम गर्ने शैतान नै हो भन्ने महसुस गर्दैनस् भने, के तँ शैतानको दुष्टतालाई देख्न सक्षम हुन्छस् त? के तैँले मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ भनेर जान्न सक्छस् त? शैतानले मानिसलाई हरेक समय र हरेक स्थानमा भ्रष्ट तुल्याउँछ। शैतानले मानिसको लागि यो भ्रष्टताको विरुद्ध प्रतिरक्षा गर्ने कार्य असम्भव तुल्याउँछ र मानिसलाई यसको विरुद्ध विवश तुल्याउँछ। तँ अनजान भएको अवस्थामा र आफूलाई के भइरहेको छ सो तँलाई थाहा नभएको अवस्थामा शैतानले तँलाई त्यसका विचारहरू, त्यसका दृष्टिकोणहरू र त्यसबाट आउने दुष्ट कुराहरू स्वीकार गर्ने तुल्याउँछ। मानिसहरूले यी कुराहरूलाई स्विकार्छन् र यीप्रति कुनै आपत्ति जनाउँदैनन्। तिनीहरूले यी कुराहरूलाई सम्पत्ति जस्तै मनमा सजाएर आफूसँगै राखिरहन्छन् र तिनीहरूले यी कुराहरूलाई आफूमाथि चालबाजी र खेलबाड गर्न दिन्छन्; यसरी मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्, र तिनीहरूले अचेतन रूपमै शैतानको आज्ञापलन गर्छन्, र यसरी मानिसलाई भ्रष्ट तुल्याउने शैतानको कार्य झन्झन् गहिरो बन्दै जान्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
७८. मानिसलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने मुख्य चलाखीहरू छ वटा छन्
पहिलो भनेको नियन्त्रण र जबरजस्ती हो। अर्थात्, तेरो हृदयलाई नियन्त्रण गर्नका लागि शैतानले सम्भव भएको सबथोक गर्नेछ। “जबरजस्ती” भन्नुको अर्थ के हो? यसको अर्थ धम्कीपूर्ण र जबरजस्ती रणनीति प्रयोग गरेर तँलाई त्यसको आज्ञापालन गराउनु, र यदि तैँले आज्ञापालन गरिनस् भने आउने परिणामहरूका बारेमा तँलाई सोच्न बाध्य पार्नु हो। तँ डराउँछस् र त्यसको अवज्ञा गर्न आँट गर्दैनस्, त्यसैले तैँले हार मान्छस्।
दोस्रो भनेको धोका र छल हो। “धोका र छल” ले के कुरालाई संलग्न गर्दछ? शैतानले तँलाई ती विश्वास गर्ने तुल्याउन केही कथा र झूटहरू बनाउँदछ। मानिसलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हो भनेर त्यसले तँलाई कहिल्यै भन्दैन, न त त्यसले सीधै तँलाई तँ परमेश्वरद्वारा सृष्टि गरिएको होइनस् भनेर नै भन्छ। यसले “परमेश्वर” भन्ने शब्दको प्रयोग गर्दै-गर्दैन, बरु यसको सट्टामा अर्को कुनै कुराको प्रयोग गर्छ, यसरी परमेश्वरको अस्तित्वको बारेमा तँलाई आधारभूतरूपमा केही थाहा नै नहोस् भनेर तँलाई भ्रममा पार्नका लागि यो कुराको प्रयोग गर्छ। अवश्य नै, यो “चलाकी” मा यो मात्रै होइन, धेरै पक्षहरू समावेश हुन्छन्।
तेस्रो भनेको जबरजस्ती सैद्धान्तिकरण गर्नु हो। मानिसहरूलाई केद्वारा जबरजस्ती सैद्धान्तिकरण गरिन्छ? के जबरजस्ती सैद्धान्तिकरण मानिसको आफ्नै निर्णयद्वारा गरिन्छ? के यो मानिसको सहमतिमा गरिन्छ? त्यसरी अवश्य नै गरिँदैन। तैँले सहमति जनाइनस् भने पनि, तैँले यसको बारेमा गर्न सक्ने केही छैन। तेरो अनभिज्ञतामा, शैतानले त्यसका विचारहरू, जीवन सम्बन्धी त्यसका नियमहरू र त्यसको सार तँमा हालिदिँदै, त्यसले तँलाई सैद्धान्तिकरण गर्छ।
चौथो भनेको डरधम्की र छलछाम हो। अर्थात्, तँलाई शैतानले त्यसलाई स्वीकार गर्न, त्यसलाई पछ्याउन, र त्यसको सेवामा काम गर्न लगाउनको लागि विभिन्न चलाकीहरूको प्रयोग गर्छ। त्यसका लक्ष्यहरू हासिल गर्नको लागि त्यसले जेसुकै गर्नेछ। यसले कहिलेकाहीँ तँलाई सानो निगाह प्रदान गर्छ, यस क्रममा तँलाई लोभ्याएर पाप गर्न लगाउँछ। यदि तैँले त्यसलाई पछ्याएनस् भने, त्यसले तँलाई कष्ट दिन्छ र दण्ड दिन्छ, अनि तँलाई आक्रमण गर्न र तँविरुद्ध षड्यन्त्र गर्नको लागि विभिन्न तरिकाहरूको प्रयोग गर्छ।
पाँचौँ भनेको भ्रममा पार्ने काम र पक्षाघात हो। “भ्रममा पार्ने काम र पक्षाघात” भनेको जब शैतानले मानिसहरूको देहगत अवस्था, तिनीहरूको जीवन र भविष्यको बारेमा त्यो चिन्तित छ भन्नेजस्तो तुल्याउनको लागि मानिसहरूका धारणासँग मिल्ने र विश्वासलाग्दो सुनिने मीठा शब्द र विचारहरू मानिसहरूमा घुसाउँछ, जब वास्तविकतामा त्यसको एकमात्र लक्ष्य भनेको तँलाई मूर्ख तुल्याउनु भन्ने हुन्छ। त्यसपछि तँलाई सही के हो र गलत के हो भन्ने थाहा नहोस् भनेर, तँलाई अनजानमा छल गर्न सकियोस् र तँ त्यसको नियन्त्रणमा आउन सक् भनेर, त्यसले तँलाई पक्षाघात तुल्याउँछ।
छैटौं भनेको शरीर र मनको विनाश हो। शैतानले मानिसको कुन भागलाई नष्ट गर्छ? तँलाई विरोध गर्न नसक्ने तुल्याउनको लागि शैतानले तेरो मन नष्ट गर्छ, अर्थात् तेरो इच्छा विपरीत अलि-अलि गर्दै तेरो हृदय शैतानतर्फ फर्कन्छ। त्यसले तँमा यी कुराहरू हरेक दिन हालिदिन्छ, र हरेक दिन तँलाई प्रभाव पार्न र प्रशिक्षित गर्नका लागि यी विचार र संस्कृतिहरू प्रयोग गर्छ, तेरो इच्छालाई अलि-अलि गर्दै क्षय हुने तुल्याउँछ, ताकि अन्ततः तैँले उप्रान्त असल व्यक्ति बन्ने चाहना नगर्, ताकि तँ उप्रान्त तैँले “इन्साफ” भनी भन्ने गरेको कुराका लागि खडा नहो। अनजानमै, तँसँग उप्रान्त प्रवाहको विरुद्ध पौडने इच्छा शक्ति हुँदैन, बरु तँ यसैसँग बग्छस्। “विनाश” भनेको मानिसहरू उप्रान्त मानव होइन बरु तिनीहरूको आफ्नै छाया बनून् भनेर शैतानले तिनीहरूलाई अत्यन्तै कष्ट दिनु भन्ने हो। शैतानले तिनीहरूलाई निल्ने मौका छोप्ने बेला यही हो।
मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने यी हरेक जालझेलहरूले मानिसलाई विरोध गर्नै नसक्ने तुल्याउँछ; मानिसको लागि तीमध्ये कुनै पनि घातक हुनसक्छ। अर्को शब्दमा भन्दा, शैतानले जे गर्छ र त्यसले जुन जालझेल प्रयोग गर्छ, त्यसले तँलाई पतित तुल्याउन सक्छ, तँलाई शैतानको नियन्त्रणमा ल्याउन सक्छ र तँलाई दुष्टता र पापको दलदलमा फसाउन सक्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने जालझेलहरू यिनै हुन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
७९. यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, जीवनबारे नीच दृष्टिकोण, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र परमेश्वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरको देखा पराइलाई इच्छापूर्वक खोज्ने व्यक्ति त झन् छँदै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ र? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो
८०. शैतान मानवीय, न्यायसंगत र चरित्रवान् देखिए पनि, शैतानको सार निर्दयी र दुष्ट छ
शैतानले मानिसहरूलाई छल गरेर आफ्नो प्रतिष्ठा निर्माण गर्छ, र बारम्बार आफैलाई इन्साफको अग्रगामी र आदर्श व्यक्तिको रूपमा स्थापित गर्छ। इन्साफको रक्षा गर्ने झूटो बहाना गर्दै, यसले मानिसहरूलाई हानि गर्छ, तिनीहरूको प्राण निल्छ, अनि मानिसलाई अचेत बनाउन, भ्रममा पार्न र उक्साउन हरेक किसिमका माध्यमहरूको प्रयोग गर्छ। यसको उद्देश्य भनेको मानिसलाई यसको दुष्ट आचारण स्वीकार गर्न र त्यसमा साथ दिन लगाउनु, परमेश्वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्ने कार्यमा आफूसँगै मानिसलाई संलग्न गराउनु हो। तैपनि, जब कसैले यसका युक्तिहरू र षड्यन्त्रहरूलाई देख्छ र यसको घिनलाग्दो अनुहार छर्लङ्ग देख्छ, अनि जब कसैले यसद्वारा निरन्तर कुल्चिइन र यसद्वारा मूर्ख तुल्याइन वा यसको वशमा निरन्तर पर्न, वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब त्यसले पहिलेको सन्तको जस्तो आफ्नो अनुहार परिवर्तन गर्छ, त्यसको झूटो मकुन्डोलाई च्यात्छ, र त्यसको वास्तविक रूप प्रकट गर्छ, जुन दुष्ट, क्रूर, कुरूप र जङ्गली हुन्छ। त्यसलाई पछ्याउन इन्कार गर्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्ने बाहेक यसले अरू केही चाहँदैन। यस विन्दुमा, शैतानले त्यसपछि फेरि विश्वासयोग्य, भद्र स्वरूप धारण गरिरहन सक्दैन; बरु, भेडाको भेषमा लुकेको यसको कुरूप र दुष्ट रूप प्रकट हुन्छ। शैतानका युक्तिहरूको वास्तविकता बाहिर आइसकेपछि र यसका साँचो रूपको खुलासा भइसकेपछि, यो रिसले चूर हुनेछ र आफ्नो जङ्गलीपनलाई प्रकट गर्नेछ। यसपछि, मानिसहरूलाई हानि गर्ने र निल्ने यसको इच्छा झन्-झन् तीव्र मात्रै हुँदै जानेछ। मानिस सत्यताले जागेपछि यो रिसले चूर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाका कारण तिनीहरूप्रति त्यसले ठूलो घृणा र प्रतिकारको भावना विकसित गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्न र त्यसलाई कायम गराउनको लागि हो, र यो त्यसको जङ्गली प्रकृतिको साँचो प्रकटीकरण पनि हो।
हरेक मामलामा, शैतानको बानीबेहोराले यसको दुष्ट प्रकृतिलाई उदाङ्गो पार्छ। शैतानले मानिसमा गर्ने सबै दुष्ट कार्यहरूमध्ये—मानिसलाई भ्रममा पारेर त्यसको पछि लाग्ने तुल्याउने त्यसको प्रारम्भिक प्रयासदेखि, यसले मानिसलाई त्यसका दुष्ट कार्यहरूमा घिस्याउँदै लगेर गरेको शोषणसम्म, अनि यसका साँचो विशेषताहरूलाई उदाङ्गो पारिसकिएपछि र मानिसले यसलाई पहिचान गरेर त्यागिसकेपछि मानिस विरुद्धको यसको प्रतिकारसम्म—यीमध्ये एउटै पनि कार्यले शैतानको दुष्ट सारलाई उदाङ्गो पार्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्बन्ध छैन र सारा दुष्ट कुराहरूको स्रोत शैतान नै हो भन्ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसका हरेक कार्यहरूले त्यसको दुष्टतालाई रक्षा गर्छ, त्यसका दुष्ट कार्यहरूको निरन्तरता कायम राख्छ, न्यायसंगत र सकारात्मक कुराहरूको विरुद्धमा जान्छ, र मानवजातिको सामान्य अस्तित्वका कानूनहरू र नियमलाई नष्ट गर्छ। शैतानका यी कार्यहरू परमेश्वरको विरुद्ध छन्, र तिनीहरूलाई परमेश्वरको क्रोधले नष्ट गर्नेछ। शैतानको आफ्नै रिस भए तापनि, यसको रिस भनेको यसको दुष्ट प्रकृतिलाई पोखाउने माध्यम मात्रै हो। शैतान किन भड्किन्छ र क्रोधित हुन्छ त्यसको कारण यही हो: त्यसका अकथनीय युक्तिहरूलाई खुलासा गरिएको छ; त्यसका षड्यन्त्रहरूलाई सहजै जान दिइएको छैन; परमेश्वरको प्रतिस्थापन गर्ने र परमेश्वरको रूपमा काम गर्ने यसको उग्र महत्वाकांक्षा र इच्छालाई प्रहार र अवरुद्ध गरिएको छ; अनि सारा मानवजातिलाई नियन्त्रण गर्ने यसको लक्ष्य अहिले व्यर्थ र कहिल्यै हासिल गर्न नसकिने भएको छ। शैतानका षड्यन्त्रहरूलाई पूरा हुन नदिने र शैतानको दुष्टताको फैलावट र उच्छृङ्खलतालाई विफल तुल्याउने भनेको परमेश्वरले समय-समयमा धेरै पटक आह्वान गर्नुभएको उहाँको क्रोध नै हो। यही कारणले गर्दा, शैतानलाई परमेश्वरको क्रोधप्रति घृणा र डर दुवै छ। जब-जब परमेश्वरको क्रोध बाहिर निस्कन्छ, यसले शैतानको साँचो खराब स्वरूपलाई पर्दाफास गर्ने मात्र होइन, शैतानका दुष्ट चाहनाहरूलाई प्रकास पार्ने काम पनि गर्छ, र त्यस प्रक्रियामा, मानवजाति विरुद्धका शैतानका रिसहरू उदाङ्गो पारिन्छन्। शैतानको रिसको प्रस्फुटन यसको दुष्ट प्रकृतिको साँचो प्रकाश र यसका युक्तिहरूको प्रकटीकरण हो। अवश्य नै, शैतानलाई रिस उठ्दा हरेक पटक यसले दुष्ट कुराहरूको विनाश र सकारात्मक कुराहरूको सुरक्षा र निरन्तरतालाई उद्घोष गर्छ; यसले परमेश्वरको क्रोधलाई उल्लङ्घन गर्न सकिँदैन भन्ने सत्यता उद्घोष गर्छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २