परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

यदि तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छस् भने, तैँले सुरुमा सत्यता बुझ्नैपर्छ। तैँले सारा मनले सत्यता खोज्नैपर्छ। सत्यता खोजीमा, परमेश्वरका वचनहरू मनन गर्न सिक्नु नै कडी हो। परमेश्वरका वचनहरूको मनन गर्नुको उद्देश्य भनेको तिनको अर्थ बुझ्नु हो। तैँले खोजीमार्फत् नै परमेश्वरका वचनहरूको अर्थ, परमेश्वरले मानिसबाट माग गर्ने कुरा, र उहाँको वचनमा पाउन सकिने उहाँका अभिप्रायहरू बुझ्नेछस्। जब तँ त्यस्तो बुझाइमा पुग्छस्, तब सत्यता बुझ्नेछस्। तैँले सत्यता बुझेपछि तेरो अभ्यासलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू बुझ्न सजिलो हुन्छ, र त्यसपछि सत्यता अभ्यास गर्न सक्छस्। तैँले सत्यता अभ्यास गर्न सिकेपछि, सत्यता वास्तविकतामा प्रवेश गर्न थाल्नेछस्। त्यस्तो बेला, तैँले पहिले बुझ्न नसकेका कुराहरू बुझ्नेछस्, पहिले प्रस्टसित देख्न नसकेका कुराहरू देख्नेछस्, र पहिले सुल्झाउन असम्भव समस्याहरू सुल्झाउनेछस्। तैँले धेरै कुरामा प्रेरणा र नयाँ अन्तर्ज्ञान पाउनेछस्, तेरा लागि कार्यान्वयनका मार्गहरू खुल्नेछन्, र तँ लगातार सत्यता अभ्यास गर्न सक्षम हुनेछस्। यसरी तँ सत्यता वास्तविकतामा पूर्ण रूपले प्रवेश गर्नेछस्। तापनि, यदि तँ आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउँदैनस्, न त सत्यताका सिद्धान्तहरू खोज्छस्, यदि तँ अलमलमा वा दुविधामा छस्, र तैँले सक्दो सजिलो तरिकाले कामहरू गर्छस् भने त्यो कस्तो प्रकारको मानसिकता हो? यो झारातिरुवा शैलीमा काम गर्ने एउटा तरिका हो। यदि तँ आफ्नो कर्तव्यप्रति प्रतिबद्ध छैनस्, यदि तँसित त्यसप्रति जिम्मेवारी बोध, वा मिसनको कुनै बोध छैन भने, के तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्? के तैँले स्वीकार्य स्तरमा आफ्नो कर्तव्य निभाउन सक्नेछस्? अनि यदि तैँले आफ्नो कर्तव्य स्वीकार्य स्तरमा निभाउन सकिनस् भने, के तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्? अवश्य सक्नेछैनस्। यदि, प्रत्येक पटक आफ्नो कर्तव्य निभाउँदा, तँ उदासीन हुन्छस्, कुनै कोसिस गर्दैनस्, र कुनै गेम खेलिरहेको जस्तो सोचविचार नगरी अल्याङटल्याङ गर्छस् भने, के त्यो समस्या होइन? तैँले यसरी आफ्नो कर्तव्य निर्वाह गरेर के हासिल गर्न सक्छस्? अन्त्यमा, मानिसहरूले तँ आफ्नो कर्तव्य निभाउँदा, तँमा जिम्मेवारी बोध नभएको, लापरवाही र झाराटारुवा बनेको, अनि तैँले झारा मात्र टार्ने गरेको देख्छन्—जुन अवस्थामा तँई हटाइने खतरामा हुन्छस्। तैँले आफ्नो कर्तव्य निभाउँदाको सम्पूर्ण प्रक्रिया परमेश्वरले हेरिरहनुभएको हुन्छ, अनि परमेश्वरले के भन्नुहुनेछ? (यो व्यक्ति उहाँको आज्ञा वा भरोसाको लायक छैन।) परमेश्वरले तँ भरपर्दो छैन र तँलाई हटाउनुपर्छ भनेर भन्नुहुनेछ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा सामान्य जुनै कर्तव्य निर्वाह गरे पनि, यदि तँ आफूलाई सुम्पिएको काममा हृदय लगाउँदैनस् वा आफ्नो जिम्मेवारी पूरा गर्दैनस्, अनि त्यसलाई परमेश्वरको आज्ञाको रूपमा हेर्दैनस्, वा आफ्नो कर्तव्य र दायित्वको रूपमा लिँदैनस् र सधैँ लापरवाह तरिकाले कामकुरा गर्छस् भने, यो समस्या बन्नेछ। “भरोसायोग्य छैन”—यी दुई शब्दले तँ आफ्नो कर्तव्य कसरी गर्छस् भन्ने स्पष्ट पार्छन्। ती शब्दहरूको अर्थ के हो भने तेरो कर्तव्य गराइ मापदण्डअनुसार भएको छैन, र तँलाई निकालिएको छ अनि परमेश्‍वरले तेरो चरित्र ठिक छैन भन्नुहुन्छ। यदि तँलाई कुनै एउटा विषय सुम्पिइएको छ, तापनि त्यसप्रति तँ यस्तै मनोवृत्ति राख्छस् र तँ त्यसरी नै त्यसलाई सम्हाल्छस् भने, के भविष्यमा तँलाई अरू कुनै कामहरू दिइन्छ? के तँलाई कुनै महत्त्वपूर्ण कुरा सुम्पन सकिन्छ? तैँले साँचो पश्‍चात्ताप नदेखाउञ्जेल त्यसो गर्न बिलकुलै सकिँदैन। तर, परमेश्‍वरले भित्र मनमा तँप्रति सधैँ केही अविश्‍वास, र असन्तुष्टि राख्‍नहुनेछ। यो एउटा समस्या हुनेछ, हुनेछैन र? तैँले आफ्नो कर्तव्य निभाउने कुनै पनि अवसर गुमाउन सक्छस्, र तैँले मुक्ति नपाउलास्।

जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्छन्, तब तिनीहरूले वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेका हुन्छन्। यदि तैँले यो कार्य परमेश्‍वरको अघि गर्छस् भने, यदि तैँले आफ्‍नो कर्तव्य इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै गर्छस् र तँ परमेश्‍वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी तेरो दैनिक जीवनमा लागू गर्नुपर्छ त? तैँले “परमेश्‍वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्ने” कार्यलाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ सुस्त हुन र झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्‍न चाहन्छस्, र जब-जब तेरो ध्यान भड्किन्छ वा तैँले आफै मस्ती गरिरहेको हुन्छस्, तैँले यो सोच्नुपर्छ: “यस्तो व्यवहार गर्दा, के म अविश्‍वसनीय भइरहेको छु? के यसले मेरो हृदयलाई कर्तव्य पूरा गर्नमा लगाइरहेको छ? के यसो गरेर म निष्ठाहीन भइरहेको छु? यसो गरेर, के म परमेश्‍वरले मलाई सुम्‍पनुभएको कार्यभार पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?” तैँले यसरी नै आफ्‍नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले आफू कर्तव्यमा सधैँ लापरवाह र झाराटारुवा भएको, वफादार नभएको, र आफूले परमेश्‍वरलाई चोट पुर्‍याएको थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “मलाई त्यो बेला केही गलत छ भन्‍ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई लापरवाहीसाथ ढाकछोप गर्न खोजेँ। अहिले मात्रै मलाई म साँच्‍चै लापरवाह र झाराटारुवा बनेँ, र आफ्‍नो जिम्‍मेवारीको स्तरमा जिइनँ भन्‍ने थाहा भयो। ममा साँच्‍चै नै विवेक र समझको कमी रहेछ!” तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण अब, तैँले आफूलाई परिवर्तन गर्नुपर्छ! कर्तव्य निभाउनेबारे तेरो मनोवृत्ति गलत थियो। अतिरिक्त काम गरेजस्तै तँ यो काममा लापरवाह थिइस्, र तैँले यसमा आफ्‍नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि लापरवाह र झाराटारुवा भइस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्‍न र ताडना दिन लगाउनुपर्छ। आफ्‍नो कर्तव्य निभाउँदा तँसित यस्तो इच्‍छाशक्ति हुनुपर्छ। त्यसपछि मात्रै तैँले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छस्। तेरो विवेक सफा छ र कर्तव्य निभाउनेबारे तेरो मनोवृत्ति रूपान्तरित हुन्छ भने मात्रै तैँले आफूलाई परिवर्तन गर्न सक्छस्। जब तँ पश्चात्ताप गर्छस्, तैँले साँच्चै आफ्नो सारा हृदय, सारा मन, र सारा शक्ति कर्तव्य निर्वाह गर्नमा लगाउँछस् कि लगाउँदैनस् भनेर अक्सर चिन्तन गर्नैपर्छ; त्यसपछि, तैँले परमेश्वरका वचनहरू मापनका रूपमा प्रयोग गरेर र ती आफूमा लागू गरेर आफ्नो कर्तव्य निर्वाहमा अझै कस्ता समस्याहरू रहेछन् भनेर जान्नेछस्। यसरी निरन्तर समस्याहरू सुल्झाएर, के तैँले परमेश्वरको वचनअनुसार सारा हृदय, मनर शक्तिले आफ्नो कर्तव्य निर्वाहलाई वास्तविकतामा उतारिरहेको हुँदैनस् र? यस्तो तरिकामा आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको: के तैँले पहिल्यै सम्पूर्ण हृदय, मन, र शक्तिले त्यसो गरिसकेको होइनस् र? यदि विवेकले पटक्कै घोच्दैन, यदि तेरो योग्यता पुग्छ र तैँले आफ्नो कर्तव्य निर्वाहमा वफादारी देखाउन सक्छस् भने, तब मात्र तेरो हृदयमा साँच्चै शान्ति र खुसी छाउनेछ। आफ्नो कर्तव्य निर्वाह थप बोझ र अरू कसैका लागि गरिएको कामजस्तो बिलकुलै नभई एकदमै प्राकृतिक र जायज जिम्मेवारीझैँ लाग्नेछ। यस तरिकाले कर्तव्य निर्वाह गर्नाले तँलाई सन्तुष्ट र आफू परमेश्वरको उपस्थितिमा जिइरहेको अनुभूति हुनेछ। यस्तो व्यवहार गर्दा तँलाई मनमा शान्ति मिल्छ। के यसले तँलाई बढी मानव र कम जिउँदो लासजस्तो बनाउनेछैन र? के यस्तो व्यवहार गर्नु सजिलो हुन्छ? वास्तवमै हुन्छ, तर सत्यता नस्विकार्नेका लागि चाहिँ सजिलो हुँदैन।

खासमा, व्यक्तिले साँच्चै आफ्नो कर्तव्य पूरा गर्न सक्ने वा नसक्ने दुवै अवस्था उसको हृदयमा निर्भर हुन्छ। यदि उसले निरन्तर प्रवचनहरू सुन्छ, परमेश्वरको वचन निरन्तर पढछ, र अरूसित निरन्तर कुराकानी गर्छ भने, उसले सतही रूपमा सत्यता बुझे पनि, कम्तीमा निश्चित धर्मसिद्धान्तहरू बुझ्न सक्नेछ। उसले यी धर्मसिद्धान्तहरूलाई आफ्नो मापनको रूपमा लिएर आफूले कर्तव्य कति राम्ररी पूरा गरिरहेको छ र सही सिद्धान्तहरू पालना गरिरहेको छ कि छैन भनेर पनि मूल्याङ्कन गर्न सक्छ। विवेक र समझ भएका सबै मानिसहरूले यो बुझाइ हासिल गर्न सक्छन्। मानिसहरू कैयौँपटक झारा टार्दै र लापरवाहीसाथ आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो सारा शक्ति लगाउँदैनन्, झन् सत्यता खोज्ने र सिद्धान्तबमोजिम कार्य गर्ने त कुरै छाडौँ। तिनीहरू जुनसुकै कर्तव्यलाई पनि बेवास्ता गर्छन्। तिनीहरूले समस्या देख्लान्, तर समाधान भेट्टाउन खोजी गर्दैनन्, बरु त्यो आफ्नो सरोकारको कुरा होइन जस्तो गर्छन् र त्यो सुल्झाउन केही झाराटारुवा प्रयास गर्छन्। तिनीहरूलाई हृदयमा आफूलाई गाह्रो परिस्थितिहरूमा हाल्नुपर्छ, यस मामिलामा आफू गम्भीर हुनुपर्छ भन्ने लाग्दैन। तर, तिनीहरूले यस तरिकाले आफूलाई समायोजन गर्नाले तिनीहरूको भित्री अवस्था थाहै नपाई खराब हुन्छ। यदि तैँले आफ्नो कर्तव्य जिम्मेवारी बोध नगरी निभाउँछस् भने, तेरो हृदय नि झाराटारुवा र लापरवाह हुन्छै हुन्छ। जिम्मेवारीहरू लिन सकिनेछैन, झन् विश्वासी बन्नु त झन् परको कुरा हो। परिणामस्वरूप, पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन अस्वीकृत हुनेछ। तँ सधैँ कुनै नयाँ ज्योति र अन्तर्ज्ञानविना स्थापित नियम र नियामनहरू पालना गरिरहेको हुन्छस्, अनि झारा टार्नु सिवाय केही गरिरहेको हुँदैनस्। यसरी आफ्नो कर्तव्य पूरा गर्नु व्यर्थ हो, तैँले सेवा चढाउँदा पनि त्यो अपर्याप्त हुन्छ। यदि तैँले अपर्याप्त सेवा चढाइस् भने पनि के तँ विश्वासयोग्य सेवाकर्ता बन्न सक्छस्? पक्कै सक्दैनस्। अपर्याप्त सेवा चढाउने मानिसहरूलाई हटाउन मात्र सकिन्छ। केही बेसुद्धी मानिसहरू अलिकति पनि सत्यता बुझ्दैनन्। तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नु नै सत्यता अभ्यास गर्नु हो भन्ठान्छन्। तिनीहरू केवल आफ्नो कर्तव्य निर्वाह गरेर नै आफूले सत्यता अभ्यास गरिरहेको हुन्छ भन्ने सोच्छन्। यदि तैँले त्यस्तो व्यक्तिलाई “के तिमी सत्यता अभ्यास गर्न सक्छौ?” भनेर सोधिस् भने, उसले यसो भन्नेछ, “के मैले आफ्नो कर्तव्य निर्वाह गरेर सत्यता अभ्यास गरिरहेको छुइनँ र?” के ऊ सही हो? ती त बेसुद्धी व्यक्तिका शब्दहरू हुन्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रभावकारी रूपले सत्यता अभ्यास गर्न कम्तीमा पनि आफ्नो सारा हृदय, मन, र शक्ति त्यसमा लगाउनैपर्छ। तैँले प्रभावकारी रूपले सत्यता अभ्यास गर्न सिद्धान्तहरूअनुसार कार्य गर्नैपर्छ। यदि तैँले लापरवाह तरिकाले आफ्नो कर्तव्य निभाउँछस् भने त्यसको वास्तविक प्रभाव पर्दैन। तँ यसलाई सत्यता अभ्यास हो भन्न सक्दैनस्, त्यो सेवा गर्नुबाहेक अरु केही होइन। प्रस्टै छ, तँ सेवा मात्र गरिरहेको छस्, यो सत्यता अभ्यासभन्दा फरक कुरा हो। सेवा गर्नु भनेको केवल आफ्नै इच्छाअनुसार आफूलाई खुसी तुल्याउने काम गर्नु र आफूलाई गर्न मन नलाग्ने हर कुराको उपेक्षा गर्नु हो। तँ आफूले सामना गर्ने कठिनाहरूका बाबजुद कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैनस्। यसो हेर्दा, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको जस्तो देखिएला, तर त्यो सबै सेवा गरेको मात्र हो। सत्यता सिद्धान्तहरूअनुसार कार्य गरेर आफ्नो कर्तव्य निर्वाह नगर्ने जो कोहीले सेवा गर्नुबाहेक केही हासिल गरिरहेको हुँदैन। परमेश्वरको परिवारमा, धेरै मानिस मानव धारणा र कल्पनाहरूको भरमा आफ्नो कर्तव्य निर्वाह गर्ने कोसिस गर्छन्। तिनीहरू वर्षौसम्म जोतिन्छन् तर केही नतिजा देखिँदैन, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्न वा सिद्धान्त अनुसार कार्य गर्न सक्दैनन्। त्यसकारण, यदि मानिसहरू अक्सर आफ्नै इच्छाअनुसार कार्य गर्छन् र आफ्नै इच्छाअनुसार कर्तव्य निर्वाह गर्छन् भने, तिनीहरूले कुनै दुष्टता नगरे पनि, यसलाई सत्यता अभ्यास मानिँदैन। अन्त्यमा, तिनीहरूले आफ्नो वर्षौँको कामबाट सत्यताको कुनै कुरा बुझ्न सक्दैनन्, र तिनीहरूसित बाँड्न सक्ने कुनै अनुभव वा गवाहीहरू हुँदैनन्। किन यसो? किनभने मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न डोऱ्याउने अभिप्राय नै सही हुँदैन। तिनीहरू निश्चय आशिष् पाउनका लागि नै आफ्नो कर्तव्य पूरा गर्छन्, तिनीहरू परमेश्वरसित सौदा गर्न चाहन्छन्। तिनीहरू सत्यता प्राप्त गर्नकै लागि भनेर आफ्नो कर्तव्य निर्वाह गर्दैनन्। तिनीहरू आफूसँग अरू विकल्प नै नभएकाले कर्तव्य निभाउँछन्। यसै कारण, तिनीहरू सधैँ दुविधामा हुन्छन् अनि लापरवाह र अव्यवस्थित तरिकाले झारा टारिरहेका हुन्छन्। तिनीहरू सत्यता खोज्दैनन्, त्यसकारण त्यो सब सेवा चढाइरहेको मात्र हुन्छ। तिनीहरूले जति नै धेरै कर्तव्यहरू निभाए पनि, तिनीहरूका कार्यहरूले वास्तविक प्रभाव पार्दैनन्। मनमा परमेश्वरको डर हुनेहरूको हकमा भने कुरा फरक हुन्छ। तिनीहरू परमेश्वरको इच्छाबमोजिम कसरी कार्य गर्ने अनि परमेश्वरको परिवार र उहाँका चुनिएका मानिसहरूका फाइदाका लागि कसरी कार्य गर्ने भनेर निरन्तर मनन गरिरहेका हुन्छन्। तिनीहरू सधैँ सिद्धान्त र परिणामबारे गहन रूपले सोचिरहेका हुन्छन्। तिनीहरू जहिले पनि सत्यता अभ्यास गर्ने र परमेश्वरप्रति आज्ञाकारिता देखाउने कोसिस गरिरहेका हुन्छन्। यो हृदयको सही मनोवृति हो। यिनीहरू नै सत्यता खोज्ने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिस हुन्। यस्तो व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरद्वारा स्वीकृत हुन्छ र उसले उहाँको प्रशंसा पाउँछ। सत्यतालाई प्रेम नगर्ने मानिसहरू बाहिरी रूपमा आफ्नो कर्तव्य निभाइरहेको देखिए पनि, अलिकति पनि सत्यता खोज्दैनन्। तिनीहरू आफ्नै इच्छाअनुसार कार्य गर्छन् अनि आफूलाई बेफाइदा नहुने र फाइदा हुने कामहरू मात्र गर्छन्। तिनीहरू न्यूनतम कोसिस मात्र गर्छन् र कुनै पनि कठिनाइबाट टाढा बस्छन्, तर पनि परमेश्वरका चुनिएका मानिसहरूको अनुमोदन पाउन र राम्रो ख्याति कमाउन चाहन्छन्। यदि तिनीहरूको हृदय यसैमा केन्द्रित छ भने, के तिनीहरूले स्वीकार्य स्तरमा आफ्नो कर्तव्य निभाउन सक्नेछन्? अवश्यै सक्नेछैनन्। बाहिरी रूपमा तिमीहरू आफ्नो कर्तव्य निभाइरहेको देखिए पनि, खासमा तिमीहरूको हृदय परमेश्वरसामु जिइरहेको हुँदैन। तिमीहरूको सम्पूर्ण ध्यान स्वार्थी षड्यन्त्र र योजनामा केन्द्रित भएकाले, तिमीहरूले धेरै वर्षसम्म आस्था राखेका भए पनि बिलकुलै कुनै प्रगति गर्नेछैनौ। तिमीहरूले अक्सर भेला हुने, सँगै परमेश्वरका वचनहरू खाने र पिउने, प्रवचनहरू सुन्ने र सङ्गति गर्ने गरे पनि, परमेश्वरको वचन बन्द गरेर भेला स्थलबाट छुट्नेबित्तिकै तिमीहरूको हृदयमा त्यो केही रहँदैन। तेरो हृदयमा परमेश्वरको कुनै वचन, सत्यताको कुनै वचन रहँदैन। तिमीहरू कहिलेकाहीँ उहाँका वचनहरू नोटबुकमा लेख्छौ, तर ती मनमा राख्दैनौ, र सबै थोक तुरुन्तै बिर्सन्छौ। त्यसबाहेक, तिमीहरूले आफ्नो दैनिक जीवनमा परमेश्वरको वचनको सत्यतालाई कहिल्यै मनन गर्दैनौ। तिमीहरू आफ्नो कर्तव्य पूरा गर्दा सत्यता सिद्धान्तहरू कहिल्यै खोज्दैनौ। तिमीहरू आफूलाई जुनै कठिनाइ आइपरे पनि, लापरवाह र झाराटारुवा मनोवृति अपनाउँछौ। काँटछाँट र निराकरणमा पर्दासमेत, तिमीहरू कहिल्यै परमेश्वरलाई प्रार्थना गर्दैनौ वा सत्यता खोज्दैनौ। यो कुरामा तिमीहरू अविश्वासीहरू भन्दा केही फरक देखिँदैनौ। तिमीहरूले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भइसकेकोछ, तर तिमीहरूसित जीवन प्रवेश छ, नत सत्यता वास्तविकता नै छ। तिमीहरूको कर्तव्य निर्वाह नै सेवा गर्नु हो, र तिमीहरूको अभिप्राय भनेकै त्यस्तो सेवा र स्वर्गको राज्यको आशिष साटासाट गर्नु हो। यसमा कुनै शङ्का छैन। यस तरिकाले परमेश्वरमा विश्वास गर्दा, तिमीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न, जीवन र सत्यता हासिल गर्न कठिन हुन्छ। तिमीहरूमाझ राम्रो क्षमता भएकाहरू छन्, तर तिनीहरूको विश्वास एक दशकभन्दा पुरानो भए पनि, तिनीहरू धर्मसिद्धान्तका केही शब्दहरू फलाक्न मात्र सक्छन्, र धर्मसिद्धान्तका सतही शब्दहरूमै रोकिन्छन्। तिनीहरू थोरै धर्मसिद्धान्त बुझेकैमा सन्तुष्ट हुन्छन् र नियमहरू पालना गरे पुगिहाल्छ भन्ठान्छन्। तिनीहरूलाई गहिराइमा जान कठिन हुनेछ। यस्ता मानिसहरूको हृदयले सत्यता बुझ्ने प्रयास नगरेकाले तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने हद एकदमै सीमित हुन्छ। तिनीहरू निश्चित नियमहरू पालना गर्न मात्र सक्छन्। यदि तिमीहरूलाई आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कसरी अभ्यास गर्नुपर्छ भनी सोधियो भने, सायद तिमीहरू यसो भन्नेथियौ, “बढी प्रार्थना गर्ने, स्वेच्छाले कष्ट भोग्ने, आफ्नो कर्तव्य निर्वाह गर्दा अल्छी वा लापरवाह नबन्ने, सिद्धान्तहअनुसार कार्य गर्ने, र परमेश्वरको परिवारले माग गर्ने जुनै कुरमा पनि आज्ञापालन गर्ने।” तिमीहरू आफ्नो कर्तव्य निर्वाहको बाहिरी, धर्मसैद्धान्तिक पक्षहरूमा छलफल गर्न सक्षम छौ, तर सत्यता सिद्धान्तहरू मुछिएका विशेष समस्याहरूमा, तिमीहरूसित थोरै मात्र बुझाइ छ। यसले के देखाउँछ भने अधिकांश मानिसहरू सत्यताको शाब्दिक अर्थ मात्र बुझ्छन्, तर सत्यताको वास्तविकता बुझ्दैनन्। जस्तो कि, तिनीहरू साँच्चै सत्यता बिलकुलै बुझ्दैनन्। सत्यता नबुझ्ने मानिसहरूले सत्यताबारे केही शब्द र धर्मसिद्धान्तहरू बताउलान्, तर के हामीले तिनीहरूलाई सत्यता हासिल गरेको ठान्नुपर्छ? (पक्कै पर्दैन।) त्यसोभए, तिमीहरूले भविष्यमा के कुरामा ध्यान दिनैपर्छ? तिमीहरूले प्रार्थना गर्दै, भेला हुँदै, परमेश्वरका वचनहरू खाँदै र पिउँदै, प्रवचनहरू सुन्दै अनि परमेश्वरको प्रशंसाका भजनहरू गाउँदै सामान्य आत्मिक जीवन जिउनुपर्छ। तिमीहरूले नियमहरू बाहिरी रूपमा पालन गर्नुको अलावा आफ्नो कर्तव्य पटक्कै थाती राख्नु हँदैन, बरु त्यो राम्ररी निभाउनुपर्छ। तिमीहरूले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा पनि छः यदि तँलाई सत्यता पछ्याउने, सत्यता बुझ्ने र हासिल गर्ने इच्छा छ भने, तैँले परमेश्वरसामु शान्त रहन, सत्यता र परमेश्वरका वचनहरूलाई मनन गर्न सिक्नैपर्छ। के सत्यतालाई मनन गर्दा ध्यान दिनुपर्ने केही औपचारिकता छन्? कुनै नियमहरू छन्? कुनै समयसीमा हुन्छ? के तैँले त्यो निश्चित ठाउँमा गर्नुपर्छ? होइन—तैँले परमेश्वरका वचनहरूलाई जुनसुकै समय वा जुनसुकै ठाउँमा मनन गर्न सक्छस्। तिमीहरूले सामान्यतया फुर्सद वा दिवास्वप्नमा खर्चने समयलाई बचाएर परमेश्वरका वचनहरू र सत्यतालाई मनन गर्नमा खर्च गर, ताकि दिन खेर नजाओस्। मानिसहरू कसरी समय खेर फाल्छन्? तिनीहरू व्यर्थको गफ गर्दै, आफूलाई रूचि लाग्ने कामकुरा गर्दै, वा सत्यतासित कुनै सम्बन्ध नभएका झिनोमसिनो कुरामा संलग्न हुँदै दिन बिताउँछन्, र गर्ने कुरा केही नहुँदा, तिनीहरू बेतुकका कुरा र पहिल्यै भइसकेका कुराहरूबारे सोच्छन्। तिनीहरू भविष्य होला, भावी राज्य कहाँ हुनेछ र नरक कहाँ छ आदि कुराहरूको कल्पना गर्छन्। के यी झिनामसिना कुरा होइनन् र? यदि तैँले यो समयलाई सकारात्मक कुराहरूमा खर्चिस् भने—यदि तँ परमेश्वरसामु शान्त हुन्छस्, परमेश्वरका वचनहरूलाई मनन गरेर र सत्यतामा सङ्गति गरेर बढी समय बिताउँछस्, आफ्नो प्रत्येक कार्यबारे चिन्तन गर्छस्, ती कार्यलाई जाँच्नका लागि परमेश्वरसामु राख्छस् भने; त्यसपछि यदि तैँले आफूभित्र कुन-कुन समस्या सुल्झिएका छैनन् र आफ्नो कर्तव्य निभाउने क्रममा कस्ता कठिनाइहरू सुल्झाउन बाँकी छन्, र बारम्बार प्रकट हुने तेरा भ्रष्ट स्वभावहरूलाई—विशेष गरी परमेश्वरविरुद्ध सबैभन्दा विद्रोही र सबैभन्दा घातक—परमेश्वरका वचनहरूमा सत्यता खोजेर सुल्झाइएको छ कि छैन भनेर चिन्तन गरिस् भने; यदि यी सम्पूर्ण समस्याहरू तोकिएको समयाववधिमा सुल्झाउन सकिन्छ भने, तँ बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गरिरहेको हुनेछस्।

परमेश्वरका वचनहरूलाई कसरी मनन गर्नुपर्छ? पहिला, तैँले सामान्यतया प्रयोग गर्ने आत्मिक शब्दहरू र अभिव्यक्तिहरूबारे बारम्बार सोच् र सङ्गति गर्। आफैलाई सोध्: “मलाई यी कुराहरूको शाब्दिक र सैद्धान्तिक अर्थ थाहा होला, तर व्यावहारिक रूपमा तिनको अर्थ के हो? तिनले कस्तो व्यावहारिक पक्षलाई समेट्छन्? कसरी म ती आत्मिक अभिव्यक्तिहरूमा निहित वास्तविकता हासिल गर्न सक्छु? मैले कहाँबाट ती अभ्यास गर्न र तिनमा प्रवेश गर्न थाल्नुपर्छ?” तैँले यसरी मनन गर्नुपर्छ। परमेश्वरको वचनको मनन यहीँ सुरु हुन्छ। यदि व्यक्तिले परमेश्वरमा विश्वास गर्छ तर परमेश्वरका वचनहरू मनन गर्न सिकेको छैन भने सत्यता बुझ्न र अभ्यास गर्न कठिन हुन्छ। यदि व्यक्तिले सत्यता बुझ्न सक्दैन भने, के ऊ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) के उसले सत्यता वास्तविकतामा प्रवेश नगरी सत्यता हासिल गर्न सक्छ? के उसले सत्यता हासिल नगरी परमेश्वरको इच्छा पूरा गर्न सक्छ? (सक्दैन।) उसले सक्दैन—त्यो निश्चित छ। मानिसहरूले सत्यता नबुझ्ने हुनाले तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार मात्र जिउँछन्, र परमेश्वरको प्रतिरोध गर्छन्। के त्यस्ता मानिसहरूले कसरी कहिल्यै परमेश्वरको इच्छा पूरा गर्न सक्छन्? त्यो हुनै सक्दैन। त्यसोभए, व्यक्तिले परमेश्वरका वचनहरू कसरी मनन गर्नुपर्छ? उदाहरणका लागि, जब तँ बारम्बार उल्लेख गरिने वाक्यांश “परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने” बारे सोच्छस्, तब तैँले यो कुरा मनन गर्नुपर्छः परमेश्वरको डर मान्नु भनेको के हो? केही गलत कुरा भन्नु भनेको परमेश्वरको डर नमान्नु बराबर हो? के यसरी बोल्नु दुष्टता हो? के परमेश्वर त्यसलाई पाप मान्नुहुन्छ? कुन-कुन कार्यहरू दुष्ट हुन्? मेरो सोच, अभिप्राय, विचार, राय, मेरो बोली र कार्यको मनसाय र स्रोत, र ममा प्रकट हुने विविध स्वभाव—के यी सबै सत्यताबमोजिम छन्? परमेश्वर यीमध्ये कुन-कुन कुराहरूको प्रशंसा गर्नुहुन्छ र कुन-कुन कुराहरूलाई घृणा गर्नुहुन्छ? उहाँ कुन कुराको निन्दा गर्नुहुन्छ? मानिसहरूले कुन मामिलाहरूमा गल्ती गर्ने सम्भावना हुन्छ। यी सबै मनन गर्न योग्य छन्। के तिमीहरू सामान्यतया सत्यता मनन गर्छौ? (हामी सत्यता मनन गर्न धेरै समय खर्चदैनौँ; धेरैजसो समय हाम्रो मस्तिष्क स्वचालित हुन्छन्।) तिमीहरूले वर्षौँको दौडान कति समय खेर फालेका छौ त्यसबारे सोच त! तिमीहरूले सत्यता, परमेश्वरप्रतिको विश्वास, जीवन प्रवेश, अनि परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मामिलाहरूबारे कत्तिका सोचेका छौ? के तिमीहरूले यी मामिलाबारे गम्भीर रूपमा सोचेका छौ? जब तिमीहरूले सत्यता बुझ्ने गरी र त्यसलाई सिद्धान्तबमोजिम अभ्यास गर्ने गरी परमेश्वरका वचनहरू मनन गरेका हुन्छौ, तब प्रतिफल देख्न थाल्नेछौ, र जीवन प्रवेश गर्नेछौ। तिमीहरूलाई अझै परमेश्वरका वचनहरू मनन गर्ने तरिका थाहा छैन, न त तिमीहरूले सत्यता बुझेका नै छौ। तिमीहरू अझै जीवनमा प्रवेश गरेका छैनौ। यसपछि तँ लागिपर्नैपर्छ र तैँले पटक्कै समय खेर फाल्नु हुँदैन। जस्तो कि, कुनै व्यक्तिले जुनै उमेरको भए पनि, कसरी व्यापार गर्न सिक्ने, कसरीजीवन धान्ने र परिवार पाल्ने, कसरी राम्रो जीवन जिउने, अरूलाई कसरी व्यवहार गर्ने, आफ्नो भविष्य कस्तो होला आदि कुराबारे सोच्न थाल्नुको मतलब उसको दिमाग परिपक्व भएको छ र ऊ स्वतन्त्र जीवन जिउन सुरु गर्दै छ भन्ने हो। यस्ता कुराहरूबारे नसोच्ने र कहिल्यै नसोचेको व्यक्ति कुनै सोच र स्वतन्त्र विचार नभएको व्यक्ति हो। उसले जीवनसम्बन्धी यी कुराहरू बुझ्न सक्दैन, त्यसैले ऊ हरेक कुराका लागि आफ्नो आमाबुबामा भर पर्नैपर्छ। ऊ पैसा, खानेकुरा र लत्ता कपडाका लागि उनीहरूमा भर पर्छ। यदि आफ्ना आमाबुबाले उसको हेरचाह नगरेका भए, ऊ निस्सहाय, भोको र नाङ्गो हुनेथियो। के यस्तो व्यक्ति स्वतन्त्र रूपले जिउन सक्छ? के यो परिपक्व व्यक्ति हो? (पक्कै होइन।) तिमीहरू अहिले कुन चरणमा छौ? के तिमीहरू आफ्नो विश्वासमा वयस्क चरणमा पुगेका छौ? अहिले, यदि तिमीहरूलाई कसैले मलजल नगरेको भए, माथिले तिमीहरूलाई प्रचार नगरेको भए, कसैले तिमीहरूलाई अगुवाइ नगरेर बरु तिमीहरू आफैलाई परमेश्वरका वचनहरू खान र पिउन अनि भजनहरू सुन्न दिएको भए, के तिमीहरू जीवनमा प्रवेश गर्न सक्नेथियौ? के तिमीहरू सत्यता अभ्यास गर्न, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, र सिद्धान्तअनुसार कार्य गर्न सक्नेथियौ? (अहँ, सक्नेथिएनौ।) समस्या यसैमा छ। यसको मतलब तिमीहरू कदमा एकदमै साना छौ। तिमीहरू आफ्नो कर्तव्यसमेत राम्ररी निभाउन सक्दैनौ र अझै वयस्क अवस्थामा पुगेका छैनौ। वर्तमान परिस्थितिमा, यदि कसैले तँलाई अगुवाइ र गोठालो गर्छ भने, तैँले परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्। तँमा विश्वासी व्यक्तिको स्वरूप हुन्छ। तर यदि भविष्यमा तिमीहरूलाई मार्गदर्शन गर्ने कोही भएन भने, के तिमीहरू अडिग रहेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छौ कि सक्दैनौ, र तिमीहरूले सत्यता वास्तविकता कति हासिल गरेका छौ भन्ने कुरा खुलासा हुनेछैन र? यदि तिमीहरूले, त्यो समय नआइञ्जेल आफूमा कुनै सत्यता वास्तविकता नभएको थाहा पाएनौ भने, के यो चिन्ताजनक कुरा होइन? त्यो एकदमै खतरनाक कुरा हो! तँलाई परीक्षाहरू आइपर्दा, आफ्नो गवाही कसरी अडिग रहने भनेर थाहा हुनेछैन, र तँलाई परमेश्वरको इच्छा कसरी पूरा गर्ने भन्ने थाहा हुनेछैन। तँसित मार्ग हुनेछैन, तेरो हृदय दिशाहीन हुनेछ, र सत्यताले तँभित्र जरा गाड्नेछैन। त्यसोभए, तँ कसरी अडिग रहन सक्नेछस्? यदि तँमा सत्यता वास्तविकता छैन भने, प्रलोभनहरू आइपर्दा तैँले ठेस खानेछस्। तैँले दुष्ट काम गर्ने र मण्डलीको काम विफल पार्न खोज्ने झूटा अगुवाहरू वा ख्रीष्टविरोधीहरूको सामना गर्दा, तिनीहरूको वास्तविकता थाहा पाउन र तिनीहरूको पकडबाट फुत्किन सक्नेछैनस्। यदि तँ अझै त्यस्ता झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पछ्याउन सक्छस् भने, तँ समस्यामा पर्नेछस्। यी दुइटा प्रश्नले तेरो खुलासा गरेको हुनेछ, र तँ हटाइने खतरामा हुनेछस्। त्यसकारण, परमेश्वरमा विश्वास गर्नका लागि तैँले उहाँको वचन निरन्तर मनन गर्नुपर्छ र सत्यताबारे सोच्नुपर्छ। तैँले यसरी नै सत्यता वास्तविकतामा प्रवेश गर्न र सत्यता हासिल गर्न सक्छस्।

अहिले, के यस समाजमा जिउने मानिसहरूलाई धेरै प्रलोभन आइपर्छ? तँलाई चारैतिरबाट प्रलोभन, हर थरिका दुष्ट प्रवृत्ति, सबै थरिका संवाद, सबै थरिका सोच र दृष्टिकोण, सबै थरिका मानिसबाट सबै खाले लालचमा पार्ने र लोभ्याउने कुरा, सबै थरिका मानिसहरूका सबै थरिका शैतानी स्वरूपले तँलाई चारैतिरबाट घेर्छन्। यी सबै तैँले भोग्ने प्रलोभनहरू हुन्। उदाहरणका लागि, मानिसहरूले तँलाई उपकार गर्लान्, धनी बनाउलान्, तिनीहरू तँसित साथी बन्लान्, तँसित रोमान्टिक भेटघाट गर्लान्, तँलाई पैसा देलान्, जागिर देलान्, नाचगान गर्न बोलाउलान्, तँलाई शिष्टाचार देखाउलान्, वा उपहार देलान्। यी सबै कुरा सम्भवतः प्रलोभन हुन्। यदि परिस्थिति राम्रा भएन भने, तँ पासोमा फस्नेछस्। यदि तँ आन्तरिक रूपमा केही सत्यताले सुसज्जित छैनस् र तँमा कुनै वास्तविक कद छैन भने, तैँले यी चीजहरूको वास्तविकता देख्न सक्नेछैनस्, र ती सबै तेरा लागि पासो र प्रलोभन बन्नेछन्। एक तरिकाले, यदि तँमा सत्यता छैन भने, तैँले शैतानका चालहरू बुझ्न सक्नेछैनस्, र फरक-फरक मानिसहरूको शैतानी स्वरूप देख्न सक्नेछैनस्। तैँले शैतानलाई जित्न, देहगत कुरा त्याग्न, परमेश्वरप्रति आज्ञाकारी हुन सक्नेछैनस्। अर्को तरिकाले, सत्यता वास्तविकता छैन भने, तैँले सम्पूर्ण विविध दुष्ट प्रवृत्ति, दुष्ट दृष्टिकोण, र हास्यास्पद सोच र भनाइहरूको प्रतिरोध गर्न सक्नेछैनस्। यी कुरा आइपर्दा, एक्कासी मौसम चिसो भएजस्तो हुनेछ। सायद तँलाई हल्का चिसो मात्र लाग्नेछ, वा अलि बढी गम्भीर केही हुनेछ—सम्भवतः तँलाई घातक कोल्ड स्ट्रोक[क] होला। सम्भवतः तैँले पूर्ण रूपले विश्वास गुमाउनेछस्। यदि तँमा सत्यताको कमी छ भने, अविश्वासीहरूको संसारका शैतान र दियाबलसहरूको केही शब्दहरूले मात्र पनि तँलाई दुविधा र अलमल्लमा पार्नेछन्। तँमा आफूले परमेश्वरमा विश्वास गर्नुपर्छ कि पर्दैन र त्यस्तो विश्वास सही हो कि होइन भनेर प्रश्न उठ्नेछ। सायद, आज भेला हुँदा तँ राम्रो स्थितिमा छस्, तर भोलि घर जान्छस् अनि टिभी कार्याक्रमको दुईवटा श्रृङ्खला हेर्छस्। तँलाई लोभ्याइएको हुन्छ। तैँले राती सुत्नुअघि तैँले प्रार्थना गर्न बिर्सिन्छस्, र तेरो पूरै दिमाग उक्त टिभी कार्याक्रमको कथाले भरिएको हुन्छ। यदि तँ निरन्तर दुई दिनसम्म टिभी हेर्छस् भने, तेरो हृदय परमेश्वरबाट टाढिसकेको हुन्छ। तँलाई परमेश्वरको वचन पढ्न वा सत्यताबारे सङ्गति गर्न इच्छा लाग्न छोड्छ। तँ परमेश्वरलाई प्रार्थना गर्नसमेत चाहँदैनस्। तैँले मनमा जहिले पनि यसो भनिरहेको हुन्छस्, “म कहिलेचाहिँ केही गर्न सक्षम हुनेछु? म कहिले केही महत्त्वपूर्ण काम सुरु गर्न सक्छु? मेरो जीवन व्यर्थ हुनु हुँदैन!” के त्यो मन परिवर्तन भएको हो? सुरुमा, तँ सुसमाचार सुनाउन र परमेश्वरको गवाही दिन सक्न भनी सत्यताबारे अझ धेरै बुझ्न चाहन्थिस्। तँ अहिले किन परिवर्तन भएको छस्? तैँले चलचित्र र टिभी कार्याक्रमहरू हेरेरै शैतानलाई आफ्नो मन कब्जा गर्न दिइस्। तेरो कद वास्तवमै सानो छ। के तँलाई आफूमा यी दुष्ट प्रकोपहरू रोक्ने कद छ भन्ने लाग्छ? अहिले परमेश्वर तँलाई अनुग्रह देखाउनुहुन्छ र तँलाई तेरो कर्तव्य निभाउन उहाँको घरमा लानुहुन्छ। आफ्नो कद नबिर्सी। अहिले, तँ हरितगृहभित्रको फूल होस्, जसले बाहिरको हावा र वर्षा थेग्न सक्दैन। यदि मानिसहरू यी प्रलोभनहरू चिन्न र सामना गर्न सक्दैनन् भने, शैतानले तिनीहरूलाई जतिसुकै बेला कुनै पनि समय नियन्त्रण गर्न सक्छ। मान्छेको यस्तो सानो कद र दयनीय स्थिति छ। तँमा सत्यता वास्तविकता र सत्यताको बुझाइ नभएको कारण शैतानका सबै शब्दहरू तेरा लागि विषजस्तै हुन्। यदि तैँले यी कुराहरू सुनिस् भने, ती तेरो हृदयमा हटाउन नसकिने गरी टाँसिनेछन्। तैँले मनमा “म आफ्नो कान र आँखाहरू बन्द गर्नेछु” भन्छस्, तर तँ शैतानको प्रलोभनबाट उम्कन सक्दैनस्। तँ अरूबाट अलग्गै बस्दैनस्। यदि तैँले शैतानका शब्दहरू सुनिस् भने त्यसको प्रतिरोध गर्न सक्नेछैनस्। तँ पासोमा फस्नेछस्। तैँले आफ्नै लागि गरेको प्रार्थना र श्रापहरू काम लाग्नेछैन। तैँले प्रतिरोध गर्न सक्दैनस्। यस्ता कुराहरूले तेरो सोच र कार्यलाई प्रभाव पार्न सक्छन्। ती कुराले तेरो सत्यता पछ्याउने मार्ग छेक्न सक्छन्। तिनले तँलाई नियन्त्रण गर्न, परमेश्वरमा समर्पित हुनबाट रोक्न, निष्क्रिय र कमजोर पार्न, र परमेश्वरबाट टाढा राख्न सक्छन्। अन्त्यमा, तँ निकम्मा र बिलकुलै आशाहीन बन्नेछस्।

अहिले तँ आफू परमेश्वरप्रति बफादार छु भन्ठान्छस्। तँसित महत्त्वाकाङ्क्षा, अठोट, र परमेश्वरलाई सन्तुष्ट तुल्याउने लक्ष्य छ। तर तँ परमेश्वरबाट परीक्षाहरू आउँदा कसरी त्यसको सामना गर्नेछस्? तैँले आफू समर्पित बन्नेछु भन्छस्, तर जब परमेश्वर तेरो धारणा र कल्पनासित नमिल्ने कठिनाइ तेरोसामु राख्दिनुहुन्छ, तब तँ आफू उहाँमा समर्पित हुन नसक्दा के गर्न सक्छस्? जब परमेश्वर मानिसहरूलाई इनाम दिनुहुन्छ, त्यो तिनीहरूको मनोवैज्ञानिक आवश्यकता सुहाउँदो हुन्छ र तिनीहरूको धारणा र रुचिसित मिल्छ, त्यसकारण मानिसहरू उहाँमा समर्पित हुन सक्छन्। तर जब परमेश्वर तँबाट कुराहरू लिनुहुन्छ, तब तैँले कस्तो प्रतिक्रिया देखाउनेछस्? के तँ परमेश्वरका परीक्षाहरूमाझ र तेरा लागि उहाँले तयार गरेको वातावरणमा आफ्नो गवाहीमा दृढ रहन सक्छस्? के यो समस्या हुनेछ? जब तँ “म आफ्नो गवाहीमा निश्चय दृढ हुनेछु” भन्छस्, तब तेरा शब्दहरू देखावटीपन, बेवकुफी, अज्ञानता, र मूर्खता हुन्छन्। परमेश्वर तँलाई के गर्न चाहनुहुन्छ भन्ने कुरा के तँलाई थाहा छ? के तँलाई परमेश्वरले तेरो परिक्षण गर्न चाहनुको कारण थाहा छ? परमेश्वर तँमा के प्रकट गर्न चाहनुहुन्छ? तँ यसो भन्छस्, “ममा कष्ट स्विकार्ने इच्छा छ, म तयार छु, परमेश्वरले मलाई दिन सक्ने कुनै पनि परीक्षादेखि म डराउँदिन,” तर त्यसपछि अचानक तैँले कहिल्यै नसोचेको कुरा हुन्छ, जसका लागि कहिल्यै तयार तयार थिइनस्। त्यसोभए तेरो तयारीको के काम हुन्छ? केही काम हुँदैन। मानिलिऊँ तेरो स्वास्थ्य सधैँ राम्रो रहेको छ। तैँले आफ्नो कर्तव्य निर्वाह गरेको धेरै वर्ष भएको छ र परमेश्वरले तँलाई सबै रोगबाट जोगानुभएको छ। तेरो मार्ग सजिलो हुँदै आएको छ। अचानक, तँ एक दिन स्वास्थ्य परिक्षण गर्न जान्छस् र चिकित्सकहरूले तँलाई कुनै अनौठो रोग लागेको पत्ता लगाउँछन्, जसलाई पछि उनीहरूले निको नहुने रोगका रूपमा निदान गर्छन्। तेरो मनमा, कुनै शक्तिले ठूलो भेलबाढी ल्याएको जस्तो हुन्छ। तँ भन्छस्, “मण्डलीका कुनै दाजुभाइ-दिदीबहीनीलाई यो रोग लागेको छैन। मैले परमेश्वरमा सबैभन्दा लामो समय विश्वास गरेको छु, आफ्नो कर्तव्य निर्वाहमा सबैभन्दा सक्रिय हुँदै आएको छु, र सबैभन्दा धेरै कष्ट भोगेको छु। अनि मलाई नै यो रोग कसरी लाग्न सक्छ?” यस मामिलाबारे विचार गरेपछि, तँलाई यो परमेश्वरबाटको परीक्षा हो र त्यसप्रति समर्पित हुनुपर्छ भन्ने थाहा हुन्छ। अहिले, तँमा अझै परमेश्वरलाई प्रार्थना गर्ने विश्वास छ। तर तैँले केही समय प्रार्थना गरेर निको नभएपछि यस्तो सङ्कल्प गर्छस्, “परमेश्वर मलाई मर्न दिँदै हुनुहुन्छ। परमेश्वर मेरो जीवन लिन चाहनुहुन्छ!” के अब पनि तँ परमेश्वरप्रति समर्पित हुनेछस्? (सम्भवत हुनेछैनस्।) तँ यसो भन्दै रुनेछस्, “हे मेरा परमेश्वर! म मर्न चाहन्नँ। मैले पर्याप्त जीवन जिएको छैनँ। म अझै जवानै छु। मैले मेरो आधा जीवन मात्र अनुभव गरेको छु। मलाई थप केही वर्ष बाँच्न दिनुस्। मैले गर्न सक्ने अझै धेरै छ!” परमेश्वरलाई निको पारिमाग्न प्रार्थना गर्नु बेकार छ। तैँले जति नै जाँच गरिस् भने पनि, त्यसमा तेरो रोग निको नहुने प्रकारको नै भएको निस्कनेछ। उपचार गर्दा पनि तँ मर्नेछस्। उपचार नगर्दा पनि तँ मर्नेछस्। त्यसोभए तैँले के गर्नेछस् त? कैयौँपटक, जब परमेश्वर मानिसहरूको परीक्षा लिनुहुन्छ, तब तिनीहरू सुरुमा परमेश्वरका कार्यहरू सही र राम्रा छन् भन्ने सोच्छन्, तर जब निष्कर्ष प्रस्ट हुन्छ, तब तिनीहरू यस्तो सोच्छन्, “सायद साँच्‍चै नै परमेश्वरले म मरेको चाहनुहुन्छ। यदि परमेश्वर म मरेको चाहनुहुन्छ भने, मलाई मर्न देऊ!” त्यसैले तिनीहरू निष्क्रिय र असहाय भई मृत्यु पर्खेर बस्छन्। मृत्यु पर्खेर बस्ने यो कस्तो मनोवृति हो? के त्यसमा समर्पणताको कुनै तत्व छ? (छैन, त्यो भाग्य स्विकार्नु मात्र हो।) के यस्ता मानिसहरू वास्तवमा मर्ने इच्छा गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरू किन मृत्यु पर्खिरहेका हुन्छन्? मृत्यु आएपछि तिनीहरूसित मर्नुबाहेक कुनै विकल्प हुँदैन। विकल्पै छैन भने, तिनीहरूले त्यो स्विकार्नुबाहेक केही गर्न सक्दैनन्। यो “स्वीकार” निष्क्रिय विरोधको मनोवृति हो, गवाही दिने काम होइन। कतिपय मानिस भन्छन्, “परमेश्वरले मलाई मर्न दिइसक्नुभएको छ, त्यसैले मसँग गवाही दिन के बाँकी छ र?” परमेश्वरले तँलाई मर्न दिनुभए पनि, के तँ परमेश्वरको सृष्टि गरिएको प्राणी होइनस् र? के तँ आफ्नो कर्तव्य त्याग्नेछस्? के तैँले आफ्नो कर्तव्य पूरा गरेको छस्? के तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेको छस्? सुष्टि गरिएका प्राणीले दिनुपर्ने गवाहीमा दृढ हुनका लागि तँमा कस्तो खालको हृदय हुनैपर्छ? (म आफ्नो अनुभव बताउन चाहन्छु। केही दिनअघि, मेरो दाँत यति साह्रो दुख्यो कि त्यसले गर्दा म तीन दिनसम्म सुत्नै सकिनँ। तैपनि मैले प्रत्येक दिन आफ्नो कर्तव्य निभाउनुपरेको थियो। दिग्भ्रमित तुल्याउने मेरो टाउको दुखाइ साँच्चै असह्य थियो। मैले मनमनै अलि गुनासो गरेँ। मलाई आफ्नो कर्तव्य धेरै राम्ररी निर्वाह गरेको छु भन्ने लाग्थ्यो, तर मलाई यस्तो किन भइरहेको थियो? त्यस बेला, मलाई परमेश्वरको अभिप्राय बुझ्न सकिनँ भन्ने लागेको थियो। केही दाजुभाइ-दिदीबहीनीहरूले मलाई आफ्नो बारेमा मनन गर्न र आफूलाई चिन्न आग्रह गरे, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ र उहाँलाई खोजिरहेँ। मैले आफूले परमेश्वरको विरुद्धमा कुनै कुरामा विद्रोह गरेको पाइनँ। पछि, मलाई अय्यूबले परीक्षा भोग्दा श्रीमतीलाई भनेका यी वचनहरू सम्झेँ, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबले आफ्नो परीक्षाको बेला परमेश्वरको गवाही दिन सके। मैले आत्मचिन्तन गरेँ र आफूलाई राम्रो हुँदा मैले परमेश्वरको कसरी प्रशंसा गर्न सक्ने थिएछु, तर प्रतिकूल अवस्थामा नकारात्मक बनेँ र परमेश्वरविरुद्ध विद्रोह गरेँभन्ने बुझेँ। मलाई सृष्टि गरिएको योग्य प्राणीको तरिका होइन भन्ने लाग्यो, र यस बेला बल्‍ल मेरो विवेक उत्प्रेरित भयो। देहको विरुद्धमा विद्रोह गरेर परमेश्वरलाई सन्तुष्ट तुल्याउने मेरो इच्छा थियो। मैले सोच्थेँ, म बिरामी परेँ भने पनि परमेश्वरप्रति समर्पित हुनैपर्छ। जतिसुकै पीडा भए पनि, मैले आफ्नो कर्तव्य निर्वाहमा स्वेच्छाले लागिपर्नैपर्छ। यो मेरो आफ्नै अनुभव थियो।) तैँले जस्तोसुकै परीक्षाहरू सामना गर्नुपरे पनि, तँ परमेश्‍वरको अघि आउनैपर्छ—ठीक कुरा यही हो। तैँले आफ्‍नै बारेमा मनन गर्नुपर्छ र आफ्‍नो कर्तव्यमा ढिलाइ गर्नु हुँदैन। मनन मात्रै गर्ने र कहिल्यै पनि आफ्‍नो कर्तव्य पूरा नगरी निरर्थक कुरामा ध्यान दिने र जरूरी कुरालाई बेवास्ता गर्ने काम नगर्—त्यो मूर्ख तरिका हो। तँमाथि जे-जस्तो परीक्षा आइपरे पनि, तैँले यसलाई परमेश्‍वरले तँलाई दिनुभएको बोझको रूपमा लिनुपर्छ। मानौं कतिपय मानिसहरू रोग र सहनै नसकिने कष्टले थलिएका छन्, कतिले त मृत्युको समेत सामना गर्छन्। यस्तो परिस्थितिलाई तिनीहरूले कसरी लिनुपर्छ? धेरैजसो अवस्थाहरूमा, परमेश्‍वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्‍वरले तँमाथि जति नै गह्रौं बोझ दिनुभए पनि, त्यो तैँले बोक्‍नुपर्ने बोझ हो, किनभने परमेश्‍वरले तँलाई बुझ्‍नुहुन्छ, र तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने उहाँलाई थाहा छ। परमेश्‍वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्‍ने हदको हुनेछैन, त्यसकारण तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने कुरामा कुनै प्रश्‍न उठ्दैन। परमेश्‍वरले तँलाई जे-जस्तो बोझ, जे-जस्तो परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्‍वरका अभिप्रायहरूलाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्‍वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तैँले यसलाई बुझ्दैनस् भने त्यसको कुनै अर्थ हुनेछैन। जबसम्‍म तैँले आफ्नो कर्तव्यमा बफादारिताको साथ लागिरहन्छस् र विश्‍वासयोग्य भएर कर्तव्यमै लागिपर्छस्, तबसम्‍म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्। आफूलाई गम्‍भीर रोग लागेको र आफू मर्न लगेको देखेपछि, कतिपय मानिसहरूले मनमनै विचार गर्छन्: “मैले मृत्युबाट बच्‍नको लागि परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको हो—तर यतिका वर्ष मेरो कर्तव्य पूरा गरेपछि पनि, उहाँले मलाई मर्न दिन लाग्‍नुभएको छ जस्तै यस्तो देखिन्छ। म मेरो आफ्‍नै काम-काजमा लाग्‍नुपर्छ, मैले सधैँ गर्न चाहेका कुराहरू गर्नुपर्छ, र मैले यो जीवनमा नरमाएका कुराहरूमा रमाउनुपर्छ। म आफ्नो कर्तव्य थाती राख्न सक्छु” यो कस्तो मनोवृत्ति हो? तैँले यतिका वर्षदेखि आफ्‍नो कर्तव्य पूरा गर्दै आइरहेको छस्, तैँले यी सबै प्रवचनहरू सुनेका छस्, र अझै पनि तैँले सत्यतालाई बुझेको छैनस्। एउटै परीक्षाले तँलाई थिच्छ, तँलाई घुँडा टेकाउँछ, र तँलाई उदाङ्गो पार्छ। के यस्तो मानिस परमेश्‍वरको वास्ता पाउन योग्य हुन्छ? (तिनीहरू त्यसको लायक हुँदैनन्।) तिनीहरू पूर्ण रूपमा बफादारिताहीन छन्। त्यसो भए, तिनीहरूले यतिका वर्ष पूरा गर्दै आएको कर्तव्यलाई के भनेर चिनिन्छ? यसलाई “श्रम गर्नु” भनेर भनिन्छ, र तिनीहरूले आफूलाई समर्पित मात्रै गर्दै आएका थिए। यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, “परमेश्‍वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्‍वरले चाहे जे नै गर्नुभए पनि—मैले समर्पणता देखाउनैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—समर्पणता—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्‍वरप्रतिको समर्पणताको वास्तविकतामा जिउँनुपर्छ। यसबाहेक, परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, म आफ्नो कर्तव्यमा दृढ हुनैपर्छ,” के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्‍वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, “परमेश्‍वरले मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, मबाट धेरै पीडा हटाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मानिसहरूले पुस्तौं-पुस्तादेखि नजानेका सत्यता र रहस्यहरू मैले बुझेको छु। मैले परमेश्‍वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्‍वरको ऋण तिर्नैपर्छ! पहिले, मेरो कद अत्यन्तै सानो थियो, मैले केही पनि बुझेको थिइन, र मैले गर्ने हरेक कुरा परमेश्‍वरलाई चोट पुर्‍याउने किसिमका थिए। मैले भविष्यमा परमेश्‍वरको ऋण तिर्नको लागि अर्को मौका नपाउन सक्छु। मेरो जिउने समय जति नै बाँकी भएको भए पनि, मैले आफूसँग भएको थोरै शक्ति लगाएर परमेश्‍वरको लागि आफूले सक्दो गर्नुपर्छ, ताकि मेरो लागि यतिका वर्षसम्‍म गरिएको भरणपोषण व्यर्थमा गएन, यसले फल फलायो भन्‍ने कुरा परमेश्‍वरले देख्‍न सक्‍नुहोस्। म परमेश्‍वरलाई चैन दिन चाहन्छु, र अबउप्रान्त उहाँलाई चोट पुर्‍याउने वा निराशा तुल्याउने काम गर्नेछैन।” यसरी विचार गर्दा कसो होला? आफूलाई कसरी बचाउने वा कसरी उम्कने भनेर यस्तो विचार नगर्, “यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म मेरो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नेछु र बफादार हुनेछु। म बिरामी हुँदा कसरी बफादार हुन सक्छु र? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु र?” जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्‍वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्‍म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्‍वरलाई गनगन नगरी बस्‍न सक्छस्? (सक्छु।) अहिले “सक्छु” भनेर भन्‍नु सजिलो छ, तर जब तँमा साँच्‍चै यो कुरा आइपर्छ त्यो बेला “सक्छु” भन्नु यति सजिलो हुनेछैन। त्यसकारण, तिमीहरूले सत्यताको खोजी गर्नैपर्छ, धेरैपटक सत्यतामा कठिन परिश्रम गर्नुपर्छ, र यस्तो विचार गर्दै अझै बढी समय बिताउनुपर्छ, “म परमेश्‍वरका अभिप्रायहरूलाई कसरी सन्तुष्ट तुल्याउन सक्छु? म कसरी परमेश्‍वरको प्रेमको ऋण तिर्न सक्छु? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु?” सृष्टि गरिएको प्राणी भनेको के हो? के सृष्टि गरिएको प्राणीको जिम्‍मेवारी परमेश्‍वरका वचनहरू सुन्‍नु मात्रै हो? होइन—यो त परमेश्‍वरका वचनहरूमा जिउनु हो। परमेश्‍वरले हामीलाई यति धेरै सत्यता, यति धेरै मार्ग, र यति धेरै जीवन दिनुभएको छ, ताकि तँ यी कुराहरूमा जिउन सक्, र तैँले उहाँको लागि गवाही दिन सक्। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने यही नै हो, र यो तेरो जिम्‍मेवारी र दायित्व हो। तैँले बारम्बार यी कुराहरू मनन गर्नैपर्छ; यदि तँ सधैँ यी कुराहरू मनन गर्छस् भने, सत्यताका सबै पक्षको गहिराइमा पुग्नेछस्।

यदि मानिसहरू सत्यता पछ्याउने मार्गमा हिँड्दैनन् र सत्यता प्राप्त गर्न मेहनत गर्दैनन् भने ढिलोचाँडो ठेस खाएर लड्नेछन्। तिनीहरूलाई दृढ रहन गाह्रो हुनेछ किनकि तिनीहरूलाई आइपर्ने समस्याहरू तिनीहरूमा भएका थोरै ज्ञान र धर्मसिद्धान्तको भरमा समाधान गर्न सकिँदैन। तैँले सिद्धान्तहरूबारे जति नै राम्ररी बोल्न सकिस् भने पनि, वास्तविक कठिनाइहरू सुल्झाउन सक्नेछैनस्। तैँले छर्लङ्गै बुझ्नका लागि निरन्तर विविध सत्यताहरू मनन गर्नैपर्छ। त्यसपछि मात्र तैँले आइपर्ने जस्तोसुकै समस्या समाधान गर्नका लागि सत्यता प्रयोग गर्न सक्छस्। साँचो अर्थमा सत्यता बुझ्नेहरूले शब्द र धर्मसिद्धान्तहरूबारे कुरा गर्दैनन्। तिनीहरू सबै कुराहरू खुट्याउन र प्रस्ट देख्न सक्छन्, र तिनीहरू आफूले हरेक काम विश्वस्त भएर गर्छन्। यदि तँलाई आफूले सामना गर्ने परिस्थितिहरूमा सत्यता कसरी खोज्ने भन्ने थाहा छैन र सधैँ आफ्नै इच्छाअनुसार काम गर्छस् भने, तैँले कुनै हालतमा सत्यता बुझ्दैनस्। तैँले सत्यता बुझ्न आफ्नो कर्तव्य निर्वाहमा आउने समस्याहरू समाधान गर्न कसरी सत्यता प्रयोग गर्ने भनेर निरन्तर मनन गर्नैपर्छ। यदि तैँले यसरी मनन गरिनस् भने, के यी सत्यताहरू हासिल गर्न सक्छस्? यदि तैँले परमेश्वरका वचनहरू मनन गरिनस् भने, जति नै प्रवचनहरू सुनिस् भने पनि, जति नै धर्मसिद्धान्तहरू बुझिस् भने पनि, तँ सधैँ शब्द र धर्मसिद्धान्तहरूको स्तरमै रहनेछस्। यदि तँलाई यी शब्द र धर्मसिद्धान्तहरूबारे कसरी बोल्ने भनेर थाहा छ भने, यसले अक्सर तँलाई झुक्याएर परमेश्वरप्रतिको तेरो विश्वासले फल फलाइसकेको छ र तेरो कद एकदमै उच्च छ भनेर सोच्न लगाउन सक्छ, किनकि अहिले तँ जोसिलो र फूर्तिलो छस्। तर जब तथ्यहरू आइपर्दा अर्थात् परीक्षा र चुनौतीहरू आइपर्छन्, तब तैँले यी शब्द र धर्मसिद्धान्तहरूले कति थोरै सुरक्षा दिन सक्छन् भन्ने कुरा थाहा पाउनेछस्। तिनले तँलाई एउटा परीक्षाबाट जोगाउन सक्दैनन्, झन् परमेश्वरले मान्छेलाई लिने हर परीक्षा सजिलै पार गर्न सक्ने सुनिश्चित गर्ने त कुरै नगरौँ। बरु, तैँले यी शब्द र धर्मसिद्धान्तहरूले आफूलाई विनाशतिर लगेको महसुस गर्नेछस्। यस्तो बेला, तँलाई आफूले सत्यताबारे कति थोरै बुझ्ने रहेछु र आफू सत्यताको वास्तविकतामा अझै प्रवेश गरेको रहेनछु भन्ने थाहा हुनेछ। अक्सर, जब मानिसहरूलाई परीक्षाहरू आइपर्छन् र अघि बढ्ने बाटो देख्न सक्दैनन्, तब अन्त्यमा तिनीहरू सत्यताविना आफू असहाय भएको र धर्मसिद्धान्तबारे आफूले बोलेको सबै कुरा कति बेकार रहेछ भनेर महसुस गर्छस्। त्यसपछि मात्र तिनीहरूले आफूमा कति कमी रहेछ र आफू कति दयनीय रहेछु भन्ने बुझ्छन्। जब सबै थोक सुरक्षित र ठिकठाक हुन्छन्, तब तँलाई सधैँ आफूले सबै कुरा बुझेको अनुभूति हुन्छ। तँलाई आफ्नो विश्वास व्यर्थ छैन र आफूले त्यसबाट धेरै कुरा हासिल गरेको छु भन्ने लाग्छ। तँलाई लाग्छ, जेसुकै भए पनि, आफूले चिन्ता लिनुपर्ने कुरा छैन। खासमा, तँ केही शब्द र धर्मसिद्धान्त मात्र बुझ्छस्, जसको केही काम छैन। विपत्ति र प्रकोपको मुखमा, तँ अलमल्लमा पर्नेछस्, तँलाई त्यो परिस्थिति कसरी सामना गर्ने भन्ने थाहा हुनेछैन। परमेश्वरलाई प्रार्थना गर्दा, तँलाई के भन्ने वा के माग्ने भन्ने थाहा हुनेछैन। तैँले मार्ग भेट्टाउन सक्दैनस्। यसले मान्छे कति दयनीय हुन्छ भन्ने देखाउँछ। तेरो हृदयमा परमेश्वरको एउटै वचन हुँदैन र तँमा पवित्र आत्माको काम हुँदैन। तँ अन्धकारमा परिसकेको छस्। तैँले परमेश्वरप्रतिको विश्वासबाट केही प्राप्त गरेको छैनस्, र अहिले तँ मगन्तेझैँ निस्सहाय छस्। त्यसपछि मात्र तँलाई त्यत्रो वर्षको परमेश्वरप्रतिको आफ्नो विश्वासमा सत्यता वास्तविकता छँदै थिएनछ भन्ने महसुस हुन्छ। अब तँ पूर्ण रूपले खुलासा भएको छस्। यदि तँ परमेश्वरमा धेरै वर्ष विश्वास गरेर त्यस्तो स्थितिमा पुग्छस् भने, तँलाई हटाइने निश्चित छ।

फेब्रुवरी १२, २०१७

फूटनोटहरू:

क. कोल्ड स्ट्रोकः परम्परागत चिनियाँ चिकित्सामा प्रयोग गरिने शब्द, जसले घातक, ज्यानै लिन सक्ने, भित्री ठण्डालाई जनाउँछ, जुन बाहिरी तत्वहरूले निम्त्याउँछन्।

अघिल्लो: परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

अर्को: हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्