परमेश्‍वरलाई चिन्‍नु (५)

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६६

कुन ज्ञानचाहिँ परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्ने चाबी हो, के तिमीहरूलाई थाहा छ? यस विषयको अनुभवबाट भन्न सकिने कुराहरू धेरै छन्, तर त्योभन्दा पहिले मैले तिमीहरूलाई भन्नुपर्ने केही मुख्य बुँदाहरू छन्। परमेश्‍वरको धर्मी स्वभाव बुझ्‍नको निम्ति सर्वप्रथम परमेश्‍वरका भावनाहरू बुझ्‍नुपर्छ: उहाँले केलाई घृणा गर्नुहुन्छ, उहाँले केलाई घिनाउनुहुन्छ, उहाँले केलाई प्रेम गर्नुहुन्छ, कोप्रति उहाँ सहनशील र कृपालु हुनुहुन्छ र उहाँले कस्तो व्यक्तिलाई त्यो कृपा प्रदान गर्नुहुन्छ। यो एउटा मुख्य बुँदा हो। व्यक्तिले यो पनि बुझ्‍नुपर्छ कि परमेश्‍वर जति नै प्रेमिलो हुनुभए तापनि, मानिसहरूका निम्ति उहाँसँग जति नै कृपा र प्रेम भए तापनि, परमेश्‍वरले उहाँको हैसियत र पदको उल्लङ्‍घन गर्ने कसैलाई पनि सहन गर्नुहुन्‍न, न त उहाँको गरिमाको उल्लङ्‍घन गर्ने कसैलाई सहनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुने भए तापनि, उहाँले तिनीहरूलाई पुलपुल्याउनुहुन्न। उहाँले मानिसहरूलाई उहाँको प्रेम, उहाँको कृपा र उहाँको सहनशीलता दिनुहुन्छ, तर उहाँले तिनीहरूलाई कहिले पनि काखी च्याप्ने गर्नुभएन; परमेश्‍वरसँग उहाँका सिद्धान्तहरू र उहाँका सीमाहरू छन्। तैँले परमेश्‍वरको जतिसुकै प्रेम महसुस गरेको भए तापनि, त्यो प्रेम जतिसुकै गहिरो भए तापनि तैँले परमेश्‍वरलाई कहिले पनि अर्को व्यक्तिलाई जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा साँचो भए तापनि, यदि कुनै व्यक्तिले परमेश्‍वरलाई अर्को व्यक्तिको रूपमा मात्र, उहाँ सृष्टि गरिएको कुनै अर्को प्राणी हुनुभए जसरी, एक जना मित्र वा पूजा गरिने वस्तुको रूपमा मात्र हेर्छ भने, परमेश्‍वरले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुहुनेछ र तिनीहरूलाई त्याग्‍नुहुनेछ। यो उहाँको स्वभाव हो र मानिसहरूले यस विषयलाई लापरवाही भएर लिनु हुँदैन। यसैले, हामीले प्रायजसो आफ्नो स्वभावको बारेमा परमेश्‍वरले बोल्‍नुभएका यस्ता वचनहरू देख्छौं: तैँले कति ओटा मार्गहरू यात्रा गरेको छस्, तैँले कति काम गरेको छस् वा तैँले कति कष्ट भोगेको छस् भन्‍ने कुराले फरक पार्दैन, तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याइस् भने उहाँले तिमीहरू हरेकलाई तिमीहरूले गरेको कामको आधारमा बदला लिनुहुनेछ। यसको अर्थ यही हो कि परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ, तथापि मानिसहरूले परमेश्‍वरलाई एक मित्र वा आफन्तको रूपमा व्यवहार गर्नु हुँदैन। परमेश्‍वरलाई तेरो “दोस्त” नभन्। उहाँबाट तैँले जतिसुकै प्रेम प्राप्त गरेको भए तापनि, उहाँले तँलाई जतिसुकै सहन गर्नुभए तापनि तैँले परमेश्‍वरलाई कहिले पनि मित्रको रूपमा व्यवहार गर्नु हुँदैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो। के तिमीहरूले बुझ्दै छौ? के मैले यसबारेमा अझै केही बताउनुपर्छ? के यो विषयमा तिमीहरूसित कुनै पूर्व-बुझाइ रहेको छ? सामान्य रूपमा भन्दा, यो मानिसहरूले सजिलै गर्ने गल्ती हो, चाहे तिनीहरूले धर्मसिद्धान्तहरू बुझून् कि नबुझून् वा तिनीहरूले यो विषयको बारेमा पहिले कहिल्यै चिन्तन गरेका हुन् कि नहुन्। जब मानिसहरूले परमेश्‍वरलाई ठेस पुर्‍याउँछन्, कुनै एउटा घटना वा तिनीहरूले बोलेको कुनै एउटा कुराले त्यस्तो भएको नहुन सक्छ, बरु तिनीहरूको मनोवृत्ति वा तिनीहरू जुन स्थितिमा छन् त्यो स्थितिको कारण त्यस्तो भएको हुन सक्छ। यो एकदमै डरलाग्दो कुरा हो। केही मानिसहरू तिनीहरूसँग परमेश्‍वरको बुझाइ छ, तिनीहरूसँग उहाँको बारेमा केही ज्ञान छ, र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्ने केही काम-कुराहरू समेत गर्न सक्छन् भनी विश्‍वास गर्छन्। तिनीहरूले आफू परमेश्‍वरको बराबरी भएको र तिनीहरूले चलाखी पूर्वक आफूलाई परमेश्‍वरसँगको मित्रतासम्म पुर्‍याएको अनुभूति गर्न थाल्छन्। यस प्रकारका अनुभूतिहरू भयानक रूपमा गलत छन्। यदि तँसँग यसबारेमा गहन बुझाइ छैन भने—यदि तैँले यसलाई स्पष्टसँग बुझ्दैनस् भने—तैँले सजिलैसँग परमेश्‍वरलाई र उहाँको धर्मी स्वभावलाई ठेस पुर्‍याउन सक्छस्। तैँले अब यो कुरा बुझ्छस्, होइन त? के परमेश्‍वरको धर्मी स्वभाव अद्वितीय छैन त? के यो कहिल्यै कुनै मानिसको चरित्र वा नैतिक कद समान हुन सक्छ र? यो कहिल्यै पनि त्यस्तो हुन सक्दैन। त्यसकारण, चाहे परमेश्‍वरले मानिसहरूलाई जे-जसरी व्यवहार गर्नुभएको नै किन नहोस् वा उहाँले मानिसहरूका बारेमा जे-जस्तो सोच्नुभएको नै किन नहोस्, परमेश्‍वरको स्थान, अख्तियार, र स्थिति परिवर्तन कहिल्यै हुँदैन भन्‍ने कुरालाई तैँले कहिल्यै बिर्सनु हुँदैन। मानवजातिको लागि, परमेश्‍वर सधैँ नै यावत् थोकका प्रभु र सृष्टिकर्ता हुनुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६७

कथा १: एउटा बीउ, पृथ्वी, एउटा रुख, सूर्यको प्रकाश, चराहरू र मान्छे

एउटा सानो बीउ पृथ्वीमा खस्यो। ठूलो पानी पर्‍यो, र बीउबाट एउटा कोमल टुसा पलायो अनि यसका जरा बिस्तारै तलको माटोभित्र छिर्‍यो। समयसँगै, निर्दयी हावा र कठोर वर्षा झेल्दै, जूनको उज्यालो र अँध्यारो भाग बिस्तारै घट्ने, बढ्ने क्रमसँगै परिवर्तन भएका ऋतुहरूलाई हेर्दै टुसा हुर्कियो। ग्रीष्म याममा, टुसाले यस ऋतुको प्रखर रापलाई झेल्न सकोस् भनेर पृथ्वीले पानीको उपहार ल्याइदियो। र पृथ्वीकै कारण, टुसा गर्मीले आत्तिएन, र यसरी ग्रीष्म यामको कहाली लाग्दो गर्मी टर्‍यो। जब हिउँद आयो, पृथ्वीले टुसालाई आफ्नो न्यानो अङ्गालोमा बाँध्यो, र पृथ्वी र टुसाले एक-अर्कालाई बलियो गरेर पक्रिए। पृथ्वीले टुसालाई न्यानो बनाई राख्यो, त्यसैले हिउँदको कठोर जाडोमा पनि टुसा बाँच्न सफल भयो; टुसालाई हिउँदको चिसो बतास र हिम-आँधीले कुनै क्षति पुर्‍याएन। पृथ्वीमा आश्रित टुसा हुर्किएर साहसी र खुशी भयो; पृथ्वीको निःस्वार्थ पोषणले गर्दा हुर्केर स्वस्थ र बलियो भयो। खुशीसाथ यो हुर्कियो, वर्षामा गाउँदै, बतासमा झुल्दै र नाच्दै। टुसा र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन् …

वर्षहरू बिते, र टुसा हुर्किएर एउटा अग्लो रुख बन्यो। यो असङ्ख्य पातहरू भएका बलिया हाँगासहित पृथ्वीमाथि बलियो भएर उभियो। रुखका जराहरू पहिलेको जस्तै अझै पनि पृथ्वीको मुनि नै गाडिएका थिए, र अहिले यी जराहरू माटोको निकै तलसम्म पुगे। कुनै ताका सानो टुसा जोगाएको पृथ्वी अहिले महान रुखको आधार भएको थियो।

सूर्यको एउटा किरण रुखमा परेर टल्कियो। रुखले आफ्नो शरीर हल्लायो र परसम्म फैलिने गरी आफ्ना हात फैलायो र सूर्यको प्रकाशले उज्यालो बनाएको हावामा गहिरो सास फेर्‍यो। सोही समयमा रुखभन्दा तलको भुइँले पनि सास फेर्‍यो र पृथ्वीले ताजा भएको अनुभव गर्‍यो। त्यही बेला, हाँगाबाट हुँदै एउटा बतास बग्यो, र रुख ऊर्जाको लहर पैदा गर्दै आनन्द भावमा हल्लियो। रुख र सूर्यको प्रकाश एक-आपसमा निर्भर हुन्छन् …

मान्छेहरू रुखको शीतल छहारीमा बसे र फुर्तिलो, सुगन्धमय हावाको आनन्द उठाए। हावाले उनीहरूको मुटु र फोक्सोलाई सफा बनायो, र उनीहरूभित्र रहेको रगतलाई सफा बनायो, र उनीहरूको शरीर अब सुस्त वा अवरुद्ध रहेन। मान्छे र रुख एक-आपसमा निर्भर हुन्छन् …

चिरबिर गर्ने स-साना चराहरूको एउटा झुण्ड रुखको हाँगाहरूमा आएर बसे। शायद, उनीहरू त्यहाँ कुनै परभक्षीबाट जोगिन वा उनीहरूको बच्चा जन्माउन र हुर्काउन आएका थिए, वा शायद उनीहरू त्यहाँ केही समयका लागि विश्राम लिन मात्रै आएका थिए। चरा र रुख एक-आपसमा निर्भर हुन्छन् …

रुखका जराहरू, बाङ्गिदै र बटारिँदै, पृथ्वीको तलसम्म गाडिए। यसको मूल काण्डद्वारा यसले पृथ्वीलाई हावा र वर्षाबाट आश्रय दियो, र यसको फैलिएका जराहरूले रुखको फेदमुनि रहेको पृथ्वीको रक्षा गरे। पृथ्वी रुखको आमा भएकाले रुखले यसो गरेको हो। उनीहरूले एक-अर्कालाई सुदृढ बनाए र एक-आपसमा निर्भर रहे, र उनीहरू कहिल्यै छुट्टिने छैनन् …

…………

मैले भर्खरै गरेका सबै कुराहरू तिमीहरूले पहिले नै देखेका कुराहरू हुन्। उदाहरणका लागि, बीउहरू हुर्केर रुख बन्छन्, र यो प्रक्रियाको प्रत्येक विवरण तैँले देख्न नसके पनि, यही हुन्छ भनेर तँलाई थाहा हुन्छ, होइन त? तँलाई पृथ्वी र सूर्यको प्रकाशका बारेमा पनि थाहा छ। कुनै पनि रुखमा बसेका चराहरूको दृश्य सबैले देखेको छ, होइन र? र रुखको छहारीमा मानिसहरू बसेर शीतल तापेको दृश्य—तिमीहरू सबैले देखेको दृश्य हो, होइन? (हो।) तसर्थ, यी सबै कुराहरू एउटै चित्रको रूपमा प्रस्तुत हुँदा, उक्त चित्रले कस्तो भावनाको सिर्जना गर्दछ? (सहिष्णुताको भावना।) यस्तो कुनै चित्रमा भएका प्रत्येक कुराहरू के परमेश्‍वरबाट नै आएका हुन्? (हुन्।) यी चिजहरू परमेश्‍वरबाट आएका हुनाले, यी विभिन्न कुराहरूको सांसारिक अस्तित्वको मूल्य र महत्त्व परमेश्‍वरलाई थाहा छ। जब परमेश्‍वरले यी सबै कुराहरूको सिर्जना गर्नुभयो, जब प्रत्येक कुराको योजना र सिर्जना गर्नुभयो, उहाँले उद्देश्यका साथ गर्नुभयो; र जब उहाँले यी कुराहरूको सिर्जना गर्नुभयो, प्रत्येकमा जीवन भरिएको थियो। मानवजातिको अस्तित्वका लागि उहाँले सिर्जना गर्नुभएको वातावरणमा, हाम्रो कथामा व्याख्या गरिएजस्तै, एउटा बीउ र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन्, जहाँ पृथ्वीले बीउलाई पोषण प्रदान गर्दछ र बीउहरू पृथ्वीसँग जोडिएका हुन्छन्। यो सम्बन्ध परमेश्‍वरले गर्नुभएको सृष्टिको सुरुवातमा उहाँबाट आज्ञा भएको हो। रुख, सूर्यको प्रकाश, चराहरू र मान्छेहरू मानवजातिका लागि परमेश्‍वरले सिर्जना गर्नुभएको जीवन्त वातावरणको एक चित्रण हो। पहिलो कुरा, रुखले पृथ्वी छोड्न सक्दैन न सूर्यको प्रकाशविना यो बाँच्न नै सक्छ। त्यसो भए, रुखको सिर्जना गर्नुको प्रभुको उद्देश्य के थियो त? के यो पृथ्वीको लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? के यो चराहरूको लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? के यो मान्छेहरूका लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? (सक्दैनौं।) यिनीहरू बीचको सम्बन्ध के हो? उनीहरू बीचको सम्बन्ध परस्पर सुदृढ बनाउने, अन्तरनिर्भरता तथा अविभाज्यता हो। यसको अर्थ, पृथ्वी, रुख, सूर्यको किरण, चराहरू तथा मान्छेहरू अस्तित्व तथा पालन पोषणका लागि एक-अर्कामा निर्भर रहेका हुन्छन्। रुखले पृथ्वीको रक्षा गर्दछ, र पृथ्वीले रुखको पालन पोषण गर्दछ; सूर्यको किरणले रुखलाई पोषण प्रदान गर्दछ भने रुखले सूर्यको किरणबाट ताजा हावा लिन्छ र सूर्यबाट पृथ्वीमा पर्ने प्रचण्ड गर्मीलाई कम गर्दछ। यसबाट अन्त्यमा कसले लाभ लिन्छ? मानवजातिले, होइन त? यो मानवजाति जिउने, अर्थात् परमेश्‍वरले सिर्जना गर्नुभएको वातावरणसँग अन्तर्निहित रहेका सिद्धान्तहरू मध्येको एक हो; प्रारम्भदेखि प्रभुले राख्नुभएको अभिप्राय पनि यही नै हो। यो चित्र सामान्य देखिए तापनि, हामीले यसभित्र परमेश्‍वरको बुद्धि तथा अभिप्रायलाई देख्न सक्छौं। मानवजाति पृथ्वी वा रूखहरूविना बाँच्न सक्दैन, र चराहरू र सूर्यको प्रकाशविना बाँच्‍न त एकदमै गाह्रो पर्दछ। होइन त? यो एउटा कथा मात्रै भए तापनि, स्वर्ग र पृथ्वी र सबै थोक र मानवजाति बाँच्न सक्ने वातावरणको रूपमा रहेको उहाँको उपहारको सूक्ष्म रूपलाई यसले चित्रण गर्दछ।

परमेश्‍वरले मानवजातिका लागि स्वर्ग र पृथ्वी र यावत् थोकका साथै बसोबास गर्ने वातावरण सृष्टि गर्नुभयो। सुरुमा, हाम्रो कथाको मुख्य बुँदाले परस्पर सुदृढीकरण, अन्तर्निर्भरता र सबै कुराहरूको सहअस्तित्वको बारेमा सम्बोधन गर्‍यो। यो सिद्धान्तअन्तर्गत, मानवजातिको अस्तित्व रहेको वातावरणको रक्षा हुन्छ; यो अस्तित्वमा रहन र दिगो हुन सक्छ। यसैको कारण, मानवजातिले प्रगति तथा प्रजनन गर्न सक्छ। हामीले देखेको चित्र रूख, पृथ्वी, सूर्यको प्रकाश, चराचुरुङ्गी र मान्छे सँगसँगै भएको चित्र हो। के यो चित्रमा परमेश्‍वर हुनुहुन्छ? त्यहाँ कसैले पनि परमेश्‍वरलाई देखेन। तर उसले दृश्यमा भएका चीजहरूबीचको परस्पर सुदृढीकरण र अन्तर्निर्भरताको नियम देख्यो; यो नियममा परमेश्‍वरको अस्तित्व र सार्वभौमिकता देख्‍न सकिन्छ। परमेश्‍वरले सबै कुराहरूको जीवन र अस्तित्व जोगाउनका लागि यस्तो सिद्धान्त र यस्तो नियम प्रयोग गर्नुहुन्छ। यसरी, उहाँले यावत् थोक र मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ। के यो कथा हाम्रो मुख्य विषयसँग सम्बन्धित छ? सतही रूपमा, यो सम्बन्धित नभएजस्तो देखिन्छ, तर वास्तवमा, जुन नियमअनुसार परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो ती नियमहरू र सबै थोकमाथिको उहाँको प्रभुत्व सबै थोकको लागि जीवनको स्रोत उहाँ नै हुनुहुन्छ भन्‍ने कुरासँग घनिष्ठ रूपमा जोडिएका छन्। यी तथ्यहरू अभिन्‍न छन्। अब, तिमीहरूले केही कुरा सिक्‍न सुरु गर्दै छौ!

परमेश्‍वरले यावत् थोक सञ्‍चालन गर्ने नियमहरूमाथि हुकुम चलाउनुहुन्छ; उहाँले यावत् थोकको अस्तित्वमाथि शासन गर्ने नियमहरूमाथि हुकुम चलाउनुहुन्छ; उहाँले सबै कुराहरू नियन्त्रण गर्नुहुन्छ, र ती कुराहरूलाई परस्पर मजबुतीकरण र निर्भरता हुने गरी मिलाउनुहुन्छ, ताकि तिनीहरू नष्ट वा लोप नहोऊन्। यसरी मात्रै मानवजाति बाँचिरहन सक्छ; यसरी मात्रै तिनीहरू परमेश्‍वरको मार्गनिर्देशनमा रही यस्तो वातावरणमा बाँचिरहन सक्छन्। परमेश्‍वर यी सबै कुराहरू सञ्‍चालन गर्ने नियमहरूको मालिक हुनुहुन्छ, र कसैले पनि यी नियमहरूमा हस्तक्षेप गर्न सक्दैन, न त यी नियमहरूलाई परिवर्तन नै गर्न सक्छ। यी नियमहरू परमेश्‍वरलाई मात्रै थाहा छ, र परमेश्‍वरले मात्रै यी नियमहरूको व्यवस्थापन गर्नुहुन्छ। रूखहरू कहिले उम्रन्छन्; वर्षा कहिले हुन्छ; पृथ्वीले बोटबिरुवालाई कति पानी र कति पोषक तत्त्वहरू दिन्छ; कुन ऋतुमा पातहरू झर्छन्; रूखहरूले कुन ऋतुमा फल दिन्छन्; सूर्यको किरणले रूखहरूलाई कति पोषण दिन्छ; सूर्यको किरण पाइसकेपछि रूखहरूले सासको रूपमा के छोड्छन्—यी सबै कुराहरू परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा नै कसैले पनि तोड्न नसक्‍ने नियमहरूको रूपमा पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्‍वरले सृष्टि गर्नुभएका ती सबै कुराहरू जीवित भए पनि, वा मानिसको नजरमा, निर्जीव भए पनि, उहाँकै हातमा छन्, उहाँले नै तिनीहरूलाई नियन्त्रण गर्नुहुन्छ र उहाँले नै तिनीहरूमाथि शासन गर्नुहुन्छ। कसैले पनि यी नियमहरू परिवर्तन गर्न वा तोड्न सक्दैन। यसो भन्‍नुको अर्थ, जब परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो, तब उहाँले पृथ्वीविना रूखले जरा हाल्न, उम्रन र बढ्न सक्दैन; यदि पृथ्वीमा कुनै रूखहरू छैनन् भने पृथ्वी सुक्खा हुन्छ; रूख चराहरूका लागि घर र तिनीहरूले हावाहुरीबाट बच्न आश्रय लिन सक्‍ने ठाउँ हुनुपर्छ भन्‍ने कुरा पूर्वनिर्धारित गर्नुभयो। के पृथ्वीबिना रूख बाँच्न सक्छ? अवश्य सक्दैन। के यो घाम र पानीबिना बाँच्न सक्छ? यीबिना पनि बाँच्न सक्दैन। यी सबै चिजहरू मानवजातिका लागि हुन्, मानवजातिको अस्तित्वका लागि हुन्। रूखबाट मानिसले ताजा हावा प्राप्त गर्छ, र पृथ्वीमा मानिस बस्छ, अनि पृथ्वीलाई रूखले रक्षा गर्छ। मानिस सूर्यको किरण वा विभिन्‍न जीवित प्राणीहरूविना बाँच्न सक्दैन। यी सम्बन्धहरू जटिल भए तापनि, तैँले के याद राख्‍नुपर्छ भने सबै चीजहरूले एकअर्कालाई मजबुत पार्न सकून्, एकआपसमा निर्भर रहन सकून् र सहअस्तित्व कायम गर्न सकून् भनेर यावत् थोकमाथि शासन गर्ने नियमहरू परमेश्‍वरले नै बनाउनुभएको हो। अर्को शब्दमा भन्‍नुपर्दा, उहाँले सृष्टि गर्नुभएका प्रत्येक चीजको आ-आफ्नै मूल्य र महत्त्व छ। यदि परमेश्‍वरले कुनै महत्त्वहीन चीजको सृष्टि गर्नुभएको भए, उहाँले उक्त चीजलाई लुप्त बनाइदिनुहुनेथ्यो। परमेश्‍वरले सबै चीजहरूका लागि प्रबन्ध गर्ने तरिकाहरू मध्येको एक यही हो। यो कथामा “प्रबन्ध गर्नु” ले केलाई बुझाउँछ? के परमेश्‍वरले रूखलाई प्रत्येक दिन पानी हाल्नुहुन्छ? के रूखलाई सास फेर्न परमेश्‍वरको सहयोगको आवश्यकता पर्छ? (पर्दैन।) यहाँ “प्रबन्ध गर्नु” ले सृष्टिपछि परमेश्‍वरले गर्नुभएका सबै चीजहरूको व्यवस्थापनलाई बुझाउँछ; सबै चीजहरूमाथि शासन गर्ने नियमहरू स्थापित गरिसकेपछि परमेश्‍वरले ती चीजहरूको व्यवस्थापन गर्नु मात्रै पनि पर्याप्त हुन्छ। पृथ्वीमा बीउ रोपेपछि, रूख आफैँ बढ्छ। यसको वृद्धिका सर्तहरू सबै परमेश्‍वरले नै तर्जुमा गर्नुभएको हो। परमेश्‍वरले घाम, पानी, माटो, हावा र वरिपरिको वातावरण बनाउनुभयो; परमेश्‍वरले हावा, शीत, हिउँ र वर्षा र चार ऋतुहरू बनाउनुभयो। यी सबै कुराहरू रूख हुर्कनको लागि आवश्यक सर्तहरू हुन्, र यी चीजहरूलाई परमेश्‍वरले नै तयार पार्नुभएको हो। त्यसैले, के परमेश्‍वर यस जीवित वातावरणको स्रोत हुनुहुन्छ? (हो, हुनुहुन्छ।) के परमेश्‍वरले दिनहुँ रूखहरूको हरेक पात गन्‍नुपर्छ? पर्दैन! न त परमेश्‍वरले रूखलाई सास फेर्न सहयोग गर्नुपर्छ न त “अब रूखहरूमा चम्किने समय भयो” भन्दै दिनहुँ सूर्यको किरणलाई जगाउनु नै आवश्यक हुन्छ। उहाँले त्यसो गरिराख्‍नु पर्दैन। उक्त नियमअनुसार, चम्किने समय भएपछि सूर्य आफै चम्कन्छ; यो देखा पर्छ र रूखमा चम्कन्छ र रूखले आवश्यक पर्दा सूर्यको प्रकाश ग्रहण गर्छ, र आवश्यक नपर्दा पनि रूख उक्त नियमभित्रै रहेर बाँचिरहेको हुन्छ। तिमीहरू यस प्रक्रियालाई स्पष्ट रूपमा व्याख्या गर्न सक्षम नहुन पनि सक्छौ, तथापि यो एउटा तथ्य हो, जसलाई सबैले देख्‍न र स्वीकार गर्न सक्छन्। तैँले गर्नुपर्ने कार्य भनेको सबै चीजहरूको अस्तित्वमाथि शासन गर्ने नियमहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरालाई पहिचान गर्नु, र सबै कुराको वृद्धि र अस्तित्वमाथि परमेश्‍वरको प्रभुत्व रहन्छ भन्‍ने कुरा थाहा पाउनु हो।

अब, के यो कथामा मानिसहरूले भन्‍ने गरेको “अलङ्कार” समेटिएको छ? के यो व्यक्तित्वकरण हो? (होइन।) मैले एउटा सत्य कथा सुनाएँ। हरप्रकारका जीवित प्राणीहरू, जीवन भएका हरेक कुरामाथि परमेश्‍वरले शासन गर्नुहुन्छ; प्रत्येक जीवित प्राणीको सृष्टि गर्नुहुँदा, परमेश्‍वरले तिनमा जीवन भरिदिनुभएको थियो; प्रत्येक जीवित प्राणीको जीवन परमेश्‍वरबाट आउँछ र यसले यसलाई निर्देशित गर्ने बाटो र नियम पछ्याउँछ। यसलाई मानिसले परिवर्तन गरिरहनु पर्दैन, न त यसलाई मानिसको मद्दतको नै आवश्यकता पर्छ; यो परमेश्‍वरको सबै चीजहरूका लागि प्रबन्ध गर्ने एउटा तरिका हो। तिमीहरूले बुझ्यौ, होइन त? के मानिसले यो कुरा पहिचान गर्नु आवश्यक छ भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्छ।) त्यसो भए, के जीवविज्ञानसँग यो कथाको कुनै सम्बन्ध छ? के यो ज्ञानको क्षेत्र वा सिकाइको शाखासँग कुनै हिसाबले सम्बन्धित छ? हामीले जीवविज्ञानको बारेमा छलफल गरिरहेका छैनौं, र अवश्य नै हामीले कुनै पनि जैविक शोध-अध्ययन गरिरहेका छैनौं। हाम्रो कुराकानीको मुख्य विषय के हो? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) तिमीहरूले यस सृष्टिमा के देखेका छौ? के तिमीहरूले रूखहरू देखेका छौ? के तिमीहरूले पृथ्वी देखेका छौ? (छौँ।) तिमीहरूले सूर्यको किरण देखेका छौ, होइन त? के तिमीहरूले रूखमा चराहरू बसेको देखेका छौ? (हामीले देखेका छौँ।) के यस्तो वातावरणमा बाँच्न पाउँदा मानवजाति खुशी छ? (छ।) यसो भन्‍नुको अर्थ, मानवजातिको घर, उनीहरूको जीवनको वातावरण बनाउन र सुरक्षा गर्नको लागि परमेश्‍वरले—आफूले सृष्टि गर्नुभएका—सबै चीज प्रयोग गर्नुहुन्छ। यस प्रकारले, परमेश्‍वरले मानवजाति र सबै कुराको लागि प्रबन्ध गर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६८

कथा २: ठूलो हिमाल, सानो नदी, ठूलो हावा र विशाल छाल

एउटा सानो नदी थियो, घुम्दै बहँदै, अन्ततः ठूलो हिमालको फेदीमा आइपुगेको थियो। हिमालले सानो नदीको बाटोलाई छेकिदियो, त्यसैले नदीले आफ्नो कमजोर, मधुरो आवाजमा हिमाललाई भन्यो, “कृपया मलाई जान दिनुहोस्। तपाईंहरू मेरो बाटोमा उभिनुभएको छ र मेरो अगाडिको बाटो रोकिरहनुभएको छ।” “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। “म मेरो घर खोजिरहेको छु,” नदीले जवाफ दियो। “ठीक छ, अगाडि बढ्नुहोस् र म माथिबाट नै बग्नुहोस्!” तर सानो नदी धेरै कमजोर र धेरै सानो थियो, त्यसैले त्यस्तो ठूलो हिमालमाथिबाट बगेर जाने नदीको सामर्थ्य थिएन। नदी हिमालको फेदमुनिबाट मात्रै बग्न सक्थ्यो …

बालुवा र धूलो बोकेको ठूलो हावा हिमाल उभिएको ठाउँमा आइपुग्यो। हावाले हिमालतर्फ गुहार लगायो, “मलाई पार गर्न दिनुहोस्!” “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। “म हिमालको अर्कोपट्टि जान चाहन्छु,” प्रतिक्रिया स्वरूप हावा ठूलो स्वरमा करायो। “ठीक छ, यदि तपाईं मेरो कम्मर भएको ठाउँबाट फुत्कन सक्नुहुन्छ भने, तपाईं जान सक्नुहुन्छ!” ठूलो हावा यता र उता मच्चियो तर त्यसले जे गरे पनि यो हिमालको कम्मरबाट फुत्किन सकेन। ठूलो हावा थामियो र आराम गर्न रोकियो—हिमालको अर्कोपट्टि, त्यहाँका मानिसहरूलाई खुशी बनाउँदै एकसरो बतास चल्न थाल्यो। यो मानिसहरूलाई हिमालले दिएको अभिवादन थियो …

सागरको किनारमा, सागरका छालहरू ढुङ्गे किनारमा बिस्तारै बटारिन थाले। अचानक, एउटा विशाल छाल उठ्यो र हिमालतिर गयो। “मेरो बाटोबाट हट्नुहोस्!” विशाल छाल करायो। “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। अगाडि बढ्नबाट आफूलाई रोक्न असमर्थ हुँदै, छाल गर्जियो, “म आफ्नो क्षेत्र विस्तार गर्दैछु! म मेरा पाखुराहरू तन्काउन चाहन्छु!” “ठीक छ, यदि तपाईं मेरो चुचुरोमाथिबाट जान सक्नुहुन्छ भने, म तपाईंलाई जान दिनेछु।” विशाल छाल अलिकति पछाडि हट्यो र फेरि हिमालतिर ठूलो हुँदै अघि बढ्यो। तर जतिसुकै प्रयास गरे पनि, हिमालको चुचुरोमा पुग्न सकेन। छाल बिस्तारै सागरमा फर्कन मात्रै सक्थ्यो …

हजारौं वर्षसम्म, सानो नदी हिमालको फेदतिर बिस्तारै बग्दै गयो। हिमालको दिशा पछ्याउँदै, सानो नदीले घर फर्कने बाटो बनायो, यो ठूलो नदीमा मिसियो र नदी सागरमा। हिमालको हेरचाहले गर्दा, सानो नदीले कहिल्यै आफ्नो बाटो बिराएन। नदी र हिमालले एक-अर्कालाई सुदृढ गरेका थिए र एक-आपसमा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि तिनीहरू सह-अस्तित्वमा रहेका थिए।

हजारौं वर्षमा, ठूलो हावा कराउँदै बटारियो, किनभने यो नै यसको बानी थियो। यो अझै बालुवाका ठूला फोहोराहरू आफूभित्र रुमल्याउँदै हिमाललाई “भेट्न” आउँथ्यो। हावाले हिमाललाई धम्की दियो, तर हिमालको कम्मर कहिल्यै भाँचिएन। हावा र हिमालले एक-अर्कालाई झनै सुदृढ गरेका थिए र तिनीहरू एक-अर्कामा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि सह-अस्तित्वमा रहेका थिए।

हजारौं वर्षसम्म, विशाल छालले कहिल्यै विश्राम लिएन, र आफ्नो क्षेत्र निरन्तर विस्तार गर्दै यो अथक रूपमा अगाडि बढ्यो। छाल गर्जियो र हिमालतिर बारम्बार उकालो लाग्यो, तर हिमाल कहिल्यै एक इन्च पनि सरेन। हिमालले सागरलाई पहरा दियो, र यस प्रकारले, सागरमा भएका प्राणीहरू बढ्दै गए र फस्टाउँदै गए। छाल र हिमालले एक-अर्कालाई थप सुदृढ गरेका थिए र तिनीहरू एक-अर्कामा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि सह-अस्तित्वमा रहेका थिए।

यसरी हाम्रो कथा टुंगिन्छ। सबभन्दा पहिले, मलाई भन, यो कथा केको बारेमा थियो? त्यसमा एउटा विशाल हिमाल, एउटा सानो खोला, एउटा भीषण बतास, र एउटा निकै ठूलो छाल थिए। पहिलो अनुच्छेदमा, सानो खोला र विशाल हिमालको बारेमा के भयो? किन मैले खोला र हिमालको बारेमा कुरा गर्ने निर्णय गरेँ त? (हिमालको हेरचाहमा खोलाले कहिल्यै पनि बाटो बिराएन। तिनीहरू एक-अर्कामा निर्भर रहे।) त्यो हिमालले त्यो सानो खोलालाई संरक्षण गर्‍यो कि अवरोध गर्‍यो, तिमीहरू के भन्छौ? (यसले त्यसलाई संरक्षण गर्‍यो।) तर के यसले त्यसलाई अवरोध गरेन त? यसले र खोलाले एक-अर्काको रखवाली गरे; हिमालले खोलालाई संरक्षण पनि गर्‍यो र अवरोध पनि गर्‍यो। हिमालले खोलालाई नदीमा जोडिन जाँदा संरक्षण गर्‍यो, तर जताततै बग्दै बाढी ल्याएर मानिसहरूमा विपत्ति ल्याउनबाट यसलाई रोक्यो। के त्यो अनुच्छेद यही कुराको बारेमा थियो हैन र? खोलाको संरक्षण गरेर र यसलाई अवरुद्ध पारेर हिमालले मानिसहरूका घरहरूको सुरक्षा गर्‍यो। त्यसपछि त्यो सानो खोला हिमालको फेदीमा रहेको नदीमा मिसियो र बग्दै समुद्रमा गयो। के खोलाको अस्तित्व चलाउने नियम यही होइन र? खोलालाई नदीमा मिसिन र बग्दै समुद्रमा जान केले सक्षम बनायो? के त्यो हिमाल थिएन र? त्यो खोला हिमालको सुरक्षा र यसको अवरोधमा निर्भर थियो। त्यसैले, के यो मुख्य बुँदा होइन र? के तँ यसमा पानीको लागि हिमालको महत्त्व देख्दैनस् र? के हिमाल ठूलो र सानो बनाउनुमा परमेश्‍वरसँग उहाँको कुनै उद्देश्य थियो? (थियो।) एउटा सानो खोला र एउटा विशाल हिमालबाहेक अरू कुरा नभएको यो छोटो अनुच्छेदले हामीलाई यी दुई थोक परमेश्‍वरले सृष्टि गर्नुको मूल्य र महत्त्व देख्न सक्षम तुल्याउँछ; यसले हामीलाई तिनीहरूमाथिको उहाँको शासनपछाडिको उहाँको बुद्धि र उद्देश्य पनि देखाउँछ। के त्यो यस्तै होइन र?

दोस्रो अनुच्छेदको कथा केको बारेमा थियो? (एक भीषण बतास र एक विशाल हिमाल।) के बतास राम्रो कुरा हो? (हो।) यस्तै हुन्छ भन्‍ने जरुरी छैन—कहिलेकाहीँ बतास एकदमै शक्तिशाली हुन्छ र यसले विपत्ति ल्याउँछ। यदि तँलाई भीषण बतासमा उभिन बाध्य पारियो भने तैँले कस्तो अनुभूति गर्थिस्? यो कुरा यसको शक्तिमा निर्भर हुन्छ। यदि यो तह तीन वा तह चारको बतास थियो भने, यो सहन सकिने खालको हुन्थ्यो। बढीमा, व्यक्तिलाई आफ्नो आँखा खुला राख्न मात्र समस्या हुन्थ्यो होला। तर यदि त्यो बतास अझै तीव्र बनेर तुफान बन्यो भने, के तैँले यसलाई सहन सक्थिस् र? तैँले सहन सक्दैनथिस्। त्यसकारण, मानिसहरूले बतासलाई सधैँ राम्रो हुन्छ वा यो सधैँ नराम्रो हुन्छ भनेर भन्नु गलत हुन्छ किनभने त्यो कुरा त यसको शक्तिमा भर पर्छ। अब, यसमा हिमालको काम के हो त? के यसको काम बतासलाई छान्‍नु होइन र? हिमालले भीषण बतासलाई घटाएर केमा परिणत गर्छ? (मन्द हावा।) अब, मानिस बसोबास गर्ने वातावरणमा, धेरैजसो मानिसहरूले आँधीको अनुभव गर्छन् कि मन्द हावाको? (मन्द हावा।) के यो कुरा हिमालहरू सृष्टि गर्नुपछाडिका परमेश्‍वरका उद्देश्यहरूमध्ये एक, उहाँका अभिप्रायहरूमध्ये एक थिएन र? यदि मानिसहरू बतासमा अनियन्त्रित रूपमा, बिना कुनै अवरोध र फिल्टर नभइकनै बालुवा उडिरहने वातावरणमा बस्थे भने, कस्तो हुन्थ्यो होला? के त्यो उड्ने बालुवा र ढुङ्गाले घेरिएको भूमि बसोबास गर्न नसकिने हुन्थ्यो होला? ती ढुङ्गाहरूले मानिसहरूलाई हिर्काउँथ्यो होला, र त्यो बालुवाले तिनीहरूलाई अन्धो पार्थ्यो होला। बतासले मानिसहरूलाई भुइँबाट माथि उडाउँथ्यो होला, वा तिनीहरूलाई हावामाथि उडाएर लैजान्थ्यो होला। घरहरू भत्कन्थे होला, र हरप्रकारका विपत्तिहरू आइपर्थे होला। तैपनि, के त्यो भीषण बतासको अस्तित्वको कुनै महत्त्व हुन्छ? मैले यो नराम्रो हो भनेर भनेँ, त्यसकारण कसैलाई यसको कुनै महत्त्व हुँदैन भन्‍ने लाग्न सक्छ, तर के त्यो त्यस्तै हो र? के त्यो मन्द हावामा परिणत भएपछि त्यसको महत्त्व हुँदैन र? मौसम बाफिलो वा सासै फेर्न नसकिने भयो भने मानिसहरूलाई सबैभन्दा बढी के चाहिन्छ? तिनीहरूमा हल्कासित बग्ने, तिनीहरूलाई ताजा महसुस गराउने र तिनीहरूको टाउको हल्का गराउने, तिनीहरूको सोच तिखार्ने, तिनीहरूको मन-मस्तिष्कको स्थिति सुधार गर्ने एवं तन्दुरुस्त बनाउने मन्द हावा चाहिन्छ। अब, उदाहरणको लागि, तिमीहरू सबै एउटै कोठामा धेरै जना उकुसमुकुस भएर बसेका छौ—तिमीहरूलाई सबैभन्दा बढी के चाहिन्छ? (मन्द हावा।) बाक्लो धुवाँ वा फोहोरी हावा भएको ठाउँमा जाँदा व्यक्तिको सोच्ने प्रक्रिया ढिलो हुन्छ, रक्तसञ्चार कम हुन्छ र व्यक्तिको दिमागी स्पष्टता हराउँछ। तर अलिकति हलचल र बहावले हावालाई ताजा बनाउँछ, र मानिसहरूले ताजा हावामा फरक अनुभूति गर्छन्। सानो खोलाले विपत्ति ल्याउने भए पनि, भीषण बतासले विपत्ति ल्याउने भए पनि, जबसम्म त्यहाँ हिमाल हुन्छ, तबसम्म यसले त्यो खतरालाई मानिसका लागि फाइदाजनक शक्तिमा बदलिदिन्छ। के त्यो यस्तै होइन र?

तेस्रो अनुच्छेदको कथा केको बारेमा थियो? (विशाल पहाड र निकै ठूलो छाल।) विशाल पहाड र निकै ठूलो छाल। यो अनुच्छेदको परिवेश हिमालको फेदको, समुद्री किनारमा रहेको छ। हामी हिमाल, समुद्री फोहोरा, र विशाल छाल देख्छौं। यस उदाहरणमा छालको लागि हिमाल के हो त? (संरक्षक र अवरोध।) यो संरक्षक र अवरोध दुवै हो। संरक्षकको रूपमा यसले समुद्रलाई लोप हुनबाट रोक्छ ताकि यसमा बस्ने प्राणीहरू बाँच्न र वृद्धि हुन सकून्। अवरोधको रूपमा हिमालले समुद्रको पानीलाई अतिप्रवाह भई विपत्ति ल्याउनबाट रोक्छ, मानिसहरूका घरहरूलाई हानि र विनाश गर्नबाट रोक्छ। यसकारण, हामी हिमाललाई संरक्षक र अवरोध दुवै भनेर भन्न सक्छौं।

विशाल हिमाल र सानो खोला, विशाल हिमाल र भीषण बतास, र विशाल हिमाल र निकै ठूलो छालबीचको अन्तरसम्बन्धको महत्त्व यही हो; तिनीहरूको परस्पर मजबुतीकरण र निष्प्रभावीकरण अनि तिनीहरूको सह-अस्तित्वको महत्त्व यही हो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी कुराहरूलाई तिनीहरूको अस्तित्वमा नियम र व्यवस्थाले सञ्‍चालन गर्छ। त्यसो भए, यो कथामा तिमीहरूले परमेश्‍वरका के-कस्ता कार्यहरू देख्छौ त? के परमेश्‍वरले ‍यावत् थोकको सृष्टि गर्नुभएदेखि तिनीहरूलाई बेवास्ता गर्नुभएको छ? के उहाँले तिनीहरूलाई त्यसपछि बेवास्ता गर्नको लागि नियमहरू बनाउनुभयो र यी सबै कुराहरूले कार्य गर्ने तरिकाहरूको प्रारूप तयार गर्नुभयो? के यही भयो त? (होइन।) त्यसो भए, के भयो त? परमेश्‍वर अझै नियन्त्रणकारी भूमिकामा हुनुहुन्छ। उहाँले पानी, हावा, र छालहरूलाई नियन्त्रण गर्नुहुन्छ। उहाँले तिनीहरूलाई अनियन्त्रित बन्न दिनुहुन्न, न त उहाँले तिनीहरूलाई मानिसहरू बसोबास गर्ने घरहरूलाई हानि वा विनाश गर्न नै दिनुहुन्छ। यस कारणले गर्दा, मानिसहरू भूमिमा निरन्तर बाँचिरहन, वृद्धि हुन, र उन्नति गर्न सक्छन्। यसको मतलब, उहाँले यावत् थोकको सृष्टि गर्नुहुँदा उहाँले तिनीहरूको अस्तित्वका नियमहरूको बारेमा पनि पहिले नै योजना गरिसक्नुभएको थियो। जब परमेश्‍वरले हरेक थोकको सृष्टि गर्नुभयो, उहाँले यसले मानवजातिलाई फाइदा गर्नेछ भन्‍ने कुरा सुनिश्चित गर्नुभयो, र उहाँले यसमाथि नियन्त्रण कायम गर्नुभयो ताकि यसले मानवजातिलाई हानि गर्न वा उसमा विपत्ति ल्याउन नसकोस्। परमेश्‍वरको व्यवस्थापन नभएको भए, के पानी कुनै नियन्त्रणविना नै बग्नेथिएन र? के हावा कुनै नियन्त्रणविना नै बहने थिएन र? के पानी र हावाले नियम पालना गर्छन्? यदि परमेश्‍वरले तिनीहरूको व्यवस्थापन नगर्नुभएको भए, कुनै पनि नियमहरूले तिनीहरूलाई शासन गर्नेथिएन, अनि हावा कुर्लन्थ्यो र पानी अनियन्त्रित हुन्थ्यो र बाढी ल्याउँथ्यो। यदि छालहरू हिमालभन्दा अग्ला थिए भने, के समुद्र अस्तित्वमा रहन सक्थ्यो र? सक्दैनथियो। यदि हिमाल छालहरू जति अग्लो थिएन भने, समुद्र अस्तित्वमा रहनेथिएन, र हिमालले आफ्नो मूल्य र महत्त्व गुमाउनेथियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

परमेश्‍वरका दैनिक वचनहरू  अंश १६९

परमेश्‍वरले अस्तित्वमा रहने हरेक थोकको सृष्टि गर्नुभयो, र उहाँ अस्तित्वमा रहने हरेक थोकमाथि सार्वभौम हुनुहुन्छ; उहाँले यी सबै थोकको व्यवस्थापन गर्नुहुन्छ र उहाँले यी सबै थोकको भरणपोषण गर्नुहुन्छ, अनि यी सबै कुराहरूभित्र, उहाँले अस्तित्वमा रहने हरेक थोकको हरेक शब्द र कार्यलाई हेर्नुहुन्छ र सूक्ष्म निरीक्षण गर्नुहुन्छ। त्यस्तै, परमेश्‍वरले मानव जीवनको हरेक कुना पनि हेर्नुहुन्छ र सूक्ष्म निरीक्षण गर्नुहुन्छ। यसरी, परमेश्‍वरले उहाँको सृष्टिभित्र अस्तित्वमा रहने हरेक थोकको हरेक कुरा नजिकबाटै जान्नुहुन्छ, हरेक थोकको कार्यदेखि, यसको प्रकृति, अनि यसका जीवन-अस्तित्वका नियमहरू, यसको जीवनको महत्त्व र यसको अस्तित्वको मूल्यसम्म, यी सबै कुरा सम्पूर्ण रूपमा परमेश्‍वरलाई थाहा हुन्छ। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो—के उहाँले ती कुराहरूलाई शासित गर्ने नियमहरूको अध्ययन गर्नुपर्छ जस्तो तिमीहरूलाई लाग्छ? के परमेश्‍वरले ती कुराहरूको बारेमा सिक्न र तिनलाई बुझ्‍नका लागि मानव ज्ञान वा विज्ञान अध्ययन गर्नुपर्छ? (पर्दैन।) के परमेश्‍वरले बुझ्नुभएझैँ सबै कुरा बुझ्‍नका लागि ज्ञान र विद्वता भएको कुनै व्यक्ति मानवजातिमाझ छ? कोही पनि छैन, होइन र? जुन नियमहरूद्वारा यावत् थोक जिउँछन् र वृद्धि हुन्छन्, के ती नियमहरूलाई साँचो रूपले बुझ्ने कुनै खगोलशास्त्री र जीवविज्ञानवेत्ताहरू छन्? के तिनीहरूले हरेक थोकको अस्तित्वको महत्त्वलाई साँचो रूपले बुझ्न सक्छन्? (अहँ, तिनीहरूले सक्दैनन्।) किनभने परमेश्‍वरले नै यावत् थोक सृष्टि गर्नुभयो, र मानवजातिले जति नै धेरै वा जति नै गहन रूपमा यो ज्ञानलाई अध्ययन गरे पनि, वा जति नै लामो समय तिनीहरू यसलाई सिक्नको लागि प्रयत्न गरे पनि, तिनीहरूले परमेश्‍वरले गर्नुभएको यावत् थोकको सृष्टिको रहस्य वा उद्देश्यलाई कहिल्यै पनि बुझ्न सक्‍नेछैनन्। के अवस्था यस्तै होइन र? अब, यहाँसम्मको हाम्रो छलफलबाट, के तिमीहरूले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने पदावलीको साँचो अर्थको आंशिक बुझाइ हासिल गरेका छौं भन्‍ने अनुभूति गर्छौ? (गर्छौं।) मैले यो विषयको बारेमा—सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने बारेमा—छलफल गर्दा, धेरै मानिसहरूले अर्को वाक्यांश “परमेश्‍वर सत्यता हुनुहुन्छ, र परमेश्‍वरले हामीलाई भरणपोषण गर्न उहाँको वचन प्रयोग गर्नुहुन्छ” भन्‍ने बारेमा सोच्नेथिए र उक्त विषयको त्यो तहको अर्थभन्दा पर केही पनि सोच्दैनथिए भन्‍ने मलाई थाहा थियो। केहीले त परमेश्‍वरले मानव जीवन, दैनिक खाद्य र पेय पदार्थ र हरेक दैनिक आवश्यकताको प्रबन्ध गर्नुभएको कुरालाई उहाँले भरणपोषण गर्नुभएको कुराको रूपमा लिन सकिँदैन भन्‍ने समेत ठान्छन्। के यस्तो ठान्ने कोही छैनन् त? तैपनि, के उहाँको सृष्टिप्रतिको परमेश्‍वरको अभिप्राय—मानवजातिलाई सामान्य रूपमा अस्तित्वमा रहन र जिउन सक्षम तुल्याउने कार्य—स्पष्ट छैन र? परमेश्‍वरले मानिसहरू जिउने वातावरणलाई कायम राख्नुहुन्छ र उहाँले मानवजातिलाई तिनीहरूको जीवन-अस्तित्वको लागि चाहिने सबै कुरा प्रदान गर्नुहुन्छ। यस अलावा, उहाँले यावत् थोकमाथि प्रभुत्व कायम राख्नुहुन्छ र त्यसको व्यवस्थापन गर्नुहुन्छ। यी सबैले मानवजातिलाई सामान्य तवरमा बाँच्न, उन्नति गर्न र वृद्धि हुन सक्षम तुल्याउँछन्; यसप्रकार परमेश्‍वरले सारा सृष्टि र मानवजातिलाई भरणपोषण गर्नुहुन्छ। के मानिसहरूले यी कुराहरूलाई पहिचान गर्नुपर्छ र बुझ्नुपर्छ भन्‍ने कुरा साँचो होइन र? सायद केहीले भन्न सक्लान्, “यो विषय साँचो परमेश्‍वर स्‍वयम्‌ बारेको हाम्रो ज्ञानभन्दा धेरै टाढा छ, र हामी यो कुरा जान्न चाहन्‍नौँ किनभने हामी रोटीले मात्र जिउँदैनौँ, बरु हामी त परमेश्‍वरको वचनले जिउँछौं।” के यो बुझाइ सही छ? (छैन।) यो किन गलत छ त? यदि तिमीहरूसँग परमेश्‍वरले भन्नुभएका कुराहरूको मात्र ज्ञान छ भने के तिमीहरूसँग परमेश्‍वरको बारेमा पूर्ण बुझाइ हुनसक्छ? यदि तिमीहरूले परमेश्‍वरको कामलाई मात्र स्वीकार गर्छौ र परमेश्‍वरको न्याय र सजायलाई मात्र स्वीकार गर्छौ भने, के तिमीहरूसँग परमेश्‍वरको बारेमा पूर्ण बुझाइ हुन्छ? यदि तिमीहरूले परमेश्‍वरको स्वभावको सानो भागको बारेमा मात्र, परमेश्‍वरको अख्तियारको सानो भागको बारेमा मात्र जान्दछौ भने, के तिमीहरू त्यसलाई परमेश्‍वरको बुझाइ हासिल गर्नको लागि पर्याप्त छ भन्‍ने मान्छौ? (मान्दैनौं।) परमेश्‍वरका कार्यहरू उहाँले यावत् थोकको सृष्टि गर्नुभएदेखि सुरु भयो, र ती कार्यहरू आजका दिनसम्मै जारी छन्—परमेश्‍वरका कार्यहरू हरपल, हरक्षण स्पष्ट देखिन्छन्। यदि कुनै व्यक्तिले परमेश्‍वरले मानिसहरूमा उहाँको काम गर्न र तिनीहरूलाई मुक्ति दिनका लागि मानिसहरूको एक समूहलाई चुन्नुभएको कारणले मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र अन्य कुनै पनि कुराहरू न त उहाँको अख्तियार, उहाँको हैसियत, न त उहाँका कार्यहरू कुनैको पनि यससँग कुनै सम्बन्ध छ भन्‍ने विश्‍वास गर्छ भने, के उक्त व्यक्तिमा परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान छ भनेर मान्न सकिन्छ? यस्तो तथाकथित “परमेश्‍वर सम्‍बन्धी ज्ञान” हुने मानिसहरूमा केवल एकपक्षीय बुझाइ हुन्छ, जसअनुरूप ती मानिसहरूले परमेश्‍वरका कार्यहरूलाई मानिसहरूको एक समूहमा सीमित गरिदिन्छन्। के यो परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान हो त? के त्यस प्रकारको ज्ञान भएका मानिसहरूले परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएको कुरा र ती यावत् थोकमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गरिरहेका हुँदैनन् र? केही मानिसहरू यस बुँदामा संलग्न हुन चाहँदैनन्, बरु तिनीहरू मनमै सोचिरहन्छन्: “मैले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतालाई देखेको छैन। यो त एकदमै टाढाको विचार हो, र म यसलाई बुझ्न चाहन्न। परमेश्‍वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, र यसको मसँग कुनै सम्बन्ध छैन। म परमेश्‍वरको अगुवाइ र उहाँको वचन मात्र स्वीकार गर्छु, ताकि मैले परमेश्‍वरद्वारा मुक्ति पाउन र म उहाँद्वारा सिद्ध बन्न सकूँ। मलाई अरू कुनै कुराको चासो छैन। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा बनाउनुभएका नियमहरू र उहाँले यावत् थोक र मानवजातिलाई भरणपोषण गर्नको लागि गर्नुहुने कुराहरूसँग मेरो कुनै सम्बन्ध छैन।” यो कस्तो प्रकारको कुरा हो? के यो विद्रोहको कार्य होइन र? के तिमीहरूमध्येमा कोही यस प्रकारको बुझाइ भएको व्यक्ति छ? मलाई थाहा छ, तिमीहरूले त्यसो नभनीकन पनि, यहाँ तिमीहरूमध्ये धेरै जना त्यस्तै छौ। धर्मशास्त्र पालना गर्ने यस्ता मानिसहरूले हरेक कुरालाई तिनीहरूको “आत्मिक” दृष्टिकोणबाट हेर्छन्। तिनीहरूले परमेश्‍वरलाई बाइबलमा मात्र सीमित गर्न चाहन्छन्, परमेश्‍वरलाई उहाँले बोल्नुभएका वचनहरूद्वारा, शाब्दिक रूपमा लिखित वचनहरूबाट आउने अर्थमा मात्र सीमित गर्न चाहन्छन्। तिनीहरूले परमेश्‍वरलाई अझ बढी चिन्न चाहँदैनन् र तिनीहरू परमेश्‍वरले अन्य कुराहरू गरेर उहाँको ध्यान बाँड्नुभएको चाहँदैनन्। यस प्रकारको सोचाइ मूर्खतापूर्ण छ, र यो एकदमै धार्मिक प्रकारको पनि छ। के यस प्रकारको विचारधारा हुने मानिसहरूले परमेश्‍वरलाई चिन्न सक्छन्? तिनीहरूले परमेश्‍वरलाई चिन्नु एकदमै मुस्किल हुन्छ। आज मैले तिमीहरूलाई फरक-फरक पक्षलाई सम्‍बोधन गर्ने दुई वटा कथा भनेको छु। तिमीहरूले भर्खरै तिनीहरूको बारेमा सुनेको कारण, तिमीहरूलाई ती गहन वा अलि अमूर्त लाग्‍न सक्छ, बोध गर्न र बुझ्न अलि गाह्रो लाग्‍न सक्छ। तिनलाई परमेश्‍वरका कार्यहरू र परमेश्‍वर स्‍वयम्‌सँग जोडेर हेर्न गाह्रो हुन सक्छ। तथापि, परमेश्‍वरका सबै कार्य र सृष्टिभित्र र मानवजातिमाझ उहाँले गर्नुभएका सबै कुरालाई हरेक व्यक्तिले, परमेश्‍वरलाई चिन्न खोज्ने हरेकले स्पष्ट र दुरुस्त रूपमा जान्नुपर्छ। यो ज्ञानले तिमीहरूलाई परमेश्‍वरको साँचो अस्तित्वमाथिको तिमीहरूको विश्‍वासमा निश्चितता प्रदान गर्नेछ। यसले तिमीहरूलाई परमेश्‍वरको बुद्धि, उहाँको शक्ति र उहाँले यावत् थोकको लागि भरणपोषण गर्ने शैलीको बारेमा सही ज्ञान पनि प्रदान गर्नेछ। यसले तँलाई परमेश्‍वरको साँचो अस्तित्वको महसुस गर्न र उहाँको अस्तित्व काल्पनिक होइन, मिथ्या होइन, अस्पष्टता होइन, सिद्धान्त होइन, र निश्चय पनि कुनै प्रकारको आत्मिक सान्त्वना होइन, बरु एउटा साँचो अस्तित्व हो भनी देखाउनेछ। यसको साथै, यसले मानिसहरूलाई परमेश्‍वरले सधैँ नै सारा सृष्टि र मानवजातिलाई भरणपोषण गर्नुभएको छ भन्‍ने कुरा जनाउनेछ; परमेश्‍वरले उहाँको आफ्नै शैली र उहाँको आफ्नै तालअनुसार यसो गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएर तिनीहरूलाई नियमहरू प्रदान गर्नुभएकोले तिनीहरू हरेकले उहाँको पूर्वनिर्धारित प्रबन्ध अन्तर्गत आफ्ना तोकिएका कार्यहरू गर्न, आफ्ना उत्तरदायित्वहरू वहन गर्न, र आफ्ना भूमिकाहरू निर्वाह गर्न सक्छन्; उहाँको पूर्वनिर्धारित प्रबन्ध अन्तर्गत मानवजातिको सेवामा, र मानवजातिले बसोबास गर्ने स्थान र वातावरणमा हरेक थोकको आफ्नै प्रयोजन हुन्छ। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भए र मानवजातिसँग बसोबास गर्नको लागि त्यस्तो वातावरण नभएको भए, मानवजातिले परमेश्‍वरमा विश्‍वास गर्नु वा उहाँलाई पछ्याउनु असम्भव हुनेथियो; यो सबै नै खोक्रो कुराभन्दा बढी केही पनि हुनेथिएन। के यो यस्तै होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७०

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू)

हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने वचनसँग सम्बन्धित विभिन्‍न विषयहरू र धेरै विषयवस्तुको बारेमा छलफल गरेका छौँ, तर तिमीहरूलाई आफ्नो वचन उपलब्ध गराउने र तिमीहरूमाथि आफ्नो सजाय र न्यायको काम गर्नेबाहेक परमेश्‍वरले मानवजातिलाई के कुराहरू प्रदान गर्नुहुन्छ भन्‍नेबारेमा के तिमीहरूलाई हृदयदेखि नै थाहा छ? केही मानिसहरूले भन्‍न सक्छन्, “परमेश्‍वरले मलाई अनुग्रह र आशिष्‌हरू प्रदान गर्नुहुन्छ; उहाँले मलाई अनुशासन र आराम दिनुहुन्छ, अनि उहाँले मलाई हरसम्भव तरिकाले वास्ता र सुरक्षा प्रदान गर्नुहुन्छ।” अरूले भन्‍नेछन्, “परमेश्‍वरले मलाई दैनिक भोजन र पिउने कुरा प्रदान गर्नुहुन्छ”, अनि अरूले यसो समेत भन्‍नेछन्, “परमेश्‍वरले मलाई सबै कुरा प्रदान गर्नुभएको छ।” मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने यी कुराहरूप्रति तिमीहरूले तिमीहरूका आफ्नै शारीरिक जीवनका अनुभवसँग जोडेर प्रतिक्रिया दिन सक्छौ। परमेश्‍वरले हरेक व्यक्तिलाई धेरै कुराहरू प्रदान गर्नुहुन्छ, यद्यपि हामीले यहाँ छलफल गरिरहेको कुरा मानिसहरूका दैनिक आवश्यकताका दायरामा सीमित छैनन्, यसको उद्देश्य त हरेक व्यक्तिको दृष्टिकोणलाई विस्तार गर्न र परिस्थितिलाई बृहत् दृष्टिकोणबाट हेर्न लगाउनु हो। सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भने उहाँले सबै थोकको जीवन कसरी कायम राख्‍नुहुन्छ? अर्को शब्दमा भन्दा, आफ्ना सृष्टिका सबै थोकको अस्तित्व र यसलाई टेको दिने व्यवस्थाहरू कायम राख्‍नको निम्ति परमेश्‍वरले तिनीहरूलाई के दिनुहुन्छ, ताकि तिनीहरू निरन्तर अस्तित्वमा रहिरहून्? आजको हाम्रो छलफलको मुख्य बुँदा त्यही हो। … म आशा गर्छु तिमीहरूले यस विषयलाई मैले परमेश्‍वरको बारेमा भन्‍ने कुरासँग जोड्न सक्‍नेछौ, अरू कुनै पनि ज्ञान, मानवीय संस्कृति वा अनुसन्धानसँग होइन। म परमेश्‍वरको बारेमा, परमेश्‍वर स्वयम्‌को बारेमा मात्र कुरा गर्दै छु। यो तिमीहरूलाई मेरो सल्लाह हो। म ढुक्‍क छु, तिमीहरू यो कुरा बुझ्छौ, होइन त?

परमेश्‍वरले मानवजातिलाई धेरै कुरा प्रदान गर्नुभएको छ। म मानिसहरूले देख्‍न सक्‍ने अर्थात् तिनीहरूले अनुभव गर्न सक्‍ने कुराबाट सुरु गर्नेछु। यी कुराहरूलाई मानिसहरूले आफ्नो हृदयले ग्रहण गर्न र बुझ्‍न सक्छन्। यसैले सर्वप्रथम, भौतिक संसारको बारेमा छलफल गर्दै परमेश्‍वरले मानवजातिको निम्ति उपलब्ध गराउनुभएका कुराहरूको बारेमा कुरा गर्दै सुरु गरौं।

क. हावा

सर्वप्रथम, मानिसले सास फेर्न सकोस् भनेर परमेश्‍वरले हावाको सृष्टि गर्नुभयो। हावा मानवजातिले दैनिक रूपमा सम्पर्क गर्न सक्‍ने पदार्थ हो र यो यस्तो कुरा हो जसमाथि मानव पलपल निर्भर हुन्छ, चाहे त्यो तिनीहरू सुतेको समय नै किन नहोस्। परमेश्‍वरले सृष्टि गर्नुभएको हावा मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण छ: यो तिनीहरूको हरेक सास र जीवन स्वयम्‌को निम्ति अत्यावश्यक छ। महसुस गर्न मात्र सकिने र देख्‍न नसकिने यो पदार्थ आफ्नो सृष्टिका सबै थोकको निम्ति परमेश्‍वरले दिनुभएको पहिलो उपहार थियो। तर हावाको सृष्टि गर्नुभएपछि मेरो काम सकियो भनेर के परमेश्‍वर रोकिनुभयो? कि हावा कति सघन हुनुपर्छ भनेर उहाँले ध्यान दिनुभयो? हावामा के-के कुराहरू हुनुपर्छ भनेर के उहाँले ध्यान दिनुभयो? हावालाई बनाउँदा परमेश्‍वरले के सोच्दै हुनुहुन्थ्यो? परमेश्‍वरले हावा किन बनाउनुभयो र उहाँका तर्क के थियो? मानवलाई हावा चाहिन्छ—तिनीहरूले सास फेर्नुपर्छ। पहिलो कुरा, हावाको घनत्व मानव फोक्सोको निम्ति उपयुक्त हुनुपर्छ। कसैलाई हावाको घनत्व थाहा छ? वास्तवमा, मानिसहरूले यस प्रश्‍नको जवाफ सङ्ख्या वा तथ्याङ्कमा दिनुपर्ने कुनै खास आवश्यकता छैन र वास्तवमा जवाफ जान्‍नु पनि त्यति आवश्यक छैन—सामान्य जानकारी मात्र हुनु पर्याप्त छ। परमेश्‍वरले मानव फोक्सोले सास फेर्नको निम्ति सबैभन्दा उपयुक्त घनत्व भएको हावा बनाउनुभयो। अर्थात्, उहाँले हावा बनाउनुभयो ताकि सास फेर्दा त्यो मानव शरीरमा सजिलै पसोस् र सास फेर्दा त्यसले शरीरलाई असर नगरोस्। परमेश्‍वरले हावा बनाउँदा ध्यान दिनुभएका कुराहरू यिनै थिए। अब हामी हावामा के-के हुन्छन् भनेर कुरा गर्छौं। यसमा मानवको निम्ति विषालु कुराहरू मिसिएका छैनन् र यसले फोक्सो वा शरीरको कुनै पनि अङ्गलाई नोक्सान पुर्‍याउँदैन। परमेश्‍वरले यी सबै कुरामा ध्यान पुर्‍याउनुपरेको थियो। मानवले सास फेरेको हावा शरीरमा सजिलै छिरोस् र बाहिर निस्कोस् अनि सास भित्र तानेपछि हावाभित्र भएका तत्वहरूको गुण यस्तो किसिमको होस् कि त्यसले रगत र फोक्सोमा र समग्र शरीरमा भएको बेकार हावा उचित तरिकाले पाचन हुन सकोस् भन्‍ने कुरामा परमेश्‍वरले ध्यान दिनुपरेको थियो। यसका अतिरिक्त, हावामा कुनै पनि किसिमका विषालु तत्वहरूको मिसावट नहोस् भन्‍ने कुरामा पनि उहाँले ध्यान दिनुपरेको थियो। मैले यी दुई मानकहरूबारे तिमीहरूलाई बताउनुको लक्ष्य तिमीहरूलाई कुनै खास ज्ञान दिनु होइन, तर परमेश्‍वरले आफ्नो सृष्टिको हरेक थोक उहाँको आफ्नै सोचविचारअनुसार बनाउनुभयो र उहाँले सृष्टि गर्नुभएको हरेक कुरा सबैभन्दा उत्तम छ भनेर तिमीहरूलाई देखाउनको निम्ति हो। यसका अतिरिक्त, हावामा भएको धूलोको परिमाण; र पृथ्वीमा भएको धूलो, बालुवा र माटोको परिमाण; यसका साथै आकाशदेखि पृथ्वीमा झर्ने धूलोको परिमाणको सन्दर्भमा भन्दा—यी कुराहरूको व्यवस्थापन गर्ने, तिनीहरूलाई हटाउने वा तिनीहरूलाई विभाजन गर्ने पनि परमेश्‍वरका आफ्नै तरिकाहरू छन्। केही परिमाणको धूलो भए तापनि त्यसले मानिसको शरीरलाई हानि नपुर्‍याउने वा मानिसको सास फेर्ने कार्यलाई खतरा नपुर्‍याउने तरिकाले परमेश्‍वरले बनाउनुभएको छ र उहाँले धूलोका कणहरूलाई शरीरलाई हानि नहुने किसिमले बनाउनुभएको छ। के परमेश्‍वरले गर्नुभएको हावाको सृष्टि रहस्यमय छैन र? के यो उहाँको मुखबाट हावाको सास फुक्‍नुजस्तो सामान्य कुरा थियो र? (थिएन।) उहाँले सबैभन्दा सामान्य कुराको सृष्टि गर्नुहुँदा पनि परमेश्‍वरको रहस्य, उहाँको मनमस्तिष्कको कार्य गर्ने शैली र उहाँको सोच्‍ने तरिका र उहाँको बुद्धि, सबै कुरा समावेश भएको स्पष्ट देखिन्छ। के परमेश्‍वर व्यावहारिक हुनुहुन्‍न त? (हो, उहाँ व्यावहारिक हुनुहुन्छ।) यसको अर्थ यही हो कि सामान्य कुराहरूको सृष्टि गर्दा पनि परमेश्‍वरले मानवजातिको बारेमा सोचिरहनुभएको थियो। पहिलो कुरा, मानवले सास फेर्ने हावा सफा छ र यसमा भएका कुराहरू मानवलाई सास फेर्नको निम्ति उपयुक्त छन्, विषालु र मानवलाई हानि पुर्‍याउने किसिमका छैनन्; त्यसरी नै हावाको घनत्व पनि मानिसलाई सास फेर्नको निम्ति उपयुक्त छ। मानिसले निरन्तर तान्‍ने र छोड्ने यो हावा मानव शरीर, मानव देहको निम्ति आवश्यक छ। यसैले मानिसले स्वतन्त्र भएर अवरोध र चिन्ताविना नै सास फेर्न सक्छ। यसैले तिनीहरूले सामान्य रूपमा सास फेर्न सक्छन्। परमेश्‍वरले सुरुमा सृष्टि गर्नुभएको कुरा हावा नै हो, अनि यो मानव स्वासप्रश्‍वासको निम्ति अपरिहार्य छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७१

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू)

ख. तापक्रम

हामीले छलफल गर्ने दोस्रो कुरा तापक्रम हो। तापक्रम के हो भन्‍ने कुरा सबैलाई थाहा छ। तापक्रम मानव अस्तित्वको निम्ति चाहिने सुहाउँदो वातावरणको लागि आवश्यक कुरो हो। उदाहरणको लागि, यदि तापक्रम धेरै उच्‍च अर्थात् मानौँ चालीस डिग्री सेल्सियसभन्दा माथि छ भने के यो मानिसहरूको उर्जा सुकाउने खालको हुन्थेन र? के मानव यस्तो परिस्थितिमा जिउनु थकाइलाग्दो कुरा हुने थिएन र? अनि यदि तापक्रम अति न्यून थियो भने के हुनेथियो? मानौँ तापक्रम ऋणात्मक चालीस डिग्री सेल्सियस पुग्यो—मानवले यस्तो परिस्थितिलाई पनि सामना गर्न सक्दैन। यसैले, तापक्रमको दायरा मानव शरीरअनुकूल हुने गरी, तापक्रमको दायरा मिलाउने कुरामा परमेश्‍वरले विशेष ध्यान दिनुभयो, जुन लगभग ऋणात्मक तीस डिग्री सेल्सियस र चालीस डिग्री सेल्सियसको बीचमा पर्छ। उत्तरदेखि दक्षिणसम्मका भूभागहरूको तापक्रमहरू मूलभूत रूपमा यही दायरामा पर्छन्। धेरै ठन्डा क्षेत्रहरूको तापक्रम ऋणात्मक पचास वा साठी डिग्री सेल्सियसमा झर्न सक्छ। परमेश्‍वरले मानिसहरूलाई यस्ता क्षेत्रहरूमा बसाउनुहुन्‍न। त्यसो भए यी बरफिला क्षेत्रहरू किन अस्तित्वमा छन् त? परमेश्‍वरसँग उहाँको आफ्नै बुद्धि छ र यसको निम्ति उहाँका आफ्नै अभिप्रायहरू छन्। उहाँले तँलाई ती ठाउँहरूको नजिक जान लगाउनुहुन्‍न। धेरै ताता र धेरै चिसा ठाउँहरूलाई परमेश्‍वरले सुरक्षा दिनुभएको छ, अर्थात् परमेश्‍वरले मानिसलाई त्यहाँ बसोबास गराउने योजना बनाउनुभएन। यी ठाउँहरू मानवजातिका निम्ति होइनन्। तर परमेश्‍वरले पृथ्वीमा यस्ता ठाउँहरूलाई अस्तित्वमा किन ल्याउनुभयो त? यदि यी ठाउँहरूमा परमेश्‍वरले मानिसहरूलाई बसोबास गराउनुहुन्‍न वा मानिसहरू पनि त्यहाँ बाँच्‍दैनन् भने परमेश्‍वरले किन ती ठाउँहरूको सृष्टि गर्नुभयो त? त्यसमा परमेश्‍वरको बुद्धि लुकेको छ। त्यसको अर्थ, परमेश्‍वरले मानव जीवित रहने वातावरणको तापक्रमको दायरा उचित तवरले अङ्‍कित गर्नुभएको छ। यहाँ प्राकृतिक नियमले पनि काम गर्छ। परमेश्‍वरले तापक्रमलाई कायम राख्‍न र नियन्त्रण गर्न केही कुराहरूको सृष्टि गर्नुभयो। तिनीहरू के हुन् त? सबैभन्दा पहिलो, सूर्यले मानिसहरूलाई न्यानो पार्छ, तर यो न्यानोपन अत्यन्तै धेरै भयो भने मानिसहरूले सहन सक्छन् र? के कुनै व्यक्तिले सूर्यको नजिक जाने हिम्मत गर्छ? के सूर्यसम्म पुग्‍ने कुनै वैज्ञानिक उपकरण पृथ्वीमा छ? (छैन।) किन छैन? सूर्य अत्यन्तै तातो छ। त्यसको धेरै नजिक जाने कुनै पनि कुरा पग्लन्छ। यसैले, परमेश्‍वरले विशेष गरी मानवजातिमाथिको सूर्यको उचाइ र त्यसको दूरीलाई आफ्नो सावधानीपूर्वक गणना र आफ्नो मापदण्डअनुसार निर्धारण गर्ने काम गर्नुभयो। त्यसपछि, पृथ्वीका दक्षिणी र उत्तरी ध्रुव निर्धारण गर्नुभयो। यी क्षेत्रहरू पूर्ण रूपमा जमेका र हिउँले ढाकिएका छन्। के मानवजाति हिउँले ढाकिएको क्षेत्रमा बस्‍न सक्छ? के यी क्षेत्रहरू मानव अस्तित्वका निम्ति उपयुक्त छन्? छैनन्, त्यसैले मानिसहरू यी ठाउँहरूमा जाँदैनन्। मानिसहरू दक्षिणी र उत्तरी ध्रुवमा नजाने हुनाले तिनका हिमनदीहरू संरक्षित छन् र तिनले तापक्रम नियन्त्रण गर्ने आफ्नो उद्देश्यअनुसार काम गर्न सक्छन्। तिमीहरूले बुझ्यौ, होइन त? यदि दक्षिणी ध्रुव र उत्तरी ध्रुव नहुने हो भने सूर्यको निरन्तर तापले पृथ्वीका मानिसहरूलाई नष्ट पार्नेथियो। तर के परमेश्‍वरले यी दुई कुराहरूबाट मात्र तापक्रमलाई मानव अस्तित्वको दायराभित्र राख्‍नुहुन्छ त? होइन। सूर्यको तापलाई सोस्‍ने मैदानका घाँस, विभिन्‍न किसिमका रूखहरू, वनजङ्गलका सबै किसिमका बोटबिरुवाहरूजस्ता सबै किसिमका जीवित प्राणीहरू छन्, जसले सूर्यको तापीय ऊर्जालाई तटस्थ बनाई मानवजाति बस्‍ने वातावरणको तापक्रमलाई नियन्त्रण गर्छन्। नदी र तालहरूजस्ता पानीका स्रोतहरू पनि छन्। नदी र तालहरूले ओगट्ने क्षेत्रलाई कसैले पनि तय गर्दैन। पृथ्वीमा कति पानी हुनेछ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन, न त पानीको बहाव, त्यसको बहावको दिशा, त्यसको परिमाण वा त्यसको गतिलाई नै कसैले नियन्त्रण गर्न सक्छ। परमेश्‍वरलाई मात्र थाहा छ। जमिनमुनिको पानीदेखि लिएर जमिनमाथि देखिने नदी र तालहरूलगायत पानीका यी विविध स्रोतहरूले मानिस बस्‍ने वातावरणको तापक्रमको नियन्त्रण गर्न सक्छन्। पानीका स्रोतहरूबाहेक पर्वत, समथर भूभाग, घाटी र सिमसारजस्ता विभिन्‍न किसिमका भौगोलिक स्वरूपहरू पनि छन्, ती सबैले आफ्ना भौगोलिक दायरा र क्षेत्रको अनुपातअनुसार केही हदसम्म तापक्रमको नियन्त्रण गर्छन्। उदाहरणको लागि, यदि एउटा पर्वतको परिधि एक सय किलोमिटर छ भने उक्त एक सय किलोमिटरले एक सय किलोमिटर बराबरको उपयोगिताको योगदान दिन्छ। परमेश्‍वरले पृथ्वीमा कति वटा पर्वत शृङ्खला र घाटीहरू सृष्टि गर्नुभयो, यो परमेश्‍वरले नै विचार गर्नुभएको सङ्ख्या हो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सृष्टि गर्नुभएका हरेक थोकको अस्तित्वको पछाडि एउटा कथा छ र हरेक थोकमा परमेश्‍वरको बुद्धि र योजना छ। उदाहरणको निम्ति वनजङ्गल र विविध किसिमका सबै वनस्पतिलाई लिऔं—तिनीहरू अस्तित्वमा आउने र वृद्धि हुने क्षेत्रको दायरा र हद कुनै पनि मानवको नियन्त्रणभन्दा बाहिर छ र यी कुराहरूको बारेमा कसैले केही भन्‍न पाउँदैन। यसै गरी, ती कुराहरूले कति पानी सोस्‍न सक्‍छन् भन्‍ने कुरा कुनै पनि मानवले नियन्त्रण गर्न सक्दैन, न त उसले ती कुराहरूले सूर्यबाट कति तापीय ऊर्जा सोस्‍न सक्‍छन् भन्‍ने कुरा नै नियन्त्रण गर्न सक्छ। यी सबै कुरा परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा बनाउनुभएको योजनाको दायराभित्र पर्छन्।

सबै कुरामा परमेश्‍वरले सावधानीपूर्वक योजना, विचार र प्रबन्ध गर्नुभएको कारणले मात्र मानिस यस्तो उचित तापक्रम भएको वातावरणमा बस्‍न सक्छ। यसैले, मानिसले आफ्ना आँखाले देख्‍ने हरेक कुरा, उदाहरणको लागि सूर्य, मानिसले प्रायजसो सुन्‍ने गरेका दक्षिणी र उत्तरी ध्रुवका साथै, जमिनमाथि र जमिनमुनि बस्‍ने तथा पानीमा बस्‍ने विविध प्रकारका जीवित प्राणीहरू, र वनजङ्गल र अन्य प्रकारका वनस्पतिद्वारा ढाकिएका ठाउँको परिमाण, र पानीका स्रोतहरू, विविध प्रकारका पानीका भागहरू, समुद्री पानी र सफा पानीका परिमाणहरू र विभिन्‍न किसिमका भौगोलिक वातावरणहरू—मानिसको अस्तित्वको निम्ति सामान्य तापक्रम कायम राख्‍न परमेश्‍वरले यी सबै कुराको प्रयोग गर्नुहुन्छ। यो निरपेक्ष छ। परमेश्‍वरले यो सबैको बारेमा गहन तरिकाले सोच्‍नुभएको कारणले मात्र मानिस यस्तो सुहाउँदो तापक्रम भएको वातावरणमा जिउन सकेको छ। यो धेरै चिसो पनि हुनु हुँदैन, धेरै तातो पनि हुनु हुँदैन: धेरै ताता ठाउँहरू, जहाँको तापक्रम मानव शरीरले अनुकूलन गर्न सक्‍नेभन्दा धेरै छ, ती ठाउँहरू निश्‍चय नै परमेश्‍वरले तिमीहरूका निम्ति छुट्याउनुभएको होइन। तापक्रम अत्यन्तै न्यून भएको अत्यन्तै चिसा ठाउँहरूमा पुगेपछि मानव केही मिनेटमै पूर्ण रूपमा जम्छन्, जसले गर्दा तिनीहरू बोल्‍न सक्दैनन्, तिनीहरूको मस्तिष्क जम्छ, तिनीहरूले सोच्‍न सक्दैनन् र तिनीहरू चाँडै निसासिन्छन्—यस्ता ठाउँहरूलाई पनि परमेश्‍वरले मानवजातिको लागि छुट्याउनुभएको होइन। मानवले जस्तोसुकै किसिमको अनुसन्धान गर्न चाहे तापनि, तिनीहरूले नवीन काम गर्न वा यस्ता सीमाहरूलाई तोड्न खोजे तापनि—मानिसहरूसँग जस्तोसुकै विचारहरू भए तापनि, तिनीहरूले मानव शरीरले अनुकूलन गर्न सक्‍ने सीमाहरूलाई नाघ्‍न सक्‍नेछैनन्। मानिसको निम्ति परमेश्‍वरले सृष्टि गर्नुभएका यी सीमाहरूलाई तिनीहरूले कदापि त्याग्‍न सक्‍नेछैनन्। यस्तो किन हुन्छ भने परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएको हो र मानव शरीरले अनुकूलन गर्न सक्‍ने तापक्रम परमेश्‍वरलाई थाहा छ। तर मानव आफैलाई भने थाहा छैन। मानवलाई थाहा छैन भनेर म किन भन्छु त? मानवले कस्ता मूर्ख कुराहरू गरेका छन्? के धेरै मानिसहरूले उत्तरी र दक्षिणी ध्रुवलाई निरन्तर चुनौती दिने प्रयास गरेका छैनन् र? यस्ता मानिसहरूले सधैँ ती ठाउँहरूमा गएर जमिन कब्जा गर्ने चाहना गरेका छन्, ताकि तिनीहरूले त्यहाँ जरा गाड्न सकून्। त्यो निरर्थक कार्य हुनेछ। यदि तैँले पूर्ण रूपले ध्रुवहरूको अनुसन्धान गरेको छस् भने पनि, तैँले त्यसपछि के गर्छस् र? यदि तँ उक्त तापक्रममा अनुकूलन हुन सक्छस् र त्यहाँ बस्‍न सक्षम बन्छस् भने पनि, तैँले दक्षिणी र उत्तरी ध्रुवहरूको वर्तमान वातावरण “सुधार गरेमा” पनि, के यसले कुनै पनि तरिकाले मानवजातिलाई फाइदा पुर्‍याउँछ र? मानवजातिसँग ऊ बाँच्‍न सक्‍ने वातावरण छ, तापनि मानिसहरू चुपचाप र आज्ञाकारी भई बस्दैनन्, बरु आफू बाँच्‍न नसक्‍ने ठाउँहरूमा जाने जोखिम उठाउन जोड दिन्छन्। यसको अर्थ के हो त? तिनीहरूलाई यस्तो सुहाउँदो तापक्रमको जीवनदेखि न्यास्रो लागेको छ र तिनीहरू अधीर भएका छन्, अनि तिनीहरूले अति नै धेरै आशिष्‌हरू प्राप्त गरेका छन्। त्यसबाहेक, जीवनको लागि दिइएको यो नियमित वातावरणलाई मानवजातिले लगभग पूर्ण रूपमा नष्ट गरिसकेको छ, यसैले अब दक्षिणी ध्रुव र उत्तरी ध्रुवमा गएर अझ धेरै क्षति गर्न वा “नयाँ बाटो बनाउने‍” कुनै तरिका पत्ता लगाउने कुनै प्रकारको “अभियान” को खोजी गर्न सकिन्छ भन्‍ने तिनीहरूलाई लाग्छ। के यो मूर्खता होइन र? भन्‍नुको तात्पर्य, परमेश्‍वरले तिनीहरूको निम्ति सृष्टि गर्नुभएको सुन्दर घरलाई यस मानवजातिले तिनीहरूका पुर्खा शैतानको नेतृत्वमा लापरवाही र स्वेच्छाचारी तरिकाले नष्ट गर्दै एकपछि अर्को गर्दै निरन्तर मूर्खतापूर्ण काम गरिरहन्छ। यो शैतानले गरेको काम हो। यसबाहेक, पृथ्वीमा मानवजातिको अस्तित्व केही हदसम्म खतरामा परेको देखेर, धेरै मानिसहरूले चन्द्रमामा गएर त्यहाँ बाँच्‍ने तौरतरिका स्थापित गर्ने चाहना गर्दै त्यहाँ जाने उपायहरूको खोजी गर्छन्। तर अन्ततः चन्द्रमामा अक्सिजनको अभाव छ। के मानवजाति अक्सिजनविना बाँच्‍न सक्छ त? चन्द्रमामा अक्सिजनको अभाव भएको कारण मानिस त्यस ठाउँमा बस्‍न सक्दैन, तापनि मानिस त्यहाँ जाने आफ्नो चाहनामा दृढ छ। यस्तो व्यवहारलाई के भन्‍ने? यो आत्मविनाश पनि हो। चन्द्रमा हावाविनाको स्थान हो र यसको तापक्रम मानव अस्तित्वको निम्ति सुहाउँदो छैन—यसैले, यो परमेश्‍वरले मानिसको निम्ति छुट्याउनुभएको ठाउँ होइन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७२

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू)

ग. ध्वनि

तेस्रो कुरा के हो? यो पनि मानव अस्तित्वको सामान्य वातावरणको निम्ति आवश्यक हिस्सा हो र परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा यसको निम्ति पनि बन्दोबस्त गर्नुपरेको थियो। यो परमेश्‍वर र हरेक मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यदि परमेश्‍वरले यस कुराको बन्दोबस्त नगर्नुभएको भए, यसले मानवजातिको अस्तित्वलाई धेरै बाधा दिनेथियो, अर्थात् यसले मानिसको जीवन र उसको देहको शरीरलाई यति धेरै प्रभाव पार्नेथियो कि त्यस्तो वातावरणमा मानवजाति बाँच्‍न सक्‍नेथिएन। त्यस्तो वातावरणमा त कुनै पनि जीवित प्राणी बाँच्‍न सक्‍नेथिएन भनेर भन्‍न सकिन्छ। त्यसैले, मैले बताइरहेको यो कुरा के हो त? म ध्वनिको बारेमा कुरा गरिरहेको छु। परमेश्‍वरले हरेक थोकको सृष्टि गर्नुभयो र हरेक कुरा परमेश्‍वरको हातभित्र जिउँछन्। परमेश्‍वरको सृष्टिका सबै थोक उहाँको नजरमा जीवित रहन्छन् र निरन्तर चलायमान हुन्छन्। मैले यसो भन्‍नुको तात्पर्य के हो भने, परमेश्‍वरले सृष्टि गर्नुभएका हरेक कुराहरूको अस्तित्वको मूल्य र अर्थ छ; अर्थात् हरेक थोकको अस्तित्वको महत्त्व छ। परमेश्‍वरको नजरमा, हरेक थोक जीवित छन्, र सबै थोक जीवित रहेका हुनाले, ती सबैले ध्वनि निकाल्छन्। उदाहरणको निम्ति, पृथ्वी निरन्तर घुमिरहेको छ, सूर्य निरन्तर घुमिरहेको छ र चन्द्रमा पनि निरन्तर घुमिरहेको छ। हरेक थोक वृद्धि हुन्छन्, बढ्छन् र चल्छन्, तिनीहरूले निरन्तर ध्वनि निकालिरहेका हुन्छन्। पृथ्वीमा अस्तित्वमा रहने परमेश्‍वरका सृष्टिका यी सबै थोक निरन्तर वृद्धि हुने, विकास हुने र चलायमान हुने गर्छन्। उदाहरणको निम्ति, पर्वतका जगहरू चलिरहेका र सरिरहेका हुन्छन् र समुद्रका गहिराइका सबै जीवित प्राणीहरू पौडिरहेका र चलिरहेका हुन्छन्। यसको अर्थ के हो भने, परमेश्‍वरको नजरमा सबै थोक स्थापित ढाँचाअनुसार अटुट रूपमा, निरन्तर चलिरहेका हुन्छन्। यसैले, यी सबै अन्धकारमा वृद्धि र विकास हुने र गुप्त रूपमा चल्ने कुराहरूले केलाई अस्तित्वमा ल्याउँछन् त? ध्वनि—ठूला, शक्तिशाली ध्वनिहरू। पृथ्वी ग्रहभन्दा बाहिर, सबै किसिमका ग्रहहरू निरन्तर चलिरहेका छन् र यी ग्रहहरूमा भएका जीवित प्राणी र जीवहरू निरन्तर वृद्धि हुने, विकास हुने र चल्ने गरिरहेका छन्। यसर्थ, जीवन भएका र जीवन नभएका सबै थोक परमेश्‍वरको नजरमा अगाडि बढिरहेका छन् र यस दौरान तिनीहरू सबैले ध्वनि उत्पादन गरिरहेका छन्। परमेश्‍वरले यी ध्वनिहरूको निम्ति पनि बन्दोबस्त गर्नुभएको छ र उहाँले यसो गर्नुपछाडिको कारण तिमीहरूलाई पहिले नै थाहा छ भन्‍ने मलाई विश्‍वास छ, छैन त? जब तँ कुनै हवाइजहाजको नजिक जान्छस्, तब त्यसको इन्जिनको गर्जनले तँलाई कस्तो असर पार्छ? यदि तँ लामो समयसम्म त्यसको नजिक बसिस् भने तेरा कानहरू बहिरा हुन्छन्। के तेरो हृदयले त्यस्तो कष्टप्रद अनुभूतिलाई सहन सक्छ? कमजोर हृदय भएका केही मानिसहरूले यसो गर्न सक्दैनन्। अवश्य नै, बलिया हृदय भएकाहरूले पनि लामो समयसम्म यसलाई सहन सक्दैनन्। भन्‍नुको तात्पर्य, चाहे यो कान होस् या हृदय होस्, ध्वनिले मानव शरीरमा पुर्‍याउने असर हरेक मानवको निम्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छ र धेरै ठूला ध्वनिहरूले मानिसहरूलाई हानि पुर्‍याउँछन्। यसैले, परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुहुँदा र पछि तिनीहरूले सामान्य रूपले कार्य गर्न सुरु गरेपछि, चलायमान हुने सबै थोकको आवाज, अर्थात् यी आवाजहरूको निम्ति परमेश्‍वरले उचित प्रबन्ध गर्नुभयो। मानवजातिको निम्ति वातावरणको सृष्टि गर्ने क्रममा, परमेश्‍वरले ध्यान दिनुपरेको कुरामध्ये एउटा यो पनि हो।

सर्वप्रथम त, पृथ्वीको सतहमाथिको वायुमण्डलको उचाइले पनि ध्वनिलाई प्रभाव पार्छ। यसका अतिरिक्त, माटोमा भएका विभिन्‍न आकारका खाली ठाउँहरूले पनि ध्वनिलाई हेरफेर गर्छन् र प्रभाव पार्छन्। त्यसपछि विभिन्‍न भौगोलिक वातावरणका संगमहरूले पनि ध्वनिलाई प्रभाव पार्छन्। भन्‍नुको तात्पर्य, केही ध्वनिहरूलाई हटाउनको निम्ति परमेश्‍वरले निश्‍चित विधिहरूको प्रयोग गर्नुहुन्छ, ताकि मानव आफ्ना कान र हृदयले सहन सक्‍ने वातावरणमा बाँच्‍न सकोस्। नत्र त, मानवजातिको जीवनमा ठूलो बाधा बनेर र तिनीहरूको निम्ति गम्भीर समस्या उत्पन्‍न गरेर ध्वनिहरूले मानवजातिको अस्तित्वमा ठूलो बाधा-व्यवधान खडा गर्छन्। यसको अर्थ के हो भने जमिन, वायुमण्डल र विभिन्‍न किसिमका भौगोलिक वातावरणको सृष्टि गर्ने क्रममा परमेश्‍वरले विशेष ध्यान दिनुभयो र यी हरेकमा परमेश्‍वरको बुद्धि सामेल छ। यससम्‍बन्धी मानवजातिको बुझाइ धेरै विस्तृत हुनु आवश्यक छैन—यिनमा परमेश्‍वरका कार्यहरू समावेश छन् भन्‍ने कुरा जान्‍नु नै मानिसहरूको निम्ति पर्याप्त छ। अब तिमीहरूले मलाई भन, ध्वनिलाई एकदमै सटीक रूपमा मापन गरेर मानवजातिको बाँच्‍ने वातावरण र तिनीहरूको सामान्य जीवनलाई कायम गर्नको निम्ति परमेश्‍वरले गर्नुभएको यो काम आवश्यक थियो? (हो, थियो।) यो काम आवश्यक थियो, त्यसकारण, यस दृष्टिकोणले हेर्दा, के परमेश्‍वरले सबै थोकलाई आवश्यक कुराहरू उपलब्ध गराउनको निम्ति यो कामको प्रयोग गर्नुभयो भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले मानवजातिको प्रावधानको निम्ति यस्तो शान्त वातावरणको सृष्टि गर्नुभयो ताकि मानव शरीर सामान्य तवरले कुनै बाधाको सामना नगरी यसभित्र बाँच्‍न सकोस् र मानवजाति सामान्य तवरले अस्तित्वमा रहन र जिउन सकोस्। त्यसो भए, के परमेश्‍वरले मानवजातिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुने तरिकाहरूमध्ये एउटा यही होइन र? के यो परमेश्‍वरले गर्नुभएको अत्यन्तै महत्त्वपूर्ण कुरा थिएन र? (थियो।) यसको निकै ठूलो आवश्यकता थियो। अनि तिमीहरूले यसलाई कसरी बुझ्यौ त? यो परमेश्‍वरको कार्य हो भन्‍ने कुरालाई तिमीहरूले महसुस गर्न नसके तापनि वा त्यस बेला परमेश्‍वरले यसो गर्नुभएको हो भनेर तिमीहरूलाई थाहा नभए पनि, के परमेश्‍वरले यो कुरा गर्नु आवश्यक थियो भन्‍ने कुरालाई तिमीहरूले अझै पनि महसुस गर्न सक्छौ? के तिमीहरूले परमेश्‍वरको बुद्धि र उहाँले यसमा लगाउनुभएको वास्ता र सोचलाई महसुस गर्न सक्छौ? (हो, हामी सक्छौं।) यदि तिमीहरू यसलाई महसुस गर्न सक्छौ भने, यो नै पर्याप्त छ। परमेश्‍वरले आफ्नो सृष्टिका थोकहरू माझ धेरै कार्य गर्नुभएको छ जुन मानिसहरूले न त महसुस गर्न सक्छन् न त देख्‍न नै सक्छन्। तिमीहरूलाई परमेश्‍वरका कार्यहरूको बारेमा जानकारी दिनलाई मैले यो कुरा उठाएको हुँ, ताकि तिमीहरूले परमेश्‍वरलाई चिन्‍न सक। तिमीहरूलाई परमेश्‍वरको बारेमा जान्‍न र बुझ्‍नका निम्ति अझ राम्ररी सक्षम हुन सहयोग गर्न सक्‍ने सुराकहरू यिनै हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७३

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू)

घ. ज्योति

चौथो कुरा मानिसहरूका आँखासँग सम्बन्धित छ: ज्योति। यो पनि धेरै महत्त्वपूर्ण छ। जब तैँले चम्किलो ज्योति देख्छस्, र त्यसको चमक निश्‍चित तहमा पुगेपछि, त्यसले मानव आँखालाई अन्धो तुल्याउन सक्छ। मानव आँखा आखिर देहका आँखा न हुन्। आँखाले जलन सहन सक्दैनन्। के कसैले सूर्यलाई सिधा हेर्न सक्छ? केही मानिसहरूले यसो गर्ने प्रयास गरे र यदि तिनीहरूले घाममा लगाउने चस्मा लगाएका छन् भने त यसले ठीकै काम गर्छ—तर त्यसको निम्ति केही उपकरणको प्रयोग गर्नु आवश्यक हुन्छ। उपकरणहरूविना, मानिसको नाङ्गो आँखासँग सूर्यको सामना गर्ने र त्यसलाई सिधा हेर्ने क्षमता छैन। तैपनि, मानवजातिलाई ज्योति दिन परमेश्‍वरले सूर्यको सृष्टि गर्नुभयो, र यो ज्योति पनि उहाँले वास्ताको साथ बनाउनुभयो। परमेश्‍वरले सामान्य तवरले सूर्यको सृष्टि गरेर, त्यसलाई कतै राखी, त्यसको बेवास्ता गर्नुभएन; परमेश्‍वरले यसरी काम गर्नुहुन्‍न। उहाँ आफ्ना कार्यहरूमा धेरै होसियार हुनुहुन्छ, र तिनको बारेमा पूर्ण सावधानीका साथ सोच्‍नुहुन्छ। परमेश्‍वरले मानवजातिले देख्‍न सकून् भनेर आँखाको सृष्टि गर्नुभयो र मानिसले कुनै कुराहरूलाई देख्‍नको निम्ति ज्योतिको मापदण्ड पनि पहिले नै तोक्‍नुभयो। ज्योति धेरै मधुरो भएको भए, त्यो राम्रो हुनेथिएन। अँध्यारोमा मानिसहरूले आफ्नो अगाडिका आफ्नै औँलाहरू देख्‍न सक्दैनन्, तिनीहरूका आँखाले आफ्ना कार्य गुमाउँछन् र तिनले काम गर्दैनन्। तर धेरै चम्किलो ज्योतिले पनि मानिसहरूलाई त्यति नै देख्‍न नसक्‍ने बनाउँछ, किनकि चमक सहन नसकिने हुन्छ। यसैले, परमेश्‍वरले मानवजातिको अस्तित्वको वातावरणमा मानव आँखाको निम्ति उचित परिमाणको ज्योतिको प्रबन्ध गर्नुभएको छ, अर्थात् मानिसहरूको आँखालाई हानि नपुर्‍याउने वा नष्ट नगर्ने गरी र आँखाका कार्य पनि नगुम्‍ने गरी उचित परिमाणको ज्योतिको प्रबन्ध गर्नुभएको छ। यही कारणले गर्दा, परमेश्‍वरले सूर्य र पृथ्वीवरिपरि बादलका तहहरू थप्‍नुभयो र यही कारणले गर्दा नै मानिसहरूका आँखा वा छालालाई हानि पुर्‍याउने ज्योतिलाई हावाको घनत्वले छान्‍न सक्छ—यी सुहाउँदो परिमाणमा छन्। यसका अतिरिक्त, परमेश्‍वरले सृष्टि गर्नुभएका पृथ्वीका रङहरूले सूर्यको ज्योति र अन्य प्रकारका ज्योतिहरूलाई परावर्तन गर्छन् र तिनले मानव आँखाअनुकूल नभएका अत्यन्तै चम्किला ज्योतिलाई हटाउन सक्छन्। यसैले, मानिसहरू बाहिर हिँड्न र घाममा लगाउने अत्यन्तै गाढा चस्मा निरन्तर नलगाई आफ्नो जीवन अगाडि बढाउन सक्षम छन्। सामान्य परिस्थितिमा मानव आँखाले ज्योतिको असर नभोगीकनै आफ्नो दृष्टिक्षेत्रभित्रको कुरालाई देख्‍न सक्छन्। भन्‍नुको तात्पर्य, ज्योति अत्यन्तै चम्किलो वा धेरै मधुरो भयो भने पनि राम्रो हुँदैन। यदि धेरै मधुरो भयो भने मानिसका आँखामा क्षति पुग्छ र केही समयको प्रयोग पछि ती नष्ट हुन्छन्; यदि धेरै चम्किलो भयो भने मानव आँखाले सहन सक्दैन। त्यही ज्योति मानव आँखाले देख्‍नको निम्ति सुहाउँदो हुनुपर्छ र ज्योतिको कारण मानव आँखामा हुने क्षतिलाई परमेश्‍वरले विभिन्‍न विधिद्वारा कम गर्नुभएको छ; अनि यस ज्योतिले मानिसका आँखालाई फाइदा दिन वा कष्ट पुर्‍याउन सक्‍ने भए पनि, मानिसहरूले आँखाको प्रयोग गर्दै जीवनको अन्त्यसम्म पुग्‍नु पर्याप्त हुन्‍छ। के यस कुराको विषयमा परमेश्‍वरले सावधानीपूर्वक ध्यान दिनुभएको छैन र? तैपनि दियाबलस, शैतानले, यी सोचविचारहरूलाई आफ्नो मनमस्तिष्कमा नराखी कार्य गर्छ। शैतानको निम्ति, ज्योति कि त धेरै चम्किलो हुन्छ कि त धेरै मधुरो। शैतानले यसरी नै काम गर्छ।

परमेश्‍वरले मानवजातिको अस्तित्व अनुकूलन क्षमता बढाउनको लागि, मानव शरीरका सबै पक्षहरूको निम्ति—यसको दृष्टि, श्रवण शक्ति, स्वाद, श्‍वासप्रश्‍वास, अनुभव र अन्य कुराहरूको निम्ति—यी कुराहरू गर्नुभयो ताकि तिनीहरू सामान्य तवरले बाँच्‍न सकून् र त्यसलाई निरन्तरता दिन सकून्। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सृष्टि गर्नुभएको जीवनको वर्तमान वातावरण नै मानवजातिको निम्ति सबैभन्दा सुहाउँदो र फाइदाजनक वातावरण हो। कतिपय मानिसहरूले के सोच्छन् भने, यसले त्यति धेरै फरक पार्दैन, यो सबै नै अति सामान्य कुरा हो। मानिसहरू ध्वनि, ज्योति र हावालाई आफ्नो जन्मसिद्ध अधिकार हो भन्‍ने ठान्‍छन्, जसलाई तिनीहरूले आफ्नो जन्मदेखि नै उपभोग गर्दै आएका छन्। तर तैँले उपभोग गर्न सकेका ती कुराहरूपछाडि परमेश्‍वरको काम लुकेको छ; यो कुरा मानवले बुझ्‍न आवश्यक छ, तिनीहरूले यो कुरा जान्‍नुपर्छ। तैँले यी कुराहरू बुझ्‍नु वा जान्‍नु आवश्यक छैन भनेर तैँले महसुस गरे तापनि, छोटकरीमा भन्‍नुपर्दा परमेश्‍वरले तिनको सृष्टि गर्ने क्रममा तिनीहरूलाई धेरै ध्यान दिनुभयो, उहाँसँग यसबारे योजना थियो र केही निश्‍चित विचार थियो। उहाँले मानवजातिको बारेमा दोस्रोपटक नसोची, मानवजातिलाई जिउनको निम्ति त्यतिकै वा सामान्य तवरले यस्तो वातावरणमा राख्‍नुभएको होइन। मैले यी हरेक साना कुराहरूको बारेमा धेरै ठूलो कुरा गरेको छु भन्‍ने तिमीहरूलाई लाग्‍न सक्छ, तर मेरो दृष्टिमा मानवजातिको निम्ति परमेश्‍वरले उपलब्ध गराउनुभएको हरेक कुरा मानवजातिको अस्तित्वको निम्ति आवश्यक छ। यसमा परमेश्‍वरको कार्य छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७४

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू)

ङ. वायुप्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा मानव शरीर यस भौतिक संसारमा बाँच्‍नै सक्दैन। यो वायुप्रवाह हो। सायद यो “वायुप्रवाह” भन्‍ने नामपदलाई सुन्‍ने जोकोहीले पनि यसलाई बुझ्‍न सक्छ। त्यसो भए, वायुप्रवाह के हो त? “वायुप्रवाह” भनेको त वायुको बहने चाल त हो नि भनेर तिमीहरू भन्‍न सक्छौ। वायुप्रवाह मानव आँखाले देख्‍न नसकिने हावाको बहाव हो। यो ग्याँसहरू चल्ने एक तरिका पनि हो। तापनि, यस कुराकानीमा “वायुप्रवाह” ले मुख्य रूपमा केलाई जनाउँछ त? मैले भन्‍नेबित्तिकै तिमीहरूले बुझ्‍नेछौ। पृथ्वीले आफू घुम्दा पर्वत, समुद्र र सृष्टिका सबै थोक बोक्छ र यो घुम्दा गतिसहित घुम्छ। तैँले यस घुमाइलाई महसुस गर्न नसके तापनि पृथ्वीको परिक्रमा अस्तित्वमा छ। यस परिक्रमाले के पैदा गर्छ? जब तँ दौडन्छस्, तेरा कानको छेउबाट हावा बहँदैन र? यदि तँ दौडिँदा हावा उत्पन्‍न हुन्छ भने पृथ्वीले परिक्रमा गर्दा बतास किन चल्दैन र? जब पृथ्वीले परिक्रमा गर्छ, सबै थोक चलायमान हुन्छन्। पृथ्वी आफै चलायमान छ र यसले निश्‍चित गतिमा परिक्रमा गरिरहेको छ, र यसमा भएका हरेक थोक पनि निरन्तर वृद्धि र विकास भइरहेका छन्। यसर्थ, कुनै निश्‍चित गतिको चालले स्वभाविक रूपमा वायुप्रवाह उत्पन्‍न गर्छ। “वायुप्रवाह” को बारेमा मैले भन्‍न खोजेको अर्थ यही हो। यस वायुप्रवाहले मानव शरीरलाई केही हदसम्म प्रभाव पार्दैन र? तुफानलाई नै लिऔं: सामान्य तुफानहरू त्यति शक्तिशाली हुँदैनन्, तर जब तिनीहरू आउँछन्, मानिसहरू सिधा खडा हुन पनि सक्दैनन् र तिनीहरूलाई बतासमा हिँड्न कठिन हुन्छ। एक पाइला चाल्‍न पनि कठिन हुन्छ र केही मानिसहरूलाई त यसले हिँड्नै नसक्‍ने गरी कुनै कुरामा चेप्ट्याएर राख्छ। वायुप्रवाहले मानवजातिलाई प्रभाव पार्ने तरिकामध्ये एउटा यही हो। यदि सारा पृथ्वी समथर जमिनले ढाकेको भए, पृथ्वी र सबै थोकले परिक्रमा गर्दा मानव शरीरले त्यसबाट उत्पन्‍न वायुप्रवाहलाई पूर्ण रूपमा धान्‍न नसक्‍नेथियो। यस्तो परिस्थितिप्रति प्रतिक्रिया जनाउन अत्यन्तै कठिन हुन्छ। यदि वास्तवमा यस्तै हुँदो हो त यस्तो वायुप्रवाहले मानवजातिमाथि हानि मात्र पुर्‍याउँदैनथ्यो, यसले त पूर्ण विनाश नै गर्नेथियो। मानव यस्तो वातावरणमा बाँच्‍न सक्‍नेथिएन। यसैले परमेश्‍वरले त्यस्तो वायुप्रवाहको समाधानको निम्ति विभिन्‍न भौगोलिक वातावरणहरू बनाउनुभयो—विभिन्‍न वातावरणमा वायुप्रवाह कमजोर हुन्छ, यसको दिशा परिवर्तन हुन्छ, यसको गति बदलिन्छ र यसको तागत हेरफेर हुन्छ। त्यसैले मानिसहरूले पर्वत, ठूला हिमशृङ्खला, समथर जमिन, पहाड, बेँसी, उपत्यका, पठार र ठूला नदीहरूजस्ता फरकफरक भौगोलिक विशेषताहरू देख्‍न सक्छन्। यस्ता फरकफरक भौगोलिक विशेषताहरूको माध्यमद्वारा परमेश्‍वरले वायुप्रवाहको गति, दिशा र तागतलाई बदल्‍नुहुन्छ। यस विधिको माध्यमद्वारा उहाँले वायुप्रवाहलाई परिवर्तन वा हेरफेर गरी उचित गति, दिशा र तागत भएको हावामा परिणत गर्नुहुन्छ, ताकि मानवले जिउनको निम्ति सामान्य वातावरण पाउन सकोस्। के यसको आवश्यकता छ? (छ।) यसो गर्नु मानवको लागि कठिन देखिन्छ तर परमेश्‍वरको निम्ति यो सजिलो छ किनकि उहाँले सबै कुराहरूको अवलोकन गर्नुहुन्छ। उहाँको निम्ति, मानवको निम्ति सुहाउँदो वातावरणको सृजना गर्न योभन्दा सरल वा सहज हुनेथिएन। यसैले, परमेश्‍वरले सृजना गर्नुभएको यस्तो वातावरणमा उहाँको सृष्टिभित्रका हरेक कुराहरू अपरिहार्य छन्। हरेक कुराको अस्तित्वको मूल्य र आवश्यकता छ। तथापि, शैतान वा भ्रष्ट पारिएको मानवजातिले यस सिद्धान्तलाई बुझ्दैन। तिनीहरूले निरन्तर पर्वतहरूलाई समथर जमिनमा परिवर्तन गर्ने, गल्छीहरू पुर्ने र सिमेन्टको जङ्गल सृजना गर्नको निम्ति समथर जमिनमा गगनचुम्बी महलहरू बनाउने व्यर्थको सपना देख्दै विनाश, विकास र शोषण गर्ने काम गरिरहन्छन्। परमेश्‍वरको के आशा छ भने उहाँले तिनीहरूको निम्ति तयार पार्नुभएको यो सबैभन्दा सुहाउँदो वातावरणमा मानवजाति खुसीसाथ बाँच्‍न, खुसीसाथ वृद्धि हुन र हरेक दिन खुसीसाथ बिताउन सकोस्। यसैले मानवजाति बस्‍ने यो वातावरणलाई व्यवहार गर्ने कुरामा परमेश्‍वरले कहिल्यै पनि लापरवाही गर्नुभएको छैन। तापक्रमदेखि लिएर वायुसम्म, ध्वनिदेखि लिएर ज्योतिसम्म परमेश्‍वरले जटिल योजना र बन्दोबस्तहरू गर्नुभएको छ, ताकि मानिसहरूका शरीर र तिनीहरू बाँच्‍ने वातावरणलाई प्राकृतिक परिस्थितिहरूले बाधा नदेओस्, बरु यसको सट्टा, मानवजाति सामान्य तवरले अन्य कुराहरूसँग सामञ्‍जस्यपूर्ण सहअस्तित्वमा जिउन र वृद्धि हुन सकोस्। यी सबै कुराहरू परमेश्‍वरले यावत् थोक र मानवजातिको लागि उपलब्ध गराउनुभएको छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७५

के तिमीहरूलाई अब परमेश्‍वर र मानवजातिबीचको सबैभन्दा ठूलो भिन्‍नताको बारेमा थाहा भयो? अन्ततः सबै थोकको मालिक को हो? के त्यो मानिस हो? (होइन।) त्यसो भए, परमेश्‍वर र मानिसले सारा सृष्टिलाई गर्ने व्यवहारमा के फरक छ? (परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै थोकको बन्दोबस्त गर्नुहुन्छ, जबकि मानिसले ती कुराहरूको उपभोग गर्छ।) के तिमीहरू यसमा सहमत छौ? परमेश्‍वर र मानिसबीचको सबैभन्दा ठूलो भिन्‍नता यही हो कि परमेश्‍वरले सारा सृष्टिमाथि राज्य गर्नुहुन्छ र सारा सृष्टिको लागि आवश्यक कुराहरू उपलब्ध गराउनुहुन्छ। उहाँ सबै थोकको स्रोत हुनुहुन्छ र परमेश्‍वरले सारा सृष्टिलाई आवश्यक कुराहरू उपलब्ध गराउनुहुँदा मानवजातिले त्यसको आनन्द उठाउँछ। भन्‍नुको तात्पर्य, मानिसले परमेश्‍वरले सबै थोकलाई प्रदान गर्नुहुने जीवन स्वीकार गर्दा, उसले सृष्टिका सबै थोकहरूको आनन्द उठाउँछ। परमेश्‍वर मालिक हुनुहुन्छ र मानवजातिले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुहुँदा उत्पन्‍न फलहरूको आनन्द लिन्छ। त्यसो भए, परमेश्‍वरको सृष्टिका सबै थोकको दृष्टिकोणबाट हेर्दा, परमेश्‍वर र मानिसबीचको भिन्‍नता के हो त? परमेश्‍वरले सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमलाई स्पष्टसँग देख्‍न सक्‍नुहुन्छ र उहाँले ती नियमहरूमाथि नियन्त्रण र प्रभुत्व कायम गर्नुहुन्छ। यसर्थ, सबै थोक परमेश्‍वरको नजरभित्र छन् र उहाँको निगरानीको दायराभित्र छन्। के मानवजातिले यी सबै थोक देख्‍न सक्छ? मानवजातिले देख्‍न सक्‍ने कुरा उसको प्रत्यक्ष अगाडि भएको कुरामा सीमित छ। यदि तैँले पर्वत चढिस् भने तैँले त्यो पर्वत मात्र देख्छस्। तैँले त्यस पर्वतको अर्कोतिर के छ भन्‍ने देख्‍न सक्दैनस्। यदि तँ समुद्रको किनारामा गइस् भने तैँले समुद्रको एक छेउ मात्र देख्छस् र त्यस समुद्रको अर्को छेउ कस्तो देखिन्छ भन्‍ने तैँले थाहा पाउन सक्दैनस्। यदि तँ वनमा गइस् भने तैँले तेरो अगाडि र वरिपरि भएका वनस्पतिहरू देख्छस्, तर त्यसभन्दा पर के छ त्यो देख्‍न सक्दैनस्। मानवले माथि, टाढा र गहिराइमा भएका कुराहरू देख्‍न सक्दैनन्। तिनीहरूले प्रत्यक्ष आफूअगाडिका, तिनीहरूका दृष्टिक्षेत्रभित्रका कुराहरू मात्र देख्‍न सक्छन्। वर्षका चार ऋतुहरूलाई नियन्त्रण गर्ने नियम वा सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमको बारेमा मानवलाई थाहा भए तापनि तिनीहरूले सबै थोकको प्रबन्ध गर्न वा तिनलाई नियन्त्रण गर्न सक्दैनन्। तथापि परमेश्‍वरले आफ्नो सारा सृष्टिलाई त्यसरी नै हेर्नुहुन्छ जसरी उहाँ आफैले बनाउनुभएको यन्त्रलाई हेर्नुहुन्छ। उहाँ हरेक भाग र हरेक जडानसँग गहिरो गरी परिचित हुनुहुन्छ, तिनका सिद्धान्तहरू के-के हुन्, तिनका ढाँचाहरू के-के हुन् र तिनका उद्देश्यहरू के-के हुन्—परमेश्‍वरलाई यो सबै कुरा अत्यन्तै स्पष्टसँग थाहा छ। यसैले, परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो! मानिस विज्ञान र सारा कुराहरू नियमित गर्ने नियमहरूको बारेमा आफ्नो अनुसन्धानको गहिराइमा जान सक्‍ने भए तापनि, त्यो अनुसन्धानको दायरा सीमित छ, जबकि परमेश्‍वरले सबै कुराको नियन्त्रण गर्नुहुन्छ, जुन मानिसको निम्ति एक अनन्त नियन्त्रण हुन्छ। परमेश्‍वरको सबैभन्दा सानो कार्यको अनुसन्धान गर्दा पनि साँचो परिणामहरू प्राप्त नगरीकनै मानिसको सम्पूर्ण जीवन खर्च हुन सक्छ। यसैले, यदि तैँले परमेश्‍वरको अध्ययन गर्न आफ्नो ज्ञान र आफूले सिकेको कुरा मात्र प्रयोग गर्छस् भने तँ कहिल्यै पनि परमेश्‍वरलाई चिन्‍न वा बुझ्‍न सक्षम हुनेछैनस्। तर यदि तैँले सत्यको खोजी र परमेश्‍वरको खोजी गर्ने मार्गको छनोट गर्छस् र उहाँलाई चिन्‍ने दृष्टिकोणबाट परमेश्‍वरलाई हेर्छस् भने, तैँले एकदिन, परमेश्‍वरका कार्यहरू र बुद्धि एकैपटक सबैतिर छन् भन्‍ने पहिचान गर्नेछस् र परमेश्‍वरलाई किन सबै कुराहरूको मालिक र सबै कुराहरूको जीवनको स्रोत भनिएको हो भन्‍ने जान्‍नेछस्। तैँले जति धेरै यस्तो बुझाइ प्राप्त गर्छस्, त्यति नै धेरै परमेश्‍वरलाई सारा कुराहरूको मालिक किन भनिएको हो भन्‍ने बुझ्‍नेछस्। तँलगायत सारा कुराहरू र हरेक कुराले निरन्तर रूपमा परमेश्‍वरको भरणपोषणको स्थिर प्रवाह प्राप्त गरिरहेका छन्। तैँले यस संसारमा र यस मानवजातिमाझ सारा कुराहरूको अस्तित्वलाई शासन, व्यवस्थापन र कायम गर्ने क्षमता र सार परमेश्‍वरबाहेक अरू कोहीसँग छैन भन्‍ने पनि स्पष्ट रूपले महसुस गर्न सक्‍नेछस्। जब तँ यस बुझाइमा आइपुग्छस्, तैँले परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्छ भनेर साँचो रूपले पहिचान गर्नेछस्। जब तँ यस बिन्दुमा आइपुग्छस्, तैँले साँचो रूपले परमेश्‍वरलाई स्वीकार गरेको र उहाँलाई तेरो परमेश्‍वर अनि तेरो मालिक हुन अनुमति दिएको हुनेछस्। जब तैँले यस्तो बुझाइ प्राप्त गरेको हुन्छस् र तेरो जीवन यस्तो बिन्दुमा पुगेको हुन्छ, परमेश्‍वरले अबउप्रान्त तेरो परीक्षा र न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई कुनै मापदण्ड नै दिनुहुनेछ, किनकि तैँले परमेश्‍वरलाई बुझ्‍नेछस्, उहाँको हृदयलाई चिन्‍नेछस् र तेरो हृदयमा परमेश्‍वरलाई साँचो रूपले स्वीकार गरेको हुनेछस्। सबै थोकमाथि परमेश्‍वरको प्रभुत्व हुन्छ र उहाँले ती सबैको व्यवस्थापन गर्नुहुन्छ भन्‍ने यी विषयहरूमा सङ्‍गति गर्नुपर्ने एउटा महत्त्वपूर्ण कारण यही हो। यसो गर्नुको अर्थ मानिसहरूलाई थप ज्ञान र बुझाइ दिनु हो—यो तिमीहरूलाई स्वीकार गर्न लगाउनु मात्र होइन, बरु तिमीहरूलाई परमेश्‍वरका कार्यहरूको बारेमा थप व्यावहारिक रूपले थाहा पाउन र बुझ्‍न लगाउनु हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७६

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (छनौट गरिएका खण्डहरू)

अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता खानेकुराहरू—यी सबै शाकाहारी भोजनहरू हुन्। ती शाकाहारी भोजन भए तापनि, तिनमा मानव शरीरका आवश्यकता पूरा गर्ने पर्याप्त पोषक तत्त्वहरू हुन्छन्। तापनि, परमेश्‍वरले यसो भन्‍नुभएन: “म मानवजातिलाई यी खानेकुराहरू मात्र दिन्छु। तिनीहरूले यी खानेकुराहरू मात्र खाऊन्।” परमेश्‍वर त्यहाँ रोकिनुभएन, तर मानवजातिको निम्ति धेरै थप स्वादिष्ठ खानेकुराहरू तयार गर्ने कार्यमा लाग्‍नुभयो। यी खानेकुराहरू के-के हुन् त? ती तिमीहरूले खान र देख्‍न सक्‍ने विभिन्‍न किसिमका माछा र मासु हुन्। उहाँले मानिसको निम्ति धेरै किसिमका माछा र मासु दुवै तयार पार्नुभयो। माछा पानीमा बस्छ र पानीमा बस्‍ने माछाको मासुको तत्त्व जमिनमा बस्‍ने जनावरहरूको भन्दा फरक हुन्छ र त्यसले मानिसलाई फरक पोषक तत्त्वहरू प्रदान गर्छ। माछामा मानव शरीरभित्र चिसो र तातो नियन्त्रण गर्ने गुणहरू पनि हुन्छ, जसले मानिसलाई ठूलो फाइदा दिन्छ। तर स्वादिष्ठ खानेकुराहरू धेरै खानु हुँदैन। मैले पहिले नै भनिसकेँ, परमेश्‍वरले मानवजातिलाई ठीक समयमा ठीक परिमाणमा खानेकुरा दिनुभएको छ, ताकि उहाँले प्रदान गर्नुभएका कुराहरूलाई मानिसहरूले सामान्य रूपमा र ऋतु र समयअनुसार उचित तवरले उपभोग गर्न सकून्। अब, पन्छी वर्गमा कस्ता किसिमका खानेकुराहरू समावेश छन् त? कुखुरा, बट्टाई, परेवा र यस्तै अन्य पन्छीहरू। धेरै मानिसहरूले हाँस र रजहाँस पनि खान्छन्। परमेश्‍वरले यी सबै किसिमका मासुहरू उपलब्ध गराउनुभएको भए तापनि, व्यवस्थाको युगमा उहाँले आफ्‍ना चुनिएका मानिसहरूलाई निश्‍चित मापदण्डहरू दिनुभयो र तिनीहरूका आहारामा विशेष सीमाहरू तोक्‍नुभयो। आजभोलि यी सीमाहरू व्यक्तिगत स्वाद र व्यक्तिगत व्याख्यामा भर पर्छन्। यी विविध मासुहरूले मानव शरीरलाई विविध पोषक तत्त्वहरू प्रदान गर्छन्, प्रोटिन र फलामको आवश्यकता पूर्ति गर्छन्, रगतलाई समृद्ध बनाउँछन्, मांसपेशी र हाडहरूलाई बलिष्ठ बनाउँछन् र शरीरको शक्ति निर्माण गर्छन्। मानिसहरूले जसरी पकाएर खाए तापनि यी मासुहरूले तिनीहरूका खानाका स्वादलाई सुधार्छन् र तिनीहरूका खाने रुचि बढाउनुका साथै तिनीहरूका पेटलाई तृप्त पनि पार्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त यी खानाहरूले मानव शरीरलाई आवश्यक दैनिक पोषक तत्त्वहरू पूर्ति गर्छन्। परमेश्‍वरले मानवजातिको निम्ति खाना तयार गर्नुहुँदा यी कुराहरूमा ध्यान दिनुभयो। तरकारी र मासु—के यो प्रशस्त छैन र? तर मानवजातिको निम्ति सबै खानेकुरा उपलब्ध गराउनुको पछाडि परमेश्‍वरको उद्देश्य के छ भन्‍ने कुरा मानिसहरूले बुझ्‍नुपर्छ। के यो मानिसहरूलाई खानेकुरामा चाहिनेभन्दा बढी लिप्त गराउनलाई थियो? मानिस यी भौतिक चाहनाहरू तृप्त गर्ने प्रयासमा अल्झियो भने के हुन्छ? के उसले चाहिनेभन्दा बढी पोषण प्राप्त गर्दैन र? के अत्यन्तै धेरै पोषणले मानव शरीरलाई धेरै किसिमले सताउँदैन र? (सताउँछ।) यही कारणले गर्दा, परमेश्‍वरले ठीक समयमा ठीक परिमाण दिनुहुन्छ र मानिसलाई मानिसहरूको आनन्दको निम्ति फरकफरक समय र ऋतुहरूमा फरकफरक किसिमका खानाहरू दिनुहुन्छ। उदाहरणको लागि, धेरै गर्मी ग्रीष्म ऋतुपछि मानिसहरूको शरीरमा धेरै ताप र रोगजन्य सुक्खापन तथा आर्द्रता जम्मा हुन्छ। जब शरद् ऋतु आउँछ, धेरै किसिमका फलफूलहरू पाक्छन् र जब मानिसहरूले ती फलफूलहरू खान्छन् तिनीहरूको शरीरमा भएको आर्द्रता बाहिर निस्कन्छ। यस समयमा, गाईवस्तु र भेडाहरू पनि बलिया भएका हुन्छन्, यसैले मानिसहरूले यस बेला पोषणको निम्ति धेरै मासु खानुपर्छ। विविध किसिमका मासु खाएर मानिसहरूको शरीरले हिउँदको जाडो सहन सहयोग पुर्‍याउने शक्ति र न्यानोपन प्राप्त गर्छ, फलस्वरूप तिनीहरू सुरक्षित र स्वस्थ रहेर हिउँद कटाउन सक्षम हुन्छन्। मानवजातिलाई के कुरा कहिले उपलब्ध गराउने, अनि उहाँले कहिले विभिन्‍न कुराहरूलाई वृद्धि गराउनुहुनेछ, फल फलाउनुहुनेछ र ती फललाई पकाउनुहुनेछ भन्‍ने कुरालाई परमेश्‍वरले अत्यन्तै वास्ता र सूक्ष्मताका साथ नियन्त्रण र समन्वय गर्नुहुन्छ। यो “परमेश्‍वरले मानिसलाई दैनिक जीवनमा आवश्यक पर्ने खाना कसरी तयार गर्नुहुन्छ” भन्‍ने वाक्यसँग सम्बन्धित छ। विभिन्‍न किसिमका खानाका अतिरिक्त, परमेश्‍वरले पानीका स्रोतहरू पनि उपलब्ध गराउनुभएको छ। खाना खाएपछि मानिसहरूले पानी पनि पिउनुपर्छ। के फलफूल मात्रै पर्याप्त छ त? मानिसहरू फलफूलले मात्र बाँच्‍न सक्दैनन्, यसबाहेक केही मौसममा त फलफूल नै हुँदैन। यसैले, मानवजातिको पानीसम्‍बन्धी समस्यालाई कसरी समाधान गर्न सकिन्छ त? जमिनमाथि र मुनि ताल, नदी र मूलहरूलगायतका पानीका धेरै स्रोतहरूको तयारी गरेर परमेश्‍वरले यसको समाधान गर्नुभएको छ। यी पानीका स्रोतहरू प्रदूषित नहुन्जेलसम्म र मानिसहरूले तिनलाई हेरफेर वा नष्ट नगरुन्जेलसम्म ती पिउनयोग्य हुन्‍छन्। अर्को शब्दमा, मानवजातिको भौतिक शरीरको जीवन धान्‍ने खानाका स्रोतहरूको सम्बन्धमा परमेश्‍वरले एकदमै स्पष्ट, अत्यन्तै सही र अत्यन्तै उचित तयारीहरू गर्नुभएको छ, ताकि मानिसहरूको जीवन केही कुराको अभावविना सम्पन्‍न र भरपूर होस्। यो मानिसहरूले महसुस गर्न सक्‍ने र देख्‍न सक्‍ने कुरा हो।

यसका अतिरिक्त, परमेश्‍वरले सबै थोकमाझ केही बोटबिरुवा, जनावर र विभिन्‍न किसिमका जडीबुटीहरूको सृष्टि गर्नुभयो, जसले मानव शरीरका चोट वा बिमारीहरू निको पार्ने काम गर्छन्। उदाहरणको निम्ति, कसैलाई आगोले पोल्यो वा दुर्घटनावश उसले आफैलाई तातो पानीले जलायो भने के गर्नुपर्छ? के तैँले जलेको भागलाई पानीले धुन सक्छस्? के तैँले त्यसलाई कुनै पुरानो कपडाले बाँध्‍न सक्छस्? यदि तैँले त्यसो गरिस् भने घाउमा पीप भरिन वा सङ्क्रमण हुन सक्छ। उदाहरणको लागि, यदि कसैलाई ज्वरो आयो वा चिसो लाग्यो; काम गर्दा चोट लाग्यो; गलत कुरा खाएर पेट खराब भयो; जीवनशैली वा भावनात्मक कुराहरूको कारण विकास हुने रक्तवाहिनी नलीसँग सम्बन्धित रोग, मनोविज्ञानसँग सम्बन्धित वा भित्री अङ्गहरूसँग सम्बन्धित रोगहरू लाग्यो; यदि यस्तो भयो भने तिनीहरूका रोगहरू निको पार्नका लागि त्यसैअनुरूपका वनस्पतिहरू छन्। रक्त सञ्‍चारमा सुधार गर्ने र दूषित कुरा हटाउने, पीडा कम गर्ने, रक्तस्राव रोक्‍ने, दुखाइ कम गर्ने, छालालाई निको पारेर सामान्य अवस्थामा फर्काउन र रक्त गतिहीनता हटाउने र शरीरबाट विषाक्त कुराहरू बाहिर निकाल्ने—छोटकरीमा भन्दा, दैनिक जीवनमा यी वनस्पतिहरूका प्रयोगहरू छन्। मानिसहरूले तिनको प्रयोग गर्न सक्छन् र आवश्यक परेको बेला प्रयोग गर्न सकियोस् भनेर नै परमेश्‍वरले मानव शरीरको लागि यिनीहरू तयार गर्नुभएको हो। तीमध्ये कतिपयको बारेमा परमेश्‍वरले मानिसलाई संयोगवश पत्ता लगाउन दिनुभयो, जबकि बाँकी कुराहरूको बारेमा भने कि त परमेश्‍वरले छनौट गर्नुभएका मानिसहरूले पत्ता लगाए कि त उहाँले तारतम्य मिलाउनुभएका विशेष घटनाहरूको कारण आफै पत्ता लाग्यो। यी वनस्पतिहरू भेटिएपछि, मानवजातिले तिनलाई पुस्ताहरूमा हस्तान्तरण गरे अनि धेरै मानिसहरूलाई तिनको बारेमा थाहा भयो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी वनस्पतिहरूका मूल्य र अर्थ छन्। सारांशमा, यी सबै थोक परमेश्‍वरबाट आएका, उहाँले मानवजातिको अस्तित्वको वातावरण तयार गर्ने क्रममा उहाँले तयार गर्नुभएका र रोप्‍नुभएका कुराहरू हुन्। तिनीहरू अत्यावश्यक छन्। के परमेश्‍वरका सोचविचार प्रक्रियाहरू मानवजातिका भन्दा विस्तृत छन्? जब तँ परमेश्‍वरले गर्नुभएका सबै थोक देख्छस्, के तैँले परमेश्‍वरको व्यवहारिक पक्षलाई अनुभूति गर्छस्? परमेश्‍वरले गुप्त रूपमा काम गर्नुहुन्छ। परमेश्‍वरले यी सबैको सृष्टि मानिस संसारमा आउनुभन्दा अगाडि नै, उहाँले मानिसलाई सम्पर्क गर्नुभन्दा अगाडि नै गर्नुभयो। सबै कुरा मानवजातिलाई ध्यानमा राखेर, मानिसको अस्तित्वको खातिर र तिनीहरूको अस्तित्वलाई सोचेर गरिएका थिए, ताकि मानवजाति तिनीहरूको निम्ति तयार पारिएको यस सम्पन्‍न र प्रचुर भौतिक संसारमा खुसीसाथ खाना र वस्‍त्रको चिन्ता नगरी कुनै कुराको अभावविना बाँचोस्। यस्तो वातावरणमा मानवजाति निरन्तर प्रजनन गर्न र जिउन सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७७

हामीले मानवजाति बसोबास गर्ने वातावरण र परमेश्‍वरले त्यो वातावरणको लागि जे गर्नुभयो र उहाँले जे-जस्तो तयारी गर्नुभयो सोबारेमा कुरा गर्दै छलफल सुरु गर्‍यौं। हामीले उहाँले के व्यवस्थित गर्नुभयो; परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुभएका सृष्टिका वस्तुहरूबीचको सम्बन्ध; र परमेश्‍वरले आफूले सृष्टि गर्नुभएका यी कुराहरूले मानवजातिलाई हानि गर्नबाट रोक्‍न यी सम्बन्धहरूलाई कसरी व्यवस्थित गर्नुभयो भन्‍ने विषयमा छलफल गर्यौं। परमेश्‍वरले उहाँको सृष्टिभित्र भएका विभिन्‍न कारक तत्त्वहरूबाट मानवजातिको वातावरणमा हुन सक्‍ने हानिलाई न्यूनीकरण गर्नुभयो, जसले सबै कुराहरूलाई आ-आफ्नो उच्‍चतम उद्देश्य पूरा गर्न र मानवजातिलाई लाभदायक तत्त्वहरूसहितको उपयोगी वातावरण निर्माण गर्नमा मदत गर्छ, र यसबाट मानवजाति यस्तो वातावरणमा अनुकूलन गर्न र जीवन र प्रजननको चक्रलाई लगातार जारी राख्‍न सक्षम बन्छ। अर्को कुरा, हामीले मानव शरीरलाई आवश्यक पर्ने खाना—मानवजातिको दैनिक खाद्य र पेयपदार्थको बारेमा कुरा गर्‍यौं। यो मानवजाति बाँच्‍नको लागि आवश्यक पर्ने अवस्था पनि हो। भन्‍नुको मतलब, मानव शरीर सास फेरेर मात्र, घाम, हावा वा उपयुक्त तापक्रमहरूले मात्र बाँच्न सक्दैन। मानवजातिले आफ्नो पेट पनि भर्न आवश्यक हुन्छ र परमेश्‍वरले कुनै कुराको पनि नजरअन्दाज नगरी तिनीहरूले पेट भर्न सक्‍ने वस्तुहरूको स्रोत तयार पार्नुभयो, र तिनीहरू नै मानवजातिको खानाको स्रोत हुन्। जब तैँले यस्तो प्रशस्त र यथेष्ट उत्पादन—मानवजातिको खाद्य र पेयपदार्थको स्रोत—देखेको हुन्‍छस्, के तँ परमेश्‍वर नै मानवजाति र उहाँको सृष्टिका सबै वस्तुहरूको लागि आपूर्तिको स्रोत हुनुहुन्छ भनेर भन्‍न सक्छस्? यदि सृष्टिको समयमा, परमेश्‍वरले निश्‍चित सङ्ख्यामा रूखहरू वा घाँस वा कुनै पनि संख्यामा अन्य जीवित वस्तुहरू सृष्टि गर्नुभएको भए र यदि यी विभिन्‍न जीवित वस्तुहरू र बिरुवाहरू गाई र भेडाले खानको लागि वा वनघोडा, मृग र अन्य विभिन्‍न प्रकारका जनावरहरूले खानको लागि मात्र भएको भए, र यसै गरी सिंहहरूले वनघोडा र मृगजस्ता जन्तुहरू र बाघहरूले भेडा र सुँगुरजस्ता जन्तुहरू खान्थे भने—तर मानवको लागि खानलाई उपयुक्त कुरा एउटा पनि नभएको भए, के त्यसले काम गर्थ्यो त? त्यसले काम गर्दैनथ्यो। मानवजाति धेरै समयसम्म बाँच्न सक्षम हुँदैनथ्यो। मानवले पातहरू मात्र खाने भएको भए के हुन्थ्यो? के त्यसले काम गर्थ्यो त? के मानिसले भेडाको लागि बनेको घाँस खान सक्थ्यो? तिनीहरूले थोरै खाएका भए त यसले हानि गर्दैनथ्यो होला, तर यदि तिनीहरूले यस्तो कुरा लामो समयसम्म खाएको भए, तिनीहरूको पेटले यसलाई सहन सक्दैनथ्यो र मानिसहरू लामो समयसम्म बाँच्दैनथे। यसमा यस्ता कुराहरू पनि छन् जुन जनावरहरूले खान सक्छन् तर मानवहरूका लागि ती विषालु छन्—जनावरहरूले तिनीहरूलाई कुनै पनि नराम्रो परिणामविना नै खान सक्छन्, तर ती कुरा मानवहरूको लागि त्यस्तै हुँदैनन्। भन्‍नुको मतलब, परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, त्यसैले परमेश्‍वरलाई नै सबैभन्दा उत्तम रूपमा मानव शरीरको सिद्धान्त र संरचनाका साथै मानवलाई के आवश्यक हुन्छ भन्‍ने ज्ञान छ। परमेश्‍वरलाई शरीरको संरचना र यसभित्रका विभिन्‍न तत्त्वहरू, यसका आवश्यकताहरू र यसका आन्तरिक अङ्गहरूका कार्यहरू र तिनीहरूले विभिन्‍न पदार्थहरू कसरी सोस्छन्, हटाउँछन् र पचाउँछन् भन्‍ने कुरा सबैभन्दा स्पष्ट रूपमा थाहा छ। मानवलाई यो कुरा थाहा हुँदैन; कहिलेकाहीँ तिनीहरूले अति लापर्बाहीपूर्वक खान्छन् वा लापर्बाहीपूर्वक स्व-हेरचाह गर्छन्, जसको ज्यादा मात्राले केवल असन्तुलन गराउँछ। यदि तैँले परमेश्‍वरले तेरो लागि तयार गर्नुभएका कुराहरू साधारण तरिकाले खाइस् वा उपभोग गरिस् भने, तँमा कुनै पनि स्वास्थ्य समस्या हुनेछैन। यदि तैँले कहिलेकाहीँ खराब मनस्थितिको अनुभव गरिस् वा तँमा रक्त गतिहीनता भएमा समेत, यसले कुनै समस्या पार्नेछैन। तैँले निश्‍चत प्रकारका वनस्पति मात्र खानु आवश्यक हुन्छ र गतिरोध हट्नेछ। परमेश्‍वरले यी सबै कुराहरूको लागि तयारी गर्नुभएको छ। त्यसैले, परमेश्‍वरको नजरमा, मानवजाति अन्य सबै जीवित वस्तुहरूभन्दा धेरै माथिको हो। परमेश्‍वरले प्रत्येक प्रकारको वनस्पतिको लागि वातावरण तयार गर्नुभयो र उहाँले प्रत्येक प्रकारको जनावरको लागि खाना र वातावरण तयार गर्नुभयो, तर मानवजातिलाई वातावरणसम्बन्धी सबैभन्दा कठोर आवश्यकता हुन्छ र ती आवश्यकताहरूलाई नजरअन्दाज गर्न सकिँदैन; यदि तिनीहरूलाई नजरअन्दाज गरिएको भए, मानवजाति सामान्य तवरमा निरन्तर विकसित हुन, बाँच्न र प्रजनन गर्न सक्षम हुँदैनथ्यो। यो कुरा हृदयदेखि नै सबैभन्दा राम्रोसँग थाहा हुने परमेश्‍वर नै हुनुहुन्छ। जब परमेश्‍वरले यो काम गर्नुभयो, उहाँले अन्य कुनै पनि कुरामा भन्दा यसमा बढी महत्त्व दिनुभयो। सम्भवतः तैँले आफूले देख्‍ने र जीवनमा आनन्द लिने कुनै कुरा वा तँसँग जन्मदेखि भएका तैँले देख्‍ने र आनन्द लिने केही मामुली कुराहरूको महत्त्व अनुभूत गर्न तँ सक्षम छैनस् होला, तर परमेश्‍वरले तेरो लागि वर्षौँपहिले नै वा गोप्य रूपमा तयारीहरू गरिसक्‍नुभएको छ। सम्भव भएको सबैभन्दा बढी हदसम्म, परमेश्‍वरले मानवजातिको लागि प्रतिकूल वा मानव शरीरमा हानि गर्न सक्‍ने सबै नकारात्मक तत्त्वहरूलाई हटाउनुभएको वा साम्य पार्नुभएको छ। यसले के देखाउँछ त? के यसले उक्त समयमा परमेश्‍वरले मानवजातिलाई बनाउनुहुँदा उनीहरूप्रति रहेको उहाँको मनोवृत्तिलाई देखाउँछ? त्यो मनोवृत्ति के थियो? परमेश्‍वरको मनोवृत्ति सावधान र इमानदार प्रकृतिको थियो र यसले उहाँको बाहेक अरू कुनै पनि शत्रुबल वा बाह्य कारक वा अवस्थाहरूद्वारा हुने हस्तक्षेप सहन गर्दैनथ्यो। यसमा उक्त समय मानवजातिलाई सृष्टि गर्ने र व्यवस्थित गर्ने परमेश्‍वरको मनोवृत्ति देख्‍न सकिन्छ। अनि, परमेश्‍वरको मनोवृत्तिचाहिँ के हो त? बाँच्नको लागि वातावरण र मानवजातिले आनन्द लिने जीवनका साथै तिनीहरूको दैनिक खाद्य तथा पेयपदार्थ र दैनिक आवश्यकताहरूमार्फत, हामीले मानवजातिप्रति परमेश्‍वरको उत्तरदायित्वको मनोवृत्ति देख्‍न सक्छौं, जुन उहाँले मानिसको सृष्टि गर्नुभएदेखि नै कायम गर्दै आउनुभएको छ, यसको साथै उक्त समयमा मानवजातिलाई बचाउने उहाँको दृढ़ सङ्कल्प पनि देख्‍न सक्छौँ। के यी वस्तुहरूमा परमेश्‍वरको आधिकारिकता देख्‍न सकिने किसिमको छ? अनि उहाँको अद्‌भूतता नि? उहाँको अथाहपन? उहाँको सर्वशक्तिमान्‌ता? परमेश्‍वरले सबै मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्न, साथै उहाँको सृष्टिका सबै थोकलाई भरणपोषण गर्नको लागि आफ्नो बुद्धिमान् र सर्वशक्तिमान् शैली प्रयोग गर्नुहुन्छ। अब मैले तँलाई धेरै कुरा भनिसकेको छु, के तँ भन्‍न सक्छस् कि सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ? (सक्छु।) त्यो निश्‍चय नै हो। के तँलाई कुनै शङ्का छ? (छैन।) सबै कुराको लागि परमेश्‍वरले गर्नुभएको प्रावधान नै सबै कुराहरूको लागि जीवनको स्रोत उहाँ नै हुनुहुन्छ भन्‍ने देखाउन पर्याप्त छ, किनभने सबै थोकलाई अस्तित्वमा रहन, जीवन जिउन, प्रजनन गर्न र निरन्तर रूपमा अघि बढिरहन सक्षम पार्ने उक्त प्रावधानको स्रोत उहाँ नै हुनुहुन्छ र परमेश्‍वर स्वयम्‌बाहेक अरू कुनै पनि स्रोत विद्यमान छैन। परमेश्‍वरले सबै थोकका सबै आवश्यकता र मानवजातिका पनि सबै आवश्यकता पूरा गर्नुहुन्छ, चाहे ती मानिसहरूका सबैभन्दा आधारभूत वातावरणीय आवश्यकताहरू हुन्, चाहे उनीहरूका दैनिक जीवनका आवश्यकताहरू हुन्, वा चाहे उहाँले मानिसहरूका आत्मालाई प्रदान गर्नुहुने सत्यताका आवश्यकता नै हुन्। हरेक प्रकारले परमेश्‍वरको पहिचान र उहाँको हैसियत मानवजातिको लागि ठूलो महत्त्वको हुन्छ; सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर मात्र हुनुहुन्छ। भन्‍नुको मतलब, परमेश्‍वर नै यो संसार अर्थात् मानिसले देख्‍न र अनुभव गर्न सक्‍ने यो संसारका शासक, मालिक र प्रदायक हुनुहुन्छ। मानवजातिको लागि, के यो परमेश्‍वरको पहिचान होइन र? यसमा कुनै पनि झूटो कुरा छैन। त्यसैले, जब तैँले आकाशमा चराहरू उडिरहेको देख्छस्, तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरले उड्न सक्‍ने सबै कुराको सृष्टि गर्नुभयो। त्यसै गरी पानीमा पौडने जीवित वस्तुहरू पनि छन् र तिनीहरूको बाँच्ने आफ्नै तरिका हुन्छ। माटोमा बाँच्ने बिरुवाहरूले वसन्तमा कोपिला र मुना हाल्छन्, त्यसपछि फल लाग्छ र शरदमा पातहरू झर्न थाल्छन् र शिशिरमा ती बिरुवाहरूले जाडो छिचोल्ने तयारी गर्दा तिनीहरूका सबै पात झरिसकेका हुन्छन्। यो नै तिनीहरूको बाँच्ने तरिका हो। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र हरेक वस्तु भिन्‍न स्वरूप र भिन्‍न तरिकामा बाँच्छ र हरेकले बाँच्ने कुरामा आफ्नो जीवनशक्ति र स्वरूप प्रदर्शन गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्छ। विभिन्‍न वस्तुहरू जे-जसरी बाँच्दै रहे पनि, तिनीहरू सबै परमेश्‍वरको नियमअन्तर्गत हुन्छन्। परमेश्‍वरले जीवनका सबै विभिन्‍न स्वरूप र जीवित वस्तुहरूमाथि शासन गर्नुको उद्देश्य के हो त? के यो मानवजातिको जीवनको लागि हो? उहाँले जीवनका सबै नियमहरू नियन्त्रण गर्नुहुन्छ, र यो सबै मानवजातिको जीवन-अस्तित्वको लागि गर्नुहुन्छ। यसले परमेश्‍वरको लागि मानवजातिको जीवन कति महत्त्वपूर्ण छ भनी देखाउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७८

परमेश्‍वर केवल उहाँले चुन्‍नुभएका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्‍न। तैँले हाल परमेश्‍वरलाई पछ्याउँछस् र उहाँ तेरो परमेश्‍वर हुनुहुन्छ, तर के उहाँलाई नपछ्याउनेहरूको पनि उहाँ परमेश्‍वर हुनुहुन्छ त? के परमेश्‍वर उहाँलाई नपछ्याउने सबै मानिसहरूको परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वर सबै थोकको परमेश्‍वर हुनुहुन्छ? (हुनुहुन्छ।) त्यसो भए, के परमेश्‍वरका काम कार्बाहीहरूको दायरा केवल उहाँलाई पछ्याउनेहरूमा मात्र सीमित हुन्छ त? (होइन।) उहाँका काम कार्बाहीहरूको दायरा के हो त? सबैभन्दा सानो स्तरमा, उहाँका काम कार्बाहीहरूको दायराले सबै मानवजाति र सृष्टिका सबै कुराहरू समेट्छ। उच्‍चतम स्तरमा यसले सम्पूर्ण ब्रह्माण्ड समेट्छ जुन मानिसहरूले देख्‍न सक्दैनन्। त्यसैले, हामीले भन्‍न सक्छौं कि परमेश्‍वरले सबै मानवजातिमाझ आफ्ना काम कार्बाही गर्नुहुन्छ र यो कुरा मानिसलाई परमेश्‍वर स्वयम्‌को बारेमा सम्पूर्ण रूपमा जान्‍न दिन काफी हुन्छ। यदि तँ परमेश्‍वरलाई चिन्‍न, उहाँको बारेमा साँचो रूपमा जान्‍न, उहाँलाई साँचो रूपमा बुझ्न चाहन्छस् भने, आफूलाई केवल परमेश्‍वरको कार्यका तीन चरणहरूमा वा उहाँले विगतमा गर्नुभएका कार्यका कथाहरूमा सीमित नगर्। यदि तैँले उहाँलाई त्यो तरिकाले जान्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरमाथि सीमितता लगाउँदै छस्, उहाँलाई नियन्त्रण गर्दै छस्। तैँले परमेश्‍वरलाई एकदमै सानो केही कुराको रूपमा हेर्दै छस्। त्यसो गर्नाले मानिसहरूलाई कसरी प्रभाव पर्न सक्छ? तँ कहिल्यै पनि परमेश्‍वरको अद्‌भूतता वा सर्वोच्‍चता जान्‍न सक्षम हुनेछैनस्, न त उहाँको शक्ति र सर्वशक्तिमान्‌ता र उहाँको अख्तियारको क्षेत्रको बारेमा नै जान्‍न सक्‍नेछस्। यस्तो बुझाइले परमेश्‍वर नै सबै थोकको शासक हुनुहुन्छ भन्‍ने तथ्‍यलाई स्वीकार्ने तेरो क्षमताका साथै परमेश्‍वरको साँचो परिचय र हैसियतसम्बन्धी तेरो ज्ञानलाई प्रभावित तुल्याउनेछ। अर्को शब्दमा, यदि परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइको दायरा सीमित भएमा, तैँले प्राप्त गर्ने सक्‍ने कुरा पनि सीमित नै हुन्छ। त्यस कारणले गर्दा, तैँले आफ्नो दायरा फराकिलो पार्नुपर्छ र आफ्ना क्षितिजहरू विस्तार गर्नुपर्छ। तैँले यो कुरालाई सम्पूर्ण रूपमा बुझ्ने कोसिस गर्नुपर्छ—परमेश्‍वरको कार्यको दायरा, उहाँको व्यवस्थापन, उहाँको शासन, अनि उहाँले व्यवस्थापन र शासन गर्नुहुने सबै कुराहरू। यी कुराहरूमार्फत तैँले परमेश्‍वरका कार्यहरूको बरेमा बुझ्न सक्‍नुपर्छ। यस्तो बुझाइ भएमा, तैँले थाहै नपाई, परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, तिनीहरूको व्यवस्थापन गर्नुहुन्छ र तिनीहरूलाई आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ भन्‍ने कुरा महसुस गर्नेछस् र तैँले आफू पनि यी सबै थोकको एक हिस्सा र एक सदस्य भएको पनि साँचो रूपले महसुस गर्नेछस्। परमेश्‍वरले सबै थोकका लागि आवश्यक कुराहरू प्रदान गर्नुहुने भएकोले, तैँले पनि परमेश्‍वरको शासन र प्रावधान स्वीकार गरिरहेको छस्। यो एक तथ्य हो जसलाई कसैले पनि नकार्न सक्दैन। सबै थोक परमेश्‍वरको शासनअन्तर्गत आफ्नै नियमहरूको अधीनमा हुन्छन् र परमेश्‍वरको शासनअन्तर्गत, सबै थोकसँग बाँच्नको लागि आफ्नै नियमहरू हुन्छन्। मानवजातिको नियति र आवश्यकताहरू पनि परमेश्‍वरको शासन र प्रावधानसँग बाँधिएका हुन्छन्। त्यस कारणले गर्दा नै, परमेश्‍वरको प्रभुत्व र शासनअन्तर्गत, मानवजाति र सबै थोक अन्तर्सम्‍बन्धित, अन्तर्निर्भर र अन्तर्जडित हुन्छन्। यो नै परमेश्‍वरले सबै थोक सृष्टि गर्नुको उद्देश्य र महत्त्व हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश १७९

परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभएदेखि नै ती सबै चिजहरू उहाँले तय गर्नुभएका नियमका आधारमा उपयुक्त तवरले काम गरिरहेका छन् र नियमित रूपमा निरन्तर चलिरहेका छन्। उहाँको दृष्टि र उहाँको नियमको छत्रछायामा मानव जाति बाँचिरहेको छ र सबै चिजहरू व्यवस्थित रूपमा निरन्तर विकसित भइरहेका छन्। यी नियमहरू परिवर्तन गर्न वा नष्ट गर्न सक्ने कोही छैन। यसको कारण के हो भने परमेश्‍वरका नियम अनुसार सबै वृद्धि हुँदै जान्छन् र उहाँको नियम र व्यवस्थापनका कारण सबै जीवहरू बाँच्न सक्छन्। यसको अर्थ यो हो कि परमेश्‍वरको नियमका आधारमा नै रीतपूर्वक सबै प्राणीहरू अस्तित्वमा आउँछन्, तिनीहरूको वृद्धि-विकास हुन्छ, हराएर जान्छन्, र तिनीहरूको पुनर्जन्म हुन्छ। जब वसन्त ऋतुको आगमन हुन्छ तब झरीले स्वच्छ मौसमको अनुभूति गराउँछ र धर्तीलाई भिजाउँछ। जमिन नरम हुन थाल्छ, र जमिनबाट घाँस उम्रिन थाल्छ र बिस्तारै-बिस्तारै रूखहरू हरिया हुँदै जान्छन्। यी हरेक जीवित प्राणीहरूले पृथ्वीमा स्वच्छ नयाँ जीवनशक्ति ल्याउँछन्। जब सबै प्राणीहरू अस्तित्वमा आउँछन् र तिनीहरूको वृद्धि-विकास हुँदै जान्छ तब यस्तै देखिन्छ। वसन्तको न्यानो अनुभव गर्न र नयाँ वर्षको शुभारम्भ गर्न सबै प्रकारका जनावरहरू आ—आफ्नो आश्रय स्थलबाट बाहिर निस्कन्छन्। सबै प्राणीहरू ग्रीष्म ऋतुको न्यानो ताप्छन् र यस ऋतुको न्यानोपनमा आनन्दित हुन्छन्। तिनीहरू द्रुत गतिमा बढ्छन्। रूखहरू, घाँस र सबै प्रकारका बोट-बिरुवाहरू तीव्र गतिमा बढ्छन् र अन्त्यमा तिनीहरू फुल्छन् र फल दिन्छन्। ग्रीष्म ऋतुमा मानवसहित सबै प्राणीहरू निकै व्यस्त रहन्छन्। वर्षा ऋतुमा वर्षातले शरद ऋतुको शीतलतालाई स्वागत गर्न थाल्छ अनि सबै प्रकारका जीवित प्राणीहरूले अन्नबाली भित्र्याउने समयको आगमनको अनुभूति गर्न थाल्छन्। हरेक वनस्पतिमा फल लाग्न थाल्छन् र मानिसहरू शिशिरको तयारीका लागि यी विभिन्न प्रकारका फलहरू भित्र्याउन थाल्छन्। शिशिर ऋतुमा सबै प्राणीहरू शान्तपनमा चुपचाप बस्नुका साथै चिसो मौसमसँगै आराम गर्न थाल्छन् र यस मौसममा मानिसहरूले पनि विश्राम लिन्छन्। वसन्तदेखि ग्रीष्म, वर्षातदेखि शिशिर हरेक ऋतुहरूका यी सबै परिवर्तनहरू परमेश्‍वरद्वारा स्थापित नियमअनुसार भइरहन्छन्। उहाँले हरेक चीजको नेतृत्व गर्नुहुन्छ। यी नियमहरूको प्रयोग गर्दै उहाँले सबै कुराहरूलाई साथै मानवजातिलाई नेतृत्व गर्नुहुन्छ र तापक्रम र मौसमअनुसार फरक रहेको वातावरणलाई अस्तित्वको लागि तयार गर्दै, मानव जातिका लागि एक सम्पन्न र रङ्गीन जीवन मार्ग तयार गर्नुभएको छ। यसकारण अस्तित्वका लागि निर्मित यस प्रकारको वातावरणमा मानव जाति व्यवस्थित रूपमा बाँच्न र आफ्नो वंश विकास गर्न सक्षम हुन्छ। मानव जातिले यी नियमहरू परिवर्तन गर्न सक्दैनन् र कुनै पनि व्यक्ति वा प्राणीले यो नियम उल्‍लङ्घन गर्न सक्दैन। संसारमा अनगिन्ती परिवर्तनहरू आएका छन्। समुन्द्रहरू मैदान भएका छन् भने मैदानहरू समुन्द्रमा परिणत भएका छन्। तथापि यी नियमहरू निरन्तर लागू भइरहेका छन्। यी नियमहरू अस्तित्वमा छन् किनभने परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, र उहाँको शासन र उहाँको व्यवस्थापनका कारण सबै चीज अस्तित्वमा छन्। यस प्रकारको क्रमबद्ध र वृहत् वातावरणमा यी नियम र शासनसँगै मानव जीवन अगाडि बढिरहन्छ। यी नियमहरूका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता चलेका थिए र यिनै नियमका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता अस्तित्वमा रहेका छन्। मानिसले बाँच्नका लागि यो व्यवस्थित वातावरणका साथै परमेश्‍वरद्वारा सृजित सबै थोकहरूको आनन्द पुस्तौँ-पुस्तादेखि लिइरहेका छन्। यद्यपि मानिसहरूलाई लाग्न सक्छ कि यस प्रकारका नियमहरू जन्मजात बनेका हुन् र तिनीहरूले यिनीहरूलाई सामान्य रूपमा लिन्छन्। परमेश्‍वरले यी नियमहरू बनाइरहनु भएको छ, जेसुकै भए तापनि यी नियमहरूमाथि परमेश्‍वरले योजनाबद्ध कार्य गरिरहनुभएको छ र परमेश्‍वर यस अपरिवर्तनीय कार्यमा लागिरहनु भएको छ भन्‍ने कुरा उनीहरूले महसुस गर्न सक्दैनन्। यस अपरिवर्तनीय कार्यमा उहाँको उद्देश्य भनेको मानव जातिको अस्तित्वको रक्षा गर्नु हो ता कि मानव जाति सँधैभरि बाँचिरहोस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८०

समग्र मानव जातिको पालन-पोषण गर्न परमेश्‍वरले सबै कुराहरूको सीमा निर्धारण गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

आज म परमेश्‍वरले मानव जातिको पालन पोषणका लागि सबै थोकहरूमा तय गर्नुभएका यी सबै प्रकारका नियमहरू कसरी लागू हुन्छन् भन्‍ने विषयमा बताउन गइरहेको छु। यो एक वृहत् विषय हो, त्यसैले हामी यसलाई विभिन्न भागमा विभाजन गर्न सक्छौं र तिमीहरूका लागि स्पष्ट रूपमा चित्रण गर्न सकियोस् भन्‍ने हेतुले एक पटकमा एउटा विषयको मात्र छलफल गर्छौं। यो तरिकाले तिमीहरूलाई बुझ्न सजिलो हुनेछ र तिमीहरूले यसलाई विस्तारै बुझ्दै जानेछौ।

पहिलो भाग: परमेश्‍वरले हरप्रकारको भूभागको लागि सीमा निर्धारित गर्नुहुन्छ

आउनुहोस् हामी पहिलो भागबाट सुरु गरौं। जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले हिमाल, समथर मैदान, मरुभूमि, पहाड, नदी र तालतलैयाका लागि सीमा निर्धारण गर्नुभयो। यस पृथ्वीमा हिमाल, समथर मैदान, मरुभूमि र पहाड लगायत पानीका विभिन्‍न रूपहरू छन्। यिनीहरूले पृथ्वीमा विभिन्न प्रकारको भूभाग निर्माण गरेका छन्, होइन र? यिनीहरूको बीचमा परमेश्‍वरले सीमा निर्धारण गर्नुभएको छ। जब हामी सीमा रेखाको कुरा गर्छौ, यसको अर्थ यो हो कि हिमालको आफ्नै आकार छ, समथर मैदानको आफ्नै आकार छ, मरुभूमिका केही निश्चित सीमाहरू छन् र पहाडले निश्चित क्षेत्र ओगटेको छ। यसैगरी पानीको पनि निश्चित रूपहरू छन्, जस्तै, नदी नाला तथा तालतलैया। यस अर्थमा भन्नु पर्दा जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले सबै कुराको स्पष्ट विभाजन गर्नुभयो। पहाडको अर्धव्यास कति किलोमिटर हुनुपर्दछ र यसको क्षेत्र के हो भनेर परमेश्‍वरले पहिला नै निर्धारण गरिसक्नुभएको छ। त्यस्तै उहाँले समथर मैदानको अर्धव्यास कति किलोमिटर हुनु पर्दछ र यसको क्षेत्र के हो भनेर पनि निर्धारण गरिसक्नुभएको छ। परमेश्‍वरले सबै थोकको निर्माण गर्दा उहाँले मरुभूमिको सीमा निर्धारण गर्नुभयो, साथै पहाडहरूको श्रेणी र तिनीहरूको अनुपात निर्धारण गरी सीमाबद्ध बनाउनुभयो। यस्ता सबै कुराहरू परमेश्‍वरद्वारा निर्धारण गरिएको थियो। उहाँले नदी र तालतलैयाको सिर्जना गर्दा तिनीहरूको श्रेणी निर्धारण गर्नुभयो। यी सबैको आ—आफ्नै सीमा निर्धारण गरिएको छ। त्यसो हो भने “सीमा” को बारेमा कुरा गर्दा यसको अर्थ के हो? हरेक थोकका लागि नियम बनाएर परमेश्‍वरले ती हरेक थोकमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने विषयमा भर्खरै हामीले कुरा गर्‍यौं। यस अर्थमा पृथ्वीको परिक्रमण वा समयको परिवर्तनसँगै हिमालका श्रेणी र सिमाना बढ्दैनन् वा घट्दैनन्। तिनीहरू निश्चित छन्, अपरिवर्तनीय छन् र परमेश्‍वरले तिनीहरूको अपरिवर्तनीयतालाई निर्देश गर्नुहुन्छ। समथर मैदानहरूको क्षेत्र, तिनीहरूको सीमा र तिनीहरू कसरी घेरिएका हुन्छन् भन्‍ने सबै परमेश्‍वरद्वारा निर्धारण गरिएको छ। तिनीहरूका आफ्नै सीमा छन्, जस्तो कि एक समथर मैदानमा एक्कासि माटोको ढिस्को उठ्न असम्भव छ। समथर मैदान अकस्मात् हिमालमा परिवर्तन हुन सक्दैन—यो असम्भव छ। हामीले भर्खरै कुरा गरेका नियमहरू र सीमाको अर्थ यही हो। मरुभूमिका सन्दर्भमा भन्दा, हामी यहाँ मरुभूमिका विशेष कार्यहरूका बारेमा वा कुनै अन्य भूभाग वा भौगोलिक क्षेत्रका बारेमा कुरा गर्दैनौँ, केवल तिनीहरूका सीमाको कुरा गर्नेछौं। परमेश्‍वरको नियमको अधीनमा, मरुभूमिको पनि सीमा विस्तार हुने छैन। यसो हुनुको कारण के हो भने परमेश्‍वरले यसका लागि नियम र सीमा निर्धारण गरिदिनुभएको छ। यसको क्षेत्र कति ठूलो छ र यसको कार्य के हो, यो केले घेरिएको छ र यो कहाँ अवस्थित छ भन्‍ने सम्पूर्ण कुराहरू परमेश्‍वरले पहिला नै निर्धारण गरिदिनुभएको छ। यसले आफ्नो सीमा नाघ्नेछैन वा स्थान परिवर्तन गर्नेछैन र आफै यसको क्षेत्र बढ्ने छैन। नदी तथा तालतलैयाबाट बग्ने पानीको प्रवाह सदैव व्यवस्थित र अविरल छ। यिनीहरू कहिल्यै पनि आफ्नो दायरा वा सीमाभन्दा बाहिर जाँदैनन्। जुन दिशामा बग्नुपर्ने हो त्यही दिशामा तिनीहरू व्यवस्थित रूपले निरन्तर बगिरहन्छन्। यसकारण परमेश्‍वरको नियमको अधीनमा पृथ्वीको परिक्रमण वा समयको परिवर्तनसँगै कुनै पनि नदी नाला वा तालतलैयाहरू अकस्मात् सुक्नेछैनन् वा अकस्मात् तिनीहरूले आफ्‍नो प्रभाव वा प्रवाहको मात्रा परिवर्तन गर्नेछैनन्। यो सबै परमेश्‍वरको नियन्त्रणमा छ। यसको तात्पर्य यो हो कि यस मानव जातिको बीचमा परमेश्‍वरद्वारा सिर्जना गरिएका सबै थोकहरूको स्थान, क्षेत्र र सीमा निर्धारण गरिएको छ। यस कारण जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब तिनीहरूको सीमा पनि निर्धारण गरिएको थियो र तिनीहरू स्वेच्छाचारी रूपले बदलिन, नवीकरण हुन वा परिवर्तन हुन सक्दैनन्। “स्वेच्छाचारी” भनेको के हो? यसको अर्थ यो हो कि तिनीहरू मौसम, तापक्रम वा पृथ्वीको परिक्रमणको गतिका कारण अनियमित रूपमा आफ्नो मूल रूप परिवर्तन गर्ने, फैलने, वा वास्तविक आकार परिवर्तन गर्ने जस्ता कार्य गर्दैनन्। उदाहरणका लागि हिमालको एक निश्चित उचाइ हुन्छ, यसको निश्चित क्षेत्रफल भएको आधार हुन्छ, यसको निश्चित उचाइ हुन्छ र यहाँ निश्चित मात्रामा वनस्पति पैदा हुन्छन्। यो सबै परमेश्‍वरद्वारा योजनाबद्ध तथा गणना गरिएको छ र यो कसैको स्वेच्छाले परिवर्तन हुनेछैन। समथर मैदानी क्षेत्रका बारेमा कुरा गर्दा अधिकांश मानिसहरू समथर मैदानी भूभागमा बसोबास गर्दछन् र मौसममा आएको कुनै पनि परिवर्तनले तिनीहरूको क्षेत्र वा अस्तित्वको महत्त्वमा कुनै प्रभाव पार्दैन। परमेश्‍वरद्वारा सृजित यी विभिन्न भूभाग तथा भौगोलिक वातावरणमा रहेका चिजहरू स्वेच्छाले परिवर्तन हुने छैनन्। उदाहरणका लागि मरुभूमिको संरचना, भूमिगत खनिज भण्डारको प्रकार, मरुभूमिमा भएको बालुवाको प्रकार र यसको रङ्ग, मरुभूमिको मोटाइ आदि जस्ता कुराहरू स्वेच्छाले परिवर्तन हुँदैनन्। किन तिनीहरू स्वेच्छाले परिवर्तन हुँदैनन्? यसको मुख्य कारण परमेश्‍वरको नियम र व्यवस्थापन हो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी सबै विभिन्न भूभाग र भौगोलिक वातावरणमा उहाँले सबै थोकलाई योजनाबद्ध र व्यवस्थित तवरले व्यवस्थापन गरिरहनुभएको छ। यसकारण परमेश्‍वरद्वारा सृजित थोकहरू हजारौं तथा दशौं हजार वर्ष पश्चात् अहिले पनि यी भौगोलिक वातावरण अवस्थित छन् र अहिलेसम्म पनि यिनले निरन्तर आफ्नो कार्य गरिरहेका छन्। पृथ्वीमा ज्वालामुखी विस्फोट हुने केही निश्चित समय हुन्छ, भूकम्प जाने निश्चित समय हुन्छ र भूमण्डलमा केही मुख्य परिवर्तनहरू आउन सक्छन् तथापि अवश्य पनि परमेश्‍वरले कुनै पनि भूभागको मूल कार्य हराउन दिनुहुन्न। यो सबै परमेश्‍वरको व्यवस्थापन, उहाँको शासन र नियममाथिको उहाँले स्थापना गर्नुभएको नियन्त्रणका कारण सम्भव भएको छ। मानव जातिले देखेका र भोग गरेका सबै थोकहरू यस पृथ्वीमा व्यवस्थित तवरले अस्तित्वमा रहिरहन सक्छन्। त्यसोभए पृथ्वीमा अस्तित्वमा रहेका यी सबै विभिन्न भूभागको व्यवस्था परमेश्‍वरले किन गर्नुहुन्छ? विभिन्न भौगोलिक वातावरणमा अस्तित्वमा रहेका सबै सजीव प्राणीहरूको स्थिर वातावरण रहिरहोस् र उक्त स्थिर वातावरणमा तिनीहरू बाँच्न र वृद्धि-विकास हुन सकून् भन्‍ने उहाँको उद्देश्य हो। यस पृथ्वीमा भएका चलायमान तथा स्थिर सबै थोकहरू र नाकको प्वालबाट सास फर्ने तथा सास नफर्नेहरू सबै मिलेर मानव जातिको अस्तित्वका लागि एउटा अनुपम वातावरण निर्माण गरेका छन्। केवल यस प्रकारको वातावरणले मात्र मानव जातिको पुस्तौँ-पुस्तालाई पालन-पोषण गर्न सक्छ र केवल यस प्रकारको वातावरणले मात्र मानव जातिलाई पुस्तौँ-पुस्तापछिसम्म पनि निरन्तर रूपमा शान्तिपूर्वक बाँच्न अनुमति दिन सक्छ।

मैले भर्खरै जे कुरा गरेँ त्यो एउटा वृहत् विषय हो, यसैले सायद यो कुरा तिमीहरूको जीवनबाट हटेको जस्तो देखिन्छ, तर तिमीहरू सबैले यसलाई बुझ्न सक्छौ भन्‍ने मलाई आशा छ। भन्‍नुको अर्थ, परमेश्‍वरको प्रभुत्वमा भएका सबै कुराहरूमाथिका परमेश्‍वरका नियमहरू धेरै महत्त्वपूर्ण छन्—वास्तवमा धेरै महत्त्वपूर्ण छन्! यी नियमहरूका अधीनमा रहेका सबै प्राणीहरूको वृद्धिको पूर्वसर्त के हो? यो परमेश्‍वरको शासनको कारणले हो। उहाँको शासनको कारणले नै सबै थोकले उहाँको शासनमा रही आ-आफ्‍ना कार्यहरूलाई जारी राख्छन्। उदाहरणको लागि, पहाडहरूले वनजङ्गलको पालनपोषण गर्छन् र वनजङ्गलले पनि यसको बदलामा तिनीहरूभित्र बस्ने विभिन्न चराचुरुङ्गी र जीव-जनावरहरूको पालनपोषण गर्छन्। समथर भूभागहरू अन्नबाली लगाउन मानिसहरूका निम्ति र विभिन्न चराचुरुङ्गी तथा जीव-जनावरहरूको निम्ति तयार गरिएको मञ्च हो। तिनले बहुसङ्ख्यक मानवजातिलाई समथर भूभागमा बसोबास गर्न सम्भव तुल्याउँछन् र मानिसहरूका जीवनमा सुविधा प्रदान गर्छन्। र घाँसे मैदानहरू, अर्थात् घाँसे मैदानका विशाल भूमिहरू पनि समथर भूभागहरूमा नै पर्छन्। घाँसे मैदानहरूले पृथ्वीको सतहको निम्ति वनस्पतिको आवरण प्रदान गर्छ। तिनीहरूले माटोको रक्षा गर्छन्, घाँसे मैदानमा बसोबास गर्ने वस्तुभाउ, भेडा र घोडाहरूको पालनपोषण गर्छन्। मरुभूमिले पनि आफ्नै कार्य गर्छ। यो मानव बसोबासको स्थान होइन; यसले आर्द्र मौसमलाई सुक्खा बनाउने भूमिका खेल्छ। नदी र तालहरूको प्रवाहले मानिसहरूको निम्ति सहज तरिकाले पिउने पानी ल्याउँछ। तिनीहरू जहाँ बग्छन् मानिसहरूले पिउने पानी प्राप्त गर्छन् र सबै थोकका पानीका आवश्यकताहरू सहजै पूरा हुन्छन्। यिनीहरू विभिन्न भूभागहरूको निम्ति परमेश्‍वरले तय गर्नुभएका सीमाहरू हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८१

समग्र मानव जातिको पालन-पोषण गर्न परमेश्‍वरले सबै कुराहरूको सीमा निर्धारण गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

दोस्रो भाग: परमेश्‍वरले हरप्रकारको जीवित प्राणीका लागि सीमा निर्धारित गर्नुहुन्छ

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि सृजित यी वातावरणहरू विभिन्न किसिमका चराचुरुङ्गीहरू र जीव-जनावरहरूका लागि सहज बनेका छन् र त्यसले तिनीहरूलाई बाँच्ने ठाउँ पनि दिएको छ। यसैबाट विभिन्न जीवित प्राणीहरूलाई अस्तित्वको निम्ति आवश्यक वातावरणहरूका सीमाहरूको विकास भयो। यो हामीले अब कुरा गर्न गइरहेको दोस्रो भाग हो। सर्वप्रथम, चराचुरुङ्गी, जनावर र कीरा-फट्याङ्ग्राहरू कहाँ बस्छन्? के तिनीहरू वनजङ्गल र कुञ्जहरूमा बस्छन्? यी तिनीहरूका वासस्थान हुन्। यसैले, विभिन्न भौगोलिक वातावरणहरूका निम्ति सीमाहरू स्थापित गर्ने बाहेक परमेश्‍वरले विभिन्न चराचुरुङ्गी, जीव-जनावर, माछा, कीरा-फट्याङ्ग्रा र सबै बोटबिरुवाहरूको निम्ति पनि सीमाहरू निर्धारण गर्नुभयो र नियमहरू स्थापित गर्नुभयो। विभिन्न भौगोलिक वातावरणहरू बीचको भिन्नताको कारण र फरक-फरक भौगोलिक वातावरणहरूको अस्तित्वको कारण, विभिन्न प्रकारका चराचुरुङ्गी, जीव-जनावर, माछा, कीरा-फट्याङ्ग्रा र सबै बोटबिरुवाहरूका अस्तित्वको निम्ति फरक-फरक वातावरणहरू छन्। चराचुरुङ्गी, जीव-जनावर र कीरा-फट्याङ्ग्राहरू विभिन्न बोटबिरुवाहरूका माझमा बस्छन् र माछाहरू पानीमा बस्छन् अनि बोटबिरुवाहरू जमिनमा उम्रन्छन्। जमिनले पहाड, समथर भूमि र पर्वत जस्ता विभिन्न क्षेत्रहरूलाई समेट्छ। चराचुरुङ्गी र जनावरहरूले आफ्नै वासस्थान पाएपछि तिनीहरू यताउता अर्थात् आफूलाई जता मन लाग्यो त्यता जाँदैनन्। वनजङ्गल र पहाडहरू तिनीहरूका वासस्थानहरू हुन्। यदि कुनै एक दिन तिनीहरूका वासस्थानहरू नष्ट पारिए भने यो क्रम अस्तव्यस्त हुन जान्छ। यो व्यवस्था अस्तव्यस्त हुने बित्तिकै यसका परिणामहरू के हुन्छन्? सबैभन्दा पहिले कसलाई चोट पर्छ? पहिले मानवजातिलाई चोट पर्छ। परमेश्‍वरले स्थापित गर्नुभएका यी नियम र सीमाहरूभित्र के तिमीहरूले कुनै अनौठा घटनाहरू देखेका छौ? उदाहरणको निम्ति, हात्तीहरू मरुभूमिमा हिँडेको। के तिमीहरूले यस्तो केही देखेका छौ? यदि यस्तो साँच्चै भयो भने, यो धेरै अनौठो घटना हुनेथियो, किनकि हात्तीहरू वनजङ्गलमा बस्छन् र तिनीहरूको अस्तित्वको निम्ति परमेश्‍वरले तयार गर्नुभएको वातावरण त्यही हो। तिनीहरूको अस्तित्वको निम्ति तिनीहरूका आफ्नै वातावरण र वासस्थानहरू छन्, यसैले तिनीहरूले यताउता किन दौडनु पर्यो र? के कसैले सिंह र बाघहरूलाई समुद्रको किनारमा हिँडिरहेका देखेको छ? छैन, तिमीहरूले देखेका छैनौ। सिंह र बाघहरूको वासस्थान वनजङ्गल र पहाडहरू हुन्। के कसैले ह्वेल वा सार्कहरूलाई मरुभूमिमा पौडँदै गरेको देखेको छ? छैन, तिमीहरूले देखेका छैनौ। ह्वेल र सार्कहरूले समुद्रमा आफ्नो वासस्थान बनाएका छन्। मानवहरू बस्ने वातावरणमा के खैरो भालुसँग बस्ने मानिसहरू छन्? के घरभित्र र घरबाहिर सधैँ मयूर वा अन्य चराचुरुङ्गीहरूद्वारा घेरिएका मानिसहरू छन्? के कसैले चिल वा जङ्गली हाँसहरू बाँदरहरूसँग खेलेको देखेको छ? (छैन।) यी सबै अनौठा घटनाहरू हुनेथिए। तिमीहरूलाई अनौठा लाग्ने यी कुराहरू मैले बताउनुको कारण सबै थोकहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भन्‍ने कुरा तिमीहरूलाई बुझाउनको निम्ति हो—चाहे तिनीहरू एक निश्चित ठाउँमा राखिएका हुन् वा तिनीहरूले आफ्ना नाकबाट सास फेर्न सकून् वा नसकून्—अस्तित्वका निम्ति तिनीहरूका आफ्नै नियमहरू छन्। परमेश्‍वरले यी जीवित प्राणीहरूलाई सृष्टि गर्नुभन्दा धेरै अगाडि तिनीहरूको निम्ति उहाँले तिनीहरूका आफ्नै घरहरू र तिनीहरूको अस्तित्वको निम्ति तिनीहरूका आफ्नै वातावरणहरू तयार गर्नुभएको थियो। यी जीवित प्राणीहरूसँग आफ्नो अस्तित्वको निम्ति तिनीहरूका आफ्नै निश्चित वातावरण, तिनीहरूका आफ्नै खाना र तिनीहरूका आफ्नै वासस्थानहरू थिए र तिनीहरूसँग तिनीहरूका अस्तित्वको निम्ति उपयुक्त निश्चित स्थानहरू, तिनीहरूको अस्तित्वको निम्ति उपयुक्त तापक्रम भएका ठाउँहरू थिए। यसैले तिनीहरू आफूलाई मन लागे अनुसार यताउता जाँदैनन् वा मानवजातिको अस्तित्वलाई खतरामा पार्दैनन् वा मानिसहरूको जीवनलाई असर पार्दैनन्। मानवजातिको अस्तित्वको निम्ति सर्वश्रेष्ठ वातावरण प्रदान गर्दै परमेश्‍वरले यसरी नै सबै कुराहरूको व्यवस्थापन गर्नुहुन्छ। सबै थोकहरू भित्रका जीवित प्राणीहरूको अस्तित्वका निम्ति जीवन धान्ने खाना तिनीहरूको आफ्नै वातावरणमा हुन्छ। त्यही खानाद्वारा तिनीहरू आफ्नो अस्तित्वको निम्ति आफ्नै रैथाने वातावरणमा जोडिएका हुन्छन्। परमेश्‍वरले तिनीहरूको निम्ति स्थापित गर्नुभएका नियमहरूअनुसार त्यस्तो किसिमको वातावरणमा तिनीहरूले जिउने, वृद्धि हुने र अगाडि बढ्ने काम जारी राख्छन्। यस्ता किसिमका नियमहरूको कारण, परमेश्‍वरको पूर्वनिर्धारणको कारण सबै जीवित प्राणीहरू मानवजातिसँग सद्भावका साथ जिउँछन् र मानवजाति सबै थोकसँगको पारस्परिक अन्तरनिर्भरताको आधारमा एक साथ अस्तित्वमा छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८२

समग्र मानव जातिको पालन-पोषण गर्न परमेश्‍वरले सबै कुराहरूको सीमा निर्धारण गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

तेस्रो भाग: परमेश्‍वरले मानवजातिलाई भरणपोषण गर्नका लागि वातावरण र पर्यावरण कायम राख्‍नुहुन्छ

परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभयो र तिनीहरूको निम्ति सीमाहरू स्थापित गर्नुभयो; तीमध्येमा उहाँले सबै किसिमका जीवित प्राणीहरूको पालनपोषण गर्नुभयो। त्यही बेला, उहाँले मानवजातिको अस्तित्वको निम्ति विभिन्न माध्यमहरू पनि तयार पार्नुभयो, यसैले तैँले देख्न सक्छस्, कि मानवजातिको अस्तित्वको निम्ति केवल एउटै मात्र माध्यम छैन, न त तिनीहरूको अस्तित्वको निम्ति एउटै किसिमको वातावरण मात्र छ। परमेश्‍वरले मानवको निम्ति विभिन्न किसिमका खाना र पानीका स्रोतहरू तयार गर्नुभएको विषयमा हामीले यस अगाडि नै कुरा गर्‍यौं, जुन मानवजातिको जीवनलाई देहमा निरन्तरता दिनको निम्ति अत्यन्तै जरुरी छ। तैपनि, यस मानवजातिको बीचमा सबै मानिसहरूले अन्नले मात्र जीवन निर्वाह गर्दैनन्। भौगोलिक वातावरण र भूभागको कारण मानिसहरूसँग जीवित रहने धेरै माध्यमहरू छन्। जीवित रहने सम्‍बन्धी यी सबै माध्यमहरू परमेश्‍वरले तयार गर्नुभएको हो। यसैले सबै मानवजाति प्राथमिक रूपले खेतीपातीमा नै संलग्न छन् भन्‍ने छैन। अर्थात्, सबै मानिसहरूले अन्नबालीबाट नै खाना प्राप्त गर्छन् भन्‍ने छैन। हामीले कुराकानी गर्न गइरहेको विषयको तेस्रो भाग यही हो: मानवजातिका विभिन्न किसिमका जीवनशैलीहरूको कारणले सीमाहरू पैदा भएका हुन्। त्यसो भए मानवका अन्य के-कस्ता किसिमका जीवनशैलीहरू छन्? विभिन्न खानाको स्रोतका आधारमा अन्य कस्ता किसिमका मानिसहरू छन्? कैयौँ प्राथमिक प्रकारहरू छन्।

पहिलोचाहिँ शिकारी जीवनशैली हो। त्यो के हो भनेर सबैलाई थाहा छ। शिकार गरेर बाँच्ने मानिसहरूले के खान्छन्? (शिकार।) तिनीहरूले जङ्गलका चरा र जीव-जनावर खान्छन्। “शिकार” चाहिँ आधुनिक शब्द हो। सिकारीहरूले यसलाई “शिकार” को रूपमा सोच्दैनन्; तिनीहरूले यसलाई खानाको रूपमा अर्थात् तिनीहरूको दैनिक निर्वाहको वस्तुको रूपमा सोच्छन्। उदाहरणको लागि, तिनीहरूले एउटा मृग भेट्टाउँछन्। तिनीहरूले यो मृग भेट्टाएपछि, यो किसानले जमिनबाट भोजन प्राप्त गरे जस्तै हो। किसानले जमिनबाट खाना प्राप्त गर्छ र उसले खाना देख्दा ऊ खुसी हुन्छ र ऊ ढुक्‍क हुन्छ। खाने अन्न भएको कारण परिवार भोको रहनेछैन। किसानको हृदय चिन्तारहित हुन्छ र उसले सन्तुष्टिको अनुभव गर्छ। आफूले समातेको कुरा देखेर सिकारीले पनि ढुक्‍क र सन्तुष्टिको अनुभूति गर्छ किनकि अब उसले खानाको बारेमा चिन्ता लिनुपर्दैन। अर्को भोजनको निम्ति केही खानेकुरा छ र भोकै बस्नुपर्दैन। ऊ बाँच्नको लागि शिकार गर्ने व्यक्ति हो। शिकार गरेर जीवन निर्वाह गर्नेमध्ये धेरैजसो मानिसहरू पहाडी वनजङ्गलहरूमा बस्छन्। तिनीहरूले खेतीपाती गर्दैनन्। त्यहाँ खेतीयोग्य जमिन प्राप्त गर्न कठिन हुन्छ, त्यसैले तिनीहरू विभिन्न जीवित प्राणीहरू, विभिन्न किसिममा सिकारहरूको भरमा बाँच्छन्। यो पहिलो किसिमको जीवनशैली हो जुन सामान्य मानिसहरूको भन्दा फरक छ।

दोस्रो किसिमचाहिँ पशुपालकहरूको जीवनशैली हो। जीविकोपार्जनको निम्ति पशुपालन गर्ने मानिसहरूले खेतीपाती पनि गर्छन्? (गर्दैनन्।) त्यसो भए तिनीहरूले के गर्छन्? तिनीहरू कसरी बाँच्छन्? (तिनीहरूले धेरैजसो समय जीविकोपार्जनको निम्ति वस्तुभाउ र भेडाहरूको हेरचाह गर्छन्, र हिउँदको बेलामा आफ्ना वस्तुभाउलाई मार्छन् र खान्छन्। तिनीहरूको प्रमुख खाद्य सामाग्री गोमांस र खसीको मासु हो, तिनीहरूले दूध चिया पिउँछन्। पशुपालकहरू चारै ऋतु व्यस्त रहे तापनि, तिनीहरूले राम्ररी नै खान्छन्। तिनीहरूसँग प्रशस्त दूध, दुग्ध पदार्थहरू र मासु हुन्छन्।) जीविकोपार्जनको निम्ति पशुपालन गर्ने मानिसहरूले मुख्यतया गोमांस र खसीको मासु खान्छन्, भेडा र गाईको दूध पिउँछन् र तिनीहरूका कपालमा बतास र अनुहारमा घाम पार्दै जमिनमा पशु र घोडाहरूमाथि चढेर आफ्ना पशुहरूको हेरचाह गर्छन्। तिनीहरूले आधुनिक जीवनका तनावहरूको सामना गर्दैनन्। तिनीहरूले विशाल नीलो आकाश र घाँसे मैदानहरूलाई दिनभरि नियाल्छन्। पशुपालन गरेर आफ्नो जीवन निर्वाह गर्ने धेरैजसो मानिसहरू घाँसे मैदानहरूमा बस्छन् र तिनीहरूले पुस्तौँदेखि आफ्नो फिरन्ते जीवनलाई निरन्तरता दिइरहेका छन्। घाँसे मैदानको जीवन केही हदसम्म एकलो किसिमको भए तापनि, यो धेरै खुसी जीवन पनि हो। यो खराब किसिमको जीवन पद्धति होइन।

तेस्रो किसिमको जीवनशैली मछुवाहरूको जीवनशैली हो। मानवजातिको सानो हिस्सा समुद्रका किनार वा साना टापुहरूमा बस्छन्। तिनीहरूको वरिपरि पानी, अगाडि समुद्र हुन्छ। यी मानिसहरूले जीविकोपार्जनको निम्ति माछा मार्छन्। जीविकोपार्जनको निम्ति माछा मार्नेहरूको खानाको स्रोत के हो? सबै किसिमका माछा, समुद्री खाना र समुद्रका अन्य उत्पादनहरू तिनीहरूको खानाको स्रोत हुन्। जीविकोपार्जनको निम्ति माछा मार्नेहरूले खेतीपाती गर्दैनन्, तर हरेक दिन माछा मारेर बिताउँछन्। तिनीहरूको प्रमुख खानामा विभिन्न किसिमका माछा र समुद्री उत्पादनहरू पर्छन्। तिनीहरूले चामल, पीठो र दैनिक आवश्यकताका वस्तुहरूको निम्ति यी कुराहरूको बेचबिखन पनि गर्छन्। पानीको नजिक बसोबास गर्नेहरूको फरक जीवनशैली यही हो। पानीको नजिक बसोबास गरेर तिनीहरू खानाको निम्ति यसैमा भर पर्छन् र माछा मारेर जीविकोपार्जन गर्छन्। माछा मार्ने कामले तिनीहरूलाई खाना मात्र दिने होइन, तर यो जीविकोपार्जनको माध्यम पनि हो।

जमिनमा खेतीपाती गर्ने बाहेक, मानवजाति माथि उल्लिखित तीन किसिमका जीवनशैली अनुसार जिउँछन्। तैपनि, बहुसङ्ख्यक मानिसहरूले जीविकोपार्जनको निम्ति खेतीपाती गर्छन् र थोरै मानिसहरू मात्र पशुपालन गरेर, माछा मारेर र शिकार गरेर बाँच्छन्। अनि खेतीपाती गरेर जीविकोपार्जन गर्ने मानिसहरूलाई के कुराको आवश्यकता पर्छ? तिनीहरूलाई आवश्यक पर्ने कुरा जमिन हो। पुस्तौँ पुस्तादेखि तिनीहरू जमिनमा अन्नबाली रोपेर बाँचेका छन् र चाहे तिनीहरूले सागसब्जी, फलफूल वा अन्नबालीहरू जे रोपून् तिनीहरूले आफ्ना खाना र दैनिक आवश्यकताका कुराहरू पृथ्वीबाट नै प्राप्त गर्छन्।

यी फरक मानव जीवनशैलीहरूलाई आड दिने आधारभूत सर्तहरू के-के हुन्? के तिनीहरू बाँच्न सक्‍ने वातावरणहरूलाई आधारभूत तहमा संरक्षण गर्नु बिलकुलै आवश्यक छैन र? अर्थात्, शिकार गरेर जीवन निर्वाह गर्नेहरूले पहाडी वनजङ्गल वा चराचुरुङ्गी र जीव-जनावरहरू गुमाउने हो भने तिनीहरूको जीविकोपार्जनको स्रोत रहँदैन। यो जाति र यस किसिमका मानिसहरूले लिनु पर्ने दिशा अनिश्चित बन्न पुग्छ र तिनीहरू लोप पनि हुन सक्छन्। अनि आफ्नो जीविकोपार्जनको निम्ति पशुपालन गर्नेहरूको हकमा के हुन्छ? तिनीहरू केमा भर पर्छन्? तिनीहरू तिनीहरूको वस्तुभाउमा होइन, तर ती वस्तुभाउ बाँच्न सक्‍ने वातावरण—घाँसे मैदानहरूमा निर्भर हुन्छन्। यदि घाँसे मैदानहरू नहुने हो भने पशुपालन गर्नेहरूले आफ्ना वस्तुभाउलाई कहाँ चराउनेथिए? वस्तुभाउ र भेडाहरूले के खानेथिए? वस्तुभाउविना यी फिरन्ते मानिसहरूको जीविकोपार्जन हुनेथिएन। तिनीहरूको जीविकोपार्जनको स्रोतविना यी मानिसहरू कहाँ जानेथिए? तिनीहरू जीवित रहन धेरै कठिन हुनेथियो; तिनीहरूको भविष्य रहनेथिएन। यदि पानीको स्रोत नहुने हो र नदी तथा तालहरू पूर्णरूपमा सुक्ने हो भने, बाँच्नको निम्ति पानीमा भर पर्ने सबै माछाहरू अझै जीवित रहनेथिए र? तिनीहरू जीवित रहनेथिएनन्। जीविकोपार्जनको निम्ति पानी र माछामा भर पर्ने यी मानिसहरू निरन्तर रूपमा जीवित रहनेथिए? तिनीहरूसँग खाना वा तिनीहरूको जीविकोपार्जनको स्रोत नभएपछि यी मानिसहरू निरन्तर रूपमा जीवित रहन सक्नेथिएनन्। अर्थात्, यदि कुनै जाति तिनीहरूको जीविकोपार्जन वा तिनीहरूको अस्तित्व सम्बन्धी समस्यामा परे भने, उक्त जातिको निरन्तरता हुनेछैन, र तिनीहरू पृथ्वीबाट हराउन सक्छन् र लोप हुन सक्छन्। अनि खेतीपाती गर्नेहरूले आफ्ना जमिन गुमाए भने, तिनीहरूले सबै किसिमका बोटबिरुवा रोप्न पाएनन् र ती बोटबिरुवा खाना प्राप्त गर्न सकेनन् भने, त्यसको परिणाम के होला? के खानाविना मानिसहरू भोकमरीले मर्दैनन् र? यदि मानिसहरू भोकमरीले मरिरहेका छन् भने के मानवको त्यो जात सखाप हुँदैनन् र? यसैले परमेश्‍वरले विभिन्न किसिमका वातावरणहरूको जगेर्ना गर्नुको उद्देश्य यही हो। परमेश्‍वरले विभिन्न वातावरण र पर्यावरणहरू अनि ती भित्रका विभिन्न जीवित प्राणीहरूको जगेर्ना गर्नुको एउटै उद्देश्य मात्र छ—र त्यो हरेक किसिमका मानिसहरूको पालनपोषण गर्नु, विभिन्न भौगोलिक वातावरणहरूमा बसोबास गर्ने मानिसहरूको पालनपोषण गर्नु हो।

यदि सृष्टिका सबै थोकले तिनीहरूका आफ्ना नियमहरू गुमाए भने, तिनीहरूको अस्तित्व नै रहनेथिएन; यदि सबै थोकका नियमहरू हराए भने, सबै थोकका बीचमा जिउने प्राणीहरू पनि निरन्तर रहनेथिएनन्। मानवजातिले आफ्नो अस्तित्वको निम्ति भर परेको वातावरण पनि गुमाउनेथियो। यदि मानवजातिले ती सबै कुराहरू गुमाए भने, तिनीहरूले अहिले गरे जसरी निरन्तर रूपमा पुस्तादेखि पुस्तासम्म फस्टाउन र वृद्धि हुन सक्‍नेथिएनन्। परमेश्‍वरले तिनीहरूको पालनपोषण अर्थात् मानवजातिलाई फरक तरिकाले पालनपोषण गर्नको निम्ति सृष्टिका सबै थोक आपूर्ति गरिदिनुभएको कारण मानवजाति अहिलेसम्म जीवित रहेका हुन्। परमेश्‍वरले विभिन्न तरिकाले मानवजातिको पालनपोषण गर्नुभएको कारणले नै मानवजाति अहिलेको वर्तमान समयसम्म जीवित रहेको हो। जीवित रहनको निम्ति निश्चित अनुकूल वातावरण र प्राकृतिक नियमहरू असल क्रममा भएको कारण, पृथ्वीका सबै किसिमका मानिसहरू, सबै किसिमका जातिहरू तोकिएको क्षेत्रहरूमा जीवित रहन सक्छन्। कोही पनि यी क्षेत्रहरू वा तिनीहरूका बीचमा भएका सीमाहरूबाट बाहिर जान सक्दैन, किनकि तिनलाई तय गर्ने परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरले किन यसरी सीमाहरू तय गर्नुभयो? यो सबै मानवजातिको निम्ति अत्यन्तै महत्त्वपूर्ण कुरा हो—वास्तवमा नै धेरै महत्त्वपूर्ण कुरा हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८३

समग्र मानव जातिको पालन-पोषण गर्न परमेश्‍वरले सबै कुराहरूको सीमा निर्धारण गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू)

चौथो भाग: परमेश्‍वरले फरकफरक जातिका लागि सीमा निर्धारित गर्नुहुन्छ

चौथो कुरा, परमेश्‍वरले विभिन्न जातिहरूको बीचमा सीमाहरू तोक्‍नुभयो। पृथ्वीमा गोरा मानिसहरू, काला मानिसहरू, खैरा मानिसहरू र पहेँला मानिसहरू छन्। यी फरक किसिमका मानिसहरू हुन्। परमेश्‍वरले यी फरक किसिमका मानिसहरूको जीवनका क्षेत्र पनि तोकिदिनुभयो र थाहै नपाई मानिसहरू परमेश्‍वरको व्यवस्थापनमा जीवित रहनको निम्ति तिनीहरूका उचित वातावरणमा बसोबास गर्छन्। कोही पनि त्यसभन्दा बाहिर जान सक्दैन। उदाहरणको निम्ति, गोरा मानिसहरूलाई नै लिऔं। तिनीहरूमध्ये धेरैजसो बसोबास गर्ने भौगोलिक क्षेत्र कुन हो? तिनीहरूमध्ये धेरैजसो युरोप र अमेरिकामा बसोबास गर्छन्। काला मानिसहरू मुख्यतया अफ्रिकामा बसोबास गर्छन्। खैरा मानिसहरू मुख्यतया, थाइल्याण्ड, भारत, म्यानमार, भियतनाम र लाओस जस्ता दक्षिणपूर्वी एसिया र दक्षिण एसियामा बसोबास गर्छन्। पहेँला मानिसहरू मुख्यतया एसिया अर्थात् चीन, जापान र दक्षिण कोरिया जस्ता देशहरूमा बसोबास गर्छन्। परमेश्‍वरले यी फरक किसिमका जातिहरूलाई फरक तरिकाले वितरण गर्नुभयो, यसैले यी फरक जातिहरूलाई संसारका फरक-फरक भागहरूमा वितरण गरिएको छ। परमेश्‍वरले धेरै अगाडि नै संसारका यी फरक-फरक भागहरूमा मानवजातिका हरेक जातिको अस्तित्वको निम्ति सुहाउँदो वातावरण तयार पार्नुभयो। अस्तित्वका लागि तयार पारिएका यी वातावरणहरूभित्र परमेश्‍वरले तिनीहरूका निम्ति विभिन्न रङ्ग र बनावटका माटोहरू तयार गर्नुभयो। अर्को शब्दमा, गोरा मानिसहरूका शरीरहरू जुन तत्वहरूले बनेका हुन्छन्, ती काला मानिसहरूका शरीरहरू बन्ने तत्वहरूभन्दा फरक हुन्छन्, र ती अन्य जातिका शरीरहरू बन्ने तत्वहरूभन्दा पनि फरक हुन्छन्। जब परमेश्‍वरले सबै थोक बनाउनुभयो, परमेश्‍वरले त्यस जातिको निम्ति सुहाउँदो वातावरण पहिले नै तयार गर्नुभएको थियो। परमेश्‍वरले यसो गर्नुको उद्देश्य त्यस किसिमका मानिसहरू वृद्धि भएर सङ्ख्यामा धेरै भएपछि तिनीहरूलाई निश्चित क्षेत्रभित्र राख्नु थियो। परमेश्‍वरले मानवजातिहरूको सृष्टि गर्नु अगाडि उहाँले यी सबै कुराहरू पहिले नै सोच्नुभएको थियो—उहाँले गोरा मानिसहरूलाई वृद्धि हुने र जीवित रहनको निम्ति युरोप र अमेरिका संरक्षण गरेर राख्नुभयो। यसैले परमेश्‍वरले पृथ्वीको सृष्टि गर्नुहुँदा नै उहाँसँग योजना थियो, जमिनको त्यस खण्डमा उहाँले राखेका कुराहरू र त्यस जमिनको खण्डमा उहाँले पालनपोषण गर्नुभएका कुराको निम्ति परमेश्‍वरसँग लक्ष्य र उद्देश्य थियो। उदाहरणको निम्ति, त्यस जमिनमा कस्ता पहाडहरू, कति समथर भूभागहरू, पानीका कति स्रोतहरू, कस्ता किसिमका चराचुरुङ्गी र जनावरहरू, कस्ता माछाहरू र कस्ता बोटबिरुवाहरू हुनेछन् भन्‍ने कुराको तयारी परमेश्‍वरले धेरै अघि नै गर्नुभएको थियो। निश्‍चित प्रकारको मानव, निश्‍चित जातिको अस्तित्वको तयारी गर्ने क्रममा, परमेश्‍वरले हरेक कोणबाट विभिन्‍न कुराको बारेमा विचार गर्नु आवश्यक थियो: भौगोलिक वातावरण, माटोको बनावट, चराचुरुङ्गी र जनावरहरूका विभिन्न प्रजातिहरू, विभिन्न प्रकारका माछाका आकारहरू, माछाहरूका शरीरहरू बनाउने तत्वहरू, पानीको गुणस्तरमा भिन्नताका साथै विभिन्न किसिमका बोटबिरुवाहरूका भिन्नता…। परमेश्‍वरले ती सबै कुरा धेरै पहिले नै तयार गर्नुभएको थियो। परमेश्‍वरले गोरा मानिसहरूको निम्ति त्यही किसिमको वातावरणको सृजना गर्नुभयो र तयार गर्नुभयो, अनि त्यो स्वभाविक रूपले तिनीहरूकै हो। परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुहुँदा धेरै सोचविचार गर्नुभयो र योजना अनुसार काम गर्नुभयो भन्‍ने कुरा तिमीहरूले देखेका छौ? (हो, विभिन्न प्रकारका मानिसहरूको निम्ति परमेश्‍वरका सोचविचारहरू विचारशील छन् भन्‍ने हामीले देखेका छौँ। विभिन्न किसिमका मानवहरू जीवित रहनको निम्ति उहाँले सृष्टि गर्नुभएको वातावरणमा कस्ता किसिमका चराचुरुङ्गी, जीव-जनावर र माछाहरू, कति वटा पहाड-पर्वत र कति समथर भूभागहरू तयार गर्ने भन्‍ने कुराहरूको बारेमा उहाँले धेरै विचारशील र सुनिश्चित भएर सोचविचार गर्नुभयो।) उदाहरणको निम्ति गोरा मानिसहरूलाई लिऔं। गोरा मानिसहरूले मुख्यतया के-कस्ता खानेकुरा खान्छन्? गोरा मानिसहरूले खाने कुराहरू एसियाका मानिसहरूले खानेभन्दा फरक हुन्छन्। गोरा मानिसहरूले खाने प्रमुख खानेकुराहरूमा मासु, अण्डा, दूध र कुखुरा पर्छन्। रोटी र भात जस्ता खानाहरूलाई थालको एक छेउमा पूरक खानाको रूपमा राखिन्छ। सागसब्जीको सलाद खाँदा पनि त्यसमा सेकाएको गोमांस वा कुखुराको मासु हाल्ने गर्छन्, र गहुँबाट बनिएका खानेकुरा खाँदा पनि त्यसमा पनिर, अण्डा वा मासु थप्ने गर्छन्। यसको अर्थ, तिनीहरूको प्रमुख खानामा गहुँ वा चामल पर्दैनन्; तिनीहरूले धेरै मात्रामा मासु र पनिर खान्छन्। तिनीहरूका खानामा धेरै क्यालोरी हुने भएकोले तिनीहरूले प्रायः अत्यन्तै चिसो पानी पिउँछन्। यसैले, सेता मानिसहरू असाधारण तवरले मजबुत हुन्छन्। तिनीहरूलाई यस्तो जीवनशैली अपनाउन दिने तिनीहरूको जीवनशैलीको स्रोत र तिनीहरूका अस्तित्वको निम्ति परमेश्‍वरले तयार पार्नुभएको जिउने वातावरणहरू यस्ता छन्, जुन अरू जातिका मानिसहरूको जीवनशैलीभन्दा भिन्न छ। यस्तो किसिमको जीवनशैलीमा कुन सही वा कुन गलत भन्‍ने कुरा हुँदैन—यो जन्मजात, परमेश्‍वरले पहिले नै तोक्नुभएको हो र यो परमेश्‍वरको आदेश र उहाँको व्यवस्थापनद्वारा उत्पन्न हुन्छ। यस जातिको जीवनशैली यस्तो हुनुको कारण र तिनीहरूका जीविकोपार्जनका स्रोतहरू यी हुनुको कारण तिनीहरूका जात र, परमेश्‍वरले तिनीहरूको अस्तित्वको निम्ति तयार पार्नुभएको वातावरण नै हो। गोरा मानिसहरूको अस्तित्वको निम्ति परमेश्‍वरले तयार गर्नुभएको वातावरण र त्यस वातावरणबाट तिनीहरूले प्राप्त गर्ने दैनिक जीविकाका साधनहरू सम्पन्न र प्रचुर छन्।

परमेश्‍वरले अरू जातिहरूको अस्तित्वको निम्ति पनि आवश्यक वातावरणहरू तयार गर्नुभयो। काला मानिसहरू पनि छन्—काला मानिसहरू कहाँ बसोबास गर्छन्? तिनीहरू मुख्यतया मध्य र दक्षिण अफ्रिकामा बसोबास गर्छन्। परमेश्‍वरले त्यस किसिमको वातावरणमा तिनीहरूको निम्ति के तयार गर्नुभयो? सदाबहार वनहरू, सबै किसिमका चराचुरुङ्गी तथा जीव-जनावरहरू, मरुभूमिहरू र मानिसहरूको नजिकै रहने सबै किसिमका बोटबिरुवाहरू। तिनीहरूको निम्ति पानीको स्रोतहरू, जीविकोपार्जनका साधनहरू, र खाना छन्। परमेश्‍वरले तिनीहरूलाई पक्षपात गर्नुभएको छैन। तिनीहरूले जे गरे तापनि तिनीहरूको अस्तित्व कहिल्यै पनि खास समस्या बनेको छैन। तिनीहरूले पनि संसारको निश्चित स्थान र निश्चित क्षेत्र ओगटेका छन्।

अब पहेँला मानिसहरूको बारेमा कुरा गरौं। पहेँला मानिसहरू मुख्यतया पृथ्वीको पूर्वी भागमा बस्छन्। पूर्व र पश्चिमको वातावरण र भौगोलिक अवस्थितिमा के-के फरक छन्? पूर्वको जमिनको धेरैजसो भाग मलिलो र पदार्थ तथा खनिज भण्डारले सम्पन्न छ। अर्थात्, जमिनमाथि र जमिनमुनिका स्रोतहरूले भरपूर छ। अनि यस समूहका मानिसहरू, यस जातिका निम्ति परमेश्‍वरले मिल्दो माटो, जलवायु र तिनीहरूको निम्ति सुहाउँदो विभिन्न भौगोलिक वातावरणहरू पनि तयार पार्नुभयो। यहाँको भौगोलिक वातावरण र पश्‍चिमको वातावरणको बीचमा धेरै भिन्नता भए तापनि, मानिसहरूका निम्ति आवश्यक खाना, जीविकाहरू र जीविकोपार्जनका स्रोतहरू पनि परमेश्‍वरले तयार पार्नुभयो। यो बाँच्नको निम्ति पश्चिमका गोरा मानिसहरूको भन्दा फरक वातावरण मात्र हो। तर मैले तिमीहरूलाई भन्नुपर्ने एउटा कुरा के हो? पूर्वीय जातिका मानिसहरूको सङ्ख्या तुलनात्मक रूपमा ठूलो छ, त्यसैले परमेश्‍वरले पश्चिमभन्दा फरक रहेको पृथ्वीको यस भागमा धेरै तत्वहरू थप्नुभयो। त्यहाँ परमेश्‍वरले धेरै फरक भूभागहरू र सबै किसिमका प्रशस्त पदार्थहरू थप्नुभयो। त्यहाँका प्राकृतिक सम्पदाहरू प्रशस्त छन्; पूर्वीय जातिका ठूलो सङ्ख्यालाई पालनपोषण गर्न पुग्ने गरी भूभाग पनि विविध र फरक छ। पूर्वलाई पश्चिमबाट यही कुराले पृथक राख्छ कि—दक्षिणदेखि उत्तरसम्म, पूर्वदेखि पश्चिमसम्म—पूर्वको जलवायु पश्चिमको भन्दा राम्रो छ। चार ऋतुहरू स्पष्टसँग छुट्टिन्छन्, तापक्रमहरू सुहाउँदा छन्, प्राकृतिक सम्पदाहरू प्रचुर छन् र प्राकृतिक दृष्य तथा भूभागका प्रकारहरू पश्चिमको भन्दा धेरै नै असल छ। परमेश्‍वरले किन यसो गर्नुभयो? परमेश्‍वरले गोरा मानिसहरू र पहेँला मानिसहरूको बीचमा तर्कसंगत सन्तुलनको सृजना गर्नुभयो। यसको अर्थ के हो? यसको अर्थ यही हो कि गोरा मानिसहरूका खाना, तिनीहरूले प्रयोग गर्ने वस्तुहरू र तिनीहरूका निम्ति उपलब्ध कुराहरूका सबै पक्षहरू पहेँला मानिसहरूले आनन्द लिन सक्ने कुराहरूभन्दा धेरै असल छन्। यद्यपि, परमेश्‍वर कुनै जातिप्रति पक्षपाती हुनुहुन्न। परमेश्‍वरले पहेँला मानिसहरूलाई जिउनको निम्ति अझ सुन्दर र असल वातावरण दिनुभयो। सन्तुलन यही नै हो।

परमेश्‍वरले कुन किसिमका मानिसहरू संसारको कुन भागमा बस्‍नुपर्छ भनेर पहिले नै पूर्वनिर्धारण गर्नुभएको छ; के मानिसहरू यी सीमाहरूदेखि बाहिर जान सक्छन्? (अहँ, सक्दैनन्।) कस्तो आश्‍चर्यजनक कुरा! विभिन्‍न युगहरू वा असाधारण समयहरूमा युद्ध वा अतिक्रमणहरू भए तापनि, ती युद्ध र अतिक्रमणहरूले हरेक जातिको निम्ति परमेश्‍वरले अघिबाटै पूर्वनिर्धारण गर्नुभएको जीवन अस्तित्वको वातावरणलाई कुनै पनि हालतमा नष्ट गर्न सक्दैनन्। अर्थात्, परमेश्‍वरले निश्‍चित किसिमका मानिसहरूको निम्ति संसारको निश्‍चित भाग तोक्‍नुभएको छ र तिनीहरू ती सीमाहरूदेखि बाहिर जान सक्दैनन्। मानिसहरूमा तिनीहरूको क्षेत्र परिवर्तन वा विस्तार गर्ने कुनै किसिमको महत्वाकाङ्क्षा भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यो कुरा हासिल गर्न धेरै कठिन हुनेछ। यसमा तिनीहरू सफल हुन धेरै कठिन हुनेछ। उदाहरणको निम्ति, गोरा मानिसहरू आफ्नो क्षेत्र विस्तार गर्न चाहन्थे र तिनीहरूले केही अन्य देशहरूलाई उपनिवेश बनाए। जर्मनहरूले केही देशहरूमाथि हमला गरे र बेलायतले एकपल्ट भारतमाथि कब्जा गर्‍यो। यसको परिणाम के भयो? अन्त्यमा तिनीहरू असफल भए। तिनीहरूको असफलताबाट हामी के बुझ्छौँ? परमेश्‍वरले पहिले नै पूर्वनिर्धारण गर्नुभएको कुरालाई नष्ट गर्ने अनुमति छैन। त्यसकारण, तैँले बेलायतको विस्तारले जति नै ठूलो गति लिन सकेको देखेको भए तापनि, भारतको स्वामित्वमा रहेको भूमि छोड्दै, तिनीहरू अन्त्यमा पछि हट्नु नै पर्‍यो। त्यो भूमिमा बस्‍ने मानिसहरू अझै पनि भारतीय नै हुन्, बेलायती होइनन्, किनभने परमेश्‍वरले त्यस्तो अनुमति दिनुहुन्‍न। इतिहास वा राजनीतिशास्‍त्रमा शोध-अध्ययन गर्ने केही व्यक्तिहरूले यसबारेमा शोध-सिद्धान्तहरू उपलब्ध गराएका छन्। तिनीहरूले किन बेलायत असफल भयो भन्‍ने बारेमा कारणहरू दिँदै के भन्छन् भने, केही निश्‍चित जातिमाथि विजय गर्न नसकिने कारणले वा अन्य कुनै मानवीय कारणले यस्तो भएको हुन सक्छ…। यी वास्तविक कारणहरू होइनन्। वास्तविक कारण त परमेश्‍वर हुनुहुन्छ—उहाँले यस्तो हुन दिनुहुन्‍न। परमेश्‍वरले केही निश्‍चित जातिलाई कुनै निश्‍चित भूमिमा निरन्तर जिउन दिनुहुन्छ र तिनीहरूलाई त्यहीँ बसोबास गराउनुहुन्छ, र यदि परमेश्‍वरले तिनीहरूलाई त्यो भूमिबाट अन्यत्र जान दिनुहुन्‍न भने तिनीहरू अन्यत्र जान सक्दैनन्। यदि परमेश्‍वरले तिनीहरूलाई कुनै निश्‍चित क्षेत्र प्रदान गर्नुहुन्छ भने तिनीहरू त्यही क्षेत्रमा जिउनेछन्। मानवजातिले यी निश्‍चित क्षेत्रहरूबाट आफूलाई मुक्त गर्न वा बाहिर निकाल्न सक्दैनन्। यो निश्‍चित छ। अतिक्रमणकारीहरूको शक्ति जति नै ठूलो भए पनि वा अतिक्रमित हुनेहरू जति नै कमजोर भए पनि, अतिक्रमणकारीहरूको सफलता अन्ततः परमेश्‍वरले नै निर्णय गर्नुहुन्छ। यो कुरा उहाँले पहिले नै पूर्वनिर्धारित गरिसक्‍नुभएको हुन्छ र यसलाई कसैले पनि बदल्न सक्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८४

परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ र सबैलाई भरणपोषण गर्नुहुन्छ, उहाँ सबै थोकका परमेश्‍वर हुनुहुन्छ (छनौट गरिएका खण्डहरू)

यावत् थोकको वृद्धिको लागि परमेश्‍वरले निर्धारण गर्नुभएको नियमहरूको दृष्टिकोणबाट हेर्दा, के सम्पूर्ण मानवजातिलाई, यसका सारा विविधताहरूमाझ, परमेश्‍वरद्वारा नै आपूर्ति र पोषण प्रदान गरिएको छैन र? यदि यी नियमहरूलाई नष्ट गरिएको भए वा यदि परमेश्‍वरले मानवजातिका लागि यी नियमहरू स्थापित नगर्नुभएको भए, मानवजातिको भविष्य कस्तो हुन्थ्यो? मानिसहरूले आफ्नो अस्तित्वको आधारभूत वातावरणलाई गुमाएपछि, के तिनीहरूसँग खानाको कुनै स्रोत हुनेथ्यो र? खानाको स्रोत नै समस्या बन्‍ने सम्भावना हुनेथ्यो। यदि मानिसहरूले आफ्नो खानाको स्रोत गुमाए भने, अर्थात् यदि तिनीहरूले कुनै पनि खानेकुरा भेट्टाउन सकेनन् भने, तिनीहरू कति दिनसम्म निरन्तर बाँच्न सक्थे? सम्भवतः तिनीहरू एक महिना पनि टिक्‍न सक्‍नेथिएनन्, र तिनीहरूको अस्तित्व नै समस्या बन्‍नेथ्यो। त्यसैले, मानिसहरू जीवित रहनको लागि, तिनीहरूको निरन्तर अस्तित्व, प्रजनन र जीविकाको लागि, परमेश्‍वरले गर्नुहुने हरेक काम एकदमै महत्त्वपूर्ण छ। परमेश्‍वरले उहाँको सृष्टिका वस्तुहरूमाझ गर्नुहुने हरेक काम मानवजातिको अस्तित्वसँग निकट रूपमा सम्बन्धित र अभिन्‍न छ। यदि मानवजातिको अस्तित्व समस्या बन्यो भने, के परमेश्‍वरको व्यवस्थापन निरन्तर रहन सक्थ्यो? के परमेश्‍वरको व्यवस्थापन अझै अस्तित्वमा रहिरहन सक्थ्यो? परमेश्‍वरको व्यवस्थापन उहाँले पोषण प्रदान गर्नुहुने सम्पूर्ण मानवजातिको अस्तित्वसँग सहअस्तित्वमा रहन्छ, त्यसैले उहाँले उहाँको सृष्टिका यावत् थोकमाझ जे-जस्तो तयारी गर्नुभए पनि र मानिसहरूको लागि जेसुकै गर्नुभए पनि, यी सबै उहाँका लागि आवश्यक छन् र मानवजातिको अस्तित्वको लागि अत्यावश्यक छन्। यदि यावत् थोकको लागि परमेश्‍वरले निर्धारित गर्नुभएका यी नियमहरूलाई छोडियो भने, यदि यी नियमहरूलाई उल्लङ्घन वा भङ्ग गरियो भने, सारा सृष्टि अबउप्रान्त अस्तित्वमा रहनेथिएनन्, मानवजातिको अस्तित्वको लागि रहेको वातावरण निरन्तर अस्तित्वमा हुनेथिएन, न त तिनीहरूको दैनिक भरणपोषण न त मानवजाति आफै नै अस्तित्वमा रहनेथ्यो। यही कारणले गर्दा, परमेश्‍वरले गर्नुहुने मानवजातिको मुक्तिको व्यवस्थापन पनि अस्तित्वबाट हराउनेथ्यो।

हामीले छलफल गरेको हरेक कुरा, हरेक चीज, हरेक वस्तु घनिष्ठ रूपमा हरेक व्यक्तिको अस्तित्वसँग जोडिएको छ। तिमीहरूले भन्छौ होला, “तपाईंले भनिरहनुभएको कुरा अत्यन्तै विशाल छ, यो कुरा हामीले देख्‍न सक्‍ने कुरा होइन,” र सायद यसो भन्‍ने मानिसहरू पनि छन् होला, “तपाईंले जे भनिरहनुभएको छ त्यससँग मेरो कुनै सम्बन्ध छैन।” तथापि, यो कुरा नबिर्सी कि तँ केवल यावत् थोकको एउटा भागको रूपमा बाँचिरहेको छस्; तँ परमेश्‍वरको शासनअन्तर्गत सृष्टि गरिएका यावत् थोकहरूमध्येको एक होस्। परमेश्‍वरको सृष्टिका कुराहरूलाई उहाँको नियमबाट अलग गर्न सकिँदैन र कुनै पनि व्यक्तिले आफैलाई उहाँको नियमबाट अलग गर्न सक्दैन। उहाँको नियम गुमाउनु र उहाँको प्रबन्ध गुमाउनुको अर्थ मानिसहरूका जीवनहरू, मानिसहरूका दैहिक जीवनहरू गायब हुनु हो। मानवजातिको अस्तित्वको निम्ति परमेश्‍वरले वातावरणहरू स्थापना गर्नुको महत्त्व यही हो। तँ कुन जातिको होस् वा तँ कुन जमिनको टुक्रामा बस्छस् भन्‍ने कुराले केही महत्त्व राख्दैन, चाहे पश्‍चिम होस् वा पूर्व—तैँले परमेश्‍वरले मानवजातिको अस्तित्वको निम्ति स्थापना गर्नुभएको वातावरणबाट आफैलाई अलग गर्न सक्दैनस् र मानवहरूको अस्तित्वको निम्ति उहाँले स्थापना गर्नुभएको पालनपोषण र वातावरणको प्रबन्धदेखि तैँले आफैलाई अलग गर्न सक्दैनस्। तेरो जीविकोपार्जनको माध्यम जे सुकै भए पनि, बाँच्‍नको निम्ति र देहमा तेरो जीवन धान्‍नको निम्ति तँ जेमा भर परे पनि, तैँले परमेश्‍वरको नियम र उहाँको व्यवस्थापनदेखि आफैलाई अलग गर्न सक्दैनस्। कतिपय मानिसहरू भन्छन्: “म किसान होइन; म बाँच्नको लागि बाली लगाउँदिन। म आफ्नो खानाको लागि स्वर्गमा निर्भर हुँदिन, त्यसैले परमेश्‍वरले स्थापना गर्नुभएको जीवन-अस्तित्वको वातावरणभित्र मेरो जीवनको अस्तित्व रहेको छैन। मलाई त्यस प्रकारको वातावरणले केही पनि दिएको छैन।” के त्यो सही हो? तँ भन्छस् कि तँ बाँच्नको लागि बाली लगाउँदैनस्, तर के तँ अन्‍न खाँदैनस्? के तँ मासु र अण्डा खाँदैनस्? अनि के तँ सागसब्जी र फलफूल खाँदैनस्? तैँले खाने हरेक कुरा, तँलाई आवश्यक पर्ने सबै कुरा परमेश्‍वरले मानवजातिको लागि स्थापना गर्नुभएको जीवन-अस्तित्वको वातावरणसँग अभिन्‍न छन्। अनि मानवजातिलाई आवश्यक पर्ने सबै कुराहरूको स्रोत परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकहरूसँग अभिन्‍न छन्, र समग्र रूपमा यी सबै कुराहरू मिलेर तेरो जीवन-अस्तित्वको वातावरण बन्छ। तैँले पिउने पानी, तैँले लगाउने वस्‍त्र र तैँले प्रयोग गर्ने सबै कुरा—यीमध्ये कुनचाहिँ परमेश्‍वरको सृष्टिका कुराहरूबाट प्राप्त गरिँदैनन् र? कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरको सृष्टिका कुराहरूबाट प्राप्त नगरिने कुराहरू पनि छन्। तपाईं हेर्नुस् न, प्लास्टिक तीमध्ये एउटा हो। यो रासायनिक पदार्थ हो, मानिसले बनाएको कुरा हो।” के त्यो सही हो? प्लास्टिक वास्तवमा मानिसले बनाएको हो, र यो एक रासायनिक पदार्थ हो, तर प्लास्टिक बन्‍ने मूल तत्वहरू कहाँबाट आए? ती मूल तत्वहरू परमेश्‍वरले सृष्टि गर्नुभएका पदार्थहरूबाट प्राप्त गरिएका थिए। तैँले देख्‍ने र आनन्द लिने कुराहरू, तैले प्रयोग गर्ने सबै कुराहरू, ती सबै नै परमेश्‍वरले सृष्टि गर्नुभएका पदार्थहरूबाट प्राप्त गरिन्छन्। भन्‍नुको अर्थ, मानिस जुनसुकै जातिमा पर्ने भए पनि, तिनीहरूको जीविका जस्तोसुकै भए पनि वा तिनीहरू जुनसुकै प्रकारको जीवन-अस्तित्वको वातावरणमा बाँचे पनि, तिनीहरूले परमेश्‍वरले उपलब्ध गराउनुभएका कुराहरूबाट आफूलाई अलग्याउन सक्दैनन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८५

परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ र सबैलाई भरणपोषण गर्नुहुन्छ, उहाँ सबै थोकका परमेश्‍वर हुनुहुन्छ (छनौट गरिएका खण्डहरू)

मानिसहरूको हृदयमा परमेश्‍वरसम्‍बन्धी बुझाइ जति धेरै हुन्छ, उहाँको स्थान पनि तिनीहरूको हृदयमा त्यति नै मात्रामा रहन्छ। तिनीहरूको हृदयमा परमेश्‍वरबारेको ज्ञानको परिमाण जति ठूलो हुन्छ, परमेश्‍वर पनि तिनीहरूको हृदयमा त्यति नै ठूलो हुनुहुन्छ। यदि तैँले जानेको परमेश्‍वर खाली र अस्पष्ट हुनुहुन्छ भने तैँले विश्‍वास गरेको परमेश्‍वर पनि खाली र अस्पष्ट नै हुनुहुन्छ। तैँले जानेको परमेश्‍वर तेरो आफ्नै व्यक्तिगत जीवनको आयाममा सीमित हुनुहुन्छ र साँचो परमेश्‍वर स्वयम्‌सँग त्यसको कुनै सम्बन्ध हुँदैन। त्यसैले, परमेश्‍वरका व्यावहारिक कार्यहरूको बारेमा जान्‍नु, परमेश्‍वरको वास्तविकता र उहाँको सर्वशक्तिमान्‌ताको बारेमा जान्‍नु, परमेश्‍वर स्वयम्‌को साँचो पहिचानको बारेमा जान्‍नु, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सोबारेमा जान्‍नु, उहाँका सृष्टिका सबै थोकहरूमाझ उहाँले प्रकट गर्नुभएका कार्यहरूको बारेमा जान्‍नु—यी कुराहरू परमेश्‍वरको ज्ञानलाई पछ्याउने हरेक व्यक्तिको निम्ति धेरै महत्त्वपूर्ण छन्। मानिसहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन् कि सक्दैनन् भन्‍नेबारेमा तिनीहरूको प्रत्यक्ष सम्बन्ध छ। यदि तैँले परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइलाई वचनहरूमा मात्र सीमित गरिस् भने, यदि तैँले यसलाई तेरा आफ्नै थोरै अनुभवहरूमा सीमित गरिस् भने, परमेश्‍वरको अनुग्रह के हो भनेर तैँले ठानेको कुरा वा परमेश्‍वरसम्‍बन्धी तेरा थोरै गवाहीहरूमा सीमित गरिस् भने, म त भन्छु तैँले विश्‍वास गरेको परमेश्‍वर कदापि साँचो परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍न। यति मात्र होइन, तैँले विश्‍वास गरेको परमेश्‍वर काल्पनिक परमेश्‍वर हुनुहुन्छ, साँचो परमेश्‍वर हुनुहुन्‍न भनेर पनि भन्‍न सकिन्छ। यो किन हो भने साँचो परमेश्‍वर उहाँ नै हुनुहुन्छ जसले हरेक थोकमाथि शासन गर्नुहुन्छ, हरेक थोकको माझमा हिँड्नुहुन्छ र हरेक थोकको व्यवस्थापन गर्नुहुन्छ। सारा मानवजाति र हरेक थोकको नियति आफ्नै हातले सम्हाल्‍ने उहाँ नै हुनुहुन्छ। मैले बताइरहेको परमेश्‍वरका काम र कदमहरू मानिसहरूको सानो हिस्सामा मात्र सीमित छैनन्। अर्थात्, ती अहिले उहाँलाई पछ्याउने मानिसहरूमा मात्र सीमित छैनन्। उहाँका कार्यहरू सबै थोकहरूको माझमा, सबै थोकहरूको अस्तित्वमा र सबै थोकहरूको परिवर्तनको नियमहरूमा प्रकट भएका छन्। यदि तैँले परमेश्‍वरका सृष्टिका सबै थोकहरूको माझमा उहाँका कार्यहरूलाई देख्‍न वा पहिचान गर्न सक्दैनस् भने, तँ उहाँका कुनै पनि कार्यहरूको गवाही बन्‍न सक्दैनस्। यदि तँ परमेश्‍वरको निम्ति गवाही बन्‍न सक्दैनस् भने, यदि तैँले आफूले जानेको, तेरा आफ्नै विचारहरू र तेरो दिमागको साँघुरो घेराभित्र सीमित, सानो तथाकथित “परमेश्‍वर” को बारेमा निरन्तर बोल्छस् भने, यदि तैँले त्यस प्रकारको परमेश्‍वरको बारेमा निरन्तर कुरा गर्छस् भने, परमेश्‍वरले तेरो विश्‍वासको कहिले पनि प्रशंसा गर्नुहुनेछैन। तँ परमेश्‍वरको गवाही बन्दा, यदि तैँले परमेश्‍वरको अनुग्रहमा कसरी आनन्द लिन्छस्, उहाँको अनुशासन र ताडनालाई तैँले कसरी स्वीकार गर्छस्, उहाँसम्‍बन्धी तेरो गवाहीमा कसरी उहाँका आशिष्‌हरूको आनन्द लिन्छस् भन्‍ने आधारमा मात्र तैँले यसो गरिस् भने, त्यो कुनै पनि हालतमा यथेष्ट हुँदैन र उहाँलाई सन्तुष्टि दिने कुराको नजिक पनि हुँदैन। यदि तँ उहाँको इच्छासँग मेल खाने तवरले परमेश्‍वरको गवाही बन्‍न चाहन्छस् भने, साँचो परमेश्‍वर स्वयम्‌को गवाही बन्‍न चाहन्छस् भने, तैँले उहाँका कार्यहरूबाट परमेश्‍वरसँग जे छ र परमेश्‍वर जो हुनुहुन्छ सो देख्‍नुपर्छ। उहाँले हरेक थोकलाई नियन्त्रणमा लिनुभएको कुराबाट तैँले परमेश्‍वरको अख्तियार देख्‍नुपर्छ र उहाँले सारा मानवजातिको निम्ति कसरी प्रबन्ध गर्नुहुन्छ भन्‍ने सत्यता देख्‍नुपर्छ। तेरो दैनिक जीविका र तेरो जीवनका आवश्यकताहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरा मात्र तैँले स्वीकार गर्छस्, तर परमेश्‍वरले सारा मानवजातिको प्रबन्धको निम्ति उहाँका सृष्टिका सबै थोक लिनुभएको छ भन्‍ने सत्यता र सबै थोकमाथि शासन गर्दै उहाँले सबै मानवजातिको अगुवाइ गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई देख्‍दैनस् भने, तैँले कहिल्यै पनि परमेश्‍वरको गवाही दिन सक्‍नेछैनस्। यो सबै भन्‍नुपछाडिको मेरो उद्देश्य के हो? मैले यस्तो गरेँ ताकि तिमीहरूले यसलाई हल्‍का रूपमा नलेओ, मैले बोलेका यी विषयहरू तिमीहरूको व्यक्तिगत जीवन प्रवेशसित अप्रासङ्गिक छन् भनेर गलत तवरले विश्‍वास नगर र यी विषयहरूलाई एक किसिमको ज्ञान वा सिद्धान्तको रूपमा मात्र नलेओ। यदि मैले भनेको कुरालाई त्यस किसिमको मनोवृत्तिको साथ सुन्यौ भने, तिमीहरूले एउटा कुरा पनि प्राप्त गर्नेछैनौ। तिमीहरूले परमेश्‍वरलाई चिन्‍ने यो महान् मौका गुमाउनेछौ।

यी सबै कुराहरू बताउनुपछाडिको मेरो लक्ष्य के हो त? मेरो लक्ष्य मानिसहरूलाई परमेश्‍वर चिन्‍ने बनाउनु हो, मानिसहरूलाई परमेश्‍वरका व्यावहारिक कार्यहरू बुझ्ने तुल्याउनु हो। जब तैँले परमेश्‍वर र उहाँका कार्यहरूलाई बुझ्छस्, तब मात्र तैँले उहाँलाई चिन्‍ने अवसर वा सम्भावना हुन्छ। उदाहरणको लागि, यदि तैँले कुनै व्यक्तिलाई बुझ्न चाहन्थिस् भने, तैँले उसलाई कसरी बुझ्नेथिस्? के त्यो उसको बाह्य रूपलाई हेरेर हुन्थ्यो? के त्यो उसले के-कस्तो वा के-कसरी कपडा लगाउँछ भनी हेरेर हुन्थ्यो? के यो ऊ कसरी हिँड्छ भनी हेरेर हुन्थ्यो? के त्यो तिनीहरूको ज्ञानको दायरालाई हेरेर हुन्थ्यो? (होइन।) त्यसो भए, तँ कुनै व्यक्तिलाई कसरी बुझ्छस्? तैँले व्यक्तिको बोली र व्यवहार, तिनीहरूको विचार र तिनीहरूले व्यक्त गर्ने कुराहरू वा आफ्नै बारेमा गरेका खुलासाहरूलाई हेरेर त्यसको आधारमा तिनीहरूको मूल्याङ्कन गर्छस्। यसप्रकार तैँले कुनै व्यक्तिलाई चिन्‍न पुग्छस्, कुनै व्यक्तिलाई बुझ्न पुग्छस्। त्यसै गरी, यदि तिमीहरूले परमेश्‍वरलाई चिन्‍न चाहन्छौ भने, यदि तिमीहरू उहाँको व्यावहारिक पक्ष, उहाँको साँचो पक्षलाई बुझ्न चाहन्छौ भने, तिमीहरूले उहाँलाई उहाँका कार्यहरूमार्फत र उहाँले गर्नुहुने हरेक व्यावहारिक कुरामार्फत चिन्‍नुपर्छ। यो नै सर्वोत्तम तरिका हो, र यो नै एक मात्र तरिका हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८६

मानवजातिलाई जीवन-अस्तित्वको स्थिर वातावरण प्रदान गर्नको लागि परमेश्‍वरले यावत् थोकहरू बीचको सम्बन्धहरूलाई सन्तुलित गर्नुहुन्छ (छनौट गरिएको खण्ड)

परमेश्‍वरले सबै थोक सृजनुभयो उहाँले तिनीहरूलाई सन्तुलनमा ल्याउनको निम्ति अर्थात् पहाड-पर्वत र ताल-तलैयाको, बोट बिरुवा र सबै किसिमका जीवजन्तु, चरा-चुरुङ्गी र कीरा-फट्याङ्ग्राहरूको जीवनको अवस्थालाई सन्तुलनमा राख्‍नको निम्ति सबै किसिमका विधि र तरिकाहरूको प्रयोग गर्नुभयो। उहाँले स्थापना गर्नुभएको व्यवस्थाको अधीनमा रहेर सबै किसिमका जीवित प्राणीहरूलाई जिउन र वृद्धि हुन दिनु उहाँको लक्ष्य थियो। सृष्टिका कुनै पनि थोकहरू यी व्यवस्था बाहिर जान सक्दैनन् र व्यवस्थालाई तोड्न सकिँदैन। यस आधारभूत किसिमको वातावरणमा मात्र मानव पुस्तादेखि पुस्तासम्म सुरक्षितसाथ बाँच्‍न र वृद्धि हुन सक्छन्। यदि कुनै जीवित प्राणी परमेश्‍वरले स्थापित गर्नुभएको परिमाण वा क्षेत्रदेखि बाहिर जान्छ वा यदि यसले उहाँले तोक्‍नुभएको वृद्धि दर, प्रजनन आवृत्ति वा सङ्ख्यालाई नाघ्छ भने मानवजातिको अस्तित्वको वातावरण विनाशका विभिन्‍न हदहरूले ग्रसित हुनेछ। साथै, मानवजातिको अस्तित्व जोखिममा पर्नेछ। यदि एक किसिमको जीवित प्राणी सङ्ख्यामा अत्यन्तै धेरै छ भने यसले मानिसहरूको खाना लुट्नेछ, मानिसहरूको पानीको स्रोतहरू नष्ट गर्नेछ र तिनीहरूको मातृ-भूमिलाई बरबाद पार्नेछ। त्यसरी, मानवजातिको प्रजनन वा अस्तित्वको अवस्था तत्कालै प्रभावित हुनेछ। उदाहरणको लागि, पानी सबै थोकको लागि महत्वपूर्ण छ। यदि अत्याधिक संख्यामा मुसा, कमिला, सलह, भ्यागुता, वा अन्य कुनै प्रकारका जनावरहरू छन् भने, तिनीहरूले अझ धेरै पानी पिउँछन्। तिनीहरूले धेरै पानी पिउन थालेपछि, पिउने पानीको स्रोत भएको सीमित क्षेत्र र जलीय क्षेत्रहरूमा मानिसहरूले पिउने पानी र पानीको स्रोत न्यून हुन जान्छ र तिनीहरूले पानीको अभाव भोग्छन्। यदि सबै प्रकारका जनावरहरूको संख्या बढेको कारण मानिसहरूको पिउने पानी नष्ट हुन्छ, दूषित बन्छ, वा त्यसको आपूर्ति बन्द हुन्छ भने, जीवन-अस्तित्वको त्यस प्रकारको कठोर वातावरणमा मानवजातिलाई गम्भीर चुनौती आइलाग्छ। यदि एक किसिमको वा अनेक किसिमका जीवित प्राणीहरूले तिनीहरूको उचित सङ्ख्या पार गरे भने हावा, तापक्रम, आर्द्रता र मानवजाति बाँच्‍ने ठाउँभित्रको हावाको संयोजन विभिन्‍न हदले विषाक्त र नष्ट हुनेछ। यी परिस्थितिहरूमा मानवहरूको अस्तित्व र नियति पनि यी पर्यावरणीय कारकहरूद्वारा उत्पन्न खतरामा पर्नेछ। यसैले, यी सन्तुलनहरू गुमे भने मानिसहरूले सास फेर्ने हावा बरबाद हुनेछ, तिनीहरूले पिउने पानी दूषित हुनेछ र तिनीहरूको लागि आवश्यक पर्ने तापक्रमहरू पनि परिवर्तन हुनेछ र विभिन्‍न हदहरूमा प्रभावित हुनेछ। यदि त्यसो भयो भने स्वभाविक रूपमा मानवजातिको अधीनमा रहेको बाँच्‍ने वातावरणहरूमाथि ठूला प्रभाव र चुनौतीहरू आइपर्नेछन्। मानवहरूको अस्तित्वका आधारभूत वातावरणहरू नष्ट पारिएको यस्तो किसिमको परिदृष्यमा मानवजातिको नियति र सम्भावनाहरू के होलान् त? यो एकदमै गम्भीर समस्या हो! सृष्टिका हरेक थोकहरू मानवजातिको निम्ति के कारणले अस्तित्वमा छन्, उहाँले सृष्टि गर्नुभएका हरप्रकारका वस्तुहरूको के भूमिका छ, हरेक वस्तुको मानवजातिमा कस्तो किसिमको प्रभाव हुन्छ र यसले मानवजातिलाई कुन हदसम्म फाइदा दिन्छ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा भएकोले, परमेश्‍वरको हृदयमा यो सबैको योजना भएकोले र उहाँले सृष्टि गर्नुभएका सबै थोकहरूका हरेक पक्षहरूको व्यवस्थापन उहाँले गर्नुहुने भएकोले, उहाँले गर्नुहुने हरेक कुरा मानवजातिको निम्ति धेरै महत्त्वपूर्ण र आवश्यक छन्। यसैले अब उप्रान्त जब-जब तैँले परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूको बीचमा केही पर्यावरणीय घटनाहरू देख्छस् वा परमेश्‍वरले सृष्टि गर्नुभएका थोकहरूको बीचमा केही प्राकृतिक नियमले काम गरेको देख्छस्, तब-तब तैँले परमेश्‍वरले सृष्टि गर्नुभएको हरेक थोकको आवश्यकताको बारेमा कुनै पनि शङ्का गर्नेछैनस्। तैँले परमेश्‍वरको सबै थोकहरूको प्रबन्ध र मानवजातिको निम्ति उपलब्ध गराउने उहाँका विविध तरिकाहरूको बारेमा अबउप्रान्त मनमानी निर्णयहरू गर्न अनभिज्ञ शब्दहरू प्रयोग गर्नेछैनस्। न त तँ परमेश्‍वरका सृष्टिका सबै थोकहरूको निम्ति उहाँका व्यवस्थाहरूको बारेमा मनमानी निष्कर्षहरूमा नै पुग्‍ने छस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८७

परमेश्‍वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ

भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्‍चित कुराहरू वा घटनाहरूलाई बुझ्दैनन्, तब तिनीहरूले उचित जानकारीको खोजी गर्न वा ती कुराहरूको व्युत्पत्ति र पृष्ठभूमिको बारेमा पत्ता लगाउन विभिन्‍न माध्यमहरूको प्रयोग गर्न सक्छन्। तर जब हामीले आज कुरा गरिरहेको संसारको कुरा आउँछ—अर्थात्, भौतिक संसारभन्दा बाहिर अस्तित्वमा रहेको आत्मिक संसारको कुरा आउँछ—यसको बारेमा सिक्‍नको लागि मानिसहरूसँग कुनै माध्यम वा प्रणाली हुँदैन। म किन यसो भन्दैछु त? म यसो किन भन्दैछु भने, मानवजातिको संसारमा भौतिक संसारको हरेक कुरालाई मानिसको भौतिक अस्तित्वबाट अलग गर्न सकिँदैन, र मानिसहरूलाई भौतिक संसारको हरेक कुरालाई आफ्नो भौतिक जियाइ र भौतिक जीवनबाट अलग गर्न सकिँदैन भन्‍ने लाग्‍ने हुनाले, धेरैजसो मानिसहरूले तिनीहरूले देख्‍न सक्‍ने तिनीहरूका आँखा अगाडिका भौतिक कुराको बारेमा मात्रै जान्दछन् वा तिनलाई मात्रै देख्छन्। तैपनि, जब आत्मिक संसारको कुरा आउँछ—भन्‍नुको अर्थ, जब अर्को संसारका सबै थोकको कुरा आउँछ—धेरैजसो मानिसहरूले विश्‍वास गर्दैनन् भन्दा अत्योक्ति हुँदैन। मानिसहरूले यसलाई देख्‍न सक्दैनन्, र यसलाई बुझ्‍न वा यसको बारेमा कुनै कुरा पनि जान्‍न आवश्यक छैन भनी विश्‍वास गर्छन्, तिनीहरूले आत्मिक संसार कसरी भौतिक संसारभन्दा पूर्ण रूपमा फरक छ, र परमेश्‍वरको दृष्टिकोणमा खुला छ—मानवको लागि, यो गुप्त र बन्द भए पनि—भन्‍ने कुरा देख्ने-बुझ्ने वा विश्‍वास गर्नु त परै जाओस्, यसकारण मानिसहरूलाई यस संसारका विभिन्‍न पक्षहरूलाई बुझ्‍ने मार्ग भेट्टाउन निकै कठिन छ। मैले बताउन लागेको आत्मिक संसारका विभिन्‍न पक्षहरू परमेश्‍वरको प्रशासन र सार्वभौमिकतासँग मात्रै सम्‍बन्धित छ; म कुनै पनि रहस्य प्रकट गर्नेछैन, न त म तिमीहरूलाई तिमीहरूले जान्‍न चाहेका कुनै गुप्त कुराहरू नै बताउनेछु। यो कुरा परमेश्‍वरको सार्वभौमिकता, परमेश्‍वरको प्रशासन, र परमेश्‍वरको बन्दोबस्तसँग सम्‍बन्धित भएको हुनाले, तिमीहरूले जान्‍नु आवश्यक रहेको भागको बारेमा मात्रै म बोल्‍नेछु।

सुरुमा, म तिमीहरूलाई एउटा प्रश्‍न गर्छु: तिमीहरूको विचारमा, आत्मिक संसार भनेको के हो? समग्रमा भन्दा, यो भौतिक संसारभन्दा बाहिरको संसार हो, जुन मानिसहरूको लागि अदृश्य र अस्पृश्य दुवै छ। तैपनि तिमीहरूको कल्‍पनामा, आत्मिक संसार कस्तो प्रकारको संसार हुनुपर्छ? सायद, यसलाई देख्‍न नसकेको कारण, तिमीहरूले यसको बारेमा कल्‍पना गर्न सक्दैनौ। तैपनि, जब तिमीहरूले कुनै पौराणिक कथा सुन्छौ, तब तिमीहरूले यसको बारेमा विचार गरिरहेका हुन्छौ, र तिमीहरू यसको बारेमा विचार नगरी बस्नै सक्दैनौ। म किन यसो भन्दैछु त? सानो छँदा धेरै मानिसहरूलाई हुने केही घटना छन्: जब कसैले तिनीहरूलाई डरलाग्दो कथा—भूत वा आत्माको बारेमा कथा—बताउँछन्, तिनीहरू अत्यन्तै भयभीत हुन्छन्। तिनीहरू वास्तवमा किन भयभीत हुन्छन् त? किनभने तिनीहरूले यी कुराहरूको कल्‍पना गरिरहेका हुन्छन्; तिनीहरूले ती कुरालाई देख्‍न नसके पनि, तिनीहरूलाई ती कुराहरू तिनीहरूको कोठामा, कुनै गुप्त वा अँध्यारो कुनामा छन् भन्‍ने लाग्छ, र तिनीहरू यति भयभीत हुन्छन् कि तिनीहरूले सुत्‍ने आँट समेत गर्दैनन्। विशेष गरी राति, तिनीहरू कोठामा एकलै बस्‍न वा आँगनमा एकलै जान अत्यन्तै डराउँछन्। त्यो तिमीहरूको कल्‍पनाको आत्मिक संसार हो, र यो मानिसहरूले डरलाग्दो ठान्‍ने संसार हो। तथ्य के हो भने हरेकले कुनै हदसम्‍म यसको कल्पना गर्छन्, र यसलाई हरेकले थोरै अनुभव गर्न सक्छन्।

हामी आत्मिक संसारको बारेमा कुरा गर्दै यस विषयलाई सुरु गरौं। यो के हो त? म तिमीहरूलाई छोटो र सरल व्याख्या प्रदान गर्छु: आत्मिक संसार एक महत्त्वपूर्ण स्थान हो, जुन भौतिक संसारभन्दा फरक छ। यो महत्त्वपूर्ण छ भनेर म किन भन्छु त? हामी यसको बारेमा विस्तृत रूपमा छलफल गर्दैछौं। आत्मिक संसारको अस्तित्व अपरिहार्य रूपमा नै मानवजातिको भौतिक संसारसँग जोडिएको छ। यसले यावत् थोकमाथिको परमेश्‍वरको प्रभुत्वमा मानव जीवन र मृत्युको चक्रमा मुख्य भूमिका निर्वाह गर्छ; यसको भूमिका यही हो, र यसको अस्तित्व महत्त्वपूर्ण हुनुको एउटा कारण यही हो। यो पञ्‍च-इन्द्रियहरूले अनुभूति गर्न नसक्‍ने स्थान भएको हुनाले, आत्मिक संसार अस्तित्वमा छ कि छैन भन्‍ने कुरालाई कसैले पनि सटीक रूपमा मूल्याङ्कन गर्न सक्दैन। यसका विभिन्‍न पक्षहरू मानव अस्तित्वसँग घनिष्ठ रूपले जोडिएका हुन्छन्, जसको परिणामस्वरूप मानवजातिको जीवनक्रमलाई आत्मिक संसारले वृहत् प्रभाव पार्छ। यसमा परमेश्‍वरको सार्वभौमिकता संलग्‍न हुन्छ कि हुँदैन त? हुन्छ। जब म यसो भन्छु, तब तैँले यो विषयमा मैले किन छलफल गरिरहेको छु सो बुझ्छस्: किनभने यो परमेश्‍वरको सार्वभौमिकता, साथै उहाँको प्रशासनसँग सम्‍बन्धित छ। यस्तो संसारमा—मानिसहरूका लागि अदृश्य रहेको संसारमा—यसको हरेक स्वर्गीय उर्दी, आदेश, र प्रशासन प्रणाली भौतिक संसारको जुनसुकै राष्ट्रका कानूनहरू र प्रणालीहरूभन्दा निकै माथि हुन्छन्, र तिनलाई यो संसारमा जिउने कुनै पनि प्राणीले अवहेलना वा उल्‍लङ्घन गर्ने आँट गर्दैन। के यो परमेश्‍वरको सार्वभौमिकता र प्रशासनसँग सम्‍बन्धित छ त? आत्मिक संसारमा, स्पष्ट प्रशासनिक आदेशहरू, स्पष्ट स्वर्गीय उर्दीहरू, र स्पष्ट विधानहरू हुन्छन्। फरक-फरक स्तर र फरक-फरक क्षेत्रमा सहभागीहरूले आफ्‍ना कर्तव्यहरू कठोरताका साथ पालन गर्छन् र नीति र नियमहरूको पालन गर्छन्, किनभने स्वर्गीय उर्दीको उल्‍लङ्घन गर्दा हुने परिणाम के हुन्छ सो तिनीहरूलाई थाहा छ; परमेश्‍वरले कसरी दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुन्छ, अनि कसरी उहाँले सबै थोकमाथि प्रशासन चलाउनुहुन्छ र शासन गर्नुहुन्छ सो तिनीहरूलाई स्पष्ट रूपमै थाहा छ। यसको साथै, तिनीहरूले कसरी उहाँले आफ्‍ना स्वर्गीय उर्दीहरू र विधानहरूलाई कार्यान्वयन गर्नुहुन्छ सो स्पष्ट रूपमै देख्छन्। के यी मानवजातिले वास गर्ने भौतिक संसारभन्दा फरक छन् त? तिनीहरू वास्तवमा अत्यन्तै फरक छन्। आत्मिक संसार भौतिक संसारभन्दा पूर्ण रूपमा फरक संसार हो। स्वर्गीय अध्यादेश र विधानहरू हुने भएकाले, यसले परमेश्‍वरको सार्वभौमिकता, प्रशासनलाई यसको अतिरिक्त उहाँको स्वभाव साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई समावेश गर्छ। यो कुरा सुनेपछि, के तिमीहरूलाई मैले यस विषयमा बोल्‍नु अत्यन्तै आवश्यक छ भन्‍ने लागेन? के तिमीहरूलाई यसभित्रका रहस्यहरू जान्‍न मन लागेन? (हो, लाग्यो।) आत्मिक संसारको अवधारणा यही हो। यो भौतिक संसारसँगै सह-अस्तित्वमा हुने, र यो एकसाथ परमेश्‍वरको प्रशासन र सार्वभौमिकताको अधीनमा हुने भए पनि, यस संसारप्रतिको परमेश्‍वरको प्रशासन र सार्वभौमिकता भौतिक संसारको भन्दा निकै कठोर हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८८

मानवजातिमध्ये, म सबै मानिसहरूलाई तीन वटा प्रकारमा विभाजन गर्छु। पहिलो अविश्‍वासीहरू, अर्थात् धार्मिक आस्था विहीन मानिसहरू हुन्। तिनीहरूलाई अविश्‍वासी भनिन्छ। धेरैजसो अविश्‍वासीहरूले पैसामाथि मात्रै विश्‍वास गर्छन्; तिनीहरूले आफ्‍नै रुचिहरूलाई मात्रै प्राथमिकता दिन्छन्, तिनीहरू भौतिकवादी हुन्छन्, र भौतिक संसारमा मात्रै विश्‍वास गर्छन्—तिनीहरूले जीवन मृत्युको चक्रमा वा देवीदेवता र भूतहरूका बारेमा बताइने कुनै पनि कुरामा विश्‍वास गर्दैनन्। म यी मानिसहरूलाई अविश्‍वासीहरू भनी वर्गीकरण गर्छु, र पहिलो प्रकारका मानिसहरू तिनीहरू नै हुन्। दोस्रो प्रकारका मानिसहरूमा अविश्‍वासीहरू बाहेकका विभिन्‍न विश्‍वासका मानिसहरू पर्छन्। मानवजातिमध्ये, म यी विश्‍वासका मानिसहरूलाई विभिन्‍न मुख्य समूहमा विभाजन गर्छु: पहिलो यहूदी, दोस्रो क्याथोलिक, तेस्रो ख्रीष्टियान, चौथो मुस्लिम, र पाचौं बुद्ध धर्म मान्‍ने हुन्; पाँच प्रकारका मानिसहरू छन्। यी विश्‍वासका विभिन्‍न प्रकारका मानिसहरू हुन्। तेस्रो प्रकारमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू पर्छन्, र तिमीहरू यसैमा पर्छौ। त्यस्ता विश्‍वासीहरू आज परमेश्‍वरलाई पछ्याउने मानिसहरू हुन्। यी मानिसहरू दुई प्रकारमा विभाजित छन्: परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू। यी मुख्य प्रकारहरूलाई स्पष्ट रूपमा अलग गरिएका छन्। तसर्थ, मानवका प्रकार र दर्जालाई तिमीहरूले आफ्‍नो मनमा अब स्पष्ट रूपमा नै भिन्‍नता छुट्याउन सक्छौ, सक्दैनौ त? पहिलो प्रकारमा अविश्‍वासीहरू पर्छन्, र तिनीहरू को हुन् भनेर मैले भनिसकेँ। के आकाशको वृद्ध मानिसमाथि विश्‍वास गर्ने मानिसहरूलाई अविश्‍वासीहरूका रूपमा गन्ती गरिन्छ? धेरैजसो अविश्‍वासीहरूले आकाशको वृद्ध मानिसमा मात्रै विश्‍वास गर्छन्; तिनीहरूले बाली लगाउँदा र कटनी गर्दा भरोसा गर्ने यस व्यक्तिले नै बतास, वर्षा, चट्याङ्ग, र अन्य कुरालाई नियन्त्रण गर्छ भन्‍ने विश्‍वास तिनीहरूको हुन्छ—तैपनि जब परमेश्‍वरमाथिको विश्‍वासको बारेमा कुरा गरिन्छ, तिनीहरू उहाँमा विश्‍वास गर्न इच्‍छुक हुँदैनन्। के यसलाई विश्‍वास हुनु भनेर भन्‍न सकिन्छ? त्यस्ता मानिसहरू अविश्‍वासीहरूमा पर्छन्। तिमीहरूले यो कुरा बुझ्यौ, होइन त? यी वर्गहरूमा नझुक्‍किओ। दोस्रो प्रकारमा विश्‍वासका मानिसहरू पर्छन्, र तेस्रो प्रकारका मानिसहरू हाल परमेश्‍वरलाई पछ्याइरहेका मानिसहरू हुन्। त्यसो भए मैले किन सबै मानवलाई यी प्रकारमा विभाजित गरेँ त? (किनभने फरक-फरक प्रकारका मानिसहरूको अन्त्य र गन्तव्य पनि फरक-फरक नै हुन्छन्।) यसको एउटा पक्ष यही हो। जब यी विभिन्‍न जात र प्रकारका मानिसहरू आत्मिक संसारमा फर्कन्छन्, तिनीहरू प्रत्येक फरक-फरक स्थानमा जानेछन् र जीवन र मृत्युको चक्रको फरक-फरक नियमको अधीनमा रहनेछन्, त्यसैले मैले मानवलाई यी मुख्य प्रकारहरूमा विभाजित गरेको छु।

अविश्‍वासीहरूको जीवन र मृत्युको चक्र (छनौट गरिएका खण्डहरू)

हामी अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रबाट सुरु गरौं। मरेपछि, व्यक्तिलाई आत्मिक संसारको एक परिचरले लैजानेछ। वास्तवमा व्यक्तिको केलाई लगिन्छ? व्यक्तिको देहलाई होइन, तर प्राणलाई लगिन्छ। जब व्यक्तिको प्राणलाई लगिन्छ, तब ऊ विशेषतः भर्खरै मरेका मानिसहरूका प्राणलाई लिने आत्मिक संसारको एउटा निकायमा पुग्छ। मरेपछि जोकोही जाने पहिलो स्थान त्यही हो, र प्राणको लागि त्यो नौलो हुन्छ। जब तिनीहरूलाई यस स्थानमा लगिन्छ, एक अधिकारीले सुरुमा तिनीहरूको नाम, ठेगाना, उमेर, र तिनीहरूका सबै अनुभवहरूको जाँच गरी पुष्टि गर्छ। तिनीहरू जीवित हुँदा तिनीहरूले गरेको सबै कुरा पुस्तकमा लेखिएको हुन्छ र ती सही छन् कि छैनन् प्रमाणित गरिन्छ। यी सबैलाई जाँचिएपछि, उक्त व्यक्तिको जीवनभरिको बानीबेहोरा र कार्यहरूलाई उसले दण्ड पाउनेछ कि मानवको रूपमा पुनर्जन्‍म पाउनेछ भन्‍ने कुरा निर्धारित गर्न प्रयोग गरिन्छ, र यो पहिलो चरण हो। के यो पहिलो चरण डरलाग्दो छ? यो त्यति डरलाग्दो छैन, किनभने भएको के मात्रै हुन्छ भने व्यक्ति अँध्यारो र अपरिचित स्थानमा आइपुगेको हुन्छ।

दोस्रो चरणमा, यदि यस व्यक्तिले आफ्‍नो जीवनकालमा धेरै खराब कुराहरू गरेको छ र धेरै दुष्ट कार्यहरू गरेको छ भने, उसलाई उसको निराकरणको लागि दण्ड दिने स्थानमा लगिनेछ। त्यो खास गरी मानिसहरूलाई दण्ड दिनको लागि नै प्रयोग गरिने स्थान हुनेछ। तिनीहरूलाई कसरी दण्ड दिइन्छ भन्‍ने कुरा तिनीहरूले गरेका पापहरूका साथै मर्नुभन्दा पहिले तिनीहरूले कति वटा दुष्ट कुराहरू गरेका छन् त्यसमा आधारित हुन्छ—यो दोस्रो चरणमा आइपर्ने पहिलो परिस्थिति यही हो। मर्नुभन्दा पहिले गरेका खराब कुराहरू र दुष्ट कार्यहरूका कारण, तिनीहरूको दण्डपछि तिनीहरूको पुनर्जन्‍म हुँदा—अर्थात् तिनीहरू फेरि भौतिक संसारमा जन्‍मिँदा—कतिपय मानिसहरू मानव नै हुनेछन् भने, अरू पशु-प्राणी हुनेछन्। भन्‍नुको अर्थ, व्यक्ति आत्मिक संसारमा फर्केपछि, तिनीहरूलाई तिनीहरूले गरेका दुष्टताको निम्ति दण्ड दिइन्छ; यसको साथै, तिनीहरूले गरेका दुष्ट कुराको कारण, तिनीहरूको अर्को पुनर्जन्ममा, तिनीहरू सायद मानवको रूपमा होइन, बरु पशु-प्राणीको रूपमा फर्कनेछन्। तिनीहरू बन्‍ने पशु-प्राणीमा गाई, घोडा, सुँगुर र कुकुरहरू आदि पर्छन्। कतिपय मानिसहरू चराचुरुङ्गी, वा हाँस वा पानी-हाँसको रूपमा जन्‍मन सक्छन्…। पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म भएपछि, जब तिनीहरू फेरि मर्छन्, तिनीहरू आत्मिक संसारमा फर्कनेछन्। त्यहाँ, पहिले जस्तै, तिनीहरूको मृत्युभन्दा पहिलेको तिनीहरूको बानीबेहोराको आधारमा, मानवको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछ कि हुनेछैन भन्‍ने कुराको निर्णय आत्मिक संसारले गर्नेछ। धेरैजसो मानिसहरूले धेरै दुष्ट कार्य गर्छन्, र तिनीहरूका पाप अत्यन्तै गम्‍भीर हुन्छन्, त्यसकारण सातदेखि बाह्र पटकसम्‍म तिनीहरूको पुनर्जन्‍म पशु-प्राणीको रूपमा हुनुपर्छ। सातदेखि बाह्र पटकसम्‍म—के त्यो डरलाग्दो कुरा होइन र? (यो डरलाग्दो कुरा हो।) के कुराले तिमीहरूलाई भयभीत तुल्याउँछ? व्यक्ति पशु-प्राणी बन्‍नु—त्यो डरलाग्दो कुरा हो। अनि व्यक्तिको लागि, पशु-प्राणी बन्‍नुको सबैभन्दा पीडादायक कुरा के हो? कुनै भाषा नहुनु, साधारण विचारहरू मात्रै हुनु, पशु-प्राणीले गर्ने कुरा मात्रै गर्न र पशु-प्राणीले खाने कुरा मात्रै खान सक्‍नु, पशु-प्राणीको जस्तो सरल मनस्थिति र शारीरिक हाउभाउ हुनु, सीधा भई हिँड्न नसक्‍नु, मानवसँग संचार गर्न नसक्‍नु, र मानवको कुनै बानीबेहोरा वा क्रियाकलापहरूको सम्‍बन्ध पशु-प्राणीसँग नहुने तथ्य। यसको अर्थ, सबै कुराहरूमध्ये, पशु-प्राणी बन्ने कुराले चाहिँ तिमीहरूलाई जीवित प्राणीहरूमा सबैभन्दा नीच बनाउँछ र यसमा मानव हुनुमा भन्दा धेरै दुःखकष्ट सहनुपर्छ। धेरै दुष्ट काम र ठूला पापहरू गरेका मानिसहरूलाई दिइने आत्मिक संसारको दण्डको एउटा पक्ष यही हो। जब तिनीहरूको दण्डको गम्‍भीरताको कुरा आउँछ, तिनीहरू कस्तो प्रकारको पशु-प्राणी बन्छन् भन्‍ने आधारमा निर्णय हुन्छ। उदाहरणको लागि, के सुँगुर बन्‍नु कुकुर बन्‍नुभन्दा उत्तम हो? के सुँगुर कुकुरभन्दा उत्तम तरिकाले जिउँछ कि खराब तरिकाले? खराब तरिकाले, होइन र? यदि मानिसहरू गाई वा घोडा बन्छन् भने, तिनीहरू सुँगुरभन्दा उत्तम तरिकाले जिउनेछन् कि खराब तरिकाले जिउनेछन्? (उत्तम तरिकाले।) बिरालोको रूपमा व्यक्तिको पुनर्जन्‍म भयो भने के उसलाई अझ बढी सहज हुनेछ? ऊ जे भए पनि पशु नै हुनेछ, र बिरालो हुनु गाई वा घोडा हुनुभन्दा निकै सहज हुनेछ, किनभने बिरालोहरूले आफ्नो धेरैजसो समय आनन्दसाथ निदाएर नै बिताउन पाउँछन्। गाई वा घोडा हुनु अझै बढी कठिन हुन्छ। त्यसकारण, यदि गाई वा घोडाको रूपमा व्यक्तिको पुनर्जन्‍म हुन्छ भने, तिनीहरूले कठिन परिश्रम गर्नुपर्छ—जुन कडा दण्ड सरह हो। कुकुर बन्‍नु गाई वा घोडाभन्दा अलिक उत्तम हो, किनभने मालिकसँग कुकुरको नजिकको सम्‍बन्ध हुन्छ। कतिपय कुकुरहरूले धेरै वर्ष पाल्तु कुकुरको रूपमा बसेपछि, तिनीहरूका मालिकले भन्‍ने धेरै कुरा बुझ्‍न सक्छन्। कहिलेकहीँ, कुकुरले यसको मालिकको मनस्थिति र मापदण्डहरूलाई अपनाउन सक्छ र मालिकले कुकुरलाई राम्रो व्यवहार गर्छ, र कुकुरले राम्रो खान र पिउन पाउँछ, र पीडामा हुँदा यसले हेरचाह पाउँछ। त्यसो भए, के कुकुरले खुशी जीवनको आनन्द लिँदैन र? तसर्थ, कुकुर बन्‍नु गाई वा घोडा बन्‍नुभन्दा उत्तम कुरा हो। यस हकमा, व्यक्तिको दण्डको गम्भीरताले नै कति पटक पशु-प्राणीको रूपमा, साथै कुन प्रकारको पशु-प्राणीको रूपमा उसको पुनर्जन्‍म हुन्छ भन्‍ने कुरालाई निर्धारित गर्छ।

तिनीहरूले आफू जीवित हुँदा धेरै पाप गरेका हुनाले, कतिपय मानिसहरूलाई सातदेखि बाह्र जीवनसम्‍म पशु-प्राणीको रूपमा पुनर्जन्‍म गराएर दण्ड दिइन्छ। पर्याप्त पटक दण्ड पाइसकेर, आत्मिक संसारमा फर्केपछि, तिनीहरूलाई अर्को ठाउँ अर्थात् विभिन्‍न प्राणलाई पहिले नै दण्ड दिइसकिएको र मानवको रूपमा पुनर्जन्‍म हुनको लागि तयार गरिँदै गरिएका प्राणहरू भएको स्थानमा लगिन्छ। यस स्थानमा, हरेक प्राणलाई तिनीहरू कुन प्रकारको परिवारमा जन्‍म लिनेछन्, तिनीहरूको पुनर्जन्‍म भएपछि तिनीहरूले कस्तो प्रकारको भूमिका निर्वाह गर्नेछन्, आदि इत्यादि कुराहरू अनुसार वर्गीकरण गरिन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू यस संसारमा आएपछि गायक बन्छन्, त्यसकारण तिनीहरूलाई गायकहरूको बीचमा राखिन्छ; कतिपय मानिसहरू संसारमा आएपछि व्यापारी बन्छन्, त्यसकारण तिनीहरूलाई व्यापारीहरूको वर्गमा राखिन्छ; अनि यदि कुनै व्यक्ति मानव बनेपछि वैज्ञानिक शोधकर्ता बन्छ भने, उसलाई वैज्ञानिक शोधकर्ताहरूको बीचमा राखिन्छ। तिनीहरूलाई वर्गीकरण गरिएपछि, प्रत्येकलाई आज मानिसहरूले इमेल पठाएजस्तै गरी फरक-फरक समय र तोकिएको मितिमा पठाइन्छ। यसमा जीवन र मृत्युको एउटा चक्र पूरा हुनेछ। त्यो व्यक्ति आत्मिक संसारमा आइपुगेको समयदेखि तिनीहरूको दण्डको अन्त्यसम्म, वा धेरै पटक पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म भएर मानवको रूपमा पुनर्जन्‍म हुन तयार भइञ्‍जेलसम्‍ममा, यो प्रक्रिया पूरा हुन्छ।

दण्ड पाइसकेका र पशु-प्राणीको रूपमा पुनर्जन्‍म नभएका मानिसहरूको हकमा, के तिनीहरूलाई मानवको रूपमा पुनर्जन्‍म गराउनको लागि तुरुन्तै भौतिक संसारमा पठाइनेछ? वा, तिनीहरू मानवको बीचमा आइपुग्‍न कति समय लाग्‍नेछ? यो कति पटक हुन सक्छ? यसका लौकिक सीमाहरू छन्। आत्मिक संसारमा हुने सबै कुरा निश्‍चित लौकिक सीमा र नियमहरूको अधीनमा हुन्छन्—जसको बारेमा मैले अङ्कमा व्याख्या गरेँ भने, तिमीहरूले बुझ्‍नेछौ। छोटो समय अवधिमा पुनर्जन्‍म हुनेहरूको हकमा भन्दा, जब तिनीहरू मर्छन्, मानवको रूपमा पुनर्जन्‍म हुनको लागि तिनीहरूका निम्ति पहिले नै तयारी गरिसकिएको हुन्छ। यसो हुनसक्‍ने सबैभन्दा छोटो समय भनेको तीन दिन हो। कतिपय मानिसहरूको लागि, तीन महिना लाग्छ, कतिपयलाई तीन वर्ष लाग्छ, कतिलाई तीस वर्ष लाग्छ, कतिलाई तीन सय वर्ष लाग्छ, अनि यस्तै इत्यादि। त्यसकारण, यी लौकिक नियमहरूका बारेमा के भन्‍न सकिन्छ, र तिनका सर्तहरू के हुन्? ती भौतिक संसार, अर्थात्, मानव संसारलाई प्राणबाट के चाहिन्छ त्यसमा, र यो प्राणले यस संसारमा खेल्नुपर्ने भूमिकामा आधारित हुन्छन्। जब साधारण मानवको रूपमा मानिसहरूको पुनर्जन्‍म हुन्छ, तिनीहरूमध्ये धेरैजसोको तुरुन्तै पुनर्जन्‍म भइहाल्छ, किनभने मानव संसारलाई त्यस्ता साधारण मानिसहरूको तत्काल खाँचो हुन्छ—त्यसकारण, तीन दिनपछि, तिनीहरूलाई तिनीहरू मर्नुभन्दा पहिलेको तिनीहरूको परिवारभन्दा पूर्ण रूपमा फरक परिवारमा फेरि पठाइन्छ। तैपनि, यो संसारमा विशेष भूमिका निर्वाह गर्ने कतिपय मानिसहरू पनि हुन्छन्। “विशेष” को अर्थ मानिसको संसारमा यी मानिसहरूको त्यति ठूलो संख्यामा माग हुँदैन; यस्तो भूमिका निर्वाह गर्नको लागि त्यति धेरै मानिसहरूको आवश्यकता हुँदैन, त्यसकारण यसको लागि तीन सय वर्ष लाग्‍न सक्छ। अर्को शब्‍दमा भन्दा, यो प्राण हरेक तीन सय वर्ष वा हरेक तीन हजार वर्षमा मात्रै आउनेछ। किन यस्तो हुन्छ त? किनभने तीन सय वा तीन हजार वर्षमा मानिसको संसारमा त्यस्तो भूमिकाको आवश्यकता हुँदैन, त्यसकारण तिनीहरूलाई आत्मिक संसारमा कतै राखिन्छ। उदाहरणको लागि कन्फ्युसियसलाई लिऊँ: परम्‍परागत चिनियाँ संस्कृतिमा उनले ठूलो प्रभाव पारेका थिए, र तिनको आगमनले त्यस समयका मानिसहरूको परम्‍परा, ज्ञान, संस्कृति, र विचारधारालाई गहन रूपमा प्रभाव पारेको थियो। तैपनि, हरेक युगमा यस्तो व्यक्तिको आवश्यकता हुँदैन, त्यसकारण पुनर्जन्‍म हुनको लागि तीन सय वा तीन हजार वर्ष प्रतीक्षा गर्दै उनी आत्मिक संसारमा नै रहनु परेको थियो। मानिसको संसारलाई यस्तो व्यक्तिको खाँचो नपर्ने हुँदा, उनले केही नगरी प्रतीक्षा गर्नु परेको थियो, किनभने उनको जस्तो भूमिका निकै कम छन्, र उनले गर्नुपर्ने कुरा थोरै छ। तसर्थ, मानिसको संसारलाई उनको आवश्यकता परेपछि उनलाई पठाउनको लागि धेरैजसो समय उनलाई केही नगराईकन आत्मिक संसारमा कतै राख्‍नु परेको थियो। धेरैजसो मानिसहरूको कति पटक पुनर्जन्‍म हुन्छ भन्‍ने बारेमा रहेका आत्मिक क्षेत्रका लौकिक नियमहरू यिनै हुन्। मानिसहरू साधारण भए पनि वा विशेष भए पनि, तिनीहरूको पुनर्जन्मलाई मिलाउनको लागि आत्मिक संसारसँग उचित नियम र सही अभ्यासहरू छन्, र यी नियम र अभ्यासहरू परमेश्‍वरले नै पठाउनुभएको हो, आत्मिक संसारको कुनै परिचर वा सत्वले यसको निर्णय गर्ने वा नियन्त्रण गर्ने कार्य गर्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८९

अविश्‍वासीहरूको जीवन र मृत्युको चक्र (छनौट गरिएका खण्डहरू)

कुनै पनि प्राणको लागि, यसको पुनर्जन्‍म, यस जीवनमा यसको भूमिका के हो, यो कुन परिवारमा जन्‍मन्छ, र यसको जीवन कस्तो हुन्छ भन्‍ने कुराहरू प्राणको अघिल्‍लो जीवनकालसँग सम्‍बन्धित हुन्छ। मानिसको संसारमा सबै प्रकारका मानिसहरू आउँछन्, र तिनीहरूले गर्ने कामजस्तै तिनीहरूले खेल्‍ने भूमिका फरक-फरक हुन्छन्। अनि यी काम के-के हुन् त? कतिपय मानिसहरू ऋण तिर्न आउँछन्: यदि तिनीहरूको पहिलेको जीवनमा तिनीहरूले अरूलाई धेरै पैसा तिर्नु थियो भने, तिनीहरू यो जीवनमा ती कर्जा तिर्न आउँछन्। यसबीच, कतिपय मानिसहरू ऋण उठाउन आएका हुन्छन्: तिनीहरूको पहिलेको जीवनमा तिनीहरूबाट धेरै कुरा र धेरै पैसा ठगी गरी लिइएको हुन्छ; परिणामस्वरूप, तिनीहरू आत्मिक संसारमा आएपछि, यसले तिनीहरूलाई न्याय दिन्छ र तिनीहरूलाई यस जीवनमा तिनीहरूको कर्जा उठाउन दिन्छ। कतिपय मानिसहरू कृतज्ञताको कर्जा तिर्न आएका हुन्छन्: पहिलेको जीवनकालमा—अर्थात्, तिनीहरूको पहिलेको पुनर्जन्ममा—कुनै व्यक्ति तिनीहरूप्रति दयालु रहेको थियो, र यो जीवनमा पुनर्जन्‍म हुने ठूलो अवसर दिइएको हुनाले, तिनीहरू कृतज्ञताका ती कर्जा तिर्न फेरि जन्‍मन्छन्। यसबीच, अरूले यस जीवनमा कसैको जीवन लिन पुनर्जन्‍म लिएका हुन्छन्। अनि तिनीहरूले कसको जीवन लिन्छन् त? तिनीहरूले अघिल्‍लो जीवनमा आफूलाई मार्ने मानिसहरूको जीवन लिन्छन्। समग्रमा, हरेक व्यक्तिको वर्तमान जीवनको तिनीहरूको अघिल्‍लो जीवनकालसँग गहन सम्‍बन्ध हुन्छ; यो सम्‍बन्ध अलग्याउन नसकिने हुन्छ। भन्‍नुको अर्थ, हरेक व्यक्तिको वर्तमान जीवनलाई अघिल्‍लो जीवनले ठूलो प्रभाव पारेको हुन्छ। उदाहरणको लागि, मानौं मर्नुभन्दा पहिले झाङ्गले लीलाई ठूलो रकम ठगी गर्‍यो। त्यसो भए, के झाङ्ग लीप्रति ऋणी भएको हुन्छ? ऊ ऋणी भएको हुन्छ, त्यसकारण लीले झाङ्गबाट आफ्‍नो कर्जा उठाउनु उचित नै हुन्छ। परिणामस्वरूप, तिनीहरू मरेपछि, तिनीहरूको बीचमा चुक्ता गरिनुपर्ने कर्जा हुन्छ। जब तिनीहरूको पुनर्जन्‍म हुन्छ र झाङ्ग मानव बन्छ, लीले कसरी ऊबाट कर्जा सङ्कलन गर्छ त? एउटा तरिका भनेको झाङ्गको छोरा भएर जन्‍मनु हो; झाङ्गले ठूलो रकम कमाउँछ, जुन लीले उडाउँछ। झाङ्गले जति नै धेरै रकम कमाए पनि, उसको छोरा लीले यसलाई उडाइदिन्छ। झाङ्गले जति नै धेरै कमाए पनि, कहिल्यै पर्याप्त हुँदैन; र यसबीच, सधैँ नै उसको छोराले कुनै कारणवश विभिन्‍न तरिकाले आफ्‍नो बुबाको रकम खर्च गर्न पुग्छ। झाङ्ग छक्‍क पर्दै सोच्छन्, “यो मेरो छोराले किन सधैँ यति दुर्भाग्य निम्त्याउँछ? किन अरूका छोराचाहिँ राम्रो बानीबेहोरा भएका छन्? किन मेरो छोराको कुनै लक्ष्य छैन, किन ऊ बेकामे छ र उसले कुनै रकम कमाउन सक्दैन, र मैले किन सधैँ उसलाई सहयोग गर्नुपर्छ? मैले नै उसलाई सहयोग गर्नुपर्ने भएकोले, म गर्नेछु—तर किन मैले जति नै धेरै पैसा दिए पनि, उसलाई सधैँ अझै बढी चाहिन्छ? किन उसले इमानदार रूपमा काम गर्न सक्दैन, बरु अल्‍लारे भएर हिँड्ने, खाने, पिउने, केटी घुमाउने, र बाजी लगाउनेजस्ता कुराहरू गर्छ? आखिर के भइरहेको छ?” त्यसपछि झाङ्गले केही समय सोच्छ, “सायद मैले अघिल्‍लो जीवनकालमा उसको ऋण खाएको छु। ठीकै छ, म यो कर्जा तिर्नेछु! मैले पूरा नतिरेसम्‍म यो कार्य रोकिनेछैन!” त्यो दिन आउन सक्छ जुन दिन लीले आफ्‍नो ऋण पूरै उठाइसक्छ, र ऊ चालीस वा पचासको दशकमा हुँदा, ऊ अचानक आफ्‍नो चेतनामा फर्किन्छ र महसुस गर्छ, “मैले मेरो जीवनको अघिल्‍लो आधा भागमा एउटै राम्रो काम गरेको छैन रहेछु! मेरो बुबाले कमाएको सबै पैसा मैले उडाएको छु, त्यसकारण म असल व्यक्ति हुन सुरु गर्नुपर्छ! म आफैलाई दह्रिलो बनाउनेछु; म इमानदार र उचित रूपमा जिउने व्यक्ति बन्‍नेछु, र म मेरो बुबालाई फेरि कहिल्यै पनि दुःखी तुल्याउनेछैन!” उसले किन यस्तो विचार गर्छ? ऊ किन अचानक असल व्यक्तिमा परिवर्तन हुन्छ? के यसको कुनै कारण छ? कारण के हो? (किनभने लीले आफ्‍नो ऋण उठाइसकेको छ; झाङ्गले आफ्‍नो ऋण तिरिसकेको छ।) यसमा, कारण र प्रभाव छ। यो कथा तिनीहरूको हालको जीवनकालभन्दा धेरै पहिले सुरु भएको हो; तिनीहरूको विगतको जीवनको यो कथालाई वर्तमानमा ल्याइएको हुन्छ, र कसैले पनि अर्को व्यक्तिलाई दोष दिन सक्दैन। झाङ्गले आफ्‍नो छोरालाई जे सिकाए पनि, उसको छोराले कहिल्यै पनि सुनेन न त कुनै मेहनत नै गर्‍यो। ऋण तिरिएको दिनमा, उसको छोरालाई सिकाउनुपर्ने कुनै आवश्यकता परेन—उसले प्राकृतिक रूपमै बुझ्यो। यो एउटा सरल उदाहरण हो। के त्यस्ता धेरै उदाहरणहरू छन् त? (हो, छन्।) यसले मानिसहरूलाई के बताउँछ? (तिनीहरू असल हुनुपर्छ र दुष्ट कार्य गर्नु हुँदैन।) तिनीहरूले कुनै दुष्ट काम गर्नु हुँदैन, र तिनीहरूको गलत कार्यको निम्ति दण्ड दिइनेछ! धेरै अविश्‍वासीहरूले त्यस्ता धेरै दुष्ट कार्य गर्छन्, र तिनीहरूका गलत कार्यको निम्ति दण्ड दिइन्छ, होइन र? तैपनि, के त्यस्तो दण्ड स्वेच्‍छाचारी हुन्छ त? हरेक कार्यको लागि, पृष्ठभूमि हुन्छ र यसको दण्डको पछाडि एउटा कारण हुन्छ। के तैँले कसैलाई रकम ठगेपछि तँलाई केही पनि हुनेछैन भन्‍ने तँलाई लाग्छ? के तँलाई त्यो रकम ठगेपछि, तैँले कुनै पनि परिणामहरूको सामना गर्नुपर्दैन भन्‍ने लाग्छ? त्यस्तो हुनु त असम्‍भव नै हुनेछ; अवश्य नै त्यसका परिणामहरू हुनेछन्! तिनीहरू जो भए पनि वा तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गरे पनि नगरे पनि, सबै व्यक्ति आफ्‍नो व्यवहारको निम्ति जिम्‍मेवार हुनुपर्छ र तिनीहरूले आफ्‍ना कार्यहरूका परिणामहरू भोग्‍नुपर्छ। यस सरल उदाहरणको विषयमा—झाङ्गलाई दण्ड दिइएको, र लीको कर्जा चुक्ता गरिएको विषयमा—के यो कुरा उचित छैन र? जब मानिसहरूले त्यस्ता कार्यहरू गर्छन्, आउने परिणाम यस्तै हुन्छ। यो आत्मिक संसारको प्रशासन कार्यबाट अलग गर्न नसकिने कुरा हो। तिनीहरू अविश्‍वासी भएको बावजुद पनि, परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूको अस्तित्व यी स्वर्गीय आदेश र उर्दीहरूको अधीनमा हुन्छ। ती आदेश र उर्दीबाट कोही पनि उम्‍कन सक्दैन, र यो यथार्थबाट कोही पनि जोगिन सक्दैन।

विश्‍वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्‍न सक्‍ने सबै कुरा अस्तित्वमा छन्, तर देख्‍न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा रहेका कुराहरू अस्तित्वमा छैनन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू “जीवन र मृत्युको चक्र” छैन र कुनै “दण्ड” छैन भनेर विश्‍वास गर्न रुचाउँछन्; यसर्थ, तिनीहरूले कुनै पछुतो नगरीकन पाप गर्छन् र दुष्ट कार्य गर्छन्। त्यसपछि, तिनीहरू दण्डित हुन्छन्, वा पशु-प्राणीको रूपमा पुनर्जन्‍म लिन्छन्। अविश्‍वासीहरूका बीचमा रहेका विभिन्‍न प्रकारका मानिसहरूमध्ये धेरैजसो यही दुष्चक्रमा पर्छन्। किनभने तिनीहरूलाई सबै जीवित प्राणीप्रतिको प्रशासनमा आत्मिक संसार अत्यन्तै कठोर छ भन्‍ने थाहा हुँदैन। तैँले विश्‍वास गरे पनि नगरे पनि यो तथ्य अस्तित्वमा छ, किनभने परमेश्‍वरले आफ्‍नो आँखाले अवलोकन गर्नुहुने क्षेत्रबाट कुनै व्यक्ति वा वस्तु उम्कन सक्दैन, र उहाँका स्वर्गीय आदेश र उर्दीहरूका नियम र सीमितताहरूबाट कुनै व्यक्ति वा वस्तु उम्कन सक्दैन। तसर्थ, यो सरल उदाहरणले सबैलाई के कुरा बताउँछ भने, तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि, पाप गर्नु र दुष्ट कार्य गर्नु अस्वीकार्य छ, र सबै कामका परिणामहरू हुन्छन्। अर्को व्यक्तिबाट पैसा ठगी गर्ने कुनै व्यक्तिको लागि, त्यस्तो दण्ड उचित नै हुन्छ। आम रूपमा देखिने यस्तो व्यवहारलाई आत्मिक संसारमा दण्डित गरिन्छ, र त्यस्तो दण्ड परमेश्‍वरका आदेश र स्वर्गीय उर्दीद्वारा दिइन्छ। त्यसकारण, गम्‍भीर अपराधी र दुष्ट व्यवहारको निम्ति—बलात्कार र लुटपाट गर्ने, ठगी र छल गर्ने, चोरी र डकैती गर्ने, हत्या र आगजनी गर्ने, आदि इत्यादि—विभिन्‍न हदको गम्‍भीरता सहितको विभिन्न किसिमको दण्ड हुन्छ। विभिन्‍न हदको गम्‍भीरता सहितका यी दण्डहरूमा के-के पर्छन् त? तीमध्ये कतिमा समयको प्रयोग गरी गम्‍भीरताको स्तर तय गरिन्छ, कतिमा भने विभिन्‍न विधिहरूद्वारा त्यसो गरिन्छ; अझै अरूहरूमा मानिसहरूको पुनर्जन्‍म हुँदा कहाँ जान्छन् त्यसलाई निर्धारण गरेर त्यसो गरिन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू फोहोरी बोल्‍ने हुन्छन्। “फोहोरी बोल्‍ने” ले केलाई जनाउँछ? यसको अर्थ अरूसँग बोल्दा बारम्‍बार मनपरी भन्‍ने र अरूलाई सराप्‍ने द्वेषपूर्ण भाषाको प्रयोग गर्ने भन्‍ने हुन्छ। फोहोरी भाषाले केलाई जनाउँछ? त्यस व्यक्तिसँग दुर्भावनापूर्ण हृदय छ भन्‍ने यसले सङ्केत दिन्छ। अरूलाई सराप दिने फोहोरी भाषा त्यस्ता मानिसहरूको मुखबाट नै प्राय निस्कन्छ, र त्यस्तो फोहोरी भाषाले गम्‍भीर परिणामहरू ल्याउँछ। यी मानिसहरू मरेर उचित दण्ड पाएपछि, तिनीहरू गुँगो भएर जन्‍मन सक्छन्। कतिपय मानिसहरू जिउँदो हुँदा अत्यन्तै कुटिल हुन्छन्; तिनीहरूले प्राय अरूबाट फाइदा लुट्छन्, तिनीहरूका युक्तिहरू खास रूपमा योजनाबद्ध हुन्छन्, र तिनीहरूले अरूलाई धेरै हानि गर्छन्। जब तिनीहरूको पुनर्जन्‍म हुन्छ, तब तिनीहरू अर्धबुद्धि वा मानसिक रूपमा अशक्त भई जन्मन सक्छन्। कतिपय मानिसहरूले प्रायजसो अरूको व्यक्तिगत मामलामा हात हाल्छन्; तिनीहरूका आँखाले नदेख्‍नु पर्ने धेरै कुरा देख्छन्, र तिनीहरूले नजान्‍नु पर्ने धेरै कुरा जान्दछन्। परिणामस्वरूप, जब तिनीहरूको पुनर्जन्‍म हुन्छ, तिनीहरू अन्धा हुन सक्छन्। कतिपय मानिसहरू जीवित हुँदा हातखुट्टा चलाउन अत्यन्तै चतुर हुन्छन्; तिनीहरूले प्रायजसो झगडा गर्छन् र धेरै दुष्ट कार्य गर्छन्। यही कारणले गर्दा, अपाङ्ग, लङ्गडो, वा हात नभएको व्यक्तिको रूपमा तिनीहरूको पुनर्जन्‍म हुन सक्छ; अन्यथा तिनीहरू कुप्रो वा घाँटी बाङ्गिएको व्यक्तिको रूपमा जन्‍मन सक्छन्, एक हातले हिँड्ने, एउटा खुट्टा अर्कोभन्दा छोटो भएको, र यस्तै अन्य रूपमा जन्‍मन सक्छन्। यिनमा, तिनीहरूलाई जीवित हुँदा तिनीहरूले गरेका दुष्ट कामको स्तरको आधारमा विभिन्‍न दण्डहरू प्रदान गरिएको हुन्छ। तिमीहरूलाई कतिपय मानिसहरूको हेराइ किन डेडो हुन्छ भन्‍ने लाग्छ? के त्यस्ता धेरै मानिसहरू छन्? आजभोलि यस्ता मानिसहरू धेरै नै छन्। कतिपय मानिसहरूले तिनीहरूको विगतको जीवनमा आफ्‍नो आँखाको धेरै प्रयोग गरेका र धेरै खराब काम गरेकाले तिनीहरूको हेराइ डेडो हुन्छ, त्यसले गर्दा तिनीहरू डेडो हेराइको समस्यासहित जन्‍मे, र गम्भीर अवस्थाहरूमा, तिनीहरू अन्धोसमेत भएर जन्‍मे। यो दण्ड हो! कतिपय मानिसहरू मर्नुभन्दा पहिले अरूसँग राम्ररी मिलेर बस्छन्; तिनीहरूले आफ्ना आफन्त, इष्टमित्र, सहकर्मी, वा तिनीहरूसँग सम्‍बन्धित अरू मानिसहरूका निम्ति धेरै असल कार्य गर्छन्। तिनीहरूले अरूका लागि परोपकार र हेरचाह प्रदान गर्छन्, वा तिनीहरूलाई आर्थिक रूपमा सहायता गर्छन्, अनि मानिसहरूले तिनीहरूलाई आदरको साथ हेर्छन्। जब त्यस्ता मानिसहरू आत्मिक संसारमा फर्कन्छन्, तिनीहरूलाई दण्ड दिइँदैन। एक अविश्‍वासीलाई कुनै पनि किसिमले दण्ड नदिनुको अर्थ तिनीहरू अत्यन्तै असल व्यक्ति थिए भन्‍ने हुन्छ। परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नुको सट्टा, तिनीहरूले आकाशको वृद्ध मानिसमा मात्रै विश्‍वास गरे। त्यस्तो व्यक्तिले तिनीहरूभन्दा माथि एउटा आत्मा छ जसले तिनीहरूले गर्ने हरेक कुरा हेर्छ भन्‍ने मात्रै विश्‍वास गर्छ—यो व्यक्तिले विश्‍वास गर्ने भनेको यति मात्रै हो। यसको परिणाम के हुन्छ भने यो व्यक्तिको व्यवहार निकै राम्रो हुन्छ। त्यस्ता मानिसहरू दयालु हृदय भएको र परोपकारी हुन्छन्, र जब तिनीहरू अन्तिममा आत्मिक संसारमा फर्कन्छन्, यसले तिनीहरूलाई अत्यन्तै राम्रो व्यवहार गर्नेछ, र तिनीहरूको चाँडै नै पुनर्जन्‍म हुनेछ। जब तिनीहरू फेरि जन्मन्छन्, तिनीहरू कस्तो प्रकारको परिवारमा आइपुग्‍नेछन्? त्यस्ता परिवार धनी नभए पनि, तिनीहरूको परिवारका सदस्यहरूमा सद्‌भाव हुने हुँदा तिनीहरू कुनै पनि हानिबाट मुक्त हुन्छन्; त्यहाँ, पुनर्जन्‍म भएका यी मानिसहरूले सुरक्षित, खुशीका दिनहरू बिताउँछन्, र हरेक व्यक्तिले आनन्दित भएर असल जीवन जिउनेछ। जब यी मानिसहरू वयस्क हुन्छन्, तिनीहरूको परिवार ठूलो, संयुक्त परिवार हुनेछ, तिनीहरूका छोराछोरी प्रतिभावान् हुनेछन्, तिनीहरूले सफलता पाउनेछन्, अनि तिनीहरूको परिवारले राम्रो सौभाग्यको आनन्द लिनेछन्—र त्यस्तो परिणाम यी मानिसहरूको विगतको जीवनसँग पूर्ण रूपमा सम्‍बन्धित हुन्छ। अर्थात्, मानिसहरू मरेर तिनीहरूको पुनर्जन्‍म भएपछि तिनीहरू कहाँ जान्छन्, तिनीहरू पुरुष बन्छन् कि महिला बन्छन्, तिनीहरूको मिसन के हो, जीवनमा तिनीहरूले के भोग्‍नेछन्, तिनीहरूले के-कस्ता प्रतिरोधहरूको सामना गर्नेछन्, तिनीहरूले कस्ता आशिष् पाउनेछन्, तिनीहरूले कसलाई भेट्नेछन्, र तिनीहरूलाई के हुनेछ—कसैले पनि यी कुराहरूको पूर्वानुमान गर्न, तीबाट जोगिन, वा तीबाट लुक्‍न सक्दैन। भन्‍नुको अर्थ, तेरो जीवनको तय गरिएपछि, तँलाई जेसुकै भए पनि—तैँले यसबाट जोगिन जे-जसरी प्रयास गरे पनि, र जुनसुकै माध्यमको प्रयोग गरे पनि—परमेश्‍वरले आत्मिक संसारमा तेरो लागि तय गर्नुभएको जीवनको मार्गलाई तैँले कुनै पनि हालतमा उल्‍लङ्घन गर्न सक्दैनस्। किनभने जब तेरो पुनर्जन्‍म हुन्छ, तेरो जीवनको भवितव्य पहिले नै तोकिएको हुन्छ। चाहे यो असल होस् वा खराब, सबैले यसको सामना गर्नुपर्छ र अघि बढिरहनुपर्छ। यो यस्तो कुरा हो जसबाट यस संसारमा बस्‍ने कोही पनि जोगिन सक्दैन, र यत्तिको यथार्थ कुरा अरू केही पनि छैन। मैले भन्दै आएको कुरा तिमीहरू सबैले बुझेका छौ, होइन त?

यी कुराहरूलाई बुझिसकेपछि, के तिमीहरूले अहिले अविश्‍वासीहरूको जीवन र मृत्यु चक्रको लागि परमेश्‍वरसित अत्यन्तै सटीक र कठिन जाँच र प्रशासन हुन्छ भन्‍ने देख्यौ? पहिलो, उहाँले आत्मिक क्षेत्रमा विभिन्‍न स्वर्गीय उर्दीहरू, आदेशहरू, र प्रणालीहरूको स्थापना गर्नुभएको छ, र यिनको घोषणा भइसकेपछि, तिनलाई परमेश्‍वरले तय गर्नुभएअनुसार नै आत्मिक संसारका विभिन्‍न आधिकारिक पदहरूमा भएका प्राणीहरूले कठोर रूपमा पालन गर्छन्, र कसैले पनि तिनलाई उल्‍लङ्घन गर्ने आँट गर्दैनन्। त्यसकारण, मानिसको संसारमा मानवजातिको जीवन र मृत्युको चक्रमा, पशु-प्राणी वा मानिस, जुनसुकै रूपमा कुनै व्यक्तिको पुनर्जन्‍म भए पनि, दुवैका लागि नियमहरू छन्। यी नियमहरू परमेश्‍वरबाट आउने हुनाले, तिनलाई तोड्ने आँट कसैले पनि गर्दैन, न त कसैले तिनलाई तोड्न नै सक्छ। परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा, अनि त्यस्ता नियमहरू अस्तित्वमा भएको हुनाले मात्रै, मानिसहरूले देख्‍ने भौतिक संसार नियमित र सुव्यवस्थित छ; परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा मात्रै मानिसहरू तिनीहरूका निम्ति पूर्ण रूपमा अदृश्य रहेको अर्को संसारसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्छन्, र यससँग सदभावमा जिउन सक्छन्—जसमध्ये कुनैलाई पनि परमेश्‍वरको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन। व्यक्तिको देहीय जीवन मरिसकेपछि पनि प्राणसँग अझै जीवन हुन्छ, त्यसैले यो परमेश्‍वरको प्रशासनको अधीनमा नभएको भए यसलाई के हुनेथियो? उक्त प्राण जहाँसुकै घुसपैठ गर्दै जताततै भौँतारिनेथियो, अनि मानव संसारका जीवित कुराहरूलाई हानि समेत गर्नेथियो। त्यस्तो हानि मानवजातिलाई मात्र होइन, वनस्पति र पशु-प्राणीलाई पनि हुनेथियो—तैपनि, हानि गरिने पहिलो कुरा मानिसहरू नै हुनेथिए। यस्तो भएको भए—यदि त्यस्तो प्राण प्रशासनविना भएको भए, त्यसले साँच्‍चै मानिसहरूलाई हानि गरेको भए, र वास्तवमै दुष्ट कुराहरू गरेको भए—यो प्राणलाई पनि आत्मिक संसारमा उचित रूपमा सम्‍हालिनेथियो। यदि अवस्था गम्‍भीर हुन्थ्यो भने, उक्त प्राण चाँडै नै अस्तित्व विहीन हुनेथियो, र यसलाई नष्ट गरिनेथियो। सम्‍भव भए, यसलाई कतै राखिनेथियो र त्यसपछि पुनर्जन्‍म गराइनेथियो। भन्‍नुको अर्थ, आत्मिक संसारले विभिन्‍न प्राणहरूलाई गर्ने प्रशासन सुव्यवस्थित हुन्छ र यस्तो प्रशासनलाई चरणहरू र नियमहरू अनुरूप कार्यान्वयन गरिन्छ। यस्तो प्रशासनको कारणले गर्दा नै मानिसको भौतिक संसार विश्रृंखलतामा परेको छैन, भौतिक संसारका मानिसहरूमा सामान्य मानसिकता, सामान्य चेतना, र व्यवस्थित देहीय जीवन छ। मानिसमा त्यस्तो सामान्य जीवन भएपछि मात्रै देहमा जिउनेहरू पुस्तौँपुस्तासम्‍म निरन्तर उन्‍नति गर्न र वृद्धि-विकास गर्न सक्‍नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९०

अविश्‍वासीहरूको जीवन र मृत्युको चक्र (छनौट गरिएका खण्डहरू)

जब अविश्‍वासीहरूको कुरा आउँछ, तब के परमेश्‍वरका कार्यहरू पछाडिको सिद्धान्त असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने प्रकृतिको छ? कुनै अपवादहरू छन्? (छैनन्।) के परमेश्‍वरका कार्यहरूपछाडि सिद्धान्त छ भन्‍ने तिमीहरूले देख्छौ? अविश्‍वासीहरूले वास्तवमा परमेश्‍वरमा विश्‍वास गर्दैनन्, न त तिनीहरू उहाँका योजनाबद्ध कार्यमा नै समर्पित हुन्छन्। यसअलावा, तिनीहरूलाई उहाँको सार्वभौमिकताको बारेमा थाहा हुँदैन, तिनीहरूले उहाँलाई स्वीकार गर्ने कुरा त परै जाओस्। अझै गम्‍भीर कुरा, तिनीहरूले परमेश्‍वरको विरुद्ध अपवित्र कार्य गर्छन्, र उहाँलाई सराप्छन्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूप्रति शत्रुवत् हुन्छन्। परमेश्‍वरप्रतिको तिनीहरूको यो मनोवृत्तिको बावजुद पनि, तिनीहरूमाथिको उहाँको प्रशासन उहाँका सिद्धान्तहरूभन्दा बाहिर जाँदैन; उहाँले तिनीहरूमाथि उहाँका सिद्धान्तहरू र उहाँको स्वभावअनुसार सुव्यवस्थित रूपमा प्रशासन गर्नुहुन्छ। तिनीहरूको शत्रुतालाई उहाँले कसरी लिनुहुन्छ त? अज्ञानताको रूपमा लिनुहुन्छ! परिणामस्वरूप, उहाँले यी मानिसहरूलाई—अर्थात्, अविश्‍वासीहरूमध्ये अधिकांशलाई—विगतमा पशु-प्राणीको रूपमा पुनर्जन्‍म गराउनुभयो। त्यसकारण, परमेश्‍वरको नजरमा, अविश्‍वासीहरू वास्तवमा के हुन् त? तिनीहरू सबै पशु हुन्। परमेश्‍वरले पशु साथै मानवजातिलाई व्यवस्थापन गर्नुहुन्छ, र त्यस्ता मानिसहरूको लागि उहाँका सिद्धान्तहरू उही हुन्छन्। यी मानिसहरूलाई उहाँले व्यवस्थापन गर्ने क्रममा पनि, उहाँको स्वभावलाई अझै देख्‍न सकिन्छ, साथै सबै थोकमाथिको उहाँको प्रभुत्वपछाडिका उहाँका नियमहरूलाई पनि देख्‍न सकिन्छ। त्यसकारण, अविश्‍वासीहरूलाई व्यवस्थापन गर्ने भनी मैले भर्खरै उल्‍लेख गरेका सिद्धान्तहरूमा के तिमीहरूले परमेश्‍वरको सार्वभौमिकतालाई देख्छौ? के तिमीहरू परमेश्‍वरको धर्मी स्वभावलाई देख्छौ? (देख्छौं।) अर्को शब्‍दमा भन्दा, उहाँले सबै थोकमध्ये जुन कुराको सन्दर्भमा कार्य गर्नुभए पनि, परमेश्‍वरले आफ्‍नै सिद्धान्तहरू र स्वभावअनुसार कार्य गर्नुहुन्छ। परमेश्‍वरको सार यही हो; उहाँले त्यस्ता मानिसहरूलाई पशुका रूपमा लिनुहुन्छ भन्दैमा उहाँले आफूले तय गर्नुभएका त्यस्ता उर्दी वा स्वर्गीय आदेशहरूलाई कहिल्यै पनि लापरवाही रूपमा तोड्नुहुन्‍न। परमेश्‍वरले कुनै पनि हालतमा लापरवाही रूपमा काम गर्नुहुन्‍न तर सिद्धान्तको आधारमा काम गर्नुहुन्छ, र उहाँका कार्यहरूलाई कुनै पनि तत्त्वले कुनै असर पार्दैन। उहाँले गर्नुहुने हरेक कुरा उहाँका आफ्‍नै सिद्धान्तहरू अनुरूप हुन्छन्। किनभने परमेश्‍वरसँग परमेश्‍वर स्वयम्‌को सार छ; यो उहाँको सारको एउटा पक्ष हो जुन कुनै पनि सृष्टि गरिएको प्राणीमा हुँदैन। उहाँले सृष्टि गर्नुभएका सबै थोकका बीचमा रहेका वस्तु, व्यक्ति, र जीवित प्राणीलाई सम्‍हाल्‍ने, पहुँच गर्ने, व्यवस्थापन गर्ने, प्रशासन गर्ने, र शासन गर्ने कार्यमा परमेश्‍वर कर्तव्यनिष्ठ र जिम्‍मेवार हुनुहुन्छ, र यसमा, उहाँ कहिल्यै पनि लापरवाह हुनुभएको छैन। असलहरूका निम्ति उहाँ अनुग्रही र दयालु हुनुहुन्छ; दुष्टहरूमाथि उहाँले कुनै पछुतो नगरी दण्ड बर्साउनुहुन्छ; अनि विभिन्‍न जीवित प्राणीहरूका निम्ति, उहाँले फरक-फरक समयको मानव संसारका विभिन्‍न मापदण्डहरू अनुसार समयमै र नियमित रूपमा यसरी उचित बन्दोबस्त गर्नुहुन्छ कि यी विभिन्‍न जीवित प्राणीहरूले खेल्‍ने भूमिकाअनुसार नै सुव्यवस्थित रूपमा तिनीहरूको पुनर्जन्‍म हुन्छ र तिनीहरू विधिवत् रूपमा भौतिक संसार र आत्मिक संसारको बीचमा आवतजावत गर्छन्।

जीवित प्राणीको मृत्युले—भौतिक जीवनको समाप्तिले—जीवित प्राणी भौतिक संसारबाट आत्मिक संसारमा गएको छ भन्‍ने देखाउँछ, नयाँ भौतिक जीवनको जन्‍मले जीवित प्राणी आत्मिक संसारबाट भौतिक संसारमा आएको छ र यसले आफ्‍नो भूमिका स्वीकार गरी निर्वाह गर्न सुरु गरेको छ भन्‍ने देखाउँछ। चाहे यो प्राणीको प्रस्थान वा आगमन जे भए तापनि, यी दुवैलाई आत्मिक संसारको कार्यबाट अलग गर्न सकिँदैन। कुनै व्यक्ति भौतिक संसारमा आइपुग्दासम्‍म, त्यो व्यक्ति कुन परिवारमा जानेछ, कुन युगमा तिनीहरू आइपुग्‍नेछन्, कुन घडीमा तिनीहरू आइपुग्‍नेछन्, अनि तिनीहरूले निर्वाह गर्ने भूमिका जस्ता उचित बन्दोबस्तहरू र परिभाषाहरू परमेश्‍वरले आत्मिक संसारमा पहिले नै तयार गरिसक्‍नुभएको हुन्छ। त्यसो भएको हुनाले, यो व्यक्तिको सम्पूर्ण जीवन—तिनीहरूले गर्ने कुराहरू, र तिनीहरूले लिने मार्गहरू—अलिकति पनि तलमाथि नभईकन आत्मिक संसारमा गरिएका बन्दोबस्तहरू अनुसार नै अघि बढ्नेछन्। यसको साथै, भौतिक जीवन समाप्त हुने समय र यो अन्त्य हुने तरिका र स्थान आत्मिक संसारमा स्पष्ट र पत्ता लगाउन सकिने हुन्छ। भौतिक संसारमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ, र उहाँले आत्मिक संसारमाथि पनि शासन गर्नुहुन्छ, अनि उहाँले प्राणको जीवन र मृत्युको सामान्य चक्रमा ढिलाइ गर्नुहुनेछैन, न त उहाँले त्यस चक्रका बन्दोबस्तहरूमा कहिल्यै कुनै गल्तीहरू नै गर्न सक्‍नुहुन्छ। आत्मिक संसारका आधिकारिक पदहरू धारण गर्नेहरूले आफ्‍ना व्यक्तिगत कार्यहरू गर्छन्, अनि परमेश्‍वरका निर्देशनहरू र नियमहरूअनुसार तिनीहरूले आफूले गर्नुपर्ने काम गर्छन्। तसर्थ, मानवजातिको संसारमा मानिसले हेर्ने हरेक भौतिक घटनाक्रम व्यवस्थित हुन्छन्, र त्यसमा कुनै भद्रगोल अवस्था हुँदैन। यो सबै परमेश्‍वरले सबै थोकमाथि गर्नुहुने सुव्यवस्थित शासनको कारण, साथै उहाँको अख्‍तियारले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यले गर्दा भएको हो। उहाँको प्रभुत्वमा मानिस जिउने भौतिक संसार, साथै मानवजातिभन्दा पछाडि रहेको अदृश्य आत्मिक संसार पनि समावेश छ। त्यसकारण, यदि मानिसले असल जीवन पाउने चाहना गर्छ, र देख्‍न सकिने सम्पूर्ण भौतिक संसार आफूलाई प्रदान गरिएको चाहना गर्नुका साथै राम्रो परिवेशमा जिउने आशा गर्छ भने, तिनीहरूलाई आत्मिक संसार पनि प्रदान गरिनुपर्छ जसलाई कसैले पनि देख्‍न सक्दैन, जसले मानवजातिको पक्षमा हरेक जीवित प्राणीमाथि शासन गर्छ र जुन सुव्यवस्थित छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९१

विश्‍वास भएका विविध मानिसहरूको जीवन र मृत्युको चक्र

हामीले भर्खरै पहिलो वर्गका मानिसहरूको अर्थात्, अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रको बारेमा छलफल गर्‍यौं। अब, हामी दोस्रो वर्गको, अर्थात् विभिन्‍न विश्‍वासका मानिसहरूको बारेमा छलफल गरौं। “विभिन्‍न विश्‍वासका मानिसहरूको जीवन र मृत्युको चक्र” एउटा अर्को अत्यन्तै महत्त्वपूर्ण विषय हो, र तिमीहरूले यसबारेमा केही बुझाइ प्राप्त गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। सबैभन्दा पहिले, हामी “विश्‍वासका मानिसहरू” भन्‍ने वाक्यांशको “विश्‍वासले” केलाई जनाउँछ त्यसको बारेमा कुरा गरौं: यहूदी धर्म, इसाई जगत, क्याथोलिकवाद, इस्लाम, र बुद्ध धर्म गरी मुख्य पाँच धर्म। अविश्‍वासीहरू बाहेक, यी पाँच धर्ममा विश्‍वास गर्ने मानिसहरूले संसारको जनसङ्ख्याको धेरैजसो भाग ओगटेका छन्। यी पाँच धर्महरूमध्ये, धर्ममा नै आफ्‍नो जीविकोपार्जन गर्ने मानिसहरू थोरै मात्र छन्, तैपनि यी धर्महरूका धेरै अनुयायी हुन्छन्। मरेपछि तिनीहरू फरक-फरक स्थानमा जानेछन्। कोबाट “फरक”? अविश्‍वासीहरू, कुनै विश्‍वास नभएका मानिसहरूबाट फरक, जसको बारेमा हामीले भर्खरै कुरा गरिरहेका थियौं। मरेपछि यी पाँच धर्मका विश्‍वासीहरू अर्कै ठाउँमा, अविश्‍वासीहरूको भन्दा फरक अर्कै ठाउँमा जान्छन्। तैपनि, यो अझै पनि उही प्रक्रिया हुन्छ; तिनीहरू मर्नुभन्दा पहिले तिनीहरूले गरेका सबै कुराको आधारमा नै आत्मिक संसारले तिनीहरूको न्याय गर्नेछ, जुन कार्यपछि तिनीहरूलाई सोही अनुरूप अघि बढाइनेछ। तैपनि किन यी मानिसहरूलाई प्रक्रियाको लागि फरक स्थानमा पठाइनेछ त? यसको एउटा महत्त्वपूर्ण कारण छ। यो के हो त? म तिमीहरूलाई एउटा उदाहरणद्वारा यसबारेमा व्याख्या गर्नेछु। तैपनि मैले यसो गर्नुभन्दा पहिले, तिमीहरू सायद मनमनै सोचिरहेका छौ होला: “सायद परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास थोरै भएकोले होला! तिनीहरू पूर्ण अविश्‍वासी होइनन्।” तैपनि, कारण यो होइन। तिनीहरूलाई अरूबाट टाढा राख्‍नुको एउटा अत्यन्तै महत्त्वपूर्ण कारण छ।

उदाहरणको लागि बुद्ध धर्मलाई लिऊँ। म तिमीहरूलाई एउटा तथ्य बताउनेछु। बुद्ध धर्म मान्‍ने मानिस बुद्ध धर्ममा लागेको व्यक्ति हो, र यो व्यक्तिलाई तिनीहरूको विश्‍वास के हो भन्‍ने थाहा हुन्छ। जब बुद्ध धर्मावलम्‍बीहरू आफ्‍नो कपाल काटेर लामा वा आनी बन्छन्, यसको अर्थ तिनीहरूले मानव संसारका कोलाहललाई छोडेर आफूलाई भौतिक संसारबाट अलग गरेका छन् भन्‍ने हुन्छ। हरेक दिन, तिनीहरूले सूत्र र बुद्धको नाम जप्छन्, शाकाहारी खाना मात्र खान्छन्, भिक्षुको जीवन जिउँछन्, अनि चीसोमा, घिउको दियोको मधुरो ज्योतिमा बसेर आफ्‍ना दिनहरू बिताउँछन्। तिनीहरूले आफ्‍नो सारा जीवन यसरी नै बिताउँछन्। जब बुद्ध धर्मावलम्बीको भौतिक जीवन समाप्त हुन्छ, तब तिनीहरूले आफ्‍नो जीवनको सारांश तयार गर्छन्, तर तिनीहरूलाई आफ्नो हृदयमा भने तिनीहरू मरेपछि कहाँ जानेछन्, तिनीहरूले कसलाई भेट्नेछन्, वा तिनीहरूको परिणाम के हुनेछ भन्‍ने थाहा हुनेछैन: भित्री मनमा, तिनीहरूसँग त्यस्ता कुराको बारेमा स्पष्ट विचार हुँदैन। आफ्‍नो सारा जीवनभरि अन्धाधुन्ध विश्‍वास गर्ने बाहेक तिनीहरूले केही पनि गरेका हुँदैनन्, जुन कार्यपछि तिनीहरू आफ्‍ना अन्धो कामना र आदर्शहरूसहित मानव संसारबाट बिदा हुन्छन्। बुद्ध धर्मावलम्बीहरूले जीवितहरूको संसारलाई छोडेर जाँदा तिनीहरूको भौतिक जीवनको समाप्ति त्यस्तै हुन्छ; त्यसपछि, तिनीहरू आफ्‍नो आत्मिक संसारको मूल स्थानमा फर्कन्छन्। पृथ्वीमा फर्कनको लागि र आफ्नो आत्म-हेरचाहलाई जारी राख्‍नको लागि उक्त व्यक्तिको पुनर्जन्‍म हुन्छ कि हुँदैन भन्‍ने कुरा तिनीहरूको मृत्युभन्दा पहिलेको तिनीहरूको बानीबेहोरा र अभ्यासमा निर्भर हुन्छ। यदि तिनीहरूले आफ्‍नो जीवनकालमा केही पनि गलत गरेका थिएनन् भने, तिनीहरूको तुरुन्तै पुनर्जन्‍म हुन्छ र तिनीहरूलाई फेरि पृथ्वीमा पठाइन्छ, जहाँ उक्त व्यक्ति फेरि पनि लामा वा आनी बन्छ। अर्थात्, तिनीहरूले पहिलो पटक जसरी आत्म-हेरचाहको अभ्यास गरेका थिए त्यसरी नै तिनीहरूले आफ्‍नो भौतिक जीवनकालमा आत्म-हेरचाहको अभ्यास गर्छन्, त्यसपछि तिनीहरूको भौतिक जीवन समाप्त भएपछि, तिनीहरू आत्मिक क्षेत्रमा फर्कन्छन्, जहाँ तिनीहरूको जाँच हुन्छ। त्यसपछि, कुनै समस्या भेटिएन भने, तिनीहरू फेरि मानिसको संसारमा फर्केर फेरि बौद्ध धर्ममा लागेर, आफ्‍नो अभ्यासलाई जारी राख्‍न सक्छन्। तीनदेखि सात पटक पुनर्जन्‍म भइसकेपछि, तिनीहरू फेरि पनि आत्मिक संसारमा फर्कनेछन्, जहाँ तिनीहरू हरेक भौतिक जीवन समाप्त भएपछि जान्छन्। यदि मानव संसारमा हुँदा तिनीहरूका विभिन्‍न योग्यता र व्यवहार आत्मिक संसारका स्वर्गीय आदेशहरू अनुरूप छन् भने, यस विन्दुदेखि, तिनीहरू त्यहीँ नै रहनेछन्; त्यस उप्रान्त मानवको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछैन, न त तिनीहरूले दुष्कर्म गरेकोमा कुनै दण्ड पाउने खतरा नै हुन्छ। तिनीहरू फेरि कहिल्यै पनि यो प्रक्रियामार्फत गुज्रनेछैनन्। बरु, तिनीहरूका परिस्‍थितिहरू अनुरूप, तिनीहरूले आत्मिक क्षेत्रमा एउटा पद धारण गर्नेछन्। बुद्ध धर्मावलम्बीहरूले यसैलाई “बुद्धत्व प्राप्त गर्नु” भनेर भन्छन्। बुद्धत्व प्राप्त गर्नु भनेको मुख्य रूपमा आत्मिक संसारको अधिकारीको रूपमा नियुक्त भई सफलता प्राप्त गरेर, अब उप्रान्त पुनर्जन्‍म नहुनु वा दण्डित हुने खतरामा नपर्नु हो। यसको साथै, यसको अर्थ अब उप्रान्त पुनर्जन्‍म भई मानव भएर कष्ट-भोग नगर्नु भन्‍ने हुन्छ। त्यसकारण, के पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म हुने कुनै सम्‍भावना हुन्छ? (हुँदैन।) यसको अर्थ तिनीहरू आत्मिक संसारमा एउटा भूमिका लिएर बस्‍नेछन् र अब उप्रान्त तिनीहरूको पुनर्जन्म हुनेछैन भन्‍ने हुन्छ। बुद्ध धर्ममा बुद्धत्व प्राप्त गर्नुको एउटा उदाहरण यही हो। आत्मिक संसारमा फर्केपछि, यस्तो फल प्राप्त नगर्नेहरूको हकमा भन्दा, तिनीहरूलाई उचित अधिकारीले जाँच र प्रमाणीकरण गर्छन्, जसले तिनीहरू जीवित हुँदा तिनीहरूले आत्म-हेरचाहको इमान्दार अभ्यास गरेनन् वा बुद्ध धर्मले तोकेअनुसार सूत्र र बुद्धको नाम जप्दा कर्तव्यनिष्ठ भएनन्, बरु धेरै दुष्ट कार्यहरू गरे र धेरै दुष्ट व्यवहारमा लागे भन्‍ने पत्ता लगाउँछन्। त्यसपछि, आत्मिक संसारमा तिनीहरूको दुष्कर्मको निम्ति न्याय गरिन्छ, अनि त्यसपछि, तिनीहरूलाई निश्‍चित रूपमा दण्ड दिइन्छ। यसमा कुनै अपवाद छैन। त्यसो भए, त्यस्तो व्यक्तिले कहिले फल प्राप्त गर्न सक्छ त? तिनीहरूले कुनै दुष्टता नगरेको जीवनकालमा—आत्मिक संसारमा फर्केपछि, तिनीहरू मर्नुभन्दा पहिले तिनीहरूले कहीँ पनि गल्ती गरेका छैनन् भन्‍ने देखिएमा। त्यसपछि तिनीहरूको पुनर्जन्‍म हुने कार्य जारी रहन्छ, र तिनीहरूले सूत्र जप्दै र बुद्धको नाम पुकार्दै, घिउको दियोको मधुरो ज्योतिको साथमा चिसोमा दिनहरू बिताउँछन्, र कुनै पनि जीवित प्राणीलाई मार्ने कार्यबाट वा कुनै मासु खानबाट टाढा बस्छन्। तिनीहरूले मानिसको संसारमा कुनै सहभागिता जनाउँदैनन्, यसका दुःखलाई तिनीहरूले टाढा छोड्छन् र अरूसँग कुनै विवाद गर्दैनन्। यस प्रक्रियामा, यदि तिनीहरूले कुनै दुष्ट कार्य गरेनन् भने, तिनीहरू आत्मिक संसारमा फर्केपछि र तिनीहरूका सबै कार्य र व्यवहारको जाँच गरिएपछि, तिनीहरूलाई मानव संसारमा फेरि एक पटक पठाइन्छ र यो चक्र तीनदेखि सात पटकसम्‍म दोहोरिन्छ। यो अवधिमा तिनीहरूले कुनै पनि दुष्कर्म गरेनन् भने, तिनीहरूले बुद्धत्व प्राप्त गर्ने कुरामा कुनै पनि प्रभाव पर्नेछैन, र कुनै पनि ढिलाइ हुनेछैन। विश्‍वासका सबै मानिसहरूका जीवन र मृत्युको चक्रको एउटा विशेषता यही हो: तिनीहरूले “फल प्राप्त” गर्न सक्छन् र आत्मिक संसारमा कुनै एउटा पद ग्रहण गर्न सक्छन्; यही कुराले तिनीहरूलाई अविश्‍वासीहरूबाट अलग गर्छ। सर्वप्रथम, तिनीहरू पृथ्वीमा बाँचिरहेको बेला, आत्मिक संसारमा कुनै पद लिन सक्‍ने मानिसहरूले कस्तो व्यवहार गर्छन् त? तिनीहरूले निश्‍चित रूपमा कुनै दुष्ट कार्य गर्नु हुँदैन: तिनीहरूले हत्या, आगजनी, बलात्कार, वा लुटपाट गर्नु हुँदैन; यदि तिनीहरू ठगी, धोका, चोरी वा डकैतीमा लागे भने, तिनीहरूले फल प्राप्त गर्न सक्दैनन्। अर्को शब्‍दमा भन्दा, यदि जुनसुकै प्रकारको दुष्कर्मसँग तिनीहरूको कुनै सम्‍बन्ध वा सम्बद्धता छ भने, तिनीहरू आत्मिक संसारले तिनीहरूलाई प्रदान गर्ने दण्डबाट उम्कन सक्‍नेछैनन्। आत्मिक संसारले बुद्धत्व प्राप्त गर्ने बुद्ध धर्मावलम्बीहरूका निम्ति उचित बन्दोबस्त गर्छ: तिनीहरूलाई बुद्ध धर्ममा विश्‍वास गर्ने, र आकाशको वृद्ध मानिसमा विश्‍वास गर्नेजस्तो देखिनेहरूको प्रशासकको रूपमा नियुक्त गरिन सक्छ—तिनीहरूलाई कुनै निश्चित प्रशासकीय अधिकारक्षेत्र प्रदान गरिन सक्छ। तिनीहरू अविश्‍वासीहरूको मात्रै कार्यभारी हुन सक्छन् वा तिनीहरूले सानातिना कर्तव्यसहितका पदहरू मात्र प्राप्त गर्न सक्छन्। त्यस्ता नियुक्ति तिनीहरूको प्राणको विभिन्‍न प्रकृतिअनुसार प्रदान गरिन्छ। यो बुद्ध धर्मको उदाहरण हो।

हामीले उल्‍लेख गरेका पाँच धर्ममध्ये, इसाई जगत तुलनात्मक रूपमा विशेष छ। के कुराले इसाईलाई विशेष तुल्याउँछ त? यिनीहरू साँचो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हुन्। साँचो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई यहाँ कसरी सूचीकृत गर्न सकिन्छ त? इसाई जगत एक प्रकारको विश्‍वास हो भन्दा, यो विश्‍वाससँग मात्रै सम्‍बन्धित हुन्थ्यो भन्‍नेमा कुनै शङ्का हुँदैन; यो एक प्रकारको रीतिरिवाज, एक प्रकारको धर्म र परमेश्‍वरलाई सच्‍चा रूपमा पछ्याउने मानिसहरूको विश्‍वासभन्दा पूर्ण रूपमा फरक कुरा मात्रै हुन्थ्यो। मैले इसाई जगतलाई मुख्य पाँच धर्ममा सूचीकृत गर्नुको कारण के हो भने यो यहूदी धर्म, बुद्ध धर्म, र इस्लामकै स्तरमा झरेको छ। यहाँका धेरैजसो मानिसहरूले परमेश्‍वर हुनुहुन्छ, वा उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍नेमा विश्‍वास गर्दैनन्; तिनीहरूले उहाँको अस्तित्वमा विश्‍वास गर्ने कुरा त परै जाओस्। बरु, तिनीहरूले धर्मशास्‍त्रको व्याख्या गर्नको लागि पवित्र पुस्तकहरूको प्रयोग गर्ने र मानिसहरूलाई दयालु बन्‍न, कष्ट सहन, र असल कार्य गर्न सिकाउनको लागि धर्मशास्‍त्रको प्रयोग गर्ने मात्रै गर्छन्। इसाई जगत त्यही प्रकारको धर्म बन्‍न पुगेको छ: यसले मानिसलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको कार्यसँग कुनै सम्‍बन्ध नै नराखी धर्मशास्‍त्रीय सिद्धान्तहरूमा मात्रै ध्यान दिन्छ। यो परमेश्‍वरलाई पछ्याउने तर परमेश्‍वरले वास्तवमा स्वीकार नगर्नुभएका मानिसहरूको धर्म बनेको छ। तैपनि, त्यस्ता मानिसहरूलाई गर्ने व्यवहारको बारेमा पनि परमेश्‍वरसँग सिद्धान्त छ। उहाँले अविश्‍वासीहरूलाई गरेजस्तो जानी-जानी तिनीहरूलाई यत्तिकै व्यवहार गर्ने वा तिनीहरूको निराकरण गर्ने गर्नुहुन्‍न। उहाँले तिनीहरूलाई बुद्ध धर्मावलम्बीहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ: यदि जीवित हुँदा, एक इसाईले आत्म-अनुशासनको अभ्यास गर्न, दश-आज्ञाको पूर्ण पालन गर्न र व्यवस्था र आज्ञाहरू अनुसार आफ्‍नो व्यवहारलाई कायम राख्‍न, र आफ्‍नो सम्पूर्ण जीवनभरि तिनको पालन गर्न सक्छ भने, तिनीहरूले साँचो रूपमा तथाकथित “उठाइ” प्राप्त गर्नुभन्दा पहिले, तिनीहरूले जीवन र मृत्युको चक्रहरूमार्फत गुज्रिँदै केही समय बिताउनुपर्छ। यो उठाइ प्राप्त गरिसकेपछि, तिनीहरू आत्मिक संसारमा रहन्छन्, जहाँ तिनीहरूले एउटा पद प्राप्त गर्छन् र यसको एक अधिकारी बन्छन्। त्यसै गरी, यदि तिनीहरूले पृथ्वीमा हुँदा दुष्ट कार्य गरे भने—यदि तिनीहरू अत्यन्तै पापी भए र धेरै पाप गरे भने—तिनीहरूलाई अवश्य पनि फरक-फरक हदमा दण्ड र अनुशासन कारबाही गरिन्छ। बुद्ध धर्ममा, फल प्राप्त गर्नु भनेको सर्वोच्‍च परम आनन्दको शुद्ध भूमिमा प्रवेश गर्नु हो, तर इसाई जगतमा तिनीहरूले यसलाई के भन्छन् त? यसलाई “स्वर्गमा प्रवेश गर्नु” र “उठाइ हुनु” भनिन्छ। साँचो रूपमा उठाइ भएकाहरू पनि तीनदेखि सात पटकसम्‍म जीवन र मृत्युको चक्रबाट गुज्रन्छन्, त्यसपछि तिनीहरू मरेर आत्मिक संसारमा आउँछन्, मानौँ तिनीहरू सुतेका थिए। यदि तिनीहरू मापदण्ड अनुरूप छन् भने, तिनीहरू कुनै पद ग्रहण गर्न त्यहीँ रहन सक्छन् र पृथ्वीका मानिसहरूका विपरीत, सरल रूपमा वा प्रचलनअनुसार तिनीहरूको पुनर्जन्‍म हुनेछैन।

यी सबै धर्ममध्ये, तिनीहरूले जुन अन्त्यको बारेमा बताउँछन् र जुन अन्त्य प्राप्त गर्ने प्रयास गर्छन् त्यो बुद्ध धर्मको फल प्राप्त गर्नु सरह हो; के मात्रै हो भने यो “फल” फरक-फरक माध्यमद्वारा प्राप्त गरिन्छ। तिनीहरू सबै उस्तै हुन्। यी धर्महरूका अनुयायीहरूको यो समूह जसले आफ्‍नो व्यवहारमा धार्मिक नियमलाई कडाइका साथ पालन गर्न सक्‍छन्, तिनीहरूलाई परमेश्‍वरले उचित गन्तव्य, जाने उचित स्थान दिनुहुन्छ, र उचित रूपमा व्यवहार गर्नुहुन्छ। यो सबै मनासिब छ, तर यो मानिसहरूले कल्‍पना गरेजस्तो हुँदैन। अब, इसाई जगतका मानिसहरूलाई के हुन्छ भन्‍ने सुनिसकेपछि, तिमीहरूलाई के अनुभूति भयो? के तिमीहरूलाई तिनीहरूको दुर्दशा अनुचित छ भन्‍ने लाग्छ? के तिमीहरूलाई तिनीहरूप्रति सहानुभूति जाग्यो? (थोरै।) गर्न सकिने केही पनि छैन; त्यसको दोषी तिनीहरू नै हुन्। म किन यसो भन्दैछु त? परमेश्‍वरको कार्य साँचो छ; उहाँ जीवित र वास्तविक हुनुहुन्छ, र उहाँको कार्य सारा मानवजाति र हरेक व्यक्तिप्रति लक्षित छ। तब किन तिनीहरूले यसलाई स्वीकार गर्दैनन्? तिनीहरूले किन परमेश्‍वरलाई त्यति उच्छृंखल रूपमा विरोध गर्छन् र सताउँछन्? तिनीहरूले यस प्रकारको परिणाम प्राप्त गर्न पाउँदा समेत आफूलाई भाग्यमानी ठान्‍नुपर्छ, तब किन तिमीहरू तिनीहरूलाई बिचरा ठान्छौ? यसरी तिनीहरूसँग व्यवहार गर्नु भनेको ठूलो सहनशीलता देखाउनु हो। तिनीहरूले जुन हदसम्‍म परमेश्‍वरको विरोध गर्छन्, त्यसको आधारमा त तिनीहरूलाई नष्ट गरिनुपर्ने हो, तैपनि परमेश्‍वरले यसो गर्नुहुन्‍न; बरु उहाँले त इसाई जगतलाई अन्य कुनै पनि साधारण धर्मलाई जस्तै व्यवहार गर्नुहुन्छ। तसर्थ, अरू धर्मका बारेमा थप विवरण प्रदान गर्नुपर्ने कुनै आवश्यकता छ र? यी सबै धर्मको सार भनेको मानिसहरूले अझै बढी कठिनाइ भोग्‍नुपर्छ, कुनै दुष्ट काम गर्नु हुँदैन, असल कार्य गर्नुपर्छ, अरूलाई मनपरी भन्नु हुँदैन, अरूलाई दोषारोपण गर्नु हुँदैन, आफैलाई विवादबाट अलग राख्‍नुपर्छ, र असल मानिस बन्‍नुपर्छ—धेरैजसो धार्मिक शिक्षाहरू यस्तै छन्। त्यसकारण, यदि विश्‍वासका यी मानिसहरूले—विभिन्‍न धर्म र सम्प्रदायका यी अनुयायीहरूले—आफ्‍ना धार्मिक नियमहरूलाई कडाइका साथ पालन गर्न सक्छन् भने, तिनीहरू पृथ्वीमा हुँदाको समयमा तिनीहरूले ठूलो गल्ती वा पाप गर्नेछैनन्; अनि, तीनदेखि सात पटकसम्‍म तिनीहरूको पुनर्जन्‍म भइसकेपछि, यी मानिसहरू—धार्मिक नियमहरूलाई कठोर रूपमा पालन गर्न सक्‍नेहरू—मुख्य रूपमा आत्मिक संसारमा एउटा पद ग्रहण गरेर बस्‍नेछन्। के त्यस्ता मानिसहरू धेरै छन्? (अहँ, छैनन्।) तिमीहरूले के आधारमा उत्तर दियौ? असल काम गर्नु र धार्मिक नियम र व्यवस्थाको पालन गर्नु सजिलो छैन। बुद्ध धर्मले मानिसहरूलाई मासु खान दिँदैन—के तँ त्यसो गर्न सक्छस्? यदि तँ खैरो वस्‍त्र लगाएर दिनभरि गुम्‍बामा बसेर मन्त्र र बुद्धको नाम जप्दै बस्‍नुपर्‍यो भने, के तँ त्यसो गर्न सक्छस्? यो सहज हुनेछैन। इसाई जगतमा दश-आज्ञा, आज्ञाहरू र व्यवस्था छ; के यी पालन गर्न सहज छन्? ती सहज छैनन्, ठीक हो? उदाहरणको लागि, अरूलाई मनपरी नभन्‍ने कार्यलाई लिऊँ: मानिसहरूले यो नियम पालन गर्न सक्दै सक्दैनन्। आफैलाई रोक्‍न नसकेर, तिनीहरूले मनपरी भन्छन्—अनि मनपरी भनिसकेपछि, तिनीहरूले ती शब्‍द फर्काउन सक्दैनन्, त्यसकारण तिनीहरूले के गर्छन्? राति, तिनीहरूले आफ्‍नो पाप स्वीकार गर्छन्। कहिलेकहीँ तिनीहरूले अरूलाई मनपरी भनिसकेपछि पनि अझै आफ्‍नो हृदयमा घृणालाई पालेर राख्छन्, अनि ती मानिसहरूलाई थप हानि गर्ने समयको योजना बनाउने हदसम्‍म जान्छन्। छोटकरीमा भन्दा, यो मृत सिद्धान्तमा जिउनेहरूका निम्ति, पाप वा दुष्ट कार्यबाट टाढा बस्‍न सहज छैन। त्यसकारण, हरेक धर्ममा, थोरै मानिसहरूले मात्रै वास्तवमा फल प्राप्त गर्न सक्छन्। के तँ धेरै मानिसहरूले यी धर्महरू पछ्याउने हुनाले अधिकांशले आत्मिक क्षेत्रमा भूमिका प्राप्त गर्न सक्छन् भन्‍ने अनुमान गर्छस्? त्यस्ता मानिसहरू त्यति धेरै हुँदैनन्; थोरैले मात्रै वास्तवमा यो कुरा हासिल गर्न सक्छन्। विश्‍वासका मानिसहरूका जीवन र मृत्युको चक्रको हकमा सामान्यतः लागू हुने कुरा यही हो। तिनीहरू के कुरामा फरक हुन्छन् भने, तिनीहरूले फल प्राप्त गर्न सक्छन्, र तिनीहरूलाई अविश्‍वासीहरूबाट अलग गर्ने कुरा नै यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९२

परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्र (छनौट गरिएका खण्डहरू)

यसपछि, हामी परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रको बारेमा कुरा गरौं। यो तिमीहरूसँग सम्‍बन्धित छ, त्यसैले ध्यान दिएर सुन: सबैभन्दा पहिले, परमेश्‍वरलाई पछ्याउने मानिसहरूलाई कसरी वर्गीकरण गर्न सकिन्छ त्यसको बारेमा विचार गर। (परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू।) वास्तवमा दुई वर्ग छन्: परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू। पहिले, हामी परमेश्‍वरका चुनिएका मानिसहरूका बारेमा कुरा गरौं, जो थोरै हुन्छन्। “परमेश्‍वरका चुनिएका मानिसहरू” ले कसलाई जनाउँछ? परमेश्‍वरले सबै थोक सृष्टि गरिसक्‍नुभएपछि र मानिस अस्तित्वमा आइसकेपछि, परमेश्‍वरले उहाँलाई पछ्याउने मानिसहरूको एउटा समूह छनौट गर्नुभयो; यिनीहरूलाई “परमेश्‍वरका चुनिएकाहरू” भनेर भनिन्छ। परमेश्‍वरले यी मानिसहरूलाई छनौट गर्नुको विशेष क्षेत्र र महत्त्व थियो। यो चुनिएका थोरैमा मात्रै सीमित थियो, जो उहाँले महत्त्वपूर्ण कार्य गर्ने क्रममा आउनैपर्छ, यस अर्थमा यो क्षेत्र विशेष छ। अनि महत्त्वचाहिँ के हो त? तिनीहरू परमेश्‍वरले छनौट गर्नुभएको समूह भएका हुनाले, महत्त्व निकै ठूलो छ। अर्थात्, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण बनाउन, र तिनीहरूलाई सिद्ध बनाउन चाहनुहुन्छ, अनि उहाँको व्यवस्थापन कार्य समाप्त भएपछि, उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुनेछ। के यो महत्त्व ठूलो छैन र? यसर्थ, चुनिएका यी मानिसहरू परमेश्‍वरका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, किनभने परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरू तिनीहरू नै हुन्। सेवाकर्ताहरूको बारेमा भन्दा, हामी अहिलेको लागि परमेश्‍वरको पूर्वनिर्धारित गन्तव्यको विषयलाई छोडौं, र सुरुमा तिनीहरूको उत्पत्तिको कुरा गरौं। “सेवाकर्ता” ले शाब्दिक रूपमा सेवा गर्ने व्यक्तिलाई जनाउँछ। सेवा गर्नेहरू क्षणिक हुन्छन्; तिनीहरूले दीर्घकालीन रूपमा वा सदासर्वदा सेवा गर्दैनन्, बरु तिनीहरूलाई अस्थायी रूपमा काममा लगाइन्छ वा नियुक्त गरिन्छ। तिनीहरूमध्ये धेरैजसोको उत्पत्ति तिनीहरूलाई अविश्‍वासीहरूबाट छनौट गरिएर भएको हुन्छ। तिनीहरूले परमेश्‍वरको कार्यमा सेवाकर्ताको भूमिका निर्वाह गर्नेछन् भनी उर्दी जारी गरिएपछि तिनीहरू पृथ्वीमा आएका हुन्छन्। अघिल्‍लो जीवनमा तिनीहरू पशु-प्राणीका रूपमा रहेका हुन सक्छन्, तर तिनीहरू अविश्‍वासीहरूका रूपमा पनि रहेका हुन सक्छन्। सेवाकर्ताहरूको उत्पत्ति यसरी नै भएको हुन्छ।

हामी परमेश्‍वरका चुनिएका मानिसहरूको बारेमा थप कुरा गरौं। जब तिनीहरू मर्छन्, तब तिनीहरू अविश्‍वासीहरू र विश्‍वासका विभिन्‍न मानिसहरूको भन्दा पूर्ण रूपमा फरक स्थानमा जान्छन्। यो त्यस्तो स्थान हो जहाँ तिनीहरू स्वर्गदूतहरू र परमेश्‍वरका सन्देशवाहकहरूको साथमा हुन्छन्; यो परमेश्‍वरले व्यक्तिगत रूपमा नै प्रशासन गर्नुहुने स्थान हो। यस स्थानमा परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नै आँखाले परमेश्‍वरलाई देख्‍न नसक्‍ने भए तापनि, यो आत्मिक क्षेत्रको अन्य कुनै पनि ठाउँभन्दा फरक हुन्छ; मानिसहरूको यो समूह मरेपछि जाने फरक स्थान यही हो। तिनीहरू मरेपछि, तिनीहरूलाई पनि परमेश्‍वरका सन्देशवाहकहरूले कठोर अनुसन्धान गर्छन्। अनि केको अनुसन्धान गरिन्छ त? परमेश्‍वरका सन्देशवाहकहरूले परमेश्‍वरमाथिको विश्‍वासमा यी मानिसहरूले आफ्‍नो जीवनभरि लिएका मार्गहरू, त्यो समय अवधिमा तिनीहरूले परमेश्‍वरलाई विरोध गरे कि गरेनन् वा सरापे कि सरापेनन्, र तिनीहरूले कुनै गम्‍भीर पाप वा दुष्ट काम गरे कि गरेनन् भन्‍ने अनुसन्धान गर्छन्। कुनै निश्‍चित व्यक्तिलाई बस्‍न दिइन्छ कि ऊ त्यहाँबाट जानुपर्छ भन्‍ने प्रश्‍न यही अनुसन्धानले समाधान गर्नेछ। “जानुपर्छ” भन्‍नुको अर्थ के हो? अनि “बस्‍नु” भनेको के हो? “जानुपर्छ” भनेको तिनीहरूको व्यवहारको आधारमा तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूको दर्जामा रहन्छन् कि रहँदैनन् भन्‍ने हो; “बस्‍नु” को अर्थ आखिरी दिनहरूको अवधिमा परमेश्‍वरले पूर्ण बनाउनुहुने मानिसहरूको बीचमा तिनीहरू रहन सक्छन् भन्‍ने हो। बस्‍नेहरूका लागि, परमेश्‍वरको विशेष बन्दोबस्तहरू हुन्छन्। उहाँको कामको हरेक अवधिमा, उहाँले त्यस्ता मानिसहरूलाई प्रेरितहरूका रूपमा काम गर्न वा मण्डलीहरूलाई जागृत गर्ने वा हेरचाह गर्ने काम गर्न पठाउनुहुन्छ। तैपनि, त्यस्ता काम गर्न सक्‍ने मानिसहरूको एकपछि अर्को पुस्तामा पुनर्जन्‍म हुने अविश्‍वासीको रूपमा बारम्‍बार पुनर्जन्‍म हुँदैन; बरु, तिनीहरू परमेश्‍वरको कार्यका मापदण्ड र चरणहरू अनुसार पृथ्वीमा फर्कन्छन्, र तिनीहरूको बारम्‍बार पुनर्जन्‍म हुँदैन। त्यसो भए, तिनीहरूको पुनर्जन्‍म कहिले हुन्छ भन्‍ने विषयमा कुनै नियमहरू छन् त? के तिनीहरू केही वर्षको अवधिमा बारम्‍बार आउँछन् त? के तिनीहरू त्यसरी बारम्बार आउँछन् त? तिनीहरू त्यसरी आउँदैनन्। यो सबै परमेश्‍वरको कार्य, यसका चरणहरू र उहाँका खाँचोहरूमा आधारित हुन्छ, र कुनै निर्दिष्ट नियमहरू छैनन्। एउटै मात्र नियम के हुन्छ भने जब परमेश्‍वरले आखिरी दिनहरूमा आफ्‍नो कामको अन्तिम चरण पूरा गर्नुहुन्छ, यी चुनिएका मानिसहरू सबै आउनेछन्, र यो आगमन तिनीहरूको अन्तिम पुनर्जन्‍म हुनेछ। अनि किन त्यसो हुन्छ त? यो परमेश्‍वरको कामको अन्तिम चरणमा हासिल गर्नुपर्ने परिणाममा आधारित हुन्छ—किनभने कामको यो अन्तिम चरणको अवधिमा, परमेश्‍वरले चुनिएका यी मानिसहरूलाई सम्पूर्ण तवरमा पूर्ण तुल्याउनुहुनेछ। यसको अर्थ के हो त? यो अन्तिम चरणको अवधिमा, यदि यी मानिसहरूलाई पूर्ण र सिद्ध तुल्याइयो भने, तिनीहरूको पहिलेको जस्तो पुनर्जन्‍म हुनेछैन; मानव हुनुको तिनीहरूको प्रक्रिया, साथै तिनीहरूको पुनर्जन्मको प्रक्रिया पूर्ण रूपमा समाप्त भइसकेको हुनेछ। यो बस्‍नेहरूसँग सम्‍बन्धित छ। त्यसो भए, बस्‍न नसक्‍नेहरू कहाँ जान्छन् त? बस्‍न अनुमति नदिइनेहरूको आफ्‍नै उचित गन्तव्य हुन्छ। सर्वप्रथम, तिनीहरूको दुष्कर्म, तिनीहरूले गरेका गल्तीहरू, अनि तिनीहरूले गरेका पापहरूको परिणामस्वरूप, तिनीहरू पनि दण्डित हुनेछन्। तिनीहरूलाई दण्ड दिइसकिएपछि, परमेश्‍वरले परिस्‍थितिहरू अनुरूप कि त तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा पठाउने बन्दोबस्त गर्नुहुनेछ कि त विश्‍वासका विभिन्‍न मानिसहरूका बीचमा पठाउने बन्दोबस्त गर्नुहुनेछ। अर्को शब्‍दमा भन्दा, तिनीहरूका लागि दुई वटा सम्भावित परिणाम हुन्छन्: एउटाचाहिँ दण्डित हुनु र पुनर्जन्‍म भएपछि निश्‍चित धर्मका मानिसहरूका बीचमा जिउनु, र अर्कोचाहिँ अविश्‍वासीहरू बन्‍नु। यदि तिनीहरू अविश्‍वासीहरू बने भने, तिनीहरूले सबै अवसर गुमाउनेछन्; तैपनि, यदि तिनीहरू विश्‍वासका मानिसहरू बने भने—उदाहरणको लागि, यदि तिनीहरू इसाई बने भने—तिनीहरूसँग अझै पनि परमेश्‍वरका चुनिएका मानिसहरूको दर्जामा फर्कने अवसर हुनेछ; यसमा अत्यन्तै जटिल सम्‍बन्धहरू छन्। छोटकरीमा, यदि परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एक जनाले परमेश्‍वरलाई रिस उठाउने कुनै काम गर्छ भने, तिनीहरूलाई अरू कुनै व्यक्तिलाई जस्तै दण्ड दिइनेछ। उदाहरणको लागि, पावललाई लिऊँ, जसको बारेमा हामीले पहिले नै कुरा गरिसकेका छौं। पावल दण्डित हुने व्यक्तिको एउटा उदाहरण हो। मैले केको बारेमा कुरा गरिरहेको छु के त्यो तिमीहरूले बुझ्दैछौ? के परमेश्‍वरका चुनिएका मानिसहरूको क्षेत्र निश्‍चित गरिएको हुन्छ? (प्राय, गरिएको हुन्छ।) यसमध्ये धेरैजसो निश्‍चित गरिएको हुन्छ, तर यसको थोरै भाग निश्‍चित गरिएको हुँदैन। किन त्यसो हुन्छ त? मैले यहाँ सबैभन्दा स्पष्ट कारणको बारेमा उल्‍लेख गरेको छु: दुष्ट कार्य गर्नु। जब मानिसहरूले दुष्ट कार्य गर्छन्, परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, र जब परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, तब उहाँले तिनीहरूलाई विभिन्‍न जाति र प्रकारका मानिसहरूका बीचमा फ्याँक्‍नुहुन्छ। यसले तिनीहरूलाई आशाविहीन तुल्याउँछ र तिनीहरू फर्कने कार्य कठिन हुन्छ। यो सबै परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९३

परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्र (छनौट गरिएका खण्डहरू)

अर्को विषय सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ। हामीले भर्खरै सेवाकर्ताहरूको उत्पत्तिको बारेमा कुरा गर्‍यौं; अर्थात्, अघिल्‍लो जीवनमा अविश्‍वासी र पशु-प्राणीको रूपमा रही तिनीहरूको पुनर्जन्‍म भएको हुन्छ भन्‍ने तथ्यको बारेमा कुरा गर्‍यौं। अन्तिम चरणको कामको आगमनसँगै, परमेश्‍वरले अविश्‍वासीहरूबाट त्यस्ता मानिसहरूको समूह छनौट गर्नुभएको छ, र यो समूह विशेष छ। परमेश्‍वरले यी मानिसहरूलाई चुन्‍नुको उद्देश्य तिनीहरूलाई उहाँको सेवा गर्ने मानिसहरू बनाउनको लागि हो। “सेवा” त्यति सुन्दर सुनिने शब्‍द होइन, न त यो हरेकको कामना अनुरूपको कुरा नै हो, तर यो कोप्रति लक्षित छ सो कुरालाई हामीले हेर्नुपर्छ। परमेश्‍वरका सेवाकर्ताहरूको अस्तित्वको विशेष महत्त्व छ। अरू कसैले पनि तिनीहरूको भूमिका निर्वाह गर्न सक्दैन, किनभने तिनीहरूलाई परमेश्‍वरले नै चुन्‍नुभएको हुन्छ। र यी सेवाकर्ताहरूको भूमिका के हो त? तिनीहरूको भूमिका परमेश्‍वरका चुनिएका मानिसहरूको सेवा गर्नु हो। सामान्यतया, तिनीहरूको काम भनेको परमेश्‍वरको कामको निम्ति सेवा दिनु, यसमा सहकार्य गर्नु, र परमेश्‍वरले आफ्‍ना चुनिएकाहरूलाई पूर्ण तुल्याउने कार्यमा सहयोग गर्नु हो। तिनीहरूले परिश्रम गरिरहेको भए पनि, कामको कुनै पक्ष अघि बढाइरहेको भए पनि, वा निश्‍चित कार्यहरू गरिरहेको भए पनि, यी सेवाकर्ताहरूप्रति परमेश्‍वरको मापदण्ड के हुन्छ त? के उहाँ तिनीहरूप्रतिको आफ्‍ना मापदण्डहरूमा अत्यन्तै धेरै कठोर हुनुहुन्छ? (होइन, उहाँले तिनीहरूलाई निष्ठावान हुन मात्र लगाउनुहुन्छ।) सेवाकर्ताहरू पनि निष्ठावान हुनुपर्छ। तेरो उत्पत्ति जे-जस्तो भए पनि वा परमेश्‍वरले तँलाई जुन कारणले छनौट गर्नुभएको भए पनि, तँ परमेश्‍वरप्रति, परमेश्‍वरले तँलाई सुम्‍पनुहुने कुनै पनि कार्यभारहरूप्रति, र तँ जुन कामको निम्ति जिम्‍मेवार छस् त्यस कार्यप्रति र तैँले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरूप्रति तँ निष्ठावान हुनैपर्छ। परमेश्‍वरप्रति निष्ठावान हुन सक्‍ने र उहाँलाई सन्तुष्ट तुल्याउन सक्‍ने सेवाकर्ताहरूको हकमा, तिनीहरूका परिणामहरू के हुनेछन्? तिनीहरू बस्‍न सक्‍नेछन्। के बस्‍ने सेवाकर्ताहरूको लागि यो आशिष् हो? बस्‍नु भनेको के हो? यो आशिष्‌को महत्त्व के हो त? हैसियतमा, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा विपरीत देखिन सक्छन्; तिनीहरू फरक देखिन्छन्। तर वास्तविकतामा, के तिनीहरूले यस जीवनमा प्राप्त गर्ने कुरा परमेश्‍वरका चुनिएका मानिसहरूको जस्तै होइन र? कम्तीमा पनि, यो यस जीवनमा उही हुन्छ। तिमीहरूले यसलाई नकार्दैनौ, होइन र? परमेश्‍वरका वाणीहरू, परमेश्‍वरको अनुग्रह, परमेश्‍वरको बन्दोबस्‍त, परमेश्‍वरका आशिष्‌हरू—कसले यी कुराहरूमा आनन्द लिँदैन र? त्यस्तो प्रशस्ततामा सबैले आनन्द लिन्छन्। सेवाकर्ताको पहिचान भनेको सेवा गर्ने व्यक्ति हो, तर परमेश्‍वरको लागि, उहाँले सृष्टि गर्नुभएका सबै थोकमध्ये एउटा थोक मात्रै हो; के मात्रै हो भने तिनीहरूको भूमिका सेवाकर्ताको हो। तिनीहरू दुवै परमेश्‍वरका सृष्टि भएका हुनाले, सेवाकर्ता र परमेश्‍वरको चुनिएको मानिसको बीचमा कुनै भिन्‍नता छ त? वास्तवमा, भिन्‍नता छैन। भनाइमा त, एउटा भिन्‍नता छ; सारमा र तिनीहरूले खेल्‍ने भूमिकामा एउटा भिन्‍नता छ—तर परमेश्‍वरले मानिसहरूको यो समूहलाई अनुचित रूपमा व्यवहार गर्नुहुन्‍न। त्यसो भए, यी मानिसहरूलाई किन सेवाकर्ताको रूपमा परिभाषित गरिन्छ त? तिमीहरूसँग यस विषयमा केही बुझाइ हुनैपर्छ! सेवाकर्ता अविश्‍वासीहरूका बीचबाट आउँछन्। तिनीहरू अविश्‍वासीहरूका बीचबाट आउँछन् भनेर हामीले उल्‍लेख गर्नेबित्तिकै, तिनीहरूको पृष्ठभूमि खराब हुन्छ भन्‍ने कुरा स्पष्टै हुन्छ: तिनीहरू सबै नास्तिक हुन्, र विगतमा पनि त्यस्तै थिए; तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरेका हुँदैनन्, र उहाँप्रति, सत्यताप्रति, र सकारात्मक सबै कुराप्रति तिनीहरू शत्रुवत् रहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरमा वा उहाँको अस्तित्वमा विश्‍वास गरेका हुँदैनन्। त्यसो भए, के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बुझ्‍न सक्छन् त? धेरै हदसम्‍म, तिनीहरूले त्यसो गर्न सक्दैनन् भनेर भन्दा अत्योक्ति हुँदैन। जसरी पशु-प्राणीले मानव शब्‍दहरूलाई बुझ्‍न सक्दैनन्, त्यसरी नै सेवाकर्ताहरूले परमेश्‍वरले के भनिरहनुभएको छ, उहाँले के मापदण्ड तोक्नुहुन्छ वा उहाँले किन त्यस्ता मापदण्डहरू तोक्नुहुन्छ भन्‍ने कुरालाई बुझ्‍न सक्दैनन्। तिनीहरूले बुझ्दैनन्; यी कुराहरू तिनीहरूको बुझाइबाहिरका हुन्छन्, र तिनीहरू अन्तर्ज्ञान नपाएको अवस्थामा नै रहन्छन्। यही कारणले गर्दा, यी मानिसहरूसँग हामीले बताएको जीवन हुँदैन। जीवनविना, के मानिसहरूले सत्यतालाई बुझ्‍न सक्छन्? के तिनीहरू सत्यताद्वारा सुसज्‍जित हुन्छन्? के तिनीहरूसँग परमेश्‍वरका वचनहरूको अनुभव र ज्ञान हुन्छ? (हुँदैन।) सेवाकर्ताहरूको उत्पत्ति यसरी नै हुन्छ। तैपनि, परमेश्‍वरले नै यी मानिसहरूलाई सेवाकर्ताहरू बनाउनुहुने भएकोले, तिनीहरूको लागि उहाँले तोक्नुभएका आवश्यक मापदण्डहरू हुन्छन्; उहाँले तिनीहरूलाई नीच ठान्‍नुहुन्‍न, न त उहाँले तिनीहरूसँग झारा टार्ने व्यवहार नै गर्नुहुन्छ। तिनीहरूले उहाँका वचनहरूलाई बुझ्‍न नसके पनि र तिनीहरूसँग जीवन नभए पनि, परमेश्‍वरले तिनीहरूलाई दयालु व्यवहार नै गर्नुहुन्छ, र उहाँले तिनीहरूले पूरा गर्नैपर्ने भनी तोक्नुभएका आवश्यक कुराहरूको हकमा मापदण्डहरू हुन्छन्। तिमीहरूले भर्खरै यी मापदण्डहरूका बारेमा बतायौ: परमेश्‍वरप्रति निष्ठावान हुनु र उहाँले भनेको काम गर्नु। तैँले सेवा गर्दा, तैँले जहाँ आवश्यक छ त्यहाँ सेवा गर्नुपर्छ, र तैँले अन्तिमसम्‍मै सेवा गर्नुपर्छ। यदि तँ निष्ठावान सेवाकर्ता हुन सक्छस् भने, अन्तिमसम्‍मै सेवा गर्न सक्छस् र परमेश्‍वरले तँलाई सुम्पनुभएको कार्यभारलाई पूरा गर्न सक्छस् भने, तैँले मूल्यवान् जीवन जिउनेछस्। यदि तैँले यसो गर्न सक्छस् भने, तँ रहन सक्‍नेछस्। यदि तैँले अलि बढी प्रयास गरिस् भने, यदि तैँले अझै बढी कडा परिश्रम गरिस्, परमेश्‍वरलाई चिन्‍ने तेरो प्रयासलाई दुई गुणा बढाइस् भने, परमेश्‍वरलाई चिन्‍ने बारेमा थोरै बोल्‍न सक्छस् भने, उहाँको गवाही दिन सक्छस् भने, साथै तैँले उहाँको इच्‍छाको कुनै कुरालाई बुझ्‍न सक्छस्, परमेश्‍वरको कार्यमा सहकार्य गर्न सक्छस्, र परमेश्‍वरका अभिप्रायहरूको बारेमा कुनै न कुनै हिसाबले ध्यान दिन सक्छस् भने, सेवाकर्ताको रूपमा तैँले सौभाग्यमा परिवर्तन भएको अनुभव गर्नेछस्। अनि यो सौभाग्यमा हुने परिवर्तन के हुनेछ त? तँ रहन मात्रै सक्‍नेछैनस्। तेरो आचरण र तेरा व्यक्तिगत आकाङ्क्षा र खोजीहरू अनुसार, परमेश्‍वरले तँलाई चुनिएका व्यक्तिहरू मध्येको एक बनाउनुहुनेछ। तेरो सौभाग्यमा हुने परिवर्तन यही हुनेछ। सेवाकर्ताहरूको लागि, यसबारेमा सबैभन्दा उत्तम कुरा के हो त? यो तिनीहरू परमेश्‍वरको चुनिएको मानिस बन्‍न सक्छन् भन्‍ने कुरा नै हो। यदि तिनीहरू त्यस्तो बन्‍न सके भने, यसको अर्थ अब उप्रान्त अविश्‍वासीहरूजस्तो पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछैन। के त्यो असल कुरा होइन र? हो, र यो असल खबर पनि हो: यसको अर्थ सेवाकर्ताहरू पनि परिवर्तन हुन सक्छन्। सेवाकर्ताको हकमा, परमेश्‍वरले तिनीहरूलाई एक पटक सेवा गर्न पूर्वनिर्धारित गर्नुभएपछि, तिनीहरूले सदासर्वदा त्यसो गर्नेछन् भन्‍ने हुँदैन; त्यस्तै भइरहनुपर्छ भन्‍ने छैन। यस व्यक्तिको व्यक्तिगत आचरण सुहाउँदो हुने गरी नै उहाँले त्यस व्यक्तिसँग व्यवहार गर्नुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ।

तैपनि, अन्त्यसम्‍मै सेवा गर्न नसक्‍ने सेवाकर्ताहरू पनि हुन्छन्; सेवाको अवधिमा, आधा बाटोमा नै हार मान्ने र परमेश्‍वरलाई त्याग्‍ने मानिसहरू, साथै धेरै गलत कार्यहरू गर्ने मानिसहरू पनि हुन्छन्। परमेश्‍वरको कार्यलाई धेरै हानि गर्ने र यसमा धेरै घाटा ल्याउने मानिसहरू पनि हुन्छन्, र परमेश्‍वरलाई सराप्‍ने आदि इत्यादि कार्य गर्ने सेवाकर्ताहरू पनि हुन्छन्। यी सुधार गर्न नसकिने परिणामहरूले के सङ्केत गर्छन्? त्यस्तो कुनै पनि दुष्ट कार्यहरूले तिनीहरूका सेवाको समाप्तिलाई जनाउँछ। तेरो सेवाको अवधिमा तेरो आचरण अत्यन्तै खराब रहेकोले र तँ अति हदसम्‍म पुगेको हुनाले, परमेश्‍वरले तेरो सेवा मापदण्ड अनुरूप छैन भन्‍ने देख्‍नुभएपछि, उहाँले तँलाई सेवा गर्ने तेरो योग्यताबाट निकालिदिनुहुनेछ। उहाँले तँलाई अब उप्रान्त सेवा गर्न दिनुहुनेछैन; उहाँले तँलाई उहाँको नजरबाट र परमेश्‍वरको घरबाट निकालिदिनुहुनेछ। के यो तैँले सेवा गर्न नचाहेर हो? के तैँले निरन्तर दुष्ट कार्य गर्न चाहँदैनस् र? के तँ निरन्तर अविश्‍वासयोग्य हुँदैनस् र? त्यसो भए, एउटा सहज समाधान छ: तँलाई सेवा गर्ने तेरो योग्यताबाट हटाइनेछ। परमेश्‍वरको लागि, सेवाकर्तालाई सेवा गर्ने उसको योग्यताबाट हटाउनुको अर्थ यो सेवाकर्ताको अन्त्यको घोषणा गरिएको छ, र ऊ अब उप्रान्त परमेश्‍वरको सेवा गर्नको लागि योग्य हुनेछैन भन्‍ने हुन्छ। परमेश्‍वरलाई अब उप्रान्त यस व्यक्तिको सेवाको खाँचो हुँदैन, र तिनीहरूले जस्तोसुकै राम्रो कुरा बोले पनि, ती शब्‍दहरू व्यर्थ हुनेछन्। जब काम-कुराहरू यस्तो अवस्थामा आइपुगेका हुन्छन्, परिस्थिति समाधान गर्न नसकिने अवस्थामा पुगेको हुनेछ; यस्ता सेवाकर्ताहरू पछि फर्केर आउने कुनै उपाय हुनेछैन। अनि परमेश्‍वरले यस्ता सेवाकर्ताहरूसँग कसरी व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई सेवा गर्नबाट मात्रै रोक्‍नुहुन्छ? होइन। के उहाँले तिनीहरूलाई रहनबाट मात्रै रोक्‍नुहुन्छ? कि, उहाँले तिनीहरूलाई एकपट्टि राखेर तिनीहरू फर्किऊन् भनेर प्रतीक्षा गर्नुहुन्छ? उहाँले त्यसो गर्नुहुन्‍न। सेवाकर्ताहरूका हकमा, परमेश्‍वर त्यति प्रेमिलो हुनुहुन्‍न, यो साँचो कुरा हो। यदि परमेश्‍वरको सेवाप्रति व्यक्तिको मनोवृत्ति यस्तो छ भने, यो मनोवृत्तिको परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूलाई सेवा गर्ने तिनीहरूको योग्यताबाट हटाउनुहुनेछ, र फेरि पनि तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा फ्याँक्‍नुहुनेछ। अनि अविश्‍वासीहरूका बीचमा फ्याँकिएको सेवाकर्ताको भवितव्य के हुन्छ त? यो अविश्‍वासीहरूको जस्तै हुन्छ: तिनीहरूको पुनर्जन्‍म पशु-प्राणीको रूपमा हुनेछ र आत्मिक संसारमा अविश्‍वासीको रूपमा दण्ड प्राप्त गर्नेछन्। यसअलावा, यस व्यक्तिको दण्डमा परमेश्‍वरले कुनै व्यक्तिगत चासो दिनुहुनेछैन, किनभने परमेश्‍वरको कार्यसँग त्यस्तो व्यक्तिको कुनै उचित सम्‍बन्ध हुँदैन। यो परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको जीवनको अन्त्य मात्रै हुँदैन, बरु यो त तिनीहरूको आफ्‍नै भवितव्यको समाप्ति, साथै तिनीहरूको भवितव्यको घोषणा पनि हुन्छ। तसर्थ, यदि सेवाकर्ताहरूले नराम्ररी सेवा गर्छन् भने, तिनीहरूले आफै परिणामहरू भोग्‍नुपर्ने हुन्छ। यदि सेवाकर्ताले अन्तिमसम्‍मै सेवा गर्न सक्दैन, वा आधा बाटोमा सेवा गर्ने उसको योग्यताबाट हटाइन्छ भने, तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा फ्याँकिनेछ—र यदि यसो भयो भने, यस्तो व्यक्तिलाई चौपायाजस्तै, बौद्धिकता वा चेतना नभएका मानिसहरूलाई जस्तै व्यवहार गरिनेछ। मैले यस कुरालाई यसरी बताउँदा, तिमीहरूले बुझ्‍न सक्छौ, होइन त?

उपर्युक्त कुरा परमेश्‍वरलाई पछ्याउने मानिसहरू र सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रलाई परमेश्‍वरले कसरी सम्‍हाल्‍नुहुन्छ भन्‍ने बारेमा थियो। यो कुरा सुनेपछि, तिमीहरूलाई कस्तो अनुभूति भयो? के मैले यस विषयमा पहिले कहिल्यै बताएको थिएँ? के मैले कहिल्यै परमेश्‍वरका चुनिएका मानिसहरू र सेवाकर्ताहरूको विषयमा बोलेको छु? मैले वास्तवमा यस विषयमा कुरा गरेको छु, तर तिमीहरूलाई याद छैन। आफ्‍ना चुनिएका मानिसहरू र सेवाकर्ताहरूप्रति परमेश्‍वर धर्मी हुनुहुन्छ। सबै कुराको विषयमा, उहाँ धर्मी हुनुहुन्छ। यसमा तिमीहरूले कहीँ त्रुटि भेट्न सक्छौ? के यसो भन्‍ने मानिसहरू छैनन् र, “चुनिएका मानिसहरूप्रति परमेश्‍वर किन यति सहनशील हुनुहुन्छ? अनि सेवाकर्ताहरूप्रति उहाँ किन थोरै मात्र सहनशील हुनुहुन्छ?” के सेवाकर्ताहरूका लागि कोही खडा हुन चाहन्छ? “के परमेश्‍वरले सेवाकर्ताहरूका लागि थप समय दिन, र तिनीहरूप्रति थप धैर्य र सहनशील हुन सक्‍नुहुन्छ?” के त्यस्तो प्रश्‍न उठाउनु सही कुरा हो? (होइन, यो सही होइन।) किन होइन? (किनभने हामीलाई सेवाकर्ताहरू बनाउने कार्यमार्फत नै वास्तवमा निगाह प्रदान गरिसकिएको हुन्छ।) सेवा गर्नको लागि अनुमति दिएर नै सेवाकर्ताहरूलाई वास्तवमा निगाह प्रदान गरिसकिएको हुन्छ! “सेवाकर्ताहरू” भन्‍ने पदवीविना, र तिनीहरूले गर्ने कामविना, यी मानिसहरू कहाँ हुनेथिए? तिनीहरू चौपायाहरूसँग बस्दै र मर्दै अविश्‍वासीहरूका बीचमा हुनेथिए। परमेश्‍वरको सामुन्ने आउन र परमेश्‍वरको घरमा आउन पाएर तिनीहरूले आज कति महान् अनुग्रह पाएका छन्! यो त निकै ठूलो अनुग्रह हो! यदि परमेश्‍वरले तँलाई सेवा गर्ने यो मौका नदिनुभएको भए, तैँले उहाँको सामुन्ने आउने मौका कहिल्यै पाउने थिइनस्। कम्तीमा पनि, यदि तँ बुद्ध धर्मावलम्बी होस् र तैँले फल प्राप्त गरेको छस् भने पनि, तँ बढीमा आत्मिक संसारको एउटा तल्लो तहको कर्मचारीबाहेक केही पनि होइनस्; तैँले परमेश्‍वरलाई कहिल्यै पनि भेट्नेछैनस्, उहाँको आवाज वा उहाँका वचनहरू सुन्‍नेछैनस्, वा उहाँको प्रेम र आशिष्‌हरू अनुभव गर्नेछैनस्, न त तँ कहिल्यै परमेश्‍वरको आमने-सामने आउने सम्‍भावना नै हुन्छ। बुद्ध धर्मावलम्बीहरूका सामुन्ने हुने कुराहरू भनेका सरल कार्यहरू मात्रै हुन्। तिनीहरूले परमेश्‍वरलाई चिन्‍नु असम्‍भव छ, र तिनीहरूले केवल आज्ञापालन गर्छन् र हुकुम मान्छन्, तर सेवाकर्ताहरूले कामको यो चरणको अवधिमा धेरै कुरा प्राप्त गर्छन्! पहिलो, तिनीहरू परमेश्‍वरको आमने-सामने आउन, उहाँको आवाज सुन्‍न, उहाँका वचनहरू सुन्‍न, र उहाँले मानिसहरूलाई दिनुहुने अनुग्रह र आशिष्‌हरू अनुभव गर्न सक्छन्। यसको साथै, तिनीहरूले परमेश्‍वरद्वारा दिइएका वचन र सत्यताहरूको आनन्द लिन सक्छन्। सेवाकर्ताहरूले साँच्‍चै धेरै कुरा प्राप्त गर्न सक्छन्! तसर्थ, सेवाकर्ताको रूपमा, तैँले उचित प्रयास समेत गर्न सक्दैनस् भने, के परमेश्‍वरले तँलाई राख्‍न सक्‍नुहुन्छ त? उहाँले तँलाई राख्‍न सक्‍नुहुन्‍न। उहाँले तँलाई त्यति धेरै माग्‍नुहुन्‍न, तैपनि उहाँले माग्‍नुभएको केही पनि कुरा तैँले उचित रूपमा गर्दैनस्; तैँले तेरो कर्तव्य पालन गरेको छैनस्। तसर्थ, परमेश्‍वरले तँलाई राख्‍न सक्‍नुहुन्‍न भन्‍ने कुरामा कुनै शङ्का छैन। परमेश्‍वरको धर्मी स्वभाव यही हो। परमेश्‍वरले तँलाई पुलपुल्याउनुहुन्‍न, तर उहाँले तँलाई पक्षपात पनि गर्नुहुन्‍न। परमेश्‍वरले काम गर्नुहुने सिद्धान्तहरू यिनै हुन्। परमेश्‍वरले सबै मानिस र प्राणीहरूलाई यसरी नै व्यवहार गर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९४

परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्र (छनौट गरिएको खण्ड)

यदि आत्मिक संसारका विभिन्‍न जीवत्वहरूले कुनै गलत कार्य गर्छन् वा तिनीहरूले आफ्‍नो काम सही तरिकाले गर्दैनन्, तब तिनीहरूको निराकरण गर्नको लागि परमेश्‍वरसँग सम्‍बन्धित स्वर्गीय आदेश र उर्दीहरू हुन्छन्; यो ठोस कुरा हो। त्यसकारण, परमेश्‍वरको हजारौं वर्षको व्यवस्थापन कार्यको अवधिमा, गलत कार्य गर्ने कतिपय कर्तव्य निर्वाहकर्ताहरूलाई समाप्त पारिएको छ, र कतिलाई आजको दिनसम्‍म नै थुनामा राखिएको र दण्ड दिइएको छ। आत्मिक संसारमा हरेक प्राणीले सामना गर्नुपर्ने कुरा यही हो। यदि तिनीहरूले कुनै गलत वा दुष्ट कार्य गरे भने, तिनीहरूलाई दण्ड दिइन्छ—र यो कुरा परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरू र सेवाकर्ताहरूलाई गर्नुहुने व्यवहार जस्तै छ। तसर्थ, आत्मिक संसार र भौतिक संसार दुवैमा, परमेश्‍वरले जुन सिद्धान्तहरू अनुसार काम गर्नुहुन्छ, ती परिवर्तन हुँदैनन्। तैँले परमेश्‍वरका कार्यहरूलाई देख्‍न सके पनि नसके पनि, तिनका सिद्धान्तहरू परिवर्तन हुँदैनन्। सम्पूर्ण समयमा, परमेश्‍वरले सबै थोकलाई गर्ने व्यवहार र सबै थोकलाई सम्‍हाल्‍ने कार्यमा उही सिद्धान्तहरू अनुसार काम गर्नुभयो। यो अपरिवर्तनीय कुरा हो। परमेश्‍वरले तुलनात्मक रूपमा उचित तरिकाले जिउने अविश्‍वासीहरूलाई दया गर्नुहुनेछ, र हरेक धर्ममा रही राम्रो व्यवहार गर्ने र दुष्ट कार्य नगर्नेहरूलाई अवसरहरू दिनुहुनेछ, र परमेश्‍वरले व्यवस्थापन गर्नुहुने सबै थोकमा तिनीहरूलाई आफ्‍नो भूमिका निर्वाह गर्न र तिनीहरूले गर्नुपर्ने कार्य गर्न दिनुहुनेछ। यसरी नै, परमेश्‍वरलाई पछ्याउनेहरू, र उहाँका चुनिएका मानिसहरूलाई परमेश्‍वरले उहाँका यी सिद्धान्तहरू अनुसार कुनै पनि व्यक्तिलाई पक्षपात गर्नुहुन्‍न। इमानदार रूपमा उहाँलाई पछ्याउन सक्‍ने हरेक व्यक्तिप्रति उहाँ दयालु हुनुहुन्छ, र उहाँलाई इमानदार रूपमा पछ्याउने प्रत्येकलाई उहाँले प्रेम गर्नुहुन्छ। यति मात्रै हो कि यी विभिन्‍न प्रकारका मानिसहरूलाई—अविश्‍वासीहरू, विश्‍वासका विभिन्‍न प्रकारका मानिसहरू, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई—उहाँले दिनुहुने कुराहरू फरक-फरक हुन्छन्। उदाहरणको लागि अविश्‍वासीहरूलाई लिऊँ: तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरे तापनि, र परमेश्‍वरले तिनीहरूलाई पशुका रूपमा हेर्नुहुने भए तापनि, सबै थोकको बीचमा तिनीहरू प्रत्येकसँग खानलाई खाने कुरा, बस्‍नलाई तिनीहरूको आफ्‍नै स्थान, र जीवन र मृत्युको सामान्य चक्र हुन्छ। दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिइन्छ, र असल कार्य गर्नेहरू आशिषित हुन्छन् र तिनीहरूले परमेश्‍वरको दया प्राप्त गर्छन्। कुरा यही त हो नि, होइन र? विश्‍वासका मानिसहरूको हकमा, यदि तिनीहरूले एक जन्‍मपछि अर्को जन्‍मसम्‍म तिनीहरूका धार्मिक नियमहरूलाई कठोरताका साथ पालन गर्न सक्छन् भने, ती सबैको पुनर्जन्मपछि, परमेश्‍वरले तिनीहरूका निम्ति उहाँको घोषणा गर्नुहुनेछ। त्यसै गरी, आज तिमीहरूको हकमा, तिमीहरू परमेश्‍वरका चुनिएका मानिसहरू भए पनि वा सेवाकर्ता भए पनि, परमेश्‍वरले आफूले तय गर्नुभएका नियम र प्रशासनिक आदेशहरू अनुसार नै तिमीहरूलाई उचित मार्गमा ल्याउनुहुनेछ र तिमीहरूको परिणाम निर्धारित गर्नुहुनेछ। यस प्रकारका मानिसहरूमध्ये, विश्‍वासका फरक-फरक प्रकारका मानिसहरूलाई—अर्थात्, विभिन्‍न धर्मका मानिसहरूलाई—के परमेश्‍वरले बस्‍ने ठाउँ दिनुभएको छ? यहूदीहरू कहाँ छन्? के परमेश्‍वरले तिनीहरूको विश्‍वासमा हस्तक्षेप गर्नुभएको छ? उहाँले गर्नुभएको छैन। अनि इसाईहरूको हकमा नि? उहाँले तिनीहरूलाई पनि हस्तक्षेप गर्नुभएको छैन। उहाँले तिनीहरूलाई तिनीहरूका आफ्‍नै पद्धतिहरू पालन गर्न दिनुहुन्छ, उहाँले तिनीहरूसँग कुराकानी गर्ने वा तिनीहरूलाई अन्तर्दृष्टि दिने गर्नुहुन्‍न, यस अलावा, उहाँले तिनीहरूलाई कुनै पनि कुरा प्रकट गर्नुहुन्‍न। यदि तँलाई यो सही लाग्छ भने, यसरी नै विश्‍वास गर्। क्याथोलिकहरूले मरियममा विश्‍वास गर्छन्, र तिनले नै येशूलाई सुसमाचार हस्तान्तरण गरिन् भनी विश्‍वास गर्छन्; तिनीहरूको विश्‍वासको रूप त्यस्तै छ। के परमेश्‍वरले कहिल्यै तिनीहरूको विश्‍वासलाई सुधार गर्नुभएको छ र? उहाँले तिनीहरूलाई स्वतन्त्रता दिनुहुन्छ; उहाँले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न र तिनीहरूलाई जिउनको लागि निश्‍चित क्षेत्र दिनुहुन्छ। मुस्लिमहरू र बुद्ध धर्मावलम्बीहरूका हकमा पनि, यही कुरा लागू हुँदैन र? उहाँले तिनीहरूका लागि पनि सीमाहरू तय गर्नुभएको छ, र तिनीहरूको सम्बन्धित विश्‍वासमा हस्तक्षेप नगरीकन, तिनीहरूलाई जिउने आफ्‍नै क्षेत्र दिनुभएको छ। सबै कुरा सुव्यवस्थित छन्। अनि यी सबैमा तिमीहरू के देख्छौ? परमेश्‍वरसँग अख्‍तियार छ, तर उहाँले यसको दुरुपयोग गर्नुहुन्‍न। परमेश्‍वरले सबै थोकलाई सर्वोत्तम रूपले सुव्यवस्थित क्रममा मिलाउनुहुन्छ र सुव्यवस्थित रूपमा उहाँले यसो गर्नुहुन्छ, र यसैमा उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९५

परमेश्‍वर स्वयम्‌को पहिचान र हैसियत

सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ, र अस्तित्वमा भएका सबै थोकमाथि उहाँले नै शासन गर्नुहुन्छ, र अस्तित्वमा भएका सबै थोकलाई उहाँले नै भरणपोषण गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। सबै थोक र अस्तित्वमा रहेका सबै कुराको लागि, परमेश्‍वरको साँचो पहिचान भनेको सबै सृष्टिको सृष्टिकर्ता र शासक हो। परमेश्‍वरको पहिचान यही हो, र उहाँ सबै थोकका बीचमा अद्वितीय हुनुहुन्छ। परमेश्‍वरका कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक संसारमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नको लागि कुनै पनि माध्यम वा बहानाको प्रयोग गर्न सक्दैनन्, किनभने सबै थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र सृष्टिमाथि शासन गर्ने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ सबै थोकमाझ जिउनुहुन्छ र घुमफिर गर्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न सक्‍नुहुन्छ। मानिस बनेर, देह र रगतकाहरूमध्ये एक बनेर, मानिसहरूको आमने-सामने आएर अनि तिनीहरूसँग खुशी र दुःख बाँडेर उहाँले आफैलाई नम्र तुल्याउन सक्‍नुहुन्छ, यसको साथै उहाँले अस्तित्वमा रहेका सबै थोकको नियति र यो सबै अघि बढ्ने दिशा निर्धारण गर्दै अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिलाई मार्गनिर्देशित गर्नुहुन्छ, र मानवजातिको दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई सबै मानवजातिले आराधना गर्नुपर्छ, आज्ञापालन गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरलाई श्रद्धा गर्नु, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्नु र तेरो भाग्यको लागि उहाँका बन्दोबस्तहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति र कुनै पनि जीवित प्राणीको लागि एउटै मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो। परमेश्‍वरको अद्वितीयपनमा, मानिसहरूले उहाँको अख्‍तियार, उहाँको धर्मी स्वभाव, उहाँको सार देख्छन् अनि उहाँले सबै थोकलाई भरणपोषण गर्ने माध्यमहरू सबै पूर्ण रूपमा अद्वितीय रहेको देख्छन्; यो अद्वितीयपनले परमेश्‍वर स्वयम्‌को साँचो पहिचानलाई निर्धारित गर्छ, र यसले उहाँको हैसियतलाई पनि निर्धारित गर्छ। त्यसकारण, सारा सृष्टिको बीचमा, परमेश्‍वरको अनुकरण गर्ने प्रयास असम्‍भव भएझैँ आत्मिक संसारमा वा मानवजातिको बीचमा रहेको कुनै पनि जीवित प्राणीले परमेश्‍वरको स्थानमा खडा हुने इच्‍छा गर्थ्यो भने, त्यस कार्यमा सफलता मिल्न असम्‍भव हुनेथियो। तथ्य यही नै हो। यस्तो सृष्टिकर्ता र शासक, जोसँग परमेश्‍वर स्‍वयम्‌को पहिचान, शक्ति, र हैसियत छ, मानवजातिप्रति उहाँका मापदण्डहरू के-के छन् त? यो कुरा सबैको लागि स्पष्ट हुनुपर्ने हो, र यसलाई सबैले याद गर्नुपर्ने हो; यो परमेश्‍वर र मानिस दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९६

परमेश्‍वरप्रति मानवजातिका विभिन्‍न मनोवृत्तिहरू

मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसले तिनीहरूको भवितव्यका साथै परमेश्‍वरले कसरी तिनीहरूसित व्यवहार गर्नुहुन्छ र तिनीहरूको निराकरण गर्नुहुन्छ त्यसलाई निर्धारित गर्छ। यस विन्दुमा, म मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसका केही उदाहरणहरू दिन्छु। हामी सुनौं र तिनीहरूले परमेश्‍वरको सामुन्ने गर्ने व्यवहारको तरिका र मनोवृत्ति सही छन् कि छैनन् हेरौं। हामी निम्‍न सात प्रकारका मानिसहरूका आचरणको बारेमा विचार गरौं।

१) एक प्रकारको व्यक्ति छ, परमेश्‍वरप्रति जसको मनोवृत्ति निश्‍चित रूपमा मूर्ख किसिमको छ। यी मानिसहरूले परमेश्‍वर बोधिसत्त्व वा मानव ज्ञानका पवित्र प्राणी हुनुहुन्छ, र मानिसले भेट्दा तीन पटक निहुरेर दण्डवत् गर्नुपर्छ, र हरेक पटक खानपान गर्दा धूप बाल्‍नुपर्छ भन्‍ने ठान्छन्। परिणामस्वरूप, तिनीहरू जब-जब उहाँको अनुग्रहप्रति अत्यन्तै आभारी हुन्छन् र उहाँप्रति कृतज्ञताको अनुभूति गर्छन्, तिनीहरूले प्रायजसो यस्तै आवेगपूर्ण कार्य गर्छन्। त्यसरी तिनीहरूले आफूले आज विश्‍वास गर्ने परमेश्‍वरले, आफूले आफ्‍नो हृदयमा अत्यन्तै चाहना गरेको पवित्र प्राणीले जस्तै, भेट हुँदा तीन पटक ढोग्‍ने र हरेक खानामा धूप बाल्‍ने कार्यलाई स्वीकार गरून् भन्‍ने चाहना गर्छन्।

२) कतिपय मानिसहरूले परमेश्‍वरलाई सबै जीवित प्राणीलाई कष्टबाट मुक्त गर्न र तिनीहरूलाई मुक्ति दिन सक्‍ने जीवित बुद्धको रूपमा हेर्छन्; तिनीहरूले उहाँलाई कष्टको सागरबाट तिनीहरूलाई टाढा लैजान सक्‍ने जीवित बुद्धको रूपमा हेर्छन्। परमेश्‍वरमाथिको यी मानिसहरूको विश्‍वासमा यिनीहरूले उहाँलाई बुद्धलाई जस्तै आराधना गर्ने कार्य पर्छ। तिनीहरूले धूप बाल्‍ने, प्रणाम गर्ने, वा भेटी दिने कार्य नगर्ने भए तापनि, अन्तस्करणमा तिनीहरूलाई के लाग्छ भने परमेश्‍वर बुद्ध जस्तै हुनुहुन्छ जसले तिनीहरूलाई दयालु र परोपकारी बन्‍न अनुरोध गर्नुहुन्छ, तिनीहरूले कुनै पनि जीवित प्राणी नमारून्, अरूलाई मनपरी नभनून्, इमानदार देखिने जीवन जिऊन्, र कुनै गलत कार्य नगरून् भन्‍ने चाहनुहुन्छ। यी कुराहरू नै उहाँले तिनीहरूबाट चाहनुहुने सबै कुरा हुन् भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ; तिनीहरूको हृदयको परमेश्‍वर यही नै हो।

३) कतिपय मानिसहरूले परमेश्‍वरलाई कुनै महान् वा चर्चित व्यक्तिलाई जस्तो आराधना गर्छन्। उदाहरणको लागि, यो महान् व्यक्तिले जुन माध्यमद्वारा बोल्छ, उसले जस्तो शैलीमा बोल्छ, उसले जे-जस्ता शब्‍द र शब्‍दभण्डारको प्रयोग गर्छ, उसको स्वर, उसको हातको हाउभाउ, उसका विचार र कार्यहरू, उसको कार्यशैली—तिनीहरूले यी सबै कुराको नक्‍कल गर्छन्, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको यात्रामा तिनीहरूले पूर्ण रूपमा उत्पन्‍न गर्नुपर्ने कुराहरू यिनै हुन्छन्।

४) कतिपय मानिसहरूले परमेश्‍वरलाई सम्राटको रूपमा हेर्छन्, अनि उहाँ अरू सबैभन्दा माथि हुनुहुन्छ र कसैले पनि उहाँलाई ठेस पुर्‍याउन सक्दैन—अनि तिनीहरूलाई यदि कसैले त्यसो गर्‍यो भने, त्यस व्यक्तिलाई दण्ड दिइनेछ भन्‍ने लाग्छ। तिनीहरूले त्यस्तो सम्राटलाई आराधना गर्छन् किनभने सम्राटहरूले तिनीहरूको हृदयमा निश्‍चित ठाउँ ओगटेका हुन्छन्। यी मानिसहरूलाई ती सम्राटहरूका विचार, व्यवहार, अख्‍तियार, र प्रकृति—तिनीहरूका रुचि र व्यक्तिगत जीवनसमेत—सबै नै आफूले बुझ्‍नैपर्ने कुरा हुन् भन्‍ने लाग्छ; ती कुराहरू तिनीहरूले चासो दिने समस्या र विषयहरू बन्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरलाई सम्राटको रूपमा आराधना गर्छन्। त्यस्तो किसिमको विश्‍वास हास्यास्पद छ।

५) परमेश्‍वरको अस्तित्वको बारेमा कतिपय मानिसहरूसँग विशेष विश्‍वास हुन्छ, र यो विश्‍वास प्रगाढ र अटल हुन्छ। तैपनि परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान सतही हुने भएकोले, र तिनीहरूसँग उहाँका वचनहरूको त्यति धेरै अनुभव नहुने भएकोले, तिनीहरूले उहाँलाई मूर्तिलाई जस्तो पूजा गर्छन्। यही मूर्ति नै तिनीहरूको हृदयमा बसेको परमेश्‍वर हुन्छ; तिनीहरूलाई यो मूर्ति तिनीहरूले डर मान्‍नुपर्ने र दण्डवत् गर्नुपर्ने, र तिनीहरूले पछ्याउनैपर्ने र अनुकरण गर्नैपर्ने कुरा हो भन्‍ने लाग्छ। परमेश्‍वरलाई तिनीहरूले आफूले आफ्‍नो जीवनभरि पछ्याउनुपर्ने मूर्तिको रूपमा हेर्छन्। तिनीहरूले परमेश्‍वरले बोल्‍नुहुने शैलीको नक्‍कल गर्छन् अनि बाहिरी रूपमा परमेश्‍वरले मन पराउनुहुनेहरूको अनुकरण गर्छन्। तिनीहरूले प्रायजसो सोझो, शुद्ध, र इमानदार देखिने काम-कुराहरू गर्छन्, र तिनीहरूले यस मूर्तिलाई अलग हुनै नसकिने मित्र वा सहकर्मीलाई झैँ गरेर समेत पछ्याउँछन्। तिनीहरूको विश्‍वासको रूप यस्तै हुन्छ।

६) एक प्रकारका मानिसहरू यस्ता छन्, जसले परमेश्‍वरका धेरै वचनहरू पढे पनि र धेरै प्रचार सुने पनि, भित्र हृदयमा तिनीहरूले के अनुभूति गर्छन् भने परमेश्‍वरप्रति तिनीहरूले गर्ने व्यवहारको एउटै सिद्धान्त भनेको तिनीहरू जहिल्यै पनि चापलुसी र चाकडी गर्ने हुनुपर्छ, वा तिनीहरूले अवास्तविक तरिकाले परमेश्‍वरको प्रशंसा गर्नुपर्छ र उहाँको तारिफ गर्नुपर्छ। तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वर तिनीहरूलाई त्यस्तो व्यवहार गर्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ। यसअलावा, तिनीहरूले के विश्‍वास गर्छन् भने, यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले कुनै पनि समयमा उहाँलाई रिस उठाउन सक्छन् वा उहाँको विरुद्धमा पाप गर्न पुग्‍छन्, र यो पापको परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। तिनीहरूले आफ्‍नो हृदयमा राख्‍ने परमेश्‍वर यस्तै हुन्छ।

७) अनि त्यसपछि अधिकांश मानिसहरू यस्ता छन्, जसले परमेश्‍वरमा आत्मिक भरण-पोषण प्राप्त गर्छन्। किनभने तिनीहरू यो संसारमा जिउँछन्, तिनीहरू शान्ति वा खुशी रहित छन्, र तिनीहरूले अरू कतै पनि सान्त्वना पाउँदैनन्। तिनीहरूले परमेश्‍वरलाई भेटेपछि, तिनीहरूले उहाँका वचनहरू देखेपछि र सुनेपछि, तिनीहरूले आफ्‍नो हृदयमा गोप्य आनन्द र हर्षलाई बास दिन थाल्छन्। यस्तो हुन्छ किनभने तिनीहरूलाई विश्‍वास हुन्छ कि तिनीहरूले बल्ल तिनीहरूको आत्मालाई खुशी पार्ने स्थान भेटेका छन्, र तिनीहरूले तिनीहरूलाई आत्मिक भरण-पोषण दिनुहुने परमेश्‍वरलाई बल्ल भेटेका छन्। तिनीहरूले परमेश्‍वरलाई ग्रहण गरेर उहाँलाई पछ्याउन थालेपछि, तिनीहरू खुशी हुन्छन्, र तिनीहरूको जीवन भरिपूर्ण हुन्छ। तिनीहरूले अब उप्रान्त पशुजस्तो दिवा-स्वप्न देख्दै अघि बढ्ने अविश्‍वासीहरूजस्तो व्यवहार गर्दैनन्, र जीवनमा तिनीहरूले अपेक्षा गर्ने कुनै कुरा छ भन्‍ने अनुभूति गर्छन्। तसर्थ, तिनीहरूलाई यस परमेश्‍वरले तिनीहरूको आत्मिक आवश्यकताहरूलाई धेरै रूपमा सन्तुष्ट तुल्याउन सक्‍नुहुन्छ र तिनीहरूको मन र आत्मा दुवैमा तिनीहरूलाई ठूलो खुशी दिन सक्‍नुहुन्छ भन्‍ने लाग्छ। थाहै नपाई, तिनीहरू त्यस्तो आत्मिक भरण-पोषण दिनुहुने, र तिनीहरूका आत्मामा र तिनीहरूको परिवारका सबै सदस्यहरूमा खुशी ल्याउनुहुने परमेश्‍वरलाई छोड्नै नसक्‍ने अवस्थामा पुग्छन्। तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासले आत्मिक भरण-पोषण बाहेक अरू केही पनि ल्याउनु आवश्यक छैन भन्‍ने विश्‍वास गर्छन्।

के तिमीहरूमध्ये कसैसँग परमेश्‍वरप्रति यी माथि उल्लेखित मनोवृत्तिहरू छन्? (छन्।) यदि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, व्यक्तिको हृदयमा तीमध्ये कुनै मनोवृत्ति छ भने, के तिनीहरू साँचो रूपमा परमेश्‍वरको अघि आउन सक्छन्? यदि व्यक्तिको हृदयमा यीमध्ये कुनै मनोवृत्ति छ भने, के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्? के त्यस्तो व्यक्तिले अद्वितीय परमेश्‍वर स्वयम्‌लाई विश्‍वास गर्छ? (गर्दैन।) तैँले अद्वितीय परमेश्‍वर स्वयम्‌लाई विश्‍वास गर्दैनस् भने, तैँले कसलाई विश्‍वास गर्छस्? यदि तैँले जसलाई विश्‍वास गर्छस् त्यो अद्वितीय परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्न भने, सायद तैँले मूर्तिमा, वा महान् व्यक्तिमा, वा बोधिसत्त्वमा विश्‍वास गर्छस् होला, वा तैँले आफ्‍नो हृदयमा भएको बुद्धलाई आराधना गर्छस् होला। यसअलावा, सायद तैँले साधारण व्यक्तिमा विश्‍वास गर्छस् होला। छोटकरीमा भन्दा, परमेश्‍वरप्रतिको मानिसहरूको विभिन्‍न प्रकारका विश्‍वास र मनोवृत्तिको कारण, तिनीहरूले आफ्नो हृदयमा आफ्‍नै ज्ञानको परमेश्‍वरलाई राख्छन्, परमेश्‍वरमाथि आफ्‍नै कल्‍पनाका कुरा लाद्छन्, परमेश्‍वरसम्‍बन्धी तिनीहरूका आफ्‍नै मनोवृत्ति र कल्‍पनाहरूलाई अद्वितीय परमेश्‍वर स्वयम्‌सँग राख्छन्, अनि त्यसपछि तिनलाई पवित्र ठान्छन्। परमेश्‍वरप्रति मानिसहरूको यस्तो अनुचित मनोवृत्ति हुनुको अर्थ के हो त? यसको अर्थ तिनीहरूले साँचो परमेश्‍वर स्वयम्‌लाई इन्कार गरेका छन् र एउटा झूटो ईश्‍वरको आराधना गरिरहेका छन् भन्‍ने हुन्छ; यसले के सङ्केत गर्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, तिनीहरूले उहाँलाई इन्कार गरिरहेका छन् र उहाँको विरोध गरिरहेका छन्, र तिनीहरूले साँचो परमेश्‍वरको अस्तित्वलाई इन्कार गरिरहेका छन्। यदि मानिसहरूले निरन्तर त्यस्तो विश्‍वास नै लिइरहन्छन् भने, तिनीहरूले के-कस्ता परिणामहरूको सामना गर्नेछन् त? त्यस्तो विश्‍वासद्वारा, के तिनीहरू परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्ने कार्यको नजिक पुग्न सक्‍नेछन् त? (अहँ, तिनीहरूले त्यसो गर्न सक्‍नेछैनन्।) यसको विपरीत, तिनीहरूका धारणा र कल्‍पनाहरूको कारण, तिनीहरू परमेश्‍वरको मार्गबाट झन्-झन् टाढा बरालिँदै जानेछन्, किनभने तिनीहरूले खोज्‍ने दिशा परमेश्‍वरले तिनीहरूलाई हिँड्न लगाउनुभएको दिशाको विपरीत हुन्छ। के तिमीहरूले कहिल्यै “उत्तर जाने रथमा चढेर दक्षिण जानु” भन्‍ने कथा सुनेका छौ? यो पनि उत्तर जाने रथमा चढेर दक्षिण जानु जस्तै हुन सक्छ। यदि मानिसहरूले त्यस्तो लट्याङपट्याङ तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तैँले जति कठिन प्रयास गर्छस्, तँ परमेश्‍वरबाट त्यति नै टाढा जानेछस्। त्यसैले, म तँलाई सल्‍लाह दिन्छु: तँ अघि बढ्नुभन्दा पहिले, सुरुमा तँ सही दिशामा गइरहेको छस् कि छैनस्, पत्ता लगा। आफ्‍ना प्रयासहरूमा विशेष ध्यान दे, र आफैलाई यो प्रश्‍न सोध्, “के मैले विश्‍वास गर्ने परमेश्‍वर सबै थोकका शासक हुनुहुन्छ? के मैले विश्‍वास गर्ने परमेश्‍वर आत्मिक भरण-पोषण दिने व्यक्ति मात्रै हुनुहुन्छ? के उहाँ मेरो मूर्ति मात्रै हुनुहुन्छ? मैले विश्‍वास गरेको यो परमेश्‍वरले मलाई के गर्न लगाउनुभएको छ? के मैले गर्ने सबै कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ? के मेरा सबै कार्य र खोजीहरू परमेश्‍वरलाई चिन्‍ने कार्यअनुरूप छन्? के ती उहाँले मलाई दिनुभएका मापदण्डहरू अनुरूप छन्? के मैले हिँड्ने मार्गलाई परमेश्‍वरले पहिचान र स्वीकृत गर्नुभएको छ? के उहाँ मेरो विश्‍वासप्रति सन्तुष्ट हुनुहुन्छ?” तैँले प्रायजसो र बारम्‍बार आफैलाई यी प्रश्‍नहरू सोध्‍नुपर्छ। यदि तँ परमेश्‍वरको ज्ञानको खोजी गर्न चाहन्छस् भने, तँ उहाँलाई सन्तुष्ट पार्ने कार्यमा सफल हुनुभन्दा पहिले तँसँग स्पष्ट विवेक र स्पष्ट उद्देश्यहरू हुनुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९७

परमेश्‍वरको मापदण्ड अनुरूप मानवजातिले उहाँप्रति राख्नुपर्ने मनोवृत्ति

वास्तवमा, परमेश्‍वरले मानवजातिलाई त्यति धेरै मापदण्ड दिनुहुन्न—वा, कम्तीमा, उहाँले मानिसहरूले कल्‍पना गरेजत्तिको मापदण्ड तोक्नुहुन्न। यदि परमेश्‍वरले कुनै वचनहरू नबोल्‍नुभएको भए, र यदि उहाँले उहाँको स्वभाव वा कुनै कामहरू व्यक्त नगर्नुभएको भए, तिमीहरूको निम्ति परमेश्‍वरलाई चिन्‍ने कार्य अत्यन्तै कठिन हुनेथियो, किनभने मानिसहरूले उहाँको अभिप्राय र इच्‍छाको बारेमा अनुमान गर्नुपर्ने हुनेथियो; यो कार्य गर्न अत्यन्तै कठिन हुनेथियो। तैपनि, आफ्‍नो कार्यको अन्तिम चरणमा, परमेश्‍वरले धेरै वचन बोल्‍नुभएको छ, धेरै काम गर्नुभएको छ, र मानिसहरूका लागि धेरै मापदण्डहरू तय गर्नुभएको छ। उहाँका वचनहरू, र उहाँका धेरै काममा, उहाँले मानिसहरूलाई उहाँले के मन पराउनुहुन्छ, के कुरालाई घृणा गर्नुहुन्छ, र तिनीहरू कस्तो प्रकारका मानिसहरू बन्‍नुपर्छ भन्‍नेबारेमा जानकारी दिनुभएको छ। यी कुराहरूलाई बुझिसकेपछि, मानिसहरूसँग परमेश्‍वरका मापदण्डहरूका बारेमा आफ्‍नो हृदयमा सटीक परिभाषा हुनुपर्छ, किनभने तिनीहरूले परमेश्‍वरलाई अस्पष्टतामा विश्‍वास गर्दैनन् र तिनीहरूले अबदेखि अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरलाई अस्पष्टता वा सुन्यतामाझ नै विश्‍वास गर्छन्। बरु, तिनीहरूले उहाँका वाणीहरूलाई सुन्‍न सक्छन्, उहाँका आवश्यक मापदण्डहरूलाई बुझ्‍न सक्छन्, र तिनलाई हासिल गर्न सक्छन्, अनि तिनीहरूले जान्‍नुपर्ने र बुझ्‍नुपर्ने सबै कुरा तिनीहरूलाई बताउनको लागि परमेश्‍वरले मानवजातिकै भाषा प्रयोग गर्नुहुन्छ। आज, यदि मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ र उहाँले तिनीहरूबाट के चाहनुहुन्छ भन्‍ने थाहा छैन भने; यदि तिनीहरूलाई व्यक्तिले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरा थाहा छैन, अथवा उहाँलाई कसरी विश्‍वास गर्ने वा उहाँसँग कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने कुरा थाहा छैन भने—यसमा एउटा समस्या रहेको छ। … मानवजाति र परमेश्‍वरलाई पछ्याउनेहरूका लागि परमेश्‍वरका सही आवश्यक मापदण्डहरू यसप्रकार छन्। उहाँलाई पछ्याउनेहरूका लागि उहाँले पाँच वटा मापदण्डहरू तय गर्नुभएको छ: साँचो विश्‍वास, निष्ठावान बफादारितापूर्ण अनुसरण, पूर्ण समर्पणता, सच्‍चा ज्ञान, र हृदयस्पर्शी श्रद्धाभाव।

परमेश्‍वरले, यी पाँच वटा कुराहरूमा, मानिसहरूले अब उप्रान्त आफ्ना कल्‍पनाहरू वा अस्पष्ट र अमूर्त दृष्टिकोणहरूको प्रयोग गरी उहाँलाई प्रश्‍न नगरून् वा उहाँलाई नपछ्याऊन् भन्‍ने मापदण्ड तय गर्नुभएको छ; तिनीहरूले परमेश्‍वरलाई कुनै पनि कल्‍पनाहरू वा धारणाहरूका आधारमा पछ्याउनु हुँदैन। उहाँलाई पछ्याउने हरेकले उहाँलाई आधा मनले वा प्रतिबद्धताविना होइन बरु बफादार भई पछ्याऊन् भन्‍ने मापदण्ड तय गर्नुभएको छ। जब परमेश्‍वरले तैँले कुनै मापदण्डहरू पूरा गर्न तय गर्नुहुन्छ, तँलाई जाँच्‍नुहुन्छ, तेरो न्याय गर्नुहुन्छ, तँलाई निराकरण गर्नुहुन्छ र तँलाई छिँवल्‍नुहुन्छ, वा तँलाई अनुशासनमा राख्‍ने र प्रहार गर्ने गर्नुहुन्छ, तब तँ उहाँमा पूर्ण रूपमा समर्पित हुनुपर्छ। तैँले अभिप्राय सोध्‍ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन, तैँले कारणहरूका बारेमा त झन् कुरा नगरेकै बेस। तेरो आज्ञापालन निरपेक्ष हुनुपर्छ। परमेश्‍वरसम्‍बन्धी ज्ञान नै मानिसहरू सबैभन्दा पछि पर्ने क्षेत्र हो। तिनीहरूले परमेश्‍वरमा प्रायजसो उहाँसँग सम्‍बन्धित नरहेका भनाइहरू, वाणीहरू, र वचनहरू लाद्छन्, तिनीहरू त्यस्ता वचनहरू परमेश्‍वरसम्‍बन्धी ज्ञानको सबैभन्दा सटीक परिभाषा हुन् भन्‍ने विश्‍वास गर्छन्। मानव कल्‍पनाहरू, तिनीहरूका आफ्‍नै तर्क, र तिनीहरूका आफ्‍नै ज्ञानबाट आएका यी भनाइहरू परमेश्‍वरको सारसँग कहीँ कतै सम्‍बन्धित छैनन् भन्‍नेबारे तिनीहरूलाई अलिकति पनि थाहा हुँदैन। यसैले, जब परमेश्‍वरले मानिसहरूमा होस् भनी चाहनुभएको ज्ञानको बारेमा कुरा आउँछ, उहाँले तँलाई उहाँ र उहाँका वचनहरूलाई मात्रै चिन् भनेर भन्‍नुहुन्‍न, बरु उहाँको बारेमा रहेको तेरो ज्ञान पनि सही हुनुपर्छ भनेर भन्‍नुहुन्छ। तैँले एउटै वाक्य मात्रै भन्‍न सक्छस्, वा तँलाई थोरै मात्रै थाहा छ भने पनि, यो थोरै ज्ञान सही र साँचो हुन्छ, र परमेश्‍वर स्वयम्‌को सार अनुरूप हुन्छ। किनभने परमेश्‍वरले उहाँमाथि गरिएको कुनै पनि अवास्तविक वा अनुचित प्रशंसा वा तारिफलाई तिरस्कार गर्नुहुन्छ। त्योभन्दा पनि बढी, उहाँले आफूसित मानिसहरूले हावाजस्तो व्यवहार गरेको घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्‍वरको विषयमा छलफल गर्दा, तथ्यहरूको बारेमा विचारै नगरीकन मनोमानी ढङ्गले अनि कुनै पनि हिचकिचाहटविना आफूलाई उचित लागेको कुरा बोलेको देख्दा उहाँले घृणा गर्नुहुन्छ; यसको साथै, उहाँले परमेश्‍वरलाई चिन्छु भनी विश्‍वास गर्ने र उहाँसँग सम्‍बन्धित विषयहरूमा छलफल गर्दा कुनै नियन्त्रण अनि कुनै सीमा नराखीकन छलफल गर्दै उहाँ सम्‍बन्धी आफ्‍नो ज्ञानको सेखी गर्नेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। यसभन्दा अघि उल्‍लेख गरिएका पाँच मापदण्डहरूमध्ये अन्तिम हृदयस्पर्शी श्रद्धाभाव थियो: उहाँलाई पछ्याउनेहरू सबैप्रतिको परमेश्‍वरको अन्तिम मापदण्ड यही हो। जब कसैसँग परमेश्‍वरसम्‍बन्धी सही र साँचो ज्ञान हुन्छ, तब तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा श्रद्धा गर्न र दुष्टबाट अलग बस्‍न सक्षम हुन्छन्। यो श्रद्धाभाव तिनीहरूको हृदयको अन्तस्करणबाट आउँछ; यो श्रद्धाभाव स्वेच्छाले दिइन्छ, र यो परमेश्‍वरको दबाबको परिणाम होइन। परमेश्‍वरले उहाँप्रति तैँले कुनै राम्रो मनोवृत्ति, आचरण, वा बाहिरी बानीबेहोराको उपहार दिनुपर्छ भनेर माग गर्नुहुन्‍न; उहाँले बरु तैँले तेरो हृदयको अन्तस्करणबाट उहाँलाई श्रद्धा गर् र उहाँको डर मान् भनेर भन्‍नुहुन्छ। त्यस्तो श्रद्धाभाव तेरो जीवनको स्वभावका परिवर्तनहरू, परमेश्‍वरबारे ज्ञान प्राप्ति र परमेश्‍वरका कार्यहरूको बुझाइ, परमेश्‍वरको सारको बुझाइ, अनि तँ परमेश्‍वरका सृष्टिहरूमध्ये एक होस् भन्‍ने तेरो स्वीकारको परिणामस्वरूप प्राप्त हुन्छ। त्यसकारण, यहाँ श्रद्धाभावलाई परिभाषित गर्नको लागि मैले “हृदयस्पर्शी” भन्‍ने शब्‍द प्रयोग गर्नुको उद्देश्य मानिसहरूले परमेश्‍वरप्रतिको आफ्नो श्रद्धाभाव आफ्नै हृदयको अन्तस्करणबाट आउनुपर्छ भनी बुझून् भन्‍ने हो।

अब यी पाँच मापदण्डहरूका बारेमा विचार गर: के तिमीहरूमध्ये कोही प्रथम तीन वटा हासिल गर्न सक्‍नेहरूमा पर्छौ? यसद्वारा, मैले साँचो विश्‍वास, निष्ठावान तरिकाले पछ्याउने, र पूर्ण समर्पणताको कुरा गरिरहेको छु। के तिमीहरू यी कार्यहरू गर्न सक्‍ने मध्येमा पर्छौ? यदि मैले सबै पाँच वटै भनेँ भने, अवश्य तिमीहरूमध्ये कोही पनि हुनेथिएनौ, तर मैले यो सङ्ख्यालाई तीन वटामा घटाएको छु। तिमीहरूले यी कुराहरू हासिल गरेका छौ कि छैनौ विचार गर। के “साँचो विश्‍वास” हासिल गर्न सहज छ? (अहँ, सहज छैन।) यो सजिलो छैन, किनभने मानिसहरूले प्रायजसो परमेश्‍वरमाथि प्रश्‍न उठाउँछन्। अनि “निष्ठावान रूपमा पछ्याउने” बारेमा नि? यो “निष्ठावान” ले केलाई जनाउँछ? (आधा मनले होइन, तर पूरा मनले पछ्याउनु।) आधा मनले होइन, तर पूरा मनले पछ्याउनु। तिमीहरूले ठ्याक्कै मिलायौ! त्यसो भए, के तिमीहरू यो मापदण्ड हासिल गर्न सक्छौ त? तिमीहरूले अझै कठिन प्रयास गर्नुपर्छ, होइन त? यस क्षणमा, यो मापदण्डमा तिमीहरू सफल हुन बाँकी नै छ। “पूर्ण समर्पणता” को बारेमा के भन्छौ—के तिमीहरूले त्यो हासिल गरेका छौ? (छैनौं।) तिमीहरूले त्यो पनि हासिल गरेका छैनौ। तिमीहरू बारम्‍बार अनाज्ञाकारी र विद्रोही बन्छौ; तिमीहरूले प्रायजसो सुन्दैनौ, आज्ञापालन गर्न चाहँदैनौ, वा सुन्‍न चाहँदैनौ। मानिसहरूले जीवनमा प्रवेश प्राप्त गरेपछि पूरा गर्ने सबैभन्दा आधारभूत तीन वटा मापदण्ड यिनै हुन्, तर तिमीहरूले ती हासिल गर्न अझै बाँकी नै छ। तसर्थ, अहिले, के तिमीहरूसँग ठूलो सम्भावना छ? आज, मैले यी वचनहरू बोलेको सुनेपछि, के तिमीहरूलाई चिन्ता लाग्यो? (हो।) तिमीहरूलाई चिन्ता लाग्‍नु ठीक कुरा हो। चिन्ताबाट जोगिने प्रयास नगर। म तिमीहरूको खातिर चिन्तित हुन्छु। म अन्य दुई मापदण्डको कुरा गर्नेछैन; अवश्य नै, यहाँ उपस्थित कसैले पनि तिनलाई हासिल गर्न सक्दैनन्। तिमीहरू व्याकुल छौ। त्यसो भए, के तिमीहरूले आफ्ना उद्देश्यहरू निर्धारित गरेका छौ? तिमीहरूले कुन उद्देश्यहरूले, र कुन दिशामा खोजी र प्रयास गर्नुपर्छ? के तिमीहरूसँग उद्देश्य छ? म सरल रूपमा भन्छु: तिमीहरूले यी पाँच मापदण्ड हासिल गरिसकेपछि, तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेका हुनेछौ। ती प्रत्येक नै व्यक्तिको जीवन प्रवेशको परिपक्‍वताको सूचक, साथै अन्तिम उद्देश्य हो। यदि मैले विस्तृत रूपमा बताउनको लागि यीमध्ये एउटालाई लिएँ, र तिमीहरूलाई यो पूरा गर्न लगाएँ भने, यसलाई हासिल गर्न सहज हुनेथिएन; तिमीहरूले निश्‍चित हदसम्‍म कठिनाइ भोग्‍नुपर्छ र निश्‍चित हदसम्‍म प्रयास गर्नुपर्छ। तिमीहरूसँग कस्तो मानसिकता हुनुपर्छ त? यो शल्यक्रिया टेबुलमा जानको लागि प्रतीक्षा गरिरहेको क्यान्सर बिरामीको जस्तै हुनुपर्छ। म किन यसो भन्दैछु? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छस् भने, र यदि तँ परमेश्‍वरलाई प्राप्त गर्न र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छस् भने, तैँले निश्‍चित हदसम्‍म पीडा नभोगुञ्‍जेलसम्‍म र निश्‍चित मात्रामा प्रयास नगरुन्जेलसम्‍म, तैँले यी कुराहरूलाई हासिल गर्न सक्‍नेछैनस्। तिमीहरूले धेरै प्रचार सुनिसक्यौ, तर यसलाई सुन्दैमा यसको अर्थ यो प्रवचन तेरो भयो भन्‍ने हुँदैन; तैँले यसलाई अवशोषण गर्नुपर्छ र तेरो स्वामित्वमा भएको कुनै कुरामा परिणत गर्नुपर्छ। तैँले यसलाई तेरो जीवनमा समाहित गर्नुपर्छ र तेरो अस्तित्वमा समावेश गर्नुपर्छ र यसरी तैँले यी वचनहरू र प्रचारलाई तेरो जिउने शैलीलाई अगुवाइ गर्न र तेरो जीवनमा अस्तित्वका मूल्य र अर्थ ल्याउन दिनुपर्छ। जब त्यस्तो हुन्छ, तब तिमीहरूले यी वचनहरू सुनेको कुराको अर्थ रहन्छ। यदि मैले बोलेका वचनहरूले तेरो जीवनमा कुनै सुधार ल्याउँदैनन् वा तेरो अस्तित्वमा कुनै मूल्य थप्‍दैनन् भने, तैँले ती वचनहरू सुनेको कुनै अर्थ हुँदैन। तिमीहरूले यो कुरा बुझ्यौ, होइन त? यो कुरा बुझिसकेपछि, यसपछि के हुन्छ भन्‍ने कुरा तिमीहरूकै हातमा छ। तिमीहरूले काम गर्नैपर्छ! तिमीहरू सबै कुरामा इमानदार हुनैपर्छ! यता न उताको नबन; समय बितेको बित्यै छ! तिमीहरूमध्ये धेरैजसोले परमेश्‍वरलाई एक दशकभन्दा बढी समयदेखि विश्‍वास गर्दै आएका छौ। विगतका यी दश वर्षको अवधिलाई फर्केर हेर। तिमीहरूले कति हासिल गरेका छौ? अनि यो जीवनकालमा तिमीहरूले जिउने कति दशक समय बाँकी छ? तिमीहरूसँग त्यति धेरै समय छैन। परमेश्‍वरको कामले तिमीहरूलाई प्रतीक्षा गर्छ कि गर्दैन, उहाँले तिमीहरूलाई मौका दिनुभएको छ कि छैन, वा उहाँले फेरि एउटै काम गर्नुहुनेछ कि गर्नुहुनेछैन भन्‍ने बारेमा बिर्सिदेओ—यी कुराहरूका बारेमा कुरै नगर। के तिमीहरूले आफ्‍नो जीवनको विगतका दश वर्षको मार्गलाई उल्ट्याउन सक्छौ? बितेर जाने हरेक दिनसँगै, र तिमीहरूले चाल्‍ने हरेक कदमसँगै, तिमीहरूसँग एक-एक दिन कम हुँदै जान्छ। समयले कसैलाई पर्खँदैन! यदि तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई तेरो जीवनको सबैभन्दा ठूलो कुराको रूपमा लिइस्, खाना, वस्त्र, वा अन्य कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण ठानिस् भने मात्रै यसबाट तँलाई प्राप्ति हुनेछ। यदि तैँले तँसँग समय हुँदा मात्रै विश्‍वास गर्छस्, र तेरो विश्‍वासमा तेरो सम्पूर्ण ध्यान समर्पित गर्न सक्दैनस् भने, अनि यदि तँ सधैँ अन्योलताको दलदलमा हुन्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

अघिल्लो: परमेश्‍वरलाई चिन्‍नु (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्