इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ
परमेश्वरको मानिसहरू इमान्दार हुनुपर्छ भन्ने माग सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तर अफसोस, धेरैले यो कुरा बुझ्दैनन्, र इमान्दार हुने यो मामिला बेवास्ता गर्छन्। यदि मानिसहरूले साँच्चिकै परमेश्वरको काम बुझ्थे भने, तिनीहरूलाई आखिरी दिनहरूमा उहाँले न्यायको काम पूरा गर्नुभएपछि, आफ्ना भ्रष्ट स्वभावबाट शुद्ध पारिएका अनि आफ्ना छल र झूटहरू फालेका इमान्दार व्यक्तिहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्नेछन् र उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनेछन् भन्ने कुरा थाहा हुन्थ्यो। यदि परमेश्वरमा विश्वास गरेको वर्षौँपछि पनि मानिसहरू अझै झूट र छलले भरिभराउ हुन्छन् भने; यदि तिनीहरू निष्कपट रूपमा परमेश्वरप्रति आफूलाई समर्पित गर्दैनन् र सधैँ झाराटारुवा शैलीमा कर्तव्य निभाउँछन् भने, तिनीहरू पक्कै उहाँद्वारा तिरस्कृत हुनेछन्। अनि तिनीहरूको परिणाम के हुनेछ? तिनीहरू पक्कै मण्डलीबाट निकालिनेछन् र हटाइनेछन्। आज, परमेश्वरको काम यो चरणमा आइपुगेको देख्दा, यसले व्यक्तिलाई उहाँले कसरी मान्छेलाई इमान्दार बन्न निरन्तर आह्वान गर्दै आउनुभएको छ भन्ने कुरा स्मरण गराउँछ। यसमा ठूलो महत्त्व रहेको छ। यो केवल त्यतिकै बोल्ने अनि त्यतिमै सक्किने कुरा होइन—यो त व्यक्तिले मुक्ति प्राप्त गर्न र ऊ बाँचिरहन सक्छ सक्दैन भन्ने कुराका साथै हरेक व्यक्तिको परिणाम र गन्तव्यसित प्रत्यक्ष रूपमा सम्बन्धित छ। त्यसकारण, निश्चित रूपमा भन्न सकिन्छ, आफ्नो छली स्वभाव फालेर अनि इमानदार बनेर मात्र व्यक्तिले सामान्य मानवतामा जिउन र मुक्ति प्राप्त गर्न सक्छ। परमेश्वरमा वर्षौँसम्म विश्वास गरेका तर अझै पनि छली नै रहिरहेकाहरू पक्कै हटाइनेछन्।
अहिले परमेश्वरका चुनिएका मानिसहरू सबै आफ्ना कर्तव्यहरू निर्वाह गर्ने अभ्यास गरिरहेका छन्, र मानिसहरूले गर्ने कर्तव्य निर्वाहमार्फत परमेश्वर मानिसहरूको एउटा समूहलाई सिद्ध पार्नुहुन्छ र अर्कोलाई हटाउनुहुन्छ। त्यसकारण, कर्तव्य निर्वाहले नै हरेक प्रकारको व्यक्तिलाई प्रकट गर्छ, र हरेक प्रकारको छली व्यक्ति, अविश्वासी, र दुष्ट व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रकट हुन्छ र हटाइन्छ। जो अर्पित भई आफ्नो कर्तव्य निर्वाह गर्छन् तिनीहरू इमानदार मानिस हुन्; जो निरन्तर झारा टार्छन् तिनीहरू छली, धूर्त मानिस हुन्, र तिनीहरू अविश्वासी हुन्; अनि जो आफ्नो निर्वाह गर्दा अवरोध र बाधाहरू निम्त्याउँछन् र अलिकति पनि पश्चात्ताप गर्न इन्कार गर्छन् तिनीहरू दुष्ट मानिस र ख्रीष्टविरोधी हुन्। अहिले, कर्तव्य निर्वाह गर्ने धेरै मानिसमा अझै पनि व्यापक समस्याहरू छन्। कतिपय मानिस आफ्नो कर्तव्यमा सधैँ धेरै निष्क्रिय हुन्छन्, सधैँ बसेर पर्खिरहने अनि अरूमाथि भर पर्ने गर्छन्। त्यो कस्तो प्रकारको मनोवृत्ति हो? त्यो गैरजिम्मेदारी हो। परमेश्वरको घरले तँलाई एउटा कर्तव्य निर्वाह गर्न बन्दोबस्त गरेको छ, तर केही दिन बितिसक्दा पनि तैँले अझै कुनै ठोस काम गरेको छैनस्। तँ कार्यस्थलमा कतै देखिँदैनस्, र धेरै मानिसलाई समाधान गर्नुपर्ने समस्याहरू आइपर्दा तिनीहरू तँलाई भेट्टाउन सक्दैनन्। तैँले यो कामको जिम्मेवारी स्विकारेको छैनस्। यदि कुनै अगुवाले कामको बारेमा सोधपुछ गर्यो भने, तँ उसलाई के भन्नेछस्? यो तैँले गर्नुपर्ने काम हो भनेर तँलाई राम्ररी थाहा छ, तर तँ यो गर्दैनस्। आखिर तँ के सोचिरहेको छस्? के तैँले गर्न नसक्ने भएर नै कुनै काम नगरेको होस्? कि तँ सुखसुविधाको लालची मात्रै होस्? तेरो कर्तव्यप्रति तेरो मनोवृत्ति ठ्याक्कै कस्तो छ? तँ शब्द र धर्मसिद्धान्तहरूका बारेमा मात्रै कुरा गर्छस्, र तँ मिठा सुनिने कुराहरू मात्रै भन्छस्, तर तँ कुनै वास्तविक काम गर्दैनस्। यदि तँलाई आफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा छैन भने, तैँले राजीनामा दिनुपर्छ। कुनै वास्तविक काम नगरी आफ्नो पदमा नबस्। के त्यो परमेश्वरका चुनिएका मानिसहरूलाई हानि पुर्याउनु र मण्डलीको काममा ढिलाइ गर्नु होइन र? तेरो बोल्ने तरिका हेर्दा, तैँले सबै प्रकारको धर्मसिद्धान्त बुझेको जस्तो देखिन्छ, तर कुनै कर्तव्य निर्वाह गर्न लगाउँदा, तँ झारा टार्छस्, र अलिकति पनि ध्यान पुर्याउँदैनस्। के त्यो सच्चा रूपमा परमेश्वरप्रति आफूलाई समर्पित गर्नु हो र? तँ परमेश्वरप्रति सच्चा छैनस्, तैपनि तँ सच्चा भएको नाटक गर्छस्। के तँसँग उहाँलाई धोका दिने सामर्थ्य छ? तँ सामान्यतया जसरी कुरा गर्छस्, त्यसबाट तँमा अत्यन्तै ठूलो विश्वास छ जस्तो देखिन्छ, र तँ मण्डलीको खम्बा र यसको चट्टान बन्ने आकाङ्क्षा समेत राख्छस्। तर जब तँ कुनै कर्तव्य निर्वाह गर्छस्, तब तँ सलाईको काँटीभन्दा पनि कम उपयोगी हुन्छस्। के यो जानाजानी परमेश्वरलाई धोका दिने प्रयास गर्नु होइन र? के तँलाई थाहा छ, परमेश्वरलाई धोका दिने प्रयास गर्दा तेरो के गति हुनेछ? उहाँ तँलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ! सबै मानिस आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रकट हुन्छन्—यदि कसैले कर्तव्य सम्हालेको छ भने, ऊ इमानदार व्यक्ति हो कि छली व्यक्ति हो, र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भन्ने कुरा प्रकट हुन धेरै समय लाग्नेछैन। जो सत्यतालाई प्रेम गर्छन् तिनीहरू सच्चा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्वरको घरको कामलाई कायम राख्न सक्छन्। जो सत्यतालाई प्रेम गर्दैनन् तिनीहरू परमेश्वरको घरको कामलाई पटक्कै कायम राख्दैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्नमा गैरजिम्मेवार हुन्छन्। तीक्ष्ण दृष्टि भएकाहरूलाई यो कुरा तुरुन्तै प्रस्ट हुन्छ। जो राम्रोसँग कर्तव्य निर्वाह गर्दैन ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति वा इमानदार व्यक्ति होइन; त्यस्ता मानिसहरू सबै प्रकट हुने र हटाइने मानिस हुन्। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, मानिसहरूमा जिम्मेवारीको बोध हुनैपर्छ र तिनीहरूले एउटा बोझ बोक्नैपर्छ। यसरी, काम पक्कै पनि उचित रूपमा गरिनेछ। चिन्ताको विषय त तब हुन्छ जब कसैले बोझ बोक्दैन वा उसमा जिम्मेवारीको बोध हुँदैन, र उसलाई काम गर्न घचघच्याउनुपर्छ; जब ऊ सधैँ झारा टार्छ; र जब समस्याहरू आउँदा ऊ दोष पन्छाउने प्रयास गर्छ, जसले गर्दा तिनको समाधानमा ढिलाइ हुन्छ। के त्यस्तो अवस्थामा काम अझै पनि राम्ररी गर्न सकिन्छ र? के उसको कर्तव्य निर्वाहले यसरी कुनै नतिजा दिन सक्छ र? मण्डलीले उसलाई जे गर्न बन्दोबस्त गरे पनि, ऊ त्यो गर्न चाहनेछैन, र जब ऊ अरूलाई तिनीहरूको काममा मद्दत चाहिएको देख्छ, तब ऊ तिनीहरूलाई बेवास्ता गर्छ। जब उसलाई केही गर्न आदेश दिइन्छ तब मात्रै ऊ बाध्य भएर अलिकति काम गर्छ। यो कर्तव्य निर्वाह गर्नु होइन—यो त ज्यालादारी मजदुर बन्नु हो! जब कुनै ज्यालादारी मजदुरले रोजगारदाताका लागि काम गर्छ, तब ऊ काममा रहुन्जेल पैसा पाउँछ, उसले जति घण्टा काम गर्यो त्यति नै पैसा कमाउँछ; ऊ केवल आफ्नो पारिश्रमिकको पर्खाइमा हुन्छ। ऊ आफ्नो मालिकले नदेख्ने कुनै पनि काम गर्न डराउँछ, किनभने उसलाई आफूले गरेको कुनै पनि कामका लागि इनाम नपाइएला भन्ने डर हुन्छ। ऊ सधैँ अरूको नजरमा पर्नका लागि मात्र काम गर्न चाहन्छ। यसले उसमा कुनै बफादारी छैन भन्ने देखाउँछ। धेरैजसो समय, कामसम्बन्धी समस्याहरूका बारेमा सोध्दा तिमीहरू जवाफ दिन असमर्थ हुन्छौ। तिमीहरू सबै जना काममा सहभागी भएका छौ, तर तिमीहरूले काम कस्तो चलिरहेको छ भनेर कहिल्यै सोधेका छैनौ, र तिमीहरूले यसबारे कहिल्यै ध्यान दिएर सोचेका छैनौ। वास्तवमा, तिमीहरूको क्षमता र ज्ञानलाई हेर्ने हो भने, तिमीहरूलाई केही पनि थाहा नभएको त नहुनुपर्ने हो। त्यसोभए तिमीहरूमध्ये धेरैजसोले कामको बारेमा केही पनि भन्न नसक्नुको कारण के हो त? सायद यसको कारण तिमीहरूलाई साँच्चै के भन्ने भन्ने थाहा नभएर हुन सक्छ—कामकुराहरू राम्ररी भइरहेका छन् कि खराब रूपमा भइरहेका छन् भन्ने तिमीहरूलाई थाहा हुँदैन। यसका दुई वटा कारण छन्: एउटा यो हो कि तिमीहरूले यी कुराहरूमा आफ्नो हृदय पटक्कै लगाएका छैनौ; तिमीहरूले तिनको कहिल्यै वास्ता गरेका छैनौ, र तिनलाई सधैँ सकाउनुपर्ने कामका रूपमा मात्रै लिएका छौ। अर्को कारण यो हो कि तिमीहरू गैरजिम्मेवार छौ र यी कुराहरूको वास्ता गर्न इच्छुक छैनौ। यदि तँ साँच्चै वास्ता गर्थिस्, र साँच्चै तिनमा आफ्नो हृदय लगाउँथिस् भने, तँसित सबै मामलाबारे दृष्टिकोण र रायहरू हुनेथिए। कुनै राय वा दृष्टिकोण नहुनु भनेको प्रायजसो उदासीन र भावशून्य हुनु, र कुनै जिम्मेवारी नलिनुको परिणाम हो। तँ आफ्नो कर्तव्यमा आफ्नो हृदय लगाउँदैनस्, तँ यसको कुनै जिम्मेवारी लिँदैनस्, तँ कुनै मूल्य चुकाउन वा कामकुराहरू कसरी भइरहेका छन् भनेर सोध्न इच्छुक हुँदैनस्, तँ कष्ट गर्न चाहँदैनस्, र तँ आवश्यकभन्दा बढी ऊर्जा समर्पित गर्न चाहँदैनस्; तँ केवल कसैको मातहतमा बस्नमै सन्तुष्ट हुन्छस्। यो कुनै गैरविश्वासीले आफ्नो मालिकका लागि काम गर्नुभन्दा कुनै फरक छैन। परमेश्वर यस प्रकारको कर्तव्य निर्वाहलाई मन पराउनुहुन्न र स्वीकार गर्नुहुन्न। यसले उहाँको अनुमोदन प्राप्त गर्न सक्दैन।
प्रभु येशूले एकपटक भन्नुभयो, “जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ” (मत्ती १३:१२)। यी वचनहरूको अर्थ के हो? यिनीहरूको अर्थ हो—यदि तैँले आफ्नो कर्तव्य वा कार्य गरिनस् वा त्यसमा आफूलाई समर्पित गरिनस् भने, परमेश्वरले तँसित भएका कुरा “खोस्नुहुनेछ”। “खोस्नुहुनेछ” भन्नुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो अनुभूति गराउँछ? हुन सक्छ, तैँले आफ्नो क्षमता र वरदानद्वारा प्राप्त गर्न सक्ने कुरा प्राप्त गर्न सक्दैनस्, र तँलाई केही महसुस हुँदैन अनि तँ ठ्याक्कै गैरविश्वासीजस्तै छस्। परमेश्वरले सबै कुरा खोस्नु भनेको त्यही हो। यदि तँ आफ्नो कर्तव्यमा लापरवाह छस्, मूल्य चुकाउँदैनस्, र तँ निष्कपट छैनस् भने, परमेश्वरले तँसित भएका कुरा खोस्नुहुनेछ, उहाँले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार फिर्ता लिनुहुनेछ, उहाँले तँलाई यो अधिकार दिनुहुनेछैन। परमेश्वरले तँलाई वरदान र क्षमता दिनुभयो, तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनस्, परमेश्वरप्रति आफूलाई समर्पित गरिनस्, वा मूल्य चुकाइनस् र तैँले त्यसमा मन लगाइनस्, त्यसकारण परमेश्वरले तँलाई आशिष् नदिनुहुने मात्र होइन, तँसित भएका कुरा पनि खोस्नुहुनेछ। परमेश्वरले मानिसहरूलाई विशेष सीपका साथै ज्ञान र बुद्धि दिएर वरदान प्रदान गर्नुहुन्छ। मानिसहरूले यी कुरा कसरी प्रयोग गर्नुपर्छ? तैँले आफ्नो विशेष सीप, वरदान, ज्ञान र बुद्धिलाई आफ्नो कर्तव्यमा समर्पित गर्नैपर्छ। तैँले आफ्नो हृदय प्रयोग गर्नुपर्छ अनि आफूलाई थाहा भएका, आफूले बुझेका, र आफूले प्राप्त गर्न सक्ने सबै कुरा आफ्नो कर्तव्यमा लगाउनैपर्छ। यसो गर्दा तँ आशिषित हुनेछस्। परमेश्वरद्वारा आशिषित् हुनुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो महसुस गराउँछ? तिनीहरूले परमेश्वरबाट अन्तर्दृष्टि र मार्गदर्शन पाएका छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूसित मार्ग हुन्छ। अरू मानिसहरूलाई तेरो क्षमता र तैँले सिकेका कुराहरूले तँलाई काम पूरा गर्न सक्षम पार्न नसकेकोजस्तो लाग्न सक्छ—तर यदि परमेश्वरले काम गर्नुहुन्छ र तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ भने, तँ ती कुरा बुझ्न र ती काम गर्न मात्र होइन, ती काम राम्रैसित गर्नसमेत सक्षम हुनेछस्। अनि अन्त्यमा, तैँले अलमल्ल हुँदै मनमनै यस्तो सोच्नेछस्, “म त यति दक्ष थिइनँ, तर अहिले मभित्र कति धेरै असल कुराहरू छन्—र यी सबै सकारात्मक छन्। मैले यी कुराहरू कहिल्यै अध्ययन गरिनँ, तर म अहिले अचानक यी सबै कुराहरू बुझ्ने भएको छु। म अचानक कसरी यति तीक्ष्ण भएँ? अहिले म कसरी यति धेरै कुराहरू गर्न सक्ने भएँ?” तैँले यो कुरा व्याख्या गर्न सक्नेछैनस्। यी त परमेश्वरबाटको अन्तर्दृष्टि र आशिष् हुन्; यसरी नै परमेश्वरले मानिसहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूले आफ्नो कर्तव्य निभाउँदा वा काम गर्दा यदि यस्तो महसुस गर्दैनौ भने, तिमीहरू परमेश्वरद्वारा आशिषित् भएका छैनौ। यदि तँलाई आफ्नो कर्तव्य निभाउनु सधैँ निरर्थक लाग्छ भने, यदि तँलाई गर्नुपर्ने कुनै कुरा नै छैन जस्तो लाग्छ र तैँले आफूलाई योगदान दिन सक्ने अवस्थामा पुर्याउन सक्दैनस् भने, यदि तैँले कहिल्यै अन्तर्दृष्टि पाउँदैनस् र आफूसित प्रयोग गर्न सकिने कुनै चातुर्य वा बुद्धि आफूमा नभएको महसुस गर्छस् भने, यो समस्या हो। यसले तँसँग आफ्नो कर्तव्य पूरा गर्ने सही अभिप्राय वा सही मार्ग छैन, र परमेश्वरले अनुमोदन गर्नुहुन्न, र तेरो स्थिति अस्वाभाविक छ भन्ने देखाउँछ। तैँले आफूलाई जाँच्नैपर्छ: “कर्तव्यका अवधिमा किन मसित मार्ग अभाव हुन्छ? मैले यो क्षेत्रको अध्ययन गरेको छु, र यो मेरो विशेषज्ञताको दायरामा पर्छ—म यसमा सिपालु पनि छु। मैले आफ्नो ज्ञान लागू गर्ने प्रयास गर्दा किन सक्दिनँ? म किन यसको उपयोग गर्न सक्दिनँ? के भइरहेको छ?” के यो संयोग हो? यहाँ एउटा समस्या छ। जब परमेश्वरले कसैलाई आशिष् दिनुहुन्छ, तब ऊ बुद्धिमान् र ज्ञानी, सबै कुरा स्पष्ट बुझ्ने, होशियार, चनाखो र विशेष गरी सिपालु हुन्छ; ऊसँग कौशलता हुनेछ, आफूले गर्ने हरेक कुरामा ऊ उत्प्रेरित हुनेछ, र आफूले गर्ने हरेक कुरा सहज हुनेछ र आफूलाई कुनै कठिनाइले रोक्न सक्दैन भन्ने उसले सोच्नेछ—उसले परमेश्वरबाट आशिष् पाउँछ। यदि कसैलाई सबै कुरा असाध्यै कठिन लाग्छ, र उसले जुनसुकै काम गरिरहेको भए पनि, ऊ अडभङ्गे, विकृत हुन सक्ने, र जे गरिरहेको भए पनि अनभिज्ञ हुन्छ, उसले उसलाई भनिएको कुनै पनि कुरा बुझ्दैन भने, यसको अर्थ के हो? यसको अर्थ ऊसँग परमेश्वरको मार्गदर्शन छैन र ऊसँग परमेश्वरको आशिष् छैन। कतिपय मानिसहरू यसो भन्छन्, “मैले आफूलाई अर्पेको छु, र पनि किन होला म परमेश्वरको आशिष् देख्दै देख्दिनँ?” यदि तँ केवल आफूलाई अर्पण गर्छस् र प्रयास गर्छस्, तर सत्यता सिद्धान्तहरूअनुसार काम गर्न खोज्दैनस् भने, तैँले आफ्नो कर्तव्यमा झारा टारिरहेको छस्। तैँले कसरी पो परमेश्वरका आशिष्हरू देख्न सक्छस् र? यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा सधैँ लापरवाह हुन्छस् र कहिल्यै गम्भीर हुँदैनस् भने, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि वा प्रकाश दिनुहुनेछैन, र तैँले परमेश्वरको मार्गदर्शन वा उहाँको काम प्राप्त गर्नेछैनस्, र तेरा कामहरूले कुनै फल फलाउनेछैनन्। मानव सामर्थ्य र ज्ञानमा भरोसा गरेर कर्तव्य राम्ररी पूरा गर्नु वा मामिला सम्हाल्नु अत्यन्त गाह्रो हुन्छ। हरेकले मैले केही न केही जानेको छु, ममा केही सीप छ भन्ने सोच्छ, तर तिनीहरूले काम राम्ररी गर्दैनन्, र सधैँ काम बिगार्छन्, जुन टीकाटिप्पणी र हाँसोको विषय बन्छ। यो एउटा समस्या हो। कुनै व्यक्ति स्पष्ट रूपमा उल्लेखनीय नहुन सक्छ तर उसले आफूलाई जान्ने ठान्छ र ऊ कसैको सामु झुक्दैन। यो मानिसको प्रकृतिसँग सम्बन्धित समस्या हो। आफूलाई नचिन्ने सबै मानिसहरू यस्तै हुन्छन्। के त्यस्ता मानिसहरूले आफ्नो कर्तव्य राम्रोसित निभाउन सक्छन् त? तिनीहरूले आफ्नो कर्तव्य राम्रोसित निभाउन नसक्ने मात्र होइन, तिनीहरू त नराम्ररी असफल हुन पनि सक्छन्। कतिपय मानिसहरू कुनै पनि कर्तव्य राम्रोसित निभाउनसमेत सक्दैनन्, तैपनि सधैँ उच्च ओहोदा लिने र मानिसहरूमाथि हैकम जमाउने कोसिस गर्छन्। त्यस्ता मानिसहरूले केही पनि हासिल गर्दैनन्—तिनीहरू त सुसमाचार फैलाउन वा अरूसमक्ष गवाही दिनसमेत सक्षम हुँदैनन्, अनि तिनीहरूसित सत्यताबारे सङ्गति गर्न एक शब्द पनि हुँदैन। त्यस्ता मानिसहरू पूरै निर्वस्त्र, दरिद्र र दयनीय हुन्छन्! जो सत्यता पछ्याउँदैनन् तिनीहरू सबै जिम्मेवारी नलिने मनस्थितिले आफ्नो कर्तव्य निर्वाह गर्छन्। “कसैले अगुवाइ गऱ्यो भने, म पछ्याउँछु; उसले जहाँ डोऱ्याउँछ, म त्यहीँ जान्छु। उसले मलाई जे गर्न लगाउँछ म त्यही गर्नेछु। जहाँसम्म जिम्मेवारी र चासो लिने, वा थप प्रयत्न लगाएर केही गर्ने, आफ्नो सारा हृदय र शक्तिले केही गर्ने कुरा छ—म त्यो गर्न चाहन्नँ।” यी मानिसहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्। तिनीहरू खटिन मात्रै इच्छुक हुन्छन्, जिम्मेवारी लिन इच्छुक हुँदैनन्। व्यक्तिले साँचो रूपमा आफ्नो कर्तव्य पूरा गर्ने मनोवृत्ति यो होइन। व्यक्तिले आफ्नो कर्तव्य निर्वाहमा आफ्नो हृदय लगाउन सिक्नैपर्छ, र विवेक भएको व्यक्तिले यो कुरा गर्न सक्छ। यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नमा कहिल्यै हृदय लगाउँदैन भने, त्यसको अर्थ उसमा विवेक छैन, र विवेकविनाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन् भनेर म किन भन्छु? तिनीहरू परमेश्वरलाई कसरी प्रार्थना गर्ने र पवित्र आत्माको अन्तर्दृष्टि खोजी गर्ने त्यो जान्दैनन्, न त परमेश्वरका अभिप्रायहरूलाई कसरी ख्याल गर्ने, परमेश्वरका वचनहरू मनन गर्नमा आफ्नो हृदय कसरी लगाउने भन्ने नै जान्दछन्, न त तिनीहरू सत्यता खोज्न, परमेश्वरका मागहरू र उहाँका चाहनाहरू बुझ्न खोज्न नै जान्दछन्। सत्यता खोजी गर्न नसक्नु भनेको यही हो। के तिमीहरू त्यस्ता स्थितिहरू अनुभूत गर्छौ, जसमा तिमीहरूलाई जे आइपरे पनि, वा तिमीहरूले जे कर्तव्य निर्वाह गरे पनि, तिमीहरू प्रायः परमेश्वरसामु आफूलाई शान्त पार्न, र उहाँका वचनहरू मनन गर्नमा, र सत्यता खोजी गर्नमा, अनि परमेश्वरका अभिप्रायहरूअनुसार हुने तरिकामा तिमीहरू आफ्नो कर्तव्य कसरी निर्वाह गर्न सक्छौ र त्यो कर्तव्य मानकअनुरूप निर्वाह गर्नका लागि तिमीहरूमा के-कस्ता सत्यताहरू हुनुपर्छ भनेर मनन गर्नमा हृदय लगाउन सक्छौ? के तिमीहरू धेरै पटक यसरी नै सत्यता खोजी गर्छौ? (गर्दैनौ।) आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी उठाउन सक्ने बन्न तैँले कष्ट सहनु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यी कुराहरूबारे कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तँ आफ्नो हृदय कर्तव्यमा लगाउँदैनस्, बरु सधैँ परिश्रम गर्न चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य राम्ररी गरिस् कि गरिनस् त्यो जान्नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्यता बुझ्न थाल्नेछस्; यदि तैँले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्यता बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई कर्तव्य निर्वाह गर्नमा र सत्यता पछ्याउनमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्वरका अभिप्रायहरू बुझ्न सक्ने, आफ्नो भ्रष्टता र कमीकमजोरीहरू थाहा पाउने, र आफ्ना सबै विविध स्थितिहरू सम्हाल्न सक्ने हुनेछस्। जब तैँले परिश्रम गर्न मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्नो हृदयको साँचो स्थिति अनि फरक फरक वातावरणहरूमा तँमा हुने विभिन्न प्रतिक्रिया र भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्नेछैनस्। यदि समस्याहरू हल नभई थाँती नै रहँदा परिणाम के हुन्छ भन्ने कुरा तँलाई थाहा छैन भने, तँ ठूलो समस्यामा छस्। तसर्थ, परमेश्वरलाई अन्योलग्रस्त तरिकाले विश्वास गर्नु अस्वीकार्य हुन्छ। तँ हरेक समय, हरेक स्थानमा परमेश्वरअघि जिउनुपर्छ; तँलाई जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यताको खोजी गर्नैपर्छ, र यसो गर्दा तैँले आत्मचिन्तन पनि गर्नैपर्छ, र तेरो स्थितिमा के-कस्ता समस्याहरू छन् भनेर पनि जान्नैपर्छ, अनि ती समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नैपर्छ। त्यसरी मात्रै तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र तँ मण्डलीको काममा ढिलाइ गराउनबाट बच्न सक्छस्। सबैभन्दा महत्त्वपूर्ण, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने मात्र होइन, तँसँग जीवन प्रवेश पनि हुनेछ र तैँले आफ्ना भ्रष्ट स्वभावहरू पनि हल गर्नेछस्। यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। यदि तैँले हृदयमा प्रायः मनन गर्ने कुरा तेरो कर्तव्यसित सम्बन्धित कामकुराहरू वा सत्यतासँग सम्बन्धित कामकुराहरू होइनन्, र बरु तँ बाहिरी कुराहरूमा अल्झिन्छस्, र तँ देहका कामकुराहरूमा डुबेर जिउँछस् भने, के तैँले सत्यता बुझ्न सक्नेछस् र? के तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्वरसामु जिउन सक्छस् र? अवश्यै सक्दैनस्। त्यस्तो व्यक्तिले मुक्ति प्राप्त गर्न सक्दैन।
परमेश्वरमा विश्वास गर्नु भनेको जीवनमा सही मार्गमा हिँड्नु हो, र व्यक्तिले सत्यता पछ्याउनैपर्छ। यो आत्मा र जीवनको मामला हो, र यो गैरविश्वासीहरूको सम्पत्ति र महिमाको पछ्याइ, आफ्ना लागि अमेट्य नाम कमाउने पछ्याइभन्दा फरक कुरा हो। यी फरक मार्गहरू हुन्। गैरविश्वासीहरूले आफ्नो काममा, कसरी थोरै काम गरेर धेरै पैसा कमाउने, अझै धेरै कमाउन कसरी शङ्कास्पद चालहरू चल्न सकिन्छ भनेर सोच्छन्। तिनीहरू कसरी धनी बन्ने र आफ्नो परिवारको लागि सम्पत्ति कमाउने भनेर दिनभरि सोच्छन्, र आफ्नो उद्देश्य हासिल गर्न तिनीहरू बेइमान उपायहरूसमेत निकाल्छन्। यो दुष्टको मार्ग, शैतानको मार्ग हो, र यो गैरविश्वासीहरू हिँड्ने मार्ग हो। परमेश्वरका विश्वासीहरू हिँड्ने मार्ग भनेको सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने मार्ग हो; यो परमेश्वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने मार्ग हो। सत्यता प्राप्त गर्न, तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले लगनसाथ परमेश्वरका वचनहरू पढ्ने, तिनलाई अभ्यास र अनुभव गर्ने गर्नुपर्छ—तैँले त्यसो गरेपछि मात्र सत्यता बुझ्नेछस्। अनि, जब तैँले सत्यता बुझ्छस्, तब आफ्नो कर्तव्य कसरी राम्रोसित निर्वाह गर्ने, र यसरी कामकुराहरू सिद्धान्तअनुसार गर्ने, अनि कसरी परमेश्वरमा समर्पित हुन पुग्ने भन्ने बारेमा सोच-विचार गर्नुपर्छ। यसका लागि सत्यता अभ्यास गर्न आवश्यक हुन्छ। सत्यता अभ्यास गर्नु सजिलो कुरा होइन: तैँले सत्यता खोज्नु मात्र होइन, आफूभित्र त्रुटिपूर्ण विचार र धारणाहरू छन् कि भनेर चिन्तन र पहिचान पनि गर्नुपर्छ, र यदि समस्याहरू छन् भने, तैँले ती हल गर्न सत्यताबारे सङ्गति गर्नुपर्छ। जब तैँले सत्यता अभ्यास गर्नुका सिद्धान्तहरू बुझ्छस्, तब सत्यता अभ्यास गर्न सक्छस्। अनि, सत्यता अभ्यास गरेर मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्वरमा समर्पित हुने व्यक्ति बन्न सक्छस्। यसरी अभ्यास र अनुभव गरेर, तैँले थाहै नपाई आफ्ना स्वभाव बदल्नेछस् र सत्यता प्राप्त गर्नेछस्। गैरविश्वासीहरू सधैँ प्रसिद्धि, लाभ र हैसियततर्फ लागिपरिरहेका हुन्छन्। फलस्वरूप, तिनीहरू दुष्टताको मार्गमा हिँड्छन्, अनि झन्झन् पतित, झन्झन् चतुर र छली, झन्झन् कपटी र षडयन्त्रकारी बन्दै जान्छन्; तिनीहरूका हृदय झन्झन् दुष्ट बन्दै जान्छन्, र तिनीहरू झन्झन् बुझ्न नसकिने र झन्झन् अज्ञेय बन्दै जान्छन्—यो गैरविश्वासीहरूको मार्ग हो। परमेश्वरमा विश्वास गर्नेहरूको मार्ग यसको ठीक विपरीत हुन्छ। परमेश्वरका विश्वासीहरू यो दुष्ट संसार र दुष्ट मानवजातिबाट आफैलाई अलग्याउन चाहन्छन्; तिनीहरू सत्यता पछ्याउन र आफ्नो भ्रष्टता शुद्धीकरण गर्न चाहन्छन्। तिनीहरू मानव रूपमा जिउँदा मात्र तिनीहरूको हृदय स्थिर र शान्त हुन्छ; तिनीहरू परमेश्वरलाई चिन्न, परमेश्वरको डर मान्न, दुष्टताबाट अलग बस्न, अनि उहाँको अनुमोदन र आशिष् प्राप्त गर्न चाहन्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले पछ्याउने कुरा यही हो। यदि तैँले वर्षौँसम्म परमेश्वरमा विश्वास गरेको छस्, साँच्चै सत्यता बुझ्छस्, र तँ परिवर्तित भएको छस् भने, अरूले तँसित जति धेरै अन्तर्क्रिया गर्छन्, तिनीहरूले तँ त्यति नै धेरै इमानदार छस्—तँ बोलीमा र कर्तव्य निर्वाहमा इमानदार छस्—तँ पूर्ण रूपमा खुला मनको व्यक्ति होस्, तँ कुनै कुरा लुकाउँदैनस्, र तँ पारदर्शी रूपले बोल्ने र व्यवहार गर्ने गर्छस्—भन्ने अनुभूति गर्नेछन्। तैँले बोल्ने कुराहरू, तैँले व्यक्त गर्ने दृष्टिकोणहरू, तैँले गर्ने कामहरू, र तैँले निर्वाह गर्ने कर्तव्यमार्फत, अनि तैँले अरूसित कुराकानी गर्दा अपनाउने तेरो इमानदार मनोवृत्तिमार्फत, मानिसहरूले तेरो हृदय छर्लङ्गै देख्न सक्नेछन्, अनि तँ कसरी व्यवहार गर्छस्, तेरा प्राथमिकताहरू के हुन्, र तैँले कुन लक्ष्य पछ्याउँछस् भनेर पनि देख्न सक्नेछन्। तिनीहरूले तँ असल र इमानदार व्यक्ति होस्, र तँ सही मार्गमा हिँडिरहेको छस् भनेर स्पष्टै देख्न सक्नेछन्। यसले तँ परिवर्तित भएको छस् भन्ने देखाउँछ। यदि तैँले लामो समयसम्म परमेश्वरमा विश्वास गरेको र आफ्नो कर्तव्य निभाएको छस् तर तैँले मानिसहरूसित अन्तर्क्रिया गर्दा तिनीहरूले सधैँ तेरो बोलीमा पारदर्शिता नभएको र तेरा दृष्टिकोणहरू अस्पष्ट रहेको महसुस गर्छन् र तेरा कार्यहरूमा तेरो हृदय छर्लङ्ग देख्न सक्दैनन् भने, र यदि तिनीहरूले निरन्तर तैँले आफ्नो हृदयमा कुराहरू लुकाएको महसुस गर्छन् भने, यसले तँ आफूलाई लुकाउन, भेष बदल्न र आफूलाई असल देखाउनमा माहिर, घुसघुसे व्यक्ति होस भन्ने देखाउँछ। यदि तँसँग कैयौँ वर्षको अन्तर्क्रिया गरेपछि पनि अरूले तेरो हृदय पूर्ण रूपमा बोध गर्न सक्दैनन् भने, र तेरो स्वभाव र तेरो सार नभई तेरो मिजास र चरित्र मात्र देख्छन् भने, यसले तँ अझै पनि तेरो शैतानी स्वभावअनुसार नै जिइरहेको छस् भन्ने देखाउँछ। तँ जति धेरै धूर्त हुन्छस्, त्यसले तँ त्यति नै असल व्यक्ति होइनस्, तँभित्र मानवताको कमी छ, र तँ दियाबलसहरू र शैतानको होस् भन्ने देखाउँछ। यदि तँ कुनै सत्यता प्राप्त गर्दैनस्, र तैँले जति नै धेरै वर्ष परमेश्वरमा विश्वास गरे पनि तेरा भ्रष्ट स्वभावहरू शुद्ध हुँदैनन् भने, तँजस्तो व्यक्तिलाई मुक्ति प्राप्त गर्न एकदमै गाह्रो हुनेछ। अनि तेरो कुरा घुमाउन सक्ने क्षमता, वाक्पटुता, चातुर्य, द्रुत प्रतिक्रिया, र कामकुराहरू सम्हाल्ने तेरो सिपको बाबजुद पनि, यदि तँसित अन्तर्क्रिया गर्नेहरूले सधैँ अस्थिर महसुस गर्छन् र तँ भर नपर्दो, भरोसा गर्न अयोग्य, र बुझ्न नसकिने छस् भनेर महसुस गर्न सक्छन् भने, तँ समस्यामा छस्। यसले तँ परमेश्वरमा विश्वास गरेर पनि बदलिएकै छैनस् र तैँले उहाँमा साँचो विश्वास गर्दैनस् भन्ने इङ्गित गर्छ। के अहिलेसम्म तिमीहरूले परमेश्वरप्रतिको आफ्नो विश्वासमा कुनै वास्तविक परिवर्तन अनुभव गरेका छौ? के तिमीहरू अरूसित इमानदार मनोवृत्तिसाथ अन्तर्क्रिया गर्छौ? के अरूले तँ इमानदार छस् भन्ने अनुभूति गर्छन्? (मलाई तुरुन्तै फाइदा हुने कुराहरूमा, म झूट बोल्न र धोका दिन सक्छु; तर जब ती कुराहरू मलाई तुरुन्तै फाइदा हुने कुराहरू हुँदैनन्, तब म सत्य बोल्न र अलिअलि हृदय खोल्न सक्छु।) (म आफूले बोल्ने कुरामा चयनात्मक छु—म केही कुराहरू खुलेर बोल्छु, तर मेरो हृदयको गहिराइमा लुकेका कुराहरू म लुकाएरै राख्छु। अरूसित अन्तर्क्रिया गर्दा, म अझै पनि आफूलाई ढाकछोप गर्ने र भेष बदल्ने गर्छु।) यो आफ्ना भ्रष्ट स्वभावहरूमा व्यक्ति जिइरहेको एउटा उदाहरण हो। यदि व्यक्तिले सत्यता पछ्याउँदैन र आफ्ना भ्रष्ट स्वभावहरू सुल्झाउँदैन भने, ऊ कसरी परिवर्तन हुन सक्छ? तिमीहरू सबैजना कर्तव्य निर्वाह गर्ने मानिस हौ। कम्तीमा पनि, तँसित इमानदार हृदय हुनैपर्छ र तैँले परमेश्वरलाई तँ निष्कपट छस् भनेर देखाउनुपर्छ—त्यसपछि मात्रै तैँले परमेश्वरको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन प्राप्त गर्न सक्छस्। परमेश्वरको छानबिनलाई स्विकार्नु नै तेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ र अरू मानिसहरूबीच जस्तोसुकै अवरोधहरू भए पनि, तैँले आफ्नो आडम्बर र घमण्डलाई जति नै महत्त्व दिए पनि, र तँसित तैँले शुद्ध, सरल तरिकाले खुलस्त भन्न नसक्ने जस्तोसुकै अभिप्रायहरू भए पनि, यी सबै कुरा बिस्तारै परिवर्तन हुनैपर्छ। हरेक व्यक्ति यी भ्रष्ट स्वभाव र कठिनाइहरूबाट चरणबद्ध रूपमा बाहिर निस्कनैपर्छ, र उसका भ्रष्ट स्वभावहरूले खडा गर्ने बाधाहरूलाई उसले जित्नैपर्छ। तैँले यी बाधाहरूलाई जित्नुअघि, के तँसित वास्तवमा परमेश्वरप्रति इमानदार हृदय छ त? के तँ उहाँबाट कुराहरू लुकाउँछस् र गोप्य राख्छस्, वा उहाँबाट आफ्नो भेष बदल्ने र उहाँलाई धोका दिने प्रयास गर्छस्? तँ हृदयमा यसबारे स्पष्ट हुनुपर्छ। यदि तेरो हृदयमा यी कुराहरू छन् भने, तैँले परमेश्वरको छानबिनलाई स्विकार्नुपर्छ। तैँले कुराहरूलाई संयोगको भरमा छोडिदिने मानसिकता राख्नु हुँदैन, र यसो भन्नु हुँदैन, “म परमेश्वरप्रति आफूलाई जीवनभरि समर्पित गर्न चाहन्नँ। मैले अझै परिवार बसाउनु छ र आफ्नै जीवन जिउनु छ। आशा छ, परमेश्वरले मेरो छानबिन गर्नुहुनेछैन र मलाई दोषी ठहराउनुहुनेछैन।” यदि तँ परमेश्वरबाट यी सबै कुरा लुकाउँछस्—अर्थात्, तँ तेरो हृदयको गहिराइमा रहेका अभिप्राय, उद्देश्य, योजना, जीवनको रूपरेखा, धेरै वटा कुराबारे तेरा दृष्टिकोणहरू, र परमेश्वरमा विश्वास गर्नेबारे तेरा दृष्टिकोणहरू परमेश्वरबाट लुकाउँछस् भने—तँ गम्भीर समस्यामा छस्। यदि तँ यी मूल्यहीन कुराहरू लुकाउँछस् र तिनलाई समाधान गर्न सत्यता खोज्दैनस् भने, यसले तँ सत्यतालाई प्रेम गर्दैनस्, र तँलाई सत्यता स्विकार्न र प्राप्त गर्न गाह्रो छ भन्ने देखाउँछ। तँ अरू मानिसहरूबाट कुराहरू लुकाउन सक्छस्, तर तँ तिनलाई परमेश्वरबाट लुकाउन सक्दैनस्। यदि तँ परमेश्वरमाथि आस्थासमेत राख्न सक्दैनस् भने, तँ उहाँमा किन विश्वास गर्छस्? यदि तँसित केही गोप्य कुरा छन्, र तैँले ती कुराहरू बाँडिस् भने मानिसहरूले तँलाई हेला गर्लान् कि भनेर तँलाई डर लाग्छ, र तँसित मुख खोल्ने साहस छैन भने, तँ परमेश्वरलाई शुद्ध, सरल तरिकाले खुलस्त रूपमा बताउन सक्छस्। तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ—उहाँप्रतिको विश्वासमा तैँले पालेका दुष्ट अभिप्रायहरू, तेरो भविष्य र नियतिको खातिर तैँले गरेका कामकुराहरू, र ख्याति र प्राप्तिका लागि तैँले प्रयास गरेका तरिकाहरू तैँले परमेश्वरसामु स्वीकार गर्नुपर्छ, र उहाँलाई यी कुराहरूबारे खुलस्त बताउनुपर्छ; ती कुरालाई उहाँबाट नलुका। तैँले जतिसुकै मानिसहरूसामु आफ्नो हृदय बन्द गरे पनि, परमेश्वरसामु चाहिँ आफ्नो हृदय बन्द नगर्—तैँले उहाँसामु आफ्नो हृदय खोल्नैपर्छ। त्यो भनेको उहाँमा विश्वास गर्नेहरूसित हुनुपर्ने न्यूनतम सच्चाइ हो। यदि परमेश्वरसामु तेरो हृदय खुला छ र उहाँसामु बन्द छैन, र तँ उहाँको छानबिनलाई स्विकार्न सक्छस् भने, उहाँ तँलाई कसरी हेर्नुहुनेछ? तँ अरूसामु खुलस्त नभए पनि, यदि तँ परमेश्वरसामु खुलस्त हुन सक्छस् भने, उहाँले तँ इमानदार भएको र तँसित इमानदार हृदय भएको देख्नुहुनेछ। तेरो इमानदार हृदय उहाँको छानबिनसामु खुला छ, र उहाँको नजरमा यो बहुमूल्य छ—त्यस्तो अवस्थामा, परमेश्वरले अवश्यै तँमाथि काम गर्नुहुनेछ। उदाहरणका लागि, यदि तैँले परमेश्वरप्रति कुनै छली काम गरेको छस् भने, उहाँले तँलाई ताडना दिनुहुनेछ। त्यसपछि तैँले उहाँको ताडनालाई स्विकार्नैपर्छ र उहाँसामु छिट्टै पश्चात्ताप र स्वीकार गर्नुपर्छ। आफ्ना गल्तीहरू स्वीकार गर्, आफ्नो विद्रोहीपन र भ्रष्टता स्वीकार गर्, परमेश्वरको सजाय र न्यायलाई स्वीकार गर्, र आफ्ना भ्रष्ट स्वभावहरूलाई चिन्। उहाँका वचनहरूअनुसार अभ्यास गर्, र साँचो रूपमा पश्चात्ताप गर्। यो नै परमेश्वरप्रतिको तेरो सच्चा विश्वास, र उहाँमाथिको तेरो साँचो आस्थाको प्रमाण हुनेछ।
इमानदार व्यक्ति बन्ने अभ्यास गर्न, तैँले पहिले परमेश्वरसामु आफ्नो हृदय खोल्न र हरेक दिन प्रार्थनामा उहाँलाई हृदयस्पर्शी कुराहरू भन्न सिक्नुपर्छ। उदाहरणका लागि, आज तँ एउटा झूट बोल्छस् जुन कसैले थाहा पाउँदैन, तर तँसित यसबारे सबैलाई खुलस्त रूपमा बताउने साहस छैन—कम्तीमा पनि, तैँले आफूले जाँचेका र पत्ता लगाएका गल्ती, झूट, र असत्य कुराहरूमाथि चिन्तन गर्नका लागि तिनलाई तुरुन्तै परमेश्वरसामु ल्याउनुपर्छ, र यसो भन्नुपर्छ: “परमेश्वर, मैले आफ्नै हितहरूको रक्षा गर्न फेरि झूट बोलेको छु। यो गलत थियो। यदि मैले फेरि झूट बोलेँ भने कृपया मलाई ताडना दिनुहोस्।” परमेश्वर यस्तो मनोवृत्तिलाई स्विकार्नुहुन्छ र उहाँ यसलाई याद राख्नुहुनेछ। झूट बोल्ने यो छली भ्रष्ट स्वभावलाई समाधान गर्न तैँले कठोर मेहनत गर्नुपर्ने हुन सक्छ, तर चिन्ता नगर्। परमेश्वर तेरो साथमा हुनुभएकोले, उहाँले तँलाई मार्गदर्शन गर्नुहुनेछ र तँलाई एकपछि अर्को बाधा पार गर्न मद्दत गर्नुहुनेछ, र तँलाई आफ्ना झूटहरू कहिल्यै स्वीकार नगर्ने अवस्थाबाट आफ्ना झूटहरू स्वीकार गर्ने र खुलस्त हुन र आफूलाई उदाङ्गो पार्न सक्ने अवस्थामा पुग्ने साहस दिनुहुनेछ, आफ्ना झूटहरू स्वीकार गर्ने मात्र होइन, तैँले झूट बोल्नुका कारणहरू, र झूट बोल्नुमा तेरा अभिप्राय र उद्देश्यहरूबारे खुलस्त हुन र तिनलाई उदाङ्गो पार्न सक्ने साहस पनि दिनुहुनेछ। जब तँसित यो बाधा पार गर्ने, शैतानले तँलाई थुनेको पिँजडा र यसले तँमाथि गर्ने नियन्त्रणबाट मुक्त हुने, र क्रमिक रूपमा झूट नबोल्ने बिन्दुमा पुग्ने साहस हुन्छ, तब तँ परमेश्वरको मार्गदर्शन र आशिष्सहित बिस्तारै ज्योतिमा जिउन थाल्नेछस्। जब तँ देहद्वारा नियन्त्रित हुने बाधा पार गर्छस्, र तँ भावनाहरू, घमण्ड, हैसियत, वा व्यक्तिगत हितहरूद्वारा बाँधिन छोड्छस्, र सत्यताप्रति समर्पित हुन, खुलस्त हुन, आफूलाई उदाङ्गो पार्न, सार्वजनिक रूपमा स्वीकार गर्न, र आशङ्काहरूबाट मुक्त हुन सक्छस्, तब तँ मुक्त र स्वतन्त्र हुनेछस्। जब तँ यसरी जिउँछस्, तब मानिसहरूले मात्र होइन, परमेश्वरले पनि तँलाई मन पराउनुहुनेछ। तैँले कहिलेकाहीँ अझै पनि गल्तीहरू गर्ने वा सिद्धान्तहरू उल्लङ्घन गर्ने भए पनि, कहिलेकाहीँ अझै पनि झूट बोल्ने वा देखावटी रूप धारण गर्ने भए पनि, र कहिलेकाहीँ व्यक्तिगत अभिप्रायहरू, स्वार्थी चाहनाहरू, वा स्वार्थी र घृणास्पद विचार र व्यवहारहरूका साथ बोल्ने र काम गर्ने भए पनि, तँ परमेश्वरको छानबिनलाई स्विकार्न, आफ्ना अभिप्रायहरू, वास्तविक स्थिति, र भ्रष्ट स्वभावहरू उहाँसामु उदाङ्गो पार्न, र उहाँबाट सत्यता खोज्न सक्षम हुनेछस्। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँसित अभ्यासको मार्ग हुनेछ। जब तेरो अभ्यासको मार्ग सही हुन्छ, र तँ सही दिशामा अघि बढिरहेको हुन्छस्, तब तेरो भविष्य सुन्दर र चम्किलो हुनेछ। यसरी, तँ हृदयमा शान्तिका साथ जिउनेछस्, तेरो आत्माले पोषण पाउनेछ, र तँ परिपूर्ण महसुस गर्नेछस् र आनन्द अनुभव गर्नेछस्। यदि तँ देहका बन्धनहरूबाट मुक्त हुन सक्दैनस्, यदि तँ निरन्तर भावनाहरू, व्यक्तिगत हितहरू, र शैतानका दर्शनहरूद्वारा नियन्त्रित हुन्छस्, सधैँ गोप्य तरिकाले बोल्छस् र काम गर्छस्, र सधैँ छायामा लुक्छस् भने, तँ शैतानको शक्तिअन्तर्गत जिइरहेको छस्। तर, यदि तँ सत्यता बुझ्छस्, देहका बन्धनहरूबाट मुक्त हुन सक्छस्, र सत्यता अभ्यास गर्छस् भने, तैँले बिस्तारै मानव रूप धारण गर्नेछस्। तँ आफ्ना बोली र कार्यहरूमा खुला र इमानदार हुनेछस्, र तँ आफ्ना राय, विचार, र तैँले गरेका गल्तीहरू उदाङ्गो पार्न सक्षम हुनेछस्, जसले गर्दा सबैले ती कुरा प्रस्ट रूपमा देख्न पाउनेछन्। अन्त्यमा, मानिसहरूले तँलाई पारदर्शी व्यक्तिको रूपमा पहिचान गर्नेछन्। यो पारदर्शी व्यक्ति भनेको के हो? यो भनेको असाधारण इमानदारीसाथ कुरा गर्ने व्यक्ति हो जसको बोलीवचन साँचो हुन्छ भनेर सबैले विश्वास गर्छन्। यदि उसले अनजानमै कुनै झूट वा कुनै गलत कुरा बोल्यो भने पनि, मानिसहरूले त्यो अनजानमा बोलिएको हो भन्ने जानेर उसलाई क्षमा दिन सक्नेछन्। यदि उसले आफूले ढाँटेको वा कुनै गलत कुरा बोलेको महसुस गर्यो भने, उसले माफी माग्नेछ, र आफूलाई सच्याउनेछ। यस्तो व्यक्ति नै पारदर्शी व्यक्ति हो। यस्तो व्यक्तिलाई सबैले मन पराउँछन्, र सबैले विश्वास गर्छन्। परमेश्वरको र अरूहरूको भरोसा जित्नका लागि तैँले यो स्तरमा पुग्नुपर्छ। यो सजिलो कार्य होइन—यो त व्यक्तिमा हुन सक्ने सबैभन्दा उच्चस्तरीय मर्यादा हो। यसप्रकारको व्यक्तिसँग आत्मसम्मान हुन्छ। यदि तँ अरूहरूको भरोसा नै जित्न सक्दैनस् भने, तैँले कसरी परमेश्वरको भरोसा प्राप्त गर्ने अपेक्षा गर्न सक्छस्? कतिपय त्यस्ता व्यक्ति छन् जो असम्मानित जीवन जिउँछन्, निरन्तर झूट बोल्छन् र अनि झाराटारुवा तरिकाले र अलिकति पनि जिम्मेवारीको बोधविना कामकुराहरू गर्छन्। तिनीहरू काटछाँटमा पर्न स्विकार्दैनन्, सधैँ भ्रमपूर्ण तर्कहरूको सहारा लिन्छन्। तिनीहरूलाई भेट्ने जोकोही तिनीहरूप्रति वितृष्णा महसुस गर्छ; तिनीहरू अत्यन्तै निर्लज्ज तरिकाले जिउँछन्। के त्यस्ता मानिसहरूलाई मानव भन्न मिल्छ? अरूमा वितृष्णाको भावना जगाउने र भरोसा गर्न अयोग्य देखिने मानिसहरूले पूर्ण रूपमा मानवता गुमाएका हुन्छन्। यदि अरूले तिनीहरूलाई भरोसा गर्न सक्दैनन् भने, के परमेश्वरले गर्न सक्नुहोला र? यदि अरूले तिनीहरूलाई मन पराउँदैनन् भने, के परमेश्वरले तिनीहरूलाई मन पराउन सक्नुहोला र? परमेश्वर त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्न, र उहाँ तिनीहरूप्रति वितृष्ण हुनुहुन्छ; तिनीहरू पक्कै पनि हटाइनेछन्। आफूलाई आचरणमा ढाल्दा, तँ इमानदार हुनैपर्छ र तैँले आफ्ना प्रतिबद्धताहरूको सम्मान गर्नैपर्छ। अरूका लागि केही काम गर्दा होस् वा परमेश्वरका लागि गर्दा होस्, तैँले आफ्नो वचनलाई पालन गर्नैपर्छ, मानिसहरूको भरोसा जित्न अनि परमेश्वरलाई सन्तुष्ट र आश्वस्त पार्न सक्नुपर्छ। यसले तँलाई तुलनात्मक रूपमा इमानदार व्यक्ति बनाउनेछ। यदि तँ आफ्ना कार्यहरूमा भरोसायोग्य छस् भने, तँलाई अरूले मात्र मन पराउनेछैनन्, परमेश्वरले पनि तँलाई पक्कै मन पराउनुहुनेछ। तँ इमानदार व्यक्ति बनिस् भने, परमेश्वरले तँलाई मन पराउनुहुनेछ र तँ इज्जतका साथ जिउनेछस्। त्यसकारण, इमानदार व्यक्ति बन्नु नै व्यक्तिको आत्म-आचरणको प्रस्थान बिन्दु हुनुपर्छ।
इमानदार व्यक्ति हुनका लागि सबैभन्दा महत्त्वपूर्ण अभ्यास के हो? तैँले परमेश्वरसँग आफ्नो हृदय खोल्नैपर्छ। तर हृदय खोल्नुको अर्थ के हो त? त्यसको अर्थ के हो भने तैँले परमेश्वरलाई आफूले सोचिरहेको कुरा, आफूमा भएका अभिप्रायहरू, र तँलाई नियन्त्रित गर्ने कुरा बताउनुपर्छ, र त्यसपछि उहाँबाट सत्यता खोज्नुपर्छ। तैँले जे भने पनि, वास्तवमा परमेश्वर सबथोक अत्यन्तै स्पष्टसँग देख्नुहुन्छ। यदि तँ हृदयबाट परमेश्वरसँग बोल्न, आफूले अरूबाट लुकाएका कुराहरूबारे समेत उहाँसँग खुलस्त हुन, र केही नलुकाई ती कुराहरू स्पष्टसँग बताउन, अनि कुनै अभिप्राय नबोकी आफ्ना सोचहरू जस्ताको त्यस्तै व्यक्त गर्न सक्छस् भने, त्यो खुलस्त हुनु हो। यदि तँ कहिलेकाहीँ इमानदारीपूर्वक बोलेर अरूलाई चोट पुऱ्याउँछस् वा चिढ्याउँछस् भने, के कसैले “तपाईँ एकदमै इमानदारीसाथ बोल्नुहुन्छ, यो एकदमै चोट पुग्ने कुरा हो—म तपाईँको इमानदारी स्विकार्न सक्दिनँ” भनेर भन्ला र? अहँ, तिनीहरूले त्यसो भन्ने छैनन्। तैँले कहिलेकाहीँ अरूलाई चोट पुग्ने गरी केही कुरा भन्ने भए पनि, यदि तँ खुलस्त भएर तिनीहरूलाई माफी माग्छस्, आफ्ना शब्दहरूमा बुद्धिको कमी थियो र तिनीहरूको कमजोरीप्रति आफू सहानुभूतिहीन भएँ भनेर स्विकार्छस् भने, अनि तिनीहरूले तेरो खराब नियत छैन, तँ केवल चातुर्यविना र सोझै कुरा गर्ने इमानदार व्यक्ति होस् भनेर देख्छन् भने, तिनीहरूले त्यसलाई तँविरुद्ध प्रयोग गर्नेछैनन्, र आफ्नो हृदयमा तँलाई मन पराउनेछन्। के त्यसोभए तिमीहरूबीच कुनै अवरोध हुनेछैन र? यदि कुनै अवरोध हुँदैन भने, द्वन्द्व उत्पन्न हुनेछैन, र समस्या शीघ्रै हल गर्न सकिन्छ, र यसरी जिउँदा एकदमै ढुक्क र स्वतन्त्र होइन्छ। “इमानदार व्यक्ति बनेर मात्र तँ खुसी हुन सक्छस्” भन्नुको अर्थ यही हो। इमानदार व्यक्ति बन्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको तैँले पहिले परमेश्वरलाई आफ्नो हृदय खोल्नैपर्छ, र त्यसपछि अरूसित खुलस्त हुन सिक्नैपर्छ। इमानदारीपूर्वक, सच्चा रूपमा र हृदयदेखि बोल्। मर्यादा, निष्ठा र चरित्र भएको व्यक्ति बन्; खोक्रा अलङ्कारिक वा झूटो रूपमा नबोल्, अनि छद्मभेषी वा छली तरिकामा नबोल्। त्यसबाहेक, इमानदार व्यक्ति बन्नका लागि अभ्यास गर्ने अर्को पक्ष छ, जुन के हो भने तँसँग आफ्नो कर्तव्य निर्वाह गर्दा इमानदार मनोवृत्ति हुनैपर्छ, र त्यो इमानदार हृदयले निर्वाह गर्नैपर्छ। कम्तीमा पनि, तैँले आफ्नो विवेकका आधारमा कार्य गर्नैपर्छ; तैँले सत्यता सिद्धान्तहरूप्रति प्रयास लगाउनैपर्छ, र परमेश्वरका मागहरूप्रति प्रयास लगाउनैपर्छ। त्यो तैँले केवल केही कुरा भन्न सकिस् र त्यो भइहाल्यो भन्ने होइन, र केवल कुनै निश्चित मनोवृत्ति अपनाउनुले तँ सत्यता अभ्यास गर्दै छस् भनेर अर्थ्याउँदैन। त्यसमा इमानदार व्यक्ति बन्नुको वास्तविकता कहाँ छ? वास्तविकता नहुनु र केवल नाराहरू फलाक्नु पर्याप्त हुँदैन। परमेश्वर मानिसहरूलाई छानबीन गर्नुहुन्छ; उहाँ तिनीहरूको हृदय मात्र होइन, तिनीहरूका व्यवहार, प्रकटीकरण र अभ्यासहरू पनि नियाल्नुहुन्छ। यदि तँ आफू इमानदार व्यक्ति बन्दै छु भनेर दाबी गर्छस् तर कुनै कुरा आइपर्दा अझै पनि ढाँट्न र धोका दिन सक्छस् भने, के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? होइन; यो त एउटा कुरा भन्नु र अर्कै कुरा सोच्नु हो। तँ एउटा कुरा भन्छस् तर वास्तवमा अर्कै काम गर्छस्, अरूलाई मूर्ख बनाउन सधैँ चिल्लो कुरा गर्छस् अनि झूटो ईश्वरभक्तिमा संलग्न हुन्छस्। तँ ठ्याक्कै ती फरिसीहरूजस्तै छस्, जो धर्मशास्त्रहरूलाई अद्योपान्त वाचन गरेर मानिसहरूलाई बुझाउन सक्थे तर केही आइपर्दा धर्मशास्त्रहरूअनुसार अभ्यास गर्दैनथे—तिनीहरू सधैँ हैसियतका लाभहरूमा लिप्त हुन्थे, र तिनीहरू आफ्नो ख्याति, प्राप्ति र हैसियत त्याग्न अनिच्छुक थिए। यसरी फरिसीहरू पाखण्डी थिए। तिनीहरू हिँड्ने मार्ग ठिक थिएन, त्यो सही थिएन, र तिनीहरू जस्तालाई परमेश्वर घृणा गर्नुहुन्छ। के त्यस्ता व्यक्तिहरूलाई अरूले भरोसा गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूलाई थाहा छ, अहिले परमेश्वरले तिमीहरूलाई कति भरोसा गर्नुहुन्छ? के तिमीहरूले परमेश्वरको भरोसा प्राप्त गरेका छौ? (छैनौँ।) के तिमीहरूले अरूहरूको भरोसा जितेका छौ? (छैनौँ।) यदि तिमीहरूले परमेश्वरको अनि अरू मानिसहरूको भरोसा प्राप्त गरेका छैनौ भने, के तिमीहरू इज्जतसाथ जिइरहेका छौ त? (छैनौँ।) जीवन जिउने कस्तो दयनीय तरिका! मान्छेको सबैभन्दा गहिरो व्यथा भनेको इज्जतविना जिउनु अनि अरू मानिसहरू र परमेश्वरको भरोसा जित्न नसक्नु हो। यदि कसैले तँलाई “अरूले तपाईँको बारेमा के सोच्छन्? के तिनीहरूले तपाईंलाई भरोसा गर्छन्? यदि तिनीहरूले तपाईँलाई कुनै काम सुम्पे भने, के तिनीहरू, तपाईँले त्यो राम्रोसित गर्नुहुनेछ भनेर विश्वास गर्छन् त?” भनेर सोध्यो भने, तँलाई आफूमाथि कसैले पनि त्यो स्तरको भरोसा राख्दैन भन्ने लाग्छ होला। यदि तँ आफूसित निष्कपट हृदय भएको विश्वास गर्छस् तर मानिसहरूले अझै पनि तँमाथि भरोसा गर्दैनन् भने, यसले तेरो इमानदारीतामा अझै पनि कमी र अशुद्धता छ भन्ने इङ्गित गर्छ। यदि अरूले तेरो निष्कपटता देख्न सक्दैनन् भने, के भरोसा निर्मित हुन्छ त? आफ्नो निष्कपटतामा विश्वास गर्नु मात्र काफी हुँदैन; तैँले अरूले देख्ने गरी आफ्नो इमानदारीता अभ्यास र प्रदर्शन गर्नैपर्छ। यदि कसैले पनि तँलाई भरोसा गर्दैन भने, तँ पक्कै पनि इमानदार व्यक्ति होइनस्। अरूहरूले तँमा इमानदारीता नभएको छर्लङ्गै देख्न सक्छन् भन्ने कुरा विचार गर्दा, र परमेश्वरले कुनै पनि मान्छेले भन्दा सय वा हजार गुणा बढी स्पष्ट रूपले मानिसहरूको हृदयको गहनतम भागको छानबिन गर्नुहुन्छ भन्ने कुरा विचार गर्दा—के तँ परमेश्वरले तँलाई भरोसा गर्नुहुनेछ भनेर साँच्चै विश्वास गर्छस्? यदि तँमाथि परमेश्वरको भरोसा नभएको कारण उहाँले तँलाई अन्याय गर्नुभयो भन्ने अनुभूति गर्ने अवस्थामा पुगिस् भने, तैँले आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्नो निष्कपटता हद र गहिराइ मूल्याङ्कन गर्नुपर्छ। तैँले यसरी चिन्तन गर्नुपर्छ: “परमेश्वरले मानिसहरूको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ, र उहाँलाई मैले के सोच्छु भनेर थाहा हुनुपर्छ। यदि मैले आफ्नो व्यवहारको आधारमा आफ्नो मूल्याङ्कन गर्ने हो भने, म आफै पनि आफूलाई उच्च मूल्याङ्कन गर्दिनथेँ। त्यसैले, परमेश्वरले मलाई भरोसा नगर्नु सामान्य कुरा हो।” यदि तैँले परमेश्वर वा अरू मानिसहरूको भरोसा जितेको छैनस् भने, तेरो कार्यदिशा के हुनुपर्छ? तैँले जस्तोसुकै चुनौतीहरू आइपरे पनि इमानदार व्यक्ति बन्ने सत्यतामा प्रवेश गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तँ मुक्ति प्राप्त गर्न असक्षम हुनेछस्।
परमेश्वरले मानिसहरू इमानदार होऊन् भनी माग गर्नुहुन्छ, र यो अत्यन्तै महत्त्वपूर्ण छ। इमानदार व्यक्ति बन्ने अभ्यास गर्ने क्रममा तैँले धेरै असफलताहरू अनुभव गरिस् र तँलाई यो अत्यन्तै गाह्रो लाग्यो भने तैँले के गर्नुपर्छ? के तँ नकारात्मक बनेर पछि हट्नुपर्छ, र तैँले सत्यता अभ्यास गर्न छोड्नुपर्छ? कुनै व्यक्ति सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुरा यसैले सबैभन्दा बढी प्रकट गर्छ। एउटा निश्चित समयसम्म इमानदार व्यक्ति बन्ने अभ्यास गरेपछि, कतिपय व्यक्ति सोच्छन्, “इमानदार व्यक्ति बन्न अत्यन्तै गाह्रो छ। यसले मेरो आडम्बर, गौरव, र प्रतिष्ठामा चोट पुर्याइरहेको छ—म साँच्चै यो सहनै सक्दिनँ!” फलस्वरूप, तिनीहरू उप्रान्त इमानदार बन्न चाहँदैनन्। वास्तवमा, इमानदार व्यक्ति बन्नुको कठिनाइ यहीँनेर छ, र धेरैजसो व्यक्ति यही बिन्दुमा असफल हुन्छन् र अड्किन्छन्। त्यसोभए, इमानदार व्यक्ति बन्ने अभ्यास गर्न के गर्नुपर्ने हुन्छ? कस्तो प्रकारको व्यक्तिले सत्यतालाई व्यवहारमा लागु गर्न सक्छ? पहिलो कुरा, व्यक्तिले सत्यतालाई प्रेम गर्नैपर्छ। ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हुनैपर्छ—त्यो निश्चित छ। कतिपय मानिसले केही वर्षसम्म इमानदार व्यक्ति बन्ने अभ्यास गरेपछि साँच्चै नतिजाहरू हासिल गर्छन्। तिनीहरूका झूट र छल बिस्तारै कम हुँदै जान्छन्, र तिनीहरू वास्तवमै आधारभूत रूपमा इमानदार मानिस बन्छन्। के इमानदार व्यक्ति बन्ने अभ्यासको अनुभव गर्ने क्रममा तिनीहरूले कठिनाइहरूको सामना नगरेको वा बाटोमा दुःख नपाएको हुन सक्छ? तिनीहरूले पक्कै पनि धेरै दुःख सहेका हुन्छन्। तैपनि तिनीहरूले सत्यतालाई प्रेम गर्ने हुनाले, तिनीहरू यसलाई अभ्यास गर्ने खातिर दुःख सहन सक्षम हुन्छन्, देहविरुद्ध विद्रोह गर्न साथै सत्य कुरा बोल्न र वास्तविक कामकुराहरू गर्न लागिरहन सक्षम हुन्छन्, इमानदार मानिसहरू बन्न सक्षम हुन्छन्, र तिनीहरूले अन्ततः परमेश्वरको आशिष् प्राप्त गरेका हुन्छन्। इमानदार व्यक्ति बन्न, व्यक्तिले सत्यतालाई प्रेम गर्नैपर्छ र ऊसँग परमेश्वरमा समर्पित हृदय हुनैपर्छ। यी दुइटा कुरा अति महत्त्वपूर्ण छन्। सत्यतालाई प्रेम गर्ने सबैमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुन्छ। परमेश्वरलाई प्रेम गर्नेहरूलाई सत्यता अभ्यास गर्न निकै सजिलो हुन्छ, र तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्न जुनसुकै प्रकारको कष्ट पनि सहन सक्छन्। यदि कुनै व्यक्तिसित परमेश्वरलाई प्रेम गर्ने हृदय छ भने, जब उसको सत्यता अभ्यासमा अपमान वा अड्चन र असफलताहरू आइलाग्छन्, तब परमेश्वर खुसी भएसम्म, उसले उहाँलाई सन्तुष्ट पार्नका लागि त्यो अपमान र कष्ट सहन सक्नेछ। तसर्थ, ऊ सत्यता अभ्यास गर्न सक्षम हुन्छ। सत्यताको कुनै पनि पक्ष अभ्यास गर्दा त्यसमा अवश्यै निश्चित हदसम्म कठिनाइ हुन्छ, विशेषगरी इमानदार व्यक्ति बन्नु, जुन झनै गाह्रो छ। सबैभन्दा ठूलो कठिनाइ भनेको व्यक्तिका भ्रष्ट स्वभावहरूले ल्याउने अड्चन हो। सबै मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् र तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्। उदाहरणको लागि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” वा “झूट नबोली कुनै पनि महान् काम सम्पन्न गर्न सकिँदैन” भन्ने भनाइहरूलाई लिऔँ। यी भनाइहरू शैतानी दर्शन र भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू हुन्। मानिसहरूले काम पूरा गर्न, व्यक्तिगत लाभहरू प्राप्त गर्न, र आफ्ना लक्ष्यहरू हासिल गर्न झूटको सहारा लिनुपर्छ। जब व्यक्तिमा यसप्रकारको भ्रष्ट स्वभाव हुन्छ, तब निश्चय नै उसलाई इमानदार व्यक्ति बन्न त्यति सजिलो हुँदैन। व्यक्तिले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमाथि भर पर्नुपर्छ, अनि बारम्बार आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ, तब मात्रै उसले बिस्तारै देहविरुद्ध विद्रोह गर्दै जान, आफ्ना व्यक्तिगत स्वार्थहरू त्याग्न, र आफ्नो आडम्बर र अभिमान फाल्न सक्छ। यसका साथै, व्यक्तिले इमानदार व्यक्ति बन्न, सत्य बोल्न र झूट बोल्नबाट आफूलाई रोक्न सक्षम हुनुअघि विभिन्न प्रकारका बदनामी र दोषारोपणहरू सहनुपर्छ। तैँले इमानदार व्यक्ति बन्ने अभ्यास गर्ने अवधिमा, यो अपरिहार्य छ कि तँ धेरै पटक असफल हुनेछस्, र तैँले भ्रष्टता प्रकट गर्ने समयहरू, तैँले साँच्चै सोचिरहेको कुरा नभन्ने समयहरू, वा तैँले देखावटी रूप धारण गर्ने र छलको अभ्यास गर्ने समयहरू आउनेछन्। तथापि, तँमाथि जे-जस्ता कुराहरू आइपरे पनि, यदि तँ सत्य बोल्न र इमानदार व्यक्ति बन्न चाहन्छस् भने, तँ आफ्नो घमण्ड र आडम्बर त्याग्न सक्षम हुनुपर्छ। जब तँ कुनै कुरा बुझ्दैनस्, त्यो बुझिनँ भन्; जब तँ कुनै कुराबारे स्पष्ट हुँदैनस्, त्यो स्पष्ट भएन भन्। अरूले तँलाई नीच नजरले हेर्लान् वा कम सोच्लान् भनेर नडरा। यसरी निरन्तर हृदयबाटै कुरा गर्दा अनि इमानदारीपूर्वक बोल्दा, तैँले हृदयमा आनन्द, शान्ति अनि स्वतन्त्रता र आजाद भएको अनुभूत गर्नेछस्, अनि आडम्बर र घमण्डले उप्रान्त तँलाई बन्धनमा पार्नेछैन। तैँले जोसुकैसित अन्तर्क्रिया गरे पनि, यदि तँ आफूले साँचो रूपमा सोच्ने कुराबारे निष्कपट रूपमा खुलस्त हुन, अरूसँग आफ्नो हृदय बाँड्न र आफूले नजानेको कुरा जानेको ढोँग बिलकुलै नगर्न सक्छस् भने, त्यो इमानदार मनोवृत्ति हो। कहिलेकाहीँ, मानिसहरूले तँलाई नीच मान्न सक्छन् र तैँले सधैँ सत्य बोल्ने भएकोले तँलाई मूर्ख भन्न सक्छन्। त्यस्तो अवस्थामा तैँले के गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ, “मलाई सबैले मूर्ख भने पनि, म इमानदार व्यक्ति बन्ने, तर छली व्यक्ति नबन्ने छनौट गर्छु। म साँचो साँचो र तथ्यअनुसार बोल्नेछु। म घिनलाग्दो, भ्रष्ट र परमेश्वरसामु बेकार भए पनि, अझै पनि ढोँग नगरी वा कुनै भेष नबदली सत्य नै बोल्नेछु।” यदि तँ यसरी बोल्छस् भने, तेरो हृदयमा सहज र शान्त महसुस हुनेछ। इमानदार व्यक्ति बन्न, तैँले आफ्नो आडम्बर र घमण्ड त्याग्नुपर्छ, अनि सत्य बोल्न र हृदयदेखि कुरा गर्न, तैँले अरूद्वारा आफ्नो उपहास र अवहेलना गरिने कुराको डर मान्नु हुँदैन। यदि अरूले तँलाई मूर्ख नै ठाने भने पनि, तैँले बहस गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने गर्नु हुँदैन। यदि तँ यसरी सत्यता अभ्यास गर्न सक्छस् भने, इमानदार व्यक्ति बन्न सक्छस्। यदि तँ आफ्ना दैहिक प्राथमिकताहरू र आफ्नो आडम्बर र घमण्ड त्याग्न सक्दैनस् भने, र यदि तँ आफूले नजानेको कुरा पनि जानेको नाटक गर्दै र सधैँ आफ्नो आडम्बर र गौरवको खातिर जिउँदै, निरन्तर अरूको अनुमोदन प्राप्त गर्न खोज्छस् भने, तँ इमानदार व्यक्ति बन्न सक्दैनस्—यो एउटा वास्तविक कठिनाइ हो। यदि तेरो हृदय सधैँ आडम्बर र घमण्डले बन्धित हुन्छ भने, तैँले झूट बोल्ने र देखावटी रूप धारण गर्ने सम्भावना धेरै हुन्छ। यसको साथै, अरूले तँलाई होच्याउँदा वा तेरो बारेमा सत्यता खुलासा गर्दा, त्यो स्विकार्न तँलाई मुस्किल हुनेछ, र त्यो बेला तँलाई आफूले एकदमै ठूलो बेइज्जती भोगेको अनुभूति हुनेछ—तेरो अनुहार रातोपिरो हुनेछ, तेरो हृदयको धड्कन बढ्नेछ, अनि तँ बेचैन र अशान्त महसुस गर्नेछस्। यो समस्या समाधान गर्न, तैँले केही थप पीडा सहनुपर्ने र केही थप शोधनहरू भोग्नुपर्ने हुन्छ। तैँले यो समस्याको जड कहाँनेर छ भनेर बुझ्नुपर्ने हुन्छ, र एकपटक यी मामिलाहरूको भित्री वास्तविकता बुझिसकेपछि, तँ आफ्ना केही पीडा घटाउन सक्षम हुनेछस्। जब तैँले यी भ्रष्ट स्वभावहरू पूर्ण रूपमा बुझेको हुन्छस् र जब तँ आफ्नो आडम्बर र घमण्ड त्याग्न सक्षम हुन्छस्, तब तँलाई इमानदार व्यक्ति बन्न झन् सजिलो हुनेछ। आफूले सत्य बोल्दा र आफ्नो मनको कुरा खोल्दा, अरूले खिल्ली उडाए भने पनि, तैँले नराम्रो मान्नेछैनस्, र अरूले तँलाई जे-जसरी मूल्याङ्कन र व्यवहार गरे पनि, तँ त्यो सहन र त्यसप्रति सही प्रतिक्रिया जनाउन सक्षम हुनेछस्। त्यसपछि तँ दुःखमुक्त हुनेछस्, र तेरो हृदय पनि सधैँ शान्त र हर्षित हुनेछ, अनि तैँले स्वतन्त्रता र मुक्ति हासिल गर्नेछस्। यसरी, तैँले भ्रष्टतालाई फाल्नेछस्, अनि तँ मानव रूपमा जिउनेछस्।
मानिसहरू आफ्नो दैनिक जीवनमा प्राय सधैँ निरर्थक कुरा, झूट, अनि अज्ञानी, मूर्ख र प्रतिरक्षात्मक कुराहरू बोलिरहन्छन्। यीमध्ये धेरैजसो कुरा आफ्नै आडम्बर र घमण्डका खातिर र आफ्नै अहम् सन्तुष्ट पार्न भनिन्छ। यस्ता झूटा कुराहरू बोल्नु भनेको तिनीहरूका भ्रष्ट स्वभावहरूको प्रकटीकरण हो। यदि तैँले यी भ्रष्ट तत्त्वहरू सुल्झाइस् भने, तेरो हृदय शुद्ध हुनेछ, अनि तँ बिस्तारै झन् शुद्ध र झन् इमानदार हुँदै जानेछस्। वास्तवमा, मानिसहरू सबैलाई तिनीहरू किन झूट बोल्छन् भन्ने थाहा हुन्छ। तिनीहरू व्यक्तिगत लाभका खातिर, आडम्बर र अभिमानका खातिर, अनि ख्याति र हैसियतकै लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई आफू हुँदै नभएको कुराका रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्जतका साथै आफ्नो सम्मान र निष्ठा पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र झूटो छ, र तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्न सकिँदैन। तँलाई आफूले झूट बोल्दा इज्जत गुमाउनबाट जोगिएको अनुभूति हुने भए पनि, भित्रभित्रै, तँ आफू अपमानित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई धिक्कार्छ, र तँ भित्री रूपमा आफूप्रति तिरस्कार र अवहेलना महसुस गर्छस्, र यस्तो सोच्छस्, “म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?” तैँले यस्तो थकाइलाग्दो जीवन जिउनै पर्दैन। यदि तँ इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो अभिमान र आडम्बर कायम राख्ने मार्ग रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्। त्यो सब तँ आफैले आफैमाथि निम्त्याएको होस्। व्यक्तिले झूट बोलेर आफ्नो गर्व कायम राख्न सक्ला, तर त्यो गर्व के हो र? त्यो केवल एउटा खोक्रो कुरा हो, र त्यो पूर्ण रूपमा व्यर्थ छ। झूट बोल्नु भनेको व्यक्तिको निष्ठा र मर्यादालाई धोका दिनु हो। यसले गर्दा मानिसहरू आफ्नो मर्यादा गुमाउन र आफ्नो निष्ठा गुमाउन पुग्छन्। परमेश्वरलाई यो अप्रिय र घृणास्पद लाग्छ। के यो सार्थक छ? छैन। के यो सही मार्ग हो? (अहँ, होइन।) बारम्बार झूट बोल्ने मानिसहरू आफ्ना शैतानी स्वभावहरूअनुसार जिउँछन्; तिनीहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्। तिनीहरू ज्योतिमा जिउँदैनन्, न त तिनीहरू परमेश्वरको उपस्थितिमा नै जिउँछन्। तँ निरन्तर कसरी झूट बोल्ने भनेर सोच्छस् अनि झूट बोलेपछि, तैँले त्यो झूटलाई कसरी ढाकछोप गर्ने भनेर सोच्नुपर्छ। अनि जब तँ उक्त झूटलाई पर्याप्त रूपमा ढाकछोप गर्दैनस्, तब त्यो खुलासा हुनेछ, र यसलाई टालटुल पार्न तैँले दिमाग खियाएर अझ बढी झूटहरू रच्नुपर्नेछ। के यसरी जिउनु थकाइलाग्दो हुँदैन र? यो अत्यन्तै थकाइलाग्दो हुन्छ। अनि के यो सार्थक हुन्छ? अहँ, यो साँच्चै सार्थक हुँदैन। झूट बोल्नु र त्यसपछि ढाकछोप गर्न दिमाग खियाउनु, र त्यो सब घमण्ड, आडम्बर, र हैसियतको खातिर गर्नु, यसमा के नै अर्थ छ र? अन्त्यमा, तैँले मनन गर्छस् र मनमनै सोच्छस्, “यसको के अर्थ छ? झूट बोल्नु र त्यसपछि ढाकछोप गर्नुपर्दा एकदमै थकाइलाग्दो हुन्छ। मैले यसरी व्यवहार गरेर काम चल्दैन; मलाई योभन्दा सजिलो त इमानदार व्यक्ति बन्नु हुन्थ्यो।” तँ इमानदार व्यक्ति बन्न चाहन्छस्, तर तँ आफ्नो घमण्ड, आडम्बर र व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनस्। तँ यी कुराहरू जोगाइराख्न झुटहरू प्रयोग गरेर झुट बोल्न सहारा लिन मात्र सक्छस्। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नका निम्ति विभिन्न कष्ट सहन सक्नेछस्। त्यसको अर्थ आफ्नो प्रतिष्ठा र हैसियत गुमाउनुपर्यो अनि अरूबाट अपमान र गिल्ला सहनुपर्यो भने पनि, तैँले नराम्रो मान्नेछैनस्, अनि तैँले के सोच्नेछस् भने जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यता अभ्यास गर्न र इमानदार मानिस हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? तिनीहरूले आफ्नो प्रतिष्ठा, हैसियत, मर्यादा र निष्ठाको खोल कायम राख्न झुटहरू प्रयोग गर्न रोज्छन्। यसका लागि बरु तिनीहरू सत्यता अभ्यास गर्नुभन्दा छली मानिस हुन्छन् अनि परमेश्वरद्वारा घृणा र इन्कार गरिन्छन्। त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्ने र परमेश्वरलाई इन्कार गर्नेहरू हुन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली मानिस बन्न चाहन्छन्। तिनीहरू परमेश्वर खुसी हुनुहुन्छ कि हुनुहुन्न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि छल गरेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो सफाइ दिन दिमाग खियाउने पीडादायी दिनहरू मात्र बिताउन सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राख्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो मर्यादा र निष्ठा कायम राख्न नसक्ने मात्र होइन, त्योभन्दा पनि खराब कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने मौका पनि गुमाउँछस्। तैँले त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राख्न सके पनि, तैँले सत्यता त्यागेको र परमेश्वरलाई धोका दिएको हुन्छस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुन्छस्, जुन सबैभन्दा ठूलो क्षति र अनन्त पछुतो हो। छलीहरूले यो कहिल्यै छर्लङ्ग देख्नेछैनन्।
अहिले, के तिमीहरूसित इमानदार व्यक्ति बन्ने मार्ग छ? तिमीहरूले आफ्नो जीवनमा आफ्ना हरेक शब्द र कार्यको जाँच गर्नुपर्छ; तब मात्र तिमीहरू आफूले बोल्ने झूटहरू र आफू संलग्न हुने छली कार्यहरू अझै धेरै पत्ता लगाउन सक्छौ, र आफ्नो छली स्वभावलाई चिन्न सक्छौ। त्यसपछि तिमीहरूले इमानदार मानिसहरू कसरी अभ्यास गर्छन् र यसबाट गुज्रन्छन् भनेर हेर्नैपर्छ, र तिनीहरूबाट केही अनुभव र पाठ सिक्नुपर्छ। तिमीहरूले सबै कुरामा परमेश्वरको छानबिनलाई स्विकार्ने अभ्यास पनि गर्नुपर्छ, र अक्सर परमेश्वरसामु प्रार्थना गर्न र परमेश्वरसित सङ्गति गर्न आउनुपर्छ। मानौँ तैँले भर्खरै एउटा झूट बोलिस्—तैँले तुरुन्तै महसुस गरिस्: “मैले भर्खरै भनेका कतिपय कुरा सही थिएनन्। मैले तुरुन्तै यो कुरा स्वीकार गर्नुपर्छ र आफूलाई सच्याउनुपर्छ, र मैले भर्खरै भनेको कुरा झूट थियो भनेर सबैलाई थाहा दिनुपर्छ।” तँ त्यहीँ र त्यतिखेरै आफूलाई सच्याउँछस्। यदि तँ सधैँ आफूलाई सच्याउँछस् र यसरी अभ्यास गर्छस् भने, त्यो एउटा बानी नै बन्नेछ; यदि तैँले कुनै समय फेरि झूट बोलिस् तर आफूलाई सच्याइनस् भने, तँलाई भित्री रूपमा असहज महसुस हुनेछ, र परमेश्वरले तँलाई सही मार्गमा रहन मद्दत गर्नुहुनेछ। केही समयसम्म यसरी अभ्यास र अनुभव गरेपछि, तैँले कम झूट बोल्न थाल्नेछस्, तेरा शब्द र कार्यहरूमा अशुद्धताहरू झन्-झन् कम हुनेछन्, र तँलाई इमानदार व्यक्ति बन्ने अभ्यास गर्न झन्-झन् सजिलो हुनेछ। यसरी, तँ पखालिनेछस्। इमानदार व्यक्ति बन्ने मार्ग त्यस्तो हुन्छ। तँ बिस्तारै, अलि-अलि गर्दै परिवर्तन हुनैपर्छ। तँ जति धेरै परिवर्तन हुन्छस्, त्यति नै असल बन्नेछस्; तँ जति धेरै परिवर्तन हुन्छस्, त्यति नै धेरै इमानदार शब्दहरू बोल्न सक्षम हुनेछस्, र तैँले झूट बोल्न छोड्नेछस्। यो नै सही स्थिति हो। भ्रष्ट मानिसहरू सबैमा एउटै समस्या हुन्छ: तिनीहरू सबै स्वाभाविक रूपमा झूट बोल्न जान्दछन्, र आफ्ना भित्री विचारहरू साझा गर्न वा सत्य बोल्न गाह्रो मान्छन्। तिनीहरूले सत्यता बताउन चाहे पनि, तिनीहरू त्यसलाई बाहिर निकाल्नै सक्दैनन्। मानिसहरू सबैले आफ्नो हृदयमा इमानदार हुनु मूर्खता हो र यसले चलाखीको कमी देखाउँछ भन्ने विश्वास गर्छन्—तिनीहरू मूर्खले मात्र हकी कुरा गर्छ, र यदि कसैले आफ्नो मनमा जे छ त्यही भन्छ, र यी कुराहरू सबैसामु उदाङ्गो पार्छ भने उसले घाटा भोग्ने सम्भावना सबैभन्दा बढी हुन्छ, र अरूले ऊसँग सङ्गत गर्न चाहनेछैनन्, अनि सबैले त्यस्ता मानिसहरूलाई उपेक्षा गर्छन् भन्ने सोच्छन्। के तिमीहरू यस प्रकारको व्यक्तिलाई उपेक्षा गर्नेथियौ? के तिमीहरूको दृष्टिकोण यही हो? (मैले परमेश्वरमा विश्वास गर्न थाल्नुअघि, म त्यस्ता मानिसहरूलाई उपेक्षा गर्थेँ, तर अहिले म तिनीहरूको प्रशंसा गर्छु र सरल, इमानदार जीवन जिउनु नै राम्रो हो भन्ने सोच्छु। यसरी जिउँदा, व्यक्तिलाई आफ्नो हृदयमा त्यति भारी बोझ महसुस हुँदैन। नत्रभने, कसैलाई झूट बोलेपछि, त्यसलाई ढाकछोप गर्नुपर्छ, र अन्त्यमा व्यक्ति आफै झन्-झन् ठूलो खाल्डो खन्दै जान्छ, अनि ढिलोचाँडो त्यो झूट खुलासा हुन्छ।) झूट बोल्नु र छली कार्यमा संलग्न हुनु दुवै मूर्खतापूर्ण व्यवहार हुन्। सत्यता बताउनु र हृदयदेखि बोल्नु नै बढी बुद्धिमानी हुन्छ। अब सबैले यो समस्या बुझ्न सक्छन्। यदि तँ अझै पनि झूट बोल्नु र छली कार्यमा संलग्न हुनु भनेको क्षमता हुनु र धूर्त हुनुको सङ्केत हो भन्ने सोच्छस् भने, तँ अत्यन्तै मूर्ख र जिद्दी छस्, र तँमा अलिकति पनि सत्यता छैन। यदि तँ यति बूढो भइसकिस् र अझै पनि छली मानिसहरू सबैभन्दा बाठा हुन्छन्, र इमानदार मानिसहरू सबै मूर्ख हुन् भन्ने विश्वास गर्छस् भने, त्यसको अर्थ तँ कुनै पनि कुरा छर्लङ्गै देख्न नसक्ने असङ्गत व्यक्ति होस्। सबै जना उस्तै मानव भए पनि, कतिपय मानिस हरेक दिन इमानदार बन्ने अभ्यास गर्छन् र अत्यन्तै खुसी र तनावरहित महसुस गर्छन्; तिनीहरू हृदयमा स्वतन्त्र र मुक्त महसुस गर्छन्। तिनीहरूलाई कुनै कुराको कमी हुँदैन र तिनीहरू बढी सहज जीवन जिउँछन्। सबै जना यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्न रमाइलो मान्छन्, र तिनीहरू साँच्चै सबैको प्रशंसाको पात्र हुनुपर्छ। यसलाई जिउन जानेको भनिन्छ। कतिपय मूर्ख मानिस यस्तो सोच्छन्: “त्यो व्यक्ति सधैँ सत्यता बताउँछ र उसलाई काटछाँट गरियो, होइन र? ठिक्क पर्यो! मलाई हेर—म आफ्ना साँचो विचारहरू लुकाएर राख्छु, तिनका बारेमा कुरा गर्ने वा तिनलाई प्रकट गर्ने गर्दिनँ, त्यसैले न त मलाई काटछाँट गरिएको छ वा मैले कुनै घाटा बेहोरेको छु, न त मैले सबैको अगाडि तमासा नै देखाएको छु। यो कति गज्जब छ! म सधैँ आफ्ना साँचो विचारहरू लुकाएर राख्छु, र कसैसँग पनि इमानदारीपूर्वक बोल्दिनँ—म भित्री रूपमा के सोचिरहेको छु भनेर कसैलाई थाहा हुँदैन। यसलाई श्रेष्ठ भएको भनिन्छ; यो सबैभन्दा बुद्धिमानी तरिका हो।” तैपनि सबैले यी मानिसहरू सबैभन्दा छली र सबैभन्दा अगम्य रूपमा धूर्त छन् भनी देख्न सक्छन्; अरू मानिस तिनीहरूको वरिपरि सतर्क रहन्छन् र तिनीहरूबाट दूरी कायम राख्छन्। छली मानिसहरूसँग कोही पनि साथी बन्न चाहँदैन। के यी कुराहरू तथ्य होइनन् र? यदि कोही निष्कपट छ र प्रायजसो सत्यता बताउँछ, र ऊ अरू मानिसहरूसँग हृदयस्पर्शी कुराकानी गर्न सक्छ र अरू कसैलाई हानि गर्ने नियत राख्दैन भने, उसले कहिलेकाहीँ मूर्खताको कारणले कुनै मूर्खतापूर्ण काम गर्न सक्ने भए पनि, सबैले उसलाई असल व्यक्ति भनेर मान्छन्, र सबै जना ऊसँग सङ्गत गर्न इच्छुक हुन्छन्। तैँले असल र इमानदार मानिसहरूसँग सङ्गत गरेर फाइदाहरू प्राप्त गर्न सक्छस्, र यसले तँलाई सुरक्षाको बोध गराउँछ—यो विश्वव्यापी रूपमा स्वीकार गरिएको तथ्य हो। सत्यता पछ्याउन र इमानदार मानिस बन्न सक्ने परमेश्वरका विश्वासीहरूलाई मण्डलीका अरू मानिसहरूले मात्र होइन, परमेश्वरले पनि प्रेम गर्नुहुन्छ। तिनीहरूले सत्यता प्राप्त गर्नेबित्तिकै, तिनीहरूसँग साँचो गवाही हुन्छ र तिनीहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्षम हुन्छन्। के तिनीहरू सबै मानिसमध्ये सबैभन्दा आशिषित् होइनन् र? केही सत्यता बुझ्नेहरू यो मामलालाई स्पष्ट रूपमा देख्न सक्छन्। आफूलाई आचरणमा ढाल्दा, तँ असल व्यक्ति, इमानदार व्यक्ति, सत्यता भएको व्यक्ति हुनुपर्छ; यसो गरिस् भने, तँलाई अरूले प्रेम गर्ने मात्र होइन, तँलाई परमेश्वरले पनि आशिष् दिनुहुनेछ। सांसारिक प्रचलनहरू पछ्याउने व्यक्तिहरूको व्यवहार जति नै राम्रो भए पनि, तिनीहरू अझै पनि असल व्यक्ति हुँदैनन्। यो कुरा नबुझ्नेहरू अझै पनि सत्यता बोध गर्न नसक्ने मूर्खहरू हुन्। तर पूर्ण रूपमा सत्यता बोध गर्नेहरूले चाहिँ जीवनमा सही मार्गमा हिँड्न, इमान्दार मानिस बन्न, र परमेश्वरलाई पछ्याउन रोज्छन्। यी कुराहरू गरेपछि मात्र व्यक्तिले मुक्ति प्राप्त गर्न सक्छ। यस्ता मानिसहरू नै सबैभन्दा बाठा मानिसहरू हुन्।
तँ परमेश्वरमा विश्वास गर्ने र जीवनको सही मार्गमा हिँड्ने व्यक्तिका रूपमा, कम्तीमा पनि मर्यादासाथ जिउनैपर्छ र तँमा मानव रूप हुनैपर्छ, तैँले अरूले तँलाई विश्वासयोग्य पाउने र तँलाई महत्त्व दिने तरिकामा व्यवहार गर्नैपर्छ, तैँले व्यवहार यस्तो बनाउनुपर्छ कि अरूलाई तेरो चरित्र र निष्ठामा सार छ, तैँले भनेका सबै कुरा पूरा गर्छस्, र तेरो बोली भरपर्दो हुन्छ भन्ने लागोस्। तैँले यस्तो तरिकाले व्यवहार गर्नुपर्छ ताकि मानिसहरूले तँ आफ्ना वचनहरूको निश्चय नै सम्मान गर्छस्, तँ आफूले प्रतिज्ञा गरेको कुरा पक्कै पूरा गर्छस्, र तँ तँलाई सुम्पिएको कुरा कर्तव्यनिष्ठ भई र आफ्नो सम्पूर्ण हृदयले, र त्यो काम सुम्पने व्यक्तिलाई पूर्ण सन्तुष्टि मिल्ने गरी निश्चित रूपमा पूरा गर्नेछस् भनी भन्दै तेरो मूल्याङ्कन गरून्। के यो आफ्नो वचनको पक्का व्यक्ति होइन र? के यस्ता मानिसहरू मर्यादासाथ जिउँदैनन् र? (जिउँछन्।) कतिपय मानिसलाई कसैले पनि कुनै कुरा सुम्पने आँट गर्दैन। जब अरूले तिनीहरूलाई कामकुराहरू सुम्पन्छन्, त्यो पनि उपयुक्त कोही नपाएकाले, र तिनीहरू मात्र विकल्प भएकाले गर्दा गरिएको हुन्छ, र अझै तिनीहरूलाई रेखदेख गर्न कोही व्यक्ति खटाइनैपर्छ। यो कस्तो खालको व्यक्ति हो? के यो मर्यादा भएको व्यक्ति हो? (होइन।) तिनीहरूले बोल्ने हरेक कुराको तैँले विश्लेषण र जाँच गर्नुपर्छ, तिनीहरूको लबजबाट तिनीहरूले साँच्चै भन्न खोजेको कुरा अनुमान लगाउनुपर्छ, र आफू वरपरका मानिसहरूबाट पुष्टि र प्रमाणीकरण खोज्नुपर्छ। जब तिनीहरूले कुनै टिप्पणी गर्छन् वा कुनै कुराबारे बोल्छन्, तब तिनीहरूको बोलीमा लगभग शून्य विश्वसनीयता हुन्छ। तिनीहरूले बोलिरहेको कुरा अस्तित्वमा हुन सक्छ, तर तिनीहरूले त्यसलाई कि त बढाइचढाइ गरेका हुन्छन् वा कम गरेर बताएका हुन्छन्, या त त्यो कुरा बिलकुलै अस्तित्वमै नरहेको र तिनीहरूले केवल कुरा बनाइरहेको मात्र हुन सक्छ। अनि, तिनीहरूले किन कुरा बनाउँछन्? किनभने तिनीहरू मानिसहरूलाई छल्न, र मानिसहरूले तिनीहरूलाई मेधावी र सक्षम ठानून् भन्ने चाहन्छन्; तिनीहरूको लक्ष्य यही हुन्छ। के अरू मानिसहरूले यस्ता व्यक्तिलाई मन पराउँछन्? (पराउँदैनन्।) यस्तालाई तिनीहरू कति मन नपराउने गर्छन्? मानिसहरूलाई त्यस्ता व्यक्तिहरू घृणित लाग्छन् र तिनीहरू उनीहरूलाई तुच्छ ठान्छन्—र उनीहरूलाई फेरि कहिल्यै नदेखे राम्रो हुनेछ भन्नेसमेत महसुस गर्न सक्छन्। यस्तो व्यक्तिसँग केही समय बिताएपछि, तैँले उसका समस्याहरू बुझ्न सक्छस्, र तँ उसले भनेको कुरा वा उसले गर्ने कामकुराहरूमा भरोसा गर्दैनस्। जब तँ उनीहरूलाई देख्छस्, तब तँ शिष्टाचार आदानप्रदान गर्ने र उनीहरूलाई पन्छाउने तरिकाका रूपमा बाहिरी मामिलाहरूबारे सामान्य कुराकानी मात्रै गर्छस्। यस्ता व्यक्तिहरूले सत्य कुरा बताए पनि, अरू मानिसहरूले विश्वास गर्दैनन्। यस प्रकारको व्यक्ति पूर्ण रूपमा मूल्यहीन र नीच हुन्छ; कसैले उसलाई महत्त्व दिँदैन। जब कसैको आत्म-आचरण यस बिन्दुमा पुग्छ, तब के ऊसँग कुनै मर्यादा हुन्छ? (हुँदैन।) कसैले उसलाई कुनै कुरा सुम्पँदैन, कसैले उसलाई भरोसा गर्दैन, कसैले उसलाई आफ्नो हृदय खोल्दैन, र उसले भनेको कुरा कसैले विश्वास गर्दैन—तिनीहरू सुन्छन् मात्रै र अरू केही गर्दैनन्। जब यी व्यक्तिहरूले, “म यसपटक सत्य बोलिरहेको छु” भन्छन्, तब कोही पनि तिनीहरूलाई विश्वास गर्न वा तिनीहरूलाई कुनै ध्यान दिन इच्छुक हुँदैन। मानिसहरू मनमनै सोच्छन्, “तिमीले भनेको कुरा साँचो हो कि झूटो हो भनी विश्लेषण गर्नु मलाई वास्ता छैन। तिमीले बोलेको कुरा सुन्न थकाइलाग्दो हुन्छ; मैले तिम्रा मनसाय र अभिप्रायहरूको विश्लेषण र जाँच गर्नुपर्छ, र यसमा निकै झमेला हुन्छ। त्यस्तो काम गर्दा लाग्ने समय मैले परमेश्वरका वचनको कुनै खण्डबारे मनन गर्न वा कुनै भजन गाउन सिक्नमा लगाउन सक्छु, र ती कुराहरू गरेर मैले वास्तवमै केही फाइदाहरू प्राप्त गर्न सक्छु। मैले तिमीसित कुरा गरेर केही पनि प्राप्त गर्न सक्दिनँ। तिमीले बोल्ने एउटा शब्द पनि सत्य हुँदैन र म तिमीसँग अन्तरक्रिया गर्न चाहन्नँ।” तिनीहरू यस्ता मानिसहरूलाई यसरी नै त्याग्छन्। आजभोलि तैँले बारम्बार गैरविश्वासीहरूले यसो भनेको सुन्नेछस्, “तपाईँ सत्य सुन्न चाहनुहुन्छ कि बरु झूट सुन्न चाहनुहुन्छ?” कसैले पनि झूट सुन्न चाहँदैन। त्यसकारण, सधैँ झूटो बोल्ने र घुमाएर कुरा गर्नेहरू सबैभन्दा तुच्छ मानिस हुन्; तिनीहरू व्यर्थका हुन्। कसैले पनि तिनीहरूलाई ध्यान दिन चाहँदैन, कसैले पनि तिनीहरूसित उठबस गर्न मन गर्दैन, झन् तिनीहरूसामु हृदय उदाङ्गो पार्ने वा मित्रता गाँस्ने त कुरै नगरौँ। के त्यस्ता मानिसहरूमा कुनै निष्ठा वा मर्यादा हुन्छ? (हुँदैन।) यस्ता मानिसहरूलाई भेट्ने जोसुकैले तिनीहरूलाई घृणा गर्नेछन्; तिनीहरू आफ्ना वचन र कार्यहरूमा भरोसा गर्न पूर्ण रूपमा अयोग्य हुन्छन्—त्यस्ता व्यक्तिहरूको कुनै महत्त्व हुँदैन। के तिनीहरूमा कुनै चरित्र वा निष्ठासमेत हुन्छ? पटक्कै हुँदैन। यदि तिनीहरू वरदानप्राप्त र प्रतिभाशाली भएका भए के मानिसहरूले तिनीहरूलाई मन पराउने र सम्मान गर्नेथिए? (थिएनन्।) अनि त्यसोभए, एकअर्कासँग मिलेर बस्नका लागि मानिसहरूमा के हुनुपर्छ? तिनीहरूमा चरित्र, निष्ठा, मर्यादा हुनुपर्छ, र तिनीहरू अरूले आफ्नो हृदय उदाङ्गो पार्न सक्ने मानिस हुनुपर्छ। मर्यादा भएका मानिसहरू सबैमा अलिकति व्यक्तित्व हुन्छ, र तिनीहरू कहिलेकाहीँ अरूसँग मिलेर बस्दैनन्, तर तिनीहरू इमानदार हुन्छन्, र तिनीहरूमा कुनै कपट वा छल हुँदैन। अरूहरूले अन्त्यमा तिनीहरूलाई उच्च सम्मान दिन्छन्, किनकि तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्, तिनीहरू इमान्दार हुन्छन्, तिनीहरूमा मर्यादा, निष्ठा र चरित्र हुन्छ, तिनीहरू कहिल्यै पनि अरूबाट फाइदा लिँदैनन्, तिनीहरू समस्यामा परेका मानिसहरूलाई मद्दत गर्छन्, तिनीहरू मानिसहरूसित विवेक र समझका साथ व्यवहार गर्छन्, र तिनीहरू कहिल्यै अरूलाई झट्टै गलत ठहराउँदैनन्। कसैको मूल्याङ्कन वा छलफल गर्दा, तिनीहरूले भन्ने सबै कुरा सही हुन्छ, तिनीहरू आफूलाई थाहा भएको कुरा भन्छन् र आफूलाई थाहा नभएको कुरामा मुख चलाउँदैनन्, तिनीहरू बढाइचढाइ गर्दैनन्, र तिनीहरूका वचनहरूले प्रमाण वा सन्दर्भका रूपमा काम गर्न सक्छन्। जब तिनीहरू बोल्छन् र काम गर्छन्, तब चरित्र भएका मानिसहरू व्यावहारिक र भरपर्दा हुन्छन्। चरित्र नभएका मानिसहरूलाई कसैले महत्त्व दिँदैन, र कसैले पनि तिनीहरूका वचन वा कार्यहरूलाई कुनै ध्यान दिँदैन, गम्भीर रूपमा लिँदैन, वा भरोसा गर्दैन। किनभने तिनीहरू एकदमै धेरै झूट बोल्छन् र एकदमै कम सत्य वचनहरू बोल्छन्, किनभने जब-जब तिनीहरू कसैसँग अन्तरक्रिया गर्छन् वा कसैका लागि कामकुराहरू गर्छन्, तब-तब तिनीहरूमा सच्चापनको कमी हुन्छ र तिनीहरूले त्यस व्यक्तिलाई धोका दिन र मूर्ख बनाउन खोज्छन्, र कसैले तिनीहरूलाई मन पराउँदैन। के तिमीहरूले आफ्नो नजरमा भरोसायोग्य कोही भेट्टाएका छौ? के तिमीहरू आफूलाई अरू मानिसहरूको भरोसालायक ठान्छौ? के अरू मानिसहरूले तिमीहरूलाई भरोसा गर्न सक्छन्? यदि कसैले तँलाई कुनै अर्को व्यक्तिको अवस्थाबारे सोध्छ भने, तैँले आफ्नै इच्छाअनुसार त्यस व्यक्तिलाई मूल्याङ्कन गर्नु र गलत ठहराउनु हुँदैन, अनि तेरा शब्दहरू वस्तुपरक, सही र तथ्यहरूअनुरूप हुनैपर्छ। तैँले आफूले बुझेका कुराहरूबारे बोल्नुपर्छ, र आफूले स्पष्टसँग नबुझेका कुराहरूबारे बोल्नु हुँदैन। तँ त्यो व्यक्तिप्रति न्यायसङ्गत र निष्पक्ष हुनुपर्छ। त्यो जिम्मेवार ढङ्गले व्यवहार गर्नु हो। यदि तँ सतही घटनाको अवलोकनका आधारमा मात्र मूल्याङ्कन् गरिरहेको छस् भने, तैँले अन्धाधुन्ध रूपमा त्यो व्यक्तिबारे आफ्नो फैसला सुनाउनु हुँदैन, र तैँले निश्चय नै त्यो व्यक्तिलाई गलत ठहराउनु हुँदैन। तैँले जे भन्छस् त्योभन्दा पहिले “यो बस मेरो आफ्नै मूल्याङ्कन हो” वा “मलाई चाहिँ यस्तो लाग्छ है” भनेर भन्नुपर्छ। यसरी, तेरा शब्दहरू तुलनात्मक रूपमा अलि वस्तुगत हुनेछन्, अनि तैँले भनेको कुरा सुनेपछि, त्यो सुन्ने व्यक्तिले तेरा शब्दहरूमा रहेको इमान्दारिता र तेरो निष्पक्ष मनोवृत्ति अनुभूत गर्नेछ, र उसले तँलाई भरोसा गर्न सक्नेछ। के तिमीहरू यस्तो कुरा हासिल गर्न सक्नेमा पक्का छौ? (छैनौँ।) यसले तिमीहरू अरूहरूप्रति पर्याप्त रूपमा इमान्दार छैनौ, र तिमीहरूको आफ्नो आचरण अँगाल्ने र कामकाज सम्हाल्ने तौरतरिकामा सच्चाइ र इमान्दार मनोवृत्ति छैन भन्ने प्रमाणित गर्छ। मानौँ तँलाई कसैले सोध्छ, “मलाई तिमीमाथि भरोसा छ; तिमीलाई त्यो व्यक्तिबारे के लाग्छ?” अनि तँ जवाफ दिन्छस्, “ऊ ठिकै छ।” ऊ सोध्छ, “अझै विस्तृत रूपमा भन्न मिल्छ?” अनि तँ भन्छस्, “ऊ सुशील छ, ऊ आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउन इच्छुक हुन्छ, र ऊ अरूसँग पनि मिल्छ।” के यी तीन वटा भनाइमध्ये कुनैमा पनि साक्षीको रूपमा प्रस्तुत गर्न पर्याप्त हुने व्यावहारिक प्रमाण छ र? छैन। त्यसोभए, के तँ भरोसायोग्य छस् त? (छैनँ।) यी तिनै भनाइहरूमा कुनै विषयविशेष विवरण समावेश छैन, यी त केवल सबैलाई भनिने, खोक्रा र झाराटारूवा शब्दहरू मात्र हुन्। यदि तैँले भर्खरै त्यो व्यक्तिलाई भेटेर उसको रूपरङ्गको आधारमा ऊ ठिकै छ भनेर भनेको थिइस् भने, त्यो सामान्य कुरा हुन्थ्यो होला। तर तँ त्यो व्यक्तिसँग केही समयदेखि नै सम्पर्कमा थिइस्, त्यसैले तैँले त्यो व्यक्तिबारे केही सारगत समस्याहरू पत्ता लगाउन सक्नुपर्थ्यो। मानिसहरूले त्यो व्यक्तिबारे तेरो हृदयमा कस्तो लेखाजोखा र दृष्टिकोण छ भनेर सुन्न चाहन्छन्, तर तैँले वास्तविक, वा गहन, वा मूलभूत कुरा केही पनि भन्दैनस्, त्यसकारण मानिसहरूले तँलाई भरोसा गर्नेछैनन्, र तँसँग अबउप्रान्त कुनै अन्तरक्रिया गर्न चाहनेछैनन्।
दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, यसबाट तैँले फाइदा पाउनका लागि तैँले तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ, र तिनीहरूलाई आफ्नो भित्री मनका कुराहरू बताउनुपर्छ। आफ्नो कर्तव्य निभाउने क्रममा त झन् आफ्नो हृदय उदाङ्गो पार्नु र आफ्नो भित्री मनका कुराहरू बताउनु अझै महत्त्वपूर्ण हुन्छ; तब मात्र तैँले सँगसँगै मिलेर काम गर्नेछस्। तर यदि कसैले तँसामु आफ्नो हृदय उदाङ्गो पार्दैन भने, यदि ऊ सत्यता स्विकार्ने व्यक्ति होइन भने, र यसको साटो यदि ऊ अत्यन्तै छली व्यक्ति हो भने, त्यस्तो व्यक्तिसामु आफ्नो हृदय उदाङ्गो पार्नु मूर्खता हुन्छ, र त्यसो गरेमा त्यसबाट सजिलै झमेला पर्न सक्छ। विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसित कसरी अन्तरक्रिया गर्ने भन्ने बारे तँसित सिद्धान्तहरू हुनुपर्छ; तैँले परमेश्वरमा साँचो विश्वास गर्ने अनि सत्यता स्विकार्न सक्नेहरूसामु मात्र आफ्नो हृदय उदाङ्गो पार्ने र खुलेर कुरा गर्ने गर्नुपर्छ। यदि तैँले दुष्ट मानिस र अविश्वासीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्छस् भने, तँ मूर्ख र अज्ञानी अनि बुद्धिहीन होस्। तैँले परमेश्वरमा साँचो विश्वास गर्ने अनि सत्यता स्विकार्न सक्ने विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसामु मात्र आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ। छली मानिसहरू, अन्योलमा परेका मानिसहरू, दुष्ट मानिसहरू, र अविश्वासीहरू—सत्यता कति पनि स्वीकार नगरेका मानिसहरू—तिनीहरू कोही पनि विश्वासी दाजुभाइ-दिदीबहिनी होइनन्; तैँले जेसुकै गरे पनि तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नु हुँदैन, तिनीहरूसामु हृदय उदाङ्गो पार्नु भनेको दियाबलसहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नु हो, र यसले अन्त्यमा तँलाई तिनीहरूका षडयन्त्र र जालहरूमा पार्ने सम्भावना अधिक हुन्छ। अगुवा र सेवकहरूमाझ पनि झूटा अगुवा र झूटा सेवकहरू हुन्छन्, र विश्वासीहरूमाझ पनि झूटा विश्वासी र अविश्वासीहरू हुन्छन्। तिनीहरूमध्ये कोही पनि विश्वासी दाजुभाइ-दिदीबहिनी होइनन्, त्यसकारण तैँले जेसुकै गरे पनि, तिनीहरूलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूजस्तो व्यवहार नगर्। दयालु हृदय भएका र सत्यतालाई प्रेम गर्नेहरू अनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्नेहरू मात्रै विश्वासी दाजुभाइ-दिदीबहिनी हुन्, र जब तैँले यी सच्चा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसित अन्तरक्रिया गर्छस्, तब तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ, तिनीहरूसित तैँले पूरै मन खोलेर कुरा गर्नुपर्छ, अनि त्यसपछि मात्र तिमीहरूले एकअर्कालाई प्रेम गर्न र आफ्ना कर्तव्यहरू निभाउने क्रममा राम्रोसित सद्भावपूर्ण सहकार्य गर्न सम्भव हुनेछ। कहिलेकाहीँ, जब दुई जना मानिसहरूले अन्तरक्रिया गर्छन्, तिनीहरूको व्यक्तित्वबीच टकराव हुन्छ, वा तिनीहरूको पारिवारिक वातावरण, पृष्ठभूमि वा आर्थिक अवस्था मिल्दैन। तर यदि यी दुई जना मानिसहरूले एकअर्कासामु आफ्नो हृदय उदाङ्गो पार्न र आफ्ना समस्याहरूबारे पूर्ण रूपमा खुलस्त हुन सक्छन्, र कुनै पनि झूट वा छलविना कुराकानी गर्न सक्छन्, र एक-अर्कालाई आफ्नो हृदय देखाउन सक्छन् भने, यसरी तिनीहरू सच्चा मित्र बन्न सक्छन्, जसको अर्थ घनिष्ठ मित्र बन्नु भन्ने हुन्छ। सायद, जब उक्त व्यक्तिलाई कठिनाइ हुन्छ, उसले अरू कसैलाई होइन, बरु तँलाई नै खोज्नेछ, र उसले उसलाई मद्दत गर्न तँ मात्र सक्षम छस् भनेर तँलाई नै भरोसा गर्नेछ। यदि तैँले ऊसँग रिसाएर कुरा गरिस् भने पनि, ऊ त्यसलाई मनमा लिनेछैन, किनभने उसलाई तँ निष्कपट हृदय भएको इमानदार व्यक्ति होस् भन्ने थाहा छ। उसले तँलाई भरोसा गर्छ, त्यसकारण तैँले उसलाई जेसुकै भने पनि वा ऊप्रति जस्तोसुकै व्यवहार गरे पनि, उसले सबै कुरा बुझ्न सक्नेछ। के तिमीहरू त्यस्तो मान्छे बन्न सक्छौ? के तिमीहरू त्यस्तो मान्छे हौ? होइनौ भने, तिमीहरू इमानदार मानिस होइनौ। जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र निष्कपटता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सँगसँगै मिलेर काम गर्दा, र अरूसँग सम्पर्कमा रहँदा, कसैका शब्दहरू झाराटारुवा, सूत्रगत, सुन्नमा मिठो, चापलुस, गैरजिम्मेवार, र कल्पनाहरूमा आधारित छन् भने, वा यदि ऊ अरू मानिसको निगाह खोज्नका लागि मात्र बोल्छ भने, उसका शब्दहरूमा वास्तविक कुरा केही पनि हुँदैन, र ऊ अलिकति पनि सच्चा हुँदैन। अरू मानिसहरू जोसुकै भए पनि तिनीहरूसँग अन्तरक्रिया गर्ने उसको तरिका यही हो। त्यस्तो व्यक्तिमा इमानदार हृदय हुँदैन। यो इमानदार व्यक्ति होइन। मानौँ, कुनै व्यक्ति नकारात्मक स्थितिमा छ, र उसले सच्चा रूपमा तँलाई भन्छ, “मलाई ठ्याक्कै बताउनुहोस्, म किन यति धेरै नकारात्मक छु। मैले यो पत्ता लगाउनै सकेको छैन!” अनि मानौँ, वास्तवमा तँलाई आफ्नो हृदयमा उसको समस्याबारे थाहा छ, तर तँ त्यो कुरा उसलाई भन्दैनस्, बरु त्यसको साटो यसो भन्छस्, “यो केही पनि होइन। तपाईँ नकारात्मक भइरहनुभएको हुनुहुन्न; मलाई पनि त्यस्तै हुने गर्छ।” त्यो व्यक्तिका लागि यी शब्दहरू ठूलो सान्त्वना बन्छन्, तर तेरो मनोवृत्ति निष्कपट हुँदैन। तँ ऊसित झाराटारुवा व्यवहार गरिरहेको छस्; उसलाई सहज महसुस गराउन र सान्त्वना दिनका निम्ति तैँले ऊसँग इमानदारीपूर्वक बोल्न छोडेको छस्। उसले आफ्नो नकारात्मकता त्यागोस् भनेर तैँले उसलाई इमानदारीसाथ सहायता गरिरहेको र उसका समस्याहरू प्रष्टताका साथ राखिरहेको हुँदैनस्। तैँले एक इमानदार व्यक्तिले गर्नुपर्ने काम गरिरहेको छैनस्। उसलाई सान्त्वना दिन र तिमीहरूको बीचमा कुनै प्रकारको तगारो वा झगडा नहोस् भनेर मात्र तैँले ऊसँग झारा टार्ने काम मात्र गरेको छस्—र यसो गर्नु एक इमानदार व्यक्ति बन्नु होइन। त्यसोभए, तैँले यस प्रकारको अवस्थाको सामना गर्दा, इमानदार व्यक्ति बन्न तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले उसलाई आफूले देखेको र स्पष्ट रूपमा पहिचान गरेको समस्या बताउनुपर्छ, “मैले पनि यस्तै अनुभवहरू भोगेको छु। मैले भनेको कुरा सही छ कि गलत छ हेर। यदि त्यो गलत छ भने, तिमीले यसलाई स्विकार्नु पर्दैन। यदि यो सही छ भने, मलाई आशा छ तिमीले स्विकार्नेछौ। यदि मेरा शब्दहरूले तिमीलाई चोट पुर्याएमा, मलाई आशा छ तिमी तिनलाई परमेश्वरबाट आएको भनी स्विकार्न सक्छौ। मेरो अभिप्राय र उद्देश्य भनेको तिमीलाई मद्दत गर्नु हो। म समस्या स्पष्ट रूपमा देख्छु: तिमी आफूलाई अपमान गरिएको र कसैले पनि तिम्रो अहम्लाई सन्तुष्ट नपारेको महसुस गर्छौ, तिमी अरू सबैले तिमीलाई हेला गर्छन् भन्ने सोच्छौ, र तिमी आफूलाई धक्का लागेको र यति धेरै अन्यायमा कहिल्यै नपरेको महसुस गर्छौ, त्यसैले तिमी यसलाई स्विकार्न सक्दैनौ र नकारात्मक बन्छौ। तिमीलाई के लाग्छ—के वास्तवमा यस्तै भइरहेको छ?” अनि, यो सुनेर, उसलाई साँच्चै यस्तै हो भन्ने महसुस लाग्छ। वास्तवमा तेरो हृदयमा भएको कुरा यही हो, तर यदि तँ इमानदार व्यक्ति नबन्न रोज्छस् भने, तँ त्यो कुरा भन्नेछैनस्। तँ “म पनि प्रायजसो नकारात्मक हुन्छु” भनेर भन्नेछस्, अनि जब अर्को व्यक्तिले सबै जना नकारात्मक हुन्छन् भन्ने सुन्छ, तब ऊ आफू नकारात्मक हुनु सामान्य कुरा हो भन्ने सोच्छ र त्यसैले ऊ यसलाई समाधान गर्न सत्यता खोज्नेछैन। अन्त्यमा, ऊ आफ्नो नकारात्मकतालाई छोड्दैन। यदि तैँले इमानदार व्यक्ति बन्न रोजिस् र इमानदार मनोवृत्ति र इमानदार हृदयका साथ उसलाई मद्दत गरिस् भने, तँ उसलाई सत्यता बुझ्न र आफ्नो नकारात्मकतालाई छोड्न मद्दत गर्न सक्छस्।
इमानदार व्यक्ति बन्ने अभ्यासमा धेरै वटा क्षेत्र समावेश हुन्छन्। अर्को शब्दमा भन्दा, इमानदार व्यक्ति बन्नुको मानक एउटा क्षेत्रलाई मात्र ध्यान दिएर हासिल हुँदैन; तँ इमानदार बन्नुअघि धेरै वटा क्षेत्रमा तँ मानकअनुरूप हुनैपर्छ। कतिपय मानिसहरू सधैँ सोच्छन् कि इमानदार बन्नका लागि झूट मात्रै नबोले पुग्छ। के यो दृष्टिकोण सही छ? के इमानदार बन्नुमा झूट नबोल्ने मामला मात्र पर्छ र? होइन—यो अरू केही क्षेत्रसँग पनि सम्बन्धित छ। पहिलो कुरा, तैँले जेसुकै सामना गरे पनि, चाहे त्यो कुरा तैँले आफैले देखेको होस् वा अरू कसैले तँलाई बताएको होस्, चाहे यो मानिसहरूसँग अन्तरक्रिया गर्ने विषय होस् वा समस्या समाधान गर्ने कुरा होस्, चाहे यो तैँले निर्वाह गर्नुपर्ने कर्तव्य होस् वा परमेश्वरले सिधै तँलाई सुम्पनुभएको कुरा नै किन नहोस्, तैँले यसलाई सधैँ इमानदार हृदयका साथ लिनुपर्छ। व्यक्तिले काम-कुराहरूलाई एक इमानदार हृदयका साथ लिने अभ्यास कसरी गर्नुपर्छ? तँ जे सोच्छस् त्यही भन् र इमानदारीसाथ बोल्; खोक्रा, ढाँचायुक्त, वा मिठो सुनिने कुराहरू नबोल्, चापलुसीपूर्ण वा पाखण्डी झूटा कुराहरू नबोल्, बरु तेरो हृदयमा भएका कुराहरू बोल्। इमान्दार बन्नु भनेको यही हो। आफ्नो हृदयमा भएका वास्तविक विचार र दृष्टिकोणहरू व्यक्त गर्—इमानदार मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यदि तँ आफूलाई लागेको कुरा कहिल्यै भन्दैनस्, र शब्दहरू तेरो हृदयभित्रै घुम्सिएर बस्छन्, र तैँले बोलेका कुराहरू तैँले सोचेका कुराहरूसँग कहिल्यै मिल्दैनन् भने, त्यो इमान्दार व्यक्तिले गर्ने कुरा हुँदै होइन। उदाहरणका लागि, मानौँ तँ राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्दैनस्, र मानिसहरूले यो के भइरहेको छ भनेर सोध्दा, तँ यस्तो जबाफ दिन्छस्, “म राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु, तर विविध कारणले गर्दा, मैले त्यो राम्ररी गर्न सकेको छैनँ।” वास्तवमा, तैँले झारा टारेको थिइस् र हृदयलाई आफ्नो कर्तव्यमा लगाइनस् भन्ने कुरा तँलाई हृदयमा थाहा छ, तर तँ सत्य बोल्दैनस्। यसको साटो, तैँले सत्य-तथ्य ढाकछोप गर्न र जिम्मेवारीबाट पन्छन हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिक्छस्। के त्यो इमान्दार व्यक्तिको व्यवहार हो? (होइन।) तैँले यी कुराहरू बोलेर मानिसहरूलाई मूर्ख बनाउँछस् र जसोतसो कुरा टार्छस्। तर तँभित्रका अभिप्रायहरूको र तँभित्र रहेको कुराको सार भ्रष्ट स्वभाव नै हो। यदि तँ आफूभित्र भएका कुराहरू र आफ्ना अभिप्रायहरू खुला रूपमा बाहिर ल्याउन र चिरफार गर्न सक्दैनस् भने, ती कुराहरूलाई शुद्ध पार्न सकिँदैन—र यो कुरा सानोतिनो मामिला होइन! तैँले साँचो रूपमा बोल्नुपर्छ, “म आफ्नो कर्तव्य निर्वाह गर्नमा अलि आलटाल गर्दै आइरहेको छु। म झाराटारूवा र असावधान हुँदै आइरहेको छु। जब म राम्रो मुडमा हुन्छु, म अलिअलि प्रयत्न लगाउन सक्छु। तर जब म खराब मुडमा हुन्छु, म सुस्त भइहाल्छु, र मलाई प्रयत्न लगाउनै मन लाग्दैन, र म दैहिक आराममा लिप्त हुन्छु। त्यसैले, मेरो कर्तव्य निर्वाहले खासै नतिजा दिएको छैन। म विगत केही दिनदेखि कामकुरालाई सुधार गर्दै आएको छु, र म तनमन लगाउँदै मेरो कार्यकुशलता सुधार्ने र राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्ने प्रयास गरिरहेको छु।” हृदयबाट बोल्नु भनेको यही हो। त्यो अर्को तरिकाले बोलेको चाहिँ हृदयबाट बोलेको होइन। आफूलाई काटछाँट गरिएला, मानिसहरूले तेरा समस्याहरू पत्ता लगाउँलान् र तँलाई जबाफदेही ठहराउँलान् भन्ने डरले, तैँले सत्यतथ्य ढाकछोप गर्न हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिकिस्, र सुरुमा अरू मानिसहरूलाई त्यो परिस्थितिबारे बोल्न बन्द गर्ने तुल्याइस्, र त्यसपछि काटछाँटमा नपर्नका निम्ति जिम्मेवारी पन्छाइस्। तेरा झूटहरूको स्रोत यही हो। झूटाहरूले जतिसुकै बोले पनि, तिनीहरूले बोल्ने केही न केही कुरा सत्य र तथ्य हुने निश्चित छ। तर तिनीहरूले बोलेका मुख्य कुराहरूमा केही न केही झूट र तिनीहरूको केही न केही अभिप्राय रहेकै हुन्छ। त्यसकारण, के साँचो हो र के झूटो हो भनेर खुट्ट्याउनु एकदमै महत्त्वपूर्ण हुन्छ। तर यस्तो गर्न सजिलो छैन। तिनीहरूले भन्ने कतिपय कुरा दूषित र अशुद्ध हुनेछन्, तिनीहरूले बोलेका कतिपय कुराहरू तथ्यसँग मेल खान्छन्, र तिनीहरूले बोलेका कति कुराचाहिँ तथ्यसँग बाझिन्छन्; यसरी तथ्य र कल्पना मिसिएपछि, सत्य र असत्य छुट्याउन गाह्रो हुन्छ। यस्तो व्यक्ति सबैभन्दा छली, र पहिचान गर्न सबैभन्दा गाह्रो व्यक्ति हुन्छ। यदि तिनीहरू सत्यतालाई स्विकार्न र इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्दैनन् भने, तिनीहरू निश्चय नै हटाइनेछन्। त्यसोभए, मानिसहरूले कुन मार्ग चुन्नुपर्छ? त्यो कुन मार्ग हो जुन इमानदार व्यक्तिले अभ्यास गर्छ? तिमीहरूले सत्यता बोल्न सिक्नुपर्छ र आफ्ना वास्तविक स्थिति र समस्याहरूबारे खुलस्त कुरा गर्न र सङ्गति गर्न सक्षम सक्नुपर्छ। इमान्दार मानिसहरूले अभ्यास गर्ने यसरी नै हो, र यस्तो अभ्यास सही हुन्छ। जोसँग विवेक र समझ छ, तिनीहरू सबै इमान्दार मानिस बन्न खोज्न इच्छुक हुन्छन्। इमान्दार भएर मात्र व्यक्तिले साँचो रूपमा खुसी र शान्ति महसुस गर्न सक्छ, र परमेश्वरप्रतिको समर्पण हासिल गर्न सत्यता अभ्यास गरेर मात्रै मान्छेले वास्तविक खुसी उपभोग गर्न सक्छ।
मानिसहरूले इमानदार बन्ने अभ्यास गर्दा धेरै व्यावहारिक समस्याहरू देखा पर्छन्। कहिलेकाहीँ तिनीहरू सोच्दै नसोची बोल्छन्; विचारको हिसाबले तिनीहरूबाट क्षणिक गल्ती हुन जान्छ, र तिनीहरू गलत अभिप्राय वा उद्देश्य, वा अभिमान र घमण्डद्वारा वशीभूत हुने भएकाले, तिनीहरू झूट बोल्छन्। परिणामस्वरूप, त्यसलाई लुकाउन तिनीहरूले झन्झन् धेरै झूट बोल्नुपर्छ। अन्त्यमा, तिनीहरू हृदयभित्र शान्ति महसुस गर्दैनन्, तर तिनीहरूले ती झूटलाई फिर्ता लिन सक्दैनन्, तिनीहरूसँग आफ्नो गल्ती सुधार गर्ने, आफूले झूट बोलेँ भनेर स्विकार्ने साहस हुँदैन, र यसरी तिनीहरूको गल्तीले निरन्तरता पाइरहन्छ। यसपछि, तिनीहरूलाई सधैँ मुटुमाथि ढुङ्गाले थिचेजस्तो महसुस हुन्छ; तिनीहरू सधैँ दोष स्विकार्ने, आफ्नो गल्ती स्वीकार गरी पश्चात्ताप गर्ने अवसर पाउन चाहन्छन्, तर तिनीहरू कहिल्यै पनि यसलाई व्यवहारमा लागु गर्न सक्षम हुँदैनन्। अन्ततः, तिनीहरूले यसबारेमा विचार गरेर आफैलाई भन्छन्, “म भविष्यमा आफ्नो कर्तव्य पूरा गर्दा यसको पूर्ति गर्नेछु।” तिनीहरूले सधैँ पूर्ति गर्नेछु भनी भन्छन्, तर कहिल्यै त्यसो गर्दैनन्। यो कुरा झूट बोलेपछि क्षमा मात्र माग्नुजत्तिको सरल छैन—के तैँले झूट बोल्नु र छली कार्यमा संलग्न हुनुका हानि र परिणामहरू पूर्ति गर्न सक्छस्? यदि, ठूलो आत्मघृणाका बीच, तँ पश्चात्ताप अभ्यास गर्न सक्छस्, र फेरि कहिल्यै झूट बोल्दैनस् वा छल गर्दैनस् भने, तैँले परमेश्वरको सहनशीलता र कृपा प्राप्त गर्न सक्लास्। यदि तैँले मिठा कुरा गरेर आफ्ना झूटहरूको पूर्ति भविष्यमा गर्नेछु भनी भन्छस्, तर साँचो रूपमा पश्चात्ताप गर्दैनस्, र त्यसपछि झूट बोल्ने र छल्ने कार्य जारी राख्छस् भने, तँ जिद्दीपूर्वक पश्चात्ताप गर्न इन्कार गर्दैछस्, र तँलाई अवश्य नै हटाइनेछ। विवेक र समझ भएका मानिसहरूले निम्न बुँदालाई चिन्नुपर्छ: झूट बोलेपछि र छली कार्यमा संलग्न भएपछि, सुधार गर्नेबारेमा मात्रै विचार गर्नु पर्याप्त हुँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले साँचो रूपमा पश्चात्ताप गर्नैपर्छ, साथै सत्यतालाई व्यवहारमा लागू गर्नुपर्छ र गवाही दिनुपर्छ। यदि तँ इमानदार बन्न चाहन्छस् भने, तैँले झूट बोल्ने र छल्ने समस्या समाधान गर्नैपर्छ। तैँले सत्य बोल्नैपर्छ, र व्यावहारिक काम गर्नैपर्छ। सत्य बोल्दा, कहिलेकाहीँ त्यसको परिणामस्वरूप तैँले इज्जत गुमाउन सक्छस्, र तँलाई काटछाँट गरिन सक्छ, तर त्यसो गरेर तैँले सत्यता अभ्यास गरेको हुनेछस्, र त्यसरी त्यो एउटै घटनामा परमेश्वरमा समर्पित हुनु र उहाँलाई सन्तुष्ट पार्नु पनि सार्थक नै हुनेछ, र त्यो तँलाई सान्त्वना दिलाउने कुरा नै हुनेछ। जे भए पनि, तँ आखिरमा इमानदार बन्ने अभ्यास गर्न सक्षम भएको हुनेछस्, भनावैरी गर्ने वा आफूलाई निर्दोष साबित गर्ने प्रयास नगरी तँ आखिरमा आफ्नो हृदयको कुरा बताउन सक्षम भएको हुनेछस्, र यही नै साँचो वृद्धि हो। चाहे तँलाई काटछाँट गरिएको होस् वा बर्खास्त गरिएको होस्, तैँले आफ्नो हृदयमा स्थिर महसुस गर्नेछस्, किनभने तैँले झूट बोलिनस्; तँलाई लाग्नेछ कि तैँले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको हुनाले, तँलाई काटछाँट र बर्खास्त गरिनु, र तैँले त्यसको जिम्मेवारी लिनु ठीक थियो। यो सकारात्मक मानसिक स्थिति हो। तर तँ छली कार्यमा संलग्न भइस् भने, यसबाट के-कस्ता परिणामहरू आउनेछन्? तँ छली कार्यमा संलग्न भएपछि, तँलाई हृदयमा कस्तो महसुस हुनेछ? असहज; तँलाई सधैँ तेरो हृदयमा पाप र भ्रष्टता रहेको अनुभूति हुनेछ, तँलाई सधैँ दोषी महसुस हुनेछ: “म कसरी झूट बोल्न सकेँ? म फेरि पनि कसरी छली कार्यमा संलग्न हुन सकेँ? म किन यस्तो छु?” तँलाई आफूले शिर उच्च पार्न नसकेको जस्तो, परमेश्वरको सामना गर्न अत्यन्तै लाज लागेको जस्तो महसुस हुनेछ। विशेष गरी, जब तँ परमेश्वरद्वारा आशिषित् हुन्छस्, जब तैँले परमेश्वरको अनुग्रह, कृपा, र उदारता प्राप्त गर्छस्, तब तँलाई परमेश्वरलाई धोका दिनु लाजमर्दो कुरा हो भन्ने अझै बढी महसुस हुन्छ, र तेरो हृदयमा, तँलाई अझै बढी दोषारोपण महसुस हुन्छ, र तँमा शान्ति र आनन्दको झनै कमी हुन्छ। यसले कस्तो समस्या देखाउँछ? छलमा संलग्न हुनु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो, यो परमेश्वरका विरुद्धमा विद्रोह गर्नु र उहाँको प्रतिरोध गर्नु हो, त्यसैले यसले तँलाई ठूलो पीडा निम्त्याउनेछ। जब तँ झूट बोल्छस् र छल गर्छस्, तब तँलाई लाग्न सक्छ कि तैँले निकै चलाखीपूर्ण तरिकाले र जुक्ति पुर्याएर बोलेको छस्, र तैँले कुनै पनि सानो सुराक दिएको छैनस्—तर पछि, तैँले आफ्नो हृदयमा महसुस गर्ने धिक्कार र दोषारोपणले तेरो जीवनभरि तँलाई पछ्याइरहन सक्छ। यदि तैँले जानाजानी र नियतवश झूट बोलिस् र छल गरिस्, अनि कुनै दिन तैँले यसको गम्भीरता महसुस गरिस् भने, यसले तेरो हृदयमा काँडाले जस्तै घोच्नेछ। तँ सधैँ प्रायश्चित गर्ने मौका खोज्न चाहनेछस्—जुन तैँले गर्नैपर्ने कुरा हो—तर यदि तँसित कुनै विवेक छैन, तँ कहिल्यै आफ्नो विवेकअनुसार जिएको छैनस्, तँसित कुनै मानवता छैन, र तँ निष्ठा वा मर्यादालाई वास्ता गर्दैनस् भने मात्र तैँले त्यसो गर्नेछैनस्। यदि तँसित विवेकको अलिकति पनि सचेतना छ, र अलिकति निष्ठा र मर्यादा छ भने, जब तँ आफूले झूट बोलिरहेको र आफू छलमा संलग्न भइरहेको थाहा पाउँछस्, तब तँलाई तेरो यो व्यवहार लाजमर्दो, अपमानजनक, र नीच लाग्नेछ, र तैँले आफैलाई घृणा र तिरस्कार गर्नेछस्, साथै तैँले झूट र छलको मार्गलाई अस्वीकार गर्नेछस्, र तँ इमानदार बन्न खोज्नेछस्। तर शैतानका कोटिकाहरूसित सामान्य मानवताको विवेक र समझ हुँदैन; तिनीहरू आफूले बोलेका जुनसुकै झूटहरूप्रति पनि विस्मृति र निस्फिक्री अवस्थामा रहन्छन्, र तिनीहरूसित आफूले झूट बोल्नुका सैद्धान्तिक आधारहरूसमेत हुन्छन्, र त्यो आधार यस्तो हुन्छ: झूट नबोली कुनै पनि महान् काम सम्पन्न गर्न सकिँदैन, र त्यसैले तिनीहरू जिद्दी भई पश्चात्ताप गर्न अस्वीकार गर्छन्। तर विवेक र समझ भएका मानिसहरू भने फरक हुन्छन्। यस्ता मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएका मात्र हुन्छन्, र तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरे पनि, तिनीहरू दुष्ट मानिस होइनन्, तिनीहरूमा विवेकको सचेतना हुन्छ, तिनीहरूमा सामान्य मानवताको खाँचो हुन्छ, र तिनीहरूमा असल, न्यायसङ्गत, र सकारात्मक कुराहरूप्रतिको प्रेमको पनि नैसर्गिक प्रवृत्ति र खाँचो हुन्छ। त्यसकारण, जब तिनीहरूले आफ्नो विवेकमार्फत दोषी महसुस गर्छन्, तिनीहरू आफैबारे मनन गर्न र साँचो रूपमा पश्चात्ताप गर्न सक्षम हुन्छन्। शैतान भनेको चरम दुष्टताले भरिपूर्ण कुरा हो। यसले सकारात्मक कुराहरू मन पराउँदैन, यसले असल कुराहरू मन पराउँदैन, र यसको प्रकृतिभित्र अँध्यारा र दुष्ट कुराहरू मात्र हुन्छन्, त्यहाँ भ्रष्ट र दुर्भावनापूर्ण कुराहरूबाहेक अरू केही हुँदैनन्; शैतानसित कुनै मानवता हुँदैन, यसलाई सामान्य मानवताको कुनै खाँचो हुँदैन, र यसमा विवेकको कुनै सचेतना पनि हुँदैन। तर मानिसहरू फरक हुन्छन्। तिनीहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन्, तिनीहरूसित विवेक र समझ हुन्छ; विवेक भएका मानिसहरूसित आफ्नो हृदयमा सचेतना हुन्छ, तिनीहरूले परमेश्वर वा अरू मानिसहरूलाई छल्ने प्रयास गर्दा विवेकको दोषारोपण र धिक्कार महसुस गर्न सक्छन्, र त्यही धिक्कार र दोषारोपणले तिनीहरूलाई पीडा दिन्छ। जब व्यक्तिले यस्तो पीडा महसुस गर्छ, जब उसले यो दोषारोपण र धिक्कार महसुस गर्छ, उसको विवेकभित्र सचेतना आउन थाल्छ: तिनीहरूलाई मानिसहरू इमान्दार हुनुपर्छ, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ भन्ने कुरा महसुस हुन थाल्छ। जब तिनीहरूलाई यस्तो खाँचो परिआउँछ, तब यो असल कुरा हो। अहिले, के तिमीहरूले झूट बोल्दा र छल्दा कुनै धिक्कार महसुस गर्छौ? (गर्छौँ।) तिमीहरूले धिक्कार महसुस गर्छौ भन्ने तथ्यले तिमीहरूमा विवेकको केही सचेतना छ र तिमीहरूका लागि अझै पनि केही आशा बाँकी छ भन्ने प्रमाणित गर्छ; यो भनेको मुक्ति प्राप्त गर्नका लागि तिमीहरूमा न्यूनतम रूपमा हुनुपर्ने सचेतनाको स्तर र व्यवहारको प्रकार हो। यदि तिमीहरूको विवेकले अलिकति पनि धिक्कार महसुस गर्दैन भने, त्यो समस्याजनक कुरा हो, र यसको अर्थ तिमीहरूमा मानवता छैन भन्ने हुन्छ। के अब तिमीहरू अरूलाई ढाँटेपछि र छलेपछि कसरी पश्चात्ताप गर्ने भनेर जान्दछौ? यदि तिमीहरू जिद्दीपूर्वक पश्चात्ताप गर्न अस्वीकार गर्छौ भने, त्यसको परिणाम के हुनेछ? तिमीहरू उद्धार गर्न नसकिने हुनेछौ। अब तिमीहरू सबैले परमेश्वरले विवेक, समझ, सामान्य मानवताको खाँचो, दुष्टबाट असल खुट्याउने क्षमता, र सकारात्मक र असल कुराहरूप्रतिको प्रेम, दुष्टताप्रतिको घृणा, र सत्यता स्विकार्ने क्षमता भएकाहरूलाई मुक्ति दिनुहुन्छ भनेर देख्न सक्छौ। त्यस्ता मानिसहरूलाई नै मुक्ति दिन सकिनेछ।
नोभेम्बर ३०, २०१७