कठिनाइले मलाई मेरो कर्तव्यबाट टाढा राख्‍न सक्दैन

20 जनवरी 2022

यान पिङ, चीन

मलाई याद छ, म मण्डली अगुवा बन्‍ने बित्तिकै यो घटना घटेको थियो। त्यो बेला, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरूलाई पक्राउ गर्ने वृहत् कारबाही संचालन गरेको थियो। म निकै चिन्तित थिएँ—अवस्था धेरै खराब भएको हुनाले, यदि म हरेक दिन भेला हुने विभिन्‍न स्थानमा गएँ भने, प्रहरीले मलाई पनि पक्राउ गरी क्रूरतापूर्वक यातना दिनेछन्। मेरो क्षमता कमजोर थियो र मैले पहिले कहिल्यै कुनै कष्ट भोगेकी थिइनँ, त्यसकारण मैले कसरी यातना सहन सक्छु? यो कष्टको बारेमा विचार गर्दा मलाई डर लाग्यो, त्यसकारण मैले त्यो कर्तव्य स्वीकार गर्न चाहिनँ। तर मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई कसरी छनौट गरेका थिए, कसरी तिनीहरूले मलाई भरोसा गरेका थिए, त्यस बारेमा विचार गर्दा, डरकै कारण त्यो आज्ञा अस्वीकार गर्नु उचित हो भनेर मैले भन्‍न सकिनँ। त्यसकारण मैले होसियारीका साथ प्रतिक्रिया दिएँ: “के म यो काम गर्न सक्छु? मैले पहिले कहिल्यै अगुवाको काम गरेकी छैनँ, त्यसकारण यदि मैले समाधान गर्न नसक्‍ने कुनै समस्याको सामना गरेँ भने, के मैले मण्डलीको काममा ढिलाइ गरिरहेकी हुनेछैन र?” अगुवाले सङ्गतिद्वारा मलाई प्रतिक्रिया दिनुभयो, “कर्तव्यहरू भनेका हामी आफूलाई तालिम दिने मौका हुन्। तपाईंले सक्दो गर्ने प्रयास गर्नुहोस्।” अगुवाको सङ्गति सुनेपछि, मैले कर्तव्यलाई स्वीकार गरेँ। अचानक मेरो अगुवाबाट एकपछि अर्को सन्देशहरू आए, र तिनमा सिस्टर वु, सिस्टर ली र अरू कतिपय व्यक्तिहरू पक्राउ परेका छन् र अरू केही मण्डलीबाट छ जना अगुवा र कर्मचारीहरू पक्राउ परेका छन् भन्‍ने सूचना थियो। सन्देशहरूमा मलाई सतर्क बस्‍नू भनी भनिएको थियो। म आत्तिएँ। कसरी यति धेरै दाजुभाइ-दिदीबहिनीहरू पक्राउ पर्न सके? मैले सिस्टर लीलाई केही दिन पहिले मात्रै भेटेकी थिएँ, के पुलिसले मेरो पनि निगरानी गरिरहेका थिए? यदि थिए भने, मलाई पनि केही समयमा नै पक्राउ गरिनेछ, किनभने जताततै सेक्युरिटी क्यामेरा थियो। यस्तो वातावरणमा मेरा कर्तव्यहरू पूरा गर्ने कार्य अत्यन्तै खतरनाक थियो … यसको बारेमा विचार गर्दा मलाई जहिल्यै डर लाग्थ्यो। मैले काम गरिरहेको बेला मलाई अचानक कुनै दिन पक्राउ गरिनेछ भन्‍ने कुरामा म निकै भयभीत थिएँ। बाहिरबाट हेर्दा मैले कर्तव्यहरू पूरा गरिरहेकी छु जस्तो देखिन्थ्यो, तर मैले काममा आफ्‍नो मन लगाउन सकेकी थिइनँ, र मैले कर्तव्यहरू कसरी राम्ररी पूरा गर्ने भन्‍ने बारेमा बिरलै विचार गर्थेँ। कहिलेकहीँ, दाजुभाइ-दिदीबहिनीहरू समस्याहरू लिएर आउँदा, म सहयोग गर्ने मनस्थितिमा समेत हुँदिनथिएँ।

त्यसपछि, मेरो अगुवाबाट मैले अर्को सन्देश पाएँ, र त्यस सन्देशमा पुलिसले पक्राउ परेकाहरूलाई अरूका बारेमा जानकारी दिन बाध्य गरिरहेका छन् भनेर मलाई सचेत गराइएको थियो। तिनीहरूले सडकमा जाँच गर्दै, मानिसहरूको झोला खानतलासी गरिरहेका थिए। उहाँले हामीलाई बाहिर जाँदा अत्यन्तै सावधान हुनू भनी भन्‍नुभयो। यो सुनेर, मलाई अझै बढी चिन्ता लाग्यो। पुलिसलाई हाम्रो मण्डलीको बारेमा धेरै जानकारी थाहा रहेछ भन्‍ने जस्तो देखिन्थ्यो। मैले सोचेँ, हामी सिस्टर लीलाई भेट्न जाँदा हाम्रो फोटो खिचिएको थियो कि? यदि त्यो बेला भिडियो खिचिएको थियो भने, पुलिसले सबै ठाउँको भिडियोमा मलाई देख्दा पक्‍कै पनि मण्डलीको काममा मैले नै नेतृत्व गरिरहेकी छु भनेर ठान्नेथिए। तिनीहरूले मलाई पक्राउ गरे भने, तिनीहरूले मलाई यातना दिएर कुरा खोल्‍न लगाउनेथिए। इलेक्ट्रिक स्कुटरमा चढेर घर फर्किँदा, बाटोमा म तनावमा र चिन्तामा थिएँ—अगुवाको सन्देशले मलाई व्याकुल तुल्याएको थियो। बाहिर रात परिसकेको भए पनि, मैले मेरो सनग्‍लास फुकाउने आँट गरिनँ। म सेक्युरिटी क्यामेरामा भेट्टाएर सडकमा नै पुलिसको हातमा पर्ने खतरा मोल्‍न चाहँदिनथिएँ। त्यही बेला मेरो मनमा अत्यन्तै स्वार्थी सोच आयो। मैले सोचेँ, “सायद म मेरो अगुवासँग कुरा गर्न सक्छु, र एक जना पाको सिस्टरलाई मेरो काम गर्न लगाउन सक्छु। उहाँ पहिले नै ५० को दशकमा हुनुहुन्थ्यो—उहाँलाई पक्राउ नै गरियो भने, पुलिसले उहाँमा यातना प्रयोग गर्नेछैनन्।” त्यसपछि मैले तुरुन्तै यो विचार कति स्वार्थी छ भन्‍ने महसुस गरेँ। पक्राउ र यातनाको डरले गर्दा, मैले मेरो काम पाको सिस्टरलाई दिन चाहेँ। म कति कुरूप, कति नीच थिएँ। तर अझै पनि, म नडराई र नआत्तिई बस्‍न सकिनँ। मनमा दाजुभाइ-दिदीबहिनीहरूले यातना र कष्ट भोगिरहेको बारेमा विचार गर्थेँ। मलाई झन्-झन् डर लाग्यो र मनमा यस्तो विचार आइरहयो: “किन तिनीहरूले मलाई यस्तो खतरनाक काम गर्न दिएका हुन्? म पक्राउ परेँ भने, के हुनेछ? म अझै जवानै छु। के मैले मेरो बाँकी जीवनभरि यातना र कष्ट भोग्‍नुपर्नेछ?” म चिन्तित र भयभीत थिएँ, त्यसकारण मैले आफ्‍नो स्थितिको बारेमा बताउँदै परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे, सर्वशक्तिमान्‌ परमेश्‍वर! म पक्राउ पर्नेछु, जेल पर्नेछु र मलाई यातना दिइनेछ भन्‍ने बारेमा मलाई निरन्तर डर लागिरहेको छ। मैले मेरा कर्तव्यहरू पूरा गर्ने क्रममा मेरो हृदयलाई शान्त बनाउन सक्दिनँ र ती काम कसैलाई दिन चाहन्छु, र मैले सधैँ आफ्‍नै देहको बारेमा स्वार्थी भई विचार गरिरहेकी हुन्छु। म डर र कायरतामा जिएर शैतानको छलमा पर्न चाहन्‍नँ। हे परमेश्‍वर, म प्रार्थना गर्छु, मलाई अन्तर्दृष्टि दिनुहोस्, तपाईंको इच्‍छा बुझ्‍न सहायता गर्नुहोस्। मलाई परीक्षाका यी घडीहरूमा सामर्थ्य दिनुहोस् भनी म बिन्ती गर्छु।”

मलाई परमेश्‍वरका वचनहरूको “प्रभु येशूको अनुकरण गर” भन्‍ने भजन याद आयो। “यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको जस्तो भएको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; त्यहाँ सधैँ एउटा प्रबल शक्ति थियो, जसले उहाँलाई त्यतातिर बढ्न बाध्य बनायो, जहाँ उहाँ क्रूसमा टाँगिनु हुनेथियो। अन्त्यमा, उहाँलाई क्रूसमा काँटी ठोकियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिसको समानतामा हुनुभयो। उहाँले मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले तिनीहरूका शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तीस वर्ष जिउनुभयो, ती अवधिभरि उहाँले सधैँ त्यस बेला परमेश्‍वरको कामअनुसार परमेश्‍वरकै इच्छा पूरा गर्ने सक्दो कोसिस गर्नुभयो, उहाँले आफ्नो फाइदा वा नोक्‍सानीको बारेमा कहिल्यै पनि विचार गर्नुभएन, अनि सधैँ परमेश्‍वर पिताको इच्छाको बारेमा सोच्नुहुन्थ्यो। परमेश्‍वरको सामुन्ने उहाँले गर्नुभएको सेवा, जुन परमेश्‍वरको इच्छाअनुरूप थियो, त्यसैले गर्दा परमेश्‍वरले सारा मानवजातिलाई छुटकारा दिने गह्रौं काम उहाँको काँधमा राखिदिनुभयो र त्यो पूरा गर्न लगाउनुभयो, अनि त्यो महत्त्वपूर्ण काम पूरा गर्न उहाँ योग्य हुनुहुन्थ्यो र उहाँलाई अधिकार दिइएको थियो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरका निम्ति असीमित दुःखहरू भोग्नुभयो, अनि शैतानद्वारा उहाँको अनगिन्ती पटक परीक्षा भयो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई यति ठूलो काम दिनुभयो किनभने उहाँमाथि भरोसा राख्नुभयो, र उहाँलाई प्रेम गर्नुभयो। यदि येशूजस्तै तिमीहरूले पनि परमेश्‍वरको बोझलाई पूरा-पूरा ध्यान दिन्छौ र तिमीहरूका देहतिर पिठिउँ फर्काउँछौ भने, परमेश्‍वरले उहाँका महत्त्वपूर्ण कामहरू तिमीहरूलाई सुम्पनुहुनेछ, त्यसरी तिमीहरूले परमेश्‍वरको सेवा गर्नका निम्ति चाहिने सर्तहरू पूरा गर्नेछौ। त्यस्ता परिस्थितिहरूमा पर्दा मात्र तिमीहरूले परमेश्‍वरको इच्छा पूरा गर्दै छौ र उहाँले दिनुभएको आज्ञा पूरा गर्दै छौ भन्ने साहस गर्छौ, अनि तब मात्र तिमीहरूले साँच्चै परमेश्‍वरको सेवा गर्दै छौ भन्ने साहस गर्छौ(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो गीत गाउँदा मेरो मन छोयो। क्रूसीकरणको पिडा र कष्टको सामना गर्दा, प्रभु येशूले उहाँको देहको कमजोरीको बाबजुत कुनै पछुतो गर्नुभएन वा पछि हट्नुभएन। बरु, पापबलिको काम गर्न ती सबै वेदना भोग्‍दै सारा मानवजातिलाई शैतानको पकडबाट छुटकारा दिन आफ्‍नो क्रूस बोकेर गलगथासम्‍म अचल भई अघि बढिरहनुभयो। हामीप्रतिको परमेश्‍वर प्रेम अत्यन्तै महान् थियो, अनि यसको सट्टा, मैले परमेश्‍वरसँग कसरी व्यवहार गरेँ? परमेश्‍वरको आज्ञा पालन गर्ने क्रममा, मैले आफ्‍नै सुरक्षाको बारेमा मात्रै सोचेँ, र पक्राउ पर्ने, जेल पर्ने र यातना भोग्‍ने बारेमा सधैँ डर मानेँ। म कायरता र डरमा जिएँ। मैले मेरा कर्तव्यहरूमा कुनै प्रभाव हासिल नगरिकन झारा टार्ने काम मात्रै गरेँ यो खतरनाक छ भन्‍ने देखेर, मैले मेरा कर्तव्यहरू अर्को वृद्ध सिस्टरलाई हस्तान्तरण गर्ने बारेमा विचार गरेँ। म कति स्वार्थी र घृणित थिएछु। परीक्षाका ती घडीहरूमा, मैले परमेश्‍वरको गवाही दिने र शैतानलाई लाजमा पार्ने बारेमा केही पनि सोचिनँ। मैले आफ्‍नै देहको बारेमा, र कष्ट-भोग र बलिदानविना नै मैले कसरी सुरक्षित साथ मेरा कर्तव्यहरू पूरा गर्न सक्छु सो बारेमा मात्रै सोचेँ ताकि मैले अन्तिममा परमेश्‍वरको मुक्ति प्राप्त गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू प्राप्त गर्न सकूँ। आपतको बेला, मैले आफ्‍नै खातिर मेरा कर्तव्यहरूलाई त्याग्‍न चाहन्थेँ, मैले परमेश्‍वरको विरुद्धमा विद्रोह समेत गरेँ, र परमेश्‍वरमाथिको मेरो विश्‍वास लेनदेनमा आधारित छ भन्‍ने थाहा पाएँ, त्यसकारण म लज्‍जित भएँ। आफ्‍ना सारा कठिनाइहरूका बाबजुद पनि परमेश्‍वरमा समर्पित हुने पत्रुसको बारेमा मलाई याद आयो। तिनले आफ्‍नै हितको बारेमा कहिल्यै चिन्ता गरेनन्। तिनले आफैलाई परमेश्‍वरको इच्‍छामा र परमेश्‍वरको हृदयलाई सान्त्वना दिने कार्यमा समर्पित गरे। अन्तिममा, तिनको क्रूसीकरण परमेश्‍वरको लागि चम्किलो गवाही बन्यो। मेरा कार्यहरूलाई पत्रुसका कार्यहरूसँग तुलना गर्दा मलाई लज्‍जित र दोषी महसुस भयो, त्यसकारण म परमेश्‍वरको अघि आएँ र उहाँसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर! यो परिस्थितिले मेरो स्वार्थ, मेरो नीचपनलाई खुलासा गर्यो। म जेल र यातनाको निम्ति डराएकी थिएँ र मैले तपाईंको गवाही दिने बारेमा कहिल्यै विचार गरिनँ। परमेश्‍वर, अबदेखि म मेरो नाफा वा घाटाको बारेमा सोच्‍न चाहन्‍नँ। म तपाईंलाई सन्तुष्ट पार्न मेरो कर्तव्य मात्रै पूरा गर्न चाहन्छु। यदि म पक्राउ परी सतावटमा परेँ भने पनि म समर्पित हुनेछु। म तपाईंको लागि गवाही दिनेछु र यहूदा बन्‍नेछैनँ; म यो कुराको शपथ खान्छु।” प्रार्थना सकेपछि, मलाई शान्ति र स्थिर महसुस भयो।

त्यसपछि, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। यो सबै अर्थपूर्ण छन्! हो नि! भेलाहरूमा सहभागी हुँदा र मेरा कर्तव्यहरू पूरा गर्दा, परमेश्‍वरको अनुमतिविना म कहिल्यै पनि पक्राउ पर्नेथिइनँ। मैले सतावट र कठिनाइ भोग्‍नुपर्छ भनेर परमेश्‍वरले नै तय गर्नुभयो भने, दिनभरि घरभित्र लुकेँ भने पनि म पक्राउमा पर्ने नै छु। सबै कुरा परमेश्‍वरकै हातमा छ। त्यसकारण ममाथि जे आइपरे पनि मैले त्यसलाई स्वीकार गर्नुपर्छ। म सुरक्षा सम्‍बन्धी हाम्रा सबै रणनीतिहरू सक्दो लागू गर्नेछु। तर जब पक्राउ पर्ने कुरा आउँछ, म परमेश्‍वरकै योजनामा समर्पित हुनेछु। परमेश्‍वरका वचनहरूबाट मैले प्राप्त गरेको अन्तर्दृष्टिले मलाई सामर्थ्य र विश्‍वास दियो र मलाई तुरुन्तै स्वतन्त्र महसुस भयो। त्यहाँदेखि, जब म भेलाहरूमा जान्थेँ, तब मलाई अलिक ढुक्‍क भयो र मेरो डर पनि कम भयो। चिनियाँ कम्युनिस्ट पार्टीले तिनीहरूको पक्राउ अभियानलाई जारी राखे, तर परमेश्‍वरका वचनहरूले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई कति विश्‍वास दिएका छन्, र आफ्‍नो काम जारी राख्‍न मद्दत गरेका छन् भन्‍ने कुरालाई देख्दा, म गहन रूपमा उत्प्रेरित भएँ, र मैले पनि आफ्‍ना कर्तव्यहरूमा ध्यान केन्द्रित गर्न सकेँ। परमेश्‍वरले मलाई अगुवाइ गरिरहनुभएको छ भन्‍ने कुरा मैले स्पष्ट रूपमा अनुभव गर्न सकेँ, त्यसकारण मैले हाम्रो मण्डलीका कतिपय समस्याहरूलाई समाधान गर्न सकेँ। मण्डलीको काम पनि राम्ररी अघि बढिरहेको थियो। यसले मलाई के देखायो भने, शैतान जति नै जङ्गी भए पनि, यसले परमेश्‍वरको काममा कहिल्यै पनि बाधा दिन सक्दैन। परमेश्‍वरमाथिको मेरो विश्‍वास झन् बलियो भयो।

त्यो सबै कुराको अनुभव गरेपछि, मैले केही कद प्राप्त गरेकी हुनसक्छु भन्‍ने मलाई लागेको थियो। तर परमेश्‍वरले फेरि मेरो लागि यस्तै परिस्थिति ल्याउनुहुँदा, मेरो फेरि पनि पूर्ण खुलासा हुनेछ भनेर मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ।

गत जुलाइमा मैले मेरो अगुवाबाट सिस्टर लियुको बारेमा खबर पाएँ। अघिल्‍ला केही महिनादेखि पुलिसले सिस्टर लियुलाई पछ्याउँदै आइरहेका रहेछन्। उनले सम्पर्क गरेकी २० जना जाति दाजुभाइ-दिदीबहिनीहरूलाई पनि तिनीहरूले निगरानी गरिरहेका रहेछन्, र त्यसमा म पनि समावेश थिएँ। सिस्टर लियुले जहाँ-जहाँ भेलामा सहभागिता जनाएकी थिइन् त्यहाँ-त्यहाँ पुलिसले फोटो खिचेको हुनसक्छ भनेर पनि उहाँले बताउनुभयो। यसकारण, मेरो अगुवाले मलाई कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा नआउन सुझाव दिनुभयो। यो पढेपछि, म उप्रान्त शान्त बस्‍नै सकिनँ। मैले सोचेँ: “मैले सिस्टर लियुलाई बारम्‍बार भेट्ने गरेकी थिएँ, र म केही समयअघि तिनीसँग गाउँमा बाइक-राइडमा समेत गएकी थिएँ। त्यो सडकभरि सेक्युरिटी क्यामेरा राखिएको थियो, त्यसकारण तिनीहरूसँग हाम्रो कुनै भिडियो छ भने म समस्यामा पर्नेछु। चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूलाई उग्र रूपमा पक्राउ र सतावट गरिरहेको छ। यदि म यो नाजुक समयमा पक्राउ परेँ भने, पुलिसले मलाई कस्तो यातना दिनेछ, कसलाई के थाहा। के तिनीहरूले मलाई कुटेर मार्नेछन्?” यसको बारेमा मैले जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो र मैले परमेश्‍वरका वचनहरू पढ्ने कार्यमा ध्यान दिन सकिनँ। केही समयपछि नै, मैले सिस्टर लियुले भाडामा लिनुभएको अपार्टमेन्टमा परमेश्‍वरका वचनका पुस्तकहरू राखिएको छ भन्‍ने जानकारी पाएँ। ती पुस्तकहरूलाई चाँडै त्यहाँबाट सारिएन भने, पुलिसले ती पुस्तकहरू चाँडै हात पार्नेथिए, र परमेश्‍वरको घरलाई नोक्‍सानी हुनेथियो। तर मलाई दोधार भयो: आखिर, पुलिसले विश्‍वासीहरूको खेदो गर्दै पक्राउ गरिरहेको थियो। यदि किताबहरू सार्दा मेरो पुलिससँग सामना भयो भने, के तिनीहरूसँग चाहिने सबै प्रमाण हुनेथिएन र? यदि त्यसो भए पनि, मेरो सोधपुछमा अवश्य नै यातना समावेश हुनेछ, र यो मेरो लागि घातक समेत हुन सक्छ। यो सबै कुरालाई ध्यानमा राख्दा, मलाई जान मन लागेन। तर यदि म गइनँ भनेँ, के मैले परमेश्‍वरको घरलाई हुने सम्‍भावित नोक्‍सानीको निम्ति आँखा चिम्‍लिरहेकी हुनेथिइनँ र? केही समयसम्‍म यी विचारहरूसँग संघर्ष गरिसकेपछि, मैले के गर्ने भनेर निर्णय गर्नै सकिनँ।

भोलिपल्‍ट, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ। “ख्रीष्ट विरोधीहरू अत्यन्तै स्वार्थी र नीच हुन्छन्। परमेश्‍वरमाथि तिनीहरूसँग साँचो विश्‍वास हुँदैन, परमेश्‍वरप्रति भक्ति हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्, तिनीहरू आफ्नै बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि, आफू बाँच्नु र सुरक्षित हुनुभन्दा महत्त्वपूर्ण केही हुँदैन। तिनीहरूले परमेश्‍वरको घरको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्—जबसम्म तिनीहरू जीवित छन् र तिनीहरूलाई केही हुँदैन, त्यसैको मात्र महत्त्व हुन्छ। यस्ता मानिसहरूको स्वभाव दुष्ट हुन्छ, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू वा परमेश्‍वरको घरको बारेमा सोच्दैनन्, तिनीहरूले आफ्नै बारेमा मात्र सोच्छन्। तिनीहरू ख्रीष्ट विरोधीहरू हुन्। जब परमेश्‍वरमा समर्पित र परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरूलाई यस्ता कुराहरू आइपर्छन्, उनीहरूले ती कुराको सामना कसरी गर्छन्? (तिनीहरूले परमेश्‍वरको घरको हितको रक्षा गर्न, परमेश्‍वरको घरको भेटीलाई हानि हुनबाट जोगाउने उपाय सोच्नेछन् अनि नोक्सानी कम गराउन अगुवा र कार्यकर्ताहरू, दाजुभाइ-दिदीबहिनीहरूका लागि आवश्यक व्यवस्था गर्नेछन्। अर्कोतर्फ ख्रीष्ट विरोधीहरूले गर्ने पहिलो काम भनेको आफूलाई सुरक्षित राख्नु र परमेश्‍वरको घरको कामलाई बेवास्ता गर्नु हो। अनि यसरी जब ठूलो रातो अजिङ्गरले गिरफ्तार गर्छ, तब मण्डलीहरूलाई हुने क्षति विशेष गरी गम्भीर हुन्छ।) ख्रीष्ट विरोधीहरूले जे गर्छन् त्यो ठूलो रातो अजिङ्गरलाई परमेश्‍वरको घरको काम र भेटीहरू समर्पण गर्नु बराबर हो। तिनीहरूले यसलाई व्यवस्थित गर्न कसैलाई पठाउँदैनन्, बरु बेवास्ता गर्छन्। यो अर्को छलपूर्ण धोका हो। परमेश्‍वरप्रति बफादार मानिसहरूलाई जोखिमहरू हुन्छन् भनी स्पष्ट रूपमा थाहा हुन्छ, र तिनीहरू आफै पछि हट्नुभन्दा अघि परिणामको सामना गर्न अनि परमेश्‍वरको घरमा हुने नोक्सानलाई कम गर्नका लागि ती जोखिमहरू उठाउन इच्छुक हुन्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। तिमीहरू यसलाई के भन्छौ: के मानिसहरूले आफ्नो सुरक्षाको बारेमा अलिकति पनि वास्ता गर्न सक्दैनन्? आफ्नो परिस्थितिको खतराको बारेमा कसलाई थाहा हुँदैन? तापनि, तैँले आफ्नो कर्तव्य पूरा गर्नका लागि जोखिम उठाउनै पर्छ। यो तेरो जिम्मेवारी हो। तैँले आफ्नो व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। परमेश्‍वरको घरको काम र परमेश्‍वरले तँलाई सुम्पनुभएको काम सबैभन्दा महत्त्वपूर्ण हुन्छ, र तिनको सबैभन्दा उच्च प्राथमिकता हुन्छ। ख्रीष्ट विरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्‍वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्ट विरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्‍म तिनीहरू ढुक्‍क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्ट विरोधीको प्रकृति र सारद्वारा निर्धारित हुन्छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दुई)”)। यो खण्डले वास्तविक समस्यालाई औंल्याउँछ। ख्रीष्ट-विरोधी दुष्ट, स्वार्थी र घृणित हुन्छ। आफ्‍नो व्यक्तिगत रक्षाको हकमा, तिनीहरूले आफू कष्ट भोग्‍नुको सट्टा परमेश्‍वरको घरको काममा नोक्‍सानी हुन दिन्छन्। तिनीहरूसँग अलिकति पनि विवेक हुँदैन, न त तिनीहरूसँग परमेश्‍वरप्रति कुनै निष्ठा नै हुन्छ। र खतराको सामना गर्दा मैले के गरेँ? मैले आफ्‍नै सुरक्षा र आफू जोगिने र जोखिमहरू मोल्‍नदेखि पछि हट्ने बारेमा मात्रै सोचेँ। जब मैले पुस्तकहरू अझै पनि अपार्टमेन्टमा नै छन् भन्‍ने सुनेँ, तब मैले ती हटाइनँ भनेँ, पुलिसले ढोका तोडेर परमेश्‍वरको वचनका सबै पुस्तकहरू जफत गर्नेछ, र परमेश्‍वरको घरलाई नोक्‍सानी हुनेछ भन्‍ने मलाई थाहा थियो। मैले परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दिएर ती पुस्तकहरूलाई तुरुन्तै सारिहाल्‍नु पर्थ्यो। तर यदि मैले मेरो अनुहार देखाएँ भने मलाई पक्राउ गरिनेछ र यातना दिइनेछ, र म बाँच्‍ने सम्‍भावना पनि नहुन सक्छ भन्‍ने मलाई डर लागेको थियो। त्यसकारण म गइनँ। के मैले परमेश्‍वरको वचनका ती पुस्तकहरूलाई पुलिसको हातमा दिइरहेकी थिइनँ र? मैले सधैँ परमेश्‍वरको घरको हितलाई होइन आफ्‍नै सुरक्षाको बारेमा विचार गरेँ। मैले आफ्‍नो रक्षा गरेर परमेश्‍वरको घरलाई धोका दिएँ। यसले गर्दा म अत्यन्तै अमानवीय भएँ! बाहिरबाट हेर्दा, म ख्रीष्ट-विरोधी जत्तिको पापी हुँ भन्‍ने देखिएकी थिइनँ, तर मेरो स्वभाव तिनीहरूको भन्दा फरक थिएन। म स्वार्थी र घृणित थिएँ। यदि मैले पश्‍चात्ताप नगरेकी भए, ममाथि परमेश्‍वरको क्रोध र इन्कार आइपर्थ्यो। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र विश्‍वासयोग्य रहनेहरूले आफ्‍नो व्यक्तिगत सुरक्षाको बारेमा ध्यान दिँदैनन्। नाजुक परिस्थितिहरूमा, तिनीहरूले आफ्‍ना व्यक्तिगत हितहरूलाई बेवास्ता गरेर परमेश्‍वरको घरको रक्षा गर्छन्। तिनीहरू परमेश्‍वरसँग एउटै हृदय र मनका हुन्छन्। त्यो बेला मलाई मैले मेरो शैतानी स्वभावलाई त्याग्‍नुपर्छ भन्‍ने थाहा भयो। र खतरा जे-जस्तो भए पनि, यातनाको जोखिम जति भए पनि, मैले परमेश्‍वरको घरको रक्षा गर्न सबै कुराको खतरा मोल्‍नुपर्थ्यो। मैले परमेश्‍वरमा भरोसा गरेर नोक्‍सानीलाई जति सक्दो कम गर्न ती पुस्तकहरूलाई त्यहाँबाट सार्नुपर्थ्यो। त्यसपछि, मैले यही विषयमा नै निरन्तर प्रार्थना गरिरहेँ, र मलाई विश्‍वास र शक्ति दिनुहोस् र सबै कायरता र डरबाट छुटकारा दिनुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गरेँ। मलाई मैले दुई दिन पहिले हेरेको गहिरो छाप नामक चलचित्रको याद आयो। मुख्य पात्रलाई १३ वर्षकी हुँदादेखि नै चिनियाँ कम्युनिस्ट पार्टीले सताउँदै आएको हुन्छ। २८ वर्षकी हुँदा, उनलाई तीन पटक पक्राउ गरिएको हुन्छ; पुलिसले उनलाई यातना दिन्छन्। तर तिनीहरूले उनलाई जे गरे पनि, उनको ज्यान जोखिममा हुँदा पनि, हरेक कदममा दह्रिलो भई खडा हुन उनले परमेश्‍वरका वचनहरूमा भरोसा गर्छिन्। उनले अन्तिममा शैतानलाई हराउँछिन् र गवाहीको रूपमा खडा हुन्छिन्। र उनी जेलबाट छुटेपछि, उनले सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यलाई जारी राख्छिन्। मलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेका, यातना दिएका र मस्तिष्क सफाइ गरेका धेरै जना दाजुभाइ-दिदीबहिनीहरू, र तिनीहरूले शैतानलाई जित्‍न कसरी परमेश्‍वरका वचनहरू प्रयोग गरेका थिए त्यो कुरा याद आयो। मैले के महसुस गरेँ भने, शैतान जति नै दुष्ट र निर्दयी भए पनि, हामी इमानदार भई परमेश्‍वरमा भरोसा गर्छौं, र परमेश्‍वरका वचनहरूको अगुवाइलाई पछ्याउँछौं भने, हामी शैतानलाई जितेर गवाहीको रूपमा खडा हुन सक्छौं। यो सबै उत्साहजनक थियो र यसले मेरो विश्‍वास नवीकरण गर्न सहयोग गर्यो—मलाई उप्रान्त डर लागेन।

त्यसपछि, मैले यो कुरा मनन गरेँ: मैले यस्तो खतरनाक कर्तव्य पूरा गर्न इच्‍छा नगर्नुको कारण त पुलिसको यातनाको डरले गर्दा रहेछ। म कष्ट भोग्‍न चाहँदिनथिएँ, मर्ने कुरा त परै जाओस्। त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “परमेश्‍वरले हामीलाई डोऱ्याउनुहुने मार्ग सिधा छैन, तर खाल्डा-खुल्डीले भरिएको घुमाउरो बाटो हो; यसबाहेक, परमेश्‍वर भन्नुहुन्छ, कि मार्ग जति धेरै ढुङ्गेनी हुन्छ, त्यत्ति नै बढी त्यसले हाम्रो प्रेमिलो हृदयहरूलाई प्रकट गर्न सक्छ। तर हामीमध्ये कसैले पनि त्यस्तो बाटो खोल्न सक्दैनौं। मेरो अनुभवमा, म धेरै ढुङ्गेनी, धोकेबाज मार्गहरू हिँडेको छु र मैले ठूलो यातना भोगेको छु; कहिलेकहीँ म शोकले यति धेरै ग्रस्त भएको छु कि म रुन चाहन्थें, तर म आजको दिनसम्म यो मार्गमा हिँडेको छु। म विश्‍वास गर्दछु कि यो परमेश्‍वरले डोऱ्याउनुभएको बाटो हो, त्यसैले म सबै दु:खको यातना सहन्छु र अगाडि बढिरहन्छु। किनकि परमेश्‍वरले ठहराउनुभएको यही हो, त्यसकारण त्यसबाट को उम्कन सक्छ र? म कुनै आशिष् पाऊँ भनी माग्दिनँ; म केवल यति मात्र बिन्ती गर्दछु कि मैले जुन बाटोमा हिँड्नुपर्छ त्यसमा म परमेश्‍वरको इच्छाअनुसार हिँड्न सकूँ। म अरूले हिँडेको बाटो हिँड्दै अरूको अनुकरण गर्न खोज्दिनँ; म यति मात्रै चाहन्छु कि, मेरो तोकिएको मार्गमा हिँडेर मैले मेरो भक्तिसाथ पूर्ण रूपमा पूरा गर्न सकूँ। … एक व्यक्तिले जति दु:ख भोग्नुपर्छ र उनीहरूले आफ्नो मार्गमा जति दूरी हिँड्नु पर्ने हुन्छ त्यो परमेश्‍वरद्वारा तोकिएको हुन्छ, र कसैले पनि अरू कसैलाई वास्तवमा सहायता गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (६))। मलाई परमेश्‍वरको वचनले भनेको यो कुरा पनि याद आयो: “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरो खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। त्यसपछि मैले के महसुस गरेँ भने, सबैको नियति परमेश्‍वरकै हातमा हुन्छ। म पक्राउ परेर जेलमा परी यातनामा पर्छु कि पर्दिनँ भन्‍ने कुरा सबै परमेश्‍वरकै हातमा थियो। म त्यसमा समर्पित हुनुपर्थ्यो। शैतानले अय्यूबलाई परीक्षा गर्दा, अय्यूबले आफ्‍ना छोरा-छोरी र सम्पत्ति गुमाए, र तिनको शरीरभरि खटिरा आएको थियो। तर परमेश्‍वरले शैतानलाई अय्यूबको ज्यान लिने अनुमति दिनुभएको थिएन, र शैतानले उहाँको अवज्ञा गर्ने आँट गरेन। परमेश्‍वरको अख्‍तियार यही नै हो। परमेश्‍वरको सार्वभौमिकताको बारेमा अय्यूबलाई थाहा थियो, चरम कष्टमा हुँदा पनि, अय्यूबले परमेश्‍वरलाई दोष दिएनन् र यसो समेत भने: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अन्तिममा, अय्यूबले शैतानलाई पूर्ण रूपमा लज्‍जित तुल्याए र परमेश्‍वरबाट दुई गुणा आशिष्‌हरू प्राप्त गरे। परमेश्‍वरले आफ्‍नो काम सुरु गर्नुभएपछि, आफ्‍नो विश्‍वासको लागि को मर्नेछन्, को जेल जानेछन् भन्‍ने बारेमा उहाँले पूर्वनिर्धारित र योजना गर्नुभएको छ, र जेसुकै भए पनि, तीभित्र परमेश्‍वरको दयालु अभिप्रायहरू लुकेका हुन्छन्। अनुग्रहको युगमा, प्रभु येशूको सुसमाचार प्रचार गर्ने क्रममा धेरै सन्तहरू मारिए। उदाहरणको लागि सन्त पत्रुसलाई लिऊँ: तिनलाई उँधो मुन्टो पारेर क्रूसमा टाँगिएको थियो भन्‍ने भनाइ छ, तर उनको आत्मा स्वर्गको राज्यमा उठाइलगियो र तिनले परमेश्‍वरको अनन्‍त स्याबासी र आशिष्‌ पाए। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने धेरैलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरी यातना दिने र दुर्व्यवहार गर्ने गरेको छ, तर तिनीहरूले शैतानसँग आत्मसमर्पण गरेनन्। जब तिनीहरू बाहिर निस्केर आए, तिनीहरूले सत्यता खोजी गर्ने र आफ्‍ना कर्तव्यहरू पूरा गर्ने कार्यलाई जारी राखेका छन्, यसरी परमेश्‍वरको लागि सुन्दर चम्किला धेरै गवाहीहरू दिएका छन्। तिनीहरू सबै परमेश्‍वरले पूर्ण तुल्याउनुभएका विजेताहरू हुन्। तिनीहरूको देहले केही कष्ट भोगेको हुनसक्छ, तर तिनीहरूले सत्यता र परमेश्‍वरको आशिष्‌ प्राप्त गरेका छन्। तैपनि, कतिपय मानिसहरू पक्राउ परेपछि, यातना र दुर्व्यवहारबाट डराएका थिए त्यसकारण तिनीहरूले परमेश्‍वर र दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिए र यहूदा जस्तै लाजमा परे। तिनीहरू सबैले परमेश्‍वरको स्वभावलाई नराम्ररी उल्‍लङ्घन गरेका छन् र परमेश्‍वरको मुक्तिबाट इन्कार गरिएका छन्। कतिपय मानिसहरू जेल पर्छु भनेर अत्यन्तै डराएका हुन्छन्, त्यसकारण तिनीहरू डरमा जिउँछन् र कर्तव्य पूरा गर्ने आँट गर्दैनन्, र तिनीहरू परमेश्‍वरबाट टाढा जान्छन्, र तिनीहरू सामा र गैरविश्‍वासीहरू बन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउ र सतावटले साँचा र झूटा विश्‍वासीहरूलाई प्रकट गरेको छ, यसरी तिनीहरूलाई आफ्‍नो प्रकार अनुसार वर्गीकरण गरेको छ। अब हामीलाई परमेश्‍वर धर्मी र बुद्धिमानी हुनुहुन्छ भन्‍ने थाहा छ! त्यो बेला मैले के बुझेँ भने, पुलिसले हात पार्नुभन्दा पहिले पुस्तकहरूलाई हटाउने कार्यद्वारा परमेश्‍वरले मलाई म उहाँप्रति निष्ठावान र विश्‍वासयोग्य छु कि छैन र उहाँको निम्ति गवाही बन्छु कि बन्दिनँ भनेर जाँचिरहनुभएको थियो। यो कुरा महसुस गरिसकेपछि, मैले सकेसम्‍म मेरो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गरेँ। म पक्राउ परेँ भने, म परमेश्‍वरको लागि साक्षी बन्‍न सबै कुराको जोखिम मोल्‍नेछु, र मृत्यु नै आए पनि शैतानको हातमा समर्पित हुनेछैन। त्यो बेला, मलाई साँच्‍चै सहज र शान्तिको अनुभव भयो। मैले हृदयको अन्तस्करणबाट परमेश्‍वरलाई अगुवाइ र अन्तर्दृष्टिको लागि धन्यवाद दिएँ, किनभने यसले मलाई यस्ता कठिनाइहरूको बीचमा सत्यताहरूलाई बुझ्‍न सहयोग गरेको थियो र मलाई व्यावहारिक पाठ सिकाएको थियो। भोलिपल्ट बिहान, म उठेँ र परमेश्‍वरसँग प्रार्थना गरेँ, मलाई विश्‍वास र साहस दिनुहोस् भनी अनुरोध गरेँ, अनि उहाँको अगुवाइमा समर्पित हुन तयार छु भनी उहाँलाई बताएँ। त्यो दिन, पानी परिरहेको थियो: बाहिर कोही पनि थिएन, त्यसकारण म खुसुक्‍क अपार्टमेन्ट जान सकेँ, र अपार्टमेन्टभित्र राखिएको परमेश्‍वरको वचनका सबै पुस्तकहरूलाई त्यहाँबाट हटाउन सकेँ।

त्यो काम गरिसकेपछि, मलाई शान्ति, र अत्यन्तै खुशी अनुभव भयो। यो सबै कुराबाट गुज्रिँदा त्यसले मलाई खुलासा गर्यो र साँच्‍चै सिद्ध तुल्यायो। यसले म कति स्वार्थी थिएँ र ममा मानवताको कति कमी थियो भन्‍ने कुरा प्रकट गर्यो, र यसले मेरो विश्‍वास र समर्पणतालाई सिद्ध तुल्यायो। परमेश्‍वरको वचनको अगुवाइले नै मलाई परमेश्‍वरको बुद्धि, सार्वभौमिकता र सर्वशक्तिमान्‌ताको बुझाइ प्रदान गर्यो, र परमेश्‍वरको घरको रक्षा गर्ने क्रममा सत्यताको अभ्यास गर्न सहयोग गर्यो। मलाई भविष्यमा के-कस्ता परिस्थितिहरूले पर्खिरहेका छन् थाहा छैन, तर म उप्रान्त आत्तिएकी र डराएकी छैनँ। म परमेश्‍वरको योजनामा समर्पित हुन र मेरा कर्तव्यहरूलाई पूरा गर्न इच्‍छुक छु। मलाई बचाउनुभएकोमा परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

स्वार्थ खराब हुन्छ

याङ शुओ, चीनसन् २०२१ को सुरुतिर, सिस्टर झाङ यिचेन र मैले मिलेर भर्खरै स्थापित एउटा मण्डलीलाई सहयोग गरिरहेका थियौँ। यिचेन नयाँ विश्‍वासी...

सुसमाचार प्रचार गर्न कठिनाइ हुँदा

सन् २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउनु ठूलो आशिष थियो। यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्