बहिष्कार हुनुभन्दा पहिलेको मेरो आत्मचिन्तन

25 फेब्रुअरी 2023

सन् २०१४ मा, म मण्डलीको भिडियो बनाउने काम गरिरहेकी थिएँ। केही समयपछि नै, मलाई समूह अगुवामा बढुवा गरियो। भिडियोहरू राम्ररी बनाउनका लागि, म सिद्धान्तहरूबारे विचार गर्थेँ, प्रार्थना र खोजी गर्थेँ, र हरेक सटलाई गम्‍भीरतासाथ लिन्थेँ। केही समयपछि, मेरो उत्पादनका धेरैजसो भिडियोहरू प्रयोगका लागि छनौट भए र ब्रदर-सिस्टरहरूले मलाई आदरका साथ हेर्न थाले। मलाई लाग्‍न थाल्यो कि म मण्डलीका उत्कृष्ट व्यक्तिहरूमध्ये एक हुँ, नत्र मलाई किन बढुवा दिइन्थ्यो र? केही हप्तापछि, सुपरभाइजरले मलाई अर्को समूहको भिडियो प्रोडक्शनको नेतृत्व गर्न लगाए र मलाई यो कुरा बताए: “ब्रदर-सिस्टरहरूलाई परमेश्‍वरको वचन अनुभव गर्न र सिद्धान्तहरू पालन गर्न अगुवाइ गर्नुहोस्।” मलाई आफैप्रति एकदमै खुसी लाग्यो। सुपरभाइजरले मलाई अरूलाई नेतृत्व गर्न लगाएको कुराले मसँग सीप छ, र म सक्षम छु भन्‍ने कुरा देखाएको थियो। त्यो समूहमा आएपछि, मैले केही ब्रदरहरूको भिडियो उत्पादन क्षमता त्यति राम्रो नभएको थाहा पाएँ। एक सिस्टरचाहिँ ठीकै थिइन्, तर उनी सानै थिइन्, त्यसैले उनीसँग हर पक्षको अनुभवको कमी थियो। हरेक क्षेत्रमा अलिक सबल रहेको व्यक्ति समूह अगुवा मात्रै थिए। भेलाहरूमा परमेश्‍वरका वचनहरू सङ्गति गर्दा, समूह अगुवा मजति संक्षिप्त वा सुव्यवस्थित रूपमा बोल्दैनथे, र भिडियो प्रोडक्शनका कुराहरू छलफल गर्दा तिनले बृहत् दृष्टिकोण प्रस्तुत गर्दैनथे। प्रायजसो, सबैले मेरो सुझाव अनुमोदन गर्थे, त्यसैले मैले आफूलाई अझै उच्‍च ठान्‍न थालेँ। एकदुई वटा छलफलमा, समूह अगुवाले मेरो भन्दा फरक विचार व्यक्त गरे, र मेरो मनभरि तिनीप्रति तिरस्कार जाग्यो। मैले मनमनै सोचेँ, “मैले यो कर्तव्यमा यति समय बिताएकी छु, कुन कुरा के हो भन्‍ने मलाई थाहा छैन र?” म आफ्‍नै विचारमा अडिग रहेँ र समूह अगुवाप्रति मलाई निकै झर्को लाग्यो। एकपटक हामीले भिडियो प्रोडक्शनबारे छलफल गरिरहेका बेला, मैले केही विचारहरू प्रस्तुत गरेँ, तर समूह अगुवाले ती कुनै पनि विचार मन परेन भने। मेरो रगत उम्‍लन थाल्यो, र तिनले मलाई नराम्रो देखाउनका लागि मेरा सबै विचारहरू इन्कार गर्दैछन् जस्तो मलाई लाग्यो। मैले तिनको पिठ्यूँपछाडि गुनासो गरेँ, “तिनको के भन्‍न खोजेको हो थाहा छैन, तिनी आफैसँग कुनै असल प्रस्ताव छैन, तर तिनले मेरो हरेक विचार इन्कार गर्छन्, त्यसैले हामीले बिहानभरमा पनि केही गर्न सकेनौँ। के तिनले हाम्रो काम रोकिराखेका छैनन् र?” मैले यसो भनेको सुनेपछि ब्रदर-सिस्टरहरू सबैले समूह अगुवामा समस्या छ भन्‍ने सोच्‍न थाले। एक ब्रदरले तिनलाई अहङ्कारी भई काममा असर पारेको भनेर आलोचना गर्दै तिनीसँग सङ्गति गरे। ती समूह अगुवालाई ग्‍लानि भयो र राजीनामा दिन चाहे। यो देखेपछि मलाई अलिक पछुतो भयो र मैले हदै गरेँ कि जस्तो लाग्यो, त्यसैले मैले हतारहतार तिनीसँग माफी मागेँ। तर त्यसपछि मैले कुनै मनन गरिनँ।

एक दिन, एक मण्डली अगुवा भेलामा आइन्, र हाम्रो भिडियो प्रोडक्शनको बारेमा सोधिन्। मैले केही विचारहरू प्रस्तुत गरेँ, जसलाई ती अगुवाले अनुमोदन गरिन्, र सबैलाई मेरो सुझाव पछ्याउनू र काम गर्ने क्रममा अझै राम्रो बनाउँदै जानू भन्‍ने सल्‍लाह दिइन्। मैले मनमनै सोचेँ, “अगुवाले मेरा विचारहरू अनुमोदन गरेको तथ्यले म अरूभन्दा सक्षम छु भन्‍ने देखाउँछ, त्यसैले तिनीहरू सबैले मेरो कुरा सुन्‍नुपर्छ।” त्यसपछि, हाम्रो समूहको सबै काम मैले नै बन्दोबस्त गर्न थालेँ, र अरूहरू आफूले सामना गर्ने सबै समस्याहरूबारे कुरा गर्न मकहाँ आउँथे। मैले आफैलाई समूहको मेरुदण्डको रूपमा स्थापित गरेँ। म समूहको प्रेरणा-शक्ति हुँ, र समूह अगुवा त थपना मात्र हुन् भन्‍ने लाग्यो। सबै कुरामा म नै अन्तिम निर्णय गर्थेँ। तिनीहरूले बनाएका भिडियोहरू मैले चाहेजस्तो नहुँदा, म सीधै मैले चाहेअनुसारको फेरबदल गर्थेँ। एकपटक, ब्रदर वाङ यीले मैले तिनका भिडियोहरूमा धेरै फेरबदल गरेको देखेर मलाई सोधे, “तपाईंले किन यति धेरै फेरबदल गर्नुभयो? तपाईंलाई यति धेरै समस्या छ भन्‍ने लागेको भए, हामीले सँगै छलफल गर्न सक्थ्यौँ। इडिट गर्नुभन्दा पहिले किन मेरो विचार सोध्‍नुभएन?” तिनका प्रश्‍नहरू सुन्दा मलाई अलिक अप्ठ्यारो भयो, तर मैले सोचेँ, “मेरो क्षमता तिम्रो भन्दा राम्रो छ, मैले तिमीले भन्दा राम्ररी सिद्धान्त बुझेकी छु, त्यसैले मैले गरेका सबै फेरबदल सुधार हुन्।” मैले दृढ हुँदै जबाफ दिएँ, “के मैले राम्रो होस् भनेर नै सबै फेरबदल गरेकी होइन र? यदि यी कुरामा तपाईंको अनुमोदन थिएन जस्तो लाग्छ भने, अबदेखि म सुरुमा तपाईंसँग छलफल गर्नेछु।” तिनको हात पूरै बाँधियो। त्यसपछि त म मेरो कर्तव्यमा झन्झन् अहङ्कारी बन्दै गएँ। कामको छलफल गर्दा म अरू ब्रदर-सिस्टरहरूको कुरा सुन्‍न मान्दिनथेँ, किनकि म तिनीहरूसँग कुनै राम्रो विचार हुँदैन, र तिनीहरूले आखिर मैले चाहेकै कुरा गर्नेछन् भन्‍ने सोच्थेँ। कहिलेकहीँ, जब तिनीहरूले मेरा योजनाहरूबारे शङ्का व्यक्त गर्थे, तब दृढ़तासाथ जबाफ फर्काइहाल्थेँ: “मेरो विचार मन परेन भने, तपाईंहरूसँग के योभन्दा राम्रो कुनै योजना छ?” तिनीहरूको हात बाँधिन्थ्यो, र मैले भनेकै कुरा गर्न बाध्य हुन्थे। समय बित्दै जाँदा, समूहका कसैले पनि मेरो विचारको विपरीत बोल्न छोडे। मैले जे भने पनि सहमतिमा सबैले शिर हल्‍लाउँथे।

अनि, केही समयसम्‍म, हामीले बनाएका भिडियोहरू बहुचरणीय जाँचमा पास नै भएनन् र तिनमा सिद्धान्तहरूका केही स्पष्ट उल्लङ्घनहरू थिए। ब्रदर-सिस्टरहरूले आफूले कर्तव्य राम्ररी पूरा नगरेको सोचेर आफैलाई दोष दिए, तर मैले आत्मचिन्तन गरिनँ। मलाई मैले सक्दो गरेकी छु, तर हाम्रो क्षमता सीमित भएकोले, मापदण्ड पूरा नगर्नु सामान्य हो जस्तो लाग्यो। त्यसपछि, मेरो कर्तव्य झन्झन् गाह्रो लाग्‍न थाल्यो र मलाई धेरै निद्रा लाग्थ्यो। एक सिस्टरले मलाई सचेत गराइन्, “तपाईंले केही आत्मचिन्तन गर्नुपर्छ। आजभोलि तपाईं आफूले चाहेझैँ सबैले गरून् भनी जिद्दी गरिरहनुहुन्छ—के त्यो अहङ्कार होइन र?” म अहङ्कारी र निरङ्कुश हुँदै छु, र म अरूको सङ्गति सुन्दिनँ भन्‍ने थाहा पाएर, अगुवाले मलाई कठोरतासाथ खुलासा र निराकरण गरिन्। ममा कुनै आत्मसचेतना नभएको देखेपछि उनले मलाई बर्खास्त गरिन्। म स्तब्ध थिएँ र मलाई परमेश्‍वरतर्फ फर्किन आएन। मलाई मसँग सामर्थ्य छ, म लचक सोच भएकी व्यक्ति हुँ, र मण्डलीले चाँडै नै मलाई अर्को कर्तव्य दिनेछ भन्‍ने लाग्यो। मैले भिडियो प्रोडक्शनको अध्ययन गरिरहेँ, ताकि समयसँगै मैले सीप नबिर्सूँ। तर जब म भिडियोमा काम गर्न तयार हुन्थेँ, तब मेरो मष्तिष्क खाली हुन्थ्यो। म मेरो दिमाग खियाउँथेँ, तर कुनै विचारहरू निकाल्‍न सक्दिनथेँ—म विचारशून्य हुन्थेँ। म आफूलाई बृहत् सोच भएकी चलाख व्यक्ति सोच्थेँ। तर किन अहिले कुनै भिडियो बनाउन सक्दिनँ? अनि मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “परमेश्‍वरले मानिसहरूलाई विशेष सीपका साथै ज्ञान र बुद्धि दिएर आशिष् प्रदान गर्नुहुन्छ। मानिसले यी कुरा कसरी प्रयोग गर्नुपर्छ? तैँले आफ्नो विशेष सीप, वरदान, ज्ञान र बुद्धिलाई आफ्नो कर्तव्यमा समर्पित गर्नैपर्छ। तैँले आफ्नो हृदय प्रयोग गर्नुपर्छ अनि आफूलाई थाहा भएका, आफूले बुझेका, र आफूले प्राप्त गर्न सक्‍ने सबै कुरा आफ्नो कर्तव्यमा लगाउनैपर्छ। यसो गर्दा तँ आशिषित हुनेछस्। परमेश्‍वरद्वारा आशिषित् हुनुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो महसुस गराउँछ? उनीहरूले परमेश्‍वरबाट अन्तर्दृष्टि र मार्गदर्शन पाएका छन्, र तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने एउटा मार्ग हुन्छ। … जब परमेश्‍वरले कसैलाई आशिष दिनुहुन्छ, तब ऊ बुद्धिमान् र ज्ञानी, सबै कुरा स्पष्ट बुझ्‍ने, उत्सुक, चनाखो र विशेष गरी सिपालु हुन्छ; उसँग कौशलता हुनेछ आफूले गर्ने हरेक कुराद्वारा ऊ उत्प्रेरित हुनेछ, र आफूले गर्ने हरेक कुरा सहज हुनेछ र आफूलाई कुनै कठिनाइले रोक्न सक्दैन भन्‍ने उसले सोच्नेछ—उसले परमेश्‍वरबाट आशिष पाउँछ। यदि कसैलाई सबै कुरा असाध्यै कठिन लाग्छ, र उसले जुनसुकै काम गरिरहेको भए पनि, ऊ अडभङ्गे, हास्यसपद, र मूर्ख छ, उसलाई जे भने पनि बुझ्दैन भने, यसको अर्थ के हो? यसको अर्थ उसँग परमेश्‍वरको मार्गदर्शन छैन र उसँग परमेश्‍वरको आशिष छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका वचनहरू मेरो लागि तत्‍कालै चेतावनीका घण्टी बने। हामी सही मार्गमा हुँदा, परमेश्‍वरले हामीलाई आशिष्‌ दिँदै हाम्रा वरदान र सामर्थ्यहरूलाई काम गर्न दिनुहुन्छ। हामी सही मार्गमा नहुँदा, पवित्र आत्माले हामीमा काम गर्नुहुन्‍न, त्यसैले हामी जति नै वरदानप्राप्त वा सिपालु भए पनि, यसले कुनै काम गर्दैन। परमेश्‍वरको मार्गदर्शनविना, मानिसहरूका वरदान र सामर्थ्यहरू पूरै व्यर्थ हुन्छन्। मैले सुरुमा भिडियो प्रोडक्शन थाल्दा, मेरो मनोवृत्ति सही थियो र म सिद्धान्तहरू खोज्न ध्यान दिन्थेँ, त्यसैले परमेश्‍वरले मलाई अन्तर्दृष्टि दिनुहुन्थ्यो। सीप सिक्दा होस् वा सिद्धान्तहरू सिक्दा होस्, उहाँले मेरो आँखा खोल्‍नुहुन्थ्यो। त्यसपछि मात्रै मलाई यो सब परमेश्‍वरको आशिष्‌ थियो भन्‍ने महसुस भयो। तर मैले पवित्र आत्‍माको काम पहिचान गरिनँ। मैले केही परिणाम प्राप्त गरेँ र आफूलाई विशेष ठानेँ। मैले मेरो क्षमता र तीक्ष्ण बुद्धिलाई पूँजीको रूपमा लिएर अरूलाई सानो ठानेँ, र तिनीहरूका सुझाव सुन्‍न इन्कार गरेँ। यसले गर्दा अन्तिममा पवित्र आत्‍माले मलाई इन्कार गर्नुभयो—म अन्धकारमा परेँ र आफ्‍नो कर्तव्यमा केही हासिल गरिनँ। पहिले, मलाई म प्रतिभावान् छु जस्तो लाग्थ्यो, तर पछि म अरूभन्दा सिपालु थिएनछु भन्‍ने थाहा भयो। पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइको कारण मैले केही भिडियोहरू बनाउन सकेकी थिएँ। अब, पवित्र आत्‍माको कामविना, मैले कुनै भिडियो बनाउन सक्दिनथेँ। मसँग कुनै विचारसमेत थिएन। मैले बल्‍ल म कति नीच र दयनीय थिएछु भन्‍ने देखेँ।

त्यसपछि मैले मनन गर्ने क्रममा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूको हृदयभित्र परमेश्‍वरको कुनै डर हुँदैन। मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्‍वरको डर फिटिक्‍कै हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले मेरा बानीबेहोरालाई परमेश्‍वरका वचनहरूसँग तुलना गरेँ। निरन्तर बढुवा पाएपछि म घमण्डसँगै बहकिएकी थिएँ। मैले आफैलाई यस्तो प्रतिभा ठानेँ कि जोविना मण्डली रहनै सक्दैन। सुपरभाइजरले मलाई ब्रदर-सिस्टरहरूको भिडियो प्रोडक्शनको रेखदेख गर्न लगाउँदा, म झनै अहङ्कारी बनेँ र म अरूभन्दा उत्तम छु भन्‍ने ठानेँ। समूह अगुवाले मेरा विचारहरूमा सुझाव दिँदा, मैले तिनलाई पूरै इन्कार गरेँ। मैले त केसमेत सोचेँ भने तिनले मसँग असहमति जनाउँदा, जानीजानी हेला गर्दै मलाई नराम्रो देखाइरहेका छन्, त्यसैले मैले पिठ्यूँपछाडि तिनको आलोचना गरेँ, यसले गर्दा अरूले तिनको आलोचना र निराकरण गरे। त्यसपछि तिनले बाँधिएको महसुस गरे र मेरा समस्या औँल्याउने आँट गर्न छोडे। नियम मेरै हतमा थियो र कोही पनि मसँग असहमत हुने आँट गर्दैनथ्यो। म यति अहङ्कारी थिएँ कि म सबैलाई हेला गर्थेँ, म निरङ्कुश र आडम्‍बरी थिएँ, र कसैको सुझाव सुन्दिनथेँ। यसले गर्दा भिडियोहरू बनाउँदा हामी सिद्धान्तबाहिर गयौँ र एक महिनाभन्दा बढी समय पछि पर्‍यौँ। यो मण्डलीको भिडियो बनाउने कामको लागि गम्‍भीर बाधा थियो। यो सानो गल्ती थिएन, बरु दुष्कर्म र परमेश्‍वरको विरोध गर्ने कार्य थियो! त्यो बेला मलाई मेरो अहङ्कारी स्वभाव नै परमेश्‍वरप्रतिको मेरो प्रतिरोधको जड हो भन्‍ने थाहा भयो। मण्डलीबाट निष्कासित हुने ख्रीष्टविरोधीहरू सबै यति अहङ्कारी हुन्छन् कि तिनीहरूले पूरै समझ गुमाउँछन्, र कसैको कुरा सुन्दैनन्। तिनीहरूले गम्‍भीर रूपमा मण्डलीको काममा बाधा दिन्छन् र पश्‍चात्ताप गर्दै गर्दैनन्। अन्तिममा तिनीहरूलाई हटाइन्छ। म अहङ्कारी स्वभावमा जिउनेछु, अन्धाधुन्ध घमण्ड गर्नेछु, र मण्डलीको महत्त्वपूर्ण काम बिथोल्नेछु भनेर मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। थाहै नपाई, म ख्रीष्टविरोधीको मार्ग हिँडिरहेकी थिएँ। म केही दिनसम्‍म त्रासको स्थितिमा जिएँ, र मैले ठूलो दुष्कर्म गरेकी छु, र मलाई पक्‍कै पनि हटाइनेछ भन्‍ने निरन्तर सोचिरहेँ। म निकै निराश भएँ। मेरो बुबाले मलाई परमेश्‍वरको वचनको एउटा निकै हृदयस्पर्शी खण्ड पढेर सुनाउनुभयो। परमेश्‍वरका वचनहरूले भन्छन्, “म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चीसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिनीहरूलाई आफ्‍नो पिठ्यूँ फर्काइदिनुभएको जस्तो अनुभव गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने सबै जना सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने मार्गमा कुनै पनि सन्देह वा भारविना नै अटल संकल्पको साथ साहसिक रूपमा अघि बढेका हुन्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए तापनि, तँ बरालिएर जति टाढा गएको भए पनि वा तैँले जति गम्भीर अपराध गरेको भए पनि, परमेश्‍वरलाई बुझ्‍ने तेरो खोजीमा तिनलाई तैँले बोक्‍ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। सधैँ नै, परमेश्‍वरले मानिसको मुक्ति आफ्‍नो हृदयमा राख्‍नुहुन्छ; यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य भाग यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। करुणाले भरिपूर्ण परमेश्‍वरका हार्दिक सान्त्वनाका वचनहरू सुन्दा, मैले आँसु रोक्‍नै सकिनँ। मैले अहङ्कारी स्वभावमा जिएर भिडियोको काम बिथोलिरहेकी थिएँ, तर मेरा वरिपरिका मानिसहरूले परमेश्‍वरको वचन पढेर सुनाउँदै, मलाई उहाँको इच्‍छा बुझेर अभ्यासको मार्ग पाउन मदत गरिरहेका थिए। यो परमेश्‍वरको प्रेम थियो। तर मैले परमेश्‍वरले के चाहनुहुन्छ भनेर बुझ्ने वा उहाँतिर फर्किने गरिनँ। बस उहाँलाई गलत बुझेँ र दोष दिएँ। ममा कुनै विवेक थिएन। मैले गरेको दुष्कर्मलाई विचार गर्दा म दोष र आत्मधिक्‍कारले भरिएँ, तर म आफ्नो अपराधको नियन्त्रणमा परी नकारात्मकता र गलतबुझाइको स्थितिमा जिइरहन चाहन्‍नथेँ, त्यसैले मैले सत्यता खोज्न, पश्‍चात्ताप गर्न, र परिवर्तन हुन तयार हुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ। छ महिनापछि, अगुवाले मलाई भिडियो प्रोडक्शनको काम जारी राख्‍न सक्‍नुहुन्छ भन्दा म छक्‍कै परेँ। म अत्यन्तै आभारी थिएँ। मैले मनमनै प्रण गरेँ, म मेरा विगतका अपराधहरूको शोधभर्ना गर्नलाई राम्रोसित कर्तव्य निभाउन सक्दो गर्नेछु। त्यस बेला आफ्‍नो कर्तव्य निभाउँदा म पहिलेजस्तो अहङ्कारी वा जिद्दी भइनँ। म प्रायजसो अरूसँग छलफल र सत्यताका सिद्धान्तहरू खोजी गरिरहेकी हुन्थेँ, र अरूका विचारहरू फरक हुँदा, म आफूलाई इन्कार गरेर तिनीहरूको सुझाव सुन्‍न सिक्थेँ। म भिडियो प्रोडक्शनमा झन्झन् सफल हुँदै गएँ।

तर त्यो असल कुरा लामो समयसम्‍म टिकेन। आफूले भिडियो बनाउने काममा राम्रो गरिरहेको देखेपछि, पत्तै नपाई ममा फेरि अहङ्कार पैदा भयो। त्यो बेला भिडियो प्रोडक्शनको लागि म र एक सिस्टर साझेदार थियौँ, तर मलाई उनको सोच पुरानो लाग्थ्यो, त्यसैले म उनका सुझावहरू उपेक्षा गर्दै उनको कुरा पूरै बेवास्ता गर्थेँ। पछि, उनले म उनीसँग सहकार्य गरिरहेकी छैन जस्तो लाग्छ भनेर भनिन्, अनि बल्‍ल मैले उनलाई उनको विचार राख्‍न दिएँ, तर उनले राम्रो काम नगरेको देख्दा, मैले उनलाई हेला गरेँ। उनले के गर्नुपर्छ भन्‍नेबारे मैले कठोर भएर बोलेँ, जसले गर्दा उनले बाँधिएको महसुस गरिन्। अर्कोपटक, समूह अगुवाले मैले बनाएको भिडियोबारे सुझाव दिँदा, मैले सोचेँ, “सिद्धान्तहरूसम्बन्धी तिम्रो बुझाइ मेरो जत्तिको पनि छैन, न त तिम्रो क्षमता नै मेरो भन्दा राम्रो छ। के मलाई साँच्‍चै तिम्रो टिप्पणीको जरुरी छ?” अनि मैले त्यति राम्ररी विचारै नगरी उनको कुरा इन्कार गरेँ। म कुरै नसुन्‍ने भएको देखेर, समूह अगुवाले आफ्‍नो अनुभवको प्रयोग गर्दै मलाई मेरो भ्रष्ट स्वभाव बुझ्‍न अगुवाइ गरिन्, तर म पूरै अटेरी भएँ, र उनको कुरा स्विकारिनँ। अर्का समूह अगुवाले सङ्गति गर्दै म निरङ्कुश बनेर अरूको सुझाव नमान्‍ने गरेको मेरो हालैको व्यवहारबारे आलोचना गरिन्। मैले यो कुरा स्विकार्न सकिनँ, “तपाईंले मलाई जबरजस्ती आफ्‍ना विचारहरू स्विकाराउन चाहनुहुन्छ। मेरा विचारहरू ठीकै थिए त, अनि मैले किन आफूलाई इन्कार गरेर तपाईंका सुझावहरू स्विकार्ने?” अमिलो अनुहार बनाउँदै, मैले एक शब्‍द पनि बोलिनँ र अनौठो स्थिति पैदा भयो, त्यसकारण तुरुन्तै भेला समाप्त गरियो। म अत्यन्तै अहङ्कारी र कठोर, पटक्‍कै अरूको सुझाव नमान्‍ने व्यक्ति थिएँ, त्यसैले मैले आफ्‍नो कर्तव्यमा केही हासिल गरिनँ र फेरि पनि बर्खास्त भएँ। घर गएपछि म निकै निराश भएँ। सोचेँ, “म किन मेरो पुरानै शैलीमा फर्किएँ? म यति अहङ्कारी बन्‍न चाहन्‍नथेँ, तर मैले आफूलाई नियन्त्रण गर्नै सकिनँ। यो मेरो प्रकृति, मेरो सार हो, र म यसलाई बदल्न सक्दिनँ जस्तो छ।” मैले आफैप्रति हरेस खाएँ।

अनि एक दिन मेरी आमा, जो कर्तव्यको लागि सहरबाहिर जानुभएको थियो, उहाँ आउनुभयो र मसँग सङ्गति गर्नुभयो, अनि मलाई मेरो आत्मचिन्तनबारे सोध्‍नुभयो। मेरो कुरा सुनेपछि हैन-हैन भन्दै शिर घुमाउँदै भन्‍नुभयो, “तैँले तेरो अहङ्कारी प्रकृति, र तैँले दुष्कर्म गर्दै परमेश्‍वरको विरोध गरिरहेकी छस् भन्‍ने मात्रै स्विकारिरहेकी छस्, तर के त्यसको अर्थ तैँले साँच्‍चै आफूलाई चिन्छस् र पश्‍चात्ताप गर्छस् भन्‍ने हुन्छ? तैँले यतिका वर्ष आफ्‍नो बारेमा सिकेर पनि कसरी तेरो अहङ्कार पटक्‍कै परिवर्तन भएको छैन? किनकि तेरो आत्मज्ञान अत्यन्तै सतही छ, जसले गर्दा तैँले कुनै पनि स्वभावगत परिवर्तन हासिल गर्न सक्दैनस्! तैँले परमेश्‍वरको वचनलाई आत्मसात् गर्नुपर्छ, र यसको आधारमा आत्मचिन्तन गर्नुपर्छ। के तैँले विश्‍वासमा आफूले हिँडेको मार्गबारे चिन्तन गरेकी छस्? विश्‍वास गरेको दशकबढी अवधिमा, तँ कसमा समर्पित भएकी छस्? तैँले कसलाई आदर गरेकी छस्? तँ हरमोडमा लडाकू बन्दै आएकी छस्, सबैसँग प्रतिस्पर्धा र आफ्‍नो प्रदर्शन मात्रै गर्न चाहँदै आएकी छस्। दुईपटक बर्खास्त गरिँदाबाहेक, तैँले मण्डली अगुवाको रूपमा सेवा गर्दा, तैँले सधैँ आफूलाई उचालेर अरूलाई तेरो आदर गर्न लगाइस्। अनि दुई वर्षपहिले, तैँले भिडियो बनाउने काम गर्दा तँ समूह अगुवालाई हेला गर्दै तिनीसँग खुलेआम प्रतिस्पर्धा गर्थिस्। फलस्वरूप, दुई महिनासम्‍म समूहले केही उपलब्धि हासिल गरेन। के तैँले आफ्‍नो बारेमा मनन गरेकी छस्? अरूले तँलाई धेरैपटक सुझाव दिए—तैँले त्यो कहिल्यै मानिस्?” मेरी आमाले सोध्‍नुभएका एकपछि अर्को प्रश्‍नले मेरो मुटु घोचिरहे—ती साँच्‍चै तिता यथार्थ थिए। यो सब साँचो हो भन्‍ने मलाई थाहा थियो, र त्यो बेला के भन्‍ने भन्‍ने नै थाहा भएन। त्यसपछि उहाँले खिन्‍न हुँदै भन्‍नुभयो, “तँलाई बर्खास्त गरिएको धेरै समय भयो, र पनि किन तैँले साँचो रूपमा आत्मचिन्तन गरेकी छैनस्? तैँले सत्यता स्वीकार गरेकी छैनस्। तैँले जहाँ कर्तव्य लिए पनि कुनै शान्ति हुँदैन। यो गम्‍भीर समस्या हो! विश्‍वासीको रूपमा तेरो यतिका वर्षको व्यवहार, तेरो अहङ्कारी प्रकृति, तैँले गरेको दुष्कर्म, र तैँले सत्यता स्विकार्न र आत्मचिन्तन गर्न नसकेको आधारमा त, तँलाई बहिष्कार गरिने सम्‍भावना धेरै देखिन्छ।” बहिष्कार भनी उल्‍लेख गर्नेबित्तिकै, मेरो आँसु बरबर झर्‍यो। मलाई व्यक्त गर्नै नसकिने पीडा भयो: “के म साँच्‍चै बहिष्कृत हुनेछु? के मेरो विश्‍वासको मार्ग साँच्‍चै समाप्त हुनेछ? के साँच्‍चै मण्डलीसँगको मेरो सम्‍बन्ध सदाको लागि तोडिनेछ? मैले परमेश्‍वरलाई पछ्याएको धेरै वर्ष भयो र केही कष्ट भोगेकी छु, अनि म कसरी त्यसरी बहिष्कृत हुनेछु?” मलाई झन्झन् बढी अन्यायमा परेझैँ लाग्यो र उदासी छायो। मेरी आमाले सङ्गति गरिरहनुभयो, र मैले उहाँको कुरा सुन्‍नै सकिनँ। केही दिनसम्‍म, म केवल रोइरहेँ। मण्डलीले मलाई बहिष्कार गर्छ भन्‍ने सोच्दा धेरै पीडा हुन्थ्यो। मैले जिउँदो लासझैँ दिन बिताउन थालेँ किनकि मसँग केही गर्ने जाँगर थिएन।

एकपटक, मेरो बुबा भेलाबाट आउनुभयो र मैले उहाँलाई सोधेँ, “के मलाई बहिष्कार गर्न लागिएको हो?” उहाँले कठोरतासाथ भन्‍नुभयो, “अहिले महत्त्वपूर्ण भनेको तैँले यसलाई कसरी लिन्छस् भन्‍ने हो। तँलाई साँच्‍चै बहिष्कार गरियो भने, के तँ अझै परमेश्‍वरलाई पछ्याउनेछस्? यदि साँच्‍चै पछुतो मान्छस् भने, पश्‍चात्ताप गर्न थाल्, र सत्यता खोजी गर्, अनि बहिष्कार हुनु तेरो लागि मुक्ति हुनेछ। बहिष्कार गरिएको कारण, यदि तैँले विश्‍वास त्यागिस् भने, तँलाई पूर्ण रूपमा खुलासा गरेर निकालिनेछ। के तैँले हरेस खानेबारे सोच्दैछस्? के तँ सत्यता खोज्न, पश्‍चात्ताप गर्न, र आफ्‍नो अन्त्य जोगाउन चाहँदैनस्?” मेरो बुबाका शब्‍दहरूले मेरो साँच्‍चै होस खुल्यो। उहाँको कुरा सही थियो। मलाई बहिष्कार नै गरिए पनि, के म अझै सृष्टि गरिएकै प्राणी हुन्थिनँ र? परमेश्‍वरको वचन पढ्ने र सत्यता पछ्याउने अधिकारबाट मलाई कसैले वञ्चित गर्न सक्दैनथ्यो। मैले परमेश्‍वरसँग पश्‍चात्ताप गर्नुपर्थ्यो। मैले परमेश्‍वरसामु झुकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर! मेरो पूर्णतः आफ्‍नै गल्ती र सत्यता पछ्याउन नसकेको कारण म आज यो अवस्थामा आइपुगेँ।” पछि, मैले यस्तो विचार गरेँ, “विश्‍वास गरेको यतिका वर्षमा पनि, किन मैले कहिल्यै सत्यता खोजी गरिनँ, बरु बहिष्कार हुन आँटुञ्‍जेल यसबारे अनभिज्ञ रहेँ? यदि मैले सत्यता खोजी गर्न थोरै प्रयास लगाएकी भए, यस्तो अवस्थामा पुग्‍ने थिइनँ!” म पछुतो र पीडाले भरिएँ। त्यसपछि मलाई साँचो पश्‍चात्ताप गरी परमेश्‍वरको कृपा पाउने निनवेवासीहरूको याद आयो। मैले तुरुन्तै परमेश्‍वरको वचनको पुस्तक खोलेँ र यो खण्ड पढेँ: “यो ‘दुष्ट मार्ग’ ले एक-दुईवटा दुष्ट कार्यलाई जनाउँदैन, यसले त मानिसहरूको व्यवहार पैदा हुने दुष्ट स्रोतलाई जनाउँछ। ‘आफ्‍नो दुष्ट मार्गबाट फर्कून्’ भनेको यस्ता कार्य गर्ने मानिसहरूले फेरि कहिल्यै यस्ता कार्य गर्नेछैनन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, तिनीहरूले फेरि कहिल्यै यस्तो दुष्ट व्यवहार गर्नेछैनन्; तिनीहरूको कार्यको विधि, स्रोत, उद्देश्य, अभिप्राय र सिद्धान्त सबै परिवर्तन भएका छन्; तिनीहरूले आफ्‍नो हृदयमा आनन्द र खुसी ल्याउनको लागि ती विधि र सिद्धान्तहरूलाई फेरि कहिल्यै प्रयोग गर्नेछैनन्। ‘आफ्‍नो हातमा भएका हिंसाबाट फर्कून्’ भन्‍ने पदावलीको ‘फर्कून्’ भन्‍ने शब्‍दले विगतलाई छोड्नु, वा पन्छाउनु, विगतसँग पूर्ण रूपमा सम्‍बन्ध तोड्नु र फेरि कहिल्यै पछि नफर्कनु भन्‍ने अर्थ दिन्छ। जब निनवेका मानिसहरूले आफ्‍ना हातका हिंसालाई त्यागे, यसले तिनीहरूको साँचो पश्‍चात्तापलाई प्रमाणित र प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले मानिसहरूको बाहिरी रूपका साथै तिनीहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ। जब परमेश्‍वरले निनवेवासीको हृदयको साँचो पश्‍चात्तापलाई कुनै प्रश्‍न नउठाई अवलोकन गर्नुभयो र तिनीहरूले आफ्‍ना दुष्ट मार्गलाई र आफ्नो हातका हिंसालाई त्यागिसकेको अवलोकन गर्नुभयो, तब उहाँले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। मेरो पनि साँच्‍चै मन छोयो। निनवेवासीले साँच्‍चै पश्‍चात्ताप गरे र परमेश्‍वरको कृपा प्राप्त गरे। तिनीहरूले ओठे सेवाले पाप स्विकारेर वा बाहिरी व्यवहार देखाएर पश्‍चात्ताप गरेका थिएनन्। साथै, यो क्षणिक पछुतो मात्रै पनि थिएन। यो त तिनीहरूको कार्य शैली, सुरुवाती बिन्दु, र तिनीहरूको मनसायको रूपान्तरण थियो। तिनीहरूले आफ्ना विगतका खोजहरू साँच्‍चिकै त्यागे। तिनीहरूले आफ्‍नो व्यवहार मात्र बदलेनन्, सबभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गरे। त्यस्तो पश्‍चात्ताप मात्र परमेश्‍वरको कृपा र पापक्षमा पाउने एकमात्र उपाय हो। त्यसपछि, आफ्‍नो बारेमा सोचेँ, म सधैँ म अहङ्कारी छु भनेर भन्थेँ, तर मैले मेरो अहङ्कारी स्वभावलाई कहिल्यै लगाममा राखिनँ। मैले दुष्कर्म र परमेश्‍वरविरोधी काम गरिरहेकी छु भन्‍ने मलाई थाहा थियो, तर मैले मेरो दुष्ट व्यवहार कहिल्यै छोडिनँ। मैले एकदुई वटा खराब कुरा मात्र गरेकीले नभई, पश्‍चात्ताप नगरी दुष्टताको बाटोमा बेलगाम दौडेको कारण म बहिष्कार हुने हदमा पुगेकी थिएँ। मैले सत्यताको अभ्यास वा परमेश्‍वरसँग पश्‍चात्ताप कहिल्यै गरेकी थिइनँ। मेरो अहङ्कारी स्वभाव गम्‍भीर छ र मैले कैयौँ अपराध गरेकी छु भन्‍ने मलाई थाहा थियो, तर मैले यसलाई हल गर्न सत्यता खोज्‍ने प्रयास कहिल्यै गरिनँ। मैले मेरो अहङ्कारी स्वभाव कहिल्यै हटाइनँ भने कसरी साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छु? यदि मभित्र साँचो पश्‍चात्ताप आएन भने, कै मैले आफूलाई चिनेजस्तो गर्नु देखावटी व्यवहार मात्रै थिएन र? म निनवेवासीहरू जस्तै हुनुपर्थ्यो। मैले मेरो व्यवहारका जड, मनसाय, तरिका, र अभिप्रायको बारेमा मनन गरेर परमेश्‍वरसँग पश्‍चात्ताप गर्नुपर्थ्यो।

मैले मेरी आमाले केही दिनपहिले मलाई खुलासा गर्नुभएको, र मलाई दुईपटक बर्खास्त गरिएकोबारे सोचेँ। म यस कुराको सोचमा डुबेँ। “मैले ममा अहङ्कारी स्वभाव छ भन्‍ने देखेर पनि कुनै परिस्थिति आइपर्नेबित्तिकै, किन म आफ्‍नो अहङ्कारी स्वभावमा भर परेर परमेश्‍वरलाई विरोध नगरी बस्‍न सकिनँ?” त्यसपछि मैले मेरो भक्तिको समयमा, परमेश्‍वरको वचनमा यो कुरा पढेँ: “किनभने मानिसहरूले सत्यता र परमेश्‍वरको मुक्ति स्वीकार नगरेसम्‍म, तिनीहरूले स्वीकार गर्ने सबै विचार शैतानबाट आएका हुन्छन्। शैतानबाट पैदा हुने सबै विचार, दृष्टिकोण, र परम्‍परागत संस्कृति—यी कुराहरूले मानिसहरूलाई के दिन्छन्? यी कुराहरूले छल, भ्रष्टता, बन्धन, रोकावट ल्याउँछन्, यसले गर्दा मानवजातिको सोचाइ सङ्कुचित र चरम हुन्छ, अनि कामकुराप्रति तिनीहरूको दृष्टिकोण एकतर्फी र पूर्वाग्राही, निरर्थक र हास्यास्पदसमेत हुन्छन्। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउनुको परिणाम ठिक यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग एक))। “यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरको इच्छाअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्‍नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! दुष्कर्म गर्ने समस्या समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको खास समाधान ल्याउन सम्भव हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मलाई थाहा भयो मैले सत्यता प्राप्त गर्नुभन्दा पहिले ममा आउने सबै विचार र दृष्टिकोण शैतानबाट आएका थिए। बाल्यकालदेखि नै, मैले स्कुलमा सिकेका, अग्रजहरूले मलाई सिकाएका, र समाजको प्रभावबाट मैले सिकेका कुराबाट, ममा सबै कुराको केन्द्रमा मै हुनुपर्छ भन्‍ने सोच विकास भयो। “म मात्र सर्वोच्‍च हुँ” र “मेरो मात्र प्रभुत्व छ” भन्‍ने कुराको पछि लाग्दै म यिनै भनाइअनुसार जिउँथेँ। म यी शैतानी दर्शनहरूलाई सकारात्मक कुराको रूपमा लिन्थेँ। म जुनसुकै समूहमा भए पनि, म इन्‍चार्ज हुन, अन्तिम निर्णय आफै गर्न चाहन्थेँ, म अरूलाई निर्देशन दिएर, सबैलाई मेरो कुरा मान्‍न नलगाई बस्‍न सक्दिनथेँ। समूह अगुवाले मेरो कुरा नसुनेको र मलाई सुझावहरू दिइरहेको देख्दा, म झर्को मान्थेँ र ब्रदर-सिस्टरहरूका अघि तिनको आलोचना गर्थेँ। सबैलाई मेरो कुरा मान्‍न लगाउन, म तिनीहरूलाई दबाउन आफ्‍नो उच्‍च क्षमता र योग्यताको प्रयोग गर्थेँ। सबै ब्रदर-सिस्टरहरू यति बन्धनमा थिए कि तिनीहरूले आफ्‍नो विचार राख्‍ने आँट गर्दैनथे, र कठपुतलीले जस्तो मेरो कुरा मान्थे। फलस्वरूप, मेरो कर्तव्य अस्तव्यस्त थियो। म अरूलाई मैले चाहेको कुरा गरून् र मेरो कुरा सुनून् भनी जबरजस्ती गर्थेँ। मैले अलिअलि अहङ्कारी स्वभाव मात्रै प्रकट गर्दै थिइनँ; म त मूर्खताको हदसम्मै अहङ्कारी थिएँ। मजस्तो शैतानी व्यक्तिलाई परमेश्‍वरले आफ्‍नो घरमा कहिल्यै राख्‍न सक्‍नुहुन्‍नथ्यो। मण्डलीले मलाई बहिष्कार गर्थ्यो भने, त्यो पूर्णतया परमेश्‍वरको धार्मिकता हुन्थ्यो! म परमेश्‍वरप्रति कृतज्ञ थिएँ र मसँग कुनै गुनासो थिएन। मैले धेरै अपराधहरू गरेकी छु जसको क्षति पुर्न सक्दिनँ भन्‍ने मलाई थाहा थियो, र म पछुतोले भरिएँ।

पछि, मलाई मेरी आमाले ती दुईपटकको बर्खास्तीबारे मात्रै नसोच्नू, बरु त्यो वर्षौंको विश्‍वासमा आफूले लिएको मार्गबारे पनि विचार गर्नु भनेर भन्‍नुभएको याद आयो। मैले परमेश्‍वरका केही सान्दर्भिक वचनहरू भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “ख्रीष्टविरोधीहरू नियमहरूअनुसार जिउन वा साधारण जीवन जिउन, वा आफ्‍नो स्थान चुपचाप बनाइराख्न, वा सामान्य व्यक्ति भएर इमानदारीपूर्वक जिउन मन पराउने गरी जन्‍मेका हुँदैनन्। तिनीहरू यस्तो व्यक्ति बनेर सुन्तुष्ट हुँदैनन्। त्यसकारण, बाहिरीरूपमा तिनीहरूले जे व्यक्त गरे पनि, भित्रीरूपमा तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्; तिनीहरूले केही गर्नैपर्छ। के गर्नैपर्छ? साधारण व्यक्तिले कहिल्यै कल्‍पना गर्न नसक्‍ने कुराहरू गर्नुपर्छ। तिनीहरू यसरी पृथक देखिन मन पराउँछन्, अनि यसो गर्न, तिनीहरू स्वेच्छाले अलिक कठिनाइ भोग्‍न र मूल्य चुकाउन इच्छुक हुन्छन्। ‘नयाँ अधिकारीहरू अरूलाई प्रभावित पार्न उत्सुक हुन्छन्’ भन्ने भनाइ छ। तिनीहरूले आफू साधारण व्यक्ति होइनन् भनेर प्रमाणित गर्न कुनै सानो अचम्‍मको काम गर्नुपर्छ वा कुनै प्रकारको घराना खडा गर्नुपर्छ। यसको सबैभन्दा गम्‍भीर समस्या के हो? तिनीहरूले मण्डलीमा काम गरिरहेका भए पनि, र तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने बहानामा काम गरिरहेका भए पनि, कामकुरा कसरी गर्ने भनेर परमेश्‍वरबाट कहिल्यै खोजी गरेका छैनन्, र तिनीहरूले परमेश्‍वरको घरले आदेश दिएको कुरा, सत्यताका सिद्धान्तहरू के हुन्, परमेश्‍वरको घरको काममा फाइदा पुर्‍याउन के गर्नुपर्छ, दाजुभाइ-दिदीबहीनीहरूलाई फाइदा पुऱ्याउन र परमेश्वरलाई अपमान नगर्न, तर उहाँलाई सन्तुष्ट पार्न, अनि मण्डलीको काम कुनै समस्याविना र कुनै भुलचूक नगरी सहजरूपमा अघि बढाउन के गर्न सकिन्छ भन्‍नेबारे कहिल्यै गम्‍भीरतासित अनुसन्धान गरेका छैनन्। तिनीहरूले यी कुराहरूबारे कहिल्यै सोध्दैनन्, न त तीबारे सोधपुछ नै गर्छन्। तिनीहरूको हृदयमा यी कुराहरू हुँदैनन्; तिनीहरूको हृदयले यी कुराहरू राख्दैनन्। त्यसोभए, तिनीहरू केको बारेमा सोधपुछ गर्छन्? तिनीहरूको हृदयमा के हुन्छ? तिनीहरूको हृदयमा मण्डलीमा कसरी आफ्‍नो प्रतिभा देखाउने, कसरी आफू अरू सबैभन्दा फरक छन् भनेर देखाउने, कसरी आफ्नो नेतृत्व क्षमता देखाउने, आफू मण्डलीको खम्बा हुन्, आफूविना मण्डली चल्न सक्दैन, आफूजस्ता मानिसहरूले गर्दा मात्रै मण्डलीको काम सहजरूपमा अघि बढ्न सक्छ भनेर देखाउने कुरा मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूको अभिव्यक्ति र काम गर्ने तिनीहरूको आवेग र उत्प्रेरणालाई हेर्दा, तिनीहरूले आफूलाई कुन स्थानमा राखेका हुन्छन्? अरू सबैभन्दा माथिको स्थानमा राखेका हुन्छन्। … तिनीहरूको उद्देश्य के हुन्छ? सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नु, र परमेश्‍वरको बोझलाई विचार गर्नु तिनीहरूको उद्देश्य हुँदैन। बरु, मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई सेवा गर्ने क्रममा सबै कुरा नियन्त्रणमा राख्‍नु तिनीहरूको उद्देश्य हुन्छ। तिनीहरू सबै कुरा नियन्त्रणमा राख्न चाहन्छन भनेर हामी किन भन्छौँ? किनभने तिनीहरूले काम गर्ने क्रममा, पहिले आफ्‍नो लागि स्थान बनाउने, आफ्‍नो नाम कमाउने, हाकिम बनेर निर्णय गर्ने शक्ति भएको उच्‍च स्थान प्राप्त गर्ने प्रयास गर्छन्। यदि तिनीहरूले त्यसो गर्न सके भने, परमेश्‍वरलाई प्रतिस्थापन गरेर थपना मात्र बनाउन सक्छन्। तिनीहरूले आफ्‍नो प्रभावको क्षेत्रमा, देहधारी परमेश्‍वरलाई कठपुतली बनाउने प्रयास गर्छन्; आफूलाई अरू सबैभन्दा माथि राख्‍नु भनेको यही हो। ख्रीष्टविरोधीहरूले यसै गर्छन् होइन र? यो ख्रीष्टविरोधीहरूको व्यवहार हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस))। परमेश्‍वरको वचनले मेरो स्थितिलाई ठ्याक्‍कै प्रकट गरिदियो। मैले विश्‍वास गरेको दशकबढी भइसकेको थियो, तर म साधारण व्यक्ति बन्‍नमा सन्तुष्ट थिइनँ। म जहाँ गए पनि र मैले जुन कर्तव्य निभाए पनि, म सधैँ सबैभन्दा उत्कृष्ट बन्‍न चाहन्थेँ। विश्‍वासीको रूपमा सुरुका केही वर्ष, मैले मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गरेँ। आफूलाई प्रमाणित गर्न, म नयाँ विश्‍वासीहरूका समस्या हल गर्नलाई दर्शनहरूको सत्यताले आफूलाई सुसज्‍जित गर्न निकै परिश्रम गर्थेँ। पानी परोस् कि घाम लागोस्, बाटो जति टाढा होस्, म कठिनाइबारे कहिल्यै गुनासो गर्दिनथेँ। मण्डली अगुवा बनेपछि, मैले भीडभन्दा माथि उठ्ने प्रयास गर्न थालेँ। अनि, मैले भिडियोहरू बनाउन थालेपछि, उत्कृष्ट बन्‍ने प्रयासमा, म रातीराती काम गर्थेँ, सिद्धान्त र सीपहरू सिक्‍न परिश्रम गर्थेँ र बढुवा हुँदै अगुवाहरू र अरूको प्रशंसा पाउँथेँ, त्यसैले म यही कुरामा बहकिएर गएकी थिएँ। मलाई म यस्तो प्रतिभा हुँ जोविना मण्डली चल्‍नै सक्दैन जस्तो लाग्थ्यो, र कुनै लाज नमानी मैले आफूलाई समूहको मेरुदण्डसमेत ठान्थेँ। म समूहमा निरङ्कुश र घमण्डी व्यवहार गर्थेँ। बर्खास्त भएपछि, मैले म अहङ्कारी छु र मैले दुष्कर्म गरेकी छु भनेर त स्विकारेँ, तर आफ्‍नो व्यवहार वा आफूले हिँडिरहेको मार्गबारे मनन गरिनँ। भिडियो बनाउने काममा फर्केपछि फेरि तिनै समस्याहरू देखा परे। म किन सधैँ अहङ्कारी भएँ र कसैको अघि झुक्दिनथेँ? म किन कसैको विचार सुन्दिनथेँ? म किन सधैँ अन्तिम निर्णय आफै गर्न र सबैलाई मेरो कुरा सुन्‍ने पार्न चाहन्थेँ? किनकि म अत्यन्तै अहङ्कारी थिएँ र म साधारण व्यक्ति बन्‍न चाहन्‍नथेँ। म अरूभन्दा माथि हुन र मानिसहरूलाई मेरो कुरा सुन्‍ने पार्न चाहन्थेँ। मेरो त्यो स्वभाव कसरी परमेश्‍वरले खुलासा गर्नुभएको “आफूलाई अरू सबैभन्दा माथि राख्‍ने” ख्रीष्टविरोधी स्वभावभन्दा फरक थियो र? त्यो बेला मैले के देखेँ भने विश्‍वास गरेको यतिका वर्ष भएर पनि, मेरो शैतानी स्वभाव बदलिएको थिएन, र ममा जब्बर ख्रीष्टविरोधी स्वभाव थियो। मण्डलीले मलाई बहिष्कार गर्न लागेको सुनेपछि, आफूमाथि अन्याय भएझैँ लाग्यो, मानौँ मैले यतिका वर्ष विश्‍वास गरेपछि परमेश्‍वरले मलाई इन्कार्नु हुँदैन। तर वास्तवमा, म सत्यता खोजी गर्ने व्यक्ति थिइनँ। म नाम र लाभ चाहन्थेँ—मैले गलत मार्ग चुनेकी थिएँ। त्यसैले, दशकौँपछि पनि, मैले अझै कुनै सत्यता प्राप्त गरेकी थिइनँ। यो कसको गल्ती थियो? सत्यता खोजी नगर्नु मेरो गल्ती थियो! साथै, यतिका वर्षमा मैले गरेका अपराध र दुष्कर्महरूबारे सोच्दा, मण्डलीले मलाई बहिष्कार गर्नु परमेश्‍वरको धार्मिकता थियो! म अहङ्कारी स्वभावअनुसार जिइरहेकी थिएँ। मैले हाम्रो काम गम्‍भीर रूपमा बिथोलेकी मात्र थिइनँ, अरूलाई बाँध्ने र चोट दिने काम पनि गरेकी थिएँ। ममा कुनै मानवता थिएन! मेरो सार, स्वभाव, र मैले गरेका सबै दुष्कर्मको आधारमा, मलाई बहिष्कार गरिनु नै पर्थ्यो। त्यो बेला, मैले मण्डलीले मलाई बहिष्कार गर्छ गर्दैन भन्‍नेबारे सोचिनँ। मैले सत्यता खोजी गर्ने र मेरो भ्रष्ट स्वभाव हटाउने निर्णय गर्नुपर्थ्यो।

पछि, मण्डलीले मलाई चिन्तन गर्नका लागि एक्ल्याइएका अरू एकदुई जना मानिसहरूसँग भेला हुने बन्दोबस्त मिलायो। म ख्रीष्टविरोधीको मार्गमा थिएँ, म शैतानजस्तै थिएँ, र मलाई बहिष्कार गरिनु परमेश्‍वरको धार्मिकता हो भनी तिनीहरूलाई देखाउन मैले मेरो भ्रष्टता र दुष्ट व्यवहार खुलासा र चिरफार गर्ने परमेश्‍वरका वचनहरू खोजेँ। मैले तिनीहरूलाई यसो पनि भनेँ, “हामीले साँचो पश्‍चात्ताप गर्नुपर्छ। हाम्रो परिणाम जे-जस्तो भए नि, हामीले परमेश्‍वरलाई पछ्याउनुपर्छ र आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ।” त्यसपछि, म पहिलेजस्तो अहङ्कारी बन्‍न छोडेँ। अरूसँगका अन्तरक्रियाहरूमा, मैले नै अन्तिम निर्णय गर्नुपर्छ भन्‍ने सोच्‍न छोडेँ। समस्याहरू देखा पर्दा, म अरूको सुझाव खोज्थेँ। मैले अझै बढी आफूलाई इन्कार्नु र अरूका सबल पक्षलाई हेर्नुपर्छ भनेर प्राय आफैलाई सचेत गराइरहन्थेँ, र थाहै नपाई म पहिलेभन्दा नम्र बनेँ। केही महिनापछि, मण्डलीले मेरो व्यवहारबारे विचार गर्‍यो र ममा गम्‍भीर ख्रीष्टविरोधी स्वभाव छ, तर ख्रीष्टविरोधी सारचाहिँ छैन भन्‍ने निर्धारित गर्‍यो, र मलाई बहिष्कार गरिएन। पछि, ममा केही आत्मज्ञान छ र मैले पश्‍चात्ताप गरेकी छु भन्‍ने देखेर, मण्डलीले मलाई फेरि एउटा कर्तव्य दियो। त्यो सुनेपछि म भावुक भएँ र मेरा आँखा आँसुले भरिए। मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “परमेश्‍वरको स्वभाव जीवन्त र स्पष्ट छ, र अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसरी नै उहाँले आफ्‍ना विचार र मनोवृत्तिलाई परिवर्तन गर्नुहुन्छ। निनवेवासीप्रति उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्‍नै सोचाइ र विचार छन् भनेर बताउँछ; उहाँ रोबट वा माटोको मूर्ति हुनुहुन्‍न, जीवित परमेश्‍वर हुनुहुन्छ। उहाँ निनवेका मानिसहरूप्रति त्यसरी नै रिसाउन सक्‍नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्‍नुभयो। उहाँले निनवेवासीमाथि दुर्दशा ल्याउने निर्णय गर्न सक्‍नुहुन्थ्यो, र तिनीहरूको पश्‍चात्तापको कारण उहाँले आफ्‍नो निर्णय परिवर्तन पनि गर्न सक्‍नुहुन्थ्यो। मानिसहरू त्यसरी नै कठोर रूपमा नियमहरू लागू गर्न अनि त्यस्ता नियमहरू परमेश्‍वरलाई सीमांकित र परिभाषित गर्न प्रयोग गर्न चाहन्छन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, जहाँसम्म मानव सोचको कुरो छ, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले सोच्नुहुन्न, न त उहाँसँग कुनै अत्यावश्यक विचारहरू नै हुन्छन्। तर वास्तवमा, वस्तु र वातावरणमा आउने परिवर्तनअनुसार परमेश्‍वरका विचारहरू अटुट रूपान्तरणको अवस्थामा हुन्छन्। यी विचार रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यो प्रक्रियाको अवधिमा, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँले मानवजातिलाई जे देखाउनुहुन्छ त्यो उहाँको जीवनको यथार्थ अस्तित्व हो, र उहाँको धर्मी स्वभाव गतिशील जीवनशक्तिले भरिपूर्ण छ। यसको साथै, परमेश्‍वरले आफ्नो क्रोध, कृपा, प्रेमिलो दयालुपन, र सहनशीलताको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नको लागि आफ्‍नै साँचो प्रकाशहरू प्रयोग गर्नुहुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्‍वरको धर्मी स्वभाव अत्यन्तै गतिशील र जीवनशक्तिले भरिपूर्ण छ। चाहे यो क्रोध, प्रताप, कृपा, प्रेम वा जेसुकै होस्, यो सब सच्‍चा हुन्छ। परमेश्‍वर र सत्यताप्रतिको मानिसको मनोवृत्तिको आधारमा परमेश्‍वरले आफ्‍नो स्वभाव अलिअलि गर्दै व्यक्त गर्नुहुन्छ। म आफ्‍नै मार्गमा लागिरहेको बेला, परमेश्‍वरले मलाई खुलासा र प्रहार गर्न, र मलाई अनुशासनमा राख्‍न बारम्‍बार परिस्थितिहरू मिलाउनुभयो, तर मैले पश्‍चात्ताप र आत्मचिन्तन कहिल्यै गरिनँ, बरु अटेरी बनिरहेँ। बहिष्कार हुने अवस्थामा पुगेपछि, बल्ल मेरो होस खुल्यो र मैले आफ्‍नो बारेमा मनन गर्न थालेँ। मैले आफ्‍नो बारे केही बुझेपछि र आफैप्रति घृणा जाग्‍न थालेपछि, गलत खोजी त्यागेर परमेश्‍वरकहाँ फर्कने इच्‍छा गरेपछि, परमेश्‍वरले मलाई कृपा देखाउनुभयो र पश्‍चात्ताप गर्ने अर्को मौका दिनुभयो। यो परमेश्‍वरको क्रोध, श्राप, कृपा, वा सहनशीलता जे भए पनि, यो सब उहाँको धर्मी स्वभावको वास्तविक प्रकटीकरण थियो। परमेश्‍वर र सत्यताप्रतिको मेरो मनोवृत्तिकै आधारमा मप्रति परमेश्‍वरको स्वभाव प्रकट हुन्छ। परमेश्‍वरको स्वभाव गतिशील जीवनशक्तिले भरिपूर्ण छ भन्‍ने पनि मैले साँचो रूपमा अनुभव गरेँ। परमेश्‍वर मेरो हर बोली र व्यवहारलाई अवलोकन गर्दै सधैँ मेरै साथमा हुनुहुन्थ्यो। मैले जस्तो सोचे पनि, जस्तो व्यवहार गरे पनि, यसबारे परमेश्‍वरले सोच राख्‍नुहुन्थ्यो। त्यो बेला मैले बहिष्कारको खतरा नभोगेकी भए, मेरो भावशून्य, कठोर हृदय अझै परिवर्तन हुन्‍नथ्यो, र मैले आफ्‍नो बारेमा साँचो पश्‍चात्ताप गरेकी हुँदिनथेँ। परमेश्‍वरको कठोर ताडना र अनुशासनविना, म झनै अहङ्कारी हुने थिएँ, र परमेश्‍वरलाई झनै विरोध गर्ने थिएँ, र म अन्त्यमा दण्डित हुने थिएँ। यो अनुभवले विश्‍वासीको रूपमा मेरो जीवन परिवर्तन गरिदियो। मैले परमेश्‍वरका उत्कट अभिप्रायहरू देखेँ, र परमेश्‍वरको प्रेम र मुक्ति अनुभव गरेँ।

पोहोरको गर्मी याममा, मण्डलीले मलाई फेरि भिडियो बनाउने काम दियो। एकपटक, म एउटा भिडियोको एउटा सोचमा अल्झिएँ र त्यो बेला एक सिस्टर मकहाँ आइन्। मेरो कठिनाइबारे थाहा पाएपछि, उनले आफ्‍नो विचार बाँडिन्। मैले उनको कुरा सुनेँ र उनको कुरा मैले चाहेको कुरासँग कहीँकतै मिल्दैन भन्‍ने लाग्यो, र ममा उपेक्षाको भावना जाग्यो। मैले मनमनै सोचेँ, “मैले यति लामो समयसम्‍म सोचेर पनि अझै राम्रो विचार निस्केको छैन, तिमीले त यो कर्तव्य निभाएकी समेत छैनौ, अनि तिमीसँग कसरी कुनै राम्रो सुझाव हुन सक्छ र?” मलाई उनको कुरा सुन्‍न मन लागेन। त्यो बेला, मलाई मेरो अहङ्कारी स्वभाव फेरि देखा परिरहेको महसुस भयो, र मैले तुरुन्तै हृदयदेखि प्रार्थना गरेँ, र मैले केही समयअघि पढेको परमेश्‍वरको वचनको खण्डबारे सोचेँ: “पवित्र आत्माको कामप्रतिको तेरो आज्ञापालन मार्फत सिद्ध तुल्याइने मार्गमा पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध तुल्याउन कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुन्छ भन्ने कुरा तँलाई थाहा हुँदैन, न त कस्तो प्रकारको व्यक्ति, घटना, वा वस्तुमार्फत उहाँले तँलाई वस्तुहरू प्राप्त गर्न वा हेर्न दिनुहुन्छ भन्ने कुरा नै तँलाई थाहा हुन्छ। यदि तैँले यो सही मार्गमा पाइला टेक्न सकिस् भने, परमेश्‍वरद्वारा तँलाई सिद्ध पारिने ठूलो आशा छ भन्ने कुरा यसले देखाउँछ। यदि तैँले सक्दैनस् भने, यसले तेरो भविष्य धमिलो, ज्योति विहीन छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ)। ममा साँच्‍चै समझको कमी रहेछ भन्‍ने थाहा भयो। मैले ती सिस्टरले कर्तव्यमा अनुभव प्राप्त नगरी कुनै राम्रो सुझाव दिन सक्दिनन् भन्‍ने सोचेँ। त्यो मेरो आफ्‍नै मूल्याङ्कन थियो र त्यो परमेश्‍वरको वचनअनुरूप थिँदै थिएन। मलाई त ममा समझ छ, वरदान छ भन्‍ने लागेको थियो, तर परमेश्‍वरले अगुवाइ गर्नुहुन्‍नथ्यो भने, मैले जति नै प्रयास गरे नि, राम्रो विचार निकाल्‍न सक्दिनथेँ। मैले मेरा पहिलेका असफलताहरू सम्झेँ र फेरि आफूमा मात्रै विश्‍वास गर्ने आँट आएन। सायद पवित्र आत्माले ती सिस्टरलाई मार्गदर्शन वा अन्तर्दृष्टि दिनुभएको थियो, त्यसैले मैले अहङ्कारी भएर उनलाई सीमित गर्नु हुँदैनथ्यो। मैले आफूलाई इन्कार्न र ध्यान दिएर ती सिस्टरका सुझावहरू सुन्‍न थालेँ, र थाहै नपाई, मैले हाम्रो कुराकानीबाट एउटा प्रेरणा पाएँ। अनि मेरो सोच अझै स्पष्ट हुँदै गयो। मैले परमेश्‍वरलाई साँच्‍चै धन्यवाद दिएँ! मैले यस्तो जति अनुभव गरेँ, त्यति नै मलाई म औधी अहङ्कारी थिएछु भन्‍ने लाग्यो। मलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ, र मेरो अहङ्कारी स्वभावले निकै गहिरो जरा गाडेको छ भन्‍ने थाहा भयो, र मलाई आफूप्रति अझै धेरै घृणा जाग्यो, तर मलाई थाहा थियो, मैले मेरो अहङ्कारी प्रकृतिको समस्या रातारात हल गर्न सक्दिनथेँ, र परमेश्‍वरको वचनद्वारा बारम्‍बार न्याय र काटछाँट गरिएर यसलाई हल गर्नुपर्थ्यो। मैले परमेश्‍वरलाई उहाँको ताडना र अनुशासन माग्दै परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरेँ, र मैले जति नै कष्ट भोगे पनि, म सत्यताको पछि लाग्‍छु, आफ्‍नो कर्तव्य पूरा गर्छु, र परमेश्‍वरको हृदयलाई सान्त्वना दिन्छु भनेर शपथ खाएँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मलाई कुन कुराले परमेश्‍वरलाई पछ्याउन रोकिरहेको छ?

चेन मिङ, चीन २०११ को डिसेम्बर महिना थियो अनि हाम्रो मण्डलीका दुईजना अगुवाहरू पक्राउ परेका थिए। यो खबर सुनेपछि, मेरा दाजुभाइ र दिदीबहिनीहरू...

मैले कसरी झूट बोल्न छोडेँ

मरिनेत्ते, फ्रान्स परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुअघि, म झूट बोल्थें र सोच्दै नसोची मानिसहरूको चापलुसी गर्थें किनभने मलाई...

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

एक पाष्टरलाई प्रचार गरेको कथा

यसै वर्ष, अप्रिलको एक साँझ, एक अगुवाले अचानक मलाई पचास वर्षभन्दा बढी विश्‍वास गरेका एक वृद्ध पाष्टरले परमेश्‍वरको आखिरी दिनहरूको कामबारे...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्