कर्तव्य पूरा गर्नको लागि सत्यताको पछि लाग्नु आवश्यक हुन्छ
केही वर्ष पहिले, मैले सुसमाचार प्रचार गर्न थालेँ। मैले यो कर्तव्य पूरा गर्न पाउनु परमेश्वरले मलाई गर्नुभएको उत्थान हो भन्ने थाहा थियो। यस्तो मौका दिनुभएकोमा मैले अन्तस्करणबाट नै परमेश्वरलाई धन्यवाद दिएँ र यो कर्तव्य राम्ररी पूरा गर्न परमेश्वरमा भरोसा गर्ने निर्णय गरेँ। त्यसकारण, मैले हरेक दिन परमेश्वरका वचनहरू पढ्दै, आफूलाई सत्यताले सुसज्जित गर्दै, र सिद्धान्तहरू सिक्दै धेरै समय बिताउन थालेँ। कुनै कुरा बुझिन भने, म यसको बारेमा अरूलाई सोध्थेँ। चाँडै नै, म आफ्नो कर्तव्य आफै पूरा गर्न सक्ने भएँ, र म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ। त्यो अवधिमा, म आफ्नो कर्तव्यप्रति अत्यन्तै उत्प्रेरित थिएँ, र परिणामहरू झन्-झन् राम्रो हुँदै गए। केही समय बितेपछि, म समूह अगुवाको रूपमा छनौट भएँ। म अत्यन्तै खुशी भएँ, र सोचेँ, “मैले अझै बढी मूल्य चुकाउनुपर्छ, मेरा प्रयासहरूलाई बढाउनुपर्छ, र धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्न लगाउन लागिपर्नुपर्छ। यसरी मात्रै म जिम्मेवार, प्रभावकारी, र सत्यताको पछि लाग्ने व्यक्तिको रूपमा देखिनेछु। त्यसरी, मेरा ब्रदर-सिस्टरहरूले पक्कै पनि मलाई अनुमोदन र आदर गर्नेछन्।”
त्यो केही महिनाको अवधिमा, लगभग म उठ्ने बित्तिकैदेखि आफ्नो कर्तव्यमा व्यस्त हुन्थेँ। कहिलेकहीँ त म खान समेत बिर्सिन्थेँ। मैले भक्तिको समय र परमेश्वरको वचन पढ्ने कार्यलाई पनि बेवास्ता गरेँ। मलाई भक्तिको समय, र परमेश्वरको वचन पढ्ने कामले कर्तव्य पूरा गर्ने समय लिन्छ, र यसले मेरो कर्तव्यको प्रभावकारीतालाई असर गर्छ बन्ने लाग्थ्यो। भेलाहरूमा, म अरूले परमेश्वरका वचनहरू पढेको र आफ्ना अनुभवहरू बाँडेको सुन्दा, म आफ्नै कर्तव्यको बारेमा सोचिरहेकी हुन्थेँ। त्यसकारण मैले आफूलाई शान्त पारेर परमेश्वरको वचन मनन गर्न सक्दिनथिएँ, अरूले आफ्ना अनुभवहरू र बुझाइ बाँडेको कुरा सुन्नु त परै जाओस्। क्रमिक रूपमा, मलाई आफूले हरेक दिन खुलासा गर्ने भ्रष्ट स्वभावहरूलाई पहिचान हुन छोड्यो। म बढ्दो रूपमा अहङ्कारी हुन थालेँ र आफ्नो कर्तव्यमा अरूसँग राम्ररी काम गर्न सक्न छोडेँ। मेरो सहकर्मीको काम राम्ररी नभएको देख्दा, म उनलाई नीच ठान्थेँ। मलाई के लाग्यो भने, उनले दुई वर्षदेखि सुसमाचार प्रचार गरेकी छिन्, र पनि उनी म सिकारु जस्तो पनि छैनन्। म अलिक समयसम्म रहेँ भने, म पक्कै पनि उनीभन्दा सिपालु हुनेछु। कहिलेकहीँ, मलाई मेरो कुरा सही लाग्दा, म आफ्नै विचारहरू पछ्याउन चाहन्थेँ, त्यसकारण म उनीसँग छलफल गर्ने वा उनलाई जानकारी दिने समेत गर्दिनथिएँ। जब उनले सुपरभाइजर गर्ने मेरो कामको प्रगतिको बारेमा जान्न चाहन्थिन्, तब म उनलाई भन्न पनि चाहँदिनथिएँ। मलाई लाग्थ्यो, उनलाई भनिनँ भने, जब हाम्रा अगुवाहरू कामको बारेमा सोध्न आउँछन्, तब कामको प्रगति र विवरण बताउने व्यक्ति उनी नै हुनेछिन्, र त्यसो गर्दा मैले पाउने श्रेय उनले नै चोर्नेछिन्। म हाम्रा अगुवाहरूका अगाडि मेरो सहकर्मी आफ्नो कर्तव्यमा अजिम्मेवार छिन् भनेर पनि सधैँ भन्ने गर्थेँ। पछि, जब अगुवाहरूले मेरो स्थितिको बारेमा थाहा पाए, तब तिनीहरूले मसँग मैत्रीपूर्ण सहकार्यको बारेमा सङ्गति गरे, र म अरूसँग छलफल गर्दिनँ, म मेरो सहकर्मीलाई नीच ठान्छु, र अरूका कमजोरीहरूमा ध्यान दिन्छु, जुन अहङ्कारको प्रकटीकरण हो भनेर भने। तब मैले आफूलाई चिनेकी नै थिइनँ। मलाई अझै पनि हामीले सँगै मिलेर राम्ररी काम गर्न नसक्नुको कारण त उनी गैरजिम्मेवार भएकीले हो भन्ने लाग्थ्यो, त्यसकारण म उनलाई हेला गर्थेँ। पछि, आफूले भोगेका कुराहरूबाट मैले पाठहरू सिक्ने नगरेकी देखेर अगुवाहरूले मलाई अत्यन्तै अहङ्कारी र अनुचित भएको कारण मेरो निराकरण गरे, र यसले मेरो कर्तव्यमा असर गर्छ भनेर भने, अनि मलाई आफ्नो बारेमा मनन गर्नू भने। त्यो बेला मलाई अत्यन्तै दुःख लाग्यो, किनभने म हरेक दिन आफ्नो कर्तव्य पूरा गर्न राती अबेरसम्म बस्थेँ, र आफ्नो कर्तव्यमा कष्ट भोग्न, मूल्य चुकाउन, र प्रभावकारी हुन सक्थेँ भन्ने सोचाइ आयो। ममा भ्रष्ट स्वभाव छ भनेर खुलासा हुँदैमा त्यसले के फरक पार्छ र? म आफ्नो कर्तव्यमा यति प्रभावकारी हुँदा पनि मलाई किन यसरी निराकरण गरियो? यी सबै कुराले मलाई हैरान तुल्यायो, त्यसकारण म परमेश्वरको अघि गएँ र उहाँको इच्छा बुझ्न मलाई अगुवाइ गर्नुहोस् भनेर परमेश्वरलाई अनुरोध गरेँ।
एक दिन, मेरो भक्तिको समयमा, मैले परमेश्वरको वचनको यो खण्ड पढेँ, “कुनै व्यक्ति सत्यताको पछि लाग्छ कि लाग्दैन भनेर तैँले कसर मूल्याङ्कन गर्नुपर्छ? मुख्य कुरा, तिनीहरूले सामान्यतः कर्तव्यपालन र कार्यहरू गर्दा के प्रकट र प्रदर्शन गर्छन् त्यो हेर्नुपर्छ। यसबाट, तैँले व्यक्तिको स्वभाव देख्न सक्छस्। तैँले उसको स्वभावबाट उसले आफूलाई बदलेको छ कि छैन वा कुनै जीवन प्रवेश हासिल गरेको छ कि छैन भनेर देख्न सक्छस्। यदि कसैले काम गर्दा भ्रष्ट स्वभाव मात्र प्रकट गरिरहन्छ र ऊसँग कुनै पनि सत्यता वास्तविकताहरू छैनन् भने, ऊ निश्चय नै सत्यता पछ्याउने व्यक्ति होइन। के सत्यताको पछि नलाग्ने व्यक्तिहरूले जीवन प्रवेश प्राप्त गर्छन्? अहँ, पक्कै पनि गर्दैनन्। तिनीहरूले जेसुकै नै गरे पनि, तिनीहरूले दिनहुँ गर्ने कामकुराहरू, तिनीहरूको दौडधुप, खर्चाइ, कष्ट, तिनीहरूले चुकाउने मूल्य, ती सबै श्रम गर्नलाई हुन्, र तिनीहरू श्रमिक हुन्। कुनै व्यक्तिले जति नै धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने हो। कुनै व्यक्तिले कुन कुरालाई प्रेम गर्छ र ऊ केको पछि लाग्छ भन्ने कुरा उसलाई सबैभन्दा बढी के गर्न मन पर्छ त्यसबाट देख्न सकिन्छ। यदि कुनै व्यक्तिले गर्ने धेरैजसो कामकुरा सत्यता सिद्धान्त र परमेश्वरका मापदण्डअनुरूप छन् भने, यो व्यक्ति सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति हो। यदि उसले सत्यता अभ्यास गर्न सक्छ, र उसले दैनिक गर्ने कामकुरा उसको कर्तव्य पालनमा पर्छन् भने, ऊसँग जीवन प्रवेश र सत्यता वास्तविकता छन्। केही निश्चित मामिलामा उसका कार्यहरू उचित नहोलान्, वा उसले सत्यता सिद्धान्तहरू सही तरिकाले नबुझ्ला, वा उसमा यसबारे जिद्दी पूर्वाग्रह होला, वा कहिलेकाहीँ ऊ अहङ्कारी र आत्मधर्मी बन्ला, आफ्नै तरिकामा जोड देला, र सत्यता स्वीकार गर्न चुक्ला, तर पछि ऊ पश्चात्ताप गर्न र सत्यता अभ्यास गर्न सक्षम हुन्छ भने, यसले निस्सन्देह ऊसँग जीवन प्रवेश छ र ऊ सत्यता पछ्याउँछ भन्ने प्रमाणित गर्छ। यदि कसैले कर्तव्य निर्वाह गर्ने क्रममा केवल भ्रष्टता, झूटले भरिएको मुख, अभिमान, आसक्ति, र अति घमन्ड प्रकट गर्छ, आफूलाई जे मन लाग्यो त्यही, आदि इत्यादि गर्छ भने, र उसले परमेश्वरमा विश्वास गरेको जति नै वर्ष भए पनि वा जति नै धेरै प्रवचन सुने पनि, यदि अन्त्यमा यी भ्रष्ट स्वभावहरू अलिकति पनि परिवर्तन हुँदैनन् भने, यो अवश्यै सत्यता पछ्याउने व्यक्ति होइन। परमेश्वरमा वर्षौँदेखि विश्वास गर्ने मानिसहरू धेरै छन्, जो बाहिरबाट हेर्दा दुष्कर्मी लाग्दैनन्, र जसमा केही असल व्यवहारसमेत हुन्छन्। तिनीहरू निकै उत्कटतासाथ परमेश्वरमा विश्वास गर्छन्, तर तिनीहरूको जीवन स्वभाव फिटिक्कै परिवर्तन हुँदैन, र तिनीहरूसँग बाँड्नको लागि अलिकति अनुभवात्मक गवाहीसमेत हुँदैन। के यस्ता मानिसहरू दयनीय होइनन् र? परमेश्वरमा यत्तिका वर्ष विश्वास गरेपछि पनि तिनीहरूसँग अलिकति अनुभवात्मक गवाहीसमेत हुँदैन। तिनीहरू अवश्यै श्रमिक हुन्। तिनीहरू साँच्चै दयनीय छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। परमेश्वरको वचनले के प्रकट गर्यो भने, सत्यताको खोजी नगर्ने मानिसहरूसँग जीवन प्रवेश हुँदैन। हरेक दिन, तिनीहरूले भ्रष्ट स्वभाव बाहेक अरू केही पनि खुलासा गर्दैनन्। तिनीहरूले प्रयास गर्न, कष्ट भोग्न, र मूल्य चुकाउन सके पनि, तिनीहरूले सेवा मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले जति नै धेरै वर्ष विश्वास गरेको भए पनि तिनीहरू परिवर्तन हुँदैनन्, र तिनीहरू सेवाकर्ता हुन्। परमेश्वरले सत्यताको खोजी नगर्नेहरू सेवाकर्ता हुन् भनेर भन्नुभएको छ भन्ने थाहा पाएपछि, मलाई निकै दुःख लाग्यो। मैले आँसु रोक्न सकिन। म परमेश्वरले प्रकट गर्नुभएको जस्तै व्यक्ति हुँ भन्ने लाग्यो। मैले आफ्नो कर्तव्यमा कष्ट भोग्न र मूल्य चुकाउन सक्थेँ, तर मैले सत्यताको खोजी गर्ने वा मेरो स्वभाव परिवर्तन गर्नमा ध्यान दिने गरिनँ। मलाई त भक्तिको समय बिताउनु, परमेश्वरको वचन पढ्नु, अनि परमेश्वरको नजिक जानु सबै समयको बरबाद मात्र हुन् जस्तो लाग्यो। मेरा ब्रदर-सिस्टरहरूसँगको भेलाहरूमा, म आफ्नो हृदयलाई शान्त पारेर परमेश्वरको वचन मनन गर्न सक्दिनथिएँ, न त अरूले आफ्ना अनुभवहरू र परमेश्वरको वचनको बुझाइ बाँडेको कुरा नै सुन्थेँ। आफ्नो कर्तव्यमा मैले अहङ्कारी स्वभाव देखाउँदा, म सत्यताको खोजी गरेर त्यो समस्यालाई समाधान गर्न परमेश्वरको अगाडि आउँदिनथिएँ। बरु, मैले मेरो सहकर्मीतिर मेरो ध्यान केन्द्रित गरेँ, उनका कमीकमजोरीहरूलाई औँल्याएँ, र आफूलाई चिन्दै चिनिनँ। मेरा अगुवाहरूले मेरा समस्याहरूलाई औँल्याइदिँदा, मैले तर्क गरेर आफ्नो प्रतिरक्षा गरेँ। मलाई के समेत लाग्थ्यो भने मैले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्ने गरेकी हुनाले, मैले भ्रष्ट स्वभाव प्रकट गरेँ भने पनि, अगुवाहरूले मेरो निराकरण गर्नु हुँदैन। मेरा कार्य-व्यवहारलाई हेर्दा, मैले सत्यताको खोजी गर्ने कुनै लक्षण देखिनँ। आफूले भोगेका कुराहरूबाट मैले पाठहरू सिकिनँ, वा आफ्नै भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यताको खोजी गरिनँ। म हरेक दिन भ्रष्ट स्वभाव मात्रै प्रकट गर्थेँ। म आफ्नो कर्तव्यमा प्रभावकारी भए पनि, परमेश्वरको नजरमा, मैले प्रयास गरिरहेकी र सेवा मात्र गरिरहेकी थिएँ। विगतमा, मलाई के लाग्थ्यो भने सबैभन्दा बढी मूल्य चुकाउने र आफ्नो कर्तव्यमा प्रभावकारी हुनेहरूले नै सत्यताको खोजी गर्छन्, र परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्छ। यो त मेरो सोचाइ मात्रै हो भन्ने मलाई महसुस भएको थिएन। कसैले सत्यताको खोजी गर्छ कि गर्दैन भन्ने कुरालाई परमेश्वरले तिनीहरूको बाहिरी प्रयास र समर्पणताको आधारमा होइन, तर तिनीहरूले आफ्नो जीवन स्वभावमा कुनै पनि परिवर्तन हासिल गरेका छन्-छैनन्, तिनीहरू परमेश्वरका वचनहरू अनुसार जिउने र सत्यताका सिद्धान्तहरू अनुसार काम गर्ने गर्छन्-गर्दैनन् त्यसको आधारमा मूल्याङ्कन गर्नुहुन्छ। यदि मेरा भ्रष्ट स्वभावहरू समाधान नभएका अवस्थामा नै रहे, र मेरो अहङ्कारी स्वभाव देखाउँदै मानिसहरूसँग बसेँ, र ख्याति र हैसियतको पछि लाग्न मात्रै आफ्नो कर्तव्य पूरा गरेँ भने, परमेश्वरले मेरा व्यवहारहरूलाई अवश्य नै अनुमोदन गर्नुहुनेथिएन। यो कुरा महसुस गरिसकेपछि, मैले आफ्नो अहङ्कारी स्वभावलाई कसरी समाधान गर्ने, मैत्रीपूर्ण रूपमा कसरी सहकार्य गर्ने, र ख्याति र हैसियतबाट कसरी मुक्त हुने भन्ने विषयमा रहेको परमेश्वरको वचनका भागहरू खाएँ र पिएँ। परमेश्वरको वचनद्वारा, मैले मेरो स्वभाव साँच्चै नै अहङ्कारी रहेछ भन्ने कुरा बल्ल थाहा पाएँ। म सधैँ मेरा सबल पक्षहरूलाई मेरी सहकर्मीका कमजोरीहरूसँग तुलना गर्थेँ, त्यसकारण मलाई सधैँ म उनीभन्दा असल छु जस्तो लाग्थ्यो र उनलाई हेला गर्थेँ। मेरी सहकर्मीलाई कामको प्रगतिको बारेमा बताउन म अनिच्छुक हुनु र हाम्रा अगुवाहरूका अगाडि उनका कमीकमजोरीहरूको बारेमा छलफल गर्न मन पराउनु दुवै नै मैले उनीसँग ख्याति र हैसियतको लागि होड गर्ने तरिका थिए। यो कुरा महसुस गरिसकेपछि, मैले सक्रिय भएर मेरी सहकर्मीलाई मेरो भ्रष्टताको बारेमा मन खोलेर बताएँ। क्रमिक रूपमा, मेरी सहकर्मी र मैले सँगै मिलेर मैत्रीपूर्ण रूपमा काम गर्न सक्षम भयौँ, र हाम्रो काम पनि सहज रूपमा अघि बढ्यो। मैले के पनि महसुस गरेँ भने परमेश्वरको अगुवाइद्वारा नै हाम्रो काम प्रभावकारी हुन सकेको हो। मैले आफ्ना महत्वाकांक्षा र इच्छाहरूलाई सन्तुष्ट पार्न यसको लागि आफूले श्रेय लिनु हुँदैन। मैले यो महिमा परमेश्वरलाई दिनुपर्छ। यो अनुभवपछि, म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ। मेरा अगुवाहरूले मलाई निराकरण नगरेका भए, मैले आफ्नो बारेमा मनन नै गर्नेथिइनँ, ख्याति र हैसियतको लागि मात्रै काम गर्नु र जीवन प्रवेशमा ध्यान केन्द्रित नगर्नुका गम्भीर समस्याहरूलाई मैले थाहा पाउनेथिइनँ। यदि म त्यसरी नै अघि बढिरहेकी भए, म अझै बढी अहङ्कारी बन्नेथिएँ। मैले यी कुराहरू महसुस गरिसकेपछि, मैले निरन्तर जीवन प्रवेशमा ध्यान दिन थालेँ, र आफ्नो कर्तव्यमा म हरेक दिन के प्रकट गर्छु र के सोच्छु भनेर लेख्न थालेँ, अनि त्यस विषयमा परमेश्वरको वचन पढ्न थालेँ। केही समयसम्म यसरी अभ्यास गरिसकेपछि, मलाई परमेश्वरसँगको मेरो सम्बन्ध नजिकिएको छ भन्ने अनुभव भयो, मैले आफ्ना कर्तव्यहरूमा हरेक दिन केही न केही कुरा सिक्थेँ, र अत्यन्तै सन्तुष्ट अनुभव गर्थेँ।
पछि, मलाई अगुवाको रूपमा छनौट गरियो। मलाई ममा धेरै कमीकमजोरी छन्, सत्यताको सतही बुझाइ छ, र यसका वास्तविकताहरू थोरै छन् भन्ने थाहा थियो, त्यसकारण म समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्दिनँ, र यसले अरूको जीवन प्रवेशमा ढिलाइ हुन सक्छ भन्ने डर लाग्यो। म प्रार्थनामा बारम्बार आफ्ना समस्या र कठिनाइहरू परमेश्वरको अघि ल्याउँथेँ, सत्यताको खोजी गर्थेँ, र आफ्ना भ्रष्ट स्वभावहरूलाई जान्ने, र समस्याहरूलाई समाधान गर्ने सिद्धान्तहरू परमेश्वरको वचनमा खोज्ने प्रयास गर्थेँ। त्यो अवधिमा, मैले आफ्नो कर्तव्यमा धेरै कुरा प्राप्त गरेको छु जस्तो लाग्थ्यो। तर पछि, मैले के पत्ता लगाएँ भने कतिपय अगुवा र सेवकहरू आफ्नो कर्तव्यमा गैरजिम्मेवार र अप्रभावकारी भएको कारण तिनीहरूलाई गम्भीर रूपमा निराकरण गरिएको छ, र मेरा सहकर्मी र साझेदारहरूलाई सबैलाई व्यवहारिक काम नगरेकोमा निरन्तर बर्खास्त गरिँदैछ, र तिनीहरूको बर्खास्त हुँदा, सबैलाई त्यसको कारण भनिँदैछ। मलाई यदि मैले आफ्नो काम राम्ररी गरिनँ भने, मलाई पनि मेरा ब्रदर-सिस्टरहरूले बर्खास्त गर्नेछन् र खुलासा गर्नेछन्, त्यसकारण तिनीहरू सबैले म कस्तो व्यक्ति हुँ भन्ने कुरा जान्नेछन् भन्ने विशेष चिन्ता लाग्यो। यो त निकै लाजमर्दो कुरा हुनेछ! भविष्यमा मैले मेरा ब्रदर-सिस्टरहरूको अनुहार कसरी हेर्ने? खुलासा र बर्खास्त भएर म लाजमा पर्न चाहँदिनथिएँ। त्यहाँदेखि, मलाई के महसुस भयो भने अगुवाको रूपमा, ब्रदर-सिस्टरहरूको नजर सधैँ ममा हुन्छ, र सहकर्मीले मेरो अनुगमन गरिरहेको हुन्छ। आफ्नो कर्तव्यमा प्रभावकारी भएर मात्रै अगुवाको रूपमा टिक्न सकिन्छ र सबैको साथ र अनुमोदन पाउन सकिन्छ। प्रभावकारी भइएन भने, एक दिन न एक दिन खुलासा भएर निष्कासित हुनुपर्छ। त्यसकारण, मैले आफ्नो कर्तव्यमा अझै बढी मेहनत गर्न थालेँ। बिहान उठेपछि, म मेरा ब्रदर-सिस्टरहरूसँग तिनीहरूको कामको बारेमा कुराकानी गर्थेँ। म तिनीहरूको कामको प्रगति निरीक्षण गर्थेँ, कामको हरेक क्षत्रमा देखिएको कुनै पनि समस्या वा विचलनको बारेमा अनुसन्धान गरेर प्रगतिमा कहाँ ढिलाइ भएको छ भनेर पत्ता लगाई समस्याहरू समाधान गर्न सिक्थेँ, र इत्यादि। क्रमिक रूपमा, मैले परमेश्वरको वचन पढ्ने, परमेश्वरको नजिक जाने, भक्ति सम्बन्धी नोटहरू बनाउन, र हरेक दिन मनमनै आफ्ना भ्रष्ट स्वभावहरूको बारेमा मनन गर्न जोड दिन थालेँ। कहिलेकहीँ मैले केही भ्रष्ट स्वभावहरू प्रकट गरेकी छु, र परमेश्वरको अघि आउनु, परमेश्वरको वचन पढ्नु, र आफ्नो बारेमा मनन गर्नुपर्छ भन्ने मलाई महसुस हुन्थ्यो, तर परमेश्वरको वचन पढ्दा, मनन गर्दा, र चिन्तन गर्दा समय लाग्छ भन्ने मलाई थाहा थियो, त्यसकारण आफूलाई सान्त्वना दिन, म मनमनै भन्थेँ, “भ्रष्ट स्वभावले गहिरो जरा गाडेको हुन्छ र एक-दुई दिनमा यसको समाधान गर्न सकिँदैन। यो दिर्घकालीन प्रक्रिया हो। मैले प्रकट गरेका भ्रष्ट स्वभावहरूलाई खुलासा नगरिएको अवस्थामा नै राख्दा यसले अहिलेको लागि मेरो कर्तव्यलाई असर गर्दैन। अहिले त, मेरो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। समय पाएपछि म समस्या समाधान गर्न परमेश्वरको वचन पढ्नेछु। तुरुन्तै भ्रष्ट स्वभावलाई समाधान गरिहाल्नु पर्ने हतार छैन।” त्यसकारण, म हरेक दिन काममा यति व्यस्त हुन्थेँ कि, मैले अगुवा र सेवकहरूले गवाही सम्बन्धी लेखहरू लेख्नुपर्छ भन्ने परमेश्वरको घरको मापदण्डलाई गम्भीर रूपमा लिइनँ। मलाई यो त्यति महत्त्वपूर्ण छैन भन्ने लाग्यो। मैले आफ्नो काम राम्ररी गरेकी र प्रभावकारी भएकी थिएँ, जुन आफैमा गवाही थियो। यसको अतिरिक्त, म आफ्नो कर्तव्यमा व्यस्त थिएँ, र लेखहरू लेख्ने समय थिएन। कहिलेकहीँ, मलाई मेरो स्थिति गलत छ, म सधैँ काममा मात्रै व्यस्त भएर सत्यता र जीवन प्रवेश सम्बन्धी मेरो खोजीलाई अबरुद्ध गर्नु हुँदैन भन्ने महसुस हुन्थ्यो। यदि मैले धेरै काम गरेकी छु तर कुनै पनि सत्यता प्राप्त गरिनँ वा जीवन प्रवेशमा कुनै प्रगति गरिनँ भने, के त्यो लाजमर्दो कुरा हुँदैन र? त्यसपछि, ममा अचानक ऊर्जा आयो। केही समयसम्म मैले सामान्य आत्मिक अभ्यासलाई कायम राखेँ, र मेरो भ्रष्टता र समस्याहरूलाई समाधान गर्ने सङ्कल्पका साथ परमेश्वरको वचन खाएँ र पिएँ। तर केही समयपछि, व्यवहारिक काम नगरेको र देहगत सहजताको तृष्णा गर्ने गरेको कारण मैले मेरा दुई जना सहकर्मीहरूलाई बर्खास्त गरिएको देखेँ, तब मेरो हृदयमा फेरि पनि अचानक डर पस्यो। म तुरुन्तै काममा १२०% लागिपर्न थालेँ। आफ्नो कर्तव्यमा विचलन वा गल्ती देख्ने बित्तिकै, म अथक रूपमा काम गर्न थाल्थेँ। त्यसरी, मभन्दा माथिल्ला स्तरका अगुवाहरूले विभिन्न कामहरूका बारेमा सोध्दा, म समयमा नै उत्तर दिन सक्थेँ र मैले व्यवहारिक काम गरिरहेकी छु भन्ने देख्थे।
म काममा व्यस्त भएकी, र आफ्ना भ्रष्ट स्वभावहरूलाई जाँच र समाधान गर्ने कार्यमा ध्यान नदिएकी कारण, म झन्-झन् अहङ्कारी बन्दै गएँ, अवस्थाहरू आइपर्दा सत्यताको खोजी गर्दिनथिएँ, र सबै कुरा आफ्नै विचारहरू अनुसार गर्न थालेँ। म जिम्मेवार रहेको भिडियो प्रडक्सन कामको एक जना सुपरभाइजरले बारम्बार ढिलासुस्ती गर्थे र स्वेच्छाचारी रूपमा काम गर्थे, त्यसकारण मेरा अगुवाहरूले मलाई सिद्धान्तहरू अनुरूप तिनलाई बर्खास्त गर्नू भनी भने। तर मलाई तिनीसँग केही वरदानहरू र क्षमता छन्, र तिनलाई बर्खास्त गर्दा त्यसले भिडियो कार्यको प्रगति र परिणामहरूमा असर गर्छ भन्ने लाग्यो, त्यसकारण मैले तिनलाई लामो समयसम्म बर्खास्त गरिन। परिणाम स्वरूप, तिनीहरूले बनाएको भिडियो बारम्बार परिमार्जन गर्नुपर्यो, जसले गर्दा परमेश्वरको घरको काममा ढिलाइ भयो। अन्त्यमा, मेरा अगुवाहरूले तिनलाई आफ्नो कर्तव्यबाट प्रत्यक्ष रूपमा नै बर्खास्त गरे। मेरो अहङ्कार र स्वेच्छाचारी व्यवहारले प्रत्यक्ष रूपमा परमेश्वरको घरको काममा असर गरेको छ भन्ने देखेपछि, मैले बल्ल केही चेतना प्राप्त गरेँ। मैले त्यस्तो ठूलो मामलामा किन अहङ्कारी व्यवहार गरेँ र आफ्नै शैलीमा जिद्दी भई लागिपरेँ? मैले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ र सिद्धान्तहरूको खोजी गर्नुपर्छ भनेर किन सोचिनँ? त्यसपछि मैले त्यो अवधिमा मेरो स्थिति कस्तो थियो भन्ने बारेमा सोचेँ। म हरेक दिन काममा यति व्यस्त हुन्थेँ कि म परमेश्वरको नजिक पटक्कै गइनँ। परमेश्वरको वचन पढ्ने विषयमा म आधा मन लगाउँथेँ र बेवास्ता गर्थेँ। मैले भ्रष्टताको खुलासा गरेकी थिएँ, तर सत्यताको खोजी गर्न वा यसलाई समयमा नै समाधान गर्न सकिनँ, त्यसकारण समस्याहरू समाधान गर्ने बेलामा, मैले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ भन्ने सोच्दै सोचिन, र समस्याहरू समाधान गर्न आफ्नै व्यक्तिपरक मूल्याङ्कनमा मात्रै भरोसा गरेँ।
आफूलाई फेरि पनि यस्तो स्थितिमा भेट्टाएपछि, म निकै खिन्न भएँ, तर यसलाई कसरी समाधान गर्ने थाहा थिएन। एक दिन, मैले परमेश्वरको वचनमा यो कुरा पढेँ, “परमेश्वरतिर हेर्नु र सबै कुराहरूमा उहाँमाथि भर पर्नु नै सबैभन्दा बुद्धिमानी कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वास संसारका दुष्ट प्रचलनहरूलाई छर्लङ्गै देखेसँगै सुरु हुनुपर्छ)। साँचो हो। मैले परमेश्वरसँग प्रार्थना गर्न, उहाँमा भरोसा गर्न, र आफूलाई चिन्न अगुवाइ गर्नुहोस् भनेर उहाँलाई अनुरोध गर्न सकेँ। त्यसकारण, म आफ्ना कठिनाइहरूलाई बारम्बार परमेश्वरको अघि ल्याएर प्रार्थना गर्थेँ। यो समस्या किन समाधान भएको छैन भनेर म निरन्तर चिन्तन र मनन पनि गर्थेँ। एक दिन मेरो भक्तिको समयमा, मैले परमेश्वरको वचनमा यो कुरा पढेँ, “आजको कामको सन्दर्भमा, मानिसहरूले अझै पनि त्यही प्रकारका कुराहरू गर्नेछन् जसलाई यी शब्दहरूले प्रतिनिधित्व गर्छन्, ‘परमेश्वरभन्दा महान् मन्दिर छ।’ उदाहरणको निम्ति, मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्नुलाई आफ्नो कामको रूपमा हेर्छन्; तिनीहरूले परमेश्वरको निम्ति गवाही हुने तथा ठूलो रातो अजिङ्गरसित लडाईं गर्ने कुरालाई मानव अधिकारको रक्षार्थ, प्रजातन्त्र तथा स्वतन्त्रताको निम्ति गरिने राजनीतिक क्रियाकलापहरूको रूपमा हेर्छन्; तिनीहरूले कर्तव्यलाई आफ्नो जीवनचर्यामा सीप उपयोग गर्ने कुराको रूपमा लिन्छन्, तर परमेश्वरको भय मान्ने र खराबीलाई घृणा गर्ने कुरालाई तिनीहरूले पालना गर्नुपर्ने धार्मिक सिद्धान्तको एउटा भागको रूपमा लिन्छन्; अनि यस्तै इत्यादि। के यी सबै व्यवहारहरू वास्तवमा ‘परमेश्वरभन्दा मन्दिर महान् छ’ भन्ने सरह नै छैन र? फरक यो छ कि, दुई हजार वर्षअघि, मानिसहरूले भौतिक मन्दिरमा व्यक्तिगत व्यापार गर्दैथिए, तर आज मानिसहरूले अमूर्त मन्दिरहरूमा आफ्नो व्यक्तिगत व्यापार गर्छन्। ती मानिसहरू जसले नियमहरूलाई महत्त्व दिन्छन्, तिनीहरूले नियमहरूलाई परमेश्वरलाई भन्दा महान् ठान्छन्, ती मानिसहरू जसले हैसियतलाई प्रेम गर्छन्, तिनीहरूले हैसियतलाई परमेश्वरभन्दा महान् ठान्छन्, ती जसले जीवनचर्यालाई प्रेम गर्छन्, तिनीहरूले जीवनचर्यालाई परमेश्वरभन्दा महान् ठान्छन्, आदि इत्यादि—तिनीहरूका सबै अभिव्यक्तिहरूले मलाई यसो भन्न बाध्य गर्छ: ‘मानिसहरूले आफ्ना शब्दहरूद्वारा परमेश्वरलाई सबैभन्दा महान् हुनुहुन्छ भनी प्रशंसा त गर्छन् तर तिनीहरूको दृष्टिमा सबै कुरा परमेश्वरभन्दा महान् छन्।’ किनभने मानिसहरूले परमेश्वरलाई पछ्याउने आफ्नो मार्गमा आफ्नो प्रतिभा देखाउने वा आफ्नो व्यवसाय वा आफ्नो जीवनचर्या गर्ने अवसर पाउनेबित्तिकै तिनीहरूले परमेश्वरदेखि आफैलाई टाढा बनाउँछन् अनि आफ्नो प्रिय जीवनचर्यामा हाम फाल्छन्। परमेश्वरले तिनीहरूलाई जे सुम्पनुभएको छ, अनि उहाँका अभिप्रायहरूउहाँका अभिप्रायहरू के हुन् भन्ने सम्बन्धमा चाहिँ, ती कुराहरूलाई लामो समयदेखि नै परित्याग गरिएका छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३)। परमेश्वरको वचनबाट, मैले के बुझेँ भने मैले ख्याति र हैसियतको खोजी गर्दै आएकी कारण पो म काममा यति धेरै व्यस्त हुने गरेकी रहेछु। व्यावहारिक काम नगरेकोमा कतिपय अगुवा र सेवकहरूलाई बर्खास्त गरिएको देख्दा, म पनि तिनीहरू जस्तै बन्नुपर्छ भन्ने डर लाग्थ्यो र म तिनीहरूको जस्तो असफल मार्गमा जान चाहँदिनथिएँ। म सोच्थेँ, तिनीहरूले व्यवहारिक काम नगरेका हुनाले, मैले अझै बढी व्यवहारिक काम गर्नुपर्छ। त्यसरी, म बर्खास्त हुनु पर्दैन, मैले अगुवाको रूपमा रहेको मेरो पदलाई रक्षा गर्न सक्छु, अरूद्वारा खुलासा र विश्लेषण गरिनुपर्दैन। र म लज्जित हुनु पर्दैन। मैले सत्यताको खोजीलाई भन्दा मेरो प्रतिष्ठा र हैसियतलाई अझै बढी महत्त्वपूर्ण ठानेँ, त्यसकारण म आफ्नो कर्तव्य अझै बढी पूरा गर्न र अझै बढी काम गर्न लागिपरेकी थिएँ। मैले कामको निरीक्षण गरेको र समस्याहरू समाधान गरेको, र म व्यवहारिक काम गर्न सक्ने असल अगुवा हुँ भन्ने कुरा ब्रदर-सिस्टरहरूले देखे भने, सबैले अवश्य नै मलाई साथ दिनेछन् र अनुमोदन गर्नेछन्, र मैले मण्डलीमा एउटा स्थान पाउन सक्नेछु। ख्याति र हैसियतको खोजीमा म व्यापक रूपमा लागिपर्दा, मैले परमेश्वरका मापदण्डहरूलाई बिर्सेँ। मानिसहरूले सत्यता र जीवन प्रवेशको खोजी गरून् भन्ने परमेश्वर चाहनुहुन्छ, तर मैले यसलाई गम्भीर रूपमा लिइनँ। म त आफूलाई सही लागेको कुरामा नै लागिपरेँ, जस्तै “भ्रष्ट स्वभावहरूले गहिरो जरा गाडेका हुन्छन्,” “भ्रष्ट स्वभावहरूलाई समाधान गर्नमा कुनै हतार छैन,” र “यो थोरै भ्रष्टताले मेरा कर्तव्यहरूलाई असर गर्नेछैन, मेरो कामका परिणामहरू नै योभन्दा महत्त्वपूर्ण छन्,” र “अहिले म आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त छु, समय छैन, त्यसकारण समय पाएपछि म परमेश्वरको वचन पढ्छु र सत्यताको खोजी गर्छु।” मैले यी शब्दहरूलाई जीवन प्रवेशको खोजी गर्न ध्यान नदिने बहानाको रूपमा, र प्रतिष्ठा र हैसियतको पछि लाग्न काम गर्ने मेरो कारणको रूपमा प्रयोग गर्थेँ। आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न, म आफ्नो कर्तव्य पूरा गर्ने नाममा आफ्नै प्रयासमा लागि पर्थेँ, र सारा दिन अझै बढी काम गर्ने र अझै बढी परिणामहरू प्राप्त गर्ने बारेमा सोचेर नै बिताउथेँ। म आफ्नो हैसियत र हितहरूको रक्षा गर्न, अनि मेरा महत्त्वाकाङ्क्षा र इच्छाहरूलाई सन्तुष्ट पार्न यो विधिको प्रयोग गर्न चाहन्थेँ। म अत्यन्तै घृणित र लाजमर्दो व्यक्ति थिएँ!
पछि, मैले परमेश्वरको वचनका केही खण्डहरू पढेँ, जसले मलाई खोजी सम्बन्धी मेरा गलत दृष्टिकोणहरूको बारेमा केही अन्तर्ज्ञान प्रदान गरे। परमेश्वर भन्नुहुन्छ, “त्यति धेरै वर्षसम्म पवित्र आत्माको कार्यलाई अनुभव गरिसकेपछि पनि पावलमा लगभग अस्तित्वमै नरहने परिवर्तनहरू मात्र आएका थिए। तिनी अझै पनि लगभग तिनको प्राकृतिक स्थितिमै रहिरहेका थिए, र तिनी अझै पनि पहिलेकै पावल थिए। धेरै वर्षको कार्यको कठिनाइ भोगिसकेपछि तिनले कसरी ‘काम’ गर्ने र दृढ रहने भन्ने मात्रै सिकेका थिए, तर तिनको पुरानो प्रकृति—तिनको अत्यन्तै प्रतिस्पर्धी र भरौटे प्रकृति—अझै पनि रहिरहेकै थियो। धेरै वर्षसम्म काम गरिसकेपछि पनि तिनले आफ्नो भ्रष्ट स्वभाव चिनेनन्, न त तिनले आफैलाई आफ्नो पुरानो स्वभावबाट अलग नै गरेका थिए, र यो अझै पनि तिनको काममा स्पष्टै देख्न सकिन्थ्यो। तिनमा कामको थप अनुभव मात्रै थियो, तर त्यति थोरै अनुभवले मात्रै तिनलाई परिवर्तन गर्न सक्दैनथ्यो र अस्तित्वसम्बन्धी तिनका दृष्टिकोणहरू वा तिनको खोजीको महत्त्व बदल्न सक्दैनथ्यो। … मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले कति धेरै काम गर्छ, वा ऊ कति धेरै समर्पित हुन्छ भन्ने कुरामा निर्भर हुँदैन, यसलाई त उसले पवित्र आत्माको कामलाई चिनेको छ कि छैन, उसले सत्यतालाई अभ्यास गर्न सक्छ कि सक्दैन र खोजीसम्बन्धी उसको दृष्टिकोण सत्यतासँग मिल्छ कि मिल्दैन भन्ने कुराले निर्धारित गर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “यदि तैँले धेरै काम गरेको छस्, र अरूले तेरा शिक्षाहरू प्राप्त गरेका छन्, तर तँ आफूचाहिँ परिवर्तन भइनस्, र तैँले कुनै पनि गवाही वहन गरेको छैनस्, वा तँमा कुनै साँचो अनुभव छैन, यहाँसम्म कि तेरो जीवनको अन्त्यसम्म पनि तैँले जे गरेको छस् त्यसले कुनै गवाही वहन गर्दैन भने, के तँ परिवर्तन भएको व्यक्ति होस् र? के तँ सत्यताको खोजी गर्ने व्यक्ति होस्? त्यो बेला, पवित्र आत्माले तँलाई प्रयोग गर्नुभयो, तर जब उहाँले तँलाई प्रयोग गर्नुभयो, तब उहाँले कामको लागि प्रयोग गर्न सकिने तेरो कुनै भागलाई मात्र प्रयोग गर्नुभयो, र प्रयोग गर्न नसकिने तेरो अन्य भागलाई प्रयोग गर्नुभएन। यदि तैँले परिवर्तनको खोजी गरेको थिइस् भने, प्रयोग हुने प्रक्रियाको अवधिमा तँ क्रमिक रूपमा सिद्ध पारिन्थिइस्। तैपनि तँलाई अन्ततः प्राप्त गरिनेछ कि छैन भन्नेबारेमा पवित्र आत्माले कुनै जिम्मेवारी स्वीकार गर्नुहुन्न, र यो तेरो खोजीको तरिकामै निर्भर हुन्छ। यदि तेरो व्यक्तिगत स्वभावमा कुनै परिवर्तन आएको छैन भने, खोजीसम्बन्धी तेरो दृष्टिकोण गलत भएकोले नै त्यसो भएको हो। यदि तँलाई कुनै इनाम दिइएन भने, त्यो तेरो आफ्नै समस्या हो, र तैँले सत्यता अभ्यास नगरेको हुनाले र तैँले परमेश्वर अभिप्रायपूरा गर्न नसक्ने भएकोले यस्तो हुन्छ। त्यसकारण, तेरा व्यक्तिगत अनुभवहरूजत्तिको धेरै महत्त्वपूर्ण अरू केही हुँदैन, र तेरो व्यक्तिगत प्रवेशजत्तिको गम्भीर कुरा अरू केही हुँदैन! कतिपय मानिसहरू यसो भन्ने अवस्थामा पुग्छन्, ‘मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै रहेको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न दिन सक्नुहुन्न र?’ मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्नै स्वभावमा परिवर्तन खोज्ने, र परमेश्वरको गवाही वहन गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउन इच्छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “पत्रुस र पावलका सारहरूमा रहेका भिन्नताबाट तैँले जीवनको खोजी नगर्नेहरू व्यर्थमा कडा परिश्रम गर्छन् भन्ने बुझ्नुपर्छ! तँ परमेश्वरमा विश्वास गर्छस् र परमेश्वरलाई नै पछ्याउँछस्, त्यसकारण तँमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्नो भ्रष्ट स्वभावलाई पन्छाउनैपर्छ, तैँले परमेश्वर अभिप्राय पूरा गर्न खोज्नैपर्छ, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउनैपर्छ। तैँले परमेश्वरमा विश्वास गर्ने र पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्वरका अभिप्राय पूरा गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तँ तँलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्नै प्रभुत्व छैन, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने प्राकृतिक क्षमता छैन। तँ परमेश्वरलाई विश्वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तनलाई पछ्याउनुपर्छ। तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण तैँले तेरो कर्तव्य पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्नुपर्छ, अनि तैँले आफ्नो कर्तव्यलाई नाघ्नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, यो त तैँले तेरो कर्तव्य निभाउन सक्ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यो हासिल गर्न सक्छन् र हासिल गर्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरको वचन पढेपछि, मेरो विश्वासमा मैले के कुराको खोजी गर्नुपर्छ भन्ने विषयमा मेरो दृष्टिकोण गलत छ भन्ने बारेमा बल्ल महसुस गरेँ। कसैले परमेश्वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा तिनीहरूले कति धेरै काम गर्छन् वा मण्डलीमा तिनीहरूको हैसियत कति उच्च छ भन्ने कुरामा निर्भर हुँदैन। यो त तिनीहरूले सत्यताको खोजी गर्छन् कि गर्दैनन् र आफ्नो जीवन स्वभावमा परिवर्तन हासिल गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि तपाईंले प्रतिष्ठा र हैसियतको लागि मात्रै काम गर्नुभयो भने, तपाईंले केही समयसम्म आफ्नो हैसियतलाई कायम राख्नुभयो भने पनि, जीवन अनुभवको साँचो गवाहीविना, परमेश्वरको घरमा टिक्नु असम्भव नै हुन्छ। ढिलो-चाँडो, तपाईंलाई हटाइनेछ। पावलको बारेमा विचार गर्नुहोस्। तिनले वर्षौँसम्म यात्रा गरे र आफूलाई समर्पित गरे, धेरै कष्ट भोगे, प्रचार गरे, र धेरै मानिसहरूलाई विश्वासमा ल्याए, तर तिनका सबै काम ख्याति, हैसियत, इनाम, र मुकुटको लागि थियो। तिनले सत्यताको खोजी गर्दै गरेनन्, तिनको भ्रष्ट स्वभाव परिवर्तन भएन, तिनले आफूलाई उचाल्न आफ्नो कष्ट भोगाइ र जेल जीवनको अनुभवको बारेमा कुरा गर्थे, र तिनले केही अन्तर्दृष्टि पाएपछि धाक लगाउन मण्डलीहरूलाई पत्रहरू लेखे। तिनी अत्यन्तै प्रतिस्पर्धी पनि थिए र अरू कुनै प्रेरितहरूको अधीनमा बस्दैनथिए। तिनले सधैँ आफू अरू प्रेरितहरूभन्दा माथि छु भनी गवाही दिन्थे, र यति अहङ्कारी थिए कि तिनले सबै समझशक्ति गुमाएका थिए। पावलले कहिल्यै पनि आफ्नो जीवन स्वभाव परिवर्तन गर्ने प्रयास गरेनन्, र परमेश्वरलाई विरोध गर्ने आफ्नो प्रकृतिको बारेमा तिनमा कुनै बुझाइ थिएन। तिनले आफ्नो कार्यलाई परमेश्वरसँग कारोबार गर्ने पूँजीको रूपमा पनि लिएका थिए। तिनी झन्-झन् अहङ्कारी बन्दै गए, र आफू ख्रीष्टको रूपमा जिएको भनी गवाही समेत दिए। पावल परमेश्वरको विरोध गर्ने ख्रीष्ट-विरोधीको मार्ग हिँडे। अन्त्यमा, तिनले परमेश्वरको स्वभावलाई उल्लङ्घन गरे, र परमेश्वरले तिनलाई अनन्त दण्ड भोग्न नरक पठाउनुभयो। मैले सधैँ ख्याति र हैसियतको खोजी गरेकी थिएँ, र आफ्नो जीवन स्वभाव परिवर्तन गर्ने कार्यमा कहिल्यै ध्यान दिएकी थिइनँ। के म पनि पावलको जस्तै बाटो हिँडिरहेकी थिइनँ र? मेरा सहकर्मीहरू एकपछि अर्को गर्दै बर्खास्त भएको देख्दा, मलाई म पनि बर्खास्त हुन्छु भन्ने डर थियो, त्यसकारण आफ्नो प्रतिष्ठा र हैसियतलाई कायम राख्न, मैले झन्-झन् बढी काम गर्न थालेँ। मेरो कामले केही परिणामहरू ल्याउँदा, मलाई मैले राम्रो गरेकी छु भन्ने लाग्यो, र मेरो स्वभाव झन्-झन् अहङ्कारी बन्दै गए, र सत्यता वा सिद्धान्तहरूको खोजी नगरी म आफ्नो कर्तव्य पूरा गर्थेँ। मेरा अगुवाहरूले मलाई सिद्धान्तहरू अनुरूप त्यस सुपरभाइजरलाई बर्खास्त गर्नू भनी भनेका थिए, तर तिनले अझै पनि योगदान दिन सक्छन् भन्ने लागेर, तिनलाई बर्खास्त गर्न चाहिनँ। परिणाम स्वरूप, यो अनुचित व्यक्ति इन्चार्जमा रहेको कारण, भिडियोलाई बारम्बार परिमार्जन गर्नु पर्यो, जसले कामको प्रगतिमा ढिलाइ ल्यायो र परमेश्वरको घरको काम क्षतिग्रस्त भयो। मेरो अहङ्कार र आफ्नै कुराप्रति जिद्दी गर्ने बानी ख्याति र हैसियतको खोजी र आफ्नो जीवन प्रवेशमा ध्यान नदिने बानीसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ भन्ने मलाई थाहा भयो। म ख्याति र हैसियतको जति खोजी गर्थेँ, मेरो हृदयमा परमेश्वरप्रति त्यति नै कम स्थान हुन्थ्यो। अवस्थाहरू आइपर्दा म सत्यताको खोजी गर्दिनथिएँ। म पूर्ण रूपमा आफैमा भरोसा गर्थेँ। विगतमा, मलाई के लाग्थ्यो भने यदि मैले अझै बढी व्यवहारिक काम गरेँ भने, म बर्खास्त हुँदिन। तर अहिले मलाई महसुस भयो काममा मात्रै ध्यान दिएर आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्ने, अनि आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान नगर्ने गर्दा, म झन्-झन् अहङ्कारी बन्दै जान सक्छु र परमेश्वरको अझै बढी विरोध गर्न सक्छु। यदि म यसरी नै अघि बढिरहेँ भने, पावललाई जस्तै मलाई पनि परमेश्वरले खुलासा गरेर हटाउनुहुन्थ्यो। परमेश्वरले सबैलाई उचित र निष्पक्ष रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्वरको राज्यमा प्रवेश गर्न सक्ने मानिसहरू सत्यताको खोजी र अभ्यास गर्ने, र आफ्नो जीवन स्वभाव परिवर्तन गर्नेहरू हुन्। कसैले परमेश्वरमा विश्वास गरेको धेरै भयो तर उसको जीवन स्वभावमा अलिकति परिवर्तन आएको छैन, परमेश्वरको बारेमा थोरै पनि ज्ञान पाएको छैन, वा जीवन अनुभवको गवाही पाएको छैन, र उसले परमेश्वरको लागि सेवा मात्रै गर्न सक्छ भने, त्यस्ता मानिसहरू परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैनन्। यस कुरालाई परमेश्वरको धार्मिकताले निर्धारित गर्छ। मलाई याद छ, मैले आफ्नो प्रतिष्ठा र हैसियतलाई कायम राख्नको लागि मात्रै काममा ध्यान केन्द्रित गर्दा, म प्रायजसो सत्यताको खोजी नगर्नको लागि कारण र बहानाहरू खोज्थेँ, जस्तै “भ्रष्ट स्वभावहरूले गहिरो जरा गाडेका हुन्छन् र त्यसलाई रातारात समाधान गर्न सकिँदैन,” र “यो थोरै भ्रष्टताले मेरा कर्तव्यहरूलाई असर गर्नेछैन, मेरो कामका परिणामहरू नै योभन्दा महत्त्वपूर्ण छन्।” यीमध्ये कुनै पनि कारण सत्यता अनुरूप थिएन। भ्रष्ट स्वभावहरूले गहिरो जरा गाडेका हुन्छन् र तिनलाई एकै पटक परिवर्तन गर्न सकिँदैन, तर तिनलाई एक-एक गरी उखेलेर फ्याँक्नुपर्छ, परमेश्वरको वचन लागू गरेर विश्लेषण गर्नुपर्छ, त्यसपछि परमेश्वरको वचनमा अभ्यासको मार्ग खोज्नुपर्छ। अनुभवद्वारा मात्रै हामीले सत्यता प्राप्त गर्न र भ्रष्टतालाई समाधान गर्न सक्छौँ। यदि हाम्रा भ्रष्ट स्वभावहरूलाई समाधान गरिएन भने, हामीले कुनै पनि बेला परमेश्वरको घरको काममा बाधा दिने कुराहरू गर्न सक्छौँ। ती कुराले कसरी हाम्रो कर्तव्यलाई असर गर्न सक्दैनन् र? मेरो अहङ्कार र आफ्नै विचारहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्ने इच्छाको कारण, वास्तविक काम नगर्ने सुपरभाइजरलाई मैले तुरुन्तै बर्खास्त गर्न नसकेको कारण यसले काममा ठूलो हानि गर्यो। यसको साथै, म सधैँ मेरो कर्तव्यलाई परमेश्वरका वचनहरू पढ्न वा आफ्नो बारेमा मनन गर्न परमेश्वरको अघि आउनबाट पछि हट्ने बहानाको रूपमा प्रयोग गर्थेँ, तर यो बहाना उचित थिएन। आफ्नो कर्तव्य पूरा गर्नु भनेको वास्तवमा परमेश्वरको काम अनुभव गर्ने सबैभन्दा राम्रो तरिका हो। जीवन प्रवेशको आरम्भ आफ्नो कर्तव्य पूरा गरेर सुरु हुन्छ। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रकट हुने स्थितिहरू, पैदा भएका विचार र दृष्टिकोणहरूलाई मनन गर्न परमेश्वरको अघि ल्याउन सकिन्छ, सत्यताको खोजी गरेर, पाठ सिक्न सकिन्छ। मैले काममा मात्रै ध्यान केन्द्रित गरेँ, ख्याति र हैसियतको खोजी गरेँ, र जीवन प्रवेशको खोजी गरिनँ। म कति अन्धो र अज्ञानी रहेछु! त्यसकारण, मैले उप्रान्त ख्याति र हैसियतको लागि काम नगर्ने र म अझै बढी सत्यता र जीवन प्रवेशको खोजी गर्छु भनेर परमेश्वरको अघि शपथ खाएँ।
पछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ र अभ्यासको केही मार्ग भेट्टाएँ। “जब परमेश्वरमाथिको तिमीहरूको विश्वासको कुरा आउँछ, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने बाहेक, मुख्य कुरा भनेको सत्यतालाई बुझ्नु, सत्यता वास्तविकतामा प्रवेश गर्नु, र जीवन प्रवेशमा थप प्रयत्न लगाउनु हो। जेसुकै भए पनि, यसमा सिक्नुपर्ने पाठहरू छन्, त्यसैले यसलाई त्यतिकै हल्कासित जान नदेऊ। तिमीहरूले यसबारे आपसमा सङ्गति गर्नुपर्छ, र त्यसपछि पवित्र आत्माले तिमीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तिमीहरूले सत्यता बुझ्न सक्नेछौ। तिमीहरूले सङ्गतिमार्फत अभ्यासको मार्ग प्राप्त गर्नेछौ र परमेश्वरको काम कसरी अनुभव गर्ने सो जान्नेछौ, अनि तिमीहरूले थाहै नपाई तिमीहरूका कतिपय समस्या समाधान हुनेछन्, तैँले स्पष्टसित देख्न नसक्ने कुराहरू झन्झन् कम हुँदै जानेछन्, र तैँले झन्झन् धेरै सत्यता बुझ्नेछस्। यसरी, तँलाई थाहै नभई तेरो कद बढ्नेछ। तैँले सत्यतामा लागिपर्न पहल गर्नैपर्छ र सत्यतमा आफ्नो हृदय लगाउनैपर्छ। … शब्द र धर्मसिद्धान्तहरूका रित्ता शब्दहरू बोल्ने, सधैँ नाराहरू फलाक्ने, आडम्बरी कुरा गर्ने, प्रावधानहरू पालन गर्ने तर सत्यता अभ्यास गर्नमा कहिल्यै ध्यान नदिनेहरूले जति नै धेरै वर्षदेखि विश्वासमा रहे पनि, केही प्राप्त गर्दैनन्। केही प्राप्त गर्ने मानिसहरूचाहिँ को हुन् त? तिनीहरू ती व्यक्तिहरू हुन्, जो आफ्नो कर्तव्य इमानदारीसाथ निर्वाह गर्छन् र सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, जो आफूलाई परमेश्वरले सम्पिनुभएको कुरालाई मिसनको रूपमा लिन्छन्, जो आफ्नो सारा जीवन खुसीसाथ परमेश्वरमा समर्पण गर्दै बिताउँछन् र आफ्नो फाइदाको खातिर षड्यन्त्र रच्दैनन्, जो धरातलमा अडिग भएर आफूलाई आचरणमा ढाल्छन्, र जो परमेश्वरका योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू बुझ्न सक्षम हुन्छन् र सबै मामलाहरूलाई सही तरिकाले ध्यानपूर्वक हेरचाह गर्छन्, र त्यसरी तिनीहरू परमेश्वरको गवाहीको प्रभाव हासिल गर्न, र परमेश्वरका अभिप्राय पूरा गर्न सक्छन्। आफ्नो कर्तव्यपालनको दौरान कठिनाइहरू आइपर्दा, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्छन् र परमेश्वरका अभिप्रायहरू बुझ्ने प्रयास गर्छन्, तिनीहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र कामकुरा गर्दा सत्यताको खोजी र अभ्यास गर्छन्। तिनीहरूले नाराहरू सुगारटाइ गर्ने वा आडम्बरी कुरा गर्ने गर्दैनन्, बरु धरातलमा अडिग भई गर्न र सावधानीपूर्वक सिद्धान्तहरू पछ्याउन ध्यान दिन्छन्। तिनीहरू आफूले गर्ने सबै कुरामा हृदय लगाउँछन्, र हरेक कुरालाई पूर्ण हृदयसाथ बुझ्न सिक्छन्, र धेरै कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूले ज्ञान र बुझाइ प्राप्त गर्छन्, र पाठहरू सिक्न र साँचो अर्थमा केही प्राप्त गर्न सक्षम हुन्छन्। अनि आफूमा गलत विचार आउँदा वा गलत स्थिति हुँदा, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन् र ती विचार हटाउन सत्यता खोजी गर्छन्; तिनीहरूले जुनै सत्यता बुझे पनि, तिनलाई आफ्नो हृदयमा कदर गर्छन्, र आफ्ना अनुभवात्मक गवाहीबारे बोल्न सक्छन्। यस्ता मानिसहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्वरको वचनमा, मैले सत्यताको खोजी गर्ने अभ्यासको मार्ग भेट्टाएँ। समस्याहरू आइपर्दा, हामी प्रार्थना गर्न, मनन गर्न, सत्यताको खोजी गर्न, र आफूलाई चिन्नको लागि परमेश्वरको अघि आउनुपर्छ। हामीले हरेक विषयलाई इमानदारीपूर्वक लिनुपर्छ, र तीबाट पाठहरू सिक्नुपर्छ। यस बेला, परमेश्वरको घरले अगुवा र सेवकहरूलाई लेखहरू लेख्न अभ्यास गर्न अनुरोध गर्यो; यदि हामीले लेखहरू लेखेनौँ भने, हामी उपयोगी हुन सक्दैनौँ। हामीले हैसियत प्राप्त गरेको भए पनि, ढिलो-चाँडो हामीलाई हटाइनेछ। मैले परमेश्वरको इच्छाको बारेमा थप कुरा बुझेँ। अगुवा र सेवकहरूले सत्यताको खोजी र जीवन प्रवेश प्राप्त गर्नुपर्छ भनेर परमेश्वरको घरले मापदण्ड तोकेको छ। सत्यताको खोजी गर्न नसक्नेहरू टिक्न सक्दैनन्, र ढीलो-चाँडो तिनीहरूलाई हटाइनेछ। विगतमा, म काममा मात्रै व्यस्त हुन्थेँ, र आफ्नो जीवन प्रवेशमा ध्यान दिँदिनथिएँ। वर्षौँदेखि, मैले उचित गवाही समेत लेखेकी थिइनँ। वास्तवमा, आफ्नो कर्तव्यमा मैले धेरै वाधा-व्यवधान, असफलता, र विचलनको सामना गरेकी थिएँ, मैले धेरै भ्रष्ट स्वभावहरू खुलासा गरेकी थिएँ, र केही काट-छाँट र निराकरण सहेकी थिएँ। म सत्यताको खोजी गर्न र जीवन प्रवेशमा ध्यान दिन चाहन्थेँ भने, मैले लेखहरू लेख्न सुरु गर्नुपर्थ्यो। त्यसकारण, मलाई गहन प्रभाव पारेका मेरो काट-छाँट र निराकरणहरूलाई छनौट गरेँ, र मलाई किन काट-छाँट र निराकरण गरियो भन्ने बारेमा मनन गरेँ। हरेक दिन खाना खाँदा, लुगा धुँदा, र सुत्नुभन्दा पहिले, म त्यो बेला के भएको थियो, मैले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेँ, मैले परमेश्वरको वचनका कुन-कुन खण्डहरू खाएँ-पिएँ, परमेश्वरको वचनमा मैले अभ्यासका के-कस्ता मार्गहरू भेट्टाएँ, केकस्ता गलत सोचाइ र दृष्टिकोणहरूलाई मैले पहिचान गरेँ भनेर विचार गर्थेँ। यसको बारेमा मैले जति विचार गरेँ, मेरो अनुभव त्यति नै स्पष्ट हुँदै गयो, काट-छाँट गर्नु र निराकरणबाट मैले के-कस्ता पाठहरू सिक्नुपर्छ भन्ने स्पष्ट भयो, र परमेश्वरको वचनबाट, मैले मेरा भ्रष्ट स्वभावहरूका बारेमा अझै धेरै बुझाइ प्राप्त गरेँ। मलाई के पनि अनुभव भयो भने, लेखहरू लेखेर, म आफूलाई परमेश्वरको अघि शान्त पार्न र आफ्नो स्थितिको बारेमा विचार गर्न, परमेश्वरको वचन चिन्तन गर्न, र आफ्नो बारेमा मनन गरेर आफूलाई चिन्न सक्छु, र यी सबै कुरा मेरो जीवन प्रवेशको लागि अत्यन्तै उपयोगी थिए। म अत्यन्तै अज्ञानी थिएछु। मलाई त जीवन प्रवेशको खोजी गर्नु र लेखहरू लेख्नु समयको बरबादी मात्रै हो र यसले मेरो कर्तव्यको प्रभावमा असर गर्छ भन्ने लाग्थ्यो। अहिले थाहा भयो, यसले मेरो प्रभावकारीतालाई घटाउँदैन; बरु, परमेश्वरका वचनहरू प्रयोग गरेर आफ्नो स्थितिको बारेमा निरन्तर मनन गर्ने र आफ्नो बारेमा चिन्तन गर्ने गर्दा, यसले मलाई मेरो समस्या अझै स्पष्ट रूपमा देख्न सहयोग गर्छ। विगतमा, म सधैँ आफ्नो प्रतिष्ठा र हैसियतको लागि काम गर्थेँ, र यसलाई गुमाउँछु भन्ने चिन्ता लाग्थ्यो। यदि मैले गल्ती गरेँ भने, मेरा अगुवाहरूले मलाई नराम्रो ठान्नेछन् भन्ने डर लाग्थ्यो। यदि मेरो कर्तव्यमा कुनै गडबडी र गल्ती भयो भने, मेरा अगुवाहरूले मेरा समस्याहरू औँल्याएपछि वा मलाई काट-छाँट र निराकरण गरेपछि, म काट-छाँट र निराकरण मेरै हितको लागि, मलाई सहयोग गर्नको लागि हो भनेर स्वीकार त गर्थेँ, तर यस कुराले मलाई मनमा सधैँ खटपट हुन्थ्यो, र मेरा अगुवाहरूले ममा कुनै क्षमता छैन, म काम गर्न योग्य छैन, र ममा कुनै उपयोगी काम गर्ने क्षमता छैन भनी ठान्नेछन्, वा यदि मेरा अगुवाहरूले धेरै समस्याहरू पत्ता लगाए भने, त्यो मेरो कर्तव्यको अन्त्य हुनेछ भन्ने शङ्का लाग्थ्यो। मलाई सधैँ ठूलो बोझ बोकिरहेकी छु जस्तो अनुभव हुन्थ्यो। जब मैले जीवन प्रवेश र मेरा परिस्थितिहरूबाट हरेक दिन पाठ सिक्ने कार्यमा ध्यान केन्द्रित गरेँ, र समय-समयमा मेरा अगुवाहरूले मेरो कर्तव्यमा समस्याहरू भेट्दा मसँग सङ्गति गर्थे, तब मलाई म पहिलेजस्तो निराश छैन, मेरा अगुवाहरूले मलाई कसरी हेर्छन् भन्ने बारेमा म सधैँ चिन्तित हुँदिन भन्ने थाहा भयो। मलाई आफूले गरेका गलत कुराहरूको बारेमा पछुतो हुन्थ्यो, मैले किन गडबडी गरेँ र मेरा कुन-कुन भ्रष्ट स्वभावहरू वा भ्रामक विचारहरूले गल्ती पैदा गर्यो भनी मनन गर्थेँ, र ती कुरा बुझेपछि, म परमेश्वरको वचनमा उत्तरहरू खोजेर परिवर्तन गर्न सक्थेँ। यसरी अभ्यास गर्दा, मलाई आफ्नो कर्तव्य पहिलेको जस्तो थकाइलाग्दो लाग्न छोड्यो।
मैले जीवन प्रवेशमा ध्यान दिनुको मिठासलाई पनि चाखेँ, त्यसकारण म परमेश्वरको वचनको आधारमा आफ्नो बारेमा मनन गर्छु र अझै बढी सत्यताको खोजी गर्छु भन्न परमेश्वरको अघि गएर प्रार्थना गरेँ। कहिलेकहीँ, मेरो कर्तव्यमा व्यस्त हुँदा, र बिहान परमेश्वरको वचन पढ्ने समय नहुँदा, खाना खाँदा वा ओछ्यानमा जानुभन्दा पहिले, मेरो हालैको स्थितिको बारेमा, मैले कस्तो भ्रष्टता प्रकट गरेँ, र आफ्नो बारेमा मनन गर्न परमेश्वरको वचनका कुन-कुन भाग पढ्नुपर्छ भनेर मनन गर्थेँ। यी कुराहरूका बारेमा राम्ररी विचार गरिसकेपछि, म समय पाएपछि परमेश्वरको वचनका उपयुक्त खण्डहरू पढ्थेँ। मलाई पहिलेजस्तो मेरा भ्रष्ट स्वभावहरू समयमा नै समाधान गरिएन भने त्यसले फरक पार्दैन र म तिनलाई पछि समय हुँदा समाधान गर्न सक्छु भन्ने लाग्दैन। अहिले केही समय बितिसकेको हुनाले, म आफूले प्रकट गर्ने विचारहरूप्रति अझै संवेदनशील भएकी छु, आफ्नो कर्तव्यमा देखा पर्ने केही गडबडीहरूलाई देख्ने कार्यलाई जारी राखेकी छु, र म परमेश्वरको वचनमा अभ्यासका मार्गहरू भेट्टाउन सक्छु। परमेश्वरमाथिको मेरो विश्वासमा सत्यताको खोजी गर्नु महत्त्वपूर्ण छ भन्ने मलाई झन्-झन् बढी अनुभव हुँदैछ। हामीले ठोस रूपमा परमेश्वरको काम अनुभव गर्नुपर्छ र सबै कुरा बुझ्न सक्दो प्रयास गर्नुपर्छ। हामीले सक्दो प्रयास गर्छौँ, जीवन प्रवेशमा आफ्नो बोझ लिन्छौँ, र सत्यताको तृष्णा गर्छौं भने, हामीले परमेश्वरको अगुवाइ प्राप्त गर्नेछौँ। हामीले सत्यता प्राप्त गर्न र हामीमा आइपर्ने सबै कुराबाट पाठ सिक्न पनि सक्छौँ।