शैतानले फेरि एक पटक अय्यूबलाई परीक्षा गर्दछ (अय्यूबको शरीरभरि खटिराहरू निस्के)

13 अगस्ट 2021

अ. परमेश्‍वरले बोल्नुभएका वचनहरू

अय्यूब २:३ अनि यहोवाले शैतानलाई भन्नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्, त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्ने र दुष्टताबाट दूर रहने पृथ्वीमा कोही पनि छैन? र त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्।

अय्यूब २:६ अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा।

आ. शैतानले बोलेका वचनहरू

अय्यूब २:४-५ अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस् अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछ।

ई. अय्यूबले कसरी जाँचको सामना गर्दछ

अय्यूब २:९-१० तब तिनकी श्रीमतीले उनलाई भनिन्, के तपाईं अझ पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्। तर उनले तिनलाई भने, तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ? के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने? यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूले पाप गरेनन्।

अय्यूब ३:३ म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्।

परमेश्‍वरको मार्गप्रतिको अय्यूबको प्रेमले अरू सबै कुरालाई उछिन्छ

धर्मशास्त्रले परमेश्‍वर र शैतानको बीचका वचनहरूलाई यसरी वर्णन गर्दछ: “अनि यहोवाले शैतानलाई भन्नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्, त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्ने र दुष्टताबाट दूर रहने पृथ्वीमा कोही पनि छैन? र त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्” (अय्यूब २:३)। यस बातचितमा, परमेश्‍वरले शैतानलाई पनि त्यही प्रश्‍न सोध्नुहुन्छ। यो यस्तो प्रश्‍न हो जसले हामीलाई पहिलो परीक्षाको अवधिमा अय्यूबले प्रदर्शन गरेका र जिएका जीवनको बारेमा यहोवा परमेश्‍वरको सकारात्मक मूल्याङ्कन देखाउँदछ, र यो मुल्याङ्कन शैतानको परीक्षामा पर्नु अघि अय्यूबको बारेमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन भन्दा फरक छैन। भन्नुको अर्थ, तिनीमाथि परीक्षा आउनुभन्दा पहिले, परमेश्‍वरको नजरमा अय्यूब सिद्ध थिए, र यसैले परमेश्‍वरले तिनी र तिनको परिवारलाई बचाउनुभयो, र तिनलाई आशीर्वाद दिनुभयो; तिनी परमेश्‍वरको नजरमा आशिषित हुने लायकका थिए। परीक्षापछि, अय्यूबले आफ्नो ओठले पाप गरेनन्, किनकि तिनले आफ्नो सम्पत्ति र आफ्ना छोराछोरीहरू गुमाएको भए पनि तिनले यहोवाको नाउँको प्रशंसा गरिरहे। तिनको वास्तविक आचरणले गर्दा परमेश्‍वरले तिनको प्रशंसा गर्नुभयो र यसको कारणले गर्दा, परमेश्‍वरले तिनलाई पूर्ण अङ्क दिनुभयो। किनकि अय्यूबको नजरमा, तिनका सन्तान वा सम्पत्तिले तिनलाई परमेश्‍वर त्याग गर्ने बनाएन। अर्को शब्दमा तिनको हृदयमा भएको परमेश्‍वरको स्थान तिनका सन्तान वा सम्पत्तिको कुनै भागले लिन सक्दैनथियो। अय्यूबको पहिलो परीक्षाको अवधिमा, तिनले परमेश्‍वरलाई उहाँप्रतिको तिनको प्रेम र परमेश्‍वरको भय र खराबीबाट अलग बस्ने तिनको मार्गले अरू सबै कुरालाई उछिन्छ भनी देखाए। यो परीक्षाले अय्यूबलाई यहोवा परमेश्‍वरबाट इनाम प्राप्त गर्ने र तिनको सम्पत्ति र छोराछोरीहरू उहाँद्वारा लगिने अनुभव मात्र दियो।

अय्यूबका लागि, यो एउटा साँचो अनुभव थियो जसले तिनको आत्मालाई धोएर सफा गर्‍यो; यो जीवनको बप्‍तिस्मा थियो जसले तिनको अस्तित्वलाई पूरा गर्‍यो, र यसबाहेक, यो एक भव्य चाड थियो जसले परमेश्‍वरप्रतिको तिनको आज्ञाकारीता र डरको जाँच गर्‍यो। परीक्षाको कारण अय्यूब धनी मानिसदेखि केही पनि नभएको मानिसमा परिवर्तन भए, र यसले तिनलाई शैतानले मानवजाति गर्ने दुरुपयोगको अनुभव गरायो। तिनको अभावले तिनलाई शैतानको घृणा गर्ने बनाएन, बरु, शैतानको खराब कार्यहरूमा तिनले शैतानको कुरूपता र घृणित रूप, साथै परमेश्‍वरसित शैतानको शत्रुतालाई पनि देखे, र त्यसले तिनलाई परमेश्‍वरको भय मान्ने र खराबीबाट टाढा बस्ने मार्गमा दृढतासाथ सदा रहन प्रोत्साहित गर्‍यो। तिनले सम्पत्ति, छोराछोरी वा आफन्तहरू जस्ता बाह्य कारकहरूको कारण तिनले कहिल्यै परमेश्‍वरलाई नत्याग्‍ने र परमेश्‍वरको मार्गलाई पिठ्यूँ नफर्काउने शपथ खाए, न त तिनी कहिल्यै शैतान, सम्पत्ति वा कुनै पनि व्यक्तिको दास नै हुनेथिए। यहोवा परमेश्‍वर बाहेक अरू कोही पनि तिनका प्रभु वा परमेश्‍वर हुन सक्दैनथियो। अय्यूबको आकांक्षा त्यस्तै थियो। अर्कोतर्फ, अय्यूबले यस परीक्षाबाट केही प्राप्त गरेका थिए: परमेश्‍वरले तिनलाई दिनुभएका परीक्षाहरूको बीचमा तिनले ठूलो धन कमाएका थिए।

विगतका धेरै दशकहरूको अय्यूबको जीवनको अवधिमा, तिनले यहोवाका कार्यहरू हेरिरहेका थिए र यहोवा परमेश्‍वरले तिनलाई दिनुभएको आशिष्‌ प्राप्त गरेका थिए। ती आशिषहरूले गर्दा तिनलाई अत्यन्त असहज र ऋणी महसुस गराएको थियो, किनकि तिनले परमेश्‍वरका निम्ति केही गरेको छैन, तैपनि यस्तो ठूलो आशिष पाएका छन् र यति धेरै अनुग्रह पाएका छन् भन्‍ने तिनको विश्‍वास थियो। यसैकारण, तिनले परमेश्‍वरको कर्जा तिर्न सकूँ भन्ने आशा गर्दै, तिनले परमेश्‍वरको कार्य र महानताको गवाही दिने मौका पाउनेछु भन्‍ने आशा गर्दै, र परमेश्‍वरले आफ्नो आज्ञाकारिताको परीक्षा लिनुहुनेछ र यसबाहेक, तिनको आज्ञाकारीता र विश्‍वासले परमेश्‍वरको अनुमोदन प्राप्त नगरेसम्‍म उसको विश्‍वासलाई शुद्ध पार्न सकिन्छ भन्‍ने आशा गर्दै तिनले आफ्नो हृदयमा धेरै पटक प्रार्थना गर्थे। त्यसपछि जब अय्यूबमाथि जाँच आइलाग्यो, तब परमेश्‍वरले तिनको प्रार्थना सुन्नुभएको छ भनी तिनले विश्‍वास गरे। अय्यूबले यस अवसरलाई अरू सबैभन्दा बढी कदर गरे, यसैले तिनले यसलाई हलकासँग व्यवहार गर्ने आँट गरेनन्, किनभने यसद्वारा तिनको सबैभन्दा ठूलो आजीवन इच्छा पूरा हुनसक्थ्यो। यस अवसरको आगमनको अर्थ परमेश्‍वरप्रतिको तिनको आज्ञाकारीता र डरलाई जाँच गरेर शुद्ध बनाउन सकिन्छ भन्‍ने थियो। यसबाहेक, यसको अर्थ अय्यूबले परमेश्‍वरको स्वीकृति प्राप्त गरेर आफैलाई परमेश्‍वरको नजिक ल्याउने मौका पाएका थिए भन्‍ने हुन्छ। परीक्षाको क्रममा, त्यस्तो विश्‍वास र खोजले तिनलाई अझ सिद्ध हुन, र परमेश्‍वरको इच्छाको अझ ठूलो बुझाई प्राप्त गर्न सहायता गर्‍यो। अय्यूब परमेश्‍वरको आशिष्‌ र अनुग्रहका लागि पनि कृतज्ञ भए, तिनको हृदयमा तिनले परमेश्‍वरका कामहरूको निम्ति ठूलो प्रशंसा गरे, र तिनी परमेश्‍वरको अझ बढी भय मान्ने र उहाँलाई आदर गर्ने व्यक्ति बने र तिनले परमेश्‍वरको प्रेम, महानता र पवित्रताका लागि अधिक इच्‍छा गरे। यस समयमा, परमेश्‍वरको नजरमा अय्यूब अझै पनि परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति थिए, तैपनि उनका अनुभवहरूका हिसाबमा, अय्यूबको विश्‍वास र ज्ञानमा निकै प्रगति हुँदै गयो: तिनको विश्‍वास बढेको थियो र तिनको आज्ञाकारिताले जग पाएको थियो, परमेश्‍वरप्रतिको तिनको डर अझै गहन बनेको थियो। यस परीक्षाले अय्यूबको आत्मा र जीवनलाई रूपान्तरण गरेको भए तापनि, त्यस्तो परिवर्तनले अय्यूबलाई सन्तुष्ट पारेन, न त यसले तिनको प्रगतिलाई नै सुस्त गर्‍यो। यस परीक्षाबाट आफूले के प्राप्त गरेको छु भन्‍ने हिसाब-किताब गर्दै, र आफ्नै कमी-कमजोरीहरूलाई ध्यानमा राख्दै, तिनले चुपचाप प्रार्थना गरे, र तिनीमाथि अर्को परीक्षा आउने समयको प्रतीक्षा गरे, किनकि तिनी आफूमाथि आउने परमेश्‍वरको अर्को परीक्षाको अवधिमा तिनको विश्‍वास, आज्ञाकारीता र परमेश्‍वरप्रतिको भय उचालिओस् भन्ने चाहन्थे।

परमेश्‍वरले मानिसका भित्री विचारहरू र मानिसले बोल्ने र गर्ने सबै कुरा अवलोकन गर्नुहुन्छ। अय्यूबका विचारहरू यहोवा परमेश्‍वरको कानमा पुगे, र परमेश्‍वरले तिनको प्रार्थना सुन्नुभयो, र यसरी आशा गरिए अनुसार नै अय्यूबका लागि परमेश्‍वरको अर्को परीक्षाको आयो।

चरम पीडाको बीचमा, अय्यूबले मानवजातिप्रतिको परमेश्‍वरको वास्तालाई साँच्चै महसुस गर्छन्

यहोवा परमेश्‍वरले शैतानलाई गर्नुभएको प्रश्‍नपछि शैतान गोप्य रूपमा खुसी थियो। किनकि परमेश्‍वरको नजरमा सिद्ध मानिसमाथि हमला गर्ने अनुमति फेरि एक पटक दिइनेछ भन्‍ने कुरा शैतानलाई थाहा थियो—शैतानको लागि, यो एउटा दुर्लभ अवसर थियो। शैतानले यस अवसर, अय्यूबको विश्‍वासलाई पूर्ण रूपले कमजोर बनाउन, परमेश्‍वरमाथिको तिनको विश्‍वास गुमाउन लगाउनका निम्ति प्रयोग गर्न चाहेको थियो र अबदेखि उसो तिनलाई परमेश्‍वरको भय नमान्ने वा यहोवाको नाउँलाई धन्यको नभन्ने बनाउन चाहन्थ्यो। यसले शैतानलाई एउटा मौका दिनेथियो: जुनसुकै ठाउँ वा समय जे भए पनि यसले अय्यूबलाई त्यसको आज्ञा मान्‍ने खेलौना बनाउनेथियो। शैतानले कुनै सङ्केत नदिई त्यसका दुष्ट अभिप्रायहरूलाई लुकायो, तर त्यसले आफ्नो दुष्ट प्रकृतिलाई नियन्त्रणमा राख्न सकेन। यो सत्यताको सङ्केत धर्मशास्‍त्रमा लेखिए अनुसार, यहोवा परमेश्‍वरको वचनप्रति त्यसले दिइएको उत्तरमा पाइन्छ: “अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस् अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछ” (अय्यूब २:४-५)। परमेश्‍वर र शैतान बीचको यस कुराकानीबाट शैतानको धूर्तताको आवश्यक ज्ञान र अनुभूति प्राप्त नगर्नु त असम्भव नै छ। शैतानका यी भ्रमहरूलाई सुनेपछि, सत्यलाई प्रेम गर्ने र खराबीलाई घृणा गर्ने सबैले अवश्य नै शैतानको मूर्खता र निर्लज्जतालाई अझ बढी घृणा गर्नेछन्, शैतानका भ्रमहरू देखेर भयभीत र विचलित हुन्छन्, साथै, अय्यूबको निम्ति गहिरो प्रार्थना गर्छन् र हार्दिक शुभकामना दिन्छन्, यस क्रममा यस इमानदार मानिसले यो सिद्धता प्राप्त गर्न सकून् भनेर प्रार्थना गर्छन्, परमेश्‍वरको भय मान्ने र दुष्टतालाई तिरस्कार गर्ने यस व्यक्तिले शैतानको परीक्षालाई सदा विजय गर्न सकून् र परमेश्‍वरको अगुवाइ र आशिष्‌हरूको बीचमा ज्योतिमा बाँचिरहन सकून् भनेर कामना गर्छन्; त्यस्ता मानिसहरूले अय्यूबको धार्मिक कार्यहरू सधैँ अघि बढिरहोस् भन्‍ने कामना गर्नेछन् र परमेश्‍वरसँग डराउने र खराबबाट अलग रहने मार्गमा हिँड्नेहरू सबैलाई प्रोत्साहन दिनेछ। शैतानको द्वेषपूर्ण अभिप्राय यो घोषणामा देख्न सकिने भए पनि, परमेश्‍वर शैतानको “बिन्ती” मा सहमत हुनुभयो—तर उहाँले एउटा सर्त पनि गर्नुभयो: “त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा” (अय्यूब २:६)। यस पटक शैतानले अय्यूबको मासु र हाडलाई हानि पुर्‍याउन आफ्नो हात फैलाउन पाऊँ भनी अनुरोध गरेको हुनाले परमेश्‍वरले भन्‍नुभयो, “तर त्यसको जीवन बचा।” यी वचनहरूको अर्थ के हो भने, उहाँले अय्यूबको शरीर शैतानलाई दिनुभएको थियो, तर अय्यूबको जीवनचाहिँ परमेश्‍वरकै हातमा थियो। शैतानले अय्यूबको जीवन लिन सक्दैनथियो, तर यसबाहेक शैतानले अय्यूबको विरुद्ध कुनै पनि माध्यम वा विधि प्रयोग गर्न सक्थ्यो।

परमेश्‍वरको अनुमति प्राप्त गरिसकेपछि, शैतान दगुरेर अय्यूबको अगि गयो, र तिनको छालामा कष्ट दिनका लागि आफ्नो हात बढायो र यसले गर्दा तिनको पूरै शरीरमा खटिरा निस्क्यो, अनि अय्यूबले आफ्‍नो छालामा पीडा अनुभूति गर्‍यो। अय्यूबले यहोवा परमेश्‍वरको आश्‍चर्यकर्म र पवित्रताको प्रशंसा गरे, जसले शैतानलाई यसको धृष्टतामा अझ साहसी बनायो। यसले मानिसलाई चोट पुर्याउँदा आनन्द महसुस गर्ने भएकोले, शैतानले आफ्नो हात फैलायो र अय्यूबको शरीरलाई प्रहार गऱ्यो, जसले गर्दा तिनको शरीरभरि खटिरा निस्कन्छ। अय्यूबले तुरुन्तै आफ्नो शरीरमा अतुलनीय दुखाइ र पीडा महसुस गरे, र तिनी आफ्‍नो शिरदेखि खट्टासम्म नकन्याई रहन सकेनन्, मानौं यो तिनको शरीरको पीडाले तिनको आत्मालाई पुर्‍याएको चोटलाई कम गर्दछ। तिनले परमेश्‍वर तिनलाई हेर्दै तिनको पक्षमा हुनुहुन्छ भन्‍ने महसुस गरे, आफैलाई सक्दो बलियो बनाउने कोसिस गरे। तिनले फेरि भुइँमा घुँडा टेके, र भने: “तपाईंले मानिसको हृदयभित्र हेर्नुहुन्छ, तपाईं तिनको दुःख देख्नुहुन्छ; किन तिनको कमजोरीले तपाईंलाई चिन्तित बनाउँछ? यहोवा परमेश्‍वरको नाउँको प्रशंसा होस्।” शैतानले अय्यूबको असह्य पीडा देख्यो, तर अय्यूबले यहोवा परमेश्‍वरको नाउँलाई त्यागेको त्यसले देखेन। यसैले तिनका अङ्गहरू टुक्र्याउने उत्कट इच्‍छा गर्दै त्यसले अय्यूबका हाडहरूलाई पीडा दिनका लागि झट्टै आफ्नो हात फैलायो। तुरुन्तै, अय्यूबले अभूतपूर्व यातना महसुस गरे; मानौं तिनका मासुलाई हाडहरूबाट च्यातेर निकालिएको छ, मानौं तिनका हाडहरू टुक्रा-टुक्रा भई काटिएका छन्। यो कष्टदायी यातनाले गर्दा तिनले मर्नु नै राम्रो हुन्छ भनी सोचे…। त्यो पीडा सहने तिनको क्षमता त्यसको सीमामा पुगेको थियो…। तिनी चिच्याउन चाहन्थे, तिनी आफ्नो पीडा कम गर्ने प्रयासमा आफ्नो शरीरको छाला च्यात्न चाहन्थे—तैपनि तिनले आफ्‍नो चिच्याहट रोके, अनि आफ्नो शरीरको छाला च्यातेनन्, किनकि शैतानले तिनको कमजोरी देखोस् भन्ने तिनले चाहेनन्। त्यसैले अय्यूबले फेरि एक पटक घुँडा टेके, तर यस पटक तिनले यहोवा परमेश्‍वरको उपस्थिति महसुस गरेनन्। तिनी जान्दथे, यहोवा परमेश्‍वर सधैँ तिनको अगि, तिनको पछाडि र तिनको दुवैपट्टि हुनुहुन्थ्यो। तैपनि तिनको पीडाको घडीमा पनि, परमेश्‍वरले एकै पटक पनि हेर्नुभएन; उहाँले आफ्नो अनुहार छोप्नुभयो र लुक्नुभयो, किनकि उहाँले गर्नुभएको मानिसको सृष्टिको अर्थ मानिसमाथि दुःख ल्याउनु थिएन। यस समयमा, अय्यूब रुँदै थिए र यो शारीरिक पीडा सहने सक्दो प्रयास गर्दैथिए, तैपनि तिनले अझै पनि परमेश्‍वरलाई धन्यवाद दिनुबाट आफूलाई रोक्न सकेनन्: “मानिस पहिलो प्रहारमा ढल्छ, ऊ कमजोर र शक्तिहीन छ, ऊ जवान छ र अज्ञानी छ—तपाईं किन उसको त्यति धेरै वास्ता गर्नुहुन्छ र कोमल हुन चाहनुहुन्छ? तपाईंले मलाई प्रहार गर्नुभयो, तैपनि त्यसो गर्दा तपाईंलाई दुःख लाग्छ। मानिसको मोल कति छ र तपाईं त्यसको वास्ता र फिक्री गर्नुहुन्छ?” अय्यूबका प्रार्थनाहरू परमेश्‍वरको कानमा पुगे, र परमेश्‍वर मौन बस्नुभयो, कुनै आवाजविना नै हेरी मात्र रहनुभयो…। कुनै प्रयास गर्दा पनि केही नलागेपछि शैतान चुपचाप बिदा भयो, तैपनि यसले अय्यूबमाथि परमेश्‍वरको जाँचलाई अन्त्य गरेन। अय्यूबमा प्रकट गरिएको परमेश्‍वरको शक्ति सार्वजनिक गरिएको थिएन, त्यसकारण अय्यूबको कथा शैतान त्यहाँबाट गएपछि अन्त्य भएन। अन्य पात्रहरूले प्रवेश गरेपछि अझ अचम्‍मका अन्य दृश्यहरू आउन बाँकी नै थियो।

परमेश्‍वरप्रतिको अय्यूबको भय र खराबीबाट अलग बस्‍ने कार्य, सबै कुरामा तिनले परमेश्‍वरको नाउँ उच्च पारेको तथ्यमा प्रकट हुन्छ

अय्यूबले शैतानको विनाश भोगेका थिए, तैपनि तिनले यहोवा परमेश्‍वरको नाउँलाई त्यागेनन्। पहिले बाहिर आउने व्यक्ति तिनकी पत्नी थिइन् र सबै मानिसका आँखाले देख्ने गरी शैतानको भूमिका खेल्दै तिनले अय्यूबलाई आक्रमण गरिन्। मूल पाठले यसको वर्णन यसरी गर्दछ: “तब तिनकी श्रीमतीले उनलाई भनिन्, के तपाईं अझ पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। यी शब्दहरू मानिसको भेषमा शैतानले बोलेका शब्‍दहरू थिए। ती आक्रमण र आरोप थिए, साथसाथै प्रलोभन, परीक्षा र निन्दा पनि थिए। अय्यूबको देहमा आक्रमण गर्दा असफल भएपछि, शैतानले सीधै अय्यूबको निष्ठामाथि आक्रमण गऱ्यो, अनि अय्यूबलाई तिनको निष्ठा त्याग गर्न, परमेश्‍वरलाई इन्कार गर्न र अझै जिउन चाहने इच्‍छा गुमाउनको लागि यसको प्रयोग गऱ्यो। त्यसैले पनि शैतानले अय्यूबलाई परीक्षा गर्न यस्ता शब्दहरू प्रयोग गर्ने इच्छा गर्‍यो: यदि अय्यूबले यहोवाको नाउँ त्यागे भने तिनले त्यस्तो पीडा सहनुपर्दैन थियो; तिनले आफूलाई शरीरको कष्टबाट मुक्त गर्न सक्थे। आफ्नी पत्नीको सल्लाह सुनेर अय्यूबले उनलाई यसो भन्दै हप्काए, “तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ? के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबले धेरै अघिबाटै यी वचनहरू जानेका थिए, तर यो समयमा तिनको बारेमा अय्यूबको ज्ञानको सत्यता प्रमाणित भयो।

जब तिनकी पत्नीले तिनलाई परमेश्‍वरलाई सरापेर मर्ने सल्लाह दिइन्, उनको भनाइको अर्थ यो थियो: “तपाईंका परमेश्‍वरले तपाईंसँग यस्तो व्यवहार गर्नुहुन्छ, त्यसैले किन उहाँलाई नसराप्ने? जिएर तपाईं अब के गर्नुहुनेछ? तपाईंका परमेश्‍वर तपाईंप्रति यति अन्यायी हुनुहुन्छ, तैपनि तपाईं अझै भन्नुहुन्छ ‘यहोवाको नाउँको प्रशंसा होस्।’ जब तपाईं उहाँको नाउँलाई धन्यको भन्नुहुन्छ भने उहाँले तपाईंमाथि कसरी विपत्ति ल्याउन सक्नुहुन्छ? चाँडो गर्नुहोस् र परमेश्‍वरको नाउँ त्याग्नुहोस्, र उहाँको पछि लाग्न छोड्नुहोस्। तब तपाईंका समस्याहरू समाप्त हुनेछन्।” यस समयमा, परमेश्‍वरले अय्यूबमा हेर्न चाहनुभएको गवाही प्रस्तुत गरियो। कुनै साधारण व्यक्तिले त्यस्तो गवाही दिन सक्नेथिएन, न त हामी बाइबलका कुनै कथाहरूमा यस्तो कुरा पढ्छौं—तर अय्यूबले यी शब्दहरू बोल्नुभन्दा धेरै अघि परमेश्‍वरले यो कुरा देखिसक्नुभएको थियो। परमेश्‍वरले यस अवसरलाई परमेश्‍वर ठीक हुनुहुन्छ भनी सबैलाई प्रमाणित गर्ने मौका अय्यूबलाई दिन मात्र प्रयोग गर्नुभयो। आफ्नी पत्नीको सल्लाहको सुनेर, अय्यूबले आफ्नो निष्ठा त्यागे वा परमेश्‍वर छोड्ने काम नगरेका मात्र होइन, तर आफ्नी पत्नीलाई पनि यसो भने: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?” के यी शब्दहरूमा ठूलो वजन छ? यहाँ, यी शब्दहरूको वजन प्रमाणित गर्न सक्‍ने एउटै मात्र तथ्य छ। यी शब्दहरूको वजन के हो भने, तिनलाई परमेश्‍वरले उहाँको हृदयमा स्वीकार गर्नुभएको छ, परमेश्‍वरले चाहनुभएका कुरा तिनै हुन्, परमेश्‍वरले सुन्न चाहनुभएका शब्दहरू नै हुन्, र परमेश्‍वरले देख्न चाहनुभएका परिणामहरू तिनै हुन्; यी शब्दहरू अय्यूबको गवाहीको गुदी पनि हुन्। यसमा, अय्यूबको सिद्धता, इमानदारीता, परमेश्‍वरको भय, र खराबीबाट अलग बस्ने कुरा साबित भएका थिए। तिनी जसरी र जब परीक्षित भए, तिनका सम्पूर्ण शरीर खटिराहरूले भरिँदा, तिनले अत्याधिक यातना भोग्‍नुपर्दा, र तिनकी पत्नी र मित्रहरूले तिनलाई सल्लाह दिँदा पनि तिनले यस्ता शब्दहरू बोलेकामा नै अय्यूबको बहुमूल्यता छ। अर्को प्रकारले भन्नुपर्दा, तिनको हृदयमा तिनको विश्‍वास के थियो भने, जुनसुकै परीक्षा आए पनि वा जस्तोसुकै गम्‍भीर कष्ट वा सतावट आए पनि, तिनीमाथि मृत्यु नै आइपरे पनि तिनले परमेश्‍वरलाई त्याग्ने थिएनन् वा परमेश्‍वरको भय मान्ने र खराबीबाट अलग बस्ने मार्गलाई तिनले लत्याउने थिएनन्। त्यसैले तँ देख्छस् तिनको हृदयमा परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण स्थान थियो, र तिनको हृदयमा परमेश्‍वर मात्र हुनुहुन्थ्यो। यसैकारण हामी धर्मशास्त्रमा तिनको बारेमा यस्तो वर्णन पढ्छौं: यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूले पाप गरेनन्। तिनले आफ्‍नो ओठले पाप नगरेका मात्र होइन, तर तिनले आफ्नो हृदयमा कहिल्यै पनि परमेश्‍वरबारे गुनासो गरेनन्। तिनले परमेश्‍वरको विषयमा चोट पुर्‍याउने शब्‍दहरू बोलेनन्, न त तिनले परमेश्‍वरको विरुद्धमा पाप नै गरे। तिनको मुखले परमेश्‍वरको नाउँलाई धन्यको मात्र भनेनन्, तर आफ्नो हृदयमा तिनले परमेश्‍वरको नाउँलाई धन्यको भने; तिनको मुख र हृदय एउटै थियो। परमेश्‍वरले देख्नुभएको वास्तविक अय्यूब यही थियो, र यही कारणले गर्दा परमेश्‍वरले अय्यूबको कदर गर्नुभयो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनु र परमेश्‍वरको काम बीचको सम्बन्ध

अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो थिए र तिनी परमेश्‍वरसँग डराउँथे र खराबीबाट अलग बस्थे भनी बुझ्‍ने भए पनि, यस्तो कुराको पहिचानले...

परमेश्‍वर मानिसबाट लुक्नुभएको भए पनि, सबै थोकमा भएका उहाँका कामहरू नै उहाँलाई जान्नका निम्ति पर्याप्त छन्

अय्यूबले परमेश्‍वरको अनुहार देखेका थिएनन् वा परमेश्‍वरले बोल्नुभएका वचनहरू सुनेका थिएनन्, व्यक्तिगत रूपमा तिनले परमेश्‍वरको कामको अनुभव...

शैतानले पहिलो पटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरियो र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ)

अ. परमेश्‍वरद्वारा बोलिएका वचनहरू अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्, त्योजस्तो सिद्ध र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्