अय्यूबले कानको सुनाइद्वारा परमेश्‍वरको बारेमा सुन्छन् (भाग २)

13 अगस्ट 2021

परमेश्‍वर मानिसबाट लुक्नुभएको भए पनि, सबै थोकमा भएका उहाँका कामहरू नै उहाँलाई जान्नका निम्ति पर्याप्त छन्

परमेश्‍वर मानिसबाट लुक्‍नुभएको भए पनि, सबै थोकमाझ भएका उहाँका कामहरू नै उहाँलाई जान्‍नका निम्ति पर्याप्त छन्

अय्यूबले परमेश्‍वरको अनुहार देखेका वा परमेश्‍वरले बोल्नुभएका वचनहरू सुनेका थिएनन्, व्यक्तिगत रूपमा तिनले परमेश्‍वरको कामको अनुभव गर्ने त कुरै नगरौं। यद्यपि तिनका परीक्षाहरूको समयमा परमेश्‍वरप्रतिको तिनको भय र गवाहीलाई सबैले देखे, र ती कुरालाई परमेश्‍वरले मन पराउनुभयो, ती कुराप्रति उहाँ प्रसन्‍न हुनुभयो र ती कुरालाई उहाँले प्रशंसा गर्नुभयो, र मानिसहरूले तिनको ईर्ष्या गरे, र सराहना गरे, र त्योभन्दा पनि बढी तिनीहरूले तिनको प्रशंसा गरे। तिनको जीवनमा महान् वा असाधारण कुरा केही पनि थिएन: एउटा सामान्य व्यक्तिले जस्तै तिनले सामान्य जीवन जिउँथे, बिहान सूर्य उदाउँदा काम गर्न बाहिर जान्थे र सूर्य अस्ताएपछि आराम गर्न घर फर्कन्थे। फरक यति मात्र हो कि तिनको जीवनका अति सामान्य धेरै दशकहरूमा, तिनले परमेश्‍वरको मार्गबारे अन्तर्दृष्टि प्राप्त गरे, र अन्य कुनै व्यक्तिले कहिल्यै थाहा नपाएको परमेश्‍वरको महान् शक्ति र सार्वभौमिकताबारे थाहा पाए र बुझे। तिनी कुनै साधारण व्यक्तिभन्दा चतुर थिएनन्, तिनको जीवन खासै कठोर थिएन, र यसबाहेक तिनीसँग कुनै विशेष सीप पनि थिएन। तर तिनमा यस्तो व्यक्तित्व थियो जुन इमानदार, दयालु र सोझो थियो, यस्तो व्यक्तित्व जसले निष्पक्षता, धार्मिकता र सकारात्मक कुराहरू मन पराउँथ्यो—यस्ता कुनै पनि कुरा साधारण मानिसहरूमा हुँदैनन्। तिनले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँथे, तिनमा न्यायको बोध थियो, तिनी नझुक्‍ने र दृढ थिए, र आफ्नो सोचविचारमा विस्तृत सावधानी आपनाउँथे। यसरी पृथ्वीमा बितेको आफ्नो साधारण समयमा तिनले परमेश्‍वरले गर्नुभएका सबै असाधारण कामहरू देखे, र परमेश्‍वरको महानता, पवित्रता र धार्मिकता देखे, र मानिसका निम्ति परमेश्‍वरको चासो, अनुग्रह र सुरक्षा देखे, र सर्वोच्‍च परमेश्‍वरको सम्माननीयता र अख्तियार देखे। कुनै पनि सामान्य मानिसले प्राप्त गर्न नसक्‍ने यी कुराहरू अय्यूबले प्राप्त गर्न सक्‍नुको पहिलो कारण तिनमा एउटा शुद्ध हृदय हुनु, र तिनको हृदय परमेश्‍वरको स्वामित्वमा र सृष्टिकर्ताद्वारा डोर्‍याइएको अवस्थामा हुनु थियो। दोस्रो कारण तिनको खोजी थियो: तिनले निर्दोष र सिद्ध हुनेबारेमा खोजी गरे, र स्वर्गको इच्छा पालन गर्ने, परमेश्‍वरद्वारा प्रेम गरिएको र दुष्टताबाट अलग बस्‍ने व्यक्ति बन्‍नेबारेमा खोजी गरे। परमेश्‍वरलाई देख्‍न वा परमेश्‍वरका वचनहरू सुन्‍न नसकेका बेला तिनमा यी कुराहरू थिए र तिनी यिनै कुराका पछि लागे। तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेका भए पनि, परमेश्‍वरले जुन साधनहरूमार्फत सबै थोकमाथि शासन गर्नुहुन्छ ती साधनहरूको बारेमा तिनले जानेका, र परमेश्‍वरले जुन बुद्धिमार्फत त्यस्तो शासन गर्नुहुन्छ त्यो बुद्धिलाई बुझेका थिए। तिनले परमेश्‍वरले बोल्नुभएका वचनहरू कहिल्यै पनि नसुनेका भए पनि, मानिसलाई दिने र मानिसबाट फिर्ता लिने सबै काम परमेश्‍वरबाटै हुन्छ भनी तिनले जानेका थिए। तिनको जीवनका वर्षहरू कुनै साधारण व्यक्तिको भन्दा फरक नभएका भए पनि, तिनले आफ्नो जीवनको सामान्यताद्वारा परमेश्‍वरको सबै कुरामाथिको सार्वभौमिकतासम्बन्धी तिनको ज्ञानमा असर पर्न, वा उहाँको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अनुसरण गर्ने कार्य प्रभावित हुन दिएनन्। तिनको नजरमा, सबै थोकका नियमहरू परमेश्‍वरका कार्यहरूले भरिएका थिए, र परमेश्‍वरको सार्वभौमिकतालाई व्यक्तिको जीवनको जुनसुकै भागमा देख्‍न सकिन्थ्यो। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनले परमेश्‍वरका कामहरू जताततै छन् भनी बुझ्न सके र पृथ्वीमा बितेको तिनको अति सामान्य समयमा तिनले आफ्नो जीवनको हरेक कुनामा परमेश्‍वरका असाधारण र अचम्मका कामहरू देख्‍न र महसुस गर्न सके, र तिनले परमेश्‍वरको अचम्मका प्रबन्धहरू देख्‍न सके। परमेश्‍वरको लुप्तपन र मौनताले अय्यूबलाई उहाँको काम बुझ्न बाधा दिएनन्, न त ती कुराले सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तिनको ज्ञानलाई नै प्रभावित गरे। तिनको जीवन, तिनको दैनिक जीवनको अवधिमा, सबै थोकहरूमाझ लुक्‍नुभएका परमेश्‍वरका सार्वभौमिकता र प्रबन्धहरूको साकार रूप थियो। परमेश्‍वर सबै कुराको माझमा मौन रहनुभएर पनि उहाँले सबै कुराका नियमहरू सञ्‍चालन गर्दै उहाँको हृदयको आवाज र उहाँका वचनहरू व्यक्त गर्नुहुन्छ, र अय्यूबले आफ्नो दैनिक जीवनमा परमेश्‍वरको हृदयको त्यो आवाज र परमेश्‍वरका ती वचनहरू सुने र बुझे। यसैले तिमीहरू देख्‍न सक्छौ कि यदि मानिसहरूमा अय्यूबको जस्तै मानवता र खोजी छन् भने तिनीहरूले पनि अय्यूबले जस्तै अनुभूति र ज्ञान प्राप्त गर्न सक्छन्, अनि परमेश्‍वरको सबै थोकमाथिको सार्वभौमिकताबारे अय्यूबले जस्तै बुझाइ र ज्ञान प्राप्त गर्न सक्छन्। परमेश्‍वर अय्यूबको सामु देखा पर्नुभएको वा तिनीसँग बोल्नुभएको थिएन, तैपनि तिनी सिद्ध र सोझो हुन, अनि परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सके। अर्को शब्दमा भन्दा, परमेश्‍वर मानिसको सामु देखा पर्नु वा बोल्नुभएन भने पनि सबै थोकमाझ परमेश्‍वरले गर्नुभएका कामहरू र उहाँको सबै थोकमाथिको सार्वभौमिकता नै परमेश्‍वरको अस्तित्व, शक्ति र अख्तियारको बारेमा सचेत रहन मानिसका निम्ति पर्याप्त हुन्छ, र परमेश्‍वरको शक्ति र अख्तियार नै मानिसलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अनुसरण गर्न लगाउन पर्याप्त हुन्छ। अय्यूबजस्ता साधारण व्यक्तिले परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग रहन सके भने, परमेश्‍वरलाई पछ्याउने प्रत्येक साधारण व्यक्तिले पनि त्यसो गर्न सक्‍नुपर्छ। यी शब्दहरू तार्किक अनुमान जस्तो लाग्‍न सक्‍ने भए पनि यस कुराले कामकुराका नियमहरू उल्लङ्घन गर्दैन। यद्यपि, तथ्यहरू अपेक्षाहरूसँग मेल खाएका छैनन्: परमेश्‍वरको भय मान्‍नु र दुष्टताबाट अलग बस्‍नु, यो केवल अय्यूबका लागि मात्र आरक्षण गरिएको कुरा हो जस्तो देखिन्छ। “परमेश्‍वरको भय मान्‍नु र दुष्टताबाट अलग बस्‍नु” भनेर उल्‍लेख गर्नेबित्तिकै मानिसहरूले यो केवल अय्यूबले मात्र गर्नुपर्ने कुरा हो भन्‍ने सोच्छन्, मानौं परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुरामा अय्यूबको लेबल टाँसिएको छ र अरू मानिससँग त्यसको केही सम्बन्ध छैन। यसको कारण स्पष्ट छ: अय्यूबसँग मात्र त्यस्तो व्यक्तित्व थियो जुन इमानदार, दयालु र सोझो थियो, र जसले निष्पक्षता, धार्मिकता र सकारात्मक कुरालाई प्रेम गर्थ्यो, त्यसैले अय्यूब मात्र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्न सके। तिमीहरूले यहाँ इङ्गित अर्थलाई बुझेको हुनुपर्छ—किनकि इमानदार, दयालु र सोझो मानवता भएको, निष्पक्षता र धार्मिकतालाई प्रेम गर्ने, र सकारात्मक मानवता भएको कोही पनि नभएको हुनाले कसैले पनि परमेश्‍वरको भय मान्दैन र कोही पनि दुष्टताबाट अलग बस्‍न सक्दैन, र त्यसकारण मानिसहरूले परीक्षाहरूमाझ कहिल्यै पनि परमेश्‍वरको आनन्द प्राप्त गर्न वा दृढ भएर खडा हुन सक्दैन। यसको अर्थ यो पनि हो कि अय्यूबबाहेकका सबै मानिस अझै पनि शैतानद्वारा बाँधिएका र त्यसको पासोमा छन्; तिनीहरू सबैलाई यसले दोषारोपण, आक्रमण र दुर्व्यवहार गर्छ। तिनीहरू सबैलाई शैतानले निल्न खोज्छ, र तिनीहरू सबै स्वतन्त्रताविहीन छन्, र तिनीहरू शैतानले बन्दी बनाएका कैदीहरू हुन्।

यदि मानिसको हृदयमा परमेश्‍वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छ?

आजका मानिसहरूसँग अय्यूबको जस्तै मानवता नभएको हुनाले, तिनीहरूको प्रकृति सार, र परमेश्‍वरप्रति तिनीहरूको मनोवृति कस्तो हुन्छ? के तिनीहरू परमेश्‍वरसित डराउँछन्? के तिनीहरू दुष्टताबाट अलग बस्छन्? जो परमेश्‍वरसँग डराउँदैनन् वा दुष्टताबाट अलग बस्‍दैनन्, तिनीहरूलाई दुई शब्दमा व्याख्या गर्न सकिन्छ: “परमेश्‍वरका शत्रुहरू”। तिमीहरूले प्रायजसो यी दुई शब्द बोल्छौ, तर कहिल्यै पनि त्यसको वास्तविक अर्थ जानेका छैनौ। “परमेश्‍वरका शत्रुहरू” भन्‍ने शब्दहरूमा सार छ: यी शब्‍दहरूले मानिसलाई परमेश्‍वरले शत्रुको रूपमा हेर्नुहुन्छ भनेर भन्दैनन्, बरु मानिसले परमेश्‍वरलाई शत्रुको रूपमा हेर्छ भनेर भन्छन्। सर्वप्रथम, जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, प्रेरणा र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र उहाँको अस्तित्वलाई देख्‍ने भए पनि, उहाँमाथिको तिनीहरूको विश्‍वासमा अझै पनि ती अभिप्रायहरू हुन्छन्, र उहाँमा विश्‍वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य उहाँको आशिष्‌ र आफूले चाहेको कुरा प्राप्त गर्नु रहेको हुन्छ। मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्: “मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्‍नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्‍वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्‍वरको आशिष् पाउन सक्छु? …” प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्‍ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्‍वरसँग गर्छन्। भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गरिरहेको हुन्छ, र उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भनी हेर्नलाई परमेश्‍वरबाट अभिव्यक्ति निकाल्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरको पछि लाग्‍ने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, निष्क्रिय र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति प्रबन्ध गरिदिनु हो। “परमेश्‍वरमाथिको विश्‍वास” बारे उहाँमा विश्‍वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक खोजसम्म, कुनै कुरा पनि परमेश्‍वरको भयसँग सम्बन्धित छैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसको उद्देश्य र उसले गर्ने परमेश्‍वरको आराधनाको बीचमा सम्भवतः कुनै सम्बन्ध छैन। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा उहाँको भय मान्‍नु र आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले न त कहिल्यै विचार गरेको न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, यसभित्र धोखा र छल हुन्छ, यसले निष्पक्षता र धार्मिकता र जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी हुन्‍छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्‍वरलाई पटक्‍कै दिएको छैन। परमेश्‍वरले मानिसको साँचो हृदय कहिल्यै देख्‍नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्‍वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन भइदिन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नै लागि आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—यसको अर्थ के हो भने, मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बाटो पछ्याउन वा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न चाहँदैन, न त उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा आराधना गर्न नै चाहन्छ। आज मानिसको स्थिति यस्तै छ। अब हामी फेरि अय्यूबलाई हेरौं। सबैभन्दा पहिला, के तिनले परमेश्‍वरसँग लेनदेन गरे? के परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने तिनको दृढ अडानको पछाडि तिनको कुनै अभिप्राय थियो? त्यस बेला, के परमेश्‍वरले कसैसँग आउनेवाला अन्त्यबारे कुरा गर्नुभएको थियो? त्यस बेला, परमेश्‍वरले कसैसँग पनि अन्त्यको बारेमा प्रतिज्ञा गर्नुभएन, र यही पृष्ठभूमिमा अय्यूबले परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सके। के आजका मानिसहरू अय्यूबको दाँजोमा खडा हुन सक्छन्? यसमा धेरै ठूलो असमानता छ; तिनीहरू फरक समूहमा पर्छन्। अय्यूबसँग परमेश्‍वरबारे त्यति धेरै ज्ञान नभएको भए पनि, तिनले आफ्नो हृदय परमेश्‍वरलाई दिएका थिए र तिनको हृदय परमेश्‍वरको स्वामित्वमा थियो। तिनले परमेश्‍वरसँग कहिल्यै पनि कुनै लेनदेन गरेनन्, र परमेश्‍वरप्रति तिनको कुनै उग्र चाहना वा मागहरू थिएनन्; बरु, तिनले “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने विश्‍वास गरे। आफ्‍नो जीवनको धेरै वर्षको अवधिमा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गप्रति सच्‍चा रहेर तिनले यही देखेका र प्राप्त गरेका थिए। त्यसै गरी, तिनले यी वचनहरूले प्रतिनिधित्व गर्ने प्रतिफलहरू पनि प्राप्त गरेका थिए: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” यी दुई वाक्य तिनले जीवनको अनुभव गर्ने क्रममा परमेश्‍वरप्रतिको आफ्नो आज्ञाकारी मनोवृतिको परिणामस्वरूप देखेका र जानेका थिए, र यी कुरा तिनका सबैभन्दा शक्तिशाली हतियार थिए जसद्वारा तिनले शैतानका परीक्षाहरूमा विजय पाएका थिए, र यी कुरा नै परमेश्‍वरको गवाही दिन तिनी दृढ भएर खडा हुनुको आधार थिए। यस क्षणमा, के तिमीहरू अय्यूबलाई एक सानदार व्यक्तिको रूपमा कल्पना गर्छौ? के तिमीहरू त्यस्तो व्यक्ति बन्‍ने आशा गर्छौ? के तिमीहरू शैतानका परीक्षाहरूबाट गुज्रनुपर्छ कि भनी डराउँछौ? के तिमीहरू परमेश्‍वरसित आफूलाई पनि अय्यूबको जस्तै परीक्षाहरूमा पारिदिनुहोस् भनी प्रार्थना गर्ने सङ्कल्प गर्छौ? निस्सन्देह, धेरैजसो मानिसहरूले यस्ता कुराहरूका लागि प्रार्थना गर्ने आँट गर्दैनन्। त्यसैले यो स्पष्ट छ कि तिमीहरूको विश्‍वास अति नै सानो छ; अय्यूबको तुलनामा तिमीहरूको विश्‍वास उल्लेख गर्नु पनि अयोग्य छ। तिमीहरू परमेश्‍वरका शत्रु हौ, तिमीहरू परमेश्‍वरसँग डराउँदैनौ, तिमीहरू परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा अडिग रहन सक्दैनौ, र तिमीहरू शैतानको आक्रमण, आरोप र परीक्षाहरूमाथि विजयी हुन सक्दैनौ। कुन कुराले तिमीहरूलाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्य बनाउँछ? अय्यूबको कथा सुनेपछि र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय र मानिसको मुक्तिको अर्थ बुझिसकेपछि, के तिमीहरूसँग अब अय्यूबले जस्तै परीक्षाहरू स्वीकार गर्ने विश्‍वास छ? के तिमीहरू आफैले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा लाग्‍ने थोरै सङ्कल्प गर्नुपर्दैन र?

परमेश्‍वरका परीक्षाहरूबारे कुनै शङ्का नगर

अय्यूबको जाँच समाप्त भई तिनीबाट गवाही प्राप्त गरेपश्‍चात्, परमेश्‍वरले अय्यूबजस्ता मानिसहरूको एउटा समूह—वा एकभन्दा बढी समूहहरू—प्राप्त गर्ने सङ्कल्प गर्नुभयो, तर शैतानलाई फेरि आफूसित बाजी लगाएर अय्यूबका निम्ति प्रयोग गरिएको युक्तिद्वारा कुनै पनि व्यक्तिलाई परीक्षा, आक्रमण र दुर्व्यवहार गर्न नदिने दृढ सङ्कल्प गर्नुभयो। परमेश्‍वरले शैतानलाई फेरि कहिल्यै पनि मानिसमाथि त्यस्तो गर्ने अनुमति दिनुभएन—मानिस कमजोर, मूर्ख र अनजान छ, त्यसैले शैतानले अय्यूबलाई परीक्षा गर्नु नै काफी थियो! शैतानलाई त्यसले चाहेअनुसार मानिसहरूसित दुर्व्यवहार गर्न नदिनु परमेश्‍वरको कृपा हो। परमेश्‍वरका लागि, अय्यूबले शैतानको परीक्षा र दुर्व्यवहार भोग्‍नु नै काफी थियो। परमेश्‍वरले शैतानलाई फेरि त्यस्तो कुनै पनि कार्य गर्ने अनुमति दिनुभएन, किनकि परमेश्‍वरलाई पछ्याउने सबै मानिसहरूको जीवन र सबै थोकलाई उहाँले नै शासन र योजनाबद्ध गर्नुहुन्छ, र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई आफ्नो इच्छाअनुसार प्रभावित गर्ने अधिकार शैतानसँग छैन—तिमीहरूले यो कुरा स्पष्ट बुझ्नुपर्छ! परमेश्‍वरले मानिसको कमजोरीको वास्ता गर्नुहुन्छ, र उसको मूर्खता र अज्ञानतालाई बुझ्नुहुन्छ। मानिसले पूर्ण रूपमा मुक्ति पाओस् भनेर परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पनैपर्छ, तैपनि परमेश्‍वर कहिल्यै पनि शैतानले मानिसलाई मूर्ख बनाएको र दुर्व्यवहार गरेको देख्‍न चाहनुहुन्‍न, र उहाँ मानिसले सधैँ दुःख भोगेको पनि देख्‍न चाहनुहुन्‍न। मान्छेलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र परमेश्‍वरले मान्छेका सबै कुरालाई शासन र प्रबन्ध गर्नुहुन्छ भन्‍ने कुरा पूर्णतया स्वाभाविक र न्यायोचित कुरा हो; यो परमेश्‍वरको जिम्मेवारी हो, र यो त्यही अख्तियार हो जसद्वारा परमेश्‍वरले सबै कुरामाथि शासन गर्नुहुन्छ! परमेश्‍वरले शैतानलाई मनलाग्दो किसिमले मानवजातिलाई दुर्व्यवहार र दुरुपयोग गर्ने अनुमति दिनुहुन्‍न, उहाँले मानवजातिलाई बहकाउन शैतानलाई विभिन्‍न युक्तिहरू प्रयोग गर्न दिनुहुन्‍न, र यसबाहेक, उहाँले शैतानलाई मानवजातिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतामा हस्तक्षेप गर्ने अनुमति दिनुहुन्‍न, न त त्यसलाई यावत् थोकमाथि परमेश्‍वरले शासन गर्ने ती सबै नियम कुल्चन र नाश गर्न नै दिनुहुन्छ, मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको महान् कार्य बिथोल्न उहाँले त्यसलाई अनुमति दिनुहुने त प्रश्‍नै उठ्दैन! परमेश्‍वरले जसलाई बचाउन चाहनुहुन्छ, र जसले परमेश्‍वरबारे गवाही दिन सक्छन्, तिनीहरू नै परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको केन्द्र र सर्वोत्कृष्ट परिणाम हुन्, यसको साथै तिनीहरू उहाँको छ हजार वर्षे कामका प्रयासहरूको मूल्य पनि हुन्। परमेश्‍वरले कसरी तिनीहरूलाई सहजै शैतानको हातमा दिन सक्‍नुहुन्छ र?

मानिसहरू प्रायजसो परमेश्‍वरको जाँचको बारेमा चिन्ता गर्छन् र डराउँछन्, तैपनि तिनीहरू जहिल्यै पनि शैतानको पासो र खतरनाक क्षेत्रमा जिइरहेका हुन्छन् जहाँ तिनीहरूलाई शैतानले आक्रमण र दुर्व्यवहार गर्छ—तैपनि तिनीहरू डराउँदैनन्, र निश्‍चिन्त रहन्‍छन्। यो के हुँदै छ? परमेश्‍वरमाथिको मानिसको विश्‍वास उसले देख्‍न सक्‍ने कुराहरूमा मात्र सीमित छ। उसमा मानिसप्रतिको परमेश्‍वरको प्रेम र चासो, वा उहाँको कोमलता र ध्यानप्रति थोरै पनि कदर छैन। तर परमेश्‍वरको परीक्षा, न्याय र सजाय, अनि महिमा र क्रोधबारे सानो चिन्ता र डरको कारण मानिससँग परमेश्‍वरका असल अभिप्रायहरूबारे थोरै बुझाइ पनि छैन। परीक्षाहरूबारे उल्लेख गर्नेबित्तिकै, मानिसहरू परमेश्‍वरको गोप्य उद्देश्य छ कि भन्‍ने महसुस गर्छन् र कसैकसैले त परमेश्‍वरले दुष्ट योजनाहरू बनाउनुहुन्छ भन्‍नेसमेत विश्‍वास गर्छन्, तर परमेश्‍वरले तिनीहरूलाई वास्तवमा के गर्नुहुनेछ भनी जान्दैनन्; त्यसकारण, तिनीहरूले परमेश्‍वरका सार्वभौमिकता र व्यवस्थाहरूप्रतिको आज्ञाकारिताबारे कुरा गर्दैगर्दा, तिनीहरू मानिसमाथि परमेश्‍वरको सार्वभौमिकता र मानिसको निम्ति उहाँका प्रबन्धहरूको विरोध गर्न आफूले गर्नसक्‍ने सबै कुरा गर्छन्, किनकि तिनीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरू होसियार भएनन् भने तिनीहरू परमेश्‍वरद्वारा बहकिनेछन्, यदि तिनीहरूले आफ्नै नियतिमा बलियो पकड कायम राख्दैनन् भने तिनीहरूसित भएका सबै कुरा परमेश्‍वरले लिन सक्‍नुहुनेछ, र तिनीहरूको जीवनसमेत अन्त्य हुनेछ। मानिस शैतानको शिविरमा छ, तर ऊ शैतानद्वारा दुर्व्यवहार हुनेबारेमा कहिल्यै चिन्तित हुँदैन, अनि उसलाई शैतानले दुर्व्यवहार गर्छ, तर शैतानले कैद गर्ला भनी कहिल्यै डराउँदैन। उसले परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छु भनेर भनिरहन्छ, तर उसले कहिल्यै परमेश्‍वरमा विश्‍वास गरेको हुँदैन वा परमेश्‍वरले मानिसलाई साँच्‍चै शैतानको पन्जाबाट मुक्त गर्नुहुनेछ भनी विश्‍वास गरेको हुँदैन। यदि, मानिस अय्यूबजस्तै, परमेश्‍वरको योजनाबद्ध कार्यहरू र प्रबन्धको अधीनमा रहन सक्छ भने, यदि उसले आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको हातमा दिन सक्छ भने, के मानिसको अन्त्य पनि अय्यूबको जस्तै हुनेछैन र? अर्थात् के उसले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्नेछैन र? यदि मानिसले परमेश्‍वरको नियमलाई स्वीकार गर्न र यसमा ऊ समर्पित हुन सक्छ भने, गुमाउनुपर्ने के छ र? यसैले, म सल्लाह दिन्छु कि तिमीहरू आफ्ना कार्यहरूमा होसियार होओ, र तिमीहरूमाथि आउनेवाला सबै कुराप्रति सतर्क बस। विवेकहीन वा लापरवाही नहोओ, अनि परमेश्‍वर र उहाँले तिमीहरूको निम्ति प्रबन्ध गर्नुभएका मानिसहरू, मामिला र वस्तुहरूसित आफ्नो तातो रगत वा प्राकृतिकतामा भर पर्दै वा आफ्ना कल्पना र धारणाअनुसार व्यवहार नगर; परमेश्‍वरको क्रोध जगाउनदेखि बच्नलाई तिमीहरू आफ्ना कार्यहरूमा सतर्क हुनैपर्छ, र तिमीहरूले प्रार्थना गर्नैपर्छ र अझ बढी खोजी गर्नैपर्छ। यो कुरा याद राख!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका जाँचहरूलाई स्वीकार गर, शैतानका परीक्षाहरूलाई जित, र परमेश्‍वरलाई तिमीहरूको सम्पूर्ण अस्तित्व प्राप्त गर्न देओ

मानिसहरूका निम्ति परमेश्‍वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण इच्छा र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ...

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध

अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो थिए र तिनी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भनी बुझ्‍ने भए पनि, यस्तो कुराको पहिचानले...

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) (भाग २)

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको...

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) (भाग १)

१. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब २:३ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्