शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) (भाग २)

13 अगस्ट 2021

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू

अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको आफ्नै हातद्वारा भएको थियो। त्यो त परमेश्‍वरको शत्रु शैतानले व्यक्तिगत रूपमा पैदा गरेको थियो। यसैको फलस्वरूप, अय्यूबले भोगेका कठिनाइहरूको स्तर प्रगाढ थियो। तैपनि, यस पलमा अय्यूबले निस्सन्देह रूपमा आफ्नो मनभित्र भएको परमेश्‍वरसम्‍बन्धी दैनिक ज्ञान, आफ्नो दैनिक कार्यका सिद्धान्तहरू र परमेश्‍वरप्रतिको आफ्नो मनोवृति प्रकट गरिरहेका थिए—सत्य यही हो। यदि अय्यूब परीक्षामा नपरेका भए, यदि परमेश्‍वरले अय्यूबमाथि जाँचहरू नल्याउनुभएको भए, अय्यूबले “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” भनेर भन्दा, तँ तिनलाई पाखण्डी भन्‍नेथिइस्; परमेश्‍वरले तिनलाई त्यत्ति धेरै सम्पत्तिहरू दिनुभएको थियो, त्यसैले तिनले अवश्य यहोवाको नाउँलाई धन्यको भन्‍नेथे। यदि परीक्षाहरूमा पर्नुभन्दा अघि अय्यूबले “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” भन्थे भने, तैँले अय्यूब बढाइचढाइ कुरा गर्दै छन्, र तिनले परमेश्‍वरको नाउँ त्याग्‍नेछैनन् किनकि तिनले बारम्बार परमेश्‍वरको हातबाट आशिष् पाएका छन् भनी भन्‍नेथिइस्। यदि परमेश्‍वरले तिनीमाथि विपत्ति ल्याउनुभएको भए, तिनले अवश्य नै परमेश्‍वरको नाउँलाई त्याग्‍नेथिए भनेर तैँले भन्‍नेथिइस्। तर जब अय्यूबले आफूलाई यस्तो परिस्थितिमा पाए जुन कसैले पनि चाहँदैन वा देख्‍न मन पराउँदैन, जुन परिस्थितिमा कोही पनि पर्न चाहँदैन, जुन परिस्थितिमा पर्ने डर तिनीहरूलाई थियो, जुन परिस्थितिलाई परमेश्‍वरले पनि हेर्न सक्‍नुभएन, तब अय्यूबले अझै पनि आफ्नो निष्ठा थामेर राख्‍न सके: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” अनि “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” यस समयमा, अय्यूबको आचरणको सामना गर्नुपर्दा, ती ठूलठूला कुरा गर्ने अनि शब्द र सिद्धान्तहरूको कुरा गर्न मन पराउने मानिसहरू सबै चुपचाप हुन्छन्। बोलीमा मात्र परमेश्‍वरको नाउँको गुणगान गर्ने, तर परमेश्‍वरका जाँचहरू कहिल्यै स्वीकार नगर्नेहरू अय्यूबको दृढ निष्ठाद्वारा दोषी ठहरिन्छन्, र मानिस परमेश्‍वरको मार्गमा दृढ रहन सक्षम छ भनी कहिल्यै पनि विश्‍वास नगर्नेहरू अय्यूबको साक्षीको न्यायमा पर्छन्। यी परीक्षाहरूको अवधिमा अय्यूबको आचरण र तिनले बोलेका शब्दहरूको सामना गर्नुपर्दा, कोहीकोही मानिसहरू अलमल्लमा पर्नेछन्, कतिले डाह महसुस गर्नेछन्, कसैलाई शङ्का लाग्‍नेछ र अझ कोही त चासो नभएको जस्तो गरी अय्यूबको साक्षीप्रति नाक बङ्ग्याउँछन्, किनभने तिनीहरूले जाँचको समयमा अय्यूबमाथि आइपरेको यातना देखेका, र अय्यूबले बोलेका वचनहरू पढेका मात्र नभई अय्यूबमाथि परीक्षाहरू आइपर्दा तिनले प्रकट गरेको मानव “कमजोरी” लाई पनि देखेका छन्। यो “कमजोरी” नै अय्यूबको सिद्धताको त्रुटि हो, परमेश्‍वरको नजरमा सिद्ध रहेको मानिसमा भएको खोट हो भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। भन्‍नुको अर्थ, सिद्ध मानिसहरू त्रुटिरहित हुन्छन्, निष्खोट वा कपटरहित हुन्छन्, उनीहरूमा कुनै कमजोरी हुँदैन, पीडाको ज्ञान हुँदैन, उनीहरू कहिल्यै दुःखी वा निरास महसुस गर्दैनन्, र घृणा वा कुनै बाहिरी चरम व्यवहार गर्दैनन् भन्‍ने विश्‍वास गरिन्छ; फलस्वरूप, धेरैजसो मानिसहरू अय्यूब साँच्‍चै सिद्ध थिए भनी विश्‍वास गर्दैनन्। जाँचको अवधिमा तिनले देखाएका धेरैजसो व्यवहारलाई मानिसहरू स्वीकार गर्दैनन्। उदाहरणको लागि, जब अय्यूबले आफ्नो सम्पत्ति र छोराछोरीहरू गुमाए, मानिसहरूले सोचेजस्तो तिनी आँसुमा डुबेनन्। तिनमा “शिष्टताको अभाव” भएको कुराले मानिसहरूलाई तिनी कठोर मनका थिए भन्‍ने सोच्न बाध्य पार्छ, किनकि आफ्नो परिवारको निम्ति तिनमा आँसु र स्‍नेह थिएन। यो अय्यूबको बारेमा तिनीहरूमा परेको प्रारम्भिक नराम्रो छाप हो। तिनले त्यसपछि देखाएको व्यवहार उनीहरूलाई झन् अचम्‍मको लाग्छ: “आफ्‍नो खास्टो च्याते” को कुरालाई मानिसहरूले परमेश्‍वरप्रतिको उनको अनादरको रूपमा हेर्छन्, र “आफ्‍नो कपाल खौरे” भन्‍ने वाक्यलाई तिनीहरू परमेश्‍वरप्रतिको अय्यूबको निन्दा र विरोध हो भनेर गलत रूपमा विश्‍वास गर्छन्। अय्यूबका “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” भन्‍ने वचनहरूबाहेक, अय्यूबमा पाइएको र परमेश्‍वरले प्रशंसनीय ठान्‍नुभएको तिनको कुनै पनि धार्मिकताबारे मानिसहरूले केही पनि बुझेनन्, र यसरी तिनीहरूमध्ये धेरैले गर्ने अय्यूबको मूल्याङ्कन केवल नबुझेको कुरा, गलत बुझाइ, शङ्का, निन्दा र सैद्धान्तिक रूपमा मात्र दिइएको स्वीकृतिबाहेक अरू केही हुँदैन। तिनीहरूमध्ये कसैले पनि अय्यूब सिद्ध र इमानदार मानिस थिए, तिनी परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग रहने व्यक्ति थिए भनी यहोवा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूलाई साँच्‍चै बुझ्न र कदर गर्न सक्दैनन्।

माथि उल्लेख गरिएझैँ, अय्यूबको बारेमा आफूमा परेको छापको आधारमा, मानिसहरूले तिनको धार्मिकतामा अझ शङ्का गर्छन्, किनभने धर्मशास्‍त्रमा लेखिएका अय्यूबका कार्यहरू र तिनको आचरण मानिसहरूले कल्‍पना गरेजस्तो अत्यन्तै धर्ती हल्लाउने खालका थिएनन्। तिनले कुनै ठूला कार्यहरू नगरेका मात्र नभई तिनले खरानीमा बसेर आफैलाई कन्याउन माटोको भाँडाको खपटा पनि लिएका थिए। यो कार्यले पनि मानिसहरूलाई चकित पार्छ र तिनीहरूले अय्यूबको धार्मिकताको बारेमा शङ्का गर्ने, र इन्कारसमेत गर्ने गर्छन्, किनकि आफैलाई कन्याउँदा अय्यूबले परमेश्‍वरसँग प्रार्थना वा वाचा गरेनन्; न त तिनले पीडाको आँसु नै झारे। यस समयमा, मानिसहरू अय्यूबको कमजोरी मात्र देख्छन्, र अरू केही देख्दैनन्, र त्यसैले अय्यूबले, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” भनेको सुन्दा पनि तिनीहरूमा कुनै प्रभाव पर्दैन, वा तिनीहरू अनिश्‍चित नै रहन्छन्, र अझै पनि अय्यूबका वचनहरूबाट तिनको धार्मिकतालाई पत्ता लगाउन सक्दैनन्। आफ्नो परीक्षा र सतावटको बेला अय्यूबले मानिसहरूमा छाड्ने आधारभूत छाप भनेकै तिनी गुलामझैँ लुरुक्‍क पर्ने खालको पनि थिएनन् र अहङ्कारी पनि थिएनन् भन्‍ने हो। तिनको हृदयको गहिराइमा देखा परेको व्यवहारपछाडिको कथालाई मानिसहरूले देख्दैनन्, न त उनीहरूले तिनको हृदयमा परमेश्‍वरको डर देख्छन् न त तिनले दुष्टबाट अलग रहने मार्गको सिद्धान्त पालना गरेको नै देख्छन्। तिनको धैर्यताको कारण, मानिसहरूले तिनको सिद्धता र इमानदारिता रित्तो वचनहरू मात्र थिए, परमेश्‍वरप्रतिको तिनको डर अफवाह मात्र थियो भन्‍ने ठान्छन्; यसैबीच, बाहिरी रूपमा तिनले प्रकट गरेको “कमजोरी” ले उनीहरूमा गहिरो प्रभाव पार्छ, जसले उनीहरूलाई त्यस विषयमा “नयाँ दृष्टिकोण” दिन्छ, र परमेश्‍वरले सिद्ध र इमानदार भनी परिभाषित गर्नुहुने यी मानिसप्रति “नयाँ बुझाइ” पनि दिन्छ। अय्यूबले आफ्नो मुख खोलेर आफू जन्मेको दिनलाई सराप्दा, तब यस्तो “नयाँ दृष्टिकोण” र “नयाँ बुझाइ” प्रमाणित हुन्छन्।

तिनले भोग्‍नुपरेको यातनाको स्तर कुनै पनि मानिसका लागि अकल्पनीय र नबुझिने रहेको भए पनि, तिनले कुनै धर्मविरोधी कुराहरू बोलेनन्, बरु आफ्नै तरिकाले आफ्‍नो शरीरको पीडा कम गरे। धर्मशास्‍त्रमा लेखिएझैँ तिनले भने: “म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्” (अय्यूब ३:३)। सायद कसैले पनि यी वचनहरूलाई महत्त्वपूर्ण ठानेको छैन होला, र सायद ती वचनमा ध्यान दिने मानिसहरू पनि छन् होला। तिमीहरूको विचारमा, के ती वचनहरूको अर्थ अय्यूबले परमेश्‍वरको विरोध गरेका हुन् भन्‍ने हो? के ती परमेश्‍वरविरुद्धका गुनासो हुन्? मलाई थाहा छ, तिमीहरूमध्ये धेरै जनामा अय्यूबले बोलेका यी वचनहरूबारे निश्‍चित विचारहरू छन् र तिमीहरूमध्ये धेरै जनाले के विश्‍वास गर्छौ भने, यदि अय्यूब सिद्ध र इमानदार थिए भने तिनले कुनै कमजोरी वा शोक देखाउँदैनथिए, र तिनले शैतानको कुनै पनि आक्रमणलाई सकरात्मक रूपमा सामना गर्नुपर्थ्यो, र शैतानका परीक्षाहरूको सामना गर्दा मुस्कुराउनु समेत पर्थ्यो। शैतानले तिनको शरीरमा ल्याएको कुनै पनि यातनाप्रति तिनले थोरै पनि प्रतिक्रिया दिनु हुँदैनथ्यो, न त तिनले आफ्नो हृदयमा भएको कुनै पनि भावनालाई नै देखाउनु हुन्थ्यो। तिनले परमेश्‍वरलाई ती परीक्षाहरू अझ कठोर बनाउनुहोस् भनेरसमेत अनुरोध गर्नुपर्थ्यो। अटल र परमेश्‍वरसँग साँच्‍चै डराउने र दुष्टताबाट टाढा रहने व्यक्तिले यही कुरा प्रकट गर्नुपर्छ र उसमा यही कुरा हुनुपर्छ। यस चरम यातनाको दौरान, अय्यूबले आफ्नो जन्म दिनलाई सराप्‍नेबाहेक केही पनि गरेनन्। उनले परमेश्‍वरको बारेमा गुनासो गरेनन्, तिनमा परमेश्‍वरको विरोध गर्ने कुनै अभिप्राय हुनु त परै जाओस्। यो गर्नुभन्दा भन्‍नु धेरै सजिलो छ, किनकि प्राचीन समयदेखि आजसम्म कसैले यस्ता परीक्षाहरूको सामना गरेको वा अय्यूबले भोगेका पीडा भोगेको छैन। त्यसो भए किन कसैलाई पनि अय्यूबको जस्तो परीक्षामा पारिएको छैन? किनभने परमेश्‍वर दृष्टिकोणमा, कसैले पनि त्यस्तो जिम्मेवारी वा आदेश लिन सक्दैन, अय्यूबले गरेजस्तै कसैले पनि गर्न सक्दैन, र यसबाहेक, आफूमाथि यातना आइपर्दा अय्यूबले जस्तो कसैले पनि आफ्नो जन्मदिनलाई सराप्‍नेबाहेक परमेश्‍वरको नाउँलाई नत्याग्‍ने बरु यहोवा परमेश्‍वरको नाउँलाई धन्यको भनिरहने कार्य गर्न सक्दैन। कसैले यो गर्न सक्छ? जब हामी अय्यूबको बारेमा यो कुरा भन्छौं, के हामी तिनको व्यवहारको प्रशंसा गरिरहेका हुन्छौं? तिनी एक धर्मी व्यक्ति थिए, र तिनले परमेश्‍वरको निम्ति त्यस्तो गवाही दिन सके, र तिनले शैतानलाई आफ्‍नो हातले टाउको छोपेर भाग्‍ने बनाउन सके, ताकि परमेश्‍वरलाई दोष लगाउन त्यो फेरि कहिल्यै उहाँको सामुन्‍ने नआओस्—त्यसो भए तिनको प्रशंसा गर्नुमा के गलत छ? के तिमीहरूको स्तर परमेश्‍वरको भन्दा उच्‍च भएकोले हुन सक्छ? के तिमीहरूमाथि परीक्षाहरू आउँदा तिमीहरू अय्यूबले भन्दा राम्रो व्यवहार गर्न सक्‍ने भएकोले हुन सक्छ? परमेश्‍वरले अय्यूबको प्रशंसा गर्नुभयो—यसबारेमा तिमीहरूलाई के आपत्ति हुन सक्छ?

अय्यूबले आफ्नो जन्मदिनलाई सराप्छन्, किनकि तिनी आफूबाट परमेश्‍वरलाई कष्ट पुगेको चाहँदैनन्

म बारम्बार भन्छु कि परमेश्‍वरले मानिसको हृदयभित्र हेर्नुहुन्छ, जबकि मानिसहरूले बाहिर हेर्छन्। परमेश्‍वरले मानिसको हृदयभित्र हेर्नुहुने भएकोले, उहाँले तिनीहरूको सार बुझ्नुहुन्छ, जबकि मानिसहरूले अरू मानिसहरूको सार तिनीहरूको बाहिरी कुराको आधारमा परिभाषित गर्छन्। अय्यूबले आफ्नो मुख खोलेर आफू जन्मेको दिनलाई सराप्दा, यस कार्यले अय्यूबका तीन मित्रलगायत सबै आत्मिक व्यक्तिहरूलाई चकित पार्‍यो। मानिस परमेश्‍वरबाट आयो, र उहाँबाट आएको जीवन र देहका साथै आफ्नो जन्मदिनका लागि उहाँप्रति कृतज्ञ हुनुपर्छ, र उसले ती कुरालाई सराप्‍नु हुँदैन। यो साधारण मानिसहरूले बुझ्‍न र विचार गर्न सक्‍ने कुरा हो। परमेश्‍वरलाई पछ्याउने जोकोहीको लागि, यो बुझाइ पवित्र र अनुल्लङ्घनीय छ, र यो कहिल्यै परिवर्तन हुन नसक्‍ने सत्यता हो। तर अय्यूबले भने नियमहरू तोडे: तिनले आफ्नो जन्मदिनलाई सरापे। यसलाई साधारण मानिसहरूले निषेधित क्षेत्र पार गर्ने कार्य मान्छन्। अय्यूब मानिसहरूको बुझाइ र सहानुभूतिको हकदार नरहेको मात्र नभई परमेश्‍वरको क्षमाको पनि हकदार छैनन्। यसको साथै, अझ धेरै मानिसहरू अय्यूबको धार्मिकताप्रति शङ्कालु बन्छन्, किनकि अय्यूबलाई तिनीमाथि परमेश्‍वरले देखाउनुभएको कृपाले आफैप्रति लिप्त बनाएको थियो भन्‍ने देखिन्छ; यसले तिनलाई यति दुस्साहसी र लापरवाह बनायो कि तिनले आफ्नो जीवनकालमा आफूलाई आशिष् दिने र हेरचाह गर्नुहुने परमेश्‍वरलाई धन्यवाद नदिएका मात्र नभई आफ्नो जन्मदिनलाई समेत नाश होस् भनी धिक्‍कारे। यदि यो परमेश्‍वरको विरोध होइन भने, के हो त? त्यस्तो सतहीपनले मानिसहरूलाई अय्यूबको यस कार्यको भर्त्सना गर्ने प्रमाण प्रदान गर्छ, तर त्यसबेला अय्यूबले साँच्‍चै के सोचिरहेका थिए भनेर कसले थाहा पाउन सक्छ? अय्यूबले किन त्यस्तो व्यवहार गरे भनेर कसले जान्‍न सक्छ? केवल परमेश्‍वर र अय्यूबलाई मात्र यसको भित्री कथा र कारणहरू थाहा छ।

जब शैतानले अय्यूबका हाडहरूमा पीडा दिन आफ्नो हात फैलायो, अय्यूब यसको पकडमा परे र तिनीसँग उम्कने कुनै साधन वा प्रतिरोध गर्ने बल थिएन। तिनको शरीर र प्राणले ठूलो पीडा भोग्‍नुपरेको थियो र यस पीडाले तिनलाई देहमा जिउने मानवको तुच्छता, कमजोरी र शक्तिहीनताको गहन चेतना दिलायो। साथै, परमेश्‍वरले किन मानवजातिको वास्ता गर्न र उसलाई हेरचाह गर्न ध्यान दिनुहुन्छ भन्‍ने कुराको पनि तिनले गहन बोध र समझ प्राप्त गरे। शैतानको पकडमा हुँदा, अय्यूबले देह एवं रगतको मानिस वास्तवमै अति शक्तिहीन र कमजोर छ भन्‍ने महसुस गरे। जब तिनले घुँडा टेके र परमेश्‍वरलाई प्रार्थना गरे, परमेश्‍वरले आफ्नो अनुहार छोप्दै र लुक्दै हुनुहुन्छ जस्तो तिनले महसुस गरे, किनकि परमेश्‍वरले तिनलाई पूर्ण रूपमा शैतानको हातमा सुम्पिदिनुभएको थियो। त्यही समयमा, परमेश्‍वर पनि तिनको निम्ति विलाप गर्नुभयो, साथसाथै तिनको लागि दुःखी पनि हुनुभयो; परमेश्‍वर तिनको पीडाद्वारा पीडित हुनुभयो, र तिनको चोटद्वारा चोट सहनुभयो…। अय्यूबले परमेश्‍वरको पीडा महसुस गरे, साथसाथै यो परमेश्‍वरका लागि कति धेरै असहनीय थियो भनेर पनि महसुस गरे…। अय्यूबले परमेश्‍वरमा कुनै शोक ल्याउन चाहेनन्, न त तिनी परमेश्‍वरले तिनको लागि बिलौना गर्नुभएको नै चाहन्थे, आफूद्वारा परमेश्‍वरलाई पीडा पुगेको तिनले हेर्न चाहने कुरा त परै जाओस्। यस समयमा, देहले आफूमाथि ल्याएको पीडा अबदेखि सहन नपरोस् भनेर अय्यूबले आफ्नो शरीरबाट आफूलाई अलग पार्न मात्र खोजेका थिए, किनकि यसो गर्दा तिनको पीडाले पनि परमेश्‍वरलाई पीडा दिन छोड्थ्यो—तर तिनले त्यसो गर्न सकेनन्, र तिनले देहको पीडा मात्र नभई परमेश्‍वरलाई चिन्तित नतुल्याउन चाहेको कष्ट पनि सहनुपर्‍यो। एउटा शरीरबाट आएको र अर्को आत्माबाट आएको यी दुई पीडाहरूले अय्यूबलाई हृदयविदारक, कलेजो चिर्ने पीडा दियो, र देह एवं रगतले बनेको मानिसका सीमितताहरूले कसरी उसलाई निराश र असहाय महसुस गराउन सक्छ भन्‍ने महसुस गरायो। यस्तो परिस्थितिमा परमेश्‍वरप्रतिको तिनको चाहना झनै उत्कट र शैतानप्रतिको तिनको घृणा झनै तीव्र हुँदै गयो। यस समयमा, अय्यूबले उनको खातिर परमेश्‍वरले आँशु झार्नुभएको वा पीडा भोग्‍नुभएको देख्‍नुभन्दा आफू मानव संसारमा कहिल्यै नजन्मेको भए, र तिनी अस्तित्वमा नभएको भए हुनेथ्यो भन्‍ने कामना गरे। तिनले आफ्नो शरीरलाई गहन रूपमा घृणा गर्न थाले, आफू जन्मेको दिन, र आफूसँग जोडिएका सबै थोकका लागि समेत तिनले दिक्‍क र थकित महसुस गर्न थाले। तिनी आफू जन्मेको दिन वा त्यससँग सम्‍बन्धित कुनै पनि कुरा सुन्‍न चाहँदैनथे, त्यसैले तिनले आफ्नो मुख खोले र आफ्नो जन्म दिनलाई सरापे: “म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्। त्यो दिन अन्धकार होस्; यसलाई परमेश्‍वरले माथिबाट वास्ता नगर्नुभएको होस्, न त त्यसमाथि ज्योति नै चम्कियोस्” (अय्यूब ३:३-४)। अय्यूबका वचनहरूले उनी आफैप्रतिको तिनको घृणालाई प्रस्तुत गर्छन्, “म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्,” साथै तिनले आफैप्रति अनुभव गरेको दोषलाई र परमेश्‍वरलाई पीडा दिएकोमा तिनी ऋणी भएको महसुस गरेको कुरालाई पनि यसले बताउँछ। “त्यो दिन अन्धकार होस्; यसलाई परमेश्‍वरले माथिबाट वास्ता नगर्नुभएको होस्, न त त्यसमाथि ज्योति नै चम्कियोस्।” यी दुई खण्डहरू अय्यूबलाई त्यो बेला कस्तो अनुभूति भएको थियो भन्‍ने कुराको चरम अभिव्यक्ति हुन्, र सबैको निम्ति यसले तिनको सिद्धता र इमानदारितालाई प्रदर्शन गर्छ। यसैबीच, अय्यूबले चाहेजस्तै, परमेश्‍वरप्रतिको तिनको विश्‍वास र आज्ञाकारिता र परमेश्‍वरप्रतिको डर साँच्‍चै उच्‍च भएका थिए। अवश्य नै, परमेश्‍वरले अपेक्षा गर्नुभएको उत्थान यही थियो।

अय्यूबले शैतानलाई पराजित गर्छन् र परमेश्‍वरको नजरमा साँचो मानिस बन्छन्

जब अय्यूबले पहिलोपल्ट आफ्‍ना परीक्षाहरू भोगेका थिए, तब तिनीबाट तिनका सबै सम्पत्ति र सबै छोराछोरी खोसियो, तर त्यसको परिणामस्वरूप तिनी पछारिएनन् वा परमेश्‍वरको विरुद्धमा बोलेर कुनै पाप गरेनन्। तिनले शैतानका परीक्षाहरूलाई जितेका थिए, र तिनले आफ्नो भौतिक सम्पत्ति, सन्तान र सबै सांसारिक सम्पत्ति गुमाउने जाँचहरूमा विजय हासिल गरेका थिए, जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीबाट सबै थोक लैजानुहुँदा तिनले उहाँको आज्ञापालन गर्न सके, र परमेश्‍वरले गर्नुभएका कार्यका निम्ति तिनले परमेश्‍वरलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि सके। शैतानको पहिलो परीक्षाको समयमा अय्यूबको आचरण यही थियो, र परमेश्‍वरको पहिलो जाँचको समयमा अय्यूबको गवाही पनि यही थियो। दोस्रो जाँचको अवधिमा शैतानले अय्यूबलाई कष्ट दिन आफ्नो हात फैलायो र अय्यूबले पहिला कहिल्यै अनुभव नगरेको पीडा भोग्‍नु परेको भए तापनि, तिनको गवाही फेरि पनि मानिसहरूलाई छक्‍क पार्न काफी थियो। तिनले फेरि एकपटक शैतानलाई पराजित गर्न आफ्नो धैर्यता, दृढ विश्‍वास र परमेश्‍वरप्रतिको आज्ञाकारिताको साथसाथै परमेश्‍वरप्रतिको आफ्नो भयको प्रयोग गरे, र परमेश्‍वरले तिनको आचरण र गवाहीलाई फेरि एकपटक स्वीकार र समर्थन गर्नुभयो। यो परीक्षामा पर्दा, अय्यूबले आफ्नो वास्तविक आचरणको प्रयोग गरेर, देहको पीडाले परमेश्‍वरप्रतिको तिनको विश्‍वास र आज्ञापालनलाई परिवर्तन गर्न वा परमेश्‍वरप्रतिको तिनको भक्ति र परमेश्‍वरको डर मान्‍ने हृदयलाई हटाउन सक्दैन भनी शैतानसामु घोषणा गरे; मृत्युको सामना गर्दा तिनले परमेश्‍वरलाई वा आफ्नो सिद्धता र इमानदारितालाई त्याग्‍नेवाला थिएनन्। अय्यूबको दृढ सङ्कल्पले शैतानलाई डरपोक बनायो, तिनको विश्‍वासले शैतानलाई काँतर र थुरथुर बनायो, उनले जुन तीव्रतासाथ शैतानविरुद्ध जीवनमृत्युको युद्ध लडे त्यसले शैतानमा गहिरो घृणा र आक्रोश उत्पन्‍न गरायो; तिनको सिद्धता र इमानदारिताले शैतानलाई तिनको विरुद्ध केही गर्न नसक्‍ने अवस्थामा छोड्यो, यहाँसम्‍म कि शैतानले तिनीमाथि आक्रमण गर्न छोडिदियो र यहोवा परमेश्‍वरसामु अय्यूबविरुद्ध आफूले लगाएको आरोपलाई त्याग्यो। यसको अर्थ अय्यूबले संसारलाई जितेका थिए, तिनले देहलाई जितेका थिए, तिनले शैतानलाई जितेका थिए, र तिनले मृत्युलाई पनि जितेका थिए; तिनी पूर्ण र समग्र रूपमा परमेश्‍वरको मानिस थिए। यी दुई परीक्षाको अवधिमा अय्यूब आफ्नो गवाहीमा अडिग थिए, तिनले वास्तवमा आफ्नो सिद्धता र इमानदारितामा जिए, र परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग बस्‍नेसम्‍बन्धी आफ्नो जीवनका सिद्धान्तहरूको दायरा फराकिलो बनाए। यी दुई परीक्षाहरू भोगिसकेपछि, अय्यूबमा एक समृद्ध अनुभवको जन्म भयो, र यो अनुभवले तिनलाई अझ परिपक्‍व र अनुभवी बनायो, यसले तिनलाई अझ बलियो र अझ ठूलो दृढ विश्‍वास भएको व्यक्ति बनायो, र यसले तिनलाई आफूले दह्रिलो गरी पक्रिराखेको सत्यनिष्ठाको सहीपन र सुयोग्यताप्रति अझ बढी विश्‍वस्त बनायो। यहोवा परमेश्‍वरले गर्नुभएको अय्यूबको जाँचले तिनलाई मानिसप्रतिको परमेश्‍वरको चिन्ताको गहिरो बुझाइ र अनुभूति प्रदान गर्‍यो, र परमेश्‍वरको प्रेमको अनमोलता महसुस गरायो, र यसपछि परमेश्‍वरप्रतिको तिनको डरमा परमेश्‍वरप्रतिको गहिरो वास्ता र प्रेम थपियो। यहोवा परमेश्‍वरले गर्नुभएको जाँचले अय्यूबलाई उहाँबाट अलग गर्नुको साटो तिनको हृदयलाई परमेश्‍वरको अझ नजिक बनायो। अय्यूबले भोगेको दैहिक पीडा चरम सीमामा पुगेपछि, तिनको बारेमा यहोवा परमेश्‍वरले गर्नुभएको चिन्ताको कारण तिनले आफ्नो जन्मदिनलाई सराप्‍नुबाहेक तिनीसँग अरू कुनै विकल्प थिएन। यस्तो आचरण धेरै पहिले योजना गरिएको थिएन, बरु तिनले आफ्नो हृदयमा परमेश्‍वरप्रति गरेको प्रेम र वास्ताको कारण प्राकृतिक रूपमा प्रकट भएको कुरा थियो, यो परमेश्‍वरप्रतिको तिनको वास्ता र प्रेमको प्राकृतिक प्रकटीकरण थियो। भन्‍नुको अर्थ, तिनले आफैलाई घृणा गर्थे, र तिनी परमेश्‍वरलाई यातना दिन इच्छुक थिएनन्, र यातना दिन पनि सक्दैनथे, त्यसैले तिनको वास्ता र प्रेम निःस्वार्थताको चरम सीमामा पुगेको थियो। यस समयमा, अय्यूबले आफ्नो लामो समयदेखिको परमेश्‍वरप्रतिको आदर र तिर्सना, अनि परमेश्‍वरप्रतिको भक्तिलाई परमेश्‍वरप्रतिको वास्ता र प्रेमको स्तरमा पुर्‍याए। साथै, तिनले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र आज्ञाकारिता र परमेश्‍वरप्रतिको भयलाई पनि वास्ता र प्रेमको स्तरसम्म पुर्‍याए। तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने केही पनि गरेनन्, तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गरेनन्, र तिनले आफ्नै कारणले गर्दा परमेश्‍वरमा कुनै दुःख, शोक वा बेखुसी ल्याएनन्। परमेश्‍वरको नजरमा, अय्यूब पहिलेको अय्यूबजस्तै रहेका भए तापनि, अय्यूबको विश्‍वास, आज्ञाकारिता र परमेश्‍वरप्रतिको भयले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द दियो। यस समयमा, परमेश्‍वरले अपेक्षा गर्नुभएको सिद्धतालाई अय्यूबले प्राप्त गरेका थिए; तिनी वास्तवमै परमेश्‍वरको नजरमा “सिद्ध र सोझो” व्यक्ति भनी बोलाउन योग्य मानिस बनेका थिए। तिनको धर्मी कामले तिनलाई शैतानमाथि विजय प्राप्त गर्न र परमेश्‍वरप्रतिको आफ्‍नो गवाहीमा दृढ रहने तुल्यायो। त्यसै गरी, तिनको धर्मी कामले तिनलाई सिद्ध पनि बनायो, र तिनको जीवनको मूल्यलाई पहिलेको भन्दा उच्‍च र सबैभन्दा अगाडि बनायो, र ती कुराहरूले तिनलाई शैतानले अबउप्रान्त आक्रमण गर्न वा परीक्षामा पार्न नसक्‍ने पहिलो व्यक्ति पनि बनायो। अय्यूब धर्मी भएका हुनाले, तिनलाई शैतानले दोष लगायो र परीक्षामा पार्‍यो; अय्यूब धर्मी भएका हुनाले नै, तिनलाई शैतानको हातमा सुम्पिइयो; अनि अय्यूब धर्मी भएका हुनाले नै, तिनले शैतानलाई जिते र हराए, र आफ्नो गवाहीमा दृढ रहे। त्यसउप्रान्त अय्यूब फेरि कहिल्यै शैतानको हातमा नपर्ने पहिलो मानिस बने, र तिनी वास्तवमै परमेश्‍वरको सिंहासनको अगाडि आए, र शैतानको जासुसी वा विनाशविनाको अवस्थामा परमेश्‍वरको आशिष्‌मुनि ज्योतिमा बाँचे…। तिनी परमेश्‍वरको नजरमा एक साँचो मानिस बनेका थिए। तिनी स्वतन्त्र भएका थिए …

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) (भाग १)

१. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब २:३ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध...

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध

अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो थिए र तिनी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भनी बुझ्‍ने भए पनि, यस्तो कुराको पहिचानले...

अय्यूबको विषयमा

अय्यूबले कसरी परीक्षाहरूको सामना गरे भन्‍ने कुराको बारेमा जानिसकेपछि, तिमीहरूमध्ये धेरैले अय्यूबको बारेमा अझ बढी जान्‍न चाहनेछौ, विशेष गरी...

परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन

अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्