आफ्नो परीक्षापछि अय्यूब
अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध तँ र तेरा मित्रहरूको विरुद्ध दन्केको छ: किनभने मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरोबारे ठीक कुरा बोलेका छैनौ। यसकारण, अहिले नै आफूसँग दश वटा साँढे र सात वटा भेडाहरू लैजाओ, र मेरो सेवक अय्यूबकहाँ जाओ, आफ्नो निम्ति होम बलि चढाऊ, र मेरो सेवक अय्यूबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछ: किनभने म त्यसलाई ग्रहण गर्नेछु: नत्र तिमीहरूले मेरो सेवक अय्यूबले जस्तै मेरो बारेमा ठीक नबोलेकोमा म तिमीहरूसँग तिमीहरूको मूर्खताअनुसार व्यवहार गर्छु। त्यसैले एलीपज तेमानी, बिल्दाद शुही र सोपर नमाती गए र यहोवाले आज्ञा गरेबमोजिम गरे: यहोवाले अय्यूबलाई पनि ग्रहण गर्नुभयो।
अय्यूब ४२:१० अनि अय्यूबले आफ्ना मित्रहरूको निम्ति प्रार्थना गरेपछि यहोवाले तिनलाई बन्धनमुक्त गराउनुभयो: यहोवाले अय्यूबलाई पहिले तिनीसँग भएको भन्दा दुई गुणा बढी दिनुभयो।
अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको पछिल्लो समयलाई तिनको सुरुको समयभन्दा बढी आशिष् दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधा थिए।
अय्यूब ४२:१७ यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे।
परमेश्वरसित डराउने र खराबीबाट अलग बस्नेहरूलाई परमेश्वरले कदरको साथ हेर्नुहुन्छ, अनि मूर्खहरूलाई परमेश्वरले तुच्छ व्यक्तिको रूपमा हेर्नुहुन्छ
अय्यूब ४२:७-९ मा, परमेश्वरले अय्यूब उहाँको दास हो भनी भन्नुभएको छ। अय्यूबलाई उल्लेख गर्न उहाँले “दास” भन्ने शब्दको प्रयोग गर्नुभएको तथ्यले, उहाँको हृदयमा रहेको अय्यूबको महत्त्वलाई दर्साउँछ; परमेश्वरले अय्यूबलाई कुनै सम्मानजनक नामले नबोलाउनुभएको भए पनि, यो पदवी नामले परमेश्वरको हृदयभित्र रहेको अय्यूबको महत्त्वमा कुनै असर पारेको थिएन। यहाँ “दास” भन्ने शब्द परमेश्वरले अय्यूबलाई दिनुभएको उपनाम हो। “मेरो दास अय्यूब” भनी परमेश्वरले धेरै पटक उल्लेख गर्नुभएको तथ्यले, अय्यूबसँग उहाँ कति धेरै प्रसन्न हुनुहुन्थ्यो भन्ने देखाउँदछ, र परमेश्वरले “दास” भन्ने शब्द पछाडिको अर्थको कुरा नगर्नुभएको भए पनि, “दास” भन्ने शब्दको परिभाषालाई धर्मशास्त्रको यस खण्डको उहाँका वचनहरूबाट देख्न सकिन्छ। एलीपज तेमानीको बारेमा परमेश्वरले सर्वप्रथम यसो भन्नुभयो: “मेरो क्रोध तँ र तेरा मित्रहरूको विरुद्ध दन्केको छ: किनभने मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरोबारे ठीक कुरा बोलेका छैनौ।” यी वचनहरू अय्यूबको जाँच गर्नुभएपछि तिनले भनेका र गरेका सबै कुरा सही र सत्य हुन भनी परमेश्वरले स्वीकार गर्नुभएको छ भनी मानिसहरूलाई खुला रूपमा बताउनुभएको यो पहिलो पटक हो, र अय्यूबले गरेका र भनेका सबै कुराको सटीकता र सहिपनलाई उहाँले खुला रूपमा पुष्टि गर्नुभएको यो पहिलो पटक हो। परमेश्वर एलीपज र अरूसँग तिनीहरूका गलत र अनुचित कुराहरूको कारण रिसाउनु भएको थियो, किनकि अय्यूबले जस्तै उनीहरूले परमेश्वरको उपस्थिति देख्न सकेका थिएनन् वा उहाँले उनीहरूको जीवनमा बोल्नुभएका वचनहरू सुन्न सकेका थिएनन्, तापनि अय्यूबसँग त्यस्तो परमेश्वरबारे सही ज्ञान थियो, तिनीहरूले भने परमेश्वरको बारेमा अन्धाधुन्ध अनुमान मात्र गर्न सक्थे, यस क्रममा तिनीहरूले गर्ने सबै कुरामा परमेश्वरको इच्छाको उल्लङ्घन गर्थे र उहाँको धैर्यको जाँच गर्थे। फलस्वरूप, अय्यूबले गरेका र भनेका सबै कुरालाई स्वीकार गर्दै परमेश्वर अरूप्रति क्रोधित हुनुभयो, किनकि उनीहरूमा वास्तविक रूपमा उहाँले परमेश्वरको कुनै डर देख्न नसक्नुभएको मात्र होइन, तर तिनीहरूले भनेका कुराहरूमा पनि परमेश्वरको कुनै डर सुन्नुभएन। त्यसकारण परमेश्वरले उनीहरूलाई निम्न कुराको माग गर्नुभयो: “यसकारण, अहिले नै आफूसँग दश वटा साँढे र सात वटा भेडाहरू लैजाओ, र मेरो सेवक अय्यूबकहाँ जाओ, आफ्नो निम्ति होम बलि चढाऊ, र मेरो सेवक अय्यूबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछ: किनभने म त्यसलाई ग्रहण गर्नेछु: नत्र तिमीहरूले मेरो सेवक अय्यूबले जस्तै मेरो बारेमा ठीक नबोलेकोमा म तिमीहरूसँग तिमीहरूको मूर्खताअनुसार व्यवहार गर्छु।” यस खण्डमा परमेश्वरले एलीपज र अरूलाई उनीहरूका पापहरूबाट छुटकारा गराउने केही कुरा गर्न भन्दैहुनुहुन्छ, किनकि उनीहरूको मूर्खता यहोवा परमेश्वरको विरुद्धमा पाप थियो र यसरी उनीहरूले आफ्ना गल्तीहरूको समाधान गर्न होमबलि चढाउनु पर्नेथियो। होमबलिहरू प्रायजसो परमेश्वरलाई नै चढाइन्थ्यो, तर यी होमबलिहरूको अनौठो कुरा के थियो भने त्यो अय्यूबलाई चढाउनु पर्नेथियो। अय्यूबलाई परमेश्वरले स्विकार्नुभयो, किनकि तिनले आफ्नो परीक्षाको बेलामा परमेश्वरको गवाही दिएका थिए। यसै बीच, अय्यूबका यी साथीहरू, तिनको जाँचको समयमा प्रकट गरिए, उनीहरूको मूर्खताको कारण उनीहरू परमेश्वरद्वारा दण्डित भए र उनीहरूले परमेश्वरको क्रोधलाई उक्साए, र परमेश्वरले दण्ड दिनुपर्यो—अय्यूबको सामु होमबलि चढाउन लगाई दण्ड दिनुपर्थ्यो—त्यसपछि अय्यूबले उनीहरूप्रतिको परमेश्वरको दण्ड र क्रोध हटाउनका निम्ति प्रार्थना गरे। परमेश्वरको उद्देश्य उनीहरूलाई सर्ममा पार्ने थियो, किनकि उनीहरू परमेश्वरको भय मान्ने र खराबीबाट अलग बस्ने मानिसहरू थिएनन् र उनीहरूले अय्यूबको निष्ठाको निन्दा गरेका थिए। एकातिर, परमेश्वरले उनीहरूलाई उहाँले उनीहरूका कार्यहरू स्वीकार गर्नुहुन्न, तर अय्यूबलाई महान् रूपमा स्वीकार गर्नुहुन्छ र तिनमा आनन्दित हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो; अर्कोतिर, परमेश्वरले उनीहरूलाई यो भन्दै हुनुहुन्थ्यो, कि परमेश्वरद्वारा स्वीकार भएमा यसले मानिसलाई परमेश्वरको सामु उच्च पार्छ, मानिसलाई उसको मूर्खताका कारण परमेश्वरले घृणा गर्नुहुन्छ, र त्यसले परमेश्वरलाई चिढ्याउँछ, र परमेश्वरको नजरमा त्यो व्यक्ति तुच्छ र घृणित हुन्छ। परमेश्वरले दुई प्रकारका मानिसको बारेमा दिनुभएका परिभाषाहरू यिनै हुन्, यी दुई प्रकारका मानिसहरूप्रतिको परमेश्वरको आचरण यिनै हुन्, र परमेश्वरले यी दुई प्रकारका मानिसको बारेमा बताउनुभएको मूल्य र स्थिति यिनै हो। परमेश्वरले अय्यूबलाई उहाँको दास भनेर बोलाउनुभएको भए पनि, उहाँको नजरमा यो दास प्रिय थियो, र तिनलाई अरूका निम्ति प्रार्थना गर्ने र उनीहरूका गल्तीहरू क्षमा गर्ने अधिकार दिइएको थियो। यो दासले परमेश्वरसँग सिधा कुरा गर्नसक्थे र परमेश्वरको सामु सीधै आउन सक्थे, र तिनको प्रतिष्ठा अरूको भन्दा उच्च र सम्मानजनक थियो। परमेश्वरले भन्नुभएको “दास” शब्दको वास्तविक अर्थ यही नै हो। अय्यूबले परमेश्वरको भय मानेकाले र खराबीबाट अलग बसेकाले तिनलाई यो विशेष सम्मान दिइएको थियो, र अरूले परमेश्वरको डर मान्ने र तिनीहरू दुष्टताबाट अलग नबस्ने भएकाले परमेश्वरले अरूलाई दास भनी बोलाउनुभएन परमेश्वरको यो अति नै फरक व्यवहारहरू दुई थरीका मानिसहरूप्रतिका उहाँका आचरण हुन्: जसले परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ उनीहरूलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ र उहाँको नजरमा बहुमूल्य ठान्नुहुन्छ, अर्कोतिर परमेश्वरको भय नमान्ने र खराबीबाट अलग बस्न नसक्ने मूर्खहरूले परमेश्वरको कृपा प्राप्त गर्न सक्दैनन्; परमेश्वरले तिनीहरूलाई प्राय घृणा र निन्दा गर्नुहुन्छ, र तिनीहरू परमेश्वरको नजरमा तुच्छ हुन्छन्।
परमेश्वरले अय्यूबलाई अधिकार प्रदान गर्नुहुन्छ
अय्यूबले आफ्ना साथीहरूका लागि प्रार्थना गरे, र पछि, अय्यूबको प्रार्थनाको कारण, परमेश्वरले उनीहरूसँग उनीहरूको मूर्खताअनुसार व्यवहार गर्नुभएन—उहाँले उनीहरूलाई कुनै दण्ड दिनुभएन वा उनीहरूको कुनै प्रतिकार गर्नुभएन। त्यस्तो किन भयो? किनकि परमेश्वरका दास अय्यूबले उनीहरूका लागि गरेका प्रार्थनाहरू उहाँको कानमा पुगेका थिए; परमेश्वरले उनीहरूलाई क्षमा दिनुभयो, किनकि उहाँले अय्यूबका प्रार्थनाहरू स्वीकार गर्नुभयो। त्यसो भए, हामी यसमा के देख्छौं? जब परमेश्वरले कसैलाई आशिष् दिनुहुन्छ, उहाँले तिनीहरूलाई केवल भौतिक थोकहरू मात्र होइन तर धेरै इनामहरू दिनुहुन्छ: परमेश्वरले तिनीहरूलाई अधिकार पनि दिनुहुन्छ, अरूका लागि प्रार्थना गर्ने अधिकार दिनुहुन्छ, र परमेश्वरले ती व्यक्तिहरूका अपराधहरू भुलिदिनुहुन्छ र ती वास्ता गर्नुहुन्न, किनभने उहाँले यी प्रार्थनाहरू सुन्नुहुन्छ। परमेश्वरले अय्यूबलाई यही अधिकार दिनुभयो। अय्यूबको प्रार्थनाद्वारा उनीहरूको निन्दा रोक्न यहोवा परमेश्वरले ती मूर्ख मानिसहरूलाई सर्ममा पार्नुभयो—जुन अवश्य पनि, एलीपज र अरूका लागि उहाँको विशेष दण्ड थियो।
अय्यूबले फेरि एकपल्ट परमेश्वरबाट आशिष् पाउँछन्, र शैतानले फेरि कहिल्यै तिनीमाथि आरोप लगाएन
यहोवा परमेश्वरका वाणीहरूमध्ये “मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरोबारे ठीक कुरा बोलेका छैनौ।” भन्ने वचनहरू पनि छन्। अय्यूबले भनेका कुरा के थियो? यसबारे हामीले पहिलेबाटै कुरा गरेका थियौं, साथै अय्यूबको पुस्तकमा धेरै पृष्ठका वचनहरूमा अय्यूबले बोलेका कुराहरूका रूपमा यिनलाई उल्लेख गरिएका छन्। यी सबै धेरै पृष्ठका वचनहरूमा, अय्यूबले एकै पटक पनि परमेश्वरको बारेमा कुनै गुनासो वा शङ्काहरू गरेनन्। तिनी केवल परिणाम पर्खन्छन्। यो पर्खाइ, नै तिनको आज्ञाकारिताको आचरण थियो, र यसको फलस्वरूप, र तिनले परमेश्वरलाई भनेका वचनहरूको फलस्वरूप, अय्यूब परमेश्वरद्वारा स्वीकार गरिए। जब तिनले जाँचहरू सहे र कठिनाइ भोगे, परमेश्वर तिनको साथमा हुनुभयो, र परमेश्वरको उपस्थितिले तिनको कठिनाइ कम नभएको भए पनि, परमेश्वरले जे देख्ने इच्छा गर्नुभएको थियो त्यो देख्नुभयो र उहाँले सुन्ने इच्छा गर्नुभएको कुरा सुन्नुभयो। अय्यूबको प्रत्येक शब्द र कामहरू परमेश्वरको आँखा र कानमा पुगे; परमेश्वरले सुन्नुभयो, र उहाँले देख्नुभयो—यो तथ्य हो। परमेश्वर सम्बन्धी अय्यूबको ज्ञान, र त्यस बेला, त्यस समय अवधिमा तिनको हृदयमा परमेश्वरको बारेमा रहेका तिनका विचारहरू, वास्तवमा आजका मानिसहरूको जस्तो सुस्पष्ट थिएन, तर त्यस समयको सन्दर्भमा, परमेश्वरले अझै पनि तिनले भनेका सबै कुरालाई मान्यता दिनुभयो, किनकि तिनको आचरण र तिनको हृदयमा रहेका विचारहरू, साथै तिनले व्यक्त र प्रकट गरेका कुराहरू उहाँका मापदण्डहरूका लागि पर्याप्त थिए। अय्यूब परीक्षामा परेका बेला, तिनले आफ्नो हृदयमा सोचेका र गर्ने संकल्प गरेका कुराले परमेश्वरलाई एउटा परिणाम देखायो, जुन परमेश्वरको लागि सन्तोष-जनक थियो, र त्यसपछि परमेश्वरले अय्यूबको परीक्षा हटाउनुभयो भने, अय्यूब तिनका समस्याहरूबाट मुक्त भए, र तिनका जाँचहरू हटे र ती फेरि तिनीमाथि आइलागेनन्। अय्यूब पहिले नै जाँचहरूमा परेका थिए र ती जाँचहरूको बेला तिनी दृढ भएर खडा भएका थिए, र शैतानमाथि पूर्ण विजयी भएका थिए, यसैले परमेश्वरले तिनलाई आशिष्हरू दिनुभयो जुन पाउन तिनी योग्यका थिए। अय्यूब ४२:१०, १२ मा उल्लेख गरिए अनुसार, अय्यूबलाई फेरि एकचोटि आशिष् दिइयो र तिनले पहिलेको भन्दा बढी आशिष् पाए। यस समयमा शैतान पछि हटेको थियो, र केही पनि भनेन वा गरेन, र त्यस बेलादेखि उसो अय्यूबलाई शैतानले अब कुनै हस्तक्षेप वा आक्रमण गरेन, र अय्यूबले परमेश्वरबाट पाएका आशिषहरूका विरुद्ध शैतानले अब कुनै आरोप लगाएन।
अय्यूबले आफ्नो जीवनको पछिल्लो आधा भागको समय परमेश्वरका आशिषहरूमा बिताउँछन्
त्यस बेला परमेश्वरका आशिषहरू केवल भेडा, गाईवस्तु, ऊँट, भौतिक सम्पत्ति आदिमा मात्र सीमित रहेको भए पनि, उहाँले आफ्नो हृदयमा अय्यूबलाई दिन चाहनुभएका आशिषहरू तीभन्दा बढी थिए। त्यस बेला, के परमेश्वरले अय्यूबलाई दिन चाहनुभएका अनन्त प्रतिज्ञाहरू उल्लेख गरिएका थिए? परमेश्वरले अय्यूबलाई दिनुभएका आशिषहरूमा, उहाँले तिनको अन्त्यको बारेमा चर्चा गर्नुभएन वा त्यसको बारेमा कुरा उठाउनुभएन, र परमेश्वरको हृदयमा अय्यूबले जुन महत्त्व वा स्थान ओगटेका भए पनि सारांशमा भन्नुपर्दा परमेश्वर उहाँका आशिषहरूमा अत्यन्तै होसियार हुनुभएको थियो। परमेश्वरले अय्यूबको अन्त्यको घोषणा गर्नुभएन। यसको अर्थ के हो? त्यस बेला, जब परमेश्वरको योजना मानिसको अन्त्यको घोषणा गर्ने स्थितिमा पुग्न बाँकी नै थियो, त्यो योजना अझै उहाँको कामको अन्तिम चरणमा प्रवेश गर्न बाँकी थियो, परमेश्वरले मानिसलाई भौतिक आशिषहरू मात्र प्रदान गर्दै अन्त्यको कुनै उल्लेख गर्नुभएन। यसको अर्थ यही हो कि, अय्यूबको जीवनको पछिल्लो आधा भाग परमेश्वरका आशिषहरूको बीचमा बितेको थियो, जुन कुराले तिनलाई अरू मानिसहरू भन्दा फरक बनायो—तर तिनीहरू झैं तिनी बुढा भए, र कुनै पनि सामान्य मानिसको जस्तै तिनले संसारबाट बिदा लिने दिन आयो। यसैले यो उल्लेख गरिएको छ कि “यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे” (अय्यूब ४२:१७)। यहाँ “पूरा बुढेसकालमा दीर्घायु भएर मरे” भनेको अर्थ के हो? परमेश्वरले मानिसहरूको अन्त्यको घोषणा गर्नुभन्दा अघिको युगमा, परमेश्वरले अय्यूबका लागि जीवनको आयु निर्धारित गर्नुभयो, र जब त्यो उमेर पुग्यो तब उहाँले अय्यूबलाई यस संसारबाट स्वाभाविक रूपमा बिदा हुने अनुमति दिनुभयो। अय्यूबले दोस्रो आशिष पाएकादेखि तिनको मृत्युसम्म परमेश्वरले कुनै कठिनाइ थप्नुभएन। परमेश्वरका लागि, अय्यूबको मृत्यु स्वाभाविक थियो, र आवश्यक पनि थियो; त्यो अति सामान्य कुरा थियो, र न न्याय थियो, न त दण्ड नै थियो। अय्यूबले आफू जीवित छँदा परमेश्वरको आराधना गरे अनि उहाँको भय माने; तिनको मृत्युपछि कस्तो प्रकारको अन्त्य भयो भन्ने सम्बन्धमा, परमेश्वरले केही पनि भन्नुभएन, न त यसबारे कुनै टिप्पणी गर्नुभयो। परमेश्वरसित आफूले भन्ने र गर्ने कुरामा गहन औचित्यको भाव हुन्छ, र उहाँको वचनहरूका विषयवस्तु र सिद्धान्तहरू उहाँको कामको चरण र उहाँले काम गरिरहनुभएको युग अनुरूप हुन्छ। अय्यूबजस्तो कुनै व्यक्तिको निम्ति परमेश्वरको हृदयमा कस्तो किसिमको अन्त्य हुन्थ्यो? के परमेश्वरले आफ्नो हृदयमा कुनै पनि प्रकारको निर्णय गर्नुभएको थियो? अवश्य पनि उहाँले गर्नुभएको थियो! यति हो कि यो मानिसको निम्ति अज्ञात थियो; परमेश्वरले त्यो कुरा मानिसलाई बताउन चाहनुभएन, न त मानिसलाई त्यो बताउने उहाँको कुनै अभिप्राय थियो। यसरी सतही रूपमा भन्नुपर्दा, अय्यूब पूरा बुढेसकालमा दीर्घायु भएर मरे, र अय्यूबको जीवन यस्तो थियो।
अय्यूबले आफ्नो जीवनकालमा जिएको मूल्य
के अय्यूबले मूल्यवान् जीवन जिए? मूल्य कहाँ थियो? किन तिनले मूल्यवान् जीवन बिताए भनेर भनिन्छ? मानिसको निम्ति तिनको मूल्य के थियो? मानिसको दृष्टिकोणबाट तिनले त्यो मानवजातिको प्रतिनिधित्व गरे जसलाई परमेश्वरले बचाउन चाहनुहुन्छ, जसले शैतान र संसारका मानिसहरूको सामु परमेश्वरको गम्भीर गवाही दिन्छन्। तिनले त्यो कर्तव्य पूरा गरे जुन परमेश्वरको एक सृष्टिले पूरा गर्नुपर्दछ, एउटा उदाहरण निर्माण गरे, र परमेश्वरले मुक्ति दिन चाहनुभएका सबैको नमुनाको रूपमा काम गरे, जसले मानिसहरूलाई परमेश्वरमाथि भरोसा राखेर शैतानमाथि विजयी हुन सम्भव छ भन्ने देखायो। परमेश्वरका लागि तिनको मूल्य के थियो? परमेश्वरका लागि, अय्यूबको जीवनको मूल्य परमेश्वरको भय मान्ने, परमेश्वरको आराधना गर्ने, परमेश्वरका कामहरूको गवाही दिने, र परमेश्वरका कार्यहरूको प्रशंसा गर्ने, परमेश्वरका निम्ति सान्त्वना र आनन्द दिन सक्ने तिनको क्षमतामा निहित छ; परमेश्वरका लागि अय्यूबको जीवनको मोल यसमा पनि थियो कि आफ्नो मृत्यु हुनुभन्दा अघि अय्यूबले जाँचहरूको सामना गरे अनि शैतानमाथि विजय पाए, र शैतान र संसारका मानिसहरूको सामु परमेश्वरको गहन गवाही दिए, त्यसरी तिनले मानवजातिको बीचमा परमेश्वरको महिमा गरे, परमेश्वरको हृदयलाई सान्त्वना दिए र परमेश्वरको उत्सुक हृदयलाई एक परिणाम देखाए र आशा पूरा भएको देखाए। तिनको गवाहीले परमेश्वरको गवाही भई दृढ भएर खडा हुन सक्ने सामर्थ्य र मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको काममा परमेश्वरको तर्फबाट शैतानलाई लाजमा पार्ने एउटा उदाहरण प्रस्तुत गर्यो। के यो अय्यूबको जीवनको मूल्य होइन र? अय्यूबले परमेश्वरको हृदयलाई सान्त्वना दिए, तिनले परमेश्वरलाई महिमित हुनुको प्रसन्नताको पूर्वानुभव दिए, र परमेश्वरको व्यवस्थापन योजनाका लागि एउटा राम्रो सुरुआत प्रदान गरे। यस समयदेखि, अय्यूबको नाउँ परमेश्वरको महिमाको प्रतीक भयो, र शैतानमाथिको मानवजातिको विजयको चिन्ह बन्यो। अय्यूब आफ्नो जीवनकालमा जुन कुरामा जिए, साथै शैतानमाथिको तिनको उल्लेखनीय विजयलाई परमेश्वरले सदासर्वदा कदर गर्नुहुनेछ, र तिनको सिद्धता, सोझोपन र परमेश्वरको भयलाई आउने पुस्ताहरूले श्रद्धा र अनुकरण गर्नेछ। परमेश्वरले तिनलाई सधैँ एक निष्खोट, चम्किलो मोतीलाई झैं सम्हाल्नुहुनेछ र त्यसरी नै तिनी मानिसद्वारा पनि मूल्यवान् ठानिने योग्यका छन्!
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट उद्धृत गरिएको