अय्यूबले कानको सुनाइद्वारा परमेश्वरको बारेमा सुन्छन् (भाग १)
अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ।
अय्यूब २३:८-९ हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ।
अय्यूब ४२:२-६ मलाई थाहा छ तपाईंले सबै थोक गर्न सक्नुहुन्छ, अनि तपाईंदेखि कुनै पनि विचारलाई लुकाउन सकिन्न। कसले ज्ञानविना सल्लाहलाई लुकाउँछ? यसैले मैले नबुझ्ने कुरा मैले बोलेको छु; मेरो निम्ति अत्यन्तै अचम्मका कुराहरू, जुन मलाई थाहा थिएन। सुन्नुहोस्, म तपाईंलाई बिन्ती गर्छु, अनि म बोल्नेछु: म तपाईंसँग माग गर्छु र तपाईंलाई मतर्फ घोषणा गर्छु। मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्चात्ताप गर्छु।
परमेश्वरले आफैलाई अय्यूबको सामु प्रकट नगर्नुभएको भए पनि, अय्यूबले परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्छन्
यी वचनहरूले जोड दिएको कुरा के हो? यसमा एउटा तथ्य छ भन्ने कुरा तिमीहरू कसैलाई थाहा छ? सर्वप्रथम, अय्यूबले परमेश्वर हुनुहुन्छ भनेर कसरी थाहा पाए? अनि, परमेश्वरले नै स्वर्ग, पृथ्वी र सबै थोकमाथि शासन गर्नुहुन्छ भनी तिनले कसरी जाने? यो एउटा खण्डले यी दुई प्रश्नको उत्तर दिन्छ: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्चात्ताप गर्छु।” यी वचनहरूबाट हामी के सिक्छौं भने परमेश्वरलाई आफ्नै आँखाले देख्नुको सट्टा अय्यूबले परमेश्वरबारे किंवदन्तीहरूबाट जानेका थिए। यिनै परिस्थितिमा तिनी परमेश्वरलाई पछ्याउने मार्गमा हिँड्न थाले, अनि पछि तिनले आफ्नो जीवनलगायत सबै कुरामा परमेश्वरको अस्तित्व भएको पुष्टि गरे। यहाँ एउटा इन्कार गर्न नसकिने तथ्य छ—त्यो के हो त? परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा लाग्न सके पनि अय्यूबले परमेश्वरलाई कहिल्यै देखेका थिएनन्। यस कुरामा तिनी आजका मानिसजस्तै थिएनन् र? अय्यूबले कहिल्यै परमेश्वरलाई देखेका थिएनन्, यसको अर्थ, तिनले परमेश्वरबारे सुनेको भए पनि, परमेश्वर कहाँ हुनुहुन्छ वा परमेश्वर कस्तो हुनुहुन्छ वा परमेश्वरले के गर्दै हुनुहुन्छ भन्ने कुरा तिनलाई थाहा थिएन। यी सबै व्यक्तिपरक कुराहरू हुन्; वस्तुपरक रूपमा भन्नुपर्दाचाहिँ, तिनले परमेश्वरलाई पछ्याएको भए पनि परमेश्वर कहिल्यै तिनको अघि देखा पर्नुभएन वा तिनीसँग बोल्नुभएन। के यो तथ्य होइन र? परमेश्वरले अय्यूबसँग बोल्नुभएको वा तिनलाई कुनै आज्ञा दिनुभएको थिएन, तैपनि अय्यूबले परमेश्वरको अस्तित्व र सबै कुरामाथि रहेको उहाँको सार्वभौमिकतालाई देखेका थिए, र अय्यूबले कानको सुनाइमार्फत परमेश्वरबारे किंवदन्तीहरूबाट थाहा पाएपछि परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने जीवन बिताउन थालेका थिए। अय्यूबले परमेश्वरलाई पछ्याउने कार्यको सुरुवात र प्रक्रिया यही थियो। तर तिनले परमेश्वरको जति नै भय माने पनि र दुष्टताबाट जति नै अलग बसे पनि, आफ्नो निष्ठामा जति नै अडिग भए पनि, परमेश्वर अझै तिनीकहाँ देखा पर्नुभएन। हामी यो खण्ड पढौं। तिनले भने, “हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ” (अय्यूब ९:११)। यी वचनहरूको अर्थ के हो भने अय्यूबले आफ्नो वरिपरि परमेश्वरको अनुभव गरेका हुन पनि सक्छ वा नहुन पनि सक्छ—तर तिनले परमेश्वरलाई कहिल्यै पनि देख्न सकेका थिएनन्। कहिलेकहीँ तिनले परमेश्वर आफ्नो अघिअघि जानुभएको, वा उहाँले काम गर्नुभएको, वा मानिसलाई अगुवाइ गर्नुभएको कल्पना गर्थे, तर त्यस्तो घटना घटेको तिनले कहिल्यै थाहा पाएनन्। परमेश्वर मानिसकहाँ त्यसबेला आउनुहुन्छ जब उसले आशा गरेको हुँदैन; परमेश्वर कहिले आफूकहाँ आउनुहुन्छ वा कहाँ उसको सामु आउनुहुन्छ सो उसलाई थाहा हुँदैन, किनकि मानिसले परमेश्वरलाई देख्न सक्दैन, यसैले मानिसको लागि परमेश्वर ऊबाट लुक्नुभएको हुन्छ।
परमेश्वर अय्यूबबाट लुक्नुभएको तथ्यले उहाँमाथिको तिनको विश्वास हल्लिएन
त्यसपछि, तलको धर्मशास्त्रको खण्डमा, अय्यूब भन्छन्, “हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ” (अय्यूब २३:८-९)। यस विवरणमा हामी के थाहा पाउछौं भने अय्यूबको अनुभवमा परमेश्वर पूर्ण रूपमा तिनीबाट लुक्नुभएको थियो; परमेश्वर खुल्लमखुल्ला तिनीकहाँ देखा पर्नुभएको थिएन, न त उहाँले तिनीसँग खुल्लमखुल्ला कुनै वचन नै बोल्नुभएको थियो, तर पनि अय्यूब आफ्नो हृदयमा परमेश्वरको अस्तित्वप्रति विश्वस्त थिए। तिनले सधैँ परमेश्वर तिनको अघिअघि हिँडिरहनुभएको हुन सक्छ, वा तिनको छेउमा काम गरिरहनुभएको हुन सक्छ, र तिनले परमेश्वरलाई देख्न नसके पनि परमेश्वर तिनको छेउमा हुनुहुन्छ, र तिनीसँग सम्बन्धित सबथोक सञ्चालन गर्दै हुनुहुन्छ भन्ने विश्वास गर्थे। अय्यूबले कहिल्यै परमेश्वरलाई देखेका थिएनन्, तर तिनी आफ्नो विश्वासमा दृढ रहन सक्षम थिए, जुन अरू कनै पनि व्यक्तिले गर्न सकेन। किन अरू मानिसले त्यसो गर्न सकेनन्? किनकि परमेश्वर अय्यूबसँग बोल्नुभएन वा तिनको सामु देखा पर्नुभएन, र यदि तिनले साँच्चै विश्वास नगरेको भए तिनी निरन्तर त्यसो गरिरहन सक्नेथेनन्, न त तिनी परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा नै लागिरहन नै सक्थे। के यो सत्य होइन? जब तँ अय्यूबले भनेका यी वचनहरू पढ्छस् तब तँलाई कस्तो लाग्छ? के तँलाई अय्यूबको सिद्धता र सोझोपन र परमेश्वरको सामु तिनको धार्मिकता साँचो हो, र परमेश्वरको तर्फबाट भएको अतिशयोक्ति होइन भन्ने लाग्छ? परमेश्वरले अय्यूबलाई अन्य मानिसहरूलाई जस्तै व्यवहार गर्नुभयो र तिनको सामु देखा पर्नुभएन वा कुरा गर्नुभएन, तैपनि अय्यूब अझै पनि आफ्नो निष्ठामा अडिग रहे, तिनले अझै पनि परमेश्वरको सार्वभौमिकतामा विश्वास राखे र यसबाहेक, परमेश्वरलाई चिढ्याउँछु कि भन्ने डरको कारण तिनले बारम्बार होमबलि चढाए र परमेश्वरलाई प्रार्थना गरे। परमेश्वरलाई नदेखे पनि उहाँको भय मान्ने अय्यूबको क्षमतामा, हामी तिनले सकारात्मक कुराहरूलाई कति धेरै प्रेम गर्थे, र तिनको विश्वास कति दृढ र वास्तविक थियो भन्ने कुरा देख्छौं। तिनले परमेश्वर तिनीबाट लुक्नुभयो भन्दैमा परमेश्वरको अस्तित्वलाई इन्कार गरेनन्, न त परमेश्वरलाई कहिल्यै नदेखेको कारण आफ्नो विश्वास नै गुमाए र परमेश्वरलाई नै त्यागे। बरु, सबै थोकमाथि शासन गर्ने परमेश्वरको लुकेको कामको माझमा तिनले परमेश्वरको अस्तित्वलाई बुझेका र परमेश्वरको सार्वभौमिकता र शक्ति महसुस गरेका थिए। परमेश्वरलाई नदेखे पनि तिनी सोझो हुन छाडेनन्, न त परमेश्वर तिनको अगाडि कहिल्यै देखा नपर्नुभएको कारणले नै तिनले परमेश्वरको भय मान्ने र दुष्टाबाट अलग बस्ने मार्गलाई नै त्यागे। परमेश्वर आफ्नो अस्तित्व प्रमाणित गर्न तिनको अघि देखा परून् भनेर अय्यूबले कहिल्यै अनुरोध गरेनन्, किनकि तिनले सबै थोकमाथिको परमेश्वरको सार्वभौमिकतालाई देखिसकेका थिए र अरूले प्राप्त नगरेका आशिष् र अनुग्रह आफूले प्राप्त गरेको छु भन्ने तिनलाई विश्वास थियो। परमेश्वर तिनीबाट लुक्नुभएको भए पनि परमेश्वरमाथिको तिनको विश्वास कहिल्यै डगमगाएन। यसैले, तिनले अरू कसैले नपाएको फल अर्थात् परमेश्वरको अनुमोदन र परमेश्वरको आशिष् प्राप्त गरे।
अय्यूब परमेश्वरको नाउँलाई धन्यको भन्छन् र आशिष् वा विपत्तिबारे सोच्दैनन्
धर्मशास्त्रमा भएका अय्यूबका कथाहरूमा कहीँ पनि उल्लेख नभएको एउटा तथ्य छ, र आज हामी यही तथ्यमा ध्यान केन्द्रित गर्नेछौं। अय्यूबले कहिल्यै पनि आफ्नै आँखाले परमेश्वरलाई देखेका वा आफ्नै कानले परमेश्वरका वचनहरू सुनेका थिएनन्, तैपनि अय्यूबको हृदयमा परमेश्वरको स्थान थियो। परमेश्वरप्रति अय्यूबको मनोवृति कस्तो थियो? यो “यहोवाको नाउँको प्रशंसा होस्” भनेर पहिले उल्लेख गरिएजस्तै थियो। तिनले विनासर्त, जस्तोसुकै परिस्थिति भए पनि र कुनै तर्कको बन्धनमा नबाँधिई परमेश्वरको नाउँलाई धन्यको भने। हामी देख्छौं कि अय्यूबले आफ्नो हृदय परमेश्वरलाई दिएका थिए, र त्यसलाई परमेश्वरद्वारा नियन्त्रित हुन दिएका थिए; तिनका सबै सोच, सबै निर्णय, र तिनले आफ्नो हृदयमा बनाएका सबै योजना परमेश्वरको अघि खुला रूपमा राखिएका थिए, र ती कुराहरू परमेश्वरबाट लुकाइएका थिएनन्। तिनको हृदय परमेश्वरको विरोधमा उभिएको थिएन, र तिनले परमेश्वरसँग कहिल्यै पनि आफ्नो निम्ति केही गर्न वा दिन आग्रह गरेनन्, र परमेश्वरको आराधनाबाट सबै कुरा प्राप्त गर्ने अनावश्यक चाहना राखेनन्। अय्यूबले परमेश्वरसँग व्यापारको कुरा गरेनन्, र कुनै बिन्ती वा मागहरू गरेनन्। तिनले परमेश्वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि शासन गर्ने परमेश्वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष् पाएको वा विपत्तिले प्रहार गरेको कुरामा निर्भर थिएन। परमेश्वरले मानिसहरूलाई आशिष् दिनुभए पनि वा तिनीहरूमाथि विपत्ति ल्याउनुभए पनि, उहाँको शक्ति र अख्तियार परिवर्तन हुँदैन, यसैले कुनै व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वरको नाउँको प्रशंसा गरिनुपर्छ भन्ने तिनलाई विश्वास थियो। परमेश्वरको सार्वभौमिकताको कारण मानिसले परमेश्वरबाट आशिष् पाउँछ, र जब मानिसमाथि विपत्ति आइलाग्छ, त्यो पनि परमेश्वरको सार्वभौमिकताकै कारणले हुन्छ। परमेश्वरको शक्ति र अख्तियारले मानिसको सम्बन्धमा सबै कुराको शासन र प्रबन्ध गर्छन्; मानिसको नियतिका परिवर्तनहरू परमेश्वरको शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र व्यक्तिको दृष्टिकोण जस्तोसुकै भए पनि परमेश्वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्य परमेश्वरको कानमा परे र उहाँसामु आइपुगे, र उहाँले त्यसलाई महत्त्वपूर्ण कुराको रूपमा हेर्नुभयो। परमेश्वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई मूल्यवान् ठान्नुभयो। त्यो हृदयले सधैँ परमेश्वरको आज्ञा पर्खन्थ्यो र जुनसुकै समय वा ठाउँ भए पनि आफूमाथि आइपरेको हर कुराको स्वागत गर्थ्यो। अय्यूबले परमेश्वरसँग कुनै माग राखेनन्। तिनले परमेश्वरबाट आएका सबै प्रबन्धहरूको प्रतीक्षा, स्वीकार, सामना, र पालन गर्ने मापदण्ड आफ्नै लागि तय गरे; तिनले त्यसो गर्नु आफ्नो कर्तव्य हो भन्ने विश्वास गरे, र परमेश्वर पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो। अय्यूबले कहिल्यै पनि परमेश्वरलाई देखेका थिएनन्, न त तिनले उहाँले कुनै वचन बोल्नुभएको, कुनै आदेश जारी गर्नुभएको, कुनै शिक्षा दिनुभएको वा तिनलाई निर्देशन दिनुभएको नै सुनेका थिए। आजका शब्दमा भन्नुपर्दा, परमेश्वरले सत्यताको सम्बन्धमा तिनलाई कुनै अन्तर्दृष्टि, मार्गनिर्देशन वा भरणपोषण प्रदान नगर्नुभएको अवस्थामा पनि, तिनमा परमेश्वरप्रतिको त्यस्तो ज्ञान र मनोवृति हुनु बहुमूल्य कुरा थियो, र तिनले त्यस्तो कुरा प्रकट गर्नु परमेश्वरका लागि पर्याप्त थियो, र तिनको गवाहीलाई परमेश्वरले प्रशंसा र कदर गर्नुभयो। अय्यूबले कहिल्यै परमेश्वरलाई देखेका वा परमेश्वरले आफूलाई व्यक्तिगत तवरमा कुनै शिक्षा दिनुभएको सुनेका थिएनन्, तर परमेश्वरका निम्ति तिनको हृदय र तिनी स्वयम् ती सबै व्यक्तिहरूभन्दा धेरै बहुमूल्य थिए जो परमेश्वरको सामु गहन सिद्धान्तको हिसाबमा मात्र कुरा गर्न सक्थे, जसले केवल बलिदानहरू चढाएका कुराहरूको गफ लाउन र घमन्ड गर्न सक्थे, जोसँग परमेश्वरबारे कहिल्यै पनि साँचो ज्ञान थिएन, र जो कहिल्यै पनि परमेश्वरको भय मान्दैनथे। किनभने अय्यूबको हृदय शुद्ध र परमेश्वरबाट लुकेको थिएन, र तिनको मानवता इमानदार र दयालु थियो, र तिनले न्याय र सकारात्मक कुरालाई प्रेम गर्थे। यस्तो हृदय र मानवता भएको मानिसले मात्र परमेश्वरको मार्ग अनुसरण गर्न सक्थ्यो, र परमेश्वरको भय मान्न र दुष्टताबाट अलग बस्न सक्थ्यो। त्यस्तो व्यक्तिले परमेश्वरको सार्वभौमिकतालाई देख्न सक्थ्यो, उहाँको अख्तियार र शक्तिलाई देख्न सक्थ्यो, र उहाँको सार्वभौमिकता र प्रबन्धहरूप्रतिको आज्ञापालन हासिल गर्न सक्थ्यो। केवल त्यस्तो मानिसले मात्र परमेश्वरको नाउँको प्रशंसा गर्न सक्थो। किनकि परमेश्वरले तिनलाई आशिष् दिनुहुन्छ कि तिनीमाथि विपत्ति ल्याउनुहुन्छ भन्ने कुरालाई तिनले हेरेनन्; किनकि सबै कुरा परमेश्वरकै हातले नियन्त्रण गर्छ, र मानिसले चिन्ता गर्नु भनेको मूर्खता, अज्ञानता र तर्कहीनताको सङ्केत हो, सबै कुरामा परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यमा शङ्का गर्नुको सङ्केत हो र परमेश्वरसँग नडराउनुको सङ्केत हो भन्ने तिनी जान्दथे। अय्यूबको ज्ञान परमेश्वरले चाहनुभएको जस्तै थियो। त्यसो भए, के अय्यूबसँग परमेश्वरबारे तिमीहरूमा भन्दा बढी सैद्धान्तिक ज्ञान थियो? त्यस समयमा परमेश्वरका काम र वाणीहरू थोरै थिए, त्यसकारण परमेश्वरको ज्ञान प्राप्त गर्नु सजिलो कुरा थिएन। अय्यूबले त्यस्तो उपलब्धि हासिल गर्नु निकै ठूलो कुरा थियो। तिनले परमेश्वरको कामको अनुभव गरेका थिएनन्, तिनले न त उहाँ बोल्नुभएको सुनेका थिए, न त परमेश्वरको अनुहार नै देखेका थिए। परमेश्वरप्रति तिनले त्यस्तो मनोवृति अँगाल्न सक्षम हुनुको कारण पूर्णतया तिनको मानवता र तिनको व्यक्तिगत खोजी नै थियो, जुन मानवता र खोजी आजका मानिसहरूमा छैनन्। त्यसैल त त्यो युगमा परमेश्वरले भन्नुभयो, “तिनी जस्तो सिद्ध र सोझो, पृथ्वीमा कोही पनि छैन।” त्यो युगमा परमेश्वरले तिनको बारेमा पहिले नै त्यस्तो मूल्याङ्कन गरिसक्नुभएको थियो, र त्यस्तै निष्कर्षमा पुगिसक्नुभएको थियो। आज त्यो अझ कति सत्य हुन्थ्यो होला?
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।