अय्यूबको विषयमा

13 अगस्ट 2021

अय्यूबले कसरी परीक्षाहरूको सामना गरे भन्‍ने कुराको बारेमा जानिसकेपछि, तिमीहरूमध्ये धेरैले अय्यूबको बारेमा अझ बढी जान्‍न चाहनेछौ, विशेष गरी त्यस रहस्यको बारेमा जान्‍न चाहनेछौ जसमार्फत तिनले परमेश्‍वरको प्रशंसा पाए। त्यसैले, आज हामी अय्यूबको बारेमा कुरा गरौँ!

अय्यूबको दैनिक जीवनमा हामी तिनको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरण देख्छौँ

यदि अय्यूबको बारेमा कुरा गर्ने हो भने, हामीले यो कुरा परमेश्‍वरले उहाँको आफ्नै मुखद्वारा गर्नुभएको अय्यूबको मूल्याङ्कनबाट सुरु गर्नुपर्छ: “त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।”

पहिले हामी अय्यूबको सिद्धता र सोझोपनको बारेमा जानौँ।

अय्यूबको विषयमा (भाग एक)

“सिद्ध” र “सोझो” भन्‍ने शब्दहरूसम्‍बन्धी तिमीहरूको बुझाइ के छ? के तिमीहरू अय्यूब दोष लाउन नसकिने, आदरणीय थिए भन्‍ने विश्‍वास गर्छौ? यो अवश्य नै “सिद्ध” र “सोझो” शब्दहरूको ठेट अर्थ र बुझाइ हुनेछ। अय्यूबलाई वास्तविक रूपले बुझ्नका निम्ति शब्द, पुस्तक, र सिद्धान्तहरूले मात्रै कुनै उत्तर प्रदान गर्दैनन्, यसको लागि त वास्तविक जीवनको सन्दर्भ अभिन्‍न हुन्छ। हामी अय्यूबको पारिवारिक जीवनलाई, र जीवनमा तिनको सामान्य आचरण कस्तो थियो भन्‍ने कुरालाई हेर्दै सुरु गर्नेछौँ। यसले हामीलाई तिनका जीवनका सिद्धान्तहरू र उद्देश्यहरूको बारेमा, साथसाथै उनको व्यक्तित्व र खोजीको बारेमा बताउँछ। अब हामी अय्यूब १:३ का अन्तिम वचनहरू पढौँ: “त्यस मानिस पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।” यी वचनहरूले के भनिरहेका छन् भने, अय्यूबको स्थान र स्थिति एकदम उच्‍च थियो, तर तिनी पूर्वका सबै मानिसहरूमध्ये सबैभन्दा ठूलो हुनुको कारण तिनको प्रशस्त सम्पत्ति भएकोले हो कि तिनी सिद्ध र सोझो थिए र दुष्टताबाट टाढा बस्‍ने र परमेश्‍वरको डर मान्‍ने मानिस भएकोले हो सो कुरा हामीलाई नबताइएको भए पनि, समग्रमा, हामी सबैलाई थाहा छ कि अय्यूबको स्थान र स्थिति धेरै नै मूल्यवान् थियो। बाइबलमा लेखिएअनुसार, अय्यूबको बारेमा मानिसहरूमा आउने पहिलो विचार भनेकै अय्यूब सिद्ध छन्, तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन्, र तिनीसँग धेरै धन र सम्मानजनक हैसियत छ भन्‍ने थियो। त्यस्तो वातावरणमा र त्यस्ता परिस्थितिहरूमा जिइरहेको सामान्य व्यक्तिका लागि, अय्यूबको आहार, जीवनको गुणस्तर, र तिनको व्यक्तिगत जीवनका विभिन्‍न पक्षहरू नै अधिकांश व्यक्तिको ध्यानको केन्द्रबिन्दु हुनेथ्यो; यसर्थ, हामीले धर्मशास्‍त्र पढ्न जारी राख्‍नुपर्छ: “अनि तिनका छोराहरू जान्थे र आफ्नो पालोमा आ-आफ्ना घरमा भोज गर्थे; र तिनीहरूसँग खान र पिउनको निम्ति तिनीहरूले आफ्ना बहिनीहरू ल्याउँथे। अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे: किनकि अय्यूबले भन्थे, मेरा छोराहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्। अय्यूबले निरन्तर यसो गर्थे” (अय्यूब १:४-५)। यो खण्डले हामीलाई दुईवटा कुरा बताउँछ: पहिलो के हो भने, अय्यूबका छोराछोरीहरूले नियमित भोज गर्थे, र धेरै खाने र पिउने गर्थे; दोस्रो कुरा के हो भने, अय्यूबले निरन्तर होमबलि चढाउँथे, किनभने तिनका छोराछोरीहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई त्यागे होलान् भनी तिनले चिन्ता गर्थे। यसमा दुई फरक प्रकारका मानिसहरूको जीवनको बारेमा वर्णन गरिएको छ। पहिलो, अय्यूबका छोराछोरीहरू उनीहरूको सम्पन्‍नताको कारण प्राय: भोज गर्थे, खर्चिलो जीवन बिताउँथे, उनीहरूले आफ्नो हृदयले चाहेअनुसार पिउँथे र खान्थे, र भौतिक सम्पत्तिले ल्याएको उच्‍च गुणस्तरको जीवनको आनन्द उठाउँथे। त्यस्तो जीवन बिताएपछि, उनीहरूले प्रायजसो पाप गर्नु र परमेश्‍वरलाई अपमान गर्नु अपरिहार्य नै थियो—तैपनि तिनीहरूले आफैलाई पवित्र बनाउँदैनथे वा होमबलि चढाउँदैनथे। यसरी तैँले देख्छस् कि उनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै स्थान थिएन, उनीहरूले परमेश्‍वरको अनुग्रहको बारेमा कुनै विचार गर्दैनथे, न त परमेश्‍वरलाई चिढ्याउनेबारेमा नै तिनीहरू डराउँथे, उनीहरू आफ्नो हृदयमा परमेश्‍वरलाई त्याग्‍नेबारेमा डराउनु त परै जाओस्। अवश्य पनि, हाम्रो ध्यान अय्यूबका छोराछोरीहरूमा नभई अय्यूबले त्यस्ता कुराहरूको सामना गर्दा के गर्थे भन्‍नेमा छ; यस खण्डमा वर्णन गरिएको अर्को कुरा यही हो, जसमा अय्यूबको दैनिक जीवन र तिनको मानवता सार समावेश छ। जहाँ बाइबलले अय्यूबका छोराछोरीहरूको भोजको वर्णन गर्छ, त्यहाँ अय्यूबको उल्लेख गरिएको छैन; भनिन्छ कि तिनका छोराछोरीहरूले मात्रै प्रायजसो सँगै खानपान गर्थे। अर्को शब्दमा भन्दा, तिनले भोजहरू आयोजना गर्दैनथे, न त उच्छृङ्खलताको साथ खानपान गर्न तिनी आफ्ना छोराछोरीहरूसँग सहभागी नै हुन्थे। धनी र धेरै सम्पत्ति र नोकरचाकरको मालिक भए पनि अय्यूबको जीवन एक विलासी जीवन थिएन। तिनी आफ्नो सर्वोत्कृष्ट जिउने वातावरणको धोकामा परेका थिएनन्, र तिनी आफ्नो सम्पत्तिको कारण देहको आनन्दमा मग्‍न हुँदैनथे वा होमबलि चढाउन बिर्सँदैनथे, ती कुराले तिनलाई आफ्नो हृदयभित्रबाट बिस्तारै परमेश्‍वरलाई त्याग्‍दै जाने बनाउने त कुरै नगरौँ। त्यसैले स्पष्ट छ, अय्यूब आफ्नो जीवनशैलीमा अनुशासित थिए, परमेश्‍वरले तिनलाई दिनुभएको आशिष्‌को कारण तिनी लोभी वा सुखवादी बनेका थिएनन् र तिनी जीवनको गुणस्तरमा लिप्त थिएनन्। बरु, तिनी नम्र र विनयी थिए, तिनी आडम्बरी थिएनन्, र तिनी परमेश्‍वरको सामु सतर्क र सावधान थिए। तिनले प्रायजसो परमेश्‍वरका अनुग्रह र आशिष्‌हरूमा ध्यान दिन्थे, र परमेश्‍वरको डर मान्‍ने हृदय निरन्तर बोकिरहन्थे। आफ्नो दैनिक जीवनमा, अय्यूब प्रायजसो चाँडै उठेर आफ्ना छोराछोरीहरूका लागि होमबलि चढाउँथे। अर्को शब्दमा भन्‍नुपर्दा, अय्यूब आफू मात्रै परमेश्‍वरसँग डराउँदैनथे, तिनी त आफ्ना छोराछोरीहरू पनि परमेश्‍वरसँग डराऊन् र परमेश्‍वरविरुद्ध पाप नगरून् भन्‍ने आशा गर्थे। अय्यूबको भौतिक सम्पत्तिहरूले तिनको हृदयमा कुनै स्थान लिएनन्, न त ती कुराले परमेश्‍वरले लिनुभएको स्थान नै लिए; चाहे तिनको आफ्नै लागि होस् वा तिनका छोराछोरीहरूका लागि होस्, अय्यूबका दैनिक कार्यहरू सबै परमेश्‍वरसँग डराउने र दुष्टताबाट टाढा रहने कुरासित सम्बन्धित थिए। यहोवा परमेश्‍वरप्रतिको तिनको डर तिनको मुखमा मात्र सीमित थिएन, बरु त्यो डर त तिनले आफ्नो दैनिक जीवनको हरेक भागमा लागू गर्ने र प्रतिबिम्‍बित गर्ने कुरा थियो। अय्यूबको यो वास्तविक आचरणले हामीलाई तिनी इमानदार थिए, र तिनीसँग न्याय र सकारात्मक कुराहरू मन पराउने सार थियो भन्‍ने देखाउँछ। अय्यूबले प्रायजसो आफ्ना छोराछोरीहरूलाई पठाउँथे र पवित्र पार्थे भन्‍नुको अर्थ तिनले आफ्ना छोराछोरीहरूको व्यवहारलाई प्रतिबन्ध गर्थे वा अनुमोदन गर्दैनथे; बरु, आफ्नो हृदयमा तिनी उनीहरूको व्यवहारबाट दिक्‍क थिए, र उनीहरूलाई निन्दा गर्थे। तिनी आफ्ना छोराछोरीहरूको व्यवहार यहोवा परमेश्‍वरलाई मन पर्दैन भन्‍ने निष्कर्षमा पुगेका थिए र यसैले तिनले उनीहरूलाई प्रायजसो यहोवा परमेश्‍वरको सामु जान र आफ्ना पापहरू स्वीकार गर्न आग्रह गर्थे। अय्यूबको कार्यले हामीलाई तिनको मानवताको अर्को पक्षलाई देखाउँछ, जसमा तिनी प्रायजसो पाप गर्ने र परमेश्‍वरलाई क्रोधित बनाउने मानिसहरूका साथ कहिल्यै हिँडेनन्, बरु तिनीहरूलाई त्यागे र तिनीहरूबाट टाढिए। यी मानिसहरू तिनका छोराछोरीहरू भए पनि, तिनले तिनीहरू आफ्‍ना प्रियजन हुन् भन्दैमा आफ्नो आचरणका सिद्धान्तहरू त्यागेनन्, न त तिनी आफ्नै भावनाका कारण तिनीहरूका पापहरूलाई नै सहेर त्यसमा लागे। बरु, तिनले उनीहरूलाई पश्‍चात्ताप गर्न र यहोवा परमेश्‍वरको सहनशीलता प्राप्त गर्न आग्रह गरे, र आफ्नै लोभी आनन्दको खातिर परमेश्‍वरलाई नत्याग्‍न चेतावनी दिए। अय्यूबले अरूसँग जसरी व्यवहार गर्थे त्यसका सिद्धान्तहरू परमेश्‍वरप्रतिको तिनको भय र दुष्टताबाट अलग बस्‍ने सिद्धान्तहरूबाट अलग गर्न नसकिने थिए। परमेश्‍वरले स्वीकार गर्नुभएको कुरालाई उनले प्रेम गर्थे, र परमेश्‍वरले घिनाउनुभएका कुरालाई तिनी घृणा गर्थे; तिनी हृदयबाट परमेश्‍वरको भय मान्‍नेहरूलाई मन पराउँथे, र परमेश्‍वरको विरुद्ध दुष्कर्म र पाप गर्नेहरूलाई घृणा गर्थे। त्यस्तो प्रेम र घृणा तिनको दैनिक जीवनमा प्रदर्शित हुन्थे, र यही नै परमेश्‍वरका आँखाले देखेको अय्यूबको सोझोपन थियो। स्वाभाविक रूपमा, अय्यूबले आफ्नो दैनिक जीवनमा अरूसँगको सम्‍बन्धमा प्रकट गर्ने गरेको साँचो मानवताको प्रकटीकरण र जियाइ यही थियो, र यसको बारेमा हामीले सिक्‍नैपर्छ।

परीक्षाहरूको बेला अय्यूबको मानवताका प्रकटीकरणहरू (परीक्षाहरूको अवधिमा अय्यूबद्वारा प्रदर्शित सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको डर, र दुष्टताबाट अलग बस्‍ने आचरण)

हामीले माथि अय्यूबको मानवताका विभिन्‍न पक्षहरूका बारेमा कुरा गर्‍यौँ, जुन तिनका परीक्षाहरूभन्दा अघि तिनको दैनिक जीवनमा प्रदर्शित भएका थिए। अवश्य नै, यी विभिन्‍न प्रकटीकरणहरूले अय्यूबको इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरणको बारेमा प्रारम्‍भिक परिचय र बुझाइ प्रदान गर्छन्, र स्वाभाविक रूपमा एक सुरुवाती पुष्टि पनि प्रदान गर्छन्। मैले “प्रारम्भिक” भनी भन्‍नुको अर्थ के हो भने, धेरैजसो मानिसहरूसँग अझै पनि अय्यूबको व्यक्तित्वको बारेमा र जुन हदसम्म तिनले परमेश्‍वरको आज्ञापालन र डर मान्‍ने बाटो पछ्याएका थिए त्यसको बारेमा साँचो बुझाइ छैन। भन्‍नुको अर्थ, अय्यूबको सम्बन्धमा धेरैजसो मानिसहरूको बुझाइ बाइबलका यी दुईवटा खण्डले दिने केही हदसम्‍म सकारात्मक झल्कोभन्दा बढी गहन छैन, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” र “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” तसर्थ, परमेश्‍वरका परीक्षाहरू आउँदा अय्यूबले आफ्नो मानवता कसरी जिए भन्‍ने कुरा हामीले बुझ्नु अति आवश्यक छ; यस तरिकाले, अय्यूबको वास्तविक मानवता सम्पूर्ण रूपमा सबैलाई देखाइनेछ।

जब अय्यूबले तिनको सम्पत्ति चोरी भएको, तिनका छोराछोरीहरूले आफ्नो ज्यान गुमाएका अनि तिनका नोकरहरू मारिएका खबर सुने तब तिनले यस्तो प्रतिक्रिया दिए: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे” (अय्यूब १:२०)। यी वचनहरूले हामीलाई एउटा तथ्य बताउँछ: यो खबर सुनेपछि, अय्यूब डरले थरथर काँपेनन्, तिनी चिच्याएनन् वा समाचार ल्याउने नोकरहरूलाई दोष लगाएनन्, तिनले अपराध भएको घटनाको अनुसन्धान गरेर वास्तवमा के भएको थियो सो पत्ता लगाउन जाँचबुझ गर्नु त परै जाओस्। तिनले आफ्नो सम्पत्ति गुमाएकोमा कुनै पीडा वा अफसोस प्रकट गरेनन्, न त आफ्ना छोराछोरी र प्रियजन गुमाएकोले तिनी आँसुमा नै डुबे। त्यसको विपरीत, तिनले आफ्नो खास्टो च्याते, र कपाल खौरी भुइँमा घोप्टो परेर आराधना गरे। अय्यूबका व्यवहारहरू कुनै साधारण मानिसका जस्ता छैनन्। ती व्यवहारले धेरै मानिसहरूलाई अन्योलमा पार्छन्, र तिनीहरूले आफ्नो हृदयभित्र अय्यूबलाई तिनको “कठोरता” का लागि गाली गर्छन्। अचानक आफ्नो सम्पत्ति गुमाउँदा, सामान्य मानिसहरू अत्यन्तै दुःखी वा निराश देखिन्छन् वा कतिपय मानिसहरू भने गहिरो उदासीनतामा पनि पर्न सक्छन्। किनकि मानिसहरूको हृदयभित्र तिनीहरूको सम्पत्तिले जीवनभरिको परिश्रमको प्रतिनिधित्व गर्छ—त्यसैमा तिनीहरूको अस्तित्व निर्भर हुन्छ, त्यसैको आशाले तिनीहरूलाई जीवित राख्छ; तिनीहरूले सम्पत्ति गुमाउनु भनेको तिनीहरूको परिश्रम व्यर्थ हुनु हो, तिनीहरू आशाविहीन हुनु हो, र तिनीहरूको भविष्य नै नहुनु हो। कुनै पनि सामान्य व्यक्तिसँग आफ्नो सम्पत्तिप्रति यस्तै मनोवृत्ति हुन्छ र त्योसित उसको घनिष्ठ सम्बन्ध हुन्छ, र मानिसहरूका नजरमा सम्पत्तिको महत्त्व पनि यस्तै हुन्छ। त्यसैले, धेरैजसो मानिसहरू अय्यूबले आफ्नो सम्पत्ति गुमाउँदा पनि उदासीन मनोवृत्ति देखाएकोले अलमल्ल पर्छन्। आज, हामी अय्यूबको हृदयभित्र के भइरहेको थियो भन्‍ने कुरा व्याख्या गरी यी सबै मानिसहरूले महसुस गरेका भ्रमहरूलाई हटाउनेछौं।

सामान्य ज्ञानले के भन्छ भने, परमेश्‍वरले यस्तो प्रशस्त सम्पत्ति दिनुभएकोले यी सम्पत्तिहरू गुमाउँदा अय्यूबले परमेश्‍वरको सामु लज्‍जित महसुस गर्नुपर्नेथ्यो, किनकि तिनले ती कुराको हेरचाह वा रेखदेख गरेनन्; परमेश्‍वरले तिनलाई दिनुभएको सम्पत्ति तिनले सम्हालेर राखेनन्। यसैले जब तिनले आफ्नो सम्पत्ति चोरी भएको सुने, त्यसबेला पहिलो प्रतिक्रियास्वरूप तिनले घटनास्थल गएर चोरी भएका सबै चीजबीजको सूची बनाउने र परमेश्‍वरसामु स्वीकार गर्ने कार्य गर्नुपर्थ्यो ताकि तिनले फेरि एकचोटि परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरून्। तर अय्यूबले त्यसो गरेनन्, र तिनले त्यसो नगर्नुका आफ्नै स्वाभाविक कारणहरू थिए। अय्यूबले आफ्नो हृदयमा यो विश्‍वास गरेका थिए कि तिनीसँग भएका सबै थोक परमेश्‍वरले दिनुभएको थियो र ती तिनको आफ्नै परिश्रमका फल थिएनन्। त्यसैले तिनले ती आशिष्‌हरूलाई फाइदा उठाउनुपर्ने पूँजीको रूपमा लिएनन्, बरु यसको सट्टा तिनले सम्पूर्ण शक्ति लगाई आफ्नो जिउने सिद्धान्तलाई त्यही मार्गमा आधारित गरे जुन मार्गलाई तिनले पालन गर्नुपर्थ्यो। तिनले परमेश्‍वरका आशिष्‌हरूको कदर गरे अनि तिनका लागि उहाँलाई धन्यवाद दिए, तर तिनी आशिष्‌हरूद्वारा मोहित भएनन्, न त तिनले ती अझै बढी प्राप्त गर्न नै प्रयास गरे। सम्पत्तिप्रति तिनको मनोवृत्ति यस्तै थियो। तिनले न त आशिष् प्राप्त गर्नका लागि केही गरे, न त परमेश्‍वरका आशिष्‌हरूको कमी हुन्छ वा ती गुमाउनुपर्छ भनेर नै चिन्ता वा लोभ नै गरे; तिनी न त परमेश्‍वरका आशिष्‌हरूको कारण उग्र रूपमा उत्तेजित हुँदै खुसी भए, न त बारम्बार आशिष्‌ पाएको कारण तिनले परमेश्‍वरको मार्गलाई बेवास्ता गर्ने वा परमेश्‍वरको अनुग्रहलाई बिर्सने कार्य नै गरे। आफ्‍नो सम्पत्तिप्रति अय्यूबले देखाएको मनोवृत्तिले मानिसहरूसामु तिनको वास्तविक मानवता प्रकट गर्छ: पहिलो कुरा, अय्यूब लोभी थिएनन्, र आफ्नो भौतिक जीवनमा तिनले अपेक्षाहरू गर्दैनथिए। दोस्रो कुरा, अय्यूबले कहिल्यै पनि आफूसँग भएका सबै थोक परमेश्‍वरले खोस्‍नुहुनेछ भनी चिन्ता वा डर मानेनन्, जुन तिनको हृदयमा भएको परमेश्‍वरप्रतिको आज्ञाकारिताको मनोवृत्ति थियो; अर्थात्, परमेश्‍वरले कहिले खोस्‍नुहुन्छ, वा उहाँले खोस्‍नुहुन्छ कि हुन्‍न भन्‍नेबारेमा कहिल्यै कुनै अपेक्षा वा गुनासो गरेनन्, र त्यसो गर्नुको कारण पनि सोधेनन्, केवल परमेश्‍वरको बन्दोबस्तहरू मात्र पालन गर्न खोजे। तेस्रो कुरा, तिनले आफ्नो सम्पत्ति आफ्नै परिश्रमबाट आएको हो भनी कहिल्यै विश्‍वास गर्दैनथे, बरु परमेश्‍वरले दिनुभएको हो भन्‍ने ठान्थे। परमेश्‍वरमाथिको अय्यूबको विश्‍वास यस्तै थियो र यो तिनको दृढ निश्‍चयताको सङ्केत हो। के अय्यूबको मानवता र तिनको दैनिक सच्‍चा खोज यी तीन-बुँदे सारांशमा स्पष्ट भएका छन्? अय्यूबको मानवता र खोज तिनले आफ्नो सम्पत्ति गुमाउनुपर्दा पनि तिनको शान्त आचरणको अभिन्‍न हिस्‍साको रूपमा रहेका थिए। तिनको दैनिक खोजको कारणले गर्दा नै परमेश्‍वरका जाँचहरू आएको समयमा अय्यूबमा यसो भन्‍न सक्‍ने कद र दृढ विश्‍वास थियो, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” यी वचनहरू रातारात प्राप्त भएका थिएनन्, न त ती अय्यूबको दिमागमा अचानक देखा परेका नै थिए। ती त तिनले धेरै वर्ष जीवन अनुभव गर्ने क्रममा देखेका र प्राप्त गरेका कुराहरू थिए। परमेश्‍वरका आशिष्‌हरू मात्र खोज्ने र परमेश्‍वरले उनीहरूबाट खोस्‍नुहोला भनी डराउने, त्यसरी खोसिएको मन नपराउने र त्यसबारेमा गुनासो गर्ने सबै मानिसहरूको तुलनामा, के अय्यूबको आज्ञाकारिता एकदमै वास्तविक छैन र? परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्ने, तर परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ भनी विश्‍वास नगर्नेहरूको तुलनामा, के अय्यूबमा ठूलो इमानदारिता र सोझोपन छैन र?

अय्यूबको तर्कसङ्गतता

अय्यूबका वास्तविक अनुभवहरू र तिनको सोझोपन र इमानदार मानवताको अर्थ के हो भने, तिनले आफ्नो सम्पत्ति र आफ्ना छोराछोरीहरू गुमाउँदा सबैभन्दा तर्कसंगत निर्णय र छनौट गरे। त्यस्ता तर्कसंगत छनौटहरू तिनको दैनिक खोज र तिनले आफ्नो दैनिक जीवनको समयमा थाहा पाएका परमेश्‍वरका कार्यहरूबाट अलग गर्नै नसकिने थिए। अय्यूबको इमानदारिताले तिनलाई सबै थोकमाथि यहोवाको हात छ भनी विश्‍वास गर्न सक्षम बनायो। तिनको विश्‍वासले तिनलाई सबै कुरामाथि यहोवा परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यबारे थाहा दिलायो; तिनको ज्ञानले तिनलाई यहोवा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न इच्छुक र सक्षम बनायो; तिनको आज्ञाकारिताले तिनलाई यहोवा परमेश्‍वरसित झन्‍झन् साँचो रूपमा डराउन समर्थ तुल्यायो; तिनको डरले दुष्टताबाट अलग बस्‍ने तिनको कार्यलाई झन्-झन् वास्तविक बनायो; अन्त्यमा, अय्यूब सिद्ध भए किनकि तिनी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे; तिनको सिद्धताले तिनलाई ज्ञानी बनायो र तिनलाई अत्याधिक तर्कसङ्गतता दिलायो।

हामीले यो “तर्कसंगत” भन्‍ने शब्दलाई कसरी बुझ्नुपर्छ? यसको शाब्दिक अर्थ राम्रो चेतनामा हुनु, आफ्नो सोचविचारमा तार्किक र समझदार हुनु, बोलीवचन, व्यवहार र निर्णयमा चुस्त हुनु, र सही अनि स्थिर नैतिक मापदण्डहरू धारण गर्नु भन्‍ने हुन्छ। तैपनि अय्यूबको तर्कलाई भने यति सजिलै वर्णन गर्न सकिँदैन। यहाँ अय्यूबमा अत्याधिक तर्कसङ्गतता थियो भनेर भनिँदा, यो तिनको मानवता र परमेश्‍वरसामु तिनको आचरणको सम्बन्धमा भनिएको हो। अय्यूब इमानदार भएका हुनाले, तिनी परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्न र यसलाई पालना गर्न सक्षम थिए जसले तिनलाई यस्तो अरू कसैले प्राप्त गर्न नसक्‍ने ज्ञान दियो, र यस ज्ञानले तिनलाई आफूमाथि आइलाग्‍ने कुराहरूलाई अझ राम्ररी पत्ता लगाउन, विचार गर्न, र परिभाषित गर्न सक्षम तुल्यायो, जसले तिनलाई के गर्नुपर्छ र कुन कुरा पक्रिनुपर्छ भनी सही र स्पष्ट रूपमा बुझ्न मदत गर्‍यो। भन्‍नुको अर्थ, तिनका वचनहरू, व्यवहार, तिनका कार्यपछाडिका सिद्धान्तहरू, र तिनको व्यवहारका आचार-संहिता नियमित, स्पष्ट, र विशिष्ट थिए, र ती अन्धाधुन्ध, आवेगपूर्ण वा भावनात्मक थिएनन्। तिनीमाथि जे आइपरे पनि त्यसप्रति कसरी व्यवहार गर्नुपर्छ सो तिनलाई थाहा थियो, जटिल घटनाहरूबीचको सम्बन्धलाई कसरी सन्तुलनमा राख्‍नुपर्छ भनी तिनले जान्दथे, र समात्‍नुपर्ने बाटोलाई कसरी समात्‍नुपर्छ भन्‍ने तिनलाई थाहा थियो, र अझ भन्‍ने हो भने, यहोवा परमेश्‍वरले दिनुहुँदा र लिनुहुँदा कस्तो व्यवहार गर्नुपर्छ भनेर तिनी जान्दथे। अय्यूबको तर्कसङ्गतता यही थियो। अय्यूब यस्तै तर्कसङ्गतताले सुसज्‍जित भएको कारण नै तिनले आफ्‍नो सम्पत्ति र आफ्‍ना छोराछोरी गुमाउँदा पनि यसो भन्‍न सके, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।”

जब अय्यूबले शरीरको ठूलो पीडा र आफ्ना आफन्त र साथीहरूको विरोधको सामना गर्नुपर्‍यो, र जब तिनले मृत्युको सामना गर्नुपर्‍यो, तब तिनको वास्तविक आचरणले फेरि एकपल्ट सबैलाई तिनको वास्तविक अनुहार देखायो।

अय्यूबको वास्तविक अनुहार: साँचो, शुद्ध, र झूटरहित

हामी अय्यूब २:७-८ लाई पढौँ: “यसैले शैतान यहोवाको छेउबाट गयो र अय्यूबको खुट्टाको पैतालादेखि टाउकोसम्मै पोल्‍ने खटिराहरू उब्जाइदियो। अनि तिनले आफूलाई कन्याउन माटोको भाँडाको एउटा खपटा लिए; अनि तिनी खरानीमा बसे।” यो अय्यूबको शरीरमा पीडादायक खटिराहरू निस्केको बेला तिनको आचरण कस्तो थियो भन्‍ने व्याख्या हो। यस समयमा, पीडा सहने क्रममा अय्यूब खरानीमा बसे। कसैले पनि तिनको उपचार गरेनन्, र कसैले पनि तिनको शरीरको पीडा कम गर्न मद्दत गरेनन्; बरु, तिनले खटिरा कन्याउन फुटेका माटोका भाँडाका टुक्राहरू प्रयोग गरे। सतही रूपमा, यो केवल अय्यूबको यातनाको एक चरण मात्र थियो, र तिनको मानवता र परमेश्‍वरप्रतिको भयसँग यसको कुनै सम्बन्ध थिएन, किनकि अय्यूबले यस बेला आफ्नो मनस्थिति र विचार व्यक्त गर्न कुनै शब्द बोलेनन्। तैपनि, अय्यूबका व्यवहारहरू र तिनको आचरण तिनको मानवताको वास्तविक अभिव्यक्ति नै हुन्। अघिल्लो अध्यायको अभिलेखमा हामीले पूर्वको संसारमा अय्यूब सबैभन्दा महान् व्यक्ति थिए भनेर पढ्यौँ। यसैबीच, दोस्रो अध्यायको यो खण्डले पूर्वका यस महान् व्यक्तिले खरानीमा बसेर फुटेका माटोका भाँडाका टुक्राहरू प्रयोग गरे भन्‍ने देखाउँछ। के यी दुई वर्णनबीच स्पष्ट भिन्‍नता छैन र? यो एउटा यस्तो भिन्‍नता हो जसले हामीलाई अय्यूबको वास्तविक जीवन देखाउँछ: आफ्नो प्रतिष्ठित स्थान र हैसियतको बाबजुद पनि, तिनले यी कुराहरूलाई कहिल्यै प्रेम गरेनन् न त यी कुराहरूमा कुनै ध्यान नै दिए; अरूले तिनको प्रतिष्ठालाई कसरी हेर्छन् भनेर तिनले वास्ता गरेनन्, न त तिनको काम वा आचरणले तिनको प्रतिष्ठामा कुनै नकारात्मक असर पार्ला कि भनेर नै तिनी चिन्तित थिए; तिनी हैसियतका लाभहरूमा लिप्त भएनन्, न त तिनले हैसियत र प्रतिष्ठाको साथमा आउने महिमाको आनन्द नै लिए। तिनले केवल यहोवा परमेश्‍वरको नजरमा आफ्नो मूल्य र आफ्नो जीवनको महत्त्वको बारेमा मात्रै चिन्ता गरे। अय्यूबको साँचो व्यक्तित्व नै तिनको सार थियो: तिनले प्रसिद्धि र सम्पत्तिलाई प्रेम गरेनन्, र तिनी प्रसिद्धि र सम्पत्तिका लागि जिएनन्; तिनी साँचो, र शुद्ध, अनि झूटरहित थिए।

अय्यूबले प्रेम र घृणालाई छुट्ट्याए

अय्यूबको मानवताको अर्को पक्षलाई तिनी र तिनकी पत्‍नीबीचको यो बातचितमा देखाइएको छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्। तर तिनले उनलाई भने, तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:९-१०)। तिनले भोगेका यातना देखेर, अय्यूबकी पत्‍नीले तिनलाई त्यस पीडाबाट बच्न मदत गर्नलाई सल्लाह दिन खोजिन्, तर उनका “असल मनसायहरू” ले अय्यूबको स्वीकृति प्राप्त गरेनन्; बरु ती कुराले तिनलाई रिस उठ्यो, किनकि उनले यहोवा परमेश्‍वरमाथिको तिनको विश्‍वास र आज्ञापालनलाई इन्कार गरेकी थिइन्, र साथै यहोवा परमेश्‍वरको अस्तित्वलाई पनि इन्कार गरेकी थिइन्। अय्यूबको लागि यो असहनीय थियो, किनकि तिनले कहिल्यै पनि परमेश्‍वरको विरुद्ध वा उहाँलाई चोट पुर्‍याउने वा अरूको विषयमा केही भन्‍ने काम कहिल्यै गरेका थिएनन्। अरूले परमेश्‍वरको निन्दा र अपमान गर्ने कुरा बोलेको देख्दा तिनी कसरी उदासीन हुन सक्थे र? यसैले तिनले आफ्नी पत्‍नीलाई “मूर्ख स्‍त्री” भनी भने। आफ्नी पत्‍नीप्रति अय्यूबको मनोवृत्ति क्रोध र घृणाका साथसाथै निन्दा र हप्कीले भरिएको थियो। यो अय्यूबको मानवताको स्वाभाविक अभिव्यक्ति थियो—प्रेम र घृणाबीचको भिन्‍नता छुट्ट्याउने—यो तिनको सोझो मानवताको एक साँचो प्रतिनिधित्व थियो। अय्यूबमा न्यायको बोध थियो—जसले तिनलाई दुष्टताका बतास र छालहरूलाई घृणा गर्ने बनायो, वाहियात विधर्म, हास्यास्पद बहसहरू र लाजलाग्दो दाबीहरूलाई घृणा, निन्दा र अस्वीकार गर्ने बनायो, अनि तिनलाई भीडहरूले अस्वीकार गर्दा र नजिकका मानिसहरूले त्याग्दा पनि तिनलाई आफ्नै सही सिद्धान्तहरू र अडानप्रति सच्‍चा रहने व्यक्ति तुल्यायो।

अय्यूबको दयालुपन र इमानदारिता

अय्यूबको आचरणबाट हामी तिनको मानवताका विभिन्‍न पक्षहरूको अभिव्यक्ति देख्‍न सक्छौँ, त्यसकारण अय्यूबले आफू जन्मेको दिनलाई सराप्‍न मुख खोल्दा हामी तिनको मानवताको कुन कुरालाई देख्छौँ? तल हामी यही विषयमा बताउनेछौँ।

माथि, मैले अय्यूबले आफू जन्मेको दिनलाई सरापेको पृष्ठभूमि बताएको छु। तिमीहरू यसमा के देख्छौ? यदि अय्यूब कठोर हृदयको र प्रेमरहित थिए भने, यदि तिनी उदासीन र भावनाहीन र मानवता नभएका व्यक्ति भएका भए, के तिनले परमेश्‍वरको हृदयको चाहनाको वास्ता गर्थे होला? के तिनले परमेश्‍वरको हृदयको चाहनालाई वास्ता गरेको कारण आफू जन्मेको दिनलाई तुच्छ ठान्‍न सक्थे? अर्को शब्दमा भन्‍नुपर्दा, यदि अय्यूब कठोर हृदयका र मानवता नभएका व्यक्ति भएका भए, के तिनी परमेश्‍वरको पीडाले व्याकुल हुन सक्थे? के परमेश्‍वर तिनको कारण शोकमा डुब्‍नुभएकोले गर्दा तिनले आफ्नो जन्म दिनलाई सराप्‍न सक्थे? यसको उत्तर हो, बिलकुल होइन! अय्यूब दयालु थिए, यसैले तिनले परमेश्‍वरको हृदयको वास्ता गरे; अय्यूबले परमेश्‍वरको हृदयको वास्ता राखेकाले नै तिनले परमेश्‍वरको पीडा महसुस गरे; तिनी दयालु थिए, यसैले तिनले परमेश्‍वरको कष्टको अनुभव गरेर ठूलो यातना सहे; तिनले परमेश्‍वरको पीडा महसुस गरेकाले नै तिनले आफू जन्मेको दिनलाई घृणा गर्न थाले, र यसरी तिनले आफ्नो जन्मदिनलाई सरापे। बाहिरका मानिसहरूका निम्ति, अय्यूबको परीक्षाको अवधिमा तिनले देखाएको सम्पूर्ण आचरण उदाहरणीय छ। केवल तिनले आफू जन्मेको दिनलाई सरापेको कुराले मात्र तिनको सिद्धता र सोझोपनमाथि प्रश्‍न चिन्‍ह खडा गर्छ, वा एउटा फरक मूल्याङ्कन प्रदान गर्छ। वास्तवमा यो अय्यूबको मानवता सारको सबैभन्दा साँचो अभिव्यक्ति थियो। तिनको मानवताको सार लुकाइएको वा पोको पारिएको थिएन, वा अरू कसैद्वारा संशोधित गरिएको थिएन। जब तिनले आफू जन्मेको दिनलाई सरापे, तब तिनले आफ्नो हृदयको गहिराइमा भएको दयालुपन र इमानदारिता प्रदर्शित गरे; तिनी त जरुवा मूलजस्तै थिए, जसको पानी यति स्वच्छ र पारदर्शी हुन्छ कि त्यसको भुइँ पनि देखिन्छ।

अय्यूबको बारेमा यी सबै कुरा जानिसकेपछि, धेरैजसो मानिसहरूमा अवश्य नै अय्यूबको मानवता सारको सही र वस्तुपरक मूल्याङ्कन हुनेछ। उनीहरूमा परमेश्‍वरले भन्‍नुभएको अय्यूबको सिद्धता र सोझोपनको बारेमा पनि गहन, व्यावहारिक र अझ उच्‍च बुझाइ र कदर हुनुपर्छ। आशा छ, यो बुझाइ र कदरले मानिसहरूलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्ने कार्यको थालनी गर्न मदत गर्नेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध

अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो थिए र तिनी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भनी बुझ्‍ने भए पनि, यस्तो कुराको पहिचानले...

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) (भाग १)

१. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब २:३ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध...

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) (भाग २)

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको...

अय्यूबको गवाहीले परमेश्‍वरलाई सान्त्वना दिलाउँछ

यदि मैले अहिले तिमीहरूलाई अय्यूब एक माया लाग्दो व्यक्ति हुन् भनेर भनेँ भने तिमीहरू यी वचनहरूभित्रका अर्थलाई सायद महसुस गर्न सक्दैनौ, र मैले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्