परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ

13 अगस्ट 2021

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ

शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा पनि अख्‍तियार छ, किनभने शैतानले पनि आश्‍चर्यकर्महरू देखाउन सक्छ, र मानवजातिको लागि असम्‍भव रहेका कुराहरू गर्न सक्छ भनी विश्‍वास गर्ने धेरै मूर्ख मानिसहरू समेत छन्। त्यसैले, परमेश्‍वरलाई आराधना गर्ने बाहेक, मानिसले आफ्‍नो हृदयमा शैतानको लागि पनि ठाउँ साँचेर राख्छ, र शैतानलाई परमेश्‍वरको रूपमा आराधना समेत गर्छ। यी मानिसहरू दयनीय र घृणास्पद दुवै छन्। तिनीहरूको अज्ञानताको कारण तिनीहरू दयनीय छन्, र तिनीहरूको विधर्म र अन्तर्निहित दुष्ट सारको कारण तिनीहरू घृणास्पद छन्। यस विन्दुमा, तिमीहरूलाई अख्‍तियार भनेको के हो, यो केको प्रतीक हो, र यसले केलाई प्रतिनिधित्व गर्छ सो बारेमा जानकारी दिनु अत्यावश्यक छ भन्‍ने मलाई लाग्छ। वृहत् रूपमा भन्दा, परमेश्‍वर स्वयम्‌ नै अख्‍तियार हुनुहुन्छ, उहाँको अख्‍तियार परमेश्‍वरको सर्वोच्‍चता र सारको प्रतीक हो, र परमेश्‍वर स्वयम्को अख्तियारले परमेश्‍वरको हैसियत र पहिचानलाई प्रतिनिधित्व गर्छ। यसो हुनाले, के शैतानले त्यो आफै परमेश्‍वर हो भनेर भन्‍ने आँट गर्छ? के शैतानले त्यसले नै सबै थोक सृष्टि गरेको हो, र सबै थोकमाथि त्यसको सार्वभौमिकता छ भनेर भन्‍ने आँट गर्छ? अवश्य यसले त्यसो भन्दैन! किनभने यसले सबै थोक सृष्टि गर्न सक्दैन; अहिलेको मितिसम्‍म, परमेश्‍वरले सृष्टि गर्नुभएको कुनै पनि थोक यसले बनाएको छैन, र जीवन भएको कुनै पनि कुरा सृष्टि गरेको छैन। त्योसँग परमेश्‍वरको अख्तियार नभएको हुनाले, त्यसमा परमेश्‍वरको हैसियत र पहिचान हुनु कहिल्यै सम्‍भव हुन सक्दैन, र यसलाई त्यसकै सारले निर्धारित गर्छ। के त्योसँग परमेश्‍वरको जस्तै शक्ति छ? अवश्य त्यसमा त्यस्तो शक्ति छैन! शैतानले गरेका कार्यहरूलाई, र शैतानले प्रदर्शन गरेका आश्‍चर्यकर्महरूलाई हामी के भन्छौँ? के यो शक्ति हो? के यसलाई अख्‍तियार भनेर भन्‍न सकिन्छ? अवश्य सकिँदैन! शैतानले दुष्टताको छाललाई निर्देशित गर्छ, र परमेश्‍वरको कार्यका हरेक पक्षलाई बाधा दिने, बिगार्ने, र अवरोध गर्ने गर्छ। विगतका हजारौँ वर्षदेखि, मानवजातिलाई भ्रष्ट तुल्याउने र दुर्व्यवहार गर्ने, र मानिस मृत्युको छायाको घाटीतर्फ हिँडोस् भनेर मानिसलाई प्रलोभनमा पार्ने र छल गर्ने गरेर भ्रष्टता र परमेश्‍वरलाई इन्कार गर्ने कार्यमा लगाउने बाहेक, के शैतानले त्यस्तो केही गरेको छ जसको लागि मानिसले त्यसलाई अलिकति समेत स्मरण गर्नु, तारिफ गर्नु, वा कदर गर्नु योग्य छ? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा भ्रष्ट तुल्याइएको हुनेथियो? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा हानि गरिएको हुनेथियो? यदि शैतानसँग शक्ति र अख्तियार भएको भए, के मानवजाति परमेश्‍वरलाई त्यागेर मृत्युको शरण परेको हुनेथियो? शैतानसँग कुनै अख्‍तियार वा शक्ति नभएको हुनाले, त्यसले गर्ने सबै कुराको सारको बारेमा हामीले के निष्कर्ष निकाल्‍नुपर्छ? शैतानले गर्ने सबै कुरा छल मात्रै हुन् भनेर परिभाषित गर्नेहरू पनि छन्, तैपनि त्यस्तो परिभाषा त्यति उपयुक्त छैन भन्‍ने मलाई विश्‍वास छ। के मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसका दुष्ट कार्यहरू छल मात्रै हुन् त? अय्यूबलाई दुर्व्यवहार गर्नको लागि शैतानले प्रयोग गरेको दुष्टताको शक्ति, र तिनलाई दुर्व्यवहार गर्ने र तिनलाई निल्ने त्यसको तीव्र इच्‍छालाई छलद्वारा मात्रै हासिल गर्न सकिँदैन। फर्केर हेर्दा, पहाड-पर्वतभरि टाढा-टाढासम्‍म छरपष्ट भएका अय्यूबका बथान र बगालहरू एकै क्षणमा विलय भएका थिए; एकै क्षणमा, अय्यूबको भाग्य हराएर गयो। के त्यसलाई छलले मात्रै हासिल गर्न सकियो? शैतानले गर्ने सबै कुराको प्रकृति बिगार्ने, अवरोध खडा गर्ने, नष्ट गर्ने, हानी गर्ने, दुष्टता, दुर्भावना, र अन्धकार जस्ता नकरात्मक शब्‍दहरूसँग सम्‍बन्धित छन् र तीसँग मिल्छन्, त्यसकारण घट्ने सबै अधार्मिकता र दुष्ट घटनाहरू अपरिहार्य रूपमा नै शैतानका कार्यहरूसँग जोडिएका हुन्छन्, र त्यसलाई शैतानको दुष्ट सारबाट अलग गर्न सकिँदैन। शैतान जति नै “शक्तिशाली” भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!

शैतानको साँचो रूपलाई बुझिसकेपछि, अख्‍तियार भनेको के हो धेरै मानिसहरूले अझै बुझ्दैनन्, त्यसकारण म तँलाई बताउँछु! अख्‍तियार स्वयम्‌लाई परमेश्‍वरको शक्तिको रूपमा व्याख्या गर्न सकिन्छ। पहिलो, अख्‍तियार र शक्ति दुवै सकारात्मक छन् भनेर निश्‍चितताको साथ भन्‍न सकिन्छ। कुनै पनि नकारात्मक कुरासँग तिनको कुनै सम्‍बन्ध छैन, र सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीसँग ती सम्‍बन्धित छैनन्। परमेश्‍वरको शक्तिले जीवन र जीवन-शक्ति भएको कुनै पनि स्वरूपको कुराहरूलाई सृष्टि गर्न सक्छ, र यसलाई परमेश्‍वरको जीवनले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर जीवन हुनुहुन्छ, त्यसकारण उहाँ सबै जीवित प्राणीहरूको स्रोत हुनुहुन्छ। यसको साथै, परमेश्‍वरको अख्‍तियारले हरेक जीवित प्राणीलाई परमेश्‍वरको हरेक वचन पालन गर्ने तुल्याउँछ, अर्थात् परमेश्‍वरको मुखबाट निस्केका वचनहरू अनुसार अस्तित्वमा आउने, र परमेश्‍वरको आज्ञा अनुसार जिउने र सन्तान उत्पादन गर्ने तुल्याउँछ, जसपछि परमेश्‍वरले सबै जीवित प्राणीहरूमाथि शासन गर्नुहुन्छ र हुकुम चलाउनुहुन्छ, र कहिल्यै पनि त्यसमा तलमाथि हुनेछैन, सदासर्वदा नै। कुनै पनि व्यक्ति वा वस्तुमा यी कुराहरू छैन; सृष्टिकर्तामा मात्रै त्यस्तो शक्ति छ र उहाँले मात्रै त्यस्तो शक्ति बोक्‍नुहुन्छ, त्यसैले यसलाई अख्तियार भनिन्छ। सृष्टिकर्ताको अद्वितीयपन यही नै हो। त्यसैले, चाहे यो “अख्‍तियार” शब्‍द मात्रै होस् वा यो अख्तियारको सार होस्, प्रत्येकलाई सृष्टिकर्तासँग मात्रै सम्‍बन्धित गर्न सकिन्छ, किनभने यो सृष्टिकर्ताको अद्वितीय पहिचान र सारको प्रतीक हो, र यसले सृष्टिकर्ताको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छ; सृष्टिकर्ता बाहेक, कुनै पनि व्यक्ति वा थोकलाई “अख्‍तियार” भन्‍ने शब्दसँग सम्‍बन्धित गर्न सकिँदैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्थ-अनुवाद यही नै हो।

शैतानले अय्यूबमाथि लोभी नजरले हेरेको भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यसले अय्यूबको शरीरको एउटा रौँ समेत छुने आँट गरेन। शैतान अन्तर्निहित रूपमा दुष्ट र निर्दयी भए तापनि, परमेश्‍वरले त्यसको लागि उहाँको आदेश जारी गरिसक्‍नुभएपछि, परमेश्‍वरको आज्ञालाई पालना गर्ने बाहेक त्योसँग केही विकल्‍प थिएन। यसरी, जब त्यो अय्यूबकहाँ आयो त्यो भेडाको बीचमा ब्‍वाँसो झैँ अनियन्त्रित भएको भए तापनि, परमेश्‍वरले त्यसको निम्ति तोकिदिनुभएका सीमितताहरूलाई बिर्सने आँट त्यसले गरेन, परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्ने आँट गरेन, र त्यसले गरेको सबै कुरामा, शैतानले परमेश्‍वरका वचनहरूका सिद्धान्त र सीमितताहरूबाट दायाँ-बायाँ गर्ने आँट गरेन—के यो तथ्य होइन र? यसबाट के देख्‍न सकिन्छ भने शैतानले यहोवा परमेश्‍वरका कुनै पनि वचनहरूलाई अवहेलना गर्ने आँट गर्दैन। शैतानको लागि, परमेश्‍वरको मुखबाट निस्केको हरेक वचन आदेश र स्वर्गीय कानुन, परमेश्‍वरको अख्तियारको अभिव्यक्ति हो—किनभने परमेश्‍वरको वचनको पछाडि परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्नेहरू, र स्वर्गीय कानुनहरूलाई अवज्ञा गर्ने र विरोध गर्नेहरूलाई दिइने परमेश्‍वरका दण्डहरू सङ्केत गरिएको हुन्छ। यदि त्यसले परमेश्‍वरका आदेशहरू उल्‍लङ्घन गर्‍यो भने, परमेश्‍वरको अख्‍तियारलाई नाघेको र स्वर्गीय नियमहरूलाई विरोध गरेको परिणामहरूलाई त्यसले स्वीकार गर्नैपर्छ भन्‍ने कुरा शैतानलाई स्पष्टै थाहा छ। यी परिणामहरू आखिर के-के हुन् त? अवश्य नै, ती परमेश्‍वरले त्यसलाई दिनुहुने दण्ड हुन्। अय्यूबप्रति शैतानले गरेका कार्यहरू त्यसले मानिसलाई कति भ्रष्ट तुल्याएको छ भन्‍ने कुराको सानो टुक्रा मात्रै थियो, र जब शैतानले यी कार्यहरू गरिरहेका थिए, परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू र उहाँले जारी गर्नुभएका आदेशहरू त्यसले गर्ने सबै कुराको पछाडिका सिद्धान्तहरूको सानो टुक्रा मात्रै थियो। यसको साथै, यस विषयमा शैतानको भूमिका र स्थान परमेश्‍वरको व्यवस्थापनको कार्यमा रहेको त्यसको भूमिका र स्थानको सानो भाग मात्रै थियो, र अय्यूबलाई परीक्षा गर्ने क्रममा शैतानले गरेको परमेश्‍वरको पूर्ण आज्ञापालन परमेश्‍वरको व्यवस्थापन कार्यमा कसरी शैतानले परमेश्‍वरलाई अलिकति विरोध गर्ने आँट पनि गरेन त्यसको सानो भाग मात्रै थियो। यी साना भागहरूले तिमीहरूलाई के चेतावनी दिन्छ? शैतान लगायत सबै थोकको बीचमा, सृष्टिकर्ताले तय गर्नुभएका स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्न सक्‍ने कुनै व्यक्ति वा थोक छैन, र यी स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्ने आँट कुनै व्यक्ति वा थोकले गर्दैन, किनभने तिनलाई अवज्ञा गर्नेहरूलाई सृष्टिकर्ताले दिनुहुने दण्डलाई कुनै व्यक्ति वा थोकले परिवर्तन गर्न वा त्यसबाट उम्‍कन सक्दैन। सृष्टिकर्ताले मात्रै स्वर्गीय नियम र अध्यादेशहरू जारी गर्न सक्‍नुहुन्छ, तिनलाई लागू गर्ने शक्ति सृष्टिकर्तासँग मात्रै छ, र सृष्टिकर्ताको शक्तिलाई मात्रै कुनै व्यक्ति वा थोकले भङ्ग गर्न सक्दैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो, र यो अख्‍तियार सबै थोकको बीचमा सबैभन्दा सर्वोच्‍च छ, त्यसकारण “परमेश्‍वर सबैभन्दा महान् हुनुहुन्छ र दोस्रो नम्बरमा शैतान छ” भनेर भन्‍नु असम्‍भव छ। अद्वितीय अख्तियार निहित भएको सृष्टिकर्ता बाहेक, अरू कुनै परमेश्‍वर छैन!

के अहिले तिमीहरूसँग परमेश्‍वरको अख्तियार सम्‍बन्धी नयाँ ज्ञान छ? सबभन्दा पहिले, के भर्खरै उल्‍लेख गरेको परमेश्‍वरको अख्‍तियार र मानिसको शक्तिको बीचमा भिन्‍नता छ? के भिन्‍नता छ? कतिपय मानिसहरूले यी दुईलाई तुलना गर्न सकिँदैन भनेर भन्छन्। त्यो सही कुरा हो! मानिसहरूले यी दुई बीचमा तुलना गर्न सकिँदैन भनेर भन्‍ने भए तापनि, मानिसका विचार र धारणाहरूमा, मानिसको शक्तिलाई नै प्रायजसो अख्‍तियार हो भन्‍ने ठानिन्छ, र यी दुईलाई प्रायजसो सँग-सँगै राखेर तुलना गरिन्छ। यहाँ के भइरहेको छ? के मानिसहरूले लापरवाहीको साथ एउटालाई अर्कोको सट्टा प्रयोग गरेर गल्ती गरिरहेका छैनन् र? यी दुई सम्‍बन्धित छैनन्, र तिनीहरूको बीचमा कुनै तुलना हुन सक्दैन, तैपनि मानिसहरू त्यसो नगरी बस्‍न सक्दैनन्। यसलाई कसरी समाधान गर्ने? यदि तँ साँच्‍चै ने समाधान पाउन चाहन्छस् भने, यसको एउटै मात्र तरिका भनेको परमेश्‍वरको अद्वितीय अख्‍तियारलाई बुझ्‍नु र जान्‍नु हो। सृष्टिकर्ताको अख्तियारलाई बुझेर जानिसकेपछि, तैँले मानिसको शक्ति र परमेश्‍वरको अख्‍तियारलाई समान रूपमा उल्‍लेख गर्नेछैनस्।

मानिसको शक्तिले केलाई जनाउँछ? सरल रूपमा भन्दा, यो त्यो क्षमता वा सीप हो जसले मानिसको भ्रष्ट स्वभाव, इच्‍छा र महत्वाकांक्षाहरूलाई त्यसको अधिकतम हदसम्म विस्तार हुने वा हासिल गर्ने तुल्याउँछ। के यो अख्‍तियारको रूपमा गन्ती हुन्छ त? मानिसको महत्वाकांक्षा र इच्‍छाहरू जति तीव्र वा लाभदायक भए तापनि, व्यक्तिमा अख्‍तियार छ भनेर भन्‍न सकिँदैन; बढीमा, यो फाइँफुट्टी र सफलता मानिसको बीचमा शैतानको तमासाको प्रदर्शन मात्रै हो; बढीमा, यो एउटा स्वाँग मात्रै हो जसमा शैतानले परमेश्‍वर बन्‍ने आफ्‍नो महत्वाकांक्षा पूरा गर्नका लागि त्यसको आफ्‍नै पुर्खाले जस्तो व्यवहार गर्छ।

अहिले तैँले परमेश्‍वरको अख्‍तियारलाई खास गरी कसरी हेर्छस्? अहिले यी वचनहरूको बारेमा सङ्गति गरिसकिएको हुनाले, तँसँग परमेश्‍वरको अख्तियारको बारेमा नयाँ ज्ञान हुनुपर्ने हो। त्यसैले म तिमीहरूलाई सोध्छु: परमेश्‍वरको अख्तियार केको प्रतीक हो? के यो परमेश्‍वर स्वयम्‌को पहिचानको प्रतीक हो? के यो परमेश्‍वरको स्वयम्‌को शक्तिको प्रतीक हो? के यो परमेश्‍वर स्वयम्‌को अद्वितीय हैसियतको प्रतीक हो? सबै थोकमध्येमा, केमा तैँले परमेश्‍वरको अख्‍तियार देखेको छस्? तैँले यो कसरी देखिस्? मानिसले अनुभव गर्ने चार ऋतुहरूको हकमा कुरा गर्दा, के कसैले वसन्त, ग्रीष्म, शरद, र शिशिरको बीचमा हुने परिवर्तनको नियमलाई परिवर्तन गर्न सक्छ? वसन्तमा, रूखका मुनाहरू उम्रन्छन् र फक्रन्छन्; ग्रीष्ममा ती पातहरूले भरिन्छन्; शरदमा तिनीहरूले फल फलाउँछन्, र शिशिरमा पातहरू झर्छन्। के कसैले यो नियमलाई परिवर्तन गर्न सक्छ? के यसले परमेश्‍वरको अख्तियारको एउटा पक्षलाई झल्‍काउँछ? परमेश्‍वरले “उज्यालो होस्,” भनी भन्‍नुभयो र उज्यालो भयो। के यो उज्यालो अझै अस्तित्वमा छ? के कारणले यो अझै अस्तित्वमा छ? निश्‍चय नै, परमेश्‍वरका वचनहरूको कारणले, र परमेश्‍वरको अख्‍तियारको कारणले यो अस्तित्वमा छ। के परमेश्‍वरले सृष्टि गर्नुभएको हावा अझै अस्तित्वमा छ? के मानिसले फेर्ने सास परमेश्‍वरबाट आउँछ? के परमेश्‍वरबाट आउने कुराहरूलाई कसैले खोस्‍न सक्छ? के कसैले तिनीहरूका सार र कार्यगत गुणलाई परिवर्तन गर्न सक्छ? के परमेश्‍वरले तय गर्नुभएको रात र दिनलाई, र परमेश्‍वरले व्यवस्थित गर्नुभएको दिन र रातको नियमलाई कसैले उल्ट्याउन सक्छ? के शैतानले त्यस्तो कुरा गर्न सक्छ? यदि तँ राती सुत्दैनस्, र रातलाई दिनको रूपमा लिन्छस् भने पनि, त्यो अझै पनि रातको समय नै हुन्छ; तैँले आफ्‍नो दैनिकीलाई परिवर्तन गर्न सक्छस्, तर रात र दिन परिवर्तन हुने नियमलाई तैँले परिवर्तन गर्न सक्दैनस्—यस तथ्यलाई कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्दैन, होइन र? के गोरु जोतेजस्तो सिंहलाई खेत जोत्‍न लगाउन सक्‍ने कोही छ? के हात्तीलाई गधामा परिवर्तन गर्न सक्‍ने कोही छ? के कुखुरोलाई चीलजस्तो आकाशमा वेग हान्‍ने बनाउन सक्‍ने कोही छ? के ब्‍वाँसोलाई भेडाजस्तो घाँस खाने बनाउन सक्‍ने कोही छ? (छैन।) के पानीको माछालाई सुक्‍खा जमिनमा जिउने बनाउन सक्‍ने कोही छ? मानिसहरूले त्यसो गर्न सक्दैनन्। किन सक्दैनन्? किनभने परमेश्‍वरले माछालाई पानीमा बस्‍ने आज्ञा दिनुभयो, त्यसकारण तिनीहरू पानीमा बस्छन्। जमिनमा तिनीहरू बाँच्‍नेछैनन्, मर्नेछन्; तिनीहरूले परमेश्‍वरको आज्ञाका सीमितताहरूलाई भङ्ग गर्न सक्दैनन्। सबै थोकसँग तिनीहरूको अस्तित्व सम्‍बन्धी नियम र सीमितता हुन्छ, र तिनीहरू प्रत्येकसँग तिनीहरूको आ-आफ्‍नै प्राकृतिक गुणहरू हुन्छन्। यी सृष्टिकर्ताले निर्धारित गर्नुभएको हो, र यसलाई कुनै पनि मानिसले परिवर्तन गर्न र नाघ्‍न सक्दैन। उदाहरणको लागि, सिंह सधैँ नै मानिसको समुदायबाट टाढा, जङ्गलमा बस्‍नेछ, र जसरी गोरु मानिससँग जिउँछ र मानिसको लागि काम गर्छ त्यसरी त्यो कहिल्यै पनि आज्ञाकारी र बफादार हुन सक्दैन। हात्ती र गधा दुवै जनावर हुन् र दुवैका चार खुट्टा हुन्छन्, र तिनीहरू हावामा सास फेर्ने प्राणीहरू हुन्, तैपनि तिनीहरू फरक-फरक प्रजाति हुन्, किनभने तिनीहरूलाई परमेश्‍वरले नै फरक-फरक प्रकारमा विभाजित गर्नुभएको थियो, तिनीहरू प्रत्येकसँग तिनीहरूका आ-आफ्‍नै प्राकृतिक गुणहरू हुन्छन्, त्यसकारण तिनीहरूलाई कहिल्यै पनि एक-आपसमा साट्न सकिनेछैन। कुखुरोसँग चीलको जस्तै दुई खुट्टा र पखेटाहरू हुने भए तापनि, त्यो कहिल्यै पनि हावामा उड्न सक्‍नेछैन; बढीमा त्यो रूखसम्‍म उड्न सक्छ—यसलाई त्यसको प्राकृतिक गुणले नै निर्धारित गरेको हुन्छ। अवश्य नै, यी सबै परमेश्‍वरको अख्‍तियारका आदेशहरूका कारणले भएका हुन्।

आज मानवजातिको विकासमा, मानवजातिको विज्ञानले प्रगति गरिरहेको छ भनेर भन्‍न सकिन्छ, र मानिसको वैज्ञानिक अन्वेषणका उपलब्धिहरू उल्‍लेखनीय छन् भनेर व्याख्या गर्न सकिन्छ। मानिसको क्षमता झन्-झन् ठूलो हुँदै वृद्धि भइरहेको छ भनेर भन्‍नुपर्छ, तर मानिसले हासिल गर्न नसकेको एउटा वैज्ञानिक सफलता छ: मानवजातिले हवाई जहाज, विमान वाहक, र परमाणु बम बनाएको छ, मानवजाति अन्तरिक्षमा गएर चन्द्रमामा हिँडेको छ, इन्टरनेटको आविष्कार गरेको छ, र उच्‍च प्रविधिको जीवनशैली जिउन पुगेको छ, तैपनि मानवजातिले जीवित, सास फेर्ने थोक बनाउन सक्दैन। हरेक जीवित प्राणीका प्राकृतिक गुण र तिनीहरू जिउने नियम, र हरेक जीवित थोकको जीवन र मृत्युको चक्र—यी सबै नै मानवजातिको विज्ञानको शक्तिभन्दा बाहिर छन्, र तिनलाई यसले नियन्त्रण गर्न सक्दैन। यस विन्दुमा, मानिसको विज्ञानले हासिल गरेका उचाइहरू जति नै माथि भए पनि, सृष्टिकर्ताका कुनै पनि विचारहरूसँग यो अतुलनीय छ, र सृष्टिकर्ताले गर्नुभएको सृष्टिको आश्‍चर्यता र उहाँको अख्तियारको सामर्थ्यलाई यसले पत्ता लगाउन सक्दैन। पृथ्वीमा धेरै समुद्रहरू छन्, तैपनि तिनीहरू आफ्‍ना सीमितताहरूलाई नाघेर कहिल्यै पनि स्वेच्छाले भूमिमा आएका छैनन्, किनभने तिनीहरू प्रत्येकको लागि परमेश्‍वरले नै सीमाहरू तोक्‍नुहुन्छ; उहाँले तिनीहरूलाई जहाँ रहने आज्ञा दिनुभयो तिनीहरू त्यहीँ बसे, र परमेश्‍वरको अनुमतिविना तिनीहरू स्वतन्त्रतापूर्वक हलचल गर्न सक्दैनन्। परमेश्‍वरको अनुमतिविना, तिनीहरूले एक-अर्कालाई अतिक्रमण गर्न सक्दैनन्, र परमेश्‍वरले भन्‍नुहुन्छ भने मात्रै तिनीहरू हलचल गर्न सक्छन्, र तिनीहरू कहाँ जान्छन् र बस्छन् सो कुरा परमेश्‍वरको अख्‍तियारले नै निर्धारित गर्छ।

यसलाई सरल रूपमा भन्दा, “परमेश्‍वरको अख्‍तियार” को अर्थ यो कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने हुन्छ। कुनै कुरा गर्ने निर्णय गर्ने अधिकार परमेश्‍वरसँग छ, र उहाँले जसरी चाहनुहुन्छ यो त्यही अनुरूप गरिन्छ। सबै थोकको नियम परमेश्‍वरकै हातमा छ, मानिसको हातमा होइन; न त यसलाई मानिसले परिवर्तन नै गर्न सक्छ। यसलाई मानिसको इच्‍छाले हलचल गर्न सक्दैन, बरु यो परमेश्‍वरका विचारहरू, परमेश्‍वरको बुद्धि, र परमेश्‍वरका आदेशहरूद्वारा नै परिवर्तन हुन्छ; यो कुनै पनि मानिसले इन्कार गर्न नसक्‍ने तथ्य हो। स्वर्ग र पृथ्वी अनि यावत् थोक, ब्रह्माण्ड, ताराले भरिएको आकाश, वर्षका चार ऋतु, मानिसले देख्‍न सक्‍ने र देख्‍न नसक्‍ने कुरा—परमेश्‍वरको अख्‍तियारको अधीनमा, परमेश्‍वरका आदेशहरू अनुसार, परमेश्‍वरका आज्ञाहरू अनुसार, र सृष्टिको सुरुवातका नियमहरू अनुसार नै ती सबै अस्तित्वमा रहन्छन्, काम गर्छन्, र कुनै पनि गल्ती विना नै परिवर्तन हुन्छन्। कुनै एक व्यक्ति वा वस्तुले तिनीहरूको नियम परिवर्तन गर्न, वा तिनले काम गर्ने अन्तर्निहित तरिकालाई परिवर्तन गर्न सक्दैन; ती परमेश्‍वरको अख्‍तियारको कारणले नै अस्तित्वमा आए, र परमेश्‍वरको अख्‍तियारकै कारणले ती नाश हुन्छन्। परमेश्‍वरको अख्‍तियार यही नै हो। यतिसम्‍म भनिसकिएको हुनाले, के तैँले परमेश्‍वरको अख्‍तियार परमेश्‍वरको पहिचान र हैसियतको प्रतीक हो भन्‍ने अनुभूति गर्न सक्छस्? के कुनै पनि सृष्टि गरिएको वा नगरिएको प्राणीमा परमेश्‍वरको अख्‍तियार निहित हुन सक्छ? के यसलाई कुनै व्यक्ति, थोक, वा वस्तुले अनुकरण गर्ने, नक्‍कल गर्ने, वा प्रतिस्थापन गर्ने गर्न सक्छ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सृष्टिकर्ताका वाणीहरूका अद्वितीय शैली र विशेषताहरू सृष्टिकर्ताको अद्वितीय पहिचान र अख्‍तियारका चिन्‍ह हुन्

उत्पत्ति १७:४-६ मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो...

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ

शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको...

सृष्टिकर्ताको पहिचान अद्वितीय छ, र तैँले बहुईश्‍वरवादको विचारलाई पालना गर्नु हुँदैन

शैतानका सीप र क्षमताहरू मानिसको भन्दा ठूलो भए तापनि, त्यसले मानिसले गर्न नसक्‍ने कुराहरू गर्न सक्‍ने भए तापनि, चाहे तैँले शैतानले जे गर्छ...

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन

हामी उत्पत्ति २२:१७-१८ लाई हेरौँ। यो यहोवा परमेश्‍वरले बोल्‍नुभएको अर्को अनुच्‍छेद हो, जहाँ उहाँले अब्राहामलाई भन्‍नुभयो, “आशिष्‌मा म तँलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्