सृष्टिकर्ताका वाणीहरूका अद्वितीय शैली र विशेषताहरू सृष्टिकर्ताको अद्वितीय पहिचान र अख्‍तियारका चिन्‍ह हुन्

13 अगस्ट 2021

उत्पत्ति १७:४-६ मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।

उत्पत्ति १८:१८-१९ अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्। किनकि म उसलाई चिन्छु, कि उसले आफ्ना छोराछोरीहरू र आफ्नो घरानालाई उनलाई पछ्याउने आज्ञा दिनेछ र न्यायिक व्यवहार तथा न्याय गर्नको निम्ति तिनीहरूले यहोवाको मार्ग पालन गर्नेछन्; ताकि यहोवाले अब्राहामलाई भन्‍नुभएका कुरा उहाँले पूरा गर्नुभएको होस्।

उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए।

धेरैले परमेश्‍वरका आशिष्‌हरू खोजी गर्न, र प्राप्त गर्न चाहन्छन्, तर सबैले यी आशिष्‌हरू प्राप्त गर्दैनन्, किनभने परमेश्‍वरका आफ्‍नै सिद्धान्तहरू छन्, र उहाँले उहाँको आफ्‍नै तरिकाले मानिसलाई आशिष्‌ दिनुहुन्छ। परमेश्‍वरले मानिससँग गर्नुहुने प्रतिज्ञाहरू, र उहाँले मानिसलाई दिनुहुने अनुग्रहको मात्रा मानिसका विचार र कार्यहरूअनुसार निर्धारित गरिन्छन्। त्यसो भए, परमेश्‍वरका आशिष्‌हरूद्वारा के देखाइन्छ? तिनमा मानिसहरूले के देख्‍न सक्छन्? यस बिन्दुमा, हामी परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने बारेमा, र परमेश्‍वरले मानिसलाई आशिष्‌ दिने सम्‍बन्धी सिद्धान्तहरूको बारेमा छलफललाई पन्छाऔँ। बरु, परमेश्‍वरको अख्‍तियारलाई जान्ने उद्देश्यले, परमेश्‍वरको अख्‍तियारलाई जान्ने दृष्टिकोणबाट, परमेश्‍वरले मानिसलाई दिनुहुने आशिष्‌को बारेमा हामी हेरौं।

माथिका धर्मशास्‍त्रका चार वटै अनुच्‍छेदहरू परमेश्‍वरले मानिसलाई आशिष्‌ दिनुभएको बारेका विवरणहरू हुन्। तिनले अब्राहाम र अय्यूबजस्ता परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्नेहरूको विस्तृत व्याख्या गर्नुका साथै परमेश्‍वरले किन आफ्‍ना आशिष्‌हरू दिनुभयो त्यसका कारणहरू, र ती आशिष्‌हरूमा के कुरा समावेश थिए भन्‍ने विवरण प्रदान गर्छ। परमेश्‍वरका वाणीहरूको शैली र तरिका, र उहाँले जुन दृष्टिकोण र स्थानमा बसी बोल्‍नुभयो त्यसले मानिसहरूलाई आशिष्‌हरू दिनुहुने एउटै उहाँ र त्यस्ता आशिष्‌हरू प्राप्त गर्नेहरू फरक पहिचान, हैसियत र सारका हुन् भन्‍ने कुरा बुझाउँछ। यी वाणीहरूको शैली र तरिका, र जुन स्थानमा रही ती बोलिए त्यो सृष्टिकर्ताको पहिचान बोक्नुभएका परमेश्‍वरसँग मात्र सम्बन्धित अद्वितीय कुरा हुन्। उहाँमा अख्‍तियार र सामर्थ्यका साथसाथै सृष्टिकर्ताको सम्‍मान र प्रताप छ जसमा कुनै पनि मानिसले कुनै शङ्‍का गर्न सक्दैन।

सुरुमा हामी उत्‍पत्ति १७:४-६ लाई हेरौँ: “मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।” यी वचनहरू परमेश्‍वरले अब्राहामसँग स्थापना गर्नुभएको करार, साथै परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ थियो: परमेश्‍वरले अब्राहामलाई धेरै जातिका पिता बनाउँदै हुनुहुन्थ्यो, तिनलाई अत्यन्तै फलवान् तुल्याउँदै हुनुहुन्थ्यो, र तिनीद्वारा राष्ट्रहरू खडा हुनेवाला थिए, र तिनीबाटै राजाहरू आउनेवाला थिए। के यी वचनहरूमा तँ परमेश्‍वरको अख्‍तियारलाई देख्छस्? अनि कसरी तँ त्यस्तो अख्‍तियार देख्छस्? तँ परमेश्‍वरको अख्तियारको सारको कुन पक्षलाई देख्छस्? यी वचनहरूलाई ध्यान दिएर पढ्दा, परमेश्‍वरका वाणीहरूको बोलमा परमेश्‍वरको अख्‍तियार र पहिचान स्पष्ट रूपमा प्रकट गरिएको छ भन्‍ने कुरालाई पत्ता लगाउनु कठिन छैन। उदाहरणको लागि, जब परमेश्‍वरले “मेरो करार तँसितै छ, र तँ … बन्‍नेछस् … मैले तँलाई … बनाएको छु … म तँलाई … बनाउनेछु…,” भनी भन्‍नुभयो, “तँ बन्‍नेछस्” र “म बनाउनेछु,” जस्ता परमेश्‍वरको पहिचान र अख्तियारको स्वीकारोक्ति दिने शब्दावलीहरू एक हिसाबमा, सृष्टिकर्ताको विश्‍वसनीयताको सूचक हो; अर्को हिसाबमा, ती परमेश्‍वरले प्रयोग गर्नुभएका सृष्टिकर्ताको पहिचान निहित विशेष वचनहरू हुन्—साथै ती परम्परागत शब्दभण्डारका भाग हुन्। यदि कसैले अर्को व्यक्ति अत्यन्तै फलवान् हुनेछ, तिनीहरूबाट राष्ट्रहरू खडा हुनेछन्, र तिनीहरूबाट राजाहरू आउनेछन् भन्‍ने आशा गरेको छु भनी भन्छ भने, त्यो अवश्य नै एक प्रकारको कामना हो, प्रतिज्ञा वा आशिष्‌ होइन। त्यसकारण, मानिसहरूले “म तिमीलाई यस्तो र उस्तो बनाउनेछु, तिमीले यस्तो र उस्तो गर्नेछौ,” भन्‍ने आँट गर्दैनन्, किनभने तिनीहरूसँग त्यस्तो शक्ति छैन भन्‍ने तिनीहरूलाई थाहा हुन्छ; यो तिनीहरूको हातमा हुँदैन, र तिनीहरूले यस्ता कुराहरू भने तापनि, तिनीहरूका वचनहरू तिनीहरूका इच्‍छा र अभिलाषाद्वारा उत्प्रेरित निरर्थक शब्‍दहरू हुनेछन्। यदि कसैले आफ्‍ना कामनाहरू पूरा गर्न सक्दैनन् भन्‍ने लाग्यो भने के तिनीहरूले यस्तो महान् शैलीमा बोल्‍ने आँट गर्छन्? हरेकले आफ्‍ना सन्तानको लागि सबैले राम्रै होस् भन्‍ने कामना गर्छन्, र तिनीहरू अघि बढ्नेछन् र ठूलो सफलता प्राप्त गर्नेछन् भन्‍ने आशा गर्छन्। “तिनीहरूमध्ये एक जना सम्राट भयो भने यो कति ठूलो सौभाग्यको कुरा हुनेथियो! यदि एक जना गभर्नर बन्यो भने त्यो पनि राम्रै हुनेथियो—राम्रै हुनेथियो जबसम्‍म तिनीहरू कुनै महत्त्वपूर्ण व्यक्ति हुन्छन्!” यी सबै मानिसहरूका कामनाहरू हुन्, तर मानिसहरूले आफ्‍ना सन्तानको लागि आशिष्‌हरूको कामना मात्रै गर्न सक्छन्, तिनीहरूका कुनै पनि प्रतिज्ञालाई पूरा गर्ने वा त्यसलाई यथार्थ तुल्याउन सक्दैनन्। आफ्‍ना हृदयमा, हरेकलाई त्यस्ता कुराहरू हासिल गर्ने शक्ति आफूसँग छैन भन्‍ने थाहा हुन्छ, किनभने तिनीहरूसँग भएको सबै कुरा तिनीहरूको नियन्त्रणभन्दा बाहिर हुन्छ, अनि कसरी तिनीहरूले अरूको नियतिमाथि हुकुम चलाउन सक्छन् र? परमेश्‍वरले यस्ता वचनहरू भन्‍न सक्‍नुको कारण के हो भने परमेश्‍वरमा त्यस्तो अख्‍तियार छ, र उहाँमा उहाँले मानिससँग गर्नुहुने सबै प्रतिज्ञाहरूलाई पूरा गर्ने र यथार्थ तुल्याउने, र उहाँले मानिसलाई दिनुहुने सबै आशिष्‌हरू पूरा गर्ने क्षमता छ। मानिसलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो, र परमेश्‍वरको लागि कसैलाई अत्यन्तै फलवान् बनाउनु भनेको बच्‍चाको खेल हुनेथियो; कसैको सन्तानलाई सम्‍पन्‍न तुल्याउनको लागि उहाँले एउटै शब्‍द मात्र बोल्‍नु आवश्यक पर्थ्यो। त्यस्तो कुराको लागि उहाँले कहिल्यै पसिना बगाउने गरी काम गर्नुपर्दैनथियो, वा यसको लागि आफ्‍नो मस्तिष्कको प्रयोग गर्नुपर्ने, वा आफैलाई त्यसमा बाँधेर गाँठो पार्ने गर्नुपर्दैनथियो; परमेश्‍वरको शक्ति, परमेश्‍वरको अख्‍तियार यही नै हो।

उत्पत्ति १८:१८ मा “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्” भन्‍ने पढिसकेपछि, के तिमीहरू परमेश्‍वरको अख्‍तियारलाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको असाधारणतालाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको सर्वोच्‍चतालाई अनुभूति गर्न सक्छौ? परमेश्‍वरका वचनहरू निश्‍चित छन्। आफ्‍नो सफलताको सुनिश्‍चितताको कारण, वा त्यसको प्रतिनिधित्व स्वरूप परमेश्‍वरले त्यस्ता वचनहरू बोल्‍नुहुन्‍न; बरु, ती परमेश्‍वरका वाणीहरूको अख्तियारको सबुत हुन्, र परमेश्‍वरको वचनहरूलाई पूरा गर्ने आज्ञा हुन्। तिमीहरूले यहाँ ध्यान दिनुपर्ने दुई वटा अभिव्यक्ति छन्। परमेश्‍वरले “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्,” भनी भन्‍ने क्रममा, के यी वचनहरूमा कुनै अस्पष्टताको तत्व छ? के कुनै चिन्ताको तत्व छ? के कुनै डरको तत्व छ? परमेश्‍वरका वाणीहरूका “अवश्य नै हुनेछ” र “हुनेछ” भन्‍ने शब्‍दहरूको कारणले, मानिसमा निश्‍चित रूपमा हुने र उसमा प्रायजसो देखिने यी तत्वहरूले सृष्टिकर्तासँग कहिल्यै कुनै सम्‍बन्ध राखेका छैनन्। अरूलाई शुभकामना दिँदा कसैले पनि त्यस्ता वचनहरूको प्रयोग गर्ने आँट गर्दैनन्, कसैले पनि अरूलाई ठूलो र शक्तिशाली जाति दिने भनी आशिष्‌ दिन, वा पृथ्वीका सबै जातिले तिनमा आशिष्‌ पाउनेछन् भनेर प्रतिज्ञा गर्न कसैले पनि आँट गर्दैनन्। परमेश्‍वरका वचनहरू जति निश्‍चित छन्, तिनले कुनै कुरालाई त्यति नै प्रमाणित गर्छन्—र त्यो कुनै कुरा के हो? तिनले परमेश्‍वरसँग त्यस्तो अख्‍तियार छ, उहाँको अख्‍तियारले यी कुराहरू पूरा गर्न सक्छ, र ती पूरा हुनु अपरिहार्य छ भन्‍ने कुरालाई प्रमाणित गर्छन्। उहाँले अब्राहामलाई जे आशिष्‌ दिनुभएको थियो त्यसको बारेमा परमेश्‍वर आफ्‍नो हृदयमा सुनिश्‍चित हुनुहुन्थ्यो, उहाँमा अलिकति पनि हिचकिचाहट थिएन। यसको साथै, यसको पूर्णता उहाँका वचनहरू अनुसार नै हासिल हुनेथिए, र यसको पूर्णतालाई कुनै पनि शक्तिले परिवर्तन गर्न, रोक्‍न, हानी गर्न, वा बाधा दिन सक्‍नेथिएन। अरू जेसुकै भए तापनि, परमेश्‍वरका वचनहरू पूर्ण हुनु र पूरा हुनुलाई कुनै कुराले पनि रोक्‍न वा बाधा दिन सकेन। यो सृष्टिकर्ताको मुखबाट बोलिएका वचनहरूको शक्ति, र मानिसको इन्कारमा नरोकिने सृष्टिकर्ताको अख्तियार हो! यी वचनहरूलाई पढिसकेपछि, के तँलाई अझै शङ्‍का लाग्छ? यी वचनहरू परमेश्‍वरको मुखबाट बोलिएका थिए, र परमेश्‍वरका वचनहरूमा शक्ति, प्रताप, र अख्तियार छ। त्यस्तो शक्ति र अख्तियार, र तथ्यहरू पूरा हुने अपरिहार्यतालाई सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले प्राप्त गर्न सक्दैन, र सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई नाघ्‍न सक्दैन। सृष्टिकर्ताले मात्रै मानवजातिसँग त्यस्तो शैली र स्वरमा कुराकानी गर्न सक्‍नुहुन्छ, र उहाँका प्रतिज्ञाहरू खोक्रा शब्‍दहरू, वा फोकट घमण्ड होइनन्, तर कुनै पनि व्यक्ति, घटना, वा थोकले नाघ्‍न नसक्‍ने अद्वितीय अख्तियारको अभिव्यक्ति हुन् भन्‍ने कुरालाई यी तथ्यहरूले प्रमाणित गरेको छ।

परमेश्‍वरले बोल्‍नुभएका वचनहरू र मानिसले बोलेका वचनहरूका बीचमा के भिन्‍नता छ? जब तँ परमेश्‍वरले बोल्‍नुभएका यी वचनहरूलाई पढ्छस्, तैँले परमेश्‍वरका वचनहरू र परमेश्‍वरको अख्‍तियारको सामर्थ्यलाई अनुभूति गर्छस्। मानिसहरूले यस्ता शब्‍दहरू बोलेको सुन्दा तँलाई कस्तो अनुभूति हुन्छ? के तिनीहरू अत्यन्तै अहङ्कारी र घमण्डी छन्, तिनीहरू आफ्‍नै तमासा देखाइरहने मानिसहरू हुन् भन्‍ने तँलाई लाग्छ? तिनीहरूसँग यो शक्ति, तिनीहरूसँग त्यस्तो अख्‍तियार नभएको हुनाले, तिनीहरू त्यस्ता कुराहरू हासिल गर्न पूर्ण रूपमा असमर्थ छन्। तिनीहरू आफ्‍ना प्रतिज्ञाहरूप्रति त्यति ढुक्‍क छन् भने त्यसले तिनीहरूको वचनको हेलचेक्य्राइँपनलाई मात्रै देखाउँछ। यदि कसैले त्यस्ता शब्‍दहरू बोल्छन् भने, तिनीहरू निश्‍चय नै अहङ्कारी र अभिमानी छन्, र तिनीहरूले प्रधान स्‍वर्गदूतको स्वभावको एउटा उत्कृष्ट उदाहरणको रूपमा आफैलाई प्रकट गरिरहेका हुनेछन्। यी वचनहरू परमेश्‍वरको मुखबाट आएका हुन्; के तँ यहाँ कुनै अहङ्कारको तत्वको अनुभूति गर्छस्? के परमेश्‍वरका वचनहरू ठट्टा मात्रै हुन् भन्‍ने तँलाई लाग्छ? परमेश्‍वरका वचनहरू अख्‍तियार हुन्, परमेश्‍वरका वचनहरू तथ्य हुन्, र उहाँको मुखबाट वचनहरू उच्‍चारण गरिनुभन्दा पहिले, भन्‍नुको अर्थ, जब उहाँले कुनै काम गर्ने निर्णय गरिरहनुभएको हुन्छ, त्यो कुरा पहिले नै पूरा भइसकेको हुन्छ। परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएका सबै कुरा परमेश्‍वरले अब्राहामसँग गर्नुभएको करार, र परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा नै थियो भनेर भन्‍न सकिन्छ। यो प्रतिज्ञा स्थापित गरिएको तथ्य, साथै पूरा गरिएको तथ्य थियो, र यी तथ्यहरू परमेश्‍वरको योजनाअनुसार परमेश्‍वरका सोचहरूमा क्रमिक रूपमा पूरा भए। त्यसकारण, परमेश्‍वरले त्यस्ता वचनहरू बोल्‍नुको अर्थ उहाँमा घमण्डी स्वभाव छ भन्‍ने हुँदैन, किनभने परमेश्‍वरले त्यस्ता कुराहरू हासिल गर्न सक्‍नुहुन्छ। उहाँमा यो शक्ति र अख्‍तियार छ, र उहाँ यी कार्यहरू हासिल गर्न पूर्ण रूपमा समर्थ हुनुहुन्छ, र तिनीहरूको परिपूर्णता पूर्ण रूपमा उहाँको क्षमताको दायराभित्रै छ। जब यस्ता वचनहरू परमेश्‍वरको मुखबाट उच्‍चारित हुन्छन्, ती परमेश्‍वरको साँचो स्वभावको प्रकाश र अभिव्यक्ति, परमेश्‍वरको सार र अख्‍तियारको अति उत्तम प्रकाश र प्रकटीकरण हुन्, र सृष्टिकर्ताको पहिचानको प्रमाणको रूपमा योभन्दा उचित र उपयुक्त अरू केही हुन सक्दैन। त्यस्ता वाणीहरूको शैली, स्वर, र शब्‍दहरू नै सृष्टिकर्ताको पहिचानका चिन्‍ह हुन्, र परमेश्‍वरको आफ्‍नै पहिचानको अभिव्यक्तिसँग ती अति उत्तम रूपले मिल्छन्; तिनमा कुनै बहाना, कुनै अशुद्धता हुँदैन; ती पूर्ण रूपमा र स्पष्ट रूपमा सृष्टिकर्ताको सार र अख्तियारका अति उत्तम प्रदर्शन हुन्। प्राणीहरूका हकमा कुरा गर्दा, तिनीहरूमा न त यो अख्‍तियार हुन्छ, न त यो सार नै, परमेश्‍वरले दिनुभएको शक्ति तिनीहरूमा हुने कुरा त परै जाओस्। यदि मानिसले त्यस्तो बानीबेहोरा प्रकट गर्छ भने, यो पक्‍कै पनि उसको भ्रष्ट स्वभावको प्रकटीकरण हो, र यसको जड भनेका मानिसको अहङ्कार र उग्र महत्वाकांक्षाको हस्तक्षेपपूर्ण प्रभाव, र मानिसहरूसँग छल गर्न र परमेश्‍वरलाई धोका दिन तिनीहरूलाई फुस्ल्याउन चाहने दियाबलस, शैतानको दुर्भावनापूर्ण अभिप्रायहरूको प्रकटीकरण नै हुन्। त्यस्तो भाषाबाट प्रकट गरिएको कुरालाई परमेश्‍वरले कसरी लिनुहुन्छ? तैँले उहाँको स्थान हडप्‍न चाहन्छस् र तैँले उहाँको नक्‍कल गरेर उहाँलाई प्रतिस्थापन गर्न चाहन्छस् भनेर परमेश्‍वरले भन्‍नुहुनेछ। जब तँ परमेश्‍वरका वाणीहरूको स्वरलाई अनुकरण गर्छस्, तेरो अभिप्राय भनेको मानिसहरूको हृदयमा भएको परमेश्‍वरको स्थानलाई प्रतिस्थापन गर्नु, अधिकारको हिसाबले परमेश्‍वरको स्वामित्वमा रहेको मानवजातिलाई हडप्‍नु भन्‍ने हुन्छ। यो त विशुद्ध र सरल रूपमा शैतान नै हो; यी त प्रधान स्‍वर्गदूतका सन्तानका कार्यहरू हुन्, जुन स्वर्गको लागि सह्य छैन! तिमीहरूका बीचमा, त्यस्तो कोही छ जसले मानिसहरूलाई बहकाउने र धोका दिने अभिप्रायले, र यस व्यक्तिका वचन र कार्यहरूले परमेश्‍वरको अख्‍तियार र सामर्थ्य बोकेका छन् जस्तो, यस व्यक्तिको सार र पहिचान अद्वितीय छ जस्तो, र यस व्यक्तिका वचनहरूको स्वर परमेश्‍वरको जस्तै छ जस्तो तिनीहरूलाई अनुभूति गराउँदै थोरै शब्‍दहरू निश्‍चित तरिकाले बोलेर परमेश्‍वरको कहिल्यै अनुकरण गरेका छन्? के तिमीहरूले कहिल्यै यस्तो गरेका छौ? के तिमीहरूले जुन कुरालाई सामर्थ्य र अख्‍तियार भनी ठानेका छौ त्यसद्वारा तिमीहरूको बोली-वचनमा परमेश्‍वरको स्वभाव छ जस्तै हाउभाउ देखाएर कहिल्यै परमेश्‍वरको स्वरलाई अनुकरण गर्ने प्रयास गरेका छौ? के तिमीहरूले कहिल्यै यसरी व्यवहार गरेका छौ, वा त्यसो गर्ने योजना बनाएका छौ? अब, जब तिमीहरू सृष्टिकर्ताको अख्‍तियारलाई साँचो रूपमा देख्छौ, बुझ्छौ र चिन्छौ, र तिमीहरूले जे गर्ने गर्थ्यौ, र तिमीहरूले आफैलाई जे प्रकट गर्ने गर्थ्यौ त्यसलाई हेर्दा, के तिमीहरूलाई असहज महसुस हुन्छ? के तिमीहरू आफ्‍नो नीचता र लाजमर्दो अवस्थालाई पहिचान गर्छौ? त्यस्ता मानिसहरूको स्वभाव र सारलाई विश्‍लेषण गरिसकेपछि, के तिनीहरू नरकका श्रापित सन्तान हुन् भनेर भन्‍न सकिँदैन र? के त्यस्ता कुराहरू गर्ने हरेकले आफैमाथि अपमान निम्त्याइरहेका हुन्छन् भनेर भन्‍न सकिन्छ? के तिमीहरू यसको प्रकृतिको गम्‍भीरतालाई पहिचान गर्छौ? यो कति गम्‍भीर छ? यस्तो व्यवहार गर्ने मानिसहरूको अभिप्राय भनेको परमेश्‍वरको अनुकरण गर्नु हो। तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरू आफूलाई परमेश्‍वरकै रूपमा आराधना गर्ने तुल्याउन चाहन्छन्। तिनीहरू मानिसहरूका हृदयमा रहेको परमेश्‍वरको स्थानलाई नष्ट गर्न, र मानिसको बीचमा काम गर्नुहुने परमेश्‍वरलाई हटाउन चाहन्छन्, र तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्ने, मानिसहरूलाई नष्ट गर्ने, र तिनीहरूलाई पकडमा राख्‍ने उद्देश्य हासिल गर्न यसो गर्छन्। हरेकसँग यस्तै अवचेतन इच्‍छा र महत्वाकांक्षाहरू हुन्छन्, र हरेक नै यस प्रकारको भ्रष्ट शैतानी सार, शैतानी प्रकृतिमा जिउँछन्, जहाँ तिनीहरू परमेश्‍वरका शत्रु हुन्छन्, परमेश्‍वरलाई धोका दिन्छन्, र परमेश्‍वर नै बन्‍न चाहन्छन्। परमेश्‍वरको अख्तियार भन्‍ने विषयमा रहेको मेरो सङ्गतिपछि, के तिमीहरू अझै पनि परमेश्‍वरको नक्‍कल गर्ने वा परमेश्‍वरको अनुकरण गर्ने इच्‍छा गर्छौ वा आकांक्षा राख्छौ? के तिमीहरू अझै पनि परमेश्‍वर बन्‍ने इच्‍छा गर्छौ? के तिमीहरू अझै पनि परमेश्‍वर बन्‍ने चाहना गर्छौ? परमेश्‍वरको अख्‍तियारलाई मानिसले अनुकरण गर्न सक्दैन, र परमेश्‍वरको पहिचान र हैसियतलाई मानिसले नक्‍कल गर्न सक्दैन। परमेश्‍वरले बोल्‍नुहुने स्वरलाई तैँले अनुकरण गर्न सक्‍ने भए तापनि, तैँले परमेश्‍वरको सारलाई अनुकरण गर्न सक्दैनस्। तँ परमेश्‍वरको स्थानमा खडा हुन र परमेश्‍वरको नक्कल गर्न सक्‍ने भए तापनि, परमेश्‍वरले जे गर्ने अभिप्राय राख्‍नुहुन्छ त्यो गर्न तँ कहिल्यै सक्‍नेछैनस्, र तँ सबै थोकको शासन गर्न र त्यसमाथि हुकुम गर्न कहिल्यै सक्‍नेछैनस्। परमेश्‍वरको नजरमा, तँ सदासर्वदा सानो प्राणी हुनेछस्, र तेरा सीप र क्षमताहरू जति ठूलो भए तापनि, तँसँग जति वरदानहरू भए तापनि, तँ तेरो सम्पूर्णतामा सृष्टिकर्ताकै प्रभुत्वमा हुन्छस्। तैँले केही साहसिक शब्‍दहरू भन्‍न सक्‍ने भए तापनि, न त यसले तँसँग सृष्टिकर्ताको सार छ भन्‍ने कुरालाई देखाउन सक्छ, न त तँसँग सृष्टिकर्ताको अख्तियार छ भन्‍ने नै प्रस्तुत गर्न सक्छ। परमेश्‍वरको अख्तियार र शक्ति परमेश्‍वर स्वयमको सार हो। ती सिकेका वा बाहिरी रूपमा थपिएका होइनन्, तर ती परमेश्‍वर स्वयम्‌को अन्तर्निहित सार हुन्। त्यसैले सृष्टिकर्ता र प्राणीहरूका बीचको सम्‍बन्धलाई कहिल्यै पनि परिवर्तन गर्न सकिँदैन। प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो तह कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन

हामी उत्पत्ति २२:१७-१८ लाई हेरौँ। यो यहोवा परमेश्‍वरले बोल्‍नुभएको अर्को अनुच्‍छेद हो, जहाँ उहाँले अब्राहामलाई भन्‍नुभयो, “आशिष्‌मा म तँलाई...

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ

शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा...

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ

शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको...

सृष्टिकर्ताको अख्‍तियार अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने छ

पवित्र-शास्‍त्रका यी तीन भागमा तिमीहरूले के देखेका छौ? के परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्ने सिद्धान्त छ भन्‍ने तिमीहरूले देखेका छौ?...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्