परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३२

31 अक्टोबर 2022

परमेश्‍वरले अब्राहामलाई एउटा छोरा दिने प्रतिज्ञा गर्नुभयो

उत्पत्ति १७:१५-१७ अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, तेरी श्रीमती साराईलाई तैँले साराई नामले नबोलाउनू, तर त्यसको नाम सारा हुनेछ। अनि म त्यसलाई आशिष् दिनेछु र त्यसबाट तँलाई एउटा छोरा पनि दिनेछु: हो, म त्यसलाई आशिष् दिनेछु र त्यो जातिहरूकी आमा हुनेछे; त्यसबाट मानिसहरूका राजाहरू आउनेछन्। तब अब्राहाम घोप्टो परेर हाँसे अनि आफ्नो हृदयमा भने, के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र? अनि के नब्बे वर्ष पुगेकी साराले बच्‍चा जन्माउलिन् र?

उत्पत्ति १७:२१-२२ तर म इसहाकसँग मेरो करार स्थापित गर्नेछु, जसलाई अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे। अनि उहाँ तिनीसँग बोल्‍न छोड्नुभयो र परमेश्‍वर अब्राहामदेखि माथि जानुभयो।

परमेश्‍वरले जुन काम गर्ने सङ्कल्प गर्नुहुन्छ त्यसमा कसैले बाधा दिन सक्दैन

तिमीहरू सबैले भर्खरै अब्राहामको कथा सुन्यौ। जलप्रलयले संसारलाई नाश पारेपछि परमेश्‍वरले तिनलाई चुन्‍नुभएको थियो, तिनको नाउँ अब्राहाम थियो, र जब तिनी सय वर्षका भए र उनकी पत्‍नी सारा नब्बे वर्षकी भइन्, तब परमेश्‍वरको प्रतिज्ञा तिनीकहाँ आयो। परमेश्‍वरले तिनीसँग कस्तो प्रतिज्ञा गर्नुभयो? परमेश्‍वरले त्यो कुराको प्रतिज्ञा गर्नुभयो जुन कुरालाई धर्मशास्‍त्रमा उल्लेख गरिएको छ: “अनि म त्यसलाई आशिष् दिनेछु र त्यसबाट तँलाई एउटा छोरा पनि दिनेछु।” परमेश्‍वरले तिनलाई छोरा दिने प्रतिज्ञाको पछि के-कस्तो पृष्ठभूमि थियो? धर्मशास्‍त्रले निम्‍न विवरण दिएको छ: “तब अब्राहाम घोप्टो परेर हाँसे अनि आफ्नो हृदयमा भने, के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र? अनि के नब्बे वर्ष पुगेकी साराले बच्‍चा जन्माउलिन् र?” अर्को शब्‍दमा भन्दा, यस वृद्ध दम्पती सन्तान जन्माउनको लागि अति नै वृद्ध भइसकेका थिए। परमेश्‍वरले तिनीसित प्रतिज्ञा गर्नुभएपछि अब्राहामले के गरे? तिनी हाँस्दै घोप्टो परे, अनि आफैलाई भने, “के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र?” अब्राहामले त्यो असम्भव छ भन्‍ने विश्‍वास गरे—जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीसँग गर्नुभएको प्रतिज्ञा एउटा ठट्टाभन्दा बढी केही पनि होइन भनी तिनले विश्‍वास गरे। मानिसको दृष्टिकोणबाट, यो मानिसद्वारा हासिल नहुने कुरा हो, र त्यस्तै यो परमेश्‍वरका निम्ति पनि हासिल गर्न नसकिने र असम्भव कुरा हो। सायद, अब्राहामका लागि यो हाँसोको कुरा थियो: परमेश्‍वरले मानिसको सृष्टि त गर्नुभयो, तर त्यस्तो वृद्ध व्यक्तिले सन्तान जन्माउन सक्दैन भन्‍ने उहाँलाई थाहा छैन जस्तो छ; उहाँले मलाई छोरा जन्‍माउन लगाउन सक्‍नुहुन्छ भन्‍ने परमेश्‍वरलाई लाग्छ, उहाँ मलाई एउटा छोरा दिने कुरा गर्नुहुन्छ—यो निश्‍चय नै असम्भव छ! यसैले, अब्राहाम मनमनै यो कुरा सोच्दै घोप्टो परे, अनि हाँसे: असम्भव—परमेश्‍वरले मसँग ठट्टा गर्दै हुनुहुन्छ, यो सत्य हुन सक्दैन! तिनले परमेश्‍वरका वचनहरूलाई गम्भीरताका साथ लिएनन्। यसैले परमेश्‍वरको नजरमा, अब्राहाम कस्तो किसिमका मानिस थिए? (धर्मी।) तिनी धर्मी मानिस भनेर कहाँ उल्‍लेख गरिएको थियो? तिमीहरूलाई लाग्छ कि परमेश्‍वर जसलाई बोलाउनुहुन्छ तिनीहरू सबै नै धर्मी र सिद्ध हुन्, तिनीहरू सबै नै परमेश्‍वरसँग हिँड्ने मानिसहरू हुन्। तिमीहरू धर्मसिद्धान्त पालन गर्छौ! तिमीहरूले स्पष्ट रूपमा बुझ्नुपर्छ कि जब परमेश्‍वरले कसैलाई परिभाषित गर्नुहुन्छ, उहाँले मनमानी रूपमा त्यसो गर्नुहुन्‍न। यहाँ, परमेश्‍वरले अब्राहाम धर्मी थिए भन्‍नुभएन। उहाँको हृदयमा, परमेश्‍वरसँग प्रत्येक व्यक्तिलाई नाप्‍ने मापदण्डहरू हुन्छन्। परमेश्‍वरले अब्राहाम कस्तो किसिमका व्यक्ति थिए भनी नबताउनुभएको भए पनि, तिनको आचरणको हिसाबले, परमेश्‍वरमाथि अब्राहामको विश्‍वास कस्तो किसिमको थियो? के यो अलिअलि अमूर्त थियो? वा के तिनी ठूलो विश्‍वास भएको व्यक्ति थिए? होइन, तिनी त्यस्तो थिएनन्। तिनको हाँसो र विचारले तिनी वास्तवमा को हुन् भनेर देखाए, त्यसैले तिनी धर्मी थिए भन्‍ने तिमीहरूको विचार तिमीहरूको कल्पनाको कुरा मात्र हो, यो धर्मसिद्धान्तको अन्धाधुन्ध प्रयोग हो, र यो एक गैरजिम्मेवार मूल्याङ्कन हो। के परमेश्‍वरले अब्राहामको हाँसो र उनका थोरै अभिव्यक्तिहरू देख्‍नुभयो? के उहाँलाई ती कुराहरू थाहा थियो? परमेश्‍वरलाई थाहा थियो। तर के परमेश्‍वरले आफूले गर्न खोज्नुभएको कुरा बदल्नुभयो? बदल्नुभएन! जब परमेश्‍वरले योजना बनाउनुभयो र यो मानिसलाई चुन्‍ने सङ्कल्प गर्नुभयो, तब त्यो पूरा भयो। न त कुनै मानिसका विचारहरूले, न उसको आचरणले परमेश्‍वरलाई अलिकति पनि प्रभाव पार्न वा उहाँलाई हस्तक्षेप नै गर्न सक्छ; परमेश्‍वरले मनमानी ढङ्गले आफ्नो योजना परिवर्तन गर्नुहुन्‍न, न त उहाँले मानिसको आचरण, वा उसले अनजानमा गरेको व्यवहारको कारण आवेगमा आएर आफ्नो योजनालाई बदल्नुहुन्छ। अनि, उत्पत्ति १७:२१-२२ मा के लेखिएको छ? “तर म इसहाकसँग मेरो करार स्थापित गर्नेछु, जसलाई अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे। अनि उहाँ तिनीसँग बोल्‍न छोड्नुभयो र परमेश्‍वर अब्राहामदेखि माथि जानुभयो।” परमेश्‍वरले अब्राहामले सोचेका वा भनेका कुरामा अलिकति पनि ध्यान दिनुभएन। उहाँले बेवास्ता गर्नुको कारण के थियो? किनभने त्यतिखेर, परमेश्‍वरले ती मानिसमा ठूलो विश्‍वास भएको, वा तिनी परमेश्‍वरको ठूलो ज्ञान प्राप्त गर्न सक्‍ने, वा अझ भन्‍ने हो भने, तिनी परमेश्‍वरले गर्नुभएको वा भन्‍नुभएको कुरा बुझ्ने क्षमता भएको हुनुपर्छ भनी मापदण्ड निर्धारण गर्नुभएन। त्यसकारण, उहाँले सङ्कल्प गर्नुभएको काम, उहाँले चुन्‍ने सङ्कल्प गर्नुभएका मानिसहरू वा उहाँका कार्यका सिद्धान्तहरू मानिसले राम्ररी बुझ्नुपर्छ भनी उहाँले भन्‍नुभएन, किनकि मानिसको कद अपर्याप्त थियो। त्यस बेला, अब्राहामले जे गरे पनि र तिनले जसरी व्यवहार गरे पनि त्यसलाई परमेश्‍वरले सामान्य मान्‍नुभयो। उहाँले निन्दा वा गाली गर्नुभएन, तर केवल यति भन्‍नुभयो: “अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे।” परमेश्‍वरले यी वचनहरू घोषणा गर्नुभएपछि, यो कुरा एक-एक चरण गर्दै पूरा भयो; परमेश्‍वरको दृष्टिमा, उहाँको योजनाले जुन कुरा हासिल गर्नुपर्ने थियो त्यो पहिले नै हासिल भइसकेको थियो। यसका लागि बन्दोबस्तहरू पूरा गरिसकेपछि, परमेश्‍वर जानुभयो। मानिसले जे गर्छ वा सोच्छ, मानिसले जे बुझ्छ, अनि मानिसका योजनाहरू—यी कुनैको पनि परमेश्‍वरसित कुनै सम्बन्ध हुँदैन। सबै कुरा परमेश्‍वरको योजनाअनुसार, उहाँले तोक्‍नुभएको समय र चरणहरूलाई कायम गर्दै अगाडि बढ्छन्। परमेश्‍वरको कामको सिद्धान्त यस्तै हुन्छ। मानिसले सोच्ने वा जान्‍ने कुनै पनि कुरामा परमेश्‍वरले हस्तक्षेप गर्नुहुन्‍न, तैपनि मानिसले विश्‍वास गरेन वा बुझेन भन्दैमा उहाँले आफ्नो योजनालाई वा आफ्नो कामलाई त्याग्‍नुहुन्‍न। तसर्थ, तथ्यहरू परमेश्‍वरको योजना र विचारअनुसार पूरा हुन्छन्। हामी बाइबलमा ठ्याक्‍कै त्यस्तै देख्छौँ: परमेश्‍वरले इसहाकको जन्म उहाँले तय गर्नुभएको समयमै हुने बनाउनुभयो। के तथ्यहरूले मानिसको व्यवहार र आचरणले परमेश्‍वरको काममा बाधा पुर्‍यायो भनी प्रमाणित गर्छन्? तिनीहरूले परमेश्‍वरको काममा बाधा पुर्‍याएनन्! के परमेश्‍वरमाथिको मानिसको थोरै विश्‍वास, र परमेश्‍वरको बारेमा तिनीहरूको धारणा र कल्पनाले परमेश्‍वरको कामलाई असर गरे? अहँ, तिनीहरूले गरेनन्! थोरै पनि गरेनन्! परमेश्‍वरको व्यवस्थापन योजना कुनै मानिस, पदार्थ, वा वातावरणद्वारा प्रभावित हुँदैन। उहाँले गर्छु भनी अठोट गर्नुभएका सबै कुरा ठीक समयमा र उहाँको योजनाअनुसार पूरा हुन्छन्, र उहाँको काममा कुनै पनि मानिसले हस्तक्षेप गर्न सक्दैन। परमेश्‍वरले मानिसको मूर्खता र अज्ञानताका केही पक्षहरूलाई बेवास्ता गर्नुहुन्छ, र उहाँप्रतिको मानिसको प्रतिरोध र धारणाहरूका केही पक्षहरूलाई पनि बेवास्ता गर्नुहुन्छ, र चाहे जेसुकै भए पनि आफूले गर्नुपर्ने काम उहाँले गरिछाड्नुहुन्छ। यो परमेश्‍वरको स्वभाव हो, र यो उहाँको सर्वव्यापकताको प्रतिबिम्ब हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्