परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९९

14 जनवरी 2023

परमेश्‍वरप्रति मानवजातिका विभिन्‍न मनोवृत्तिहरू

मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसले तिनीहरूको भवितव्यका साथै परमेश्‍वरले कसरी तिनीहरूसित व्यवहार गर्नुहुन्छ र तिनीहरूको निराकरण गर्नुहुन्छ त्यसलाई निर्धारित गर्छ। यस विन्दुमा, म मानिसहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्छन् त्यसका केही उदाहरणहरू दिन्छु। हामी सुनौं र तिनीहरूले परमेश्‍वरको सामुन्ने गर्ने व्यवहारको तरिका र मनोवृत्ति सही छन् कि छैनन् हेरौं। हामी निम्‍न सात प्रकारका मानिसहरूका आचरणको बारेमा विचार गरौं।

१) एक प्रकारको व्यक्ति छ, परमेश्‍वरप्रति जसको मनोवृत्ति निश्‍चित रूपमा मूर्ख किसिमको छ। यी मानिसहरूले परमेश्‍वर बोधिसत्त्व वा मानव ज्ञानका पवित्र प्राणी हुनुहुन्छ, र मानिसले भेट्दा तीन पटक निहुरेर दण्डवत् गर्नुपर्छ, र हरेक पटक खानपान गर्दा धूप बाल्‍नुपर्छ भन्‍ने ठान्छन्। परिणामस्वरूप, तिनीहरू जब-जब उहाँको अनुग्रहप्रति अत्यन्तै आभारी हुन्छन् र उहाँप्रति कृतज्ञताको अनुभूति गर्छन्, तिनीहरूले प्रायजसो यस्तै आवेगपूर्ण कार्य गर्छन्। त्यसरी तिनीहरूले आफूले आज विश्‍वास गर्ने परमेश्‍वरले, आफूले आफ्‍नो हृदयमा अत्यन्तै चाहना गरेको पवित्र प्राणीले जस्तै, भेट हुँदा तीन पटक ढोग्‍ने र हरेक खानामा धूप बाल्‍ने कार्यलाई स्वीकार गरून् भन्‍ने चाहना गर्छन्।

२) कतिपय मानिसहरूले परमेश्‍वरलाई सबै जीवित प्राणीलाई कष्टबाट मुक्त गर्न र तिनीहरूलाई मुक्ति दिन सक्‍ने जीवित बुद्धको रूपमा हेर्छन्; तिनीहरूले उहाँलाई कष्टको सागरबाट तिनीहरूलाई टाढा लैजान सक्‍ने जीवित बुद्धको रूपमा हेर्छन्। परमेश्‍वरमाथिको यी मानिसहरूको विश्‍वासमा यिनीहरूले उहाँलाई बुद्धलाई जस्तै आराधना गर्ने कार्य पर्छ। तिनीहरूले धूप बाल्‍ने, प्रणाम गर्ने, वा भेटी दिने कार्य नगर्ने भए तापनि, अन्तस्करणमा तिनीहरूलाई के लाग्छ भने परमेश्‍वर बुद्ध जस्तै हुनुहुन्छ जसले तिनीहरूलाई दयालु र परोपकारी बन्‍न अनुरोध गर्नुहुन्छ, तिनीहरूले कुनै पनि जीवित प्राणी नमारून्, अरूलाई मनपरी नभनून्, इमानदार देखिने जीवन जिऊन्, र कुनै गलत कार्य नगरून् भन्‍ने चाहनुहुन्छ। यी कुराहरू नै उहाँले तिनीहरूबाट चाहनुहुने सबै कुरा हुन् भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ; तिनीहरूको हृदयको परमेश्‍वर यही नै हो।

३) कतिपय मानिसहरूले परमेश्‍वरलाई कुनै महान् वा चर्चित व्यक्तिलाई जस्तो आराधना गर्छन्। उदाहरणको लागि, यो महान् व्यक्तिले जुन माध्यमद्वारा बोल्छ, उसले जस्तो शैलीमा बोल्छ, उसले जे-जस्ता शब्‍द र शब्‍दभण्डारको प्रयोग गर्छ, उसको स्वर, उसको हातको हाउभाउ, उसका विचार र कार्यहरू, उसको कार्यशैली—तिनीहरूले यी सबै कुराको नक्‍कल गर्छन्, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको यात्रामा तिनीहरूले पूर्ण रूपमा उत्पन्‍न गर्नुपर्ने कुराहरू यिनै हुन्छन्।

४) कतिपय मानिसहरूले परमेश्‍वरलाई सम्राटको रूपमा हेर्छन्, अनि उहाँ अरू सबैभन्दा माथि हुनुहुन्छ र कसैले पनि उहाँलाई ठेस पुर्‍याउन सक्दैन—अनि तिनीहरूलाई यदि कसैले त्यसो गर्‍यो भने, त्यस व्यक्तिलाई दण्ड दिइनेछ भन्‍ने लाग्छ। तिनीहरूले त्यस्तो सम्राटलाई आराधना गर्छन् किनभने सम्राटहरूले तिनीहरूको हृदयमा निश्‍चित ठाउँ ओगटेका हुन्छन्। यी मानिसहरूलाई ती सम्राटहरूका विचार, व्यवहार, अख्‍तियार, र प्रकृति—तिनीहरूका रुचि र व्यक्तिगत जीवनसमेत—सबै नै आफूले बुझ्‍नैपर्ने कुरा हुन् भन्‍ने लाग्छ; ती कुराहरू तिनीहरूले चासो दिने समस्या र विषयहरू बन्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरलाई सम्राटको रूपमा आराधना गर्छन्। त्यस्तो किसिमको विश्‍वास हास्यास्पद छ।

५) परमेश्‍वरको अस्तित्वको बारेमा कतिपय मानिसहरूसँग विशेष विश्‍वास हुन्छ, र यो विश्‍वास प्रगाढ र अटल हुन्छ। तैपनि परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान सतही हुने भएकोले, र तिनीहरूसँग उहाँका वचनहरूको त्यति धेरै अनुभव नहुने भएकोले, तिनीहरूले उहाँलाई मूर्तिलाई जस्तो पूजा गर्छन्। यही मूर्ति नै तिनीहरूको हृदयमा बसेको परमेश्‍वर हुन्छ; तिनीहरूलाई यो मूर्ति तिनीहरूले डर मान्‍नुपर्ने र दण्डवत् गर्नुपर्ने, र तिनीहरूले पछ्याउनैपर्ने र अनुकरण गर्नैपर्ने कुरा हो भन्‍ने लाग्छ। परमेश्‍वरलाई तिनीहरूले आफूले आफ्‍नो जीवनभरि पछ्याउनुपर्ने मूर्तिको रूपमा हेर्छन्। तिनीहरूले परमेश्‍वरले बोल्‍नुहुने शैलीको नक्‍कल गर्छन् अनि बाहिरी रूपमा परमेश्‍वरले मन पराउनुहुनेहरूको अनुकरण गर्छन्। तिनीहरूले प्रायजसो सोझो, शुद्ध, र इमानदार देखिने काम-कुराहरू गर्छन्, र तिनीहरूले यस मूर्तिलाई अलग हुनै नसकिने मित्र वा सहकर्मीलाई झैँ गरेर समेत पछ्याउँछन्। तिनीहरूको विश्‍वासको रूप यस्तै हुन्छ।

६) एक प्रकारका मानिसहरू यस्ता छन्, जसले परमेश्‍वरका धेरै वचनहरू पढे पनि र धेरै प्रचार सुने पनि, भित्र हृदयमा तिनीहरूले के अनुभूति गर्छन् भने परमेश्‍वरप्रति तिनीहरूले गर्ने व्यवहारको एउटै सिद्धान्त भनेको तिनीहरू जहिल्यै पनि चापलुसी र चाकडी गर्ने हुनुपर्छ, वा तिनीहरूले अवास्तविक तरिकाले परमेश्‍वरको प्रशंसा गर्नुपर्छ र उहाँको तारिफ गर्नुपर्छ। तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वर तिनीहरूलाई त्यस्तो व्यवहार गर्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ। यसअलावा, तिनीहरूले के विश्‍वास गर्छन् भने, यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले कुनै पनि समयमा उहाँलाई रिस उठाउन सक्छन् वा उहाँको विरुद्धमा पाप गर्न पुग्‍छन्, र यो पापको परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। तिनीहरूले आफ्‍नो हृदयमा राख्‍ने परमेश्‍वर यस्तै हुन्छ।

७) अनि त्यसपछि अधिकांश मानिसहरू यस्ता छन्, जसले परमेश्‍वरमा आत्मिक भरण-पोषण प्राप्त गर्छन्। किनभने तिनीहरू यो संसारमा जिउँछन्, तिनीहरू शान्ति वा खुशी रहित छन्, र तिनीहरूले अरू कतै पनि सान्त्वना पाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई भेटेपछि, तिनीहरूले उहाँका वचनहरू देखेपछि र सुनेपछि, तिनीहरूले आफ्‍नो हृदयमा गोप्य आनन्द र हर्षलाई बास दिन थाल्छन्। यस्तो हुन्छ किनभने तिनीहरूलाई विश्‍वास हुन्छ कि तिनीहरूले बल्ल तिनीहरूको आत्मालाई खुशी पार्ने स्थान भेटेका छन्, र तिनीहरूले तिनीहरूलाई आत्मिक भरण-पोषण दिनुहुने परमेश्‍वरलाई बल्ल भेटेका छन्। तिनीहरूले परमेश्‍वरलाई ग्रहण गरेर उहाँलाई पछ्याउन थालेपछि, तिनीहरू खुशी हुन्छन्, र तिनीहरूको जीवन भरिपूर्ण हुन्छ। तिनीहरूले अब उप्रान्त पशुजस्तो दिवा-स्वप्न देख्दै अघि बढ्ने अविश्‍वासीहरूजस्तो व्यवहार गर्दैनन्, र जीवनमा तिनीहरूले अपेक्षा गर्ने कुनै कुरा छ भन्‍ने अनुभूति गर्छन्। तसर्थ, तिनीहरूलाई यस परमेश्‍वरले तिनीहरूको आत्मिक आवश्यकताहरूलाई धेरै रूपमा सन्तुष्ट तुल्याउन सक्‍नुहुन्छ र तिनीहरूको मन र आत्मा दुवैमा तिनीहरूलाई ठूलो खुशी दिन सक्‍नुहुन्छ भन्‍ने लाग्छ। थाहै नपाई, तिनीहरू त्यस्तो आत्मिक भरण-पोषण दिनुहुने, र तिनीहरूका आत्मामा र तिनीहरूको परिवारका सबै सदस्यहरूमा खुशी ल्याउनुहुने परमेश्‍वरलाई छोड्नै नसक्‍ने अवस्थामा पुग्छन्। तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासले आत्मिक भरण-पोषण बाहेक अरू केही पनि ल्याउनु आवश्यक छैन भन्‍ने विश्‍वास गर्छन्।

के तिमीहरूमध्ये कसैसँग परमेश्‍वरप्रति यी माथि उल्लेखित मनोवृत्तिहरू छन्? (छन्।) यदि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, व्यक्तिको हृदयमा तीमध्ये कुनै मनोवृत्ति छ भने, के तिनीहरू साँचो रूपमा परमेश्‍वरको अघि आउन सक्छन्? यदि व्यक्तिको हृदयमा यीमध्ये कुनै मनोवृत्ति छ भने, के तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्? के त्यस्तो व्यक्तिले अद्वितीय परमेश्‍वर स्वयम्‌लाई विश्‍वास गर्छ? (गर्दैन।) तैँले अद्वितीय परमेश्‍वर स्वयम्‌लाई विश्‍वास गर्दैनस् भने, तैँले कसलाई विश्‍वास गर्छस्? यदि तैँले जसलाई विश्‍वास गर्छस् त्यो अद्वितीय परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्न भने, सायद तैँले मूर्तिमा, वा महान् व्यक्तिमा, वा बोधिसत्त्वमा विश्‍वास गर्छस् होला, वा तैँले आफ्‍नो हृदयमा भएको बुद्धलाई आराधना गर्छस् होला। यसअलावा, सायद तैँले साधारण व्यक्तिमा विश्‍वास गर्छस् होला। छोटकरीमा भन्दा, परमेश्‍वरप्रतिको मानिसहरूको विभिन्‍न प्रकारका विश्‍वास र मनोवृत्तिको कारण, तिनीहरूले आफ्नो हृदयमा आफ्‍नै ज्ञानको परमेश्‍वरलाई राख्छन्, परमेश्‍वरमाथि आफ्‍नै कल्‍पनाका कुरा लाद्छन्, परमेश्‍वरसम्‍बन्धी तिनीहरूका आफ्‍नै मनोवृत्ति र कल्‍पनाहरूलाई अद्वितीय परमेश्‍वर स्वयम्‌सँग राख्छन्, अनि त्यसपछि तिनलाई पवित्र ठान्छन्। परमेश्‍वरप्रति मानिसहरूको यस्तो अनुचित मनोवृत्ति हुनुको अर्थ के हो त? यसको अर्थ तिनीहरूले साँचो परमेश्‍वर स्वयम्‌लाई इन्कार गरेका छन् र एउटा झूटो ईश्‍वरको आराधना गरिरहेका छन् भन्‍ने हुन्छ; यसले के सङ्केत गर्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, तिनीहरूले उहाँलाई इन्कार गरिरहेका छन् र उहाँको विरोध गरिरहेका छन्, र तिनीहरूले साँचो परमेश्‍वरको अस्तित्वलाई इन्कार गरिरहेका छन्। यदि मानिसहरूले निरन्तर त्यस्तो विश्‍वास नै लिइरहन्छन् भने, तिनीहरूले के-कस्ता परिणामहरूको सामना गर्नेछन् त? त्यस्तो विश्‍वासद्वारा, के तिनीहरू परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्ने कार्यको नजिक पुग्न सक्‍नेछन् त? (अहँ, तिनीहरूले त्यसो गर्न सक्‍नेछैनन्।) यसको विपरीत, तिनीहरूका धारणा र कल्‍पनाहरूको कारण, तिनीहरू परमेश्‍वरको मार्गबाट झन्-झन् टाढा बरालिँदै जानेछन्, किनभने तिनीहरूले खोज्‍ने दिशा परमेश्‍वरले तिनीहरूलाई हिँड्न लगाउनुभएको दिशाको विपरीत हुन्छ। के तिमीहरूले कहिल्यै “उत्तर जाने रथमा चढेर दक्षिण जानु” भन्‍ने कथा सुनेका छौ? यो पनि उत्तर जाने रथमा चढेर दक्षिण जानु जस्तै हुन सक्छ। यदि मानिसहरूले त्यस्तो लट्याङपट्याङ तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तैँले जति कठिन प्रयास गर्छस्, तँ परमेश्‍वरबाट त्यति नै टाढा जानेछस्। त्यसैले, म तँलाई सल्‍लाह दिन्छु: तँ अघि बढ्नुभन्दा पहिले, सुरुमा तँ सही दिशामा गइरहेको छस् कि छैनस्, पत्ता लगा। आफ्‍ना प्रयासहरूमा विशेष ध्यान दे, र आफैलाई यो प्रश्‍न सोध्, “के मैले विश्‍वास गर्ने परमेश्‍वर सबै थोकका शासक हुनुहुन्छ? के मैले विश्‍वास गर्ने परमेश्‍वर आत्मिक भरण-पोषण दिने व्यक्ति मात्रै हुनुहुन्छ? के उहाँ मेरो मूर्ति मात्रै हुनुहुन्छ? मैले विश्‍वास गरेको यो परमेश्‍वरले मलाई के गर्न लगाउनुभएको छ? के मैले गर्ने सबै कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ? के मेरा सबै कार्य र खोजीहरू परमेश्‍वरलाई चिन्‍ने कार्यअनुरूप छन्? के ती उहाँले मलाई दिनुभएका मापदण्डहरू अनुरूप छन्? के मैले हिँड्ने मार्गलाई परमेश्‍वरले पहिचान र स्वीकृत गर्नुभएको छ? के उहाँ मेरो विश्‍वासप्रति सन्तुष्ट हुनुहुन्छ?” तैँले प्रायजसो र बारम्‍बार आफैलाई यी प्रश्‍नहरू सोध्‍नुपर्छ। यदि तँ परमेश्‍वरको ज्ञानको खोजी गर्न चाहन्छस् भने, तँ उहाँलाई सन्तुष्ट पार्ने कार्यमा सफल हुनुभन्दा पहिले तँसँग स्पष्ट विवेक र स्पष्ट उद्देश्यहरू हुनुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्