परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८८

17 जनवरी 2023

मानवजातिमध्ये, म सबै मानिसहरूलाई तीन वटा प्रकारमा विभाजन गर्छु। पहिलो अविश्‍वासीहरू, अर्थात् धार्मिक आस्था विहीन मानिसहरू हुन्। तिनीहरूलाई अविश्‍वासी भनिन्छ। धेरैजसो अविश्‍वासीहरूले पैसामाथि मात्रै विश्‍वास गर्छन्; तिनीहरूले आफ्‍नै रुचिहरूलाई मात्रै प्राथमिकता दिन्छन्, तिनीहरू भौतिकवादी हुन्छन्, र भौतिक संसारमा मात्रै विश्‍वास गर्छन्—तिनीहरूले जीवन मृत्युको चक्रमा वा देवीदेवता र भूतहरूका बारेमा बताइने कुनै पनि कुरामा विश्‍वास गर्दैनन्। म यी मानिसहरूलाई अविश्‍वासीहरू भनी वर्गीकरण गर्छु, र पहिलो प्रकारका मानिसहरू तिनीहरू नै हुन्। दोस्रो प्रकारका मानिसहरूमा अविश्‍वासीहरू बाहेकका विभिन्‍न विश्‍वासका मानिसहरू पर्छन्। मानवजातिमध्ये, म यी विश्‍वासका मानिसहरूलाई विभिन्‍न मुख्य समूहमा विभाजन गर्छु: पहिलो यहूदी, दोस्रो क्याथोलिक, तेस्रो ख्रीष्टियान, चौथो मुस्लिम, र पाचौं बुद्ध धर्म मान्‍ने हुन्; पाँच प्रकारका मानिसहरू छन्। यी विश्‍वासका विभिन्‍न प्रकारका मानिसहरू हुन्। तेस्रो प्रकारमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू पर्छन्, र तिमीहरू यसैमा पर्छौ। त्यस्ता विश्‍वासीहरू आज परमेश्‍वरलाई पछ्याउने मानिसहरू हुन्। यी मानिसहरू दुई प्रकारमा विभाजित छन्: परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू। यी मुख्य प्रकारहरूलाई स्पष्ट रूपमा अलग गरिएका छन्। तसर्थ, मानवका प्रकार र दर्जालाई तिमीहरूले आफ्‍नो मनमा अब स्पष्ट रूपमा नै भिन्‍नता छुट्याउन सक्छौ, सक्दैनौ त? पहिलो प्रकारमा अविश्‍वासीहरू पर्छन्, र तिनीहरू को हुन् भनेर मैले भनिसकेँ। के आकाशको वृद्ध मानिसमाथि विश्‍वास गर्ने मानिसहरूलाई अविश्‍वासीहरूका रूपमा गन्ती गरिन्छ? धेरैजसो अविश्‍वासीहरूले आकाशको वृद्ध मानिसमा मात्रै विश्‍वास गर्छन्; तिनीहरूले बाली लगाउँदा र कटनी गर्दा भरोसा गर्ने यस व्यक्तिले नै बतास, वर्षा, चट्याङ्ग, र अन्य कुरालाई नियन्त्रण गर्छ भन्‍ने विश्‍वास तिनीहरूको हुन्छ—तैपनि जब परमेश्‍वरमाथिको विश्‍वासको बारेमा कुरा गरिन्छ, तिनीहरू उहाँमा विश्‍वास गर्न इच्‍छुक हुँदैनन्। के यसलाई विश्‍वास हुनु भनेर भन्‍न सकिन्छ? त्यस्ता मानिसहरू अविश्‍वासीहरूमा पर्छन्। तिमीहरूले यो कुरा बुझ्यौ, होइन त? यी वर्गहरूमा नझुक्‍किओ। दोस्रो प्रकारमा विश्‍वासका मानिसहरू पर्छन्, र तेस्रो प्रकारका मानिसहरू हाल परमेश्‍वरलाई पछ्याइरहेका मानिसहरू हुन्। त्यसो भए मैले किन सबै मानवलाई यी प्रकारमा विभाजित गरेँ त? (किनभने फरक-फरक प्रकारका मानिसहरूको अन्त्य र गन्तव्य पनि फरक-फरक नै हुन्छन्।) यसको एउटा पक्ष यही हो। जब यी विभिन्‍न जात र प्रकारका मानिसहरू आत्मिक संसारमा फर्कन्छन्, तिनीहरू प्रत्येक फरक-फरक स्थानमा जानेछन् र जीवन र मृत्युको चक्रको फरक-फरक नियमको अधीनमा रहनेछन्, त्यसैले मैले मानवलाई यी मुख्य प्रकारहरूमा विभाजित गरेको छु।

अविश्‍वासीहरूको जीवन र मृत्युको चक्र (छनौट गरिएका खण्डहरू)

हामी अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रबाट सुरु गरौं। मरेपछि, व्यक्तिलाई आत्मिक संसारको एक परिचरले लैजानेछ। वास्तवमा व्यक्तिको केलाई लगिन्छ? व्यक्तिको देहलाई होइन, तर प्राणलाई लगिन्छ। जब व्यक्तिको प्राणलाई लगिन्छ, तब ऊ विशेषतः भर्खरै मरेका मानिसहरूका प्राणलाई लिने आत्मिक संसारको एउटा निकायमा पुग्छ। (नोट: मरेपछि जोकोही व्यक्ति जाने पहिलो स्थान प्राणको लागि नौलो हुन्छ।) जब तिनीहरूलाई यस स्थानमा लगिन्छ, एक अधिकारीले सुरुमा तिनीहरूको नाम, ठेगाना, उमेर, र तिनीहरूका सबै अनुभवहरूको जाँच गरी पुष्टि गर्छ। तिनीहरू जीवित हुँदा तिनीहरूले गरेको सबै कुरा पुस्तकमा लेखिएको हुन्छ र ती सही छन् कि छैनन् प्रमाणित गरिन्छ। यी सबैलाई जाँचिएपछि, उक्त व्यक्तिको जीवनभरिको बानीबेहोरा र कार्यहरूलाई उसले दण्ड पाउनेछ कि मानवको रूपमा पुनर्जन्‍म पाउनेछ भन्‍ने कुरा निर्धारित गर्न प्रयोग गरिन्छ, र यो पहिलो चरण हो। के यो पहिलो चरण डरलाग्दो छ? यो त्यति डरलाग्दो छैन, किनभने भएको के मात्रै हुन्छ भने व्यक्ति अँध्यारो र अपरिचित स्थानमा आइपुगेको हुन्छ।

दोस्रो चरणमा, यदि यस व्यक्तिले आफ्‍नो जीवनकालमा धेरै खराब कुराहरू गरेको छ र धेरै दुष्ट कार्यहरू गरेको छ भने, उसलाई उसको निराकरणको लागि दण्ड दिने स्थानमा लगिनेछ। त्यो खास गरी मानिसहरूलाई दण्ड दिनको लागि नै प्रयोग गरिने स्थान हुनेछ। तिनीहरूलाई कसरी दण्ड दिइन्छ भन्‍ने कुरा तिनीहरूले गरेका पापहरूका साथै मर्नुभन्दा पहिले तिनीहरूले कति वटा दुष्ट कुराहरू गरेका छन् त्यसमा आधारित हुन्छ—यो दोस्रो चरणमा आइपर्ने पहिलो परिस्थिति यही हो। मर्नुभन्दा पहिले गरेका खराब कुराहरू र दुष्ट कार्यहरूका कारण, तिनीहरूको दण्डपछि तिनीहरूको पुनर्जन्‍म हुँदा—अर्थात् तिनीहरू फेरि भौतिक संसारमा जन्‍मिँदा—कतिपय मानिसहरू मानव नै हुनेछन् भने, अरू पशु-प्राणी हुनेछन्। भन्‍नुको अर्थ, व्यक्ति आत्मिक संसारमा फर्केपछि, तिनीहरूलाई तिनीहरूले गरेका दुष्टताको निम्ति दण्ड दिइन्छ; यसको साथै, तिनीहरूले गरेका दुष्ट कुराको कारण, तिनीहरूको अर्को पुनर्जन्ममा, तिनीहरू सायद मानवको रूपमा होइन, बरु पशु-प्राणीको रूपमा फर्कनेछन्। तिनीहरू बन्‍ने पशु-प्राणीमा गाई, घोडा, सुँगुर र कुकुरहरू आदि पर्छन्। कतिपय मानिसहरू चराचुरुङ्गी, वा हाँस वा पानी-हाँसको रूपमा जन्‍मन सक्छन्…। पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म भएपछि, जब तिनीहरू फेरि मर्छन्, तिनीहरू आत्मिक संसारमा फर्कनेछन्। त्यहाँ, पहिले जस्तै, तिनीहरूको मृत्युभन्दा पहिलेको तिनीहरूको बानीबेहोराको आधारमा, मानवको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछ कि हुनेछैन भन्‍ने कुराको निर्णय आत्मिक संसारले गर्नेछ। धेरैजसो मानिसहरूले धेरै दुष्ट कार्य गर्छन्, र तिनीहरूका पाप अत्यन्तै गम्‍भीर हुन्छन्, त्यसकारण सातदेखि बाह्र पटकसम्‍म तिनीहरूको पुनर्जन्‍म पशु-प्राणीको रूपमा हुनुपर्छ। सातदेखि बाह्र पटकसम्‍म—के त्यो डरलाग्दो कुरा होइन र? (यो डरलाग्दो कुरा हो।) के कुराले तिमीहरूलाई भयभीत तुल्याउँछ? व्यक्ति पशु-प्राणी बन्‍नु—त्यो डरलाग्दो कुरा हो। अनि व्यक्तिको लागि, पशु-प्राणी बन्‍नुको सबैभन्दा पीडादायक कुरा के हो? कुनै भाषा नहुनु, साधारण विचारहरू मात्रै हुनु, पशु-प्राणीले गर्ने कुरा मात्रै गर्न र पशु-प्राणीले खाने कुरा मात्रै खान सक्‍नु, पशु-प्राणीको जस्तो सरल मनस्थिति र शारीरिक हाउभाउ हुनु, सीधा भई हिँड्न नसक्‍नु, मानवसँग संचार गर्न नसक्‍नु, र मानवको कुनै बानीबेहोरा वा क्रियाकलापहरूको सम्‍बन्ध पशु-प्राणीसँग नहुने तथ्य। यसको अर्थ, सबै कुराहरूमध्ये, पशु-प्राणी बन्ने कुराले चाहिँ तिमीहरूलाई जीवित प्राणीहरूमा सबैभन्दा नीच बनाउँछ र यसमा मानव हुनुमा भन्दा धेरै दुःखकष्ट सहनुपर्छ। धेरै दुष्ट काम र ठूला पापहरू गरेका मानिसहरूलाई दिइने आत्मिक संसारको दण्डको एउटा पक्ष यही हो। जब तिनीहरूको दण्डको गम्‍भीरताको कुरा आउँछ, तिनीहरू कस्तो प्रकारको पशु-प्राणी बन्छन् भन्ने आधारमा निर्णय हुन्छ। उदाहरणको लागि, के सुँगुर बन्‍नु कुकुर बन्‍नुभन्दा उत्तम हो? के सुँगुर कुकुरभन्दा उत्तम तरिकाले जिउँछ कि खराब तरिकाले? खराब तरिकाले, होइन र? यदि मानिसहरू गाई वा घोडा बन्छन् भने, तिनीहरू सुँगुरभन्दा उत्तम तरिकाले जिउनेछन् कि खराब तरिकाले जिउनेछन्? (उत्तम तरिकाले।) बिरालोको रूपमा व्यक्तिको पुनर्जन्‍म भयो भने के उसलाई अझ बढी सहज हुनेछ? ऊ जे भए पनि पशु नै हुनेछ, र बिरालो हुनु गाई वा घोडा हुनुभन्दा निकै सहज हुनेछ, किनभने बिरालोहरूले आफ्नो धेरैजसो समय आनन्दसाथ निदाएर नै बिताउन पाउँछन्। गाई वा घोडा हुनु अझै बढी कठिन हुन्छ। त्यसकारण, यदि गाई वा घोडाको रूपमा व्यक्तिको पुनर्जन्‍म हुन्छ भने, तिनीहरूले कठिन परिश्रम गर्नुपर्छ—जुन कडा दण्ड सरह हो। कुकुर बन्‍नु गाई वा घोडाभन्दा अलिक उत्तम हो, किनभने मालिकसँग कुकुरको नजिकको सम्‍बन्ध हुन्छ। कतिपय कुकुरहरूले धेरै वर्ष पाल्तु कुकुरको रूपमा बसेपछि, तिनीहरूका मालिकले भन्‍ने धेरै कुरा बुझ्‍न सक्छन्। कहिलेकहीँ, कुकुरले यसको मालिकको मनस्थिति र मापदण्डहरूलाई अपनाउन सक्छ र मालिकले कुकुरलाई राम्रो व्यवहार गर्छ, र कुकुरले राम्रो खान र पिउन पाउँछ, र पीडामा हुँदा यसले हेरचाह पाउँछ। त्यसो भए, के कुकुरले खुशी जीवनको आनन्द लिँदैन र? तसर्थ, कुकुर बन्‍नु गाई वा घोडा बन्‍नुभन्दा उत्तम कुरा हो। यस हकमा, व्यक्तिको दण्डको गम्भीरताले नै कति पटक पशु-प्राणीको रूपमा, साथै कुन प्रकारको पशु-प्राणीको रूपमा उसको पुनर्जन्‍म हुन्छ भन्‍ने कुरालाई निर्धारित गर्छ।

तिनीहरूले आफू जीवित हुँदा धेरै पाप गरेका हुनाले, कतिपय मानिसहरूलाई सातदेखि बाह्र जीवनसम्‍म पशु-प्राणीको रूपमा पुनर्जन्‍म गराएर दण्ड दिइन्छ। पर्याप्त पटक दण्ड पाइसकेर, आत्मिक संसारमा फर्केपछि, तिनीहरूलाई अर्को ठाउँ अर्थात् विभिन्‍न प्राणलाई पहिले नै दण्ड दिइसकिएको र मानवको रूपमा पुनर्जन्‍म हुनको लागि तयार गरिँदै गरिएका प्राणहरू भएको स्थानमा लगिन्छ। यस स्थानमा, हरेक प्राणलाई तिनीहरू कुन प्रकारको परिवारमा जन्‍म लिनेछन्, तिनीहरूको पुनर्जन्‍म भएपछि तिनीहरूले कस्तो प्रकारको भूमिका निर्वाह गर्नेछन्, आदि इत्यादि कुराहरू अनुसार वर्गीकरण गरिन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू यस संसारमा आएपछि गायक बन्छन्, त्यसकारण तिनीहरूलाई गायकहरूको बीचमा राखिन्छ; कतिपय मानिसहरू संसारमा आएपछि व्यापारी बन्छन्, त्यसकारण तिनीहरूलाई व्यापारीहरूको वर्गमा राखिन्छ; अनि यदि कुनै व्यक्ति मानव बनेपछि वैज्ञानिक शोधकर्ता बन्छ भने, उसलाई वैज्ञानिक शोधकर्ताहरूको बीचमा राखिन्छ। तिनीहरूलाई वर्गीकरण गरिएपछि, प्रत्येकलाई आज मानिसहरूले इमेल पठाएजस्तै गरी फरक-फरक समय र तोकिएको मितिमा पठाइन्छ। यसमा जीवन र मृत्युको एउटा चक्र पूरा हुनेछ। त्यो व्यक्ति आत्मिक संसारमा आइपुगेको समयदेखि तिनीहरूको दण्डको अन्त्यसम्म, वा धेरै पटक पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म भएर मानवको रूपमा पुनर्जन्‍म हुन तयार भइञ्‍जेलसम्‍ममा, यो प्रक्रिया पूरा हुन्छ।

दण्ड पाइसकेका र पशु-प्राणीको रूपमा पुनर्जन्‍म नभएका मानिसहरूको हकमा, के तिनीहरूलाई मानवको रूपमा पुनर्जन्‍म गराउनको लागि तुरुन्तै भौतिक संसारमा पठाइनेछ? वा, तिनीहरू मानवको बीचमा आइपुग्‍न कति समय लाग्‍नेछ? यो कति पटक हुन सक्छ? यसका लौकिक सीमाहरू छन्। आत्मिक संसारमा हुने सबै कुरा निश्‍चित लौकिक सीमा र नियमहरूको अधीनमा हुन्छन्—जसको बारेमा मैले अङ्कमा व्याख्या गरेँ भने, तिमीहरूले बुझ्‍नेछौ। छोटो समय अवधिमा पुनर्जन्‍म हुनेहरूको हकमा भन्दा, जब तिनीहरू मर्छन्, मानवको रूपमा पुनर्जन्‍म हुनको लागि तिनीहरूका निम्ति पहिले नै तयारी गरिसकिएको हुन्छ। यसो हुनसक्‍ने सबैभन्दा छोटो समय भनेको तीन दिन हो। कतिपय मानिसहरूको लागि, तीन महिना लाग्छ, कतिपयलाई तीन वर्ष लाग्छ, कतिलाई तीस वर्ष लाग्छ, कतिलाई तीन सय वर्ष लाग्छ, अनि यस्तै इत्यादि। त्यसकारण, यी लौकिक नियमहरूका बारेमा के भन्‍न सकिन्छ, र तिनका सर्तहरू के हुन्? ती भौतिक संसार, अर्थात्, मानव संसारलाई प्राणबाट के चाहिन्छ त्यसमा, र यो प्राणले यस संसारमा खेल्नुपर्ने भूमिकामा आधारित हुन्छन्। जब साधारण मानवको रूपमा मानिसहरूको पुनर्जन्‍म हुन्छ, तिनीहरूमध्ये धेरैजसोको तुरुन्तै पुनर्जन्‍म भइहाल्छ, किनभने मानव संसारलाई त्यस्ता साधारण मानिसहरूको तत्काल खाँचो हुन्छ—त्यसकारण, तीन दिनपछि, तिनीहरूलाई तिनीहरू मर्नुभन्दा पहिलेको तिनीहरूको परिवारभन्दा पूर्ण रूपमा फरक परिवारमा फेरि पठाइन्छ। तैपनि, यो संसारमा विशेष भूमिका निर्वाह गर्ने कतिपय मानिसहरू पनि हुन्छन्। “विशेष” को अर्थ मानिसको संसारमा यी मानिसहरूको त्यति ठूलो संख्यामा माग हुँदैन; यस्तो भूमिका निर्वाह गर्नको लागि त्यति धेरै मानिसहरूको आवश्यकता हुँदैन, त्यसकारण यसको लागि तीन सय वर्ष लाग्‍न सक्छ। अर्को शब्‍दमा भन्दा, यो प्राण हरेक तीन सय वर्ष वा हरेक तीन हजार वर्षमा मात्रै आउनेछ। किन यस्तो हुन्छ त? किनभने तीन सय वा तीन हजार वर्षमा मानिसको संसारमा त्यस्तो भूमिकाको आवश्यकता हुँदैन, त्यसकारण तिनीहरूलाई आत्मिक संसारमा कतै राखिन्छ। उदाहरणको लागि कन्फ्युसियसलाई लिऊँ: परम्‍परागत चिनियाँ संस्कृतिमा उनले ठूलो प्रभाव पारेका थिए, र तिनको आगमनले त्यस समयका मानिसहरूको परम्‍परा, ज्ञान, संस्कृति, र विचारधारालाई गहन रूपमा प्रभाव पारेको थियो। तैपनि, हरेक युगमा यस्तो व्यक्तिको आवश्यकता हुँदैन, त्यसकारण पुनर्जन्‍म हुनको लागि तीन सय वा तीन हजार वर्ष प्रतीक्षा गर्दै उनी आत्मिक संसारमा नै रहनु परेको थियो। मानिसको संसारलाई यस्तो व्यक्तिको खाँचो नपर्ने हुँदा, उनले केही नगरी प्रतीक्षा गर्नु परेको थियो, किनभने उनको जस्तो भूमिका निकै कम छन्, र उनले गर्नुपर्ने कुरा थोरै छ। तसर्थ, मानिसको संसारलाई उनको आवश्यकता परेपछि उनलाई पठाउनको लागि धेरैजसो समय उनलाई केही नगराईकन आत्मिक संसारमा कतै राख्‍नु परेको थियो। धेरैजसो मानिसहरूको कति पटक पुनर्जन्‍म हुन्छ भन्‍ने बारेमा रहेका आत्मिक क्षेत्रका लौकिक नियमहरू यिनै हुन्। मानिसहरू साधारण भए पनि वा विशेष भए पनि, तिनीहरूको पुनर्जन्मलाई मिलाउनको लागि आत्मिक संसारसँग उचित नियम र सही अभ्यासहरू छन्, र यी नियम र अभ्यासहरू परमेश्‍वरले नै पठाउनुभएको हो, आत्मिक संसारको कुनै परिचर वा सत्वले यसको निर्णय गर्ने वा नियन्त्रण गर्ने कार्य गर्दैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्