परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४६

6 नोभेम्बर 2022

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू

अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको आफ्नै हातद्वारा भएको थियो। त्यो त परमेश्‍वरको शत्रु शैतानले व्यक्तिगत रूपमा पैदा गरेको थियो। यसैको फलस्वरूप, अय्यूबले भोगेका कठिनाइहरूको स्तर प्रगाढ थियो। तैपनि, यस पलमा अय्यूबले निस्सन्देह रूपमा आफ्नो मनभित्र भएको परमेश्‍वरसम्‍बन्धी दैनिक ज्ञान, आफ्नो दैनिक कार्यका सिद्धान्तहरू र परमेश्‍वरप्रतिको आफ्नो मनोवृति प्रकट गरिरहेका थिए—सत्य यही हो। यदि अय्यूब परीक्षामा नपरेका भए, यदि परमेश्‍वरले अय्यूबमाथि जाँचहरू नल्याउनुभएको भए, अय्यूबले “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” भनेर भन्दा, तँ तिनलाई पाखण्डी भन्‍नेथिइस्; परमेश्‍वरले तिनलाई त्यत्ति धेरै सम्पत्तिहरू दिनुभएको थियो, त्यसैले तिनले अवश्य यहोवाको नाउँलाई धन्यको भन्‍नेथे। यदि परीक्षाहरूमा पर्नुभन्दा अघि अय्यूबले “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” भन्थे भने, तैँले अय्यूब बढाइचढाइ कुरा गर्दै छन्, र तिनले परमेश्‍वरको नाउँ त्याग्‍नेछैनन् किनकि तिनले बारम्बार परमेश्‍वरको हातबाट आशिष् पाएका छन् भनी भन्‍नेथिइस्। यदि परमेश्‍वरले तिनीमाथि विपत्ति ल्याउनुभएको भए, तिनले अवश्य नै परमेश्‍वरको नाउँलाई त्याग्‍नेथिए भनेर तैँले भन्‍नेथिइस्। तर जब अय्यूबले आफूलाई यस्तो परिस्थितिमा पाए जुन कसैले पनि चाहँदैन वा देख्‍न मन पराउँदैन, जुन परिस्थितिमा कोही पनि पर्न चाहँदैन, जुन परिस्थितिमा पर्ने डर तिनीहरूलाई थियो, जुन परिस्थितिलाई परमेश्‍वरले पनि हेर्न सक्‍नुभएन, तब अय्यूबले अझै पनि आफ्नो निष्ठा थामेर राख्‍न सके: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” अनि “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” यस समयमा, अय्यूबको आचरणको सामना गर्नुपर्दा, ती ठूलठूला कुरा गर्ने अनि अक्षर र सिद्धान्तहरूको कुरा गर्न मन पराउने मानिसहरू सबै चुपचाप हुन्छन्। बोलीमा मात्र परमेश्‍वरको नाउँको गुणगान गर्ने, तर परमेश्‍वरका जाँचहरू कहिल्यै स्वीकार नगर्नेहरू अय्यूबको दृढ निष्ठाद्वारा दोषी ठहरिन्छन्, र मानिस परमेश्‍वरको मार्गमा दृढ रहन सक्षम छ भनी कहिल्यै पनि विश्‍वास नगर्नेहरू अय्यूबको साक्षीको न्यायमा पर्छन्। यी परीक्षाहरूको अवधिमा अय्यूबको आचरण र तिनले बोलेका शब्दहरूको सामना गर्नुपर्दा, कोहीकोही मानिसहरू अलमल्लमा पर्नेछन्, कतिले डाह महसुस गर्नेछन्, कसैलाई शङ्का लाग्‍नेछ र अझ कोही त चासो नभएको जस्तो गरी अय्यूबको साक्षीप्रति नाक बङ्ग्याउँछन्, किनभने तिनीहरूले जाँचको समयमा अय्यूबमाथि आइपरेको यातना देखेका, र अय्यूबले बोलेका वचनहरू पढेका मात्र नभई अय्यूबमाथि परीक्षाहरू आइपर्दा तिनले प्रकट गरेको मानव “कमजोरी” लाई पनि देखेका छन्। यो “कमजोरी” नै अय्यूबको सिद्धताको त्रुटि हो, परमेश्‍वरको नजरमा सिद्ध रहेको मानिसमा भएको खोट हो भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। भन्‍नुको अर्थ, सिद्ध मानिसहरू त्रुटिरहित हुन्छन्, निष्खोट वा कपटरहित हुन्छन्, उनीहरूमा कुनै कमजोरी हुँदैन, पीडाको ज्ञान हुँदैन, उनीहरू कहिल्यै दुःखी वा निरास महसुस गर्दैनन्, र घृणा वा कुनै बाहिरी चरम व्यवहार गर्दैनन् भन्‍ने विश्‍वास गरिन्छ; फलस्वरूप, धेरैजसो मानिसहरू अय्यूब साँच्‍चै सिद्ध थिए भनी विश्‍वास गर्दैनन्। जाँचको अवधिमा तिनले देखाएका धेरैजसो व्यवहारलाई मानिसहरू स्वीकार गर्दैनन्। उदाहरणको लागि, जब अय्यूबले आफ्नो सम्पत्ति र छोराछोरीहरू गुमाए, मानिसहरूले सोचेजस्तो तिनी आँसुमा डुबेनन्। तिनमा “शिष्टताको अभाव” भएको कुराले मानिसहरूलाई तिनी कठोर मनका थिए भन्‍ने सोच्न बाध्य पार्छ, किनकि आफ्नो परिवारको निम्ति तिनमा आँसु र स्‍नेह थिएन। यो अय्यूबको बारेमा तिनीहरूमा परेको प्रारम्भिक नराम्रो छाप हो। तिनले त्यसपछि देखाएको व्यवहार उनीहरूलाई झन् अचम्‍मको लाग्छ: “आफ्‍नो खास्टो च्याते” को कुरालाई मानिसहरूले परमेश्‍वरप्रतिको उनको अनादरको रूपमा हेर्छन्, र “आफ्‍नो कपाल खौरे” भन्‍ने वाक्यलाई तिनीहरू परमेश्‍वरप्रतिको अय्यूबको निन्दा र विरोध हो भनेर गलत रूपमा विश्‍वास गर्छन्। अय्यूबका “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” भन्‍ने वचनहरूबाहेक, अय्यूबमा पाइएको र परमेश्‍वरले प्रशंसनीय ठान्‍नुभएको तिनको कुनै पनि धार्मिकताबारे मानिसहरूले केही पनि बुझेनन्, र यसरी तिनीहरूमध्ये धेरैले गर्ने अय्यूबको मूल्याङ्कन केवल नबुझेको कुरा, गलत बुझाइ, शङ्का, निन्दा र सैद्धान्तिक रूपमा मात्र दिइएको स्वीकृतिबाहेक अरू केही हुँदैन। तिनीहरूमध्ये कसैले पनि अय्यूब सिद्ध र इमानदार मानिस थिए, तिनी परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग रहने व्यक्ति थिए भनी यहोवा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूलाई साँच्‍चै बुझ्न र कदर गर्न सक्दैनन्।

माथि उल्लेख गरिएझैँ, अय्यूबको बारेमा आफूमा परेको छापको आधारमा, मानिसहरूले तिनको धार्मिकतामा अझ शङ्का गर्छन्, किनभने धर्मशास्‍त्रमा लेखिएका अय्यूबका कार्यहरू र तिनको आचरण मानिसहरूले कल्‍पना गर्नेजत्तिको अत्यन्तै हृदयस्पर्शी थिएनन्। तिनले कुनै ठूला कार्यहरू नगरेका मात्र नभई तिनले खरानीमा बसेर आफैलाई कन्याउन माटोको भाँडाको खपटा पनि लिएका थिए। यो कार्यले पनि मानिसहरूलाई चकित पार्छ र तिनीहरूले अय्यूबको धार्मिकताको बारेमा शङ्का गर्ने, र इन्कारसमेत गर्ने गर्छन्, किनकि आफैलाई कन्याउँदा अय्यूबले परमेश्‍वरसँग प्रार्थना वा वाचा गरेनन्; न त तिनले पीडाको आँसु नै झारे। यस समयमा, मानिसहरू अय्यूबको कमजोरी मात्र देख्छन्, र अरू केही देख्दैनन्, र त्यसैले अय्यूबले, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” भनेको सुन्दा पनि तिनीहरूमा कुनै प्रभाव पर्दैन, वा तिनीहरू अनिश्‍चित नै रहन्छन्, र अझै पनि अय्यूबका वचनहरूबाट तिनको धार्मिकतालाई पत्ता लगाउन सक्दैनन्। आफ्नो परीक्षा र सतावटको बेला अय्यूबले मानिसहरूमा छाड्ने आधारभूत छाप भनेकै तिनी गुलामझैँ लुरुक्‍क पर्ने खालको पनि थिएनन् र अहङ्कारी पनि थिएनन् भन्‍ने हो। तिनको हृदयको गहिराइमा देखा परेको व्यवहारपछाडिको कथालाई मानिसहरूले देख्दैनन्, न त उनीहरूले तिनको हृदयमा परमेश्‍वरको डर देख्छन् न त तिनले दुष्टबाट अलग रहने मार्गको सिद्धान्त पालना गरेको नै देख्छन्। तिनको धैर्यताको कारण, मानिसहरूले तिनको सिद्धता र इमानदारिता रित्तो वचनहरू मात्र थिए, परमेश्‍वरप्रतिको तिनको डर अफवाह मात्र थियो भन्‍ने ठान्छन्; यसैबीच, बाहिरी रूपमा तिनले प्रकट गरेको “कमजोरी” ले उनीहरूमा गहिरो प्रभाव पार्छ, जसले उनीहरूलाई त्यस विषयमा “नयाँ दृष्टिकोण” दिन्छ, र परमेश्‍वरले सिद्ध र इमानदार भनी परिभाषित गर्नुहुने यी मानिसप्रति “नयाँ बुझाइ” पनि दिन्छ। अय्यूबले आफ्नो मुख खोलेर आफू जन्मेको दिनलाई सराप्दा, तब यस्तो “नयाँ दृष्टिकोण” र “नयाँ बुझाइ” प्रमाणित हुन्छन्।

तिनले भोग्‍नुपरेको यातनाको स्तर कुनै पनि मानिसका लागि अकल्पनीय र नबुझिने रहेको भए पनि, तिनले कुनै धर्मविरोधी कुराहरू बोलेनन्, बरु आफ्नै तरिकाले आफ्‍नो शरीरको पीडा कम गरे। धर्मशास्‍त्रमा लेखिएझैँ तिनले भने: “म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्” (अय्यूब ३:३)। सायद कसैले पनि यी वचनहरूलाई महत्त्वपूर्ण ठानेको छैन होला, र सायद ती वचनमा ध्यान दिने मानिसहरू पनि छन् होला। तिमीहरूको विचारमा, के ती वचनहरूको अर्थ अय्यूबले परमेश्‍वरको विरोध गरेका हुन् भन्‍ने हो? के ती परमेश्‍वरविरुद्धका गुनासो हुन्? मलाई थाहा छ, तिमीहरूमध्ये धेरै जनामा अय्यूबले बोलेका यी वचनहरूबारे निश्‍चित विचारहरू छन् र तिमीहरूमध्ये धेरै जनाले के विश्‍वास गर्छौ भने, यदि अय्यूब सिद्ध र इमानदार थिए भने तिनले कुनै कमजोरी वा शोक देखाउँदैनथिए, र तिनले शैतानको कुनै पनि आक्रमणलाई सकरात्मक रूपमा सामना गर्नुपर्थ्यो, र शैतानका परीक्षाहरूको सामना गर्दा मुस्कुराउनु समेत पर्थ्यो। शैतानले तिनको शरीरमा ल्याएको कुनै पनि यातनाप्रति तिनले थोरै पनि प्रतिक्रिया दिनु हुँदैनथ्यो, न त तिनले आफ्नो हृदयमा भएको कुनै पनि भावनालाई नै देखाउनु हुन्थ्यो। तिनले परमेश्‍वरलाई ती परीक्षाहरू अझ कठोर बनाउनुहोस् भनेरसमेत अनुरोध गर्नुपर्थ्यो। अटल र परमेश्‍वरसँग साँच्‍चै डराउने र दुष्टताबाट टाढा रहने व्यक्तिले यही कुरा प्रकट गर्नुपर्छ र उसमा यही कुरा हुनुपर्छ। यस चरम यातनाको दौरान, अय्यूबले आफ्नो जन्म दिनलाई सराप्‍नेबाहेक केही पनि गरेनन्। उनले परमेश्‍वरको बारेमा गुनासो गरेनन्, तिनमा परमेश्‍वरको विरोध गर्ने कुनै अभिप्राय हुनु त परै जाओस्। यो गर्नुभन्दा भन्‍नु धेरै सजिलो छ, किनकि प्राचीन समयदेखि आजसम्म कसैले यस्ता परीक्षाहरूको सामना गरेको वा अय्यूबले भोगेका पीडा भोगेको छैन। त्यसो भए किन कसैलाई पनि अय्यूबको जस्तो परीक्षामा पारिएको छैन? किनभने परमेश्‍वर दृष्टिकोणमा, कसैले पनि त्यस्तो जिम्मेवारी वा आदेश लिन सक्दैन, अय्यूबले गरेजस्तै कसैले पनि गर्न सक्दैन, र यसबाहेक, आफूमाथि यातना आइपर्दा अय्यूबले जस्तो कसैले पनि आफ्नो जन्मदिनलाई सराप्‍नेबाहेक परमेश्‍वरको नाउँलाई नत्याग्‍ने बरु यहोवा परमेश्‍वरको नाउँलाई धन्यको भनिरहने कार्य गर्न सक्दैन। कसैले यो गर्न सक्छ? जब हामी अय्यूबको बारेमा यो कुरा भन्छौं, के हामी तिनको व्यवहारको प्रशंसा गरिरहेका हुन्छौं? तिनी एक धर्मी व्यक्ति थिए, र तिनले परमेश्‍वरको निम्ति त्यस्तो गवाही दिन सके, र तिनले शैतानलाई आफ्‍नो हातले टाउको छोपेर भाग्‍ने बनाउन सके, ताकि परमेश्‍वरलाई दोष लगाउन त्यो फेरि कहिल्यै उहाँको सामुन्‍ने नआओस्—त्यसो भए तिनको प्रशंसा गर्नुमा के गलत छ? के तिमीहरूको स्तर परमेश्‍वरको भन्दा उच्‍च भएकोले हुन सक्छ? के तिमीहरूमाथि परीक्षाहरू आउँदा तिमीहरू अय्यूबले भन्दा राम्रो व्यवहार गर्न सक्‍ने भएकोले हुन सक्छ? परमेश्‍वरले अय्यूबको प्रशंसा गर्नुभयो—यसबारेमा तिमीहरूलाई के आपत्ति हुन सक्छ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्