म किन यति उच्‍च र शक्तिशाली छु?

25 फेब्रुअरी 2023

म मण्डलीको भिडियो कार्यको लागि जिम्मेवार थिएँ। केही समयको अभ्यासपछि, मैले केही सिद्धान्तहरू बुझेँ र आफ्‍नो सीपलाई तिखारेँ। म हाम्रो काममा प्रायः समस्याहरू पत्ता लगाउने पनि गर्थेँ, र कामका छलफलहरूमा, मेरा सुझावहरू अरूले प्रायजसो स्वीकार गर्थे। केही समयपछि, मलाई एक प्रकारको आत्मसन्तुष्टि भयो। मैले ममा केही क्षमता, सिद्धान्तहरूको निकै विशुद्ध बुझाइ, र समस्यासम्‍बन्धी विस्तृत दृष्टिकोण छ भन्‍ने ठान्दै आफैमा झन्-झन् धेरै विश्‍वास गरेँ। म मण्डली अगुवा र कुनै मुख्य कामको इन्चार्ज नभए पनि, मलाई हाम्रो समूहका प्रोजेक्टहरू व्यवस्थापन गर्न सक्‍नु नराम्रो कुरा होइन भन्ने लाग्थ्यो। मैले मेरा सहकर्मी ब्रदर जस्टिन केही समयसम्‍म आफ्‍नो कर्तव्यमा अलि निष्क्रिय भएको देखेँ। म सधैँ हाम्रो कामका छलफलहरू र टोलीको सिकाइमा नेतृत्व लिने गर्थेँ, र बोझ नलिएकोमा तिनलाई तिरस्कार गर्थेँ। त्यसपछिका हाम्रा छलफलहरूमा, म जस्टिनका सुझावहरू बेवास्ता गरिदिन्थेँ र तिनका दृष्टिकोणहरू प्रायः इन्कार गर्थेँ। म के सोच्थेँ भने हाम्रो सहकार्यमा, हामी प्रायजसो मेरै विचारहरू अपनाउँछौँ, त्यसकारण कामहरू मैले गर्दा पनि हुन्छ। केही समयपछि, मैले जस्टिनका केही काम आफ्नो हातमा लिएँ। हाम्रा कामका छलफलहरूमा, अरूले मेरा सुझावहरू नअपनाउँदा, म मेरो दृष्टिकोण सही छ भनेर बारम्बार जोड दिन्थेँ, र तिनीहरूलाई मेरो कुरा सुन्न लगाउन कहिलेकहीँ प्रमाणको रूपमा नियम र धार्मिक मतहरू उल्‍लेख गर्थेँ, मानौँ ती सिद्धान्त हुन्। यसो गरेपछि मलाई अलि अप्ठ्यारो लाग्थ्यो, किनकि म सधैँ अरूमाथि मेरो कुरा लादिरहेको छु भन्ने महसुस गर्थेँ। के त्यो अहङ्कार प्रकट गर्नु थिएन र? कहिलेकहीँ म अरूका सुझाव स्विकार्ने प्रयास गर्थेँ, तर अन्त्यमा मेरो विचार नै सही प्रमाणित हुन्थ्यो, त्यसैले म झन्-झन् आत्म-विश्‍वस्तसमेत भएँ। कहिलेकहीँ मलाई अहङ्कारी स्वभाव देखाइरहेको छु भन्‍ने महसुस हुन्थ्यो, तर यो कुरालाई ध्यान दिँदिनथेँ। मलाई लाग्थ्यो म अलिअलि अहङ्कारी छु, तर म सही छु। मेरो अभिप्राय हाम्रो काम राम्ररी पूरा गर्नु थियो, त्यसकारण त्यो त्यति ठूलो समस्या हुन सक्थेन। त्यो अवधिमा, मलाई अरूले गरेको कुनै कुराप्रति सहज महसुस हुँदैनथ्यो। मलाई तिनीहरूमा पर्याप्त सीप छैन र तिनीहरूले सोचविचार गर्दा समग्र चित्र देखेका छैनन् भन्ने लाग्थ्यो। तिनीहरूले सुझाव दिँदा, ती मेरा विचारहरूसँग मिलेनन् भने, म दोहोरो विचार नगरी ती इन्कार गर्थेँ र तिनीहरूलाई तुच्छ ठान्थेँ। एकपटक, एक सिस्टरले बनाएको भिडियो धेरैपटक सम्पादन गर्नुपर्‍यो र पनि अझै राम्रो भएन। मैले उनले सामना गरिरहेका कुनै पनि समस्याबारे सोधिनँ, बस उनलाई हप्काउन थालेँ, “के तपाईंले यो काम गर्दा ध्यान त दिनुभएको थियो? अरूले गरेको काम हेरेर सिक्‍न सक्‍नुहुन्‍न?” कहिलेकहीँ ब्रदर-सिस्टरहरूले भिडियो बनाउनेबारे कुनै विचार बताउँदा, म कुरै नबुझी त्यसलाई तुरुन्तै इन्कार गर्थेँ। फलस्वरूप, ब्रदर-सिस्टरहरू सबै मसँग काम गर्न डराउँथे र मलाई देखाउन उनीहरूका भिडियोहरू पठाउन पनि आँट गर्दैनथे। अर्कोपटक, एक सिस्टरले केही टोली अध्ययन आयोजना गर्ने सामग्रीहरू भेटिन्। मैले त्यसलाई झलक्‍क हेरेँ, र कसैसँग छलफल नगरी, उनले भेट्टाएका सामग्रीहरूलाई कुनै सान्दर्भिक महत्त्व नभएको भनी पुरै तुच्छ ठानेँ। वास्तवमा, उनले भेट्टाएका सिकाइ सामग्रीहरू सर्वोत्तम नभए पनि, सीप निर्माणको लागि उपयोगी नै थिए। एक सिस्टरले पछि मलाई अरूसँग सल्‍लाह नगरी काम गर्नु मेरो अहङ्कार हो भनेर औँल्याइन्। त्यो बेला मैले आफूलाई चिन्दै चिनेको थिइनँ, र सोचेँ म सुझाव माग्न मात्रै चुकेको हुँ, र भविष्यमा यसलाई अलिक ध्यान दिए भइहाल्छ। मलाई त के समेत लाग्थ्यो भने हाम्रो कामका धेरैजसो समस्या सम्‍हाल्‍ने र समाधान गर्ने म नै हुँ, र साना-ठूला सबै मामिलामा म नै अन्तिम निर्णय गर्छु, त्यसैले मेरो रेखदेखविना हाम्रो टोलीको काम भताभुङ्ग हुन्छ। मेरो सहकर्मी भए पनि, नाम र वास्तविकता दुवै हिसाबमा म नै टोली सुपरभाइजर हुँ, र सायद टोलीको काम रेखदेख गर्न परमेश्‍वरले नै मलाई त्यो स्थानमा राख्‍नुभएको हो भन्‍ने मलाई लाग्थ्यो। त्यो सोच्दा मलाई म अरूभन्दा पृथक छु, म इन्चार्ज हुँ जस्तो लाग्यो। म झन् अहङ्कारीसमेत भएँ। एकपटक, केही सिस्टर र मैले कामको छलफल गर्न अर्को टोलीसँग समय मिलायौँ तर अन्तिम समयमा केही आइपऱ्यो र म सहभागी हुन सकिनँ, त्यसैले मैले तिनीहरूलाई मात्रै पठाएँ। म जान सक्दिनँ भन्‍ने थाहा पाउनेबित्तिकै तिनीहरू आत्तिए, र तिनीहरूले यो जिम्‍मेवारी लिन सक्दैनौँ, त्यसैले मेरो फुर्सद भइञ्‍जेल पर्खिन्छौँ भनी भने।

त्यसपछि, एक सिस्टरले मलाई भनिन्, “अहिले तपाईं टोलीको ठूला-साना सबै कुरामा अन्तिम निर्णय गर्नुहुन्छ। कोही समस्यामा पर्दा, उसले सत्यता खोजी गर्दैन, बरु तपाईंमा भर पर्छ। तिनीहरूलाई तपाईंविना काम गर्न सकिँदैन जस्तो लाग्छ। के तपाईंलाई केही आत्मचिन्तन गर्नुपर्छ जस्तो लाग्दैन? यो निकै खतरनाक हो!” उनको यो कुरा सुनेपछि केही समयसम्‍म मैले आफ्‍नो भावना शान्त पार्न सकिनँ। ब्रदर-सिस्टरहरूलाई मविना काम गर्न सकिँदैन जस्तो लाग्थ्यो, र सबै कुरा ममार्फत जानुपर्थ्यो। के त्यो टोलीमाथि नियन्त्रण जमाउनु थिएन र? त्यो ख्रीष्टविरोधी व्यवहार थियो। तर मैले गरेको जुनसुकै कामको अभिप्राय काम राम्ररी गर्नु नै थियो। कसरी यस्तो अवस्था आइपर्‍यो? यसलाई कसरी बुझ्‍ने मलाई थाहा थिएन। अत्यन्तै अन्योल र निराश भएर, मैले परमेश्‍वरलाई आफ्‍नो स्थितिबारे बताएँ र उहाँको डोऱ्याइ मागेँ। कसैले मलाई ख्रीष्टविरोधीहरूको स्वभाव खुलासा गर्ने परमेश्‍वरको वचनको एउटा खण्ड पठायो जुन मेरो स्थितिसँग साँच्चै मिल्दो थियो। परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गरिरहेका छन् भन्‍ने कुराको सबैभन्दा आम लक्षण भनेको तिनीहरूले आफ्‍नो नियन्त्रणको क्षेत्रमा आफैले मात्रै अन्तिम निर्णय गर्नु हो। यदि ख्रीष्टविरोधी उपस्थित छैन भने, अरू कसैले पनि कुनै मनस्थिति बनाउने वा निर्णय गर्ने आँट गर्दैन। यदि ख्रीष्टविरोधी उपस्थित छैन भने, अरू सबै आमाविनाका बच्‍चाहरूजस्ता हुन्छन्। कसरी प्रार्थना वा खोजी गर्ने, वा मिलेर कसरी छलफल गर्ने भन्‍नेबारेमा तिनीहरूलाई केही थाहा हुँदैन। तिनीहरू कठपुतली वा मरेका मानिसहरूजस्तै हुन्। … ख्रीष्टविरोधीहरूले काम गर्दा तिनीहरूले प्रयोग गर्ने विधिहरू सधैँ चलनभन्दा बाहिरका र उत्कृष्ट सुनिने खालका हुन्छन्। अरूको सुझाव जति नै सही भए पनि, तिनीहरूले सधैँ त्यसलाई इन्कार गर्छन्। अर्को व्यक्तिको सुझाव तिनीहरूका विचारहरूअनुरूपका नै छन् भने पनि, यदि ख्रीष्टविरोधीहरूले पहिले यसलाई प्रस्तावित गरेका होइनन् भने, तिनीहरूले अवश्य नै यसलाई स्वीकार वा लागू गर्न इन्कार गर्छन्। ख्रीष्टविरोधीहरूले त्यो सुझावलाई तुच्छ बनाउन, इन्कार गर्न, र निन्दा गर्न सकेजति सबै गर्छन्, र त्यस्तो तबसम्म गर्छन् जबसम्म त्यो सुझाव दिने व्यक्तिले उसको विचार नै गलत रहेछ भन्‍ने सोच्दैन वा स्वीकार गर्दैन। त्यसपछि मात्रै ख्रीष्टविरोधी रोकिन्छ। ख्रीष्टविरोधीहरू आफ्नै जग निर्माण गर्न र अरूलाई होच्याउन मन पराउँछन् ताकि अरूले तिनीहरूको पूजा गरून् र तिनीहरूलाई सबै कुराको केन्द्रविन्दुमा राखून्। ख्रीष्टविरोधीहरूले आफूलाई मात्र फुल्‍न दिन्छन्, र आफूलाई राम्रो देखाउन अरूलाई पृष्ठभूमिमार्फत मात्र सेवा गर्न दिन्छन्। ख्रीष्टविरोधीहरूले आफूले भन्‍ने र गर्ने सबै सही छन्, र अरूले भन्‍ने र गर्ने सबै गलत छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले प्राय अरूका दृष्टिकोण र अभ्यासहरू इन्कार गर्न नयाँ दृष्टिकोणहरू अघि सार्छन्, सानातिना कुरा खोतल्दै अरूका विचारहरूमा गल्ती निकाल्छन्, र तिनीहरूले अरूको योजना बिथोल्छन् वा इन्कार गर्छन्, ताकि सबै जना तिनीहरूको कुरा सुन्‍न र तिनीहरूको शैलीअनुसार काम गर्न बाध्य होऊन्। तिनीहरूले तँलाई निरन्तर इन्कार गर्न, आक्रमण गर्न, र तँ पर्याप्त रूपमा असल छैनस् भन्‍ने अनुभव गराउन यी विधि र माध्यमहरू प्रयोग गर्छन्, जसले गर्दा तँ झन्झन् तिनीहरूप्रति समर्पित हुँदै जान्छस्, तिनीहरूलाई उच्‍च ठान्छस्, र आदर गर्छस्, र अन्त्यमा तँ पूर्ण रूपमा तिनीहरूको नियन्त्रणमा हुन्छस्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई वशमा पार्ने र नियन्त्रण गर्ने प्रक्रिया यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ५: तिनीहरूले मानिसहरूलाई छल गर्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। यो पढेपछि, मैले परमेश्‍वरको भनाइसँग आफूलाई तुलना गरेँ। मैले यतिका समयसम्‍म टोलीको कामको जिम्‍मेवारी लिएको थिएँ, तर अरूले अझै पनि सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनथे र आफूले गर्ने सबै कुराबारे मलाई सोध्थे। मविना तिनीहरूले अन्तिम निर्णय गर्ने वा अरू टोलीसँग कुराकानी गर्ने आँट गर्दैनथे। तिनीहरू सबै मद्वारा बाँधिएका थिए। मैले तिनीहरूलाई हानि गरिरहेको थिएँ। मैले के गरेँ र के भनेँ अनि यस्तो परिणाम आयो भनेर विचार गरेँ। हामीले कामबारे छलफल गर्दा होस् वा विचारहरूबारे कुरा गर्दा, कसैको दृष्टिकोण मेरोभन्दा फरक भयो भने, म तिनलाई इन्कार गर्न धेरै कारणहरू खोतल्थेँ, सत्यताका सिद्धान्तहरूमा सङ्गति गर्नेबारे कहिल्यै ध्यान दिँदिनथेँ। म परमेश्‍वरलाई उचाल्‍ने वा उहाँको गवाही दिने गर्दिनथेँ, बरु सबैलाई मेरो कुरा सुन्‍न लगाउँथेँ। कुनै कुरा सही हो भन्‍ने लागेपछि, म आक्रमक र दबाबकारी बन्थेँ। ब्रदर-सिस्टरहरूको सीपमा कुनै कमजोरी देख्‍नेबित्तिकै म तिरस्कार गर्थेँ, र म प्रत्यक्ष-अप्रत्‍यक्ष रूपमा अपमानजनक व्यवहार गर्थेँ। म सबैलाई मेरो कुरा सुन्‍न बाध्य पार्न चाहन्थेँ, र तिनीहरूले सुनेनन् भने, म दक्ष छु र मैले सिद्धान्तहरू बुझेको छु भन्‍ने कुरामा जोड दिन्थेँ। केही समयसम्‍म सधैँ अरूलाई इन्कार्दै र अवमूल्यन गर्दै आफूलाई माथि उचालेपछि, ब्रदर-सिस्टरहरू सबैलाई आफू दक्ष छैन, र आफूमा मेरो जस्तो पूर्ण दृष्टिकोण छैन भन्‍ने लाग्यो, त्यसैले तिनीहरू सबै कुरा मलाई सोध्थे। यसबारे राम्ररी विचार गर्दा, धेरैपटक तिनीहरूले प्रस्ताव गरेका योजनाहरू राम्रै हुन्थे, र ती पूर्ण रूपमा सिद्ध हुन्थेनन् होला, तर मैले ती सुधार्न सहयोग गर्न सक्थेँ। तर यसको साटो, म सही हुँ भनेर जोड दिन्थेँ र अरूका विचारहरू इन्कार गर्थेँ, र मैले हाम्रो कामकै लागि यसो गरेको हुँ भन्‍ने सोच्थेँ। म अति अहङ्कारी थिएँ र ममा आत्मचेतनाको कमी थियो! मैले परमेश्‍वरका वचनहरूमा यो पनि पढेँ: “मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्‍बार परमेश्‍वरको आज्ञा उल्लङ्घन र विरोध गर्छन्, उहाँका वचनहरूमा ध्यान दिँदैनन्, उहाँको विषयमा धारणाहरू उत्पन्‍न गर्छन्, उहाँलाई धोका दिने कुराहरू गर्छन्, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्‍ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौं तँलाई एउटा मण्डली दिइयो र त्यसको नेतृत्व गर्ने अनुमति दिइयो; मानौं मैले तँलाई निराकरण गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: त्यसलाई केही समय नेतृत्व गरिसकेपछि तैँले मानिसहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पग्‍ने गरी तिनीहरूलाई तेरो अधीनमा बस्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। तैँले यो कुरा अरूबाट सिक्‍नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा तँलाई यसो गर्न बाध्य गर्नु आवश्यक हुँदैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै आउँछ। तैँले गर्ने सबै कुरा मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तँमा समर्पित हुने, र सबै कुरामा तेरो कुरा सुन्‍ने बनाउनु हो। तँलाई अगुवा बनाएको तथ्यले नै स्वभाविक रूपमा यस्तो परिस्थिति ल्याउँछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन। अनि यस्तो परिस्थिति कसरी आउँछ? यो कुरा मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरूले यस्ता अहङ्कारी कार्यहरू गर्न सक्‍नुले तिनीहरूको अहङ्कारी प्रकृति शैतानको जस्तो छ भन्‍ने प्रमाणित गर्छ; यो प्रधान स्वर्गदूतको जस्तो छ। जब तिनीहरूको अहङ्कार र आत्मअभिमान एक निश्‍चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन, र परमेश्‍वरलाई पन्छ्याइन्छ। त्यसपछि, तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउँछन् र तिनीहरू प्रधान स्वर्गदूत बन्छन्। यदि तँमा त्यस्तो शैतानी अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, परमेश्‍वरले अबदेखि तँलाई पहिचान गर्नुहुनेछैन, तँलाई दुष्कर्मीको रूपमा हेर्नुहुनेछ, र तँलाई हटाउनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो)

मैले परमेश्‍वरको वचनबाट के सिकेँ भने म आफ्‍नो अहङ्कारी प्रकृतिको नियन्त्रणमा परेकोले मैले ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्न सकेको थिइनँ। मैले के पनि थाहा पाएँ भने यस्तो अहङ्कारी, र अभिमानी प्रकृति बोक्दा मैले कुनै खास काम गर्नु पर्दैनथ्यो, बरु यस्तो परिस्थिति प्राकृतिक रूपमै आउँथ्यो, र म सबैलाई मेरो कुरा सुन्‍न लगाउँथेँ। मैले त्यस कर्तव्यमा अरू ब्रदर-सिस्टरहरूसँग काम गरेको समयबारे सोच्दा, हामीले भिडियोका लागि सुझाव दिइरहेका होऊन् वा काम व्यवस्थापन गरिरहेका, म सधैँ मेरा विचार नै सर्वोत्कृष्ट छन् भन्‍ने ठान्थेँ। जस्टिन आफ्‍नो कर्तव्यमा अलि निष्क्रिय भएको देखेपछि, मैले तिनलाई सङ्गतिद्वारा सहयोग गरिनँ, बरु कमजोर क्षमता भएको र कुनै बोझ नलिएकोमा मैले तिनलाई तुच्छ ठानेँ, र सबै कुराको जिम्‍मेवारी लिएर हर काम आफै गरेँ, मानौँ काम पूरा गर्न सक्‍ने म मात्र हुँ, अरू कोही होइन। अरूको सीपले नभ्याउने कुनै क्षेत्र देखेँ भने, क्षमता र बुझाइको कमी भएकोमा म तिनीहरूलाई तिरस्कार गर्थेँ, मानौँ मेरो बुझाइ नै सबैभन्दा सही छ, र मलाई नै सबैभन्दा राम्ररी सिद्धान्तहरू थाहा छ। म सधैँ अरूलाई होच्याइरहेको र आफूलाई उचालिरहेको हुन्थेँ, अनि मेरा विचार र दृष्टिकोणहरू तिनीहरूलाई सत्यताझैँ प्रस्तुत गरिरहेको हुन्थेँ। केही समयपछि, अरूलाई आफै केही गर्न सकिँदैन, मैले नै गर्नुपर्छ भन्‍ने लाग्‍न थाल्यो, यहाँसम्‍म कि सबै कुरामा तिनीहरू मलाई सोध्‍न आउँथे, र मेरो भर पर्थे। म छैनँ भने, तिनीहरू अघि बढ्ने आँट गर्दैनथे। मैले परमेश्‍वरका वचनमा यी कुरा पढेँ: “जब तिनीहरूको अहङ्कार र आत्मअभिमान एक निश्‍चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन, र परमेश्‍वरलाई पन्छ्याइन्छ। त्यसपछि, तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउँछन् र तिनीहरू प्रधान स्वर्गदूत बन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो)। परमेश्‍वरका वचनहरूको प्रकाश देख्दा, मलाई लाज र ग्लानि भयो। ममा अत्यन्तै गम्‍भीर समस्या रहेछ भन्‍ने महसुस भयो। मैले आफूलाई उच्‍च स्थानमा राखेको थिएँ, सधैँ ममा वरदान र क्षमता छ, म साधारण व्यक्ति होइन, इन्‍चार्ज हुन र नेतृत्व सम्हाल्न चाहिने कुरा ममा प्राकृतिक रूपमै छ, र अरूमा क्षमताको कमी छ, त्यसैले तिनीहरूको नेतृत्व गर्न परमेश्‍वरले मलाई खटाउनुभएको हो भन्‍ने सोच्थेँ। मेरा यी सोच र विचारबारे सोच्दा, मलाई डर र दिगमिग लाग्यो। म साँच्‍चै निर्लज्‍ज थिएँ! हामीले आफ्ना कर्तव्यहरू निभाउन सँगै काम गरिरहेका थियौँ, सबैले परमेश्‍वरको नेतृत्व स्विकारेर सत्यताका सिद्धान्तहरू पालन गरिरहेका थियौँ, तर मैले त सबैलाई मेरो नेतृत्व स्विकार्न र मैले भनेको मान्‍न लगाइरहेको थिएँ। म गलत थिएँ। म यति अहङ्कारी भएँ कि मैले सबै समझशक्ति गुमाएको थिएँ। “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश” मा परमेश्‍वरले भन्‍नुभएको छ: “मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। मलाई हृदयमा सधैँ म टोलीका अरूभन्दा उच्‍च तहमा छु भन्ने लाग्थ्यो र सधैँ आफूलाई अरू ब्रदर-सिस्टरहरूभन्दा माथि राख्थेँ। म गलत स्थानमा उभिरहेको थिएँ—मैले आफूलाई उच्‍च स्थानमा राखिरहेको थिएँ। यो सोचेपछि साँच्चै मेरो होस खुल्यो, र निकै डर लाग्यो। मैले तुरुन्तै प्रार्थना गरिहालेँ: “हे परमेश्‍वर, म अत्यन्तै अहङ्कारी र आत्मविश्‍वस्त छु। मैले एकदमै अनजानमा तपाईंको स्वभावलाई चिढ्याएँ। म पश्‍चात्ताप गर्न, आफ्‍नो उचित स्थान लिन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु।” पछि मसँग सङ्गति गर्न मेरा सुपरभाइजर मकहाँ आए। मसँग काम गर्दा एकदमै बाँधिएको अनुभव हुन्छ भनी केही ब्रदर-सिस्टरहरूले बताएका छन् भनेर तिनले भने। म अरूलाई तिरस्कार गर्छु र तुच्छ ठान्छु, अनि अरूका विचारहरू सधैँ इन्कार्छु भनेर तिनीहरूले भनेका थिए, र तिनीहरूमध्ये कतिले भनेका थिए, “मैले पहिले पनि अहङ्कारी मानिसहरू देखेको छु, तर यति अहङ्कारी कोही देखेको छैनँ।” यी शब्‍दहरूले सीधै मेरो हृदय घोचे। ब्रदर-सिस्टरहरूले मलाई यस्तो व्यक्तिको रूपमा हेर्छन्, मैले तिनीहरूलाई यति धेरै रोकावट र चोट दिएको छु भनेर त मैले कल्‍पनै गरेको थिइनँ। केही दिनसम्‍म मेरो मुटुमा छुरा घोपेजस्तै भइरह्यो। विशेष गरी हामीले कामको छलफल गर्दा, अरू कसैले बोल्‍ने आँट गर्दैनथे, र वातावरण एकदमै न्यानो थिएन, त्यसैले मलाई झनै दोषी महसुस भयो। यो मैले तिनीहरूमा लगाएका सीमाहरूकै कारण भएको हो भन्‍ने मलाई थाहा थियो। पीडा र दुःखमा, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मनन गरेर सत्यतामा प्रवेश गर्न मार्गदर्शन मागेँ।

मैले भक्तिको समयमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई आफ्‍नो बारेमा अझै राम्ररी बुझ्‍न मदत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “कतिपय अगुवाहरूले सिद्धान्तहरूअनुसार काम गर्दैनन्, बरु नियम-व्यवस्था आफ्‍नै हातमा लिएर स्‍वेच्‍छाचारी र बेढङ्गी व्यवहार गर्छन्। अनि, ब्रदर-सिस्टरहरूले यो कुरा औँल्याउँदै भन्छन्, ‘तपाईंले काम गर्नुभन्दा पहिले अरूसँग बिरलै छलफल गर्नुहुन्छ। तपाईंले निर्णय गरिसकेपछि मात्रै हामीलाई तपाईंको मूल्याङ्कन र निर्णयको बारेमा थाहा हुन्छ। किन तपाईं अरूसँग सल्‍लाह गर्नुहुन्‍न? तपाईंले निर्णय गर्दा किन हामीलाई पहिले नै बताउनुहुन्‍न? तपाईंले सही काम नै गरिरहनुभएको भए पनि, र तपाईंको क्षमता हाम्रोभन्दा राम्रो भए पनि, तपाईंले हामीलाई यसबारेमा सुरुमै जानकारी दिनुपर्ने हो। कम्तीमा पनि, के भइरहेको छ भन्‍ने कुरा जान्‍ने अधिकार हामीसँग छ। नियम-व्यवस्था सधैँ आफ्नै हातमा लिएर काम गर्दै—तपाईं ख्रीष्टविरोधीको मार्गमा हिँडिरहनुभएको छ!’ अनि तैँले यस विषयमा त्यो अगुवाले के भनेको सुन्छस्? ‘घरमा अन्तिम निर्णय गर्ने म नै हुँ। ठूलोसानो सबै कुराको निर्णय मैले नै गर्नुपर्छ। म यसमा अभ्यस्त छु। मेरो ठूलो परिवारमा कसैलाई समस्या भयो भने, ऊ मकहाँ आउँछ र के गर्ने हो मलाई निर्णय गर्न लगाउँछ। मसँग धेरै समस्याहरूको समाधान छ भन्‍ने तिनीहरू सबैलाई थाहा छ। त्यसैले त मेरो घरका मामलाहरूमा निर्णय गर्ने र मुख्य भूमिका निर्वाह गर्ने म नै हुन्छु। जब म मण्डलीमा आएँ, मलाई अबदेखि मैले चिन्ता गर्नुपर्दैन होला भन्‍ने लागेको थियो, तर म त अगुवाको रूपमा चुनिन पुगेँ। मैले गर्दिनँ भनेर हुँदैन—म यसैको लागि जन्मेको रहेछु। परमेश्‍वरले मलाई यो सीप दिनुभएको छ। मानिसहरूको समस्याहरू समाधान गर्न र निर्णय गर्नका लागि नै म जन्‍मेको हुँ।’ यसको तात्पर्य यो हुन्छ कि तिनीहरू जन्मँदै अधिकारी बन्‍ने भाग्य लिएर जन्‍मेका हुन्, र अरू सबै खेलौना, साधारण व्यक्ति हुन्—तिनीहरू दासका रूपमा जन्‍मेका हुन्। ब्रदर-सिस्टरहरूले यो अगुवामा समस्या देख्दा र उसलाई त्यो औँल्याइदिँदा पनि, उसले यसलाई स्वीकार गर्दैन, न त उसले निराकरण र काटछाँट नै स्वीकार गर्छ, बरु इन्कार र विरोध गरिरहन्छ, र अन्त्यमा ब्रदर-सिस्टरहरूले उसलाई हटाउने अनुरोध गर्छन्, तर उसले भने यस्तो सोचिरहेको हुन्छ, ‘मेरो जस्तो क्षमता भएको व्यक्ति त, जहाँ गए पनि ठूलो पदमै हुन्छ। अनि तिमीहरूको जस्तो क्षमता बोकेर त, तिमीहरू जहाँ गए पनि तिमीहरू नोकर र नोकर्नीहरू बन्‍नेछौ। तिमीहरूको भाग्यमै हुकुम मान्‍न लेखेको छ।’ सधैँ यस्तो कुरा बोलेर तिनीहरूले कस्तो स्वभाव प्रकट गरिरहेका हुन्छन्? स्पष्टतः, यो भ्रष्ट स्वभाव हो, तैपनि तिनीहरूले कुनै लाज नमानी अरूसँग सामर्थ्य र योग्यताको रूपमा यो कुरा बताउँछन्, र यसप्रति गर्व गर्छन्। जब व्यक्तिले भ्रष्ट स्वभाव प्रकट गर्छ, तब उसले आफ्‍नो बारेमा मनन गर्नुपर्छ। उसले यसलाई जान्‍नुपर्छ, यसबारेमा पश्‍चात्ताप गर्नुपर्छ, र यसलाई त्याग्‍नुपर्छ; उसले जबसम्‍म सिद्धान्तअनुसार काम गर्न सक्दैन तबसम्‍म सत्यता खोजी गर्नुपर्छ। तैपनि यो अगुवाले यसरी अभ्यास गर्दैन, ऊ असुधारणीय बनिरहन्छ, र आफ्‍नो दृष्टिकोणमै लागिरहन्छ। यी बानीबेहोराबाट तिनीहरूले अलिअलि पनि सत्यता खोजी गर्दैनन् र तिनीहरू सत्यता खोजी गर्नेहरू हुँदै होइनन् भन्‍ने देख्‍न सकिन्छ। तिनीहरूको खुलासा र निराकरण गर्ने कसैको कुरा तिनीहरूले सुन्दैनन्, तर आफूलाई निर्दोष साबित गर्ने प्रयास गरिरहन्छन्: ‘हो—म यस्तै छु! यसलाई योग्यता भनिन्छ; यो क्षमता हो—के तिमीहरूसँग यस्तो क्षमता छ? म अगुवा बन्‍ने भाग्य लिएर जन्‍मेको छु, र म जहाँ गए पनि, म अगुवा हुन्छु। म आफूले भनेको कुरा लागू गर्ने, परिस्थितिहरूलाई आफ्‍नै तरिकाले सम्‍हाल्‍ने कुरामा अभ्यस्त भएको छु। म अरूसँग छलफल गर्दिनँ। यो मेरो विशेषता हो, मेरो व्यक्तिगत प्रतिभा हो।’ के यो छाडा निर्लज्जता होइन र? तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार नगर्नु भनेको, तिनीहरूले मानिसको न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू स्वीकार गर्दैनन् भन्‍ने हो। यसको विपरीत, तिनीहरूले विधर्म र भ्रमहरूलाई सत्यताका रूपमा लिन्छन्, र अरू सबैलाई तिनीहरूको कुरा मान्‍ने, र तिनीहरूलाई आदर गर्ने बनाउँछन्। तिनीहरूले हृदयभित्र परमेश्‍वरको घरमा सत्यताले शासन गर्नु हुँदैन, बरु तिनीहरूले शासन गर्नुपर्छ भन्‍ने सोच राख्छन्। तिनीहरूले भनेकै कुरा हुनुपर्छ। के यो भद्दा रूपमा लाज पचाउनु होइन र?(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (१))। परमेश्‍वरका वचनहरूको यो खुलासा देखेर म लज्‍जित भएँ। मैले ठिक त्यसरी नै व्यवहार गरेको थिएँ। मसँग केही सीप थिए र मसँग थोरै बौद्धिकता र क्षमता छ जस्तो देखिन्थ्यो, त्यसैले मैले नै अन्तिम निर्णय गर्नुपर्छ जस्तो मलाई लाग्थ्यो। मेरो नजरमा त अरू ब्रदर-सिस्टरहरूले कुनै पनि कुरा राम्ररी गर्न सक्दैनन् भन्ने थियो, र कसैले मेरो समस्या औँल्याउँदा समेत म त्यसलाई गम्‍भीर रूपमा लिँदिनथेँ। मसँग क्षमता र सही सुझावहरू भएकोले मात्रै म अहङ्कारी भएको हुँ भन्ने लाग्थ्यो। मैले आफूलाई चिन्दै चिनेको थिइनँ। वास्तवमा, धेरैजसो समय म सही रूपमा समस्याहरू देख्दिनथेँ र समग्र चित्रबारे सोच्दिनथेँ, त्यही भएर ती सिस्टरले भेट्टाएका सिकाइ सामग्रीलाई मैले बेकामको भनेर खारेज गरेँ, तर अरूले ती केही सान्दर्भिक मूल्यको देखेर, केही असल सुझावहरू दिए। अनि कतिपय कुरामा मेरो विचार सही हुने भए पनि, मैले अहङ्कारी भएर अरूलाई त्यो स्विकार्न बाध्य पार्नु हुँदैनथ्यो। मैले सिद्धान्तहरू र मेरा व्यक्तिगत बुझाइ र दृष्टिकोणहरूमा सङ्गति गर्नुपर्थ्यो, अनि मेरो कुरा सही लाग्यो भने, सबैले स्वाभाविक रूपमै स्वीकार गर्थे। तर यसको साटो, म अहङ्कारी र आत्मविश्‍वस्त थिएँ, र मैले अरूका सबल पक्ष हेर्ने वा आत्मचिन्तन गर्ने गर्दै गरिनँ। म प्रायः आफूसे कुन कुरामा सही निर्णय गरेँ, र हाम्रो कामका कुन समस्या पत्ता लगाएँ र समाधान गरेँ भनेर मनमनै हिसाब गरिरहेको हुन्थेँ। म यी “उपलब्धिहरू” बारे जति हिसाब गर्थेँ, मलाई त्यति नै आफू अरूभन्दा असल छु भन्‍ने लाग्थ्यो। मेरो अहङ्कार बढ्दै गयो र मैले अरू मनिसहरूलाई झन्-झन् तुच्छ ठानेँ। मलाई म सुपरभाइजर पदको लागि बनेको हुँ, त्यसैले म उच्‍च र शक्तिशाली छु भन्‍ने लाग्थ्यो, र हर कुरामा अन्तिम निर्णय गर्न चाहन्थेँ। म अत्यन्तै अहङ्कारी र बेसमझ थिएँ र मैले आफ्नो शैतानी स्वभाव अलिकति पनि बदलेको थिइनँ। म अरूसँग मिलेर काम गर्नसमेत सक्दिनथेँ। अहङ्कारी हुनको लागि ममा के थियो र? त्यसरी आफूप्रति अति प्रसन्‍न हुनु दयनीय कुरा थियो! यो सबै कुराबारे सोच्दा, म कति आक्रमक र दबाबकारी रहेछु भन्‍ने थाहा भयो र पछुतोले भरिएँ।

पछि मैले अर्को एउटा खण्ड पढेँ। “के तिमीहरू आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न कठिन हुन्छ भन्छौ? वास्तवमा, यो कठिन छैन; मानिसहरूले नम्र भएर मात्रै लागिपर्न सक्‍नुपर्छ, तिनीहरूमा थोरै चेतना हुनुपर्छ, र तिनीहरूले उचित स्थान अबलम्‍बन गर्नुपर्छ। तँ जति नै शिक्षित भए पनि, तैँले जे-जस्ता पुरस्कारहरू जितेको भए पनि, वा तैँले जति धेरै कुरा हासिल गरेको भए पनि, र तेरो हैसियत र ओहोदा जति उच्‍च भए पनि, तैँले यी सबै कुराहरू त्याग्‍नुपर्छ र आडम्बरबाट बाहिर निस्कनुपर्छ—यो सबको कुनै मूल्य छैन। परमेश्‍वरको घरमा, यी गरिमाहरू जति ठूला भए पनि, ती सत्यताभन्दा उच्‍च हुन सक्दैनन्, किनकि यी सतही कुराहरू सत्यता होइनन्, र तिनले सत्यताको स्थान लिन सक्दैनन्। तँमा यो कुरामा स्पष्ट हुनुपर्छ। यदि तँ ‘म वरदानप्राप्त छु, मेरो दिमाग तेजिलो छ, मेरो प्रतिक्रिया क्षमता शीघ्र छ, म चाँडो सिक्‍न सक्‍ने व्यक्ति हुँ, र मेरो स्मरण शक्ति अत्यन्तै राम्रो छ, त्यसकारण म अन्तिम निर्णय आफै गर्न योग्य छु,’ भनेर भन्छस् भने, यदि तँ सधैँ यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गर्छस्, र तिनलाई बहुमूल्‍य, र सकारात्मक ठान्छस् भने, यो समस्या हो। यदि तेरो हृदयमा यी कुराहरूले बास गरेका छन्, र यी कुराले तेरो हृदयमा जरा गाडेका छन् भने, तँलाई सत्यता स्वीकार गर्न गाह्रो हुनेछ—र त्यसका परिणामहरू सोच्‍न समेत सकिँदैन। तसर्थ, सुरुमा तैँले आफूले प्रेम गरेका, तँलाई राम्रो र बहुमूल्‍य लागेका कुराहरू त्याग्‍नु र इन्कार गर्नुपर्छ। ती कुराहरू सत्यता होइनन्; बरु, तिनले तँलाई सत्यतामा प्रवेश गर्नबाट रोक्‍न सक्छन्। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता खोजी गर्नु, र सत्यताअनुसार अभ्यास गर्नु हो, ताकि तेरो कर्तव्यपालन पर्याप्त तवरको होस्, किनभने पर्याप्त तरिकाले कर्तव्य निभाउनु जीवन प्रवेशको मार्गतर्फ चालिने पहिलो कदम हो। यहाँ ‘पहिलो कदम’ भनेको के हो? यो भनेको यात्रा सुरु गर्नु हो। सबै कुरामा, कुनै न कुनै कुरा हुन्छ जसबाट यात्रा सुरु हुन्छ, जुन सबैभन्दा साधारण, र आधारभूत हुन्छ, अनि पर्याप्त रूपको कर्तव्यपालन हासिल गर्नु जीवन प्रवेशको मार्ग हो। यदि तेरो कर्तव्यपालन यसलाई जसरी गर्नुपर्थ्यो त्योअनुरूप भएझैँ देखिन्छ, तर सत्यताका सिद्धान्तअनुरूप चाहिँ छैन भने, तैँले आफ्‍नो कर्तव्य पर्याप्त रूपमा निभाइरहेको छैनस्। त्यसो भए, व्यक्तिले यसमा कसरी काम गर्नुपर्छ? उसले सत्यताका सिद्धान्तहरूमा काम गर्नुपर्छ र तिनको खोजी गर्नुपर्छ; सत्यताका सिद्धान्तहरूले सुसज्‍जित हुनु महत्त्वपूर्ण छ। यदि तैँले आफ्‍नो व्यवहार र आवेगमा मात्रै सुधार गर्छस्, तर तँ सत्यताका सिद्धान्तहरूले सुसज्‍जित हुँदैनस् भने, यो व्यर्थ हुन्छ। तँसँग कुनै वरदान वा विशिष्टता हुन सक्छ। त्यो राम्रो कुरा हो—तर तैँले आफ्‍नो कर्तव्य निभाउँदा यसलाई प्रयोग गरिस् भने मात्रै यसको उचित प्रयोग गरिरहेको हुन्छस्। तैँले कर्तव्य राम्ररी निभाउनलाई तेरो मानवता वा व्यक्तित्वमा सुधार गर्नैपर्छ भन्‍ने छैन, न त तैँले आफ्‍नो वरदान वा प्रतिभालाई नै पन्छाउनुपर्छ। यस्ता कार्यहरू गर्नु पर्दैन। महत्त्वपूर्ण कुराचाहिँ तैँले सत्यता बुझ्‍नु र परमेश्‍वरमा समर्पित हुन सिक्‍नु हो। तैँले आफ्‍नो कर्तव्य निभाउँदा तेरो भ्रष्ट स्वभाव प्रकट हुनु लगभग अपरिहार्य नै हुन्छ। त्यस्तो बेला तैँले के गर्नुपर्छ? तैँले समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ र सत्यताका सिद्धान्तअनुसार काम गर्नुपर्छ। यसो गर्, अनि तेरो कर्तव्य पूरा गर्दा कुनै समस्या आउनेछैन। तेरो वरदान वा विशेषज्ञता जुन क्षेत्रमा भए पनि, वा तेरो व्यावसायिक ज्ञान जुन क्षेत्रको भए पनि, तैँले आफूले निभाउनुपर्ने कर्तव्य निभाउँदा आफूले सिकेका ती कुराहरू लागू गर्न सक्छस्। आफ्‍नो कर्तव्यपालनमा वरदान, विशेषज्ञता, वा व्यावसायिक ज्ञानको प्रयोग गर्नु एकदमै उचित कुरा हो, तर तँ सत्यताले सुसज्‍जित र सिद्धान्तअनुसार काम गर्न सक्षम पनि हुनुपर्छ। त्यसपछि मात्रै तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस्। पहिले उल्‍लेख गरिएको दुईपाटे शैली यही हो: एउटा पाटो विवेक र समझ हुनु, र अर्को पाटो आफ्‍नो भ्रष्ट स्वभाव हल गर्न तैँले सत्यता खोज्‍नुपर्छ भन्‍ने हो। यसरी आफ्‍नो कर्तव्य निभाउँदा व्यक्तिले जीवनप्रवेश गर्न सक्छ, र ऊ पर्याप्त रूपमा आफ्‍नो कर्तव्य निभाउन सक्षम हुन सक्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्‍वरका वचनहरू मनन गरेर मैले के सिकेँ भने व्यक्तिले आफ्‍नो कर्तव्य राम्रोसित गरिरहेको छ-छैन भन्‍नेबारे परमेश्‍वरले मूल्याङ्कन गर्नुहुँदा उसले कति धेरै काम गरेजस्तो देखिन्छ, र यो काम सही रूपमा गरिएको छ-छैन भन्‍ने आधारमा नभई उसले आफ्‍नो कर्तव्यमा लिएको मार्ग, र उसले सत्यताको खोजी र अभ्यास गर्छ गर्दैन भन्‍ने आधारमा गर्नुहुन्छ। मैले के पनि सिकेँ भने अहङ्कारी स्वभाव हटाउन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, पहिले मैले गर्व गर्ने ती वरदान र सामर्थ्यहरूलाई पन्छाउनुपर्छ, र सत्यता खोजी गर्न परमेश्‍वरसामु आउनुपर्छ। यदि मैले सत्यता खोजी नगरी वा सिद्धान्तहरू पालन नगरी आफ्‍नो क्षमता र वरदानहरूमा मात्रै भर परी काम गरिरहेँ भने, मैले जति नै काम गरे पनि परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न। पहिले, म अरूलाई सीप र क्षमताको कमी भएकोमा तुच्छ ठान्थेँ। तिनीहरूले सानो गल्ती गरेको वा कुनै काम ठिकसित नगरेको देख्दा, म तिनीहरूलाई बाहिरी र भित्री दुवै रूपमा असाध्यै हेला र तिरस्कार गर्थेँ। तर मैले बनाएका भिडियोहरू धेरैपटक संशोधन गर्नुपर्दा र अरूले मलाई सुझाव दिँदा, कसैले पनि मलाई तुच्छ ठान्दैनथे, बरु धैर्यतासाथ के सुधार गर्नुपर्छ, सो भन्थे। साथै, मसँग काम गर्ने मानिसहरूको सुझाव म सायदै कहिल्यै स्वीकार गर्थेँ, र कतिपय ब्रदर-सिस्टरहरूसँग ठूला वरदान वा क्षमता नभए पनि, तिनीहरूले आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू खोजी गर्थे, अरूका सुझावहरू विनम्रतासाथ सुन्थे, र मिलीजुली सहकार्य गर्न सक्थे। आफूलाई तिनीहरूसँग तुलना गर्दा मलाई लाज लाग्यो। सत्यतामा प्रवेश गर्न ममा कति धेरै कमी रहेछ भन्‍ने मलाई थाहा भयो। त्यसपछिको मेरो कर्तव्यमा, म र अरूबीच असहमति हुँदा, मैले आफूलाई पन्छाउने, सत्यता र सिद्धान्तहरू खोजी गर्ने अभ्यास गरेँ, र यसलाई सत्यता अभ्यास गर्ने मौकाको रूपमा हेरेँ।

एकपटक म केही सिस्टरहरूसँग भिडियो बनाउनेबारे छलफल गर्दै थिएँ, र हाम्रा विचारहरू फरक थिए। मलाई मेरो विचार नै सर्वोत्तम छ भन्ने लाग्यो र म सही छु भनेर प्रमाणित गर्न, तिनीहरूलाई विश्‍वस्त तुल्याउन म के भन्‍न सक्छु भनेर सोचेँ। मलाई अचानक मैले फेरि अहङ्कारी स्वभाव प्रकट गरिरहेछु, र अरूका विचारहरू इन्कार्न आफ्‍नै विचार प्रयोग गर्न चाहिरहेछु भन्‍ने महसुस भयो। मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफूलाई पन्छाउन र अरूका सुझावहरू सुन्‍न डोऱ्याइ मागेँ। मलाई परमेश्‍वरले भन्‍नुभएको यो कुरा याद आयो: “सत्यता बुझ्‍ने वा सत्यता आत्मसात् गर्ने क्षमता भएका मण्डलीका मानिसहरूमध्येका हरकोहीलाई पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइ मिल्नेछ। व्यक्तिले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति लिनुपर्छ, यसलाई पूर्ण रूपमा पछ्याउनुपर्छ र यससँग सहकार्य गर्नुपर्छ। यसो गरेर, तैँले हिँड्ने मार्ग सही हुनेछ; यो पवित्र आत्‍माले डोर्‍याउने मार्ग हो। पवित्र आत्‍माले काम गर्ने मानिसहरूमा उहाँले कसरी काम गर्नुहुन्छ र कसरी तिनीहरूलाई डोर्‍याउनुहुन्छ भन्‍ने कुरामा विशेष ध्यान दे। तैँले सुझावहरू दिँदै र आफ्‍ना दृष्टिकोणहरू व्यक्त गर्दै बारम्बार अरूसँग सङ्गति गर्ने गर्नुपर्छ—यो तेरो कर्तव्य र तेरो स्वतन्त्रता हो। तर अन्त्यमा, जब निर्णय गर्नुपर्ने हुन्छ, तब यदि तैँले मात्रै अन्तिम निर्णय गर्छस्, र अरू सबैलाई तैँले भनेको जस्तो गर्न र तेरो इच्छाअनुसार चल्न लगाउँछस् भने, तैँले सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको हुन्छस्। बहुसंख्यकको इच्‍छा के हो तैँले त्यसको आधारमा सही कुरा छनौट गर्नुपर्छ, र त्यसपछि अन्तिम निर्णय गर्नुपर्छ। यदि बहुसंख्यकको सुझाव सत्यताका सिद्धान्तहरूअनुरूप छैन भने, तैँले सत्यतामा जोड दिनुपर्छ। यो कुरा सत्यताका सिद्धान्तहरूअनुरूप हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने विचारहरू प्रदान गर्नु र भिडियोहरू बनाउनु मेरो कर्तव्य हो, तर कुन योजना सर्वोत्तम हो भन्‍ने निर्णय कुनै एक व्यक्तिको हातमा हुँदैन। ब्रदर-सिस्टरहरूले छलफल गरेर सँगै निर्णय गर्नुपर्छ, र सबैभन्दा राम्रो सुझाव लागू गर्नुपर्छ। त्यो अभ्यास गरेपछि मलाई निकै शान्ति भयो। त्यो भिडियो बनाएपछि, ब्रदर-सिस्टरहरूले मेरो संस्करणलाई स्विकारे, तर त्यसले गर्दा मैले ती दुई सिस्टरलाई तुच्छ ठानिनँ। मलाई के लाग्यो भने त्यो प्रक्रियाद्वारा, मैले मेरो अहङ्कारी स्वभावमा नजिईकन बल्‍ल सत्यता अभ्यास गरेको छु। अनि मैले के पनि अनुभव गरेँ भने परमेश्‍वरले को सही वा गलत हो भनेर हेर्न नभई, मानिसहरू कस्तो स्वभावमा जिउँछन् भन्‍ने हेर्न परिस्थितिहरू तय गर्नुहुन्छ। यदि कुनै व्यक्ति सही छ तर उसले अहङ्कार देखाइरहेको छ भने, परमेश्‍वरले त्यसलाई तिरस्कार गर्नुहुन्छ, घिनाउनुहुन्छ। त्यसपछि, जब मैले अरूका विचारहरूबारे गम्‍भीर रूपमा विचार गर्ने प्रयास गरेँ, तब ब्रदर-सिस्टरहरूका सुझावमा प्रयोग गर्न सकिने धेरै पक्षहरू रहेछन्, र तिनीहरूले परिस्थितिलाई मैले भन्दा फरक दृष्टिकोणले हेर्दा रहेछन् भन्‍ने महसुस भयो। पहिले त म सधैँ अरूले समग्र चित्र हेरिरहेका छैनन् भन्‍ने सोच्थेँ किनभने मैले परिस्थितिलाई आफ्‍नै दृष्टिकोणले मात्रै हेरिरहेको हुन्थेँ र अरूका विचारहरू सायदै कहिल्यै सुन्थेँ। त्यसपछि के महसुस भयो भने हरेक व्यक्तिमा सबल पक्ष हुन्छन् र म तिनीहरूबाट धेरै कुरा सिक्‍न सक्छु। त्यसपछि मैले घमण्डी हुँदै आफूमा विश्‍वास गरिरहन चाहिनँ, तर अरूसँग मिलेर काम गर्न, अझ बढी सत्यता खोजी गर्न र अरूका सुझाव सुन्‍न, र हाम्रो कर्तव्यमा सहकार्य गर्न तयार भएँ।

अघिल्लो: म भावनामा बहेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कठिन परिस्थितिको जाँच

जुनियर, जिम्बाबेसानै हुँदादेखि म समाजद्वारा सधैँ प्रभावित हुन्थेँ। आफूले गर्ने हरेक कुरामा म अरूलाई पछ्याउन मन पराउँथेँ—मैले चिनेजानेका सबै...

बर्खास्त भएर मैले सिकेका पाठहरू

ओवेन, स्पेनसन् २०१८ मा, म भिडियो बनाउने कामको इन्‍चार्ज थिएँ। कहिलेकहीँ एकैपटकमा धेरै वटा भिडियो बनाउने काम आउँथ्यो र प्रोडक्शनको लागि सही...

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्