सत्य बोल्‍न मलाई केले रोक्यो?

17 डिसेम्बर 2024

हेल्‍लो,

झेङ सिन!

तपाईंले अघिल्लो पत्रमा, आफ्नी सहकर्मी सिस्टर सिद्धान्तहीन, आत्म-धर्मी, र स्वेच्‍छाचारी छिन् भन्‍नुभएको थियो। यो कुरा तपाईं उनलाई बताउन चाहनुहुन्थ्यो तर उनले यो कुरा मान्दिनन्, तपाईंलाई नराम्रो सोच्छिन्, र तपाईंहरूले सँगै काम गर्न सक्‍नुहुन्न भन्‍ने तपाईंलाई डर लाग्यो। तपाईं दोधारमा पर्नुभयो र यो स्थितिलाई कसरी सुल्झाउने तपाईंलाई थाहा थिएन। तपाईंलाई कस्तो लाग्यो त्यो म बुझ्‍न सक्छु। मुख्यतः हामी शैतानी दर्शनअनुसार जिउने हुनाले, हामीले आफ्नो सम्‍बन्ध कायम राख्‍ने र अरूले हामीलाई कसरी हेर्छन् भनेर ध्यान दिने हुनाले नै यो समस्या आउँछ। यी कुराहरूले हामीलाई बन्धनमा पार्छन् अनि सत्यता अभ्यास गर्न र सिद्धान्त पालना गर्न हामीलाई डर लाग्छ। म पनि पहिले यही स्थितिमा थिएँ, र परमेश्‍वरको वचनको प्रकाशद्वारा, मैले आफ्‍नो गलत दृष्टिकोण र भ्रष्ट स्वभावलाई केही मात्रामा बुझेँ। अहिले म अलिक परिवर्तन भएकी छु र अरूको समस्या औँल्याउन म बन्धनमा पर्न छोडेँ। म तपाईंलाई आफ्‍नो अनुभव बताउँछु। आशा छ, तपाईंलाई थोरै सहयोग मिल्‍नेछ।

म झोउ फेङ र लीयू यिङसँग मण्डलीको काम गर्थेँ। कामको छलफलमा प्रायजसो झोउ फेङ नै हाबी हुन्थिन्। पछि, हाम्रो कर्तव्यमा राम्रो परिणाम नआएका कारण, अगुवाले सिस्टर झाङ लिङलाई हाम्रो कामको रेखदेख गर्न खटाए। झाङ लिङले हाम्रो कामका समस्याहरू पत्ता लगाएर अभ्यासको मार्ग देखाउन सकिन्। हामीले उनको विचार मानेका देखेर, झोउ फेङले ईर्ष्या गर्न थालिन्। कामको छलफलमा, झाङ लिङको दृष्टिकोण एकदमै सही भए पनि, झोउ फेङले त्यसलाई रद्द गर्ने उपाय खोज्थिन्, जसले गर्दा कामको छलफल गर्न गाह्रो हुन्थ्यो। म झोउ फेङलाई यो कुरा औँल्याउन चाहन्थेँ, तर सहकार्य सुरु गर्दा थोरै विवाद अवश्य हुन्छ भन्‍ने सोचेर, मैले यसलाई ठूलो कुरा मानिनँ। झाङ लिङ कामको राम्ररी अनुगमन गर्थिन्, र समस्या भेट्दा तुरुन्तै सङ्गति दिन्थिन्, यसरी हाम्रो दक्षता निकै बढ्यो। तर झोउ फेङले के पेच हान्न थालिन् भने झाङ लिङ आफ्‍नो प्रतिष्ठा बनाउने प्रयास गरिरहेकी छिन्, र शीघ्र उपलब्धि चाहन्छिन्, र हैसियतको लागि काम गर्छिन्। उनको पेच हनाइ आलोचनात्मक, होच्याउने, र फूट पैदा गराउने नियतको थियो, यसले गर्दा लीयू यिङले पनि झाङ लिङलाई विरोध गर्न थालिन्। झोउ फेङले आफ्‍नो हैसियतलाई जोगाएकी, झाङ लिङलाई होच्याएकी र बहिष्कार गरेकी देखेपछि उनको समस्या निकै गम्‍भीर रहेछ भन्‍ने मलाई लाग्न थाल्यो। झोउ फेङ ख्रीष्टविरोधी स्वभाव प्रकट गर्दै ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिइन्। म यसको सारबारे उनलाई एकछिन सङ्गति दिन चाहन्थेँ, तर मेरो बोली फुट्नै सकेन। मेरो मुखमा टेप लगाइएको जस्तै भयो। मेरो त्यो स्थिति अहिलेको तपाईंको स्थितिजस्तै थियो। मेरो मनभरि आशाङ्का थियो। मैले झोउ फेङ ख्रीष्टविरोधीको मार्ग हिँडिरहेकी छिन् भनेर खुलासा गरेँ भने, उनले मलाई नराम्रो ठान्छिन्, कठोर व्यवहार गर्छिन्, वा झाङ लिङलाई जस्तै मलाई बहिष्कार गर्छिन् भन्‍ने डर लाग्यो। मलाई उनको समस्या औँल्याउन मन लागेन र आफूलाई सान्त्वना दिन केही बहाना भेट्टाएँ: “उनले आफूलाई नचिनेकी होइन, किनभने उनलाई आफू पहिले प्रसिद्धि र हैसियतमै सम्पूर्ण ध्यान लगाउँथिन् भन्‍ने थाहा थियो। स्वभाव परिवर्तन रातारात हुन सक्दैन; उनलाई समय दिएर यसमा मनन गर्न दिनु राम्रो हो।”

त्यसपछि, मैले झोउ फेङलाई सहयोग नगरेको वा उनको समस्या नऔँल्याएको सोच्दैपिच्छे, मलाई ग्‍लानि हुन्थ्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेर आफ्‍नो भ्रष्ट स्वभावको बन्धनमा नपर्न र सत्य बोल्‍न मार्गदर्शन मागेँ। त्यसको केही दिनमा, मैले एउटा गवाही भिडियो भेट्टाएँ, जसमा मुख्य पात्रको अनुभव मेरो जस्तै थियो। उनीसँगै काम गर्ने सिस्टर सधैँ हैसियत र फाइदाको लागि होड गर्ने गर्थिन्, जसले गर्दा मण्डलीको काममा असर पुग्यो, त्यसैले उनी त्यो समस्या अगुवालाई रिपोर्ट गर्न चाहन्थिन्। तर आफ्‍नो सहकर्मी चिढिएला भन्‍ने डरले, उनले रिपोर्ट गर्न ढिलाइ गरिन्। मुख्य पात्रलाई गम्‍भीर निराकरण गरिएपछि मात्रै उनले मनन गर्न थालिन्। त्यसपछि उनले परमेश्‍वरको एउटा खण्ड पढिन्, जुन मलाई साह्रै प्रेरणादायी लाग्यो। परमेश्‍वरको वचन भन्छ, “यता पनि उता पनि ठिक्‍क पार्नेहरू सबैभन्दा दुष्ट हुन्छन्। तिनीहरू कसैलाई दुःखी नबनाउने कोसिस गर्छन्, तिनीहरू मानिसहरूलाई खुसी तुल्याउनेहरू हुन्, तिनीहरू परिस्थितिहरूअनुसार चल्छन्, र कसैले पनि तिनीहरूको वास्तविकतालाई देख्‍न सक्दैन। त्यस्तो व्यक्ति एउटा जिउँदो शैतान जस्तो हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ)। यो खण्डले मलाई गहन प्रभाव पार्‍यो। मध्यमार्गीहरू सबैभन्दा दुष्ट र छली अनि जीवित दियाबलस हुन् भनेर परमेश्‍वरले भन्‍नुभयो। के मेरो स्थिति त्यस्तै थिएन र? झोउ फेङको समस्या निकै गम्‍भीर छ र यसले मण्डलीको काममा बाधा पुऱ्याइसकेको छ, र उनलाई तुरुन्तै चेतावनी दिनुपर्छ भन्‍ने मलाई थाहा थियो, तर उनलाई चिढ्याउँछु भन्‍ने डरले, मैले केही भनिनँ र मण्डलीको कामको रक्षा गरिनँ। मैले परमेश्‍वरले बताउनुभएझैँ मध्य मार्ग अपनाइरहेकी थिएँ, म परमेश्‍वरले घृणा गर्नुभएको व्यक्ति थिएँ। यो कुरा लिन मलाई गाह्रो भयो, त्यसैले अबदेखि मान्छेलाई खुसी पार्ने छली व्यक्ति बन्दिनँ भनेर निर्णय गरेँ। मैले सिद्धान्तहरू पालना गरेर मण्डलीको कामको रक्षा गर्नुपर्थ्यो, र झोउ फेङलाई उनको समस्या औँल्याइदिने मौका हेर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। तर त्यही दिन, झोउ फेङले पहिला मेरा समस्याहरू औँल्याइदिँदा म छक्‍क परेँ। उनले मैले कर्तव्यमा प्रसिद्धि र हैसियत खोजिरहेकी छु र मानिसहरूलाई हप्काउन आफ्नो हैसियत प्रयोग गर्दै छु भन्‍ने कुरा गरिन्। मैले आफ्नो समस्या अति गम्‍भीर छन् भन्‍ने देखेँ र मलाई उनको समस्या औँल्याउने साहस भएन, भन्‍न तय गरेको कुरालाई बेवास्ता गरेँ, र उनले प्रसिद्धि र हैसियत खोजेकी, वा ख्रीष्टविरोधीको मार्गमा हिँडेकी बारेमा केही बोलिनँ। मलाई याद छ, त्यसपछि उनले मलाई उनमा कुनै समस्या देखेँ भने बताइदिनू भनेर भनेकी थिइन्, ताकि उनी ती चिनेर परिवर्तन हुन सकून्। मैले ढाँटेँ: “केही छैन, तपाईं ठिकै हुनुहुन्छ।” वास्तवमा मैले धेरै कुरा भन्‍न चाहेकी थिएँ तर भन्‍ने आँट गरिनँ, किनभने मैले उनलाई बदला लिन खोजिरहेकी छु भनी उनले सोच्नेछिन्, र मलाई नराम्रो ठानिन् भने सँगै काम गर्न गाह्रो हुनेछ भन्‍ने चिन्ता लाग्यो। त्यसैले, उनको इज्जतमा धक्का पर्न नदिन, मैले केही भनिनँ। यसपछि म आत्म-तिरस्कार र ग्‍लानिले भरिएँ। मलाई आफू अत्यन्तै कायर भएको महसुस भयो। मैले एक-दुईवटा साँचो शब्दसमेत बोल्‍न सकिनँ, सत्यता अभ्यास गर्नु त परै जाओस्। केही समयसम्‍म, मैले राम्ररी खान र सुत्‍न सकिनँ र भेलामा आफूलाई शान्त पार्न सकिनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले मेरी सिस्टरका समस्याहरू स्पष्ट देखेकी छु तर त्यो बताउँदा उनी चिढ्याएलान् भन्‍ने असाध्यै डर लाग्छ! म अत्यन्तै डरपोक र स्वार्थी छु। म यस्तो गर्न चाहन्‍नँ। बिन्ती छ, आफूलाई त्यागेर न्यायको बोध भएको व्यक्ति बन्‍न मार्गदर्शन गर्नुहोस्।”

यसपछि मैले परमेश्‍वरका केही वचन पढेँ। “‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यले अरूसँग व्यवहार गर्ने शैलीलाई जनाउँछ, जुन शैतानले मान्छेको मस्तिष्कमा हालिदिएको छ। यसको अर्थ अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूलाई केही छुट दिनुपर्छ भन्‍ने हुन्छ। अरूसँग अति रूखो व्यवहार गर्नु हुँदैन, तिनीहरूको विगतका गल्तीहरू खोल्‍नु हुँदैन, तिनीहरूको इज्‍जत राख्‍नुपर्छ, तिनीहरूसँगको राम्रो सम्‍बन्ध बिगार्नु हुँदैन, तिनीहरूलाई क्षमा दिनुपर्छ, आदि इत्यादि। सद्गुण सम्‍बन्धी यो भनाइ मानिसहरूको बीचमा हुने व्यवहारलाई नियन्त्रण गर्ने जीवन-दर्शनको बारेमा मात्रै व्याख्या गर्छ। जिउनेसम्‍बन्धी दर्शनको एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ मित्रताको सम्बन्ध जोगाउनको लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारेमा मौन बस्‍नुपर्छ—उसले मान्छेको मर्ममा प्रहार नगर्ने वा कमीकमजोरीहरू खुलासा नगर्ने सिद्धान्तहरू पालना गर्नुपर्छ। तिनीहरूले एकअर्कालाई धोका दिनुपर्छ, एकअर्काबाट आफ्नो कुरा लुकाउनुपर्छ, एकअर्काको विरुद्ध षड्यन्त्र गर्नुपर्छ; र अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा स्पष्टै थाहा भएर पनि, तिनीहरूले त्यो कुरा सीधै भन्‍नु हुँदैन, बरु तिनीहरूको राम्रो मित्रता रक्षा गर्न धूर्त विधिहरू अपनाउनुपर्छ। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा, समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिका कमजोरी खुलासा गरेपछि वा उसलाई चोट पुर्‍याएपछि ऊ तेरो शत्रु बन्‍नेछ र उसले तँलाई हानि गर्नेछ भन्‍ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, त्यसकारण तैँले ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ जस्ता जिउनेसम्‍बन्धी दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र होइनन्, तिनीहरू एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरूमा, मानिसहरूले आफूलाई लागेको कुरा भन्‍न सक्दैनन्, न त गहिरा कुराहरू गर्न, आफूलाई मन पर्ने कुरा, वा हृदयको कुरा भन्‍न, अर्को व्यक्तिमा देखेका समस्याहरू बताउन, वा अर्को व्यक्तिलाई फाइदा पुग्‍ने शब्‍दहरू बोल्‍न सक्छन्। बरु, तिनीहरूले बोल्नको लागि अरूको मन जित्‍ने राम्रा कुराहरू चुन्छन्। तिनीहरू आफूविरुद्ध अरूमा शत्रुता नपलाओस् भनेर सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। कसैले तिनीहरूलाई खतरामा नपार्दा, के तिनीहरू तुलनात्मक रूपमा सहज र शान्तिमा बाँचिरहेका हुँदैनन् र? ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांशको प्रवर्धन गर्नुको पछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो अस्तित्वमा रहने धूर्त र छली तरिका हो जसमा आत्मरक्षाको तत्व मिसिएको हुन्छ, र यसमा व्यक्तिको उद्देश्य भनेको आफ्‍नो सुरक्षा गर्नु हुन्छ। यसरी जिउने मानिसहरूको केही कुरा भन्‍न सकिने विश्‍वासपात्र र घनिष्ठ मित्र कोही हुँदैनन्। तिनीहरू एकअर्काप्रति रक्षात्मक, अनि षड्यन्त्रकारी, र रणनीतिक हुन्छन्, र दुवैले नै उक्त सम्‍बन्धबाट आफूलाई चाहेको कुरा लिन्छन्। के यो यस्तै हुँदैन र? ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांशको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि प्रयोग गरिने उपाय र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, ‘मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू, र कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने मानव सद्गुणको मापदण्ड के महान् सिद्धान्त हो? के यो सकारात्मक कुरा हो? (होइन।) त्यसो भए, यसले मानिसहरूलाई के शिक्षा दिइरहेको छ? त्यो शिक्षा हो, हामीले कसैलाई दुःख दिनु वा चोट पुऱ्याउनु हुँदैन, नत्र तँलाई नै चोट पुग्‍नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई उल्टो हुन थाल्छ; ऊ तेरो असल र घनिष्ठ मित्रबाट सडकमा भेटिने कोही अपरिचित व्यक्ति, वा तेरो शत्रु बन्‍नेछ। मानिसहरूलाई यसरी शिक्षा दिँदा के-कस्ता समस्याहरू समाधान हुन सक्छन्? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्‍नेछन्? के यसले पूर्ण रूपमा सद्गुणको मापदण्ड हासिल गर्छ? बढीमा, यो जीवनदर्शन मात्रै हो(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (८))। “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” भन्‍ने भनाइ शैतानले मानिसहरूमा हालिदिएको धूर्त सांसारिक दर्शन हो भनेर परमेश्‍वरको वचनले प्रकट गरेको छ। जब मानिसहरू यस्तो दर्शनअनुसार जिउँछन्, तिनीहरूले एकअर्कालाई प्रयोग गर्छन् र छल्छन् अनि एकअर्काप्रति सतर्क रहन्छन्। तिनीहरू कसैसँग खुलस्त हुन वा सत्य कुरा बताउने आँट गर्दैनन्। तिनीहरू झन्-झन् धूर्त र छली बन्दै जान्छन्। म अरूसँगको अन्तरक्रियामा “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” भन्‍ने दर्शनअनुसार जिइरहेकी थिएँ। झोउ फेङले झाङ लिङको डाहा गर्छिन्, उनी तिनलाई होच्याउने र विरोध गर्ने गर्छिन्, यो समस्याको सार गम्भीर छ, यसले हाम्रो काममा बाधा दिइरहेको छ, र झोउ फेङलाई यो कुरा औँल्याइदिनुपर्छ भन्‍ने मलाई थाहा थियो, तर यसो गरेर मैले उनको कमजोरी खोलेर उनलाई लाजमा पारिरहेकी हुन्छु भन्ठानेँ। मलाई उनले नराम्रो ठान्छिन् र पछि मसँग राम्ररी काम गर्दिनन् भन्‍ने पनि चिन्ता लाग्यो। त्यसकारण हाम्रो सम्‍बन्धलाई जोगाउन मैले केही बोलिनँ, र यस विषयमा कुरा उठ्दा सब ठीक छ भनेँ। मैले उनको व्यवहारका सार र परिणामहरूलाई औँल्याउन परमेश्‍वरको वचन प्रयोग गरिनँ। मैले उनमा अरू कुनै भ्रष्टता देखेँ कि भनेर उनले सोध्दा, मैले नऔँल्याइदिएका समस्याहरू उनमा छन् भन्‍ने मलाई थाहा थियो, तर मैले झूट बलेर उनले ठिकै गरिरहेकी छिन् भनेँ। मैले सिधै झूट बोलिरहेकी, उनलाई मूर्ख बनाइरहेकी र छलिरहेकी थिएँ। झोउ फेङले झाङ लिङलाई होच्याइरहेकी र बहिष्कार गरिरहेकी मैले देखेँ, तर मैले असल व्यक्ति भएको नाटक गरेँ र केही बोलिनँ। मैले सत्यता अभ्यास गरिरहेकी वा मण्डलीको कामको रक्षा गरिरहेकी थिइनँ। म अत्यन्तै धूर्त र छली थिएँ। परमेश्‍वर हामी इमानदार बनेको र एकअर्कासँग सोझो व्यवहार गरेको, अनि अरू भ्रष्ट स्वभावमा जिइरहेका र गलत मार्गमा हिँडेका वा सिद्धान्त उल्‍लङ्घन गरेका देख्यौँ भने, सहयोग दिनुपर्छ र दया देखाउनुपर्छ भन्‍ने माग गर्नुहुन्छ। तर म शैतानी दर्शनहरूअनुसार जिइरहेकी थिएँ। कुनै व्यक्ति गलत मार्गमा हिँडिरहेको देख्दा, मैले सहयोग गरिनँ। ममा दया थिएन। मैले कहिल्यै अरूको समस्या खुलासा गरिनँ र इमानदारीपूर्वक बोल्‍न डराएँ र आफूलाई समस्यामा पारेँ। मैले अरूको समस्या देख्दा आफ्नो हितको रक्षा गर्न र शत्रुहरू नबनाउन मुखमा टेप हालेर बसेँ। म सधैँ प्रशंसा गर्ने र मिठो पाराले चापलुसी मात्रै गर्ने गर्थेँ। म मानिसहरूसँग मिलेको जस्तो देखिए पनि, अन्तरक्रियामा सतर्क हुन्थेँ र तिनीहरूलाई केवल छल गर्थेँ र प्रयोग गर्थेँ। यी सम्‍बन्धहरू कसरी सामान्य हुन् र? यो कसरी साँचो मित्रता हो र? ममा कुनै इमानदारी थिएन। मलाई लाग्थ्यो, “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” भन्‍ने भनाइ पछ्याउनुपर्ने उत्तम विचार हो, मैले आफ्नो रक्षा गरिरहेकी हुनेछु, र कसैलाई चिढ्याउँदिनँ वा शत्रु बनाउँदिनँ। तर परमेश्‍वरको वचनले खुलासा गरेपछि मैले “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” भन्‍ने जस्तो मान्यता परिस्थिति सम्‍हाल्‍ने शैतानी तरिका हो र यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भनेर थाहा पाएँ। यी मान्यताहरूले हामीलाई आफ्‍नो रक्षा गर्न प्रोत्साहन दिन्छन्, र हामीलाई झन् स्वार्थी र छली बनाउँछन्। तिनले हामीलाई अरूले गलत मार्ग लिएर काममा असर पुऱ्याउँदा सङ्गति नगरी वा आलोचना नगरी चुपचाप हेर्न मात्र लगाउँछ। ममा दया र मानवता पटक्कै थिएन।

पछि मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ। “परिस्‍थिति जस्तोसुकै भए पनि, जबसम्म तँ शैतानको भ्रष्ट स्वभावको बन्धन, नियन्त्रण, र अधीनमा हुन्छस्, तबसम्म तैँले जिउने सबै कुरा, तैँले प्रकट गर्ने, र व्यक्त गर्ने सबै कुरा—वा तेरा भावना, विचार र दृष्टिकोण, र तैँले काम गर्ने शैली—ती सबै शैतानको स्वामित्वमा हुन्छन्। यी सबै कुराले सत्यता उल्‍लङ्घन गर्छन् र ती परमेश्‍वर र सत्यताविपरीत छन्। तँ परमेश्‍वरको वचन र सत्यताबाट जति टाढा जान्छस्, त्यति नै परमेश्‍वरको जालमा फस्छस्। … एकतर्फ, मानिसहरू भ्रष्ट स्वभावको नियन्त्रणमा पर्छन् र शैतानको जालभित्र जिउँछन्, र आफ्नो वरपर आइपर्ने समस्याहरू सुल्झाउनको लागि शैतानले दिएका विधि, विचार, र दृष्टिकोणहरू अपनाउँछन्। अर्कोतर्फ, मानिसहरू अझै पनि परमेश्‍वरबाट शान्ति र खुशी पाउने आशा गर्छन्। तर तिनीहरू सधैँ शैतानको भ्रष्ट स्वभावद्वारा बाँधिएका र यसको जालमा फसेका हुन्छन् र सचेत हुँदै प्रतिरोध गरेर आफूलाई मुक्त गर्न सक्दैनन्, त्यसैले तिनीहरू परमेश्‍वरको वचन र सत्यताका सिद्धान्तहरूबाट झन्झन् टाढा हुँदै जान्छन्। फलस्वरूप, मानिसहरूले कहिल्यै पनि परमेश्‍वरले दिनुहुने सान्त्वना, खुशी, शान्ति, र आशिष्‌ पाउन सक्दैनन्। अन्त्यमा मानिसहरू कस्तो स्थितिमा जिउँछन्? तिनीहरू सत्यता खोजी गर्न इच्‍छुक भए पनि, काम गर्नसक्‍ने स्तरमा पुग्‍न सक्दैनन्, र तिनीहरूले आफ्‍नो कर्तव्य निभाउन चाहे पनि, परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्दैनन्, अनि तिनीहरू जहाँ छन् त्यहीँ अल्झिरहन्छन्। यो वेदनापूर्ण कष्ट हो। मानिसहरू नचाहेर पनि शैतानको भ्रष्ट स्वभावमा जिउँछन्। तिनीहरू मानिसहरूभन्दा पनि पिशाचहरूजस्ता भएर, अनि आफूले सामना गर्ने कैयौँ कठिनाइ सुल्झाउन प्राय लाजमर्दा र दुष्ट विधिहरू खोज्दै अँध्यारा कुनाहरूमा जिउँछन्। वास्तवमा मानिसहरूले आफ्‍नो मनमस्तिष्कमा असल बन्‍ने इच्‍छा र ज्योतिको तृष्णा पालिरहेका हुन्छन्। तिनीहरूले मानवजस्तो भई इज्‍जतसाथ जिउने आशा गर्छन्। तिनीहरूले परमेश्‍वरको वचनलाई आफ्‍नो जीवन र वास्तविकता बनाउँदै जिउनको लागि सत्यता खोजी गर्न र परमेश्‍वरमा आड लिन सकूँ भन्‍ने आशा पनि गर्छन्, तर तिनीहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्न सक्दैनन्, र तिनीहरूले कैयौँ धर्मसिद्धान्त बुझे पनि आफ्‍नो समस्या समाधान गर्न सक्दैनन्। मानिसहरू अघि पनि बढ्न नसक्‍ने र पछि पनि फर्किन नसक्‍ने यो द्विविधामा फसेका छन्। तिनीहरू त्यहीँ अल्झेका छन्, र अल्झनुपर्दाको अनुभव वेदनापूर्ण हुन्छ—अत्यन्तै वेदनापूर्ण। मानिसहरू आफैले सत्यता स्वीकार गर्न र परमेश्‍वरको वचन अभ्यास गर्न सक्दैनन्, तर तिनीहरूले मनभित्र अझै पनि ज्योतिको तृष्णा गरिरहेका हुन्छन्, र परमेश्‍वरको वचन र सही मार्ग छोड्न तयार भएका हुँदैनन्। तैपनि, तिनीहरू आफ्‍नो शैतानी भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणबाट मुक्त हुन सक्दैनन्। अन्ततः, तिनीहरू वेदनामा जिउन मात्रै सक्छन् र तिनीहरूसँग कुनै वास्तविक खुशी हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने अरूको समस्या देख्दा ममा बोल्‍ने आँट नहुनु त मैले “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” र “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्‍ने भनाइलाई जीवन जिउने सकारात्मक कुराको रूपमा लिएको कारणले पो रहेछ। दया हुनु भनेको यही हो र यसले मेरो रक्षा गर्छ र मलाई चोट पर्न दिँदैन भन्‍ने मैले सोचेकी थिएँ। सानो छँदा, मलाई बजूले अरूसँग मिल्न खोज्दा तिनीहरूको गल्ती नऔँल्याउनू, नत्र समस्यामा परिन्छ र समाजमा हैसियत प्राप्त गर्न सकिँदैन भनेर सिकाउनुहुन्थ्यो। मलाई उनको कुरा सही लाग्थ्यो, त्यसैले, मलाई अरूको गल्ती औँल्याउन मन लाग्दैनथ्यो र म तिनीहरूको समस्या कहिल्यै खुलासा गर्दिनथेँ। म साथीहरूसँग एकदमै मिलेर बस्थेँ र सामाजिक अन्तरक्रियाको रहस्य यही हो भन्‍ने सोच्थेँ। मलाई यो जिउने मर्यादित तरिका हो र यसले मलाई दयालु व्यक्ति बनाउँछ, र मैले यी मान्यतालाई मानिनँ भने, म असल व्यक्ति होइन भन्‍ने लाग्थ्यो। म अरू सदस्यसँग अन्तरक्रिया गर्दा यी शैतानी दर्शनहरूमा भर परिरहेकी हुन्थेँ। अरूले सिद्धान्त उल्‍लङ्घन गरेर गलत मार्ग लिएको मैले देखेकी थिएँ र मैले आलोचना गरेर तिनीहरूलाई सहयोग गर्नुपर्छ भन्‍ने मलाई राम्ररी थाहा थियो, तर म यी शैतानी दर्शनहरूको बन्धनमा परेर अरूको आलोचना गर्ने आँट गरिनँ। शैतानका दर्शनहरू मलाई कसिलो गरी बाँधेर हलचल गर्न नदिने र मेरो हृदयलाई बलियोसँग नियन्त्रण गर्ने जालजस्तै थिए। हामीले हाम्रो काममा त्यति राम्रो परिणाम प्राप्त गरिरहेका थिएनौँ, तसर्थ मण्डलीले हामीलाई डोऱ्याउन झाङ लिङलाई खटाएको थियो। यो मण्डलीको कामको लागि फाइदाजनक थियो। तर झोउ फेङले झाङ लिङसँग सहकार्य नगरेकी मात्र होइन, झाङ लिङले जिम्‍मेवारी लिएको अनि उनी कर्तव्यमा लगनशील र प्रभावकारी भएको देख्दा, तिनले उनलाई प्रसिद्धि, हैसियत र शीघ्र उपलब्धिको पछि लागेको आरोप पनि लगाइन्। तिनले उनलाई होच्याइन्, बहिष्कार गरिन्, र उनको सकारात्मकतामा आक्रमण गरिन्। तिनले झाङ लिङलाई मेरो र लीयू यिङको अगाडि आलोचना गरेर उनलाई बहिष्कार गर्नमा हामीलाई पनि आबद्ध गर्ने प्रयास गरिन्। झोउ फेङले आफ्‍नो हैसियतको लागि झाङ लिङलाई बहिष्कार र आक्रमण गरेकी थिइन्। यो सामान्य भ्रष्टता थिएन। यो त ख्रीष्टविरोधीको स्वभाव थियो। मैले उनको सहकर्मीको रूपमा आफ्‍नो जिम्‍मेवारी पूरा गरेर उनलाई यो कुरा औँल्याइदिनुपर्थ्यो, तर मैले उनको सहकर्मीको रूपमा व्यवहार गरिनँ, र हाम्रो काममा असर पुग्यो। मलाई साह्रै पछुतो लाग्यो र आफू यति स्वार्थी र गैरजिम्‍मेवार भएकोमा मलाई आफूप्रति घृणा जाग्यो। मैले झोउ फेङका समस्याहरू नऔँल्याए पनि, उनमा मप्रति कुनै पूर्वाग्रह थिएन, र हाम्रो सम्‍बन्ध कायम थियो, मैले सत्यता अभ्यास गरेकी छैनँ, अनि परमेश्‍वरलाई चिढ्याएकी छु र मप्रति उहाँमा घृणा जगाएँ भन्‍ने मलाई थाहा भयो।

मैले खोजी गरिरहेँ। मैले अरूको समस्या देख्दा किन खुलासा गर्न सकिनँ? मैले परमेश्‍वरको वचन पढेँ। “‘कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांशको ‘खुलासा’ भन्‍ने शब्‍द असल हो कि खराब हो? के यो ‘खुलासा’ भन्‍ने शब्‍दमा मानिसहरूलाई परमेश्‍वरका वचनहरूले खुलासा वा पर्दाफास गर्दाको जस्तै अर्थ लुकेको हुन्छ? (हुँदैन।) मेरो बुझाइअनुसार त, मानव भाषाको हिसाबमा ‘खुलासा’ शब्‍दको अर्थ त्यस्तो हुँदैन। यसको अर्थ मानिसहरूको प्रकृति कोट्याई-कोट्याई निकाल्‍नु र तिनीहरूका केही समस्या र कमीकमजोरीहरू, वा अरूलाई थाहा नभएका कुरा र बानीबेहोराहरू, साथै पृष्ठभूमिमा भइरहेका केही षड्यन्त्र वा विचार र दृष्टिकोणहरू खोतल्‍नु भन्‍ने हुन्छ। ‘कहिल्यै अरूको कमजोरी खुलासा नगर्नू’ भन्‍ने वाक्यांशमा ‘खुलासा’ को अर्थ यही हुन्छ। यदि दुई मानिसहरू मिलेर बस्छन्, तिनीहरूबीच कुनै पर्खाल छैन अनि तिनीहरू एकअर्काका विश्‍वासपात्र हुन्, र दुवैले एकअर्काबाट फाइदा र सहयोग पाउने अपेक्षा गर्छन् भने, तिनीहरूले बसेर एकअर्काका समस्या खुलस्‍त र इमानदारीसाथ बताउनु नै सर्वोत्तम हुन्छ। यो उचित कुरा हो, र यो अरूको कमीकमजोरी खुलासा गर्नु होइन। यदि तैँले अर्को व्यक्तिको समस्या देख्छस् तर ऊ तेरो सल्‍लाह मान्‍न सक्‍ने अवस्थामा छैन भने, भनाभन वा झगडा हुन नदिनलाई केही पनि नभन्। यदि तँ तिनीहरूलाई सहयोग गर्न चाहन्छस् भने, तैँले सुरुमा तिनीहरूसित विचार बुझ्‍न र सोध्‍न सक्छस्, ‘तपाईंमा अलिअलि समस्या देखिन्छ, र सायद म केही सल्‍लाह दिन सक्छु होला। तपाईंले स्विकार्न सक्‍नुहुन्छ कि हुन्‍न थाहा छैन। तर सक्‍नुहुन्छ भने, म भन्छु। सक्‍नुहुन्‍न भने, म अहिलेको लागि केही बोल्‍नेछैनँ।’ यदि तिनीहरूले, ‘म तपाईंलाई विश्‍वास गर्छु। तपाईंले जे भने पनि उचित हुन्छ। म जे पनि स्वीकार गर्न सक्छु’ भनी भन्छन् भने, तँलाई अनुमति दिइएको छ र तैँले तिनीहरूका समस्या एकएक गरी बताउन सक्छस्। तिनीहरूले तैँले भनेको कुरा पूर्ण रूपमा स्वीकार गर्ने मात्रै छैनन्, यसबाट फाइदा पनि पाउनेछन्, र तिमीहरू दुवैले सामान्य सम्‍बन्ध कायम गर्न सक्‍नेछौ। के एकअर्कालाई इमानदारीसाथ व्यवहार गर्नु भनेको यही होइन र? (हो।) अरूसँग अन्तरक्रिया गर्ने सही तरिका यही हो; यो अरूको कमीकमजोरी खुलासा गर्नुजस्तो होइन। उल्‍लेखित वाक्यांश ‘अरूको कमजोरी खुलासा गर्नु’ को अर्थ के हो? यसको अर्थ अरूको कमीकमजोरीबारे नबोल्‍नु, व्यक्तिको लागि सबैभन्दा वर्जित रहेका समस्याहरू उल्लेख नगर्नु, समस्याको सार खुलासा नगर्नु, र अति भद्दा रूपमा कुरा नखोलिदिनु हो। यो त केवल केही झाराटारुवा टिप्पणी गर्नु, सबैले सधैँ भन्‍ने कुराहरू भन्‍नु, व्यक्ति आफैले पहिल्यैदेखि बुझ्‍न सक्‍ने कुराहरू भन्‍नु, तर त्यस व्यक्तिले विगतमा गरेको गल्ती वा संवेदनशील विषय खुलासा नगर्नु हो। यदि तैँले यसरी व्यवहार गरिस् भने, अर्को व्यक्तिलाई यसले के फाइदा गर्छ? सायद तैँले त्यस व्यक्तिलाई अपमानित गर्दैनस् वा शत्रु बनाउँदैनस् होला, तर तैँले गरेको व्यवहारले त्यस व्यक्तिलाई कुनै पनि हालतमा सहयोग वा फाइदा पुग्दैन। यस कारणले गर्दा, ‘कहिल्यै अरूको कमजोरीको खुलासा नगर्नू’ भन्‍ने वाक्यांश आफैमा छली हुन्छ र यो एक किसिमको जाल हो। तिमीहरूले एकअर्कालाई इमानदारीसाथ व्यवहार गर्न सक्दैनौ। के भन्‍न सकिन्छ भने, यसरी व्यवहार गर्नु दुष्ट अभिप्रायहरू लिएर हिँड्नु हो; यो अरूसँग अन्तरक्रिया गर्ने सही तरिका होइन। अविश्‍वासीहरूले त ‘कहिल्यै अरूको कमजोरीको खुलासा नगर्नू’ भन्‍ने भनाइलाई कुलिन सद्गुणी व्यक्तिले अपनाउने कुरा ठान्छन्। यो अरूसँग व्यवहार गर्ने छली आचरण हो भन्‍ने स्पष्ट छ, जुन मानिसहरूले आफ्‍नो रक्षा गर्न प्रयोग गर्छन्; यो व्यवहार गर्ने उचित तरिका हुँदै होइन। अरूको कमीकमजोरी खुलासा नगर्नु आफैमा बेइमान व्यवहार हो; सायद अरूको कमीकमजोरी खुलासा गर्नुको गोप्‍य मनसाय हुन सक्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (८))। म पनि पहिले तपाईंजस्तै थिएँ। मलाई अरूको कर्तव्यका समस्याहरू औँल्याउनु भनेको तिनीहरूको कमजोरी उदाङ्गो पार्नु हो र यसले तिनीहरूलाई चोट पुऱ्याउँछ भन्‍ने लाग्थ्यो। यसो गर्दा शत्रुहरू बन्छन् र सम्‍बन्धमा असर पुग्छ भन्‍ने लाग्थ्यो। अहिले मलाई यो दृष्टिकोण गलत रहेछ र मैले परिस्थितिलाई परमेश्‍वरको वचनअनुसार हेरिनछु भन्‍ने थाहा भयो। हामी इमानदार भएको, हामली एकअर्कालाई सोझो व्यवहार गरेको, र सहयोग गरेको परमेश्‍वर चाहनुहुन्छ। अरूले आफ्नो भ्रष्ट स्वभावअनुसार सिद्धान्त उल्‍लङ्घन गरेको वा गलत मार्ग लिएका देख्यौँ भने, हामीले सत्यताअनुरूप तिनीहरूको समस्या औँल्याएर आफूलाई चिन्‍न तिनीहरूलाई सहयोग गर्नुपर्छ। निराकरण र खुलासामा पर्नु गाह्रो भए पनि, व्यक्तिलाई आफू चिन्‍न सहयोग गर्नका लागि यसो गरिएको हुन्छ। यो साँचो दया र सहयोग हो। यसले मण्डलीको कामको रक्षा हुन्छ। तथाकथित “कमीकमजोरीलाई खुलासा गर्नु” वास्तवमा साँचो सहयोग दिनु होइन; बरु, यो व्यक्तिगत मनसाय र पूर्वाग्रह भरिएको हुन्छ, कमीकमजोरी र खराबी खुलासा गर्न भ्रष्ट स्वभावमा निर्भर भएको हुन्छ, र यसमा अर्को व्यक्तिलाई चोट पुऱ्याउन वा लज्जित पार्न आक्रमण गर्ने, आलोचना गर्ने, र होच्याउने काम गरिन्छ। यसले व्यक्तिलाई कुनै मार्ग दिँदैन। यसले पीडा र नकारात्मकता मात्रै पैदा गर्छ। झोउ फेङ प्रसिद्धि र हैसियतको पछि लागिरहेकी छिन्, ख्रीष्टविरोधीको मार्गमा छिन्, र उनले मण्डलीको काममा असर गरिरहेकी छिन् भन्‍ने मैले देखेकी थिएँ। मेरो सङ्गति र आलोचनाले उनलाई मनन गरेर आफूलाई बुझ्‍न सहयोग गर्नेथ्यो। यसले उनलाई सहयोग गर्दै मण्डलीको कामको रक्षा गर्नेथ्यो। यो महसुस गरेपछि, मलाई अलिक स्पष्ट र ढुक्क भयो र त्यहाँदेखि गलत विचारको बन्धनमा परिनँ।

यसपछि मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ जसले ब्रदर-सिस्टरहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्त स्पष्ट पारेको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तैँले कुन सिद्धान्त अनुसार परमेश्‍वरको परिवारका सदस्यहरूसँग व्यवहार गर्नुपर्छ? (हरेक दाजुभाइ-दिदीबहिनीसँग निष्पक्ष व्यवहार गर्नु।) तैँले तिनीहरूसँग कसरी निष्पक्ष व्यवहार गर्छस्? सबै जनासँग स-साना गल्तीहरू र कमजोरीहरू, साथै केही व्यक्तिगत विशेषताहरू हुन्छन्; सबै मानिससँग आत्म-धार्मिकता, कमजोरी, र तिनीहरूमा भएका अभावका क्षेत्रहरू हुन्छन्। तैँले तिनीहरूलाई प्रेमिलो हृदयले सहायता गर्नुपर्छ, सहनशील र धैर्यवान् हुनुपर्छ, र अति कठोर हुनु हुँदैन वा प्रत्येक सानो कुरामा कचकच गर्नु हुँदैन। … परमेश्‍वरले अज्ञानी र मूर्ख मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, उहाँले अपरिपक्व कद भएका मानिसहरूसित कस्तो व्यवहार गर्नुहुन्छ, उहाँले मानवजातिको भ्रष्ट स्वभावको सामान्य प्रकटीकरणहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र दुर्व्यवहार गर्नेहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यो तैँले हेर्नुपर्छ। परमेश्‍वरले फरक-फरक मानिसहरूसित फरक-फरक तरिकाले व्यवहार गर्नुहुन्छ, र उहाँसँग विभिन्न मानिसहरूको असङ्ख्य अवस्थाहरूको व्यवस्थापन गर्ने विभिन्न तरिकाहरू पनि छन्। तैँले यी सत्यताहरूलाई बुझ्नुपर्छ। तैँले यी सत्यताहरूलाई बुझिस् भने, परिस्थितिहरूलाई कसरी अनुभव गर्नुपर्छ र मानिसहरूलाई सिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्नुपर्छ भनी तैँले जान्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि वरपरका मानिसहरू, मामला र स्थितिहरूबाट सिक्‍नुपर्छ)। मैले परमेश्‍वरको वचनबाट ब्रदर-सिस्टरहरूलाई सहयोग गर्ने सिद्धान्त बुझेँ। शैतानको भ्रष्टताको कारण हामी सबैमा भ्रष्ट स्वभाव छ। मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा प्रकट गर्ने भ्रष्ट स्वभावको हकमा भन्नुपर्दा, यदि काममा असर हुँदैन, वा व्यक्तिको कद एकदमै अपरिपक्‍व छ भने, उसलाई खुलासा गर्न र चोट पुऱ्याउन मनमानी ढङ्गले उसको भ्रष्टता वा कमीकमजोरीलाई प्रयोग गर्नु हुँदैन। यस्तो परिस्थितिमा सकारात्मकरूपले सङ्गति र सहयोग गर्न दयामा भर पर्नुपर्छ। तर ख्रीष्टविरोधीको मार्गमा हिँड्ने वा भ्रष्ट स्वभाव भएका, र मण्डलीको काममा बाधा दिने मानिसहरूका हकमा भन्नुपर्दा, यदि सकारात्मक सङ्गतिले कुनै परिणाम ल्याएन भने, तिनीहरूलाई काटछाँट र निराकरण गर्नैपर्छ, र तिनीहरूको व्यवहारको खुलासा र विश्‍लेषण गर्नैपर्छ, ताकि तिनीहरूले आफ्‍नो समस्याको सारलाई चिनेर साँचो पश्‍चात्ताप गर्न सकून्। तिनीहरूको खुलासा भएन भने, तिनीहरूले मनन गर्न वा आफ्‍नो समस्या बुझ्‍न सक्दैनन्, र मण्डलीको काममा निरन्तर बाधा दिनेछन्। मानिसहरूलाई तिनीहरूको सार, कद, र पृथक पृष्ठभूमिको आधारमा सहयोग गर्नैपर्छ। हामीले सधैँ मानिसहरूको समस्यालाई तुरुन्तै खुलासा र विश्‍लेषण गर्नु हुँदैन, न त सधैँ सहनशीलता र धैर्य नै रोज्नुपर्छ। कतिपय कुराले काममा असर पार्दैन अनि सहनशीलता र धैर्य चाहिन्छ, तर कति कुराले काममा बाधा ल्याउँछ, र यस्तो अवस्थामा व्यक्तिको कद सुहाउँदो निश्चित मापन प्रयोग गरेर उसलाई खुलासा र निराकरण गर्नैपर्छ। यसको परिणामस्वरूप, ब्रदर-सिस्टरहरूले आफ्‍नो भ्रष्टता चिनेर पश्‍चात्ताप गर्न, परिवर्तन हुन र सिद्धान्तअनुसार काम गर्न सक्छन्। यस्तो सङ्गतिले मानिसहरूलाई सहयोग पनि गर्छ र मण्डलीको काममा फाइदा पनि पुऱ्याउँछ। यी कुरा बुझेपछि, मेरो हृदय झन् प्रसन्न भयो, र मैले झोउ फेङलाई उनका समस्याहरू खुलासा गर्दै पत्र पठाएँ। पछि उनले यसो भन्दै मलाई उत्तर पठाइन्: “मेरो खुलासा र निराकरण गरेकोमा धन्यवाद। मैले मेरा समस्याहरू यति गम्‍भीर छन् भन्‍ने सोचेकी थिइनँ। मबाट थोरै भ्रष्टता मात्रै प्रकट हुने गर्छ र मैले मनन गरेँ र परमेश्‍वरका केही वचन खोजेर पढेँ भने ठिक भइहाल्छ भन्‍ने म सधैँ सोच्थेँ। म ख्रीष्टविरोधीको मार्गमा छु र मेरो मानवतामा समस्या छ भन्‍ने मलाई पटक्‍कै थाहा थिएन। तपाईंको सङ्गति र विश्‍लेषणबाट तपाईं मलाई सच्चा सहयोग गर्न चाहनुहुन्छ भन्‍ने मलाई थाहा भयो। म यो स्विकार्न, अनि आत्मचिन्तन गरेर आफूलाई बुझ्‍न इच्छुक छु।” यी वचनहरू पढ्दा म साह्रै भावुक भएँ। मलाई परमेश्‍वरको वचनअनुसार अभ्यास गर्दा आफूलाई र अरूलाई फाइदा हुन्छ भन्‍ने महसुस भयो, र मेरो हृदय ढुक्क र शान्त भयो। मैले यो अनुभवबाट, “मान्छेको मर्ममा कहिल्यै प्रहार नगर्नू” भन्‍ने आफू पहिला भर पर्ने गरेको विचारद्वारा मलाई शैतानले हानि गरिरहेको रहेछ, र म स्वार्थी, घृणित, र छली जीवन जिइरहेकी रहेछु भन्‍ने देखेँ। अहिले मलाई परमेश्‍वरको वचन मात्रै सत्यता हो र परमेश्‍वरको वचनअनुसार चलेर अनि परिस्थिति सम्‍हालेर मात्रै हामी मानव रूपमा जिउन सक्छौँ भन्‍ने स्पष्टसित थाहा भयो। मेरो अनुभव अलिक सतही थियो, त्यसकारण तपाईंसँग थप अन्तर्दृष्टि छ भने सो लेख्‍न सक्‍नुहुन्छ।

चेन्सी

सेप्टेम्‍बर १०, २०२२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

म किन यति उच्‍च र शक्तिशाली छु?

म मण्डलीको भिडियो कार्यको लागि जिम्मेवार थिएँ। केही समयको अभ्यासपछि, मैले केही सिद्धान्तहरू बुझेँ र आफ्‍नो सीपलाई तिखारेँ। म हाम्रो काममा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्