हामीले जीवनमा के कुरा पछ्यानुपर्छ?

16 डिसेम्बर 2024

सोङ् जिहान, चीन

बाल्यकालमा मेरो स्वास्थ्य राम्रो थिएन र हाम्रो परिवारको बढीजसो पैसा साधारणतया मेरो स्वास्थ्य उपचारमै जान्थ्यो, त्यसैले मेरा बुबाले मलाई खासै रुचाउनुहुन्नथ्यो, र मलाई खुब कुट्ने र गाली गर्ने गर्नुहुन्थ्यो। त्यही कारण अरूले मलाई खिल्ली उडाउँथे र बहिष्कार गर्थे। म प्राय: लुकेर एक्लै रुन्थेँ, दुःखी र अन्यायमा परेको महसुस गर्थेँ। मलाई लाग्थ्यो, “तिमीहरू मलाई तुच्छ ठान्छौ। ठुली भएपछि, म ठूलो करियर बनाएर तिमीहरूलाई देखाएरै छाड्नेछु।” विवाहपछि श्रीमान् र म मिल्न सकेनौँ, र हामीले सम्बन्धविच्छेद गऱ्यौँ। मैले मेरो ४ वर्षीय छोराको हेरचाहको जिम्मा मेरी आमालाई दिएँ र म मेरी एउटी सहपाठीले खोलेको ब्युटी सलूनमा सघाउन गएँ। उनी बिज्नेस् स्कूलकी शिक्षिका थिइन्, त्यसकारण उनको जागिर भएकाले, उनले मलाई पसल व्यवस्थापनमा सहयोग गर्न राखिन्। चाँडै उनी पूरै बद्लिइन्, अलग्ग रहने र दम्भ गर्ने भइन्, र उनी मालिक्नी बनेर मलाई आदेश दिन्थिन्। मलाई एकदमै असहज महसुस भयो, र हामीबीच दूरी बढ्यो। एक दिन केही कुरामा हाम्रो विवाद भयो र मैले काम छोड्न चाहेँ। उनले मलाई यसो भन्दै खिसी गरिन्, “सोङ् जिहान, मैले तिम्रो अवमूल्यन् गरेको होइन। मविना तिमी सफल भयौ भने, पश्चिमबाट घाम उदाउँछ!” त्यो सुन्दा म निकै खिन्न भएँ। त्यसले मेरो आत्मसम्मानमा ठूलो धक्का पुऱ्यायो। मैले सोचेँ, “तिमी अत्यन्तै अनादरपूर्ण व्यवहार गर्छौ। तिमीले रूप हेरेर व्यवहार गर्नु हुँदैन। भर्खरै तिमीले भनेको कुराकै कारण, म आफ्नो करियर बनाएर तिमीलाई देखाउनेछु, चाहे त्यसले मेरो ज्यानै किन नलेओस्। म तिमीलाई आजदेखि तिम्रा अपमानजनक शब्दहरू फिर्ता लिने तुल्याउनेछु। कुनै दिन, म तिमीलाई सूर्य पश्चिममा उदाएको देखाउनेछु।” मैले कुम्लो कसेँ र त्यही दिन झोँकिएर त्यहाँबाट निस्केँ।

मैले काम गर्न र पैसा बचत गर्न थालेँ, र बिरामी हुँदा पनि कहिल्यै छुट्टी मागिनँ। थकित हुँदा र ढाड दुख्दा, दाह्रा किटेर भए पनि काममा लागिरहन्थेँ। चार महिनापछि, मैले आफै हेयर सलून चलाउन थालेँ। मैले पैसा बचत गर्न त्यो एक्लैले चलाएँ, दिनमा एक छाक मात्र खान्थेँ। राती मेरो पेट कराउँथ्यो, र भोक मेटाउन पानी पिउँथेँ। कहिलेकाहीँ व्यापार राम्रो चल्थ्यो र बिहान २-३ बजेसम्म काम गरेर मात्र सुत्न जान्थेँ। म बिहान ६ बजे अर्ध निद्रामै जबर्जस्ती उठ्थेँ। कपालमा लगाउने केमिकलले मेरो हात चरचर फुटेको र डडेको थियो। मुठी पार्नेबित्तिकै मेरा औँलाहरूबाट रगत आउँथ्यो—त्यो साह्रै दुख्थ्यो। म बेडकभरमा लुकेर खुबै रुन्थेँ, तर बुबाको तिरस्कार र सहपाठीको उपहासलाई सम्झनेबित्तिकै, चुपचाप आफूलाई जुरमुराउँथेँ, र “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ,” र “मान्छेसित आफ्नो मर्यादाको लागि लड्‍ने दृढता हुनुपर्छ” भनी सोच्थेँ। मलाई लाग्थ्यो कुनै दिन म सफल हुनेछु, र मलाई तुच्छ ठान्ने र मेरो आत्मसम्मानमा चोट पुऱ्याउनेहरू सबैले मलाई नयाँ नजरले हेर्नेछन्। म कडा मिहिनेत गर्ने उत्प्रेरणाले भरिएकी थिएँ। अन्ततः सन् १९९६ मा मैले आफ्नै सलून खोलेँ। त्यो मेरी सहपाठीको पसलभन्दा ठूलो र आकर्षक रूपमा झकिझकाउ थियो। त्यसको उद्घाटनको दिन, म भावुक बनेर रोएँ। सोचेँ, “अन्तत: मैले पसल खोलेरै छोडेँ र अब म नै मालिक्नी हुँ—म आफ्नो शीर ठाडो पार्न सक्छु। पछि, म यो पसललाई बढाएर झनै लोभलाग्दो र आकर्षक बनाउनेछु ताकि मेरी सहपाठी असाध्यै लज्जित बनून्। यदि मेरा साथीसँगी र घरपरिवारले मैले पसल खोलेको छु भन्ने थाहा पाए भने, तिनीहरू मक्ख पर्नेथे।” तीन वर्षको कडा मिहिनेतपछि, मैले केही पैसा छुटाएकी थिएँ। अझ धेरै मानिसको सम्मान पाउन, मैले झनै ठूलो ब्युटी सलून र कस्मेटिक कम्पनी खोल्न थप लगानी गरेँ, र फरक-फरक क्षेत्रमा नौवटा शाखा स्टोर खोलेँ। मैले थुप्रै राष्ट्रिय सौन्दर्य कला प्रतियोगिताहरूमा पनि भाग लिएँ र केही स्वर्णपदक जितेँ। वर्षौँको मिहिनेतपछि, अन्त्यमा म यस व्यावसायमा निकै सम्मानित व्यक्ति बनेँ, र म शब्दले व्यक्त गर्नै नसकिने गरी खुसीले भरिएँ। म हिमालको चुचुरोमा उभिएर चिच्याउन चाहन्थेँ: “मेरो सपना साकार भएको छ! म सबैले खिल्ली उडाउने त्यो व्यक्ति रहिनँ!” म कार चढेर घर जाँदा, सबैले मलाई ईर्ष्यालु नजरले हेर्थे। मलाई वास्तविक सन्तुष्टि र आत्मसम्मान अनुभूति हुन्थ्यो। मैले सही मार्ग समातेको छु, र भविष्यमा आफ्नो व्यवसायलाई थप विस्तार गर्न अझै मिहिनेत गर्नुपर्छ भन्ने लाग्थ्यो।

सन् २००२ मा, मैले अर्को ठूलो सहरमा ठूलो ब्युटी सलून खोलेँ। मेरो व्यापार बढ्दै जाँदा, झन्-झन् धेरै मानिसले मेरो नाम चिने। मलाई लाग्थ्यो, म छाती फुलाएर हिँड्न सक्छु, मलाई जीवन्त महसुस हुन्थ्यो र म ठाँटिएर हिँड्थेँ। सोच्थेँ, “यदि म र मेरी सहपाठीको जम्काभेट भयो भने, मैले उनलाई ‘धन्यवाद’ दिनैपर्छ। उनको अपमानजनक टिप्पणीविना, मसित आज जे छ त्यो हुनेथिएन।” तर अचम्म, मैले उनी फोक्सोको क्यान्सरले बितिसकिन् भन्ने थाहा पाएँ। म छक्क परेँ र साह्रै दुःख लाग्यो। मैले मानिसको जीवन कसरी यति नाजुक हुन सक्छ भनेर बुझिनँ। उनी ३९ वर्षको उमेरमै बितिन्। मैले त्यस्तो ठूलो मूल्य चुकाएर अन्त्यमा सफलता पाएकी थिएँ, र मेरो त्यस्तो बेइज्जत गर्ने र मेरो मर्यादा कुल्चिमिल्ची पार्ने उनका शब्दहरू उनले फिर्ता लिएको चाहन्थेँ। तर मैले उनलाई आफ्नो सफलता र गौरव देखाउन धेरै ढिलो भएछ, किनकि उनी अचानक बितिछिन्। आफूसँग जति नै ख्याति वा धनसम्पत्ति भए पनि, मर्दा ती साथमा लिएर जान मिल्दैन, त्यसोभए जीवनको अर्थ के हो? त्यो सोच्दा म बयानै गर्न नसकिने गरी निराश र उदास भएँ। मेरी सहपाठीको मृत्युले मलाई निकै असर पार्‍यो। केही समय त त्यो प्रश्नले मलाई लगातार पिरोलिरह्यो, तर कसैले पनि मलाई जवाफ दिन सकेन।

चाँडै नै म फेरि काममा व्यस्त भएँ र मैले करियर परिवर्तन गर्नेबारे सोचेँ। ब्युटी सलून खोल्नु अझै तल्लो सामाजिक हैसियतमा पर्थ्यो, तर डाक्टर हुनु उच्च प्रतिष्ठा र सम्मानित जागिर थियो। त्यसैले, महँगो ट्युसनबारे नसोची म केही ठूला सहरहरूमा गएँ, र चिनियाँ चिकित्साबारे सिक्न चर्चित डाक्टर र एकुपङ्चर विशेषज्ञहरू खोजेँ। आफ्नो सपना साकार पार्न खोज्दा, मैले आफ्नो छोराको शिक्षालाई बेवास्ता गरेँ, र ऊ छ भन्ने कुरासमेत चटक्क बिर्सेछु। मैले आफ्नी वृद्धा आमाको हेरचाह गरिनँ वा आफ्नै व्यावसायिक कामकुरासमेत सम्हालिनँ, बरु अध्ययनमा पूरै तल्लिन भएँ। मैले हिँड्दा, खाँदा, वा ओछ्यानमा पल्टिँदा जे गर्दा पनि, सुख्खा चिनिया चिकित्सा सिद्धान्तहरू जाँच्ने काम मात्र गरेँ, साथीहरूसँग रमाईलो गर्ने वा आफ्ना आमाबुबा र दिदीबहिनीहरूसँग कुराकानी गर्ने समय थिएन। कहिलेकाहीँ निकै गाह्रो लाग्थ्यो, र अध्ययन त्याग्न चाहन्थेँ, तर चिकित्सा सिक्दा कसरी मेरो सामाजिक हैसियत बढ्न सक्छ र मानिसहरूबाट अझ बढी कदर पाउन सक्छु भन्ने सोच्दा, मैले बीचैमा छाडेर अरूले तुच्छ नठानून् भनेर आफूलाई सचेत गराएँ। जति नै कठिन वा थकाइलाग्दो भए पनि, मैले आफ्नो अध्ययन सकाउनुपर्थ्यो। अरूभन्दा माथि पुग्‍न, मैले त्यसरी नै आफूलाई प्रोत्साहित गरिरहेँ। मैले १५ वर्ष लगनशील अध्ययन, अनुसन्धान र अभ्यास गरेर, चिकित्सा क्षेत्रमा अलि ख्याति कमाएँ, र एकुपङ्चर र स्वास्थ्य सेवाको तालिम गर्दै देशभरि यात्रा गर्न थालेँ। सधैँ लामो समयसम्म तालिममा व्यस्त हुने, प्लेन र रेलमा आवातजावात गर्ने गरेपछि, ममा पाचनसम्बन्धी केही समस्या आए जसले मेरो सुताइमा पनि गम्भीर असर पाऱ्यो, र मलाई सधैँ रिँगटा लाग्थ्यो र भाउन्न छुट्थ्यो। तैपनि म डाक्टरलाई देखाउन गइनँ। मेरो पेट पोल्ने रोग बल्झेपछि, मेरो मलद्वारमा फिस्टुला पनि भयो र मेरो रगतसरिको दिसा आउँथ्यो। त्यतिबेला मेरो एउटा तालिम थियो, त्यसैले मैले त्यो सहेर प्लेन चढी ३०० माइल टाढाको सहरमा जानुपऱ्यो। म प्लेनबाट ओर्लनेबित्तिकै मलाई फूलगुच्छा र तालीले स्वागत गरियो, र मैले मेरो पछाडि ईर्ष्यालु आवाजहरू सुनेँ: “त्यो त प्रोफेसर सोङ् हो, कति तरुणी र सुन्दरी।” “हो, मैले उनको एउटा क्लास लिएको छु—अत्यन्तै राम्रो पढाएकी थिइन्।” त्यो क्षण, मलाई आफ्ना सबै त्याग र परिश्रम सार्थक भएको अनुभूति भयो, र मैले मनमनै आफूलाई भनिरहेँ, “बलियो बन्, तैँले यो गर्न सक्छस्। सफलताको पछाडि अथक परिश्रम लुकेको हुन्छ।” मैले पेटको अत्यधिक पीडा र चिसो पसिना सहन सङ्घर्ष गरेँ, तीन दिनसम्म मञ्चमा उभिएर मुस्कुराउँदै भाषणहरू दिएँ। मैले मञ्चबाट ओर्लिँदै विद्यार्थीहरूलाई बिदाइको हात हल्लाएँ, र त्यो क्षण, मलाई यो सबको रित्तोपनमा अनौठो खालको दुःख लाग्यो। म कमजोर र थकित शरीर लिएर होटल पुगेँ, ओछ्यानमा डङ्ग्रङ्ग ढलेँ, र सिलिङमा एक टक हेरिरहेँ। मलाई बयान गर्नै नसकिने एक्लोपन र उदासीले छोप्यो। फूलगुच्छा र ताली मेरा सफलता र प्रसिद्धिका सङ्केत हुने गर्थे, तर त्यो सबै क्षणभङ्गुर, पूरै क्षणिक थियो। त्यसले मलाई बिरामीपन र रित्तोपनबाट मुक्त हुन बिलकुलै मद्दत गर्न सकेन। मैले आफूलाई बारम्बार सोधिरहेँ: “अहिले मैले अरूको सम्मान र प्रशंसा पाएको छु, तर म किन अलिकति पनि खुसी छैनँ? बरु, म रित्तो, दुःखी, असहाय, र एक्लो महसुस गर्छु। मानिसहरू वास्तवमा केका लागि जिउँछन्? मानिसहरू कसरी अर्थपूर्ण जीवन जिउन सक्छन्?”

हरेकपटक म लखतरान भएर घर पुग्दा, मेरी आमाले दुःखी हुँदै मलाई बारम्बार सोध्नुहुन्थ्यो, “नानु, तँ बिहानदेखि बेलुकासम्म अति व्यस्त हुन्छेस्। तेरो शारीर थिलथिलो भएको हुन्छ। के यो उचित हो? तैँले परमेश्‍वरमा विश्वास गर्नुपर्छ—हामीलाई उहाँले नै सृष्टि गर्नुभएको हो। तैँले आस्था राखेर सत्यता प्राप्त गर्नेछस्, र त्यो मात्र अर्थपूर्ण र शान्तिमय जीवन जिउने मार्ग हो। आस्थाविना, तैँले यो संसारमा पछ्याउने कुनै पनि कुरा खोक्रो लाग्नेछ।” वास्तवमा मलाई आस्था राम्रो कुरा हो भन्ने थाहा थियो, तर मेरो हृदय पूरै आफ्नो काममा हुन्थ्यो। म आफू वृद्धा भएपछि, अवकाश लिएपछि विश्वासी बन्न चाहन्थेँ। त्यस्तो जवान उमेरमा मैले कसरी आफ्नो करियरमा ध्यान नदिन सक्थेँ र? त्यसकारण मैले मेरी आमाको कुरालाई गम्भीरतापूर्वक लिइनँ।

म लगातार आफ्नो काममा र भावनात्मक रूपमा दुवै हिसाबले अत्यधिक तनावमा रहेकीले, मेरो इन्डोक्राइनमा गडबडी आयो र मेरो रोगप्रतिरोधक क्षमता कमजोर भयो। मेरो छालामा अनौठो समस्या आयो जुन अत्यन्तै चिलाउँथ्यो, त्यो चिलाइ छालाभित्र हुन्थ्यो। हातले कन्याएर केही भएन, औषधीले पनि भएन। म एक हातले आफ्नो अनुहारको छाला समात्थेँ, र अर्को हातमा छाला जाँच्ने सुई लिन्थेँ, र पूरै अनुहार रगताम्मे भइञ्जेल छालामा बारम्बार घोचिरहन्थेँ। मेरो छाला असह्य रूपले चिलाउँथ्यो, र मलाई बरु मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। मेरो अनुहार नराम्ररी सुन्निएको थियो। ऐनामा आफूलाई न त मानव न भूतजस्तो देखेर, मलाई म घरबाहिर निस्कन मिल्दैन भन्ने थाहा भो। सोचेँ, “म अरूको सबै प्रकारका कठिन रोग निको पार्न सक्छु, तर आफ्नैचाहिँ सक्दिनँ। कति दयनीय!” म निकै गौरवशाली थिएँ, तर अब यस्तो बरबाद भएँ। म झ्यालबाट हाम फालेर मर्न चाहन्थेँ। म रोइरहेँ र विलौना गरिरहेँ, “ओहो! मैले अघिल्लो जीवनमा निकै दुष्टता गरेको हुनुपर्छ र यो त्यसैको प्रतिफल हो!” त्यसपछि म त्यसको उपचार गर्न चिनियाँ चिकित्साको डाक्टरकहाँ गएँ। उनले पहिले पनि त्यस्तै रोग देखेको र २० वर्षसम्म उपचार गर्दा पनि निको नभएको बताए। त्यो सुनेर म त छाँगोबाट खसेँ। के मैले बाँकी जीवन साँच्चै यसरी नै बिताउनेथेँ त? मैले जीवनमा नाम कमाउन धेरै मिहिनेत गरेकी थिएँ, तर म त यस्तो बन्न पुगेँ। मेरो जीवनको के औचित्य रह्यो र? म निन्द्राको केही चक्की खाएर त्यसबाट मुक्त हुन चाहन्थेँ। मैले आफ्नो जीवन अन्त्य गर्ने तयारी गरिरहेकै बेला, २०१८ को अप्रिलमा, मेरी आमाले मलाई परमेश्‍वरका आखिरी दिनहरूको कामबारे फेरि बताउनुभो।

मैले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको साङ्गीतिक नाटक, “सियाओझेनको कथा” हेरेँ। म अत्यन्तै भावुक भएँ। त्यसमा परमेश्‍वरका केही वचन थिए: “सर्वशक्तिमान्‌ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्‌; त्यसैगरी, यी चेतना नभएका मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन चाहनुहुन्छ, ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्‌। जब तँ थाक्छस् र जब तैँले यो संसारको निराशाजनक वैराग्यपनका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ हताश नबन्, नरू। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई स्वीकार्नुहुनेछ। उहाँले तेरो नजिकैबाट रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्‍वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक ‘पिता’ प्राप्त गरिस् भन्‍ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जुन दिन तैँले सर्वशक्तिमान्‌ले तेरो फिर्तीको लागि धेरै, धेरै लामो समयदेखि त्यहाँ पर्खँदै, सधैँ रखवाली गर्दै आउनुभएको छ भन्‍ने कुरा महसुस गर्छस्। बिना कुनै उत्तर तेरो प्रत्युत्तरको प्रतीक्षा गर्दै, उहाँले पूरा व्यग्र इच्छाको साथ रखवाली गर्दै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा असीमित छन, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। परमेश्‍वरको वचनको हरेक वाक्यले मेरो हृदय छोयो। सियाओझेनको कथा मेरो आफ्नै जीवनको वास्तविक चित्रणजस्तो थियो। म परमेश्‍वरले हात फिँजाएर मलाई बोलाइरहनुभएको महसुस गर्न सक्थेँ, “छोरी, फर्केर आइज!” परमेश्‍वरको प्रेमले ओतप्रोत भएर मेरो आँशु झऱ्यो, र म सुँकसुँकाइरहेँ। त्यो बेला मैले घर फर्कनुको न्यानोपन महसुस गरेँ। मेरो बेचैन हृदयले बस्ने थलो भेट्टाएको थियो र त्यो सुरक्षित थियो। ती एक्लोपन, दुःख, र निराशाले भरिएका वर्षहरू, अनि आफूले कहिल्यै कसैलाई नभनेका गोप्य कुराहरूसमेत, मैले अन्त्यमा परमेश्‍वरलाई बताउन सकेँ। म मन खोलेर रोएँ, “मेरो जीवन कति दयनीय थियो भनेर परमेश्‍वरलाई मात्र थाहा छ। सृष्टिकर्तामा मात्र मानवजातिप्रति साँचो प्रेम हुन सक्छ!” म रूँदै परमेश्‍वरसामु आएँ र उहाँलाई भनेँ, “हे परमेश्‍वर! म आफ्नो करियरमा कडा मिहिनेत गरेर थकित हुँदा, तपाईंले मेरी आमामार्फत मलाई बारम्बार सुसमाचार सुनाउनुभो, तर म आफ्नो करियरको कारण तपाईंसामु आउन अनिच्छुक भएँ। सियाओझेनले मञ्चमा बारम्बार ‘हे परमेश्‍वर,’ ‘हे परमेश्‍वर’ भन्दै पुकार्दा पेटमा एकपछि अर्को मुक्का हानेजस्तो लाग्यो। मैले तपाईंको मुक्तिको हातलाई बारम्बार पन्छाएकोमा र बारम्बार तपाईंलाई चोट पुऱ्याएकोमा म आफूलाई घृणा गर्छु। तर तपाईंले मलाई मुक्ति दिन हार मान्नुभएन। तपाईं मेरो साथमा रहनुभो, र म तपाईंतर्फ फर्कने क्षणलाई पर्खिरहनुभो, ताकि तपाईंले मलाई दुःखको सागरबाट बचाउन सक्नुहोओस्। हे परमेश्‍वर, म तपाईंमा विश्वास गर्न चाहन्छु। म तपाईंलाई निकटबाट पछ्याउन र आराधना गर्न चाहन्छु!” त्यसपछि, मैले आफूले त्यतिका वर्षसम्म हृदयमा लुकाएर राखेको सबथोक परमेश्‍वरलाई पोखेँ। मलाई पूरै शरीरमा निकै हल्का महसुस भयो र मेरो मुड राम्रो भयो। परमेश्‍वरसामु आउन सक्दा म सबैभन्दा आनन्दित व्यक्ति बनेँ, र मैले आफू कति हठी थिएछु र परमेश्‍वरको मुक्तिलाई बारम्बार पन्छाएछु भनेर निकै अफसोस मानेँ।

त्यसपछि, मैले भोकले रन्थनिझैँ परमेश्‍वरका वचनहरू खानसम्म खाएँ। परमेश्‍वरले शैतानले मानवजातिलाई भ्रष्ट तुल्याएको साँचो चित्र देखाउनुभएको देख्दा म असाध्यै द्रवीभूत भएँ। परमेश्‍वरका सबै वचन सत्यता हुन् र तिनले हामी मानिसलाई जस्तो छौँ त्यस्तै खुलासा गर्छन्। ब्रदर-सिस्टरहरूसँग भेला हुँदा र परमेश्‍वरको प्रशंसामा भजनहरू गाउँदा मलाई साँच्चै सन्तुष्टि मिल्थ्यो। म निकै खुसी थिएँ। मैले ब्रदर-सिस्टरहरू एकअर्काप्रति इमानदार र सच्चा भएको देखेँ। तिनीहरूले भ्रष्टता देखाउँदा, तिनीहरू कुनै प्रकारको षड्यन्त्र वा छलछाम नगरी खुलस्त सङ्गति गर्न र एकअर्कालाई मद्दत गर्न सक्थे। मलाई आफू पूरै अर्को संसारमा जिइरहेकी छु जस्तो अनुभूति भयो र मैले पहिलेको दुःख पूर्ण रूपमा बिर्सेँ। मेरो स्वास्थ्यमा पनि बिस्तारै सुधार आयो। म परमेश्‍वरको मुक्तिप्रति अत्यन्तै कृतज्ञ थिएँ। मैले सोचिरहेकी थिएँ, म विश्वासी बनेदेखि नै, हरेक दिन परमेश्‍वरको वचन पढ्दा र उहाँको प्रशंसाका भजनहरू गाउँदा, अत्यन्तै आनन्दित भएकी थिएँ। संसारमा मेरो करियर, ख्याति, हैसियत, र पैसा हुँदा किन म बिलकुलै खुसी थिइनँ, बरु मेरो जीवन अत्यन्तै दयनीय थियो? पछि मैले परमेश्‍वरका वचनहरूमा केही कुरा पढेँ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “यदि तँ सत्यता बुझ्दैनस् भने, यो मामला प्रस्टसित बुझ्न सक्नेछैनस् र सोच्नेछस्, ‘लड्ने इच्छा हुनु राम्रो हो; यो उचित हो। मानिसमा अलिकति लड्ने इच्छा छैन भने तिनीहरू कसरी जिउन सक्छन्? यदि तिनीहरूमा अलिकति लड्ने इच्छा छैन भने, तिनीहरूसित जिउने कुनै जोस बाँकी हुनेछैन। त्यसपछि जिउनुको के अर्थ रहन्छ? तिनीहरू हरेक प्रतिकूल परिस्थितिलाई सहर्ष स्विकार्छन्—त्यो कति कमजोर र डरपोक हुनु हो!’ सबै मानिसहरू आफू जीवित रहुञ्जेल इज्जतको लागि लड्नैपर्छ भन्ने सोच्छन्। तिनीहरू इज्जतको लागि कसरी लड्छन्? ‘लडाइँ’ भन्ने शब्दलाई जोड दिएर। तिनीहरूलाई जुनै परिस्थिति आइलागे पनि, तिनीहरू लडाइँ गरेर आफ्ना लक्ष्यहरू पूरा गर्ने कोसिस गर्छन्। कहिल्यै हार नमान्ने मानसिकता ‘लडाइँ’ शब्दबाट आउँछ। … तिनीहरू हरेक दिन लडाइँ गर्दै जिउँछन्। तिनीहरू जे काम गरे पनि तिनीहरू सधैँ लडेर जित्ने प्रयास गर्छन् र जितको धाक लगाउँछन्। तिनीहरू आफूले गर्ने हरकुरामा इज्जतको लागि लड्ने कोसिस गर्छन्—के तिनीहरू त्यो हासिल गर्न सक्छन् त? तिनीहरू ठ्याक्कै केका लागि प्रतिस्पर्धा र लडाइँ गरिरहेका हुन्छन्? तिनीहरूको सबै लडाइँ प्रसिद्धि, प्राप्ति र हैसियतका लागि हुन्छ; तिनीहरूका सबै लडाइँ आफ्नो स्वार्थका लागि हुन्छ। तिनीहरू किन लडिरहेका हुन्छन्? नायक भएको नाटक गर्न र कुलीन कहलाइनका लागि। तर, तिनीहरूको लडाइँ मृत्युमै टुङ्गिनुपर्छ, र तिनीहरू दण्डित हुनैपर्छ। यसमा कुनै सन्देह छैन। जहाँ शैतान र पिशाचहरू हुन्छन्, त्यहाँ लडाइँ हुन्छ नै; अन्त्यमा तिनीहरू नष्ट हुँदा, लडाइँ पनि टुङ्गिनेछ। शैतान र पिशाचहरूको नतिजा यही हुनेछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो)। परमेश्‍वरको वचनले मेरो मनको दुविधा हटाइदियो, र मैले तत्काल अन्तर्दृष्टि पाएको महसुस गरेँ। मैले बुझेँ, प्रसिद्धि, धनसम्पत्ति, र हैसियत भनेको शैतानले मानिसलाई भ्रष्ट तुल्याउन, बहकाउन, र नियन्त्रण गर्न चलाउने माध्यम, चाल हुन्। ती शैतानले हामीलाई बाँध्ने जन्जिर पनि हुन्, र ती हामी कोही पनि मुक्त हुन नसक्ने जन्जिर हुन्। मैले ती २८ वर्ष कडा मिहिनेत गरिरहँदा, मेरो जीवन अत्यन्तै दयनीय थियो। मैले “मान्छेसित आफ्नो मर्यादाको लागि लड्‍ने दृढता हुनुपर्छ,” “मानिसले सम्मान पाउन प्रयत्न गर्नुपर्छ,” “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ,” “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” र “मानिसको बिरासत उसको जीवनको प्रतिबिम्‍ब हो” भन्‍नेजस्ता शैतानी विषहरूलाई पछ्याउनुपर्ने सकारात्मक कुराको रूपमा लिएकी थिएँ। मैले तिनलाई आफ्नो जीवनको लक्ष्यको रूपमा लिएकी थिएँ। म प्रसिद्धि र धनसम्पत्तिको पछि लाग्ने मार्गमा जोडतोडले लागिरहेकी थिएँ, र दयनीय जीवन जिइरहेकी थिएँ। सुरुका दिनहरूबारे सोच्दा, जब मेरी सहपाठीले मलाई खिल्ली उडाइन् र होच्याइन्, तब मैले उनलाई देखाउन सङ्घर्ष गर्ने कसम खाएँ। मैले हैसियत र ख्यातिको दलदलमा हाम फालेँ। मैले प्रसिद्धि र धनसम्पत्तिका लागि कडा परिश्रम गर्न र कष्ट भोग्न थालेँ। कपालमा लगाउने केमिकलले मेरो हात चरचर फुटेको थियो र त्यसबाट रगत आउँथ्यो, तर मैले पैसा खर्चेर कसैलाई काममा लगाउन चाहिनँ। पैसा बचत गर्न, म दिनमा एक छाक मात्र खान्थेँ र पानीले भोक मेटाउँथेँ। म हदै थकित हुन्थेँ, तर पनि आराम गर्दिनथेँ। मैले प्रसिद्धि र धनसम्पत्ति पछ्याउन “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” भन्ने भनाइलाई आफ्नो प्रेरणाको रूपमा लिएँ। पछि अन्तत: मैले स्थानीय तवरमा नाम कमाएँ र म क्षणिक रूपमा सन्तुष्ट भएँ, तर अझै पनि म ख्याति र हैसियतको पछ्याइमा आराम नगरी लागिरहेँ। मेरो महत्त्वाकाङ्क्षा र चाहना बढिरह्यो। मैले आफ्नो सामाजिक स्तर सुधार्न, आफ्नो ख्याति बढाउन, र अझ बढी मानिसको प्रशंसा र सम्मान पाउन, चिकित्सा अध्ययन गर्नमा १५ वर्ष बिताउनुलाई ठूलो कुरा ठानिनँ, मसँग आफ्नी आमा र छोरालाई भेट्न घर जाने समय थिएन। मैले आफ्नो करियर र ख्यातिभन्दा बढी अरू केहीबारे सोचिनँ। मैले सफलता हासिल गरेपछि, सबथोक बेवास्ता गरेँ अनि फूलगुच्छा र तालीमा रमाएँ। मैले बारम्बार परमेश्‍वरको मुक्तिको हातलाई समेत पर पन्छाएँ। अरूको गुणगान र प्रशंसा पाउन, मैले नाटक गरेँ। म शारीरिक रूपले शिथिल र थकित भएर बिरामी पर्ने अवस्थामा थिएँ, तर भाषणहरू दिइरहेँ। त्यसपछि त्यो सबै थुप्रिएको थकान अनौठो रोग बन्यो, र मैले मर्न चाहेँ। मैले प्रसिद्धि र धनसम्पत्तिको बन्धनमा हिँडेको मार्ग थकाइलाग्दो थियो। अँध्यारोमा काँडा बिजेजस्तै, मैले जति कोसिस गर्दा पनि म त्यसबाट मुक्त हुन सकिनँ। म यी शैतानी विषअनुसार जिइरहेकी थिएँ, मेरो हृदयमा प्रसिद्धि र धनसम्पत्ति अनि मनमा अरूको सम्मान पाउनेबाहेक अरू केही थिएन। म साँच्चै स्वार्थी र नीच बनेँ, र ममा आत्मीयता र प्रेम बिलकुलै थिएन। म निर्दयी प्राणीजस्तै थिएँ, न त मानव न त पशु भएर जिउँथेँ। मैले प्राप्त गरेको ख्यातिपछाडिको पीडा मलाई मात्र थाहा थियो। जीवनको त्यो उचित मार्ग थिएन। मेरी सहपाठीले भनेको एउटै कुराले गर्दा, म औसत व्यक्ति हुन चाहन्नथेँ, बरु अरूमाथि हैकम जमाउन, र उच्च पारिन चाहन्थेँ। दुई दशकभन्दा बढी, मैले कराहीमा भुटिएको जस्तो कष्ट भोगेँ। ठिक त्यस्तै परमेश्‍वरको वचनले भन्छ, “यदि कोही सधैँ अरूभन्दा वरिष्ठ र निकै राम्रो हुन चाहन्छ भने, त्यो उसले आत्मदाह गर्नु र आफूलाई ठूलो खतरामा पार्नुसरह हो—उसले आफैलाई समस्या निम्त्याउन खोजिरहेको छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत र आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। यदि परमेश्‍वरका वचनहरूले खुलासा नगरेको भए, हामीमध्ये कसैले पनि “मानिसले सम्मान पाउन प्रयत्न गर्नुपर्छ” र “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” भन्ने भनाइहरू भ्रम हुन्, र ती त मानिसलाई भ्रष्ट तुल्याउन शैतानले चलाउने चाल हुन् भनी बुझ्नेथिएनौँ।

मैले परमेश्‍वरको वचनमा अरू केही पढेँ: “जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्‍न, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, उसको जागिर जे भए पनि, उसको जीवनका शैलीहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्टबाहेक अरू केही दिँदैनन्, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर हेर्नसमेत सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै, ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै, र उसले साँचो मानव जीवन पछ्याएपछि मात्रै, क्रमिक रूपमा ऊ हृदयको सबै चोट र कष्टबाट स्वतन्त्र हुन, र जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। मैले परमेश्‍वरको वचनमार्फत थाहा पाएँ, मेरा लागि विगत २० वर्षभन्दा बढी समय अत्यन्तै पीडादायी हुनुको कारण त मैले परमेश्‍वरलाई नचिन्नु रहेछ। म जीवनमा कुनै उचित लक्ष्य र दिशाविना शैतानी दर्शनअनुसार जिउँदै आएकी थिएँ। त्यही कुराले मलाई त्यो गलत मार्गमा हिँडाएको हो। शैतानले मलाई निर्दयी ढङ्गमा खेलाइरहेको थियो र म अर्थहीन जीवन जिइरहेकी थिएँ। मैले परमेश्‍वरसामु आएर उहाँका वचनलाई आफ्नो अस्तित्वको आधारको रूपमा स्विकार्नुपर्थ्यो, उहाँका नियम र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्थ्यो, अनि जीवनमा सही मार्ग भेटाउन परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग अपनाउनुपर्थ्यो। यो त अय्यूबजस्तै बन्नु थियो, जो पूर्वका सबैभन्दा धनी मान्छे थिए र उनको धनाढ्य परिवार थियो, तर उनलाई हाम्रा सबै कुरा परमेश्‍वरको सार्वभौमिकताले तोकेको हुन्छ भन्ने थाहा थियो। उनले प्रसिद्धि वा हैसियत पछ्याएनन् र त्यसमा रमाएनन्, बरु सामान्य रूपले काम गरे। उनी स्वतन्त्र भई र खुसीसाथ जिए। त्यसपछि रातारात, उनको परिवारको सरसम्पत्ति खोसेर लगियो, उनका सबै छोराछोरी मरे, तर पनि उनले परमेश्‍वरको नामको प्रशंसा गरिरहे, र भने “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। उनी परमेश्‍वरको एकदमै राम्रा गवाही थिए। अय्यूब परमेश्‍वरका नियम र बन्दोबस्तहरूप्रति समर्पित हुन सके, र उनले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग अपनाए। उनले मर्यादित जीवन जिए र अन्त्यमा परमेश्‍वरको अनुमोदन पाए। म अय्यूबको अनुकरण गर्न, आफूले जीवनमा अपनाएको गलत मार्ग त्याग्न, साँचो आस्था राख्न, परमेश्‍वरको वचन पढ्न, सत्यता पछ्याउन, र सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन चाहन्थेँ। त्यो मात्र मेरो हृदयको रित्तोपन र पीडा, अनि शैतानको हानि र जन्जिरबाट मुक्त हुने तरिका थियो। त्यो मेरा लागि एउटै मार्ग थियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँको वचन पालन गर्ने र उहाँको आज्ञा मान्ने व्यक्ति बन्न चाहेँ।

तर जब मैले आफ्नो करियर त्यागेर आफूलाई आस्था र कर्तव्यमा डुबाउन चाहेँ, तब मलाई केही अवरोध आइपऱ्यो। एक दिन मेरो छोराको फोन आयो। कम्पनी बन्द हुने अवस्थामा थियो र ऊ मैले त्यहाँ आएर त्यसलाई बचाउन मद्दत गरेको चाहन्थ्यो। त्यो सुनेर म असाध्यै दोधारमा परेँ। २८ वर्षको कडा मिहिनेतपछि, के त्यो त्यतिकै अन्त्य हुनेथ्यो? क्षणभरमै मसँग केही रहनेथेन, र म आफ्नो करियर फस्टाउनुअघिको जस्तै हुनेथेँ। मानिसहरूले मलाई कसरी हेर्नेथे र मबारे कस्तो कुरा गर्नेथे? मैले कसरी अरूको सामना गर्न सकूँला? मसँग जीवनयापनको कुनै उपाय हुनेथेन। मैले त्यो त्यतिकै त्याग्न चाहिरहेकी थिइनँ। मैले कम्पनीलाई उद्वार गर्न फर्कने योजना बनाइरहेकी बेला, मेरा दुवै पाखुरा राता भए र पहिले मेरो अनुहार चिलाएजस्तै अत्यन्तै चिलाउन थाले। म पीडामा थिएँ र मलाई एकदमै झोँक पनि चलेको थियो। म अझै पूर्ण रूपमा निको भइनसकेकाले, यदि म गएँ र फेरि बिमार भएँ भने के होला? मलाई त्यस्तो कठिनाइ आइपर्दा, परमेश्‍वरसित कुरा गर्नु एकमात्र समाधान हो भन्ने थाहा थियो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर! मलाई थाहा छ, पहिले म गलत मार्गमा थिएँ, पैसा र प्रसिद्धिको पछि लागेकी थिएँ। अहिले म हरेक दिन तपाईंको वचन पढ्न र आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु, तर मेरो कम्पनी बन्द हुनैलागेको छ। म एकदमै दोधारमा छु। म आफू २० वर्षभन्दा बढी मिहिनेत गरेको व्यावसाय त्यसरी बन्द भएको चाहन्नँ। हे परमेश्‍वर, मलाई के गर्ने भन्ने साँच्चै थाहा छैन। कृपया मलाई मार्गदर्शन गर्नुस्।” त्यसपछि एक बिहान मलाई मेरो सँगी प्रशिक्षार्थीको फोन आयो, र उनले हाम्रा शिक्षकलाई प्लेनमै स्ट्रोक भएर अस्पताल लगिएको तर बचाउन नसकिएको बताइन्। त्यो त मसँग जति नै पैसा र ख्याति भए पनि, त्यसले मेरो जीवन बचाउन सक्दैन भन्ने कुरा देखाउन परमेश्‍वरले मलाई सतर्क गराउनुभएको र चेतावनी दिनुभएको हो भन्ने मैले महसुस गरेँ। फोन राखेपछि, मैले रुँदै परमेश्‍वरसामु घुँडा टेकेँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर! मलाई तपाईंले मेरो प्रार्थना सुन्नुभो भन्ने थाहा छ। मेरा शिक्षकको मृत्यु मेरा लागि चेतावनी थियो। अहिले मैले बुझेँ, जिउन सक्नु मप्रति तपाईंको मुक्ति हो। मलाई रोगले च्यापेको बेला, मैले मरेर त्यो पीडाबाट मुक्त हुन चाहँदा, तपाईंले मलाई आफ्नो आवाज सुन्न दिनुभो, र मलाई बचाउनुभो। आज म यो अमूल्य मौकालाई कदर गर्न चाहन्छु, र फेरि उही गल्ती दोहोऱ्याउन सक्दिनँ।”

त्यस दौरान, मैले परमेश्‍वरका केही वचन पढेँ जसले मलाई असाध्यै प्रभाव पारे र जीवनमा पछ्याउनुपर्ने कुरा अझ प्रस्टसँग देख्ने तुल्याए। परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले आफ्‍नो जीवनभर जुन बाँच्‍ने सीपहरू सिकेर पोख्त भएका हुन्छन् ती सीपहरूले प्रशस्त भौतिक सहजताहरू प्रदान गर्ने भए पनि, तिनले व्यक्तिको हृदयमा कहिल्यै पनि साँचो शान्ति र प्रेरणा दिँदैनन्, बरु तिनले त मानिसहरूलाई सधैँ आफ्‍नो दिशा गुमाउने, आफैलाई नियन्त्रण गर्न कठिन गराउने, अनि जीवनको अर्थबारे सिक्‍ने हरेक मौकालाई गुमाउने तुल्याउँछ; बाँच्‍ने सम्‍बन्धी यी सीपहरूले उपयुक्त रूपमा मृत्युको सामना कसरी गर्ने भन्‍नेबारेमा भित्री चिन्ता पैदा गर्छ। मानिसहरूको जीवन यसरी बरबाद हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्‍नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्। मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू जिउनको लागि त्यति नै तड्पिन्छन्; मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू मृत्युको आगमनप्रति त्यति नै भयभीत हुन्छन्। यस विन्दुमा मात्रै तिनीहरूले महसुस गर्छन् कि तिनीहरूको जीवन तिनीहरूको स्वामित्वमा, तिनीहरूको नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्‍ने बारेमा उसले कुनै भनाइ राख्न सक्दैन—यो सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरको कुरा हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूले मेरो हृदय प्रसन्न पारे र मलाई अन्तर्दृष्टि दिए। मैले आफ्ना शिक्षकलाई सम्झेँ, जसले जीवनभरि प्रसिद्धि र उपलब्धिलाई पछ्याएका थिए। उहाँ जहाँ जानुहुन्थ्यो त्यहाँ वाहवाही पाउनुहुन्थ्यो, र उहाँसँग प्रसिद्धि र धनसम्पत्ति दुवै थिए भन्न सकिन्छ। तर उहाँ जति नै सफल हुनुभए पनि, आफू बिरामी पर्दा र आफ्नो जीवन खतरामा पर्दा, त्यो प्रसिद्धिले आफ्नो ज्यान जोगाउन सकेन। त्यसबाट मैले साँच्चै के देखेँ भने, कसैले जति नै ठूलो ख्याति कमाए पनि, त्यसले उसको जीवन एक सेकेण्ड पनि लम्ब्याउन सक्दैन। ऊसँग जति नै पैसा भए पनि, त्यसले स्वास्थ्य किन्न सकिँदैन। म पनि त्यस्तै भएकी थिएँ। मैले सफलता र प्रसिद्धि पाएकी थिएँ, तर रोगको पीडाले गर्दा मलाई मर्न मन लाग्यो। ठूलो ख्यातिको के काम भयो र? त्यसले मेरो भावनात्मक रित्तोपन र शारीरिक पीडालाई अलिकति पनि कम गर्न सकेन। त्यसपछि मैले साँच्चै के अनुभव गरेँ भने, प्रसिद्धि र धनसम्पत्ति भनेको उल्कापातजस्तै हुन् जुन चम्किनेबित्तिकै गायब हुन्छन्, जसले क्षणिक आनन्द र सन्तुष्टि दिन्छन्। तर मैले प्रसिद्धि र धनसम्पत्ति कमाए पनि, के म अझै सामान्य व्यक्ति नै थिइनँ र? मैले पेट भर्न दिनको तीन छाक खानुपर्थ्यो, मलाई सुत्ने ठाउँ चाहिन्थ्यो। मेरो एक्लोपनको सामना एक्लै गरेँ, मैले आफ्नो सबै पीडा एक्लै सहेँ, आफै धेरै थकान सहेँ, र आफ्नो रोगसँग आफै लडेँ। म अरू सबैजस्तै थिएँ। आस्थाविना, परमेश्‍वरसामु नआई र उहाँको वचन नपढी, हामी उहाँको सार्वभौमिकता बुझ्न सक्दैनौँ अनि नकारात्मक र सकारात्मक कुरा छुट्याउन सक्दैनौँ। हामी केवल प्रचलनहरू, ती दुष्ट सांसारिक प्रचलनहरू पछ्याउन, प्रसिद्धि र धनसम्पतिको जन्जिरले बाँधिएर शैतानको खेलमा पर्दै, त्यसको दमन भोग्दै र चोट खाँदै, एक-एक पाइला अगाडि बढ्ने सङ्घर्ष गर्न मात्र सक्छौँ। मेरी सहपाठी र शिक्षकको मृत्यु मेरा लागि चेतावनी थियो। यदि म प्रसिद्धि र धनसम्पत्ति पछ्याउने मार्गमा रहेकी भए, मेरो पनि तिनीहरूकै जस्तो अन्त्य हुनेथ्यो। यो बुझेपछि मात्र मैले साँचो डर मान्न थालेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, प्रसिद्धि र धनसम्पतिको जन्जिर तोड्न, साँचो आस्था राख्न, अनि सत्यता पछ्याउने र परमेश्‍वरमा समर्पित हुने मार्ग अपनाउन तयार भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ, जसले मलाई आफ्नो निर्णयमा दृढ तुल्यायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के तिमीहरू पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्न इच्छुक छौ, ती आशिषहरू जुन स्वर्गका आशिषहरू जस्ता छन्? के मसम्बन्धी बुझाइलाई, मेरा वचनहरूको आनन्द, र मेरो विषयको ज्ञान तिमीहरूको जीवनको सबैभन्दा मूल्यवान् र अर्थपूर्ण थोकको रूपमा सम्हालेर राख्न इच्छुक छौ? के तिमीहरू आफ्नै सम्भावनाहरूलाई विचार नगरी साँच्चै पूर्ण रूपमा आफैलाई ममा समर्पण गर्न इच्छुक छौ? के तिमीहरू साँच्चै आफैलाई मद्वारा मारिन, भेडाझैं मद्वारा डोऱ्याइनका लागि सुम्पन सक्छौ? के तिमीहरूको माझमा कोही यस्तो छ जसले यी कुराहरू प्राप्त गर्न सक्छ? के मैले स्वीकार गरेका र मेरा प्रतिज्ञाहरू प्राप्त गर्नेहरू सबै मेरा आशिषहरू प्राप्त गर्नेहरू हुन् भन्‍ने हुनसक्छ? के तिमीहरूले यी वचनहरूबाट केही बुझेका छौ? यदि मैले तिमीहरूलाई जाँच गरें भने, के तिमीहरू आफैलाई मेरो कृपामा छोड्न सक्छौ, र यी परीक्षाहरूको बीचमा, के मेरा अभिप्रायहरूको खोजी गर्न र मेरो हृदयलाई बुझ्न सक्छौ? तँ हृदयस्पर्शी वचनहरू बोल्न, वा धेरै वटा रोमाञ्चक कथाहरू भन्न सक्षम भएको म चाहन्नँ; बरु, तँ मेरो राम्रो गवाही बन्न सक्, र तँ पूर्ण र गहन रूपमा वास्तविकतामा प्रवेश गर्न सक् भनेर म तँलाई अह्राउँछु। यदि म सिधा बोल्दिनँ थिएँ भने के तैँले आफ्नो वरिपरिका सबै थोकहरू त्याग्न सक्थिस् र आफैलाई मद्वारा प्रयोग हुन दिन सक्थिस्? के मैले चाहेको वास्तविकता यही होइन र? मेरा वचनहरूमा भएको अर्थ कसले बुझ्न सक्दछ? तापनि म तिमीहरूलाई भन्छु, अब उप्रान्त शङ्काको भारले नथिचिनू, तिमीहरू आफ्नो प्रवेशमा सक्रिय हुनू र मेरा वचनहरूको सार बुझ्‍नू। यसले तिमीहरूलाई मेरा वचनहरू गलत प्रकारले बुझ्नबाट, र मेरो अर्थमा अस्पष्ट भएर मेरो प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नबाट बचाउँछ। म आशा गर्छु, मेरा वचनहरूमा तिमीहरूका निम्ति मेरा अभिप्रायहरूलाई तिमीहरूले बुझ्नेछौ। अबउप्रान्त तिमीहरूका आफ्नै सम्भाव्यताहरूबारे नसोच र परमेश्‍वरलाई सबै कुरामा तिमीहरूलाई योजनाबद्ध गर्न दिन तिमीहरूले मेरो अघि सङ्कल्‍प गरेअनुसार व्यवहार गर। मेरो परिवारभित्र उभिने सबै जनाले आफूले सक्‍ने जति गर्नुपर्दछ; तैँले पृथ्वीमा मेरो कामको अन्तिम भागका निम्ति आफ्नो सबैभन्दा उत्तम थोक चढाउनुपर्छ। के तँ साँच्चै यी कुरालाई अभ्यास गर्न इच्छुक छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ४)। परमेश्‍वरका वचनहरू पढेपछि, म यति भावुक भएँ कि आँखाबाट आँसुको बलिन्द्र धारा बग्यो। मैले परमेश्‍वर मेरो साथमा हुनुभएको महसुस गर्न सकेँ, मानौँ म उहाँसित आमनेसामने थिएँ, र उहाँ मलाई म सबथोक उहाँलाई सुम्पन र उहाँका बन्दोबस्तहरू स्विकार्न र उहाँमा समर्पित हुन तयार छु कि छैनँ भनी सोधिरहनुभएको थियो। मैले पत्रुसलाई सम्झेँ। उनको आजीवन पछ्याइ नै परमेश्‍वरलाई प्रेम गर्नु र सन्तुष्ट तुल्याउनु थियो, र अन्त्यमा, उनी मृत्युपर्यन्त परमेश्‍वरप्रति समर्पित रहे, र उनले परमेश्‍वरलाई हदैसम्म प्रेम गरे। उनलाई परमेश्‍वरको खातिर क्रूसमा उँधोमुन्टो झुण्ड्याइयो, र उनी महान् गवाही बने र उनले अर्थपूर्ण जीवन जिए। मैले त्यो विगतलाई सम्झेँ, जतिबेला मैले मेरी सहपाठीको त्यो अर्थहीन कुरा सुनेकी थिएँ। मैले आफ्नो जवानी र स्वास्थ्य बलि चढाएँ, अरूको प्रशंसा बटुल्न दिलोज्यानले प्रसिद्धि, धनसम्पत्ति, र हैसियतको पछि दौडेँ, र आफ्नो जीवनलाई अत्यन्तै दयनीय बनाएँ। परमेश्‍वरले मलाई मानिसहरूको भीडबाट टपक्क टिप्नुभो, र त्यसपछि मृत्युको मुखबाट बचाउनुभो। धन्न मैले परमेश्‍वरसामु आएर उहाँको आवाज सुनेँ, व्यक्तिगत रूपमा उहाँको मलजल र हेरचाह स्विकारेँ। यो त मप्रति परमेश्‍वरको आश्चर्यजनक मुक्ति थियो। आखिरी दिनहरूमा, परमेश्‍वरले हामी मानवलाई धुन र मुक्ति दिन अत्यन्तै धेरै सत्यता व्यक्त गर्नुभएको छ, ताकि अन्त्यमा उहाँले हामीलाई उहाँको राज्यमा लैजानुअघि हामीले शैतानी स्वभावहरू हटाउन, हामी शैतानको प्रभावका बन्धनबाट पूर्णतया मुक्त हुन, र अबउसो शैतानको भ्रष्टताबाट हानि नभोग्न सकौँ। मैले परमेश्‍वरले मानिसलाई मुक्ति दिने र सिद्ध पार्ने जीवनमा एकपटक मात्र आउने मौकालाई गुमाउनु हुँदैनथ्यो, र विशेष गरी परमेश्‍वरलाई उहाँको अथक प्रयासमा निराश तुल्याउनु हुँदैनथ्यो। मैले साँचो आस्था राखेर सत्यता पछ्याउनुपर्थ्यो। यो सोचेर, मैले मनमनै परमेश्‍वरलाई भनेँ, “हे परमेश्‍वर, म तयार छु! वृद्धावस्थामा मसित ख्याति वा धनसम्पत्ति केही बाँकी नरहे पनि, म तपाईंका बन्दोबस्तहरूप्रति समर्पित हुन, तपाईंको वचन पालन गर्ने र तपाईंमा समर्पित हुने, र सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउने व्यक्ति बन्न चाहन्छु।”

त्यसपछि मैले आफ्नो व्यापार व्यवस्थापनको जिम्मा मेरो छोरालाई सुम्पेँ र अन्तत: मेरो पुरानो जीवनलाई पूर्ण रूपले बिदाइ गरेँ। मेरो स्वास्थ्य ठिक भो। चाँडै, मैले मण्डलीमा एउटा कर्तव्य सम्हालेँ, र परमेश्‍वरले बन्दोबस्त गरेका मानिस र मामलाहरू अनुभव गर्न थालेँ। अहिले म सत्यता पछ्याइ र पाठहरू सिक्नमा ध्यान लगाउँछु, र मैले पहिले कहिल्यै अनुभव नगरेको एक प्रकारको शान्ति महसुस गर्छु। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाँकी वर्षहरूको लागि मेरो निर्णय

बच्‍चा हुँदा, मेरो परिवार निकै गरिब थियो र हामीलाई प्रायजसो गाउँका अरूले हेप्‍ने गर्थे। तिनीहरूको हेपाइको कारण मेरी आमाले आँसु झार्दा मलाई...

एक जना सरकारी अधिकारीको निर्णय

छिन झेङ, चीनमेरो जन्‍म हुनुभन्दा पहिले मेरो बुबाले कानुन उल्‍लङ्घनको आरोपमा पक्राउ पर्नुभएको थियो। १९७० को दशकमा चीनको गाउँघरमा यस्तो हुनु...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्