आफैलाई प्रदर्शन गर्नुको निर्लज्‍जता

2 अप्रील 2022

मार्च २०२० मा, म नयाँ मण्डलीमा स्थानान्तर भएँ। मेरो पुरानो मण्डलीमा म एक अगुवा थिएँ, र मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदरका साथ हेर्थे। समस्यामा पर्दा, समाधान गर्न तिनीहरू मकहाँ आउँथे। तर यो नयाँ मण्डलीमा, दाजुभाइ-दिदीबहिनीहरू मप्रति परिचित थिएनन्। मलाई त आफू मूल्यहीन व्यक्ति भएजस्तो लाग्यो, जुन अत्यन्तै निराशाजनक थियो। मैले सोचेँ: “म सुसमाचार प्रचार गर्ने कार्यमा निकै सिपालु थिएँ, त्यसकारण यसपटक, मैले धेरै मानिसहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्न अगुवाइ गर्न मेरो क्षमता प्रयोग गरेँ भने, सबैले मसँग क्षमता छ र मैले अरूले भन्दा प्रभावकारी ढङ्गले मेरो कर्तव्य पूरा गर्छु भन्‍ने देख्‍नेछन्, त्यसपछि म अरूभन्दा माथि उठ्नेछु।” त्यसकारण, मैले जताततै सुसमाचार प्रचार गर्न थालेँ, बिहानदेखि बेलुकासम्‍मै काम गरेँ कहिलेकहीँ व्यस्ततामा खाना पनि खाँदिनथेँ, केही समयपछि, मेरो प्रचारको कारण, धेरै मानिसहरूले परमेश्‍वरको कामलाई स्वीकार गरे। मैले सोचेँ, “मेरा दाजुभाइ-दिदीबहिनीहरूले अवश्य नै मैले मेरो कर्तव्य कति राम्ररी गरेकी छु भन्‍ने देखेर अवश्य नै मलाई नयाँ दृष्टिकोणले हेर्नेछन्।” जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई देख्थेँ, तब आफ्‍नो प्रदर्शन गर्नबाट मैले आफूलाई रोक्‍न सक्दिनथेँ। तिनीहरूले डाहा गर्दै भन्थे, “तपाईंले सजिलै सुसमाचार प्रचार गर्नुहुन्छ, तर हामी प्रचार गर्न सक्दैनौं। जब म धारणाहरू बोकेका र सुसमाचार नसुन्‍ने मानिसहरूलाई भेट्छु, तिनीहरूलाई के भन्‍ने मलाई थाहै हुँदैन।” साँचो कुरा के हो भने, मैले पनि धेरैपटक यस्तो परिस्थितिको सामना गरेकी छु, र त्यस्ता मानिसहरूको हकमा सफलता पाउन सक्दिनथेँ, तर मैले यस्ता समस्या र असफलताहरूका बारेमा म बिरलै कुरा गर्थेँ वा तिनको बारेमा उल्‍लेख समेत गर्दिनथेँ, किनभने यदि सबैले थाहा पाए भने, तिनीहरूले मलाई योग्य ठान्दैनन् वा आदरका साथ हेर्दैनन् भन्‍ने मलाई डर लाग्थ्यो। मैले सोचेँ, “मैले सुसमाचार प्रचार गर्दाका मेरा सफल अनुभवहरूको बारेमा कुरा गर्नुपर्छ ताकि मैले मेरा कर्तव्यहरूलाई कति राम्ररी पूरा गर्न सक्छु भन्‍ने तिमीहरूले देख्‍न सक।” त्यसकारण मैले भनेँ, “सुसमाचार प्रचार गर्नु कठिन छैन। जब म सुसमाचार सुनाउनुपर्ने मानिसहरूलाई भेट्छु, म तिनीहरूसँग यसरी सङ्गति गर्छु …” मेरो कुरा सुनेपछि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई निकै प्रशंसा गरे। त्यसपछि, जब कसैको साथी वा आफन्तले परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्न चाहन्थे, तब अरूले भन्थे, “तिनीहरूलाई प्रचार गर्न झी पिङ्गलाई पठाउनुहोस्। झी पिङ्गले राम्रो काम गर्नुहुन्छ।” सबैको मनोवृति यस्तो देख्दा मलाई निकै खुशी लाग्यो। चाँडै नै, मलाई धेरै मण्डलीको मलजलको कामको जिम्‍मा लिन सिफारिस गरियो। यसले मलाई झनै घमण्‍डी बनायो, र मैले आफ्‍ना प्रतिभाहरू देखाउने अझै ठूलो मञ्‍च पाएजस्तो लाग्यो। जब मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्ने वा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कार्यमा कठिनाइ हुन्थ्यो र तिनीहरू पछि हट्थे, वा कष्ट भोग्‍न र मूल्य चुकाउन अनिच्‍छुक हुन्थे, म तिनीहरूलाई प्रोत्साहन दिन्थेँ र सुसमाचार प्रचार गर्ने क्रममा मैले कसरी कष्ट भोगेँ भनेर बताउथें। म भन्थें: जब म प्रचार गर्थेँ, कहिलेकहीँ हिउँदको माइनस दश डिग्री जाडो हुन्थ्यो, र चिसो हावाले छुरीले जस्तै घोच्थ्यो, तर त्यस्तो मौसममा पनि, म प्रचार गर्न जान्थेँ। ठूलो झरी पर्दा, खोलाको पानी पुलसम्म आइपुग्थ्यो र मेरो जुत्ता भिज्थ्यो, म मेरो जुत्ताको इनसोलबाट पानी निचोरेर फ्याँक्थें अनि त्यसलाई खल्तीमा हालेर प्रचार गर्न जान्थेँ। एकपटक, माइनस दश डिग्री जाडोमा, म एक जना नयाँ विश्‍वासीलाई भेट्न गएँ, र एक घण्टाभन्दा बढी घरबाहिर पर्खेपछि मात्रै तिनी आए। … जब मेरा दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा सुने, तिनीहरूले मलाई अनुमोदनको दृष्टिले हेरे र कष्ट भोग्‍न सकेकोमा मेरो सराहना गरे, र यस कुराले मलाई खुशी तुल्यायो।

पछि, मेरा अगुवाहरूले मलाई अझै धेरै मण्डलीहरूको मलजलको कामको जिम्‍मा दिए। मैले सोचेँ, “एक-दुई महिनामा नै मलाई फेरि बढुवा गरिएको छ, त्यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई अझै उच्‍च नजरले हेर्नेछन्!” त्यो अवधिमा, म प्रायजसो परमेश्‍वरसँग प्रार्थना गर्थेँ र नयाँ विश्‍वासीहरूलाई मलजल गर्नेसम्बन्धी सत्यताका पक्षहरूद्वारा आफैलाई सुसज्‍जित गर्ने प्रयास गर्थेँ। क्रमिक रूपमा, मैले मेरो कर्तव्यमा अघि बढ्ने मार्ग भेट्टाएँ। मेरो सङ्गति सुन्दा दाजुभाइ-दिदीबहिनीहरू सबैलाई उपयोगी लाग्थ्यो। थाहै नपाई, मेरो अहमता फेरि बढ्न थाल्यो र भेलाहरूमा मैले फेरि आफ्‍नो प्रदर्शन गर्न थालेँ। दाजुभाइ-दिदीबहिनीहरूले मलाई नयाँ विश्‍वासीहरूले उठाउने धार्मिक धारणाहरू कसरी समाधान गर्ने भनेर सोध्दा, म सोच्थेँ, “म तिनीहरूसँग यसबारेमा उचित तरिकाले कुरा गर्नेछु, ताकि सबैले यस क्षेत्रमा रहेको मेरो विशेषज्ञता देख्‍न सकून्।” त्यसपछि मैले विस्तृत रूपमा मेरा विचार र अनुभवहरू बताएँ, अनि बिस्तारै, हरेकले मलाई फरक नजरले हेर्न थाले। मैले भनेको जेसुकै कुरा तिनीहरूले ध्यान दिएर सुन्थे, म जहाँ गए पनि मलाई दाजुभाइ-दिदीबहिनीहरूले स्वागत गर्थे, र मेरो सङ्गति कहिल्यै नसुनेका दाजुभाइ-दिदीबहिनीहरूले समेत मेरो कुरा सुन्‍न चाहन्थे। पछि, मैले सुसमाचार प्रचार र मलजल कार्यमा सामना गरेका आम समस्याहरू लिएँ र सात वटा नियमहरू लेखेँ, अनि यसलाई भेलाहरूमा लगेर दाजुभाइ-दिदीबहिनीहरूसँग ठूलो छलफल गरेँ। त्यो बेला, एक जना सिस्टर थिइन्, जसको श्रीमान गाउँका कार्यकर्ता थिए र परमेश्‍वरमाथिको तिनको विश्‍वासको विरोध गर्थे। तिनले धेरै वटा प्रखर प्रश्‍नहरू उठाएर हाम्रो लागि जानीजानी अवस्था कठिन बनाउँथे, र तिनले तोकेर नै मेरो सङ्गति मागे। म त्यसबारेमा अत्यन्तै चिन्तित थिएँ, तर परमेश्‍वरसँग प्रार्थना गरेर, मैले तिनका हरेक प्रश्‍नको खण्डन गरेँ, र अन्त्यमा, तिनीसँग भन्‍नुपर्ने कुरा केही बाँकी रहेन। त्यसपछि, मैले ती सिस्टरको श्रीमानले सोधेका प्रश्‍नहरूलाई सुसमाचार सुनाउनेसम्‍बन्धी मेरा बारम्‍बार सोधिने प्रश्‍नहरूको सङ्कलनमा समावेश गरेँ। भेलाहरूमा हरेकपटक, मैले जानीजानी यसबारेमा कुरा उठाएर स्पष्ट रूपमा कुरा गर्थेँ, म सक्षम र बुद्धिमानी छु भनी दाजुभाइ-दिदीबहिनीहरूलाई बताउन मेरा सफल अनुभवहरूको प्रयोग गर्थेँ। भेलाहरूपछि, केही दाजुभाइ-दिदीबहिनीहरूले भन्थे, “सिस्टर, तपाईं हामीसँग थप एक दिन बसेर हामीलाई थप सङ्गति दिन सक्‍नुहुन्छ?” मलाई सबैले कसरी आदर गरेका छन् भन्‍ने देखेर, म अत्यन्तै गर्व गर्थेँ। मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म महत्त्वपूर्ण व्यक्ति हुँ र मेरा कर्तव्यहरूमा मैले कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छु भन्‍ने थाहा दिन, मैले यत्तिकै यसो भन्‍ने समेत गर्थेँ, “म धेरै वटा मण्डलीहरूको इन्‍चार्ज हुँ, र मैले अर्को मण्डलीमा भेटघाटको लागि समय पहिले नै मिलाइसकेकी छु। धेरै जना दाजुभाइ-दिदीबहिनीहरूले मलाई पर्खिरहेका छन्। म अत्यन्तै व्यस्त छु, मसँग आराम गर्ने समय पनि छैन। …” मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग बोल्दा, म जानीजानी यसो पनि भन्‍ने गर्थेँ, “हरेकपटक भेलामा जाँदा, पूरै दिन बित्छ। यसभन्दा पहिले मेरो कम्‍मरको हड्डी फुटेको थियो, म यसरी त्यति धेरै बस्‍न सक्दिनँ।” एक जना सिस्टरले यो कुरा सुनेर आदरको साथ भनिन्, “तपाईंले साँच्‍चै कठिन परिश्रम गरिरहनुभएको छ, त्यसकारण तपाईंले आफ्‍नो स्वास्थ्यलाई ध्यान दिनुपर्छ।” मैले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायजसो यसरी नै आफ्‍नो प्रदर्शन गर्ने गरेको हुनाले, मैले मेरा कर्तव्यहरू पूरा गर्दा कष्ट भोग्‍ने र बोझ बोक्‍ने गर्छु भनी तिनीहरू सोच्थे।

त्यो अवधिमा, म भेला र सङ्गतिमा अत्यन्तै व्यस्त हुन्थें, र मेरो हृदय खोक्रो हुन्थ्यो, र केको बारेमा कुरा गर्ने मलाई थाहा हुँदैनथ्यो। तर जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूको आँखामा अपेक्षा देख्थेँ, तब सोच्थेँ, “अहिले दाजुभाइ-दिदीबहिनीहरूले सत्यताको सङ्गति मैले स्पष्ट रूपमा गरेको अनुभव गर्छन्, र म जहाँ गए पनि सबैले मेरै अपेक्षा गर्छन्। यदि मैले तिनीहरूलाई सङ्गति कसरी गर्ने मलाई थाहा छैन भनेँ भने, के तिनीहरूको हृदयमा स्थापित मेरो राम्रो छवि नष्ट हुँदैन र?” त्यसकारण मैले शान्त भएको बहाना गर्थेँ र तिनीहरूलाई नै सुरुमा सङ्गति गर्न लगाउथें। म सोच्थेँ, “सुरुमा, म सबैले के विषयमा कुरा गर्दा रहेछन् त्यो सुन्छु, त्यसपछि तिनीहरूले भनेका कुरालाई सारांशमा बताएर मेरो आफ्‍नो बुझाइ बाँड्नेछु। त्यसले बृहत र स्पष्ट रूपमा मैले सत्यता प्राप्त गरेकी छु भन्‍ने देखाउनेछ।” अन्त्यमा, दाजुभाइ-दिदीबहिनीहरूलाई मैले विस्तृत सङ्गति दिएकी छु भन्‍ने लाग्थ्यो। र म विनम्र भई बोलेको बहाना गर्थेँ, “मैले यो कर्तव्य पाएकी हुनाले, परमेश्‍वरले मलाई फरक तरिकाले अन्तर्दृष्टि दिनुभएको छ।” मैले यो कुरा भन्दा, दाजुभाइ-दिदीबहिनीहरू मप्रति अझै आश्रित भए। त्यो बेला, सुसमाचार प्रचार गर्ने क्रममा तिनीहरूले जे-जस्तो समस्याहरूको सामना गरे पनि, तिनीहरूले प्रार्थना वा खोजी गर्न छोडेका थिए, बरु मैले तिनीहरूसँग सङ्गति गरेर ती समाधान गरिदिएको चाहन्थे। त्यो बेला, मैले प्रशंसा गर्नु र प्रशंसा पाउनुका हानिहरूका बारेमा पनि सोचेँ, र मलाई अलिक असहज लाग्यो, त्यसपछि मैले सोचेँ, “मेरो सङ्गति मैले परमेश्‍वरको वचन बुझ्‍नु र मेरा दाजुभाइ-दिदीबहिनीहरूका लागि अभ्यासको केही मार्ग देखाउनुसँग सम्‍बन्धित छ। यो सबै हाम्रो कामले परिणामहरू हासिल गर्न सकोस् भनेर हो। यसमा कुनै गल्ती छैन।” त्यसकारण ती चिन्ता र तनाव मेरो मनमा झलक्‍क मात्रै आउँथे। तर म मेरो कर्तव्य पूरा गर्न जोस र उत्साहले भरिएको मात्रै के थिएँ, धेरै वर्षसम्‍म देखा नपरेको मेरो छालाको रोग अचानक बल्झियो। मेरो हात, नाडी, र अनुहारमा समेत डाब्राहरू देखा परेका थिए। यो अत्यन्तै चिलाउथ्यो, यसले मलाई यति असहज तुल्यायो कि म भेलाहरूमा समेत जान सक्‍दिनथेँ। मैले धेरै किसिमका औषधि प्रयोग गरेँ, तर केहीले पनि काम गरेन। यसपटक, पहिलेको भन्दा खराब भएको थियो। यो समस्या संयोगबस आएको होइन, र यसबाट पाठ सिक्‍नुपर्ने छ भन्‍ने कुरा मलाई महसुस भयो। म परमेश्‍वरकहाँ गएँ र प्रार्थना गरेँ, तर त्यो बेला, मेरो समस्या के हो भन्‍ने मलाई थाहा थिएन।

पछि, मेरा अगुवाहरूले मलाई सुसमाचार प्रचार गर्ने एकदुई जना दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरेर तिनीहरूको समस्या समाधान गर्ने बन्दोबस्त गरे। र मलाई लाग्यो, “मैले काम गर्ने मेरो क्षमता देखाउनको लागि तिनीहरूसँग राम्रो काम गर्नुपर्छ।” त्यसपछि, मैले मिटिङमा रिपोर्ट प्रस्तुत गर्ने कम्पनी प्रबन्धकजस्तै व्यवहार गरिरहेकी थिएँ। मैले तिनीहरूसँग सुसमाचार प्रचार गर्दा सङ्गति गर्नुपर्ने मुख्य बुँदाहरूलाई कसरी बुझ्‍ने, सुसमाचार प्रचार गर्दा आउने आम समस्याहरू कसरी समाधान गर्ने भनी सङ्गति गरेँ। दाजुभाइ-दिदीबहिनीहरूले ध्यान दिएर सुने। कतिले त मैले भनेको कुरा छुटाउने डरले निरन्तर नोट पनि लेखिरहेका थिए, हामीलाई बास दिने सिस्टरले पनि ढोकामा बसेर ध्यान दिएर सुनिन्, अनि मलाई बेलाबेलामा पानी ल्याएर दिइन्। सबैले मेरो सङ्गति धेरै मन पराएको देख्दा मलाई निकै रमाइलो लाग्यो। तर त्यो बेला, मलाई अलिक असहज लागेको थियो। यो सबै व्यक्तिगत बुझाइ मात्रै थियो, त्यसैले गल्तीहरू हुनु अपरिहार्य नै थियो, त्यसकारण के मैले भनेको कुरा सबैले लेख्‍नु उचित थियो त? तर त्यसपछि मैले सोचेँ, “दाजुभाइ-दिदीबहिनीहरूले केही राम्रो अभ्यासको बारेमा लेख्‍न मात्रै चाहेका हुन सक्छन्, जसले तिनीहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्दा सहयोग गर्छ। त्यसो गर्नु कुनै गलत कार्य हुन सक्दैन।” यसबारेमा यसरी विचार गरेपछि, मैले मानिसहरूलाई भेलाहरूमा नोट लिन दिने निर्णय गरेँ। भोलिपल्‍टको भेलामा, एक जना सिस्टरले फेरि आएर भनिन्, “हिजो मैले सिस्टर झी पिङ्गको सङ्गतिमा नोट लेखिन, त्यसकारण म आज फेरि सुन्‍नेछु।” भेला सकिएपछि, मैले दुई जना सिस्टरहरूले एकअर्कासँग कुरा गरिरहेको सुनेँ। एक जनाले भनिन्, “तपाईंले नोट लेख्‍नुभयो त?” अर्की सिस्टरले गुनासो गर्दै भनिन्, “तपाईंले किन नोट लेख्‍नुभएन?” यो कुरा सुन्दा, मलाई अलिक डर लाग्यो: “यदि सबैले मेरा वचनहरूलाई यति महत्त्वपूर्ण ठान्छन् भने, के मैले मानिसहरूलाई मेरै अघि ल्याइरहेकी छैनँ र?” मैले यसबारेमा जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो, त्यसकारण म घर गएँ र परमेश्‍वरलाई प्रार्थना गर्दै मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफूलाई चिन्‍न सकूँ भनेर अनुरोध गरेँ।

मैले परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड पढेँ: “मानिसहरूले आफूलाई उच्‍च ठानून् भन्‍ने प्रयास गर्दै आफ्नै बढाइ गर्ने र गवाही दिने, तडकभडक देखाउने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र गवाही दिन्छन्? तिनीहरूले यो लक्ष्य कसरी प्राप्त गर्छन्? एउटा तरिकाचाहिँ तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले कति धेरै काम गरेका छन् र तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन् भनेर गवाही दिनु हो। तिनीहरूले यी कुराहरूलाई व्यक्तिगत पुँजीको रूपमा बताउँछन्। अर्थात्, यसले तिनीहरूलाई मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ भनेर तिनीहरूले यी कुराहरूलाई आफैँलाई उच्‍च गराउने पुँजीको रूपमा प्रयोग गर्छन्, ताकि अधिक मानिसहरूले तिनीहरूलाई सम्मान, प्रशंसा र आदरका साथसाथै श्रद्धा, पूजा र अनुसरण समेत गरून्। त्यो अन्तिम प्रभाव हो। यो लक्ष्य प्राप्त गर्न तिनीहरूले गर्ने कुराहरू—आफैँलाई उच्‍च पार्ने र आफ्नै गवाही दिने सबै कुराहरू—उचित छन् त? अहँ छैनन्। तिनीहरू तर्कशक्तिको क्षेत्रबाहिर छन्। यी मानिसहरूमा शरम छैन: तिनीहरूले परमेश्‍वरको निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुरा कुनै शरमविना तिनीहरूले गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव र विशेष सिपहरू वा आफूलाई संचालन गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू र मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरूको तडकभडक पनि देखाउँछन्। आफैँलाई उच्च पार्ने र आफ्नै गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र असफलताहरू लुकाउँदै ढोंग गर्छन् र भेष बदल्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्‍ने र संगति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा परमेश्‍वरको घरलाई पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधरण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरूको आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने तरिका होइन र?” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्”)। “ओह्रालो लाग्ने सबैले आफैलाई उच्च पार्दछन् र आफ्नै साक्षी दिन्छन्। तिनीहरू आफ्नै विषयमा घमण्ड गर्दै र आफ्नै बढाइचढाइ गर्दै हिँड्छन्, अनि तिनीहरूले परमेश्‍वरलाई आफ्नो हृदयमा राखेका हुँदैनन्। कै मैले बताएको कुराको बारेमा तिमीहरूसँग कुनै अनुभव छ? धेरै मानिसहरूले निरन्तर आफ्नै गवाही दिइरहेका हुन्छन्: ‘मैले यो र त्यो तरिकाले कष्ट भोगेको छु; मैले यो अनि त्यो काम गरेको छु; परमेश्‍वरले मसँग यस्तो वा त्यस्तो तरिकाले व्यवहार गर्नुभएको छ; उहाँले मलाई यस्तो र त्यस्तो कार्य गर्न लाउनुभयो; उहाँले मलाई विशेष रूपमा आदरको नजरले हेर्नुहुन्छ; अहिले म यस्तो र त्यस्तो छु।’ तिनीहरूले जानी-जानी निश्चित सोरमा बोल्छन् र निश्चित हाउभाउहरू अपनाउँछन्। अन्त्यमा, कतिपय मानिसहरूले यिनीहरूलाई नै परमेश्‍वर हुन् भनी सोच्न थाल्छन्। एक पटक तिनीहरू यस्तो स्थितिमा पुगेपछि, पवित्र आत्माले तिनीहरूलाई धेरै पहिले नै त्यागिसक्नुभएको हुन्छ। यस बीच, तिनीहरूलाई बेवास्ता गरिने, र निष्कासन नगरिने भए पनि, तिनीहरूका भाग्य निश्चित गरिएको हुन्छ, र तिनीहरूले गर्न सक्ने भनेको आफ्नो दण्ड पर्खेर बस्नु मात्र हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्”)। परमेश्‍वरको वचनले मेरो स्थितिलाई सटीक रूपमा प्रकट गर्यो। मैले बारम्‍बार यसरी नै आफैलाई उचाल्‍ने र आफ्‍नो प्रदर्शन गर्ने गर्थेँ। जब मैले सुरुमा नयाँ मण्डलीमा काम सुरु गरेँ, मलाई आफू अपरिचित र निरर्थक हुँ जस्तो लाग्यो, त्यसकारण अरूले मलाई आदर गरून् र पछ्याऊन् भन्‍ने मौकाको रूपमा मैले सुसमाचार प्रचार गर्नेबारेमा सोचेँ। सबैलाई काम गर्ने मेरो क्षमता देखाउन र मलाई नयाँ नजरले हेरून् भनेर देखाउन, मैले असफलतासम्‍बन्धी मेरा आफ्‍नै अनुभवहरूका बारेमा बताउँदिनथेँ, बरु, मानिसहरूलाई भ्रममा पार्न र म जे पनि गर्न सक्‍ने क्षमताकी छु भन्‍ने सोच्‍न लगाउन मैले कसरी सुसमाचार प्रचार गर्थेँ, मैले कति जना मानिसहरूलाई विश्‍वासमा ल्याएँ, र कठिन समस्याहरू कसरी समाधान गर्ने भन्‍नेबारेमा धेरै कुरा गर्थेँ। मलाई बढुवा गरिएपछि, मलाई झन् धेरै मानिसहरूले आदरका साथ हेरून् र आफ्नो हृदयमा मलाई ठाउँ दिऊन् भन्‍ने चाहना गरेँ, त्यसकारण मैले सधैँ मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म कति व्यस्त छु र मैले कस्तो कष्ट भोगेकी छु भन्‍नेबारेमा बताउथें। तर मैले सत्यताको खोजी गर्न सक्छु, मूल्य चुकाउन सक्छु, र मेरा कर्तव्यहरूमा बोझ उठाउन सक्छु भनेर मानिसहरूले सोचून् भनेर म आफ्‍नै कमजोरी र भ्रष्टताको बारेमा कहिल्यै कुरा गर्दिनथेँ। के यो कार्य मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिनु थिएन र? ठूलो रातो अजिङ्गरले अरूले यसलाई आदर गरून् र पछ्याऊन् भनेर निरन्तर “महान्, वैभवपूर्ण, र सही” छविको प्रचार गर्छ, तर, यसले संसारका मानिसहरूलाई छल गर्ने माध्यमका रूपमा गुप्त रूपमा गर्ने दुष्ट कुराहरूलाई हरप्रकारले ढाकछोप गर्छ। मैले जे गरिरहेकी थिएँ त्यो र ठूलो रातो अजिङ्गरले गरेको कुरामा के नै भिन्‍नता थियो र? परमेश्‍वरले मलाइ सुसमाचार प्रचार गर्ने वरदान र प्रतिभाहरू दिनुभएको थियो, ताकि मैले सुसमाचारको पहुँच विस्तारित गर्न आफ्‍नो भागको काम गर्न सकूँ र धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सकूँ, र तिनीहरूले उहाँको मुक्ति पाउन सकून्। तर मैले हरठाउँमा आफ्‍नो प्रदर्शन गर्न र आफैलाई देखाउन यी वरदान र प्रतिभाहरूलाई पूँजीको रूपमा प्रयोग गरेँ र दाजुभाइ-दिदीबहिनीहरूले मलाई गर्ने सम्‍मान र आराधनामा आनन्द लिएँ। म कति लाज पचेकी थिएँ। मैले आफैलाई निरन्तर रूपमा उचाल्‍ने र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिने गरेकी हुनाले, समस्याहरू आइपर्दा तिनीहरूले खोजी वा प्रार्थना गर्ने गर्दैनथे, बरु तिनलाई समाधान गर्न मसँग सङ्गति गर्थे। के मैले परमेश्‍वरको स्थान लिने प्रयास मात्रै गरिरहेकी थिइनँ र? मैले परमेश्‍वरको विरोध गरिरहेकी थिएँ! यसबारेमा विचार गर्दा मलाई निकै डर लाग्यो। म परमेश्‍वरको अघि गएर घुँडा टेकेँ अनि प्रार्थना गर्दै रोएँ, “हे परमेश्‍वर, मैले गलत काम गरेँ। मैले अरूलाई मेरो आराधना गर्न लगाउन आफैलाई उचालेँ र आफ्‍नो प्रदर्शन गरेँ। म तपाईंलाई विरोध गर्ने र मुक्त हुन नसकिने मार्गमा हिँडेँ। म पश्‍चात्ताप गर्न चाहन्छु।”

त्यसपछि मैले आफ्‍नै बारेमा मनन गरेँ। मेरो सङ्गतिमा प्राप्त ज्योति पवित्र आत्‍माको अन्तर्दृष्टि हो भन्‍ने कुरा मलाई राम्ररी थाहा थियो, तर पनि मैले किन अनजानमा आफ्‍नो प्रदर्शन गरेँ र आफ्‍नो धाक लडाएँ? पछि, मैले परमेश्‍वरको यो वचन पढेँ, “केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। “मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्‍बार परमेश्‍वरको आज्ञा उल्लङ्घन र विरोध गर्छन्, उहाँका वचनहरूमा ध्यान दिँदैनन्, उहाँको विषयमा धारणाहरू उत्पन्‍न गर्छन्, उहाँलाई धोका दिने कुराहरू गर्छन्, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्‍ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौं तँलाई एउटा मण्डली दिइयो र त्यसको नेतृत्व गर्ने अनुमति दिइयो; मानौं मैले तँलाई निराकरण गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई छिँवलेन: त्यसलाई केही समय नेतृत्व गरिसकेपछि तैँले मानिसहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तिनीहरूलाई तेरो अधीनमा बस्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। तैँले यो कुरा अरूबाट सिक्‍नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा तँलाई यसो गर्न बाध्य गर्नु आवश्यक हुँदैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै आउँछ। तैँले गर्ने सबै कुरा मानिसहरूलाई तेरो सामु अधीनमा बस्‍ने, तेरो आराधना गर्ने, तेरो गुणगान गर्ने, तेरो विषयमा गवाही दिने, र सबै कुरामा तेरो कुरा सुन्‍ने बनाउनु हो। तँलाई अगुवा बनाएको तथ्यले नै स्वभाविक रूपमा यस्तो परिस्थिति ल्याउँछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन। अनि यस्तो परिस्थिति कसरी आउँछ? यो कुरा मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरू यस्ता कार्यहरू गर्न सक्षम हुनुको अर्थ तिनीहरूका अहङ्कार प्रकृतिको शैतानको जस्तो भएको छ भन्ने हुन्छ; यो प्रधान स्वर्गदूतको जस्तो छ। जब तिनीहरूको अहङ्कार र स्व-महत्त्व एक निश्चित तहमा पुग्दछ, तब तिनीहरू प्रधान स्वर्गदूत बन्छन् र परमेश्‍वरलाई पन्छ्याइनैपर्छ। यदि तँमा त्यस्तो अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो”)। परमेश्‍वरका वचनहरूबाट मैले मेरो प्रकृति अत्यन्तै अहङ्कारी र आत्म-धर्मी छ भन्‍ने थाहा पाएँ। म आराधना र आदर पाउन चाहने पावलजस्तै थिएँ। सुरुमा, मैले आफ्‍नो कर्तव्य राम्ररी गर्न मात्रै चाहन्थेँ, तर म मेरो अहङ्कारी र आत्म-धर्मी प्रकृतिद्वारा नियन्त्रित थिएँ, त्यसकारण, मैले थाहै नपाई आफ्‍नो प्रदर्शन गरेँ र धाक लगाएँ। मेरा वचनहरूमा मेरा अभिप्राय र उद्देश्यहरू समावेश छन् भन्‍ने मलाई थाहा भए पनि, मैले आफ्‍ना महत्वाकांक्षा र इच्‍छाहरूलाई कहिल्यै नियन्त्रण गर्न सकिनँ। म सधैँ आदर र प्रशंसा पाउन चाहन्थेँ। सानो हुँदा, मलाई मेरो परिवारको ध्यान पाउने बानी परेको थियो, र म ठूलो भएपछि, म व्यापारमा लागेँ र प्रसिद्ध महिला उद्यमी बनेँ। घरमा र काममा, मैले नै सधैँ अन्तिम निर्णय गर्थेँ। जहाँ गए पनि, म अरूको प्रशंसा र आदर सुन्थें, र म चम्किलो ताराजस्तो हुनु र सबैको साथ पाउनुको अनुभवमा रमाउथें। परमेश्‍वरमा विश्‍वास गरेपछि, मलाई मण्डलीमा साधारण र अज्ञात रहेर बस्दा कहिल्यै सन्तुष्टि मिल्दैनथ्यो। म सधैँ अरूलाई मेरो आदर गर्न र उच्‍च नजरले हेर्न लगाउन अवसरहरू खोज्थें। पावलको प्रकृति विशेष गरी अहङ्कारी थियो, र तिनी अरूले तिनको सधैँ आराधना र आदर गरेको चाहन्थे, त्यसकारण तिनी जहाँ गए पनि तिनले कति धेरै काम गरे र कति धेरै कष्ट भोगे भन्‍नेबारेमा धाक लगाउँथे। तिनले आफ्‍ना पत्रहरूमा कहिल्यै ख्रीष्‍टको गवाही दिएनन्। बरु, मण्डलीलाई साथ दिने नाममा तिनले आफैलाई उचाले, र पछि, तिनले कुनै लाज नमानी आफू ख्रीष्‍टको रूपमा जिएको भनी गवाही दिए। विश्‍वासीहरूले तिनलाई आराधना गरे, उचाले, र मापदण्डको रूपमा प्रयोग गरे, अनि तिनका वचनहरूलाई परमेश्‍वरका वचनहरूका रूपमा समेत लिए। यो यति हदसम्‍म पुगेको छ कि आज २,००० वर्षपछि, धेरै जना धार्मिक विश्‍वासीहरू पावलका वचनहरूमा टाँस्‍सिइरहन्छन् र परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न मान्दैनन्। पावलले मानिसहरूलाई आफ्‍नै अघि ल्याए, जसले परमेश्‍वरको स्वभावलाई चिढ्यायो, र तिनलाई परमेश्‍वरले दण्ड दिनुभयो। अहिले, म पनि अहङ्कारी र आत्म-धर्मी भएकी थिएँ र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “अरूभन्दा असल बन,” र यस्तै शैतानी विचार र दृष्टिकोणहरूद्वारा जिएकी थिएँ। म सधैँ अरूभन्दा माथि उठ्न, आफ्‍नो धाक लगाउन, र मेरो प्रतिभा प्रदर्शन गर्न चाहन्थेँ। यसले गर्दा मेरा दाजुभाइ-दिदीबहिनीहरूले समस्या पर्दा मेरो कुरा मात्रै सुन्थे, मैले जे भने पनि मान्थे, मेरो सङ्गतिमा पूरा नोट नलिँदा त्यसलाई कसरी पूर्ति गर्ने भनेर उपाय सोच्थे, र मैले बोलेको रेकर्ड समेत गर्थे, किनभने तिनीहरू मेरो कुरालाई परमेश्‍वरका वचनहरूभन्दा महत्त्वपूर्ण ठान्थे। त्यस्तो अवस्था पनि, मैले आफ्‍नो बारेमा मनन गरिनँ। बरु, मैले आफूलाई आदर प्राप्त गर्नुको सुखभोगमा डुबाइरहेँ। म अत्यन्तै अहङ्कारी र लाज पचेकी थिएँ! मसँग मेरो आफ्‍नै पहिचानको कुनै ज्ञान थिएन। म एक सृष्टि गरिएको प्राणी हुँ, शैतानद्वारा भ्रष्ट तुल्याइएको मानव हुँ भन्‍ने मैले बुझेकी थिइनँ, मैले कुनै लाज नमानी आफैलाई उच्‍च स्थानमा राखेँ। अरूको हृदयमा मेरो निम्ति स्थान होस्, तिनीहरूले मेरै कुरा सुनून् र मलाई समर्थन गरून् भन्‍ने म चाहन्थेँ। र मैले आफ्‍नो प्रदर्शन गरिरहेकी हुनाले, मेरा दाजुभाइ-दिदीबहिनीहरूले आफ्‍नो हृदयमा मलाई ठाउँ दिएका थिए। तिनीहरूले मलाई जति धेरै आदर गरे, म परमेश्‍वरबाट त्यति नै टाढा गएँ। के मैले मानिसहरूको लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेकी थिइनँ र? मैले राज्यको युगको पहिलो प्रशासनिक आदेशको बारेमा सोचेँ, “मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश”)। मानिसहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, त्यसैले हामीले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई सबैभन्दा उच्‍च आदर गर्नुपर्छ, तर मैले मानिसहरूलाई मलाई आदर गर्न, कदर गर्न, र सबैभन्दा उच्‍च ठान्‍न लगाएकी थिएँ। के मैले यो प्रशासनिक आदेशलाई उल्‍लङ्घन गरिरहेकी थिइनँ र? त्यो बेला, मलाई अत्यन्तै डर लाग्यो। अरूले मलाई आराधना र आदर गरून् भनेर आफ्‍नो प्रदर्शन गर्नुको गम्‍भीर प्रकृतिलाई मैले थाहा पाएँ। यदि मैले यो कार्यलाई जारी राखेकी भए, म पनि पावलजस्तै दण्डित हुनेथेँ! परमेश्‍वरले मलाई मेरो रोगद्वारा अनुशासनमा राखिरहनुभएको थियो। म बरालिएकी छु भनेर उहाँले मलाई रोगद्वारा चेतावनी दिइरहनुभएको थियो। यो मेरो लागि परमेश्‍वरको मुक्ति थियो!

पछि, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो, “परमेश्‍वरले उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानिस उहाँको सृष्टि हो भनेर भन्‍नुभए पनि, यसले दर्जामा केही भिन्नता देखाए पनि, परमेश्‍वरले मानवजातिको निम्ति गर्नुभएका सबै कुराहरू वास्तवमा यस प्रकारको सम्बन्धभन्दा धेरै माथि छन्। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नुहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्‍ने महसुस गर्नुहुन्‍न। न त उहाँले मानवजातिलाई बचाउने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठूलो योगदान गरिरहेको छ भन्‍ने नै ठान्‍नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ त्यस मार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्‍वरले कहिल्यै पनि त्यसको श्रेय लिने बारेमा सोच्‍नुहुन्‍न वा श्रेय लिने कोसिस गर्नुहुन्‍न। यसको निर्धारण परमेश्‍वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्‍वरको स्वभावको साँचो अभिव्यक्ति हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १”)। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिसहरूलाई शैतानको बन्धनबाट मुक्त गर्नको लागि, परमेश्‍वर मानिसहरूको बीचमा काम गर्न व्यक्तिगत रूपमा नै देहधारी हुनुभयो, र मानिसहरूको दोषारोपण र निन्दा सहनुभयो। परमेश्‍वरले मानवजातिको लागि सबै कुरा बलिदान गर्नुभयो, तैपनि उहाँले कहिल्यै धाक लगाउनुभएन। मानिसहरूसँग अन्तरक्रिया गर्ने क्रममा, उहाँले परमेश्‍वरको पहिचानको प्रयोग गरी कहिल्यै फाइदा लिनुभएन। उहाँले चुपचाप हामीलाई सत्यता र जीवन दिनुभयो। मैले परमेश्‍वरको सार सुन्दर र असल छ, र उहाँ नम्र र गुप्त हुनुहुन्छ, र उहाँमा कुनै अहङ्कार वा घमण्ड छैन भन्‍ने देखेँ। तर, म पहिले केही पनि नभएको अनि शैतानद्वारा भ्रष्ट तुल्याइएको व्यक्ति थिएँ, तैपनि परमेश्‍वरले मलाई उत्थान गरेर कर्तव्य दिनुभयो, र उहाँले मेरो कर्तव्यको अवधिमा अगुवाइ र अन्तर्दृष्टि दिनुभयो, तर जता गए पनि मैले यसलाई प्रदर्शन गर्ने पूँजीको रूपमा प्रयोग गरेँ, ताकि मैले मानिसहरूको हृदयमा उच्‍च छवि बसाल्‍न र तिनीहरूको आदर र सम्‍मान प्राप्त गर्न सकूँ। म अत्यन्तै लाजविहीन थिएँ, र परमेश्‍वरको नजरमा अत्यन्तै घृणित र खराब थिएँ। म परमेश्‍वरको अघि गएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, म गलत रहेछु। म तपाईंको अगि मेरा पापहरू स्वीकार गरेर पश्‍चात्ताप गर्न चाहन्छु। म अबदेखि आफ्‍नो प्रदर्शन गर्न चाहन्‍नँ। म बिन्ती गर्छु, मलाई अगुवाइ गर्नुहोस् र मेरो भ्रष्ट स्वभावलाई समाधान गर्न मार्ग देखाउनुहोस्।”

मैले परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड पढेँ: “व्यक्तिले आफूलाई उच्‍च नबनाउन र आफ्नै गवाही नदिनका लागि के गर्नुपर्छ? उही मामिलामा, यदि तँ आफ्नो सान देखाउँछस् भने तैँले आफैलाई उच्‍च पार्ने र आफ्नै गवाही दिने र अरूमा आफूप्रतिको आदर जागृत गराउने तेरो लक्ष्य हासिल गर्नेछस्—तर यदि तँ आफैलाई खुलस्त बनाउँछस् र आफ्नो वास्तविक व्यक्तित्व उदाङ्गो पार्छस् भने, त्यसको सार फरक हुन्छ। यो सुक्ष्म विवरणमा भर पर्ने कुरा हो, होइन र? उदाहरणका लागि, जब तँ आफ्ना प्रेरणा र विचारहरू उदाङ्गो पार्छस्, तैँले तेरो शब्द-चयन र आफैलाई अभिव्यक्त गर्ने तरिकाहरू आत्म-ज्ञानका हुन् कि अरूले तँलाई सम्मान गरून् भनी आफ्नै प्रशंसा गर्ने, आफैलाई उचाल्ने र आफ्नै साक्षी दिने तरिकाहरूका हुन्, सो भिन्‍नता छुट्ट्याउन सक्‍नुपर्छ। यदि तैँले कसरी प्रार्थना गरिस् र सत्यको खोजी गरिस्, परीक्षाहरू हुँदै जाँदा कसरी गवाही बनेर खडा भइस् भनी वर्णन गरिस् भने, यो परमेश्‍वरको बढाइ गरेको र उहाँको गवाही दिएको हुन्छ। यस्तो व्यवहार गर्नु भनेको सान देखाउनु वा आफ्नै गवाही दिनु होइन। तैँले आफैलाई उचाल्दैछस् कि छैनस्, आफ्नै गवाही दिइरहेको छस् कि छैनस् त्यो मुख्य रूपले तैँले भनेको कुरा साँच्‍चै तैँले अनुभव गरेको छस् कि छैनस्, र परमेश्‍वरलाई दिएको गवाहीको प्रभाव हासिल भएको छ कि छैन भन्‍ने कुरामा निर्भर गर्छ; त्यसै गरी, तैँले आफ्ना अनुभवहरू र गवाहीको कुरा गर्दा तेरा अभिप्राय र उद्देश्यहरू के हुन् भनेर हेर्नु पनि आवश्यक हुन्छ। यी सबै कुराले फरक बताउन सजिलो बनाउँछ। जब तँ आफैलाई खुलासा र चिरफार गर्छस्, तब त्यसमा तेरा अभिप्राय पनि सामेल हुन्छ। यदि तेरो अभिप्राय तेरो भ्रष्टता कसरी प्रकट भयो, अनि तँ कसरी परिवर्तन भएको छस् भनी सबैलाई देखाउनु, र अरूलाई यसबाट लाभ उठाउन दिनु हो भने, तेरा कुराहरू गम्भीर र सत्य हुन्छन्, र तथ्यहरूसँग मेल खाने हुन्छन्। त्यस्ता अभिप्रायहरू सही हुन्छन्, र तैँले सान देखाइरहेको वा आफ्नै गवाही दिइरहेको हुँदैनस्। यदि तेरो अभिप्राय तैँले अनुभव गरेका कुराहरू, र तँ परिवर्तन भएको र तँमा सत्य वास्तविकता रहेको तथ्य सबैलाई देखाउनु र त्यसमार्फत तिनीहरूको प्रशंसा र सम्मान प्राप्त गर्नु हो भने, यी अभिप्रायहरू गलत छन्—र यस्ता अभिप्रायहरूलाई पर्दाफास पनि गर्नुपर्छ। यदि तैँले बताएका अनुभव र गवाहीहरू झुटा छन् भने, यदि तिनलाई संशोधित गरिएको छ, र मानिसहरूलाई भ्रममा पार्न, तिनीहरूलाई तेरो वास्तविक रूप देख्‍नबाट रोक्‍न, तेरा अभिप्रायहरू, भ्रष्टता, कमजोरी, वा नकारात्मकता अरूको सामु पर्दाफास हुन नदिने गरी तयार पारिएको छ भने, त्यस्ता शब्दहरू छलपूर्ण र कपटपूर्ण हुन्छन्; यो झुटो गवाही हो, यो परमेश्‍वरलाई धोका दिनु हो, यसले परमेश्‍वरको बदनाम गराउँछ, र यही कुरालाई परमेश्‍वरले सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यी अवस्थाहरूबीच स्पष्ट भिन्‍नताहरू हुन्छन्, र यो भिन्‍नता अभिप्रायको आधारमा छुट्ट्याइन्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्”)। “परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने बारेमा नै धेरै कुरा गर्नुपर्दछ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै सहेका छौ, र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ; तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, जुन साँचो हुन्छ र हृदयबाट निस्केको हुन्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूले ती देख्दा तिनको सराहना गर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, यदि म आफूलाई उचाल्‍न र आफ्‍नो गवाही दिन छोड्न चाहन्छु भने, म प्रायजसो परमेश्‍वरको उपस्थितिमा जिउनुपर्छ, मसँग परमेश्‍वरको डर मान्‍ने भक्त हृदय हुनुपर्छ, मेरा दाजुभाइ-दिदीबहिनीहरूका अघि मेरो हृदय खोल्‍नुपर्छ, सचेत रूपमा मेरो भ्रष्टतालाई खुलासा गर्नु र विश्‍लेषण गर्नुपर्छ, र मेरा वास्तविक अनुभवहरूका बारेमा कुरा गर्नुपर्छ। आफूलाई उचाल्‍न र आफ्‍नो गवाही दिन मन लाग्दा, मैले आफूलाई त्याग्‍नुपर्छ र मेरा अभिप्रायहरूलाई ठीक गर्नुपर्छ। मैले आफूमा भएको भ्रष्टता र विद्रोहलाई अझै बारम्‍बार खुलासा र विश्‍लेषण गर्ने गर्नुपर्छ, र उहाँको न्याय, सजाय, परीक्षा, र शोधनको अनुभव गरिसकेपछि परमेश्‍वरको कामसम्‍बन्धी मेरो ज्ञानको बारेमा सङ्गति गर्नुपर्छ। म अझै धेरै हृदयबाट बोल्‍नुपर्छ, ताकि मेरा दाजुभाइ-दिदीबहिनीहरूले यसबाट लाभ प्राप्त गर्न सकून् र मेरो सच्‍चा पक्षलाई देख्‍न सकून्। मैले अभ्यासको मार्ग पाएपछि, मैले यो अवधिमा अनुभव गरेको कुरा र बुझाइलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूको अघि भेलामा खुलस्त भएर बताएँ, र मेरो सङ्गतिमा आउने थोरै ज्योति पूर्ण रूपमा पवित्र आत्माको अन्तर्दृष्टिबाट आएको हो, मेरो वास्तविक कदबाट होइन भनेर बताएँ। परमेश्‍वरको अगुवाइविना, मैले केही पनि गर्न सक्दिनथेँ। तिनीहरूले पनि मलाई आराधना र आदर गर्नु गलत हो भन्‍ने थाहा पाए, र भविष्यमा मानिसहरूलाई कहिल्यै पनि महान् ठान्‍नेछैनौं भनी भने। समस्या पर्दा पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गर्न परमेश्‍वरसँग प्रार्थना गर्छौं र उहाँको अगुवाइ खोज्छौं भनेर पनि तिनीहरूले भने। पछि, म भेलाहरूमा हुँदा, कहिलेकहीँ मैले राम्ररी नबुझेका समस्याहरूको सामना गर्थेँ, तर मैले मेरो अहम्‌लाई त्यागेर मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग खुलस्त भई खोजी गर्न सक्थेँ। यो कुरा सुनेपछि, तिनीहरूले पनि आफ्‍नै बुझाइ र ज्ञानको बारेमा, कहिलेकहीँ मैले नबुझेका कुराहरूको बारेमा सङ्गति गर्न सके, जुन मेरो लागि अत्यन्तै उपयोगी हुन्थ्यो। तिनीहरूले मलाई पहिले जस्तो आराधना गर्न छोडे, र ममा भएका समस्याहरू देख्दा, तिनीहरूले सीधै औंल्याउन सक्थे। एकपटक मलाई फेरि आफूलाई उचाल्‍न र धाक लगाउन मन लाग्यो, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँको निरीक्षणलाई स्वीकार गरेँ, यसको साथै, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मन खोलेँ, अनि तिनीहरूलाई मेरा कमीकमजोरी र त्रुटीहरूको बारेमा बताएँ, र तिनीहरूको रेखदेखलाई स्वीकार गरेँ। यसरी अभ्यास गर्दा मलाई सुरक्षित र सहज महसुस भयो, र मैले सत्यता अभ्यास गर्नुको मिठासलाई पनि चाखेँ। मैले मेरो अहङ्कारी प्रकृति र मैले लिएको गलत मार्गलाई चिनेपछि, मैले परमेश्‍वरसँग पश्‍चात्ताप गरेँ। मेरो छालाको रोग बिस्तारै हटेर गयो, र म अलिअलि गर्दै निको भएँ।

परमेश्‍वरको अनुशासन र ताडना अनुभव गरिसकेपछि, मैले परमेश्‍वरको धर्मी स्वभाव अत्यन्तै स्पष्ट र वास्तविक छ भन्‍ने अनुभव गरेँ, र मैले केही कष्ट भोगेकी भए पनि, परमेश्‍वरको अभिप्राय भनेको मेरो शैतानी स्वभावबाट मलाई बचाउनु थियो, र यसले मलाई परमेश्‍वरको प्रेम अत्यन्तै वास्तविक छ भन्‍ने देखायो। मलाई दुष्कर्म गर्नबाट रोक्‍ने र खतराको मुखबाट पछाडि तानी ल्याउने परमेश्‍वरको न्याय, सजाय, अनुशासन, र ताडना थियो। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

कठिन समयहरूमा परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए

त्यो बेला, मसँगै धेरै जना सिस्टरहरूलाई “श्रमद्वारा पुनर्शिक्षा” कार्यक्रमको सजाय दिइएको थियो। हामीले दैनिक रूपमा धेरै समय काम गर्नुपर्थ्यो,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्