सुसमाचार सुनाउने सही मानसिकता

25 फेब्रुअरी 2023

एकपटक, एक जना ब्रदरले मलाई उनकी बहिनी ली पिङ सानैदेखि विश्‍वासी हुन्, र तिनले वर्षौँदेखि प्रभुको लागि उत्साहका साथ काम गर्दै आएकी छिन्, र तिनी साँचो विश्‍वास गर्छिन् भनेर भने। मैले तिनलाई सुसमाचार सुनाएको उनी चाहन्थे। म खुसीसाथ राजी भएँ। तर मैले ली पिङसँग कुरा गर्दा, तिनले खडा भएर हडबडाउँदै भनिन्, “हाम्रा पाष्टरले भनेका छन्, आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउन झूटा ख्रीष्टहरू देखा पर्नेछन्, र प्रभुको पुनरागमनको कुनै पनि खबर झूटो हो। तपाईं पूर्वीय ज्योतिको प्रचार गर्दै हुनुहुन्छ। म तपाईंको कुरा सुन्‍नेछैनँ। हामी अरू विषयमा कुरा गर्न सक्छौँ, तर मसँग विश्‍वासबारे कुरा नगर्नुहोस्।” पाष्टरका अफवाह र झूटहरूद्वारा तिनी गहनरूपमा भ्रममा परेकी छिन् भन्‍ने देखेपछि, मैले तिनलाई यसो भन्ने प्रयास गरेँ, “सिस्टर, तपाईंलाई ‘पूर्वीय ज्योति’ ले केलाई जनाउँछ थाहा छ? प्रभु येशूले स्पष्टै अगमवाणी गर्नुभएको छ, ‘किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। ‘पूर्वीय ज्योति’ ले परमेश्‍वरका काम र वचनहरूलाई जनाउँछ। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यता पूर्वमा देखापर्ने ठूलो ज्योतिजस्तै हुन्, यहीँबाट ‘पूर्वीय ज्योति’ नाम आएको हो। सत्यताको यो ज्योति पूर्वदेखि पश्चिमसम्‍म चम्किसकेको छ। प्रभुको अगमवाणी पूर्णरूपमा पूरा भएको छ। पूर्वीय ज्योति नै प्रभुको आगमन र काम हो कि होइन भनेर जाँचौँ न।” तिनले मेरो कुरा सुन्दै सुनिनन्, र भनिन्, “हाम्रा पाष्टरले भनेका छन्, यदि कसैले हाम्रोभन्दा फरक मार्गबारे प्रचार गर्छ भने, त्यो जति नै राम्रो लागे पनि हामीले सुन्‍नु हुँदैन। हामीले हाम्रा आमाबुबा वा दाजुभाइ-दिदीबहिनीको कुरासमेत सुन्‍नु हुँदैन, र कुनै पनि अपरिचित व्यक्तिलाई स्वागत गर्नु हुँदैन।” त्यो प्रभुको इच्‍छा होइन। बाइबल भन्छ, “परदेशीहरूलाई सत्कार गर्न नबिर्स: किनभने यसरी कतिले थाहै नपाई स्वर्गदूतहरूलाई सत्कार गरेका छन्” (हिब्रू १३:२)। मैले धैर्यसाथ उत्तर दिएँ, “सिस्टर, बाइबलले भन्छ, ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश २:७)। ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। हामीले प्रभुलाई स्वागत गर्न उहाँको आवाज सुन्‍नुपर्छ भनेर यी अगमवाणीहरूले बताउँछन्। यदि कसैले प्रभु फर्कनुभएको छ भनेर गवाही दिन्छ भने, हामी गएर उहाँलाई भेट्नुपर्छ। त्यसरी मात्रै हामीले प्रभुलाई स्वागत गर्ने मौका पाउनेछौँ। यदि कसैले प्रभु फर्कनुभएको छ भनेर गवाही दिएको सुन्दा त्यो सुनेनौँ वा खोजी गरेनौँ भने, हामीले उहाँलाई स्वागत गर्ने मौका गुमाउनेछौँ!” तर तिनले सुन्‍न मानिनन् र बहाना बनाएर गइहालिन्। ली पिङको मनोवृत्तिले मलाई कठिन स्थितिमा पार्‍यो। यदि तिनी सुन्‍न चाहँदिनन् भने, मैले तिनलाई कसरी सुसमाचार सुनाउने? तर त्यो सही मनस्थिति होइन भन्‍ने मलाई थाहा थियो। मैले प्रभुको पुनरागमनको गवाही दिएकी समेत थिइनँ, त्यसकारण म कसरी यति सजिलै हार खान सक्थेँ र? तिनी साँचो विश्‍वासी हुन् भने, मैले तिनलाई सुसमाचार सुनाउन सक्दो गर्नुपर्थ्यो।

पछि हामी ली पिङलाई सुसमाचार सुनाउन तिनको घर गयौँ, तर हामीलाई देख्‍नेबित्तिकै तिनले ढोका बन्द गरिन् र हामीले जे भने पनि ढोका खोल्‍न मानिनन्। हामीले केही गर्न सकेनौँ, त्यसैले फर्केर आयौँ। हामी त्यसपछि केहीपटक गयौँ तर तिनी ढोका खोल्दिनथिइन्, र भन्थिन्, “हाम्रा पाष्टरले भनेको, तपाईंहरू भेडा चोर्न चाहनुहुन्छ अरे, र हामीले पूर्वीय ज्योतिको जोकोहीलाई कुटेर मार्नुपर्छ, खोलामा फ्याँकिदिनुपर्छ, वा तिनीहरूबारे प्रहरीलाई रिपोर्ट गर्नुपर्छ। यहाँबाट गइहाल्‍नुहोस्, र हाम्रा पाष्टरले तपाईंहरूलाई नदेखून्।” तिनले त्यसो भनेको सुन्दा मलाई निकै अप्ठ्यारो लाग्यो र मलाई लत्तो छोड्न मन लाग्यो। तर त्यो बेला, लत्तो छोड्नु परमेश्‍वरको इच्‍छाअनुरूप हो कि होइन भन्‍ने मलाई थाहा थिएन, त्यसकारण मैले मनमनै प्रार्थना गरेँ। त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “सुसमाचार प्रचार गर्ने क्रममा, तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नैपर्छ र तैँले सुसमाचार सुनाएका हरेक व्यक्तिसँग इमानदारिताको साथ व्यवहार गर्नैपर्छ। परमेश्‍वरले सम्‍भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र तैँले परमेश्‍वरको इच्‍छालाई ध्यान दिनुपर्छ, अनि साँचो मार्गको बारेमा खोजी र सोचविचार गरिरहेका कुनै पनि व्यक्तिलाई लापरवाही रूपमा छुटाउनु हुँदैन। … तिनीहरूले साँचो मार्गको बारेमा सोचविचार गर्ने इच्‍छा गर्छन् र सत्यता खोजी गर्न सक्छन् भने, तैँले तिनीहरूलाई अझै धेरै परमेश्‍वरका वचनहरू पढेर सुनाउन र अझै धेरै सत्यता सङ्गति गर्न, अनि परमेश्‍वरको कामको गवाही दिएर तिनीहरूका धारणाहरू समाधान गर्नको लागि तैँले सक्दो प्रयास गर्नुपर्छ, यसरी तैँले तिनीहरूलाई विश्‍वासमा ल्याउन र परमेश्‍वरको अघि ल्याउन सक्‍छस्। यो सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्)। परमेश्‍वरका वचनहरू मनन गर्दा मलाई लाज लाग्यो। परमेश्‍वरले मानवजातिलाई सम्‍भव भएको हदसम्‍म मुक्ति दिनुहुन्छ। सानो आशा भइञ्जेल, परमेश्‍वर कसैलाई त्याग्‍नुहुन्‍न। सुसमाचार प्रचार गर्ने व्यक्ति भएको हुनाले, मैले यसमा आफ्नो सर्वस्व लगाउनुपर्थ्यो। कुनै व्यक्ति सिद्धान्तअनुरूप चलेको छ भने, मैले उसलाई धैर्य र प्रेमपूर्वक प्रचार गर्नुपर्छ, र आफ्ना जिम्‍मेवारीहरू पूरा गर्नुपर्छ। त्यो मेरो कर्तव्य हो। तर अलिकति कठिनाइ आउँदा नै म पछि हट्न र लत्तो छोड्न चाहन्थेँ। म आफ्‍नो कर्तव्यमा पटक्‍कै समर्पित थिइनँ। यो महसुस भएपछि मलाई निकै ग्‍लानि भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र ली पिङले मसँग जस्तो व्यवहार गरे पनि, तिनको मानवता असल भएकोले र तिनी साँचो विश्‍वासी भएकीले म लत्तो छोडदिनँ, र तिनलाई परमेश्‍वरका वचनहरू र कामको गवाही दिन्छु, र परमेश्‍वरसामु ल्याउँछु भनेर सङ्कल्‍प गरेँ। मैले पहिलोपटक परमेश्‍वरका आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्दा, ब्रदर-सिस्टरहरूले मेरा धारणाहरू हटाउन सत्यतामा धैर्यसाथ सङ्गति नगरेका भए, म सायद धर्ममा नै रहनेथिएँ। सुसमाचार सुनाउन निकै प्रेम र धैर्य चाहिन्छ, हामीले गर्न सक्‍ने सबै गर्नुपर्छ, र आफ्ना जिम्‍मेवारीहरू पूरा गर्नुपर्छ। त्यो परमेश्‍वरको इच्‍छा हो।

अचम्‍मको कुरा, अर्कोपटक हामी ली पिङको घर जाँदा तिनले ढोका खोलिन्। र हामीलाई बेवास्ता गरिन् र हामीसँग बोलिनन्। मैले सोचेँ, तिनले ढोका खोलिन्, अब हामीले सङ्गति गर्ने मौका पाउनेछौँ, र तिनले अलिकति भए पनि सुनिन् भने क्रमिकरूपमा बुझ्‍नेछिन्। हामीले यस मौकामा तिनलाई सङ्गति दियौँ। मैले भनेँ, “सिस्टर, प्रभुलाई स्वागत गर्नु निकै महत्त्वपूर्ण कुरा हो। यदि हामीले साँचो मार्ग अनुसन्धान गर्दा प्रभुका वचनहरू पछ्याएनौँ, तर अन्धाधुन्ध मानिसको कुरा सुन्यौँ भने, हामी परमेश्‍वरविरुद्ध जाने सम्‍भावना हुन्छ। प्रभु येशूले देखा परेर काम गर्न थाल्‍नुहुँदा, यहूदी विश्‍वासीहरूले धार्मिक अगुवाहरूको कुरा सुने र तिनीहरूकै लहैलहैमा लागेर प्रभुलाई दोष दिए र इन्कार गरे। अन्त्यमा परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुभयो। आजका धार्मिक अगुवा र पाष्टरहरूले परमेश्‍वरका आखिरी दिनहरूको काम खोजी वा अनुसन्धान गर्दैनन्, र आफ्‍ना मण्डलीहरूमा प्रतिबन्ध लगाउन सक्दो गर्छन् र विश्‍वासीहरूलाई बहकाउन झूटहरू फैलाउँछन्। तिनीहरूले प्रभुको पुनरागमनबारे कुनै पनि खबर झूटो हो, र साक्खै दाजुभाइ-दिदीबहिनीले भने पनि, हामीले त्यो सुन्‍नु हुँदैन तर प्रहरीलाई तिनीहरूको रिपोर्ट गर्नुपर्छ भन्छन्। के त्यसो भन्‍नु र त्यस्तो गर्नु प्रभुको शिक्षाअनुरूप छ? के यस्तो कुरा भन्ने व्यक्तिलाई विश्‍वासी भन्‍न मिल्छ?” हामीले भनेका सबै कुरा सही हुन् भन्‍ने देखेपछि तिनको मनोवृत्ति निकै सुध्रियो, र तिनी हामीसँग कुरा गर्न इच्छुक भइन्। तिनले आफू अन्योलमा परेको कुरा पनि बताइन्: “प्रभु येशूले हामीलाई यस्तो चेतावनी दिनुभएको छ, ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। आखिरी दिनहरूमा प्रभु फर्कनुहुँदा, मानिसहरूलाई बहकाउने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। प्रभुको पुनरागमनको जुनै प्रचार पनि झूटो ख्रीष्टले मान्छे भ्रमित पार्न बोलेको कुरा हो भनेर हाम्रा पाष्टरले भनेका छन्। हामीलाई बाइबलको कुरा त्यति थाहा छैन, त्यसैले हामी होसियार हुनुपर्छ, नत्र हाम्रो वर्षौँको विश्‍वास व्यर्थ हुन सक्छ भनेर तिनले भनेका छन्। यदि मैले गलत कुरामा विश्‍वास गरेँ भने के हुन्छ भन्‍ने मलाई चिन्ता लागेको छ।” मैले तुरुन्तै भनेँ, “सिस्टर, बहकिएला भन्‍ने तपाईंको डर हामी बुझ्छौँ। तर हामीले प्रभुको इच्‍छा बुझ्‍नुपर्छ। हामीले झूटा ख्रीष्टहरूलाई चिन्‍न सकौँ र तिनीहरूले हामीलाई नठगून् भनेर उहाँले यसो भन्‍नुभएको हो, हामी अन्धाधुन्ध तिनीहरूप्रति सतर्क बनौँ र प्रभुलाई स्वागत गर्न चुकौँ भनेर होइन। उहाँले झूटा ख्रीष्टहरूका प्रकटीकरणहरू बारे पनि स्पष्टसित बताउनुभएको छ। तिनीहरू मानिसहरूलाई बहकाउन चिन्‍ह र चमत्कारहरूमा भरोसा गर्छन्। झूटो ख्रीष्टका चिनारी हामीलाई थाहा छ, त्यसैले हामी यी कुराप्रति होसियार भयौँ भने बहकिँदैनौँ। यदि हामीले प्रभुका वचनहरूलाई प्रसङ्गबाहिर लैजान्छौँ र प्रभुको पुनरागमनको कुनै पनि गवाही झूटो हो भनी विश्‍वास गर्छौँ, कहिल्यै खोजी वा अनुसन्धान गर्दैनौँ भने, के हामीले प्रभु येशू स्वयम्को पुनरागमनलाई निन्दा गरिरहेका हुँदैनौँ र? तब हामी कसरी प्रभुलाई स्वागत गर्न सक्छौँ? तसर्थ, यो प्रभु येशूको पुनरागमन हो कि होइन भनी निर्धारित गर्न चाहन्छौँ भने, महत्त्वपूर्ण कुरा भनेको प्रभुको आवाज सुन्‍नु अनि साँचो र झूटा ख्रीष्टहरू छुट्याउनु हो। सधैँ सतर्क बसेर अनि सबै कुरा इन्कार गरेर समस्या समाधान हुँदैन। प्रभुलाई स्वागत गर्नुको कुञ्‍जी भनेको उहाँको आवाज सुन्‍नु हो। प्रभु येशूले भन्नुभयो, ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)।”

त्यसपछि, हामीले कसरी साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू छुट्याउने भन्‍नेबारे परमेश्‍वरको वचनका केही खण्डहरू पढ्यौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएका येशू मै हुँ भनी दाबी गर्छ भने, यो त येशूलाई नक्‍कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु)। “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले यस्तो सङ्गति गरेँ, “परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू छुट्याउने काम परमेश्‍वरका काम, वचनहरू, र उहाँले व्यक्त गर्नुहुने स्वभावको आधारमा गर्नैपर्छ। किनभने ख्रीष्टको सार बाटो सत्यता, र जीवन हो। उहाँले मानवजातिलाई सत्यता दिनुहुन्छ र परमेश्‍वरको स्वभाव देखाउनुहुन्छ। उहाँ छुटकारा र मुक्तिको काम गर्नुहुन्छ। प्रभु येशूले काम गर्नुहुँदा, मानवजातिलाई पश्‍चात्तापको मार्ग दिनुभयो। उहाँले हामीलाई पाप स्विकार्न र पश्‍चात्ताप गर्न, अरूलाई आफूलाई जस्तै प्रेम गर्न, सहनशील र धीर बन्न सिकाउनुभयो। उहाँले धेरै चिन्‍ह र अचम्‍मका कामहरू पनि देखाउनुभयो, बिरामीलाई निको पार्नुभयो, भूतहरू धपाउनुभयो, मरेकालाई बिउँताउनुभयो, लङ्गडोलाई हिँड्ने बनाउनुभयो। उहाँले मानिसलाई अटुट अनुग्रह दिनुभयो, हामीलाई परमेश्‍वरको कृपा र प्रेमका साथै उहाँको शक्ति र अख्‍तियार चाख्‍ने मौका दिनुभयो। अन्त्यमा, प्रभु येशूलाई क्रूसमा टाँगियो, यसरी उहाँले छुटकाराको काम पूरा गर्नुभयो। प्रभुका वचन र काम, अनि उहाँले व्यक्त गर्नुभएको स्वभावबाट, उहाँमा ईश्‍वरीय सार थियो, र उहाँ देहधारी परमेश्‍वर हुनुहुन्थ्यो भन्‍ने कुरा देख्‍न सक्छौँ। अहिले उहाँ आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरका रूपमा फर्कनुभएको छ। उहाँ सत्यता व्यक्त गर्नुहुन्छ र मानवजातिलाई न्याय गर्ने र शुद्ध पार्ने काम गरिरहनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सम्‍पन्‍न र प्रशस्त छन्, ती वचनले धेरै रहस्य र सत्यता प्रकट गर्छन्, जस्तै पापको बन्धनबाट हामी कसरी उम्‍कन सक्छौँ, कसरी स्वभाव परिवर्तनको पछि लाग्ने र पूर्णतया मुक्ति प्राप्त गर्ने, अनि मानिसको परिणाम र गन्तव्य इत्यादि। उहाँले हामीलाई मुक्ति पाउने र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मार्ग देखाउनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसलाई शैतानले भ्रष्ट तुल्याएको सत्यताको पनि न्याय र खुलासा गर्नुहुन्छ, यसरी परमेश्‍वरविरुद्धको मानिसको शैतानी स्वभाव उदाङ्गो पार्नुहुन्छ, जस्तै अहङ्कारी, धूर्त, र दुष्ट हुनु। उहाँ अपराध नसहने आफ्‍नो धर्मी स्वभाव पनि देखाउनुहुन्छ। उहाँका वचनहरूले हामीलाई अभ्यास र प्रवेशका मार्गहरू देखाउँछन्, जस्तै इमानदार मानिस कसरी बन्‍ने, आफ्‍नो कर्तव्यमा कसरी समर्पित हुने, परमेश्‍वरमा कसरी समर्पित हुने इत्यादि। परमेश्‍वरका वचनहरू खाएर र पिएर अनि उहाँको न्याय र सजाय अनुभव गरेर, उहाँका चुनिएका मानिसहरूका स्वभाव परिवर्तन हुन्छन्, र तिनीहरूले धेरै अनुभव र गवाही प्राप्त गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट हामी के देख्‍न सक्छौँ भने, उहाँ आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ, उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। तर झूटा ख्रीष्टहरू सारगत रूपमा दुष्ट आत्‍माहरू हुन्। तिनीहरूसँग सत्यता हुँदैन, र तिनीहरूले मानिसहरूलाई मुक्ति दिन वा शुद्ध पार्न सक्दैनन्। तिनीहरूले चिन्‍ह र अचम्‍मका कामहरू देखाएर मानिसहरूलाई बहकाउन मात्र सक्छन्। झूटा ख्रीष्टहरूमा ख्रीष्टको सार हुँदैन र तिनीहरूले उहाँको काम गर्न सक्दैनन् भन्‍ने हामी देख्‍न सक्छौँ। तिनीहरू सबै आफूलाई परमेश्‍वर भन्छन्, तर तिनीहरू झूटा हुन् र मानिसहरूलाई क्षणिक मूर्ख मात्रै बनाउन सक्छन्।”

तिनले भनिन्, “तपाईंले पढेको कुरा एकदम राम्रो छ—अत्यन्तै रोचक। तपाईंहरूको प्रचार सुन्‍नेबित्तिकै हामी तानिन्छौँ भनेर पाष्टरले भनेको ठीकै रहेछ। मलाई तपाईंहरूबाट सुनेको कुरा निकै मन पर्‍यो, तर मैले यसबारे अझै विचार गर्नुपर्छ।” मैले भनेँ, “सिस्टर, प्रभुलाई विश्‍वास गरेको यतिका वर्षमा, के हामी प्रभुको पुनरागमनको प्रतीक्षा गर्दै आइरहेका छैनौँ र? आशा छ तपाईंले यसलाई होसियारीपूर्वक विचार गर्नुहुन्छ। यदि तपाईंले परमेश्‍वरको मुक्ति पाउने मौका गुमाउनुभयो भने, जीवनभरि पछुतो हुनेछ।” त्यसपछि, हामीले जसरी सङ्गति गरे पनि, तिनी प्रतिक्रिया दिँदैनथिइन् वा एक शब्‍द बोल्थिनन्। म हैरान भएँ र मेरो धैर्यको बाँध फुट्यो। मैले सोचेँ, हामीले यति धेरै सङ्गति गरे पनि तिनले यो कुरा स्वीकार नगरेकी हुनाले, हामीले गर्न सक्‍ने केही छैन। तर त्यो सोच्दा मलाई अप्ठ्यारो लाग्यो। मलाई परमेश्‍वरले भन्‍नुभएको केही कुरा याद आयो: “के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू हराएका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानक ज्योति तल झरेर हटाओस भनी ति मानिसहरु कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा ऊर्जा अर्पण गर्न इच्‍छुक छैनस्? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब तेरो असाधारण जीवन जिउनको लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तैँले कसरी अर्थ लगाउँछस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आत्मविश्‍वास साँच्‍चै छ त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?)। परमेश्‍वरका वचनहरूले हामीलाई उहाँ कति दुःखी र चिन्तित हुनुहुन्छ, उहाँले हरेक सम्प्रदायका सबै साँचो विश्‍वासीहरू, र अन्धकारमा रहेका, प्रभुको पुनरागमनको धेरै तृष्णा गर्ने सबैले चाँडै परमेश्‍वरको आवाज सुनून् र उहाँको घरमा फर्की आऊन् भन्‍ने आशा गर्नुहुन्छ भनेर बताउँछन्। तर आफ्‍नो पाष्टरको बहकाउ र धार्मिक धारणाहरूको बन्धनमा परेकी सुसमाचार ग्रहण गर्ने सम्भाव्य व्यक्ति मेरैअगाडि हुँदा, मैले सत्यतामा धैर्यसाथ सङ्गति गरेर तिनलाई डोर्‍याउन सकिनँ। मैले लापरवाहीरूपमा तिनलाई सीमित गरिरहेकी र त्यागिरहेकी थिएँ। मेरो प्रेम र जिम्‍मेवारीको बोध कहाँ हरायो? मलाई याद छ, म दैनिकरूपमा प्रभुको पुनरागमनको तृष्णा गर्ने गर्थेँ। झूटो ख्रीष्टको बहकाउमा पर्छु भन्‍ने मलाई डर लाग्थ्यो, त्यसकारण प्रभु फर्किसक्‍नुभएको छ भनेर कसैले गवाही दिएको सुन्दा, त्यसलाई जाँच्ने आँट गरिनँ। यो अप्ठ्यारो स्थिति थियो। मैले ली पिङले भन्दा पहिले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्ने सौभाग्य पाएकी थिएँ, त्यसकारण तिनलाई सुसमाचार सुनाउनु मेरो जिम्‍मेवारी र कर्तव्य थियो। साथै, मैले कामको यो चरण तुरुन्तै स्विकारेकी थिइनँ। सुरुमा मसँग पनि धेरै धारणा थिए। ब्रदर-सिस्टरहरूले धैर्यसाथ मसँग बारम्‍बार सङ्गति गरे तब मात्रै मैले परमेश्‍वरअघि आउने सौभाग्य पाएँ। तर मैले आफूलाई तिनको ठाउँमा राखेर परिस्थितिलाई तिनको दृष्टिकोणबाट हेर्ने प्रयास गरिनँ। ममा प्रेम र धैर्यको कमी थियो, र मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरिरहेकी थिइनँ। थोरै आशा र तिनमा खोजी र अनुसन्धान गर्ने केही इच्‍छा रहुञ्जेल, मैले तिनीसँग सङ्गति गरिरहने कुनै उपाय सोच्‍नुपर्थ्यो। त्यसो गरेर मात्रै मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको हुन्थ्यो। त्यसबारे यसरी सोच्दा मलाई तिनीप्रति सहानुभूति जाग्यो। प्रभुलाई स्वागत गर्नु हाम्रो अन्तिम परिणामसँग सम्‍बन्धित महत्त्वपूर्ण विषय हो। तिनी सतर्क हुनु स्वभाविक थियो। म तिनीकहाँ एक-दुईपटक मात्रै धाएकी थिएँ, र तिनमा धेरै धारणा छन् भन्‍ने देखेर, तिनलाई सीमित गर्न र त्याग्‍न चाहन्थेँ। म अत्यन्तै अहङ्कारी र अविवेकी थिएँ। यसबारे त्यसरी सोच्दा मलाई अति नरमाइलो लाग्यो र ग्‍लानि भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र तिनलाई सुसमाचार सुनाइरहन्छु र तिनलाई परमेश्‍वरअघि ल्याउन सक्दो गर्छु भनेर शपथ खाएँ।

केही दिनपछि म सिस्टर चेङ एइझेनसँग ली पिङको घर फेरि गएँ। हामीलाई देख्‍नेबित्तिकै तिनले हामीलाई यसो भन्दै न्यानो स्वागत गरिन्, “सिस्टरहरू, खाना खानुभयो? खानुभएको छैन भने म केही बनाउँछु। आज धेरै चिसो छ—अप्ठ्यारो नमान्नुहोस् है।” तिनको मनोवृत्ति यति चाँडै त्यत्तिका परिवर्तन भयो? एइझेन र म पनि छक्‍कै पर्‍यौँ। मलाई त तिनले हामीलाई स्वागत गर्छिन् कि गर्दिनन् भन्‍ने चिन्ता लागिरहेको थियो। तिनको मनोवृत्ति पूरै उल्टिन्छ भन्‍ने आस गरेका थिएनौँ। हामी बसेपछि, ली पिङले आफ्‍नो मनको कुरा बताइन्: “म विगत केही दिनदेखि विचार गरिरहेकी छु। तपाईंहरू मलाई सुसमाचार सुनाउन बारम्‍बार आउनुभयो। यदि तपाईंहरूले साँचो मार्गमा विश्‍वास नगर्नुभएको भए, यदि यो पवित्र आत्‍माबाट नआएको भए तपाईंहरूसँग यस्तो प्रेम र धैर्य कसरी हुन सक्थ्यो र? मैले के पनि सोचिरहेकी थिएँ भने तपाईंहरू आउँदेपिच्छे, मैले कहिल्यै तपाईंहरूको कुरा सुनिनँ वा तपाईंहरूलाई स्वागत गरिनँ, तर झूटो अगुवाको बहकाउमा पर्छु भन्‍ने डरले मैले आफ्ना पाष्टरको कुरा मात्रै सुनेँ। मैले परमेश्‍वरको आवाज सुनिरहेकी थिइनँ। मैले प्रभु फर्किसक्‍नुभएको छ भन्‍ने तपाईंहरूको गवाही अनुसन्धान गरिनँ, तर तपाईंहरू देख्दा म लुक्ने गर्थेँ। त्यसरी त मैले प्रभुलाई कसरी कहिल्यै स्वागत गर्न सक्थेँ र? म कति मूर्ख र अनजान रहेछु!” तिनले यसो भनेको सुन्दा म निकै भावुक भएँ र मैले हृदयदेखि परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिएँ। मलाई परमेश्‍वरले भन्‍नुभएको केही कुरा याद आयो: “मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। त्यो दिन हामीले परमेश्‍वरका आखिरी दिनहरूको न्याय नस्विकारी पापबाट छुटकारा मात्रै पाएका छौँ भने, हामी कसरी परमेश्‍वरको राज्यमा पस्न सक्दैनौँ भनेर पनि कुरा गर्‍यौँ। मैले भनेँ, “प्रभुमा विश्‍वास गर्दा, पाप स्विकार्दा र पश्‍चात्ताप गर्दा उहाँले हामीलाई छुटकारा मात्रै दिनुभएको हुन्छ, र हामीलाई पापी ठान्‍नुहुन्‍न, तर यसको अर्थ हामी पापबाट मुक्त छौँ भन्‍ने होइन। हामी अझै पनि पाप गर्ने अनि स्विकार्ने चक्रमा जिइरहेका छौँ। यदि हाम्रा भ्रष्ट स्वभावहरू हटेका छैनन् भने, हामीले पाप गरिरहेका र परमेश्‍वरलाई विरोध गरिरहेका हुनेछौँ, र हामी उहाँको राज्यमा प्रवेश गर्न सक्दैनौँ। बाइबल भन्छ, ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। ‘त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। ‘साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५)। परमेश्‍वर पवित्र हुनुहुन्छ र उहाँले फोहोरी मानिसहरूलाई आफ्‍नो पवित्र भूमि कलङ्कित गर्न दिनुहुन्‍न, तर हामी आफूलाई पाप गर्नबाट सधैँ रोक्‍न सक्दैनौँ। हामी भ्रष्टताले भरिएका र पापले बाँधिएका छौँ भने कसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौँ र? परमेश्‍वरले मात्रै हामीलाई मुक्ति दिन सक्‍नुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वर देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, मानवजातिको भ्रष्टता हटाउन मानिसहरूलाई पापको बन्धनबाट पूर्णतया मुक्त गर्न, र हाम्रो भ्रष्टता पखाल्न उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ र न्यायको काम गरिरहनुभएको छ, ताकि अन्त्यमा हामी परमेश्‍वरको पवित्र भूमिमा प्रवेश गर्न सकौँ।” ली पिङले भावुक हुँदै भनिन्, “त्यसोभए हामी शुद्ध हुन चाहन्छौँ भने, हामीले परमेश्‍वरका आखिरी दिनहरूको न्याय अनुभव गर्नुपर्छ, नत्र हाम्रो भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुनेछैन।” तिनले यो कुरा बुझ्‍न सकेकोमा मलाई निकै खुसी लाग्यो।

त्यसपछि हामीले धर्मका पाष्टर र फरिसीहरूलाई कसरी चिन्‍ने भन्‍नेबारे सङ्गति गर्‍यौँ। हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका केही खण्ड पढ्यौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तामा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छलेर आफ्नो अगाडि ल्याउनको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, ‘हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।’ परमेश्‍वरमाथि विश्‍वास गर्दा र सत्यता स्वीकार गर्दा पनि मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। मैले यसो भन्दै सङ्गति गरेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले परमेश्‍वरविरुद्धका धार्मिक अगुवाहरूको प्रकृति र सार तोकेरै प्रकट गरिदिन्छन्। विगतमा, हामीले पादरीवर्गलाई पटक्कै बुझेका थिएनौँ। तिनीहरूले बाइबल राम्ररी जानेका छन्, सत्यता बुझेका छन् र तिनीहरूसँग कद छ भन्‍ने सोच्थ्यौँ, त्यसकारण हामी अन्धाधुन्ध तिनीहरूको कुरा सुन्थ्यौँ। तिनीहरूले जे भने पनि हामी त्यसैको पछि लाग्थ्यौँ। हामी पाष्टरका शब्‍दहरूलाई प्रभुका वचनहरूभन्दा महत्त्वपूर्ण ठान्थ्यौँ, र प्रभुलाई स्वागत गर्नेजस्तो महत्त्वपूर्ण कुरामा तिनीहरूको अनुमोदन चाहिन्थ्यो। अनुमोदन पाएनौँ भने, प्रभुको आवाज सुने पनि हामी यसलाई खोज्ने वा स्विकार्ने आँट गर्दैनथ्यौँ। हामी तिनीहरूलाई अत्यन्तै ठूलो ठान्थ्यौँ। हामी विश्‍वासी वा अनुयायी थिएनौँ। अहिले यी तथ्यहरूले हामीलाई के देखाएका छन् भने धार्मिक संसारका अगुवाहरूले प्रभु येशूको पुनरागमनको गवाही सुन्दा, विश्‍वासीहरूलाई यसबारे जाँच्न डोऱ्याउँदैनन्, बरु सबै किसिमका झूटहरूद्वारा उनीहरूलाई बहकाउँछन् र साँचो मार्ग अनुसन्धान गर्नबाट रोक्छन्। तिनीहरूको एउटै उद्देश्य भनेको विश्‍वासीहरूलाई परमेश्‍वरका आखिरी दिनहरूको मुक्ति स्विकार्नबाट रोक्‍नु, पूर्णरूपमा आफ्‍नो पकडमा राख्‍नु, र आफूसँगै नरकमा लैजानु हो। तिनीहरूको यो व्यवहारबाट हामी के देख्न सक्छौँ भने तिनीहरूको सार परमेश्‍वरविरुद्ध छ, तिनीहरू मानिसहरूको प्राण निल्‍ने पिशाच हुन्। प्रभु येशूले भन्‍नुझैँ, ‘शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)।” ली पिङले यस्तो प्रतिक्रिया दिइन्, “परमेश्‍वर आखिरी दिनहरूमा देहधारी नहुनुभएको भए, देखा परेर काम नगर्नुभएको भए, सत्यता व्यक्त नगर्नुभएको भए, धार्मिक अगुवाहरूको ढोँग खुलासा नगर्नुभएको भए, हामीले तिनीहरूको साँचो रूप, तिनीहरूको ढोँग र कुइच्छा कहिल्यै देख्‍नेथिएनौँ, तर हामी तिनीहरूको बहकाउमा परिरहनेथियौँ। कस्तो मूर्खता!” परमेश्‍वरकै मदतले गर्दा साँच्‍चै तिनले आफ्‍नो पाष्टरको वास्तविकता बुझिन्। त्यसपछि ली पिङले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढिन्, र हामीले सँगै परमेश्‍वरका तीन चरणको काम, आखिरी दिनहरूमा परमेश्‍वर किन देहधारी हुनुभयो, शुद्ध हुन कसरी परमेश्‍वरको न्याय अनुभव गर्ने, र सत्यताका अरू पक्षबारे सङ्गति गर्‍यौँ।

केही समयसम्‍म खोजी र अनुसन्धान गरेपछि, तिनी सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर निश्‍चित भइन्। तर परमेश्‍वरको कामबारे तिनी निश्चित भएको तुरुन्तैपछि, तिनका पाष्टरले थाहा पाए।

एक दिन साँझ हामी बसेको केही क्षणपछि नै, हामीले अचानक ढोका ढकढक्याएको सुन्यौँ। ली पिङले ढोकामुनिको दुलोबाट धेरै खुट्टा देखिन् र आत्तिँदै भनिन्, “लौ बित्यास पऱ्यो, तिनीहरूले तपाईंहरूलाई भेटे भने मृत्युको मुखमा पुर्‍याइदिन्छौँ, प्रहरीमा सुम्पिदिन्छौँ भनेका थिए। तिनीहरूले तपाईंहरूलाई देख्नु हुँदैन।” तिनले हामीलाई हतार-पतार लुकाइन्, र तुरुन्तै ७-८ जना मानिसहरू हुर्रिँदै भित्र पसे। रिसले चूर हुँदै सबैले एउटै सोरमा भने, “ती मानिसहरू को हुन्? हामीले दुई जना तपाईंको घरमा आएका देख्यौँ र तिनीहरू गएका छैनन्। तिनीहरू पक्‍कै यहीँ छन्। भेट्यौँ भने हातखुट्टा भाँचिदिन्छौँ।” सानो दुलोबाट म तिनीहरूको भयानक रूप देख्‍न सक्थेँ, ब्‍वाँसाजस्तै। तिनीहरूले सबैतिर खोज्‍न थाले, आँगनमा, खाटमुनि, सुँगुरको खोरमा, हरेक कुनाकप्चामा। हामी लुकिरहेको ठाउँमा तिनीहरू आइपुग्दा तिनीहरूले जताततै लाइट लगाइरहेका थिए, र झण्डै ठिक मेरोअगाडि आइपुग्‍न लाग्दा मेरो मुटु डरले ढुकढुक भइरहेको थियो। यदि तिनीहरूले हामीलाई भेटेका भए, हामीलाई कुटेर नमारेका भए पनि अपाङ्ग बनाएर छोड्नेथिए। मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँबाट एकछिन पनि टाढा हुने साहस भएन। परमेश्‍वर मेरो भरोसा हुनुहुन्छ, र तिनीहरूले त्यो दिन मलाई जे गरे पनि त्यो उहाँको हातमा छ भन्‍ने मलाई थाहा थियो। परमेश्‍वरले अनुमति दिनुभएन भने तिनीहरूले मलाई केही पनि गर्न सक्थेनन्। त्यो सोच्दा, मलाई त्यति डर लागेन। तिनीहरूले धेरै ठाउँ खोजे, तर हामीलाई भेट्टाउँदै भेट्टाएनन्। त्यो परमेश्‍वरको सुरक्षा थियो! त्यसपछि कसैले झोकिँदै यसो भनेको सुनेँ, “कस्तो अचम्‍म। दुई जना मानिस तपाईंको घरमा आएर बाहिर गएकै छैनन्। र पनि किन तिनीहरूलाई भेट्टाएनौँ?” ली पिङले रिसाउँदै हकारिन्, “तपाईंहरूको व्यवहार देख्दा त तपाईंहरू विश्‍वासीजस्तो लागेन। तिनीहरू सुसमाचार सुनाउन आएका थिए, तर यस्तो लाग्छ तिनीहरू त श्रापित हुन् वा कुटाइ खान ब्वाँसाको गुफामा छिरेका थिए। प्रभु येशूले हामीलाई अरूलाई आफैलाई जस्तो प्रेम गर्न सिकाउनुभएको छ। तपाईंहरूको व्यवहार हेर्दा, तपाईंहरू त अविश्‍वासी जति पनि असल हुनुहुन्‍न। अब तपाईंहरू कस्ता हुनुहुन्छ भन्ने मलाई थाहा भयो। तपाईंहरू त इसाईसमेत हुनुहुन्छ के त? तपाईंहरू फरिसी हुनुहुन्छ।” तिनले त्यसो भनेपछि तिनीहरू क्रोधित हुँदै गए। एइझेन र म तिनले त्यसो भनेको सुन्दा निकै उत्साहित भयौँ। तिनले बल्‍ल ती धार्मिक अगुवाहरूको वास्तविकता थाहा पाएकी थिइन् र तिनी तिनीहरूद्वारा उप्रान्त बहकाउमा वा बाधामा परिनन्। तिनीहरू गएपछि ली पिङले भावुक हुँदै भनिन्, “आज तिनीहरूले बाधा दिएपछि मैले तिनीहरूको असली रूप देखेँ। तिनीहरू ख्रीष्टविरोधी, परमेश्‍वरका शत्रु हुन्। तिनीहरूले मलाई जसरी दुःख दिए पनि म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउँछु।” तिनले त्यसो भनेको सुन्दा म निकै भावुक भएँ र हृदयदेखि परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिएँ।

त्यो अनुभवपछि मैले परमेश्‍वरको विरोध गर्ने धार्मिक अगुवाहरूको दुष्ट रूप स्पष्टसित देखेँ। तिनीहरू परमेश्‍वरको कामबारे खोजी वा अनुसन्धान पटक्कै गर्दैनन्, र कसैले प्रभुको पुनरागमनको गवाही दिएको सुन्दा तिनीहरू बौलाउँछन्, र उसलाई मृत्युको मुखमा पुर्‍याउँछन्। तिनीहरू विश्‍वासी होइनन्। तिनीहरू सत्यतालाई दिक्‍क मान्‍ने, घृणा गर्ने ख्रीष्टविरोधी र फरिसी हुन्। मैले परमेश्‍वरको अचम्‍मका कामहरू पनि देखेँ र यसले मेरो विश्‍वास दह्रिलो बनायो। मैले सुसमाचार प्रचार गर्दा जस्तोसुकै कठिनाइको सामना गरे पनि, सुसमाचार ग्रहण गर्ने सम्भाव्य व्यक्ति भइञ्जेल, प्रेम र धैर्य देखाउँदै परमेश्‍वरका काम र वचनहरूको गवाही दिनुपर्छ, ताकि तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न र आखिरी दिनहरूको उहाँको मुक्ति स्विकार्न सकून्। मेरो कर्तव्य र जिम्‍मेवारी पूरा गर्ने एक मात्र तरिका त्यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मण्डली अगुवा अधिकारी होइनन्

मत्तेव, फ्रान्स मेरो नाउँ म्याथ्यू हो र मैले तीन वर्षअघि सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। सन् २०२० को अक्टोबरमा...

नयाँ विश्‍वासीहरूलाई मलजल गरेर सिकेको एउटा पाठ

यस वर्षको जनवरीमा, मैले मण्डलीका नवविश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ। सिस्टर रन जिये र उनका श्रीमान्‌ मेरो जिम्‍मामा रहेकाहरूमध्येका दुई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्