अभिभावकीय दयालाई कुन रूपमा हेर्ने

17 डिसेम्बर 2024

म सानो छँदा, मेरो शारीरिक अवस्था कमजोर थियो र म बिरामी भइरहन्थेँ। कहिलेकाहीँ आमाबुबाले मलाई मध्यरातमै हतार-हतार क्लिनिकमा पुर्याउनुहुन्थ्यो। उहाँहरू राती अबेर डाक्टरको ढोका ढकढकाउनुहुन्थ्यो, र उसको बोली जति रूखो वा मनोवृत्ति जति खराब भए पनि, मेरा आमाबुबा त्यो कुरा सधैँ सहन सधैँ तत्पर हुनुहुन्थ्यो। त्यो सबै मैले शीघ्र उपचार पाऊँ भन्नका लागि थियो। उहाँहरू मेरो अवस्था झन् खराब होला भन्‍ने डरले रातभर मेरो हेरचाहमा खट्नुहुन्थ्यो। पछि, म अलि ठूली भएँ, र हरदिन काम सकिएपछि मेरा आमाबुबालाई थकित देख्दा मलाई उहाँहरूप्रति दया लाग्थ्यो। तर उहाँहरूले मलाई सधैँ यसो भन्नुहुन्थ्यो: “हामीले तिमीलाई राम्रो जीवन दिलाउन, र तिमीलाई मन परेको चिज किनिदिनका लागि अझ धेरै पैसा कमाउनु आवश्यक छ।” मलाई मेरा आमाबुबाले मेरो निम्ति धेरै नै गर्नुभएको छ भन्‍ने लाग्थ्यो, र मैले उहाँहरूप्रति कर्तव्यनिष्ठ हुने र उहाँहरूलाई ज्यादै थकित हुन नदिने निधो गरेँ। मेरा आमाबुबा काममा जानुभएपछि, म घर सफा गर्थेँ, र मैले लुगा धुन र खाना बनाउन सिकेँ। हरेक पटक मेरा आमाबुबा घर आएर सबथोक मिलेको देख्दा, उहाँहरूले अत्यन्तै खुसी भएर भन्नुहुन्थ्यो: “हामीले यो बच्चालाई हुर्काउनु व्यर्थ भएन छ!” यी शब्दहरू सुनेर मलाई असाध्यै खुसी लाग्यो। मैले सोचेँ कि आमाबुबाका लागि परिस्थितिहरू अलि सहज बनाउनु र उहाँहरूलाई आराम गर्ने अलि बढी समय दिनु उचित हुन्छ।

पछि, हामी तीनजनाले परमेश्‍वरमा विश्‍वास गर्न थाल्यौँ, र म आफ्नो कर्तव्य पूरा गर्न अर्को ठाउँ गएँ। मैले आफ्नो कर्तव्य पूरा गर्दा मेरी आमाले निकै समर्थन गर्नुहुन्थ्यो, मेरा बुबा त्यसबारे त्यति नै खुसी नहुनुभए पनि, उहाँले पनि मेरो निर्णयलाई सम्मान गर्नुहुन्थ्यो। पछि, परिस्थितिहरू झन्-झन् प्रतिकूल बन्दै गए, र धेरै ब्रदर-सिस्टरहरू आफ्ना कर्तव्य पूरा गर्ने क्रममा पक्राउ परे। एकपटक, म घर गएँ, र मेरा बुबाले चिन्तित हुँदै मलाई भन्नुभयो, “हामीले तिमीलाई धेरै वर्ष हुर्काएका छौँ, र हामीले तिमीलाई कहिल्यै उज्ज्वल भविष्य बनाऊ भनेर माग गरेनौँ; हामी त तिमी हाम्रो नजिक बस भन्‍ने मात्र चाहन्छौँ। तर तिमीले कर्तव्य पूरा गर्न घर छोड्यौ, र हामीले चाहेको बेलामा तिमीलाई प्राय: देख्न सक्दैनौँ। अहिले यी परिस्थितिहरू निकै प्रतिकूल छन्; भविष्यमा यदि तिमी पक्राउ पर्यौ भने म के गरूँ? तिम्रो भविष्य के होला?” मेरा बुबाका शब्दहरू सुनेर म निकै चकित भएँ। उहाँले कसरी त्यस्तो कुरा भन्न सक्नुभयो? यदि पक्राउ पर्ने डरले मैले आफ्नो कर्तव्य पूरा गर्न छोडेँ भने, के मैले परमेश्‍वरलाई विश्‍वासघात गरिरहेको र म भगुवा बनिरहेकी हुँदिनथेँ र? मैले बुबालाई गम्भीरताका साथ भनेँ, “बुबा, तपाईंले मलाई कर्तव्य पूरा गर्नबाट रोक्नु हुँदैन। अब म ठूली भइसकेँ, मैले राम्रोसँग विचार गरेर नै घर छोडेर कर्तव्य पूरा गर्ने निर्णय गरेकी हुँ। तपाईंले मलाई साथ दिनुपर्छ!” उहाँ धेरै रिसाउनुभयो, र भन्नुभयो, “मैले तिमीलाई यतिका वर्षसम्म हुर्काएँ, अनि तिमी चाहिँ यसैगरी छोडेर जान्छौ। मलाई लाग्छ मैले अब प्रस्ट रूपमा बुझ्छु। मैले कृतघ्न अलच्छिनालाई हुर्काएको रहेछु!” यी शब्दहरू सुनेपछि, म निकै तनावमा परेँ, र मैले आफ्ना आँखाको आँसु रोक्नै सकिनँ। मैले आफू बच्चै हुँदा बिरामी परेको, र मेरा बुबाले मेरो ख्याल राख्नकै लागि आँखा बन्द नगरी रातभर मलाई बोकेको, र पैसा कमाएर मलाई राम्रो जीवन प्रदान गर्नका लागि मेरा आमाबुबाले गर्नुभएको मेहनत बारे सोचेँ। तर अहिले, म उहाँहरूप्रति अनुत्तरदायी मात्र थिइनँ, म उहाँहरूको साथमा रहन समेत सकिनँ। मैले उहाँहरूको छोरीको रूपमा आफ्नो दायित्व बिलकुलै पूरा गरेकी थिइनँ। मेरा बुबा रिसाएर जानुभएपछि उहाँलाई पछाडिबाट हेर्दा, मलाई ग्लानि महसुस भयो; म मेरा आमाबुबासँग हुन र उहाँहरूसँगै धेरै समय बिताउन चाहन्थेँ। तर यसबेला मैले परमेश्‍वरबारे सोचेँ। जब मैले परमेश्‍वरमा विश्‍वास गर्दिनथेँ, मलाई भित्री रूपमा प्राय: खोक्रो महसुस हुन्थ्यो, र म यो संसारमा किन छु भनेर मलाई थाहा थिएन। परमेश्‍वरमा विश्‍वास गरेपछि, उहाँका वचनहरू पढेर मैले बुझेँ कि मानवहरूलाई सृष्टि गर्ने त परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरले नै मलाई यो सास दिनुभएको हो। यस संसारमा मेरो आफ्नै मिसन छ। त्यसपछि मात्र मैले आफ्नो अस्तित्वको मूल्य थाहा पाएँ, र त्यसउप्रान्त मलाई खोक्रोपन र दुविधा महसुस भएन। परमेश्‍वरको यस्तो ठूलो प्रेम पाएपछि, मैले विवेकरहित हुन र आफ्नो कर्तव्य पूरा गर्न छोड्न सकिनँ। त्यो अवस्थामा, मैले आफ्नो देहविरुद्ध विद्रोह गर्ने बल प्राप्त गरेँ, र बाहिर गएर मैले आफ्नो कर्तव्य पूरा गर्न जारी राखेँ।

२०१९ मा, एकपटक कर्तव्य पूरा गर्ने क्रममा म पक्राउ परेँ। केरकारको बेलामा, प्रहरीले मेरा काकालाई झ्यालखानामा ल्याए, र उहाँ नै मेरो जैविक बुबा हो भने। तिनीहरूले मलाई ढिला नगरी मण्डलीको अवस्थाबारे भन्न लगाए, ताकि म घर गएर आफूलाई जन्म दिने आमाबुबासँग पुनर्मिलन गर्न सकूँ। मैले केही पनि भनिनँ। अन्त्यमा, मलाई हिरासतबाट छुटाउन मेरा काकाले पैसा खर्चनुभयो। प्रहरीले म आमाबुबाको पछि लागेर परमेश्‍वरमा विश्‍वास गरिरहेको छु भन्‍ने शङ्का गरे, र तिनीहरूले मलाई घर जान वा उहाँहरूको सम्पर्कमा आउन दिएनन्। तिनीहरूले मेरा काकालाई मलाई अर्को स्थानमा लान मात्र दिए। मेरा काकाले नै मलाई धरौटीमा छुटाउनु भएकाले, प्रहरीले उहाँलाई दिनहुँझैँ फोन गरेर धम्की दिन्थे। मेरा काकाले आफूले सुनेको कम्युनिष्ट पार्टीको अफवाहमा विश्‍वास गर्नुभयो, र मलाई परमेश्‍वरमा विश्‍वास गर्नदेखि रोक्न खोज्नुभयो। उहाँले भन्नुभयो: “तिमी त ठूली भइसक्यौ, तिमीलाई राम्ररी थाहा हुनुपर्ने हो। तिम्री आमा र म, साथै तिम्रा धर्मपिता र धर्ममाताले यस्तो सतावट सहन सक्दैनौँ। तिमीले परमेश्‍वरमा विश्‍वास गरेकै कारण प्रहरीले हामीलाई हरदिन फोन गरेर हैरान पार्छन्। म निकै बुढो भइसकेँ। प्रहरीले गाली गर्दा पनि मैले लाजपूर्वक तिम्रै पक्षमा बोलेँ। मलाई कति गाह्रो छ भन्‍ने कुरा तिमीलाई थाहा छ?” मेरा जैविक बुबा र धर्मपिता र धर्ममातालाई मेरा मामलामा मुछिएको देख्दा, म ठूलो पीडामा थिएँ। प्राचिनकालमा मानिसहरू यसो भन्‍ने गर्थे: “बाबु-आमाप्रतिको धर्म नै सबैभन्दा ठूलो पुण्य हो।” आफ्ना बाबु-आमाप्रति कर्तव्यनिष्ठ हुनु र उनीहरूलाई कम चिन्तित तुल्याउनु सबै छोराछोरीले गर्नुपर्ने काम हो। मेरा धर्मपिता र धर्ममाताले मलाई यतिका वर्षसम्म हुर्काउनुभयो, र मलाई धरौटीमा छुटाउनका लागि मेरा जैविक आमाबुबालाई धम्काएर प्रहरीलाई १४०,००० युआन तिर्न लगाइयो। मलाई भित्री रूपमा अत्यन्तै ग्लानि महसुस भयो। पहिले, म आफ्ना कर्तव्यहरू पूरा गरिरहेकी हुन्थेँ र उहाँहरूसँग बसेर उहाँहरूको हेरचाह गर्न सक्दिनथेँ, अहिले म परमेश्‍वरमा विश्‍वास गरेकाले पक्राउ परेकी थिएँ, र मेरो पीडामा उहाँहरू पनि पर्नुभएको छ। मैले छोराछोरीले गर्नुपर्ने कुनै पनि काम गरेकी छैन; मैले उहाँहरूलाई बोझ मात्र दिएकी छु। मैले त्यसबारे जति बढी सोचेँ, मलाई त्यति नराम्रो महसुस हुन्थ्यो, र मैले यो पनि सोचेँ: “के मैले परमेश्‍वरमा विश्‍वास गर्न छाडेँ भने मात्र मेरा परिवारका समस्याहरू हट्नेछन् भन्नु साँचो हो? के म मरेँ भने मात्र प्रहरीले मेरा परिवारको निगरानी गर्न छाड्नेछन्, र त्यसउप्रान्त मेरा आमाबुबाले कुनै हैरानी र बेइज्जती भोग्नुहुनेछैन भन्‍ने कुरा साँचो हो?” त्यसबखत, मैले अत्यन्तै दमनमा परेको महसुस गरेँ। मैले परमेश्‍वरलाई विश्‍वासघात गर्ने सोच बनाएकी छु भनेर मलाई थाहा थियो, र मलाई लाग्थ्यो कि म उहाँप्रति ऋणी छु, तर मेरा धर्मपिता र धर्ममाता अनि मेरा जैविक आमाबुबा मेरो समस्यामा मुछिनुभएकोबारे सोच्नेबित्तिकै, म भित्री रूपमा ग्लानिले भरिन्थेँ। म दुवै पक्षबाट तानिइरहेकी थिएँ, र म कहिल्यै शान्त हुन सक्दिनथेँ।

त्यो समयमा, मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्नका निम्ति मेरा काका-काकीले मलाई काम गर्न थाल्न दबाब दिनुभयो। उहाँहरूले मेरा सहकर्मीहरूलाई समेत मेरो निगरानी गर्न लगाउनुभयो, र म घर ढिला आए पनि, उहाँहरूले मलाई केरकार गर्नुहुन्थ्यो: “तिमी कहाँ थियौ? तिमी कोसँग थियौ?” मलाई परमेश्‍वरमा विश्‍वास गर्न छोड्न दबाब दिनका निम्ति मेरी काकीले घुँडा टेकेर बिन्ती समेत गर्नुहुन्थ्यो, र खाना खान समेत मान्नुहुन्नथियो। यस्ता परिस्थितिहरू सामना गर्नु पर्दा, मलाई आफू टुट्न लागेँझैँ अनुभूति भयो। मलाई यो घरमा मेरो लागि कुनै स्वतन्त्रता छैन र विशेषगरी कुनै व्यक्तिगत अधिकार छैन भन्‍ने महसुस भयो। मेरो घाँटी अँठ्याइएको र सास फेर्न गाह्रो परेको जस्तो महसुस भयो। म प्रतिरोध गर्न र उहाँहरूसित विवाद गर्न चाहन्थेँ: “मैले परमेश्‍वरमा विश्‍वास गरेकै कारण तपाईंहरू मलाई किन यस्तो व्यवहार गर्नुहुन्छ?” तर मेरो कारणले उहाँहरू यो समस्यामा परेको, र उहाँहरूलाई धेरै जरिवाना तिराइएको बारे सोच्नेबित्तिकै, मेरो हृदयको प्रतिरोध हराउँथ्यो। बरु, मलाई म चाहिँ अनुत्तरदायी छु, उहाँहरूसित मलाई यस्तो व्यवहार गर्नुको विकल्प नै छैन, र आमाबुबा सधैँ सही हुन्छन् भन्‍ने लाग्थ्यो। विशेषगरी मैले विगत केही वर्षमा मेरा आमाबुबालाई साथ दिन र सन्तानको धर्म निभाउनका लागि उहाँहरूको नजिक नभएको बारे सोच्दा, मलाई झनै मैले उहाँहरूलाई निराश तुल्याएकी छु भन्‍ने महसुस हुन्थ्यो। त्यस अवधिमा, मैले आमाबुबाप्रतिको ऋण परिपूर्ति गर्नका लागि भएभरको उपाय लगाएँ। मैले उहाँहरूलाई स्वास्थ्योपचारका सामानहरू किनिदिएँ, सबै घरायसी काम गरेँ, र काम गरेर पैसा कमाउन आफूले सक्दो सबै गरेँ। हरदिन राति अबेर सम्म अतिरिक्त समय काम गर्नुको कठिनाइलाई म खुसीसाथ सहन्थेँ। म खालि अझ धेरै पैसा कमाउन र उहाँहरूलाई अझ बढी आनन्द दिन चाहन्थेँ। थाहै नपाई, परमेश्‍वर र म झन्-झन् टाढियौँ। केही समयपछि, प्रहरीले फोन गरे र तिनीहरू मलाई लिन आइरहेको, र तिनीहरूले मण्डलीको अवस्थाबारे मबाट सुन्न चाहेको भने। मलाई थाहा थियो कि यदि म घरमै बसिरहेँ भने, म पक्राउ पर्ने सम्भावना छ, तर मैले यो पनि सोचेँ कि यदि म त्यहाँबाट गएँ भने, मलाई थाहा छैन कि म कहिले फर्कन सक्छु। त्यसबाहेक, यदि प्रहरीले मलाई भेट्टाउन सकेनन् भने, के मेरो सट्टामा तिनीहरूले मेरा आमाबुबा, र काका-काकीलाई लिएर जानेथिए? यदि साँच्चिकै यस्तै भयो भने, म अत्यन्तै अनुत्तरदायी हुनेथेँ। म मेरा आमाबुबाका शब्दहरूबारे मात्र सोच्न सक्थेँ: मेरी काकीले मलाई उहाँको नजिक राख्न र राम्रो परिवार बनाउन चाहनुहुन्थ्यो। मेरा काकाले म ठूली र बुझ्ने भइसकेँ, र मैले उहाँहरूबारे विचार गर्नुपर्छ भन्नुहुन्थ्यो। मेरा बुबा मैले उहाँप्रतिको सन्तानको धर्म निभाएको चाहनुहुन्थ्यो र हुर्काएर कृतघ्न बच्चा बनाउन चाहनुहुन्नथ्यो। त्यो क्षणमा, मलाई सबथोक टुटिरहेको छ जस्तो महसुस भयो। त्यसबेला, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “परमेश्‍वर, प्रहरीले मलाई पक्राउ गर्ने भएकाले म घरमा बस्न सक्दिनँ। तर मलाई लाग्छ कि यदि म यहाँबाट गएँ भने म अनुत्तरदायी र विवेकहीन हुनेछु। म ठूलो पीडामा छु। परमेश्‍वर, मैले कसरी निर्णय गर्ने? कृपया मलाई मार्गदर्शन दिनुहोस्!” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्डबारे सोचेँ। “सृष्टिकर्ताको पूर्वनिर्धारित योजना र उहाँको मार्गनिर्देशन नभएको भए, यो संसारमा नयाँ जन्‍मने जीवनलाई कहाँ जाने वा कहाँ बस्‍ने सो थाहा हुनेथिएन, उसको कुनै सम्‍बन्ध हुनेथिएन, ऊ कहीँको पनि हुनेथिएन, र उसको वास्तविक घर हुनेथिएन। तर सृष्टिकर्ताको कुशल बन्दोबस्तको कारणले गर्दा, यो नयाँ जीवनले बस्‍ने ठाउँ, आमाबाबु, उसले आफ्‍नो भन्‍न सक्‍ने ठाउँ, र इष्टमित्र पाउँछ, अनि त्यो जीवनले आफ्नो यात्रालाई अघि बढाउँछ। यो प्रक्रियाभरि, यस नयाँ जीवनको मूर्तरूप प्रकटीकरणलाई सृष्टिकर्ताको योजनाले निर्धारित गर्छ, अनि यसले पछि प्राप्त गर्ने सबै कुरा सृष्टिकर्ताले नै यसलाई दिनुहुन्छ। आफ्‍नो नाममा केही पनि नरहेको त्यत्तिकै तैरिरहेको शरीर, क्रमिक रूपमा देह र मासु, देख्‍न सकिने, मूर्त मानव प्राणी, परमेश्‍वरका सृष्टिहरूमध्ये एउटा बन्छ, जसले विचार गर्छ, सास फेर्छ, अनि तातो र चिसोको अनुभव गर्छ; जसले भौतिक संसारमा सृष्टि गरिएको प्राणीका सामान्य क्रियाकलापहरूमा सहभागिता जनाउन सक्छ; अनि जसले सृष्टि गरिएको मानवले जीवनमा अनुभव गर्नुपर्ने सबै कुराहरूलाई अनुभव गर्नेछ। व्यक्तिको जन्‍मलाई सृष्टिकर्ताले पूर्वनिर्धारण गर्नुको अर्थ उहाँले त्यस व्यक्तिलाई बाँच्‍नको लागि चाहिने सबै कुरा दिनुहुन्छ भन्‍ने हो; अनि त्यसरी नै, व्यक्ति जन्‍मिएको छ भन्‍ने तथ्यको अर्थ उसले बाँच्‍नको लागि चाहिने सबै कुरा सृष्टिकर्ताबाट प्राप्त गर्नेछ, अनि यसपछि, तिनीहरू सृष्टिकर्ताले दिनुभएको र सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा रहेको अर्को स्वरूपमा जिउनेछन् भन्‍ने हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ कि म त बस एउटा एक्लो, स्वतन्त्र रूपमा तैरिने शरीर हुँ। मेरो लागि परिवार र आमाबुबाको बन्दोबस्त गर्ने त परमेश्‍वर हुनुहुन्थ्यो; यसमाथि शासन गर्ने त परमेश्‍वर हुनुहुन्थ्यो। तर म यस संसारमा जन्मनु केवल पारिवारिक ममता पाउन र मेरा आमाबुबाप्रतिको सन्तानको धर्म निभाउनका लागि थिएन, बरु सृष्टि गरिएका प्राणीहरूबाट अपेक्षा गरिने जिम्मेवारी र मिसन वहन गर्नका लागि थियो। अहिले, म आमाबुबालाई सन्तुष्ट पार्तुनका ल्याउनका निम्ति मेरो आफ्नै कर्तव्य त्याग्ने सोचिरहेकी थिएँ। परमेश्‍वरले हेर्न चाहनुभएको कुरा यो होइन। परमेश्‍वरले मलाई सबथोक उपलब्ध गराउनुभयो; मैले आफ्नो कर्तव्य त्यागेर उहाँलाई विश्‍वासघात गर्न मिल्दैनथ्यो। त्यसपछि, आफ्नो कर्तव्य पूरा गर्न म घरबाट निस्केँ।

त्यसलगत्तै, मलाई पक्राउ गर्न नसकेकाले प्रहरीले मेरा काकालाई लगेछन् भनेर थाहा पाएँ। म फर्केपछि मात्र उहाँलाई रिहा गर्ने भनेर तिनीहरूले जानकारी दिएछन्। त्यो क्षणमा, म अलि रन्थनिएँ, र मलाई लाग्यो कि मैले काकाको ऋण तिर्नु थियो। फर्केर उहाँको ठाउँमा हिरासतमा बस्ने ममा ठूलो चाहना थियो। म आफ्नो कर्तव्य पूरा गर्ने मुडमा थिइनँ, र म मेरा परिवारका सदस्यहरूको आवाज र अनुहारबारे मात्र सोच्थेँ। मलाई लाग्यो कि उनीहरूको दुर्भाग्य सबै मेरै कारणले भएको हो, विशेषगरी मेरा काकालाई पक्राउ गरेकोबारे सोच्दा; प्रहरीले उहाँलाई कस्तो व्यवहार गर्लान् भनेर मलाई थाहा थिएन। के तिनीहरूले उहाँलाई कुट्लान्? मैले जति सोचेँ, त्यति नै मलाई पीडा भयो, र मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ: “परमेश्‍वर, आज म यस्ता परिस्थितिहरू सामना गरिरहेकी छु, र तिनलाई कसरी अनुभव गर्ने भनेर मलाई थाहा छैन। मेरो हृदय पीडामा छ, र मलाई कर्तव्य पूरा गर्न कुनै मन छैन। म यस्तो स्थितिमा जिउन चाहन्नँ। परमेश्‍वर, म के गरूँ? मलाई यो स्थितिलाई उल्टाउन मार्गदर्शन गर्नुहोस् भनी म तपाईंलाई बिन्ती गर्छु।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निभाउने भएर आफ्नो परिवार त्याग्छन्। तिनीहरूले यही कारणले चर्चा कमाउँछन् र सरकारले बारम्बार तिनीहरूको घर खानतलास गर्छ, तिनीहरूका आमाबुबालाई दमन गर्छ, र तिनीहरूलाई सरकारसामु सुम्पन आमाबुबालाई धम्क्याउनेसमेत गर्छ। सारा छिमेकीहरू यसो भन्दै तिनीहरूबारे कुरा गर्छन्, ‘यो व्यक्तिमा विवेक छैन। ऊ आफ्ना पाका आमाबुबाको वास्ता गर्दैन। ऊ अनुत्तरदायी सन्तान त हो नै, उसले आमाबुबालाई धेरै समस्यामा समेत पार्छ। ऊ अनुत्तरदायी सन्तान हो!’ के यी कुनै शब्द सत्यतासँग मिल्छन्? (मिल्दैनन्।) तर के यी सबै शब्दहरू गैरविश्‍वासीहरूको नजरमा सही मानिँदैन र? गैरविश्‍वासीहरू यो नै यसलाई हेर्ने सबैभन्दा मान्य र व्यावहारिक तरिका हो, र यो मानव नैतिकतासँग मिल्दो, र मानव आचरणका मापदण्डबमोजिम छ भन्ठान्छन्। यी मापदण्डहरूमा आमाबुबाप्रति सन्तानीय आदर कसरी देखाउने, वृद्धावस्थामा उनीहरूको हेरचाह कसरी गर्ने, अनि दाहसंस्कार कसरी गर्ने, वा उनीहरूको मायाको ऋण कसरी तिर्नेजस्ता जतिसुकै कुराहरू समेटिएका भए पनि, र यी मापदण्डहरू सत्यतासँग मिले पनि नमिले पनि, गैरविश्‍वासीहरूको नजरमा, ती सकारात्मक कुराहरू हुन्, ती सकारात्मक ऊर्जा र सही कुरा हुन्, र ती सबै गुटका मानिसहरूको नजरमा दोषरहित हुन्छन्। गैरविश्‍वासीहरूको लागि त मानिसहरूले जिउने मापदण्डहरू यिनै हुन्, र तिनीहरूको हृदयमा पर्याप्त मात्रामा असल हुनलाई तैँले यिनै कामहरू गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गरेर सत्यता बुझ्नुअघि, के तैँले पनि यस्तो आचरण नै असल व्यक्ति हुनु हो भनेर विश्‍वास गर्थिनस् र? (गर्थेँ।) साथै, तैँले यी कुराहरूद्वारा नै आफूलाई मूल्याङ्कन गर्ने र संयमित पार्ने कामसमेत गर्थिस्, र तैँले आफूलाई यस्तो व्यक्ति हुन आवश्यक गराउँथिस्। यदि तँ असल व्यक्ति हुन चाहेको भए, तैँले आफ्ना आचरणका मापदण्डहरूमा आफ्ना आमाबुबाप्रति कसरी उत्तरदायी हुने, उनीहरूको चिन्ता कसरी घटाउने, उनीहरूलाई कसरी इज्जत र श्रेय दिने, र आफ्ना पुर्खाहरूलाई कसरी महिमा दिने भन्‍नेजस्ता कुराहरू निश्‍चय नै समावेश गरेको थिइस् होला। तेरो हृदयमा भएका आचरणका मापदण्डहरू र तेरो आचरणका निर्देशनहरू यिनै थिए। तर तैँले परमेश्‍वरका वचन र उहाँका प्रवचनहरू सुनेपछि, तेरो दृष्टिकोण बदलिन थाल्यो, र तैँले बुझिस् कि सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउन तैँले सबथोक त्याग्नुपर्छ, र परमेश्‍वर मानिसहरूले आफूलाई यस्तै आचरणमा ढालून् भन्‍ने मापदण्ड दिनुहुन्छ। सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो भनी तँ निश्‍चित हुनुअघि, तैँले आफू आमाबुबाप्रति उत्तरदायी हुनुपर्छ भन्‍ने सोच्थिस्, तर तँलाई तैँले सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनुपर्छ भन्‍ने पनि लाग्थ्यो, र तँ भित्री रूपमा दोधारमा थिइस्। परमेश्‍वरका वचनहरूको निरन्तरको मलजल र रखवारीमार्फत, तैँले बिस्तारै सत्यता बुझिस्, र त्यसपछि नै तैँले सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु पूर्णतया स्वाभाविक र न्यायसङ्गत कुरा हो भन्‍ने महसुस गरिस्। आजको दिनसम्ममा, धेरै मानिसहरूले सत्यता स्विकार्न र मान्छेको परम्परागत धारणा र कल्पनाहरूमा भएका आचरणका मापदण्डहरू पूरै त्याग्न सकेका छन्। अनि यी कुराहरू पूरै त्यागेपछि, अबउप्रान्त तैँले परमेश्‍वरलाई पछ्याउँदा र सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउँदा, तँ गैरविश्‍वासीहरूका आलोचना र निन्दाका वचनहरूद्वारा बाधित हुनेछैनस्, बरु तिनलाई सजिलै मिल्काउन सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढेपछि, म निकै प्रेरित भएँ। धेरैजसो, सांसारिक नैतिकताअनुसार म सही र गलत मूल्याङ्कन गरिरहेकी हुन्थेँ, तर यो सत्यतासँग मिल्दैनथ्यो। मेरो जीवन परमेश्‍वरबाट उत्पत्ति हुन्छ; मेरो प्राणलाई यस संसारमा ल्याउने र मेरो लागि परिवार र आमाबुबाको बन्दोबस्त गर्ने, आखिरी दिनहरूमा उहाँको मुक्ति स्विकार्न चयन गर्ने, र मलाई सृजित प्राणीका रूपमा कर्तव्य पूरा गर्ने अवसर दिने परमेश्‍वर नै हुनुहुन्छ। यो परमेश्‍वरको प्रेम र अनुग्रह हो। तर मेरा काकालाई प्रहरीले पक्राउ गरेकाले, मलाई परमेश्‍वरमाथिको मेरो विश्‍वासका कारण मेरो परिवारमाथि यो कठिनाइ निम्तिएको हो भन्‍ने लाग्यो, र म मेरो कर्तव्य त्याग्न र उहाँलाई विश्‍वासघात गर्न चाहन्थें। म कस्तो मूर्ख रहेछु! आजसम्म, मेरो परिवारले भोगेको सबै कुरा कम्युनिष्ट पार्टी नामको पिशाचले निम्त्याएको थियो। तिनीहरूले परमेश्‍वरको विरोध गरे र इसाईहरूलाई सताए, मेरा परिवारलाई हैरान पारे र मेरा काकालाई पक्राउ गरे, र मेरा आमाबुबालाई एक दिन पनि शान्तिपूर्वक बिताउन दिएनन्। साँचो दोषी त कम्युनिष्ट पार्टी थियो! तर मैले कम्युनिष्ट पार्टीलाई घृणा गरिनँ, र सोचेँ कि परमेश्‍वरमाथिको मेरो विश्‍वासले मेरो परिवारलाई समस्यामा पारेको हो। मैले साँच्चिकै सही र गलत छुट्ट्याउन सकिनँ। अब मैले बुझेँ कि परमेश्‍वरलाई पछ्याउनु र आफ्नो कर्तव्य पूरा गर्नु मेरा लागि पूर्णतया स्वाभाविक कुरा थियो। मानिसहरूमा हुनुपर्ने विवेक र समझ यही हो! मैले परमेश्‍वरका वचनहरूको अर्को खण्डबारे सोचेँ: “एक व्यक्तिले जति दुःख भोग्नुपर्छ र उनीहरूले आफ्नो मार्गमा जति दूरी हिँड्नु पर्ने हुन्छ त्यो परमेश्‍वरद्वारा तोकिएको हुन्छ, र कसैले पनि अरू कसैलाई वास्तवमा सहायता गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (६))। कसैले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि हरव्यक्तिको जीवन परमेश्‍वरको हातमा हुन्छ र त्यसलाई परमेश्‍वरले नै नियन्त्रण र शासन गर्नुहुन्छ। हरव्यक्तिले कति दुःख पाउनेछ भनी परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र हामी त्यसलाई परिवर्तन गर्न सक्दैनौँ। मेरा आमाबुबा र धर्मपिता र धर्ममाता पनि परमेश्‍वरकै हातमा छन्; मैले उहाँहरूलाई परमेश्‍वरकहाँ सुम्पनुपर्छ। त्यसपछि, सबथोक परमेश्‍वरलाई सुम्पन र उहाँको बन्दोबस्तमा समर्पित हुन इच्छुक भएर मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यसपछि, म आफ्नो कर्तव्य पूरा गर्नमा लागिपरेँ।

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ जसबाट मलाई मेरो आफ्नो स्थितिबारे थप बुझाइ मिल्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्‍ना आमाबुबाप्रति भक्तिभाव हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जसले आमाबुबालाई श्रद्धा गर्दैन त्यो सन्तानको गुण नै नभएको मानिस हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएको हुन्छ, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘आमाबुबाप्रतिको भक्ति कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्‍नेछैन—म सन्तानीय गुण नभएको व्यक्ति हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्‍वरले व्यक्तिले आफ्‍ना आमाबुबाप्रति भक्तिभाव देखाउनुपर्छ भनेर माग भन्‍नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति प्रतिकूल रहेका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घिनाउनुहुन्छ र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घिनाउन सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घिनाउन र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरले भनेअनुसार, परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नूपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्। यदि कुनै व्यक्ति परमेश्‍वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्‍वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तँलाई ऊ दुष्ट व्यक्ति होइन भन्‍ने लाग्छ, र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, त्यो व्यक्तिलाई घृणा गर्न तँलाई गाह्रो पर्न सक्छ, र तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध नबदलिन सक्छ। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने सुनेर तँ विचलित हुनेछस्, र तँ परमेश्‍वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्‍नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई पूर्ण रूपमा त्याग्‍न सक्दैनस्। यसको कारण के हो? तेरो भावना अत्यन्तै प्रगाढ भएको हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्‍याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? यसको साथै, तँ परम्‍परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तेरो निन्दा गर्नेछ र आमाबुबाप्रति भक्तिभाव नराख्ने, विवेक नभएको, र मानवसमेत बन्‍न नसकेको भनी दोष लाउनेछ भन्‍ने सोच्छस्। तँलाई आफू दैवद्वारा दोषी ठहरिएर दण्डित हुनेछु भन्‍ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? किनकि तँभित्र तँ बालकै छँदादेखि तेरो परिवारको विरासतद्वारा, तैँले आमाबुबाबाट पाएको शिक्षाद्वारा, र परम्परागत संस्कृतिको सिकाइद्वारा एउटा सोच्ने तरिकाको बीजारोपण भएको हुन्छ। यसरी सोच्ने तरिकाले तेरो हृदयमा निकै गहिरो जरा गाडेको हुन्छ, र यसले गर्दा तँ पितृभक्ति पूर्णतया प्राकृतिक र उचित कुरा हो, र आफ्‍ना पितापुर्खाबाट आएका जुनसुकै कुरा पनि सधैँ असल हुन्छ भन्‍ने गलत विश्‍वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हाबी रहन्छ, जसले तेरो विश्‍वासमा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो बाधा र रोकावट पैदा गर्छ, र तँ परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ कि शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउनका लागि अनेक थरिका उपायहरू लगाउँछ। उदाहरणका लागि, हाम्रा आमाबुबाको मार्गदर्शन, हाम्रा विद्यालयहरूको शिक्षा, र हामी वरपरका मानिसहरूका रायले हामीलाई विश्‍वास गरायो कि हामीलाई आमाबुबाले हुर्काएकाले हामीले उनीहरूको दयाको ऋण तिर्नैपर्छ, र मानवता र विवेक हुनु भनेको यही हो। नत्र, हामीमा विवेक हुन्थेन, हामी अनुत्तरदायी हुनेथ्यौँ, र तिरस्कृत हुनेथ्यौँ। सानै उमेरदेखि मभित्र यी विचार र दृष्टिकोणहरू हालिए, जस्तै “बाबु-आमाप्रतिको धर्म नै सबैभन्दा ठूलो पुण्य हो,” अनि “आमाबुबा सधैँ सही हुन्छन्,” मभित्र यी परम्परागत विचार र दृष्टिकोणहरू भएकाले, जब म घर छोडेर कर्तव्य पूरा गर्न गएँ र मैले मेरा आमाबुबाको हेरचाह गर्न सकिनँ, तब मैले आफैलाई दोष दिएँ र ग्लानि महसुस गरेँ। म आफ्नो कर्तव्य पूरा गर्ने मुडमा थिइनँ, र त्यसका लागि टाढा गएकोमा पछुताएँ। जब मैले मेरा काकाले मलाई रिहा गर्न १४०,००० युआन खर्चेको देखेँ, र जब मैले उहाँलाई प्रहरीले सताएको र पक्राउ गरेको छ भन्‍ने थाहा पाएँ, मैले सोचेँ कि मैले परमेश्‍वरमा विश्‍वास गरेकै कारण मेरो परिवार यो समस्यामा परेको थियो, र मैले आफ्नो कर्तव्य पूरा गर्न छोड्न र परमेश्‍वरलाई विश्‍वासघात गर्न चाहेँ, साथै मेरो आफ्नै ज्यान लिन समेत चाहेँ। मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्नका लागि मेरा काका-काकीले मेरो स्वतन्त्रतालाई नियन्त्रणमा राखे र म कहाँ छु भन्‍ने कुराको निगरानी गरे। मलाई परमेश्‍वरमाथिको विश्‍वासलाई त्याग्न बाध्य पार्न मेरी काकीले घुँडै टेक्नुभयो र खाना खान छोड्नुभयो। म ठूलो पीडामा थिएँ र मलाई अत्यन्तै दमनमा परेको महसुस भयो। तर ममा उनीहरूलाई प्रतिरोध गर्ने आँट र इच्छा थिएन। मैले “आमाबुबा सधैँ सही हुन्छन्” र उनीहरूको सन्तानको नाताले, उनीहरूलाई यस्ता कठिनाइहरू भोग्न दिनु, यति सम्म कि मेरी काकीले घुँडै टेकेर मलाई बिन्ती गर्नु, भनेको म अत्यन्तै अनुत्तरदायी हुनु हो भन्‍ने विश्‍वास गरेँ। त्यो समयमा, मलाई उनीहरूको आज्ञापालन गर्नु र आफ्नो कर्तव्य पूरा नगर्नु भनेको परमेश्‍वरलाई विश्‍वासघात गर्नुसरह हो, र मैले सत्यता पाउने मौका गुमाउनेछु भनेर थाहा भए पनि, ममा उनीहरूलाई प्रतिरोध गर्ने शक्ति थिएन। मैले कहिल्यै म परमेश्‍वरमा विश्‍वास गर्ने छोड्नेछु भनेर नभने पनि, त्यो वर्षको अधिकांश समयका मेरा विविध व्यवहारहरूले देखाए कि मैले शैतान र परम्परागत सोचाइसामु शिर झुकाएँ। बाँकी सबै अपराध र दागहरू मात्र थिए; मैले परमेश्‍वरलाई बारम्बार विश्‍वासघात गरेँ। अहिले, मैले प्रस्टसित बुझेँ कि आफ्ना आमाबुबाप्रति कर्तव्यनिष्ठ हुनु सकारात्मक कुरा भए पनि, त्यो सत्यता थिएन, अनि त्यस्तो दृष्टिकोणले ममा सिद्धान्तहरूको कमी ल्याउँछ, र असल र दुष्ट वा सही र गलत छुट्याउन समेत असक्षम तुल्याउँछ। मेरा काका-काकीले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्न खोजे, गोप्य रूपमा थुनामा राखे, र उहाँका बारेमा निन्दात्मक शब्दहरू प्रयोग गरे। उनीहरूले यस्तो समेत भने कि जबसम्म उनीहरू जिइरहन्छन्, र जबसम्म मर्दैनन्, तबसम्म उनीहरूले मलाई परमेश्‍वरमा विश्‍वास गर्ने अनुमति दिनेछैनन्, यदि मैले परमेश्‍वरलाई राखेँ भने, परिवारलाई गुमाउनेछु, र परिवारलाई राखेँ भने परमेश्‍वरलाई गुमाउनेछु। उनीहरूको सार सत्यता र परमेश्‍वरप्रति शत्रुवत थियो। साथै, मेरा धर्मपिताले सधैँ मलाई रोकिरहन्थे, र शैतानको नोकरको नकारात्मक भूमिका खेल्थे। परमेश्‍वरले जे कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गरेर अनि उहाँले जे कुरालाई घृणा गर्नुहुन्छ त्यसलाई घृणा गरेर मैले उनीहरूलाई खुट्ट्याएको भए हुन्थ्यो। तर मैले “बाबु-आमाप्रतिको धर्म नै सबैभन्दा ठूलो पुण्य हो” भन्‍ने कुरामा विश्‍वास गरेँ, र यस्तो परम्परागत सोचाइले मलाई परमेश्‍वरविरुद्ध प्रतिरोध गर्नतिर डोर्याइरहेको थियो। मैले झण्डै आफ्नो कर्तव्य पूरा गर्न छोडेर उहाँलाई विश्‍वासघात गरेँ। अब मैले बुझेँ कि शैतानले मानिसहरूमा घुसाउने विचार र दृष्टिकोणहरू सबैले धूर्त षड्यन्त्रहरू बोकेका हुन्छन्। तिनले मानिसहरूलाई भ्रममा पारिरहेका र हानि गरिरहेका हुन्छन्।

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ। “त्यसैले, मानिसहरूका सन्दर्भमा भन्दा, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, जे भए पनि तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। तिनीहरूले तँलाई जुन कारणले हुर्काए पनि, त्यो तिनीहरूको जिम्मेवारी थियो—तिनीहरूले तँलाई जन्म दिएका हुनाले, तिनीहरूले तेरो जिम्मेवारी लिनुपर्छ। यसको आधारमा, के तेरा आमाबुबाले तेरा लागि गरेका सबै कुरालाई मायाका रूपमा लिन सकिन्छ? सकिँदैन, होइन र? (हजुर।) तेरा आमाबुबाले तँप्रतिको जिम्मेवारी पूरा गर्ने कार्यलाई तेरा आमाबुबाको मायाका रूपमा लिन मिल्दैन, त्यसैले यदि तिनीहरूले फूल वा बोटबिरुवाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्छन्, त्यसलाई मलजल गर्छन् भने, के त्यो मायाका रूपमा गणना हुन्छ? (हुँदैन।) त्यो त झन् माया हुँदै होइन। फूलहरू र बोटबिरुवाहरू बाहिर नै राम्रोसँग बढ्छन्—यदि तिनलाई हावा, घाम र वर्षाको पानी पाउने गरी जमिनमा रोपिए भने, ती फस्टाउँछन्। तिनलाई घरभित्र गमलामा रोपियो भने बाहिर जस्तो फस्टाउँदैनन्, तर ती जहाँ भए पनि, बाँचिरहेका त हुन्छन् नि, होइन र? ती जहाँ भए पनि, यो कुरा परमेश्‍वरले नै निर्धारित गर्नुभएको हुन्छ। तँ जीवित व्यक्ति होस्, र परमेश्‍वरले हरेक जीवनको जिम्मेवारी लिनुहुन्छ, यसलाई बाँच्न सक्‍ने तुल्याउनुहुन्छ, र सृष्टि गरिएका सबै प्राणीहरूले पालना गर्नुपर्ने नियम पालना गर्न लगाउनुहुन्छ। तर एक व्यक्तिका रूपमा, तँ आफ्‍ना आमाबुबाले तँलाई हुर्काएको परिवेशमा जिउँछस्, त्यसैले तँ त्यही वातावरणमा हुर्कनुपर्छ र रहनुपर्छ। तँ धेरै हदसम्म परमेश्‍वरको निर्धारणका कारण त्यस परिवेशमा जिउँछस्; केही हदसम्म, तेरा आमाबुबाले तँलाई हुर्काएको कारणले त्यसो हुन्छ, होइन र? जे भए पनि, तँलाई हुर्काएर तेरा आमाबुबाले आफ्‍नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई हुर्काएर वयस्क बनाउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्‍न मिल्दैन। यदि यसलाई दया-माया भन्‍न सकिँदैन भने, के यो तैँले आनन्द लिनुपर्ने कुरा होइन र? (हो।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तँलाई तेरा आमाबुबाले हुर्काउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले खेल्ने हुर्कँदै गरेको बच्‍चाको भूमिका खेल्छस्। त्यसकारण, तेरा आमाबुबाले तँप्रतिको एक प्रकारको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन्छन्, र तैँले त्यसलाई लिइरहेको हुन्छस् मात्रै, तर तैँले तिनीहरूबाट पक्‍कै पनि अनुग्रह वा दया-माया प्राप्त गरिरहेको हुँदैनस्। कुनै पनि जीवित प्राणीका लागि, सन्तान जन्माउनु र तिनको हेरचाह गर्नु, प्रजनन गर्नु, र अर्को पुस्तालाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानको हेरचाह गर्नुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर ती धेरै छैनन्। यो जीवित प्राणीहरूको अस्तित्वमा रहेको प्राकृतिक अवस्था नै हो, यो जीवित प्राणीहरूको अन्तर्निहित प्रवृत्ति हो, र यसलाई दया-मायाका रूपमा लिन सकिँदैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्‍नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया-माया होइन। यसका आधारमा के भन्‍न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै मेहनत गरे पनि र पैसा खर्च गरे पनि, तिनीहरूले तँलाई त्यसको भरपाई माग्‍नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले भरपाई माग्‍नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए, र यसको ऋण तिर्नु पर्दैन, र यो लेनदेनको कार्य बन्‍नु हुँदैन। त्यसकारण, तैँले भरपाई गर्ने विचारअनुसार आफ्ना आमाबुबासँग व्यवहार गर्ने वा तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्ने गर्नु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१७))। उहाँका वचनहरूबाट मैले आमाबुबाले आफ्ना छोराछोरीलाई जन्माउनु, हुर्काउनु, र राम्रो ख्याल राख्नु भनेको दया होइन, बरु आमाबुबाका नाताले उनीहरूको जिम्मेवारी र दायित्व हो भन्‍ने बुझेँ। परमेश्‍वरले भन्नुभएझैँ यदि कसैले बाहिरबाट घरभित्र फुल र घाँस ल्याउँछ भने, तिनलाई हेरचाह गर्ने, पानी हाल्ने र मलजल गर्ने जिम्मेवारी त्यसै व्यक्तिको हुन्छ; यो उसको जिम्मेवारी हो। अर्को उदाहरण यो छ कि बिरालो, कुकुर, र यस्तै अन्य जनावहरूले सन्तान जन्माउँछन् र तिनको हेरचाह गर्छन्, यो तिनको प्रवृत्ति नै हो। मानव आमाबुबा पनि आफ्ना सन्तानलाई त्यसै गर्छन्। जब कुनै बच्चा वयस्क भइसकेको हुँदैन, उसलाई हुर्काउनु र हेरचाह गर्नु सबै आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व हो, र यो मानिसहरूलाई परमेश्‍वरले दिनुभएको प्रवृत्ति पनि हो। त्यसैको कारणले छोराछोरी आफ्ना आमाबुबाका ऋणी हुँदैनन्। मैले सधैँ विश्‍वास गर्थेँ कि मेरा धर्मपिता र धर्ममाताले गरेको राम्रो हेरचाह दया हो जसको ऋण तिर्नैपर्छ, र मलाई जन्म दिएकोमा मैले काका-काकीको ऋण तिर्नैपर्छ। अब, मैले बुझेँ कि यो सास मलाई परमेश्‍वरले दिनुभएको हो, मेरा आमाबुबाले होइन। यदि परमेश्‍वरले मलाई यो सास नदिनुभएको भए, मेरा आमाबुबाले मलाई जन्माउनुभएको भए पनि, म केवल मृत जन्मिएको भ्रूण हुनेथेँ। मेरा आमाबुबाले मलाई हुर्काउनुभयो, हेरचाह गर्नुभयो, र हुर्कनका लागि राम्रो वातावरण दिनुभयो। आमाबुबाका नाताले उनीहरूले गर्नुपर्ने यही हो, र परमेश्‍वरले पूर्वनिर्धारण र बन्दोबस्त गर्नुभएको यही हो। साथै, मेरो हुर्काइको अवधिमा, मेरो साँच्चै हेरचाह र सुरक्षा गर्ने परमेश्‍वर नै हुनुहुन्थ्यो। जसरी एकपटक स्कूल छुट्टी भएपछि, मैले आफ्नो विद्युतीय साइकल तीब्र गतिमा चलाएँ र रोक्न सकिनँ, र म ढुङ्गा र एउटा ठूलो ट्रकको बीचमा अड्किएँ। त्यसबेला, उक्त ट्रक तीब्र गतिमा अघि बढिरहेको थियो, र म पनि साइकल चलाएर अघि बढिरहन बाध्य भएँ। त्यस क्रममा, मेरो खुट्टा ट्रक र साइकलको बीचमा अल्झियो, र तीसँग रगडिइरह्यो। जब फराकिलो बाटो आयो, अन्तत: मेरो साइकल रोकियो। यो साँच्चै तनावपूर्ण थियो। त्यसबेला, धेरै मानिसहरू डराइसकेका थिए र म पक्कै पनि गम्भीर रूपमा घाइते भएको हुनुपर्छ भन्‍ने सोचेका थिए। मैले पनि सोचेँ कि म निश्चय नै त्यो खुट्टा टेकेर हिँड्न सक्नेछैन। मेरो शरीरमा एउटा पनि चोट नदेख्दा म छक्कै परेँ। परमेश्‍वर सधैँ चुपचाप मेरो हेरचाह र सुरक्षा गरिरहनुभएको हुन्छ भनेर मैले प्रत्यक्ष अनुभव गरेँ। साथै, मेरो रिहाइका लागि जब मेरा काका-काकीले प्रहरीलाई १४०,००० युआन तिरे, मैले सोचेँ कि मैले प्राप्त गर्न सक्ने सबैभन्दा ठूलो दया यही थियो, र मैले उनीहरूको ऋण तिर्नैपर्छ। अब, मैले बुझेँ कि यो पैसा मेरा काका-काकीले तिरेजस्तो देखिए पनि, पृष्ठभूमिमा यसलाई शासन र बन्दोबस्त गर्ने परमेश्‍वर नै हुनुहुन्थ्यो। त्यसबखत, मेरा काका-काकीले अत्यन्तै सजिलो तरिकाले पैसा कमाउँथे, यति सजिलो तरिकाले कि उनीहरू आफै छक्क पर्थे। वास्तवमा, अब मैले त्यसबारे सोचेकी छु, यदि त्यो सबै पैसा कमाउन उनीहरूलाई परमेश्‍वरले आशिषित् नगर्नुभएको भए, मलाई रिहा गर्ने पैसा कहाँबाट आएको हुन्थ्यो? मैले परमेश्‍वरले भन्नुभएको कुरा सम्झेँ: “कसैले हाम्रो भलो गर्छ भने हामीले त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ—विशेष गरी यो कुरा हाम्रा आमाबुबामा लागू हुन्छ जसले हामीलाई जन्माएर हुर्काउनुभयो; यो सबै परमेश्‍वरले नै बन्दोबस्त गर्नुहुन्छ। सबैमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ; मानिस त सेवाको औजार मात्र हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। देख्दाखेरि, मलाई हुर्काउने मेरा आमाबुबा थिए, र मलाई रिहा गर्न पैसा तिर्ने मेरा काका-काकी थिए। तर सत्यताको दृष्टिकोणबाट हेर्दा, यो सबै परमेश्‍वरले शासन र बन्दोबस्त गर्नुभएको थियो। म उनीहरूप्रति ऋणी छैन। मैले मुक्ति गुमाएर आफ्नो जीवन प्रयोग गरी यो ऋण चुक्ता गर्नु आवश्यक छैन। म आफ्नो शक्तिले भ्याएसम्म मात्र उनीहरूप्रतिको सन्तानको धर्म निभाउन सक्छु। उचित परिस्थिति र अवस्थामा, म उनीहरूको साथमा रहन र उनीहरूप्रतिको सन्तानको धर्म निभाउन सक्छु। तर सर्तहरू पूरा भएनन् भने, मैले दोषी महसुस गर्नु पर्दैन। मैले केवल आफ्ना कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। आमाबुबाप्रतिको सन्तानको धर्म निभाउनका निम्ति यदि मैले परमेश्‍वर र सत्यतालाई त्यागेँ भने, मानिसहरूले मलाई कर्तव्यनिष्ठ छोरी भने पनि, मैले सृष्टिकर्तालाई विश्‍वासघात गरेको हुनेछु, जुन ठूलो विद्रोह हो र त्यसमा मानवताको कमी हुन्छ! खासमा, म साँच्चिकै आमाबुबाप्रति होइन, परमेश्‍वरप्रति ऋणी थिएँ। मलाई आजको दिनसम्म आइपुग्नमा मद्दत गरेको परमेश्‍वरको हेरचाह र सुरक्षाले हो; मैले सबैभन्दा धन्यवाद दिनुपर्ने उहाँलाई हो! त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मेरा आमाबुबाले के भोग्छन् र प्रहरीले उनीहरूलाई कस्तो व्यवहार गर्छन् भन्‍ने कुरा अब तपाईंको हातमा छ। म केही पनि बदल्न सक्दिनँ, र म उनीहरू तपाईंलाई सुम्पन चाहन्छु। म सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न र तपाईंको काम राम्ररी अनुभव गर्न मात्र चाहन्छु।”

त्यसपश्चात, मलाई मेरा परिवारले सामना गरेका परिस्थितिहरूको सम्बन्धमा अलि ढुक्क महसुस भयो, र मैले कसरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने भनी मनन गर्न थालेँ। चाँडै, मैले आमालाई सम्पर्क गरेँ। उनले आफ्नो अनुभव सुनाउन मलाई एउटा चिठी लेखिन्। उनले भनिन् कि यस्ता परिस्थितिहरू अनुभव गर्नाले सत्यता पछ्याउने उनको सङ्कल्प बलियो बन्यो, र मलाई घरमा के भयो भन्‍नेबारे चिन्ता नगर्न र सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्नमा ध्यान दिन भनिन्। उनले यो पनि भनिन् कि प्रहरीले म अझै घर नआएको देखेछन्, र मेरा काकालाई थुनामा राख्नु बेकार भएको थाहा पाएछन्, त्यसैले तिनीहरूले उहाँलाई छोडिदिएछन्। त्यो क्षणमा, म निकै भावुक भएँ। म छर्लङ्गै भएँ कि मैले अहिलेसम्म भोगेका परिस्थितिहरूमा परमेश्‍वरको अभिप्राय रहेछ, र तिनको उद्देश्य कामकुराबारे मेरो दृष्टिकोण उल्टाउनु र मभित्रका अशुद्धताहरूलाई सफा गर्नु रहेछ। यो परमेश्‍वरले मेरो जीवनको जिम्मेवारी लिनुभएको हो! परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्