कर्तव्यमा कुनै दर्जा हुँदैन

25 फेब्रुअरी 2023

सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नुभन्दा पहिले, मलाई शिक्षकहरूको प्रशंसा सुन्‍ने बानी परेको थियो। म सधैँ ध्यानको केन्द्रविन्दु हुन चाहन्थेँ, र अरूले राम्रो सोच्दा मलाई आनन्द लाग्थ्यो। मेइ २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। मैले सक्रिय भएर परमेश्‍वरका वचनहरू खाने-पिउने, भेलाहरूमा सहभागी हुने गर्न थालेँ, र भेलाहरूको बेला आफ्‍नो बुझाइको बारेमा सङ्गति गर्ने पहिलो व्यक्ति सधैँ म नै हुन्थेँ। मेरो सङ्गतिको बारेमा मेरा ब्रदर-सिस्टरहरूले सधैँ मलाई तारिफ गर्थे, र यो सुन्दा मलाई निकै रमाइलो लाग्थ्यो। मलाई मसँग राम्रो क्षमता छ र अरूको भन्दा राम्रो समझ छ भन्‍ने लाग्थ्यो। पछि, मलाई समूह अगुवा चयन गरियो र म उल्‍लसित भएँ—यति धेरै मानिसहरूमध्येबाट, मलाई समूह अगुवा चुनिएको थियो। यसको अर्थ मसँग राम्रो क्षमता छ र म अरूभन्दा पृथक छु भन्‍ने हुन्थ्यो। त्यसपछि, मैले समूह भेलाहरूमा संचालकको रूपमा काम गर्न थालेँ। ब्रदर-सिस्टरहरू सबैले मलाई निकै ध्यान दिन्थे र मेरो तारिफ गर्थे। भेलाहरूको बेला म तिनीहरूसँग अन्तरक्रिया पनि गर्थेँ, र तिनीहरूलाई तिनीहरूको स्थिति र कठिनाइहरूको बारेमा सोध्थेँ अनि परमेश्‍वरका वचनहरू पठाउँथेँ। यदि कुनै व्यक्तिले सङ्गति गरिरहेको छैन वा भेलामा सहभागिता जनाइरहेको छैन भन्‍ने थाहा पाएँ भने, म तिनीहरूलाई व्यक्तिगत रूपमा प्रोत्साहन दिन्थेँ। ब्रदर-सिस्टरहरूसँग मेरो सम्‍बन्ध घनिष्ठ थियो, र हामी कुराकानी गर्दा, तिनीहरू सधैँ खुशी हुन्थे। म नयाँ विश्‍वासीहरूलाई मलजल गर्नको लागि उचित व्यक्ति हुँ र म मलजल डिकन समेत बन्‍न सक्छु भन्‍ने सोच्थेँ। म अलिक उच्‍च पद पाउन चाहन्थेँ किनभने त्यसरी मैले अरू समूह अगुवाहरूको कामको निगरानी गर्न पाउँथेँ। त्यसरी मैले अझै धेरै मानिसहरूको आदर र प्रशंसा पाउन सक्थेँ। तर अचम्‍मको कुरो, एक दिन अगुवाले मलाई म सुसमाचार सुनाउनको लागि नै योग्य छु भनेर भनिन्, र मैले सुसमाचारको काममा ध्यान दिएको चाहन्छु भनेर उनले भनिन्। तर त्यो बेला, मलाई त्यति खुशी लागेन। मैले सोचेँ: “म त मलजलकर्ता हुँ। मलजलको कामको बारेमा मलाई राम्ररी थाहा छ। किन तपाईंले मलाई मलजलको काम गरिरहन दिनुहुन्‍न? किन तपाईंले मलाई सुसमाचार सुनाउन लगाउन लाग्‍नुभएको? मलजलकर्ताको रूपमा, मैले मेरो सबै प्रतिभा प्रयोग गर्न सक्छु, तर, मैले सुसमाचार प्रचार गर्नु पर्‍यो भने, मैले फेरि सुरु गर्नुपर्ने हुन्छ। यसमा मानिसहरूलाई साँचो मार्गको बारेमा अनुसन्धान गर्न अनुरोध गर्दै प्रवचनहरू सुन्‍न निमन्त्रणा गर्ने काम मात्रै समावेश हुन्छ। कुनै पनि व्यक्तिले त्यस्तो सामान्य कर्तव्य पूरा गर्न सक्छ, तब मैले कसरी आफूलाई पृथक देखाउन सक्छु? यसको साथै, म अहिले समूह अगुवा हुँ। यदि तिनीहरूले मलाई सुसमाचार प्रचार गर्ने काममा स्थानान्तर गरे भने, म सुसमाचार प्रचार गर्ने व्यक्ति मात्रै हुन्छु। त्यसपछि मलाई कसले आदर गर्नेछ?” मलाई निकै निराश लागिरहेको थियो र सुसमाचार प्रचार गर्न पटक्‍कै मन थिएन। मैले यो कुरा मान्‍नै सकिनँ। तर त्यो बेला, मैले यो महसुस गरेकी थिइनँ र मलाई दोधार मात्रै भयो। एक दिन, मैले अगुवालाई सोधेँ: “तपाईंले मलाई किन सुसमाचार सुनाउन लगाउन लाग्‍नुभएको? मैले नयाँ विश्‍वासीहरूलाई मलजल गरिरहन मिल्दैन? म दुई कर्तव्य एकै पटक पूरा गर्न सक्छु, म सबै कुरा मिलाउन सक्छु।” अगुवाले भने: “तपाईं बोल्‍न सिपालु हुनुहुन्छ र तपाईं सुसमाचार सुनाउन सिपालु हुनुहुन्छ। तपाईंको लागि यो काम नै अझै उपयुक्त हुन्छ।” यो सुनेपछि, मैले यसलाई स्वीकार गर्ने प्रयास गर्ने बाहेक मसँग कुनै उपाय थिएन, तर अझै पनि म सुसमाचार प्रचार गर्न गएँ भने मलाई कसैले पनि आदर गर्नेछैन भन्‍ने लागिरहेको थियो। म निराश र चिन्तित थिएँ। मैले मलजलकर्ताको रूपमा धेरै लामो समय काम गरेकी थिएँ, म आफ्‍नो काममा निकै प्रभावकारी थिएँ, र अरूले मलाई निकै आदर गर्थे। यदि मलाई सुसमाचार सुनाउने काममा स्थानान्तर गरियो भने, म त्यो सबै गुमाउनेथिएँ। यदि म सुसमाचार सुनाउने काममा त्यति प्रभावकारी भइनँ भने, अगुवाले मलाई के सोच्‍नेथिए? मलाई निकै निराश लाग्यो र सुसमाचार सुनाउने कुनै जाँगर आएन। मानिसहरूलाई प्रवचन सुन्‍न निमन्त्रणा गर्दा, म अल्याङटल्याङ गर्थेँ र यसमा पूर्ण रूपले लागिपर्दिनथिएँ। म धेरैजसो समय ब्रदर-सिस्टरहरूसँग कुराकानी गरेर अनि ठट्टा गरेर बिताउँथेँ, र यसरी ती सबै नकारात्मक भावनाहरू हटाउने आशा गर्थेँ। म कहिले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा फर्कन पाउँछु भनेर पनि म बारम्‍बार सोचिरहन्थेँ। परिणाम स्वरूप, एक महिना सुसमाचार प्रचार गर्दा पनि मैले केही परिणाम हासिल गरिनँ। त्यसपछि मात्रै मैले परमेश्‍वरसित प्रार्थना गरेँ: “हे परमेश्‍वर, यस परिस्थितिमा समर्पित हुन मलाई कठिन भइरहेको छ र मलाई मलजल गर्ने काममा नै फर्कन मन लाग्छ। मलाई तपाईंको अभिप्राय बुझ्‍न अगुवाइ गर्नुहोस्, ताकि म समर्पित हुन सकूँ भनेर म तपाईंलाई अनुरोध गर्छु।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ। “तेरो मनोवृत्तिलाई सही र परमेश्‍वरको इच्छाअनुरूपको भनेर भन्‍न मिल्नको लागि तँमा आफ्नो कर्तव्यप्रति कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, त्यो कोद्वारा प्रबन्ध गरिएको हो, यो कुन स्तरका अगुवाहरूद्वारा खटाइएको हो भनी तैँले छानबिन गर्नु हुँदैन—तैँले त्यसलाई परमेश्‍वरबाट पाएको भनी स्वीकार गर्नुपर्छ। तैँले यसलाई विश्‍लेषण गर्न सक्दैनस्, तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। यो एउटा सर्त हो। यसबाहेक, तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौं तैँले यसो भन्छस्, ‘यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? यो वा त्यो भन्दै छनौट गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र इच्‍छाहरू मिसिएका हुन्छन्; जब तैँले तेरा आफ्‍नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। यो पढेपछि, मैले मेरो कार्य-व्यवहारहरूको बारेमा मनन गरेँ। म आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो कर्तव्य पूरा गर्थेँ। मलजलको काममा, मैले मेरो प्रतिभालाई प्रयोग गर्न सक्थेँ, म समूह अगुवा, अरू मानिसहरूको इन्‍चार्ज थिएँ, नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा मैले राम्रो परिणाम हासिल गर्थेँ, र अरू सबैले मलाई आदर र प्रशंसा गर्थे, र म सधैँ खुशी हुन्थेँ। मैले गर्नुपर्ने काम धेरै हुँदा पनि, म कहिल्यै गनगन गर्दिनथिएँ। तर जब अगुवाले मलाई सुसमाचार सुनाउने कामको जिम्‍मा दिए, तब मैले मानिसहरूलाई प्रवचन सुन्‍न बोलाइरहेकी हुन्छु, जुन जोसुकैले गर्न सक्‍ने काम हो भन्‍ने मलाई लाग्यो। अनि मैले समूह अगुवाको मेरो पद गुमाएको हुनाले, कसैले मलाई अब आदर गर्दैनन् भन्‍ने पनि लाग्यो। मलाई दुःख लाग्यो, मनमनै गुनासो गरेँ र परमेश्‍वरसँग तर्क गर्ने प्रयास गरेँ। सुसमाचार सुनाउने काम गर्न सहमति जनाए पनि, मलाई त्यो काम गर्न जाँगर चलेन। आफ्‍नो कर्तव्य अझै राम्ररी कसरी पूरा गर्ने भनेर सोच्‍नुको सट्टा, मलाई अरूसँग कुराकानी गर्न मन पर्थ्यो। परिणाम स्वरूप, एक महिना सुसमाचार प्रचार गर्दा पनि मैले केही परिणाम हासिल गरिनँ। मैले आफ्‍नो कर्तव्यमा, प्रतिष्ठा र हैसियतलाई महत्त्व दिएँ। यदि यो मैले मन परेको काम हो र यसले मलाई प्रतिष्ठा र हैसियत दिन्थ्यो भने, म भनेको मान्‍नेथिएँ। तर मलाई मन नपर्ने काम रहेछ, र त्यसले मेरो नाम र हैसियतलाई बढाउँदैनथियो भने, म निराश हुन्थेँ र परमेश्‍वरसँग गुनासो गर्थेँ। मैले साँचो रूपमा समर्पणता जनाइरहेकी थिइनँ। कुनै कर्तव्यले मलाई लोकप्रियता र हैसियत दिन्छ कि दिँदैन त्यसको आधारमा नै मैले परमेश्‍वरको आज्ञापालन गर्ने कि नगर्ने भनेर निर्णय गर्थेँ। मैले आफ्‍नो कर्तव्यमा इमानदार आचरण राखिनँ। यदि म यसरी नै हैसियतको पछि लागिरहेको भए, मैले धेरै काम गरे पनि, आफ्‍नो कर्तव्य राम्ररी पूरा गरे पनि, र मेरा ब्रदर-सिस्टरहरूको आदर पाए पनि, यदि परमेश्‍वरले मैले गरेको कामलाई मन पराउनुभएन र स्वीकार गर्नुभएन भने त्यसको के अर्थ हुनेथियो र? यो कुरा महसुस गरेपछि, मैले आफ्‍नो कर्तव्यप्रतिको आचरण परिवर्तन गर्ने निर्णय गरेँ। अरूले मेरो बारेमा के सोच्छन् भनेर चिन्ता गर्न छोड्ने अनि काम राम्ररी गर्नमा ध्यान दिने निर्णय गरेँ।

त्यसपछि, सुसमाचार सुनाउने काममा तनमन लगाएर लागिपरेँ। केही समयपछि, साँचो मार्गको अनुसन्धान गर्दै आइरहेका कतिपय मानिसहरूले परमेश्‍वरको कार्यलाई स्वीकार गरे। मैले राम्रो काम गरेको छु भनेर अगुवाले भने र मलाई निकै खुशी लाग्थ्यो। मैले सुसमाचार प्रचार गर्न थालेको धेरै भएको थिएन, तर अरूले भन्दा राम्रो काम गर्न थालिसकेकी थिएँ। मैले अगुवाबाट प्रशंसा समेत पाएकी थिएँ। मसँग सम्भावनाहरू साँच्‍चै धेरै थिए! सुसमाचार प्रचार गर्ने काम त्यति नराम्रो होइन भन्‍ने लाग्‍नथाल्यो। सायद मैले त्यहाँ मेरो प्रतिभा प्रदर्शन गरेर अझै धेरै प्रशंसकहरू बटुल्‍न सक्छु भन्‍ने लाग्यो। त्यसपछि, मैले सुसमाचार सुनाउने काममा अझै परिश्रम गर्न थालेँ र अझै राम्रा परिणामहरू हासिल गर्दै गएँ। मार्च २०२१ मा, मलाई मण्डली अगुवा चयन गरियो। म हर्षित भएँ र परमेश्‍वरलाई धन्यवाद दिएँ। यस कर्तव्यमा, मैले मण्डलीका ब्रदर-सिस्टरहरूलाई अगुवाइ गरिरहेकी हुनेथिएँ र हरेक कामको प्रोजेक्टको प्रमुख हुनेथिएँ। यो आफूलाई पृथक देखाउने ठूलो मौका थियो। म यो कर्तव्यमा तनमन लगाएर लागिपर्नु पर्नेथियो। त्यो अवधिमा, मैले लगनशील भएर काम गर्न थालेँ। सबैलाई आफ्‍नो कर्तव्यमा आएका समस्याहरूका बारेमा सोध्दै म सधैँ मेसेजहरू पठाउँथेँ। यदि कुनै व्यक्तिले आफ्‍नो काम त्यति राम्ररी गरिरहेको छैन भन्‍ने देखेँ भने, म उसलाई व्यवहारिक रूपमा समस्याहरू औँल्याइदिन्थेँ। म प्रायजसो हरेक प्रोजेक्टको बारेमा जाँच गर्थेँ र राम्रो क्षमताका ब्रदर-सिस्टरहरूलाई वृद्धि-विकास गर्थेँ। ब्रदर-सिस्टरहरूको हेरचाह गर्न पाउँदा, मलाई आफू ठूली दिदी भएकी छु जस्तो लाग्थ्यो। तिनीहरू सबैले साँच्‍चै नै ममा भरोसा गर्थे र तिनीहरूले आफ्‍ना समस्याहरूका बारेमा खुलस्त बताउँथे। एक जना सिस्टरले त मैले उनका समस्याहरू समाधान गर्न तुरुन्तै परमेश्‍वरका वचनहरूका खण्डहरू भेट्टाएकोमा मलाई प्रशंसा समेत गरिन्। तिनीहरूको आदर र सम्‍मान पाउँदा म निकै खुशी थिएँ र मैले आफ्‍नो कर्तव्यमा अझै धेरै परिश्रम गर्न थालेँ।

करिब एक महिनापछि, धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न थाले र मण्डलीलाई विभाजन गरियो। तैपनि, यस पटक, मलाई अगुवा होइन डिकनको रूपमा छनौट गरियो। मलाई निराशा लाग्यो। म अगुवा भएको भए, मैले यसबाट अझै धेरै सम्‍मान पाउन सक्थेँ। म असल अगुवा हुन सक्थेँ, र पनि किन मलाई छनौट गरिएन? नयाँ अगुवाले मलाई केही काम गर्न अनुरोध गर्दा, मलाई प्रतिक्रिया दिन मन लागेन। मलाई अत्यन्तै भयङ्कर अनुभव भयो र त्यो वातावरणमा समर्पित हुन मलाई गाह्रो भयो। तर त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “तेरो कर्तव्य पूरा गर्दा, तँ आफ्‍ना व्यक्तिगत रुचिहरूअनुसार, तँलाई जे मन लाग्छ त्यो गर्न, तँलाई जे गर्दा खुसी लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न सक्दैनस्। यसो गर्नु भनेको आफ्‍नै इच्‍छाअनुसार काम गर्नु हो। आफ्‍नो कर्तव्य निभाउने क्रममा, यदि तैँले आफ्‍नै व्यक्तिगत रुचिहरूमा भरोस गर्छस् र परमेश्‍वरले माग्नुभएको कुरा यही हो, र यही कुराले परमेश्‍वरलाई खुशी तुल्याउँछ भनी भन्छस् भने, र यदि तैँले जबरजस्ती परमेश्‍वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्य हुन् जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्यका सिद्धान्तहरू हुन् जस्तो गरी पालन गर्छस् भने, के त्यो गल्ती हुन्‍न र? त्यो कर्तव्य पूरा गर्नु होइन, र यसरी निर्वाह गरिएको कर्तव्यलाई परमेश्‍वरले सम्झनुहुन्‍न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्‍वरका वचनहरूको यो खण्डद्वारा, अगुवाको रूपमा छनौट नहुुनु भनेको मैले सत्यताको अभ्यास गर्न र उहाँमा समर्पित हुन सक्छु कि सक्दिनँ भन्‍ने कुराको जाँच हो भन्‍ने मलाई महसुस भयो। कर्तव्य मन नपरेको कारण म परमेश्‍वरमा समर्पित भइनँ भने, परमेश्‍वरले मलाई तारिफ गर्नुहुनेथिएन। त्यसकारण यी सबै कुरा स्वीकार गर्न गाह्रो भए पनि, म समर्पित हुनुपर्छ भन्‍ने मलाई थाहा थियो। दुई महिनापछि, मलाई फेरि पनि अर्को मण्डलीमा सुसमाचार सुनाउने काम गर्न पठाइयो। अगुवाले मलाई धेरै काम दिन्थे, र कामको बारेमा छलफल गर्दा प्रायजसो मेरो विचार बताउन अनुरोध गर्थे। उनले मलाई म यो कर्तव्य पूरा गर्न अत्यन्तै उचित छु भनी भनेर समेत भनिन्। मैले मनमनै सोचेँ: “अगुवाले मलाई भरोसा गर्ने हुनाले यो सबै काम दिएका हुन्। मैले उनलाई निराश तुल्याउनु हुँदैन। मैले मसँग राम्रो क्षमता छ र म सक्षम छु भनेर प्रमाणित गर्नैपर्छ।” त्यो बेला, मैले फेरि पनि प्रतिष्ठा र हैसियतको खोजी गरिरहेकी छु भन्‍ने महसुस गरेँ। मलाई निकै निराश र नकारात्मक अनुभव भयो। म किन सधैँ यस्तै व्यवहार गरिरहेकी हुन्छु मैले त्यो पत्ता लगाउन सकेकी थिइनँ। मेरो भ्रष्ट स्वभावको स्रोत के थियो? मैले खोजी गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेटेँ। “केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी जान्ने)। “ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै हदसम्म पुग्छ, र यो तिनीहरूको स्वभाव र सारभित्रै हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीले गर्ने हरेक कामकुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै हैसियत र प्रतिष्ठा हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा उसको जीवन हो, र उसको जीवनभरिको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कामकुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियतलाई के हुनेछ? अनि मेरो प्रतिष्ठालाई के हुनेछ? के यो काम गर्दा यसले मलाई प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले हैसियत र प्रतिष्ठा धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? हैसियत र प्रतिष्ठा घनिष्ट रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा प्रयत्न गरिरहेको कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूको लागि, हैसियत र प्रतिष्ठा तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जेसुकैको लागि प्रयत्न गरे पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जेसुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च पद प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यसलाई कहिल्यै पनि पन्छ्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको साँचो सार यही हो(वचन, खण्ड ३। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। परमेश्‍वरको वचनबाट मैले के महसुस गरेँ भने, ख्रीष्ट-विरोधीहरूले सामान्य मानिसहरूले भन्दा बढी प्रतिष्ठा र हैसियतलाई बहुमूल्य ठान्छन्, र यो तिनीहरूको अस्तित्वको जन्‍मजात पक्ष हो। तिनीहरूले जे गरे पनि, तिनीहरूको प्राथमिक चासोको विषय सधैँ प्रतिष्ठा र हैसियत हुन्छ, र अरूले तिनीहरूलाई आदर र सम्‍मान गर्छन् कि गर्दैनन् भन्‍ने कुरा नै हुन्छ। तिनीहरूले मानिसहरूको हृदयमा स्थान लिन, तिनीहरूलाई नियन्त्रण गर्न र तिनीहरूमाथि प्रभुत्व जमाउन चाहन्छन्। यो तिनीहरूको ख्रीष्ट-विरोधी सारको कारण भएको हुन्छ। मैले प्रतिष्ठा र हैसियतको कति लोभी रहेछु भन्‍ने बारेमा मनन गरेँ। मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, म सधैँ अरूको सम्‍मान खोज्थेँ, तिनीहरूको हृदयमा स्थान खोज्थेँ। अनि परमेश्‍वरमा विश्‍वास गरिसकेपछि समेत, मैले पहिले जस्तै आदर र सम्‍मान खोज्थेँ। मलाई भेलाहरू संचालन गर्न, सङ्गति गरेर अरूको आदर पाउन मन पर्थ्यो। म सबैको आदर पाउँदाको अनुभवमा रमाउँथेँ। जब म अगुवाबाट डिकनमा झरेँ, मलाई निकै निराश लाग्यो। मलाई मैले मेरो प्रतिष्ठा र हैसियत गुमाएकी छु भन्‍ने लाग्यो र अरूले मलाई नीच ठान्‍नेछन् भन्‍ने चिन्ता लाग्यो। जब मलाई अर्को मण्डलीमा सुसमाचार सुनाउन पठाइयो, तब म फेरि पनि सबैको सम्‍मान पाउन आफूलाई प्रमाणित गर्न चाहन्थेँ। मेरो खोजी पावलको भन्दा फरक थिएन। पावललाई सार्वजनिक ठाउँमा भाषण गर्न मन पर्थ्यो। तिनी दर्शकहरूद्वारा घेरिन, सम्‍मान र आदर पाउन मन पराउँथे। तिनले मानिसहरूको हृदयमा स्थान लिन चाहन्थे र अन्तिममा तिनले आफैलाई ख्रीष्‍ट भनेर भने। तिनको प्रकृति अत्यन्तै अहङ्कारी थियो। मैले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, म सधैँ अरूको सम्‍मान र आदर पाउने बारेमा मात्रै विचार गर्थेँ। म मानिसहरूको हृदयमा उच्‍च स्थान लिन चाहन्थेँ। म कति अहङ्कारी थिएँ! मैले परमेश्‍वरमा विश्‍वास गरेकी भए पनि, मसँग परमेश्‍वरको डर मान्‍ने हृदय थिएन। म ख्याति र हैसियतको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गर्थेँ, परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनको लागि होइन। मैले ख्रीष्ट-विरोधीको मार्गमा पाइला चालिसकेकी थिएँ। म साँच्‍चै नै खतरामा थिएँ! परमेश्‍वरले मलाई अगुवाको रूपमा छनौट हुनबाट रोकेर मलाई रक्षा गरिरहनुभएको थियो। मलाई खुलासा गर्ने यो परिस्थिति नभएको भए, म कति अहङ्कारी छु र मेरो परिस्थिति कति जोखिमपूर्ण बनेको छ भन्‍ने कुरा मैले कहिल्यै पनि थाहा पाउनेथिइनँ। मलाई भयानक अनुभव भयो र मेरो अनुचित खोजीप्रति मलाई खेद लाग्यो अनि दुःख लाग्यो। म परमेश्‍वरसित प्रार्थना गरेँ: “हे सर्वशक्तिमान् परमेश्‍वर! प्रतिष्ठा र हैसियतको खोजी गर्दै म गलत मार्गमा लागेको रहेछु र मलाई भयङ्कर लागिरहेको छ। तपाईंका वचनहरूद्वारा मलाई खुलासा गर्नुभएकोमा धन्यवाद। म अबदेखि प्रतिष्ठा र हैसियतको खोजी गर्नेछैनँ र तपाईंका सबै बन्दोबस्तहरूमा समर्पित हुनेछु। अरूले मेरो बारेमा जसरी विचार गरे पनि, म सक्दो आफ्‍नो कर्तव्य पूरा गर्नेछु।”

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेटेँ। “परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिष्‌हरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा कुनै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्‍वरप्रति तँ पूर्ण रूपमा आज्ञाकारी छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्‍वरका वचनहरूको यो खण्डले मलाई निकै सहयोग गर्‍यो। मैले सत्यता र स्वभाव परिवर्तनको खोजी गर्नुपर्छ, र त्यही नै सही मार्ग हो भन्‍ने कुरा महसुस गरेँ। प्रतिष्ठा र हैसियतको पछि लाग्‍नु असफलताको मार्ग हो। पहिले त, म सधैँ प्रतिष्ठा र हैसियतको खोजी गर्थेँ। नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा, म आदर र प्रशंसा बटुल्थेँ, र पछि मैले अगुवाको रूपमा बढुवा पाएँ। अरूको नजरमा, मेरो हैसियत बढेको थियो, तर म झन्-झन् अहङ्कारी हुँदै गएकी थिएँ। मैले आफूलाई निकै ठूलो ठान्थेँ र मेरो स्वभावमा कुनै परिवर्तन थिएन। यदि मैले यसरी नै खोजी गरिरहेकी भए, मलाई अन्त्यमा हटाइनेथियो। म त पावल जस्तै थिएँ, जसले सुसमाचार प्रचार गरेर धेरैलाई विश्‍वासमा ल्याएका थिए। बाइबलमा उनका धेरै पत्रहरू समावेश छन् र धार्मिक संसारमा उनलाई पूजा र आदर गरिन्छ। तर पावलले आफूलाई चिनेका थिएनन्, र तिनले आफ्‍नो भ्रष्ट स्वभावलाई कहिल्यै परिवर्तन गरेनन् र तिनी नरकमा फ्याँकिए। विश्‍वासको महत्त्वपूर्ण पक्ष भनेको सत्यताको खोजी गर्ने मार्गमा हिँड्नु हो भन्‍ने मलाई महसुस भयो। अन्यथा, ढिलो-चाँडो मैले पछुताउनु पर्थ्यो।

पछि, अनुभव सम्‍बन्धी गवाहीको भिडियो हेर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड देखेँ। “यदि तँ परमेश्‍वरको इच्छा पूरा गर्नलाई तैँले गर्ने सबै कुरामा समर्पित हुन चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य पूरा गर्नु हुँदैन; तैँले परमेश्‍वरले तँलाई दिनुहुने कुनै पनि आज्ञालाई तैँले स्वीकार गर्नुपर्छ। चाहे त्यो तेरो चाखहरूसित मेल खाओस् वा नखाओस्, वा तेरा रुचिहरूभित्र परोस् वा नपरोस्, वा तँलाई गर्न आनन्द नलाग्ने वा तैँले अघि कहिल्यै नगरेको कुरा होस् वा केही गाह्रो कुरा होस्, तैँले अझै पनि त्यसलाई स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। तैँले त्यसलाई केवल स्वीकार गर्ने मात्रै गर्नु हुँदैन, तैँले सक्रिय रूपमा सहकार्य गर्नुपर्छ, त्यसबारेमा सिक्‍नुपर्छ, अनुभव गर्नुपर्छ र प्रवेश प्राप्त गर्नुपर्छ। तैँले कष्ट भोग्‍नुपरे पनि, अरूभन्दा माथि उठ्न नसके पनि, अपहेलित बने पनि, र बहिस्कृत भए पनि, तँ आफ्‍नो भक्तिमा समर्पित हुनुपर्छ। तैँले यसलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य मान्‍नुपर्छ, व्यक्तिगत व्यवसायजस्तो ठान्‍नु हुँदैन। मानिसहरूले आफ्ना कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? सृष्टिकर्ता परमेश्‍वरले तिनीहरूलाई दिनुभएको कामको रूपमा हेर्नुपर्छ; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्‍वरले भन्‍नुभएझैँ गरी आफ्‍नो कर्तव्य निभाउनु स्वर्गले तोकेको र पृथ्वीले स्वीकार गरेको कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले कर्तव्य मानिसहरूको लागि परमेश्‍वरको आज्ञा हो भनी सम्झनुपर्छ। मानिसहरूले मलाई आदर गरे पनि नगरे पनि, मैले आफ्‍नो जिम्मेवारि पूरा गर्न आफ्‍नो जीवन समर्पित गर्नुपर्छ, तर अरूको सम्‍मान पाउनतिर लाग्‍नु हुँदैन। विगतमा, म आफ्‍नो कर्तव्यलाई परमेश्‍वरबाट आएको कामको रूपमा हेर्दिनथिएँ र सधैँ आफ्‍नै इच्‍छा अनुसार काम गर्थेँ। म कर्तव्यहरूलाई महत्त्वपूर्ण वा कम महत्त्वको, ठूलो वा सानो भनेर वर्गीकरण गर्थेँ। मलाई पृथक तुल्याउन सहयोग गर्ने कर्तव्यमा म उत्साहको साथ र सक्रिय भएर लागिपर्थेँ र मलाई पृथक तुल्याउन सहयोग नगर्ने कर्तव्यप्रति म गुनासो गर्थेँ, नकारात्मक बन्थेँ, अटेर गर्थेँ, र त्यसलाई स्वीकार गर्दिनथिएँ। म आफ्‍नो कर्तव्यमा त्यति धेरै छनौट गर्ने वा आफ्‍नै इच्‍छा अनुसार काम गर्ने बन्‍नु हुँदैन भन्‍ने मलाई महसुस भयो। वास्तवमा, चाहे त्यो मलाई प्रसिद्ध पार्ने कर्तव्य होस् वा पर्दा पछाडि पूरा गर्ने पर्ने कर्तव्य होस्, ती सबै मण्डलीको काम हुन्, र तिनमा दर्जाको कुनै भिन्‍नता हुँदेन। परमेश्‍वरको नजरमा, सबै कर्तव्य उस्तै हुन्छन्। मण्डलीले हामीलाई हाम्रो प्रतिभाको आधारमा फरकफरक काम दिनुहुन्छ, ताकि हामी सबैले हाम्रो क्षमताको पूर्ण उपयोग गर्न सकौँ। यो मण्डलीको काम र हाम्रो आफ्नै जीवन प्रवेश दुवैको लागि फाइदाजनक हुन्छ। मैले परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित भएर राम्रोसित कर्तव्य निर्वाह गर्नुपर्छ। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे सर्वशक्तिमान् परमेश्‍वर, म अबदेखि मेरा इच्‍छाहरू अनुसार आफ्‍नो कर्तव्य गर्न चाहन्‍नँ। मैले आफूलाई पृथक तुल्याउन नसके पनि, म परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन मेरो कर्तव्यमा मेरो सर्वस्व दिन तयार छु।”

एक दिन, हामी भेलामा थियौँ र अगुवाले मलाई संचालक हुन दिन्छ भन्‍ने आशा गरेकी थिएँ, तर भेलामा पुगेपछि, अर्की सिस्टरले संचालन गरिरहेकी रहेछिन्। मैले मनमनै सोचेँ: “म त यो सिस्टरको लिडर थिएँ तर अहिले त उनी मेरो समूह अगुवा बनेकी छिन्। यसको साथै, म सधैँ भेलाहरू संचालन गर्थेँ। अहिले मैले गर्न पाएकी छैन र म आफूलाई पृथक देखाउन सक्दिनँ—के ब्रदर-सिस्टरहरूले मलाई कमको सम्झनेछन्?” मलाई अत्यन्तै लाज र अप्ठ्यारो लाग्यो। मलाई समूहमा पठाइएका मेसेजहरू बेवास्ता गरेर फरक समूह भेलामा जान मन लाग्यो। तर मेरो आचरण गलत छ भन्‍ने मलाई महसुस भयो, त्यसैले मैले परमेश्‍वरसित प्रार्थना गरेँ, र मलाई आफ्‍नो अभिमान त्याग्‍न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ। प्रार्थना गरेपछि, मन अलिक शान्त भयो। मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ र आफूलाई पृथक तुल्याउने बारेमा चिन्ता गर्न छोड्नुपर्छ। यो कुरा बुझेपछि, म त्यति दुःखी बनिनँ। पछि, मैले त्यो अवधिमा आफूले भोगेको अनुभवहरू र कसरी मलाई परमेश्‍वरका वचनहरूले परिवर्तन गरेका छन् भन्‍नेबारेमा सबैसित खुलेर गरेँ। मैले अत्यन्तै खुशी र स्वतन्त्र अनुभव गरेँ। अहिले, अझै पनि म सुसमाचार प्रचार गर्ने साधारण व्यक्ति हुँ, तर अहिले मैले मेरो कर्तव्यको दर्जाको बारेमा वास्ता गर्न छोडेको छु। म उप्रान्त समूह अगुवा, डिकन वा मण्डली अगुवा नभए पनि, म आफ्‍नो कर्तव्य पूरा गर्न अझै इच्‍छुक छु। परमेश्‍वर धन्यवाद। परमेश्‍वरका वचनहरूले मलाई रूपान्तरण गरे।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो विगतको बदनामी

सन् २०१५ को अगस्टमा, म र मेरो परिवार सिन्जियाङ सर्‍यौँ। कम्युनिस्ट पार्टीले निकै कडा निगरानी र नियन्त्रण कारबाही चलाइरहेको छ, र यो...

बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

इमानदार व्यक्ति बनेर मैले के पाएँ

एक दिन, एक जना अगुवाले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने म इन्‍चार्ज रहेको मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोधिन्। के भन्‍ने मलाई थाहा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्