लापरवाह बन्दा भएको क्षति

25 फेब्रुअरी 2023

सन् २०२१ को अक्टोबरमा, मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम थालेँ। एक हप्तापछि, मलाई आफूले सिक्‍नुपर्ने कुरा धेरै रहेछन् भन्‍ने महसुस भयो। मैले आफूलाई दर्शनहरूको सत्यताले सुसज्‍जित पार्नुपर्थ्यो, र तिनीहरूका समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्न पनि अभ्यास गर्नुपर्थ्यो, तर सत्यताबारे मेरो बुझाइ सतही थियो र कुराकानी गर्न म सिपालु थिइनँ। मलाई यो कर्तव्य निकै कठिन लाग्यो। मैले नयाँ विश्‍वासीहरूका समस्याहरू तुरुन्तै समाधान गरोस् भन्ने समूह अगुवाले चाहँदा, त्यो पूरा गर्न मलाई निकै गाह्रो लाग्थ्यो। सबै नयाँ विश्‍वासीहरूसँग निकै समस्याहरू हुन्थे, त्यसकारण ती समाधान गर्न, मैले धेरै लक्षित सत्यता खोज्नुपर्थ्यो, र स्पष्‍टसँग कसरी सङ्गति गर्ने सो विचार गर्नुपर्थ्यो। यसको लागि धेरै मेहनत चाहिन्थ्यो। त्यसकारण मैले समूह अगुवालाई ममा क्षमताको कमी छ र यो काम राम्ररी गर्न सक्दिनँ भनेर भनेँ। समूह अगुवाले मलाई सङ्गति दिइन् र मैले आफ्‍नो कर्तव्यमा बोझ लिनुपर्छ र मैले कष्ट भोग्‍न डराउनु हुँदैन भनेर भनेँ। उनको सङ्गति सुनेपछि मैले मन नलागी-नलागी सहमति जनाएँ, तर मनमा भने म मूल्य चुकाउन चाहँदिनथेँ। भेलाहरूमा, मैले सदाझैँ नयाँ विश्‍वासीहरूलाई सङ्गति दिइरहेँ, र मैले तिनीहरूका कठिनाइहरू नबुझेकी हुनाले, म आफ्‍नो सङ्गतिमा झिझोलाग्दो गरी लम्बेतान बोलिरहन्थेँ र कुनै परिणाम हासिल गर्दिनथेँ, जसले गर्दा नियमितरूपमा भेला हुने नयाँ विश्‍वासीहरूको सङ्ख्या घट्न थाल्यो। समूह अगुवाले समस्या थाहा पाएपछि तिनीहरूलाई तुरुन्तै सहयोग गर्न मलाई अनुरोध गरिन्, तर मैले मनमनै सोचेँ, “सुसमाचार प्रचारकले तिनीहरूलाई दर्शनहरूको सत्यतामा धेरै सङ्गति दिइसकेका छन्, त्यसकारण तिनीहरू अझै भेलाहरूमा आउँदैनन् भने, म मदत गर्न गएर के नै हासिल हुन्छ र? साथै, ती सबै नयाँ विश्‍वासीहरू हाल भेलामा आइरहेका छैनन्, त्यसैले तिनीहरूसँग सङ्गति गर्न पक्‍कै पनि धेरै समय लाग्छ, जुन थकाइलाग्दो हुनेछ।” त्यो सोचेपछि, मैले तिनीहरूलाई के छ भनेर सोध्दै छोटो मेसेज मात्र पठाएँ, र जवाफ नदिनेहरूलाई पन्छाएँ, र वास्तै गरिनँ। अझ धेरै समस्या भएकाहरूलाई मैले सङ्गतिको लागि मेरो सूचीको अन्तिममा राखेँ, वा उनीहरूलाई सहयोग गरून् भनी सुसमाचार प्रचारकहरूको हातमा सुम्पिदिएँ। चाँडै नै, केही नयाँ विश्‍वासीहरू भेलामा आउन छोडे किनभने तिनीहरूका समस्याहरू लामो समयसम्‍म समाधान भएका थिएनन्। नयाँ विश्‍वासीहरू भेला नभएका देख्दा मलाई ग्‍लानि हुन्थ्यो र म व्याकुल हुन्थेँ, र तिनीहरूका समस्या समाधान गर्न अझै मूल्य चुकाउनुपर्छ भन्‍ने मलाई लाग्थ्यो। तर त्यसो गर्नु कति झन्झट हुन्छ भनी सोच्दा, त्यसलाई त्यतिकै छोडिदिन्थेँ।

एक जना नयाँ विश्‍वासी, जो पहिले क्याथोलिक थिए, उनले परमेश्‍वर आखिरी दिनहरूमा देहधारी भएर काम गरिरहनुभएको छ भन्‍नेबारे धारणाहरू विकास गरेर भेलामा आउन छोडेको कुरा मलाई याद छ। मैले उनलाई जसरी मेसेज वा कल गरे पनि, उनले मलाई बेवास्ता गरिन्। दुई दिनपछि, उनले मलाई यो मेसेज पठाइन्: “मेरो जन्‍म क्याथोलिक परिवारमा भएको हो। म सानी केटी छँदादेखि क्याथोलिक थिएँ, र अहिले ६४ वर्ष पुगेँ। म प्रभु येशूमा मात्रै विश्‍वास गर्न सक्छु—अबदेखि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न सक्दिनँ।” मैले यस्तो जवाफ दिएँ: “सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। परमेश्‍वरको राज्यमा प्रवेश गर्ने एक मात्र तरिका भनेको प्रभुको देखापराइ र आखिरी दिनहरूको कामलाई स्विकार्नु हो।” तर उनले जवाफ दिइनन्। मैले उनलाई थप एक-दुईपटक सम्पर्क गर्ने प्रयास गरेँ, तर उनले मलाई बेवास्ता गरिन्। त्यसकारण मैले यो समस्या समूह अगुवाको काँधमा हालिदिएँ, र उनले मलाई यो समाधान गर्नको लागि सत्यता खोज्न अनुरोध गर्दै परमेश्‍वरको वचनका केही सान्दर्भिक खण्डहरू पठाएको देख्दा म त छक्‍क परेँ। मैले आफूलाई धेरै सत्यताले सुसज्‍जित गर्नुपर्छ र परिणामहरू हासिल गर्न कसरी सङ्गति गर्नुपर्छ भनेर विचार गर्नुपर्छ भन्‍ने देख्दा, मलाई यो सब साह्रै गाह्रो लाग्यो। ती नयाँ विश्‍वासीले मलाई प्रतिक्रिया दिइरहेकी थिइनन् र मैले आफूलाई सुसज्‍जित पार्न समय खर्चे पनि, उनले मेरो सङ्गति नसुन्न सक्थिन्, त्यसकारण मैले उनलाई पन्छाएँ र बेवास्ता गरेँ। एक जना नयाँ विश्‍वासी हरेक दिन काममा निकै व्यस्त रहन्थिन्, र मैले उनलाई बोलाएको भेलामा सहभागी हुने समय उनीसँग कहिल्यै हुँदैनथ्यो। सुरुमा त, मैले उनलाई हरेक दिन परमेश्‍वरका वचन र भजनहरू पठाइरहेँ, तर हरेकपटक उनले “आमेन” भनेर मात्रै जवाफ दिन्थिन्, तर भेलाहरूमा सहभागी हुँदिनथिइन्। अन्तिममा, मैले उनलाई परमेश्‍वरको वचन पठाउन छोडेँ। मलाई उनी काममा अति व्यस्त छिन्, र यो उनको वास्तविकता हो भन्‍ने लाग्यो, र मैले जति समय खर्चे पनि, त्यो समस्या समाधान गर्न सकिनँ। मैले उनका कठिनाइहरूअनुसार भेलाको समय मिलाउनुपर्छ, त्यसपछि उनका धारणाहरूबारे सङ्गति गर्न परमेश्‍वरको वचनका सान्दर्भिक खण्डहरू खोज्‍नुपर्छ, र परिणाम हासिल गर्ने एक मात्र उपाय यही हो भन्‍ने मलाई थाहा थियो। मलाई यसो गर्नु निकै जटिल र झन्झटिलो लाग्यो, त्यसकारण मलाई यो मूल्य चुकाउन मन लागेन। तर मैले सङ्गति दिइनँ, र अगुवाले थाहा पाइन् भने, उनले मलाई वास्तविक काम नगरेकोमा निराकरण गर्नेथिइन्। त्यसकारण मैले करले नयाँ विश्‍वासीसँग केहीपटक सङ्गति गर्नुपऱ्यो, र उनी अझै पनि भेलाहरूमा सहभागी नभएको देख्दा, मलाई उनले सत्यताको तृष्णा गर्दिनन्, र यो मेरो प्रयासमा कमी भएर होइन भन्‍ने लाग्यो। त्यसकारण अन्त्यमा मैले उनलाई बेवास्ता गरेँ। म आफ्‍नो कर्तव्यमा सधैँ लापरवाह बन्दै सबै कठिनाइहरूबाट पछि हटेकी थिएँ। म धारणाहरू वा वास्तविक कठिनाइहरू भएका नयाँ विश्‍वासीहरूलाई भेट्दा, तिनीहरूका समस्याहरू कसरी समाधान गर्ने भनेर विचार गर्ने प्रयास गर्न चाहँदिनथेँ, तर तिनीहरूलाई समूह अगुवाको हातमा सुम्पन्थेँ। केही महिनापछि, निकै थोरै नयाँ विश्‍वासीहरू मात्रै नियमित भेला भइरहेका थिए। यो समस्या थाहा पाएपछि मण्डली अगुवाले मलाई निराकरण गरिन्। उनले म आफ्‍नो कर्तव्यमा लापरवाह बनेकी छु र तुरुन्तै परिवर्तन हुनुपर्छ भनेर भनिन्। त्यसकारण मैले म देहसुख त्याग्छु र नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गर्छु भनेर शपथ खाएँ। तर नयाँ विश्‍वासीहरूका धेरै समस्या सामना गर्दा, म अझै पनि तिनीहरूका समस्याहरू समाधान गर्नको लागि मूल्य चुकाउन अनिच्‍छुक थिएँ। बरु, ममा क्षमताको कमी छ र म त्यो कर्तव्यको लागि योग्य छैन भनेर मात्रै भन्थेँ। म लापरवाह नै रहेँ, परिवर्तन भइनँ, र मेरो कर्तव्यबाट केही प्राप्त भएन, त्यसकारण अगुवाले कठोरतासाथ मलाई निराकरण गरिन्: “तपाईं आफ्‍नो कर्तव्यमा साह्रै लापरवाह हुनुहुन्छ। तपाईं कहिल्यै नयाँ विश्‍वासीहरूका कठिनाइबारे सोध्‍नुहुन्‍न, र ती कठिनाइबारे तपाईंलाई अलिक थाहा हुँदासमेत, ती समाधान गर्न प्रयास गर्नुहुन्‍न। यो कसरी कर्तव्य पूरा गरेको भयो र? तपाईंले त नयाँ विश्‍वासीहरूलाई हानि मात्रै गरिरहनुभएको छ। तपाईं परिवर्तन हुनुभएन भने, बर्खास्त हुनुहुनेछ!” त्यसरी निराकरण र चेतावनी पाएपछि, मलाई ग्‍लानि र डर दुवै भयो। मैले आत्म-चिन्तन गर्न थालेँ: मैले किन यो कर्तव्य राम्ररी पूरा गर्न सकिनँ, र मलाई किन यो सधैँ अति गाह्रो लाग्यो?

एक दिन मैले आफ्नो भक्तिको समयमा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “कतिपय मानिसहरूले कर्तव्य निभाउँदा, तिनीहरूमा कुनै सिद्धान्त हुँदैन, तिनीहरूले आफ्‍नै झुकावअनुसार अघि बढेर स्वेच्‍छाचारी काम गर्छन्। यो लापरवाही र झारा टार्ने काम हो, होइन र? यी मानिसहरूले परमेश्‍वरलाई ठगिरहेका हुन्छन्, होइन र? अनि यसका के-कस्ता परिणामहरू हुनेछन् भनेर तिमीहरूले कहिल्यै विचार गरेका छौ? यदि तिमीहरूले आफ्‍नो कर्तव्य निभाउँदा परमेश्‍वरको इच्‍छालाई ध्यान दिँदैनौँ भने, यदि तिमीहरू समझदार बन्दैनौ, आफूले गर्ने सबै काममा अप्रभावकारी हुन्छौ, र आफ्‍नो सारा हृदय र शक्तिले काम गर्न सक्दैनौ भने, के तिमीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्‍नेछौ? धेरै मानिसहरूले मन नलागीनलागी आफ्‍नो कर्तव्य निभाउँछन्, र लामो समयसम्‍म थेगिरहन सक्दैनन्। तिनीहरूले थोरै पनि कष्ट भोग्‍न सक्दैनन्, र आफूलाई ठूलो हानि भएको छ भन्‍ने सोच्छन्, अनि तिनीहरूले कुनै कठिनाइको समाधान गर्न सत्यता खोजी पनि गर्दैनन्। के यसरी कर्तव्य निभाएर तिमीहरूले परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउन सक्छौ? के आफूले गर्ने हर काममा लापरवाह र झाराटारुवा बन्‍नु ठीक हुन्छ? के तिमीहरूको विवेकअनुसार यो कुरा स्वीकार्य हुन्छ? मानिसको मापदण्डअनुसार मापन गर्दासमेत यो सन्तोषजनक हुँदैन—अनि के यसलाई कर्तव्य निभाउने चित्तबुझ्दो तरिका मान्‍न सकिन्छ? यदि तैँले यसरी आफ्‍नो कर्तव्य निभाउँछस् भने, कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस्। सेवाकर्ताको कामसमेत तैँले सन्तोषजनक रूपमा गर्न सक्दैनस्। तब कसरी तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छस्? धेरै मानिसहरू आफ्‍नो कर्तव्य निभाउने क्रममा कठिनाइदेखि डराउँछन्, तिनीहरू अत्यन्तै अल्छी हुन्छन्, तिनीहरू देहको सहजता चाहन्छन्, र विशेषज्ञ सीप सिक्‍न कहिल्यै प्रयास गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरूका सत्यताहरू मनन गर्ने प्रयास नै गर्छन्; तिनीहरूले सोच्छन् कि यसरी झाराटारुवा बन्दा तिनीहरू कष्टबाट बच्छन्: तिनीहरूले कुनै कुराको खोजी गर्नु वा कसैलाई प्रश्‍न सोध्‍नु, वा दिमाग खियाउनु वा सोच्‍नु पर्दैन—यसले गर्दा तिनीहरूको धेरै बल जोगिन्छ र तिनीहरूलाई शारीरिक कठिनाइ हुँदैन, र तिनीहरूले अझै पनि काम पूरा गर्न सक्छन्। अनि तैँले तिनीहरूको निराकरण गरिस् भने, तिनीहरूले अवज्ञा गर्छन् र बहाना बनाउँछन्: ‘मैले अल्छी गर्ने वा पन्छिने काम गरिनँ, काम पूरा गरेँ—किन तपाईं यस्तो र उस्तो भनिरहनुहुन्छ? के यो सानोतिनो गल्ती खोतल्‍ने काम होइन र? मैले यसरी कर्तव्य निभाएर राम्रै गरिरहेको छु, र पनि किन तपाईंलाई चित्त बुझेन?’ के तिमीहरूलाई यस्ता मानिसहरूले थप प्रगति गर्न सक्छन् जस्तो लाग्छ? तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ झाराटारुवा काम गर्छन्, र पनि अझै अनेक बहाना गर्छन्, अनि समस्याहरू देखा पर्दा तिनीहरूले कसैलाई बोल्‍न दिँदैनन्। यो कस्तो स्वभाव हो? यो शैतानको स्वभाव हो, होइन र? के यस्तो स्वभाव पछ्याएर मानिसहरूले आफ्‍नो कर्तव्य चित्तबुझ्दो रूपमा निभाउन सक्छन्? के तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो सारा हृदय, मनमस्तिष्क, र आत्माले कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गरेको हुन्छ)। परमेश्‍वरले आफ्‍नो कर्तव्यमा अल्छी गर्ने, देहगत सहजता खोज्‍ने, लगनशील नहुने, र व्यस्त भएको जस्तो देखिनमा नै सन्तुष्ट मान्‍ने धेरै मानिसहरूलाई खुलासा गर्नुहुन्छ। त्यसरी कहिल्यै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सकिँदैन। मैले आफ्‍नो कर्तव्यमा परिणामहरू प्राप्त नगर्नुको कारण ममा क्षमताको कमी भएकोले होइन, तर म अल्छी भएकीले, र आफ्‍नो कर्तव्यको निम्ति कष्ट भोग्‍न डराएकीले रहेछ भन्‍ने मलाई थाहा भयो। मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्नको लागि मैले धेरै सत्यता बुझ्नुपर्छ, तिनीहरूका धेरै समस्याहरू समाधान गर्न सिक्‍नुपर्छ, यसले गर्दा यो निकै कष्टकर कर्तव्य हो भन्‍ने लाग्थ्यो, त्यसकारण म झारा टार्ने मात्र गर्थेँ। मैले नयाँ विश्‍वासीहरूका समस्याहरू जतिसक्दो चाँडो हल गरेको समूह अगुवा चाहन्थिन्, र मैले कडा परिश्रम गरेकी भए त्यो गर्न सक्थेँ। तर यसको लागि धेरै समय र प्रयास चाहिने देखेपछि, मैले यो काम समूह अगुवा र सुसमाचार प्रचारकहरूको काँधमा हालिदिएँ। म नयाँ विश्‍वासीहरूले भेलामा सहभागी हुन छोडेको देख्थेँ किनभने तिनीहरूले धारणाहरू पालिरहेका वा कठिनाइहरू सामना गरिरहेका हुन्थे, तैपनि म उदासीन बन्थेँ। अरूले मलाई समाधानको उपाय बताउँदा म प्रतिक्रिया नदिई बस्थेँ। कहिलेकहीँ म नयाँ विश्‍वासीहरूलाई परमेश्‍वरका वचन वा भजनहरू पठाउँथेँ, तर केही दिनपछि म यो कार्य जारी राख्‍न सक्दिनथेँ, र तिनीहरूलाई त्यतिकै बेवास्ता गर्थेँ। मलाई आफू साँच्‍चै नै अल्छी, देहसुखको लोभी, र आफ्‍नो कर्तव्यमा बेइमान रहेछु भन्‍ने थाहा भयो। म छली भएर मण्डलीमा यताउता मात्रै गरिरहेकी थिएँ। म परमेश्‍वरलाई अत्यन्तै घिनलाग्ने र मन नपर्ने व्यक्ति थिएँ!

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ। “वर्तमान समयमा, कर्तव्य निभाउने धेरै अवसरहरू उपलब्ध छैनन्, त्यसकारण अवसर आउँदा तैँले तिनलाई पक्रिहाल्नुपर्छ। जुन बेला कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ, ठीक त्यही बेला नै तैँले प्रयत्‍न लगाउनुपर्छ; ठीक त्यही बेला नै तैँले आफूलाई अर्पित गर्नुपर्छ र परमेश्‍वरमा समर्पित हुनुपर्छ, र ठीक त्यही बेला नै तैँले मूल्य चुकाउनुपर्छ। कुनै पनि कुरालाई रोकेर नराख्‌, कुनै पनि षड्यन्त्र नगर्, आफूलाई कुनै पनि छुट नदे, र आफ्नो लागि उम्कने बाटो नबना। यदि तैँले कुनै कसर बाँकी छाड्छस्, हिसाबकिताब गर्छस्, वा कुटिल र धोकेबाज काम गर्छस् भने, तैँले अवश्य नै नराम्ररी काम गर्नेछस्। मानौँ, तैँले यसो भन्‍न सक्छस्, ‘मैले चलाकी तरिकाले काम गरेको कसैले पनि देखेन। कस्तो गजब भो!’ यो कस्तो प्रकारको सोचाइ हो? के तैँले मानिसहरूको र परमेश्‍वरको पनि आँखा छलेको छस् भन्‍ने तँलाई लाग्छ? तैपनि वास्तवमा, तैँले जे गरेको छस् सो परमेश्‍वरलाई थाहा हुन्छ कि हुँदैन? उहाँलाई थाहा हुन्छ। वास्तवमा, तँसँग केही समयसम्‍म अन्तरक्रिया गर्ने जोकोहीले तेरो भ्रष्टता र दुष्टता थाहा पाएका हुन्छन्, र तिनीहरूले सीधै नभने पनि, तिनीहरूले आफ्‍नो मनमा तेरो बारेमा मूल्याङ्कन गरेका हुन्छन्। धेरै मानिसहरू छन् जसलाई खुलासा गरियो र हटाइयो किनभने अरू धेरैले तिनीहरूको वास्तविकता बुझेका थिए। सबैले तिनीहरूको सारलाई देखेपछि, तिनीहरूले ती मानिसहरूको वास्तविकता खुलासा गरे, र तिनीहरूलाई हटाए। त्यसकारण, सत्यताको खोजी गरे पनि नगरे पनि, मानिसहरूले आफ्‍नो कर्तव्य राम्ररी र आफ्‍नो क्षमताले भ्याउञ्‍जेल पूरा गर्नुपर्छ; व्यवहारिक कामहरू गर्नको लागि तिनीहरूले आफ्‍नो विवेकको प्रयोग गर्नुपर्छ। तँमा कमीकमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्‍नो कर्तव्यपालनमा प्रभावकारी हुन सक्छस् भने, तँ हटाइने अवस्थासम्म पुग्‍नेछैनस्। यदि तँ सधैँ ‘म ठीक छु, मलाई हटाइनेछैन’ भनेर सोचिरहेको हुन्छस्, र तैँले अझै पनि आत्मचिन्तन वा आफूलाई चिन्‍ने प्रयास गर्दैनस्, र सधैँ लापरवाही र झारातिरुवा व्यवहार गर्दै आफ्‍नो उचित कामलाई बेवास्ता गर्छस् भने, परमेश्‍वरका चुनिएका मानिसहरूले तँप्रतिको सहनशीलता गुमाएको क्षण तेरो असली रूप पर्दाफास गरिदिनेछन्, र सम्भवतः तँलाई पक्कै हटाइनेछ। यस्तो हुन्छ किनकि सबैले तेरो वास्तविकता छर्लङ्गै देखेका हुन्छन् र तैँले मर्यादा र निष्ठा गुमाइसकेको हुन्छस्। यदि कसैले तँलाई भरोसा गर्दैन भने, के परमेश्‍वरले तँलाई भरोसा गर्न सक्‍नुहुन्छ त? परमेश्‍वरले मानिसको भित्री हृदय हेर्नुहुन्छ: उहाँले त्यस्ता व्यक्तिलाई फिटिक्‍कै भरोसा गर्न सक्‍नुहुन्‍न। … भरोसायोग्य मानिसहरू मानवता भएका मानिसहरू हुन्, र मानवता भएका मानिसहरूमा विवेक र समझ हुन्छ, अनि तिनीहरूलाई राम्रोसित आफ्‍नो कर्तव्य निभाउन अत्यन्तै सहज हुन्छ, किनभने तिनीहरूले आफ्‍नो कर्तव्यलाई आफ्‍नो दायित्वको रूपमा लिन्छन्। विवेक वा समझ नभएका मानिसहरूले आफ्‍नो कर्तव्य नराम्ररी गर्ने पक्‍का हुन्छ, र तिनीहरूको कर्तव्य जे भए पनि तिनीहरूमा आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारीबोध हुँदैन। अरूले सधैँ तिनीहरूको बारेमा चिन्ता गर्नुपर्छ, तिनीहरूलाई देखरेख गर्नुपर्छ, र तिनीहरूको प्रगतिको बारेमा सोध्नुपर्छ; नत्र भने, तिनीहरूको कर्तव्य पूरा गर्दा अवस्थाहरू खराब हुन सक्छन्, काम गर्दा समस्याहरू आउन सक्छ, जुन सामान्यभन्दा अझै ठूलो जटिलता हुनेछ। संक्षेपमा भन्नुपर्दा, मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा सधैँ आत्म-चिन्तन गर्नुपर्छ: ‘के मैले यस कर्तव्यलाई पर्याप्त रूपमा पूरा गरेको छु? के मैले यसमा मेरो हृदय लगाएको छु? वा मैले यसमा झारा मात्र टारेको छु?’ यदि तँ सधैँ लापरवाह र झाराटारुवा हुन्छस् भने, तँ खतरामा छस्। कम्तीमा पनि, यसको अर्थ तँमा कुनै विश्‍वसनीयता छैन, र मानिसहरूले तँलाई भरोसा गर्न सक्दैनन् भन्‍ने हुन्छ। अझै गम्‍भीर रूपमा भन्दा, यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झारा टार्ने काम गर्छस् भने, र तैँले सधैँ परमेश्‍वरलाई छल गर्छस् भने, तँ ठूलो खतरामा हुन्छस्! जानी-जानी कपटपूर्ण हुनुका नतिजाहरू के-के हुन्छन्? सबैले देख्‍न सक्छन, तैँले जानीजानी अपराध गरिरहेको छस्, तँ आफ्‍नै भ्रष्ट स्वभावअनुसार मात्रै जिइरहेको छस्, तँ लापरवाह र झाराटारुवा व्यवहार मात्रै गर्छस्, र तैँले सत्यता अभ्यास गर्दैनस्—र यो कुराले तँलाई मानवता रहित बनाउँछ! यदि तँ मुख्य गल्तीहरू गर्नबाट बचिस् तर निरन्तर सानातिना गल्ति गरिरहन्छस् भने, अनि सुरुदेखि अन्तिमसम्‍मै तँ अपश्‍चात्तापी रहन्छस् भने, तँ दुष्टहरूमध्येको एक होस्, एक गैरविश्‍वासी होस्, र तँलाई बढारेर फालिनुपर्छ। यस्ता परिणामहरू जघन्य हुन्छन्—तँलाई गैरविश्‍वासी र दुष्ट व्यक्तिको रूपमा पूर्ण रूपमा खुलासा गरेर बहिस्कार गरिनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्य निर्वाह गरेसँगै जीवन प्रवेश प्रारम्भ हुन्छ)। “परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले मानिसहरूलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पिनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा स्वर्गद्वारा आदेश दिइएको र धर्तीद्वारा स्वीकार गरिएको कुरा हो; यो तिनीहरूको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिई रहेको हुन्छस्; यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी जान्ने)। परमेश्‍वरका वचनहरूको प्रकाश पाएर, मैले आफ्‍नो कर्तव्यमा लापरवाह हुने मानिसहरूप्रति उहाँको घृणा र क्रोध अनुभव गर्न सकेँ। तिनीहरूमा विवेक, समझ, चरित्र, र मर्यादाको कमी हुन्छ, र तिनीहरू पटक्‍कै भरोसायोग्य हुँदैनन्। यदि तिनीहरू अपश्‍चात्तापी भइरहन्छन् भने, दुष्कर्मी, गैरविश्‍वासी हुन्, र तिनीहरूलाई हटाउनुपर्छ। नयाँ विश्‍वासीहरूलाई मलजल गर्नु महत्त्वपूर्ण काम हो। तिनीहरूले भर्खरै परमेश्‍वरको नयाँ काम स्विकारेका हुन्छन्, त्यसकारण तिनीहरूलाई साँचो मार्गमा जरा गाड्न अझ धेरै मलजलको खाँचो पर्छ ताकि शैतानले तिनीहरूलाई चोरेर नलैजाओस्। साथै, परमेश्‍वरको काम स्विकार्ने कसैलाई पनि यो स्विकार्न सहज भएको वा बिघ्नबाधा नआएको हुँदैन, र तिनीहरूलाई मलजल र सहयोग गर्न धेरै मानिसले मूल्य चुकाउनुपर्छ। त्यसपछि मात्रै तिनीहरूलाई परमेश्‍वरअघि ल्याउन सकिन्छ। मलजलकर्ताको रूपमा, नयाँ विश्‍वासीहरूलाई मलजल गर्नु मेरो जिम्‍मेवारी थियो। विशेष गरी मैले कठिनाइहरू भोगिरहेका नयाँ विश्‍वासीहरूलाई देख्दा, ममा आतुरीबोध हुनुपर्थ्यो र ती समस्याहरू समाधान गर्न सत्यता खोज्नुपर्थ्यो। तर यसको साटो, म अप्ठ्यारो कामदेखि पछि हटेँ र धूर्त बनेँ। नयाँ विश्‍वासीहरूले कठिनाइहरू सामना गरेको देख्दा, म सधैँ समाधान गर्न सजिलो समस्याहरू छान्थेँ, र कठिन समस्याहरूलाई पन्छाउँथेँ र बेवास्ता गर्थेँ। अझै खराब कुरा त, म स्पष्टै आफ्‍नो कर्तव्यमा विश्‍वासघाती र गैरजिम्‍मेवार भइरहेकी थिएँ, जसले गर्दा कतिपय नयाँ विश्‍वासीहरूले भेला हुन छोडेर विश्‍वास नै त्यागे, तर तिनीहरू सत्यताको तृष्णा गर्दैनन् भन्दै म आफ्‍नो जिम्‍मेवारीबाट पछि हट्थेँ, कि त ममा क्षमताको कमी छ र तिनीहरूको समस्या समाधान गर्न सक्दिनँ भन्दै अरूलाई धोका दिन्थेँ र आफूलाई लापरवाह भएको दोषबाट मुक्त गर्ने प्रयास गर्थेँ। के मेरो कर्तव्य आफ्ना हाकिमको लागि काम गर्ने अविश्‍वासीको जस्तै थिएन र? मैले कुनै विवेक वा चेतनाविना चलाकी गरिरहेकी थिएँ, र दिनदिनै झारा टारिरहेकी थिएँ। यतिका वर्ष विश्‍वास गरेपछि पनि, मैले कुनै चिन्तासमेत नगरी परमेश्‍वरलाई मूर्ख तुल्याउने प्रयास गरेँ। म कति धूर्त र छली थिएछु! मसँग कुनै मानवता छँदै थिएन। मैले सुरुमा परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार ग्रहण गर्दा, म हरेक दिन काममा व्यस्त हुन्थेँ, र मेरा आमाबुबाले मेरो विश्‍वासमा बाधा दिइरहेका हुन्थे। मलाई निकै तनाव हुन्थ्यो र मलाई भेलाहरू छोड्नसमेत मन लाग्थ्यो। तर ब्रदर-सिस्टरहरूले धैर्यसाथ मसँग बारम्‍बार सत्यतामा सङ्गति गरे र मेरो समयअनुसार भेला मिलाउँथे। कहिलेकाहीँ म काममा अत्यन्तै व्यस्त भएकीले भेलामा जान सक्दिनथेँ, त्यसकारण मलाई परमेश्‍वरको वचनमा सङ्गति दिन, सहयोग र साथ दिन ब्रदर-सिस्टरहरू साइकल चढेर धेरै टाढाबाट मकहाँ आउँथे। त्यसपछि मात्रै मैले परमेश्‍वरको कामबारे सिकेँ, र मुक्ति पाउने एक मात्र तरिका भनेको सत्यता खोज्नु हो भन्‍ने देखेँ। त्यसपछि म भेलाहरूमा सहभागी हुन र कर्तव्य लिन इच्छुक भएँ। नयाँ विश्‍वासीहरूलाई मलजल गर्न धैर्य चाहिन्छ र तिनीहरूका कठिनाइबारे धेरै विचार गर्नुपर्ने हुन्छ, हामीले तिनीहरूलाई भेलाहरूमा सहभागी हुन प्रोत्साहन दिनुपर्छ ताकि तिनीहरूले जतिसक्दो चाँडो साँचो मार्गमा जरा गाड्न सकून् भनेर मण्डलीले सधैँ जोड दिन्छ। परमेश्‍वर हामीप्रति प्रेम र कृपाले भरिपूर्ण हुनुहुन्छ, र उहाँले हामीलाई सम्‍भव भएसम्‍म मुक्ति दिनुहुन्छ भन्‍ने मैले थाहा पाएँ। साँचो मार्ग अनुसन्धान गर्ने हरेक व्यक्तिप्रति उहाँ अत्यन्तै कर्तव्यनिष्ठ हुनुहुन्छ। आशाको सानो त्यान्द्रो छ भने पनि उहाँ हार मान्नुहुन्‍न। तर म भने, कठोर थिएँ र नयाँ विश्‍वासीहरूप्रति ममा कुनै जिम्मेवारी बोध थिएन। म तिनीहरूको जीवनबारे पटक्कै वास्ता गर्दिनथेँ, जसले गर्दा तिनीहरूका समस्या तुरुन्तै समाधान भइरहेका थिएनन्, र कति त अबउसो भेलाहरूमा सहभागी हुन चाहँदैनथे। मेरो व्यवहारलाई हेर्दा, त्यो कसरी कर्तव्य पूरा गरेको भयो र? मैले त परमेश्‍वरलाई मूर्ख तुल्याउने र छल्ने प्रयास गर्दै दुष्कर्म मात्रै गरिरहेकी थिएँ! यो महसुस गरेपछि मलाई साह्रै ग्‍लानि भयो र आफूमा मानवताको यति कमी भएको देखेर मलाई आफूप्रति घृणा जाग्यो।

पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? … सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। हामीलाई दोषी ठहराउने परमेश्‍वरका यी सबै वचन पढ्दा, मलाई साह्रै ग्‍लानि भयो र आफूलाई धिक्कारेँ। हाम्रा भ्रष्ट स्वभावहरू शुद्ध पार्न र परिवर्तन गर्न, हामीलाई मुक्तिको अवसर दिन, परमेश्‍वरले हामीलाई यति धेरै सत्यताद्वारा उत्कटतासाथ भरणपोषण गर्नुभएको छ, र हामीले बुझ्दैनौँ कि भनेर सत्यताको हरेक पक्षबारे विस्तृत सङ्गति दिनुभएको छ। परमेश्‍वरले हाम्रो लागि यति ठूलो मूल्य चुकाउनुभएको छ। मानवता भएको जोकोहीले सत्यताको पछि लाग्न प्रयास गर्नुपर्छ र आफ्‍नो कर्तव्यमा समर्पित हुनुपर्छ। तर ममा विवेकको पूर्ण कमी थियो। म पटक्‍कै सत्यताको पछि लागिरहेकी थिइनँ, शारीरिक सहजतालाई मात्रै ख्याल गर्थेँ, र अझै पनि शैतानी दर्शनहरूअनुसार जिइरहेकी थिएँ, जस्तै “जीवनको गाडी जता कुद्छ कुद्‍न देऊ,” “समय निकाल, मोजमस्ती गर, किनकि जीवन छोटो छ।” हामीले पृथ्वीमा बिताउने केही दशकमा आफूलाई राम्रो गर्नुपर्छ, र धेरै तनावमा राख्नु हुँदैन भन्‍ने मलाई लाग्थ्यो। हामीले आफ्नो जीवन चिन्तामुक्त र आनन्दित बनाउनुपर्छ। मैले देहगत कष्ट वा थकान झेल्नु पर्दैन भन्‍ने सर्तमा आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ। म जुन कुरा सबैभन्दा सजिलो छ त्यही गर्थेँ। आफूले कुनै कुराको लागि दिमाग खियाउनुपर्दा, म प्रतिकार गरेर भाग्थेँ, कि त समस्यालाई कसैको काँधमा हालिदिन्थेँ वा पन्छाउथेँ कि बेवास्ता गर्थेँ। मैले आफ्‍नो कर्तव्यलाई गम्‍भीररूपमा पटक्‍कै लिइरहेकी थिइनँ, त्यसकारण कतिपय नयाँ विश्‍वासीहरूका समस्या समाधान भएनन् र तिनीहरू भेलाहरूमा आउन छोडे। त्यसपछि मात्रै मलाई यी शैतानी दर्शनहरूले मलाई झन्-झन् भ्रष्ट तुल्याइरहेका छन् भन्‍ने थाहा भयो। म त सहजताको तृष्णा गर्ने र सत्यता पटक्‍कै नपछ्याउने सुँगुरजस्तो थिएँ, जसले गर्दा मेरो कर्तव्य लथालिङ्ग भयो, र मलाई यसबारे अलिकति पनि चिन्ता थिएन। मैले आफ्‍नो कर्तव्यलाई बेवास्ता गरिरहेकी थिएँ, प्राप्त गर्नुपर्ने सत्यता प्राप्त गरिरहेकी थिइनँ, र आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिइनँ। के म निकम्मा थिइनँ र? शारीरिक सहजताको तृष्णा गर्नु भनेको आफूलाई हानि गर्नु र मुक्ति पाउने मौका गुमाउनु हो भन्‍ने कुरा मैले साँच्चै अनुभव गरेँ। कर्तव्यमा कठिनाइहरू सामना गर्नु भनेको वास्तवमा परमेश्‍वरमा भरोसा गर्ने र सत्यता खोज्ने राम्रो मौका हो। मलाई सत्यता खोज्न र आफ्‍नो कर्तव्यमा सिद्धान्त पालन गर्न सिक्न बाध्य पार्ने कठिनाइहरू मेरो लागि सत्यता र जीवन प्रवेशको पछि लाग्ने राम्रा माध्यम थिए। तर मैले यी कुराहरूलाई झन्झट, हटाउनुपर्ने बोझको रूपमा लिइरहेकी थिएँ। त्यो महसुस गरेपछि, मैले आफ्‍नो देहलाई पुलपुल्याएकोमा, र सत्यता सिक्‍ने यति धेरै असल मौका गुमाएकोमा मलाई निकै पछुतो भयो। म झारा टारिरहन चाहन्‍नथेँ। मैले देहसुख त्यागेर आफ्‍नो मन कर्तव्यमा लगाउनुपर्थ्यो।

एक दिन मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई आफ्‍नो कर्तव्यमा लापरवाह बन्‍नुका परिणामहरू बुझ्‍न झनै सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “मानौँ एक जनाले एक महिनामा सक्‍ने एउटा काम छ। यदि यो काम गर्न छ महिना लाग्यो भने, के यीमध्ये पाँच महिना घाटा भएन र? सुसमाचार प्रचारको कुरा गर्दा, कतिपय मानिसहरूले साँचो मार्गको खोजीनिधो गर्ने इच्‍छा गर्छन् र तिनीहरूलाई विश्‍वासमा आउन एक महिना मात्रै लाग्छ, त्यसपछि मण्डलीमा संलग्‍न भएर तिनीहरूले मलजल र भरणपोषण लिइरहन्छन्। तिनीहरूलाई जग बसाल्‍न छ महिना मात्रै लाग्छ। तर यदि सुसमाचार प्रचार गर्ने व्यक्तिको मनोवृत्ति उदासीन र लापरवाही किसिमको छ, अनि अगुवा र सेवकहरूमा जिम्‍मेवारीको कुनै बोध छैन, र कुनै व्यक्तिलाई विश्‍वासमा ल्याउन छ महिना लाग्छ भने, के यो छ महिनाले तिनीहरूको जीवनको घाटा जनाउँदैन र? यदि तिनीहरू महाविपत्तिमा परे र तिनीहरूले जग बसालेका छैनन् भने, तिनीहरू खतरामा पर्नेछन्, र के तँ तिनीहरूप्रति ऋणी हुनेछैनस् र? त्यस्तो घाटालाई आर्थिक रूपमा, वा पैसाको प्रयोग गरेर मापन गरिँदैन। तैँले तिनीहरूको सत्यता बुझाइमा छ महिना ढिलाइ गराएको छस्, तिनीहरूले जग बसालेर आफ्‍नो कर्तव्य निभाउने कार्यमा तैँले छ महिना ढिलाइ गराएको छस्। यसको कसले जिम्‍मेवारी लिन्छ? के अगुवा र सेवकहरू यसको जिम्‍मेवारी लिन सक्षम छन्? कुनै पनि व्यक्तिको जीवनप्रतिको जिम्‍मेवारी हरकसैको वहन क्षमताभन्दा ठूलो हुन्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूले प्रकट गरेको कुरा निकै पीडादायी र कठिन थियो। म वास्तविक काम नगर्ने झूटो अगुवाजस्तै थिएँ, आफ्‍नो कर्तव्यमा लापरवाह र गैरजिम्‍मेवार बन्थेँ, जसले गर्दा नयाँ विश्‍वासीहरू भेला हुन छोडे, र कतिको समस्या समाधान नभएकोले तिनीहरूले विश्‍वाससमेत त्यागे। के त्यसरी नयाँ विश्‍वासीहरूलाई मलजल गर्नु तिनीहरूलाई चोट पुऱ्याउनु थिएन र? कतिपयले विश्‍वास नत्यागेका भए पनि, तिनीहरूले धारणाहरू राखेका र धेरै समयसम्‍म भेलामा नआएका कारण तिनीहरूको जीवनमा क्षति पुग्यो। त्यो क्षति म कुनै पनि हालतमा पूर्ति गर्न सक्दिनँ। यदि मैले आफ्नो देहलाई त्यति धेरै वास्ता नगरेकी, मूल्य चुकाउन सकेकी, र नयाँ विश्‍वासीहरूको हरेक समस्यालाई गम्‍भीररूपमा लिएकी भए, सायद तिनीहरूमध्ये कतिले चाँजै साँचो मार्गमा जरा गाड्न र सत्यता सिक्‍न, चाँडै मण्डली जीवन जिउन, कर्तव्य पूरा गर्न, असल कार्यहरू बटुल्‍न सक्थे, र अवस्था यस्तो हुनेथिएन। तर त्यो बेला, यस्तो कुरा भन्‍न ढिलो भइसकेको थियो। भेलाहरूमा सहभागी हुन नचाहने नयाँ विश्‍वासीहरूबारे सोच्दा, मलाई साँच्‍चै नै खिन्न, ग्लानि, र परमेश्‍वरप्रति धेरै ऋणी महसुस भयो। त्यो मैले आफ्‍नो कर्तव्यमा गरेको अपराध, लगाएको दाग थियो! मलाई साह्रै ग्‍लानि र डर भयो। मलाई आफूले धेरै समस्या खडा गरेकी छु। मैले आँसु झार्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले सधैँ सहजताको लोभ गरेँ र म आफ्‍नो कर्तव्यमा लापरवाह बनेँ, जुन कुरालाई तपाईं घृणा गर्नुहुन्छ। म तपाईंअघि पश्‍चात्ताप गर्न चाहन्छु र व्यावहारिक काम गरेर आफ्ना अपराधहरूको परिपूर्ति गर्न चाहन्छु। बिन्ती छ मेरो हृदय जाँच्‍नुहोस् र यदि म लापरवाह भइरहेँ भने, मलाई ताडना र अनुशासन दिनुहोस्।”

त्यसपछि मैले नकारात्मक, कमजोर, र भेलाहरूमा नआउने नयाँ विश्‍वासीहरूलाई सम्पर्क गरेँ, र तिनीहरूका समस्या समाधान गर्न परमेश्‍वरका वचनहरू खोज्‍न थालेँ। मैले मलजल काममा सिपालु सिस्टरहरूलाई पनि सिद्धान्त र शैलीहरूबारे सोधेँ। त्यसपछि मैले धार्मिक धारणाहरू भएको ती नयाँ विश्‍वासीलाई सम्पर्क गरेँ, जो भेलामा सहभागी भइरहेकी थिइनन्। मैले उनलाई केही मेसेज पठाएँ, र उनले कुनैको जवाफ दिइनन्। मलाई अलिक बेवास्ता गरिएको र मैले यो कुरा बिर्सिदिनुपर्छ भन्ने लाग्यो। जेहोस्, जवाफ दिन छोड्ने उनी नै थिइन्—यति चाहिँ साँचो हो। मैले काममा व्यस्त रहेकी नयाँ विश्‍वासीलाई पनि अर्को मेसेज पठाएँ, र मैले भेलामा आउन दिएको निम्तो उनले इन्कार गरेको देख्दा, उनलाई सहयोग गर्न थप मूल्य चुकाउन मलाई मन लागेन। त्यसपछि मैले परमेश्‍वरलाई गरेको प्रार्थना सम्झेँ, साथै उहाँका यी वचनहरू पनि सम्झेँ: “जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्छन्, तब तिनीहरूले वास्तवमा आफूले जे गर्नुपर्ने हो त्यही गरिरहेका हुन्छन्। यदि तैँले यो कार्य परमेश्‍वरको अघि गर्छस् भने, यदि तैँले आफ्‍नो कर्तव्य इमानदारिताको मनोवृत्तिसहित हृदयबाटै गर्छस् र तँ परमेश्‍वरमा समर्पित हुन्छस् भने, के यो मनोवृत्ति धेरै नै सही हुँदैन र? त्यसो भए, तैँले यो मनोवृत्तिलाई कसरी तेरो दैनिक जीवनमा लागू गर्नुपर्छ त? तैँले ‘परमेश्‍वरलाई हृदय र इमानदारिताका साथ आराधना गर्ने’ कार्यलाई तेरो वास्तविकता बनाउनुपर्छ। जब-जब तँ सुस्त हुन र झारा टार्न चाहन्छस्, जब-जब तँ अल्याङटल्याङ गर्न र अल्छी बन्‍न चाहन्छस्, र जब-जब तेरो ध्यान भड्किन्छ वा तैँले आफै मस्ती गरिरहेको हुन्छस्, तैँले यस्तो विचार गर्नुपर्छ: ‘यस्तो व्यवहार गर्दा, के म अविश्‍वसनीय भइरहेको छु? के यसले मेरो हृदयलाई कर्तव्य पूरा गर्नमा लगाइरहेको छ? के यसो गरेर म निष्ठाहीन भइरहेको छु? यसो गरेर, के म परमेश्‍वरले मलाई सुम्‍पनुभएको कार्यभार पूरा गर्नमा खरो उत्रन असफल भइरहेको छु?’ तैँले यसरी नै आफ्‍नो बारेमा मनन गर्नुपर्छ। यदि तैँले आफू कर्तव्यमा सधैँ लापरवाह र झाराटारुवा छु, अनि विश्‍वासघाती व्यवहार गर्छु, र आफूले परमेश्‍वरलाई चोट पुर्‍याएको छु भनेर थाहा पाइस् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, ‘मलाई त्यो बेला केही गलत छ भन्‍ने लागेको थियो, तर मैले यसलाई समस्याको रूपमा लिइनँ; मैले यसलाई लापरवाहीसाथ हल्काफुल्का रूपमा मात्र हेरेँ। अहिले मात्रै मलाई म साँच्‍चै लापरवाह र झाराटारुवा बनेँ, र आफ्‍नो जिम्‍मेवारीको स्तरमा जिइनँ भन्‍ने थाहा भयो। ममा साँच्‍चै नै विवेक र समझको कमी रहेछ!’ तैँले समस्या पत्ता लगाएको छस् र आफ्नो बारेमा थोरै भए नि थाहा पाएको छस्—त्यसकारण अब, तैँले आफूलाई परिवर्तन गर्नुपर्छ! कर्तव्य निभाउनेबारे तेरो मनोवृत्ति गलत थियो। अतिरिक्त काम गरेजस्तै तँ यो काममा लापरवाह थिइस्, र तैँले यसमा आफ्‍नो मन लगाइनस्। यदि तँ यसरी नै फेरि पनि लापरवाह र झाराटारुवा भइस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आफूलाई अनुशासनमा राख्‍न र ताडना दिन लगाउनुपर्छ। आफ्‍नो कर्तव्य निभाउँदा व्यक्तिमा यस्तो इच्‍छाशक्ति हुनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्। व्यक्तिको विवेक सफा छ र कर्तव्य निभाउनेबारे उसको मनोवृत्ति रूपान्तरित हुन्छ भने मात्रै उसले आफूलाई परिवर्तन गर्न सक्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरू नियमित पढ्दा र सत्यको गहन मनन गर्दा मात्रै अघि बढ्ने बाटो भेटिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई कर्तव्य राम्ररी पूरा गर्नु गाह्रो छैन, हामी सच्‍चा हुनैपर्छ, परमेश्‍वरको जाँच स्विकार्नैपर्छ, र आफूले जानेको, आफूले सक्‍ने कुरा गर्न सक्दो प्रयास गर्नैपर्छ, चलाकी गर्नु हुँदैन वा लापरवाह हुनु हुँदैन, र हामीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न यस्तो मनोवृत्ति राख्नुपर्छ भनेर बुझ्न सहयोग गरे। त्यसकारण मैले, यसपटक म परमेश्‍वरलाई फेरि निराश तुल्याउनेछैनँ भनेर सङ्कल्प गरेँ। मैले परमेश्‍वरलाई पश्‍चात्ताप गरेको, म साँच्‍चै मेहनती र इमानदार व्यक्ति हुँ भनेर देखाउनुपर्थ्यो, र मैले सहयोग र साथ दिएपछि ती नयाँ विश्‍वासीहरू भेलामा सहभागी भएनन् भने पनि, मैले आफ्‍नो कर्तव्य पूरा गरेकी हुनेथिएँ, र मलाई ग्‍लानि हुनेथिएन।

म अभ्यासको मार्ग खोज्न अर्की सिस्टरसँग कुरा गर्न गएँ र मैले धार्मिक धारणाहरू भएका ती नयाँ विश्‍वासीलाई सङ्गतिको लागि सम्पर्क पनि गरेँ। मैले आफ्नो विश्‍वासको मार्गबारे उनलाई खुलस्त बताएँ। अचम्‍मको कुरा, उनले मेरो मेसेजको जवाफ दिइन्। उनलाई वास्तवमा भेलाहरू मन पर्थ्यो, तर उनमा समाधान नभएका केही धारणा र अन्योलहरू थिए। यी नयाँ विश्‍वासीका हार्दिक शब्‍दहरू सुन्दा म साँच्‍चै भावविभोर भएँ र मैले उनका धारणाहरूप्रति लक्षित सङ्गति दिएँ। अन्त्यमा, उनी भेलाहरूमा सहभागी हुन राजी भइन् र चाँडै नै उनले एउटा कर्तव्य लिइन्। यस्तो नतिजा देख्दा मलाई व्याख्या गर्नै नसक्‍ने अनुभूति भयो। मलाई आनन्द पनि लाग्यो र पछुतो पनि भयो। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टिले मलाई आफूलाई चिन्न र आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति सुधार्न सहयोग नगरेका भए, मैले अर्को अपराध गर्नेथिएँ। त्यसपछि, मैले काममा व्यस्त रहेकी ती नयाँ विश्‍वासीलाई फेरि सम्पर्क गरेँ। पहिले, म उनका समस्याहरू नबुझी सधैँ भेलामा सहभागी हुन उनलाई जोड दिन्थेँ। यसपटक, मैले उनको वास्तविक परिस्थितिको आधारमा उनलाई सहयोग गर्न परमेश्‍वरको वचनमा सङ्गति दिएँ, र भेला हुने समय ठिकसित हेरफेर गरेँ। उनीसँग भेला हुने समय नहुँदा, म उनको खाली समयमा उनलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउँथेँ, र धैर्यसाथ सङ्गति दिन्थेँ। त्यसपछि उनी मलाई मनको कुरा खोल्‍न र आफूले पढेका परमेश्‍वरका वचनबारे कुरा गर्न इच्छुक भइन्। उनले मलाई खुसी हुँदै के पनि भनिन् भने जेसुकै भए पनि, उनले भेला हुन, वा परमेश्‍वरका वचनहरू खानु-पिउनु त्यतिकै छोड्नेछैनन्। त्यसपछि, उनले कहिल्यै भेला छुटाइनन्, र कामको जति नै चटारो भए पनि, उनले परमेश्‍वरको वचन मनन गर्न समय दिन्थिन्। पछि, मैले अझ धेरै नयाँ विश्‍वासीहरूलाई सहयोग गरेँ, र बगालमा फर्काएर ल्याएँ। मैले आफ्नो मनोवृत्ति सुधारेर परमेश्‍वरमा भरोसा गर्दै सच्चा प्रयास गर्न थालेपछि, आफ्‍नो कर्तव्यमा अझै राम्रा परिणामहरू प्राप्त गरेँ।

पहिले म आफ्‍नो कर्तव्यमा सधैँ छली र लापरवाह थिएँ। मैले शारीरिक कष्ट नभोगे पनि, सधैँ कठिनाइमा जिइरहेकी हुन्थेँ। म परमेश्‍वरको डोऱ्याइ अनुभूति गर्न सक्दिनथेँ, मेरो कर्तव्यमा झन्-झन् कम परिणाम प्राप्त भइरहेको थियो, ममा अन्तर्दृष्टिको पूर्ण कमी थियो, र मलाई सधैँ परमेश्‍वरले त्याग्‍नुहुनेछ र हटाउनुहुनेछ भन्‍ने चिन्ता लाग्थ्यो। म असाध्यै निराश र पीडामा थिएँ। मैले आफ्‍नो कर्तव्यमा मन लगाएपछि, परमेश्‍वरको उपस्थिति र डोऱ्याइ अनुभूति गर्न सकेँ। मैले आफ्‍नो कर्तव्यमा प्रगति पनि गरेँ अनि शान्ति र सान्त्वनाको अनुभूति गरेँ। आफ्‍नो कर्तव्यप्रतिको मनोवृत्ति कति महत्त्वपूर्ण छ भन्‍ने कुरा मैले साँचोरूपमा अनुभव गरेँ। कठिनाइहरूको सामना गर्दा, वास्तविक मूल्य चुकाएर अनि परमेश्‍वरको इच्‍छा पालना गरेर मात्रै हामी पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गर्न सक्छौँ र आफ्नो कर्तव्यमा परिणामहरू प्राप्त गर्न सक्छौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इर्ष्याको बन्धनबाट छुटकारा

जोयलिन, फिलिपिन्स सन् २०१८ को जनवरीमा मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेकी थिएँ। चाँडै नै मलाई भजनहरूको...

अभिमानबाट उम्‍कन सजिलो छैन

जुलाइ २०२० मा, भिडियो बनाउने कामका आवश्यकताहरूको कारण, मेरो सुपरभाइजरले मलाई भिडियोहरू बनाउने काम दिइन्। त्यो बेला, मलाई अत्यन्तै खुशी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्