डाँडाको उपदेश, प्रभु येशूका दृष्टान्तहरू र आज्ञाहरू

13 अगस्ट 2021

डाँडाको उपदेश

आनन्द वाणीहरू (मत्ती ५:३-१२)

नून र ज्योति (मत्ती ५:१३-१६)

व्यवस्था (मत्ती ५:१७-२०)

रिस (मत्ती ५:२१-२६)

व्यभिचार (मत्ती ५:२७-३०)

विवाहविच्‍छेद (मत्ती ५:३१-३२)

शपथ (मत्ती ५:३३-३७)

आँखाको बदला आँखा (मत्ती ५:३८-४२)

आफ्नो शत्रुलाई प्रेम गर (मत्ती ५:४३-४८)

दिने विषयमा निर्देशन (मत्ती ६:१-४)

प्रार्थना (मत्ती ६:५-८)

प्रभु येशूका दृष्टान्तहरू

बीउ छर्नेको दृष्टान्त (मत्ती १३:१-९)

सामाको दृष्टान्त (मत्ती १३:२४-३०)

रायोको दानाको दृष्टान्त (मत्ती १३:३१-३२)

खमिरको दृष्टान्त (मत्ती १३:३३)

सामाको दृष्टान्त व्याख्या गरिएको (मत्ती १३:३६-४३)

गाडधनको दृष्टान्त (मत्ती १३:४४)

मोतीको दृष्टान्त (मत्ती १३:४५-४६)

महाजालको दृष्टान्त (मत्ती १३:४७-५०)

आज्ञाहरू

मत्ती २२:३७-३९ येशूले तिनलाई भन्‍नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो। र दोस्रोचाहिँ यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ।

डाँडाको उपदेश, प्रभु येशूका दृष्टान्तहरू र आज्ञाहरू

सुरुमा हामी “डाँडाको उपदेश” का विभिन्न भागहरूलाई एक-एक गरी हेरौँ: यी विभिन्न भागहरूले कुन कुरालाई छोएका छन्? निश्‍चयताको साथमा यसो भन्न सकिन्छ, कि यी विभिन्न भागहरूका विषयवस्तुहरू मानिसहरूको जीवनका निम्ति व्यवस्थाको युगका नीति नियमहरूभन्दा बढी उच्च, बढी ठोस र बढी नजिक छन्। आधुनिक शब्दावलीहरूमा भन्दा, यी कुराहरू मानिसहरूको व्यवहारिक अभ्यासको निम्ति बढी सान्दर्भिक छन्।

हामी निम्न विषयवस्तुको बारेमा पढौँ: तैँले आनन्द वाणीहरूलाई कसरी बुझ्‍नुपर्छ? व्यवस्थाको बारेमा तैँले कसरी बुझ्नुपर्छ? रिसलाई कसरी परिभाषित गरिनुपर्छ? व्यभिचारीहरूलाई कसरी व्यवहार गरिनुपर्छ? विवाहविच्‍छेदको बारेमा कसरी बोलिनुपर्छ, अनि त्यसको बारेमा के कस्ता नियमहरू छन्? कसले विवाहविच्‍छेद गर्न सक्छ अनि कसले विवाहविच्‍छेद गर्न सक्दैन? शपथहरू, आँखाको बदला आँखा, शत्रुलाई प्रेम गर्ने, परोपकारी हुने सम्बन्धमा के भनिएको छ? र यस्तै आदि इत्यादि। यी सबै कुराहरूले परमेश्‍वरमाथि मानवजातिको विश्‍वासको अभ्यासका हरेक पक्ष तथा तिनीहरूले परमेश्‍वरलाई पछ्याउनुपर्ने कुरासित सम्बन्ध राख्छन्। यीमध्ये केही अभ्यासहरू आज लागू हुन्छन्, यद्यपि हाल मानिसहरूले गर्नुपर्नेभन्दा ती सतही छन्—ती त परमेश्‍वरमाथि विश्‍वास गर्दा मानिसहरूले सामना गर्नुपर्ने तुलनात्मक रूपमा आधारभूत सत्यताहरू हुन्। प्रभु येशूले काम सुरु गर्नुभएको समयदेखि नै उहाँले मानिसहरूको जीवन स्वभावमाथि काम सुरु गरिसक्‍नुभएको थियो तर उहाँको कामका यी पक्षहरू व्यवस्थाको जगमाथि नै आधारित थिए। यी विषयहरूको बारेमा बोल्‍ने नियम तथा तरिकाहरूले सत्यतासित कुनै सम्बन्ध राखे त? अवश्य नै राखे! पहिलेका सबै नीति नियम तथा सिद्धान्तहरूका साथै अनुग्रहको युगका यी उपदेशहरू परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यससित, अनि सत्यतासित सम्बन्धित थिए। परमेश्‍वरले चाहे जे-सुकै व्यक्त गर्नुभए तापनि, उहाँले चाहे अभिव्यक्तिको जुनसुकै तरिका वा भाषा प्रयोग गर्नुभए तापनि उहाँले व्यक्त गर्नुहुने कुराहरूको जग, मूल र सुरुवाती बिन्दु उहाँको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसका सिद्धान्तहरूमा हुन्छन्। यो पूर्ण रूपले सत्य छ। त्यसैले, उहाँले भन्नुभएका यी कुराहरू अहिले अलि सतही जस्तो प्रतीत भए तापनि ती सत्य होइनन् भनी तँ अझै भन्न सक्दैनस्, किनकि अनुग्रहको युगमा परमेश्‍वरको इच्छालाई सन्तुष्ट तुल्याउन अनि तिनीहरूको जीवन स्वभावलाई परिवर्तन गर्ने कुरा हासिल गर्न मानिसहरूका निम्ति ती अपरिहार्य थिए। यी उपदेशहरूमध्ये कुनै एउटा उपदेश सत्यतासित मेल खाँदैन भनी के तँ भन्न सक्छस्? अहँ, तैँले सक्दैनस्! तीमध्ये हरेक नै सत्यता हो किनकि ती सबै परमेश्‍वरले मानवजातिलाई दिनुभएका मापदण्डहरू थिए; ती सबै परमेश्‍वरद्वारा दिइएका सिद्धान्तहरू तथा क्षेत्र थिए, जसले मानिसलाई उसले कसरी व्यवहार गर्नुपर्छ भनी देखाउँछ, अनि यी कुराहरूले परमेश्‍वरको स्वभावलाई प्रतिनिधित्व गर्छ। तथापि, त्यस समयमा तिनीहरूको जीवनको वृद्धि-स्तरको आधारमा, तिनीहरूले स्वीकार गर्न र बुझ्न सक्‍ने कुरा ती मात्रै थिए। मानिसजातिको पापको समाधान अझै भएको थिएन, त्यसकारण प्रभु येशूले यिनै वचनहरू मात्रै जारी गर्न सक्नुभयो, अनि उहाँले त्यस समयका मानिसहरूलाई तिनीहरूले कसरी व्यवहार गर्नुपर्छ, तिनीहरूले के गर्नुपर्छ, तिनीहरूले कुन सिद्धान्तहरू तथा क्षेत्रभित्र रहेर कामहरू गर्नुपर्छ अनि परमेश्‍वरमा कसरी विश्‍वास गर्नुपर्छ र उहाँका मापदण्डहरू पूरा गर्नुपर्छ भनी मानिसहरूलाई बताउन यसै क्षेत्रभित्र रहेका सरल शिक्षाहरूलाई मात्रै प्रयोग गर्न सक्नुहुन्थ्यो। यो सबै त्यस समयका मानवजातिको कदमा आधारित रहेर निर्धारित गरिन्थ्यो। व्यवस्थाको अधीनमा जिइरहेका मानिसहरूका निम्ति यी शिक्षाहरू स्वीकार गर्न सजिलो थिएन, त्यसैले प्रभु येशूले जे सिकाउनुभयो, त्यो यसै क्षेत्रभित्र रहनुपर्थ्यो।

यसपछि, अब हामी “प्रभु येशूका दृष्टान्तहरू” का विभिन्न विषयवस्तुहरूलाई हेर्नेछौँ।

पहिलो, बीउ छर्नेको दृष्टान्त हो। यो एउटा अत्यन्त चाखलाग्दो दृष्टान्त हो; बीउ छर्नु मानिसहरूको जीवनको एउटा साधारण घटना हो। दोस्रो सामाको दृष्टान्त हो। बाली रोप्ने जोकोहीले पनि, विशेष गरी प्रौढहरूले, “सामा” के हो भन्‍ने जान्दछन्। तेस्रो दृष्टान्त रायोको बिउको दृष्टान्त हो। रायो के हो भनी तिमीहरू सबैले जान्दछौ नि, होइन र? यदि तिमीहरूलाई थाहा छैन भने, तिमीहरूले बाइबलमा हेर्न सक्छौ। चौथो दृष्टान्त खमिरको दृष्टान्त हो। अब खमिर खमिर-प्रक्रियाको निम्ति प्रयोग गरिन्छ, र यो मानिसहरूले आफ्नो दैनिक जीवनमा प्रयोग गर्छन् भन्‍ने धेरैजसो मानिसहरूलाई थाहा छ। छैठौँ दृष्टान्त अर्थात् गाडधनको दृष्टान्त; सातौँ, मोतीको दृष्टान्त; अनि आठौँ, अर्थात् महाजालको दृष्टान्त लगायत अरू थप दृष्टान्तहरू सबै मानिसहरूको वास्तविक जीवनबाट निकालिएका र ल्याइएका हुन्। यी दृष्टान्तहरूले कस्तो चित्र प्रस्तुत गर्दछन् त? यो परमेश्‍वर एउटा सामान्य व्यक्ति बनेर मानिसहरूसित बातचित गर्न अनि तिनीहरूलाई जे खाँचो छ, त्यो जुटाउन जीवनको भाषा, अर्थात् मानव भाषाको प्रयोग गर्दै मानवजातिको साथमा जिइरहनुभएको एउटा चित्र हो। जब परमेश्‍वर देह बन्‍नुभयो र लामो समयसम्म मानवजातिको माझमा बस्नुभयो, तब उहाँले मानवजातिका विभिन्न जीवनशैलीहरू अनुभव गर्नुभएपछि र त्यसलाई देख्‍नुभएपछि यी अनुभवहरू आफ्नो ईश्‍वरीय भाषालाई मानव भाषामा परिवर्तन गर्ने उहाँका शैक्षिक सामग्रीहरू भए। अवश्य नै, जीवनमा उहाँले देख्नुभएका र सुन्नुभएका यी कुराहरूले मानिसको पुत्रको मानव अनुभवलाई सम्‍पन्‍न तुल्यायो। जब मानिसहरूले केही सत्यतालाई बुझेको, परमेश्‍वरका केही इच्‍छालाई बुझेको उहाँले चाहनुहुन्थ्यो, तब उहाँले परमेश्‍वरको इच्छा तथा मानवजातिबाट उहाँले चाहनुभएका कुराहरू बताउन माथिका जस्तै दृष्टान्तहरू प्रयोग गर्न सक्नुहुन्थ्यो। यी दृष्टान्तहरू मानिसहरूको जीवनसँग सम्बन्धित थिए; मानव जीवनको सम्पर्कदेखि बाहिर रहेको एउटै पनि दृष्टान्त थिएन। जब प्रभु येशू मानवजातिको माझमा जिउनुभयो, तब उहाँले किसानहरू खेतमा काम गरिरहेको देख्नुभयो, अनि उहाँले सामाहरू के हुन् अनि खमिर प्रयोग गर्नु भनेको के हो भन्‍ने कुरा जान्नुभयो; मानिसहरूले सम्पत्तिलाई प्रेम गर्छन् भनी उहाँले बुझ्नुभयो, त्यसैले उहाँले सम्पत्ति र मोतीका उपमाहरू प्रयोग गर्नुभयो। जीवनमा, उहाँले मछुवाहरूले आफ्ना जालहरू फ्याँकिरहेको बारम्बार देख्नुहुन्थ्यो; प्रभु येशूले मानव जीवनसँग सम्बन्धित यो र अन्य क्रियाकलापहरू देख्नुभयो, अनि उहाँले त्यस प्रकारको जीवन पनि अनुभव गर्नुभयो। अन्य कुनै पनि सामान्य मानवले जस्तै उहाँले तिनीहरूको दैनिक दिनचर्या र दिनको तीन पल्ट खाना खाने चलनको अनुभव गर्नुभयो। उहाँले व्यक्तिगत रूपमा सामान्य व्यक्तिको जीवन अनुभव गर्नुभयो अनि अरूको जीवनलाई पनि अवलोकन गर्नुभयो। जब उहाँले यो सबै अवलोकन गर्नुभयो र व्यक्तिगत रूपले अनुभव गर्नुभयो, तब उहाँले कसरी असल जीवन जिउने वा कसरी स्वतन्त्र र आरामदायी जीवन जिउने भन्‍ने बारेमा विचार गर्नुभएन। बरु, विशुद्ध मानव जीवनका अनुभवहरूबाट प्रभु येशूले मानिसहरूको जीवनका कठिनाइहरूलाई देख्नुभयो। उहाँले शैतानको सत्तामा जिइरहेका र शैतानको भ्रष्टतामुनि पापको जीवन जिइरहेका मानिसहरूको कठिनाइ, दयनीय अवस्था र दुःख देख्नुभयो। जब उहाँले मानव जीवनलाई व्यक्तिगत रूपले अनुभव गर्दैहुनुहुन्थ्यो, तब उहाँले भ्रष्टताको बीचमा जिउने मानिसहरू कति असहाय छन् सो अनुभव गर्नुभयो, अनि उहाँले पापमा जिउने, शैतान र दुष्टताले दिएको उत्पीडनको बीचमा सबै दिशा गुमाएका मानिसहरूको दयनीय अवस्थाहरू अनुभव गर्नुभयो। जब प्रभु येशूले यी कुराहरू देख्नुभयो, तब उहाँले त्यसलाई आफ्नो ईश्‍वरत्वद्वारा देख्नुभयो कि आफ्नो मानवताद्वारा? उहाँको मानवता साँच्चिकै अस्तित्वमा थियो अनि धेरै नै जीवन्त थियो; उहाँले यो सबै अनुभव गर्न र देख्न सक्नुहुन्थ्यो। तर, अवश्य नै, उहाँले यी कुराहरू आफ्नो सारमा, अर्थात् उहाँको ईश्‍वरत्वमा देख्नुभयो। यसको अर्थ, ख्रीष्ट आफै, प्रभु येशू जो एउटा मानिस हुनुहुन्थ्यो, उहाँले यसलाई देख्नुभयो अनि उहाँले देख्नुभएको हरेक कुराले उहाँलाई उहाँ देहमा जिउनुभएको समय अवधिमा उहाँले लिनुभएको कामको महत्त्व र आवश्यकता अनुभूति गरायो। देहमा उहाँले लिनुपर्ने जिम्मेवारी अत्यन्तै विशाल छ, र उहाँले सामना गर्नुहुने पीडा कति निर्दयी हुनेछ भन्‍ने कुरा उहाँलाई थाहा थियो, तैपनि जब उहाँले मानिसजातिलाई पापमा असहाय भएको देख्नुभयो, जब उहाँले व्यवस्थाको अधीनमा तिनीहरूको जीवनको दयनीय अवस्था अनि तिनीहरूले गरेका कमजोर संघर्षहरू देख्नुभयो, तब उहाँ धेरैभन्दा धेरै शोकित हुनुभयो, अनि पापबाट मानिसजातिलाई मुक्ति दिनका निम्ति उहाँ धेरै भन्दा धेरै चिन्तित हुनुभयो। उहाँले जस्तोसुकै कठिनाइको सामना गर्नुपरे तापनि वा जस्तोसुकै पीडा सहनु परे तापनि, पापमा जिइरहेका मानवजातिलाई उद्धार गर्ने उहाँको अठोट बढ्दै गयो। के भन्‍न सकिन्छ भने, यस प्रक्रियामा, उहाँले आफूले गर्नुपर्ने काम तथा आफूलाई सुम्पिएको कामको बारेमा प्रभु येशूले अत्यन्तै स्पष्ट प्रकारले बुझ्न थाल्नुभयो। उहाँले जुन काम गर्नुपर्ने थियो त्यसलाई पूरा गर्न, अर्थात्, मानवजाति अब उप्रान्त पापमा नजिऊन् भनेर तिनीहरूका पापहरू आफूमाथि लिन, मानवजातिको निम्ति प्रायश्चित गर्न उहाँ झन्-झन् उत्सुक हुनुभयो, यसको साथ साथै पापबलिको कारणले परमेश्‍वर मानिसका पापहरू क्षमा गर्न सक्षम हुनुभयो अनि यसले गर्दा उहाँले मानवजातिलाई मुक्ति दिने आफ्नो कामलाई अझ अगाडि बढाउन सक्‍नुहुन्थ्यो। यसो भन्न सकिन्छ, कि प्रभु येशूको हृदयमा, उहाँ आफैलाई मानवजातिको निम्ति अर्पण गर्न, आफैलाई बलिदान गर्न इच्छुक हुनुहुन्थ्यो। उहाँ पापबलिको रूपमा काम गर्न, क्रूसमा टाँगिन पनि इच्छुक हुनुहुन्थ्यो, अनि वास्तवमै उहाँ यो काम पूरा गर्न उत्सुक हुनुहुन्थ्यो। जब उहाँले मानव जीवनको दयनीय अवस्थाहरू देख्नुभयो, तब उहाँले एक मिनेट वा अझ एक सेकेण्ड ढिलाइ नगरिकन जतिसक्दो चाँडो आफ्नो मिशन पूरा गर्न अझ बढी चाहनुभयो। त्यस्तो अपरिहार्यतालाई महसुस गरेर, उहाँले आफ्नो पीडा कति ठूलो हुनेछ भनी विचार गर्नुभएन, न त कति धेरै अपमान सहनुपर्ने हो भन्‍ने बारेमा नै विचार गरिरहनुभयो। उहाँले आफ्नो हृदयमा एउटै अठोट गर्नुभयो: उहाँले आफैलाई अर्पण गर्नुभयो भने, पापबलिको रूपमा उहाँ क्रूसमा टाँगिनुभयो भने, परमेश्‍वरको इच्छा पूरा हुनेछ अनि परमेश्‍वरले नयाँ काम सुरु गर्न सक्नुहुनेछ। मानिसजातिको जीवन तथा पापमा तिनीहरूको अस्तित्वको अवस्था पूर्ण रूपले परिवर्तन हुनेथियो। उहाँको अठोट तथा उहाँले जे गर्ने निर्धारण गर्नुभएको थियो, त्यो मानिसलाई मुक्ति दिने कार्यसित सम्बन्धित थियो अनि उहाँको केवल एउटै उद्देश्य थियो जुन परमेश्‍वरको इच्छा पूरा गर्नु थियो ताकि परमेश्‍वरले आफ्नो कामको अर्को चरण सफलतापूर्वक सुरु गर्न सक्नुभएको होस्। त्यस बेला प्रभु येशूको मनमा यही कुरा थियो।

देहमा जिउनुहुँदा, देहधारी परमेश्‍वरमा सामान्य मानवता थियो; उहाँसित एउटा सामान्य मानिसका भावनाहरू तथा चेतना थियो। खुशी के हो, पीडा के हो सो उहाँलाई थाहा थियो, अनि जब मानवजातिले यस प्रकारको जीवन जिइरहेको उहाँले देख्नुभयो, तब उहाँले मानिसहरूलाई केही शिक्षा दिनु, तिनीहरूलाई केही जुटाइदिनु वा तिनीहरूलाई केही सिकाउनु मात्रै तिनीहरूलाई पापबाट बाहिर निकाल्‍नको निम्ति पर्याप्त हुनेछैन भन्‍ने कुरालाई उहाँले गहिरो प्रकारले महसुस गर्नुभयो। न त तिनीहरूलाई आज्ञाहरू पालन गर्न लगाएर मात्र तिनीहरू पापमुक्त हुन सक्थे—उहाँले मानवजातिको पाप लिएर पापपूर्ण देह बन्‍नुभएपछि मात्रै उहाँले मानवजातिको स्वतन्त्रता अनि मानवजातिको निम्ति परमेश्‍वरको क्षमादान हासिल गर्न सक्‍नुहुनेथियो। त्यसैले, जब प्रभु येशूले मानिसहरूको पापको जीवन अनुभव गर्नुभयो र देख्नुभयो, तब उहाँको हृदयमा मानिसहरूलाई पापमा संघर्ष गर्ने तिनीहरूको जीवनबाट मुक्त गराउने एउटा तीव्र इच्छा प्रकट भयो। यस इच्छाले उहाँलाई उहाँ जतिसक्दो छिटो र सकेसम्‍म चाँडै क्रूसमा गएर मानवजातिका पापहरू लिनुपर्छ भन्‍ने तीव्र रूपमा महसुस गरायो। मानिसहरूसित जिएपछि र पापमा तिनीहरूले जिएको जीवनको दुर्गति देखेपछि, सुनेपछि र महसुस गरेपछि त्यस समयमा प्रभु येशूमा आएका विचारहरू यिनै थिए। मानवजातिको निम्ति देहधारी परमेश्‍वरको त्यस्तो प्रकारको इच्छा हुन सक्थ्यो, उहाँले यस्तो प्रकारको स्वभावलाई व्यक्त गर्न र प्रकट गर्न सक्नुहुन्थ्यो—के यो सामान्य व्यक्तिले प्राप्त गर्न सक्‍ने कुरा होइन र? यस्तो प्रकारको वातावरणमा जिउने सामान्य व्यक्तिले के देख्नेथियो? तिनीहरूले के सोच्नेथिए? यदि सामान्य व्यक्तिले यो सबै कुराको सामना गर्‍यो भने के तिनीहरूले समस्याहरूलाई एउटा उच्च दृष्टिकोणबाट हेर्नेथिए र? पक्कै पनि हेर्ने थिएनन्! देहधारी परमेश्‍वरको बाहिरी रूप दुरुस्त मानिसको जस्तो भए तापनि, अनि उहाँले मानव ज्ञान सिक्नुहुने र मानव भाषा बोल्नुहुने भए तापनि, अनि कहिलेकाहीँ मानवजातिको आफ्नै विधिहरू वा बोल्ने तरिकाहरूद्वारा आफ्ना विचारहरू व्यक्त गर्नुभए तापनि, उहाँले जुन प्रकारले मानिसहरूलाई हेर्नुहुन्छ र कुराहरूको सारलाई हेर्नुहुन्छ, त्यो भ्रष्ट मानिसहरूले मानवजाति तथा कुराहरूको सारलाई हेर्ने तरिका जस्तो छैन। उहाँको दृष्टिकोण र उहाँ जुन उचाइमा खडा हुनुहुन्छ, त्यो भ्रष्ट व्यक्तिको निम्ति अप्राप्य कुरा हो। किनकि परमेश्‍वर सत्य हुनुहुन्छ, किनकि उहाँले जुन देह धारण गर्नुहुन्छ, त्यसमा पनि परमेश्‍वरको सार छ, अनि उहाँका विचारहरू र उहाँको मानवताद्वारा व्यक्त हुने कुरा पनि सत्यता नै हुन्। भ्रष्ट मानिसहरूका निम्ति, उहाँले देहमा जे व्यक्त गर्नुहुन्छ, ती सत्यता अनि जीवनका प्रबन्धहरू हुन्। यी प्रबन्धहरू एउटा व्यक्तिको निम्ति मात्र होइनन्, तर सारा मानवजातिको निम्ति हुन्। कुनै भ्रष्ट व्यक्तिको हृदयमा केवल त्यस्ता थोरै मानिसहरू मात्र हुन्छन् जो तिनीहरूसित सम्बन्धित हुन्छन्। तिनीहरूले यी थोरै मानिसहरूका निम्ति मात्र वास्ता गर्छन् र चिन्ता गर्छन्। जब विनाश आउन लागेको हुन्छ, तिनीहरूले पहिले आफ्नै छोराछोरीहरू, जीवनसाथी वा आमाबाबुको बारेमा सोच्छन्। बढीमा, अलिक बढी दयालु व्यक्तिले कोही आफन्त वा असल साथीको केही विचार गर्लान्, तर त्यस्तो दयालु व्यक्तिका विचारहरू समेत त्यसभन्दा पर जान्छ र? अहँ, कदापि जाँदैन। किनकि मानिसहरू आखिर मानिसहरू नै हुन्, अनि तिनीहरूले मानवको उचाइ तथा दृष्टिकोणबाट मात्र सबै कुरालाई हेर्न सक्छन्। तथापि, देहधारी परमेश्‍वर भ्रष्ट मानिसभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्‍वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र न्यून भए तापनि अथवा मानिसहरूले जतिसुकै नीच दृष्टिकोणले उहाँलाई तिरस्कार गरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको मनोवृत्ति यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्‍वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्‍च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्‍वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको न्यून उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुन्न। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्‍ने परिधिभित्र पर्दछ। जब परमेश्‍वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्‍वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनु स्थान यहीँ नै हो। यो भिन्नता मानिसहरू र परमेश्‍वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ। के तिमीहरूले प्रभु येशूमा परमेश्‍वर स्वयम्‌को अभिव्यक्ति र प्रकाशलाई देख्छौ? तिमीहरू भन्न सक्छौ, कि प्रभु येशूले जे गर्नुभयो र भन्नुभयो, त्यो उहाँको सेवकाई र परमेश्‍वरको आफ्नै व्यवस्थापनको कामसित सम्बन्धित थियो, त्यो परमेश्‍वरको सारको सम्पूर्ण अभिव्यक्ति तथा प्रकाश थियो। उहाँसँग मानव प्रकटीकरण थियो, तापनि उहाँको ईश्‍वरीय सार र उहाँको ईश्‍वरत्वको प्रकाशलाई इन्कार गर्न सकिँदैन। के यो मानव प्रकटीकरण साँच्चिकै मानवताको प्रकटीकरण थियो? उहाँको मानव प्रकटीकरण, त्यसको सारमा, भ्रष्ट मानिसहरूको मानव प्रकटीकरणबाट पूर्ण रूपले भिन्न थियो। प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। यदि उहाँ साँच्चिकै साधारण, भ्रष्ट मानिसहरूमध्ये एउटा हुनुहुन्थ्यो भने, के उहाँले मानवजातिको पापलाई ईश्‍वरीय दृष्टिकोणबाट देख्न सक्नुहुन्थ्यो? बिलकुलै सक्‍नुहुन्‍नथियो! मानिसको पुत्र र साधारण मानिसहरू बीचको फरक यही हो। भ्रष्ट मानिसहरू सबै पापमा जिउँछन्, अनि जब कसैले पापलाई देख्छन्, तब तिनीहरूसित यसबारे कुनै निश्‍चित भावना हुँदैन; तिनीहरू सबै हिलोमा बस्ने सुँगुर जस्तै हुन्, जसले कुनै असुविधा वा फोहोरको अनुभूति गर्दैनन्—यसको विपरीत, त्यसले राम्ररी खान्छ र राम्रोसित निदाउँछ। यदि कसैले सुँगुरको खोर सफा गर्‍यो भने सुँगुरले वास्तवमा बिरामी महसुस गर्दछ अनि त्यो सफा नै रहिरहनेछैन। तुरुन्तै, फेरि त्यो हिलोमा सहजताको साथ लडीबुडी खेल्नेछ, किनकि यो एउटा फोहोरी जनावर हो। मानिसहरूले सुँगुरहरूलाई फोहोरी जनावरको रूपमा हेर्छन्, तर यदि तैँले सुँगुर बस्ने कोठाहरूलाई सफा गर्छस् भने पनि यसले कुनै राम्रो अनुभूति गर्दैन—त्यसैले कसैले सुँगुरलाई आफ्नो घरभित्र राख्दैन। मानिसहरूले सुँगुरहरूलाई जुन प्रकारले हेर्छन्, त्यो सुँगुरहरू आफैले कस्तो महसुस गर्छन् भन्‍ने कुराबाट सधैँ भिन्न हुन्छ किनकि मानिसहरू र सुँगुरहरू उही प्रकारका होइनन्। अनि देहधारी मानिसको पुत्र पनि भ्रष्ट मानिसहरू जस्तै होइन, त्यसकारण देहधारी परमेश्‍वर मात्रै ईश्‍वरीय दृष्टिकोणमा परमेश्‍वरको उचाइमा खडा रहन सक्नुहुन्छ, जहाँबाट उहाँले मानवजाति र सबै कुरालाई देख्नुहुन्छ।

उहाँ देह हुनुहुँदा अनि मानवजातिको माझमा जिउनुहुँदा परमेश्‍वरले अनुभव गर्नुहुने कष्टको बारेमा के भन्‍ने? यो कष्ट के हो? के कसैले यसलाई साँचो रीतिले बुझ्न सक्छ? कोही मानिसहरू भन्छन् कि परमेश्‍वरले अति कष्ट भोग्नुहुन्छ, कि उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुभए तापनि मानिसहरूले उहाँको सारलाई बुझ्दैनन्, तर उहाँलाई सधैँ व्यक्ति झैँ व्यवहार गर्ने तिनीहरूको प्रवृत्ति हुन्छ, जसले गर्दा उहाँले पीडित भएको तथा अन्यायमा परेको अनुभव गर्नुहुन्छ—तिनीहरू भन्छन्, कि यी कारणहरूले गर्दा, परमेश्‍वरको कष्ट साँच्‍चै ठूलो छ। अरू मानिसहरू भन्छन्, परमेश्‍वर निर्दोष हुनुहुन्छ र पापरहित हुनुहुन्छ, तर उहाँले मानवजातिले जस्तै कष्ट भोग्नुहुन्छ, उहाँले मानवजाति सँगसँगै सतावट, निन्दा, अपमान भोग्नुहुन्छ; तिनीहरू भन्छन्, उहाँले उहाँका अनुयायीहरूको गलत बुझाइ र अनाज्ञाकारिता पनि सहनुहुन्छ—यसरी, परमेश्‍वरको कष्टलाई साँच्चिकै मापन गर्न सकिँदैन भनेर तिनीहरू भन्छन्। अब, यस्तो प्रतीत हुन्छ कि तिमीहरूले साँचो रूपमा परमेश्‍वरलाई बुझ्दैनौ। वास्तवमा, तिमीहरूले जुन कष्टको बारेमा कुरा गर्छौ, त्यो परमेश्‍वरको निम्ति साँचो कष्टको रूपमा गणना हुँदैन किनकि योभन्दा पनि ठूलो कष्ट छ। त्यसोभए, परमेश्‍वर स्वयम्‌को निम्ति साँचो कष्ट के हो त? परमेश्‍वरको देहधारी शरीरको निम्ति साँचो कष्ट के हो त? परमेश्‍वरको निम्ति, मानवजातिले उहाँलाई नबुझ्नु कष्टको रूपमा गणना हुँदैन, न त परमेश्‍वरको बारेमा मानिसहरूसित गलत बुझाइ हुनु र उहाँलाई परमेश्‍वरको रूपमा नहेर्नु नै कष्टको रूपमा गणना हुन्छ। तथापि, मानिसहरूले प्रायजसो के महसुस गर्छन् भने, परमेश्‍वरले ठूलो अन्याय भोगेको हुनुपर्छ, अनि परमेश्‍वरले देहमा बिताउनुभएको समयावधिमा, उहाँले मानवजातिलाई उहाँको व्यक्तित्व देखाउन सक्नुहुन्न र मानिसहरूलाई उहाँको महानता देख्न दिन सक्नुहुन्न, अनि परमेश्‍वरले नम्रतापूर्वक एउटा महत्त्वहीन देहमा आफैलाई लुकाइरहनुभएको छ र यो उहाँको निम्ति एउटा ठूलो यातना हुनुपर्छ। मानिसहरूले परमेश्‍वरको कष्टको बारेमा जे बुझ्न सक्छन् र जे तिनीहरूले देख्न सक्छन्, त्यसबाट नै तिनीहरू प्रभावित हुन्छन् अनि परमेश्‍वरमाथि सबै प्रकारका सहानुभूति व्यक्त गर्छन् र प्रायजसो उहाँको कष्टको निम्ति अलिकति प्रशंसा समेत चढाउँछन्। यथार्थमा, परमेश्‍वरको कष्टको बारेमा मानिसहरूले जे बुझ्दछन् र उहाँले जे साँचो रूपमा महसुस गर्नुहुन्छ, त्यसबीच एउटा भिन्नता छ; एउटा अन्तर छ। म तिमीहरूलाई सत्यता भन्दैछु—परमेश्‍वरको निम्ति, चाहे त्यो परमेश्‍वरका आत्मा होस् कि परमेश्‍वरको देहधारी शरीर होस्, माथि बताइएको कष्ट साँचो कष्ट होइन। त्यसोभए, परमेश्‍वरले वास्तवमा केको कष्ट भोग्‍नुहुन्छ त? हामी देहधारी परमेश्‍वरको दृष्टिकोणबाट मात्रै परमेश्‍वरको कष्टको बारेमा कुरा गरौँ।

जब परमेश्‍वर देहधारी भई एउटा औसत, सामान्य मानिसमा बदलिनुहुन्छ, मानवजातिको माझमा मानिसहरू सँगसँगै जिउनुहुन्छ, के उहाँले मानिसहरूका जिउने सम्‍बन्धी विधिहरू, व्यवस्थाहरू, अनि दर्शनहरूलाई देख्न र महसुस गर्न सक्नुहुन्न र? जिउने सम्‍बन्धी यी विधिहरू तथा व्यवस्थाहरूले उहाँलाई कस्तो महसुस गराउँछन्? के उहाँले आफ्नो हृदयमा घृणाको महसुस गर्नुहुन्छ? किन उहाँले घृणाको महसुस गर्नुहुन्छ? जिउने सम्‍बन्धी मानवजातिका विधि तथा व्यवस्थाहरू के-के हुन् त? कुन सिद्धान्तहरूमा तिनीहरूले जरा बसालेका छन्? तिनीहरू कुन कुरामा आधारित छन्? मानवजातिका विधि, व्यवस्था, अनि आदि इत्यादि कुरा ती जिउने तरिकासित सम्बन्धित भएकोले—यो सबै शैतानको तर्क, ज्ञान र दर्शनको आधारमा सृष्टि गरिएका हुन्। यस प्रकारका व्यवस्थाहरूको अधीनका जिइरहेका मानिसहरूको कुनै मानवता, कुनै सत्यता हुँदैन—तिनीहरू सबैले सत्यताको विरोध गर्छन् र परमेश्‍वरप्रति प्रतिरोधी हुन्छन्। यदि हामी परमेश्‍वरको सारप्रति दृष्टि लगाउँछौँ भने, हामी उहाँको सार शैतानको तर्क, ज्ञान र दर्शनको ठीक विपरीत छ भन्‍ने देख्छौँ। उहाँको सार धार्मिकता, सत्यता र पवित्रता, अनि सबै सकारात्मक कुराहरूको अन्य वास्तविकताहरूले भरिपूर्ण छ। यस्तो सारले सुसम्पन्न हुनुभएका अनि मानवजातिको माझमा वास गर्नुहुने परमेश्‍वरले कस्तो अनुभूति गर्नुहुन्छ? उहाँले आफ्नो हृदयमा कस्तो अनुभूति गर्नुहुन्छ? के यो पीडाले भरिपूर्ण हुँदैन र? उहाँको हृदय पीडाले भरिपूर्ण हुन्छ, एउटा यस्तो पीडा जुन कुनै व्यक्तिले बुझ्न वा अनुभव गर्न सक्दैन। यसको कारण के हो भने, उहाँले सामना गर्नुहुने, जम्काभेट गर्नुहुने, सुन्नुहुने, देख्नुहुने अनि अनुभव गर्नुहुने सबै मानवजातिको भ्रष्टता, खराबी, अनि सत्यताप्रतिको विरुद्धमा अनि प्रतिरोधमा रहेको तिनीहरूको विद्रोह हो। मानिसहरूबाट आउने भनेका सबै उहाँको कष्टका श्रोत हुन्। भनाइको अर्थ, उहाँको सार भ्रष्ट मानिसहरूको जस्तै नभएको हुनाले, मानिसहरूको भ्रष्टता उहाँको सबैभन्दा ठूलो कष्टको श्रोत बन्दछ। जब परमेश्‍वर देहधारी बन्‍नुहुन्छ, के उहाँले उहासँग आम भाषा भएको कसैलाई भेट्टाउन सक्‍नुहुन्छ? त्यस्तो व्यक्तिलाई मानवजातिको माझमा भेट्टाउन सकिँदैन। परमेश्‍वरसित बातचित गर्न सक्‍ने वा परमेश्‍वरसित कुराकानी गर्न सक्‍ने कसैलाई पनि भेट्टाउन सकिँदैन—यसको बारेमा परमेश्‍वरसित कस्तो प्रकारको अनुभूति हुन्छ भनेर तैँले भन्छस्? मानिसहरूले छलफल गर्ने, प्रेम गर्ने, खोजी गर्ने र चाहना गर्ने सबै कुरा पाप र दुष्ट प्रवृत्तिहरूसित सम्‍बन्धित हुन्छन्। जब परमेश्‍वरले यी सबैको सामना गर्नुहुन्छ, के यो उहाँको हृदयको निम्ति छुरा जस्तो हुँदैन र? यस्ता कुराहरूको सामना गर्दा, के उहाँको हृदयमा आनन्द हुनसक्छ र? के उहाँले सान्त्वना भेट्टाउन सक्नुहुन्छ र? उहाँसित बसिरहेका मानिसहरू विद्रोह तथा खराबीले भरिपूर्ण मानिसहरू हुन्—उहाँको हृदयले कसरी कष्ट नभोग्न सक्छ र? यो कष्ट वास्तवमा कति ठूलो छ, अनि यसको बारेमा कसले वास्ता गर्छ र? कसले ध्यान दिन्छ र? अनि यसलाई कसले बुझ्‍न सक्छ? परमेश्‍वरको हृदय बुझ्ने कुनै उपाय मानिसहरूसित छैन। उहाँको कष्ट यस्तो कुरा हो जसलाई मानिसहरूले बुझ्‍न सक्दैनन्, अनि मानवजातिको चिसोपना र संवेदनाशून्यताले परमेश्‍वरको कष्टलाई अझ बढी गहिर्‍याउँदछ।

केही मानिसहरूले ख्रीष्टको दयनीय अवस्थाप्रति प्रायजसो सहानुभूति राख्छन् किनकि बाइबलमा एउटा पद छ जसले भन्छ: “फ्याउराहरू बस्‍ने दुला छन् र पक्षीहरूका गुँड छन्; तर मानिसको पुत्रको निम्ति आफ्नो टाउको राख्‍ने ठाउँ छैन।” जब मानिसहरूले यो सुन्छन्, तब तिनीहरू यसबाट प्रभावित हुन्छन् अनि परमेश्‍वरले सहनुभएको र ख्रीष्टले सहनुभएको सबैभन्दा ठूलो कष्ट यही हो भन्‍ने विश्‍वास गर्छन्। अब, तथ्यहरूको दृष्टिकोणबाट हेरेर भन्दा, के साँचो कुरा त्यही नै हो त? होइन; परमेश्‍वरले यी कठिनाइहरूलाई कष्ट हुन् भनी विश्‍वास गर्नुहुन्न। आफूले देहमा भोग्‍नुभएका कठिनाइहरूको कारणले उहाँले कहिल्यै अन्यायको विरुद्धमा कराउनुभएको छैन, अनि उहाँले मानिसहरूलाई कुनै कुराको भुक्तानी गर्न वा प्रतिफल दिन लगाउनुभएको छैन। तथापि, जब उहाँले मानवजाति र भ्रष्ट जीवन अनि भ्रष्ट मानिसहरूको खराबीको बारेमा सबै कुरा देख्नुहुन्छ, जब मानवजाति शैतानको पकडमा छ अनि शैतानद्वारा बन्दी बनाइएको र उम्कन नसकेको अवस्थामा छ, पापमा जिइरहेका मानिसहरूले सत्यता के हो भनी जान्दैनन् भन्‍ने देख्नुहुन्छ, तब उहाँले यी पापलाई सहन गर्न सक्नुहुन्न। मानिसहरूप्रतिको उहाँको घृणा दिनदिनै बढ्दै जान्छ, तर उहाँले यी सबैलाई पनि सहनुपर्ने हुन्छ। परमेश्‍वरको ठूलो कष्ट यही हो। परमेश्‍वरले आफ्ना अनुयायीहरूको माझमा आफ्नै हृदयको आवाज वा भावनाहरूलाई समेत पूर्ण रूपमा व्यक्त गर्न सक्नुहुन्न, अनि उहाँका अनुयायीहरूको माझमा कसैले पनि उहाँको कष्टलाई साँचो रीतिले बुझ्न सक्दैन। कसैले पनि उहाँलाई बुझ्न वा उहाँको हृदयलाई सान्त्वना दिने कोसिस गर्दैन, जुन हृदयले यो कष्टलाई दिन-प्रतिदिन, वर्षैपिच्‍छे अनि बारम्बार सहिरहन्छ। यो सबैमा तिमीहरू के देख्छौ? परमेश्‍वरले मानिसहरूबाट उहाँले जे दिनुभएको छ, त्यसको बदलामा केही पनि चाहनुहुन्न, तर परमेश्‍वरको सारको कारणले, उहाँले मानवजातिको खराबी, भ्रष्टता र पापलाई बिलकुल सहन सक्नुहुन्न, बरु अत्यन्त वितृष्णा र घृणा अनुभूति गर्नुहुन्छ जसले परमेश्‍वरको हृदय तथा उहाँको देहलाई अन्त्यहीन कष्टमा डोर्‍याउँछ। के तिमीहरूले यो कुरालाई देखेका छौ? सायद तिमीहरूमध्ये कसैले यसलाई देख्न सक्दैनौ, किनकि तिमीहरूमध्ये कसैले परमेश्‍वरलाई साँचो रीतिले बुझ्न सक्दैनौ। समयको अन्तरालमा, यसलाई तिमीहरूले क्रमिक रूपमा आफै अनुभव गर्नुपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हराएको भेडाको दृष्टान्त

मत्ती १८:१२-१४ तिमीहरू कसरी सोच्छौ? यदि कुनै मानिससँग एक सय भेडा छन् र तीमध्ये एउटा बरालिन्छ भने के उसले उनान्‍सयलाई छाडेर पर्वतहरूतिर गई...

फरिसीहरूद्वारा येशूको आलोचना र फरिसीहरूलाई येशूको हप्की

फरिसीहरूद्वारा येशूको आलोचना मर्कूस ३:२१-२२ अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्‍न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्