फरिसीहरूद्वारा येशूको आलोचना र फरिसीहरूलाई येशूको हप्की

13 अगस्ट 2021

फरिसीहरूद्वारा येशूको आलोचना

मर्कूस ३:२१-२२ अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्‍न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न। अनि येरूशलेमबाट आएका शास्त्रीहरूले भने, त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ।

फरिसीहरूलाई येशूको हप्की

मत्ती १२:३१-३२ म किन तिमीहरूलाई भन्दछु, मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन। र जसले मानिसको पुत्रको विरुद्धमा वचन बोल्छ, उसलाई क्षमा दिइनेछ: तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।

मत्ती २३:१३-१५ तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनकि तिमीहरू विधवाका घरहरू निल्छौ र लामा प्रार्थना गरेको स्वाँग पार्छौ: यसैले तिमीहरूले ठूलो दण्ड पाउनेछौ। शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ।

माथिका दुई खण्डहरूको विषयवस्तु फरक छ। पहिले, हामी पहिलो खण्डलाई हेरौँ: फरिसीहरूद्वारा येशूको आलोचना।

फरिसीहरूलाई येशूको हप्की

बाइबलमा, येशू स्‍वयम्‌ र उहाँले गर्नुभएका कामहरूको बारेमा फरिसीहरूको मूल्याङ्कन यस्तो थियो: “… तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न। … त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ” (मर्कूस ३:२१-२२)। प्रभु येशूको बारेमा शास्त्री र फरिसीहरूको न्याय तिनीहरूले अन्य मानिसहरूका वचनहरू अनुकरण गरेर भनेका मात्र थिएनन्, न त त्यो आधारहीन अनुमान नै थियो—यो प्रभु येशूका कार्यहरूका बारेमा तिनीहरूले जे देखे र सुने त्यसबाट तिनीहरूले निकालेको निष्कर्ष थियो। तिनीहरूको निष्कर्ष बाहिरी रूपमा न्यायको नाउँमा गरिएको जस्तो अनि मानिसको नजरमा त्यो न्यायसङ्गत जस्तो देखिएको भए तापनि, तिनीहरूले जुन अहङ्कारले प्रभु येशूलाई न्याय गरे, त्यो तिनीहरूले समेत सहन कठिन थियो। प्रभु येशूप्रतिको तिनीहरूको घृणाको उन्मत्त ऊर्जाले तिनीहरूको आफ्नै जङ्गली आकांक्षाहरू अनि दुष्ट शैतानिक मुखाकृति, साथै द्वेषपूर्ण स्वभावलाई उजागर गरेको थियो जसद्वारा तिनीहरू परमेश्‍वरको विरोध गर्थे। प्रभु येशूको न्याय गर्दा तिनीहरूले भनेका यी कुराहरू तिनीहरूका पागलपूर्ण आकांक्षाहरू, ईर्ष्या, अनि परमेश्‍वर र सत्यताप्रति तिनीहरूको शत्रुताको कुरूप र द्वेषपूर्ण प्रकृतिबाट प्रेरित थिए। तिनीहरूले प्रभु येशूका कामहरूको स्रोतबारे अनुसन्धान गरेनन्, न त उहाँले भन्नुभएको वा गर्नुभएको कामको सारलाई नै अनुसन्धान गरे। त्यसको साटो, उहाँले गर्नुभएको कामलाई तिनीहरूले उन्‍मादपूर्ण उत्तेजनाको अवस्थामा अनि जानाजानी द्वेष भावनाले आक्रमण र अपमान गरे। यहाँसम्‍म कि उहाँको आत्मा अर्थात् पवित्र आत्मा, जुन परमेश्‍वरका आत्मा हो, उहाँलाई जानी-जानी अपमान गरे। तिनीहरूले “उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न,” “बालजिबुल,” र “भूतहरूको राजकुमार” भनी भन्‍नुको अर्थ यही हो। भनाइको अर्थ, तिनीहरूले परमेश्‍वरका आत्मालाई बालजिबुल तथा दुष्ट आत्माहरूको राजकुमार हो भनी भने। परमेश्‍वरको देहधारी आत्मा, जसले देह धारण गर्नुभएको थियो, उहाँको कामलाई तिनीहरूले पागलपनको संज्ञा दिए। तिनीहरूले परमेश्‍वरका आत्मालाई बालजिबुल र दियाबलसहरूका राजा भनेर मात्र निन्दा गरेनन्, तर परमेश्‍वरको कामलाई तिरस्कार गरे अनि प्रभु येशूलाई तिरस्कार र निन्दा गरे। परमेश्‍वरप्रतिको तिनीहरूको विरोध र निन्दाको सार शैतान तथा दुष्ट आत्माद्वारा परमेश्‍वरप्रति गरिएको विरोध र निन्दाको सारसित पूर्ण रूपले समान थियो। त्यसले भ्रष्ट मानिसहरूलाई मात्र प्रतिनिधित्व गर्दैनथ्यो तर धेरै हदसम्म, ती शैतानको नै मूर्त रूप थिए। मानवजातिको माझमा तिनीहरू शैतानको माध्यम थिए, अनि तिनीहरू शैतानको मतियार तथा नोकर थिए। प्रभु येशू ख्रीष्टप्रतिको तिनीहरूको निन्दा र तिनीहरूको बदनामीको सार प्रतिष्ठाको निम्ति परमेश्‍वरसितको तिनीहरूको संघर्ष थियो, परमेश्‍वरसितको तिनीहरूको द्वन्द्व थियो, अनि परमेश्‍वरलाई तिनीहरूले गरेको अन्त्यहीन परीक्षा थियो। परमेश्‍वरप्रतिको तिनीहरूको विरोधको सार तथा उहाँप्रतिको तिनीहरूको शत्रुताको मनोवृत्ति, साथै तिनीहरूका वचन तथा तिनीहरूका विचारहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्मालाई निन्दा गरेको र क्रोधित तुल्याएको थियो। यसरी, तिनीहरूले जे भने र गरे, त्यस अनुसार परमेश्‍वरले एउटा उचित न्याय निर्धारित गर्नुभयो, अनि तिनीहरूका कार्यहरूलाई पवित्र आत्माको विरुद्धमा गरिएको पाप भएको ठहर गर्नुभयो। यो पाप यस संसारमा अनि आउने संसारमा पनि अक्षम्य हुन्छ, जुन कुरालाई धर्मशास्त्रको निम्न खण्डमा प्रमाणित गरिएको छ: “मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन,” र, “जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।” आज, हामी परमेश्‍वरबाट आएका यी वचनहरूको साँचो अर्थको बारेमा कुरा गरौँ: “उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।” अर्थात्, परमेश्‍वरले कसरी वचनहरूलाई पूरा गर्नुहुन्छ भन्‍ने रहस्यलाई खोलौं: “उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।”

हामीले कुरा गरेको हरेक कुरा मानिसहरू, घटना तथा काम-कुराहरूप्रति परमेश्‍वरको स्वभाव र मनोवृत्तिसँग सम्बन्धित छ। स्वभाविक रूपले, माथिका यी दुई अध्यायहरू पनि यसको कुनै अपवाद होइनन्। धर्मशास्त्रका यी दुई खण्डहरूमा तिमीहरूले केही याद गर्‍यौ? कोही मानिसहरूले भन्छन्, कि तिनीहरूले त्यसमा परमेश्‍वरको क्रोध देख्छन्। कोही मानिसहरू भन्छन्, कि तिनीहरूले परमेश्‍वरको स्वभावको त्यो पक्ष देख्छन् जसले मानवजातिको उल्लङ्घन सहँदैन, अनि यदि मानिसहरूले परमेश्‍वरप्रति कुनै निन्दात्मक काम गर्छन् भने तिनीहरूले परमेश्‍वरको क्षमा प्राप्त गर्ने छैनन्। यी खण्डहरूमा मानिसहरूले मानवजातिको उल्लङ्घनप्रति परमेश्‍वरको क्रोध तथा असहनशीलतालाई देख्छन् भन्‍ने तथ्यको बावजुद पनि, तिनीहरूले अझै उहाँको मनोवृत्तिलाई साँचो रीतिले बुझ्दैनन्। उहाँलाई निन्दा गर्ने र क्रोधित तुल्याउनेप्रति उहाँको साँचो मनोवृत्ति तथा उहाँको दृष्टिकोण यी दुई खण्डहरूमा अन्तर्निहित रूपमा लुकेका छन्। उहाँको मनोवृत्ति र दृष्टिकोणले निम्न खण्डको साँचो अर्थलाई प्रदर्शन गर्दछन्: “जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।” जब मानिसहरूले परमेश्‍वरलाई निन्दा गर्छन् अनि जब तिनीहरूले उहाँलाई क्रोधित तुल्याउँछन्, तब उहाँले एउटा फैसला जारी गर्नुहुन्छ, अनि त्यो फैसला उहाँद्वारा जारी गरिएको परिणाम हो। यसलाई बाइबलमा यसरी व्याख्या गरिएको छ: “म किन तिमीहरूलाई भन्दछु, मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन” (मत्ती १२:३१), र “तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ!” (मत्ती २३:१३)। तथापि, ती शास्त्री तथा फरिसीहरू, साथै यी कुराहरू भन्नुभएपछि प्रभु येशू पागल हुनुहुन्छ भन्‍ने ती मानिसहरूको परिणाम के थियो भनेर के बाइबलमा लेखिएको छ? के तिनीहरूले कुनै दण्ड भोगे भनी लेखिएको छ? छैन—यसलाई निश्चित रूपमा भन्न सकिन्छ। यहाँ “छैन” भनेर त्यस्तो कुनै कुराको अभिलेख छैन भनिएको होइन, तर यति मात्रै कि वास्तवमा मानव आँखाले देख्न सकिने कुनै परिणाम थिएन। “लेखिएको थिएन” भन्‍नुले, निश्चित कुराहरूलाई परिचालन गर्नको निम्ति परमेश्‍वरको मनोवृत्ति तथा सिद्धान्तहरूको मामलालाई स्पष्ट पार्दछ। परमेश्‍वरलाई निन्दा गर्ने वा विरोध गर्ने वा उहाँलाई बदनाम समेत गर्नेहरूप्रति पनि—जानी-जानी उहाँलाई आक्रमण गर्ने, बदनाम गर्ने र सराप्‍ने मानिसहरू—तिनीहरूप्रति उहाँले आफ्नो आँखा चिम्लनुहुन्न वा आफ्नो कान बन्द गर्नुहुन्न तर तिनीहरूप्रति उहाँको स्पष्ट मनोवृत्ति छ। उहाँले यी मानिसहरूलाई तुच्छ ठान्नुहुन्छ, अनि आफ्नो हृदयमा तिनीहरूलाई दोषी ठहर्‍याउनुहुन्छ। तिनीहरूको परिणाम के हुनेछ भनी उहाँले खुल्लमखुल्ला घोषणा समेत गर्नुहुन्छ, ताकि उहाँलाई निन्दा गर्नेहरूप्रति उहाँको स्पष्ट मनोवृत्ति छ भनी मानिसहरूले जान्न सकून् अनि उहाँले तिनीहरूको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भनी तिनीहरूले जान्न सकून्। तथापि, परमेश्‍वरले यी कुराहरू भनिसक्‍नुभएपछि परमेश्‍वरले ती मानिसहरूलाई कसरी सम्‍हाल्‍नुहुन्छ भन्‍ने सत्यतालाई मानिसहरूले विरलै मात्र देख्न सके, अनि परमेश्‍वरले तिनीहरूको निम्ति जारी गर्नुभएको परिणाम र फैसलापछाडिका सिद्धान्तहरू तिनीहरूले बुझ्न सकेनन्। भन्‍नुको अर्थ, तिनीहरूलाई सम्‍हाल्‍नको निम्ति परमेश्‍वरसँग जुन पद्धति र विधिहरू छन्, तिनलाई मानिसहरूले देख्न सकेनन्। यो, कामहरू गर्ने परमेश्‍वरका सिद्धान्तहरूसित सम्बन्धित छ। परमेश्‍वरले केही मानिसहरूको खराब आचरणको निराकरण गर्न तथ्यहरूको घटनालाई प्रयोग गर्नुहुन्छ। यसको अर्थ, उहाँले तिनीहरूको पापको घोषणा गर्नुहुन्न र त्यसको परिणाम निर्धारण गर्नुहुन्न तर तिनीहरूको भागमा परेको दण्ड र उचित बदला दिन उहाँले प्रत्यक्ष रूपमा तथ्यहरूको घटना प्रयोग गर्नुहुन्छ। जब यी तथ्यहरूको घटना घट्छन्, तब मानिसहरूको देहले दण्ड भोग्नेछन्, यसको अर्थ, यो मानव आँखाहरूले देख्न सक्ने दण्ड हुन्छ। केही मानिसहरूको खराब आचरणको निराकरण गर्दा परमेश्‍वरले तिनीहरूलाई केवल वचनहरूले सराप्नुहुन्छ अनि तिनीहरूमाथि उहाँको रिस बर्सन्छ तर तिनीहरूले पाउने दण्ड मानिसहरूले देख्न नसक्ने कुरा हुनसक्छ। तथापि, यस्तो प्रकारको परिणाम दण्ड दिइनु वा मारिनु जस्ता मानिसहरूले देख्न सक्ने परिणामहरूभन्दा बढी गम्भीर पनि हुनसक्छन्। यसको कारण, यस्तो मानिसलाई नबचाउने, तिनीहरूलाई कृपा वा सहनशीलता नदेखाउने अनि तिनीहरूलाई अब उप्रान्त कुनै अवसरहरू नदिने भनी परमेश्‍वरले निर्धारण गर्नुभएका परिस्थितिहरूमा उहाँले तिनीहरूप्रति राख्‍नुहुने मनोवृत्ति भनेको तिनीहरूलाई पन्छ्याउने नै हुन्छ। यहाँ “पन्छ्याउनु” को अर्थ के हो? यस शब्दको आधारभूत अर्थ भनेको कुनै कुरालाई एकातिर पन्छ्याउनु, त्यसलाई बेवास्ता गर्नु र अब उप्रान्त ध्यान नदिनु भन्‍ने हुन्छ। तर यहाँ जब परमेश्‍वरले “कसैलाई पन्छ्याउनुहुन्छ”, यसको अर्थका दुई भिन्न व्याख्याहरू हुन्छन्: पहिलो व्याख्या हो, उहाँले त्यस व्यक्तिको जीवन तथा त्यस व्यक्तिको सबै कुरा शैतानद्वारा निराकरण गरिनको निम्ति त्यसलाई सुम्पिदिनुहुनेछ, अनि परमेश्‍वर त्यस उपरान्त त्यसप्रति जिम्मेवार हुनुहुनेछैन र त्यस व्यक्तिलाई व्यवस्थित गर्नुहुनेछैन। त्यो व्यक्ति पागल होस् वा मूर्ख वा तिनीहरू मरेका होऊन् वा जीवित वा तिनीहरू दण्डको निम्ति नरकमा झरेका हुन्, यी कुनै पनि कुराले परमेश्‍वरसित सम्बन्ध राख्नेछैन। यसको अर्थ, त्यस्तो सृष्टिको सृष्टिकर्तासित कुनै सम्बन्ध हुनेछैन। दोस्रो व्याख्या हो, त्यस्तो व्यक्तिसित उहाँ स्वयम्‌ले उहाँको आफ्नै हातले केही गर्ने अठोट परमेश्‍वरले गर्नुभएको छ। यो सम्भव छ कि उहाँले यस व्यक्तिको सेवाको उपयोग गर्नुहुनेछ वा उहाँले तिनीहरूलाई प्रतिभारको रूपमा प्रयोग गर्नुहुनेछ। यो सम्भव छ कि यस प्रकारको व्यक्तिलाई निराकरण गर्ने विशेष तरिका उहाँसित छ, तिनीहरूलाई व्यवहार गर्ने एउटा विशेष तरिका छ, उदाहरणको निम्ति, पावलसित गरिएको व्यवहार। परमेश्‍वरको हृदयमा भएको सिद्धान्त तथा मनोवृत्ति यही हो, जसद्वारा उहाँले यस प्रकारको व्यक्तिलाई निराकरण गर्ने अठोट गर्नुभएको छ। त्यसैले, जब मानिसहरूले परमेश्‍वरलाई विरोध गर्छन्, उहाँलाई बदनाम र निन्दा गर्छन्, यदि तिनीहरूले उहाँको स्वभावलाई उत्तेजित गर्छन् वा यदि तिनीहरूले परमेश्‍वरलाई उहाँको सहनशीलताको सीमादेखि पर धकेल्छन् भने, परिस्थितिहरू सोच्न नसकिने हुन्छ। सबैभन्दा गम्भीर परिस्थिति भनेको परमेश्‍वरले तिनीहरूको जीवन र तिनीहरूको सबै कुरा सधैँको लागि शैतानको हातमा सुम्पिदिनुहुनेछ भन्‍ने हो। तिनीहरूलाई अनन्तसम्मै क्षमा गरिनेछैन। यसको अर्थ, यो व्यक्ति शैतानको मुखको भोजन, त्यसको हातको खेलौना बनेको हुन्छ, अनि त्यसभन्दा उता तिनीहरूसित परमेश्‍वरको कुनै सम्बन्ध हुनेछैन। शैतानले अय्यूबलाई परीक्षा गरेपछि कस्तो दुर्दशा भयो भनेर के तिमीहरू कल्पना गर्नसक्छौ? अय्यूबको जीवनमा हानि गर्न शैतानलाई अनुमति नदिइएको परिस्थितिमा समेत, अय्यूबले अझै धेरै कष्ट भोगे। अनि शैतानकै हातमा पूर्ण रूपले सुम्‍पिएको, शैतानकै पकडभित्र रहेको, परमेश्‍वरको वास्ता तथा कृपालाई पूर्ण रूपले गुमाइसकेको, उप्रान्त सृष्टिकर्ताको शासनमुनि नरहेको, परमेश्‍वरको आराधना गर्न र उहाँको शासनमुनि उहाँको सृष्टि हुने अधिकारदेखि वञ्‍चित भएको, अनि सृष्टिका प्रभुसितको आफ्‍नो सम्बन्ध पूर्ण रूपले तोडिएको व्यक्तिलाई शैतानले गर्ने विध्वंसहरूको कल्‍पना गर्न झन् कति गाह्रो छैन र? अय्यूबलाई शैतानले गरेको सतावट मानव आँखाले देख्‍न सकिन्थ्यो तर यदि परमेश्‍वरले कुनै व्यक्तिको जीवन शैतानको हातमा सुम्‍पिदिनुभयो भने, परिणामहरू मानव कल्पनाभन्दा बाहिर हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू गाईको रूपमा, वा गधाको रूपमा जन्मिन्छन्, जब कि कतिलाई अशुद्ध, दुष्ट आत्माहरूले भरिएका र कब्जामा पारिएका हुन सक्छन्, इत्यादि। परमेश्‍वरले शैतानको हातमा सुम्पिदिनुभएका कतिपय मानिसहरूका परिणामहरू यस्तै हुन्छन्। बाहिरबाट हेर्दा, प्रभु येशूलाई तिरस्कार गर्ने, बदनाम गर्ने, दोष लगाउने, निन्दा गर्ने मानिसहरूले कुनै परिणामहरू नभोगेका जस्तो देखिन सक्छ। तैपनि, परमेश्‍वरसँग हरेक कुरासँग व्यवहार गर्ने शैली हुन्छ। उहाँले हरेक प्रकारको व्यक्तिसँग जसरी व्यवहार गर्नुहुन्छ, त्यसको परिणाम मानिसहरूलाई बताउन उहाँले स्पष्ट भाषा प्रयोग नगर्न सक्नुहुन्छ। कहिलेकाहीँ, उहाँले प्रत्यक्ष रूपले बोल्नुहुन्न, बरु प्रत्यक्ष रूपले व्यवहार गर्नुहुन्छ। उहाँले यसको बारेमा बोल्नुहुन्न भन्दैमा त्यसको परिणाम हुँदैन भन्‍ने अर्थ लाग्दैन—वास्तवमा, त्यस्तो अवस्थामा परिणाम अझ बढी गम्भीर हुने सम्भावना हुनसक्छ। बाहिरबाट, परमेश्‍वरले कतिपयलाई आफ्नो मनोवृत्तिको बारेमा स्पष्ट प्रकारले बताउनुहुन्‍न भन्‍ने जस्तो देखिन्छ, तर वास्तवमा, परमेश्‍वरले तिनीहरूलाई लामो समयदेखि कुनै ध्यान दिन चाहनुभएको हुँदैन। उहाँले तिनीहरूलाई उप्रान्त हेर्न चाहनुहुन्न। तिनीहरूले गरेका कुराहरू र तिनीहरूको व्यवहारको कारणले, तिनीहरूको प्रकृति सारको कारणले, परमेश्‍वरले तिनीहरूलाई उहाँको दृष्टिबाट हराएको मात्रै चाहनुहुन्छ, तिनीहरूलाई सीधै शैतानको हातमा सुम्पिदिन चाहनुहुन्छ, तिनीहरूको आत्मा, प्राण, शरीर शैतानलाई दिन चाहनुहुन्छ अनि त्यसले तिनीहरूसित जे गरेको चाहन्छ, सो गर्न दिने अनुमति दिन चाहनुहुन्छ। परमेश्‍वरले कति हदसम्म तिनीहरूलाई घृणा गर्नुहुन्छ, तिनीहरूदेखि उहाँ कति हदसम्म चिढिनुभएको छ भन्‍ने कुरा स्पष्ट छ। यदि कुनै व्यक्तिले परमेश्‍वरलाई यस्तो बिन्दुसम्म रिस उठाउँछ कि परमेश्‍वरले तिनीहरूलाई फेरि हेर्न समेत चाहनहुन्न अनि तिनीहरूलाई पूर्ण रूपमा छोडिदिन तयार हुनुहुन्छ, यस्तो बिन्दुसम्म कि उहाँ आफै तिनीहरूसित व्यवहार गर्न चाहनुहुन्न भने—यदि यो यस्तो बिन्दुसम्म आइपुग्छ जहाँ उहाँले तिनीहरूलाई शैतानको हातमा त्यसले चाहेअनुसार गर्न, तिनीहरूलाई नियन्त्रण गर्न, निल्न, र त्यसलाई जस्तो खुशी लाग्छ, त्यसरी व्यवहार गर्न दिनको निम्ति सुम्पिदिनुहुनेछ भने—तब त्यो व्यक्ति पूर्ण रूपमा सिद्धिनेछ। मानिस हुन पाउने त्यसको अधिकार सधैँको निम्ति रद्द भएको हुन्छ, अनि परमेश्‍वरको सृष्टि हुन पाउने तिनीहरूको अधिकार अन्त्यमा आइपुगेको हुन्छ। के यो सबैभन्दा कठोर प्रकारको सजाय होइन र?

माथिका सबै कुरा यी वचनहरूको पूर्ण व्याख्या हो: “उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा,” अनि धर्मशास्त्रका यी खण्डहरूको बारेमा यसले एउटा सरल टिप्पणीको काम पनि गर्छ। मलाई विश्‍वास छ कि तिमीहरू सबैले अहिले यसलाई बुझेका छौ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हराएको भेडाको दृष्टान्त

मत्ती १८:१२-१४ तिमीहरू कसरी सोच्छौ? यदि कुनै मानिससँग एक सय भेडा छन् र तीमध्ये एउटा बरालिन्छ भने के उसले उनान्‍सयलाई छाडेर पर्वतहरूतिर गई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्