येशूले आश्‍चर्यकर्महरू गर्नुहुन्छ

13 अगस्ट 2021

१. येशूले पाँच हजारलाई खुवाउनुहुन्छ

यूहन्‍ना ६:८-१३ उहाँका चेलाहरूमध्ये एक, सिमोन पत्रुसका भाइ अन्द्रियासले उहाँलाई भने, यहाँ एउटा केटो छ, जोसँग जौका पाँच ओटा रोटी र दुई ओटा माछा छन्: तर यति धेरैका माझमा ती त के हुन् र? अनि येशूले भन्‍नुभयो, मानिसहरूलाई बस्‍न लगाओ। त्यस ठाउँमा धेरै घाँस थियो। यसैले लगभग पाँच हजार मानिसहरू बसे। अनि येशूले रोटी लिनुभयो; र उहाँले धन्यवाद दिनुभएपछि, उहाँले चेलाहरूलाई बाँड्नुभयो र चेलाहरूले बसेकाहरूलाई बाँडे; अनि यसैगरी तिनीहरूले सकेसम्म माछा पनि बाँडे। जब तिनीहरू अघाए, उहाँले चेलाहरूलाई भन्‍नुभयो, उब्रेका टुक्राहरू बटुल ताकि केही पनि खेर नजाओस्। यसैले तिनीहरूले ती बटुले र पाँच जौका रोटीका टुक्राहरूले बाह्र डाला भरे, जुन तिनीहरूले खाएको भन्दा ज्यादा थियो।

२. लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्याउँछ

यूहन्‍ना ११:४३-४४ अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा “लाजरस, बाहिर आऊ” भनी भन्‍नुभयो। तब तिनी, अर्थात् कात्रोले हात र खुट्टा बेह्रिएकै अवस्थामा मरेको मानिस बाहिर आए, अनि तिनको अनुहार रुमालले बेह्रिएको थियो। येशूले तिनीहरूलाई भन्‍नुभयो, तिनका कपडाहरू निकाल र तिनलाई जान देओ।

प्रभु येशूले गर्नुभएका आश्‍चर्यकर्महरूमध्ये, हामीले केवल यी दुई वटालाई छानेका छौँ किनकि मैले यहाँ के कुराको बारेमा बोल्न चाहन्छु भनी प्रकट गर्न ती नै पर्याप्त छन्। यी दुई आश्‍चर्यकर्महरू अनुग्रहको समयावधिमा प्रभु येशूले गर्नुभएको आश्‍चर्यकर्महरूमध्ये साँच्चिकै आश्चर्य लाग्दा र अत्यन्त प्रतिनिधिमूलक छन्।

पहिले, हामी पहिलो खण्डलाई हेर्नेछौँ: येशूले पाँच हजारलाई खुवाउनुहुन्छ।

“पाँच वटा रोटी र दुई वटा माछा” को धारणा के हो? साधारणतया, पाँच रोटी र दुई वटा माछाले कति जना मानिसहरूलाई पर्याप्त रूपले खुवाउन सकिन्छ? यदि तैँले तेरो मापनलाई औसत व्यक्तिको भोकमा आधारित गरिस् भने, यो केवल दुई जनालाई मात्र पर्याप्त हुन्छ। सबैभन्दा आधारभूत रूपले यही नै “पाँच वटा रोटी र दुई वटा माछा” को धारणा हो। तथापि, यस अध्यायमा पाँच वटा रोटी र दुई वटा माछाले कति जना मानिसहरूलाई खुवाइयो? धर्मशास्त्रमा अभिलिखित कुरालाई तल दिइएको छ: “त्यस ठाउँमा धेरै घाँस थियो। यसैले लगभग पाँच हजार मानिसहरू बसे।” पाँच वटा रोटी र दुई वटा माछाको तुलनामा के पाँच हजार ठूलो हो? यो संख्या यति ठूलो हो भनेर केले देखाउँछ? मानव दृष्टिकोणबाट हेर्दा, पाँच वटा रोटी र दुई वटा माछा पाँच हजार मानिसहरूको निम्ति बाँडिँदिन असम्भव हुनेथियो, किनकि मानिसहरू र खानाको मात्रा बीचको भिन्नता अति ठूलो छ। यदि हरेक मानिसले एउटा सानो टुक्रा मात्रै खाए पनि यो पाँच हजार मानिसहरूका निम्ति अझै अपर्याप्त हुनेथियो। तर यहाँ, प्रभु येशूले एउटा आश्‍चर्यकर्म गर्नुभयो—पाँच हजार मानिसहरूले पेटभरि खाएको मात्र उहाँले सुनिश्चित गर्नुभएन तर खाना उब्रियो पनि। धर्मशास्त्रले भन्दछ: “जब तिनीहरू अघाए, उहाँले चेलाहरूलाई भन्‍नुभयो, उब्रेका टुक्राहरू बटुल ताकि केही पनि खेर नजाओस्। यसैले तिनीहरूले ती बटुले र पाँच जौका रोटीका टुक्राहरूले बाह्र डाला भरे, जुन तिनीहरूले खाएको भन्दा ज्यादा थियो।” यस आश्‍चर्यकर्मले मानिसहरूलाई प्रभु येशूको पहिचान र हैसियतलाई देख्न, अनि परमेश्‍वरको लागि केही पनि असम्भव छैन भनी देख्न सक्षम तुल्यायो—यस प्रकारले तिनीहरूले परमेश्‍वरको सर्वशक्तिको सत्यतालाई देख्न सके। पाँच वटा रोटी र दुई वटा माछा पाँच हजार जना मानिसहरूलाई खुवाउन पर्याप्त थियो, तर यदि त्यहाँ कुनै खाना नभएको भए, के परमेश्‍वरले पाँच हजार मानिसहरूलाई खुवाउन सक्नुहुन्थ्यो त? अवश्य, उहाँले सक्नुहुन्थ्यो! यो एउटा आश्‍चर्यकर्म थियो, त्यसैले अपरिहार्य रूपले नै मानिसहरूले यो समझभन्दा बाहिरको, विश्‍वासै गर्न कठिन अनि रहस्यमय छ भन्‍ने महसुस गरे, तर परमेश्‍वरको निम्ति त्यस्तो कुरा गर्नु त केही पनि थिएन। परमेश्‍वरको निम्ति यो साधारण कुरा थियो भने, यसलाई व्याख्याको निम्ति अहिले किन अलग गर्ने? किनकि यस आश्‍चर्यकर्मको पछाडि प्रभु येशूको इच्छा छ, जुन इच्‍छालाई मानवजातिले कहिल्यै महसुस गर्न सकेको छैन।

पहिले, हामी यी पाँच हजार मानिसहरू कस्ता प्रकारका थिए सो बारेमा बुझ्ने कोसिस गरौँ। के तिनीहरू प्रभु येशूका अनुयायीहरू थिए? धर्मशास्त्रबाट हामी जान्दछौँ कि तिनीहरू उहाँका अनुयायीहरू थिएनन्। के तिनीहरूले प्रभु येशू को हुनुहुन्छ भनी जान्दथे? निश्चय नै जान्दैनथे! कम्तीमा, तिनीहरूले तिनीहरूको सामु उभिरहनुभएको व्यक्ति ख्रीष्ट नै हुनुहुन्छ भनी जान्दैनथे, वा हुनसक्छ, उहाँको नाउँ के थियो भनी केही मानिसहरूले जान्दथे र उहाँले गर्नुभएका केही कुराहरूको बारेमा जान्दथे वा सुनेका थिए। प्रभु येशूप्रतिको तिनीहरूको उत्सुकता तब मात्रै जागेको थियो जब तिनीहरूले उहाँको बारेमा कथाहरू सुनेका थिए तर तिनीहरूले उहाँलाई पछ्याउँथे भनी तैँले पक्‍कै पनि भन्न सक्दैनस्, तिनीहरूले उहाँलाई चिनेका थिए भन्‍ने कुरा त परै छोडौँ। जब प्रभु येशूले यी पाँच हजार मानिसहरूलाई देख्‍नुभयो, तिनीहरू भोकाएका थिए र तिनीहरूले केवल आफ्नो पेट भर्ने बारेमा मात्रै सोच्न सक्थे, त्यसैले यही सन्दर्भमा प्रभु येशूले तिनीहरूको इच्छालाई सन्तुष्ट पार्नुभयो। जब उहाँले तिनीहरूको इच्छालाई सन्तुष्ट पार्नुभयो, उहाँको हृदयमा के थियो? केवल आफ्नो पेट मात्रै भर्न चाहने यी मानिसहरूप्रति उहाँको मनोवृत्ति के थियो? त्यस समयमा, प्रभु येशूका विचारहरू तथा मनोवृत्ति परमेश्‍वरको स्वभाव तथा सारसित सम्बन्धित थिए। केवल पेटभरि खान मात्रै चाहना गर्ने अनि खाली पेट बोकेका यी पाँच हजार मानिसहरूको सामना गर्दा, उहाँको निम्ति उत्सुकता र आशाले भरिएका यी मानिसहरूको सामना गर्दा, प्रभु येशूले यस आश्‍चर्यकर्मलाई तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति उपयोग गर्ने बारेमा मात्रै सोच्नुभयो। तथापि, तिनीहरू उहाँका चेलाहरू होलान् भनेर उहाँले आफ्नो आशालाई माथि उठाउनुभएन किनकि उहाँलाई थाहा थियो, तिनीहरू केवल रमाइलो गर्न चाहन्थे र पेटभरि खान चाहन्थे, त्यसैले उहाँले त्यहाँ उहाँसित जे थियो, त्यसको सदुपयोग गर्नुभयो र पाँच हजार मानिसहरूलाई खुवाउन पाँच वटा रोटी र दुई वटा माछाको प्रयोग गर्नुभयो। उहाँले उत्साहजनक कुराहरू हेर्न मन पराउने, आश्‍चर्यकर्महरू हेर्न चाहने मानिसहरूका आँखालाई खोलिदिनुभयो अनि तिनीहरूले देहधारी परमेश्‍वरले पूरा गर्न सक्नुहुने कुराहरू आफ्नै आँखाले देखे। प्रभु येशूले छुन सकिने ठोस वस्तुबाट तिनीहरूको उत्सुकतालाई सन्तुष्ट पार्नु भएको भएतापनि, यी पाँच हजार मानिसहरूले केवल राम्रो खाना खान चाहन्छन् भन्‍ने कुरा उहाँलाई आफ्नो हृदयमा पहिले नै थाहा थियो, त्यसैले उहाँले तिनीहरूलाई प्रचार गर्नुभएन वा केही पनि भन्नुभएन—उहाँले तिनीहरूलाई त्यो आश्‍चर्यकर्म जसरी घट्यो, त्यसरी नै देख्न दिनुभयो। उहाँले यी मानिसहरूलाई उहाँलाई साँचो रीतिले पछ्याउने उहाँका चेलाहरूलाई जस्तो व्यवहार गर्न सक्नुभएन तर परमेश्‍वरको हृदयमा सबै सृष्टि उहाँको शासनमुनि हुन्छन्, अनि उहाँको दृष्टिमा भएका सबै सृष्टिलाई उहाँले जब आवश्यक हुन्छ, तब परमेश्‍वरको अनुग्रहको आनन्द लिन दिनुहुन्छ। यी मानिसहरूले रोटी र माछा खाइसकेपछि पनि उहाँ को हुनुहुन्थ्यो भनी जानेनन् र उहाँलाई बुझेनन् वा उहाँको बारेमा कुनै विशेष छाप तिनीहरूमाथि परेन वा उहाँप्रति तिनीहरू कृतज्ञ भएनन्, तैपनि परमेश्‍वरले यसलाई विशेष मुद्दाको रूपमा लिनुभएन—उहाँले तिनीहरूलाई परमेश्‍वरको अनुग्रहको आनन्द लिने एउटा सुन्दर अवसर दिनुभयो। कतिपय मानिसहरू भन्छन्, कि परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसमा उहाँ सिद्धान्तवादी हुनुहुन्छ, अनि उहाँले अविश्‍वासीहरूलाई रेखदेख वा रक्षा गर्नुहुन्न, र विशेष गरी तिनीहरूलाई उहाँको अनुग्रहको आनन्द लिन दिनुहुन्न। के वास्तवमा कुरा यही हो त? परमेश्‍वरको दृष्टिकोणमा, जबसम्म तिनीहरू उहाँ आफैले सृष्टि गर्नुभएका उहाँका जीवित सृष्टिहरू हुन्, तबसम्म उहाँले तिनीहरूको व्यवस्था र वास्ता गर्नुहुन्छ, र कैयौँ तरिकाले तिनीहरूसँग व्यवहार गर्नुहुन्छ, तिनीहरूको निम्ति योजना बनाउनुहुन्छ र तिनीहरूलाई शासन गर्नुहुन्छ। सबै कुराहरूप्रति परमेश्‍वरका विचार तथा मनोवृत्ति यिनै हुन्।

रोटी र माछा खाने पाँच हजार मानिसहरूले प्रभु येशूलाई पछ्याउने योजना नबनाए तापनि उहाँले तिनीहरूमाथि कुनै कडा मागहरू राख्नुभएन; तिनीहरूले आफ्नो पेटभरि खाइसकेपछि, प्रभु येशूले के गर्नुभयो, तिमीहरूलाई थाहा छ? के उहाँले तिनीहरूलाई प्रचार समेत गर्नुभयो त? यो गरिसकेपछि उहाँ कहाँ जानुभयो? प्रभु येशूले तिनीहरूलाई केही भन्नुभयो भनी धर्मशास्त्रले उल्लेख गर्दैन, यति मात्रै भनिएको छ कि आफ्नो आश्‍चर्यकर्म गरिसक्नुभएपछि उहाँ त्यहाँबाट चुपचाप जानुभयो। के उहाँले यी मानिसहरूबाट कुनै मागहरू गर्नुभयो? त्यहाँ कुनै घृणा थियो? अहँ, तीमध्ये कुनै पनि कुरा थिएन। उहाँलाई पछ्याउन नसक्‍ने यी मानिसहरूलाई उहाँले उप्रान्त कुनै ध्यान दिन चाहनुभएन अनि यस बेला उहाँको हृदय पीडामा थियो। उहाँले मानवजातिको भ्रष्टता देखिसक्नुभएको कारणले अनि मानवजातिबाट आफ्नो तिरस्कार महसुस गरिसक्नुभएको कारणले, जब उहाँले यी मानिसहरूलाई देख्नुभयो र उहाँ तिनीहरूसित हुनुहुन्थ्यो, तब मानव मन्दबुद्धि र अज्ञानताप्रति उहाँ दुःखी हुनुभयो, अनि उहाँको हृदय पीडामा थियो, उहाँले चाहनुभएको एउटै कुरा सकेसम्म चाँडो तिनीहरूलाई छोडेर जानु नै थियो। उहाँको हृदयमा उहाँले तिनीहरूबाट कुनै माग गर्नुभएन, तिनीहरूप्रति उहाँले कुनै ध्यान दिन चाहनुभएन, अनि, त्यति मात्र होइन, उहाँले तिनीहरूमाथि आफ्नो कुनै शक्ति खर्च गर्न चाहनुभएन। तिनीहरूले उहाँलाई पछ्याउन सक्दैनन् भन्‍ने उहाँलाई थाहा थियो तर यो सबैको बाबजुद, तिनीहरूप्रतिको उहाँको मनोवृत्ति अझै पनि स्पष्टै थियो। उहाँले तिनीहरूलाई दयालु व्यवहार गर्न, तिनीहरूलाई अनुग्रह प्रदान गर्न चाहनुहुन्थ्यो, र उहाँको शासनमुनि रहने हरेक सृष्टिप्रति परमेश्‍वरको मनोवृत्ति यही नै थियो—हरेक सृष्टिलाई दयापूर्वक व्यवहार गर्ने, तिनीहरूलाई जुटाउने अनि भरणपोषण गर्ने। प्रभु येशू देहधारी हुनुभएको यही कारणले गर्दा नै उहाँले अत्यन्तै स्वभाविक रूपमा परमेश्‍वरको आफ्नै सार प्रकट गर्नुभयो र यी मानिसहरूलाई दयापूर्वक व्यवहार गर्नुभयो। उहाँले तिनीहरूलाई उदारता तथा सहनशीलताको हृदयले व्यवहार गर्नुभयो, अनि त्यस्तै हृदयले उहाँले तिनीहरूलाई दया देखाउनुभयो। यी मानिसहरूले प्रभु येशूलाई जसरी देखे तापनि, अनि जस्तो प्रकारको परिणाम निस्के तापनि, उहाँले सारा सृष्टिको प्रभुको हैसियतले हरेक सृष्टिसँग व्यवहार गर्नुभयो। उहाँले प्रकट गर्नुभएको हरेक कुरा, परमेश्‍वरको स्वभाव, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही नै थियो। प्रभु येशूले चुपचाप यो कुरा गर्नुभयो, अनि चुपचाप जानुभयो—यो परमेश्‍वरको स्वभावको कुन पक्ष हो? के यो परमेश्‍वरको प्रेमपूर्ण दया हो भनेर तिमीहरू भन्‍न सक्छौ? के यो परमेश्‍वरको निस्वार्थपन हो भनी तिमीहरू भन्न सक्छौ? के यो साधारण मानिसले गर्न सक्ने कुरा हो? पक्कै पनि होइन! आधारभूत रूपमा, प्रभु येशूले पाँच वटा रोटी र दुई माछा प्रयोग गरी खुवाउनुभएका यी पाँच हजार जना मानिसहरू को थिए? के तिनीहरू उहाँ अनुरूपका मानिसहरू थिए भनेर तिमीहरू भन्न सक्छौ? के तिनीहरू सबै परमेश्‍वरका प्रतिरोधी थिए भनेर तिमीहरू भन्न सक्छौ? यो निश्‍चयताका साथ भन्न सकिन्छ कि तिनीहरू प्रभु अनुरूपका थिएनन्, अनि तिनीहरूको सार पूर्ण रूपमा परमेश्‍वरप्रति शत्रुवत् थियो। तर, परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुभयो? परमेश्‍वरप्रतिको मानिसहरूको शत्रुतालाई शान्त गर्न उहाँले एउटा विधि प्रयोग गर्नुभयो—यस विधिलाई “दया” भनिन्छ। भनाइको अर्थ, प्रभु येशूले तिनीहरूलाई पापीहरूको रूपमा देख्नु भएको भए तापनि, परमेश्‍वरको दृष्टिमा तिनीहरू उहाँकै सृष्टि थिए, त्यसैले उहाँले ती पापीहरूलाई दयापूर्वक नै व्यवहार गर्नुभयो। परमेश्‍वरको सहनशीलता यही हो, अनि यो सहनशीलता परमेश्‍वरको आफ्नै पहिचान तथा सारद्वारा निर्धारित हुन्छ। त्यसैले, यो यस्तो कुरा हो जुन कार्य गर्न परमेश्‍वरद्वारा सृष्टि गरिएका कुनै पनि मानिस सक्षम छैनन्—केवल परमेश्‍वरले मात्रै यो गर्न सक्नुहुन्छ।

जब तैँले मानवजातिप्रति परमेश्‍वरका विचारहरू तथा मनोवृत्तिलाई साँचो रीतिले बुझ्‍न सक्छस्, जब तैँले सृष्टिका हरेक प्राणीको निम्ति परमेश्‍वरका भावनाहरू तथा चिन्तालाई साँचो रीतिले बुझ्न सक्छस्, तब सृष्टिकर्ताद्वारा सृष्टि भएका मानिसहरू प्रत्येकको लागि खर्चिने समर्पण तथा प्रेमलाई तैँले बुझ्न सक्‍नेछस्। जब यो हुनेछ, तब परमेश्‍वरको प्रेमलाई बुझ्न तैँले दुई वटा शब्दहरू प्रयोग गर्नेछस्। ती दुई शब्दहरू के-के हुन्? कतिपय मानिसहरूले “निस्वार्थ” भन्छन् र कतिपय मानिसहरूले “परोपकारी” भन्छन्। यी दुई शब्दहरूमध्ये “परोपकारी” भन्‍ने शब्‍द परमेश्‍वरको प्रेमलाई बयान गर्न सुहाउँदो छैन। मानिसहरूले उदार वा विशाल मन भएको व्यक्तिलाई व्याख्या गर्न यो शब्‍दको प्रयोग गर्छन्। यो शब्दलाई म घृणा गर्छु किनकि यसले जथाभाबी, कुनै भेदभाव नगरी, कुनै सिद्धान्तको परवाह नगरीकन परोपकार गर्ने कुरालाई जनाउँछ। यो अत्यन्तै भावुक झुकाव हो, जुन मूर्ख तथा अन्योलग्रस्त मानिसहरूका निम्ति सामान्य नै हुन्छ। जब परमेश्‍वरको प्रेमलाई बयान गर्न यो शब्‍दको प्रयोग गरिन्छ, तब त्यसमा ईश्‍वरनिन्दाको भाव अवश्य नै हुन्छ। परमेश्‍वरको प्रेमलाई उपयुक्त ढङ्गले बयान गर्ने मसित यहाँ दुई वटा शब्दहरू छन्। ती के-के हुन् त? पहिलो हो, “असीम”। के यो शब्द अत्यन्तै उत्प्रेरणात्मक छैन र? दोस्रो शब्द हो, “विशाल”। यी शब्दहरू पछाडि वास्तविक अर्थ छ जसलाई म परमेश्‍वरको प्रेम बयान गर्न प्रयोग गर्छु। अक्षरिक रूपमा लिँदा, “असीम” ले कुनै कुराको आयतन वा क्षमतालाई बयान गर्छ, तर त्यो कुरा जतिसुकै ठूलो भए तापनि, यो यस्तो कुरा हो जसलाई मानिसहरूले छुन वा देख्न सक्छन्। किनभने यसको अस्तित्व हुन्छ—यो एउटा अमूर्त वस्तु होइन तर मानिसहरूलाई तुलनात्मक रूपमा सही र व्यवहारिक ढङ्गले विचारहरू प्रदान गर्न सक्‍ने कुरा हो। यसलाई तैँले चाहे दुई वा तीन आयामको दृष्टिकोणले हेरे तापनि यसको अस्तित्वलाई तैँले कल्पना गर्नु आवश्यक छैन, किनकि यो वास्तवमै साँचो रूपले अस्तित्वमा भएको कुरा हो। “असीम” भन्‍ने शब्दले परमेश्‍वरको प्रेमलाई बयान गर्दा यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्ने प्रयास गरेको जस्तो भाव दिए तापनि, यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भन्‍ने अनुभूति पनि दिन्छ। म भन्छु कि परमेश्‍वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिन्छ किनकि उहाँको प्रेम रित्तो छैन, न त यो मनगढन्ते कुरा हो। बरु, यो परमेश्‍वरको शासनमुनि रहेका सबै कुराहरूले पाउने कुरा हो, सारा सृष्टिहरूले विविध स्तरहरू तथा विभिन्न दृष्टिकोणहरूबाट उपभोग गर्ने कुरा हो। मानिसहरूले यसलाई देख्न वा छुन नसके तापनि, यस प्रेमले सबै कुराहरूलाई तब भरणपोषण गर्छ र जीवन दिन्छ जब यसलाई तिनीहरूको जीवनमा थोरै-थोरै गरेर प्रकट गरिन्छ, अनि तिनीहरूले बितेर जाने हरेक क्षणमा उपभोग गर्ने परमेश्‍वरको प्रेमलाई भरोसा गर्छन् र त्यसको गवाही दिन्छन्। म परमेश्‍वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भनी भन्छु किनकि सबै कुराको निम्ति परमेश्‍वरका विचारहरू, अनि निश्‍चित रूपमा मानिसहरूका लागि उहाँका विचारहरू जस्तै, परमेश्‍वरले सबै कुराहरूको निम्ति प्रबन्ध गर्नुहुन्छ अनि तिनीहरूलाई पालनपोषण गर्नुहुन्छ भन्‍ने कुराको रहस्यलाई बुझ्‍नु मानिसहरूको निम्ति कठिन छ। भन्‍नुको अर्थ, सृष्टिकर्ताले मानवजातिको निम्ति बगाउनुभएको रगत र आँसुलाई कसैले पनि जान्दैन। आफ्नै हातहरूले सृष्टि गर्नुभएको मानवजातिको निम्ति सृष्टिकर्तासित भएको प्रेमको गहिराइ वा वजन कसैले आत्मसात् गर्न सक्दैन, कसैले बुझ्न सक्दैन। परमेश्‍वरको प्रेमलाई असीम भनी बयान गर्नु भनेको मानिसहरूलाई यसको अस्तित्वको चौडाइ तथा सत्यतालाई सराहना तथा बुझ्न सहायता गर्नु हो। यो यसकारण पनि हो ताकि मानिसहरूले अझ गहिरो प्रकारले “सृष्टिकर्ता” को वास्तविक अर्थलाई राम्ररी बुझ्न सकून्, ताकि मानिसहरूले “सृष्टि” भन्‍ने संज्ञाको साँचो अर्थको गहिरो बुझाइ हासिल गर्न सकून्। “विशाल” भन्‍ने शब्दले सामान्यतया कुन कुराको व्याख्या गर्दछ? सामान्यतया समुद्र वा ब्रम्‍हाण्डका व्याख्या गर्न यसको प्रयोग गरिन्छ, उदाहरणको लागि: “विशाल ब्रम्‍हाण्ड” वा “विशाल समुद्र”। ब्रम्‍हाण्डका फैलावट तथा अति गहिराइ मानव समझभन्दा परको कुरा हो; यो यस्तो कुरा हो जसले मानिसको कल्पनालाई उत्तेजित गर्छ, यस्तो कुरा जसको निम्ति तिनीहरूले ठूलो विस्मयको अनुभूति गर्छन्। यसको रहस्य तथा गम्भीरतालाई देख्‍न त सकिन्छ तर यी पहुँचभन्दा पर छन्। जब तँ समुद्रको बारेमा सोच्छस्, तँ यसको चौडाइको बारेमा सोच्छस्—यो असीमित देखिन्छ, अनि तैँले यसको रहस्य र थोकहरूलाई थाम्न सक्ने यसको ठूलो क्षमतालाई अनुभूति गर्न सक्छस्। त्यसैले, यो कति बहुमूल्य छ भनी अनुभूति गर्न, उहाँको प्रेमको अथाह सुन्दरता अनि उहाँको प्रेमको शक्ति अनन्त र व्यापक छ भनी अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले परमेश्‍वरको प्रेमलाई बयान गर्न “विशाल” भन्‍ने शब्दको प्रयोग गरेको हुँ। उहाँको प्रेमको पवित्रतालाई अनुभूति गर्न, र उहाँको प्रेमद्वारा प्रकट गरिएको परमेश्‍वरको गौरव तथा उल्‍लङ्घन गर्न नसकिने उहाँको स्वभाव अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले यो शब्दको प्रयोग गरेँ। अब, के परमेश्‍वरको प्रेमलाई बयान गर्नको निम्ति “विशाल” भन्‍ने शब्‍द सुहाउँदो शब्द हो भन्‍ने तिमीहरूलाई लाग्छ? के परमेश्‍वरको प्रेम “असीम” र “विशाल” भन्‍ने यी दुई शब्‍दको नापमा पुग्‍न सक्छ? अवश्य सक्छ! मानव भाषामा, यी दुई शब्द मात्रै केही हदसम्म सुहाउँदो छन्, अनि परमेश्‍वरको प्रेमलाई बयान गर्न तुलनात्मक रूपले उचित छन्। के तिमीहरूलाई त्यस्तो लाग्दैन? यदि मैले तिमीहरूलाई परमेश्‍वरको प्रेमबारे बयान गर्न लगाएँ भने के तिमीहरू यी दुई शब्दको प्रयोग गर्छौ? सायद तिमीहरूले त्यसो गर्दैनौ, किनकि परमेश्‍वरको प्रेम सम्‍बन्धी तिमीहरूको बुझाइ तथा सराहना दुई आयामको दृष्टिकोणको क्षेत्रभित्र सीमित छ, अनि यो तीन आयामको स्थानको उचाइमा उक्लेको छैन। यसैले, यदि मैले तिमीहरूलाई परमेश्‍वरको प्रेमको बयान गर्न दिएँ भने तिमीहरूले शब्दहरूको कमी भएको महसुस गर्नेथियौ, सायद तिमीहरू निःशब्द पनि हुने थियौ होला। आज दुई शब्दको बारेमा मैले तिमीहरूसित जुन कुरा गरेँ, त्यसबारे बुझ्न तिमीहरूलाई कठिन भयो होला वा सायद तिमीहरू पूर्ण रूपमा सहमत हुँदैनौ होला। यसले पनि देखाउँछ कि परमेश्‍वरको प्रेम सम्‍बन्धी तिमीहरूको सराहना तथा बुझाइ सतही छ र साँघुरो क्षेत्रभित्र सीमित छ। मैले अघि भनेँ कि परमेश्‍वर निःस्वार्थी हुनुहुन्छ; तिमीहरू “निःस्वार्थी” भन्‍ने यो शब्दलाई सम्झिन्छौ। के परमेश्‍वरको प्रेमलाई निःस्वार्थी भनेर मात्र बयान गर्न सकिन्छ भन्‍ने कुराको सम्‍भावना छ? के यो निकै साँघुरो क्षेत्र होइन र? तिमीहरूले यो विषयमा अझै बढी चिन्तन गर्नुपर्छ ताकि तिमीहरूले यसबाट केही हासिल गर्न सक।

माथि हामीले पहिलो आश्‍चर्यकर्मबाट परमेश्‍वरको स्वभाव अनि उहाँको सारको बारेमा हेर्‍यौँ। यो मानिसहरूले हजारौँ वर्षदेखि पढ्दै आइरहेको एउटा कथा भए तापनि, यसको एउटा साधारण कथावस्तु छ, अनि यसले मानिसहरूलाई एउटा साधारण दृश्य देखाउँछ, तापनि यो साधारण कथावस्तुमा हामी केही मूल्यवान् कुरा देख्न सक्छौँ, जुन परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यही हो। उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ ती कुराहरूले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्दछ अनि ती परमेश्‍वरको आफ्नै विचारहरूको प्रकटीकरण हुन्। जब परमेश्‍वरले आफ्ना विचारहरू प्रकट गर्नुहुन्छ, यो उहाँको हृदयको आवाजको प्रकटीकरण हो। उहाँले के आशा गर्नुहुन्छ भने, उहाँलाई बुझ्न सक्‍ने, उहाँलाई जान्न सक्‍ने अनि उहाँको इच्छालाई बुझ्न सक्‍ने, उहाँको हृदयको आवाज सुन्‍न सक्‍ने र उहाँको इच्छालाई सन्तुष्ट गर्न सक्रिय रूपले सहकार्य गर्न सक्‍ने मानिसहरू हुनेछन्। प्रभु येशूले गर्नुभएका यी कुराहरू परमेश्‍वरको मौन अभिव्यक्ति हुन्।

यसपछि, हामी निम्न खण्डलाई हेरौँ: लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्याउँछ।

यस अध्यायलाई पढिसकेपछि तिमीहरूलाई कस्तो अनुभव भयो? प्रभु येशूले गर्नुभएको यो आश्‍चर्यकर्मको महत्त्व पहिलेको भन्दा धेरै ठूलो छ, किनकि एउटा मरेको मानिसलाई चिहानबाट फर्काएर ल्याउनुभन्दा बढी विस्मयकारी कुनै आश्‍चर्यकर्म हुँदैन। त्यस युगमा, प्रभु येशूले त्यस्तो कुनै काम गर्नु अत्यन्तै अर्थपूर्ण थियो। परमेश्‍वर देह हुनुभएको कारणले, मानिसहरूले उहाँको शारीरिक रूप, उहाँको व्यवहारिक पक्ष, अनि उहाँको महत्त्वहीन पक्ष मात्र देख्न सक्थे। यदि कतिपय मानिसहरूले उहाँको चरित्रको केही कुरा वा उहाँमा भएको जस्तो देखिने केही विशेष क्षमताहरू देखे र बुझे भने पनि प्रभु येशू कहाँबाट आउनुभयो, उहाँको सारमा उहाँ साँच्चै को हुनुहुन्छ, उहाँ वास्तवमा अन्य कुन-कुन कुराहरू गर्न सक्षम हुनुहुन्छ भन्‍ने बारेमा कसैलाई थाहा थिएन। यी सबै कुरा मानिसजातिको निम्ति अज्ञात थियो। धेरै मानिसहरूले प्रभु येशू ख्रीष्टको बारेमा रहेका यी प्रश्‍नहरूको उत्तर दिन, अनि सत्यतालाई जान्नको लागि प्रमाण भेट्टाउन चाहन्थे। के परमेश्‍वरले आफ्‍नो पहिचानलाई प्रमाणित गर्न केही गर्न सक्नुहुन्थ्यो? परमेश्‍वरको निम्ति, यो साह्रै सजिलो थियो—यो सजिलै हासिल गर्न सकिने कुरा थियो। आफ्नो पहिचान तथा सारलाई प्रमाणित गर्न उहाँले केही कुरा कुनै पनि ठाउँमा, कुनै पनि समयमा गर्न सक्नुहुन्थ्यो तर परमेश्‍वरको काम गर्ने आफ्नै तरिकाहरू थिए—योजनासहित, अनि चरणबद्ध रूपमा। उहाँले अन्धाधुन्ध कामहरू गर्नुभएन, बरु जुन कुरा उहाँले मानिसलाई देखाउनुहुन्थ्यो, अर्थले भरिएको हुन्थ्यो त्यस्तो कुनै कुरा गर्न उहाँले ठीक समय र ठीक अवसर खोज्नुहुन्थ्यो। यस प्रकारले, उहाँले आफ्नो अख्तियार तथा पहिचानलाई प्रमाणित गर्नुभयो। त्यसोभए, के लाजरसको पुनरुत्थानले प्रभु येशूको पहिचानलाई प्रमाणित गर्न सक्यो त? धर्मशास्त्रको निम्न अध्यायलाई हेरौँ: “अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा ‘लाजरस, बाहिर आऊ’ भनी भन्‍नुभयो। तब मरेको मानिस तिनी बाहिर आए…।” जब प्रभु येशू ख्रीष्टले यसो गर्नुभयो, तब उहाँले केवल एउटा कुरा गर्नुभयो: “लाजरस, बाहिर आऊ।” तब लाजरस उसको चिहानबाट बाहिर आए—प्रभुले उच्चारण गर्नुभएका केवल केही वचनहरूको कारणले यो कार्य सम्पन्न भएको थियो। त्यस समयावधिमा, प्रभु येशूले वेदी खडा गर्नुभएन, अनि उहाँले कुनै अन्य कामहरू गर्नुभएन। उहाँले केवल एउटै कुरा गर्नुभयो। यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि आज्ञा? अथवा, के त्यो कुनै प्रकारको जादुगरी थियो? झट्ट हेर्दा, यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि भन्‍ने देखिन्छ, अनि यदि तैँले यसलाई आधुनिक दृष्टिकोणबाट हेर्छस् भने तैँले यसलाई आश्‍चर्यकर्म नै भन्न सक्छस्। तैपनि, यसलाई मृतकबाट प्राण फर्काउनको निम्ति बोलाइने एक प्रकारको जादु भनेर निश्चय नै भन्‍न सकिँदैन, र यो कुनै पनि प्रकारको जादूगरी अवश्य थिएन। यो आश्‍चर्यकर्म सृष्टिकर्ताको अख्तियारको सबैभन्दा सामान्य अनि सानो प्रदर्शन थियो भन्नु सही हुन्छ। यो परमेश्‍वरको अख्तियार र शक्ति हो। कुनै व्यक्तिलाई मर्न दिने, उसको आत्मालाई उसको शरीर छोडेर मृत लोक वा त्यो जहाँसुकै जानुपर्ने हो त्यहाँ जान दिने अधिकार परमेश्‍वरसित छ। व्यक्तिको मृत्यु हुने समय र मृत्युपछि तिनीहरू जानुपर्ने ठाउँ—यी कुराहरू परमेश्‍वरद्वारा निर्धारित हुन्छन्। उहाँले यी निर्णयहरू मानवहरू, घटनाहरू, वस्तुहरू, स्थान वा भूगोलको दबाबमा नपरी कुनै पनि समयमा र कुनै पनि ठाउँमा गर्न सक्नुहुन्छ। यदि उहाँले यो गर्न चाहनुहुन्छ भने उहाँले यो गर्न सक्नुहुन्छ, किनकि सबै कुराहरू र जीवित प्राणीहरू उहाँको शासनको अधीनमा छन् र सबै कुराहरू उहाँको वचन र उहाँको अधिकारद्वारा जन्‍मन्छन्, जिउँछन्, र नष्ट हुन्छन्। उहाँले मृतकलाई बौरी उठाउन सक्नुहुन्छ, अनि यो पनि उहाँले कुनै पनि समयमा, कुनै पनि स्थानमा गर्नसक्ने कुरा हो। यो केवल सृष्टिकर्तामा निहित रहेको अख्तियार हो।

लाजरसलाई मृतकबाट फर्काउने जस्ता कार्यहरू गर्ने क्रममा प्रभु येशूको लक्ष्य भनेको मानिसहरू तथा शैतान देखाउन प्रमाण दिनु थियो, र मानिसहरू तथा शैतानलाई मानवजातिको बारेमा हरेक कुरा, मानवजातिको जीवन तथा मृत्यु परमेश्‍वरद्वारा निर्धारित हुन्छन्, अनि उहाँ देहधारी भइसक्नुभएको भए तापनि, देख्न सकिने भौतिक संसारको साथै मानिसहरूले देख्न नसक्ने आत्मिक संसारमाथि उहाँको हुकुम कायम छ भन्‍ने कुरा जान्‍न दिनु थियो। यो यसकारण गरिएको थियो ताकि मानवजातिको सबै कुरा शैतानको अधीनमा छैन भनी मानवजाति र शैतानले जान्न सकून्। यो परमेश्‍वरको अधिकारको प्रकाश तथा प्रदर्शन थियो, अनि यो मानवजातिको जीवन र मृत्यु परमेश्‍वरको हातमा छन् भनी सबै कुराहरूलाई सन्देश पठाउने परमेश्‍वरको एउटा तरिका पनि थियो। प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थान सृष्टिकर्ताले मानवजातिलाई शिक्षा र प्रशिक्षण दिने एउटा तरिका थियो। यो एउटा यस्तो ठोस कार्य थियो जसमा मानवजातिलाई शिक्षा दिन र प्रबन्ध गर्न उहाँले आफ्नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो। यी वचनहरू प्रयोग नगरी सबै कुराहरू उहाँको अधिकारमा छन् भन्‍ने सत्यता मानिसहरूलाई देखाउने सृष्टिकर्ताको तरिका थियो। यो उहाँद्वारा बाहेक अरू कसैमा मुक्ति छैन भनी मानवजातिलाई यी व्यवहारिक कार्यहरूद्वारा बताउने उहाँको एउटा तरिका थियो। मानवजातिलाई प्रशिक्षण दिन उहाँले प्रयोग गर्नुभएको यो शान्त विधि अनन्त, अमेट छ, जसले मानव हृदयहरूमा कहिल्यै ओइलाउन नसक्ने झट्का र अन्तर्दृष्टि ल्याउँछ। लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्यायो—परमेश्‍वरका हरेक अनुयायीहरूमाथि यसको गहिरो प्रभाव छ। यो घटना गहिरो प्रकारले बुझ्ने हरेक व्यक्तिमा केवल परमेश्‍वरले मात्र मानवजातिको जीवन र मृत्युमाथि हुकुम चलाउन सक्नुहुन्छ भन्‍ने बुझाइ र दर्शनलाई यसले दृढतासहित स्थापित गरिदिन्छ। परमेश्‍वरसित यस्तो अख्तियार भए तापनि, लाजरसको मृत्युद्वारा उहाँले मानवजातिको जीवन र मृत्युमाथि आफ्नो सार्वभौमिकता छ भन्‍ने बारेमा सन्देश पठाउनुभएको भए तापनि, यो उहाँको प्राथमिक काम थिएन। परमेश्‍वरले अर्थविनाको कुनै काम गर्नुहुन्न। उहाँले गर्नुहुने हरेक कुरा ठूलो महत्त्वको हुन्छ र यो सम्पत्तिको भण्डारमा एउटा श्रेष्ठ रत्न हो। “एउटा व्यक्तिलाई त्यसको चिहानबाट बाहिर आउने तुल्याउनु” लाई उहाँले आफ्नो कामको प्राथमिक वा एक मात्र उद्देश्य वा अंश बनाउनुहुन्न। परमेश्‍वरले कुनै पनि काम अर्थविना गर्नुहुन्न। एक मात्र घटनाको रूपमा लाजरसको पुनरुत्थान परमेश्‍वरको अख्तियारलाई प्रदर्शन गर्न र प्रभु येशूको पहिचानलाई प्रमाणित गर्न पर्याप्त थियो। त्यसैकारण प्रभु येशूले यस प्रकारको आश्‍चर्यकर्म दोहोर्याउनुभएन। परमेश्‍वरले आफ्नै सिद्धान्तहरू अनुसार कामहरू गर्नुहुन्छ। मानव भाषामा भन्दा, परमेश्‍वरले आफ्नो मन गम्भीर विषयवस्तुहरूले मात्रै भर्नुहुन्छ भनेर भन्‍न सकिन्छ। भनाइको अर्थ, जब परमेश्‍वरले केही गर्नुहुन्छ, तब उहाँ आफ्नो कामको उद्देश्यबाट बहकिनुहुन्न। यस चरणमा उहाँले कुन काम गर्न चाहनुहुन्छ, के पूरा गर्न चाहनुहुन्छ सो उहाँ जान्नुहुन्छ अनि आफ्नो योजनाअनुसार उहाँले दृढतापूर्वक काम गर्नुहुनेछ। यदि भ्रष्ट व्यक्तिसित त्यस्तो प्रकारको क्षमता भएको भए, ऊ कति भयङ्कर छ भनी अरूले जानून्, तिनीहरू उसको सामु झुकून्, उसले तिनीहरूलाई नियन्त्रण गर्न र निल्न सकून् भनेर उसले केवल आफ्नो क्षमता प्रदर्शन गर्ने तरिकाहरूको बारेमा सोचिरहनेथियो। यो शैतानबाट आउने दुष्टता हो—यसलाई भ्रष्टता भनिन्छ। परमेश्‍वरसित यस्तो भ्रष्टता छैन, अनि उहाँसित यस्तो सार छैन। उहाँले केही गर्नुको पछाडि आफैलाई प्रदर्शन गर्नु होइन, तर मानवजातिलाई अझै बढी प्रकाश तथा मार्गदर्शन दिनु हो, त्यसैकारण मानिसहरूले बाइबलमा यस्तो प्रकारको घटनाको उदाहरणहरू अत्यन्तै थोरै मात्रै देख्छन्। यसको अर्थ प्रभु येशूका शक्तिहरू सीमित थिए, वा उहाँ त्यस्ता कुराहरू गर्न असक्षम हुनुहुन्थ्यो भन्‍ने होइन। कुरा केवल यति मात्रै हो कि परमेश्‍वरले त्यो गर्न चाहनुभएन किनकि प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थानको व्यवहारिक महत्त्व थियो, अनि यसको कारण यो पनि हो कि परमेश्‍वर देहधारी हुनुको प्राथमिक काम आश्‍चर्यकर्महरू गर्नु, मानिसहरूलाई मरेको अवस्थाबाट फर्काएर ल्याउनु थिएन, तर मानवजातिको उद्धारको काम थियो। त्यसकारण, प्रभु येशूले पूरा गर्नुभएको अधिकांश काम मानिसहरूलाई शिक्षा दिनु, तिनीहरूको निम्ति उपलब्ध गराउनु, र तिनीहरूलाई सहायता गर्नु थियो, अनि लाजरसलाई पुनरुत्थान गर्नु जस्ता घटनाहरू प्रभु येशूले गर्नुभएको सेवकाइको केवल एउटा सानो अंश मात्र थियो। यति मात्र होइन, के भन्न सकिन्छ भने, “प्रदर्शन गर्नु” परमेश्‍वरको सारको एउटा भाग होइन, त्यसैले धेरै आश्‍चर्यकर्महरू प्रदर्शन नगरेर उहाँले जानी-बुझी आफूमाथि प्रतिबन्ध गरिरहनुभएको थिएन, न त वातावरणीय सीमाहरूको कारणले यसो भएको थियो, अनि शक्तिको कमीको कारणले त निश्‍चय नै यसो भएको थिएन।

जब प्रभु येशूले लाजरसलाई मरेको अवस्थाबाट फर्काइ ल्याउनुभयो, तब उहाँले यी वचनहरू मात्र प्रयोग गर्नुभयो: “लाजरस, बाहिर आऊ।” यसबाहेक उहाँले अरू केही भन्नुभएन। त्यसैले, यी वचनहरूले के कुरालाई प्रदर्शन गर्छ? यी वचनहरूले मरेको मानिसलाई पुनरुत्थान गर्ने लगायत परमेश्‍वरले बोलेर जे पनि सम्पन्न गर्न सक्नुहुन्छ भन्‍ने कुरालाई प्रदर्शन गर्छ। जब परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, जब उहाँले संसार सृष्टि गर्नुभयो, उहाँले वचनहरूद्वारा सो गर्नुभयो—बोलिएका आज्ञाहरू, अख्तियारपूर्ण वचनहरू, अनि यस प्रकारले सबै कुराहरू सृष्टि गरिए, अनि यसरी, यो सम्पन्न भयो। प्रभु येशूद्वारा बोलिएका यी केही वचनहरू स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्ने क्रममा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू जस्तै थिए; यही प्रकारले, तिनमा परमेश्‍वरको अख्तियार र सृष्टिकर्ताको शक्ति थियो। परमेश्‍वरको मुखबाट निस्केका वचनहरूको कारणले सबै थोक बनिए र दृढ भइ खडा रहे, अनि त्यही प्रकारले, प्रभु येशूको मुखबाट निस्केका वचनहरूको कारणले लाजरस आफ्नो चिहानबाट बाहिर निस्क्यो। उहाँको देहधारी शरीरमा प्रदर्शन गरिएको र पूरा भएको परमेश्‍वरको अख्‍तियार यही थियो। यस प्रकारको अख्तियार र क्षमता सृष्टिकर्ताको स्वामित्वको कुरा थियो अनि सृष्टिकर्ता साकार हुनुभएको मानिसको पुत्रको स्वामित्वको कुरा थियो। लाजरसलाई मरेको अवस्थाबाट बिउँताएर परमेश्‍वरले मानवजातिलाई सिकाउनुभएको बुझाइ यही थियो। अब, हामी यस विषयको छलफललाई यहीँ सिध्याउनेछौँ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्‍त्रको व्याख्या गर्नुहुन्छ र चेलाहरूले येशूलाई पोलेको माछा खान दिन्छन्

पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्‍त्रको व्याख्या गर्नुहुन्छ लूका २४:३०-३२ अनि यस्तो भयो, उहाँ तिनीहरूसँग खान बस्‍नुहुँदा,...

उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू

यूहन्‍ना २०:२६-२९ अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्