सत्तरी गुणा सात पल्ट क्षमा देऊ र प्रभुको प्रेम

13 अगस्ट 2021

सत्तरी गुणा सात पल्ट क्षमा देऊ

मत्ती १८:२१-२२ तब पत्रुस उहाँकहाँ आए र भने, प्रभु, मेरो भाइले मेरो विरुद्ध कति पटक पाप गर्दा मैले क्षमा गर्ने? सात पटकसम्‍म? येशूले तिनलाई भन्‍नुभयो, म तिमीलाई सात पटकसम्म भन्दिन: तर, सत्तरी गुणा सात पल्टसम्‍म।

प्रभुको प्रेम

मत्ती २२:३७-३९ येशूले तिनलाई भन्‍नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो। र दोस्रोचाहिँ यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ।

यी दुई अध्यायहरूमध्ये, एउटाले क्षमाको बारेमा बताउँदछ भने अर्कोले प्रेमको बारेमा। यी दुई विषयहरूले प्रभु येशूले यस अनुग्रहको युगमा गर्न चाहनुभएको कामलाई वास्तविक रूपमा प्रकाशमा ल्याउँछन्।

सत्तरी गुणा सात पल्ट क्षमा देऊ र प्रभुको प्रेम

जब परमेश्‍वर देह बन्‍नुभयो, तब उहाँले आफ्‍नो साथमा आफ्नो कामको एउटा चरण ल्याउनुभयो जुन उहाँले यो युगमा व्यक्त गर्न चाहनुभएको निश्चित काम कार्यहरू र स्वभाव थियो। त्यस अवधिमा, मानिसको पुत्रले गर्नुभएको हरेक कुरा यस युगमा परमेश्‍वरले गर्न चाहनुभएको कामसँग सम्‍बन्धित थियो। उहाँले योभन्दा बढी पनि गर्नुहुन्‍नथियो कम पनि गर्नुहुन्‍नथियो। उहाँले भन्नुभएको हरेक कुरा र उहाँले गर्नुभएको हरेक प्रकारको काम सबै यस युगसित सम्बन्धित थियो। चाहे उहाँले त्यसलाई मानव भाषामा मानव तरिकाले व्यक्त गर्नुभए पनि वा ईश्‍वरीय भाषामा व्यक्त गर्नुभए पनि, अनि चाहे उहाँले जुनसुकै तरिकाले वा जुनसुकै दृष्टिकोणबाट त्यसो गर्नुभए पनि, उहाँको लक्ष्य भनेको उहाँले के गर्न चाहनुहुन्थ्यो, उहाँको इच्छा के हो, अनि मानिसहरूप्रति उहाँका मापदण्डहरू के हुन् सो बुझ्न मानिसहरूलाई सहायता गर्नु थियो। उहाँको इच्छा बुझ्न र जान्न, अनि मानवजातिलाई मुक्ति दिने उहाँको काम बुझ्नको निम्ति मानिसहरूलाई सहायता गर्न उहाँले विभिन्न माध्यम तथा भिन्नाभिन्नै दृष्टिकोणहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यसैकारण, अनुग्रहको युगमा, प्रभु येशूले मानवजातिलाई आफूले बताउन चाहेको कुरा व्यक्त गर्न उहाँले प्रायजसो मानव भाषाकै प्रयोग गर्नुभएको हामी देख्छौँ। अझ बढी, हामी उहाँलाई एउटा साधारण मार्गदर्शकको दृष्टिकोणबाट उहाँले मानिसहरूसित बोलिरहनुभएको, तिनीहरूका खाँचोहरू पूरा गरिरहनुभएको, तिनीहरूले अनुरोध गरेका कुरामा तिनीहरूलाई सहायता गरिरहनुभएको देख्छौँ। यस प्रकारको काम व्यवस्थाको युगमा देखिएको थिएन जुन अनुग्रहको युगभन्दा पहिले आएको थियो। उहाँ मानवजातिसित अझै बढी घनिष्ठ र दयालु हुनुभयो साथै रूप तथा व्यवहार दुवैमा उहाँले अझै बढी व्यवहारिक परिणामहरू हासिल गर्न सक्नुभयो। मानिसहरूलाई सत्तरी गुणा सात पल्ट क्षमा गर्नुपर्छ भन्‍ने उपमाले साँच्चिकै यस बुँदालाई स्पष्ट पार्दछ। यस उपमामा सङ्ख्याले हासिल गरेको उद्देश्य भनेको प्रभु येशूले त्यस समयमा उहाँको अभिप्रायको बारेमा मानिसहरूलाई बुझ्न लगाउनको लागि यो कुरा बताउनुभएको हो। उहाँको अभिप्राय मानिसहरूले अरूलाई क्षमा गरुन् भन्‍ने थियो—एक पल्ट वा दुई पल्ट होइन, अनि सात पल्ट पनि होइन, तर सत्तरी गुणा सात पल्ट। “सत्तरी गुणा सात” को धारणाभित्र कस्तो प्रकारको विचार सामेल छ त? यो मानिसहरूलाई तिनीहरूको जिम्मेवारीको रूपमा, तिनीहरूले सिक्‍नैपर्ने कुराको रूपमा, अनि तिनीहरूले पछ्याउनै पर्ने “मार्ग” को रूपमा स्वीकार गर्न लगाउनु थियो। यो एउटा उपमा मात्रै भए तापनि, यसले एउटा निर्णायक बुँदालाई प्रकाशमा ल्याउन सहायता गर्दछ। यसले मानिसहरूलाई उहाँको भनाइको अर्थ के हो त्यसलाई गहिरो प्रकारले बुझ्‍न अनि अभ्यासका उचित तरिकाहरू र सिद्धान्तहरू तथा अभ्यासका मापदण्डहरू पत्ता लगाउन सहायता गर्‍यो। यस उपमाले मानिसहरूले क्षमाको बारेमा सिक्‍नुपर्छ र विना सर्त अनगिन्ती पटक क्षमा गर्नुपर्छ तर सहनशीलता र अरूलाई बुझ्‍ने मनोवृत्तिसहित यसो गर्नुपर्छ भनेर स्पष्ट रूपमा बुझ्‍न तिनीहरूलाई सहायता गर्‍यो र तिनीहरूलाई उचित अवधारणा दियो। जब प्रभु येशूले यो भन्नुभयो, तब उहाँको हृदयमा के थियो? के उहाँले साँच्चिकै “सत्तरी गुणा सात” सङ्ख्याको बारेमा सोचिरहनुभएको थियो त? होइन, उहाँले त्यसो गरिरहनुभएको थिएन। परमेश्‍वरले मानिसलाई क्षमा गर्ने कुनै सङ्ख्या छ र? यहाँ उल्लेख गरिएको “सङ्ख्याको गुणा” मा धेरै मानिसहरूले निकै चासो लिन्छन्, जसले साँच्चिकै यस सङ्ख्याको उत्पत्ति र अर्थलाई बुझ्न चाहन्छन्। तिनीहरू प्रभु येशूको मुखबाट यो सङ्ख्या किन निस्कियो सो बुझ्न चाहन्छन्; यस सङ्ख्यामा गहिरो आशय छ भन्‍ने विश्‍वास तिनीहरू गर्दछन्। तर वास्तवमा, यो परमेश्‍वरले प्रयोग गर्नुभएको एउटा मानव अलङ्कार मात्र थियो। कुनै पनि आशय वा अर्थलाई मानवजातिको निम्ति प्रभु येशूका मागहरू अनुसार लिइनुपर्छ। जब परमेश्‍वर अझै देहधारी भइसक्नुभएको थिएन, त्यो बेला उहाँले भन्नुभएको अधिकांश कुरा मानिसहरूले बुझेनन्, किनकि उहाँका वचनहरू पूर्ण ईश्‍वरत्वबाट आएका थिए। उहाँले भन्नुभएको कुराको दृष्टिकोण र सन्दर्भ मानवजातिको लागि अदृश्य र अगम्य थियो यो आत्मिक क्षेत्रबाट व्यक्त गरिएको थियो जसलाई मानिसहरूले देख्न सक्दैनथे। देहमा जिउने मानिसहरू आत्मिक क्षेत्रबाट भएर जान सक्दैनथिए। तर परमेश्‍वर देह बनिसक्‍नुभएपछि उहाँले मानवजातिको दृष्टिकोणबाट बोल्नुभयो, अनि उहाँ आत्मिक क्षेत्रको सीमादेखि बाहिर आउनुभयो र त्यसलाई नाघ्नुभयो। मानवजातिले परमेश्‍वरलाई बुझ्न र चिन्न सकून्, उहाँको अभिप्राय तथा उहाँको अपेक्षित स्तरहरूलाई तिनीहरूको क्षमताको सीमाभित्र तथा तिनीहरूले सक्ने स्तरसम्म आत्मसात् गर्न सकून् भनेर आफ्नो ईश्‍वरीय स्वभाव, इच्छा तथा मनोवृत्तिलाई मानवले कल्पना गर्न सक्ने कुराहरू, तिनीहरूले आफ्‍नो जीवनमा देखेका तथा सामना गरेका कुराहरूद्वारा अनि मानिसहरूले स्वीकार गर्न सक्ने विधिहरू प्रयोग गरेर तिनीहरूले बुझ्न सक्ने ज्ञानद्वारा व्यक्त गर्न सक्नुभयो। मानवजातिमा उहाँको कामको विधि तथा सिद्धान्त यही नै थियो। देहमा काम गर्ने परमेश्‍वरका धेरैजसो तरिका तथा उहाँका सिद्धान्तहरू मानवताको माध्यमले वा मानवताद्वारा हासिल गरिएको भए तापनि, यसले प्रत्यक्ष रूपमा ईश्‍वरत्वद्वारा काम गरेर हासिल गर्न नसकिने परिणामहरू हासिल गर्न सक्यो। परमेश्‍वरले मानवत्वद्वारा गर्नुभएको काम अझै बढी ठोस, विशुद्ध तथा लक्षित थियो, विधिहरू अझ धेरै लचकदार थिए, अनि यो व्यवस्थाको युगमा सम्पन्न गरिएको कामलाई नाघ्‍ने किसिमको थियो।

यसपछि, हामी प्रभुलाई र तेरो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्ने विषयमा कुरा गरौँ। के यो ईश्‍वरत्वमा प्रत्यक्ष रूपले व्यक्त गरिएको कुरा हो? होइन, स्पष्ट रूपले नै होइन! यी सबै कुराहरू मानिसको पुत्रले मानवतामा बोल्‍नुभएका कुराहरू हुन्; केवल मानवले मात्रै “छिमेकीलाई आफैलाई जस्तै प्रेम गर,” र “तिमीहरूले आफ्नै जीवनलाई हेरचाह गरेजस्तै अरूलाई प्रेम गर” भन्‍ने जस्ता कुरा भन्छन्। यस्तो प्रकारले बोल्‍ने शैली नितान्त रूपले मानवीय शैली हो। परमेश्‍वरले कहिल्यै पनि यस प्रकारले बोल्नुभएको छैन। कम्तीमा, परमेश्‍वरको ईश्‍वरत्वमा उहाँसित यस्तो प्रकारको भाषा छैन किनकि मानवजातिलाई नियमबद्ध गर्न उहाँलाई “छिमेकीलाई आफैलाई जस्तै प्रेम गर” भन्‍ने जस्ता सिद्धान्तको आवश्यकता पर्दैन, किनकि मानवजातिको निम्ति परमेश्‍वरको प्रेम उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको स्वभाविक प्रकटीकरण हो। के तिमीहरूले कहिल्यै परमेश्‍वरले यस्तो भन्नुभएको सुनेका छौ: “म मानवजातिलाई आफैलाई जस्तै प्रेम गर्छु”? तिमीहरूले यस्तो कुरा सुनेका छैनौ, किनकि प्रेम परमेश्‍वरको सारमा अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसैमा छ। मानवजातिको निम्ति परमेश्‍वरको प्रेम, र उहाँको मनोवृत्ति, अनि उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिका, उहाँको स्वभावको स्वभाविक अभिव्यक्ति तथा प्रकटीकरण हुन्। छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्ने कुरालाई हासिल गर्न उहाँले सतर्क भएर एउटा निश्चित प्रकारले यसो गर्न, वा सतर्क भएर कुनै निश्चित विधि वा नैतिक नियमलाई पछ्याउनु पर्दैन—उहाँसँग पहिले नै यस प्रकारको सार हुन्छ। यसमा तँ के देख्छस्? जब परमेश्‍वरले मानवजातिकहाँ काम गर्नुभयो, उहाँका धेरै विधिहरू, वचनहरू, अनि सत्यताहरू मानवीय तरिकामा व्यक्त भएका थिए। तर, त्यसको साथसाथै, परमेश्‍वरको स्वभाव, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँको इच्छालाई, मानिसहरूले जान्न र बुझ्नको निम्ति नै व्यक्त गरिएका थिए। तिनीहरूले जे जाने र बुझे, त्यो वास्तवमै उहाँको सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यही थियो, जसले परमेश्‍वर स्वयम्‌को अन्तर्निहित पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गर्दछ। भनाइको अर्थ, देहमा मानिसको पुत्रले जुन हदसम्म सम्भव हुन्छ, र जति ठीक किसिमले सम्भव हुन्छ, त्यति नै मात्रामा परमेश्‍वरको अन्तर्निहित स्वभाव तथा सारलाई प्रकट गर्नुभयो। मानिसको पुत्रको मानवता स्वर्गमा हुनुहुने परमेश्‍वरसितको मानिसको कुराकानी र अन्तरक्रियाको निम्ति बाधा नभएको मात्र होइन, तर यो सृष्टिका प्रभुसित मानवजातिलाई जोड्ने एउटै मात्र माध्यम तथा एउटै मात्र पुल थियो। अब, यस क्षणमा, के अनुग्रहको युगमा प्रभु येशूले गर्नुभएको कामको प्रकृति तथा विधिहरू र कामको हालको चरणबीच धेरै समानताहरू छन् भन्‍ने तिमीहरूलाई लाग्दैन? कामको हालको चरणले पनि परमेश्‍वरको स्वभावलाई प्रकट गर्न धेरै मानव भाषा प्रयोग गर्छ, अनि परमेश्‍वर स्वयम्‌को इच्छालाई प्रकट गर्न मानवजातिको दैनिक जीवन तथा मानव ज्ञानका धेरै भाषा तथा विधिहरूको प्रयोग गर्दछ। परमेश्‍वर देह बनिसक्‍नुभएपछि, उहाँले मानव दृष्टिकोणबाट बोलिरहनुभएको भए तापनि वा ईश्‍वरीय दृष्टिकोणबाट बोलिरहनुभएको भए तापनि, उहाँका धेरैजसो भाषा तथा अभिव्यक्तिका विधिहरू मानव भाषाको माध्यम तथा विधिको माध्यमद्वारा आउँदछ। अर्थात् जब परमेश्‍वर देह बन्नुहुन्छ, तब तेरो निम्ति यो परमेश्‍वरको सर्वशक्ति तथा उहाँको बुद्धि, अनि परमेश्‍वरको हरेक वास्तविक पक्ष जान्‍ने सर्वोत्तम अवसर हो। जब परमेश्‍वर देह हुनुभयो, उहाँ हुर्कँदै जाने क्रममा, उहाँले मानवजातिको ज्ञान, सामान्य बोध, भाषा, अनि मानवताको प्रकटीकरणका विधिहरू बुझ्नुभयो, जान्नुभयो र बोध गर्नुभयो। देहधारी परमेश्‍वरसित यी कुराहरू निहित थिए जुन कुराहरू, उहाँले सृष्टि गर्नुभएको मानिसहरूबाट आएका थिए। ती उहाँको स्वभाव तथा उहाँको ईश्‍वरत्वलाई प्रकट गर्नको निम्ति देहमा हुनुभएका परमेश्‍वरका औजारहरू भए, अनि जब उहाँ मानव दृष्टिकोणबाट अनि मानव भाषा प्रयोग गरेर मानवजातिको माझमा काम गरिरहनुभएको थियो, यसले उहाँको कामलाई अझ सान्दर्भिक, अझ विशुद्ध, अझ सही बनायो। यसले उहाँको कामलाई मानिसहरूको निम्ति अझ सुलभ अनि अझ सजिलै बुझ्न सकिने बनायो, यस प्रकारले परमेश्‍वरले चाहनुभएका परिणामहरू हासिल भए। के यस प्रकारले देहमा काम गर्नु परमेश्‍वरको निम्ति अझ व्यवहारिक कुरा होइन र? के यो परमेश्‍वरको बुद्धि होइन र? जब परमेश्‍वर देह बन्‍नुभयो, जब परमेश्‍वरको देहले आफूले गर्न चाहेको काम गर्न सक्‍यो, त्यसबेला नै उहाँले आफ्नो स्वभाव तथा उहाँको काम व्यवहारिक रूपले प्रकट गर्नुहुन्थ्यो, अनि त्यो यस्तो समय पनि थियो जब उहाँले मानिसका पुत्रको रूपमा आधिकारिक रूपले आफ्नो सेवकाई सुरु गर्न सक्नुहुन्थ्यो। यसको अर्थ के थियो भने, परमेश्‍वर र मानिसको बीचमा उपरान्त कुनै “पुस्ताको अन्तराल” थिएन, परमेश्‍वरले सन्देशवाहकहरूद्वारा सञ्चार गर्ने आफ्नो काम रोक्नु हुनेथियो, अनि परमेश्‍वरले चाहनुभए अनुसार उहाँ आफैले व्यक्तिगत रूपले देहमा सबै वचनहरू तथा काम प्रकट गर्न सक्नुहुन्थ्यो। यसको अर्थ यो पनि थियो कि परमेश्‍वरले मुक्ति दिनुभएका मानिसहरू उहाँसित नजिक थिए, उहाँको व्यवस्थापनको काम नयाँ क्षेत्रभित्र प्रवेश गरिसकेको थियो, अनि सबै मानवजातिले एउटा नयाँ युगको सामना गर्न लागेका थिए।

प्रभु येशू जन्मनुभएको बेला धेरै घटनाहरू घटे भन्‍ने कुरा बाइबल पढेका हरेकले जान्दछन्। ती घटनाहरूमध्ये सबैभन्दा ठूलो उहाँलाई दियाबलसहरूका राजाले खेदेको घटना थियो, जुन यति चरम थियो कि त्यसबेला सहरका दुई वर्षका र त्यसभन्दा मुनिका सबै बच्चाहरू संहार गरिएका थिए। यो स्पष्ट छ कि मानिसहरूको माझमा देह भएर परमेश्‍वरले ठूलो जोखिम उठाउनुभयो; मानवजातिलाई उद्धार गर्ने व्यवस्थापन पूरा गर्नको निम्ति उहाँले चुकाउनुभएको मूल्य ठूलो थियो भन्‍ने कुरा पनि स्पष्ट छ। परमेश्‍वरले मानवजातिको निम्ति देहमा आफ्नो कामको निम्ति सँगाल्नुभएको महान् आशाहरू पनि प्रष्टै छन्। जब परमेश्‍वरको देहले मानवजातिको माझमा काम सम्हाल्न सक्षम भयो, तब उहाँले कस्तो महसुस गर्नुभयो? मानिसहरूले केही हदसम्म त्यसलाई बुझ्न सक्षम हुनुपर्छ, होइन र? कम्तीमा, परमेश्‍वर खुशी हुनुहुन्थ्यो किनकि उहाँले मानवजातिको माझमा आफ्नो नयाँ काम गर्न सुरु गर्न सक्नुभयो। जब प्रभु येशूले बप्तिस्मा लिनुभयो र उहाँले आफ्नो सेवकाई पूरा गर्ने आफ्नो काम आधिकारिक रूपमा सुरु गर्नुभयो, तब परमेश्‍वरको हृदय आनन्दले भाव-विभोर भएको थियो किनकि धेरै वर्षहरूको प्रतीक्षा र तयारीपछि, अन्ततः उहाँले एउटा सामान्य मानिसको देह धारण गर्नुभई मासु र रगतको रूपमा आफ्नो नयाँ काम सुरु गर्न सक्नुभयो जसलाई मानिसहरूले हेर्न र छुन सक्थे। अन्ततः मानिसको पहिचानमा उहाँले मानिसहरूसित आमने-सामने घनिष्ठ भएर बोल्न सक्नुभयो। अन्ततः परमेश्‍वर मानवीय तरिकाहरू तथा मानव भाषाद्वारा मानवजातिसित आमने-सामने आउन सक्नुभयो; उहाँले मानव भाषा प्रयोग गरेर मानवजातिको निम्ति जुटाउन सक्नुभयो, तिनीहरूलाई अन्तर्दृष्टि दिन सक्नुभयो, अनि तिनीहरूलाई सहायता गर्न सक्नुभयो; उहाँले तिनीहरूसित एउटै टेबुलमा खान सक्नुभयो अनि त्यही ठाउँमा बस्न सक्नुभयो। उहाँले मानिसहरूलाई, थोकहरूलाई अनि हरेक कुरालाई मानिसहरूले जुन प्रकारले त्यसलाई देख्थे, त्यही प्रकारले तिनीहरूका आँखाहरूद्वारा देखेजस्तै गरी देख्न सक्नुभयो। परमेश्‍वरको निम्ति, यो पहिले नै देहमा उहाँको कामको पहिलो विजय थियो। यसो पनि भन्न सकिन्छ कि यो एउटा ठूलो कामको परिपूर्णता थियो—यो वास्तवमै यस्तो कुरा थियो जसमा परमेश्‍वर अत्यन्त खुशी हुनुहुन्थ्यो। त्यसबेला देखि सुरु गरेर, पहिलो पल्ट मानवजातिको माझमा आफ्नो काममा परमेश्‍वरले एक प्रकारको चैन महसुस गर्नुभयो। हुन आएका सबै घटनाहरू अति व्यवहारिक तथा अति स्वभाविक थिए, अनि परमेश्‍वरले महसुस गर्नुभएको चैन अत्यन्त साँचो थियो। मानवजातिको निम्ति, जब हरेक पटक परमेश्‍वरको कामको नयाँ चरण पूरा हुन्छ, अनि जब हरेक पल्ट परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुहुन्छ, त्यसबेला मानवजाति परमेश्‍वर र मुक्तिको नजिक आउन सक्छ। परमेश्‍वरको निम्ति, यो उहाँको नयाँ कामको सुरुवात, उहाँको व्यवस्थापन योजनालाई अघि बढाउनु हो, अनि त्यसबाहेक यी उहाँका अभिप्रायहरू पूरा हुने समय पनि हुन्। मानवजातिको निम्ति, त्यस्तो अवसरको आगमन सौभाग्यपूर्ण, र अत्यन्तै असल कुरा हो; परमेश्‍वरको मुक्तिको प्रतीक्षा गर्ने सबैको लागि, यो अति महत्त्वपूर्ण र आनन्ददायी समाचार हो। जब परमेश्‍वरले कामको एउटा नयाँ चरण अघि बढाउनुहुन्छ, तब उहाँसित एउटा नयाँ सुरुवात हुन्छ, अनि जब यस नयाँ काम र नयाँ सुरुवातलाई मानवजातिको माझमा सुरुवात तथा परिचित गराइन्छ, त्यसबेला कामको यो नयाँ सुरुवातलाई पहिल्यै निर्धारित र पूरा गरिएको हुन्छ अनि अन्तिम असर तथा फललाई परमेश्‍वरले पहिल्यै देखिसक्‍नुभएको हुन्छ। यो यस्तो बेला पनि हो जब यी असरहरूले परमेश्‍वरलाई सन्तुष्ट महसुस गराउँछन्, अनि वास्तवमै, यो उहाँको हृदय खुशी हुने समय पनि हो। परमेश्‍वरले आश्‍वस्त महसुस गर्नुहुन्छ किनकि उहाँको दृष्टिमा, उहाँले खोजी गरिरहनुभएका मानिसहरूलाई उहाँले पहिल्यै देखिसक्नुभएको र निर्धारण गरिसक्नुभएको हुन्छ, अनि यस समूहका मानिसहरूलाई पहिल्यै हासिल गरिसक्नुभएको हुन्छ, जुन समूहले उहाँको कामलाई सफल तुल्याउन र उहाँलाई सन्तुष्टि दिन सक्छन्। यस प्रकारले, उहाँले आफ्ना फिक्रीहरूलाई पन्छ्याउनुहुन्छ, अनि उहाँले खुशी महसुस गर्नुहुन्छ। अर्को शब्दमा, जब परमेश्‍वरको देहले मानिसको माझमा नयाँ कामको सुरुवात गर्न सक्छ, अनि उहाँले जुन काम गर्नैपर्छ, त्यसलाई विना अवरोध सुरु गर्नुहुन्छ, अनि जब उहाँले सबै पूरा भइसकेका छन् भनी महसुस गर्नुहुन्छ, तब उहाँको निम्ति अन्त्य पहिले नै देख्‍न सकिने कुरा भइसकेको हुन्छ। यसको कारणले उहाँ सन्तुष्ट हुनुहुन्छ, अनि उहाँको हृदय खुशी हुन्छ। परमेश्‍वरको खुशी कसरी प्रकट हुन्छ? यसको उत्तर के हुनसक्छ भनेर के तिमीहरूले कल्पना गर्न सक्छौ? के परमेश्‍वर रुनुहुन्छ होला? के परमेश्‍वर रुन सक्नुहुन्छ? के परमेश्‍वरले ताली बजाउन सक्नुहुन्छ? के परमेश्‍वर नाच्न सक्नुहुन्छ? के परमेश्‍वर गाउन सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने उहाँले के गाउनुहुन्छ? अवश्य, परमेश्‍वरले एउटा सुन्दर, हृदयस्पर्शी गीत गाउन सक्नुहुन्छ, जुन गीतले उहाँको हृदयको आनन्द र खुशीलाई प्रकट गर्न सक्छ। उहाँले मानवजातिको निम्ति, आफ्नो निम्ति, अनि सबै कुराहरूको निम्ति गाउन सक्नुहुन्छ। परमेश्‍वरको खुशीलाई कुनै पनि तरिकाले प्रकट गर्न सकिन्छ—यो सबै सामान्य नै छ किनकि परमेश्‍वरसित आनन्द र पीडाहरू छन्, अनि उहाँका विभिन्न भावनाहरूलाई विभिन्न प्रकारले प्रकट गर्न सकिन्छ। यो उहाँको अधिकार हो, अनि यो भन्दा कुनै पनि कुरा बढी सामान्य तथा उचित हुन सक्दैन। मानिसहरूले यसको बारेमा अन्यथा सोच्नु हुँदैन। तिमीहरूले परमेश्‍वरलाई उहाँले यस्तो वा उस्तो प्रकारले काम गर्नु हुँदैन भनी “पट्टी मन्त्र”[क] प्रयोग गर्ने कोसिस गर्नु हुँदैन, अनि यस प्रकारले उहाँसित भएको उहाँको खुशी वा कुनै भावनालाई सीमित गर्नु हुँदैन। मानिसहरूको हृदयमा परमेश्‍वर खुशी हुन सक्नुहुन्न, आँसु बगाउन सक्नुहुन्न, बिलौना गर्न सक्‍नुहुन्‍न—उहाँले कुनै भावनालाई प्रकट गर्न सक्नुहुन्न। यी दुई सङ्गतिको अवधिमा हामीले गरेको कुराकानीद्वारा, म विश्‍वास गर्छु कि तिमीहरूले उपरान्त परमेश्‍वरलाई यस प्रकारले हेर्नेछैनौ, तर परमेश्‍वरलाई केही स्वतन्त्रता र छुटकारामा जिउन दिनेछौ। यो अति राम्रो कुरा हो। भविष्यमा, तिमीहरूले परमेश्‍वर दुःखी हुनुभएको सुन्दा यदि तिमीहरूले साँच्चि नै परमेश्‍वरको दुःख अनुभव गर्न सक्छौ अनि तिमीहरूले उहाँ खुशी हुनुभएको सुन्दा तिमीहरूले साँच्चि नै परमेश्‍वरको खुशी अनुभव गर्न सक्छौ भने कम्तीमा तिमीहरूले परमेश्‍वरलाई कुन कुराले खुशी बनाउँछ र कुन कुराले दुःखी बनाउँछ भन्‍ने कुरालाई स्पष्ट प्रकारले जान्न र बुझ्न सक्छौ। परमेश्‍वर दुःखी भएको कारण जब तैँले दुःख महसुस गर्न सक्छस्, अनि परमेश्‍वर खुशी हुनुभएको कारण जब तैँले खुशी महसुस गर्न सक्छस्, तब उहाँले तेरो हृदयलाई पूर्ण रूपले हासिल गरिसक्नुभएको हुन्छ अनि तेरो र उहाँको बीचमा उपरान्त कुनै बाधा हुनेछैन। तैँले मानव कल्पना, धारणा र ज्ञानले अबउप्रान्त उहाँलाई बाँध्ने प्रयास गर्नेछैनस्। त्यस समयमा, तेरो हृदयमा परमेश्‍वर जीवित हुनुहुनेछ र जीवन्त हुनुहुनेछ। उहाँ तेरो जीवनको परमेश्‍वर र तेरो सबै कुराको मालिक हुनुहुनेछ। के तिमीहरूसित यस प्रकारका आकांक्षाहरू छन्? के तिमीहरूले यसलाई हासिल गर्न सक्छौ भन्‍नेमा तिमीहरू विश्‍वस्त छौ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

फूटनोट:

क. “पट्टी मन्त्र” एउटा मन्त्र हो जुन भिक्षु ताङ सन्जाङले ‘पश्‍चिमतर्फको यात्रा’ नामक चिनियाँ उपन्यासमा प्रयोग गरेका छन्। उनले सन वुकोङलाई नियन्त्रण गर्न यो मन्त्रको प्रयोग गर्छन्। यसको लागि उनले तिनको टाउकोवरिपरि एउटा धातुको पट्टी बाँधिदिन्छन्, तिनलाई त्यो पट्टीले गम्‍भीर रूपमा टाउको दुखाउँछ, अनि मन्त्र प्रयोग गरी तिनलाई नियन्त्रणमा ल्याउँछन्। यो कुनै व्यक्तिलाई बाँध्‍ने वस्तुको व्याख्या गर्ने एउटा उपमा बनेको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

फरिसीहरूद्वारा येशूको आलोचना र फरिसीहरूलाई येशूको हप्की

फरिसीहरूद्वारा येशूको आलोचना मर्कूस ३:२१-२२ अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्‍न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने,...

हराएको भेडाको दृष्टान्त

मत्ती १८:१२-१४ तिमीहरू कसरी सोच्छौ? यदि कुनै मानिससँग एक सय भेडा छन् र तीमध्ये एउटा बरालिन्छ भने के उसले उनान्‍सयलाई छाडेर पर्वतहरूतिर गई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्