सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन

13 अगस्ट 2021

हामी उत्पत्ति २२:१७-१८ लाई हेरौँ। यो यहोवा परमेश्‍वरले बोल्‍नुभएको अर्को अनुच्‍छेद हो, जहाँ उहाँले अब्राहामलाई भन्‍नुभयो, “आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।” यहोवा परमेश्‍वरले अब्राहामलाई धेरै पटक आशिष्‌ दिनुभएको हुनाले तिनका सन्तान वृद्धि हुनेवाला थिए—तर कति हदसम्‍म वृद्धि हुनेवाला थिए? धर्मशास्‍त्रमा बोलिएको हदसम्‍म: “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह।” भन्‍नुको अर्थ, परमेश्‍वरले अब्राहामलाई आकाशका ताराहरू जत्तिकै धेरै, र समुद्रको किनारका बालुवाजत्तिकै प्रशस्त सन्तान दिन चाहनुभयो। परमेश्‍वरले अलङ्कारको प्रयोग गरी बोल्‍नुभयो, र यो अलङ्कारबाट परमेश्‍वरले अब्राहामलाई एक, दुई, वा हजार जना मात्रै होइन, बरु गन्ती गर्नै नसकिने सङ्ख्यामा सन्तान दिनुभयो, यतिसम्‍म कि तिनीहरू अनगिन्ती राष्ट्रहरू बन्‍नेवाला थिए, किनभने परमेश्‍वरले अब्राहामलाई तिनी धेरै जातिका पिता हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। अब, उक्त सङ्ख्याको निर्णय मानिसले गरेको थियो कि परमेश्‍वरले गर्नुभएको थियो? के मानिसले उसको सन्तान कति जना हुन्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छ? के यो उसको हातमा हुन्छ? उसले धेरै जना जन्‍माउनेछ कि जन्‍माउनेछैन भन्‍ने कुरा समेत मानिसको हातमा हुँदैन, “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह” धेरै हुने त कुरै नगरौँ। कसले आकाशका ताराहरू जत्तिकै धेरै सन्तानको चाहना गर्दैन र? दुःखको कुरा, परिस्थिति सधैँ तैँले चाहेजस्तै हुन्छ भन्‍ने छैन। मानिस जति सिपालु वा सक्षम भए पनि, यो उसको हातमा हुँदैन; परमेश्‍वरले प्रबन्ध गर्नुभएको भन्दा बाहिर कोही पनि खडा हुन सक्दैन। उहाँले तँलाई जति धेरै दिनुहुन्छ, तैँले त्यति नै बढी पाउनेछस्: यदि परमेश्‍वरले तँलाई थोरै दिनुहुन्छ भने, तँसँग कहिल्यै धेरै हुनेछैन, र यदि परमेश्‍वरले तँलाई धेरै दिनुभयो, तँसँग धेरै भयो भनेर तैँले अफसोस गर्नुपर्दैन। के यो यस्तै होइन र? योमध्ये धेरैजसो कुरा परमेश्‍वरकै हातमा हुन्छ, मानिसको हातमा होइन! मानिसलाई परमेश्‍वरले नै शासन गर्नुहुन्छ, र कसैलाई पनि छूट छैन!

जब परमेश्‍वरले “तेरा सन्तानलाई वृद्धि गर्नेछु,” भनी भन्‍नुभयो, यो परमेश्‍वरले अब्राहामसँग स्थापित गर्नुभएको करार थियो, र इन्द्रेनीको करारजस्तै, यो अनन्तसम्‍मको लागि हासिल गरिनेथियो, र यो परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पनि थियो। यो प्रतिज्ञालाई पूरा गर्न परमेश्‍वर मात्र योग्य र सक्षम हुनुहुन्छ। मानिसले यसलाई विश्‍वास गरे पनि वा नगरे पनि, मानिसले यसलाई स्वीकार गरे पनि वा नगरे पनि, र मानिसले यसलाई जसरी हेरे पनि र जसरी लिए पनि, यो सबै शब्‍द-शब्‍द गरी परमेश्‍वरले बोल्‍नुभएको वचन अनुसार नै पूरा हुनेछ। मानिसको इच्‍छा वा धारणाहरूमा आएको परिवर्तनको कारणले परमेश्‍वरको वचन परिवर्तन हुनेछैन, र कुनै व्यक्ति, घटना, वा कुरामा आएको परिवर्तनको कारणले यो परिवर्तन हुनेछैन। सबै थोक हराएर जान सक्छ, तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहनेछ। वास्तवमा, सबै थोक हराएर जाने दिन नै परमेश्‍वरका वचनहरू पूर्ण रूपमा पूरा हुने दिन हो, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमा सृष्टिकर्ताको अख्‍तियार छ, सृष्टिकर्ताको शक्ति छ, र उहाँले नै सबै थोक र सबै जीवनशक्तिलाई नियन्त्रण गर्नुहुन्छ; उहाँले शून्यताबाट कुनै थोक अस्तित्वमा ल्याउन, वा कुनै थोकलाई शून्यतामा हराउन सक्‍नुहुन्छ, र उहाँले सबै थोकको जीवितबाट मृतकमा हुने रूपान्तरणलाई नियन्त्रण गर्नुहुन्छ; परमेश्‍वरको लागि, कसैको बीउलाई वृद्धि गराउने जत्तिको सरल केही पनि हुन सक्दैन। यो मानिसको लागि परी-कथाजस्तै शानदार सुनिन सक्छ, तर परमेश्‍वरको लागि, उहाँले जुन कुरा गर्ने निर्णय र प्रतिज्ञा गर्नुहुन्छ त्यो काल्‍पनिक होइन, न त परी-कथा नै हो। बरु, यो त परमेश्‍वरले पहिले नै देखिसक्‍नुभएको तथ्य हो, र जसलाई अवश्य नै हासिल गर्न सकिन्छ। के तिमीहरू यसलाई बुझ्छौ? के अब्राहामका सन्तान अनगिन्ती थिए भनेर तथ्यहरूले प्रमाणित गर्छ? तिनीहरू कति धेरै अनगिन्ती थिए? के तिनीहरू परमेश्‍वरले बोल्‍नुभएका “आकाशका ताराहरू, र समुद्र किनारको बालुवा” जत्तिकै अनगिन्ती थिए? के तिनीहरू संसारका सबै राष्ट्रहरू र क्षेत्रहरूमा, हरेक ठाउँमा फैलिए? केद्वारा यो तथ्य हासिल गरियो? के यो परमेश्‍वरका वचनहरूको अख्‍तियारद्वारा हासिल गरिएको थियो? परमेश्‍वरका वचनहरू बोलिएको सयौँ वा हजारौँ वर्षसम्‍म, परमेश्‍वरका वचनहरू निरन्तर रूपमा पूरा भए, र ती अटुट रूपमा तथ्यमा परिवर्तन भइरहे; परमेश्‍वरका वचनहरूको सामर्थ्य, र परमेश्‍वरको अख्‍तियारको प्रमाण यही हो। जब सुरुमा परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्” अनि उज्यालो भयो। यो शीघ्र रूपमा भयो, यो छोटो समयमा पूरा भयो, र यसको उपलब्धि र पूर्णतामा कुनै ढिलाइ भएन; परमेश्‍वरका वचनहरूका प्रभावहरू तत्‍कालीन थिए। ती दुवै नै परमेश्‍वरको अख्तियारको प्रदर्शन थिए, तर जब परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभयो, उहाँले मानिसलाई परमेश्‍वरको अख्तियारको सारको अर्को पक्ष, साथै सृष्टिकर्ताको अख्‍तियार गन्तीभन्दा बाहिरको कुरा हो भन्‍ने देखाउनुभयो, यसको साथै उहाँले मानिसलाई सृष्टिकर्ताको अख्‍तियारको अझै यथार्थ, अझै उत्कृष्ट पक्ष देखाउनुभयो।

परमेश्‍वरका वचनहरू उच्‍चारण गरिएपछि, परमेश्‍वरको अख्‍तियारले यो कार्यमा हुकुम चलाउँछ, र परमेश्‍वरको मुखले प्रतिज्ञा गरेको तथ्य क्रमिक रूपमा यथार्थ बन्‍न थाल्छ। परिणामस्वरूप, जसरी वसन्तको आगमनसँगै घाँसहरू हरिया बन्‍न थाल्छन्, फूलहरू फुल्‍न थाल्छन्, रूखका मुनाहरू पलाउन थाल्छन्, चराचुरुङ्गी गाउन थाल्छन्, हाँसहरू फर्केर आउँछन्, र भूमि मानिसहरूले भरिन्छन्, त्यसरी नै सबै थोकको बीचमा परिवर्तनहरू देखा पर्न थाल्छ…। वसन्तको आगमनसँगै सबै थोक नयाँ हुन्छन्, र यो सृष्टिकर्ताको आश्‍चर्यजनक कार्य हो। जब परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू हासिल गर्नुहुन्छ, स्वर्ग र पृथ्वीका सबै थोक नवीकरण हुन्छन् र परमेश्‍वरका विचारहरू अनुसार परिवर्तन हुन्छन्—कसैलाई पनि छूट छैन। जब परमेश्‍वरको मुखबाट प्रतिबद्धता वा प्रतिज्ञाको उच्‍चारण गरिन्छ, सबै थोक यसलाई पूरा गर्नमा लाग्छन् र यसलाई पूरा गर्नकै खातिर सबै थोकलाई चलाकीसाथ परिचालित गरिन्छ; सबै प्राणीहरू परमेश्‍वरकै प्रभुत्वमा योजनाबद्ध गरिन्छ र मिलाइन्छ, र तिनीहरूले आ-आफ्‍नै भूमिका निर्वाह गर्छन्, र आ-आफ्‍नै प्रकार्य पूरा गर्छन्। सृष्टिकर्ताको अख्‍तियारको प्रकटीकरण यही हो। यसमा तँ के देख्छस्? तँ परमेश्‍वरको अख्‍तियारलाई कसरी जान्दछस्? के परमेश्‍वरको अख्तियारको कुनै दायरा छ? के समयको सीमितता छ? के यसको निश्‍चित उचाइ, वा निश्‍चित लम्‍बाइ छ भनेर भन्‍न सकिन्छ? के यसको निश्‍चित आकार वा सामर्थ्य छ भनेर भन्‍न सकिन्छ? के यसलाई मानिसका आयामहरूबाट मापन गर्न सकिन्छ? परमेश्‍वरको अख्‍तियार घरी सक्रिय, घरी निष्क्रिय हुने हुँदैन, यो आउने र जाने गर्दैन, र उहाँको अख्तियार वास्तवमा कति महान् छ भनेर नाप्‍न सक्‍ने कोही पनि छैन। जति धेरै समय बिते पनि, जब परमेश्‍वरले कुनै व्यक्तिलाई आशिष्‌ दिनुहुन्छ, यो आशिष्‌ अघि बढिरहनेछ, र यसको निरन्तरताले परमेश्‍वरको अख्‍तियारको अतुलनीय साक्षी दिनेछ, र सृष्टिकर्ताको ननिभ्‍ने जीवनशक्तिको पुन: देखा पर्ने घटनालाई बारम्‍बार देख्‍न मानवजातिलाई समर्थ तुल्याउनेछ। उहाँको अख्तियारको हरेक प्रदर्शन सबै थोकमा, र मानवजातिमा प्रदर्शन गरिने उहाँको मुखका वचनहरूको सिद्ध प्रदर्शन हुन्। यसको साथै, उहाँको अख्‍तियारले हासिल गर्ने सबै कुरा अति उत्तम, अतुलनीय, र अत्यन्तै त्रुटिहीन छन्। के भन्‍न सकिन्छ भने, उहाँका विचारहरू, उहाँका वचनहरू, उहाँको अख्तियार, र उहाँले हासिल गर्नुहुने सबै कार्यहरू अतुलनीय रूपमा सुन्दर चित्र हुन्, र प्राणीहरूका लागि, यसको महत्त्व र मूल्यलाई स्पष्ट पार्न मानवजातिको भाषा असमर्थ छ। जब परमेश्‍वरले कुनै व्यक्तिलाई प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरूको बारेमा सबै कुरा परमेश्‍वरको लागि उहाँको हातको पछाडिको भाग जत्तिकै परिचित हुन्छ, चाहे यो तिनीहरू कहाँ बस्‍छन् भन्‍ने होस् वा तिनीहरू कहाँ जान्छन् भन्‍ने नै होस्, तिनीहरूले प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिलेको वा पछिको तिनीहरूको पृष्ठभूमि होस्, वा तिनीहरूको जिउने वातावरणमा कति ठूलो कायापलट आएको छ त्यो नै होस्। परमेश्‍वरका वचनहरू बोलिएपछि जति धेरै समय बिते पनि, उहाँको लागि, ती भर्खरै उच्‍चारण गरिएका जस्तै हुन्छन्। भन्‍नुको अर्थ परमेश्‍वरसँग शक्ति छ, र उहाँसँग उहाँले मानवजातिसँग गर्नुहुने हरेक प्रतिज्ञाको लेखाजोखा राख्‍ने, नियन्त्रण गर्ने, र पूरा गर्ने अख्‍तियार छ, र प्रतिज्ञा जेसुकै भए तापनि, यो पूर्ण रूपमा पूरा हुन जति समय लागे पनि, यसको साथै, यसको पूर्णताले जति वृहत् दायरालाई छोए तापनि—उदाहरणको लागि, समय, भूगोल, जाति, र यस्तै इत्यादि—यो प्रतिज्ञा हासिल गरिनेछ र पूरा गरिनेछ, यसको साथै, यसलाई हासिल गर्न र पूरा गर्नको लागि उहाँलाई अलिकति समेत प्रयासको आवश्यकता पर्नेछैन। यसले केलाई प्रमाणित गर्छ? परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्र सम्पूर्ण ब्रह्माण्ड, र सम्पूर्ण मानवजातिलाई नियन्त्रण गर्नको लागि पर्याप्त छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले ज्योति बनाउनुभयो, तर त्यसको अर्थ परमेश्‍वरले ज्योतिको मात्रै व्यवस्थापन गर्नुहुन्छ भन्‍ने हुँदैन, वा उहाँले पानीको व्यवस्थापन गर्नुहुन्छ किनभने उहाँले पानी सृष्टि गर्नुभयो, र अरू सबै कुरा परमेश्‍वरसँग सम्‍बन्धित छैनन् भन्‍ने हुँदैन। के यो गलत बुझाइ हुँदैन र? परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ सयौँ वर्षपछि मानिसको स्मरणबाट क्रमिक रूपमा विलीन भएको भए तापनि, परमेश्‍वरको लागि, यो प्रतिज्ञा अझै पनि उस्तै रहिरह्यो। यो अझै पनि हासिल गरिने प्रक्रियामा थियो, र यो कहिल्यै रोकिएको थिएन। परमेश्‍वरले कसरी आफ्‍नो अख्‍तियारको प्रयोग गर्नुभयो, कसरी सबै थोकलाई योजनाबद्ध र व्यवस्थित गरियो, र यस समय परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा के-कस्ता सुन्दर घटनाहरू घटे सो मानिसले कहिल्यै जानेन वा सुनेन, तर परमेश्‍वरको अख्तियारको प्रदर्शनको हरेक सुन्दर भाग र उहाँका कार्यहरूको प्रकाशलाई सबै थोकका बीचमा हस्तान्तरण र बढाइ गरियो, सबै थोकले सृष्टिकर्ताको आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गरे र तिनको बारेमा बोले, र यावत् थोकमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको हरेक प्रचलित कथालाई सबै थोकले सदासर्वदा घोषणा गर्नेछन्। सबै थोकलाई शासन गर्ने परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको शक्तिले सबै थोकलाई परमेश्‍वर सबै ठाउँमा र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देखाउँछ। जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको सर्वव्यापकतालाई देखेको हुन्छस्, तब तैँले परमेश्‍वर सबै ठाउँ र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। परमेश्‍वरको अख्तियार र शक्ति समय, भूगोल, स्थान, वा कुनै व्यक्ति, घटना वा थोकद्वारा सीमित छैनन्। परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रले मानिसको कल्‍पनालाई नाघ्‍छ; मानिसले यसलाई बुझ्‍न सक्दैन, मानिसले यसलाई कल्‍पना गर्न सक्दैन, र यसलाई मानिसले कहिल्यै पनि पूर्ण रूपमा बुझ्‍न सक्नेछैन।

कतिपय मानिसहरूले अनुमान र कल्‍पना गर्न मन पराउँछन्, तर मानिसको कल्‍पना कति टाढा पुग्‍न सक्छ? के यो यस संसारभन्दा बाहिर जान सक्छ? के मानिसले परमेश्‍वरको अख्तियारको विश्‍वसनीयता र सटीकतालाई अनुमान गर्न र कल्‍पना गर्न सक्छ? के मानिसको अनुमान र कल्‍पनाले उसलाई परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न दिन सक्छ? के तिनले मानिसलाई परमेश्‍वरको अख्‍तियारलाई साँचो रूपमा बुझाउन र त्यसमा समर्पित गराउन सक्छन्? मानिसको अनुमान र कल्‍पना मानिसको बौद्धिकताको उपज मात्रै हुन्, र परमेश्‍वरको अख्तियार सम्‍बन्धी मानिसको ज्ञानमा यसले अलिकति पनि सहयोग वा लाभ पुर्‍याउँदैन भन्‍ने कुरालाई तथ्यहरूले प्रमाणित गर्छ। केही विज्ञान सम्‍बन्धी काल्‍पनिक लेख पढिसकेपछि, कतिले चन्द्रमा वा ताराहरू कस्ता छन् भन्‍ने कुरा कल्‍पना गर्न सक्छन्। तैपनि, यसको अर्थ मानिसमा परमेश्‍वरको अख्‍तियारको कुनै बुझाइ छ भन्‍ने हुँदैन। मानिसको कल्‍पना केवल यही हो: कल्‍पना। यी कुराहरूका तथ्यहरूका बारेमा, भन्‍नुको अर्थ, परमेश्‍वरको अख्तियारसँगको तिनीहरूको सम्‍बन्धको बारेमा उसलाई केही थाहा हुँदैन। तँ चन्द्रमा नै पुगेको भए तापनि यसको के अर्थ? के यसले परमेश्‍वरको अख्तियारको बारेमा तँसँग बहुआयामिक बुझाइ छ भन्‍ने देखाउँछ र? के यसले तँ परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रलाई कल्‍पना गर्न सक्छस् भन्‍ने देखाउँछ र? मानिसको अनुमान र कल्‍पनाले उसलाई परमेश्‍वरको अख्‍तियार जान्‍ने तुल्याउन नसक्‍ने हुँदा, मानिसले के गर्नुपर्छ त? सबैभन्दा बुद्धिमानी विकल्‍प भनेको अनुमान वा कल्‍पना नै नगर्नु हो, भन्‍नुको अर्थ, जब परमेश्‍वरको अख्‍तियारलाई जान्‍नेबारे कुरा आउँछ, मानिसले कहिल्यै कल्‍पनामा भर पर्नु हुँदैन र अनुमानमा भरोसा गर्नु हुँदैन। म तिमीहरूलाई यहाँ के बताउन चाहँदैछु त? परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो; कुनै पनि छोटो बाटो छैन। तिमीहरूलाई कल्‍पना नगर भनेर अनुरोध गर्नु भनेको तिमीहरूलाई सर्वनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्‍न लगाउनु, वा तिमीहरूलाई कुनै कुरा गर्नबाट रोक्‍नु भन्‍ने होइन। विचार गर्न र कल्‍पना गर्नको लागि तिमीहरूले आफ्‍नो मस्तिष्कको प्रयोग नगर्नु भनेको अनुमान गर्न तर्कको प्रयोग नगर्नु, विश्‍लेषण गर्न ज्ञानको प्रयोग नगर्नु, विज्ञानलाई आधारको रूपमा प्रयोग नगर्नु तर यसको सट्टा, परमेश्‍वरका वचनहरूद्वारा, सत्यताद्वारा, तैँले जीवनमा भोग्‍ने सबै कुराद्वारा नै तैँले विश्‍वास गर्ने परमेश्‍वरसँग अख्‍तियार छ भन्‍ने कुरालाई बुझ्‍नु, पुष्टि गर्नु, र प्रमाणित गर्नु, तेरो भाग्यमाथि उहाँको सार्वभौमिकता छ, र सबै समयको उहाँको शक्तिले उहाँ साँचो परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ भनी पुष्टि गर्नु हो। कुनै पनि व्यक्तिले परमेश्‍वरको बुझाइ हासिल गर्ने एक मात्र तरिका यही नै हो। कतिले यस उद्देश्यलाई हासिल गर्ने सरल तरिका भेट्टाउन चाहन्छ भनेर भन्छन्, तर के तिमीहरू त्यस्तो तरिकाको बारेमा विचार गर्न सक्छौ? म तँलाई भन्छु, विचार गर्नुपर्ने कुनै आवश्यकता छैन: अरू कुनै बाटो छैन! एउटै मात्र तरिका भनेको उहाँले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्यद्वारा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विवेकशील र स्थिरताको साथ जान्‍नु र प्रमाणित गर्नु हो। परमेश्‍वरलाई जान्‍ने एउटै मात्र तरिका यही नै हो। किनभने परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्‍वरको सबै थोक खोक्रो र रित्तो होइन, तर वास्तविक हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सबै थोक र जीवित प्राणीहरूमाथि सृष्टिकर्ताको नियन्त्रण र प्रभुत्व छ भन्‍ने तथ्यले सृष्टिकर्ताको अख्‍तियारको साँचो अस्तित्वको बारेमा बताउँछ

त्यसै गरी, यहोवाले अय्यूबलाई आशिष्‌ दिनुभएको विवरण अय्यूबको पुस्तकमा उल्‍लेख गरिएको छ। परमेश्‍वरले अय्यूबलाई के आशिष्‌ दिनुभयो त? “त्यसैले...

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ

शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको...

मानिससँग करार स्थापित गर्न परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई...

सृष्टिकर्ताको अख्‍तियार अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने छ

पवित्र-शास्‍त्रका यी तीन भागमा तिमीहरूले के देखेका छौ? के परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्ने सिद्धान्त छ भन्‍ने तिमीहरूले देखेका छौ?...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्