परमेश्‍वरका दुई देहधारणहरूले देहधारणको महत्त्वलाई परिपूर्ण बनाउनुहुन्छ भनेर किन भनिन्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको कामको सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। केवल मानिस बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दु:ख अनुभव गर्न, र मानिसको सामान्य मासुको शरीरमा जिउन सक्नुहुन्छ। केवल यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा चाहिने कुराहरू व्यावहारिक तरिकाले प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। किनकि मानिस देह भएकोले ऊसँग परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्। मानिस केवल परमेश्‍वरले देहधारण गर्नुभएको शरीरसित सम्पर्कमा आउन सक्छ, र केवल यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसका पापहरू मेटाउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्‍वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, शरीरमा गरिने परमेश्‍वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामको लागि तेस्रो पटक शरीर बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूमा मानवजाति सबैलाई उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएको हुनेछ। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरूले पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।

वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

आफ्‍नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, देहका सारा सामान्यता र वास्तविकतामा जिउँदै, अर्थात्, परमेश्‍वरको वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट गर्दै, देहमा उहाँले अपूरो छोड्नुभएको कामलाई त्यसद्वारा समाप्त गर्दै परमेश्‍वर फेरि पनि देहमा फर्कनुभएको छ। वास्तवमा, दोस्रो देहधारी शरीर पहिलोजस्तै छ, तर यो पहिलोभन्दा अझै वास्तविक, अझै सामान्य छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र वास्तविकताबाट पनि निस्किआउँछ। उहाँले आफ्‍नो सेवकाइ अत्यन्तै सामान्य र वास्तविक देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति वास्तविक छ, उहाँले आफ्‍नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्‍नुहुनेछ। परमेश्‍वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्‍नु पर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्‍नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको वास्तविकता र सामान्यताबाट आउँछ। आफ्‍ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्‍न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्‍नुपर्छ; काम गर्ने देह जति वास्तविक छ, मानिसहरूका धारणा त्यति नै कठोर हुन्छ, र उहाँमा त्यति नै खतराहरू पर्ने सम्‍भावना हुन्छ। तैपनि, देह जति वास्तविक छ, र देहमा सामान्य मानवको आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्‍वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। क्रूसमा कांटी ठोकिएको येशूकै देह थियो, पापबलिको रूपमा दिइएको उहाँकै देह थियो; सामान्य मानवता सहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्‍नुभयो र मानिसलाई क्रूसबाट पुर्ण रूपमा मुक्त गर्नुभयो। अनि पूर्ण देहको रूपमा नै परमेश्‍वरले आफ्‍नो दोस्रो देहधारणमा विजयको काम गर्नुहुन्छ र शैतानलाई जित्‍नुहुन्छ। पुर्ण रूपमा सामान्य र वास्तविक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्‍नुको अर्थ, मानिसको विजय देहमा हुनुभएका परमेश्‍वरको वास्तविकता र सामान्यताद्वारा प्रभावकारी बनाइन्छ, अलौकिक आश्चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्‍वरको सेवकाइ बोल्‍नु, र त्यसद्वारा मानिसलाई जित्‍नु र सिद्ध गर्नु हो; अर्को शब्‍दमा भन्दा, आत्माको काम देहमा प्रकट भयो, देहको कर्तव्य भनेको बोल्‍नु र त्यसद्वारा मानिसलाई पूर्ण रूपमा जित्‍नु, प्रकट गर्नु, सिद्ध पार्नु, र हटाउनु हो। त्यसैले, विजयको काममा नै परमेश्‍वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। उद्धारको प्रारम्‍भिक कार्य देहधारणको कार्यको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले देहधारणको सम्पूर्ण कामलाई पूरा गर्नेछ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्‍न सक्‍नुहुन्छ, र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो, र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्‍वरले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नुहुन्‍न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्‍नेछ। यसको साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्‍वरको काम भनेको बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई धपाउनु होइन, तर बोलेर मानिसलाई जित्‍नु हो, भन्‍नुको अर्थ परमेश्‍वरको यस देहधारी शरीरमा भएको जन्‍मजात क्षमता भनेको वचन बोल्‍नु र मानिसलाई जित्‍नु हो, बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूत आत्‍माहरू धपाउनु होइन, तर बोल्‍नु हो, र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्‍वरको देहधारण झूट होइन भन्‍ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ, र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्‍न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो, तर उहाँले धेरै चिन्‍हहरू र आश्चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्‍हहरू वा आश्‍चर्यका कामहरू देख्‍नेछैन, न त बिरामीलाई निको पारेको न त भूत आत्‍माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्‍म उपवास बसेको नै देख्‍नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्‍न, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन, तर बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्‍न, उहाँको आफ्‍नै कामलाई वाधा दिनुहुन्‍न। उहाँले मानिसलाई आफ्‍ना वास्तविक वचनहरूद्वारा जित्‍नुहुने हुँदा, उहाँले आश्‍चर्यकर्महरूद्वारा जित्‍नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, जब येशू आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो, र यस पटक जब परमेश्‍वर आउनुहुन्छ, उहाँ महिला हुनुहुन्छ। यसबाट, तैँले के देख्‍न सक्छस् भने आफ्‍नो कामको लागि परमेश्‍वरले पुरुष र स्‍त्री दुवै सृष्टि गर्नुभयो, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता छैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई खुशी लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा भएको हुनेथियो। यदि त्यसो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनु पर्नेथियो, तर काम उही रूपमा पूरा हुनेथियो। यीमध्ये कुनै पनि चरणमा गरिएको काम उत्तिकै महत्त्वपूर्ण छन्; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्रलाई उल्‍लेख गरिँदैन? कामका आवश्यकताहरूको कारणले येशूको भन्दा फरक लिङ्ग परिवर्तनलाई बाध्य गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता छैन। उहाँले आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्ध हरूको अधीनमा हुनुहुन्‍न, तर विशेष गरी स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुई पटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिम पटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले साक्षी दिने गरी व्यक्तिगत रूपमा नै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍ने थियो। …

यदि येशूको काम मात्रै पूरा भएको थियो, र आखिरी दिनहरूको यो चरणको कार्यद्वारा यसलाई पूरक गरिएको थिएन भने, मानिस सँधै भरि नै, येशू मात्रै परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ, अर्थात्, परमेश्‍वरको एउटा मात्रै पुत्र छ, त्यसपछि अर्को नाम लिएर आउने जो-कोही परमेश्‍वरको एक मात्र पुत्र हुँदैनथ्यो, परमेश्‍वर स्वयम् हुने कुरा त परै जाओस् भन्‍ने धारणामा टाँसिरहने थियो। पापबलिको रूपमा सेवा गर्ने वा परमेश्‍वरको तर्फबाट शक्ति लिने र सारा मानवजातिलाई उद्धार गर्ने जोसुकै पनि परमेश्‍वरका एक मात्र पुत्र हुन सक्छ भन्‍ने धारणा मानिसमा छ। आउने व्यक्ति पुरुष हो भने, उहाँलाई परमेश्‍वरका एक मात्र पुत्र र परमेश्‍वरका प्रतिनिधिको रूपमा लिन सकिन्छ भनेर विश्‍वास गर्नेहरू पनि छन्। येशू यहोवाका पुत्र, उहाँका एक मात्र पुत्र हुनुहुन्छ भनेर भन्‍नेहरू समेत छन्। के त्यस्ता धारणाहरू हदभन्दा बढी भएनन् र? यदि कामको यो चरण अन्तिम युगमा नगरिएको भए, परमेश्‍वरको अघि सारा मानवजाति कालो छायामा छोपिनेथिए। यदि यस्तो भएको भए, पुरुषले आफैलाई स्‍त्रीभन्दा उच्‍च ठान्‍नेथियो, र स्‍त्रीहरूले कहिल्यै पनि आफ्‍नो शिर ठाडो पार्न सक्दैनथिए, अनि एक जना स्‍त्रीलाई पनि मुक्त गर्न सकिँदैनथियो। मानिसहरूले सँधै परमेश्‍वर पुरुष हुनुहुन्छ, यति मात्र होइन उहाँले सँधै स्‍त्रीलाई तुच्छ ठान्नुहुन्छ र उनलाई उद्धार दिनुहुन्‍न भनेर विश्‍वास गर्छन्। यदि यस्तो हो भने, यहोवाले सृष्टि गर्नुभएका र भ्रष्ट तुल्याइएका सबै स्‍त्रीहरूले मुक्ति पाउने मौका कहिल्यै पाउने थिएनन् भन्‍ने सत्य हुनेथिएन र? त्यसो भए यहोवाले स्‍त्रीलाई सृष्टि गर्नुभएको, अर्थात्, हव्‍वालाई सृष्टि गर्नुभएको बेकार हुनेथिएन र? अनि के स्‍त्रीअनन्तको लागि नाश हुनेथिएन र?

वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट उद्धृत गरिएको

येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्ने सार मात्र पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो, र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र त्यो देहबाट अलग गर्न नसकिने थियो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्माको साथमा हुनुहुन्थ्यो, जुन देहधारण गर्नुहुने येशू नै परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्नुहुन्छ” भन्ने वाक्यांशको सटीक रूपमा भित्री अर्थ पूरा गर्दछ, “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्‍वर हुनुहुन्थ्यो” भन्ने वाक्यांशमा गहिरो अर्थ थप्दछ र तँलाई “आदिमा वचन थियो” भन्ने वचनमा ठोस रूपमा विश्‍वास गर्ने तुल्याउँछ बनाउँछ। भन्नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्‍ना वचनहरूको शक्ति र अख्तियारलाई अझ स्पष्ट पार्नुहुन्छ र मानिसलाई उहाँका सबै मार्गहरू देख्ने—उहाँका सबै वचनहरू सुन्ने अनुमति दिनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू सम्पूर्ण रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्‍नुको सवाल होइन, तर तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्ने कुराको सवाल हो। यो तैँले धारण गर्नुपर्ने, सबैले जान्‍नुपर्ने गवाही हो। यो दोस्रो देहधारणको काम हो—र परमेश्‍वर देह बन्नुहुने अन्तिम पटक हो—त्यसैले यसले देहधारणको महत्त्वलाई पूर्ण रूपमा पूरा गर्दछ, र देहमा परमेश्‍वरका सम्पूर्ण कामहरूलाई पूरा र प्रस्तुत गर्दछ, परमेश्‍वर देहमा हुनुहुने युगलाई समाप्त गर्दछ।

वचन देहमा देखा पर्नुहुन्छको “अभ्यास (४)” बाट उद्धृत गरिएको

राज्यको युगमा, देहधारी परमेश्‍वरले उहाँमा विश्‍वास गर्ने सबैलाई जित्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्‍वर आउनुभएको छ, भन्‍नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छन्। वचन शरीरमा देखा पर्नुहुन्छको सार यही हो र जब देहधारी परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुहुन्छ, उहाँको वचन शरीरमा देखा पर्नु, र वचन देहमा आउनु भनेको यही हो। “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो, र वचन देह बन्‍नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्‍वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्‍वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्‍वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्‍वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्‍वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्‍ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्‍वरको कामको गति बढिरहेको छ। परमेश्‍वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्‍वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ” बाट उद्धृत गरिएको

किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्‍वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले उद्धारको काम मात्रै गर्नुभयो, र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्‍वर फेरि देह बन्‍नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्‍दमा भन्दा, परमेश्‍वर पूर्ण रूपमा मानव बन्‍नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्‍वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन विल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्‍न सक्‍नुहुन्छ, जसले कुनै पनि आश्‍चर्यकर्मका चिन्‍हहरू देखाउने, आश्‍चर्यकर्महरू गर्ने गर्नुहुन्‍न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक सत्यतालाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्‍ने कुरा छैन भन्‍ने देखिन्छ, र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्‍ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामको तीन चरणहरूको अवधिमा, परमेश्‍वर दुई पटक देहधारी हुनुभएको छ, र दुवै समयमा देहधारी परमेश्‍वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्‍भ गर्छ; देहधारणहरू एक-अर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्‍नु असम्‍भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारी शरीरहरू उही स्रोतबाट आउँछ कि आउँदैन भन्‍ने कुरालाई उहाँहरू जन्‍मनुभएको युग र स्थान वा अन्य कारकतत्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन, तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्‍वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्‍न, किनभने परमेश्‍वरको कामले चलनलाई पालन गर्दैन, तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन, तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्‍वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्‍वरको आफ्‍नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँ सम्‍बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्‍न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्‍वरले आफ्‍नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित समझशक्तिको कारण, परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्‍वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्‍भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्‍वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्‍नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ, र उहाँको ईश्‍वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्‍न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्‍न कामको माध्यमद्वारा उहाँलाई चिन्‍न दिनको लागि परमेश्‍वर देहमा आउनुहुन्छ, र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्‍वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार, र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नको निम्ति अस्तित्वमा हुनुहुन्छ, र दुई फरक युगहरूमा खडा हुनुहुन्छ। जेसुकै भए तापनि, परमेश्‍वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्‍ने सत्य हो।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

देहधारी परमेश्‍वर र परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्तिहरूबीचका आधारभूत भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू: देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि...

आखिरी दिनहरूमा काम गर्नको लागि परमेश्‍वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व

परमेश्‍वरका प्रासंगिक वचनहरू: यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो।...

आखिरी दिनहरूको न्यायको काम गर्न परमेश्‍वरले किन मानिसलाई प्रयोग गर्नुहुन्न, बरु देहधारी बन्नुहुन्छ र आफै यो काम गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन...

भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरबाट प्राप्त हुने मुक्तिको अझ बढी खाँचो छ भनी किन भनिन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्