आखिरी दिनहरूमा काम गर्नको लागि परमेश्‍वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई जितिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छ, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई जितिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। त्यसरी नै चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीनले अन्धकारका सबै शक्तिहरू सम्मिलित गर्दछ, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको जोरदार विरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवताको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले उहाँको विरोध गरिरहेका हुन सक्छन्। किन यहूदीहरूले पनि परमेश्‍वरको विरोध गरे र उहाँलाई चुनौती दिए? किन फरिसीहरूले पनि उहाँको विरोध गरे? किन यहूदाले येशूलाई धोका दिए? त्यो बेला धेरै जना चेलाहरूले येशूलाई चिनेनन्। येशू क्रूसमा टाँगिएर मर्नुभएपछि र फेरि जीवित हुनुभएपछि पनि किन मानिसहरूले अझै उहाँमा विश्‍वास गरेनन्? के मानिसको अनाज्ञाकारिता एकै प्रकारको छैन र? चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरू जितिन्छन् तिनीहरू आदर्श र नमुनाहरू बन्नेछन्, र अरूका निम्ति उदाहरणहरूका रूपमा काम गर्छन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापन योजनाको एक सहायक हौ भन्दछु? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह पूर्ण रूपमा देखिएका छन् र तिनका विभिन्न स्वरूपहरू प्रकट भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र सोच पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र धेरै पछौटे छन्। तिनीहरूका दर्जा पनि निकै नीच छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो जाँचको काम सम्पूर्ण रूपमा पूरा गरिएपछि परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै राम्रोसँगले अघि बढ्नेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछि कामहरू अवश्य अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको बीचमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

सबै देशहरूमध्ये चीन सबैभन्दा पछाडिएको देश हो; यो त्यो देश हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्केर बस्छ, यसमा मूर्तिपूजा गर्ने र जादू-मन्‍त्र गर्ने धेरै मानिसहरू छन्, यहाँ धेरै मन्दिरहरू छन्, र यो फोहोर भूतात्माहरू बास बस्‍ने ठाउँ हो। तँ यहीँ जन्मेका थिइस्, तैंले यसद्वारा शिक्षा पाइस् र त्यसको प्रभावमा परिस्; तँ त्यसद्वारा भ्रष्ट पारिएको र सताइएको छस्, तर बिउँझिएपछि तैंले त्यसलाई त्याग्छस् र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन्छस्। यो परमेश्‍वरको महिमा हो, र यसैले कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वरले यत्रो ठूलो काम गर्नुभएको छ, यति धेरै वचनहरू बोल्नुभएको छ, र उहाँले आखिरमा तिमीहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ—यो परमेश्‍वरको व्यवस्थापनको कामको एउटा हिस्सा हो, र तिमीहरू शैतानसँगको परमेश्‍वरको लडाइँका “विजय गरी लुटिएका थोकहरू” हौ। तैँले सत्यलाई जति धेरै बुझ्छस् र तेरो मण्डली जीवन जति राम्रो हुन्छ, त्यो ठूलो रातो अजिङ्गरलाई त्यति नै बढी घुँडा टेकाइन्छ। यी सबै आत्मिक संसारका विषयहरू हुन्—ती आत्मिक संसारका लडाइँहरू हुन्, र जब परमेश्‍वर विजयी हुनुहुनेछ, शैतान लज्जित हुनेछ र ढल्‍नेछ। परमेश्‍वरको कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वर यस्तो वृहत् काम गर्नुहुन्छ र मानिसहरूको यो समूहलाई पूर्ण रूपमा मुक्ति दिनुहुन्छ, ताकि तैँले शैतानको प्रभावबाट मुक्त हुन, पवित्र भूमिमा बस्न, परमेश्‍वरको ज्योतिमा रहन, र ज्योतिको नेतृत्व र अगुवाइ पाउन सक्छस्। अनि त्यसपछि तेरो जीवनको अर्थ हुन्छ। तिमीहरूले जे खान्छौ र पहिरिन्छौ त्यो अविश्‍वासीहरूको भन्दा फरक हुन्छ; तिमीहरूलाई परमेश्‍वरका वचनहरूमा आनन्द लाग्छ, र तिमीहरू अर्थपूर्ण जीवन जिउँछौ—र तिनीहरू कुन कुरामा रमाउँछन्? तिनीहरूले केवल आफ्ना “पुर्ख्यौली सम्पदा” र “राष्ट्रिय भावना” मा आनन्द मनाउँछन्। तिनीहरूसँग मानवताको छाप रत्तीभर पनि हुँदैन! तिमीहरूका वस्त्र, बोलीवचन र कार्यहरू उनीहरूको भन्दा फरक छन्। आखिरमा, तिमीहरू पूर्ण रूपमा फोहोरबाट उम्‍कनेछौ, अब उप्रान्त शैतानको परीक्षाको पासोमा फस्नेछैनौ, र परमेश्‍वरको दैनिक प्रबन्ध प्राप्त गर्नेछौ। तिमीहरू सधैँ सतर्क हुनुपर्दछ। तिमीहरू फोहोर ठाउँमा बसे पनि तिमीहरूलाई फोहोरको दाग लागेको छैन र तिमीहरू परमेश्‍वरको महान् सुरक्षा पाउँदै उहाँको छेउमा बस्‍न सक्छौ। परमेश्‍वरले तिमीहरूलाई पहेँलो देशका सबै मानिसहरू मध्येबाट चुन्नुभएको छ। के तिमीहरू सबैभन्दा धन्य व्यक्तिहरू होइनौ र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२)

अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा ठूलो अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्‍वर तिनीहरूबाट महिमा प्राप्त गर्न इच्छुक हुनुहुन्छ, किनकि तिनीहरू पहिले त्यस्ता मानिसहरू थिए जसको हृदयमा परमेश्‍वर हुनुहुन्‍नथियो; हृदयमा परमेश्‍वर नभएका मानिसहरूलाई उहाँको आज्ञापालन गर्ने र प्रेम गर्ने तुल्याउनु नै साँचो विजय हो, अनि त्यस्तो कामको फल धेरै मूल्यवान् र धेरै विश्‍वसनीय हुन्छ। महिमा प्राप्त गर्नु भनेको यो मात्रै हो—आखिरी दिनहरूमा परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको महिमा यही नै हो। यी मानिसहरू तल्लो दर्जाका भए तापनि, तिनीहरूले अहिले त्यस्तो ठूलो मुक्ति पाउन सकेको तथ्य साँच्चिकै परमेश्‍वरद्वारा गरिएको एउटा उत्थान हो। यो काम अत्यन्त महत्त्वपूर्ण छ, अनि न्यायद्वारा नै उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुन्छ। यी मानिसहरूलाई दण्ड दिनु होइन तर तिनीहरूलाई मुक्ति दिनु उहाँको अभिप्राय हो। यदि आखिरी दिनहरूको अवधिमा, उहाँले अझै पनि इस्राएलमा विजयको काम गरिरहनुभएको भए, यो मूल्यहीन हुनेथियो; यसले फल फलाएको भए पनि, यसको मूल्य वा कुनै ठूलो महत्त्व हुने थिएन, अनि उहाँले सबै महिमा हासिल गर्न सक्नुहुने थिएन। उहाँले तिमीहरूमाथि काम गरिरहनुभएको छ, जो सबैभन्दा अन्धकारपूर्ण ठाउँमा खसेका छन्, जो सबैभन्दा पिछडिएका छन्। यी मानिसहरूले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्दैनन् र परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै जानेका छैनन्। यी प्राणीहरू शैतानद्वारा यति भ्रष्ट भएका छन् कि तिनीहरूले परमेश्‍वरलाई बिर्सेका छन्। तिनीहरू शैतानद्वारा अन्धा तुल्याइएका छन् अनि स्वर्गमा परमेश्‍वर हुनुहुन्छ भनी तिनीहरू बिलकुल जान्दैनन्। तिमीहरूको हृदयमा, तिमीहरू सबैले मूर्तिहरूलाई पूजा गर्छौ र शैतानको आराधना गर्छौ—के तिमीहरू सबैभन्दा तल्लो, सबैभन्दा पिछडिएका मानिसहरू होइनौ र? तिमीहरू कुनै व्यक्तिगत स्वतन्त्रता नभएका, सबैभन्दा तल्लो स्तरका देह हौ अनि तिमीहरूले कठिनाइहरू पनि भोग्छौ। तिमीहरू, विश्‍वासको स्वतन्त्रता समेत नभएका, यस समाजको सबैभन्दा तल्लो तहका मानिसहरू पनि हौ। यसैमा तिमीहरूमाथि काम गर्नुको महत्त्व छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

परमेश्‍वर सबैभन्दा पछौटे र फोहर ठाउँमा देह बन्नुभयो, र यस्तो तरिकाले मात्र परमेश्‍वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट रूपमा देखाउन सक्नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव कुन माध्यमबाट देखाइन्छ? यो त्यस बेला देखाइन्छ जब उहाँले मानिसको पापको न्याय गर्नुहुन्छ, जब उहाँले शैतानको न्याय गर्नुहुन्छ, जब उहाँले पापलाई घृणा गर्नुहुन्छ, र जब उहाँको विरोध गर्ने र उहाँको विरुद्धमा विद्रोह गर्ने शत्रुहरूलाई तुच्छ ठान्नुहुन्छ। मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मको न्याय गर्न, मानिसको अनाज्ञाकारितालाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोली-वचनहरू र कामहरू—जुन सबै परमेश्‍वरको विरोधाभासमा छन्, ती सबलाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको अनाज्ञाकारितालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा नै केन्द्रित हुन्छन्; उहाँले आफ्नै धार्मिक स्वभाव प्रकट गर्न मानिसको अधर्मको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धार्मिक स्वभावको प्रतिनिधित्व हो, र वास्तवमा परमेश्‍वरको पवित्रता उहाँको धार्मिक स्वभाव नै हो। तिमीहरूका भ्रष्ट स्वभावहरू नै आजका वचनहरूको सन्दर्भ हुन्—म तिनलाई बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्नको लागि प्रयोग गर्दछु। वास्तविक काम यही मात्र हो, र यो यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्कने तुल्याउँछ। यदि तँमा भ्रष्ट स्वभावको कुनै छाप छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा एक भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसैद्वारा नै उहाँको पवित्रतालाई देखाइन्छ। …

इस्राएलमा गरिएको काम र आजको कामको बीचमा ठूलो भिन्नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो र त्यहाँ त्यति धेरै सजाय र दण्ड थिएन, किनकि त्यसबेला मानिसहरूले संसारलाई थोरै मात्र बुझेका थिए, र भ्रष्ट स्वभावहरू थोरै थिए। त्यसबेला, इस्राएलीहरूले पूर्ण रूपमा यहोवाको आज्ञा पालन गर्थे। जब उहाँले तिनीहरूलाई वेदीहरू बनाउनू भनी भन्नुभयो, तब तिनीहरूले तुरुन्तै वेदीहरू निर्माण गरे; जब उहाँले तिनीहरूलाई पूजाहारीको पोसाक लगाउनू भनी भन्‍नुभयो, तिनीहरूले आज्ञापालन गरे। ती दिनहरूमा, यहोवा भेडाको बगाललाई हेरचाह गर्ने गोठालो झैं हुनुहुन्थ्यो, भेडाहरू गोठालोको अगुवाइमा हिँड्थे र चरनका घाँसहरू खान्थे; के खाने, कसरी लुगा लगाउने, कसरी बस्ने अनि कसरी यात्रा गर्ने भनी बताउँदै यहोवाले तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो। त्यो परमेश्‍वरको स्वभाव स्पष्ट पार्ने समय थिएन, किनकि त्यस समयको मानवजाति भर्खर जन्मेको थियो; त्यहाँ विद्रोही र विरोधीहरू थोरै थिए, मानवजातिको बीचमा त्यति फोहोर थिएन, यसैले मानिसहरूले परमेश्‍वरको स्वभावको प्रतिभारको रूपमा काम गर्न सक्दैनथिए। त्यो फोहोरको देशबाट आएकै मानिसहरूद्वारा परमेश्‍वरको पवित्रतालाई देखाइन्छ; आज, उहाँले फोहोर देशका यी मानिसहरूमा प्रकट भएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँले न्याय गर्नुहुन्छ, र न्यायको बीचमा उहाँले यही कुरा प्रकट गर्नुहुन्छ। उहाँले किन न्याय गर्नुहुन्छ? उहाँले न्यायको वचनहरू बोल्न सक्नुहुन्छ, किनकि उहाँले पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँले मानवजातिको विद्रोहीपनलाई घृणा गर्नु हुँदैनथियो भने उहाँले कसरी त्यत्ति रिसाउन सक्नुहुन्थ्यो? यदि उहाँभित्र कुनै घृणा, कुनै इन्कार थिएन भने, यदि उहाँले मानिसहरूको विद्रोहलाई ध्यान नदिनुभएको भए, त्यसले उहाँलाई मानिस जस्तै फोहोर साबित गर्नेथियो। उहाँले मानिसको न्याय गर्न र मानिसलाई सजाय दिन सक्नुहुन्छ, किनकि उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र उहाँले जुन कुरालाई घृणा गर्नुहुन्छ त्यो उहाँमा छँदैछैन। यदि उहाँमा पनि विरोध र विद्रोह भएको भए, उहाँले विरोधी र विद्रोहीहरूलाई तुच्छ मान्नुहुने थिएन। यदि आखिरी दिनहरूको काम इस्राएलमा गरिएको भए त्यसको कुनै अर्थ हुने थिएन। आखिरी दिनहरूको काम किन चीनमा भइरहेको छ, जुन सबैभन्दा अन्धकार र पछौटे ठाउँ हो? यो उहाँको पवित्रता र धार्मिकता प्रदर्शन गर्नका लागि हो। संक्षेपमा, ठाउँ जति धेरै अन्धकार हुन्छ परमेश्‍वरको पवित्रता त्यत्ति नै बढी स्पष्ट रूपमा देखाउन सकिन्छ। वास्तवमा, यी सबै परमेश्‍वरको कामका लागि हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन मानिस बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यो उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो एक पवित्र देश होस् वा फोहोर देश होस्, र उहाँले जहाँ-सुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यो सबै शैतानद्वारा भ्रष्ट पारिएका छन्। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि एउटा फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यो सबै मानव जातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले राम्ररी परमेश्‍वरको सर्वोच्चता प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भन्ने प्रमाणित गर्दैन; यसले केवल सबै सृष्टिलाई मानव जातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै बढी उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, के उहाँको कामको प्रत्येक भाग सबै मानव जातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यो सबै मानव जातिले महान् मुक्ति पाऊन् भनेर होइन गरिएको र? दुई हजार वर्ष अघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइन र? यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने एउटा डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूको माझमा जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने, उहाँ किन दोस्रो पटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानव जातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा अप्रदूषित हुनुहुन्छ, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको अर्थ केवल यो हुन सक्छ कि मानव जातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका गन्तव्यका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ भनी के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, उहाँले नम्रहरूलाई र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यो सबै उहाँको पवित्रता होइन र? के यो सबै उहाँको धार्मिकता होइन र? सबै मानव जाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्‍मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्‍ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्‍ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्‍ने भए पनि, उहाँले आफैलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानव जातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैन र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र? तिमीहरू भूतात्माहरू भेला हुने ठाउँमा जन्‍मियौ, तापनि तिमीहरूले ठूलो सुरक्षा पाएका छौ। तिमीहरूसित के विकल्‍प छ र? तिमीहरूसित के गुनासा छन्? के उहाँले भोग्नुभएको कष्ट तिमीहरूले भोगेको कष्टभन्दा ठूलो छैन र? उहाँ पृथ्वीमा आउनुभएको छ र कहिल्यै मानव संसारको खुसीयालीहरूमा आनन्दित हुनुभएको छैन। उहाँले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ। मानिसहरूले उहाँलाई भौतिक कुराहरू उपलब्ध गराऊन् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएन, न त उहाँ खाना, कपडा, अनि गरगहनाको आनन्द लिन नै आउनुभयो। उहाँले यी कुराहरूलाई कुनै ध्यान दिनहुन्न। उहाँ पृथ्वीमा मानिसको निम्ति कष्ट उठाउन आउनुभयो, भौतिक सम्पत्तिको आनन्द लिन होइन। उहाँ कष्ट भोग्न, काम गर्न, र उहाँको व्यवस्थापन योजनाको काम पूरा गर्न आउनुभयो। उहाँले एउटा राजदूतावास वा एउटा भव्य होटेलमा बस्न एउटा राम्रो ठाउँ रोज्नुभएन, न त उहाँसित उहाँलाई पर्खने नोकरहरूको झुण्ड नै छ। तिमीहरूले जे देखेका छौ, त्यसको आधारमा, के तिमीहरूलाई उहाँ काम गर्न आउनुभयो कि आनन्दको निम्ति भन्‍ने थाहा छैन? के तिमीहरूका आँखाले देख्दैनन्? उहाँले तिमीहरूलाई कति धेरै दिनुभएको छ? यदि उहाँ एउटा आरामदायी ठाउँमा जन्मिनुभएको भए, के उहाँले महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो? के उहाँले काम गर्न सक्नुहुन्थ्यो? के उहाँले त्यसो गर्नुको कुनै महत्त्व हुन्थ्यो? के उहाँले मानवजातिलाई पूर्ण रीतिले विजय गर्न सक्‍नुहुन्थ्यो? के उहाँले मानिसहरूलाई फोहोरको देशबाट उद्धार गर्न सक्नुहुन्थ्यो? मानिसहरूले आफ्नो धारणाहरू अनुसार सोध्छन्: “परमेश्‍वर पवित्र हुनुहुन्छ भने किन उहाँ हाम्रो यस फोहोर ठाउँमा जन्मिनुभयो? तपाईंले हामी फोहोरी मानिसहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ; तपाईंले हाम्रो प्रतिरोध र हाम्रो विद्रोहीपनलाई घृणा गर्नुहुन्छ, त्यसैले, किन तपाईं हामीसित बस्नुहुन्छ? तपाईं एउटा सर्वोच्च परमेश्‍वर हुनुहुन्छ। तपाईं कहीँ पनि जन्मिन सक्नुहुन्थ्यो, तब किन तपाईं यस फोहोरी देशमा जन्मिनु पर्‍यो? तपाईंले हामीलाई हरेक दिन सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, अनि तपाईं स्पष्ट रूपले जान्नुहुन्छ कि हामी मोआबका सन्तानहरू हौँ, तैपनि किन तपाईं अझै हाम्रो माझ बस्नुहुन्छ? किन तपाईं मोआबका सन्तानहरूको परिवारमा जन्मिनुभयो? तपाईंले किन त्यसो गर्नुभयो?” तिमीहरूका त्यस्ता विचारहरू पूर्ण रूपले तर्करहित छन्! केवल त्यस्तो कामले मात्रै मानिसहरूलाई उहाँको महानता, उहाँको नम्रता र गुप्तता देखाउँछ। उहाँ आफ्नो कामको खातिर सबै कुरा बलिदान गर्न इच्छुक हुनुहुन्छ, अनि उहाँले आफ्नो कामको खातिर सबै कष्ट सहनुभएको छ। उहाँले मानवजातिको खातिर, अनि त्यसभन्दा बढी, शैतानलाई जित्नको लागि कार्य गर्नुहुन्छ, ताकि सबै सृष्टि उहाँको अधीनतामा सुम्पिन सकेका होऊन्। अर्थपूर्ण, मूल्यवान् काम यही मात्रै हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

अघिल्लो दुई युगहरूको कार्यको एउटा चरणलाई इस्राएलमा अघि बढाइएको थियो, र एउटालाई यहूदियामा अघि बढाइयो। सामान्य रूपमा भन्दा, न त यो कामको कुनै पनि चरणले इस्राएललाई छोड्यो, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूका माझमा नै गरिएको थियो। परिणामस्वरूप, यहोवा परमेश्‍वर इस्राएलीहरूका एक मात्र परमेश्‍वर हुनुहुन्छ भन्नेू इस्राएलीहरूले विश्‍वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभयो, जहाँ उहाँले क्रूसीकरणको काम गर्नुभयो, त्यसकारण यहूदीहरूले उहाँलाई यहूदी मानिसहरूका मुक्तिदाताको रूपमा हेर्छन्। तिनीहरूले सोच्छन् कि उहाँ यहूदीहरूका मात्रै राजा हुनुहुन्छ, अरू कुनै मानिसहरूको होइन; अर्थात्, उहाँ अङ्ग्रेजहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, अमेरिकीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, तर इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; अनि इस्राएलमा उहाँले छुटकारा दिनुभएकाहरू यहूदीहरू नै थिए। वास्तविकतामा, परमेश्‍वर यावत् थोकका मालिक हुनुहुन्छ। उहाँ सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्न, न त यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ; उहाँ सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँको कार्यका अघिल्ला दुई चरणहरू इस्राएलमा भए, जसले मानिसहरूमा निश्चित धारणाहरू सिर्जना गरेको छ। तिनीहरुले विश्‍वास गर्छन कि यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयमले आफ्नो काम यहूदियामा गर्नुभयो, र, यसको साथै, उहाँ काम गर्नको लागि देह बन्नु्भयो—र जेसुकै भए तापनि, यो काम इस्राएलभन्दा टाढा विस्तार गरिएन। परमेश्‍वरले मिश्रीहरू वा भारतीयहरूमा काम गर्नुभएन; उहाँले इस्राएलीहरूमा मात्रै काम गर्नुभयो। यसरी मानिसहरूले विभिन्न धारणाहरू निर्माण गर्छन्, अनि परमेश्‍वरको कार्यलाई निश्चित क्षेत्रभित्र चित्रण गर्छन्। तिनीहरू भन्छन् कि जब परमेश्‍वरले काम गर्नुहुन्छ, उहाँले चुनिएका मानिसहरूका माझमा, र इस्राएलमा नै सो गर्नुपर्छ; इस्राएलीहरू बाहेक, परमेश्‍वरले अरू कसैको माझमा काम गर्नुहुन्न, न त उहाँको कामको कुनै ठुलो क्षेत्र नै छ। देहधारी परमेश्‍वरलाई ठीक ठाउँमा राख्ने बारेमा तिनीहरू विशेष गरी कठोर हुन्छन्, र इस्राएलको सीमाभन्दा टाढा उहाँलाई जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणाहरू मात्रै होइनन् र? परमेश्‍वरले स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू बनाउनुभयो, उहाँले सारा सृष्टिलाई बनाउनुभयो, त्यसकारण उहाँले कसरी आफ्नो कामलाई इस्राएलमा मात्रै सीमित राख्न सक्नुहुन्छ र? यदि त्यसो हो भने, उहाँले सारा सृष्टिलाई बनाउनुको अर्थ के हुने थियो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले इस्राएलमा मात्रै होइन, तर ब्रह्माण्डका हरेक व्यक्तिमा आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनालाई कार्यान्वयन गर्नुभएको छ। तिनीहरू चीन, संयुक्त राज्य अमेरिका, बेलायतमा बसून् या रूसमा बसून्, हरेक व्यक्ति आदमका सन्तान नै हुन्; तिनीहरू सबैलाई परमेश्‍वरले नै बनाउनुभएको हो। तिनीहरूमध्ये एक जना पनि सृष्टिको सीमानाहरूबाट बाहिर उम्कन सक्दैनन्, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमका सन्तान” भन्ने नामबाट आफूलाई अलग गर्न सक्दैनन्। तिनीहरू सबै परमेश्‍वरका प्राणीहरू हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै नै आदम र हव्वाका भ्रष्ट तुल्याइएका वंश पनि हुन्। परमेश्‍वरको सृष्टि इस्राएलीहरू मात्रै होइन्, तर सबै मानिसहरू हुन्; यति मात्रै हो कि कतिलाई श्राप दिइएको छ, र कतिलाई आशिष दिइएको छ। इस्राएलीहरूका बारेमा सहमत गर्न सकिने कुराहरू धेरै छन्; परमेश्‍वरले शुरुमा तिनीहरूमा काम गर्नुभयो किनभने तिनीहरू सबैभन्दा कम भ्रष्ट थिए। चिनियाँहरूलाई तिनीहरूसँग तुलना गर्न सकिँदैन; तिनीहरू अत्यन्तै निम्न छन्। त्यसकारण, प्रारम्भमा परमेश्‍वरले इस्राएलका मानिसहरूका माझमा काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरणलाई यहूदियामा मात्रै गरियो—जसले मानिसको माझमा विभिन्न धारणाहरू र नियमहरू पैदा गरेको छ। वास्तवमा, यदि परमेश्‍वरले मानवीय धारणाहरू अनुसार काम गर्नुभएको थियो भने, उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, र आफ्नो कामलाई गैरयहूदी राष्ट्रहरूमा बढाउन असक्षम हुनुहुने थियो, किनभने उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, सारा सृष्टिका परमेश्‍वर होइन। गैरयहूदी राष्ट्रहरूका बीच यहोवाको नामको महिमा हुनेछ, कि यो गैरयहूदी राष्ट्रहरूमा फैलनेछ भनेर अगमवाणीहरूले बताए। किन यो अगमवाणी गरियो? यदि परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्रै काम गर्नुहुने थियो। यसको साथै, उहाँले यो कामलाई फैलाउनुहुने थिएन, र उहाँले त्यस्तो अगमवाणी गर्नुहुने थिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, उहाँले अवश्य नै गैरयहूदी राष्ट्रहरू, हरेक राष्ट्र र हरेक भूमिमा आफ्नो काम फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नु नै पर्छ; उहाँको योजना यही नै हो, किनभने उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने प्रभु, र सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूका माझमा काम गर्नुभए पनि, वा यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्नुहुने काम सम्पूर्ण ब्रह्माण्डको काम हो र सम्पूर्ण मानवजातिको काम हो। विशाल रातो अजिङ्गरको देशमा—गैरयहूदी देशमा—आज उहाँले गर्नुहुने काम अझै सम्पूर्ण मानवजातिको काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्यो; त्यसरी नै, चीन पनि गैरयहूदी राष्ट्रहरूका माझमा उहाँले गर्नुहुने कामको आधार बन्न सक्छ। के उहाँले अब “गैरयहूदी राष्ट्रहरूका माझमा यहोवाको नामको महिमा हुनेछ” भन्ने अगमवाणीलाई पूरा गर्नुभएको छैन र? गैरयहूदी राष्ट्रहरूका माझमा उहाँको कामको पहिलो चरण, अर्थात् उहाँले विशाल रातो अजिङ्गरको देशमा गर्नुहुने काम, अर्थात् यही काम हो। देहधारी परमेश्‍वरले यो भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूका माझमा काम गर्नुपर्छ भन्ने कुरा मानव धारणाहरूका लागि निश्चय नै अलिक अमिल्दो छ; यिनीहरू सबैभन्दा निम्न मानिसहरू हुन्, र तिनीहरूका कुनै मूल्य छैन, र तिनीहरूलाई शुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरूलाई अरू मानिसहरूले त्याग्न् सक्छन्, तर यदि तिनीहरूलाई परमेश्‍वरद्वारा त्यागिन्छन् भने, त्यतिको प्रतिष्ठाविहीन कोही पनि हुँदैन, त्यतिको कम मूल्यको कोही पनि हुँदैन। परमेश्‍वरको सृष्टिको लागि, शैतानको वशमा हुनु वा मानिसहरूद्वारा त्यागिनु अत्यन्तै पीडादायक कुरा हो—तर कुनै सृष्टि उसको सृष्टिकर्ताद्वारा त्यागिनु जत्तिको निम्न प्रतिष्ठा केही हुँदैन। मोआबका सन्तानहरू श्रापित थिए, र तिनीहरू त्यस पिछडिएको देशमा जन्मिएका थिए; अन्धकारको प्रभावमा रहेका सबै मानिसहरूमध्ये, मोआबका सन्तानहरू नै सबैभन्दा कम प्रतिष्ठा भएकाहरू हुन् भन्ने कुरामा कुनै शङ्का छैन। यी मानिसहरूका अहिलेसम्म सबैभन्दा कम प्रतिष्ठा भएका हुनाले, तिनीहरूमा गरिने कामले मानव धारणाहरूलाई राम्ररी तोड्न सक्छ, र यो परमेश्‍वरको सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको लागि पनि सबैभन्दा फाइदाजनक छ। यी मानिसहरूका माझमा त्यस किसिमको काम गर्नु भनेको मानव धारणाहरूलाई तोड्ने सबैभन्दा राम्रो तरिका हो, र यससँगै परमेश्‍वरले नयाँ युगको शुरूवात गर्नुहुन्छ; यसद्वारा उहाँले सारा मानव धारणाहरूलाई तोड्नुहुन्छ; यसद्वारा उहाँले सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नुहुन्छ। उहाँको पहिलो काम इस्राएलको सिमानाभित्र, यहूदियामा गरियो; गैरयहूदी राष्ट्रहरूका माझमा, उहाँले नयाँ युग आरम्भ गर्नको लागि कुनै काम गर्नुभएन। त्यो कामको अन्तिम चरणलाई अन्यजातिहरूका माझमा गरिने मात्रै होइन, तर अझै बढी श्रापित भएकाहरूका माझमा अझै बढी गरिन्छ। यो एउटा बुँदा शैतानलाई अपमान गर्नुमा सबैभन्दा बढी सक्षम प्रमाण हो, र तसर्थ, यो परमेश्‍वर ब्रह्माण्डका सारा सृष्टिका परमेश्‍वर, यावत् थोकका प्रभु, जीवन भएका हरेक कुराले आराधना गर्ने पात्र “बन्नु्हुन्छ”।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

आज, परमेश्‍वरले के नयाँ कामको शुरुवात गर्नुभएको छ भनेर अझै नबुझ्ने्हरू पनि छन्। गैरयहूदी राष्ट्रहरूका माझमा, परमेश्‍वरले नयाँ शुरुवातलाई प्रारम्भ गर्नुभएको छ। उहाँले नयाँ युगको शुरुवात गर्नुभएको छ, र नयाँ कार्यलाई प्रारम्भ, गर्नुभएको छ—र उहाँले मोआबका सन्तानहरूमा यो काम गर्नुहुन्छ। के यो उहाँको सबैभन्दा नयाँ काम होइन र? इतिहासभरिका कसैले पनि यो कामलाई पहिले कहिल्यै अनुभव गरेको छैन। कसैले पनि यसको बारेमा कहिल्यै सुनेको छैन्, यसलाई सराहना गर्ने कुरा त परै जाओस्। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्चर्य, परमेश्‍वरको अगम्यता, परमेश्‍वरको महान्‌ता, र परमेश्‍वरको पवित्रता सबैलाई कामको यो चरण, अर्थात् आखिरी दिनहरूका कामद्वारा प्रकट गरिन्छन्। के यो नयाँ कार्य, अर्थात् मानव धारणाहरूलाई तोड्ने कार्य होइन र? यस्तो तरिकाले विचार गर्नेहरू पनि छन्; “परमेश्‍वरले मोआबलाई श्राप दिनुभएको र उहाँले मोआबका सन्तानलाई त्याग्नेछु भनी भनिसक्नु भएको हुनाले, उहाँले तिनीहरूलाई अहिले कसरी मुक्ति दिन सक्नुहुन्छ र?” यिनीहरू परमेश्‍वरद्वारा श्रापित भएका र इस्राएलद्वारा बहिष्कृत अन्यजातिहरू हुन्; इस्राएलीहरूले तिनीहरूलाई “अन्यजाति कुकुरहरू” भन्थे। हरेकको नजरमा, तिनीहरू अन्यजाति कुकुरहरू मात्रै होइन्, तर त्यो भन्दा खराब, विनाशका पुत्रहरू हुन् भन्नुको अर्थ, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन् भन्ने हो। तिनीहरू इस्राएलका सिमानाहरूभित्र जन्मिएका हुन सक्छन्, तर तिनीहरू इस्राएलका मानिसहरूमा पर्दैनन्, र तिनीहरूलाई गैरयहूदी राष्ट्रहरूमा निष्कासित गरिए। तिनीहरू सबै मानिसहरूमध्ये सबैभन्दा निम्न छन्। यो स्पष्ट छ किनकि तिनीहरू मानवजातिमा सबैभन्दा निम्न भएका हुनाले परमेश्‍वरले तिनीहरूका माझमा नयाँ युगको प्रारम्भ गर्ने उहाँको काम गर्नुहुन्छ, किनभने तिनीहरूले भ्रष्ट मानवजातिको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरको कार्य चयनशील र लक्षित छ; उहाँले यी मानिसहरूका माझमा आज गर्नुहुने काम उहाँले सृष्टिमा गर्नुहुने काम पनि हो। नोआ उनका सन्तानहरू जस्तै परमेश्‍वरका सृष्टि थिए। देह र रगतले बनिएका संसारमा भएका जोकोही मानिसहरू परमेश्‍वरका सृष्टिहरू हुन्। परमेश्‍वरको कार्य सारा सृष्टिप्रति लक्षित छ; कुनै व्यक्ति सृष्टि गरिएपछि श्रापित छ कि छैन भन्ने कुरामा यो निर्भर हुदैन। उहाँको व्यवस्थापन कार्य सारा सृष्टिप्रति लक्षित छ, श्रापित नभएका चुनिएका मानिसहरूप्रति होइन। परमेश्‍वरले आफ्नो् काम आफ्नो सृष्टिको माझमा गर्न चाहनुहुने भएकोले, उहाँले यसलाई सफलतापूर्वक पूरा गर्ने गरी यो गर्नुहुनेछ, र उहाँले उहाँको कामको लागि फाइदाजनक मानिसहरूका माझमा काम गर्नुहुनेछ। त्यसकारण, मानिसहरूका माझमा काम गर्ने क्रममा उहाँले सबै परम्पराहरूलाई तोड्नुहुन्छ; उहाँको लागि, “श्रापित,” “सजाय दिइएको” र “आशिषित” भन्ने शब्दहरू अर्थहीन छन्! यहूदी मानिसहरू, इस्राएलका चुनिएका मानिसहरू जस्तै असल छन्; तिनीहरू असल क्षमता र मानवता भएका मानिसहरू हुन्। शुरुमा, तिनीहरूकै माझमा यहोवाले आफ्नो काम शुरु गर्नुभयो र आफ्नो सबैभन्दा शुरुको काम गर्नुभयो—तर तिनीहरूमा आज विजयको काम गर्नु व्यर्थ हुने थियो। तिनीहरू पनि सृष्टिको भाग हुन सक्छन्, र तिनीहरूको बारेमा धेरै कुरा सकारात्मक हुन सक्छ, तर तिनीहरूका माझमा कामको यो चरण गर्नुको कुनै अर्थ हुने थिएन; परमेश्‍वरले मानिसहरूलाई विजय गर्न सक्नुहुने थिएन, न त उहाँले सारा सृष्टिलाई विश्‍वस्त तुल्याउन नै सक्नुहुने थियो, र उहाँको कामलाई विशाल रातो अजिङ्गरको देशका मानिसहरूमा सार्नको कारण पनि ठीक त्यही नै हो। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँले युगको शुरूवात गर्नु, उहाँले सारा नियमहरू र सारा मानव धारणाहरूलाई तोड्नु र सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नु हो। यदि उहाँको हालको कार्यलाई इस्राएलीहरूका माझमा गरिएको भए, छ हजार वर्षे व्यवस्थापन योजना समाप्त भइञ्जेलसम्ममा, सबैले परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन्, परमेश्‍वरको आशिष र प्रतिज्ञाको हकदार हुन योग्य इस्राएलीहरू मात्रै हुन् भनेर विश्‍वास गर्ने थिए। विशाल रातो अजिङ्गरको देश अर्थात् गैरयहूदी देशमा आखिरी दिनहरूको अवधिमा भएको परमेश्‍वरको देहधारणले सारा सृष्टिका परमेश्‍वरका रूपमा परमेश्‍वरको कामलाई पूरा गर्छ; उहाँले आफ्नो सम्पूर्ण व्यवस्थापन कार्यलाई पूरा गर्नुहुन्छ, र उहाँले आफ्नो् कामको प्रमुख भाग विशाल रातो अजिङ्गरको देशमा समाप्त गर्नुहुन्छ। यी तीन वटा चरणहरूको कार्यको केन्द्र भनेको मानिसको मुक्ति हो—अर्थात्, सारा सृष्टिलाई सृष्टिकर्ताको आराधना गर्ने बनाउनु हो। तसर्थ, कामको हरेक चरणको ठूलो अर्थ हुन्छ; परमेश्‍वरले अर्थ वा मूल्य विनाको केही पनि गर्नुहुन्न। एकतर्फ, कामको यो चरणले नयाँ युगलाई प्रारम्भ गर्छ र अघिल्ला दुई वटा युगहरूलाई समाप्त गर्छ; अर्कोतर्फ, यसले सारा मानव धारणाहरू र मानव विश्‍वास र ज्ञानको सबै पुराना शैलीहरूलाई तोड्छ। अघिल्ला दुई युगहरूको कार्य फरक मानव धारणाहरू अनुसार गरियो; तैपनि, यो चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, जसद्वारा यसले मानवजातिलाई पूर्ण रूपमा जित्छ। मोआबका सन्तानहरूलाई विजय गरेर, मोआबका सन्तानहरूका माझमा गरिएको कार्यद्वारा, परमेश्‍वरले ब्रह्माण्डभरिका सारा मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यो चरणको सबैभन्दा गहन महत्त्व यही नै हो, र उहाँको कामको यो चरणको सबैभन्दा बहुमूल्य पक्ष यही नै हो। तेरो प्रतिष्ठा निम्न छ र तेरो मूल्य थोरै छ भन्ने तँलाई थाहा छ भने पनि, तैँले सबैभन्दा आनन्ददायी कुरा भेटेको छस् भन्ने तैँले अनुभव गर्नेछस्; तँ महान् आशिषको हकदार भएको छस्, तैँले महान् प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्‍वरको यो महान् कार्यलाई पूरा गर्न सहायता गर्न सक्छस्। तैँले परमेश्‍वरको साँचो मुहारलाई हेरेको छस्, तँलाई परमेश्‍वरको अन्तर्निहित स्वभाव थाहा छ, र तैँले परमेश्‍वरको इच्छा गर्छस्। परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरू इस्राएलमा गरिए। यदि आखिरी दिनहरूको अवधिमा उहाँको कार्यको यो चरणलाई पनि इस्राएलीहरूका माझमा नै गरिएको भए, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन् भन्ने सारा सृष्टिले विश्‍वास गर्ने मात्र होइन, तर परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाले यसको अपेक्षित परिणाम प्राप्त गर्न असफल हुने थियो। उहाँको कार्यका दुई वटा चरणहरू इस्राएलमा गरिएका अवधिमा, न त कुनै नयाँ कार्य, न नयाँ युग शुरु गर्ने कुनै कार्य नै गैरयहूदी राष्ट्रहरू माझमा गरियो। आजको कार्यको चरण—नयाँ युगलाई प्रारम्भ गर्ने कार्य—शुरुमा गैरयहूदी राष्ट्रहरूका माझमा गरिन्छ, र यसको साथै, यसलाई शुरुमा मोआबका सन्तानहरूका माझमा गरिन्छ, जसद्वारा सम्पूर्ण नयाँ युगको शुरुवात गरिन्छ। मानव धारणाहरूभित्र निहित भएका कुनै पनि ज्ञानलाई परमेश्‍वरले तोड्नुभएको छ, अलिकति पनि बाँकी राख्नु भएको छैन। आफ्नो विजयको काममा, उहाँले मानव धारणाहरू, अर्थात् ती पुराना, ज्ञानका प्रारम्भिक मानव शैलीहरूलाई तोड्नुभएको छ। उहाँले परमेश्‍वरको लागि कुनै नियमहरू छैन, परमेश्‍वरको बारेमा पुरानो केही छैन, उहाँले गर्नुहुने काम पूर्ण रूपमा विमुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँले गर्नुहुने सबै काममा उहाँ सहि हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई देखाउनुहुन्छ। उहाँले सृष्टिका माझमा गर्नुहुने कुनै पनि काममा तँ पूर्ण रूपमा समर्पित हुनुपर्छ। उहाँले गर्नुहुने सबै कामको अर्थ हुन्छ, र उहाँको आफ्नै इच्छा् र बुद्धि अनुसार ती गरिन्छन्, र मानव छनौटहरू र धारणाहरू अनुसार होइन। यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छ भने, उहाँले यो गर्नुहुन्छ; अनि यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छैन भने, यो जति नै असल भए पनि उहाँले यो गर्नुहुन्न! उहाँले आफ्नो कामको अर्थ र उद्देश्यअनुसार काम गर्नुहुन्छ र सोही अनुसार उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। काम गर्ने क्रममा उहाँले विगतका नियमहरू पालना गर्नुहुन्न, न त उहाँले पुराना सूत्रहरूलाई नै पछ्याउनुहुन्छ। बरु, उहाँले कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्तिममा, उहाँले सच्चा परिणाम र प्रत्याशित लक्ष्य प्राप्त गर्नुहुन्छ। यदि तैँले यी कुराहरूलाई आज बुझिनस् भने, तँमा यो कामको कुनै प्रभाव हुनेछैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

यदि आखिरी दिनहरूको अवधिमा मुक्तिदाता आउनुभयो भने र अझै येशू नै कहलाइनुभयो भने र फेरि एक पटक यहूदियामा नै जन्मिनुभयो र उहाँको काम त्यहाँ नै गर्नुभयो भने त, मैले इस्राएलका मानिसहरूलाई मात्र सृष्टि गरेँ र इस्राएलको मानिसहरूलाई मात्र उद्धार गरेँ र गैर-यहूदीहरूसँग मेरो कुनै सरोकार छैन भन्ने कुरा यसले साबित गर्नेथियो। के यो “म स्वर्गहरू, पृथ्वी र सबै थोकहरू सृष्टि गर्ने परमेश्‍वर हुँ” भन्ने मेरा वचनहरूसँग विरोधाभासपूर्ण हुँदैन र? मैले यहूदियालाई छोडेँ र गैर-यहूदीहरू माझ मेरो काम गर्छु, किनभने म इस्राएलका मानिसहरूको मात्र परमेश्‍वर होइन, तर सारा प्राणीहरूको परमेश्‍वर हुँ। म आखिरी दिनहरूको अवधिमा गैर-यहूदीहरू माझ देखा पर्छु किनभने म इस्राएलका मानिसहरूको परमेश्‍वर, यहोवा मात्र होइन, तर यसको अतिरिक्त, म गैर-यहूदीहरू माझका मेरा चुनिएकाहरू सबैका सृष्टिकर्ता हुँ। मैले इस्राएल, मिश्र र लेबनान मात्र सृष्टि गरेको होइन, तर इस्राएलभन्दा बाहिरका सबै गैर-यहूदी राष्ट्रहरूलाई पनि सृष्टि गरेँ। यसैले म सबै प्राणीहरूको प्रभु हुँ। मैले इस्राएललाई मेरो काम प्रारम्भ गर्नको निम्ति प्रारम्भिक बिन्दुको रूपमा मात्रै प्रयोग गरेँ र यहूदिया र गालीललाई उद्धारको कामको किल्लाको रूपमा चलाएँ, र अहिले म गैर-यहूदी राष्ट्रहरूलाई सम्पूर्ण युगको अन्त ल्याउने आधारको रूपमा प्रयोग गर्छु। मैले इस्राएलमा कामका दुई चरणहरू गरेँ (यी दुई चरणहरू व्यवस्थाको युग र अनुग्रहको युग हुन्), र मैले इस्राएल बाहिरका मुलुकहरूभरि कामका थप दुई चरणहरू (अनुग्रहको युग र राज्यको युग) लाई कार्यान्वयन गर्दै आइरहेको छु। गैर-यहूदी राष्ट्रहरू माझ, म विजयको काम गर्नेछु, र त्यसरी नै युग समाप्‍त गर्नेछु। यदि मानिसहरूले मलाई सदैव येशू ख्रीष्ट भन्छन्, तर आखिरी दिनहरूको अवधिमा मैले नयाँ युग सुरु गरेको छु र नयाँ काम सुरु गरेको छु भन्ने जान्दैनन् भने, र यदि मानिसहरूले मुक्तिदाता येशूको आगमनलाई नै उन्मत्त रूपमा प्रतीक्षा गरिरहन्छन् भने त, म यस्ता मानिसहरूलाई त ममा विश्‍वास नगर्ने मानिसहरू भन्‍नेछु; तिनीहरू मलाई नचिन्ने मानिसहरू हुन्, र मप्रतिको तिनीहरूको विश्‍वास झूटो हो। के यस्ता मानिसहरूले स्वर्गबाट आउनुभएको मुक्तिदाता येशूको आगमनलाई देख्न सक्छन्? तिनीहरूले प्रतीक्षा गरेको कुरा मेरो आगमन होइन, तर यहूदीहरूका राजाको आगमन हो। यो अशुद्ध पुरानो संसारलाई मैले सर्वनाश गरेको तिनीहरू चाहना गर्दैनन्, बरु येशूको दोस्रो आगमनको उत्कट इच्छा गर्छन् जसमा तिनीहरूको उद्धार गरिनेछन्। अझै एक पटक यो अशुद्ध र अधर्मी मुलुकबाट सारा मानवजातिलाई येशूले उद्धार गर्नुभएको होस् भनी तिनीहरूले अपेक्षा गर्छन्। यस्ता मानिसहरूले आखिरी दिनहरूमा मेरो कामलाई पूरा गर्ने मानिसहरू बन्‍न सक्छन्? मानिसको चाहनाहरू मेरा इच्छाहरू पूरा गर्न वा मेरो काम सम्पन्न गर्न असक्षम छन्, किनभने मानिसले मैले पहिले गरेका कामको मात्र सराहना गर्छन् वा कदर गर्छन्, र म सदैव नयाँ हुने र कहिल्यै पुरानो नहुने परमेश्‍वर स्वयम् हुँ भन्ने त तिनीहरूलाई थाहा नै छैन। मानिसले म यहोवा र येशू हुँ भन्ने मात्र जान्दछ र मानवजातिलाई समाप्‍त पार्ने अन्तिम पात्र पनि म नै हुँ भन्ने कुराको कुनै आभास उसलाई छैन। मानिसले चाहेको र जानेका सबै कुराहरू तिनीहरूको आफ्नै धारणहरूबाट नै आउँछन् र यो तिनीहरूको आफ्नै आँखाले देख्न सक्ने कुराहरू मात्र हुन्‌। यो मैले गर्ने कामसँग मिल्दैन, तर योसँग असङ्गतमा छ। यदि मेरो काम मानिसका विचारहरू बमोजिम सञ्चालित थिए भने, यो कहिले अन्त हुन्थ्यो? मानवजाति विश्राममा कहिले प्रवेश गर्थ्यो? अनि म कहिले सातौँ दिन अर्थात् शबाथमा प्रवेश गर्न सक्षम हुन्थें? म मेरो योजना र मेरो उद्देश्य मुताबिक काम गर्छु—मानिसको अभिप्रायहरू अनुसार होइन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ भनी म भन्दछु। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरूलाई सबैलाई यी वचनहरू थाहा छ होला: “किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि, यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहको निम्ति परमेश्‍वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो। अर्थात्, विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, अनि यसैद्वारा परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिलाई प्रकट गर्नसक्छ। यसैकारण म भन्छु कि यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै हो परमेश्‍वरको इच्छा। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँ महिमित हुन सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्‍वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँ महिमित हुनुभयो; अर्को चाहिँ आखिरी दिनहरूमा गरिने विजय र सिद्धताको कार्य हो, जसको निम्ति उहाँ महिमित बन्‍नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यसैकारण तिमीहरूलाई दिइएको परमेश्‍वरको कार्य वा परमेश्‍वरको आज्ञालाई हल्का विषयको रूपमा नलेऊ। तिमीहरू सबै नै परमेश्‍वरको प्रशस्त र अनन्त महिमाको हकवाला हौ र यो विशेष रूपमा परमेश्‍वरले नै नियुक्त गर्नुभएको थियो। उहाँको महिमाको दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट हुन्छ; परमेश्‍वरको महिमाको एउटा भागको पूर्णता, यो तिमीहरूकै निजी धन होस् भनेर तिमीहरूलाई प्रदान गरिएको छ। यो परमेश्‍वरले तिमीहरूमा गर्नुहुने सम्मान हो, अनि यो उहाँले धेरै वर्षअघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने देशमा परमेश्‍वरले गर्नुभएको कार्यको महानता सम्‍झँदा, यदि यो कार्यलाई अरू कुनै ठाउँतिर सारिएको भए, यसले धेरै अघि ठूलो फल फलिसक्ने थियो र मान्छेले तत्कालै ग्रहण गर्नेथियो। यसबाहेक, यो काम परमेश्‍वरमा विश्‍वास गर्ने पश्चिमका पादरीहरूलाई स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथियो, किनकि येशूद्वारा गरिएको कार्यको चरणले उदाहरणको काम गर्छ। यसैकारण परमेश्‍वरले महिमाको कार्यको यो चरण अरू कतै हासिल गर्न सक्‍नुहुन्‍न; मानिसहरूको समर्थन पाएर र राष्ट्रहरूद्वारा मान्यता प्राप्त गरेर, यो हाबी हुन सक्दैन। यस देशमा कार्यको यस चरणले राख्‍ने असाधारण महत्त्व यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आखिरी दिनहरूको न्यायको काम गर्न परमेश्‍वरले किन मानिसलाई प्रयोग गर्नुहुन्न, बरु देहधारी बन्नुहुन्छ र आफै यो काम गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन...

ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर कसरी जान्ने

सन्दर्भका लागि बाइबल पदहरू: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो। उहाँ...

देहधारण र यसका सारहरू के-के हुन्

परमेश्‍वरका प्रासंगिक वचनहरू: त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटनाहो; परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा...

भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरबाट प्राप्त हुने मुक्तिको अझ बढी खाँचो छ भनी किन भनिन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्