देहधारण र यसका सारहरू के-के हुन्
परमेश्वरका प्रासंगिक वचनहरू:
त्यो “देहधारण” परमेश्वर देहमा देखा पर्ने घटनाहो; परमेश्वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्वर उहाँको सार-तत्वमा नै देह बन्नुहुन्छ, मानिस बन्नुहुन्छ भन्ने हो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
देहधारणको अर्थ परमेश्वरका आत्मा देह बन्नुहुन्छ, अर्थात्, परमेश्वर देह बन्नुहुन्छ भन्ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्मने बित्तिकै उहाँले आश्चर्यकर्महरू गर्न सक्नुभएको भए, उहाँले बोल्न सिक्ने बित्तिकै उहाँले स्वर्गको भाषा बोल्न सक्नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्नुभएकै क्षणमा उहाँले सारा सांसारिक कुराहरूलाई बुझ्न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्न सक्नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्न सकिँदैन थियो, र त्यस्तो देहलाई मानव देह भनेर भन्न सकिँदैन थियो। यदि ख्रीष्टको अवस्था यस्तो भएको भए, परमेश्वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्ने कुरालाई थप प्रदर्शन गर्छ; यसको साथै, उहाँ परमेश्वरको वचन, परमेश्वरको आत्मा नै देह हुनुभएको हो भन्ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, र परमेश्वरका आत्माले ख्रीष्टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्नताको कारण के हो भने ख्रीष्ट देह र रगतले बनिनुभएको हुनुहुन्न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्वरत्वले परमेश्वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्टको सार भनेको आत्मा नै हो, जुन ईश्वरत्व हो। त्यसकारण, परमेश्वर स्वयम्को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्नुहुन्न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्नुहुन्छ। त्यसकारण, देहधारी परमेश्वरले आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्न। सबै मानिसहरूले यही कुरालाई बुझ्नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसरी नै, ख्रीष्टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्वरको इच्छाको लागि हो। परमेश्वर देहधारी हुनुहुने हुँदा आफ्नो काम गर्नको लागि उहाँको शरीर पर्याप्त छ भनेर उहाँले आफ्नो देहभित्रको आधारभूत स्वभावलाई महसुस गर्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्टको कार्यले परमेश्वरको आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्र ख्रीष्टको कार्य नै हो। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। र परमेश्वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ शरीरमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्वरको आत्मा होस् वा ख्रीष्ट होस्, दुवै नै परमेश्वर स्वयम हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले गर्नुपर्ने सेवकाइ गर्नुहुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्नुहुने ख्रीष्टलाई परमेश्वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्वरको सार छ, र परमेश्वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्ट भनी भन्ने, तैपनि परमेश्वरको काम गर्न नसक्नेहरू ठगहरू हुन्। ख्रीष्ट पृथ्वीमा परमेश्वरको प्रकटीकरण मात्रै हुनुहुन्न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्ने देह होइन, तर पृथ्वीमा परमेश्वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्ने देह हो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको
परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्वर उहाँको सार-तत्वमा नै देह बन्नुहुन्छ, मानिस बन्नुहुन्छ भन्ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू, र सामान्य मानव भावनाहरू सहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरूको पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुँदै, गैर-ईश्वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्ह नदेखाइकन, उहाँ अझै पनि सामान्य मानव भेष सहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्नो सेवकाइको खातिर जिउनुहुन्छ, र यो समय अवधिमा उहाँको ईश्वरीयताको सामान्य कार्यलाई कायम राख्नको लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्ने बिन्दुसम्म परिपक्व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइलाई प्रस्तुत गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्वरीयता दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्वरीय कार्यको पूर्णतालाई कायम राख्न अझै सक्षम भएको हुँदैन, परिपक्व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्व भएपछि, आफ्नो सेवकाइको भार उठाउन सक्ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्न सक्नुहुन्छ। देहको रूपमा, उहाँ वृद्धि हुन र परिपक्व हुन आवश्यक हुने भएकोले, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो—जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइलाई प्रदर्शन गर्न सक्षम भइसकेको हुनाले, उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्वरीयता दुवैको जीवन हो। उहाँको जन्म भएको क्षणदेखि नै देहधारी परमेश्वरले अलौकिक चिन्ह र आश्चर्यकर्महरू गर्दै, आफ्नो सेवकाइलाई तत्परताको साथ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन, र मानवता विनाको व्यक्ति मानव होइन। यसरी, परमेश्वरको देहको मानवता परमेश्वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्वर देह बन्नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्वरीय हुनुहुन्छ, र कुनै पनि हालतमा मानव हुनुहुन्न” भनी भन्नु भनेको ईश्वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन, र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ। उहाँले आफ्नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेष सहित आफ्नो ईश्वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको प्रतिनिधि उहाँको मानवतामा बास गर्ने ईश्वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्वरीयता काममा छ, तैपनि यो ईश्वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; वास्तवमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्वर पनि हुनुहुन्छ भनेर भन्न सकिन्छ, किनभने परमेश्वर मानव भेष र मानव सार तर परमेश्वरको सारसहितको देहमा जिउनुहुने परमेश्वर बन्नुहुन्छ। उहाँ परमेश्वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेष सहितका सबैमध्ये, मानवता सहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवता बाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्न सकिन्छ, तर उहाँको ईश्वरीयतालाई बुझ्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्वरीयतालाई व्यक्त गरिने हुँदा, र मानिसहरूले यसलाई कल्पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्वरको साँचो सारलाई बुझ्न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसको बारेमा यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्वर स्वयम्, पृथ्वीमा परमेश्वर स्वयम् हो भनी भनिन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
देहधारी परमेश्वरको मानवता देहमा सामान्य ईश्वरीय कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्वरका सारा कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ भनेर भन्न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्वरले देहमा काम गर्न सक्नुहुने थिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्त सहित, सामान्य मन सहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन, तर यो उहाँको मानवतामा ईश्वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो, र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूत आत्माहरूलाई निकाल्नु, र क्रुसीकरण उहाँको मानव मनका उपजहरू थिएनन्, र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्वरले पूरा गर्नैपर्ने काम हो, तर यो मानव इच्छाको काम होइन, यो उहाँको ईश्वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्नो काम गर्नुपर्छ। देहधारी परमेश्वरको कामको सार, देहधारी परमेश्वरको खास सार यही नै हो।
येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो भनेर कसैले भन्न सकेन, उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्वर शरीरमा देहधारी हुनुभएको थियो, र अनुग्रहको युग देहधारी परमेश्वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्ने कुराको प्रमाण थियो। यो परमेश्वरको आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्ने कुराको प्रमाण थियो। सामान्य मानवता सहितका ख्रीष्ट त्यो देह हो जसमा आत्मा प्रकट हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य विवेक, र मानव विचार छ। “प्रकट हुनु” भनेको परमेश्वर मानिस बन्नु, आत्मा देह बन्नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवता सहितको देहमा परमेश्वर स्वयम् वास गर्नु हो, र यसद्वारा उहाँले आफ्नो ईश्वरीय कामलाई व्यक्त गर्नुहुन्छ—प्रकट हुनु, वा देहधारी हुनुको अर्थ यही नै हो। उहाँको पहिलो देहधारणको अवधिमा, परमेश्वरले बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्माहरूलाई धपाउनु अत्यावश्यक थियो, किनभने उहाँको काम उद्धार गर्नु थियो। सारा मानवजातिलाई उद्धार गर्नको लागि, उहाँ करुणामयर क्षमा दिने बन्नु आवश्यक थियो। उहाँलाई क्रूसमा मारिनुभन्दा पहिले उहाँले गर्नुभएको काम बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्माहरूलाई निकाल्नु थियो, जुन मानिसलाई पाप र भ्रष्टताबाट गरिने मुक्तिको पूर्वाभास थियो। यो अनुग्रहको युग भएकोले, उहाँले बिरामीलाई निको पार्नु आवश्यक थियो, त्यसद्वारा चिन्हहरू र आश्चर्यका कामहरू देखाउनुभयो, जुन त्यस युगको अनुग्रहको प्रतिनिधि थिए—किनभने अनुग्रहको युग अनुग्रह दिनुसँग सम्बन्धित थियो, जुन शान्ति, आनन्द, र भौतिक आशिषहरू, अर्थात् येशूमाथिको मानिसहरूको विश्वासका निशानीहरूको प्रतीक थियो। भन्नुको अर्थ, बिरामीलाई चङ्गाइ गर्ने, भूत आत्माहरूलाई निकाल्ने, र अनुग्रह प्रदान गर्ने काम अनुग्रहको युगमा येशूको देहमा जन्मजात रूपमा पाउनुभएका क्षमताहरू थिए, ती देहमा प्रकट भएका आत्माको काम थिए। तर जबकि उहाँले त्यस्तो काम गरिरहनुभएको बेलामा, उहाँ देहमा जिइरहनुभएको थियो, र त्यसले देहलाई नाघेन। उहाँले जस्तोसुकै प्रकारको चङ्गाइ गर्नुभए तापनि, उहाँमा सामान्य मानवता नै थियो, उहाँले सामान्य मानव जीवन नै जिउनुभयो। परमेश्वरको देहधारणको युगको अवधिमा देहले आत्माको सबै काम गर्यो भनेर मैले भन्नुको कारण के हो भने, उहाँले जे काम गर्नुभए तापनि, उहाँले यो देहमा नै गर्नुभयो। तर उहाँको कामको कारणले गर्दा, मानिसहरूले उहाँको देहलाई पूर्ण रूपमा भौतिक सार भएको देहको रूपमा ठानेनन्, किनभने यो देहले अचम्मका कामहरू गर्न सक्थ्यो, र विशेष क्षणहरूमा देहको क्षमता बाहिरका कुराहरू गर्न सक्थ्यो। अवश्य नै, यी सबै घटनाहरू उहाँले आफ्नो सेवकाइलाई सुरु गर्नुभन्दा पहिले नै घटे, जस्तै उहाँलाई चालीस दिनसम्म परीक्षा गरिनु वा पर्वतमा उहाँको रूप परिवर्तन हुनु। त्यसकारण येशूमा, परमेश्वरको देहधारणको अर्थ पूर्ण भएन, तर यो आंशिक रूपमा मात्रै पूरा भयो। आफ्नो काम सुरु गर्नुभन्दा पहिले उहाँले देहमा जिउनुभएको जीवन सबै पक्षहरूमा अत्यन्तै सामान्य थियो। उहाँले काम सुरु गर्नुभएपछि, उहाँले आफ्नो देहको बाहिरी भेस मात्रै कायम राख्नुभयो। उहाँको काम ईश्वरीयताको अभिव्यक्ति थियो, त्यसकारण यसले देहका सामान्य कार्यहरूलाई नाघ्यो। आखिर, परमेश्वरको देहधारी शरीर मासु र रगतको मानवभन्दा फरक थियो। अवश्य नै, उहाँको दैनिक जीवनमा, उहाँलाई खाना, वस्त्र, निद्रा, र बासको आवश्यकता पर्यो, उहाँलाई सबै सामान्य आवश्यकताहरूको खाँचो भयो, र उहाँमा सामान्य मानवको जस्तै चेतना थियो, र उहाँले सामान्य मानवले जस्तै सोच्नुभयो। मानिसहरूले उहाँलाई सामान्य मानिसको रूपमा नै लिन्थे, उहाँले गर्ने काम अलौकिक मात्रै थियो। वास्तवमा, उहाँले जे गर्नुभए तापनि, उहाँ सामान्य र साधारण मानवतामा जिउनुभयो, र काम गर्ने क्रममा, उहाँको चेतना निश्चित रूपमा सामान्य हुन्थ्यो, उहाँका विचारहरू निश्चित रूपमा अरू कुनै पनि सामान्य मानिसको भन्दा स्पष्ट हुन्थे। देहधारी परमेश्वरमा त्यस्तो सोचाइ र चेतना हुनु अत्यावश्यक थियो, किनभने ईश्वरीय कार्यलाई त्यस देहद्वारा व्यक्त गरिनु आवश्यक थियो जसको चेतना अत्यन्तै सामान्य हुन्थे र जसका विचारहरू अत्यन्तै स्पष्ट हुन्थे—यसरी मात्रै उहाँको देहले ईश्वरीय कामलाई व्यक्त गर्न सक्थ्यो। येशूले पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्षको अवधिभरि, उहाँले आफ्नो सामान्य मानवतालाई कायम राख्नुभयो, तर साढे तीन वर्षको उहाँको सेवकाइको अवधिमा उहाँले गर्नुभएको कामको कारण, उहाँ अत्यन्तै सर्वोच्च हुनुहुन्छ, उहाँ पहिलेभन्दा अत्यन्तै अलौकिक हुनुहुन्छ भन्ने मानिसहरूले ठाने। वास्तवमा, येशूको सामान्य मानवता उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभन्दा पहिले र पछि अपरिवर्तित नै रह्यो; यो अवधिमा उहाँको मानवता उस्तै रह्यो, तर उहाँको सेवकाइभन्दा पहिले र पछिको भिन्नताको कारणले गर्दा, उहाँको देहको विषयमा दुई वटा फरक विचारहरू प्रकट भए। मानिसहरूले जे विचार गरे तापनि, देहधारी परमेश्वरले आफ्नो मूल, सामान्य मानवतालाई सम्पूर्ण समय नै कायम राख्नुभयो, किनभने परमेश्वर देहधारी हुनुभएको हुनाले, उहाँ देह, सामान्य मानवता भएको देहमा जिउनुभयो। चाहे उहाँले आफ्नो सेवकाइ गरिरहेको होस् वा नहोस्, उहाँको देहको सामान्य मानवतालाई हटाउन सकिएन, किनभने देहको आधारभूत सार मानवता नै हो। येशूले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले, सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुने क्रममा, उहाँको देह पूर्ण रूपमा सामान्य नै रह्यो; उहाँ अलिकति पनि अलौकिक देखिनुभएन, उहाँले कुनै पनि आश्चर्यजनक चिन्हहरू देखाउनुभएन। त्यो समयमा, उहाँ अत्यन्तै सामान्य मानिस मात्रै हुनुहुन्थ्यो जसले परमेश्वरको आराधना गर्थ्यो, यद्यपि उहाँको खोजी कसैको भन्दा अझै इमानदार, अझै निष्कपट थियो। उहाँको अत्यन्तै सामान्य मानवताले आफैलाई यसरी नै प्रकट गर्यो। आफ्नो सेवकाइलाई लिनुभन्दा पहिले उहाँले कुनै पनि काम नगर्नुभएको हुनाले, उहाँको पहिचानको बारेमा कसैलाई पनि थाहा थिएन, उहाँको देह अरू सबैको भन्दा फरक छ भनेर कसैले पनि भन्न सकेन, किनभने उहाँले एउटै पनि आश्चर्यकर्म गर्नुभएन, परमेश्वर स्वयमको एउटै पनि काम गर्नुभएन। तैपनि, उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि, उहाँले सामान्य मानवताको बाहिरी भेषलाई कायम राख्नुभयो र सामान्य मानव चेतनामा नै जिउनुभयो, तर उहाँले परमेश्वर स्वयमको कामलाई सुरु गर्नुभएको, ख्रीष्टको सेवकाइलाई लिनुभएको र मरणशील प्राणीहरू, मासु र रगतका मानिसहरूले गर्न नसक्ने काम गर्नुभएकोले, उहाँसँग सामान्य मानवता थिएन र उहाँ पूर्ण रूपमा सामान्य देह हुनुहुन्नथियो, तर अपूर्ण देहहुनुहुन्थ्यो भन्ने अनुमान मानिसहरूले गरे। उहाँले गर्नुभएको कामको कारणले गर्दा, उहाँ देहमा प्रकट हुनुभएका परमेश्वर हुनुहुन्छ जसमा सामान्य मानवता छैन भनेर मानिसहरूले भने। त्यस किसिमको बुझाइ भ्रमपूर्ण छ, किनभने मानिसहरूले परमेश्वरको देहधारणको महत्त्वलाई बुझेनन्। यो गलत बुझाइ देहमा हुनुभएका परमेश्वरले व्यक्त गर्नुभएको काम सामान्य मानवता सहितको देहमा व्यक्त गरिएको ईश्वरीय काम हो भन्ने तथ्यबाट उठ्यो। परमेश्वरले देह धारण गर्नुभएको थियो, उहाँ देहमा बास गर्नुभयो, र मानवतामा उहाँले गर्नुभएको उहाँको काम उहाँको मानवताको सामान्यतालाई अस्पष्ट पार्यो। यस कारणले गर्दा, मानिसहरूले परमेश्वरमा मानवता छैन, तर ईश्वरीयता मात्रै छ भन्ने विश्वास गरे।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
ख्रीष्टको मानवता उहाँको ईश्वरत्वद्वारा सञ्चालित छ। उहाँ शरीरमा हुनुभए तापनि, उहाँको मानवता देहको मानिसजस्तो पूर्ण रूपमा छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्वरत्वद्वारा सञ्चालित छ। उहाँको ईश्वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्म, यो कमजोरीले उहाँको ईश्वरत्वलाई दिन्छ, तर त्यस किसिमका सीमितताहरू निश्चित क्षेत्र र समयभित्र हुन्छन्, र ती परिधि विहीन छैनन्। जब उहाँको ईश्वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुद पनि यसलाई पूरा गरिन्छ। ख्रीष्टको मानवता पूर्ण रूपमा उहाँको ईश्वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवन बाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू उहाँको ईश्वरत्वद्वारा प्रभावित, असरित, र निर्देशित हुन्छन्। ख्रीष्टमा एउटा मानवता भए तापनि, यसले उहाँको ईश्वरत्वलाई बाधा दिँदैन, र ठीक यही कारणले गर्दा ख्रीष्टको मानवता उहाँको ईश्वरत्वद्वारा निर्देशित छ; अरूसँग कसरी व्यवहार गर्ने त्यसमा उहाँको मानवता परिपक्व नभए तापनि, यसले उहाँको ईश्वरत्वको सामान्य कार्यलाई प्रभाव पार्दैन। उहाँको मानवता भ्रष्ट भएको छैन भनी भन्ने क्रममा मैले ख्रीष्टको मानवतालाई उहाँको ईश्वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्च चेतना छ भनेर भन्न खोजेको हुँ। उहाँको कार्यमा ईश्वरत्वद्वारा निर्देशित हुनको लागि उहाँको मानवता सबैभन्दा उपयुक्त छ; उहाँको मानवता ईश्वरत्वको कार्यलाई व्यक्त गर्न सबैभन्दा बढी सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन यो सबैभन्दा बढी सक्षम छ। शरीरमा काम गर्ने क्रममा उहाँले शरीरमा रहेको मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्न; उहाँ स्वर्गमा परमेश्वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्वरको स्वभाव छ, र उहाँको पहिचान परमेश्वर स्वयमको पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्टि गरिएको प्राणी बन्नुभएको छ र सृष्टि गरिएको प्राणीको बाहिरी आवरण लिनुभएको छ र, अहिले एउटा मानवतालाई लिनुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा परमेश्वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; उहाँ परमेश्वर स्वयम हुनुहुन्छ र मानिसले उहाँको अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्वर स्वयम नै हुनुहुन्छ। शरीरको दृष्टिकोणद्वारा उहाँले परमेश्वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “स्वर्गमा ख्रीष्टले परमेश्वरलाई आराधना गर्नुहुन्छ” भन्ने वचनहरू गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै स्वभाव हो; तिनीहरूबाट त्यस कुराको माग गर्नुभन्दा पहिले नै उहाँले मानिसबाट माग गर्नुहुने सबै कुरालाई पूरा गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै पनि माग गर्नुहुन्न, किनभने यो सबैले नै उहाँको स्वभावलाई निर्माण गर्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्वरलाई अवज्ञा गर्ने तरिकाले उहाँले कहिल्यै पनि काम गर्नुहुन्न। उहाँले मानिसबाट जे माग्नुभए तापनि, मानिसले पूरा गर्न सक्नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्वरको इच्छालाई पूरा गर्ने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्टको ईश्वरत्व सबै मानिसभन्दा माथि छ; त्यसकारण, सृष्टि गरिएका सबै प्राणीहरूका सबैभन्दा उच्च अख्तियार उहाँ नै हुनुहुन्छ। उहाँको अख्तियार नै उहाँको ईश्वरत्व हो, अर्थात् परमेश्वर स्वयमको स्वभाव र अस्तित्व, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्वर स्वयमको परिचय छ भन्ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि र उहाँले परमेश्वरको इच्छालाई जसरी पालन गर्नुभए तापनि, उहाँ परमेश्वर स्वयम हुनुहुन्न भनेर भन्न सकिँदैन।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
मानिसको देहधारी पुत्रले परमेश्वरको ईश्वरत्वलाई आफ्नो मानवताद्वारा प्रकट गर्नुभयो अनि मानवजातिलाई परमेश्वरको इच्छा प्रकट गर्नुभयो। अनि परमेश्वरको इच्छा तथा स्वभावलाई प्रकट गरेर, उहाँले आत्मिक संसारमा बास गर्नुहुने परमेश्वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्वर स्वयम् हुनुहुन्थ्यो। त्यसैले, मानिसको देहधारी पुत्रले परमेश्वर स्वयम्को पहिचान, परमेश्वरको हैसियत, प्रतिरूप, स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्वर स्वयम्को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवतामा र उहाँको ईश्वरीयता दुवैमा परमेश्वर स्वयम्को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गरेको थियो भन्ने कुरालाई हामी इन्कार गर्न सक्दैनौं। तथापि, यस समयावधिमा परमेश्वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्वरले मानवजातिको सामु दिनुभएको साँचो वचनहरू तथा कामलाई देख्ने र अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्वरत्व तथा उहाँको महानता देख्ने अन्तर्दृष्टि दिनुको साथै परमेश्वरको विशुद्धता तथा वास्तविकताको प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्न पनि दियो। प्रभु येशू ले पूरा गर्नुभएको काम, उहाँले काम गर्ने तरिकाहरू र उहाँले बोल्ने दृष्टिकोण, आत्मिक क्षेत्रमा रहेको परमेश्वरको वास्तविक व्यक्तित्वभन्दा फरक थियो, तैपनि उहाँको हरेक कुराले परमेश्वर स्वयम्लाई साँचो रूपमा प्रतिनिधित्व गर्यो, जसलाई मानवजातिले कहिल्यै देखेका छैनन्—यसलाई इन्कार गर्न सकिँदैन। भन्नुको अर्थ, परमेश्वर जुनसुकै रूपमा प्रकट हुनुभए तापनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि, अथवा उहाँले जुनसुकै प्रतिरूपमा मानवजातिको सामना गर्नुभए तापनि, परमेश्वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्न सक्नुहुन्न, न त भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नुहुन्छ। परमेश्वर, परमेश्वर स्वयम् नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
परमेश्वरको आधारभूत स्वभावले नै अख्तियारको प्रयोग गर्छ, तर उहाँबाट आउने अख्तियारप्रति उहाँ पूर्ण रूपमा समर्पित हुन सक्नुहुन्छ। चाहे यो आत्माको काम होस् वा शरीरको काम होस्, यीमध्ये कुनै पनि काम एक-अर्कासँग बाझिँदैन। सारा सृष्टिमाथिको अख्तियार परमेश्वरका आत्मासँग छ। परमेश्वरको आधारभूत स्वभाव सहितको शरीर पनि अख्तियारको अधीनमा हुन्छ, तर देहमा हुनुभएका परमेश्वरले ती सबै कार्यहरूलाई गर्न सक्नुहुन्छ, जुन कार्यहरूले स्वर्गमा हुनुहुने पिताको इच्छालाई पालन गर्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्वर स्वयम् नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्टले परमेश्वर पिताको इच्छालाई पालन गर्नुहुन्छ” भनेर भन्ने क्रममा यही कुरालाई सूचित गरिन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र जसरी परमेश्वर मानिस बन्न सक्नुहुन्छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्नुहुन्छ। जे भए तापनि, परमेश्वर स्वयमले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँले बाधा दिनुहुन्छ न त हस्तक्षेप नै गर्नुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नु त परै जाओस्, किनभने आत्मा र शरीरले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा शरीर, दुवैले एउटै इच्छालाई पूरा गर्न र एउटै कार्यलाई व्यवस्थापन गर्नको लागि काम गर्नुहुन्छ। आत्मा र शरीरका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका आधारभूत स्वभावहरू उस्तै छन्; दुवैमा परमेश्वर स्वयमको आधारभूत स्वभाव, अनि परमेश्वर स्वयमको पहिचान छ। परमेश्वर स्वयममा कुनै पनि अनाज्ञाकारीताको तत्वहरू छैन; उहाँको स्वभाव असल छ। उहाँ सारा सुन्दरता र भलाइ, साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्न जसले परमेश्वर पिताको अवज्ञा गर्छ। आफ्नो जीवन बलिदान दिनु पर्दा समेत उहाँले हृदयदेखि त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुभएन। परमेश्वरमा स्वःधार्मिकता वा स्वःमहत्त्व, वा अभिमानी र अहङ्कारीको कुनै तत्व छैन; उहाँमा कुटिलका कुनै तत्वहरू छैनन्। परमेश्वरको अवज्ञा गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्टताको स्रोत शैतान नै हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र त्यसले मानिसमा काम गर्छ। ख्रीष्टलाई शैतानले भ्रष्ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्वरका चरित्रहरू मात्रै छन्, तर शैतानको कुनै चरित्रहरू छैनन्। काम जतिसुकै कठिन होस् वा शरीर जतिसुकै कमजोर होस्, जब परमेश्वर शरीरमा बस्नुहुन्छ, उहाँले परमेश्वर स्वयमको कार्यलाई बाधा दिने कुनै कुरा कहिल्यै पनि गर्नुहुनेछैन, अनाज्ञाकारीतामा परमेश्वर पिताको इच्छालाई त्याग्ने कुरा त परै जाओस्। उहाँले परमेश्वर पिताको इच्छालाई धोका दिनुभन्दा शरीरको पीडालाई भोग्नुहुन्छ; यो, येशूले प्रार्थनामा भन्नुभएको जस्तै छ, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्टले त्यसो गर्नुहुन्न। उहाँसँग परमेश्वर स्वयमको पहिचान भए तापनि, उहाँले परमेश्वर पिताको इच्छालाई खोज्नुहुन्छ, र परमेश्वर पिताले उहाँलाई सुम्पनुभएको कुरालाई शरीरको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्वरको स्वभाव हुँदैन; यसमा परमेश्वरको अवज्ञा गर्ने र उहाँलाई विरोध गर्ने कुरा मात्रै हुन्छ। यसले परमेश्वरलाई पूर्ण रूपमा पालन गर्न सक्दैन, परमेश्वरको इच्छालाई स्वेच्छाले पालन गर्ने कुरा त परै जाओस्। ख्रीष्टबाट टाढा रहेर सबै मानिसले त्यही काम गर्न सक्छन् जसले परमेश्वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्वरले सुम्पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा गर्न सक्दैन; परमेश्वरको व्यवस्थापनलाई पूरा गर्नुपर्ने आफ्नो कर्तव्यको रूपमा एक जनाले पनि लिन सक्दैन। ख्रीष्टको आधारभूत स्वभाव भनेको परमेश्वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्वरको विरुद्धमा अनाज्ञाकारी हुने कार्य शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्ट भन्न सकिँदैन। मानिसले परमेश्वरको खातिर उहाँको काम गर्न नसक्नुको कारण के हो भने मानिसमा परमेश्वरको कुनै पनि आधारभूत स्वभाव हुँदैन। मानिसको व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै मानिसले परमेश्वरको लागि काम गर्छ, तर ख्रीष्टले परमेश्वर पिताको इच्छालाई पूरा गर्नको लागि काम गर्नुहुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
परमेश्वरको आत्माले पहिरनुभएको देह परमेश्वरको आफ्नै देह हो। परमेश्वरको आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले मानवजातिको निम्ति धर्मी, हितकारी, पवित्र, महिमित र शक्तिशाली काम मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्घन गर्ने, नैतिकता र न्यायको उल्लङ्घन गर्ने केही पनि गर्न सक्नुहुन्न, परमेश्वरको आत्मालाई विश्वासघात कुरा त परै जाओस्। परमेश्वरको आत्मा पवित्र हुनुहुन्छ र उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्वरलाई होइन; शैतानले परमेश्वरको देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानमा बास गर्नुहुने भए तापनि मानिसलाई मात्र शैतानले वश राख्छ, प्रयोग गर्छ र पासो पारेको छ। यसको विपरीत, ख्रीष्ट अनन्तदेखि शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्नुपर्छ कि मलाई विश्वासघात गर्ने मानवजातिलाई मात्र शैतानले भ्रष्ट पारेको छ। विश्वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।