परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६८

11 जनवरी 2023

कथा २: ठूलो हिमाल, सानो नदी, ठूलो हावा र विशाल छाल

एउटा सानो नदी थियो, घुम्दै बहँदै, अन्ततः ठूलो हिमालको फेदीमा आइपुगेको थियो। हिमालले सानो नदीको बाटोलाई छेकिदियो, त्यसैले नदीले आफ्नो कमजोर, मधुरो आवाजमा हिमाललाई भन्यो, “कृपया मलाई जान दिनुहोस्। तपाईंहरू मेरो बाटोमा उभिनुभएको छ र मेरो अगाडिको बाटो रोकिरहनुभएको छ।” “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। “म मेरो घर खोजिरहेको छु,” नदीले जवाफ दियो। “ठीक छ, अगाडि बढ्नुहोस् र म माथिबाट नै बग्नुहोस्!” तर सानो नदी धेरै कमजोर र धेरै सानो थियो, त्यसैले त्यस्तो ठूलो हिमालमाथिबाट बगेर जाने नदीको सामर्थ्य थिएन। नदी हिमालको फेदमुनिबाट मात्रै बग्न सक्थ्यो …

बालुवा र धूलो बोकेको ठूलो हावा हिमाल उभिएको ठाउँमा आइपुग्यो। हावाले हिमालतर्फ गुहार लगायो, “मलाई पार गर्न दिनुहोस्!” “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। “म हिमालको अर्कोपट्टि जान चाहन्छु,” प्रतिक्रिया स्वरूप हावा ठूलो स्वरमा करायो। “ठीक छ, यदि तपाईं मेरो कम्मर भएको ठाउँबाट फुत्कन सक्नुहुन्छ भने, तपाईं जान सक्नुहुन्छ!” ठूलो हावा यता र उता मच्चियो तर त्यसले जे गरे पनि यो हिमालको कम्मरबाट फुत्किन सकेन। ठूलो हावा थामियो र आराम गर्न रोकियो—हिमालको अर्कोपट्टि, त्यहाँका मानिसहरूलाई खुशी बनाउँदै एकसरो बतास चल्न थाल्यो। यो मानिसहरूलाई हिमालले दिएको अभिवादन थियो …

सागरको किनारमा, सागरका छालहरू ढुङ्गे किनारमा बिस्तारै बटारिन थाले। अचानक, एउटा विशाल छाल उठ्यो र हिमालतिर गयो। “मेरो बाटोबाट हट्नुहोस्!” विशाल छाल करायो। “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। अगाडि बढ्नबाट आफूलाई रोक्न असमर्थ हुँदै, छाल गर्जियो, “म आफ्नो क्षेत्र विस्तार गर्दैछु! म मेरा पाखुराहरू तन्काउन चाहन्छु!” “ठीक छ, यदि तपाईं मेरो चुचुरोमाथिबाट जान सक्नुहुन्छ भने, म तपाईंलाई जान दिनेछु।” विशाल छाल अलिकति पछाडि हट्यो र फेरि हिमालतिर ठूलो हुँदै अघि बढ्यो। तर जतिसुकै प्रयास गरे पनि, हिमालको चुचुरोमा पुग्न सकेन। छाल बिस्तारै सागरमा फर्कन मात्रै सक्थ्यो …

हजारौं वर्षसम्म, सानो नदी हिमालको फेदतिर बिस्तारै बग्दै गयो। हिमालको दिशा पछ्याउँदै, सानो नदीले घर फर्कने बाटो बनायो, यो ठूलो नदीमा मिसियो र नदी सागरमा। हिमालको हेरचाहले गर्दा, सानो नदीले कहिल्यै आफ्नो बाटो बिराएन। नदी र हिमालले एक-अर्कालाई सुदृढ गरेका थिए र एक-आपसमा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि तिनीहरू सह-अस्तित्वमा रहेका थिए।

हजारौं वर्षमा, ठूलो हावा कराउँदै बटारियो, किनभने यो नै यसको बानी थियो। यो अझै बालुवाका ठूला फोहोराहरू आफूभित्र रुमल्याउँदै हिमाललाई “भेट्न” आउँथ्यो। हावाले हिमाललाई धम्की दियो, तर हिमालको कम्मर कहिल्यै भाँचिएन। हावा र हिमालले एक-अर्कालाई झनै सुदृढ गरेका थिए र तिनीहरू एक-अर्कामा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि सह-अस्तित्वमा रहेका थिए।

हजारौं वर्षसम्म, विशाल छालले कहिल्यै विश्राम लिएन, र आफ्नो क्षेत्र निरन्तर विस्तार गर्दै यो अथक रूपमा अगाडि बढ्यो। छाल गर्जियो र हिमालतिर बारम्बार उकालो लाग्यो, तर हिमाल कहिल्यै एक इन्च पनि सरेन। हिमालले सागरलाई पहरा दियो, र यस प्रकारले, सागरमा भएका प्राणीहरू बढ्दै गए र फस्टाउँदै गए। छाल र हिमालले एक-अर्कालाई थप सुदृढ गरेका थिए र तिनीहरू एक-अर्कामा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि सह-अस्तित्वमा रहेका थिए।

यसरी हाम्रो कथा टुंगिन्छ। सबभन्दा पहिले, मलाई भन, यो कथा केको बारेमा थियो? त्यसमा एउटा विशाल हिमाल, एउटा सानो खोला, एउटा भीषण बतास, र एउटा निकै ठूलो छाल थिए। पहिलो अनुच्छेदमा, सानो खोला र विशाल हिमालको बारेमा के भयो? किन मैले खोला र हिमालको बारेमा कुरा गर्ने निर्णय गरेँ त? (हिमालको हेरचाहमा खोलाले कहिल्यै पनि बाटो बिराएन। तिनीहरू एक-अर्कामा निर्भर रहे।) त्यो हिमालले त्यो सानो खोलालाई संरक्षण गर्‍यो कि अवरोध गर्‍यो, तिमीहरू के भन्छौ? (यसले त्यसलाई संरक्षण गर्‍यो।) तर के यसले त्यसलाई अवरोध गरेन त? यसले र खोलाले एक-अर्काको रखवाली गरे; हिमालले खोलालाई संरक्षण पनि गर्‍यो र अवरोध पनि गर्‍यो। हिमालले खोलालाई नदीमा जोडिन जाँदा संरक्षण गर्‍यो, तर जताततै बग्दै बाढी ल्याएर मानिसहरूमा विपत्ति ल्याउनबाट यसलाई रोक्यो। के त्यो अनुच्छेद यही कुराको बारेमा थियो हैन र? खोलाको संरक्षण गरेर र यसलाई अवरुद्ध पारेर हिमालले मानिसहरूका घरहरूको सुरक्षा गर्‍यो। त्यसपछि त्यो सानो खोला हिमालको फेदीमा रहेको नदीमा मिसियो र बग्दै समुद्रमा गयो। के खोलाको अस्तित्व चलाउने नियम यही होइन र? खोलालाई नदीमा मिसिन र बग्दै समुद्रमा जान केले सक्षम बनायो? के त्यो हिमाल थिएन र? त्यो खोला हिमालको सुरक्षा र यसको अवरोधमा निर्भर थियो। त्यसैले, के यो मुख्य बुँदा होइन र? के तँ यसमा पानीको लागि हिमालको महत्त्व देख्दैनस् र? के हिमाल ठूलो र सानो बनाउनुमा परमेश्‍वरसँग उहाँको कुनै उद्देश्य थियो? (थियो।) एउटा सानो खोला र एउटा विशाल हिमालबाहेक अरू कुरा नभएको यो छोटो अनुच्छेदले हामीलाई यी दुई थोक परमेश्‍वरले सृष्टि गर्नुको मूल्य र महत्त्व देख्न सक्षम तुल्याउँछ; यसले हामीलाई तिनीहरूमाथिको उहाँको शासनपछाडिको उहाँको बुद्धि र उद्देश्य पनि देखाउँछ। के त्यो यस्तै होइन र?

दोस्रो अनुच्छेदको कथा केको बारेमा थियो? (एक भीषण बतास र एक विशाल हिमाल।) के बतास राम्रो कुरा हो? (हो।) यस्तै हुन्छ भन्ने जरुरी छैन—कहिलेकाहीँ बतास एकदमै शक्तिशाली हुन्छ र यसले विपत्ति ल्याउँछ। यदि तँलाई भीषण बतासमा उभिन बाध्य पारियो भने तैँले कस्तो अनुभूति गर्थिस्? यो कुरा यसको शक्तिमा निर्भर हुन्छ, होइन र? यदि यो तह तीन वा तह चारको बतास थियो भने, यो सहन सकिने खालको हुन्थ्यो। बढीमा, व्यक्तिलाई आफ्नो आँखा खुला राख्न मात्र समस्या हुन्थ्यो होला। तर यदि त्यो बतास अझै तीव्र बनेर तुफान बन्यो भने, के तैँले यसलाई सहन सक्थिस् र? तैँले सहन सक्दैनथिस्। त्यसकारण, मानिसहरूले बतासलाई सधैँ राम्रो हुन्छ वा यो सधैँ नराम्रो हुन्छ भनेर भन्नु गलत हुन्छ किनभने त्यो कुरा त यसको शक्तिमा भर पर्छ। अब, यसमा हिमालको काम के हो त? के यसको काम बतासलाई छान्‍नु होइन र? हिमालले भीषण बतासलाई घटाएर केमा परिणत गर्छ? (मन्द हावा।) अब, मानिस बसोबास गर्ने वातावरणमा, धेरैजसो मानिसहरूले आँधीको अनुभव गर्छन् कि मन्द हावाको? (मन्द हावा।) के यो कुरा हिमालहरू सृष्टि गर्नुपछाडिका परमेश्‍वरका उद्देश्यहरूमध्ये एक, उहाँका अभिप्रायहरूमध्ये एक थिएन र? यदि मानिसहरू बतासमा अनियन्त्रित रूपमा, बिना कुनै अवरोध र फिल्टर नभइकनै बालुवा उडिरहने वातावरणमा बस्थे भने, कस्तो हुन्थ्यो होला? के त्यो उड्ने बालुवा र ढुङ्गाले घेरिएको भूमि बसोबास गर्न नसकिने हुन्थ्यो होला? ती ढुङ्गाहरूले मानिसहरूलाई हिर्काउँथ्यो होला, र त्यो बालुवाले तिनीहरूलाई अन्धो पार्थ्यो होला। बतासले मानिसहरूलाई भुइँबाट माथि उडाउँथ्यो होला, वा तिनीहरूलाई हावामाथि उडाएर लैजान्थ्यो होला। घरहरू भत्कन्थे होला, र हरप्रकारका विपत्तिहरू आइपर्थे होला। तैपनि, के त्यो भीषण बतासको अस्तित्वको कुनै महत्त्व हुन्छ? मैले यो नराम्रो हो भनेर भनेँ, त्यसकारण कसैलाई यसको कुनै महत्त्व हुँदैन भन्ने लाग्न सक्छ, तर के त्यो त्यस्तै हो र? के त्यो मन्द हावामा परिणत भएपछि त्यसको महत्त्व हुँदैन र? मौसम बाफिलो वा सासै फेर्न नसकिने भयो भने मानिसहरूलाई सबैभन्दा बढी के चाहिन्छ? तिनीहरूमा हल्कासित बग्ने, तिनीहरूलाई ताजा महसुस गराउने र तिनीहरूको टाउको हल्का गराउने, तिनीहरूको सोच तिखार्ने, तिनीहरूको मन-मस्तिष्कको स्थिति सुधार गर्ने एवं तन्दुरुस्त बनाउने मन्द हावा चाहिन्छ। अब, उदाहरणको लागि, तिमीहरू सबै एउटै कोठामा धेरै जना उकुसमुकुस भएर बसेका छौ—तिमीहरूलाई सबैभन्दा बढी के चाहिन्छ? (मन्द हावा।) बाक्लो धुवाँ वा फोहोरी हावा भएको ठाउँमा जाँदा व्यक्तिको सोच्ने प्रक्रिया ढिलो हुन्छ, रक्तसञ्चार कम हुन्छ र व्यक्तिको दिमागी स्पष्टता हराउँछ। तर अलिकति हलचल र बहावले हावालाई ताजा बनाउँछ, र मानिसहरूले ताजा हावामा फरक अनुभूति गर्छन्। सानो खोलाले विपत्ति ल्याउने भए पनि, भीषण बतासले विपत्ति ल्याउने भए पनि, जबसम्म त्यहाँ हिमाल हुन्छ, तबसम्म यसले त्यो खतरालाई मानिसका लागि फाइदाजनक शक्तिमा बदलिदिन्छ। के त्यो यस्तै होइन र?

तेस्रो अनुच्छेदको कथा केको बारेमा थियो? (विशाल पहाड र निकै ठूलो छाल।) विशाल पहाड र निकै ठूलो छाल। यो अनुच्छेदको परिवेश हिमालको फेदको, समुद्री किनारमा रहेको छ। हामी हिमाल, समुद्री फोहोरा, र विशाल छाल देख्छौं। यस उदाहरणमा छालको लागि हिमाल के हो त? (संरक्षक र अवरोध।) यो संरक्षक र अवरोध दुवै हो। संरक्षकको रूपमा यसले समुद्रलाई लोप हुनबाट रोक्छ ताकि यसमा बस्ने प्राणीहरू बाँच्न र वृद्धि हुन सकून्। अवरोधको रूपमा हिमालले समुद्रको पानीलाई अतिप्रवाह भई विपत्ति ल्याउनबाट रोक्छ, मानिसहरूका घरहरूलाई हानि र विनाश गर्नबाट रोक्छ। यसकारण, हामी हिमाललाई संरक्षक र अवरोध दुवै भनेर भन्न सक्छौं।

विशाल हिमाल र सानो खोला, विशाल हिमाल र भीषण बतास, र विशाल हिमाल र निकै ठूलो छालबीचको अन्तरसम्बन्धको महत्त्व यही हो; तिनीहरूको परस्पर मजबुतीकरण र निष्प्रभावीकरण अनि तिनीहरूको सह-अस्तित्वको महत्त्व यही हो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी कुराहरूलाई तिनीहरूको अस्तित्वमा नियम र व्यवस्थाले सञ्‍चालन गर्छ। त्यसो भए, यो कथामा तिमीहरूले परमेश्‍वरका के-कस्ता कार्यहरू देख्छौ त? के परमेश्‍वरले ‍यावत् थोकको सृष्टि गर्नुभएदेखि तिनीहरूलाई बेवास्ता गर्नुभएको छ? के उहाँले तिनीहरूलाई त्यसपछि बेवास्ता गर्नको लागि नियमहरू बनाउनुभयो र यी सबै कुराहरूले कार्य गर्ने तरिकाहरूको प्रारूप तयार गर्नुभयो? के यही भयो त? (होइन।) त्यसो भए, के भयो त? परमेश्‍वर अझै नियन्त्रणकारी भूमिकामा हुनुहुन्छ। उहाँले पानी, हावा, र छालहरूलाई नियन्त्रण गर्नुहुन्छ। उहाँले तिनीहरूलाई अनियन्त्रित बन्न दिनुहुन्न, न त उहाँले तिनीहरूलाई मानिसहरू बसोबास गर्ने घरहरूलाई हानि वा विनाश गर्न नै दिनुहुन्छ। यस कारणले गर्दा, मानिसहरू भूमिमा निरन्तर बाँचिरहन, वृद्धि हुन, र उन्नति गर्न सक्छन्। यसको मतलब, उहाँले यावत् थोकको सृष्टि गर्नुहुँदा उहाँले तिनीहरूको अस्तित्वका नियमहरूको बारेमा पनि पहिले नै योजना गरिसक्नुभएको थियो। जब परमेश्‍वरले हरेक थोकको सृष्टि गर्नुभयो, उहाँले यसले मानवजातिलाई फाइदा गर्नेछ भन्‍ने कुरा सुनिश्चित गर्नुभयो, र उहाँले यसमाथि नियन्त्रण कायम गर्नुभयो ताकि यसले मानवजातिलाई हानि गर्न वा उसमा विपत्ति ल्याउन नसकोस्। परमेश्‍वरको व्यवस्थापन नभएको भए, के पानी कुनै नियन्त्रणविना नै बग्नेथिएन र? के हावा कुनै नियन्त्रणविना नै बहने थिएन र? के पानी र हावाले नियम पालना गर्छन्? यदि परमेश्‍वरले तिनीहरूको व्यवस्थापन नगर्नुभएको भए, कुनै पनि नियमहरूले तिनीहरूलाई शासन गर्नेथिएन, अनि हावा कुर्लन्थ्यो र पानी अनियन्त्रित हुन्थ्यो र बाढी ल्याउँथ्यो। यदि छालहरू हिमालभन्दा अग्ला थिए भने, के समुद्र अस्तित्वमा रहन सक्थ्यो र? सक्दैनथियो। यदि हिमाल छालहरू जति अग्लो थिएन भने, समुद्र अस्तित्वमा रहनेथिएन, र हिमालले आफ्नो मूल्य र महत्त्व गुमाउनेथियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्